'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Tuesday, 2 August 2011

महिला नीति र उखान 'घुमिफिरी रुम्जाटार'

                                                                                                                                               सिर्जना भण्डारी


हालै नेपालको वार्षिक बजेट २०६६-०६७ मा अख्तियार गरिएको महिला माथिको निर्णय तथा नीतिहरु ले प्रसिद्ध उखान 'घुमिफिरी रुम्जाटार' लाई चरितार्थ गरेको छ ।

आज भोलि महिला हक, स्वतन्त्रता, समानता, समता, सशक्तीकरण जस्ता मुद्दाहरुले प्रमुखता पाउँदै आएका छन् र सरकारले पनि उक्त माग तथा विषयहरुमा चासो देखाउँदै र केही परिपूर्ति समेत गर्दै आएको सबैमा सर्वविदितै छ । निश्चय पनि सरकार सर्वोच्च निकाय हो र जनताका सुख-दुःख हेर्ने संस्था पनि । तर यसो भन्दैमा देश-काल-परिस्थिति र सम्बन्धित वर्ग तथा समाजको राय र सहमती नबुझी तथा नलिई कुनै पनि निर्णय लिने अधिकार यस संस्थालाई पनि छैन ।

यो प्रसङ्ग हो २०६६-०६७ असार २९ गतेको वार्षिक बजेट भाषणमा अख्तियार गरिएको दलित र विधवा विवाह र त्यस वापत दिइने नगद पुरस्कार घोषणाको । देशको मुल कानुन संविधानमै महिला र पुरुष समानताबारे उल्लेख गरिएको छ र संविधान मूल कानुनकै अनुसरण गरी महिलाका सम्बन्धमा अन्य थुपै्र नीति नियमहरु निर्माण गरिएका छन् । निश्चय पनि महिलाहरुले पहिलाको तुलनामा बर्तमानमा समानताको प्रत्याभूतिका साथै उल्लेख्य अधिकारहरु प्राप्त गर्न सफल भएका छन् । आमाको नामबाट नागरिकता, गर्भपतनको अधिकार, छोरा सरह छोरीलाई पैतृक सम्पत्तिको अधिकार, राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत सहभागिता आदि प्रमुख उपलब्धीहरु हुन् । कानुनी रुपमा स्वतन्त्र र समान बन्दै गइरहेका महिलाहरुलाई्र बजेटमा अख्तियार गरिएको यो निर्णयले महिलाहरुलाई पुनः पुरानै पितृसत्तात्मक सोचतिर फर्काएको भान हुन्छ । पितृसत्तात्मक परिपाटीमा महिला माथिका हरेक पक्षहरुको निर्णय गर्ने अधिकार पुरुषलाई हुन्छ र महिलाहरु अधिकार विहिन तथा दमित अवस्थामा हुन्छन् । यसो हुनुको मुख्य कारण अझै पनि पितृसत्तावाद समाज र पुरुष मानिसकताको अहमतालाई नै मान्न सकिन्छ । पुरुष मानिसिकताले लोकाचारका लागि कानुनी रुपमा महिला अधिकार, समानता र स्वतन्त्रता स्वीकार गरे पनि सामाजिक, सांस्कृतिक, धार्मिक र मानिसक रुपले अझै पनि महिलाहरुलाई्र स्वतन्त्रता दिन चाहँदैन भन्ने तथ्य यस वर्षको बजेट भाषणले छर्लङ्गयाएको छ । यदि त्यसो होइन भने किन विधवा नै भनियो विदुर किन भनिएन ?? यस नीतिले प्रष्ट रुपमा महिला विभेद देखाइएको छ । यसले महिलाहरुको अपमान गरेको छ र अझै पनि महिलाहरुलाई निरीह र आश्रित सावित गरेको छ र यस नीतिले महिलाहरुको हिम्मत, जोश, जाँगर र अस्मितामा नै प्रश्न चिह्न खडा गरेको छ । यति मात्र नभई यस नीतिले दलित जातिलाई समेत विभेदमा पारेको टड्कारै बुझ्न सकिन्छ जसले दलितलाई तल्लो दर्जा र गैर दलितलाई कथित उपल्लो तथा ठूलो जात (तथा दर्जामा) राखिदिएको छ । दलिहरुलाई कथित उपल्लो जातिहरुको उपभॊग्य वस्तुका रुपमा तेसा्रएको भान हुन्छ । 



यस नीतिले दलिहरुलाई मात्र नभई महिलाहरुलाई पनि वस्तुको रुपमा उभ्याइदिएको छ, कमजोर र अशिक्षित वर्गमा राखिदिएको छ जो वर्षो पहिले देखिनै महिलाहरुले झेल्दै आइरहेका छन् । यसका साथै यस नीतिले विधवा आमाका छोराछोरीको भविष्यमा समेत उदासिनता देखाइएको छ । यद्यपि यस घोषणाका केही सबल पक्षहरु पनि होलान तर सबल भन्दा दुर्बल पक्षहरु नै बढी देखिएकाले यहाँ केही उल्लेख गर्नु सान्दर्भिक होला -

- यस नीतिले महिला हिंसा अझ बढाउँछ । 
- विधवा आमाका छोराछोरीको भविष्य खतरामा पार्छ । 
- महिलाहरु माथिको असमानता र विभेद अझ बढाउँछ ।
- यो नीतिले महिलाहरुको सिधै अपमान गरेको छ र उनीहरुको योग्यता र अस्मितामा प्रश्न चिह्न खडा गरिदिएको छ । 
- पुनः विवाह तथा विधवा विवाह महिलाहरुको समस्याको समाधान होइन बरु यसले अझ महिलाहरुका पीडा बढाउँछ । 
- यसले समाजमा विकृति ल्याउँछ र महिलाका समस्या अझ बढाउँछ । 
- महिला स्वतन्त्रतामा बन्देज लगाउँछ र उनिहरुका जोश-जाँगर तथा चाहना मारिदिन्छ । 
- विधवा महिलाहरुको जीवनको एकमात्र चाहना पुरुष साथी पाउनु र उनीहरुको उत्थानको विकल्प पुनः विवाह मात्र होइन । 
- उमेर र चाहना दुवै भएका एकल महिलाहरु आफै विवाह गर्छन तर यस्तो निर्णयले यो चलिरहेको प्रकि्रयालाई्र असर पार्न सक्छ । 
-नियत खराब भएका पुरुष तथा वर्गहरुले यस नीतिको भरपुर कु/फाइदा उठाउन सक्छन । 

यदि नेपाल सरकारले विभिन्न नीति नियम ल्याएर महिलाहरु लाई साचचै सहयोग गर्न चाहेको हो भने महिला उत्थानका अन्य थुपै्र उपायहरु अपनाउन सक्छ । तर उच्च निकायका पदाधिकारीहरुलाई्र किन यो भ्रम भएको हो कि महिलाहरुको सम्पूर्ण जीवनको पहिलो प्राथमिक वस्तु पुरुष तथा पुरुष प्राप्ति र विवाह नै हो, उनीहरुको सर्बश्वो नै पुरुष हो, के विवाह नै नगरी प्रगति गरेर आफ्नो स्थाइत्व बनाएका कुमारी/अबिबाहित महिला र विधवा भएर पनि छोराछोरी र घरपरिवार सफलतापूर्वक सम्हालेर समाजमा इज्जत प्रतिष्ठा कमाएका महिालहरु छैनन् र ?? निश्चय पनि सहयोगी हात र साथ पाएमा सबैका लागि कुनै पनि सफलता हासिल गर्न र जीवन जिउन सहज त हुन्छ तर यहाँ यो एउटा सकारात्मक पक्षका विरुद्ध थुपै्र अन्य नकारात्मक पक्षहरु रहेका छन् । 

तसर्थ, समाजका यस्ता महत्वपूर्ण पक्षहरुमा निर्णय लिँदा हचुवाको भरमा, एक व्यक्ति तथा समूहको लहडको भरमा नीति नियमहरुका आधारमा लोकपि्रय बन्नका लागि राजनैतिक उद्देश्यले समाज नै विथोलिने गरी प्रभाव पार्ने खालका निर्णयहरु लिइनु कदापि उचित र न्यायपूर्ण कार्य होइन । अतः हामी सम्पूर्ण महिला दिदी-बहिनीहरुको माग यो छ कि हामीलाई्र घुमिफिरी रुम्जाटारको बाटो नलगियोस र यस्तो असमान र विभेदयुक्त निर्णय तुरुन्त फिर्ता लिइयोस्, हामी महिलाहरुको अस्मितालाई्र राजनीतिक अभिष्ट प्राप्त गर्ने गोटी नबनाइयोस् । बरु महिला उत्थान, जागरण, विकास तथा सशक्तीकरणका विभिन्न कार्यक्रमहरु ल्याइयोस र बढी सहयोग र आवश्यकता भएका एकल तथा विधवा दिदीबहिनीहरुलाई दिइने सहयोग र भत्ता बढाएर उनीहरु को चाहना र सोचको कदर गरियोस् ।

Tuesday, 17 May 2011

दलितले जात तथा थर फेर्नु समस्याको समाधान होइन

                                                                                                                                          सिर्जना भण्डारी 



हिजोआज दलितवर्गहरुले जात तथा थर फेरेर नागरिकता बनाएका खवरहरु छापाहरुमा प्रसस्त पढ्न तथा सुन्नमा आउने गरेका छन् । जातीवाद र उच-निचको कहाली लाग्दो दलदलबाट आफूलाई थोरै भएपनि राहत प्राप्त गर्न दलितहरुले यो कदम उठाउनु केही हदसम्म उनीहरुका लागि राहत र गौरवपूर्ण भए पनि सामाजिक तथा सास्कृतिक दृष्टिकोणले यसलाई उचित मान्न सकिदैन । हाम्रो जस्तो चार जात छत्तिसवर्णको सानो फूलबारीको मौलिक संरचना लोप हुन नदिइ बचाइराख्नु हरेक व्यक्ति, समाज र देशकै लागि गौरवको कुरा हो । यसरी जात-थर बदलेर आफैंले आफ्नो अस्तीत्व मेटाउने हो भने भोलि हामीसंग धर्म र संस्कृतिका नाममा के बाँकी रहला त ? तसर्थ यसो गर्नु समस्याको समाधान होइन, उल्टो यो त समस्याबाट भाग्नु पो हो ! यो सर्ब सत्य छ कि, चुनौतीहरुबाट भागेर समस्याको समाधान हुँदैन अर्थात चुनौतीसंग जुधेर मात्र त्यसको दिर्धकालीन समाधान खोज्न र प्राप्त गर्न सकिन्छ ।

निश्चित रुपमा हाम्रो हिन्दु समाजको सामाजिक परिपाटी जातीवादका दृष्किोणले निकै नै त्रुटीपूर्ण मानिन्छ र देखिन्छ पनि । हिन्दु समाजको सामाजिक तथा सासंकृतिक बिभाजनले मानव हुनुको प्रकृतिसिद्ध मान्यता र मानवता समेतको उपहास गरेको छ, यति मात्र नभई मानव अधिकारको समेत हनन गरेको छ । उच-निच र छुत-अछुतको विभाजन गरेर ति समुहहरु विच निकै ऊँचो पर्खाल खडा गरिदिएको छ । निश्चय पनि यो सदियौं पुरानो पर्खाल भत्काउनु तत्कालका लागि निकै नै चुनौतीपूर्ण काम हो तर असम्भव धने पक्कै छैन ।

कुनै पनि समस्याको समाधानक लागि उक्त कामको संरचनाको शुरुआत श्रेणीवद्ध किसिमबाट गरिएको छ भने त्यसको समाधान ढिलो चाँडो पक्कै हुन्छ तर कामको थालनी नै उचित तथा श्रेणीवद्ध किसिमबाट नगरी एकै पटक माथि माथिको काम गर्न थाल्यौं भने त्यो संरचनाको जग कमजोर हुन्छ र दिगो बन्न सक्दैन । त्यस्तै दलित वर्गहरुले जात-थर फेर्नु तथा आफूलाई कथित उच्च जातीका समान देखाउनु भनेको दलित मुक्तीको सबभन्दा अन्तिममा देखिने तथा हुने प्रकृया हो तर उनीहरुले संरचनाको प्रकृया विपरीत जग नै नवसालीकन पछिल्ला काम गर्न थालेकाले यस्ता क्रियाकलापहरुले एकातिर दलित मुक्ती आन्दोलनलाई फितलो पार्नुका साथै यसलाई सफल गराउन असहज वातावरणको सृजना गर्छ भने अर्कातिर अहिलेको यथास्थीतीको समाजमा उनीहरु उल्टै उपहासका पात्र बन्न सक्ने सम्भावना बढि हुन्छ, जुन ब्यक्त्तिगत र सामाजिक दृष्टिकोणबाट हेर्दा ब्यक्त्ति र समाज दुबैका लागि खतरनाक सावित हुन पनि सक्छ, किनकि मानिस सामाजिक प्राणी हो र बर्तमान अबस्थामा समाजमा उ जसरी स्वीकार्य भएको छ त्यसले उसको सफल र असफल जीवनको रेखा कोर्दछ ।

सामाजिक संरचना तथा सस्कृति पिता पुर्खा देखि चलीआएका प्रचलन तथा प्रथा हुन् जसको बन्ने र विघटन हुने क्रम निरन्तर चलिरहन्छ तर समयको माग अनुसार त्यसको गति कम वा बढि हुन सक्छ । उच-निच र छुत-अछुतको कुरा गर्दा यो विषय जहिले पनि प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य रुपलॆ धर्ममा गएर ठोक्कीने गर्दछ र यसका तमान त्रुटीहरुको देाष धर्मलाई लगाउने गरिन्छ । वास्तवमा यसो गर्नु/गरिनु उचित होइन । बिभिन्न पुरातात्त्विक प्रमाण अनुसार हिन्दु धर्मलाई विश्वकै सबै भन्दा पुरानो सनातन धर्म मानिदै आईएको छ र अन्य धर्महरुको तुलनामा हिन्दु धर्मलाई केही हद सम्म उदार, निरपेक्ष र भेदभावरहीत धर्मका रुपमा परिभाषित गर्ने गरिन्छ । लामो समयको अन्तरालमा तत्कालीक अवस्थालाई तथा सास्कृतिक संरचनाहरुमा आएका त्रुटीहरुलाई धर्ममा ठोकाएर धर्मकै उपहास गर्नु भनेको आफूले आफैंलाई कुरुप बनाउनु जस्तै हो । 


सनातन हिन्दु धर्मका ग्रन्थ र तत्कालीन सामाजिक संरचनालाई नियाल्ने हो भने केही अलौकीक (काल्पनीक) कथाहरु बाहेक समग्रमा हिन्दु धर्म भेदभावरहीत छ । अलौकीक (काल्पनीक) कथाहरुमा बाहेक हिन्दु धर्मले तथा यस धर्मका कुनै पनि धर्म ग्रन्थहरुले मानव जातीमा उचनिच र छुतअछुतको विभाजन गरेको छैन । बरु उल्टै अहिले दलित र निच मानिने जातीहरु जस्तै विश्वकर्मा, दर्जी आदीलाई भगवान मानेको र श्रद्धाको दर्जा तथा उपमा प्रदान गरेको छ । जाती तथा वर्गहरुमा मात्र नभइ हिन्दु धर्मले स्त्रीहरुलाई समेत उच्च मान-सम्मान र स्थान प्रदान गरेको छ । तर विडम्वना हाम्रो अहिलेको सामाजिक संरचना ठिक यसको विपरीत छ । यहाँनेर यस्तो जिज्ञासा जाग्न सक्छ कि धर्मले नै समाज र व्यकितका हरेक कि्रयाकलापहरुलाई डोर्याएको हुन्छ, र धर्मले नै त्यसो भन्दैन भने यो सब किन, कसरी र केका लागि भयो त ? हो, बुझ्नु पर्ने कुरा नै यहीँनेर छ । वास्तवमै सबै दृष्टीकोणबाट हिन्दु धर्म उदार, निरपेक्ष र सहज छ । 

समय परिवर्तनशिल हुनुका साथै यो बलवान छ । समयले नै इतिहासको रचना तथा सृजना र बिघटन गर्दछ । इतिहास वर्तमानको छायाँ हो, जो एकअर्काबाट कहिल्यै अलग हुदैनन्, इतिहासले वर्तमानलाई छायाँ झैं पछयाइरहेको हुन्छ । यस प्रसंगमा यहाँनेर अलिकति जातीवादको उत्पतिको प्रसंग जोड्दा प्रासङ्गीक होला । पुरातमत्वीक मान्यता अनुसार हिन्दु धर्म विश्वको सबभन्दा पुरानो धर्म हो र मुस्लिम धर्मलाई धेरै पछि अस्तित्वमा आएको धर्मका रुपमा मान्ने गरिन्छ जसको ब्यापक प्रचार प्रसार इस्बी सम्बत छैठौं तथा सातौं शताब्दी तिर प्रोफेट मोहम्मदको जन्म तथा अवतार पछि भएको मान्ने गरिन्छ । इसाको तेह्रौं शताब्दी तिर भारतको हालको नयाँ दिल्लीमा तत्कालीन बीस्तारबादी मुस्लिम शाशक बाबरको जगजगी बढ्न थाल्यो र उसले मुस्लिम धर्माबलम्बी भन्दा बाहेकका अन्य धर्माबलम्बीहरुलाई दिल्ली वरपरका क्षेत्रहरुबाट खेद्नॆ अभियान नै चलायो, मुस्लिम बाहेक अन्य धर्महरुको घोर उपहास गर्यो र तिनीहरुको अस्तित्व नै स्वीकार गरेन । यस्तो घोर शंकट र शंकटकालीन अवस्थाको समाधानका लागि तत्कालीन हिन्दु राजा मनुले हिन्दु धर्म, हिन्दुसमाज तथा हिन्दुसंस्कृतिको रक्षा गर्न तथा आफ्नो सनातन धर्मको अस्तित्व जोगाउन तथा अस्तित्वमा ल्यागन र त्यसको निरन्तरताका लागि हिन्दु धर्ममा प्रचलित तथा चलिआएका तत्कालीन मोटामोटी चालचलन, संस्कृति तथा परिवेश आादिलाई आधार बनाई सामान्य किसिमबाट ब्यक्ति तथा परिवारको कामको आधारमा समाजमा वर्ग र जाति बिभाजन गरी अन्य धर्म र समुदायहरुका सामु उक्त बिभाजित वर्ग र जातिलाई तत्कालीन आपत्कालीन समस्या समाधानको हतियारका रुपमा उभ्याए । यसरी ऐतिहासीक राजा मनुद्धारा तत्कालीन आपातकालीन तथा असहज परीस्थितीमा तयार पारिएका ऐतिहासीक सामाजिक वर्ग तथा जात बिभाजनलाई पछिल्लो पुस्ताले क्रमशः परम्परागत रुपमा अगाल्दै गयो र कालान्तरमा यसले संस्कृतिकै रुप लियो । समाजको परिवर्तन र विकास हुने क्रममा तत्कालीन राजा मनुको यही बिभाजनलाई आधार मानी हिन्दू धर्मका बिभिन्न समाजतथा समुदायहरुमा थुप्रै रीति-थीति तथा नियम-कानुनहरु निर्माण गरीए र समय समयमा आवश्यकता हेरी तिनका फेरबदल गर्ने कामहरु पनि गरिए । स्वार्थबस गरिएका केही फेरबदल तथा परिवर्तनहरु आजको समय सुहाउँदो बन्न सकेनन् र त्रुटीका रुपमा देखिए तर तिनै रीति-थीति तथा नियमहरु तत्कालीन समयमा भने परिस्थिती सुहाउँदा तथा समय सापेक्ष मानिएका थिए । अहिलेको परिस्थिती र समयको माग तथा आबश्यकता फरक छ र त्यसैअनुसार अव फेरी पनि यसमा थपघट तथा फेरबदल गर्नुपर्ने समय र जिम्मेवारी हाम्रो सामु आएको छ र अव हाम्रो पालामा हामीले कसरी हाम्रो अस्तित्वको प्रतिक धर्मं तथा संस्कृतिमा कति र कसरी थपघट तथा फेरबदल गर्ने हो, यो शिर्षक ब्यापक छलफलको बिषय बन्नु तथा बनाइनु पर्दछ । र त्यसको निष्कर्ष यस्तो निस्कीयोस ताकि उक्त निश्कर्षले हाम्रो धार्मिक तथा सांस्कृतिक आस्था र मानब हुनुको अकाट्य प्राकृतिक नियमको उपहास नगरोस ।

Tuesday, 4 January 2011

अनुत्पादक श्रम नै महिला विकासको बाधक

                                                                                                                                          सिर्जना भण्डारी 


बिश्वभरी नै हरेकजसो समाजमा महिलाहरुलाई गर्भदेखि चिहानसम्मै कुनै न कुनै रुपमा बिभेद गर्ने गरेको पाइन्छ । प्राकृतिक तथा बायोलोजीको दृष्टिबाट हेर्दा महिला र पुरुषबिच केबल लिंग र प्रजनन् अर्थात पुनरउत्पादन प्रक्रियामा मात्र भिन्नता रहेको छ । प्राकृतिक रुपमा महिला र पुरुषबिच आ-आफ्नो ठाउँमा समान अस्तित्व र महत्व देखिए पनि समाजमा दैनिक भोगिने भोगाइका अन्य पक्षहरु जस्तै राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, मनोबैज्ञानिक आदिमा महिला र पुरुषबीच विश्वका कुनै पनि समाज तथा मुलुकमा केबल असमानता मात्र नभई अझै पनि ब्यापक बिभेद रहेको पाइन्छ । विश्वकै इतिहासलाई हेर्ने हो भने विगतका तुलनामा अहिले महिलाहरु केही हदसम्म शक्ति र अधिकार सम्पन्न तथा सशक्त त भएका छन् तर संसारको कुनै पनि समाज तथा मुलुकमा अझैसम्म पनि महिलाहरु पुरुष सरह समान हुन भने सकेका छैनन् ।

राज्यद्धारा तय गरिने बिभिन्न अबस्था तथा ब्यबस्थाहरुमा कानुनद्वारा महिला र पुरुषबीच समानताका प्रत्याभूति गरिएका भएपनि समाजले (बिशेष गरी पितृप्रधान समाज) त्यसलाई मौन अस्वीकृति दिइरहेको पाइन्छ, यस्ता समाजका हरेक मूल्य मान्यताहरु पुरुषको वरिपरिमात्र घुमिरहेका हुन्छन्, जहाँमहिलाहरु समाज र पुरुषद्धारा शोषित, दमित र हरेक किसिमले नियन्त्रित हुन्छन् र पुरुषमा आश्रति हुन बाध्य बनाइएका हुन्छन् । उक्त मौन अस्वीकृतिलाई न त राज्यले चिर्न सकेको छ न त महिलाहरुले नै त्यसलाई लत्याउन सकेकाछन् । यस्तो अवस्थाको मुख्य कारक तत्व बिश्वका हरेक जसो समाजमा ब्याप्त पितृप्रधान (पुरुषप्रधान) सामाजिक, धार्मिक तथा सांस्कृतिक परीपाटीलाई नै मान्न सकिन्छ । अर्थात यस अवस्थालाई अर्को शब्दमा विराषतको धङत्रङ्गी पनि भन्न सकिन्छ जो परिवर्तशिल छ र बिस्तारै परिबर्तनको क्रममा रहेको छ किनकी समाजशास्त्रीहरु भन्ने गर्छन्- "सामाजिक परिवर्तन अत्यन्त ढिलो आउने प्रक्रिया हो" ।

महिला र पुरुषबीचमा देखिएका यस्ता थुप्रै असमानता तथा बिभेदका श्रृंखलाहरुमा एउटा महत्वपूर्ण पक्ष महिला र तिनीहरुको भागमा परेको अनुत्पादक श्रम हो । शरीरको बल र बुद्धि खर्चिएर गरिने कुनै पनि काम श्रमको शाब्दिक परिभाषा हो । श्रमलाई उत्पादक र अनुत्पादक गरी दुइ किसिममा विभाजन गरिएको छ । समाजमा हरेक परिवारका महिला र पुरुष दुवै श्रम गर्दछन् । महिला आन्दोलनका श्रम सम्बन्धी विकास क्रमलाई केलाउँदा तत्कालिन वाम र्समर्थक वरिष्ठ राजनैतिक दार्शनिक कार्ल मार्क्सले सन् १८६८ मा "महिलाहरुलाई पनि उत्पादनमुलक श्रममा सम्मिलित गराइनु पर्छ र उनीहरुको विकास तथा आत्मनिर्भरताका लागि र्सवप्रथम उनीहरुलाई अनुत्पादक श्रमको बन्धनबाट मुक्त गराइनु पर्दछ" भनी महिला आन्दोलनको शसक्त रुपमा समर्थन गरेका थिए । 



नेपालको सन्दर्भमा महिला र श्रमसम्बन्धी बहस गर्ने हो भने यसभित्र थुप्रै अनगिन्ति विषयहरु उठ्न सक्छन् तर यस लेखको प्रमुख विषयवस्तु तथा उद्देश्य महिला र तिनीहरुको अनुत्पादक श्रमको सेरोफेरोमा रहेको छ । हाल विश्व र नेपालमै पनि श्रम तथा मजदुरसम्बन्धी थुप्रै नीति नियम र अवधारणहरु सार्वजनिक गरिएका छन् र श्रमका किसिम विभाजन गरिएका छन् । यसका साथै सरकारी स्तरबाट महिलाहरुले घरपरिवारमा गर्ने अनुत्पादक श्रमलाई समेत कुल ग्रार्हस्थ उत्पादनमा उत्पादक श्रमका रुपमा जोडिने तथा मिलाउने गरिएको छ । तर वास्तविकता भने आकास-जमीनको फरक छ । महिलाहरुले घरमा गर्ने कामकाजलाई उत्पादक श्रममा जोडिए पनि त्यसको उपलब्धि उनीहरुसम्म पुग्न भने सकेको छैन् र हालसम्म महिलाहरु पछि पर्नुको प्रमुख कारण पनि यही नै रहदै आएको छ । आर्थिक रुपले आत्मनिर्भर नभईकन महिला मात्र होइन कसैको पनि सोचे जस्तो प्रगति हुन सम्भव छैन । नेपाल सामाजिक तथा धार्मिक/सांस्कुतिक रुपले पितृसत्तात्मक र आर्थिक रुपले कृषि प्रधान अर्थात कृषिमा आश्रति देश हो । समाज मूल ढाँचा पितृसत्तात्मक परिपाटीको भएकोले देश तथा समाजको सकारात्मक परिवर्तनका लागि बिभिन्न कालखण्डमा धेरैजसो नीति-नियम, ऐन-कानुन देखि विभिन्न अवधारणाहरु पुरुषलाई पहिलो दर्जा र महिलालाई दोस्रो दर्जाका नागरिकका रुपमा तयार गरिएका छन् । जस्तै विवाह तथा छोडपत्र सम्बन्धी, सन्तान उत्पादन र दोस्रो विवाहसम्बन्धी, पैत्रिक सम्पत्तिमा छोरीको अधिकार, आमाको नामबाट नागरिकता आदिसम्बन्धी प्रावधानहरुमा जति नै सुधार ल्याइएका भए पनि हाल जारी गरिएका नीति नियमहरुलाई नै मसिनो गरी केलाउने हो भने अझै पनि महिला पुरुषबीच विभेद भएका प्रशस्त दृष्टान्तहरु भेटिन्छन् । 

हालसम्मका सामाजिक परिवेशमा परिवारका पुरुष सदस्यले छोरो र श्रीमान्का रुपमा जसरी भए पनि व्यक्तित्व विकासको पहिलो अवसर पाउनै पर्ने मान्यता अझै पनि कायमै छ । समाजमा बिशेषगरी छोरा-छोरी भन्दा पनि श्रीमान्-श्रीमतीबीच अझै गहिरो भिन्नता कायम छ । श्रीमानले पढीलेखी उत्पादनशील काम गर्नुपर्छ र पहिलो प्राथमिकता उसले नै पाउनु पर्छ भन्ने पुरुष स्वयम्को मात्र मान्यता नभई सम्पूर्ण समाज र स्वयम् श्रीमतीको समेत हुने गरेको पाइन्छ । श्रीमानको पढाइलेखाइ तथा प्रगतिको चाँजोपाँजो मिलाउन एक श्रीमतीले अपुरणीय त्याग गर्नुपर्ने बाध्यता हुन्छ तर महिलाले भने यस्तो अवसर बिरलै प्राप्त गर्ने गर्दछन् । यसका लागि उसले घर परिवार, सन्तानोत्पादनदेखि तिनलाई हुर्काउने, खेतीवारी सम्हाल्ने आदि सम्पूर्ण काम धान्नुपरेको हुन्छ । यसरी श्रीमानको प्रगतिका लागि घरपरिवार धान्दा खर्चहुने उसको श्रम, समय, बल, बुद्धि र त्यागले कहिल्यै उत्पादकत्व हासिल गर्दैन् । श्रीमतीले आफ्नो ब्यक्तीत्व बिकासको उर्वर समय त्याग गरे बापत पाउने उत्पादकत्व तथा उपलब्धि भने केही शिक्षित र सम्पन्न परिवारमा बाहेक आम रुपमा लोग्ने र परिवारको तिरस्कार, अनपढ र अबुझको विल्ला, सौतेनी माम्लोको धम्की र भय, चोटिला शब्दवाण आदि हुन् । अनि यस्तो परिस्थितिबाट गुज्रिएका आम महिलाहरुको प्रगति तथा विकास कसरी हुन सक्छ ? यस्तो नजानिदो तर भयानक र तितो यथार्थको भूमरीबाट महिला, परिवार, समाज र समग्र मुलुकलाई नै उँभो लगाउनका लागि ढिलो नगरिकन समाज र मुलुक हाँक्ने जिम्मेवार वर्गहरुको ध्यान जानु जरुरी छ । bsirjana@gmail.com