'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 22 October 2012

महिला उत्थान र महिलाको राजनीतिक अधिकार

                                                               सिर्जना भण्डारी 


हिला विकासका लागि यससँग सम्बन्धित विभिन्न पक्षहरुको संयोग हुनु आवश्यक हुन्छ । यी विभिन्न पक्षहरुमध्ये सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, कानुनी तथा धार्मिक आदि पर्दछन् । महिला विकास, उत्थान, शसक्तीकरण, जागरण आदि जुन शब्दावली प्रयोग गरिए पनि समग्रमा यी सबैको मूल गन्तव्य र मान्यता महिलाहरुको समग्र हित नै हो । महिलाहरुको हितका लागि सफल कार्यक्रमहरु अगाडि ल्याउन यी सबै पक्षहरु बराबर महत्व राख्दछन् किन कि यी सबै पक्षहरुको आ-आफ्ना ठाउँमा बेग्ला बेग्दलै र आ-आफ्नै किसिमको महत्व रहेको हुन्छ । जस्तो महिला शिक्षा, महिला हितका सामाजिक, सांस्कृतिक तथा धार्मिक रीतिथितिहरु, महिलाका पक्षमा बनाइएका कानुन, ऐन तथा नियमहरु, महिलाहरुलाई आर्थिक रुपले सबल र स्वाबललम्बी बनाउने आर्थिक कि्रयाकलाहरु आदि । माथि उल्लेखित सम्पूर्ण पक्षहरुसँग सम्बन्धित महिला हितका थुप्रै नीति-नियम तथा कार्यक्रमहरु आदि इतिहासदेखि क्रमिक रुपमा बन्दै आइरहेका थिए, आएका छन् र आइरहनेछन् । तर यी सबै प्रयासका बाबजुद पनि हाम्रो मुलुकमा मात्र नभई सम्पूर्ण विश्वभरि नै महिलाहरु को विकास तथा सशक्तीकरण सोचिए जति हुन सकेको पाइएको छैन र यो सबैले थाहा पाएकै यथार्थ हो । यसो हुनुमा प्रमुख कारण हालसम्म पनि महिलाहरुले अन्य पक्षहरुसँग सम्बन्धित अधिकारहरु कम तथा बढी जे जति पाए पनि पूर्णरुपमा राजनीतिक अधिकार नपाउनुलाई नै मान्न सकिन्छ किन भने राजनीति नै सबै नीतिहरुको मूल हो । अन्य पक्षहरुले यसकै अनुसरण हुबहु नगरे पनि समाजशास्त्रका सम्पूर्ण अङ्गहरुमा राजनीतिको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव रहने गर्दछ । राजनीतिकै वरिपरि राज्यका प्रमुख अङ्गहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका घुम्ने गर्दछन् र यी प्रमुख तीन अङ्गहरुले नै सम्पूर्ण मुलुकलाई चलाईरहेका हुन्छन् । तसर्थ राजनीतिक अधिकारलाई समाज तथा मुलुकको कुनै एक क्षेत्रको मात्र नभई हरेक क्षेत्रको विकास तथा उत्थानका लागि प्रमुख तत्व मान्न सकिन्छ । 

यस लेखको मूल बिषय महिला र महिलाको राजनीतिक अधिकार रहेको हुनाले र यहाँ जोड दिन खोजिएको कुरा पनि यही हो कि महिलाहरुको समग्र विकास, उत्थान तथा शसक्तीकरणका लागि सर्वप्रथम उनीहरु राजनीतिक अधिकार सम्पन्न हुनु पर्दछ । हुन त हाल आरक्षण तथा समावेशीकरणको नियम अनुसार अन्य क्षेत्रमा झैं राजनीति क्षेत्रमा पनि महिलाहरुले ३३ प्रतिशत उपस्थितिको अधिकार पाएका छन् र संविधान सभाको चुनावमा महिलाहरुले उल्लेख्य सिट संख्या पनि हासिल गरेका छन् । तर यसका बाबजुद पनि उनीहरु अझै निरिह र अधिकार बिहिन देखिन्छन् । उनीहरुले आफ्नो राजनीतिक अधिकार पाएर पनि महिला हितका लागि उचित किसिमले त्यसको उपयोग गर्न र खँदिलो आवाज उठाउन सकेका छैनन् । हुन त यसका पछाडि थुपै्र कारणहरु छन् र हुन सक्छन् जस्तै उनीहरुमा शिक्षा र चेतनाको कमी, पितृसत्ताको मानसिकता, समाज, संस्कृति तथा धर्मको डर, आर्थिक निर्वलता आदि । महिलाहरु पुर्ण रुपमा राजनीतिक अधिकार सम्पन्न नहुनुमा यी विभिन्न कारणहरुमध्ये हाम्रो समाजको पितृसत्ताको मानसिकतालाई नै प्रमुख मान्न सकिन्छ । यसको ज्वलन्त उदाहरण २०६६-०६७ को बार्षिक आर्थिक बजेटमा ल्याइएको विधवा (तथा दलित) विवाह र यसका लागि घोषित पुरस्कार भएको छ । जसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महिलाहरुलाई असमान, निर्बल, बेसहारा, निमुखा, परनिर्भर, दोस्रो दर्जा आदिको उपमा दिएको छ । 

समाज र समाजका आधा अङ्ग मानिने महिलाहरुको जीवनमै जीवन्त परिवर्तन ल्याउने यस्ता महत्वपूर्ण र युगान्तकारी निर्णयहरु बिना कुनै छलफल राजनीतिक स्वार्थका लागि राज्यको नीति नियममा ल्याइए र हामी महिलाहरु पुनः एक पटक बलिको बोको बनाइयौँ । सम्पूर्ण महिलाहरुको जीवन र महिलाहरुको अस्तित्वमै उथलपुथल ल्याउने खालका यस्ता पित निर्णयहरु गरिदा राजनीतिक अधिकार प्राप्त हाम्रा महिला सभासदहरु केवल तमासे बने/बनाइए । उनीहरुले आफ्नो राजनीतिक अधिकार प्राप्तिका लागि व्यवस्थापिका संसदमा आवाज बुलन्द गर्न सकेनन् र आफ्नो राजनीतिक अधिकारको सही उपयोग गर्न सकेनन् । यसमा महिला सभासदहरुको पनि खासै ठूलो कमजोरी देखिन्न किन भने उनीहरु राजनीतिक अधिकार सम्पन्न त छन् तर अझै पनि पूर्ण रुपमा भने अधिकार सम्पन्न छैनन् । त्यसैले अब महिला सहभागिता राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत होइन ५० प्रतिशत नै गराइनुपर्दछ र यसका लागि सर्बप्रथम सम्पूर्ण महिलाहरुलाई योग्य बनाउन महिला शिक्षा, महिला विकास, महिला उत्थान तथा महिला सशक्तीकरणका कार्यक्रमहरुमा व्यापकता ल्याएर उनीहरुको व्यक्तित्व तथा योग्यताको विकास गर्नु-गराउनु पर्दछ ताकी उनीहरु कुनै पनि निर्णय लिन, वहस तथा तर्क गर्न आफैं सक्षम हुन् । तब मात्र उनीहरुले आफूले प्राप्त गरेका सम्पूर्ण अधिकारहरुको उपयोग सही ढङ्गले सही ठाउँमा गर्न सक्छन् अन्यथा फेरि पनि महिलाहरु बलीको बोको नबनाइएलान भन्न सकिन्न किन कि सैद्धान्तिक रुपमा जे-जे भनिए तथा गरिए पनि मानिसक रुपले पुरुष सत्तावाद महिलाहरुलाई पूर्ण अधिकार सम्पन्न गर्न/ गराउन कहिल्यै पनि तयार देखिएको छैन र देखिदैन । 

अधिकार त्यस्तो लडाइ हो जो मागेर दिइदैन र पाइदैन । अधिकार त लडेर र खोसर मात्र प्राप्त गर्न सकिने चिज हो, त्यसैले यो पङक्तिकार सबै महिला दिदी बहिनीहरुमा यो आग्रह गर्दछु कि हामी हाम्रो अधिकार माग्नतिर भन्दा लडेर लिन तिर लागौ र जे जति पाएका छौं त्यसको सही ढङ्गले सही ठाउँमा उपयोग गरौँ र महिला शक्ति र अधिकारको उदाहरण पेस गरौँ । 

Thursday, 15 March 2012

वर्षेनी दोहोरिने महिला मुद्दाहरु

                                                                         सिर्जना भण्डारी 

“यस नार्यस्तु पुज्यन्ते रमयन्ती तत्र देवता”

संस्कृत भाषाको यस भनाई हिन्दु समाजका धर्मग्रन्थहरुमा उधृत गरिएको पाइन्छ । यसको अर्थ हो जहाँ नारीको पूजा अर्थात इज्ययत गरिन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । यति मात्र होइन हिन्दु धर्मले नारीलाई देवीशक्ति, सृष्टिकर्ता, प्रकृति, ममताकी खानीका रुपमा पनि सम्मान दिएको छ । महिलाहरुप्रति गरिने यो एउटा कार्यानबयनमा नआएको सकारात्मक धार्मिक पाटो हो जो केवल जहाँ उल्लेख गरिएको छ त्यहीं सोभायमान र सीमित छ तर आजको वास्तविकता भने शतप्रतिशत फरक प्रकृतिको छ ।

धार्मिक र सामाजिक पुष्ठभूमिमा नारी: धर्म पृष्ठभूमिलाई केलाउने हो भने नारीलाई द्धैध रुपमा हेरिएको पाइन्छ, यद्धपी नारीप्रतिको दृष्टिकोण धर्म अनुसार फरक फरक रहेका छन् । हिन्दु धर्ममा एकातिर नारीहरु विभिन्न सम्मानजनक उपमा द्धारा सम्मानित छन् भने अर्कोतिर कामुक, अछुत (विभिन्न धर्मकार्यहरुमा), अविवेकी भनी समाजमा दवाइएको र नियन्त्रण गरिएको अवस्था छ । जसलाई सम्मानको कयौं गुणा बढी अपमान मान्न सकिन्छ । इस्लाम धर्ममा त नारीहरुलाई सामान्य मानव सरह पनि स्वीकार गरिएको छैन, हक अधिकारका त कुरै छोडौं । विश्वका अन्य धर्म भन्दा उदार मानिएको र प्रमुख धर्महरु मध्य एक रहेको क्रिश्च्यन धर्ममा समेत नारी प्रतिको दृष्टिकोण निकै कमजोर र द्धैध किसिमको देखिन्छ । क्रिश्च्यन धरमका अनुसार नारी केवल पुरुषको सहयोगका लागि पुरुष कै अंगवाट बनाइएका हुन् र तीनिहरु हरहालमा पुरषको नियन्त्रणमा रहनु पर्दछ भन्ने कुरामा विश्वास गरिन्छ । यो सत्य हो कि हरेक समाज र संस्कृति तथा परम्पराहरू थोर-बहुत धर्मद्वारा निर्देशित हुन्छन् र हरेक समाजका संस्कृति तथा परम्परा र सीमाहरू फरक-फरक हुन्छन्, तर अचम्म यहाँनेर छकी यति हुँदा हुँदै पनि विश्वका हरेकजसो समाजहरू नारी प्रति नै विभेदित किन छन् ? सबै धर्महरुमा पुरुषहरुनै सर्बेसर्बा किन छन् ? जस्तै हिन्दु समाजमा नारी लच्छीत विभेदहरु बालविवाह, बहुविवाह, विद्धवा, दाइजो, झूमा, देउकी, छाउपडी प्रथा तथा परम्पराहरू र बन्द समाज आदि हिन्दु नारीहरु पछि पर्नुमा प्रमुख कारणहरु रहेका छन् । इस्लाम धर्ममा वालविवाह, वहुविवाह, बुर्का प्रथा आदि परम्पराहरू इस्लाम नारीहरु पछि पर्नुका प्रमुख कारण रहेका छन् । त्यस्तै क्रिश्च्यन धर्ममा नारीमाथि हरेक किसिमले पुरुषको अधिकार र नियन्त्रण रहनु पर्ने जस्ता सोच तथा विश्वासहरु क्रिश्च्यन नारीहरु पछि पर्नुका प्रमुख कारण रहेका छन् । र विश्वका अन्य थुप्रै ज्ञात अज्ञात धर्महरूमा नारीहरू विभेदित र पिछडिएका अवस्थामा रहेका तथ्यहरु विश्वमा गरिएका विभिन्न अध्ययन अनुसन्धालहरुले प्रष्ट्याएका छन् । यद्धपी आजको आधुनिक र विकसित विश्वमा नारीप्रति गरिने बिभिन्न किसिमका विभेद कम हुँदै गइरहेका छन् र उनीहरू समाज तथा राष्ट्रका विभिन्न तहहरूमा सहभागी हुन थालेका छन् । सफल र सुन्दर भविश्यका लागि नारीहरूको यो उचाइ निकै आशा लाग्दो र गौरवपूर्ण छ । 



भन्ने गरिन्छ की अधिकार मागेर पाइन्न, खोसेर लिनुपर्छ र त्यसका लागि मैदानमा उत्रन परे पनि पछि पर्नु हुन्न । विश्वकै महिलाहरू आजको महिला सश्क्तिकरणको यस उचाइसम्म आइपुग्न र आफ्नो अधिकार प्रप्तिका लागि धेरै युद्धका मैदानहरू पार गर्नु परेको थियो, परीरहेको छ र परीरहन सक्छ किनकी सामाजिक विकासक्रमलाई हेर्दा सकारात्मक तथा समाजसुधारक परिवर्तनहरु वलिदानबाटनै हासील भएका छन् । महिला अधिकारका आन्दोलनहरूमा कयौं दिदीबहिनीहरू घोषित तथा अघोषित रूपमा शहिद भए होलान्, हुंदै होलान र हुने अवस्थामा होलान । तिनलाई चोखो मनले श्रद्धान्जली अर्पण गर्दै बर्षैपिच्छे दोहोरीने महिला मुद्धाहरुबारे सामान्य परिचय राख्दैछु । हुन त हरेक धर्म र समाज पिच्छे महिला समस्या तथा मुद्धाहरू फरक फरक हुन सक्छन् र छन् पनि तर त्यसका बाबजुद पनि संसारमा केवल दुइ जाति महिला र पुरुष मात्र भएझैं महिलासंग सम्बन्धित संसार भरी नै एकै मानिएका मुद्धाहरू मुख्यतया निम्न छन्- महिला असमानता, महिला असमता र महिला हिंसा



महिला असमानता हालसम्म विश्वकै साझा र जल्दोबल्दो मुद्धा हो र यसले थुप्रै किसिमका महिला समस्या तथा चुनौतीहरूलाई समेट्दछ । महिला असमानता कम गर्न विश्वमा शताव्दी अघि देखिनै विभिन्न प्रयासहरू हुँदै आइरहेका छन् । आन्तरीक तथा राष्ट्रिय चिन्तनहरू देखि लिएर अन्तराष्ट्रिय स्तरका ठूला-ठूला सभा, सम्मेलन र प्रतिवद्धताहरू भएका छन्, तर अझैसम्म पनि अपेक्षाकृत महिला समानताका प्रतिफलहरू हासिल गर्न सकिएका छैनन् । यस्तो किन भएको होला त - यस सन्दर्भमा भन्नु पर्दा हालसम्म देखिएका तथा भोगिएका अनुधवहरुका अनुसार प्रतिवद्धता जतिसुकै गहकिलो भएपनि कार्यानयवन पक्षमा हुने कमी कमजोरी नै प्रमुख रहेको प्रष्ट हुन्छ । जब अन्तराष्ट्रिय सम्मेलन तथा सम्झौताहरूमा महिला हित सम्बन्धि नीति नियमहरू बन्छन् तब सहयोग पाउने लोभमा सम्बन्धित देशका सरकारहरु द्धारा सबै निर्णयहरूमा बिना कुनै तिन्तन हत्तपत्त प्रतिवद्धता जनाइन्छ तर जब कार्यानवयनको अवस्था आइपुग्छ, त्यसवखत ती सम्झौता र प्रतिवद्धताहरू दराजको एक कुनामा थन्क्याइन्छन् अनि वर्षौं पछि आउने सभा सम्मेलनहरूमा पुनः तिनै कागजपत्रहरूको खोजि गरिन्छ र तीनै बुँदाहरूमा सामान्य फेरबदल गरी बन्द कोठामा तथ्याङ्क तयार पारेर झुठा प्रमाणहरू पेश गरिन्छ । यसरी कसरी हुन्छ महिला समानता, समता अनि महिला सशक्तीकरण ?


महिलाहरुले उचित किसिमको समानता समेत प्राप्त गर्न नसकेको आजको यस्तो अवस्थामा महिला समता त अझ टाढाको कुरो हुनु अस्वाभाविक होइन । हुन त योग्यता र प्रभावकारीताका दृष्टिकोणले दीर्घकालका लागि समता प्रदान गरिनु उचित प्रक्रिया होइन तर यसलाई प्राकृतिक न्यायको सिद्धान्तको आँखाबाट हेर्ने हो भने महिलाहरूलाई समता प्रदान गर्नु अति आवश्यकत हुन्छ किनकी प्राकृतिक रूपमै महिलाहरू शारिरीक रूपले कमजोर हुन्छन्, बढी भावुक र समवेदनशिल हुन्छन् । महिलाहरूमा महिनाबारी हुनु, प्रसुति हुनु, ममतामयी हुनु आदि प्रकृतिको देन तथा वरदान हो । उनीहरूको प्रकृति प्रदत्त यस किसिमको अवस्था तथा वरदानहरुलाई कदापी कमजोरी मानिनु हुदैन । तर्सथ प्राकृतिक न्यायलाई ध्यानमा राखी महिलाहरू प्रति समताको भावना राख्नु पर्दछ र समताका आधारमा अवसरहरू प्रदान गरिनु पदर्छ ।

महिलाहरू प्रति गरिने यिनै असमानता र असमताले समाजमा महिला माथिका हिंसा बढाएका छन् र उनीहरू पिछडिनुका साथै पुरुषको नियन्त्रणमा रहन वाध्य छन् । ब्यापक असमानता अर्थात असमान अधिकारका कारण विश्वकै हरेक जसो समाजका महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, स्वाश्थ्य आदिका दृष्टिकोणबाट निकै पछि परेका छन् र विभिन्न प्रकृतिका हिंसा झेल्न वाध्य छन् । त्यस्तै असमताका कारण आफू भन्दा धेरै सुविधा, हक अधिकार र मौका तथा अवसर पाएका, हरेक किसिमले निपुण र प्रतिस्पर्धात्मक पुरुषहरूसंग प्रतिस्पर्धा गर्न नसकी आफैंमा खुम्चीन वाध्य छन् जसले उनीहरूमा पलाउँदै गएको आशालाई समेत निराशामा परिणत गरिदिन्छ र जानी नजानी मानसिक तनाव झेल्न पुग्छन्, जुन महिला हिंसाको अपुरणिय र असोचनिय पराकाष्टा हो । हिंसाका विभिन्न प्रकृति छन्, शरीरको चोट केही दिनमा निको हुन्छ, दुखेको तथा मैलिएको चित्त केही दिनमा सफा हुन्छ तर मानसिक रुपमै परेको प्रभाबले हत्तपत्त कसैलाई पनि छाड्दैन र कतिपय अवस्थामा यस्ता परिस्थितिहरुले बहुलाउनेदेखि आत्महत्यासम्मको बाटो समेत तय गरिदिन्छन् ।

तसर्थ, महिलाहरूको समग्र विकासका लागि वर्षको एक दिन मार्च ८ जतिकै अन्य ३६४ दिनलाई पनि सम्झने गरौं र सच्चा प्रतिवद्धता र पारदर्शी कार्यान्वयनमा दत्तचित्त भएर लागौं र उनीहरुको हकअधिकार उनीहरुलाई नै प्रदान गरी सम्पन्न र सशक्त तुल्याउँ । bsirjana@gmail.com