'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Sunday, 31 December 2023

स्नायु भाषा प्रणाली, योग अभ्यास तथा प्राणायाम र ध्यान साधना विचको अन्तर-सम्वन्ध

Inter-Relationship between NLP, Yoga-Aashan, Pranayam and Meditation

                                                       डा. सिर्जना भण्डारी

   


विषय प्रवेश

समग्रमा स्नायु भाषा प्रणाली अर्थात न्यूरो-लिंगुवीस्टीक प्रोग्रामिगं(एन.एल.पी.), योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाको प्रमुख उदेश्य व्यक्तिको सोच तथा व्यवहारमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याइ उसको आन्तरीक अनुभव तथा अनुभूतिहरुलाई प्रभावकारी ढंगले एक विशेष दिशा प्रदान गर्नु हो र उ भित्र लुकेर रहेका विविध क्षमताहरुको कलात्मक रुपले विकास गर्नु हो। सर्वसाधारण व्यक्तिहरुको सोच तथा व्यवहारमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन र योग अभ्यास तथा प्राणायाम र सामान्य तथा भावातीत ध्यान साधनामा कुशलतापूर्वक मार्गदर्शन प्रदान गर्न योगगुरु तथा प्रशिक्षकहरुले व्यापक रुपमा एन.एल.पी.का विधिहरुको प्रयोग तथा सहयोग लिने गर्दछन्। त्यसैगरि एन.एल.पी.द्वारा व्यक्तिहरुको सोच तथा व्यवहारमा चाहे अनुरुपको सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन एन.एल.पी. का प्रशिक्षकहरुले पनि योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाका विधिहरुको प्रयोग तथा सहयोग लिने गर्दछन्। यसरी एन.एल.पी., योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाको अभ्यासबाट चुस्तदुरुस्त भएको व्यक्ति जीवनका सबै क्षेत्रहरुमा सहजै सफलता तथा सुफलता हासिल गर्न सक्छ र अमूल्य जीवनको गहिराइ बुझेर सबैकालागि लाभदायक हुनेगरि अत्यन्तै सार्थककताले भरिएको जीवन जीउन सक्षम हुन्छ।


एन.एल.पी. के हो?

नेपाली भाषामा एन.एल.पी.को शाव्दीक अर्थ मानव मस्तिष्कको भाषा व्यवस्थापन हो। यस अन्तर्गत मानिसको दिमागमा हरवखत अनावश्यक रुपमा चलिरहने अनगीन्ती सकारात्मक तथा नकारात्मक विचारहरुलाई एन.एल.पी.का विशेष विधिहरुको प्रयोग गरेर व्यक्तिको तात्कालिक व्यवहारीक आवश्यकता अनुसारका विचारहरुलाई प्राथमिकतामा राखेर ति विचारहरुलाई सम्वन्धित व्यक्तिको जीवनमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक हुने गरि उपयुक्त किसिमले कार्यक्रम व्यवस्थापन अर्थात प्रोग्रामिगं गरिन्छ र यसो गर्न सम्भव छ किनकी मानव मस्तिष्कले पनि कम्प्युटर, मोवाइल तथा अन्य डिजिटल डिभाइसका सफ्टवेयर तथा याप्लिकेशनहरुले जस्तै गरि काम गर्दछ भन्ने तथ्य यस क्षेत्रमा गरिएका विभिन्न खोज तथा अनुसन्धानहरुले वैज्ञानिक ढंगबाट प्रमाणित गरिसकेका छन् एन.एल.पी.मा पनि व्यक्तिको शरीर, मस्तिष्क, मन, तथा जीवनलाई ह्याक तथा डिलिट गर्न, कोडिगं तथा रिकोडिगं र प्रोग्रामिगं तथा रिप्रोग्रामिगं गर्न सकिन्छ र एक व्यक्ति तथा समुहमा सफल भएको विधि अरु व्यक्ति तथा समुहमा सहजै प्रयोग गरेर सकारात्मक उपलव्धि हासिल गर्न सकिन्छ।

 

यद्धपि एन.एल.पी.ले व्यक्तिहरुमा ल्याएका सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन तथा उपलब्धिहरुलाई वैज्ञानिक रुपले तथ्यगत मान्यता भने दिइएको छैन किनकी यस्ता परिवर्तन तथा उपलब्धिहरु मानिसको व्यक्तिगत तथा आन्तरीक अनुभव तथा अनुभूतिहरु हुन र व्यक्तिपिच्छे यस्ता अनुभव तथा अनुभूतिहरु फरक-फरक हुने भएकाले सही ढंगले यि अनुभूतिहरुको मापन गर्न तथा आमरुपमा सामान्यीकरण गन सकिदैन भन्ने तर्क दिने गरिन्छ। तर पछिल्लो चरणमा एन.एल.पी. ले व्यक्तिमा ल्याएका सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन तथा उपलब्धिहरुलाई पनि वैज्ञानिक रुपले तथ्यगत मान्यता प्रदान गराउने प्रयासहरु भैरहेका छन्। विश्वभरका एन.एल.पी. विशेषज्ञहरुले संज्ञानात्मक व्यवहार थेरापी [Cognitive Behavioural Therapy (CBT)] तथा भावातीत ध्यान [Transcendental Meditation(TM)] र न्यूरो-लिंगुवीस्टीक प्रोग्रामिगं [Neuro-Linguistic Programming (NLP)] यि तीनवटै विषयका विधिहरुले व्यक्तिको आन्तरीक सोच, भाव तथा व्यवहारहरुमा एकै किसिमले काम गर्ने तथा परिवर्तन ल्याउने काम गर्दछन् भन्ने दावी पेश गर्दै आइरहेका छन् र उनीहरुको यो दावी सत्य हो। व्यक्तिहरुमा एकै किसिमले प्रभाव पार्ने तथा काम गर्ने CBT र TM ले तथ्यगत वैज्ञानिक मान्यता पाएका छन् किनकी यस क्षेत्रमा निकै लामो समयदेखि आधुनिक चिकित्सा विज्ञानको प्रत्यक्ष समलग्नतामा व्यापक खोज तथा अनुसन्धानका कामहरु चलिरहेका छन् र यिनै खोज तथा अनुसन्धानहरुको बलमा CBT तथा TM का विधिहरुको माध्यमबाट व्यक्तिहरुमा आएका विभिन्न सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन तथा उपलब्धिहरुले तथ्यगत वैज्ञानिक मान्यता पाएका हुन् किनकी यि परिवर्तन तथा उपलब्धिहरुले मानिसको शारीरिक तथा मानसिक स्वाश्थ्य, सोच, भाव, व्यवहार, सुख, खुशी, शान्ति, आनन्द, सफलता, सम्वन्ध, आन्तरीक रुपान्तरण, भावातीत अनुभूति, तथा सबै किसिमका संज्ञानात्मक व्यवहारहरु... आदि क्षेत्रहरुमा थुप्रै प्रामाणिक तथ्यहरु देखाएका छन्। सन् १९७० मा Richard Bandler  John Grinder द्वारा विकास गरिएको नयाँ कार्यविधि एन.एल.पी.का विशेषज्ञहरुले एन.एल.पी.को क्षेत्रमा व्यापक खोज तथा अनुसन्धानका कार्यहरु अघि बढाएर यसलाई पनि तथ्यगत वैज्ञानिक मान्यता प्रदान गर्न सकिने बलियो तर्क पेश गर्दै आएका छन् र यसो गर्न सके निकट भविश्यमै एन.एल.पी.का सरल तथा सहज विधिहरुका माध्यमबाट अधिकाधिक  मानिसहरुलाई प्रशिक्षित गरि यसबाट उनीहरुमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन र एन.एल.पी.लाई तथ्यगत वैज्ञानिक मान्यता प्रदान गर्न तथा गराउन सकिनेमा कुनै शंका छैन।


एन.एल.पी. किन गरिन्छ?

व्यक्तिमा यथास्थितिमा चलिरहेका विविध सोच तथा व्यवहारहरुमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन एन.एल.पी.को अनुशरण गर्ने गरिन्छ। एन.एल.पी.का विधिहरुको प्रयोग गरेर व्यक्तिका सबै किसिमका शारीरिक तथा मानसिक स्वाश्थ्य, सोच, विचार, व्यवहार, भाव, सुख, खुशी, शान्ति, आनन्द, अनुभव, अनुभूति, सफलता, पेशा, व्यवसाय, सम्वन्ध आदिमा आवश्यकता अनुसारको सकारात्मक विकास गर्न सकिन्छ जसले मानिसको समग्र जीवनमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन मद्धत गर्दछ। मूलरुपमा एन.एल.पी.ले मानिसको मस्तिष्क/दिमाग तथा मन नै प्रमुख हो, मस्तिष्क तथा मनबाट उत्पन्न हुने सोच तथा विचारहरुले नै हाम्रो सम्पूर्ण जीवन संचालित भैरहेको हुन्छ र मस्तिष्क तथा मनलाई व्यवस्थित गर्न सके जीवनमा इच्छ्याइएको सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यता राख्दछ। तसर्थ यसकालागि एन.एल.पी.ले मानवका सोच तथा व्यवहारका स्वरुपहरु तथा उसका अनुभवहरुको संरचनाबारे अध्ययन गर्दछ। यसले मानवका सोच तथा व्यवहारको स्वरुप र उसका अनुभव तथा अनुभूतिहरु पत्ता लगाएर मानिसमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउनकालागि कस्तो विधि अनुसरण गर्ने भन्ने पत्ता लगाउँछ र त्यहि अनुरुप काम गर्दछ। वास्तवमा जीवनमा इच्छ्याइएको परिणाम हासिल गर्नकालागि एन.एल.पी. सैद्धान्तिक ज्ञान मात्र लिने विषय होइन, सैद्धान्तिक ज्ञान लिएर आफूमा यसका विधिहरुको प्रयोग गरेर आन्तरीक रुपमा आफूभित्र आएको सकारात्मक परिवर्तन प्रत्यक्ष अनुभव तथा अनुभूतिहरु संगाल्ने विषय हो। आफूमा आएका सकारात्मक परिवर्तनका उपलव्धिहरु संगाल्न सके मात्र एन.एल.पी.को वास्तविक प्रभाव तथा महत्व बुझ्न सकिन्छ र आफ्ना अनुभव तथा अनुभूतिहरुको उदाहरण प्रस्तुत गरेर त्यस्ता सकारात्मक उपलव्धिहरु अरुलाई सुनाउन र अरुमाथि प्रयोग गर्न तथा गराउन र उनीहरुमा पनि सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। 


एन.एल.पी. कसरी गरिन्छ?

कुनै संस्था तथा प्रशिक्षकसंग प्रशिक्षण लिएर तथा आफू स्वयंले आफैंमाथि एन.एल.पी.का विधिहरु प्रयोग गरेर आफ्नो समग्र जीवनमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन सकिन्छ। संस्थामा जोडिएर तथा प्रशिक्षकबाट एन.एल.पी.का विधिहरु लिंदा त्यहाँबाट क्रमवद्ध किसिमले व्यक्तिको आवश्यकता तथा विषय अनुसारका एन.एल.पी.का विधिहरु उपलव्ध गराइन्छन् तर आफू स्वयंमले आफूमाथि एन.एल.पी.का विधिहरु प्रयोग गर्ने हो भने यसकालागि सर्वप्रथम आफूले तत्कालीन तथा दिर्घकालीन रुपमा के हासिल गर्न चाहेको हो अर्थात आफ्नो प्राथमिक उदेश्य के हो यसको पहिचान गर्नु पर्दछ र उक्त उदेश्य हासिल गर्न के कस्तो कदम चाल्नु आवश्यक छ त्यसबारे स्पष्ट हुनु पर्दछ र आफ्नो उदेश्यमा अघि बढ्न एन.एल.पी.का विभिन्न विधिहरु मध्य आफूलाई पयोगी  हुने किसिमका विधिहरुको पर्याप्त अध्ययन गरेर आफ्नो उदेश्य प्राप्तिकालागि सहयोगी हुने उपयुक्त विधिहरुको प्रयोग गर्दै र बेलाबेलामा आफूलाई यसै विधिभित्र रहेर जाँच गर्दै अघि बढ्नु पर्दछ। मूलरुपमा एन.एल.पी.ले कुनै विषयमाथि हामी कसरी सोच्छौं, कस्तो भाषा प्रयोग गर्छौं, त्यस विषयमाथि हाम्रो आस्था तथा विश्वास कस्तो छ, हामी कस्तो महसुस गर्छौं, हामीले हाम्रो शरीर, मन र मस्तिष्कको उपयोग तथा संचालन कसरी गरिरहेका छौं आदिबारे गहन अध्ययन गरेर आवश्यक विधि अनुसरण गर्ने गर्दछ। आफ्नो रुचीको क्षेत्रमा आफूले चाहेको सफलता हासिल गर्न एन.एल.पी. एक जादुयिक विधि हो। योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाका विधिहरुले एन.एल.पी.को अभ्यासलाई प्रभावकारी बनाउन महत्वपूर्ण प्रभाव पार्न तथा मद्धत गर्न सक्दछन् र एन.एल.पी.का प्रशिक्षकहरुले आवश्यकता हेरेर एन.एल.पी.को प्रशिक्षणमा सफलतापूर्वक योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाका विधिहरुको प्रयोग गर्दै आइरहेका छन्।


योग अभ्यास तथा प्राणायाम किन गरिन्छ?

स्वाश्थ्य भनेको एउटा समग्र विषय हो, मानव स्वाश्थ्यका चार आयामहरु छन् शारीरिक, मानसिक, भावनात्मक र आत्मिक स्वाश्थ्य। यि चार आयामहरु स्वाश्थ छन् भने मात्र मानिस पूर्णरुपमा स्वाश्थ छ भन्ने बुझिन्छ र पूर्णरुपमा स्वश्थ मानिसले मात्र सबैलाई सहयोगी हुने किसिमको स्वश्थ तथा सकारात्मक-रचनात्मक-सिर्जनात्मक सोच राख्न, व्यवहार गर्न  सार्थकताले भरिएको जीवन जीउन सक्दछ। तर हाल हाम्रो समाजमा आधुनिक चिकित्सा विज्ञान बढि हावी रहेकोले बढिजसो शारीरिक र केही मात्रामा मानसिक स्वाश्थ्यलाई मात्र प्राथमिकतामा राखिएको पाइन्छ र भावनात्मक तथा आत्मिक स्वाश्थ्यलाई प्रयोगात्मक तवरले पहिचान समेत गरिएको पाइदैन। तर वास्तविक सत्यलाई समाउने हो भने भावनात्मक तथा आत्मिक स्वाश्थ्यले नै शारीरिक र मानसिक स्वाश्थ्यलाई र समग्र जीवनलाई संचालन गरिरहेको हुन्छ। यसर्थ पूर्णरुपमा स्वाश्थ रहनकालागि स्वाश्थ्यका चारवटै आयामहरुलाई प्राथमिकतामा राख्नु अति आवश्यक हुन्छ र योग अभ्यास तथा प्राणायामले मानव स्वाश्थ्यका चारवटै आयामहरुलाई प्राथमिकतामा राखेर यसको अध्यास तथा प्रयोग गर्ने गर्दछ, तसर्थ योग अभ्यास तथा प्राणायाम गरिन्छ तथा गराइन्छ। 


योग अभ्यास तथा प्राणायाम कसरी गरिन्छ?

मानव स्वाश्थ्यका चारवटै आयामहरु शारीरिक, मानसिक, भावनात्मक र आत्मिक स्वाश्थ्यलाई चुस्तदुरुस्त राख्न योग अभ्यास तथा प्राणायामको प्रयोग गर्दा पूर्वीय दर्शनमा अनुभवी ॠषिहरुले प्रतिपादन गर्नु भएका योगका वैज्ञानिक विधिहरुको अभ्यास तथा प्रयोग गर्ने गरिन्छ, जसमा शरीरको चाल र श्वाश-प्रश्वासको चाललाई लयमा राख्न; योग अभ्यास तथा प्राणायाम गरिहँदा शरीरको लचकता, झुकाव र समयाअवधिको ख्याल राख्न; अभ्यासपछिको बिश्रामको कला र अवस्था तथा समयलाई ख्यालमा राखेर सिकाइए अनुरुप त्यसको अनुशरण गर्न; योग अभ्यास तथा प्राणायाम गर्दा सकेसम्म विचार शुन्य हुन प्रयाश गर्न, नसके सकारात्मक सोच तथा धारणामा मनलाई स्थिर गर्न आदि विधिहरु सिकाइन्छ। मुख्यतया योग अभ्यासले स्थुल शरीरको स्वाश्थ्यलाई र प्राणायाम ले मनस शरीरको स्वाश्थ्यलाई चुस्तदुरुस्त राख्न मद्धत गर्दछन् तर समग्रमा भन्नु पर्दा योग अभ्यास तथा प्राणायाम दुवैले शारीरिक तथा मानसिक दुवै स्वाश्थ्यलाई चुस्तदुरुस्त राख्न मद्धत गर्दछन्। र जसको शारीरिक तथा मानसिक स्वाश्थ्य राम्रो छ उसको भावनात्मक तथा आत्मिक स्वाश्थ्य स्वतः सही अवस्थामा रहेको हुन्छ र यस्तो व्यक्ति सहज किसिमले भावातीत ध्यान साधनामा प्रवेश गर्न सक्दछ। एन.एल.पी.का विधिहरुले योग अभ्यास तथा प्राणायामलाई प्रभावकारी बनाउन महत्वपूर्ण प्रभाव पार्न तथा मद्धत गर्न सक्दछन्। योग अभ्यास तथा प्राणायामका योगगुरु तथा प्रशिक्षकहरुले आवश्यकता हेरेर योग अभ्यास तथा प्राणायामका अभ्यास तथा प्रशिक्षणहरुमा सफलतापूर्वक एन.एल.पी.का विधिहरुको प्रयोग गर्दै आइरहेका छन्।


ध्यान साधना किन गरिन्छ?

ध्यान साधना खासगरि दुई किसिमका उदेश्य हासिल गर्न गर्ने गरिन्छ- पहिलो मानव स्वाश्थ्यका चारवटै आयामहरु शारीरिक, मानसिक, भावनात्मक र आत्मिक स्वाश्थ्यलाई चुस्तदुरुस्त राख्न र दोस्रो सनातन अध्यात्म दर्शनमा उल्लेख गरिएका पराभौतिक विषयहरुको भावातीत अनुभव तथा अनुभूतिहरु हासिल गर्न। मूलरुपमा ध्यान साधनाले व्यक्तिको भावनात्मक र आत्मिक स्वाश्थ्य चुस्तदुरुस्त राख्न मद्धत गर्दछ र ध्यान साधनाले स्वतः शारीरिक तथा मानसिक स्वाश्थ्यमा पनि सकारात्मक प्रभाव पर्दछ। ध्यान साधनाबाट भावातीत अनुभव तथा अनुभूतिहरु प्राप्त हुन्छन् जो नितान्त आन्तरीक हुन्छन् र व्यक्ति-व्यक्ति पिच्छे फरक-फरक हुन सक्छन्। भावातीत अनुभव तथा अनुभूतिहरु हासिल गरेको व्यक्तिले भौतिक जगत तथा संसारलाई नै फरक किसिमले परिभाषित गर्दछ र आफ्नो जीवनमा फरक किसमले सुख, खुशी, शान्ति, आनन्दको अनुभूति गर्दछ। अर्को शव्दमा भन्नुपर्दा उसले परम सतचितआन्दको अनुभूति गर्दछ र वितरागमय जीवन जीउँदछ। तर आजको वर्तमान समयमा अधिकांश व्यक्तिहरुले पहिलो उदेश्य हासिल गर्नकालागि ध्यान साधना गर्ने हुनाले पहिलो उदेश्य हासिल गरेर प्राप्त हुने परिणाम तथा उपलव्धिहरु एन.एल.पी. र योग अभ्यास तथा प्राणायामबाट प्राप्त हुने परिणाम तथा उपलव्धिहरुसंग मिल्दोजुल्दो भएकोले यस लेखमा यि तीन विषयहरु विचको अन्तरसम्वन्धबारे प्रकाश पार्ने प्रयास गरिएको हो। एन.एल.पी. र योग अभ्यास तथा प्राणायामका विधिहरुले ध्यान साधनालाई प्रभावकारी बनाउन महत्वपूर्ण प्रभाव पार्न तथा मद्धत गर्न सक्दछन्। ध्यान साधना सिकाउने योगगुरुहरुले ध्यान साधनामा आवश्यकता हेरेर एन.एल.पी. र योग अभ्यास तथा प्राणायामका विधिहरुको पनि प्रयोग गर्दै आइरहेका छन्।


ध्यान साधना कसरी गरिन्छ?

ध्यान साधना धेरै भौतिक लाभ र थोरै आन्तरिक रुपान्तरण प्राप्त गर्ने उदेश्य र सिमित मात्रामा पराभौतिक लाभ अर्थात भावातीत अनुभूति अर्थात गहन आन्तरिक रुपान्तरण तथा आत्मिक नवीनीकरण प्राप्त गर्ने उदेश्य राखेर गरिने हुनाले यसको उदेश्य अनुरुप ध्यान साधना गर्ने विधिहरु पनि फरक-फरक किसिम ले अपनाउने गरिन्छ। यस लेखमा धेरै भौतिक लाभ र थोरै आन्तरिक रुपान्तरण प्राप्त गर्ने उदेश्य राखेर गरिने ध्यान साधनालाई प्राथमिकता दिइएको हुनाले यसै अनुरुपका विधिहरुबारे प्रकाश पार्नु उपयुक्त हुन्छ जुन एन.एल.पी. र योग अभ्यास तथा प्राणायामसंग मिल्दाजुल्दा छन्। ध्यान साधनामा विशेष गरिकन श्वास-प्रश्वासमा चेतनालाई केन्द्रित गर्ने, आफ्नो शरीरका सम्पुर्ण अंगहरुको सुक्ष्म निरीक्षण गर्ने, कुनै सकारात्मक कल्पनाको धारणामा चेतनालाई केन्द्रित गर्ने, आफ्नोलागि सकारात्मक भावहरु मनमा जप्ने तथा दोहोर्याइरहने, कुनै विशेष भगवानको मन्त्रोउच्चाहरण गर्ने तथा जप्ने आदि विधिहरु अपनाइन्छ जसले साधकको मन मस्तिष्कमा उठ्ने अति विचारहरु खासगरि नकारात्मक विचारहरुलाई निर्मुलिकरण र विस्तारै निर्मलिकरण गर्दछ। ध्यान साधनाका विधिहरुको माध्यमबाट मन तथा मस्तिष्कमा हलचल मच्चाइरहेका अनावश्यक विचारहरुको भिड निर्मुलिकरण तथा निर्मलिकरण भएपछि साधकले आफूमा आन्तरीक शान्ति तथा आनन्दको अनुभूति गर्दछ र यस्तो अवस्थामा उसको शरीर, मन तथा मस्तिष्कले सहि किसिमले काम गर्न शुरु गर्दछन्। यस्तो अवस्थामा स्थुल शरीरले स्वश्थ शरीरकालागि आवश्यक पर्ने रश अर्थात हर्मोनहरुको निर्माण गर्न थाल्दछ, त्यसैगरि मन तथा मस्तिष्कले सकारात्मक विचारहरु सोच्न तथा खेलाउन र त्यही अनुरुपको व्यवहार गर्न थाल्दछन् र यस्तो अवस्थामा व्यक्तिमा स्वाभाविक रुपमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन तथा उपलव्धिहरु देखापर्न शुरु गर्दछन्। एन.एल.पी. र योग अभ्यास तथा प्राणायामका विधिहरुले ध्यान साधनालाई गहिरो बनाउन उल्लेख्य प्रभाव तथा मद्धत गर्न सक्दछ। ध्यान साधना सिकाउने योगगुरुहरुले आवश्यकता हेरेर एन.एल.पी. र योग अभ्यास तथा प्राणायामका विधिहरु पनि प्रयोग गर्दै आइरहेका छन्।


न्यूरो-लिंगुवीस्टीक प्रोग्रामिगं, योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाको अन्तरसम्वन्ध

सरसर्ती हेर्दा एन.एल.पी., योग अभ्यास तथा प्राणायाम र ध्यान साधना एकआपसमा अगल-अगल विषयहरु हुन भन्ने जस्तो लागे पनि गहिरिएर हेर्ने तथा विचार गर्ने हो भने यि तीनवटै विषयहरुले मानिसहरुमा ल्याउन खोजेका परिवर्तन तथा उपलब्धिहरुमा खासै ठूलो अन्तर छैन र यि सबैमा प्रयोग गरिने विधिहरु पनि थोर-बहुत उस्तै-उस्तै किसिमका छन्। यि तीनवटै विषयहरुमा प्रमुख रुपमा मानिसको मस्तिष्क, मन, सोच, विचार, व्यवहार, भाव, श्वास-प्रश्वास अर्थात प्राणायाम, शारीरिक तथा मानसिक व्यायाम अर्थात योग अभ्यास, स्थिरता अर्थात ध्यान आदिलाई प्राथमिकतामा राखेर आ-आफ्नो किसिमले विभिन्न अवस्थाका व्यक्तिहरुमाथि सम्वन्धित व्यक्तिलाई उपयुक्त हुने किसिमले अधिकाधिक लाभ प्राप्त हुनेगरि उनीहरुमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक प्रभाव तथा परिवर्तन ल्याउने प्रयास गरिन्छ। यि तीनवटै विषयहरुको प्रमुख उदेश्य मानिसहरुको सकारात्मक-रचनात्मक-सिर्जनात्मक व्यवहारमा परिवर्तन अर्थात शारीरिक तथा मानसिक स्वाश्थ्य, सोच, भाव, व्यवहार, खुशीयाली, सफलता, सम्वन्ध, भावातीत अनुभूति, तथा सबै किसिमका संज्ञानात्मक व्यवहारहरु... आदि क्षेत्रहरुमा व्यवहरीक किसिमले उपयुक्त हुनेगरि परिवर्तन हासिल गर्नु नै रहेकोले न्यूरो-लिंगुवीस्टीक प्रोग्रामिगं अर्थात एन.एल.पी., योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाको अन्तरसम्वन्ध निकट रहेको र एकका विधिहरुले अर्कोलाई सघाउ पुर्याउन सक्छन् भन्ने मान्यता राख्न सकिन्छ र यि विधिहरुलाई एक साथ प्रयोगमा ल्याउन सकिन्छ

एन.एल.पी., योग अभ्यास तथा प्राणायाम र ध्यान साधना लिएका सहभागिहरुको अनुभवमा सहभागि हुनु अघि उनीहरुको जीवन कालो र सेतो सपाट अवस्थामा रहेको तर यि कार्यक्रमहरुमा सहभागि भए पश्चात जीवन पूर्ण रंगीन, समृद्ध, ज्वलन्त, गतिशील, सार्थक, शान्त, आनन्दित, मिठासपूर्ण तथा समग्रमा थ्रीडी किसिमले समग्र जीवनमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक रुपान्तरण आएको बताउँछन्।


स्मरण रहोस!

सनातन अध्यात्म दर्शन अन्तर्गत रहेर गरिने ध्यान साधना तथा शुन्यताबाट पूर्णता प्राप्ति अर्थात योग दर्शनका तीन अन्तरंग अंगहरु- धारणा, ध्यान, समाधि विधिबाट प्राप्त गरिने फरक किसिमको गहिरो भावातीत अनुभूति अध्यात्मको अर्को विशाल पराभौतिक पाटो हो, यो किसिमको भावातीत अनुभूतिको विषयबारे लेख्न तथा बोल्न यस पंतिकारको अनुभव तथा अनुभूति त्यहाँसम्म नपुगेको हुँदा यस सम्वन्धमा पाठक वर्गहमा अस्पष्टता भएमा क्षमा चाहान्छु। यस लेखको उदेश्य न्यूरो-लिंगुवीस्टीक प्रोग्रामिगं, योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाले मानिसहरुमा ल्याउने सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तनबारे र यि तीन विषयहरुको अन्तरसम्वन्धको सम्वन्धमा समान्य प्रकाश पार्नु मात्र रहेको जानकारी गराउँदछु। bsirjana@gmail.com


Tuesday, 18 April 2023

नेपालमा महिला उद्यमशीलता विकासको आवश्यकता

Need of Women Entrepreneurship Development in Nepal                                                                                                     

                                                                                                    डा. सिर्जना भण्डारी

१. पृष्ठभूमि (Background)

जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरूको हक, अधिकार सुनिश्चित गर्दै राष्ट्र निर्माणको हरेक तहमा महिलाको समान सहभागिता गराउन, महिलाको आर्थिक उन्नति, सामाजिक प्रतिष्ठा तथा सम्मान प्रवद्र्धन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयले बि.सं. २०७३ मा राष्ट्रपति महिला उत्थान कार्यक्रम संचालनमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत विशेषतः विपन्न तथा अनौपचारीक क्षेत्रमा कामगर्ने युवा तथा प्रौढ महिलाहरुको आर्थिक सशक्तीकरणमा विशेष जोड दिदै निम्न दुईवटा महत्वपूर्ण कार्यक्रम घोषणा गरिएको छः

  • राष्ट्रपति जीविकोपार्जन सुधार कार्यक्रमः गाउँ तथा शहरका विपन्न र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नु यस कार्यक्रमको मूल लक्ष्य रहेको छ ।
  • राष्ट्रपति युवा महिला उद्यम कार्यक्रमः उद्यमशीलताको माध्यमबाट महिलाको श्रम, सीप, नेतृत्व तथा कौशल विकास गर्ने कार्यक्रमहरु संचालन गरी नेपाली महिलाको आर्थिक सशक्तीकरण गर्नु यस कार्यक्रमको मूल लक्ष्य रहेको छ ।

कुनैपनि समाज तथा राष्ट्रको समग्र विकासकालागि महिलाहरुको आर्थिक तथा सामाजिक विकास हुनु आवश्यक छ र यसकालागि महिला उद्यमशीलता विकास तथा प्रवद्र्धन प्रभावकारी माध्यम बन्न सक्छ । केही दशकयता भू–मण्डलीकरण, आर्थिक उदारीकरण, विज्ञान–प्रविधि तथा सुचना–प्रविधिको विकास, शहरीकरण, औद्योगीकीकरण, महिलाहरुको शैक्षिकस्तर तथा चेतनास्तरकोे वृद्धिसंगै उद्यम–व्यवसायमा युवा तथा प्रौढ महिलाहरुको सहभागीता उल्लेख्य रुपमा बढीरहेको छ र नेपालमा महिला उद्यमशीलताको आवश्यकता र महत्व पनि बढ्दै गएको छ । तर यस क्षेत्रलाई व्यवस्थित ढंगबाट अघि बढाउन नसकिएकोकारण समाज तथा राष्ट्रको समग्र विकासमा महिला उद्यमशीलता क्षेत्रबाट जति योगदान पुग्न सक्थ्यो त्यति हासिल गर्न सकिएको छैन । महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनका सम्पूर्ण अवसर तथा सम्भावना र यसका चुनौतीहरु पहिचान गरी व्यवस्थित तथा योजनावद्ध ढंगबाट अगाडि बढ्नसके मुलुकको समग्र विकासमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ । एक दशक यता उद्यम–व्यवसायमा युवा तथा प्रौढ महिलाहरुको सहभागीता बढाउनकालागि सरकारका जिम्मेदार निकायहरु र नीजि क्षेत्रले अनुकुल नीति तथा योजना निर्माण, लगानीकालागि पूंजीको व्यवस्था, उद्यमशीलता पाठ्यक्रम विकास, सीप विकास तालिम, क्षमता तथा नेतृत्व विकास प्रशिक्षण, चेतना अभिबृद्धि आदिमा उल्लेख्य पहल तथा प्रयास गरेका छन् तर महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनकालागि गरिएका यि प्रयासहरु वास्तविक धरातलीय आवश्यकता अनुसार अपर्याप्त एवं प्रभावकारी नभएको र कार्यान्वयनमा तदारुपता नआएकोकारण महिला उद्यमशीलता विकासको गति सुस्त ढंगबाट अघि बढिरहेको छ ।


महिला उद्यमशीलता विकासको गति तिब्र तथा परिवर्तनकारी बनाउनकालागि सर्वप्रथम- यस क्षेत्रका अवसर तथा सम्भावनाहरु र समस्या तथा चुनौतीहरुको पहिचान गरी दिगो समाधानकालागि सम्वन्धित क्षेत्रका विशेषज्ञ तथा अनुभवीहरुसंग बृहद छलफल र परामर्श गर्दै कार्यान्वयनमा खरो उत्रिनु सक्नु पर्दछ । दोस्रो- सरकार, नीजि क्षेत्र र नागरिक समाजको सामुहिक पहलमा महिला उद्यमशीलताको आधारभूत अवस्था र आवश्यकताको अनुसन्धानात्मक विस्तृत अध्ययन गरी उपयुक्त तथा प्रभावकारी रणनीति तथा कार्ययोजनाको बृहत खाका बनाएर ७५३ वटै स्थानीय सरकारको सहकार्य र सक्रियतामा मुलुकभरीका टोल–टोल तथा गाउँ–गाउँका महिलाहरुलाई उद्यम–व्यवसायमा सहभागी हुन प्रोत्साहन र सहुलियत प्रदान गर्नुपर्दछ । नेपालको सन्दर्भमा, कृषि, वन, पर्यटन, जलश्रोत र खनिज विकासका प्रमुख आधारभूत श्रोत भएको र नेपालमा संचालित अधिकांश (खासगरी महिलाद्वारा संचालित) लघु, घरेलु तथा साना उद्योगहरु यिनै श्रोतमा आधारित भएकोले यस्ता उद्यम–व्यवसायहरुको दिगो विकासकालागि यसका सम्भावनाहरु, श्रोतको पर्याप्त उपलब्धता, उत्पादन तथा प्रशोधनका प्रक्रियाहरु, सीप तथा क्षमता विकास तालिम, उत्पादनमा नयाँपन, मौलिक तथा आधुनिक प्रविधिको विकास, उत्पादनको गुणस्तर निर्धारण, आन्तरिक तथा अन्तरर्राष्ट्रिय बजार प्रवद्र्धन र बजार व्यवस्थापन आदिमा विशेष पहल गर्दै अघि बढ्नु पर्दछ ।


२. उद्देश्यहरु (Objectives)

राज्यले अंगीकार गरेको समृद्ध नेपालः सुखी नेपाली आकांक्षा प्राप्तिकालागि महिला उद्यमशीलता क्षेत्रको दिगो विकास हासिल गर्न निम्न विशिष्ट उद्देश्य राखेर अघि बढ्नु पर्छः

  • महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनकालागि वर्तमान आवश्यकता र माग अनुकुल हुनेगरी आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा व्यापक नीतिगत सुधार गर्दै जाने,
  • स्थानीय सरकारहरुसंग सहकार्य गरी महिला उद्यमशीलता विकासका विशेषज्ञ तथा अनुभवीहरुको सल्लाह र सहयोगमा महिला उद्यमशीलता विकासमा तात्विक परिवर्तन ल्याउन सक्ने रणनीति तथा कार्ययोजना निर्माण गरी स्थानीय स्तरमा यथाशिघ्र कार्यक्रम अगाडि बढाउने,
  • स्थानीय सरकारहरुको सक्रियतामा स्थानीय विद्यालय तथा विश्वविद्यालय तहका विद्यार्थीहरुलाई परिचालन गरी दुर्गम क्षेत्रमा बसोबास गर्ने विपन्न महिलाहरु र अनौपचारीक क्षेत्रमा काम गर्ने महिलाहरुको वास्तविक अवस्था, प्रतिभा पहिचान, उद्यम–व्यवसाय शुरुगर्न सहयोगको आवश्यकता र चुनौतीहरुको पहिचानकालागि अनुसन्धानात्मक सोधकार्य गर्ने,
  • महिलाहरुलाई संगठित रुपमा बलियो बनाउन र उद्यम–व्यवसाय सहज ढंगबाट सुचारु गर्न सहकारी समुह (ऋण तथा वचत, उत्पादक, उपभोक्ता), स्वयं सहायता समुह, महिला उद्यमी समुह, साना किसान समुह आदि गठन गर्ने,
  • उद्यम–व्यवसायमा युवा तथा प्रौढ महिलाहरुको सक्रिय सहभागीता गराउन विद्यालय तथा विश्वविद्यालयकालागि उद्यमशीलता पाठ्यक्रम विकास, उद्यम दर्ता प्रणालीमा सहजीकरण, लगानी सुरक्षाकालागि विमा व्यवस्था, उत्पादकत्व बढाउन प्रविधि सहायता, बजारीकरण आदिमा सुनिश्चितता प्रदान र विचौलियाहरुलाई निस्तेज गर्ने,
  • महिला उद्यमशीलता विकास तथा प्रवद्र्धन अभियानको प्रभावकारी कार्यान्वयन र प्रगतीकालागि आवधिक प्रगती विवरण लिने, र निरीक्षण, सुपरीवेक्षण तथा मूल्यांकनका उचित उपायहरु अपनाउने,
  • महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको दिगो बजार प्रवद्र्धनकालागि बहुउद्देशिय कलाग्रामहरुको निर्माण गर्ने,
  • महिला उद्यमीहरुलाई हौसला प्रदान गर्न आवधिक मेला तथा प्रर्दसनीहरुको आयोजना र विभिन्न शिर्षकमा उत्कृष्टताका आधारमा पुरस्कृत गर्ने ।

३. विषयगत मुद्दाहरु (Subjective Issues)

महिला उद्यमशीलता विकास तथा प्रवद्र्धन अभियानका निम्न विषयगत मूद्धाहरुमा निरन्तर बहस तथा छलफल हुनु पर्दछः

  • विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत युवा महिला विद्यार्थीहरुलाई नियमित पाठ्यक्रमसंगसंगै उद्यमशीलताको पाठ्यक्रम पढाइ उनीहरुलाई उद्यमी तथा आत्मनिर्भर हुनसक्ने सीप प्रदान,
  • महिला उद्यमशीलतालाई उच्च प्राथमिकता दिई यसबारे बृहद अध्ययन तथा अनुसन्धान, 
  • गाउँ तथा शहरका विपन्न तथा अनौपचारीक क्षेत्रमा कामगर्ने महिलाहरुको वास्तविक अवस्था, आवश्यकता र चुनौतीहरुको पहिचान,
  • अवसर नपाएका दुर्गम क्षेत्रका अशिक्षित तथा अनौपचारिक क्षेत्रमा काम गर्न बाध्य महिलाहरुलाई सीप तथा क्षमता वृद्धि तालिम तथा प्रशिक्षण कार्यक्रम प्रदान तथा पेशा छनौटकालागि सल्लाह तथा सुझाउ प्रदान,
  • उद्यम–व्यवसाय शुरुगर्नु अघि महिलाहरुको आत्म–विश्वास र नेतृत्व क्षमता बढाउने खालका पूर्वतयारी प्रशिक्षण कार्यक्रमहरु संचालन,
  • आर्थिक रुपले विपन्न महिलाहरुलाई उद्यम–व्यवसाय शुरुगर्न पर्याप्त आर्थिक सहयोग प्रदान,
  • स्थानीय क्षेत्रमा उपलब्ध साधन–श्रोत र तिनमा आधारित उद्यम–व्यवसायको अवसर तथा सम्भावना अध्ययन,
  • प्रारम्भिक चरणमा स–साना महिला समुह गठन गरी लघु, घरेलु तथा साना उद्यम विकास तथा प्रवद्र्धनमा जोड,
  • विना दर्ता उद्यम चलाइरहेका तथा अनौपचारीक क्षेत्रमा काम गरिरहेका महिलाहरुको पहिचान,
  • धर्म, संस्कति, परम्परा तथा समाजले महिलाप्रति राख्ने संकुचित दृष्टिकोणमा सुधार ल्याउने जनचेतनामूलक कार्यक्रम संचालन,
  • महिलाहरुको व्यवसायिक प्रकृति अनुसार समुह गठन तथा परिचालन आदि ।


४. कार्यविधि (Methodology)

महिला उद्यमशीलता क्षेत्रको दिगो विकास हासिल गर्नकालागि यससंग सम्वन्धित धेरै विषयहरुमा वृहत गृहकार्य गर्नुपर्ने र सुक्ष्म तर महत्वपूर्ण प्रभाव पार्नसक्ने पक्षहरुमा परिणाम देखिने गरी सुधार, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्दै अघि बढ्दै जाने कार्यविधि अंगाल्नु अपरिहार्य हुन्छः

  • महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनकालागि वर्तमान आवश्यकता र माग अनुकुल हुनेगरी आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा व्यापक नीतिगत सुधार गरेर,
  • संघीय तथा प्रदेश सरकारले महिला उद्यमशीलता विकासका द्रुत, परिवर्तनकारी र प्रभावकारी रणनीति तथा कार्ययोजनाको खाका तयार गरी यथाशिघ्र कार्यान्वयन गरेर,
  • स्थानीय सरकारहरुसंग सहकार्य गरी महिला उद्यमशीलता विकासका विशेषज्ञ तथा अनुभवीहरुको सल्लाह र सहयोगमा महिला उद्यमशीलता विकासमा तात्वीक परिवर्तन ल्याउन सक्ने उपयुक्त कार्यक्रमहरु व्यवहार तथा कार्यान्वयनमा ल्याएर,
  • सबै स्थानीय तह र त्यस मातहतका सुगम तथा दुर्गम क्षेत्रहरुका उद्यम–व्यवसायमा र अनौपचारीक काममा सम्लग्न महिलाहरुको तथ्यांक लिई सोही अनुसार कार्यक्रमहरु ल्याएर,
  • महिलाहरुलाई संगठीत तथा बलियो बनाउन र उद्यम–व्यवसाय सहज ढंगबाट सुचारु गर्न सहकारी समुह (ऋण तथा वचत, उत्पादक, उपभोक्ता), स्वयं सहायता समुह, महिला उद्यमी समुह, साना किसान समुह आदि गठन गरेर,
  • स्थानीय सरकारहरुसंग सहकार्य गरी स्थानीय विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई परिचालन गरी दुर्गम क्षेत्रमा बसोबास गर्ने विपन्न महिलाहरु र अनौपचारीक क्षेत्रमा काम गर्ने महिलाहरुको वास्तविक अवस्था, प्रतिभा पहिचान, उद्यम–व्यवसाय शुरुगर्न सहयोगको आवश्यकता र चुनौतीहरुको पहिचानकालागि अनुसन्धानात्मक सोधकार्य अगाडि बढाएर,
  • उद्यम–व्यवसायमा युवा तथा प्रौढ महिलाहरुको सक्रिय सहभागीता गराउन विद्यालय तथा विश्वविद्यालयकालागि उद्यमशीलता पाठ्यक्रम विकास, उद्यम दर्ता प्रणालीमा सहजीकरण, लगानी सुरक्षाकालागि विमा व्यवस्था, उत्पादकत्व बढाउन प्रविधि सहायता, राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय बजारीकरण आदिमा सुनिश्चितता प्रदान र विचौलिया निस्तेज गरेर,
  • उद्यम–व्यवसायमा महिलाहरुको निरन्तर क्रियाशीलता बढाइराख्न गठित समुहहरुको आवधिक बैठक राखेर र उक्त समुहका प्रमुखहरुसंग सरकार र जिम्मेदार संस्था तथा व्यक्तिहरुले नियमित सम्पर्क गरेर, 
  • महिला उद्यमशीलता विकास तथा प्रवद्र्धन अभियानको प्रारभिक चरणमा छिटो–छिटो र क्रमशः आवधिक रुपमा प्रगती विवरण लिएर, र निरीक्षण, सुपरीवेक्षण तथा मूल्यांकन गरेर,
  • महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको दिगो बजार प्रवद्र्धनकालागि बहुउद्देशिय कलाग्रामहरुको निर्माण गरेर,
  • महिला उद्यमीहरुलाई हौसला प्रदान गर्न आवधिक मेला तथा प्रर्दसनीहरुको आयोजना र विभिन्न शिर्षकमा उत्कृष्टताका आधारमा पुरस्कृत गरेर ।


५. क्षेत्र (Scope)

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतका निम्न दुई कार्यक्रम महिला उद्यमशीलता विकास तथा प्रवद्र्धन अभियानको प्रमुख कार्यक्षेत्र हुनु पर्दछः  

  • राष्ट्रपति जीविकोपार्जन सुधार कार्यक्रम, 
  • राष्ट्रपति युवा महिला उद्यम कार्यक्रम ।


६. महत्व (Significance)

नेपालको अर्थव्यवस्था कृषि, वन, जलश्रोत, पर्यटन र खनीजमा निर्भर भएको र नेपाली महिलाहरु प्रकृति, पर्यावरण, समाज, संस्कृति, तथा भूगोलसंग सदैव नजिक रहने गरेका हुनाले नेपालको शहर तथा ग्रामीण क्षेत्रका विपन्न र अनौपचारीक क्षेत्रमा काम गर्ने युवा तथा प्रौढ महिलाहरुकालागि उद्यमशीलता विकास तथा प्रवद्र्धन सहजै गर्न सकिने र मुलुकको आर्थिक वृद्धिदर, रोजगारी सिर्जना, कुल गार्हस्थ उत्पादन तथा कुल राष्ट्रिय आयमा महिलाद्वारा संचालित लघु, घरेलु तथा साना उद्योगहरुको महत्वपूर्ण भूमिका तथा उल्लेख्य योगदान रहँदै आएकोले नेपालमा महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनको अधिक महत्व रहेकोछ । 


७. मान्यता (Assumptions)

महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनकालागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत संचालित महिलाको आर्थिक सशक्तीकरणकालागि विषेश जोड दिंदै आएका राष्ट्रपति जीविकोपार्जन सुधार कार्यक्रम र राष्ट्रपति युवा महिला उद्यम कार्यक्रमलाई उचित तथा प्रभावकारी ढंगले अघि बढाउन सकिए निम्न सकारात्मक उपलब्धिहरु हासिल हुने अनुमान गर्न सकिन्छः

  • महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनले महिलाको आर्थिक सशक्तीकरण संगसंगै सामाजिक, राजनीतिक, वयक्तिक, मनोवैज्ञानिक सशक्तीकरण हुनुकासाथै महिलाहरुमा निर्णय क्षमता र नेतृत्व क्षमताको पनि विकास हुन्छ,
  • मुलुकमा उद्यम–व्यवसाय क्षेत्रमा विकास हुँदा उपलब्ध स्थानीय श्रोत–साधनहरुको अधिकतम उपयोग हुने, रोजगारी सिर्जना हुने, उत्पादकत्वमा वृद्धि भइ आर्थिक वृद्धिदर बढ्ने र जनताको जीवनस्तर माथि उठ्ने हुनाले गरिवी निवारणमा मद्धत मिल्छ,
  • स्थानीयस्तरमा गरिने स–साना विकासले व्यक्ति, परिवार, समाज तथा राज्यकै समृद्धिमा सघाउ पुर्याउँछ र दिगो विकास लक्ष्य पुरा गर्दै 'समृद्ध नेपालः सुखी नेपाली' आकांक्षा हासिल गर्न सघाउ पुर्याउँछ,
  • मुलुकमा आर्थिक तथा सामाजिक सन्तुलन कायम हुने हुनाले शहर तथा ग्रामीण क्षेत्र वीच असन्तुलित विकासमा कमी आई, आन्तरीक बसाई–सराई घट्ने तथा वैदेशिक रोजगारमा जाने क्रममा कमी आउँछ, 
  • कुल उत्पादनमा वृद्धि हुनगई आयातमा कमी आउने र निर्यात बढ्ने हुनाले मुलुकको शोधनान्तर स्थिति सन्तुलनमा मद्धत मिल्छ र मुलुक सन्तुलित तथा दिगो विकासको बाटोमा अग्रसर हुन्छ,
  • मौलिक वस्तुहरुको उत्पादनमा विशेषज्ञता हासिल हुने हुँदा वौद्धिक सम्पति तथा सम्पदामा अधिकार कायम भई मुलुकको प्रतिष्ठामा वृद्धि हुन्छ, 
  • महिला तथा समाजका सवै वर्गहरुमा चेतना अभिवृद्धि हुनगई धार्मिक, सामाजिक तथा सांस्कृतिक कुप्रथाहरु, लैंगिक हिंसा तथा लैंगिक असमानतामा स्वस्फुर्त कमी आउँछ,
  • आधारभूत आवश्यकताहरु पूरा हुने हुनाले परिवार तथा समाजमा ठगी र अपराधका घटनाहरुमा कमी आउँछ,
  • राज्यका सबै क्षेत्रहरुमा महिलाहरुको श्रम सहभागीता बढ्ने हुनाले विकासमा समान लैंगिक मूलप्रवाहीकरण हुन्छ, 
  • अव्यवस्थित र अनौपचारीक क्षेत्रमा संचालित उद्यम–व्यवसायहरु व्यवस्थित हुन्छन् र वैधानिक तथा औपचारीक लयमा आउँछन् आदि ।


८. विषेशज्ञता तथा अनुभवको आवश्यकता  (Expertise and Experience Required)

कुनै पनि कामको सफलता तथा परिपक्वतामा विषेशज्ञता तथा अनुभवको अहम भूमिका हुने हुनाले महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनको क्षेत्रमा सम्वन्धित विषयका विशेषज्ञ तथा अनुभवीहरुको सहयोग तथा सल्लाह–सुझाव लिएर महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनको यस अभियानमा सहजता मिल्नसक्छ । 


९. श्रोत व्यक्तिहरु (Resources Persons)

श्रोत व्यक्तिहरुको परिचालन बिना कार्य सफलता हासिल गर्न नसकिने भएकाले महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनको यस अभियानमा तल्लो तहदेखि केन्द्र सम्मका श्रोत व्यक्तिहरुको सहयोग अपरिहार्य हुन्छ । उद्यमी महिलाहरुको प्रकृति अनुसार गठन भएका समुहका प्रमुखहरु; स्थानीय तहका जनप्रतिनीधि तथा कर्मचारीहरु; प्रदेश सरकार, यसका जनप्रतिनीधि तथा कर्मचारीहरु र केन्द्र सरकार, यसका जनप्रतिनीधि तथा कर्मचारीहरुलाई महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनका अभियानका श्रोत व्यक्ति बनाइनु पर्दछ । 


१०. कार्ययोजना (Work Plan)

प्रारम्भिक चरणमा महिला उद्यमशीलता विकासको कार्ययोजना केन्द्र तथा प्रदेशस्तरबाट लगिएपनि विस्तारै महिला उद्यमशीलता विकासका स्थानीय अनुभव, आवश्यकता तथा मागलाई केन्द्रमा राखेर तथा त्यसमा आधारित भएर रणनीति तथा कार्ययोजनाहरु निर्माण र तिनको कार्यान्वयन गर्दैजानु पर्दछ ।


११. प्रगती प्रतिवेदन, निरीक्षण, सुपरीवेक्षण तथा मूल्यांकन (Progress Report, Monitoring, Inspection and Evaluation)

महिला उद्यमशीलता विकासका कार्यक्रमहरु निरन्तर अगाडि बढाउने क्रममा कार्यक्रमहरुको वास्तविक अवस्था तथा प्रगती विवरण बुझ्न र भविश्यमा थप रणनीति तथा कार्ययोजना निर्माण गर्न आवधिक प्रगती प्रतिवेदन, निरीक्षण, सुपरीवेक्षण तथा मूल्यांकनका काम गर्दै अघि बढ्नु पर्दछ । 

टिप्पणीः केहि वर्षयता नेपाल सरकारले घरेलु तथा साना उद्योग विकास तथा प्रवर्धनकालागि समग्र नीति नियमहरुमा परिवर्तनकारी सुधारहरु गर्नुकासाथै प्रभावकारी रणनीति तथा कार्ययोजनाहरु ल्याएको छ र सबै युवाहरुकालागि उद्यम–व्यवसाय गर्न निकै सहज वातावरण निर्माण गरेको छ । तर यि परिवर्तनकारी पहलहरुको कार्यान्वयन पक्ष फितलो भएकोकारण जति सफलता हासिल गर्न सकिन्थ्यो त्यति गर्न नसकिएको अवस्था छ । तसर्थ, यस लेखमा अधिकांश सरकारद्वारा अंगीकार गरीएका पहलहरुलाई नै प्रभावकारी ढंगबाट कार्यान्वयनमा लान जोड दिइएको छ र तुलनात्मक अध्ययनका आधारमा नेपालको सन्दर्भमा प्रभावकारी हुनसक्ने केही नयाँ अवधारणाहरु पनि जोडीएको छ ।