'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 1 July 2013

भ्रुण, शिशु तथा महिला हत्याका कारण हराएका महिला

 Missing Women                                                                               
                                     सिर्जना भण्डारी 

भूमिका 

"हराएका महिला" यो शव्दावली सर्वप्रथम सन् १९८६ मा प्रशिद्ध अर्थशास्त्री डा.अमर्त्यसेनले प्रयोग गरेका हुन् । उनका अनुसार कूल जनसंख्याबाट ठूलो संख्यामा महिलाहरुको अनुपात घटेको अर्थात हराएको छ । जो पुनः पाउन सक्ने सम्भावना शुन्य छ । यस सन्दर्भमा यी महिलाहरु हराइएका नभई समाप्त पारिएका भन्ने नारीबादीहरुको आवाज उठ्न थालेको छ । उनका अनुसार सन् १९८६ मा भारतको लैङ्गकि अनुपात अन्तर १०५ पुरुष बरावर १०० महिला थियो र कूल जनसंख्याबाट ३७ मिलियन महिलाहरु हराएका थिए । भारत, चीन लगायत एशियाका अन्य बिकाससिल मुलुकहरुमा लैङ्गकि अनुपात अन्तर हरेक वर्ष क्रमशः बढदै गैरहेको तथ्याङ्क प्रस्तुत गर्दै यस विषयमा सावधानी अपनाउन समेत डा. सेनले आग्रह गरेका थिए तर यस सम्बन्धमा खासै कुनै मुलुकको प्रशासनले ध्यान दिएन जसको परिणाम आज आएर सम्हाली नसक्नु अवस्थामा पुगेको छ ।


युएनडिपी, २०१० को तथ्याङ्क अनुसार विश्वमा एशियामा सबैभन्दा बढि लैङ्गकि अनुपातमा अन्तर रहेको पाइएको छ । १९९० मा प्रकाशित डा. सेनको लेख "१०० मिलियन भन्दा बढी महिला हराएका छन्” मा उनले एशियाका भारत, चीन लगायत अन्य विकाससील देशहरुमा भइरहेको व्यापक लैङ्गकि अनुपात अन्तरलाई विषय बनाएका छन् । लेखमा महिला हराउनुको कारण बारे खोतल्ने प्रयास गरिएको छ । सन् २०१० मा प्रकाशित पत्रकार माराको लेखमा उल्लेख भए अनुसार हाल विश्वमा १६० मिलियन भन्दा बढी महिला हराइएका छन् र यी मध्ये अधिकांश छोरी भ्रुण हत्याको शिकार भएको उजागर गरेकी छिन् ।

सन् २००८ को एक तथ्याङ्क अनुसार भारतमा मात्र ६२ मिलियन महिलमहरु हराइरहेका छन् । सन् २००७ मा लेखिका अरभामुडनले आफ्नो पुस्तक "वेपत्ता भएका छोरीहरु" मा संसारभरी भैरहेको लैङ्गकि हत्या बारे गहिरो अध्ययन प्रस्तुत गरेकी छिन । जुन पुस्तक विश्वभरी चेतना फैलाउने उद्देश्यले विश्वका विभिन्न भाषामा अनुवाद गरी वितरण समेत गरिएको छ ।

महिला हराउनुको कारणहरु
महिला हराएका कि समाप्त पारिएका? भन्ने प्रश्न नारीवादीहरुले उठाउन थालेका छन् । किनकी हराएका कुरा भेटिने सम्भावना रहन्छ तर अब ति महिलाहरु भेटिने कुनै सम्भावना छैन तसर्थ महिला हराएका नभई समाप्त पारिएका भन्ने शव्दावली प्रयोग गर्नु पर्छ भन्ने नारावादीहरुको तर्क रहेको छ । महिलाहरु यसरी वेपत्ता पारिनुमा थुप्रै कारणहरु रहेका छन्, जस मध्ये डा. सेन, युएनडिपीको अध्ययन, पत्रकार मारा, लेखिका अरभामुडन लगायत विभिन्न नारीवादीहरुले निम्न कारण औल्याएका छन् । १. छोरी भ्रुण हत्या, २. छोरी शिशु हत्या, ३. दाइजो हत्या, ४. वालिका मृत्युदर, ५. मातृ मृत्युदर ।

१. छोरी भ्रुण हत्याः गर्भमा भएको भ्रुणको लिङ्ग पहिचान गरी छोरी भ्रुण भए छोरी भएकै कारण गर्भपतन गरी अस्तीत्व बाटनै समाप्त पारिने तथा हत्या गरिने कुकार्यलाई छोरी भ्रुण हत्या भनिन्छ । हिजोआज विभिन्न कारणले विश्व भरीनै छोरी भ्रुण हत्याको विकराल रुप देखापरेको छ । फलस्वरुप विश्वभरीनै लैङ्गकि अनुपातमा व्यापक अन्तर आएको छ । विश्वका केही देशहरुमा लैङ्गकि अनुपात अन्तरको तथ्याङ्क कहाली लाग्दो अवस्थामा पुगेको छ । सन् २०१३ मा प्रकाशित तथ्याङ्क अनुसार हाल चीनको औसत लैङ्गकि अनुपात अन्तर ११८ पुरुष बरावर १०० महिला रहेको छ । चीनकै केही अति प्रभावित प्रान्तहरुमा यो अन्तर १३० पुरुष बरावर १०० महिलासम्म पुगेको छ । त्यस्तै भारतको औसत लैङ्गकि अनुपात अन्तर ११० पुरुष बरावर १०० महिला रहेको छ । भारतमा पनि केही प्रभावित प्रान्तहरु हरियाण, पंजाव, केराला आदीमा यो अन्तर १३० पुरुष बरावर १०० महिला, १२२ पुरुष बरावर १०० महिला सम्म पुगेको छ । जबकी जनसंख्याको प्राकृतिक अनुपात समान तथा १०० वा १०२ रहने गर्दछ ।

सन् २०१३ को एक तथ्याङ्क अनुसार अमेरिकाको औसत लैङ्गकि अनुपात समान भएपनि बर्साई सर्राई गरी अमेरिकामा बसोवास गर्ने भारतीय, कोरियन, चीनिया समुदायहरुमा छोरी भ्रुण हत्याका कारण लैङ्गकि अनुपातमा व्यापक अन्तर आएको छ । यी समुदायमा यदि पहिलो बच्चा छोरी छ भने दोश्रो गर्भका क्रममा लिङ्ग पहिचान -सोनोग्राफी) गराउने र छोरी भ्रुण हत्या गर्ने क्रियाकलाप उच्च रहेको छ । दुइवटा छोरी भैसकेका परिवारमा यो क्रियाकलाप अझ डर लाग्दो रुपमा रहेको छ । यी समुदायहरुमा तेश्रो सन्तान जन्मको लैङ्गकि अनुपात अन्तर १५१ पुरुष बरावर १०० महिला रहेको छ । सन् २०१२ को तथ्याङ्क अनुसार भारतमा मात्र बर्षको एक मिलियन छोरी भ्रुण हत्या हुने गरेको छ र यो अनुपात आगामी केही बर्षमा अर्ढाई मिलियन पुग्ने अनुमान गरिएको छ । लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्नु गैरकानूनी भए पनि यसमा खासै सुधार आउन सकेको छैन किनकी रोकथाम गर्ने समाजका ठेकेदारहरु प्रशासन, पुलिस, कानुनविद आदि स्वयं यही सोच्दछन्, समर्थन समेत गर्दछन् र यसैमा रमाउने गर्दछन् । तर डा. सेनले सन् १९९० मा प्रकाशित आफ्नो लेखमा महिला वेपत्ता पारिनुमा भ्रुणहत्या बारे उल्लेख नगरी महिला हराउनुका अन्य कारणहरु माथि जोड दिएका छन् ।

पितृसत्तात्मक समाजिक ब्यबस्था भएको कारण चिनिया संस्कृतिमा छोरोको महत्व उच्च रहने गरेको पाइन्छ, त्यसमाथि अझ एक बच्चा नीतिका कारण यस क्षेत्रमा छोरी भ्रुण हत्या अत्यधिक हुने गरेको पाइएको छ । एक तथ्याङ्क अनुसार चीनमा बर्षोनी एक मिलियन भन्दा बढि छोरी भ्रुण हत्या हुने गरेको छ । पत्रकार माराका अनुसार जनसंख्या नियन्त्रणका लागि चीनमा "...... ति म्रो दोस्रो गर्भलाई तुहाउन सक्छौ, गिराउन सक्छौ तर जन्म दिन सक्दैनौ..." भन्ने गरिन्छ । डा. सेन भन्छन्, चीनमा एक बच्चा नीति परीवर्तन गरी दुइ बच्चा नीति ल्याउने हो भने लैङ्गकि अनुपात उल्लेख्य रुपमा बढ्न सक्छ । पहिलो गर्भको शिशुले स्वतन्त्रतापूर्वक जन्म लिने अधिकार पाउने र महिला संख्या बृद्धि उनको ठम्याइ छ । तर छोरी शिशु हत्या पितृसत्तात्मक समाजमा इतिहासदेखि नै प्रचलनमा रहेकोले छोरी भु्रण हत्या यसकै परीस्कृत रुप हो, जसबाट तत्काल मुक्ती पाउन असम्भवप्राय छ ।

२. छोरी शिशु हत्याः शिशु जन्मिएपछि लिङ्ग पहिचान गरी छोरी जन्मेको भए छोरी भएकै कारण उसको अस्तित्व समाप्त गरिने कुकार्यलाई छोरी शिशु हत्या भनिन्छ । यो कुप्रचलन तथा जघन्य अपराध विश्वका सबै देशमा नभए पनि उच्च पितृसत्तात्मक समाज ब्यबस्था र छोरालाई उच्च मान्यता दिने प्रचलन भएका समाज तथा देशमा बढी प्रचलनमा रहेको पाइन्छ । यसका साथै सीमित सन्तान जन्माउने बाध्यात्मक र प्रोत्साहनमूलक नीतिले पनि छोरी भ्रुण तथा शिशु हत्यालाई बढवा दिएको छ । मुख्यरुपमा यो प्रचलन एशियाका भारत र चीनमा एक तथा सीमित सन्तान नीति, उच्च पितृप्रधान समाज र छोरीको तुलनामा छोरालाई बढी महत्व दिने संस्कृतिका कारण यो प्रचलन बढी व्यवहारमा रहेको पाइन्छ । यी समाजमा छोरालाई सम्पत्ति र छोरीलाई दायित्वको रुपमा लिनुका साथै छोरी माथि लगानी गर्नु भनेको छिमेकीको विरुवामा पानी हाल्नु हो जसले केही फल दिदैन भन्ने मान्यता राख्ने गरिन्छ । सन् २०१२ को एक तथ्याङ्कअनुसार अधिकांश शिक्षित मानिएका भारतको केरला प्रान्तमा मात्र वर्षमा २५ हजार छोरी शिशुको हत्या हुने गरेको छ । चीनको हकमा यो तथ्याङ्क अझ डरलाग्दो रहेको पाइएको छ । चीनमा हरेक वर्ष दसौं हजार छोरी शिशुहरुको हत्या हुने गरेको छ । गाउँघर तिर गर्भवती महिलाहरुलाई सुत्केरी गराउन सहयोग गर्ने सुसारेहरुलाई छोरी जन्मीए छोरी भएकै कारण हत्या गर्न आदेस दिइन्छ र छोरीको हत्या गरे वापत सामान्य पारीश्रमिक भन्दा पचास प्रतिसत बढी दिइन्छ भने यसको बिपरीत छोरो जन्मीयो भने खुशीयाली मनाउने र बक्सीस दिने गरिन्छ । भारतका केही प्रान्तहरुमा सुत्केरी गराउने र छोरी शिशु मार्ने ब्यबसाय नै अंगालेर बसेका समुदायहरुको अवशेष अझै पाइन्छन् जसलाई कुरीमार तथा छोरीमार भन्ने गरीन्छ । छोरी जन्माउने आमाहरु आफ्ना छोरी मार्न सहमत नहुने भए पनि परीवारका सदस्यहरुले दबाव, शर्त र धम्की दिएर आमाहरुलाई नै छोरी जन्मीने बित्तिकै छोरी शिशुको घाँटी थिचेर, बिष चटाएर, सास थुनेर यो अमानविय कार्य गर्न बाध्य गराइन्छ । यद्दपी आजकल सरकारी र बिभिन्न गैरसरकारी सस्थाहरुको सक्रियता र पुलिस केश बन्ने कारणले गर्दा यो कुकर्म उति प्रचलनमा रहेको पाइदैन । तर अझै पनि छोरीको जन्म दर्ता नगरीने र लुकीछीपी हत्या गर्ने गरेको पाइएको कारण छोरी शिशु हत्याको वास्तवीक तथ्याङ्क पाउन असहज भएको पाइन्छ ।

३. दाइजो हत्याः छोरीलाई विवाह गरी दुलाहाको घर पठाउदा दिइने नगद तथा जिन्सी सम्पत्तिलाई दाइजो भनिन्छ । मुख्यतया दाइजो प्रथा एशियाका विभिन्न समाजहरुमा रहेको पाइन्छ । सन् २०१२ को एक तथ्याङ्क अनुसार भारतमा मात्र बर्षमा २५ हजार नवविवाहित महिलाहरुको दाइजो नपुगेको तथा नपाएको कारणले हत्या गर्ने गरिन्छ र उक्त घटनालाई आत्महत्या तथा दुर्घटनाका रुपमा प्रमाणित गरी त्यतिकै दवाइन्छ । भारत र नेपालका तर्राईका जिल्लाहरुमा दाइजो हत्याको समस्या व्यापक रुपमा रहेको तथ्याङ्कले देखाएका छन् र यो क्रमले दिन प्रति दिन अझ बढ्दै र विकराल रुप लिदै गैरहेको छ । यद्यपि कानूनी रुपमा दाइजो लिनु तथा दिनु गैरकानूनी मानिन्छ तर यो नियम कानूनको उचित पालना नहुनाले समाजमा खुलेआम दाइजो हत्या भैरहेका छन् ।

४. वालिका मृत्युदरः विश्वका धेरैजसो समुदाय पितृसत्तात्मक र यी समुदायमा छोरालाई बढि महत्व दिने र छोरीलाई दाइत्वको रुपमा लिने र बिभेद गर्ने गरिन्छ, फलस्वरुप वालकको तुलनामा वालिकाहरुको मृत्युदर अधिक हुने गरेको छ । युनिसेफ, २००७ को तथ्याङ्क अनुसार वालकको तुलनामा ४० प्रतिशत बढि बालिकाहरु ५ वर्षनपुग्दै मर्ने गर्दछन् । वालक र वालिकाको हुकाईमा गरीने बिभेदका कारण वालिका मृत्युदर अत्यधिक हुने गरेको उक्त तथ्याङ्कले देखाएको छ । खासगरी वालिकाको स्वास्थ्य उपचारमा वास्ता नगरीने तथा उपचार नगराइने, पौष्टिक आहार नखुवाइने र उचित हेरबिचार नगरीने आदीमा बिभेद गर्ने गरीएको पाइन्छ ।

५. मातृ मृत्युदरः आमा बन्ने अवस्थामा रहेका महिलाहरु गर्भ तथा प्रजनन् सम्बन्धी समस्याका कारण मर्ने अवस्तालाई मातृ मृत्यु भन्ने गरिन्छ । मातृ मृत्युदर बिकसित मुलुकहरुको तुलनामा बिकासशिल मुलुकहरुमा अधिक रहने गरेको बिभिन्न तथ्याङ्कहरुले देखाएका छन् । मातृ मृत्युदर बढी हुनुमा खास गरी वालविवाह, लगातार गर्भ, गर्भअवस्थामा वेस्याहार, लगातार गर्भपतन, हरेक पक्षमा पुरुष महिलामा बिभेद आदि प्रमुख कारण रहने गरेका छन् । एक तथ्याङ्क अनुसार विश्वमा हरेक ९० सेकेन्डमा एक महिलाको गर्भ तथा प्रजनन् सम्बन्धी कारण मृत्यु हुने गरेको छ । विश्का बिभिन्न समुदायहरुमा अझै पनि महिलाहरुलाई प्रयोग गरेर फ्याक्ने वस्तुका रुपमा , छोरो जन्माउने मिसीनका रुपमा लिने गरीन्छ र उनीहरुको चाहना, स्वतन्त्रता, अधिकार, स्वास्थ्यको खासै विचार गरीदैन । यी समाजहरुमा यस्तो प्रक्रिया इतिहास देखिनै चल्दै आएकोले यसलाई सामान्य रुपमा लिने गरीन्छ जसको निर्मुलिकरण उति सहज छैन ।

अन्य कारणहरु
आम मानिसहरुको बुझाई लैङ्गकि हत्या पछाडि गरिवी र अशिक्षाको कारण रहेको छ तर विभिन्न समयमा गरिएका खोज तथा अनुसन्धानहरुले देखाएको परिणाम उक्त बुझाइको ठिक विपरित पाइएको छ । एक तथ्याङ्कअनुसार अधिकांश छोरी भ्रु ण हत्या जाने बुझेका, शिक्षित र सम्पन्न तथा उच्च वर्गमा हुने गरेको पाइएको छ जसको औषधी उपचार र अस्पतालसम्म सहज पहुँच रहेको हुन्छ । यसो गर्नुको कारणमा उनीहरुको समाजको दाइजो कुप्रथा, छोराको उच्च मान्यता र महिलाको सशक्तिकरण रहेको बताउँछन । पत्रकार माराका अनुसार महिला सशक्तिकरणले लैङ्गकि हत्यामा बढावा दिएको छ । सशक्त महिलाहरु कम बच्चा जन्माउन चाहन्छन् र समाज र संस्कृतिको दवावका कारण उनीहरुको पहिलो रोजाई छोरो नै हुने गर्दछ र छोरो जन्माउनका लागि उनीहरु ब्ारम्बार लिङ्ग पत्ता लगाई छोरीको भ्रुणको हत्या गरेर आफ्नो अधिकारको दुरुपयोग गर्दछन् । उनका अनुसार महिलाहरुको सहजताका लागि ल्याइएको गर्भपतन आज आएर महिलाहरुकै लागि दुर्भाग्य सावित भएको छ । महिलाको स्वास्थ्य, उज्जल भविश्य, सशक्तिकरण, स्वतन्त्रता र सहज जीवनका लागि महिलालाई गर्भपतन अधिकार दिइनु पर्ने आवाज सन् १९७६ देखि उठाइएको थियो र सन् १९९० को दशकमा यो अधिकार प्रदान गरिएको थियो ।

यसका परिणमहरु
नारीवादीहरुका अनुसार छोरी भ्रुण हत्याको रोकथाममा अझै उति ध्यान दिएको छैन जसको परिणाम पछि कहाली लाग्दो र सम्हाल्न नसकिने हुनेछ । विभिन्न कारणले महिला हराउने क्रम कायमै रहेको र पुरुष र महिलाको लैङ्गकि अनुपातमा उल्लेख्य अन्तर आएको कारण विश्व भरी नै महिला माथि विभिन्न हिंसा हुने गरेका छन् । लामो अवधिमा यसले अझ कहाली लाग्दो दुर्घटना निम्त्याउने देखिन्छ । कूल जनसंख्याबाट महिलाहरुको ठूलो संख्या बेपत्ता पारिएकै कारण विश्वभरी नै यसका विभिन्न परिणाम महिलाहरुले भोग्नु परिरहेको छ । महिलाहरु बेपत्ता पारिएको परिणामको भार पुनस् महिला माथि नै पर्ने गरेको छ र यसले अझ अपराध बढाएको छ । बलत्कार, बेश्याबृत्ति, महिला असुरक्षा, महिला तस्करी, महिला अपहरण, दुलही बेचबिखन आदि यसका परिणाम रहेको पाइन्छ । युएनको एक अध्ययन अनुसार भियतनाम, म्यानमार र उत्तर कोरीयाबाट महिला तस्करी गरी चीन, ताइवान, दक्षिण कोरीयामा लगिन्छ र दुलहीका रुपमा बिक्री गर्ने गरीन्छ । छोरा धेरै हुने गरिव परिवारले धेरै दुलही किन्न नसक्ने हुनाले एउटा दुलही किनेर सबै दाजुभाइहरुले उक्त महिलालाई श्रीमतीको रुपमा प्रयोग गर्ने गर्दछन्, यति मात्र नभइ कसैकसैले त नातेदार छिमेकीलाई समेत उक्त महिलालाई श्रीमतीको रुपमा प्रयोग गर्ने अनुमति दिन्छन्, जसको कारण महिलाको स्वास्थ्य, स्वतन्त्रता, अधिकार सबै बन्धक हुन पुगेको छ र महिला केवल यौन वस्तु र सन्तान उत्पादन गर्ने मिसिनका रुपमा सिमित भएकी छिन् ।