'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 18 March 2013

महिला आरक्षण कति उचित कति अनुचित

                                                                    सिर्जना भण्डारी
रक्षण अर्थात संरक्षण प्रदान गर्नु निश्चय पनि राम्रो र उचित कार्य हो। तर यसको औचित्यता कति र कसरी उचित वा अनुचित हुन्छ भन्ने कुरा वस्तुगत यर्थातामा भर पर्दछ। नेपालमा लामो समय देखि बहस र छलफल हुँदै आएको आरक्षणको बिषयले मुर्तता पाएको छ। आरक्षण महिला, जनजाति, दलित र पिछडिएका वर्गहरुलाई प्रदान गरिएको छ। वास्तबमै हाल निरन्तर चर्चामा आइरहने समानता र समताका बहसमा आरक्षण प्रमुख विषय बन्दै आइरहेको छ र हाम्रो जस्तो सामाजिक परिवेस भएको समाज तथा मुलुकमा पिछडिएका वर्गहरुका समान सहभागिता र तिनका ब्यक्तित्व बिकासका लागि आरक्षण एक महत्वपुर्ण औजार बन्न सक्छ। तर यसो भन्दैमा आरक्षण गुणै गुणले भरिएको समाधान भने पक्कै होइन। यसका नकारात्मक पक्षहरु पनि थुप्रै छन्। तत्कालिन अवस्थाका समस्याहरु समाधान गर्नका लागि आरक्षण प्रदान गर्नु बिभिन्न दृष्टिकोणबाट उचितनै देखिन्छ तर यो समाधान अल्पकालिन हुनु पर्दछ अर्थात यसलाई दिर्घकालिन योजनाका रुपमा लागु गरिनु हुदैन ताकी यसले तत्कालिन अवस्थामा पिछडिएका बर्गहरु (महिला, जनजाति, दलित)लाई अघि बढ्न मद्धत गरोस तर बैसाखीको रुप नलियोस। पिछडिएका बर्गहरुको समान सहभागितालाई दिगो बनाउन अल्पकालिन रुपमा आरक्षण तथा अन्य बैकल्पीक उपायहरु अपनाउन सकिन्छ तर दिर्घकालका लागि भने कसरी ति वर्गहरुलाई दिगो रुपमा सक्षम बनाउने भन्ने तिर जिम्मेवार निकायहरुको ध्यानाकर्षण हुनु जरुरी छ। यस्ता वर्गहरुलाई दिगो तबरले सक्षम गराउन उनीहरुका कठिनाइ तथा समस्याहरुका भेद पत्ता लगाइ ति कठिनाइ र समस्याहरुका समाधान गर्दै उनीहरुलाई मौका प्रदान गरिनु पर्दछ तबमात्र यस्ता समस्याहरुको दिगो समाधान हुन सक्छ।


आधा आकास ढाक्ने महिलाहरुको सहभागिता किन न्युन छ? ठुलो संख्यामा रहेका जनजाजिहरु किन पिछडिएका छन्? दलितहरु किन निरीह छन? आदि प्रश्नहरुका जबाफ खोज्न र दिन त सजिलो छ तर ति जवाफ भित्र लुकेर रहेका सुक्ष्म बिभेदीकरणका अंशहरु केलाइ त्यसको समाधान खोज्नु र दिनु त्यति सजिलो छैन।


महिलाहरु किन पछि परेका छन्
पुरुष प्रधान समाज भएको हाम्रो मुलुकमा धेरै रीति-थीति र नियम-कानुनहरु पुरुषलाई सर्बोपरि अर्थात पहिलो दर्जाको नागरीक र महिलालाई दोस्रो दर्जाको नागरीक मानेर तयार गरिएका छन्। यद्धपी कतिपय त्यस्ता रीति-थीति र नियम-कानुनहरु परिबर्तन गरिएका छन् र परिबर्तन गरिने क्रममा छन्। तर यस्ता चालचलनका धंगधंगीहरुले यति चाँडै छाड्ने अबस्था भने देखिदैन। अझै पनि महिलाहरुलाई जन्म देखि मृत्यु सम्मै दोस्रो दर्जाकै नागरिकका रुपमा ब्यबहार गरिन्छ। महिला प्रति गरिने यस्ता ब्यबहारहरुमा केही उच्च वर्गहरुमा सामान्य परिबर्तन आएको भए पनि बहुसंख्यक महिलाहरु यस किसिमको समस्याबाट अझै ग्रसित छन्। सामान्य ब्यबहारमा परिबर्तन आए पनि बिषेश रुपमा जब उसको जिबनको महत्वपुर्ण घटनाहरु जस्तै इच्छ्याएको पढाइ तथा करीअर, बिबाह, सन्तान उत्पादन, अर्थ परिचालन, घरब्यबहारको जिम्मेवारी, निर्णय लिने अधिकार आदिमा औंलामा गन्न सकिने केहि महिलाहरुले स्वायत्तता पाएका भए पनि बहुसंख्यक महिलाहरु अझै यो अधिकारबाट बन्चीत छन्। यि बहुसंख्यक महिलाहरुलाई समाजले यसरी पाठ पढाएको छ कि उनीहरु स्वयं आफुलाई खुशी खुशी दोस्रो दर्जाको नागरीक मान्न तयार छन, पुरुषलाई नै सबैथोक ठान्छन् र उनीहरु (दाजु-भाइ, लोग्ने, छोरा) कै उन्नती र प्रगतिका लागि आफ्नो सारा बल-बुद्धी र रगत-पसिना खर्चिन्छन्। उनीहरुलाई खुशी राख्नु र उनीहरुका नामसँग आफ्नो नाम जोडिनुलाई नै जिवनकै सम्पुर्ण र सबै भन्दा ठुलो उपलब्धी ठान्दछन् उनीहरु। यति पाए पछि उनीहरु आफ्नो क्षमता अजमाउन समेत चाहदैनन् किनकी घरपरिवारको सेवागर्नु र कुनैपनि असमझदारी आउन नदिनु उनीहरुको प्राकृतिक दाइत्व हो पुरुष र उनीहरुको आफ्नै बुझाईमा।

महिलाहरुको समान सहभागिता र उनीहरुको ब्यक्तित्व बिकासका लागि सर्बप्रथम यस्ता सोचहरुमा परिबर्तन आउनु तथा ल्याउनु पर्दछ। उनीहरु जन्मे देखि गरिने बिभेदीकरणका ब्यबहारहरुमा परिबर्तन ल्याउन सक्नु पर्दछ। ब्यक्तित्व बिकासको उर्बर समयमा परिवार र सन्तानको जिम्मेवारीले उनीहरुको बाटो छेक्नु हुदैन। हो, सन्तान उत्पादन गर्नु र हुर्काउनु महिलाहरुको प्राकृतिक दाइत्व हो तर यो काम सँगसँगै उनीहरुको ब्यक्तित्व बिकास गर्न गराउन र उनीहरुलाई सहयोग पुर्याउन सकिन्छ। यस्ता कि्रयाकलाप गर्न गराउन शुरुका अबस्थामा राष्ट्रकै जिम्मेवार निकायहरुले ध्यान पुर्याउनु पर्दछ र पछि नागरीक समाज तथा नीजी क्षेत्रबाट बिस्तारै सहयोग मिल्ने अपेक्षा गर्न सकिन्छ ताकि ब्यक्तित्व बिकासको महत्वपुर्ण मोडमा रहेकी महिलाले बच्चा जन्मे पश्चात आफ्नो करीअरलाई तिलान्जली दिनु लपरोस्। यसका लागि एक आमाले बिश्वास गर्न सक्ने बच्चाको रेखदेख गर्ने सस्थाहरुको स्थापना तथा परिचालन सरकारी निकायबाट हुनु पर्दछ। त्यस्तै महिला भएकै कारण उसको ब्यक्तित्व बिकासमा आर्थिक कठिनाइ परेको छ भने सहयोगी निकायहरुले महिलाको क्षमता र अध्ययनको उपादयता विचार गरी आर्थिक सहयोग प्रदान गर्नु पर्दछ। नीति नियमका बाबजुद पनि उनीहरु माथि अमानबिय ब्यबहार र बिभेदीकरण भैरहेको छ भने यसको प्रभाबकारी समाधान गर्न सक्नु पर्दछ। जिम्मेवार स्थानहरुबाट यतिमात्र गर्न सके पनि महिलाहरुले आफ्नो पहिचान आफैं बनाउन सक्छन् र भबिश्यमा यस्ता आरक्षणहरुको आबश्यकता कम पर्न सक्छ वा पर्दै नपर्न सक्छ। 



त्यसैले हामी सबै महिलाहरु एकै स्वरमा आवाज उठाउँछौं की- हे! दाता हो हामीलाई आरक्षण रुपी बैसाखी होइन सहयोगी हात र साथ देउ। बल, बुद्धी, धैर्य, हिम्मत, आत्मबिश्वास सबै किसिमले हामी आफैं सक्षम छौं। हामीलाई कृपाको भागी नबनाउ कृपा र सहानुभुतिले हाम्रो ब्यक्तित्व बिकास होइन बोझ र मजबुरी बढाउँछ र हामीलाई दोस्रो दर्जाबाट अझ तेस्रो दर्जाका नागरिकमा झारीदिन्छ। यस्तो हिनताबोध लिएर हामी हाम्रा सहकर्मीहरुसँग आँखा जुधाउने अबस्थामा समेत हुनेछैनौ यसकारण हाम्रो यो अनुरोध छ की आरक्षणलाई समान सहभागिताको दिर्घकालिन औजार नबनाइयोस्।

Saturday, 16 March 2013

छाउपडी प्रथा र मानव अधिकारका चुनौतीहरु

                                                                                                         सिर्जना भण्डारी 

ब्रम्हान्ड प्रकृति हो । यो प्रकृतिकै बलमा चलिरहेको छ । प्रकृति बलवान छ यसले ब्रम्हाण्डका हरेक जिव, वनस्पति र अन्य वस्तुहरुका क्रियाकलापहरु तथा गतिविधिहरु निर्धारित गरिदिएको छ । व्रम्हान्डका हरेक तत्वहरुको अस्तीत्व तिनका पुस्ता, दरपुस्ता, सन्तान, दरसन्तानबाट चल्दै आएको छ । तसर्थ यि तत्वहरुमा हुने प्रजनन् प्रकृया प्रकृतिको नियम हो । यदि प्रकृतिलाई हामी भगवान मान्छौं भने हामीले प्रकृतिका हरेक नियम र प्रकृयाहरुको पूजा गर्नु पर्ने हो तर विडम्वना कतिपय ब्यवहारहरुमा प्रकृतिको यस्तो नियमलाई पूजा नभएर पाप तथा अभिशापका रुपमा परिभाषित गर्ने गरेको पाइन्छ । यसको ज्वलन्त उदाहरण हो नेपालका केही समुदयहरुमा प्रचलित छाउपडी प्रथा । महिलाहरुमा हुने रज्वश्वला अर्थात महिनाबारी र सुत्केरी बार्ने चलनलाई छाउपडी प्रथा भनिन्छ ।

प्राय हिन्दु धर्मका धेरै समुदायहरुमा छाउपडी प्रथा मान्ने गरिन्छ तर तिनका सीमाहरुमा भने ब्यापक विभिन्नता पाइन्छ । रज्वश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्ध/विश्वास रहदै आएको पाइन्छ । घार्मिक भाषामा महिनावारीलाई मासिक धर्म भनिन्छ । मासिक धर्म प्रकृतिमा रहेका जीवन भएका हरेक तत्वहरुमा हुने गर्दछ जस्तै वनस्पतिमा फूलफूल्नु र मधुरस निस्कनु प्रजननको तयारी हो । त्यस्तै यूवतीहरुमा पनि उमेर पुगे पछि रज्वश्वला हुनु भनेको उनीहरु प्रजननकालागि योग्य भएको प्राकृतिक संकेत हो । तसर्थ महिनाबारी कुनै मानव अधिनमा रहेको अपरा
धिक कर्म नभई एक प्राकृतिक प्रक्रिया हो । यदि प्रकृति भगवान हो भने प्रकृतिका यस्ता नियमहरु  पूजा हुन् र हुनु पर्ने हुन् ।

भनिन्छ प्रथा तथा प्रचलनहरु समयसंग संगै बन्ने र समय संगै बदलीने तथा भत्कीने गर्दछन् । मानिसले आफ्नो सजिलो र कहिले काहीं स्वार्थ सिद्धकालागि समाजमा नियम बनाउने गर्दछन् र समय वित्दै जाँदा पछिल्ला पुस्ताहरुले तिनै प्रचलनहरुलाई प्रथा तथा संस्कृतिका रुपमा निरन्तरता दिन्छन् र यस्तै एउटा निरन्तरता हो हिन्दु समाजको छाउपडी प्रथा ।

पौराणिक मान्यता अनुसार शुरु-शुरुमा महिनाबारी बार्ने चलन थिएन रे । महिनाबारी 
बार्ने चलन देवराज इन्द्रको पालादेखि चलीआएको किम्बदन्तीहरु यदाकदा सुन्न पाइन्छन् । एकपटक देवराज इन्द्रले रिसको आवेगमा आएर व्राम्हण हत्या गरे रे र उनी माथि ब्राम्हण हत्याको दोष/पाप लाग्यो रे । देवराज इन्द्र यस दोष/पापको सजायबाट बच्न लुकी छिपी भागी हिडन थाले रे । राजा नभए पछि देवलोकमा अराजकता फैलिन थाल्यो रे । यसपछि देवराज इन्द्रलाई राज्यमा फिर्ता ल्याउन र उनको पापमोचन गर्न तत्कालीन बुद्धिमानी ऋषि, मर्हषिहरुलाई हारगुहार गरियो रे । यसक्रममा देवराज इन्द्रलाई ब्राम्हण हत्याको पापबाट मोचन गर्न उनको त्यो पाप प्रकृतिका तीन तत्वहरु पानी, वनस्पति र स्त्रीलाई भोग्न लगाइयो रे-

पानी- पानी बग्दा तथा खस्दा निस्कने फिँज तथा फोहोरमा राखियो रे, तसर्थ फिँज निस्केको तथा फिँज जमेको पानी आजसम्म पनि अपवित्र मान्ने गरिन्छ । 

वनस्पति- वनस्पतिबाट निस्कने चिप चिपे पदार्थ खोटोमा राखियो रे, तसर्थ खोटो केवल चिज मात्र अपवित्र नभएर यो शब्दलाई नै अझै सम्म तल्लो दर्जाको मान्ने गरिन्छ ।

स्त्री- स्त्रीहरुमा हुने मासिक धर्मका क्रममा बहने रातो पदार्थमा राखियो रे तसर्थ आजसम्म मासिक धर्मका वखत स्त्रीहरु अछूत तथा अशुद्द मानिन्छन् र अछूत ब्यवहार गर्ने गरिन्छ । 

यसरी पौराणिक मान्यता र विश्वासलाई हेर्दा समेत सदियौं देखि महिलाहरु अरुको थोपरीएको पाप भोग्दै आइरहेका छन् र आजको यूगसम्म आइपुग्दा यस्तो भ्रम कम हुनुको साटो यो पाप देवराज इन्द्रको नभई स्त्रीहरुकै बन्न पुगेको छ किनकी अछूत तथा छाउपडी बार्ने समुदयहरुमा पनि धेरै कमलाई मात्र थाहा होला मासिक धर्मको पौराणिक तथा धार्मिक वास्तविकता ।

हिन्दु धर्म मान्ने धेरै जसो समुदायहरुका आम परिवारहरुमा मात्र नभई उच्च घर-घरानहरुमा पनि सुत्केरी र महिनाबारी भएका बेला अछूत बार्ने चलन छ । यद्धपि यो चलन बदलिदो परिवेशमा छ र सहजतातिर गइरहेको छ । प्रकृति र शारिरिक प्रकृया बुझेका पढेलेखेका वर्गहरुले सुत्केरी र महिनावारीलाई सहज रुपमा लिन थालिसकेका छन् तर अन्धविश्वासका रुपमा जरा गाडेको समुदायहरुमा अझै पनि सुत्केरी तथा महिनाबारी बार्ने अर्थात छाउपडी प्रथाको वास्तविकता सोचे भन्दा पनि निकै डरलाग्दो अवस्थामा छ र यो आजको उत्तरआधुनिक तथा मानवअधिकारको सम्वन्धमा अति समवेदनशील एक्काइसौं सताब्दीमा मानवअधिकारको लागि एउटा भयानक चुनौतीका रुपमा देखापरेको छ ।

पश्चीम नेपालका धेरै जसो क्षेत्रहरुमा छाउपडी प्रथा र यसले माहिलाहरुमा ल्याएका चुनौतीहरु पत्याइनसक्नुका छन् । छाउपडी बार्नु त्यहाँको धर्म र संस्कृति हो, संस्कृतिको आडमा महिलाहरु माथि गरीने यस्ता अमानविय ब्यवहारहरु मानव अधिकारका विरुद्धमा छन् । सुत्केरी होस वा महीनाबारी महिलाका प्रजनन् अंगबाट रातो पदार्थ निस्के पछि उनी अछूत हुन्छीन् । कस्तो बिडम्बना बच्चा गर्भमा हुन्जेल छुत हुने महिला बच्चा जन्मे पछि अछुत हुन्छीन् । सुत्केरी अवस्थामा लामो समयसम्म रज्वश्वला भइरहने हुनाले सुत्केरी हुँदा महिलाले विश-बाइस दिन सम्म जाडो वा गर्मी होस छाउ अर्थात गोठमा घर र परिवारबाट अलग भएर बस्नु पर्दछ र यस्तो नाजुक अवस्थामा उनले बच्चा र आफ्नो स्याहार आफैंले गर्नु पर्दछ । यतिमात्र नभइ सुत्केरी अवस्थामा उनलाई दहि-दुध जस्ता तागत लाग्ने खानेकुराहरु समेत छुन र खान दिइदैन, पर्याप्त लता कपडा र ओच्छयाउने सरसामान समेत दिइदैन । धारा, खोला तथा दहहरुका पानी छुन दिइदैन । उनले कसैलाई छुन समेत हुँदैन । महिनावारी पनि यसै गरि वारिन्छ तर यो भने पाँच दिन मात्र बारिन्छ ।

यसरी महिनावारी तथा सुत्केरी हुँदा शारिरिक रुपले कमजोर भएका अवश्थामा उनीहरुले उचित हेरविचार र पौष्टीक खानपान पाउनुको साटो उल्टो तिरस्कार, शारिरक पिडा र लामो समयसम्म घरबाट टाढा एक्लै बस्नु पर्दा यस प्रथाले उक्त क्षेत्रका महिलाहरुका स्वास्थ्य, विचार, मानोवल र अस्तीत्व आदिमा समेत ठूलै नकारात्मक प्रभाव पारेको छ । यसै प्रथाका कारण कयौं महिलाहरु जंगली जनावरका शिकार हुनु परेको छ, अचेतना र रोगको शिकार हुनु परेको छ, ब्यभीचारहरुको फन्दामा परी बलत्कारीनु परेको छ, शिशु र मातृ मृत्युदर बढाएको छ । समग्रमा भन्नु पर्दा छाउपडी प्रथाका कारण महिलाहरु माथि ठूलो अमानविय तथा भेदभावयुक्त ब्यवहार र उनीहरुको मानवअधिकारको हनन् भैरहेको छ । 

यस अर्थमा छाउपडी प्रथा आजको आधुनिक जमानाको कलङ्क हो, आजको युगमा यस प्रथामा सुधार ल्याउनु तथा बन्देज लगाउनु अति आवश्यक भैसकेको छ । आजभोलि उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला विकास, महिला शसक्तीकरण आदि जस्ता मुद्धाहरु ब्यवहारमा लागू गर्न सर्वप्रथम यस्ता प्रथामा सुधार/बन्देज लगाई यस्ता प्रथाबाट पिडित महिलाहरुको जिवनस्तर र चेतनास्तर उठाउने काम पहिलो प्राथमिकतामा राखिनु पर्दछ र यस विरुद्ध आवाज उठाउन अव कति पनि ढिलो गर्नु हुन्न । 

यस्ता कुरीतिहरुमा सुधार ल्याउन शिक्षा तथा जनचेतना सबभन्दा शक्तिशाली हतियार तथा उपाय हो । सुधार गर्नेक्रममा समुदायलाई नै दोषी मान्नु र जवरजस्ती उनीहरुमा बाहिरीय संस्कृतिको प्रभाव पार्न खोजेर यो गर त्यो नगर भन्नु उचित समाधान होइन । यसको बदला उक्त क्षेत्रका जनताहरुमा शैक्षिक स्तर बढाएर, प्रकृतिको वास्तविकता बुझाएर यस्ता प्रथा र कुरीतिहरुलाई विस्तारै कम गर्न सकिन्छ । यसरी सदियौं देखि जरा गाडेर रहेका चुनौतीहरुलाई कुनै एक पक्षले मात्र प्रयास गरेर सुधार्न सकिदैन । यस्तो कामकालागि समाजका जिम्मेवार सबै पक्षहरुको लागीमेलीको अपरीहार्पता रहन्छ । सरकारी तवरबाट यस्ता प्रथा विरुद्धका नीतिनियम तय गरी महिला प्रति हुने यस्ता अमानविय ब्यवहारहरुलाई गैरकानूनी घोषित गरिनु पर्दछ । मानवअधिकारवादीहरुले यस्ता प्रथाको अन्यायमा परेर दु:ख भोगिरहेकाहरुको जीवन सरल बनाउने र उनहरुको अधिकार दिलाउने प्रयास गर्नु पर्दछ । समाजसेवी र धार्मिक पक्षका जिम्मेवार ब्यक्तिहरुले समाजका ठूलाठालु र जिम्मेवार वर्गहरुको विचार रुपान्तरणमा जोड दिनु पर्दछ । राज्यको चौथो अंग मानिने चलचित्र, डकुमेन्ट्री लगायतका संचार माध्यमहरुले यस्ता कुप्रथाका नकारात्मक र अमानविय पक्षहरुको चिरफार गरी आमजनता सामु वास्तविक्ता पस्कने काम गर्नुपर्दछ । र अहिलेका पढेलेखेका प्रकृति र शारिरिक प्रकृयाबारे जानेबुझेका युवा तथा नयाँपुस्ताहरुले पिडक र पिडीत दुवै वर्गहरुमा जनचेतना फैलाउने र अन्य समुदायहरुको उदाहरण दिएर तथा देखाएर उनीहरुको सोचमा परिवर्तन ल्याउने काम गर्नु पर्दछ । परिवर्तन समयसंग संगै चल्ने प्रकृया हो र यि विभिन्न क्षेत्र र वर्गबाट गरिने प्रयासहरुले यस्ता पुराना प्रथा, कुरिती र कुसंस्कृतिहरुलाई समयको सांचोमा ढाल्न सक्छन् भन्नेमा पक्कै पनि कसैको दुइमत रहदैन होला र यहीनै आजको मानव अधिकारको युगको माग र आवश्यकता हो ।