'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Tuesday, 4 January 2011

अनुत्पादक श्रम नै महिला विकासको बाधक

                                                                                                                                          सिर्जना भण्डारी 


बिश्वभरी नै हरेकजसो समाजमा महिलाहरुलाई गर्भदेखि चिहानसम्मै कुनै न कुनै रुपमा बिभेद गर्ने गरेको पाइन्छ । प्राकृतिक तथा बायोलोजीको दृष्टिबाट हेर्दा महिला र पुरुषबिच केबल लिंग र प्रजनन् अर्थात पुनरउत्पादन प्रक्रियामा मात्र भिन्नता रहेको छ । प्राकृतिक रुपमा महिला र पुरुषबिच आ-आफ्नो ठाउँमा समान अस्तित्व र महत्व देखिए पनि समाजमा दैनिक भोगिने भोगाइका अन्य पक्षहरु जस्तै राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, मनोबैज्ञानिक आदिमा महिला र पुरुषबीच विश्वका कुनै पनि समाज तथा मुलुकमा केबल असमानता मात्र नभई अझै पनि ब्यापक बिभेद रहेको पाइन्छ । विश्वकै इतिहासलाई हेर्ने हो भने विगतका तुलनामा अहिले महिलाहरु केही हदसम्म शक्ति र अधिकार सम्पन्न तथा सशक्त त भएका छन् तर संसारको कुनै पनि समाज तथा मुलुकमा अझैसम्म पनि महिलाहरु पुरुष सरह समान हुन भने सकेका छैनन् ।

राज्यद्धारा तय गरिने बिभिन्न अबस्था तथा ब्यबस्थाहरुमा कानुनद्वारा महिला र पुरुषबीच समानताका प्रत्याभूति गरिएका भएपनि समाजले (बिशेष गरी पितृप्रधान समाज) त्यसलाई मौन अस्वीकृति दिइरहेको पाइन्छ, यस्ता समाजका हरेक मूल्य मान्यताहरु पुरुषको वरिपरिमात्र घुमिरहेका हुन्छन्, जहाँमहिलाहरु समाज र पुरुषद्धारा शोषित, दमित र हरेक किसिमले नियन्त्रित हुन्छन् र पुरुषमा आश्रति हुन बाध्य बनाइएका हुन्छन् । उक्त मौन अस्वीकृतिलाई न त राज्यले चिर्न सकेको छ न त महिलाहरुले नै त्यसलाई लत्याउन सकेकाछन् । यस्तो अवस्थाको मुख्य कारक तत्व बिश्वका हरेक जसो समाजमा ब्याप्त पितृप्रधान (पुरुषप्रधान) सामाजिक, धार्मिक तथा सांस्कृतिक परीपाटीलाई नै मान्न सकिन्छ । अर्थात यस अवस्थालाई अर्को शब्दमा विराषतको धङत्रङ्गी पनि भन्न सकिन्छ जो परिवर्तशिल छ र बिस्तारै परिबर्तनको क्रममा रहेको छ किनकी समाजशास्त्रीहरु भन्ने गर्छन्- "सामाजिक परिवर्तन अत्यन्त ढिलो आउने प्रक्रिया हो" ।

महिला र पुरुषबीचमा देखिएका यस्ता थुप्रै असमानता तथा बिभेदका श्रृंखलाहरुमा एउटा महत्वपूर्ण पक्ष महिला र तिनीहरुको भागमा परेको अनुत्पादक श्रम हो । शरीरको बल र बुद्धि खर्चिएर गरिने कुनै पनि काम श्रमको शाब्दिक परिभाषा हो । श्रमलाई उत्पादक र अनुत्पादक गरी दुइ किसिममा विभाजन गरिएको छ । समाजमा हरेक परिवारका महिला र पुरुष दुवै श्रम गर्दछन् । महिला आन्दोलनका श्रम सम्बन्धी विकास क्रमलाई केलाउँदा तत्कालिन वाम र्समर्थक वरिष्ठ राजनैतिक दार्शनिक कार्ल मार्क्सले सन् १८६८ मा "महिलाहरुलाई पनि उत्पादनमुलक श्रममा सम्मिलित गराइनु पर्छ र उनीहरुको विकास तथा आत्मनिर्भरताका लागि र्सवप्रथम उनीहरुलाई अनुत्पादक श्रमको बन्धनबाट मुक्त गराइनु पर्दछ" भनी महिला आन्दोलनको शसक्त रुपमा समर्थन गरेका थिए । 



नेपालको सन्दर्भमा महिला र श्रमसम्बन्धी बहस गर्ने हो भने यसभित्र थुप्रै अनगिन्ति विषयहरु उठ्न सक्छन् तर यस लेखको प्रमुख विषयवस्तु तथा उद्देश्य महिला र तिनीहरुको अनुत्पादक श्रमको सेरोफेरोमा रहेको छ । हाल विश्व र नेपालमै पनि श्रम तथा मजदुरसम्बन्धी थुप्रै नीति नियम र अवधारणहरु सार्वजनिक गरिएका छन् र श्रमका किसिम विभाजन गरिएका छन् । यसका साथै सरकारी स्तरबाट महिलाहरुले घरपरिवारमा गर्ने अनुत्पादक श्रमलाई समेत कुल ग्रार्हस्थ उत्पादनमा उत्पादक श्रमका रुपमा जोडिने तथा मिलाउने गरिएको छ । तर वास्तविकता भने आकास-जमीनको फरक छ । महिलाहरुले घरमा गर्ने कामकाजलाई उत्पादक श्रममा जोडिए पनि त्यसको उपलब्धि उनीहरुसम्म पुग्न भने सकेको छैन् र हालसम्म महिलाहरु पछि पर्नुको प्रमुख कारण पनि यही नै रहदै आएको छ । आर्थिक रुपले आत्मनिर्भर नभईकन महिला मात्र होइन कसैको पनि सोचे जस्तो प्रगति हुन सम्भव छैन । नेपाल सामाजिक तथा धार्मिक/सांस्कुतिक रुपले पितृसत्तात्मक र आर्थिक रुपले कृषि प्रधान अर्थात कृषिमा आश्रति देश हो । समाज मूल ढाँचा पितृसत्तात्मक परिपाटीको भएकोले देश तथा समाजको सकारात्मक परिवर्तनका लागि बिभिन्न कालखण्डमा धेरैजसो नीति-नियम, ऐन-कानुन देखि विभिन्न अवधारणाहरु पुरुषलाई पहिलो दर्जा र महिलालाई दोस्रो दर्जाका नागरिकका रुपमा तयार गरिएका छन् । जस्तै विवाह तथा छोडपत्र सम्बन्धी, सन्तान उत्पादन र दोस्रो विवाहसम्बन्धी, पैत्रिक सम्पत्तिमा छोरीको अधिकार, आमाको नामबाट नागरिकता आदिसम्बन्धी प्रावधानहरुमा जति नै सुधार ल्याइएका भए पनि हाल जारी गरिएका नीति नियमहरुलाई नै मसिनो गरी केलाउने हो भने अझै पनि महिला पुरुषबीच विभेद भएका प्रशस्त दृष्टान्तहरु भेटिन्छन् । 

हालसम्मका सामाजिक परिवेशमा परिवारका पुरुष सदस्यले छोरो र श्रीमान्का रुपमा जसरी भए पनि व्यक्तित्व विकासको पहिलो अवसर पाउनै पर्ने मान्यता अझै पनि कायमै छ । समाजमा बिशेषगरी छोरा-छोरी भन्दा पनि श्रीमान्-श्रीमतीबीच अझै गहिरो भिन्नता कायम छ । श्रीमानले पढीलेखी उत्पादनशील काम गर्नुपर्छ र पहिलो प्राथमिकता उसले नै पाउनु पर्छ भन्ने पुरुष स्वयम्को मात्र मान्यता नभई सम्पूर्ण समाज र स्वयम् श्रीमतीको समेत हुने गरेको पाइन्छ । श्रीमानको पढाइलेखाइ तथा प्रगतिको चाँजोपाँजो मिलाउन एक श्रीमतीले अपुरणीय त्याग गर्नुपर्ने बाध्यता हुन्छ तर महिलाले भने यस्तो अवसर बिरलै प्राप्त गर्ने गर्दछन् । यसका लागि उसले घर परिवार, सन्तानोत्पादनदेखि तिनलाई हुर्काउने, खेतीवारी सम्हाल्ने आदि सम्पूर्ण काम धान्नुपरेको हुन्छ । यसरी श्रीमानको प्रगतिका लागि घरपरिवार धान्दा खर्चहुने उसको श्रम, समय, बल, बुद्धि र त्यागले कहिल्यै उत्पादकत्व हासिल गर्दैन् । श्रीमतीले आफ्नो ब्यक्तीत्व बिकासको उर्वर समय त्याग गरे बापत पाउने उत्पादकत्व तथा उपलब्धि भने केही शिक्षित र सम्पन्न परिवारमा बाहेक आम रुपमा लोग्ने र परिवारको तिरस्कार, अनपढ र अबुझको विल्ला, सौतेनी माम्लोको धम्की र भय, चोटिला शब्दवाण आदि हुन् । अनि यस्तो परिस्थितिबाट गुज्रिएका आम महिलाहरुको प्रगति तथा विकास कसरी हुन सक्छ ? यस्तो नजानिदो तर भयानक र तितो यथार्थको भूमरीबाट महिला, परिवार, समाज र समग्र मुलुकलाई नै उँभो लगाउनका लागि ढिलो नगरिकन समाज र मुलुक हाँक्ने जिम्मेवार वर्गहरुको ध्यान जानु जरुरी छ । bsirjana@gmail.com

No comments:

Post a Comment