'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 19 July 2010

महिला बिकासको इतिहास

सिर्जना भण्डारी

कुनै पनि विषयवस्तुको ऐतिहासिक नालीवेली जाने पछि बुझ्न र त्यसमाथि वहस गर्न सहज हुनुका साथै मजा पनि आउँछ । भनिन्छ कि अतित तथा इतिहास काँडा हो, यसले रुवाऊछ र बर्बाद गराउँछ । यो अवधारण भावनात्मक दृष्टिकोणले ठिक पनि होला तर परिवर्तन र विकासका सन्दर्भमा भने इतिहास मार्ग निर्देशक हो जसले सही ढङ्गबाट काम गर्न मार्गनिर्देस गर्दछ । इतिहास सत्य र अति वलवाल हुन्छ । यसले यूगौ-यूगका ठूला र महत्वपूर्ण घटना, परिवर्तन र विकासक्रमका दास्तानहरु समेटेको हुन्छ जसको सिको र अनुसरणबाट बर्तमानमा अगाल्नु पर्ने नीति-नियमहरुको निर्माण सहज बन्छ ।

यदि हामी भगवान मान्छौ भने प्रकृति भगवान हो । प्रकृतिले प्राणी र वनस्पतिलाई श्वास प्रस्वास तथा जिवन दिएको छ । प्राणीहरुमा विवेकशिल वर्ग मानव हो । मानवमा पुरुष र स्त्री दुइ जात छन् । वंश चलाउनका लागि प्रकृतिले पुरुष र स्त्रीका शारीरीक रुपमा केहि अंगहरु अलग किसिमले निर्माण गरेको छ । प्राकृतिक रुपमा शारीरीक भिन्नता बाहेक पुरुष र स्त्री हरेक किसिमले समान छन् तर सामाजिक तथा सास्कृतिक रुपमा र यस किसिमको मान्यता संसार भरिनै कहीँ छैन । आधुनिक विश्वका सबै देश समाज र संस्कृतिहरुमा महिला पछि परेका छन् र तिनलाई पुरुषलाई भन्दा असमान ब्यवहार गरिन्छ । अरु त अरु विभिन्न पुरातात्वीक अध्ययनहरुले प्रमाणित गरीसकेका इसापूर्व करीब ३५०० वर्ष अघिको हिन्दु समाजको रामायण र इसापूर्व करीब ३३०० वर्ष अघिको महाभारतमा समेत (यस यूगलाई हिन्दुधर्म अनुसार तेत्रा र द्ववापर यूग अर्थात भगवानको यूग भनिन्छ) सिता, द्रौपदी र अन्य स्त्रीहरुको अवस्था, वहुविवाह, पुरुषको महत्व, अधिकार आदिबाट समेत महिलाहरुको अवस्था सहजै थाहा पाउन सकिन्छ । यसबाट के थाहा हुन्छ भने सुदुर इतिहासमा पनि स्त्री र पुरुषमा ब्यापक असमानता थियो । समाजसुधार र लैंगिक समानताका दृस्टीकोणबाट अफसोस यो छ की अझै पनि हाम्रो हिन्दु समाज तथा सस्कृतिलाई धर्मका नाममा तिनै रामायण र महाभारतले डोर्याइरहेका छन जो धार्मिक दृस्टीकोणबाट उचित भए पनि समाज बिकासका लागि भने बाधक रहदै आएको पाईन्छ ।

महिला समानता भन्नाले राज्य तथा समाजका सम्पूर्ण तह र पक्षहरुमा पुरुष सरह महिलाको समान अधिकार हुनु हो । महिलाहरुले पाएका अधिकारहरुको आधारमा समानता र असमानताको तहको लेखा-जोखा गर्न सकिन्छ । जति अधिकारको प्रत्याभूति हुन्छ उति नै समानता बढ्दै जन्छ । वर्षौ अघिदेखि महिलाहरु आफ्नो अधिकारका लागि लडिरहेका छन् । यस्ता महिला आन्दोलनहरुलाई विषय र परिस्थीती अनुसार विभिन्न नाम दिइएका छन्, जस्तै - महिलालाई भोट दिने अधिकार, आफ्नो शरीरमाथिको अधिकार, सामाजिक तथा सास्कृतिक अधिकार, सम्पत्तिमा अधिकार, कानुनी अधिकार आदि तर समग्रमा यी सबै नाराहरूलाई महिला आन्दोलनको बिकासक्रम भन्ने गरिन्छ ।


विश्वको इतिहासमै महिला आन्दोलनको विकासक्रम उति लामो छैन । विश्वको सामाजिक विकासक्रमलाई हेर्दा १४ औं र १५ औं सताब्दी सम्म पनि आइमाइहरुलाई केही संभ्रान्त परिवारमा बाहेक आम रुपमा सामाजिक मानवका रुपमा मानिदैनथ्यो । आमा, छोरी, श्रीमती आदि केही नाता सम्बन्ध नै थिएन । आइमाईलाई कामकाज गर्ने र छोरा जन्माउने यन्त्रका रुपमा गाइवस्तु सरह किनबेच गरिन्थ्यो । छोरा जन्माउनका लागि किनेर लगिन्थ्यो, त्यस बिचमा छोरी जन्माए त्यसको केही हिसाव किताव हुदैनथ्यो, एक लोग्ने मान्छेको छोरा जन्माउने काम सकिए पछि उसले अर्कोलाई सजिलै बेच्न वा साटासाट गर्न सक्थ्यो । आइमाई असक्त र बुढी भएपछि गाईवस्तु झैं यसै अलपत्र छाडिन्थ्यो । 




१६ औं र १७ औं सताब्दी सम्म पनि आफुलाई परेको अन्याय विरुद्ध बोल्ने र अधिकार माग्ने महिलाहरुलाई बोक्सी र राक्षसनी भनी अनेक यातना दिइ जीउँदै जलाइन्थयो । १६ औं र १७ औं सताब्दीको पुनरजागरण, १८ औं सताब्दीको औधोगिक क्रान्तिको समय सम्म पनि महिलाहरुले पढ्न हुँदैन भन्ने भनाइ विश्वभरी ब्याप्त थियो । तर औधीगिक क्रान्ति पछि विस्तारै सभ्यताको विकास हुन थाल्यो, पुरुषहरु काममा ब्यस्त हुन थाले, उनीहरुलाई महिलाहरुको सहयोगको आवश्यकता पर्न थाल्यो र विवाह गरेर श्रीमान-श्रीमतीका रुपमा साथ-साथै बस्न थाले र यसले सामाजिक रूप लिदै गयो । त्यस ताका अपवादका रुपमा केही त्यस्ता जोडी र परिवारहरु पनि थिए तर समग्रमातमा तथा आममान्यतामा भने त्यस्तो थिएन । कमाइ र कामकाजका लागि अन्य सदस्यहरुको आवश्यकता पदैं गयो र आवश्यकता पूर्तिका लागि सम्यूक्त रुपमा सन्तान जन्माउन थाले र यसरी परिवारको विकास हुना थाल्यो । काम गर्ने क्षमताका आधारमा पुरुष बलियो र निरन्तर काम गर्न सक्ने हुनाले परिवारमा छोराको महत्व बढ्दै गयो, उसलाई बलियो, बाठो र लायक बनाउनु पर्छ भन्नेमा बाबुआमा दुबैको सोच केन्द्रित हुन थाल्यो र छोरी तथा महिलाहरु बिस्तारै पछि पर्दै गए र असमानता र अधिकार बिहीनताको दलदलमा फस्तै गए र बिस्तारै यसले संस्कृतिको रूप लिदै गयो जसको प्रभाब आजको आधुनिक समाजमा समेत परिरहेकै छ ।


महिला आन्दोलन
हिलाबिदहरुले महिला आन्दोलनको बिकासक्रमलाई तिन चरणमा बिभाजन गरेका छन् । यि तिन चरणहरुमा मुख्य रुपमा महिला अधिकार र समानताको मुद्धाहरुलाई बिभिन्न कोणबाट उठाइएका थिए ।

बिभिन्न समयमा गरिएका प्रयासहरु र समयाबधी निम्नानुसार रहेका छन्-

पहिलो चरण:- १९औं शताव्दी देखि २०औं शताव्दीको मध्य सम्म (१९५० को दसक सम्म) ।
दोस्रो चरण सन:- १९६० देखि १९८० को दसक सम्म।
तेस्रो चरण सन:- १९९० देखि हाल सम्म।

महिला आन्दोलनको पहिलो चरणमा महिलाहरुको भोट सम्बन्धी अधिकार प्रमुख विषय थियो । दोश्रो चरणमा कानून र समाज तथा संस्कृतिमा भएका असमानताका मुद्धाहरु प्रमुख विषय थिए । तेश्रो चरणमा, दोश्रो चरणमा पूर्ण नभएका मुद्धाहरुको निरन्तरता र संबैधानिकरुपमा अधिकार दिलाउने र समानताका मुद्धाहरुलाई अघि बढाउने कार्य गरिदै आइएको छ र आज यो विश्वव्यापीरुपमा भइरहेको छ । यद्यपि यसको प्राप्ती भने विभिन्न वर्ग समुदाय समाज धर्म संस्कृति आदिमा फरक फरक तहमा रहेको पाइन्छ ।

१९औं शताव्दी अघिका महिला आन्दोलनका प्रयासहरु

१५औं शताव्दी-

यस शताव्दीसम्म केही सम्भ्रान्त परिवारहरुमा बाहेक आमरुपमा समाजमा महिलाहरुको कुनै सामाजिक अस्तित्व थिएन । काम गराउन र छोरा जन्माउनकालागि महिलाहरुको खरिद बिक्री गरिन्थ्यो र महिला अशक्त भएपछि यसै छाडिन्थ्यो वा वास्ता गरीदैनथ्यो।

१६औ तथा १७औ शताव्दी

१६औ तथा १७औ शताव्दीलाई आधुनिक पुनर्जागरण (धार्मिक तथा सांस्कृतिक क्रान्ति) को युग मानिन्छ । जो इटालीबाट शुरु भएर पछि युरोप भरी फैलिएको थियो । यो समयमा राजनीति, धर्म, समाज र संस्कृतिमा निकै परिवर्तनहरु भए । यस समयका जल्दा बल्दा समाजसेवी लेखक तथा मानव अधिकारवादीहरुले कमसेकम उच्च घरानिया महिलाहरुलाई शिक्षा प्रदान गर्नु पर्ने आवाज उठाए । यस क्रममा रोजर एचाम(Rojar Ascham)ले एलिजावेथ प्रथमलाई शिक्षक भै पढाएका थिए । एलजावेथ प्रथमले ल्याटिन र गि्रक भाषामा शिक्षा लिएकी थिइन् र उक्त भाषाहरुमा उनले केही साहित्य सिर्जना समेत गरिन् र महिलाको क्षमता प्रर्दशन गरिन् । उनले पुनर्जागरणको त्यस युगमा पुरुष जत्तिकै भूमिका निभाएर महिला सशक्तिकरणको शुरुआत गरी उदाहरणीय कार्य प्रस्तुत गरिन् । तर त्यस बखत महिलाको अधिकारका लागि लड्न भने त्यति सजिलो थिएन किनकी त्यति बेलासम्म महिलाहरुलाई शुरुमा बाउको सम्पत्ति तथा बस्तुका रुपमा व्यवहार गरिन्थ्यो र बाउद्वारा धेरै दाम लागाउने केटासंग बेचविखन गरेसरह विहावारी गराइन्थ्यो । र त्यसपछि उसलाई लोग्नेको सम्पत्ति तथा बस्तुकोरुपमा व्यवहार गरिन्थ्यो । लोग्नेले भने बमोजिम नगरे, छोरा जन्माउन नसके अनेक यातना दिने, अरुलाई दिने वा बिक्री गर्ने, त्यसै छाडिने र हत्या समेत गर्ने गरिन्थ्यो ।

(अंगे्रजी भाषा महान साहित्कार विलियम शेक्सपियरले तत्कालिन सामाजिक धार्मिक र सांस्कृतिक परिवेशहरुलाई आफ्ना साहित्य सिर्जनाहरुमा सशक्तरुपले उतारेका छन् ।)

एलिजावेथ प्रथमपछि सानुसंख्यामा भएपनि अन्य उच्च घरानिया महिलाहरुले पनि शिक्षा लिन थाले र ति पढ़ेलेखेका महिलाहरूले आफ्नो र सम्पुर्ण महिलाहरुको हक़ हितका लागि आवाज उठाउन थाले । महिला आन्दोलन आजको यो अवस्थासम्म आई पुग्नमा यस समयका शिक्षित महिलाहरुको अभूतपूर्व योगदान रहेको छ । १७औं शताव्दीमा एजटेल(Astell), अफ्रा वेन(Aphra Behn) र उनी जस्ता प्रभाबशाली लेखिका महिलाहरुले आफ्नो लेखनबाट महिला आन्दोलनमा ठूलो योगदान पुर्याएका थिए । यी महिलाहरु अंग्रेजी भाषाका महिला अधिकार सम्बन्धी लेख्ने प्रथम महिलाकारुपमा चिनिन्छन । 


१६औं र १७औं शताव्दीका महिलाका बिषयहरुमा लेखिएका केहि पुस्तकहरु
- द इक्वालिटी अफ मेन एण्ड वमेन (The Equality of Men and Women)- सन १६२२
- द लेडीज ग्रेभान्स (The Ladies' Grievance)- सन १६२६



यसका साथै थुप्रै निबन्ध र कविताहरु पनि लेखिएका थिए ।



१७औं शताव्दीका प्रभावशाली महिला लेखिकाहरु
- एने ब्राड स्ट्रीट (Anne Bradstreet)
- बाथसु माकीन (Bathsua Makin)
- मार्गरेट काभेन्डीस (Margaret Cavendish)
- लेडी मेरी वर्थ (Lady Mary Worth)
- मेरी एजटेल (Mary Astell)




त्यस बखत यि प्रभावशाली महिला लेखिकाहरुले उच्च वर्गिय पुरुष तथा पादरीहरुको धम्की र आक्रमण सहनु परेको थियो । १७औं शताव्दीका यि महिलाहरुले महिलाहरुको आफ्नो शरीर माथिको अधिकार, सामाजिक तथा सास्कृतिक समानता र अधिकार आदि पाउनु पर्ने माग उठाएका थिए । 



१८ औं शताव्दी 
१६औं र १७औं शताव्दीमा भएको पुनर्जागरणले समाजका महिलाहरुको अबस्था र सोचमा निकै परिवर्तन ल्याइसकेको थियो । सानै संख्यामा भएपनि महिलाहरु शिक्षित भएका थिए र छिटफुटरुपमा महिलाका अधिकारका सम्बन्धमा आवाज उठाउन थालेका थिए । ती आवाजहरुमा तत्कालिन पुरुष मानव अधिकारवादीहरुले सहयोग गरेका र उर्जा थपेका कारण उच्च सरोकारवालाहरु ती महिलाहरुका आवाज सुन्न बाध्य भएका थिए । यसपछि विस्तारै अधिकारका लागि महिला आवाजअरु उठ्दै गए, विभिन्न मागहरु राख्दै गए जुनक्रम अहिलेसम्म चलिरहेकै छ । 



विभिन्न दार्शनिकहरुले १८औं शताव्दीलाई ज्ञानको युग (The Age of Enlightenment)का रुपमा परिभाषित गरेका छन् । यस युगमा थुप्रै दर्शनशास्त्रहरु सिर्जना गरिएका थिए । मेरी ओलस्टोन क्राफ्ट (Mary Wollstone Craft)लाई प्रथम महिलाविद् तथा प्रथम महिला दार्शनिककारुपमा चिनिन्छ । सन् १७९२ मा प्रकाशित उनको "अ भिण्डिकेशन अफ द राइट अफ वमेन(A Vindication of the Right of Women) भन्ने पुस्तक महिला अधिकार र आन्दोलनको बिकासक्रमको लागि महत्वपूर्ण कोशेढुंगा सावित हुन पुग्यो । यस पुस्तकमा उनले महिला र पुरुष दुवै समान हुन्, समाजको महत्वपूर्ण परिवर्तनको लागि दुवै शिक्षित र अधिकार सम्पन्न हुनु जरुरी हुन्छ र यसका लागि महिलाहरुलाई पनि पुरुष सरह अधिकार प्रदान गरिनु पर्दछ आदिमा बिशेस जोड दिएकी थिइन। महिला आन्दोलनको इतिहासमा महिला समानताको ओजपुर्ण उठान गर्ने उनी नै पहिलो महिलाविद् हुन् । उनको यो शाहसिलो कदम र कलमलाई तत्कालिन उच्च दार्शनिकहरुले समेत एमेजन अफ द पेन(Amazons of the Pen) भनी प्रोत्साहित प्रतिकि्रया दिएका थिए । उनी पछि समयको क्रमसंगै महिला समानता, महिला अधिकार, समता, आरक्षण आदि माथि बिस्तारै आवाज बुलन्द हुन थाले र यसक्रमले अहिलेसम्म निरन्तरता पाइरहेकै छ । 



१९औं शताब्दी 
१९औं शताब्दीमा महिला जागरणको लहर नै चल्न थाल्यो । राजनैतिक, सामाजिक, सांस्कृतिक र अन्य अधिकार सम्बन्धी मुद्धाहरु उठ्न थाले । १९ औं शताव्दीलाई महिला आन्दोलनको बिकासक्रमको पहिलो चरणको रुपमा हेरिएको छ । यस बारेमा क्रमश अर्को लेखमा विस्तार गर्नेछु ।