डा. सिर्जना भण्डारी*
ग्रामीण क्षेत्रमा अनुसन्धानको क्रममा पंक्तिकारले अनुभव गरेको प्राथमिक तथ्याङ्कको खोज तथा परिणाममा आधारीत लैङ्गिक असमानता तथा सामाजिक विभेदका केही नकारात्मक यर्थाथहरु मध्य एक यहाँ प्रस्तुत गर्न चाहें ।
सन १९६० मा पहिलोपटक राजनीतिक गतिविधिकालागि सशक्तीकरण शव्दको प्रयोग गरीएको थियो र विगत तीन दशकयता लैङ्गिक समानता र महिला सशक्तीकरणमाथिको वहसले प्राथमिकता पाइरहेको छ। विश्व बैंक(२००१)का अनुसार, महिलाहरुले आफ्ना क्रियाकलाप तथा चाहनाहरुको छनौटको स्वतन्त्रता प्राप्त गर्नु महिला सशक्तीकरण हो, यसले उनीहरुको जिवनसंग सम्वन्धीत निर्णय क्षमता, अधिकार, श्रोत–साधनमाथि नियन्त्रणमा वृद्धि गरी सक्षम र आत्मनिर्भर बनाउन सहयोग गर्छ। यू.एन. ओमेन (२०१६)का अनुसार प्रभावकारी दिगो विकास हासिल गर्न आवश्यक आर्थिक तथा सामाजिक रुपान्तरणका प्रमुख घटक हुन् महिलाहरु, तर लैङ्गिक असमानता र सामाजिक विभेदकाकारण विभिन्न चुनौतीको सामना गरीरहेका छन्। लैङ्गिक समानता तथा महिला सशक्तीकरणले केवल व्यक्ति, परिवार तथा समुदायको उन्नतीमात्र नभइ मुलुकको समग्र आर्थिक तथा सामाजिक प्रगतीमा योगदान पुर्याउँछ र विकासमा महिला सहभागिता बढाउँछ।
महिला सशक्तीकरण वहुआयामिक प्रक्रिया हो र यसको स्वरुप ब्यापक भएकोले आर्थिक, सामाजिक, राजनीतिक जनजिवनका विभिन्न पक्षहरुसंग यसको अन्तरसम्बन्ध रहेको हुन्छ र एकले अर्कालाई परस्पर प्रभाव पारीरहेका हुन्छन्। महिला सशक्तीकरणका प्रक्रियाहरु महिलाका विभिन्न अवस्था तथा पक्षहरुसंग अन्तर–सम्वन्धीत हुन्छन्, जस्तो राज्यका नीति–नियम, तिनको कार्यान्वयन र इच्छाशक्ती, सामाजिक तथा आर्थिक अवस्था, शिक्षा–सिप–तालिम, पोषण–स्वास्थ्य आदी। सांस्कृतिक भु–मण्डलीकरणको प्रभाव र आधुनिक जिवनशैलीकाकारण केही महिलाहरु लैङ्गिक असमानता तथा सामाजिक विभेदको कुप्रभावबाट मुक्त भएका र उनीहरुको शिक्षा, पोषण, स्वास्थ्य, स्वतन्त्रता, आर्थिक तथा सामाजिक अवस्थामा सामान्य सुधार आएको भएपनि अधिकांश (खासगरी ग्रामीण क्षेत्रका) महिलाहरुको समग्र जनजिवनमा अझै लैङ्गिक असमानता र सामाजिक विभेद कायमै छ, यद्धपी असमानता तथा विभेदको दायरा समुदाय र संस्कृति अनुसार फरक–फरक पाउन सकिन्छ, जसको प्रत्यक्ष तथा अप्रत्यक्ष नकारात्मक प्रभाव महिलाहरुको पोषण र स्वास्थ्य अवस्थामा परीरहेकोछ र आवश्यक पोषण र स्वास्थ्य उपचारमा हुने विभेदको नकारात्मक प्रभाव महिलाहरुको स्वास्थ्य, प्रजनन्, सक्रियता र समग्र व्यक्तित्व विकासमा परीरहेको छ।
महिलाहरुको पोषण र स्वास्थ्यमा परिवार, समाज तथा राज्यद्धारा पर्याप्त चासो र प्राथमिकता नदिइएको र पोषणलाई महिलाको स्वास्थ्य, प्रजनन् क्षमता र सक्रिय जिवनसंग जोडेर जागरण गराउने कामले गतिलिन नसकेकोकारण महिलाहरुको समग्र स्वास्थ्य तथा प्रजनन् क्षमता कमजोर हुने भएकोले उनीहरुबाट जन्मीने भावीपुस्ताको स्वास्थ्य र विकासमा समेत नकारात्मक प्रभाव पारीरहेको छ। स्वस्थ्य र सक्रिय मानव श्रोत राज्यको आवश्यकता भएकोले यसतर्फ राज्यको ध्यानाकर्षण हुनु जरुरी छ। यसकासाथै, पोषण तथा स्वास्थ्यले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महिलाहरुकोे शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्था, कार्यक्षमता तथा कार्यदक्षता, सक्रियता, साहस, आत्मविश्वास जस्ता गतिविधिहरुमा प्रभाव पार्दछ। शारीरीक तथा मानसिक रुपले स्वस्थ्य महिलाहरु हरेक किसिमले सक्रिय र उर्जावान हुन्छन् र परिवार, समाज र राज्यको उन्नतीमा विभिन्न तवरले योगदान पुर्याउन सक्छन् भने पोषण तथा स्वास्थ्यमा विभेदकाकारण हुने कमजोर स्वास्थ्य र मानसीक अशान्तिले महिलाहरुको समग्र स्वास्थ्य, व्यक्तित्व विकास, कार्यक्षमता, साहस, आत्मविश्वास, दृष्टिकोण तथा सक्रिय जिवनमा गहिरो प्रभाव पार्दछ।
समुह छलफलमा सहभागी महिलाहरुद्धरा व्यक्त भनाई अनुसारः
ग्रामीण स्वास्थ्य स्वयंसेविका(४६)को विचारमाः पुरुषको दाँजोमा महिलाहरु पछाडि पर्नुका धेरै कारणहरु मध्य उनीहरुको शरीरको फरक तर समवेदनशील प्राकृतिक वनावट तथा प्रजनन् क्षमता प्रमुख कारण हो। महिलाहरुले जिवनको महत्वपूर्ण र उर्जाशील समय प्रजनन् र यससंग सम्वन्धीत कार्यहरुमा खर्चिन बाध्य हुनुपरेकोकारण व्यक्तित्व विकासका महत्वपूर्ण अवसरहरु गुमाउँछन्। यस सम्बन्धमा जसोतसो महिलाहरुले सम्झौता गरेकैछन् तर यो भन्दा ठूलो समस्या महिलाहरुको यस्तो विषेश परिस्थितीमा आवश्यक पोषण तथा स्वास्थ्य जस्तो महत्वपूर्ण पक्षहरुमा ख्याल नगरीनु हो। महिलाहरुको किशोरावस्थामा हुने प्रजनन् अंगको विकास, नियमित महिनावारी, युवावस्थामा गरीने गर्भधारण, सुत्केरी र स्तनपान आदि अवस्थामा पोषण तथा स्वास्थ्यबारे विशेष ख्याल राख्नुपर्छ, जुन महिलाहरुको प्राकृकि अधिकार पनि हो। यो उत्तरदाइत्व व्यक्ति, परिवार, समाज तथा राज्य सवैको हो किनकी वच्चा परिवार, समाज र राज्य सबैकालागि हो। विषेशगरी ग्रामीण क्षेत्रका महिलाहरु यो अधिकारबाट बन्चीत छन् र यसो हुनुमा समाजमा जरा गाडिएको चरम लैङ्गिक असमानता तथा सामाजिक विभेद जिम्मेदार छ। नेपाल ग्रामीण मुलुक हो र यहाँका ८० प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा वसोवास गर्छन्, त्यसमा महिलाको संख्या धेरै रहेकोछ । यो सत्य हो कि ग्रामीण विकासविना मुलुकको विकास सम्भव छैन र लैङ्गिक समानता तथा महिला सशक्तीकरणविना ग्रामीण विकास सम्भव छैन। तसर्थ, सक्षम महिला र प्रभावकारी महिला सशक्तीकरणकालागि ग्रामीण महिलाहरुको पोषण तथा स्वास्थ्यमा विशेष प्राथमिकता दीइनुपर्छ। राज्यद्धारा सबैलाई उत्तरदायी बनाउने प्रभावकारी नीति तथा कार्यक्रमहरु ल्याएर यस समस्याको समाधान गर्न सकिन्छ।
सहभागीहरुकै अनुसार, ग्रामीण महिलाहरुको पोषण र स्वास्थ्यको अवस्था सन्तोसजनक नभएको सर्वविदित छ, यसो हुनुमा अज्ञानता, अचेतना, गरिवी, सामाजिक तथा सांस्कृतिक चालचलन, पितृसत्तात्मक सोच, महिलाहरुको पिछडापन तथा दोस्रो दर्जा आदि रहेको छ। खासगरी उसस्थित महिलाहरुमा केही छोरी र ठूलो संख्यामा बुहारीहरुले पोषणमा महिला पुरुष वीच भेदभाव हुनेगरेको बताएका थिए। प्रजनन् अंगहरुको विकास हुने समयमा, महिनावारीको बेलामा आमा–वावालेनै छोरा/छोरीको खानपानमा विभेद गर्ने, छोरीहरुको स्वास्थ्य खासगरी प्रजनन् स्वास्थ्य उपचारमा वेवास्ता गर्ने र जिम्मेदारी पन्साउन सानै उमेरमा छोरीहरुको विवाह गरिदिने र विवाहपछि श्रीमानको घरमा पनि उही नियती दोहारीरहनेकारण आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको र धेरै अवसरहरुबाट विमुख हुनुपरेको कुरा समुह छलफलमा सहभागी अधिकांस महिलाहरुले बताएका थिए। विवाहपछि स्कुल तथा पढाइ छुटाइएको, लगातार गर्भवती भएको, गर्भावस्थामा कुटपिट भएको, पर्याप्त पोषण र आवश्यक स्वास्थ्य उपचार नपाएको, छोरी जन्मदा झन वेवास्ता गरीएकोले शरीर कमजोर र रोगी भएकोकारण अहिले साक्षरता, सामाजिक जागरण, समुहमा सहभागीता र नेतृत्व, आय–आर्जनका तालिम आदीको अवसर पाएपनि त्यसको फाइदा लिन पूर्ण सक्षम नभएको गुनासो सबैले गरेका थिए।
समुह छलफलमा एकावती देवी (४१ वर्ष, नाम परिवर्तन)ले अधिकांस महिलाहरुको प्रतिनिधित्व गर्दै भनिनः पाँच कक्षासम्म पढेको थिएं तर अहिले नाम लेख्न पनि आउँदैन, श्रीमानले बि.ए. पास गर्नुभएकोछ तर नजानेको कुरा सोध्यो भने गवार भैंसी, अव किन पढ्नुपर्यो! भन्नुहुन्छ। दिदी–बहिनीहरु स्वयं सहायता समुहको अध्यक्षता गर्नु भन्नुहुन्छ तर मेरो पाठेघरको विमारीले शरीर कमजोर भएकोकारण मसित अध्यक्षता गर्नसक्ने क्षमता र आत्मविश्वास छैन, पाँच वटा वच्चाहरु छन्, उनीहरुलाई स्कुल पठाउँछु, घरमा धेरै काम आफैंले गर्नुपर्ने भएकोले समयले भ्याउदैन। सासू र श्रीमानले पनि घरको काम गर तालिम–सालिम लिनु पर्दैन भन्नुहुन्छ। पाठेघरको उपचार गरौं भन्दा दुखेको छ र! नदुखीकन किन पैसा नुक्सान गर्ने भन्नुहुन्छ।
एस.एल.सी गरेकी शितल यादव (२४ वर्ष, नाम परिवर्तन) भन्छिन्ः हाम्रो समाजमा लैङ्गिक विभेदकाकारण महिलाहरुको आधारभूत आवश्कताहरु– शिक्षा, पोषण तथा स्वास्थ्य उपचारमा वेवास्ता गरीएकोले महिलाहरु शारीरीक तथा मानसीक रुपले अस्वस्थ्य छन् र चेतनाको पनि अभाव रहेकोछ। अधिकांश अस्वस्थ्य महिलाहरुमा व्यक्तित्व विकास तथा सशक्तीकरणका अवसरहरु पाएपनि उनीहरुमा हीन भावना, कमजोर मनोविज्ञान, आत्मविश्वासको कमी, जाँगर, उत्साह तथा साहसको कमी, निरीह तथा प्रतिकार क्षमतामा कमी, जिवन प्रति निरासा, परिवारमाथि बोझको अनुभूति भएको पाइन्छ। यस्तो अवस्थामा महिलाहरुले सही समयमा उपयुक्त किसिमले व्यक्तित्व विकास गर्न सक्दैनन् र परिणामस्वरुप शिक्षाको गुणस्तर, रोजगारी, व्यापार, व्यवसायमा सफलाता हासिल गर्न सक्दैनन् र आर्थिक, सामाजिक तथा राजनीतिक रुपले संधै पछि पारीइरहन्छन्।
सहभागीहरुको निष्कर्ष अनुसार– महिला सशक्तीकरण सम्बन्धी राज्यका नीति तथा कार्यक्रमहरुमा प्रभावकारीता ल्याएर; व्यक्ति (खासगरी पुरुष), परिवार, समाजमा पोषण र महिलाहरुको स्वास्थ्य तथा प्रजनन् क्षमता र यसले उनीहरुको समग्र व्यक्तितत्व विकासमा पार्नसक्ने असरबारे प्रभावकारी जागरण ल्याएर; विद्यालयस्तरका पाठ्यक्रमहरुमा यस सम्वन्धी विषयहरु समावेश गरेर; पोषणको खाद्यन्न र कृषिसंग प्रत्यक्ष सरोकार भएकोले कृषिको विकास, खाद्यान्न विविधिकरण, खाद्यान्न संरक्षण, गुणस्तर व्यवस्थापन र खानपानमा सुधार गरेर महिला सशक्तीकरणमा पोषण तथा स्वास्थ्यको महत्व र भूमिका प्रभावकारी बनाउन सकिन्छ।bsirjana@gmail.com
*(ग्रामीण महिला सशक्तिकरणमा पि.एच.डी., हाल वेइजिङ, चीन)
*(ग्रामीण महिला सशक्तिकरणमा पि.एच.डी., हाल वेइजिङ, चीन)