'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Sunday, 31 December 2023

स्नायु भाषा प्रणाली, योग अभ्यास तथा प्राणायाम र ध्यान साधना विचको अन्तर-सम्वन्ध

Inter-Relationship between NLP, Yoga-Aashan, Pranayam and Meditation

                                                       डा. सिर्जना भण्डारी

   


विषय प्रवेश

समग्रमा स्नायु भाषा प्रणाली अर्थात न्यूरो-लिंगुवीस्टीक प्रोग्रामिगं(एन.एल.पी.), योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाको प्रमुख उदेश्य व्यक्तिको सोच तथा व्यवहारमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याइ उसको आन्तरीक अनुभव तथा अनुभूतिहरुलाई प्रभावकारी ढंगले एक विशेष दिशा प्रदान गर्नु हो र उ भित्र लुकेर रहेका विविध क्षमताहरुको कलात्मक रुपले विकास गर्नु हो। सर्वसाधारण व्यक्तिहरुको सोच तथा व्यवहारमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन र योग अभ्यास तथा प्राणायाम र सामान्य तथा भावातीत ध्यान साधनामा कुशलतापूर्वक मार्गदर्शन प्रदान गर्न योगगुरु तथा प्रशिक्षकहरुले व्यापक रुपमा एन.एल.पी.का विधिहरुको प्रयोग तथा सहयोग लिने गर्दछन्। त्यसैगरि एन.एल.पी.द्वारा व्यक्तिहरुको सोच तथा व्यवहारमा चाहे अनुरुपको सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन एन.एल.पी. का प्रशिक्षकहरुले पनि योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाका विधिहरुको प्रयोग तथा सहयोग लिने गर्दछन्। यसरी एन.एल.पी., योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाको अभ्यासबाट चुस्तदुरुस्त भएको व्यक्ति जीवनका सबै क्षेत्रहरुमा सहजै सफलता तथा सुफलता हासिल गर्न सक्छ र अमूल्य जीवनको गहिराइ बुझेर सबैकालागि लाभदायक हुनेगरि अत्यन्तै सार्थककताले भरिएको जीवन जीउन सक्षम हुन्छ।


एन.एल.पी. के हो?

नेपाली भाषामा एन.एल.पी.को शाव्दीक अर्थ मानव मस्तिष्कको भाषा व्यवस्थापन हो। यस अन्तर्गत मानिसको दिमागमा हरवखत अनावश्यक रुपमा चलिरहने अनगीन्ती सकारात्मक तथा नकारात्मक विचारहरुलाई एन.एल.पी.का विशेष विधिहरुको प्रयोग गरेर व्यक्तिको तात्कालिक व्यवहारीक आवश्यकता अनुसारका विचारहरुलाई प्राथमिकतामा राखेर ति विचारहरुलाई सम्वन्धित व्यक्तिको जीवनमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक हुने गरि उपयुक्त किसिमले कार्यक्रम व्यवस्थापन अर्थात प्रोग्रामिगं गरिन्छ र यसो गर्न सम्भव छ किनकी मानव मस्तिष्कले पनि कम्प्युटर, मोवाइल तथा अन्य डिजिटल डिभाइसका सफ्टवेयर तथा याप्लिकेशनहरुले जस्तै गरि काम गर्दछ भन्ने तथ्य यस क्षेत्रमा गरिएका विभिन्न खोज तथा अनुसन्धानहरुले वैज्ञानिक ढंगबाट प्रमाणित गरिसकेका छन् एन.एल.पी.मा पनि व्यक्तिको शरीर, मस्तिष्क, मन, तथा जीवनलाई ह्याक तथा डिलिट गर्न, कोडिगं तथा रिकोडिगं र प्रोग्रामिगं तथा रिप्रोग्रामिगं गर्न सकिन्छ र एक व्यक्ति तथा समुहमा सफल भएको विधि अरु व्यक्ति तथा समुहमा सहजै प्रयोग गरेर सकारात्मक उपलव्धि हासिल गर्न सकिन्छ।

 

यद्धपि एन.एल.पी.ले व्यक्तिहरुमा ल्याएका सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन तथा उपलब्धिहरुलाई वैज्ञानिक रुपले तथ्यगत मान्यता भने दिइएको छैन किनकी यस्ता परिवर्तन तथा उपलब्धिहरु मानिसको व्यक्तिगत तथा आन्तरीक अनुभव तथा अनुभूतिहरु हुन र व्यक्तिपिच्छे यस्ता अनुभव तथा अनुभूतिहरु फरक-फरक हुने भएकाले सही ढंगले यि अनुभूतिहरुको मापन गर्न तथा आमरुपमा सामान्यीकरण गन सकिदैन भन्ने तर्क दिने गरिन्छ। तर पछिल्लो चरणमा एन.एल.पी. ले व्यक्तिमा ल्याएका सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन तथा उपलब्धिहरुलाई पनि वैज्ञानिक रुपले तथ्यगत मान्यता प्रदान गराउने प्रयासहरु भैरहेका छन्। विश्वभरका एन.एल.पी. विशेषज्ञहरुले संज्ञानात्मक व्यवहार थेरापी [Cognitive Behavioural Therapy (CBT)] तथा भावातीत ध्यान [Transcendental Meditation(TM)] र न्यूरो-लिंगुवीस्टीक प्रोग्रामिगं [Neuro-Linguistic Programming (NLP)] यि तीनवटै विषयका विधिहरुले व्यक्तिको आन्तरीक सोच, भाव तथा व्यवहारहरुमा एकै किसिमले काम गर्ने तथा परिवर्तन ल्याउने काम गर्दछन् भन्ने दावी पेश गर्दै आइरहेका छन् र उनीहरुको यो दावी सत्य हो। व्यक्तिहरुमा एकै किसिमले प्रभाव पार्ने तथा काम गर्ने CBT र TM ले तथ्यगत वैज्ञानिक मान्यता पाएका छन् किनकी यस क्षेत्रमा निकै लामो समयदेखि आधुनिक चिकित्सा विज्ञानको प्रत्यक्ष समलग्नतामा व्यापक खोज तथा अनुसन्धानका कामहरु चलिरहेका छन् र यिनै खोज तथा अनुसन्धानहरुको बलमा CBT तथा TM का विधिहरुको माध्यमबाट व्यक्तिहरुमा आएका विभिन्न सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन तथा उपलब्धिहरुले तथ्यगत वैज्ञानिक मान्यता पाएका हुन् किनकी यि परिवर्तन तथा उपलब्धिहरुले मानिसको शारीरिक तथा मानसिक स्वाश्थ्य, सोच, भाव, व्यवहार, सुख, खुशी, शान्ति, आनन्द, सफलता, सम्वन्ध, आन्तरीक रुपान्तरण, भावातीत अनुभूति, तथा सबै किसिमका संज्ञानात्मक व्यवहारहरु... आदि क्षेत्रहरुमा थुप्रै प्रामाणिक तथ्यहरु देखाएका छन्। सन् १९७० मा Richard Bandler  John Grinder द्वारा विकास गरिएको नयाँ कार्यविधि एन.एल.पी.का विशेषज्ञहरुले एन.एल.पी.को क्षेत्रमा व्यापक खोज तथा अनुसन्धानका कार्यहरु अघि बढाएर यसलाई पनि तथ्यगत वैज्ञानिक मान्यता प्रदान गर्न सकिने बलियो तर्क पेश गर्दै आएका छन् र यसो गर्न सके निकट भविश्यमै एन.एल.पी.का सरल तथा सहज विधिहरुका माध्यमबाट अधिकाधिक  मानिसहरुलाई प्रशिक्षित गरि यसबाट उनीहरुमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन र एन.एल.पी.लाई तथ्यगत वैज्ञानिक मान्यता प्रदान गर्न तथा गराउन सकिनेमा कुनै शंका छैन।


एन.एल.पी. किन गरिन्छ?

व्यक्तिमा यथास्थितिमा चलिरहेका विविध सोच तथा व्यवहारहरुमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन एन.एल.पी.को अनुशरण गर्ने गरिन्छ। एन.एल.पी.का विधिहरुको प्रयोग गरेर व्यक्तिका सबै किसिमका शारीरिक तथा मानसिक स्वाश्थ्य, सोच, विचार, व्यवहार, भाव, सुख, खुशी, शान्ति, आनन्द, अनुभव, अनुभूति, सफलता, पेशा, व्यवसाय, सम्वन्ध आदिमा आवश्यकता अनुसारको सकारात्मक विकास गर्न सकिन्छ जसले मानिसको समग्र जीवनमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन मद्धत गर्दछ। मूलरुपमा एन.एल.पी.ले मानिसको मस्तिष्क/दिमाग तथा मन नै प्रमुख हो, मस्तिष्क तथा मनबाट उत्पन्न हुने सोच तथा विचारहरुले नै हाम्रो सम्पूर्ण जीवन संचालित भैरहेको हुन्छ र मस्तिष्क तथा मनलाई व्यवस्थित गर्न सके जीवनमा इच्छ्याइएको सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यता राख्दछ। तसर्थ यसकालागि एन.एल.पी.ले मानवका सोच तथा व्यवहारका स्वरुपहरु तथा उसका अनुभवहरुको संरचनाबारे अध्ययन गर्दछ। यसले मानवका सोच तथा व्यवहारको स्वरुप र उसका अनुभव तथा अनुभूतिहरु पत्ता लगाएर मानिसमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउनकालागि कस्तो विधि अनुसरण गर्ने भन्ने पत्ता लगाउँछ र त्यहि अनुरुप काम गर्दछ। वास्तवमा जीवनमा इच्छ्याइएको परिणाम हासिल गर्नकालागि एन.एल.पी. सैद्धान्तिक ज्ञान मात्र लिने विषय होइन, सैद्धान्तिक ज्ञान लिएर आफूमा यसका विधिहरुको प्रयोग गरेर आन्तरीक रुपमा आफूभित्र आएको सकारात्मक परिवर्तन प्रत्यक्ष अनुभव तथा अनुभूतिहरु संगाल्ने विषय हो। आफूमा आएका सकारात्मक परिवर्तनका उपलव्धिहरु संगाल्न सके मात्र एन.एल.पी.को वास्तविक प्रभाव तथा महत्व बुझ्न सकिन्छ र आफ्ना अनुभव तथा अनुभूतिहरुको उदाहरण प्रस्तुत गरेर त्यस्ता सकारात्मक उपलव्धिहरु अरुलाई सुनाउन र अरुमाथि प्रयोग गर्न तथा गराउन र उनीहरुमा पनि सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। 


एन.एल.पी. कसरी गरिन्छ?

कुनै संस्था तथा प्रशिक्षकसंग प्रशिक्षण लिएर तथा आफू स्वयंले आफैंमाथि एन.एल.पी.का विधिहरु प्रयोग गरेर आफ्नो समग्र जीवनमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन ल्याउन सकिन्छ। संस्थामा जोडिएर तथा प्रशिक्षकबाट एन.एल.पी.का विधिहरु लिंदा त्यहाँबाट क्रमवद्ध किसिमले व्यक्तिको आवश्यकता तथा विषय अनुसारका एन.एल.पी.का विधिहरु उपलव्ध गराइन्छन् तर आफू स्वयंमले आफूमाथि एन.एल.पी.का विधिहरु प्रयोग गर्ने हो भने यसकालागि सर्वप्रथम आफूले तत्कालीन तथा दिर्घकालीन रुपमा के हासिल गर्न चाहेको हो अर्थात आफ्नो प्राथमिक उदेश्य के हो यसको पहिचान गर्नु पर्दछ र उक्त उदेश्य हासिल गर्न के कस्तो कदम चाल्नु आवश्यक छ त्यसबारे स्पष्ट हुनु पर्दछ र आफ्नो उदेश्यमा अघि बढ्न एन.एल.पी.का विभिन्न विधिहरु मध्य आफूलाई पयोगी  हुने किसिमका विधिहरुको पर्याप्त अध्ययन गरेर आफ्नो उदेश्य प्राप्तिकालागि सहयोगी हुने उपयुक्त विधिहरुको प्रयोग गर्दै र बेलाबेलामा आफूलाई यसै विधिभित्र रहेर जाँच गर्दै अघि बढ्नु पर्दछ। मूलरुपमा एन.एल.पी.ले कुनै विषयमाथि हामी कसरी सोच्छौं, कस्तो भाषा प्रयोग गर्छौं, त्यस विषयमाथि हाम्रो आस्था तथा विश्वास कस्तो छ, हामी कस्तो महसुस गर्छौं, हामीले हाम्रो शरीर, मन र मस्तिष्कको उपयोग तथा संचालन कसरी गरिरहेका छौं आदिबारे गहन अध्ययन गरेर आवश्यक विधि अनुसरण गर्ने गर्दछ। आफ्नो रुचीको क्षेत्रमा आफूले चाहेको सफलता हासिल गर्न एन.एल.पी. एक जादुयिक विधि हो। योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाका विधिहरुले एन.एल.पी.को अभ्यासलाई प्रभावकारी बनाउन महत्वपूर्ण प्रभाव पार्न तथा मद्धत गर्न सक्दछन् र एन.एल.पी.का प्रशिक्षकहरुले आवश्यकता हेरेर एन.एल.पी.को प्रशिक्षणमा सफलतापूर्वक योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाका विधिहरुको प्रयोग गर्दै आइरहेका छन्।


योग अभ्यास तथा प्राणायाम किन गरिन्छ?

स्वाश्थ्य भनेको एउटा समग्र विषय हो, मानव स्वाश्थ्यका चार आयामहरु छन् शारीरिक, मानसिक, भावनात्मक र आत्मिक स्वाश्थ्य। यि चार आयामहरु स्वाश्थ छन् भने मात्र मानिस पूर्णरुपमा स्वाश्थ छ भन्ने बुझिन्छ र पूर्णरुपमा स्वश्थ मानिसले मात्र सबैलाई सहयोगी हुने किसिमको स्वश्थ तथा सकारात्मक-रचनात्मक-सिर्जनात्मक सोच राख्न, व्यवहार गर्न  सार्थकताले भरिएको जीवन जीउन सक्दछ। तर हाल हाम्रो समाजमा आधुनिक चिकित्सा विज्ञान बढि हावी रहेकोले बढिजसो शारीरिक र केही मात्रामा मानसिक स्वाश्थ्यलाई मात्र प्राथमिकतामा राखिएको पाइन्छ र भावनात्मक तथा आत्मिक स्वाश्थ्यलाई प्रयोगात्मक तवरले पहिचान समेत गरिएको पाइदैन। तर वास्तविक सत्यलाई समाउने हो भने भावनात्मक तथा आत्मिक स्वाश्थ्यले नै शारीरिक र मानसिक स्वाश्थ्यलाई र समग्र जीवनलाई संचालन गरिरहेको हुन्छ। यसर्थ पूर्णरुपमा स्वाश्थ रहनकालागि स्वाश्थ्यका चारवटै आयामहरुलाई प्राथमिकतामा राख्नु अति आवश्यक हुन्छ र योग अभ्यास तथा प्राणायामले मानव स्वाश्थ्यका चारवटै आयामहरुलाई प्राथमिकतामा राखेर यसको अध्यास तथा प्रयोग गर्ने गर्दछ, तसर्थ योग अभ्यास तथा प्राणायाम गरिन्छ तथा गराइन्छ। 


योग अभ्यास तथा प्राणायाम कसरी गरिन्छ?

मानव स्वाश्थ्यका चारवटै आयामहरु शारीरिक, मानसिक, भावनात्मक र आत्मिक स्वाश्थ्यलाई चुस्तदुरुस्त राख्न योग अभ्यास तथा प्राणायामको प्रयोग गर्दा पूर्वीय दर्शनमा अनुभवी ॠषिहरुले प्रतिपादन गर्नु भएका योगका वैज्ञानिक विधिहरुको अभ्यास तथा प्रयोग गर्ने गरिन्छ, जसमा शरीरको चाल र श्वाश-प्रश्वासको चाललाई लयमा राख्न; योग अभ्यास तथा प्राणायाम गरिहँदा शरीरको लचकता, झुकाव र समयाअवधिको ख्याल राख्न; अभ्यासपछिको बिश्रामको कला र अवस्था तथा समयलाई ख्यालमा राखेर सिकाइए अनुरुप त्यसको अनुशरण गर्न; योग अभ्यास तथा प्राणायाम गर्दा सकेसम्म विचार शुन्य हुन प्रयाश गर्न, नसके सकारात्मक सोच तथा धारणामा मनलाई स्थिर गर्न आदि विधिहरु सिकाइन्छ। मुख्यतया योग अभ्यासले स्थुल शरीरको स्वाश्थ्यलाई र प्राणायाम ले मनस शरीरको स्वाश्थ्यलाई चुस्तदुरुस्त राख्न मद्धत गर्दछन् तर समग्रमा भन्नु पर्दा योग अभ्यास तथा प्राणायाम दुवैले शारीरिक तथा मानसिक दुवै स्वाश्थ्यलाई चुस्तदुरुस्त राख्न मद्धत गर्दछन्। र जसको शारीरिक तथा मानसिक स्वाश्थ्य राम्रो छ उसको भावनात्मक तथा आत्मिक स्वाश्थ्य स्वतः सही अवस्थामा रहेको हुन्छ र यस्तो व्यक्ति सहज किसिमले भावातीत ध्यान साधनामा प्रवेश गर्न सक्दछ। एन.एल.पी.का विधिहरुले योग अभ्यास तथा प्राणायामलाई प्रभावकारी बनाउन महत्वपूर्ण प्रभाव पार्न तथा मद्धत गर्न सक्दछन्। योग अभ्यास तथा प्राणायामका योगगुरु तथा प्रशिक्षकहरुले आवश्यकता हेरेर योग अभ्यास तथा प्राणायामका अभ्यास तथा प्रशिक्षणहरुमा सफलतापूर्वक एन.एल.पी.का विधिहरुको प्रयोग गर्दै आइरहेका छन्।


ध्यान साधना किन गरिन्छ?

ध्यान साधना खासगरि दुई किसिमका उदेश्य हासिल गर्न गर्ने गरिन्छ- पहिलो मानव स्वाश्थ्यका चारवटै आयामहरु शारीरिक, मानसिक, भावनात्मक र आत्मिक स्वाश्थ्यलाई चुस्तदुरुस्त राख्न र दोस्रो सनातन अध्यात्म दर्शनमा उल्लेख गरिएका पराभौतिक विषयहरुको भावातीत अनुभव तथा अनुभूतिहरु हासिल गर्न। मूलरुपमा ध्यान साधनाले व्यक्तिको भावनात्मक र आत्मिक स्वाश्थ्य चुस्तदुरुस्त राख्न मद्धत गर्दछ र ध्यान साधनाले स्वतः शारीरिक तथा मानसिक स्वाश्थ्यमा पनि सकारात्मक प्रभाव पर्दछ। ध्यान साधनाबाट भावातीत अनुभव तथा अनुभूतिहरु प्राप्त हुन्छन् जो नितान्त आन्तरीक हुन्छन् र व्यक्ति-व्यक्ति पिच्छे फरक-फरक हुन सक्छन्। भावातीत अनुभव तथा अनुभूतिहरु हासिल गरेको व्यक्तिले भौतिक जगत तथा संसारलाई नै फरक किसिमले परिभाषित गर्दछ र आफ्नो जीवनमा फरक किसमले सुख, खुशी, शान्ति, आनन्दको अनुभूति गर्दछ। अर्को शव्दमा भन्नुपर्दा उसले परम सतचितआन्दको अनुभूति गर्दछ र वितरागमय जीवन जीउँदछ। तर आजको वर्तमान समयमा अधिकांश व्यक्तिहरुले पहिलो उदेश्य हासिल गर्नकालागि ध्यान साधना गर्ने हुनाले पहिलो उदेश्य हासिल गरेर प्राप्त हुने परिणाम तथा उपलव्धिहरु एन.एल.पी. र योग अभ्यास तथा प्राणायामबाट प्राप्त हुने परिणाम तथा उपलव्धिहरुसंग मिल्दोजुल्दो भएकोले यस लेखमा यि तीन विषयहरु विचको अन्तरसम्वन्धबारे प्रकाश पार्ने प्रयास गरिएको हो। एन.एल.पी. र योग अभ्यास तथा प्राणायामका विधिहरुले ध्यान साधनालाई प्रभावकारी बनाउन महत्वपूर्ण प्रभाव पार्न तथा मद्धत गर्न सक्दछन्। ध्यान साधना सिकाउने योगगुरुहरुले ध्यान साधनामा आवश्यकता हेरेर एन.एल.पी. र योग अभ्यास तथा प्राणायामका विधिहरुको पनि प्रयोग गर्दै आइरहेका छन्।


ध्यान साधना कसरी गरिन्छ?

ध्यान साधना धेरै भौतिक लाभ र थोरै आन्तरिक रुपान्तरण प्राप्त गर्ने उदेश्य र सिमित मात्रामा पराभौतिक लाभ अर्थात भावातीत अनुभूति अर्थात गहन आन्तरिक रुपान्तरण तथा आत्मिक नवीनीकरण प्राप्त गर्ने उदेश्य राखेर गरिने हुनाले यसको उदेश्य अनुरुप ध्यान साधना गर्ने विधिहरु पनि फरक-फरक किसिम ले अपनाउने गरिन्छ। यस लेखमा धेरै भौतिक लाभ र थोरै आन्तरिक रुपान्तरण प्राप्त गर्ने उदेश्य राखेर गरिने ध्यान साधनालाई प्राथमिकता दिइएको हुनाले यसै अनुरुपका विधिहरुबारे प्रकाश पार्नु उपयुक्त हुन्छ जुन एन.एल.पी. र योग अभ्यास तथा प्राणायामसंग मिल्दाजुल्दा छन्। ध्यान साधनामा विशेष गरिकन श्वास-प्रश्वासमा चेतनालाई केन्द्रित गर्ने, आफ्नो शरीरका सम्पुर्ण अंगहरुको सुक्ष्म निरीक्षण गर्ने, कुनै सकारात्मक कल्पनाको धारणामा चेतनालाई केन्द्रित गर्ने, आफ्नोलागि सकारात्मक भावहरु मनमा जप्ने तथा दोहोर्याइरहने, कुनै विशेष भगवानको मन्त्रोउच्चाहरण गर्ने तथा जप्ने आदि विधिहरु अपनाइन्छ जसले साधकको मन मस्तिष्कमा उठ्ने अति विचारहरु खासगरि नकारात्मक विचारहरुलाई निर्मुलिकरण र विस्तारै निर्मलिकरण गर्दछ। ध्यान साधनाका विधिहरुको माध्यमबाट मन तथा मस्तिष्कमा हलचल मच्चाइरहेका अनावश्यक विचारहरुको भिड निर्मुलिकरण तथा निर्मलिकरण भएपछि साधकले आफूमा आन्तरीक शान्ति तथा आनन्दको अनुभूति गर्दछ र यस्तो अवस्थामा उसको शरीर, मन तथा मस्तिष्कले सहि किसिमले काम गर्न शुरु गर्दछन्। यस्तो अवस्थामा स्थुल शरीरले स्वश्थ शरीरकालागि आवश्यक पर्ने रश अर्थात हर्मोनहरुको निर्माण गर्न थाल्दछ, त्यसैगरि मन तथा मस्तिष्कले सकारात्मक विचारहरु सोच्न तथा खेलाउन र त्यही अनुरुपको व्यवहार गर्न थाल्दछन् र यस्तो अवस्थामा व्यक्तिमा स्वाभाविक रुपमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तन तथा उपलव्धिहरु देखापर्न शुरु गर्दछन्। एन.एल.पी. र योग अभ्यास तथा प्राणायामका विधिहरुले ध्यान साधनालाई गहिरो बनाउन उल्लेख्य प्रभाव तथा मद्धत गर्न सक्दछ। ध्यान साधना सिकाउने योगगुरुहरुले आवश्यकता हेरेर एन.एल.पी. र योग अभ्यास तथा प्राणायामका विधिहरु पनि प्रयोग गर्दै आइरहेका छन्।


न्यूरो-लिंगुवीस्टीक प्रोग्रामिगं, योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाको अन्तरसम्वन्ध

सरसर्ती हेर्दा एन.एल.पी., योग अभ्यास तथा प्राणायाम र ध्यान साधना एकआपसमा अगल-अगल विषयहरु हुन भन्ने जस्तो लागे पनि गहिरिएर हेर्ने तथा विचार गर्ने हो भने यि तीनवटै विषयहरुले मानिसहरुमा ल्याउन खोजेका परिवर्तन तथा उपलब्धिहरुमा खासै ठूलो अन्तर छैन र यि सबैमा प्रयोग गरिने विधिहरु पनि थोर-बहुत उस्तै-उस्तै किसिमका छन्। यि तीनवटै विषयहरुमा प्रमुख रुपमा मानिसको मस्तिष्क, मन, सोच, विचार, व्यवहार, भाव, श्वास-प्रश्वास अर्थात प्राणायाम, शारीरिक तथा मानसिक व्यायाम अर्थात योग अभ्यास, स्थिरता अर्थात ध्यान आदिलाई प्राथमिकतामा राखेर आ-आफ्नो किसिमले विभिन्न अवस्थाका व्यक्तिहरुमाथि सम्वन्धित व्यक्तिलाई उपयुक्त हुने किसिमले अधिकाधिक लाभ प्राप्त हुनेगरि उनीहरुमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक प्रभाव तथा परिवर्तन ल्याउने प्रयास गरिन्छ। यि तीनवटै विषयहरुको प्रमुख उदेश्य मानिसहरुको सकारात्मक-रचनात्मक-सिर्जनात्मक व्यवहारमा परिवर्तन अर्थात शारीरिक तथा मानसिक स्वाश्थ्य, सोच, भाव, व्यवहार, खुशीयाली, सफलता, सम्वन्ध, भावातीत अनुभूति, तथा सबै किसिमका संज्ञानात्मक व्यवहारहरु... आदि क्षेत्रहरुमा व्यवहरीक किसिमले उपयुक्त हुनेगरि परिवर्तन हासिल गर्नु नै रहेकोले न्यूरो-लिंगुवीस्टीक प्रोग्रामिगं अर्थात एन.एल.पी., योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाको अन्तरसम्वन्ध निकट रहेको र एकका विधिहरुले अर्कोलाई सघाउ पुर्याउन सक्छन् भन्ने मान्यता राख्न सकिन्छ र यि विधिहरुलाई एक साथ प्रयोगमा ल्याउन सकिन्छ

एन.एल.पी., योग अभ्यास तथा प्राणायाम र ध्यान साधना लिएका सहभागिहरुको अनुभवमा सहभागि हुनु अघि उनीहरुको जीवन कालो र सेतो सपाट अवस्थामा रहेको तर यि कार्यक्रमहरुमा सहभागि भए पश्चात जीवन पूर्ण रंगीन, समृद्ध, ज्वलन्त, गतिशील, सार्थक, शान्त, आनन्दित, मिठासपूर्ण तथा समग्रमा थ्रीडी किसिमले समग्र जीवनमा सकारात्मक-रचनात्मक-सिर्जनात्मक रुपान्तरण आएको बताउँछन्।


स्मरण रहोस!

सनातन अध्यात्म दर्शन अन्तर्गत रहेर गरिने ध्यान साधना तथा शुन्यताबाट पूर्णता प्राप्ति अर्थात योग दर्शनका तीन अन्तरंग अंगहरु- धारणा, ध्यान, समाधि विधिबाट प्राप्त गरिने फरक किसिमको गहिरो भावातीत अनुभूति अध्यात्मको अर्को विशाल पराभौतिक पाटो हो, यो किसिमको भावातीत अनुभूतिको विषयबारे लेख्न तथा बोल्न यस पंतिकारको अनुभव तथा अनुभूति त्यहाँसम्म नपुगेको हुँदा यस सम्वन्धमा पाठक वर्गहमा अस्पष्टता भएमा क्षमा चाहान्छु। यस लेखको उदेश्य न्यूरो-लिंगुवीस्टीक प्रोग्रामिगं, योग अभ्यास तथा प्राणायाम र ध्यान साधनाले मानिसहरुमा ल्याउने सकारात्मक-रचनात्मक-सिर्जनात्मक परिवर्तनबारे र यि तीन विषयहरुको अन्तरसम्वन्धको सम्वन्धमा समान्य प्रकाश पार्नु मात्र रहेको जानकारी गराउँदछु। bsirjana@gmail.com