'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Sunday, 28 February 2010

साना सहकारी र महिला विकास

                                                                                                                                          सिर्जना भण्डारी 



"महम्मद यूनुस" अन्तर्राष्ट्रिय परिवृत्तमा निकै परिचित नाम हो । साना सहकारी, साना उद्यम, ग्रामिण बैंक, ग्रामिण ऋण, ग्रामिण विकास र यि प्रक्रियाबाट आउने क्रान्तिको परिकल्पना मात्र नभई व्यवहारमै उतारेर विश्व विख्यात नोवेल शान्ति पुरस्कार प्राप्तिसम्मको बाटो तय गर्ने महान् व्यक्ति हुन उनी । ग्रामिण बिकासबाट मानसिक रुपमा परिवार, समाज, देश र बिश्वमै शान्ति ल्याउन सकिन्छ भन्ने उनको ठम्याई र अबधारणाको पहिचान गरी बिश्वले महान नोवेल शान्ति पुरस्कारले उनलाई सम्मान गरेको हो । गरीबका भगवान् मानिने यि महान व्यक्ति वंगलादेशका निवासी हुन् । उनले आफ्नो हरेक धारणा र पुस्तकहरुमा देश विकासका लागि ग्रामिण विकास र यसका बिभिन्न माध्यमहरुलाई जोड दिएका छन् र ग्रामिण विकासमा महिलाको सशक्त सहभागितालाई अझ खरो रुपमा उतारेका छन् । उनको यो अवधारणा धेरै हदसम्म सफल भएको छ र बंगलादेशको ग्रामिण विकासलाई आज विश्वकै नमुना विकासका रुपमा लिने गरिन्छ । महिला सहभागिता भएको ग्रामिण विकासको अभियानबाट आज बंगलादेशले समाज र देशका लागि दिगो विकासको दीर्घकालिन पथ तय गरिसकेको छ । एघार करोड भन्दा बढी जनसंख्या भएको तर क्षेत्रफलका आधारमा नेपाल भन्दा सानो देश बंगलादेश आर्थिक बिकासमा आज हामी भन्दा निकै अगाडि बढिसकेको छ । बंगलादेशको गरीबी घट्दो र आर्थिक बृद्धिदर दिन प्रतिदिन बढ्दो गतिमा छ ।

बिश्व र दक्षिण एशियाली अन्य मुलुकहरु लगायत बंगलादेशको ग्रामिण विकासका बिभिन्न अवधारणाहरुलाई पछ्याउँदै नेपालमा पनि ग्रामिण विकासका विभिन्न कार्यक्रमहरुका थालनी नगरिएका होइनन् तर तिनले उति गति लिन सकेनन् र सकेका छैनन् । निश्चित रुपमा यसका कारण र यसलाई प्रभाव पार्ने तत्वहरु विभिन्न हुन सक्छन् तर एक २ गरी भन्नुपर्दा मुख्य रुपमा क्रमशः प्रतिवद्धताको कमी, पर्याप्त चेतनाको अभाव, अप्रभावकारी कार्यान्वयन आदिलाई मान्न सकिन्छ । कुनै पनि काममा सफलता पाउन सर्बप्रथम त्यसको कारण र परिणामको मूल जरो पत्ता लगाउनु आवश्यक हुन्छ । 



नेपालको समाजिक परिवेसका सन्दर्भमा भन्नुपर्दा, प्राय सबै पुरुषहरु पढाइ, अवसर, काम तथा रोजगारीको शिलशिलामा शहर तथा विदेश जाने गरेका र गाउँका धेरै जसो परिवारमा महिला र केटाकेटीहरु मात्र रहने गरेका छन् । बहुसंख्यक महिलाहरु ज्ञान तथा चेतनाको कमी, कमजोर आर्थिक तथा सामाजिक अवस्थामा छन् । यस्तो अवस्थामा ग्रामिण विकासका जतिसुकै प्रभावकारी महिला केन्द्रित कार्यक्रमहरु ल्याइएपनि त्यसबाट चाहे अनुसारको उपलब्धि हासिल गर्न नसकिने निश्चित प्राय छ । यस्तो परिप्रेक्ष्यमा सर्वप्रथम त्यस्ता महिलाहरुमा जागरण तथा चेतना अभिबृद्धि गर्नु नै विषयवस्तुको मुलजरो समाउनु हो । हुन त यी बिषयबस्तुहरुमा केन्द्रित गरी बिगतमा पनि बिभिन्न कार्यक्रमहरु नल्याइएका होइनन् । केही संस्थाहरुले महिला जागरण तथा चेतनाका कामहरु गर्दै आएका थिए र गरिरहेका छन् तर नेपालको परिप्रेक्ष्यमा हालसम्म नेपालको ८५ प्रतिशत भन्दा बढि भू-भाग ग्रामिण तथा अल्पविकसित अवस्थामै रहेको हुनाले र त्यहाँका बहुसंख्यक जनताहरु अशिक्षा र गरिबीमा रहन बाध्य भएकाले यस क्षेत्रमा गरिएका बिभिन्न प्रयासहरु अझै पनि लक्षित वर्गसम्म पुर्याउन सकिएको छैन । यस्ता लक्षित उदेश्य हासिल गर्नका लागि यि प्रयासहरुमा अझ प्रभावकारिता र ति व्र ता ल्याउनुपर्ने आजको टड्कारो आवश्यकता हो । 

बिभिन्न अध्ययन तथा अनुसन्धानहरुले देखाए अनुसार बिकासका कार्यहरुमा त्रि्रता ल्याउन सर्बप्रथम समाजमा आधा आकाश ढाक्ने महिलाहरुको सशक्तीकरण तथा बिकास गर्नुपर्दछ । महिलाहरुलाई आर्थिक, शैक्षिक,, सामाजिक, राजनीतिक, न्यायिक र मनोबैज्ञानिक सम्पूर्ण किसिमले सक्षम र योग्य बनाउनु महिला सशक्तीकरण तथा महिला विकास हो । समाज तथा देश विकास र अन्य उन्नतिका लागि राज्यका आधा अंग मानिने महिलाहरुको बृत्ति विकास पहिलो सर्त हो । महिला सशक्तीकरण तथा विकास विभिन्न माध्यमबाट गर्न सकिन्छ । वास्तबमा मानबीय बिकास तथा विकास निर्माणका कामशरु आकर्षक योजना तथा अवधारणपत्रहरु ल्याएर छोटो अवधिमा चुट्की बजाएर गर्न सकिने काम होइनन् । यसका लागि अल्पकालिन र दीर्घकालिन दुवै किसिममा नीति तथा योजनाहरुको आवश्यकता पर्दछ । ग्रामिण स्तरबाट महिला विकास अभियानको शुरुआत गर्न टोलटोलमा अल्पकालिन योजनाका रुपमा साना सहकारी -लघु बित्त) अर्थात् आर्थिक सहयोगका कार्यक्रमहरुको थालनी गरेर र दीर्घकालिन रुपमा महिला तथा छोरीहरुलाई अनिवार्य शिक्षा, परिवारको (पैतृक) सम्पतिमा अधिकार र महिला हक तथा न्यायसंग सम्बन्धित अवधारणाका बिभिन्न कार्यक्रमहरु ल्याएर गर्न गराउन सकिन्छ । यसरी प्रदान गरिने शिक्षा तथा अधिकार जतिसक्दो उनीहरुको स्थानीय परिवेश अनुसार व्यवहारिक किसिमको हुनुपर्दछ । 

आजभोलि गाउँ-गाउँमा महिलाहरु स्वयं द्धारा बिभिन्न किसिमका साना वचत कार्यक्रमहरु संचालन गरिएका भेटिन्छन् तर सफलता र प्रभावकारिता ती मध्य धेरै कम संस्थाहरुले मात्र हासिल गर्न सकेका छन् । यसो हुनुमा पहिलो- महिलाहरुमा आवश्यक चेतनाको कमी र दोस्रो- वचत कार्यक्रम थाल्ने व्यक्ति तथा संस्थाको अनुभव, लगनशीलता र आत्मविश्वसमा कमी हुनुलाई नै मान्न सकिन्छ । अवश्य पनि यस्ता साना सहकारी कार्यक्रमको शुरुआत गर्नु महत्वपूर्ण कार्य हो तर यस्तो अबस्थामा महिला विकास तथा ग्रामिण विकासका लागि यस्ता संस्थाहरुको प्रभाबकारी कार्यानबयन र दिगोपनले बिषेश महत्व राख्दछ । महिला विकास तथा सशक्तीकरणलाई लक्षित गरी थालिएका यस्ता कार्यक्रम तथा संस्थाहरुलाई दिगो र प्रभावकारी बनाउन यसको अवधारणा ल्याउने व्यक्ति तथा संस्थाहरुलाई आबश्यक सरसल्लाह, तालिम तथा सहयोग प्रदान गर्नु गराइनु पर्दछ । त्यस्ता स्थानमा अनुभवी, अध्ययनशील र लगनशिल ब्यक्ति तथा ब्यक्तित्वहरुको बहाली हुनु पर्दछ । संस्था खोल्न अनुमती दिने क्रममा सम्बन्धित निकायले यस्ता पक्षहरुमा गम्भीर किसिमले विचार पुर्‍याउनु पर्दछ । कतिपय अबस्थामा स्वार्थी र लोभीपापीहरुले यस्ता कार्यक्रमहरुलाई मागीखाने भाँडोका रुपमा प्रयोग गर्दै गरीबी र महिला विकासको एजेन्डा भजाएर यसलाई नगद आयको श्रोत बनाएका थुप्रै उदाहरण हाम्रा सामु छन् ।