लालीगुरांश (डा. सिर्जना भण्डारी)
#आध्यात्मिक_साहित्य #जीवन_दर्शन
लालीगुरांश (डा. सिर्जना भण्डारी)
#आध्यात्मिक_साहित्य #जीवन_दर्शन
डा. सिर्जना भण्डारी*
स्त्री सबलिकरणका तह र पक्रियाहरु
"स्त्री र पुरुष प्रतिस्पर्धि होइनन् पूरक तथा साझेदार हुन् !" - ओशो रजनीश
विनम्र आव्हान
अध्यात्म विज्ञानका अनुसार हरेक मनुष्य जन्मजात प्राकृतिक रुपमा कोमल, प्रेमल, सुखी, खुशी, शान्त र आनन्दित स्वभावको हुन्छ तर उ हुर्कदै जाने क्रममा परिवार, समाज, राज्यका विविध सकारात्मक तथा नकारात्मक गतिविधिहरुले उसलाई कठोर र मानवीय विकार तथा क्लेशले भरिएको बनाउदै लान्छन् र उ आफूले नचाहेर पनि आफ्नो सामान्य जीवननिर्वाह तथा आफ्नो बचाउकालागि अनेक प्रकारका अस्वाभाविक व्यवहार तथा आचारणहरु गर्न बाध्य हुदै जान्छ वाहिरी प्रभावका कारण र विस्तारै यस्ता अस्वाभाविक गतिविधिहरु उसका बानी र दैनिकी बन्दै जान्छन् र आन्तरिक रुपमा उसले आफूलाई त्यस्तै ठान्न थाल्छ र संधै त्यस्तै बनेर आफू र अरुकालागि समस्या तथा चुनौती बनिरहन्छ । विगतदेखि वर्तमान समयसम्मका स्त्रीहरु ठिक यस्तै अवस्थाबाट आफ्नो जीवननिर्वाह तथा बचाउ गर्दै आइरहेका छन् । इतिहास साक्षी छ, विगत लामो समयदेखि पितृसत्तात्मक समाजले स्त्रीहरुलाई उनीहरुको प्राकृतिक तथा नैसर्गीक अधिकारबाट बन्चित गराएकोले उनीहरु आफ्नो नैसर्गीक हक–अधिकार प्राप्त गर्नकालागि अनेक किसिमले सक्दो संघर्ष गर्दै आइरहेका छन् । स्त्रीहरुले आफ्नो नैसर्गीक हक–अधिकारका लागि गरेका संघर्षका विभिन्न प्रक्रिया तथा गतिविधिहरुलाई पितृसत्तात्मक समाजले अराजकता, मनपरितन्त्र र अस्वाभाविक विषय मान्दै आइरहेको छ र उसले आजका स्त्रीहरुलाइ उनीहरुको नैसर्गीक(प्रकृति प्रदत्त) हक–अधिकार फिर्ता गर्नुको साटो उल्टै स्त्रीहरुलाई पुरुष, समाज तथा राज्य विरुद्ध प्रतिवादी, प्रतिस्पर्धी तथा लडाकु जस्ता नकारात्मक उपमाहरुमा अथ्र्याउदै उनीहरुलाई दबाउदै आइरहेको छ । तर अव पुग्यो, संधै कति संघर्ष मात्र गर्ने र आफ्नो मानव जीवनको अमूल्य समय अनुत्पादक काममा खेर फाल्ने तसर्थ अव स्त्री र पुरुष सबैले शान्तिपूर्ण ढंगले भगवान श्रीमहावीरको “अहिंसा अपनाउ, आफू बाँच र अरुलाई पनि बाँच्न देउ” र भगवान बुद्धको “प्रेम, करुणा देउ र प्रेम, करुणानै लेउ” भन्ने आध्यात्मिक दिव्य सन्देशलाई आत्मसाथ गर्दै अहिंसा, निरअहंकार, सहयोग तथा सदभावको सात्विक मार्ग अपनाउँ र स्त्रीहरुलाई पुरुष, समाज र राज्यका प्रतिवादी, प्रतिस्पर्धी तथा लडाकु जस्ता नकारात्मक उपमाहरुबाट बदलेर उनीहरुलाई अव्बल, सबल, सक्षम, प्रतिभावान, सशक्त, शान्त, सजग, योग्य जस्ता सकारात्मक उपमाहरुमा स्थिापित गर्न सबैतिर आध्यात्मिक दृष्टिकोण राखेर विभिन्न तह तथा स्तरहरुबाट स्त्रीहरुको वास्तविक सबलिकरणका विभिन्न प्रक्रिया तथा उपायहरु अपनाएर ती सबैलाई व्यवहारिक रुपमा अभ्यासमा उतारौं र समग्र समाज र प्रकृतिलाई नै उन्नत, प्रगतिशील र विकसित बनाऔं । यसकालागि पहिलो चरणमा विभिन्न तह तथा स्तरहरुबाट स्त्री सबलिकरणको प्रक्रिया प्रारम्भ गर्नु अत्यावश्यक हुन्छ ।
विभिन्न तह तथा स्तरहरु
अध्यात्म विज्ञान हरेक मनुष्यलाई सहज, सरल, सफल तथा उत्कृष्ट जीवन जीउन सिकाउने महान कलाको (दि आर्ट अफ लिभिगं) विज्ञान हो तसर्थ अध्यात्म हरेक स्त्रीको जीवनको अत्यन्तै आवश्यक र महत्वपूर्ण हिस्सा हो, स्त्रीको सबलिकरणका प्रक्रियाहरुमा अध्यात्म विज्ञान एउटा दृढ आधार बन्नसक्छ र अनिवार्य रुपमा बनाइनु पर्दछ । मानव र मानव समाज निरन्तर समय सान्दर्भिक विकास तथा परिवर्तनका प्रक्रियाबाट अगाडि बढिरहेकोछ र विकास तथा परिवर्तनका क्रममा यसले विभिन्न कालखण्ठहरुमा स्त्रीहरुको सामुन्नेमा विविध अवसरहरुका साथसाथ अनेक प्रकारका समस्या तथा चुनौतीहरु पनि खडा गरिदिएको छ । समयक्रमसंग आएका विकासका परिवर्तनहरुले दिएका अवसरहरुको उच्चतम सदुपयोग गरेर त्यससंगै आएका समस्या तथा चुनौतीहरुको सहि ढंगले व्यवस्थापन गर्दै जानु समग्र विकास तथा परिवर्तनका प्रक्रियाहरुको महत्वपूर्ण पाटो हो । जो कोही मानिस तव मात्र अव्बल, सबल, सक्षम तथा सशक्त बन्नसक्छ जव उसमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मकताका गुणहरुको विकास भएको हुन्छ । व्यक्तिमा यी गुणहरुको विकास गर्न सहि समयमा सहि निर्णय लिनु अत्यावश्यक हुन्छ र हरेक व्यक्तिमा यी गुणहरुको विकास गर्ने सुवर्ण तथा उर्वर समय १५ वर्षदेखि ४० वर्षसम्मको उमेरलाई मानिन्छ । स्त्री र पुरुषको उमेरको यो सुवर्ण समयलाई तटस्थ भएर सुक्ष्मसंग स्त्री र पुरुषले प्राप्त गर्ने अवसर, स्वतन्त्रता तथा निर्भरता, समय तथा फुर्सद, पारिवारीक साथ, सहयोग तथा समर्थन, सुविधा, हेरविचार, खानपान, साहस, प्रेरणा आदिको विश्लेषण गरेर हेर्ने हो भने सबैलाई सूर्यको प्रकाश जस्तै छर्लंग हुन्छ १५ देखि ४० वर्षको उमेरमा स्त्रीहरुले बहन गर्नुपर्ने उत्तरदायित्वहरु; उनीहरुले बेहार्नुपर्ने समस्या तथा चुनौतीहरु; उनीहरुमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता, सकारात्मकताका गुणहरुको विकास हुन नसक्नुका कारणहरु; र पुरुषको तुलनामा स्त्रीहरु पछाडि पर्नु तथा पुरुषहरु माथि परनिर्भर हुनुका कारणहरु । स्त्रीहरुको जीवनमा आइपर्ने यस्ता विभिन्न तहगत समस्या तथा चुनौतीहरुलाई तहगत रुपमै पहिचान गरि सहि ढंगले समाधन तथा व्यवस्थान गर्दै स्त्री सबलिकरणको कार्यलाई प्रभावकारी, परिणाममुखी तथा उपलव्धिमूलक बनाउनु आवश्क हुन्छ । स्त्रीहरुको जीवनमा आइपरेका तहगत समस्या तथा चुनौतीहरु निम्न रहेका छन्–(१)व्यक्तिगत तह, (२)पारिवारीक तह, (३)सांस्कृतिक तह, (४)सामाजिक तह, (५)धार्मिक तह, (६)आध्यात्मिक तह, (७)संस्थागत तह, (८)राज्य तह, (९)विश्व तह, (१०)प्राकृतिक तह ।
(१)व्यक्तिगत तह
वाहिरी तहका साथसाथ स्त्रीहरुमा आफू स्वयं तथा व्यक्तिगत तहबाट पनि विविध प्रकारका समस्या तथा चुनौती आइपर्दछन् अथवा सिधा भन्ने हो भने वाहिरी प्रभावहरुको कारणलेनै उनीहरुमा समस्या तथा चुनौतीका व्यक्तिगत कारणहरु उत्पन्न हुन्छन् र उनीहरु आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास गर्न असक्षम हुन्छन् । धर्म, संस्कृति, समाज, राज्य, विश्व समाज, प्रकृतिले परिवार र समाजप्रति स्त्रीहरुले अनिवार्य रुपमा खेल्नुपर्ने भूमिकाका रुपमा निर्धारण गरिएका नीति–नियम तथा मूल्य–मान्यताहरुलाई प्राथमिकताका आधारमा अनुशरण तथा पालन गर्ने क्रममा स्त्रीहरुसंग आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासका लागि अत्यावश्यक पर्ने समय, इच्छाशक्ति, उत्साह, जोस, जाँगर, प्रेरणा, मन, भाव, आत्मबल तथा आत्मविश्वास नै बाँकी रहदैन । खासगरि स्त्रीहरुको उर्बर उमेरमा घरको कामकाज व्यवस्थापन; परिवारीक उत्तरदायित्व व्यवस्थापन; नातागोता तथा सम्बन्ध व्यवस्थापन; सामाजिक तथा सामुदयिक भूमिका व्यवस्थापन; कार्यालयको जिम्मेदारी व्यवस्थापन गर्दागर्दै उनीहरुलाई आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासका लागि आवश्यक पर्ने न्युनम समय तथा फुर्सद नै बाकी रहदैन र उनीहरुले आफूमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मकताका गुणहरु विकास गर्न सक्दैनन्, फलस्वरुप जीवनमा केही उत्पादनमूलक काम गर्न असक्षम हुन्छन् र परिवार तथा पुरुषमाथि परनिर्भर हुन्छन् । स्त्री सबलिकरणका लागि क्षमता तथा व्यक्तित्व विकास गर्नुको अर्को कुनै विकल्प छैन तसर्थ स्त्रीहरु आफू स्वयं जागरुक भएर वर्तमानमा तथा भविश्यमा आफूमाथि आइपर्न सक्ने यस्ता समस्या, चुनौती तथा बाध्यताहरुको सहि आंकलन गरेर, सबैको कल्याण हुने आध्यात्मिक भावले भरिएर सक्दो परिवारीक सम्वन्ध, अमनचयन तथा शान्ति भंग नहुनेगरि होसियार, सम्यमित र मितव्ययि भएर आफू, परिवार, समाज, राज्य सबैको हित हुनेगरि आफ्नो अनुकुल परिस्थिति बनाउने तथा मिलाउने प्रयास गर्नुपर्दछ र यसमा परिवार, समाज, राज्यले पनि स्त्रीलाई साथ, सहयोग दिनु पर्दछ ताकि स्त्रीहरुले पनि आफूमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मकताका गुणहरु विकास गरेर आफ्नो व्यक्तित्व र नेतृत्व निर्माण गर्दै जीवनमा अगाडि बढ्न सकुन् र संधै आफ्नो नैसर्गीक अधिकारकारको संघर्षबाट सदाकालागि मुक्ति पाउन् ।
(२)पारिवारीक तह
हाम्रो सनातन धर्म, संस्कृति र समाजका चल्दै आइरहेका संस्कार तथा परम्पराहरुमा स्त्रीहरुको पहिलो प्राथमिकता आफू तथा आफ्नो क्षमता, प्रतिभा, व्यक्तित्व, नेतृत्व विकास नभएर परिवारको हेरविचार तथा घरबार व्यवस्थापन हुनु पर्दछ भन्ने आम मान्यता रहदै आइरहेको छ । हरेक परिवारले स्त्रीबाट यही अपेक्षा राख्ने गर्दछ कि घरका आफ्ना आमा, दिदी, बहिनी, छोरी, बुहारीहरुले राम्ररी घरव्यवहार सम्हालुन; परिवारको हेरचाह गरुन; वंश बढाउन; घरका बालबालिका तथा वृद्ध–वृद्धाहरुको आवश्यकताहरुको ख्याल राखुन; छरछिमेक, अर्मपर्म आदि सामाजिक तथा सामुदायिक भूमिका निर्वाह गरुन अर्थात समग्रमा घरव्यवहारसंग सम्वन्धित उत्तरदायित्हरु सबै उठाउन् र पुरुषहरुलाई घर वाहिरकोको काम गर्न फुर्सद, साथ, समर्थन र सहयोग प्रदान गरुन । यस सन्दर्भमा अधिकांश स्त्रीहरु स्वयं पनि यही मान्यता राख्दछन् । परिवार र स्त्रीले यस्तो मान्यता राख्नु उति बेठिक होइन किनकी प्रकृतिले नै स्त्रीलाई जननी, प्रेम र करुणाकी प्रतिमूर्ति, सेवाभावले ओतप्रोत भएकी कोमल हृदयकी धनी बनाएको छ र प्रकृतिको नियम विपरित जानु भनेको विनास तथा दुःखलाई निम्त्याउनु हो । स्त्रीहरुको नैसर्गीक तथा प्राकृतिक उत्तरदायित्व स्त्रीसंगै रहोस र रहनुपर्छ, यस सन्दर्भमा स्वयं स्त्रीहरु पनि स्वीकार, उदार र सहयोगी भाव राख्दछन् तर वर्तमान समयमा स्त्रीहरुको विद्रोह तथा माग स्त्रीको नैसर्गीक तथा प्राकृतिक उत्तरदायित्वको आडमा मौलाएका सामाजिक अर्थात लैंगिक विभेदहरुलाई चाहिं जरैबाट अन्त्य गरौं भन्ने हो । यो सत्य हो, पुरुषहरु गर्भवती बन्न तथा बच्चा जन्माउन सक्दैनन्, बच्चालाई स्तनपान गराउन र शिशु बच्चाको हेरचाह गर्न सक्दैनन् तर यसबाहेकका अरु सबै काम सबैले गर्न सक्छन्, सबै पुरुषहरुले अनिवार्य रुपमा बुझ्नु पर्ने कुरा हो यो । स्त्रीको नैसर्गीक तथा प्राकृतिक उत्तरदायित्व बाहेकका परिवारका अरु सदस्यहरुले पनि गर्न सक्ने कामहरुमा परिवारका सबै सदस्यहरु अग्रसर भएर पारिवारीक तहबाट स्त्रीलाई आफ्नो जीवन विकास गर्ने साथ, समर्थन, सदभाव, सहयोग मिलोस । यस्तो पारिवारीक साथ, समर्थन, सदभाव, सहयोगबाट स्त्रीहरुले पनि पुरुष सरह आफ्नो जीवनमा केही उल्लेख्य उपलव्धि हासिल गर्न तथा उत्पादनमूलक हुनकालागि आवश्यक पर्ने विद्या, सिप, ज्ञान, प्रज्ञा, वुद्धि, विवेक, सम्वन्धका संजालहरु, धन आदि कमाउन सक्नेगरि उनीहरुलाई पर्याप्त समय, सहयोग, उत्साह, प्रेरणा, हिम्मत, आत्मविश्वास प्राप्त होस र उनीहरुलाई आफ्नो जीवन सार्थक बनाउने अवसर मिलोस र स्त्रीहरुको उर्बर उमेर आफ्नालागि उत्पादक नभइकन उनीहरुले सोच्दै नसोचेको अनावश्यक व्यस्ततामा यसै बितेर जाने अवस्था नआवोस् । उनीहरु पनि घर वाहिर निस्केर आवश्यक ज्ञान, सिप आर्जन गरि आफूमा प्रतिभा, क्षमता, दक्षता, सकारात्मकताका गुणहरु विकास गरेर आफ्नो व्यक्तित्व र नेतृत्व निर्माण गर्दै जीवनमा अगाडि बढ्न सकुन् र आत्मनिर्भर भएर संधै सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित जीवनयापन गर्नसकुन् । यसप्रकार, स्त्री सबलिकरण गर्नकालागि स्त्री स्वयंको तहबाट पहिलो पहल र पारिवारीक तहबाट दोस्रो पहल हुनु अपरिहार्य छ तव मात्र स्त्रीहरु जीवनमा अगाडि बढ्न सक्नेछन् । यसरी स्त्रीहरुको वास्तविक सबलिकरणका लागि पारिवारीक रुपमा एकमत भएर आपसि समझदारी, साथ, सहयोग, सदभाव राखेर अगाडि बढ्ने भाव आध्यात्मिक नारीवाद हो ।
(३)सांस्कृतिक तह
स्त्रीहरुको सबलिकरणमा समस्या तथा चुनौतीहरु खडा गर्ने अर्को तह सांस्कृतिक संस्कार तथा परम्पराहरु र लैंगिकताका दृष्टिकोणले यीनका असमान तथा अत्यन्तै विभेदित अवैज्ञानिक मूल्य–मान्यता तथा चालचलनहरु हुन् । परिवारभित्र वर्तमानमा तथा भविश्यमा केही अशुभ घटना नघटोस्, राम्रै–राम्रो, शुभै–शुभको अवस्था बनिरहोस भनेर गरिने आस्थाका सांस्कृतिहरु संस्कार तथा परम्पराहरु– ब्रत, तीर्थ, पूजा, हवन, भाकल दान, पुण्य, परोपकार, सेवा आदि अधिकांश सनातन संस्कृतिसंग सम्वन्धित गतिविधिहरु स्त्रीहरुकै उत्तरदायित्व अन्तर्गत पारिदै आइएकाछन् । कलियुगमा परिवारको एक सदस्यले गरेका सबै धर्म, कर्म तथा दान, पुण्यका फलहरु पुरै परिवार, पित्री र आगामी पुस्ताहरुलाई समेत मिल्छ भन्ने विश्वास तथा मान्यता रहदै आएका कारण यो उत्तरदायित्व पनि आफ्नो प्राकृतिक उत्तरदायित्वका साथसाथ परिवारको हेरचाह र घरव्यवहार व्यवस्थापनको जिम्मेदारी समेत सम्हाल्दै आइरहेका स्त्रीहरुको भाग तथा जिम्मामा राखिदै आएको पाइन्छ जसले स्त्रीहरुमा अनावश्यक रुपमा उत्तरदयित्वको कार्यभार बढाएको छ । यस्ता अनुत्पादक उत्तरदायित्वका कार्यभारहरु बहन गर्नु परिरहेको हुनाले पर्याप्त समय अभावका कारण स्त्रीहरु घरवाहिर निस्केर लेखपढ, सिप, तालिम लिएर आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासका लागि अत्यावश्यक आफूमा हुनैपर्ने गुण तथा पूर्वाधारहरु– प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मक गुणहरुको विकास गर्न सकिरहेका छैनन्, जीवनभर अनुत्पादक भएका छन् र आफ्ना साना–साना आवश्यकता र खुशीकालागि परिवारमा आश्रीत हुन बाध्य गराइएका छन् । यस्ता स्त्रीहरुलाई परिवार, समाज र राज्यले नै घुमाउरो भाषामा अनुत्पादक, बोझ तथा दायित्वको रुपमा परिभाषित गर्दै आइरहेको छ उनीहरुले घरपरिवारका लागि प्रदान गरेका अनुत्पाक श्रम(अनपेड लेवर)का रुपमा गर्दै आइरहेको योगदानको कुनै विश्लेषण तथा कदर नै नगरी । सांस्कृतिक तहबाट स्त्रीहरुको सबलिकरणका लागि आवश्यक पर्ने उनीहरुको आन्तरिक क्षमता विकास गर्न बाधा पुर्याइरहेका यस्ता समस्या तथा चुनौतीहरुको सहि व्यवस्थापन र समाधान गर्न सांस्कृतिक तहबाटै व्यक्ति, परिवार, समाज र राज्यको सहयोगमा विशेष पहल गरिनु पर्दछ । यस्तो पहललाई सार्थक बनाउनका लागि स्त्री, परिवार र समाजका सबै सदस्यहरुलाई अध्यात्म विज्ञानको वैज्ञानिकतामा आधारित भएर सनातन संस्कृति विज्ञानका विज्ञान सम्मत र तर्क सम्मत तथ्यहरु राम्ररी बुझाएर र वास्तविकतामा आधारित रहेर स्वार्थवस लादिएका अन्धविश्वास र देखासेखीका आडमा मौलाएका कुरीति तथा कुसंस्कारहरुलाई समय सान्दर्भिक हुनेगरि सुधार तथा परिमार्जन गरेर अगाडि बढ्नु पर्दछ ताकि स्त्रीहरुमा यस्ता अवैज्ञानिक तथा अन्धविश्वासमा आडमा मौलाएका कुरीति तथा कुसंस्कारहरुको उत्तरदायित्वको अनावश्यक कार्यबोझ कम होस र उनीहरु आफ्नो व्यक्तित्व र नेतृत्वको विकास गरेर पुरुष सरह जीवनमा सहजताका साथ अगाडि बढ्न सकुन् र आत्मनिर्भर भएर संधै सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित जीवनयापन गर्न सकुन् ।
(४)सामाजिक तह
सबै सम्प्रदाय, जातजाति, संस्कृति, भाषा, पहिरन, खानपान भएका मानिसहरुको विविधतायुक्त संयुक्त स्वरुप समाज हो । केही सम्प्रदाय, जातजाति, संस्कृतिका स्त्रीहरु औषत भन्दा सबल रहेकाछन्, केहीका औषत रुपमा सबल रहेकाछन् भने केहीका औषत भन्दा निकै तल दुर्बल तथा कमजोर रहेकाछन् । प्रकृतिको नियम अनुसार स्त्री कमजोर जात तथा वर्ग हुदैहोइन, सबैभन्दा बलवान सृष्टिकर्ता स्वयं आदिशक्ति जगदम्बा शक्तिस्वरुपा हुन् तर स्त्रीमाथि समाजका बनाबटी, असमान, विभेदित एकपक्षिय तथा पुरुषपक्षिय मूल्य–मान्यताका अनावश्यक बोझहरु लादेर पुरुषसत्ताले आफूखुशी आफूलाई उत्कृष्टताको स्वघोषणा र स्त्रीहरुलाई दुर्बल, कमजोर र अवला घोषणा गरिदियो । तर प्रकृतिको नियम अनुसार यहाँ केहीपनि स्थिर छैन, मानव र मानव समाज दुवै परिवर्तनशील छ, दिनप्रतिदिन आधूनिक र विकसित बन्दै गैरहेको छ । आधूनिकताले अवसर र चुनौती दुवै ल्याएको आजको जटिल सामाजिक परिस्थितिमा आफूलाई समाज अनुरुप तथा समय सान्दर्भिक बनाउने उद्देश्यले स्त्रीहरु पनि पुरुषसंग एकसाथ भएर परम्परातग मूल्य–मान्यतामा आधारित आफ्ना प्राकृतिक र पारिवारीक उत्तरदायित्व संगसंगै आधूनिक मूल्य–मान्यताहरुलाई पनि आत्मसाथ गरिरहेका छन् । तर यो अवस्थाले स्त्रीहरुको व्यस्तता झन बढाएको छ र कतिपय अवस्थामा त यस्तो व्यस्ताका कारण स्त्रीहरुको जीवन अस्तव्यस्त र तनावग्रस्त भएको पनि देखिदै आइएको छ किनकी एकातिर पितृसत्तात्मक समाजले स्त्री मात्रकालागि निर्माण गरेका हरहालमा स्त्रीहरुले मात्र पालन गर्नुपर्ने चालचलन, रीतिरिवाज, संस्कार, परम्पराका मूल्य–मान्यताहरुको कार्यबोझका कारण अति व्यस्त भएका स्त्रीहरु अर्कोतिर आधूनिक सोच अनुसारको स्त्री सशक्तिकरणमा आधारित जीवनशैली अंगालेका कारण दोहोरो, तेहोरो सामाजिक बोझको मारमा पर्दै अति व्यस्तपछि अस्तव्यस्त हुदै आइरहेका छन् । आफूले निर्वाह गदैआइरहेका प्राकृतिक उत्तरदायित्व, घरव्यवहार व्यवस्थापन, नातागोता तथा सम्बन्ध व्यवस्थापन, सामाजिक तथा सामुदायिक भूमिका व्यवस्थापनका साथसाथ आजको आधूनिक जीवनशैलीमा सुहाउने बन्न सशक्त स्त्री बन्ने तथा बनाइने होड तथा प्रतिस्पर्धामा स्त्रीहरुमा परम्परागत रुपमा गर्दै आइरहेका घरव्यवहार व्यवस्थापन भन्दा वाहिर पर्ने कार्यहरुको समेत कार्यभार बढेकोले आफ्नो धान्नसक्ने क्षमता भन्दा बढि दोहोरो, तेहोरो कार्यभार सम्हाल्न मुस्किल भएले स्त्रीहरुको जीवन अस्तव्यस्त र तनावग्रस्त हुदै गैरहेको सजिलै अनुमान गर्न सकिन्छ ।
त्यसमाथि परिवर्तनशील समाजका मूल्य–मान्यताहरुमा स्थापित भएर शसक्त स्त्री बनेर आधूनिक समाज अनुरुप देखिने क्रममा उच्च शिक्षाको अध्ययन, घरपरिवारको पेशा व्यवसाय व्यवस्थापन, कार्यालयको काम व्यवस्थापन, घरपरिवारको आर्थिक व्यवस्थापन आदि घरवाहिरका जिम्मेदारीहरुमा समेत स्त्रीहरुको समलग्नता बढिरहेका कारण आजका स्त्रीहरुको काँधमा थप उत्तरदायित्व आएको छ । यो अवस्थाले उनीहरुको जीवनमा प्रगति पनि ल्याएको छ, उनीहरुको व्यक्तित्व, नेतृत्व विकासमा उल्लेख्य प्रगति भएको छ तर जानेर, नजानेर उनीहरुले उठाईरहेका यस्ता दोहोरो, तेहोरो उत्तरदायित्व तथा जिम्मेदारीहरुका भारले उनीहरु झनझन थिचिदै गैरहेका छन् । समाजको बद्लिदो वास्तविक अवस्थालाई ध्यानमा राखेर स्त्री सबलिकरणमा समाजको तहबाट सिर्जित यस्ता दोहोरो, तेहोरो कार्यबोझले सिर्जना गरेका समस्या तथा चुनौतीहरुलाई समाजकै तहबाट सहि ढंगले व्यवस्थापन तथा समाधान गर्ने प्रयास गर्नुपर्दछ ताकि स्त्रीहरुलाई प्राकृतिक, परम्परागत र आधूनिक समाजले सिर्जित गरेका यस्ता दोहोरो, तेहोरो कार्यबोझहरुबाट मुक्ति मिलोस र उनीहरु आफ्नो व्यक्तित्व र नेतृत्वको विकास गरेर पुरुष सरह जीवनमा सहजताका साथ अगाडि बढ्न सकुन् र आत्मनिर्भर र सबल भएर पुरुष बराबर हैसियतमा हातेमालो गर्दै संधै सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित जीवनयापन गर्न सकुन् ।
छिट्टै, बाँकी
स्त्री सबलिकरणका तह र पक्रियाहरु
(५)धार्मिक तह
(६)आध्यात्मिक तह,
(७)संस्थागत तह,
(८)राज्य तह,
(९)विश्व तह,
(१०)प्राकृतिक तह
डा. सिर्जना भण्डारी*
'...हातमा कलम हुनेहरु कलम लिएर उठ... !'
म ग्रामीण विकास र लैंगिकता विकासको विद्यार्थी हुँ, मसंग यही 'हतियार' छ गाउँनै गाउँको हाम्रो देश नेपालको आमूल परिवर्तनमा सहभागि हुनकालागि !!
जय जय नेपाल !!!
#नयाँ _नेपाल #ग्रामीण _विकास #स्वरोजगार #उद्यमशीलता
समसामयिक संवैधानिक प्रसंग
गणतन्त्र भारतका वरिष्ठ कानूनविध, अर्थशास्त्री, राजनीतिज्ञ, समाज सुधारक डा.भिमराव अमबेडकर‘दलित’(१८९१–१९५६)ले ब्रिटिसराजबाट भारत स्वतन्त्र भएर भारतको नयाँ संविधान लेख्ने प्रक्रियामा त्यतिबेलानै सन् १९४७ मा भन्नुभएको थियो, “कुनैपनि देशको संविधान चाहे जतिसुकै राम्रो बनाइएको होस, यदि त्यस देशका नेतृत्व वर्ग र मानिसहरु राम्रा छैनन् भने आमजनताको कल्याणकालागि संविधान उपयोगी हुन सक्दैन र संविधानले तात्विक सकारात्मक उपलव्धि हासिल गर्न सक्दैन ।” नेपालको वर्तमान संविधान विश्वमै उत्कृष्टतम कानूनी दस्तावेजहरु मध्य एक माानिन्छ तर विडम्बना वहाँको यो दुरदृष्टि आठ दशकपछि पनि आज हाम्रो मुलुकमा चरितार्थ भैरहेको छ र यो दुर्भाग्यपूर्ण अवस्थाको प्रत्यक्ष साक्षी भैरहेका छौं हामी ।
ग्रामीण विकासको पृष्ठभूमि
ग्रामीण+विकास=ग्रामीण विकास, दुई शव्दको संयोजनबाट बनेको छ । ‘ग्रामीण’ शव्दले भौगोलिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा आदि दृष्किोणले निश्चित प्रकारका विशेषताहरु भएका गाउँका क्षेत्र तथा समाजहरुको प्रतिनिधित्व गर्दछ र ‘विकास’ शव्दले ती क्षेत्रका वासिन्दाहरुको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षाको जीवनस्तर उकास्न गरिने प्रक्रियाहरुको प्रतिनिधित्व गर्दछ । यसर्थ ग्रामीण विकास एक त्यस्तो प्रक्रिया हो जसको माध्यमबाट ग्रामीण क्षेत्रमा वसोवास गर्ने वासिन्दाहरुको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा आदिको स्तर उठाएर उनीहरुलाई मानव विकास सूचकांकको मापदण्डमा पुर्याउने प्रयास गरिन्छ ।
ग्रामीण विकासको परिभाषा
विश्वको छाता संगठन सम्युक्त राष्ट्रसंघका अनुसार, “ग्रामीण विकास ग्रामीण क्षेत्रमा बसोबास गर्ने परम्परागत ढाँचामा जीवनयापन गरिरहेका जनताहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन निर्माण गरिएको एक प्रक्रिया हो जसको प्रमुख उद्देश्य ग्रामीण जनताहरुको जीवनमा गुणात्मक, परिमाणात्मक र दिगो परिवर्तन ल्याएर उनीहरुको जीवनलाई सहज बनाउनु रहेको हुन्छ ।”
विश्व बैंकका अनुसार, “ग्रामीण विकास ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न निर्माण गरिएको एक विशेष रणनीति हो ।”
ग्रामीण विकास विशेष विशेषज्ञ रोबर्ट चेम्बरका अनुसार, “ग्रामीण विकास ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिव जनताहरुको विशेष समुहलाई लक्षित गरि उनीहरुको सहज जीवनयापनका लागि आवश्यक पर्ने आधारभूत आवश्यकताहरुको परिपूर्ति गरि उनीहरुलाई सहुलियत प्रदान गर्न निर्माण गरिएको विशेष प्रकारको रणनीति हो ।”
ग्रामीण विकासका आधारशिला
(१)आधारभूत आवश्यकताः गाँस, वास, कपाश, शिक्षा, स्वास्थ्य, सुरक्षाको सहज उपलव्धता ।
(२)भौतिक पूर्वाधारः सडक, बिजुली, पानी, ढलनिकास, विद्यालय, अस्पताल, प्रविधि, सामुदायिक क्षेत्र तथा भवन, खेल मैदान आदि निर्माणका कार्यहरु ।
(३)सामाजिक पूर्वाधारः स्वतन्त्रता, समानता, सम्मान, शिक्षा, स्वास्थ्य, सुरक्षा आदिको व्यवहारिक कार्यान्वयन ।
(४)प्राविधिक पूर्वाधारः व्यवसायिक सिप, तालिम, प्रशिक्षण, कार्यशाला, सूचना, मानव संसाधनको विकास आदि गर्ने चुस्त कार्यक्रमहरु ।
(५)आर्थिक पूर्वाधारः कृषि, उद्यम, व्यवसाय, रोजगार तथा स्वरोजगार, सूचना आदिकालागि बजेट व्यवस्था ।
डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
सबैलागि
उपयुक्त
योग
साधनाको
एकघण्टाको
पूर्णप्याकेज
योगीक साधनाका किसिम, विधि र साधनाको प्रभावकारिता
योगाभ्यास अन्तर्गत योग साधनाका प्रमुख तीन अंगहरु योगासन, प्राणायाम र धारणा तथा एकाग्रता पर्दछन् । योगासनका लागि अत्यन्तै महत्वपूर्ण तथा सूचनामूलक र वर्तमान समयमा विश्वव्यापि रुपमा सर्वाधिक प्रयोगात्मक अभ्यास का रुपमा अनुशरण गरिदै आइएको हठ योगमा मोटामोटी रुपमा ८४ प्रकारका योगका आसनहरु र नौ प्रकारका प्राणायामका विधिहरु उल्लेख रहेको पाइन्छ । यसकासाथै पछिल्लो समयमा खोजी प्रवृत्ति भएका केही सिर्जनशील नव योग गुरुहरुले वर्तमान समयमा मनुष्यको स्वास्थ्य अवस्थाको आवश्यकतालाई मध्यनजर गरेर योगका विभिन्न प्रकारहरुलाई एकआपसमा सम्योजन(फ्युजन) गराएर नयाँ प्रकारका योगका आसनहरु र प्राणायामका विधिहरु पनि प्रतिपादन गरेका छन् र नयाँ आसन तथा विधिहरु पनि अत्यन्तै प्रभावकारी रहेको तिनका अभ्यास र सकारात्मक प्रतिफलहरुले प्रमाणित गरिसकेका छन् । यी ८४ भन्दा बढि प्रकारका योगका आसनहरु र नौ भन्दा बढि प्रकारका प्राणायामका विधिहरुका साधना गर्ने प्रक्रिया अलग–अलग प्रकारका रहेका छन् । सामान्यतया योगका आसनहरुको साधना चार प्रकारका अवस्था तथा प्रक्रिया अन्तर्गत रहेर गर्ने गरिन्छ– (१)उभिएर गरिने योगका आसनहरु, (२)बसेर गरिने योगका आसनहरु, (३)घोप्टो परेर गरिने योगका आसनहरु, र (४)उत्तानो पल्टेर गरिने योगका आसनहरु । यसका अतिरिक्त अभ्यास गर्ने प्रक्रियाको दृष्टिकोणबाट योगका आसनहरु फरक–फरक भएसंगै समयको दृष्टिकोणले– विहान, दिउसो, साँझ गर्ने आसनहरु; खालि पेट तथा खाना खाएको पेटमा गर्न मिल्ने आसनहरु; त्यस्तै हतार भएको समयमा; यात्रामा रहेको अवस्थामा; साघुरो ठाउँमा रहेको अवस्थामा; भिडभाडमा रहेको अवस्थामा; समय कम भएको अवस्थामा; व्यस्त रहेको अवस्थामा; सामान्य प्रकारको अस्वस्थ भएको अवस्थामा; विशेष प्रकारको अस्वस्थता भएको अवस्था आदिमा गर्न सकिने तथा गर्न मिल्ने फरक–फरक प्रकारका लामा तथा छोटा प्रक्रिया तथा विधिहरु भएका योगका व्यायाम तथा आसनहरु विभिन्न प्रकारका रहेका छन् र यही अनुरुप प्राणायामका विधिहरु पनि विभिन्न प्रकारका रहेका छन् । योगका आसनहरु मध्य विहान खालि पेटमा उभिएर, बसेर, घोप्टो परेर र उत्तानो पल्टेर गरिने प्रकारका सबैभन्दा बढि अभ्यास गरिने योगका आसनहरु हुन् । यस बाहेक जुनसुकै समय, अवस्था तथा परिस्थितिहरुमा पनि आकस्मिक रुपमा साना-ठूला, लामा-छोटा, सजिला-अप्ठ्यारा योगका केही शरीर तताउन गरिने कदमचाल व्यायामहरु, शरीर खुलाउन गरिने सुक्ष्म व्यायामहरु र शरीर तन्काउन गरिने योगका आसन, प्राणायाम, मुद्रा, बन्द र धारणाको प्रयोगात्मक अभ्यास गर्न सकिन्छ । आकस्मिक अवस्थामा गर्न सकिने योग केही व्यायाम, आसन, प्राणायाम, मुद्रा, बन्द, क्रिया र धारणाबारे संक्षिप्त रुपमा जानौं र आफूले नियमित अनुशरण गरेर तथा अरुलाई पनि नियमित अनुशरण गराएर आफू स्वस्थ बनौ र अरुलाई पनि स्वस्थ बन्न सहयोग गरौं ।
(१)शरीर तताउन गरिने कदमचाल व्यायाम
सादा र खुकुलो पहिरनमा हावा दोहोरो आवत–जावत गर्ने ठाउँमा सिधा उभिएर छिटोछिटो श्वास वाहिर छोड्दै दाहिने–देब्रे गोडा र हात सुस्त, मध्यम तथा तिब्र गतिमा चलाऔं । यसो गर्दा स्थुल शरीर तात्छ; शरीरमा रक्तसंचार बढ्छ; श्वास–प्रश्वासको गति बढ्छ; शरीरभरि उर्जा संचारित हुन्छ र यस्तो अवस्थाले शरीर तथा मनमा ताजगी, शक्ति, स्फुर्ति, जोश बढाएर शरीरलाई सुक्ष्म व्यायामका लागि तयार गर्दछ । कदमचाल व्यायाम अन्तर्गत सौम्य तथा सभ्य संगीतमा नृत्य गर्ने, शरीरलाई तरंगीत गर्ने तथा मर्काउने, दौडिने, भर्यागं तल–माथि गर्ने, पि.टी. खेल्ने, जोडले हाँस्ने, डोरी खेल्ने, ब्याट र कर्कसंग खेल्ने, सानो हाते बल उफार्दै खेल्ने, हल्का सामानहरु उठाउने–राख्ने, तान्ने–ठेल्ने तथा ओसार–पसार गर्ने आदि क्रियाकलापहरु पनि समावेस गर्न सकिन्छ ।
(२)शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम
कदमचाल व्यायाम गरेर शरीर तातेर ताजा र फुर्तिलो भएपछि सुक्ष्म व्यायाम गर्न प्रारम्भ गर्नु पर्दछ । सुक्ष्म व्यायामका क्रियाकलापहरुले शरीर र मनलाई योगका आसनहरु गर्नकालागि तयार गर्दछन् । सुक्ष्म व्यायाममा शरीरका पैतालादेखि तालुसम्मका सबै अंगहरुलाई एकएक गरि परिचालित गर्ने गरिन्छ । यसकालागि सर्वप्रथम कम्मरमा हात राखेर दुवै गोडालाई एकएक गर्दै जमिनबाट थोरै माथि उचालेर सुल्टो–उल्टो गोलाईमा घुमाऔं र यसैगरि कम्मरमुनिको पुरै भागलाई घुमाऔं; एकएक गर्दै घुँडालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कम्मरलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कुमलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; पाखुरालाई तनक्क तन्काएर हातमा मुठ्ठी बनाएर नारीलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; हात अगाडि पसारेर मुठ्डी बनाउदै खोल्दै गरौं; हात र हातका औंलालाई मालिस गरौं; हत्केलालाई बुढी औंलाले सबैतिर दबाऔं; हत्केलामा तरंग उत्पन्न हुनेगरि ताली बजाऔं; एक हातकाका औंलाले अर्को हातका औंलालाई अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; एक हात कम्मरबाट ढाडमा लैजाऔं, अर्को हात कुमबाट ढाडमा लैजाऔं अंकुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; गर्धनलाई सुल्टो–उल्टो, दायाँ–बायाँ र गोलाईमा घुमाऔं र चारै दिशाबाट शिरलाई हातले र हातलाई शिरले ठेलौं; हातका पाँचै औंलाका टुप्पा एकसाथ जोडेर शिरमा ठुगं हानौं; आँखालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; केहीबेर कानलाई मालिस गरौं, तानौं र बटारौं; नाकका नासिकाबाट केहीबेर जोडजोडले श्वास वाहिर फालौं र केहीबेर लामो गहिरो श्वास भित्र लिदै लामो श्वास वाहिर फालौं; केहीबेर चेहराभरि औंलाले दबाऔं, मालिस गरौं र चेहरा थपथपाउँ; केहीबेर सकेसम्म ठूलो पारेर मुख खोल्दै र बन्द गर्दै गरौं; केहीबेर सकेसम्म तन्काएर जोडले श्वास वाहिर छोड्दै जिब्रो वाहिर निकालौं; अवस्था सहज छ भने केहीबेर चिच्याऔं; केहीबेर आँखा बन्द गरेर, स्थिर भएर भमरा जस्तो मंमंमंमं गर्दै आफ्नो आवाज आफैंले सुनौं ।
सुक्ष्म व्यायामका यस्ता क्रियाकलापहरु गरिसकेपछि शरीर विस्तारै खुल्दै
जान्छ, शरीरमा रक्तसंचार बढ्छ, मांसपेसी, हड्डिका जोर्नी, नशा तथा नाडीहरु खुल्छन्,
लचिलो तथा सहज हुन्छन् र पूरै शरीर र मन पूर्णरुपमा योगका आसनहरु लगाउनकालागि तयार
हुन्छन् । यसरी क्रमवद्ध रुपमा सर्वप्रथम शरीर तताएर र शरीर खुलाएर गरिएका योगका आसनहरुबाट
सहजै अधिकतम लाभ तथा उपलव्धिहरु हासिल गर्न सकिन्छ । योगासनका सकारात्मक लाभ तथा उपलव्धिका
कारण मनुष्यको शरीर, मन, भावना, आत्मा अर्थात चेतना हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित
तथा सक्रिय हुन्छन् जसले उसको सांसारिक जीवनमा मुक्ति ल्याउनुका साथै पारमार्थिक जीवनमा
मोक्षमा उपलव्ध हुन उभित्र आध्यात्मिक विकासको मार्ग खुल्न थाल्छ र विस्तारै उसको जीवन
पूर्णताले भरिन थाल्छ ।
(३)शरीर तन्काउन गरिने योगासन तथा योगीक षटक्रिया
(a)उभिएर गरिने योगका आसनहरु
(१)ताड आसन, (२)त्रियक ताड आसन, (३)उभिएर गरिने बक्र
आसन, (४)वृक्ष आसन, (५)उभिएर गरिने अर्ध चक्र आसन, (६)उभिएर गरिने त्रिकोण
आसन, (७)पादहस्त आसन, (८)वीरभद्र आसन, (९)उत्कट आसन, (१०)अर्ध सुर्य नमस्कार आसन ।
(b)बसेर गरिने योगका आसनहरु
(१)भद्र
आसन, (२)ससक आसन, (३)मण्डुक आसन, (४)चक्कि आसन, (५)पश्चिम उत्तान आसन, (६)भू–नमन आसन,
(७)अर्ध मत्स्येन्द्र आसन, (८)बक्र आसन, (९)गौमुख आसन, (१०)उष्ट्र आसन ।  
(c)घोप्टो परेर गरिने योगका आसनहरु
(१)भुजंग आसन, (२)सलभ आसन, (३)नौका आसन, (४)अधोमुख आसन, (५)उत्थान पृष्ठ आसन’ (६)गौ आसन र मार्जर आसन, (७)चतुरअंग दण्ड आसन, (८)अष्टांग आसन, (९)मेरु पृष्ठ आसन, (१०)बाल आसन ।
(d)उत्तानो पल्टेर गरिने योगका आसनहरु
(१)तान आसन, (२)उत्तानो पल्टेर गरिने पादहस्त आसन, (३)सुप्त मत्स्येन्द्र आसन, (४)पादचल आसन, (५)सेतुबन्द आसन, (६)नौका आसन, (७)सर्वांग आसन, (८)हल आसन, (९)पवनमुक्त आसन, १०.सव आसन ।
(e)योगीक षटक्रियाका साधनाहरु
(i)नेति: श्वास–प्रश्वास
प्रणाली सन्तुलनमा राख्नकालागि नासिकाहरुको सफाई ।
(ii)धोतिः पाचन प्रणाली
सन्तुलनका लागि पेटको सफाई ।
(iii)नौलि: पेटका
मांसपेशीहरुलाई मालिस गरेर सक्रियता र सन्तुलन प्रदान ।
(iv)वस्ति: पेट तथा सानो
आन्द्रको सन्तुलनका लागि मलद्वारको सफाई ।
(v)कपालभाति: श्वास–प्रश्वासको सन्तुलनका लागि नासिका तथा श्वासनलीको सफाई ।
(vi)त्राटकः मन तथा
मस्तिष्कको एकाग्रता बढाउनका लागि स्नायु प्रणालीको सफाइ ।
(४)श्वास तथा प्राणको आयाम मिलाउन गरिने प्राणायाम
योग दर्शनका अनुसार प्रकृति तथा परमात्मा प्रदत्त स्वस्फूर्त रुपमा निरन्तर चलिरहने श्वास–प्रश्वास तथा प्राण वायू हरेक मनुष्यकालागि आन्तरिक चिकित्सक र अमृतयुक्त औषधी दुवै हो । प्राणायामको माध्यमबाट स्वास्थ्यका सबै आयामहरुमा उचित प्रकारले स्वास्थ्य लाभ लिनकालागि जतिबेला याद आउछ प्राण वायू तथा श्वास–प्रश्वासलाई सक्दो लामो र गहिरो बनाइहाल्नु पर्दछ केही मिनेटसम्म । यसकासाथै बेलाबेलामा श्वास पूरा भित्र भरेर भित्रै रोक्ने ‘अन्तर कुम्भक’ र श्वास पूरा वाहिर फालेर वाहिरै रोक्ने ‘वहिर कुम्भक’ गर्नु पर्दछ । अन्तर तथा वहिर कुम्भक स्वतः तथा सजिलै हुदैन भने आफूलाई सहज हुन्जेल हातका औंलाले नाकका प्याल केहीबेर थुन्दै छोड्दै गर्न पनि सकिन्छ । त्यस्तै बेलाबेलामा श्वासलाई तिब्रगतिमा वाहिर फाल्ने तिब्र गति भएका भस्त्रिका, कपालभाति आदि प्राणायाम गर्नु पर्दछ र बेलाबेलामा सौम्य गति भएका सुस्तरी श्वास भित्र तान्ने तथा वाहिर फाल्ने नाडी सोधन प्राणायाम, वीज प्राणायाम आदि गर्नु पर्दछ (प्राणायामका प्रकार, क्रिया, प्रक्रिया, विधि तथा पद्धतिहरु आगामी पाठहरुमा विस्तारमा ल्याइनेछ) ।
(५)शरीर, मन तथा चित्त स्थिर गर्न गरिने धारणा
योगीक कदमचाल व्यायाम, सुक्ष्म व्यायाम, योगका उठेर–बसेर–घोप्टेर–पलटेर गरिने आसनहरु, षटक्रियाहरु, प्राणायामहरु, मुद्राहरु, बन्दहरु, क्रियाहरु, विशेष प्रकारका ध्वनि तरंग उत्पन्न गर्ने वैदिक मन्त्रहरु उच्चाहरणका वैज्ञानिकतामा आधारित योगीक विधि, प्रक्रिया, पद्धति तथा योगीक उपकरणहरु हुन् जसले धारणा तथा एकाग्रतालाई सहज, परिणाममुखी, प्रभावकारी र उपलव्धिमूलक बनाउन सहयोग गर्दछन् । यी योगीक क्रिया तथा उपकरणहरुले मनुष्यको शारीरिक शरीर लगायत मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक शरीरमा शुद्धता(काया शुद्धि र चित्त शुद्धि), सन्तुलनता र सक्रियता बढाउन र साक्षीभाव र विषय केन्द्रित धारणा तथा एकाग्रता साँध्न मद्धत गर्दछन् तथा सहजता प्रदान गर्दछन् । यसका अतिरिक्त धारणाका क्रममा दृश्यकल्पना, आत्मसन्देश, सकारात्मकता, कृतज्ञता, धन्यता, क्षमाशिलता, स्वीकार्यता आदि भावले पनि साक्षीभावमा रहन र विषय केन्द्रित धारणामा गहिरोसंग प्रवेश गर्न सहयोग गर्दछन् । कुनै एक विषयप्रति धारणा तथा एकाग्रता गहिरिदै गएपछि विस्तारै साधक ध्यानको अवस्थामा प्रवेश गर्दछ र ध्यान गहिरिदै गएपछि साधकमा समाधि घटित हुन्छ । सनातन अध्यात्म दर्शनका षटदर्शनहरु मध्य अत्यन्तै महत्वपूर्ण विषय योग दर्शनका अनुसार, ध्यान तथा समाधि योगीक क्रिया(मनुष्यको प्रयासले हुने) होइनन्, यी योगीक अवस्था(स्वस्फूर्त घटित हुने परमात्मा प्रदत्त) हुन् । योग साधना गर्ने क्रममा कुनै एक विषयप्रति साधकको धारणा तथा एकाग्रता गहिरिदै गएपछि क्रमशः साधकमा ध्यान र समाधिको परम अलौकिक अवस्था घटित हुन्छ र मोक्षको मार्ग प्रारम्भ हुन्छ ।
सबैलागि उपयुक्त योग साधनाको एकघण्टाको पूर्णप्याकेज
(१)आधारभूत योगीक ज्ञान
मेरुदण्डको स्वास्थ्य: मेरुदण्ड मनुष्यको स्थुल शरीर र सुक्ष्म शरीर दुवैको प्रमुख केन्द्र हो । शरीरका नश-नाडीहरुको माध्यमबाट मेरुदण्डसंग सबै मांसपेशी, हड्डि, रक्तसंचार, अष्टधातु, पाचन, श्वास-प्रश्वास प्रणाली आदि सबै क्रिया तथा प्रक्रियाहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका हुन्छन् र मेरुदण्ड मस्तिष्कसंग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । अभौतिक अंग हृदयको सूचना मनलाई र मनको सूचना मस्तिष्कलाई प्राप्त भएपछि भौतिक अंग मस्तिष्कले मेरुदण्ड हुदै मेरुदण्डसंग जोडिएका नश-नाडीहरु मार्फत शरीरभरि शरीर र स्वास्थ्यका सबै आयामहरुलाई शुद्ध, सन्तुलित र सक्रिय रहन आवश्यक पर्ने काम गर्न निर्देशन दिन्छ । शरीरका सबै अंगहरुले हृदय, मन र मस्तिष्कको सूचना सहि प्रकारले ग्रहण गरेर त्यसअनुसारको काम गर्न सर्वप्रथम मेरुदण्ड स्वस्थ रहनु अत्यावश्यक हुन्छ । मेरुदण्ड स्वस्थ रहन आफ्नो बसाइ(पोस्चर) ठिक गरेर हरपल मेरुदण्डलाई सक्दो सिधा राख्नु पर्दछ । सबै प्रकारका योगीक साधनाहरुले, सात्विक खानपान, सन्तुलित जीवनशैली, सतविचार, सतकर्महरुले मेरुदण्डलाई स्वस्थ राख्न उल्लेख्य मद्धत गर्दछन् । तसर्थ हरपल मेरुदण्ड सिधा राख्न प्रयास गर्नुपर्दछ र लामोबेर एकैप्रकारको बसाइपछि हरेक ४५ मिनेटमा बसेको ठाउँबाट उठेर शरीर चलाउनु तथा तन्काउनु पर्दछ ।
श्वास तथा प्राणको स्वास्थ्य: मनुष्यको शरीरका
सबै आयामहरुको समग्र स्वास्थ्यको लागि मेरुदण्ड जत्तिकै अत्यन्तै महत्वपूर्ण अर्को
क्रिया श्वास–प्रश्वास प्रणाली
तथा प्राणको आयाम हो । प्रकृति तथा परमात्मा प्रदत्त स्वस्फूर्त रुपमा निरन्तर चलिरहने
श्वास–प्रश्वास तथा
प्राण वायू हरेक मनुष्यकालागि आन्तरिक चिकित्सक र अमृतयुक्त औषधी दुवै हो । निरन्तर
चलिरहने श्वास–प्रश्वास जति
लामो र गहिरो तथा फोक्सोको तल्लो तहसम्म पुगेर (डायफ्रामिक ब्रिथ) माथि फर्कन्छ त्यतिनै
यसले शरीर र स्वास्थ्यका सबै आयामहरुलाई स्वस्थ, शुद्ध, सन्तुलित र सक्रिय राख्न उल्लेख्य
मद्धत गर्दछ । तसर्थ हरपल लामो र गहिरो श्वास–प्रश्वास लिनु पर्दछ । जतिबेला याद आउछ
श्वास–प्रश्वासलाई
सक्दो लामो र गहिरो बनाइहाल्नु पर्दछ केही मिनेटसम्म
। यसकासाथै बेलाबेलामा श्वास–प्रश्वास का महत्वपूर्ण क्रियाहरु- अन्तर कुम्भक,
वहिर कुम्भक, श्वासलाई तिब्रगतिमा वाहिर फाल्ने, सौम्य गति लामो र गहिरो बनाउने गर्नु
पर्दछ केही मिनेटसम्म । मेरुदण्ड र श्वास तथा प्राणको स्वास्थ्यको उचित प्रकारले ख्याल
राख्नुका साथसाथ हरपल साक्षी भाव तथा वर्तमानमा
रहन प्रयास
गर्नुपर्दछ, सबैप्रति सकारात्मक सोच्नु पर्दछ, मन तथा भावमा नकारात्मक तत्व छिर्न दिनु
हुदैन, दया, करुणा, सेवा, पुण्य, परोपकार तथा सर्वकल्याणको भाव राखेर सकेसम्म आफू अरुकालागि
काम लाग्ने बन्न प्रयत्न गर्नु पर्दछ किनकी आफ्नालागि त जानावरले पनि गर्दछ । मनुष्य
आफू लगायत अरुलाई पनि काम लाग्ने बन्न सकोस भनेर नै प्रकृति तथा परमात्माले उसलाई प्राणीहरु
मध्य सर्वश्रेष्ठ र विवेकशील प्राणी बनाएको हो । तसर्थ सर्वश्रेष्ठ र विवेकशील बनेर
आफू र अरुलाई पनि कामलाग्ने बन्नकालागि नबिर्सिकन, सम्झि-सम्झि नियमित रुपमा माथि उल्लेखित
सबै योगीक क्रिया तथा साधनाहरुलाई आफ्नो दैनिक बानी बनाएर जीवनमा यी गतिविधिहरुलाई
निष्ठापूर्वक अनुशरण गर्नु पनि योगीक साधना गर्नु नै हो । मनुष्यको जीवन हरप्रकारले
व्यवस्थित बनाउनमा यस्ता योगीक साधना तथा यसका क्रिया, प्रक्रिया, विधि, पद्धति तथा
गतिविधिहरुको अत्यन्तै महत्वपूर्ण शारीरिक, मानसिक, भावनात्मक र आत्मिक अर्थात चेतनात्मक
लाभ रहेका हुन्छन् जसले उसको जीवन सहज, सरल, सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित
बनाउनमा महत्वपूर्ण योगदान पुर्याइरहेका हुन्छन् ।
(२)पूर्ण स्वास्थ्यकालागि योग साधना क्याप्सुल, ६० मिनेट
(क)शरीर
तताउन कदमचाल व्यायाम, ५ मिनेट
(१)छिटोछिटो श्वास वाहिर छोड्दै दाहिने–देब्रे गोडा र हात सुस्त, मध्यम तथा तिब्र गतिमा चलाऔं । (२)सौम्य तथा सभ्य संगीतमा नृत्य गर्ने, शरीरलाई तरंगीत गर्ने तथा मर्काउने, दौडिने, भर्यागं तल–माथि गर्ने, पि.टी. खेल्ने, जोडले हाँस्ने, चिच्याउने, डोरी खेल्ने, ब्याट र कर्कसंग खेल्ने, सानो हाते बल उफार्दै खेल्ने, हल्का सामानहरु उठाउने–राख्ने, तान्ने–ठेल्ने तथा ओसार–पसार गर्ने आदि क्रियाकलाप तथा व्यायामहरु मध्य केही गरौं । 
(ख)
शरीर
खुलाउन सुक्ष्म व्यायाम, ५ मिनेट 
(१)शरीरका पैतालादेखि तालुसम्मका सबै अंगहरुलाई एक-एक गरि परिचालित गरौं ।
(२) यसकालागि सर्वप्रथम कम्मरमा हात राखेर दुवै गोडालाई एकएक गर्दै जमिनबाट थोरै माथि उचालेर सुल्टो–उल्टो गोलाईमा घुमाऔं र यसैगरि कम्मरमुनिको पुरै भागलाई घुमाऔं; एकएक गर्दै घुँडालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कम्मरलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कुमलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; पाखुरालाई तनक्क तन्काएर हातमा मुठ्ठी बनाएर नारीलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; हात अगाडि पसारेर मुठ्डी बनाउदै खोल्दै गरौं; हात र हातका औंलालाई मालिस गरौं; हत्केलालाई बुढी औंलाले सबैतिर दबाऔं; हत्केलामा तरंग उत्पन्न हुनेगरि ताली बजाऔं; एक हातकाका औंलाले अर्को हातका औंलालाई अंकुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; एक हात कम्मरबाट ढाडमा लैजाऔं, अर्को हात कुमबाट ढाडमा लैजाऔं अंकुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; गर्धनलाई सुल्टो–उल्टो, दायाँ–बायाँ र गोलाईमा घुमाऔं र चारै दिशाबाट शिरलाई हातले र हातलाई शिरले ठेलौं; हातका पाँचै औंलाका टुप्पा एकसाथ जोडेर शिरमा ठुगं हानौं; आँखालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; केहीबेर कानलाई मालिस गरौं, तानौं र बटारौं; नाकका नासिकाबाट केहीबेर जोडजोडले श्वास वाहिर फालौं र केहीबेर लामो गहिरो श्वास भित्र लिदै लामो श्वास वाहिर फालौं; केहीबेर चेहराभरि औंलाले दबाऔं, मालिस गरौं र चेहरा थपथपाउँ; केहीबेर सकेसम्म ठूलो पारेर मुख खोल्दै र बन्द गर्दै गरौं; केहीबेर सकेसम्म तन्काएर जोडले श्वास वाहिर छोड्दै जिब्रो वाहिर निकालौं; अवस्था सहज छ भने केहीबेर चिच्याऔं; केहीबेर आँखा बन्द गरेर, स्थिर भएर भमरा जस्तो मंमंमंमं गर्दै आफ्नो आवाज आफैंले सुन्ने क्रियाकलाप तथा व्यायामहरु मध्य केही गरौं । 
(ग)
शरीर
तन्काउन गरिने योगासन, १५ मिनेट
(१)उठेर,
बसेर, घोप्टेर, पल्टेर मेरुदण्ड, हड्डि, जोर्नी, मांशपेशी, नश-नाडीहरु तन्काउने
तथा लचक बनाउने योगका आसनहरु गरौं तथा सूर्यनमस्कार योगासन मध्य केही गरौं ।
(घ)तिब्र
गतिका प्राणायाम, ५ मिनेट
(१)भस्त्रिका
प्राणायाम, वा (२)कपालभाति प्राणायाम,
वा (३)हुकार प्राणायाम, (४)उज्जाइ प्राणायाम, (५)अश्विनी क्रिया मध्य केही गरौं ।
(घ)सौम्य
गतिका प्राणायाम, १० मिनेट
(१)अनुलोमविलोम
तथा नाडीसोधन प्राणायाम, (२)आ-उ-म प्राणायाम, (३)वीज प्राणायाम मध्य केही गरौं ।
(ङ)विषय
केन्द्रित धारणा(बसेर), १५  देखि २० मिनेट
(१)आत्मसन्देश,
(२) कृतज्ञता, (३)शरीरको याद, (४)ॐकार उच्चाहरण, वा (३)चक्र वीज
मन्त्र, वा (४)सा-रे-ग-म-प-ध-नि-सा, वा (५) हृदय, मन, मस्तिष्कलाई आराम प्रदान गर्ने सौम्य ध्वनि सुन्ने गतिविधिहरु मध्य केही गरेर
धारणा गरौं । र धारणामा आएको एकाग्रताको गहनताको माध्यमबाट ध्यान र समाधिको अलौकिक
अवस्थामा प्रवेश गरौं ।
तथा
(च)विषय
केन्द्रित धारणा(सवासनमा पल्टेर), १५ देखि २० मिनेट
(१)आत्मसन्देश
तथा कृतज्ञता, वा (२)तथ्य: शरीरका अंग याद गरेर, वा (३)कथ्य: रमाइलो पलको याद गरेर, वा (४)सत्य: आराध्य देवताको
छवि स्ममण गरेर, वा (५)आराध्य देवताको मन्त्र जप तथा उच्चाहरणका गतिविधिहरु मध्य केही गरेर धारणा गरौं ।
र धारणामा आएको एकाग्रताको गहनताको माध्यमबाट ध्यान र समाधिको अलौकिक अवस्थामा प्रवेश
गरौं ।
छिट्टै,
योगीक साधनाका लाभ तथा उपलव्धिहरु