'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Saturday, 16 March 2013

छाउपडी प्रथा र मानव अधिकारका चुनौतीहरु

                                                                                                         सिर्जना भण्डारी 

ब्रम्हान्ड प्रकृति हो । यो प्रकृतिकै बलमा चलिरहेको छ । प्रकृति बलवान छ यसले ब्रम्हाण्डका हरेक जिव, वनस्पति र अन्य वस्तुहरुका क्रियाकलापहरु तथा गतिविधिहरु निर्धारित गरिदिएको छ । व्रम्हान्डका हरेक तत्वहरुको अस्तीत्व तिनका पुस्ता, दरपुस्ता, सन्तान, दरसन्तानबाट चल्दै आएको छ । तसर्थ यि तत्वहरुमा हुने प्रजनन् प्रकृया प्रकृतिको नियम हो । यदि प्रकृतिलाई हामी भगवान मान्छौं भने हामीले प्रकृतिका हरेक नियम र प्रकृयाहरुको पूजा गर्नु पर्ने हो तर विडम्वना कतिपय ब्यवहारहरुमा प्रकृतिको यस्तो नियमलाई पूजा नभएर पाप तथा अभिशापका रुपमा परिभाषित गर्ने गरेको पाइन्छ । यसको ज्वलन्त उदाहरण हो नेपालका केही समुदयहरुमा प्रचलित छाउपडी प्रथा । महिलाहरुमा हुने रज्वश्वला अर्थात महिनाबारी र सुत्केरी बार्ने चलनलाई छाउपडी प्रथा भनिन्छ ।

प्राय हिन्दु धर्मका धेरै समुदायहरुमा छाउपडी प्रथा मान्ने गरिन्छ तर तिनका सीमाहरुमा भने ब्यापक विभिन्नता पाइन्छ । रज्वश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्ध/विश्वास रहदै आएको पाइन्छ । घार्मिक भाषामा महिनावारीलाई मासिक धर्म भनिन्छ । मासिक धर्म प्रकृतिमा रहेका जीवन भएका हरेक तत्वहरुमा हुने गर्दछ जस्तै वनस्पतिमा फूलफूल्नु र मधुरस निस्कनु प्रजननको तयारी हो । त्यस्तै यूवतीहरुमा पनि उमेर पुगे पछि रज्वश्वला हुनु भनेको उनीहरु प्रजननकालागि योग्य भएको प्राकृतिक संकेत हो । तसर्थ महिनाबारी कुनै मानव अधिनमा रहेको अपरा
धिक कर्म नभई एक प्राकृतिक प्रक्रिया हो । यदि प्रकृति भगवान हो भने प्रकृतिका यस्ता नियमहरु  पूजा हुन् र हुनु पर्ने हुन् ।

भनिन्छ प्रथा तथा प्रचलनहरु समयसंग संगै बन्ने र समय संगै बदलीने तथा भत्कीने गर्दछन् । मानिसले आफ्नो सजिलो र कहिले काहीं स्वार्थ सिद्धकालागि समाजमा नियम बनाउने गर्दछन् र समय वित्दै जाँदा पछिल्ला पुस्ताहरुले तिनै प्रचलनहरुलाई प्रथा तथा संस्कृतिका रुपमा निरन्तरता दिन्छन् र यस्तै एउटा निरन्तरता हो हिन्दु समाजको छाउपडी प्रथा ।

पौराणिक मान्यता अनुसार शुरु-शुरुमा महिनाबारी बार्ने चलन थिएन रे । महिनाबारी 
बार्ने चलन देवराज इन्द्रको पालादेखि चलीआएको किम्बदन्तीहरु यदाकदा सुन्न पाइन्छन् । एकपटक देवराज इन्द्रले रिसको आवेगमा आएर व्राम्हण हत्या गरे रे र उनी माथि ब्राम्हण हत्याको दोष/पाप लाग्यो रे । देवराज इन्द्र यस दोष/पापको सजायबाट बच्न लुकी छिपी भागी हिडन थाले रे । राजा नभए पछि देवलोकमा अराजकता फैलिन थाल्यो रे । यसपछि देवराज इन्द्रलाई राज्यमा फिर्ता ल्याउन र उनको पापमोचन गर्न तत्कालीन बुद्धिमानी ऋषि, मर्हषिहरुलाई हारगुहार गरियो रे । यसक्रममा देवराज इन्द्रलाई ब्राम्हण हत्याको पापबाट मोचन गर्न उनको त्यो पाप प्रकृतिका तीन तत्वहरु पानी, वनस्पति र स्त्रीलाई भोग्न लगाइयो रे-

पानी- पानी बग्दा तथा खस्दा निस्कने फिँज तथा फोहोरमा राखियो रे, तसर्थ फिँज निस्केको तथा फिँज जमेको पानी आजसम्म पनि अपवित्र मान्ने गरिन्छ । 

वनस्पति- वनस्पतिबाट निस्कने चिप चिपे पदार्थ खोटोमा राखियो रे, तसर्थ खोटो केवल चिज मात्र अपवित्र नभएर यो शब्दलाई नै अझै सम्म तल्लो दर्जाको मान्ने गरिन्छ ।

स्त्री- स्त्रीहरुमा हुने मासिक धर्मका क्रममा बहने रातो पदार्थमा राखियो रे तसर्थ आजसम्म मासिक धर्मका वखत स्त्रीहरु अछूत तथा अशुद्द मानिन्छन् र अछूत ब्यवहार गर्ने गरिन्छ । 

यसरी पौराणिक मान्यता र विश्वासलाई हेर्दा समेत सदियौं देखि महिलाहरु अरुको थोपरीएको पाप भोग्दै आइरहेका छन् र आजको यूगसम्म आइपुग्दा यस्तो भ्रम कम हुनुको साटो यो पाप देवराज इन्द्रको नभई स्त्रीहरुकै बन्न पुगेको छ किनकी अछूत तथा छाउपडी बार्ने समुदयहरुमा पनि धेरै कमलाई मात्र थाहा होला मासिक धर्मको पौराणिक तथा धार्मिक वास्तविकता ।

हिन्दु धर्म मान्ने धेरै जसो समुदायहरुका आम परिवारहरुमा मात्र नभई उच्च घर-घरानहरुमा पनि सुत्केरी र महिनाबारी भएका बेला अछूत बार्ने चलन छ । यद्धपि यो चलन बदलिदो परिवेशमा छ र सहजतातिर गइरहेको छ । प्रकृति र शारिरिक प्रकृया बुझेका पढेलेखेका वर्गहरुले सुत्केरी र महिनावारीलाई सहज रुपमा लिन थालिसकेका छन् तर अन्धविश्वासका रुपमा जरा गाडेको समुदायहरुमा अझै पनि सुत्केरी तथा महिनाबारी बार्ने अर्थात छाउपडी प्रथाको वास्तविकता सोचे भन्दा पनि निकै डरलाग्दो अवस्थामा छ र यो आजको उत्तरआधुनिक तथा मानवअधिकारको सम्वन्धमा अति समवेदनशील एक्काइसौं सताब्दीमा मानवअधिकारको लागि एउटा भयानक चुनौतीका रुपमा देखापरेको छ ।

पश्चीम नेपालका धेरै जसो क्षेत्रहरुमा छाउपडी प्रथा र यसले माहिलाहरुमा ल्याएका चुनौतीहरु पत्याइनसक्नुका छन् । छाउपडी बार्नु त्यहाँको धर्म र संस्कृति हो, संस्कृतिको आडमा महिलाहरु माथि गरीने यस्ता अमानविय ब्यवहारहरु मानव अधिकारका विरुद्धमा छन् । सुत्केरी होस वा महीनाबारी महिलाका प्रजनन् अंगबाट रातो पदार्थ निस्के पछि उनी अछूत हुन्छीन् । कस्तो बिडम्बना बच्चा गर्भमा हुन्जेल छुत हुने महिला बच्चा जन्मे पछि अछुत हुन्छीन् । सुत्केरी अवस्थामा लामो समयसम्म रज्वश्वला भइरहने हुनाले सुत्केरी हुँदा महिलाले विश-बाइस दिन सम्म जाडो वा गर्मी होस छाउ अर्थात गोठमा घर र परिवारबाट अलग भएर बस्नु पर्दछ र यस्तो नाजुक अवस्थामा उनले बच्चा र आफ्नो स्याहार आफैंले गर्नु पर्दछ । यतिमात्र नभइ सुत्केरी अवस्थामा उनलाई दहि-दुध जस्ता तागत लाग्ने खानेकुराहरु समेत छुन र खान दिइदैन, पर्याप्त लता कपडा र ओच्छयाउने सरसामान समेत दिइदैन । धारा, खोला तथा दहहरुका पानी छुन दिइदैन । उनले कसैलाई छुन समेत हुँदैन । महिनावारी पनि यसै गरि वारिन्छ तर यो भने पाँच दिन मात्र बारिन्छ ।

यसरी महिनावारी तथा सुत्केरी हुँदा शारिरिक रुपले कमजोर भएका अवश्थामा उनीहरुले उचित हेरविचार र पौष्टीक खानपान पाउनुको साटो उल्टो तिरस्कार, शारिरक पिडा र लामो समयसम्म घरबाट टाढा एक्लै बस्नु पर्दा यस प्रथाले उक्त क्षेत्रका महिलाहरुका स्वास्थ्य, विचार, मानोवल र अस्तीत्व आदिमा समेत ठूलै नकारात्मक प्रभाव पारेको छ । यसै प्रथाका कारण कयौं महिलाहरु जंगली जनावरका शिकार हुनु परेको छ, अचेतना र रोगको शिकार हुनु परेको छ, ब्यभीचारहरुको फन्दामा परी बलत्कारीनु परेको छ, शिशु र मातृ मृत्युदर बढाएको छ । समग्रमा भन्नु पर्दा छाउपडी प्रथाका कारण महिलाहरु माथि ठूलो अमानविय तथा भेदभावयुक्त ब्यवहार र उनीहरुको मानवअधिकारको हनन् भैरहेको छ । 

यस अर्थमा छाउपडी प्रथा आजको आधुनिक जमानाको कलङ्क हो, आजको युगमा यस प्रथामा सुधार ल्याउनु तथा बन्देज लगाउनु अति आवश्यक भैसकेको छ । आजभोलि उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला विकास, महिला शसक्तीकरण आदि जस्ता मुद्धाहरु ब्यवहारमा लागू गर्न सर्वप्रथम यस्ता प्रथामा सुधार/बन्देज लगाई यस्ता प्रथाबाट पिडित महिलाहरुको जिवनस्तर र चेतनास्तर उठाउने काम पहिलो प्राथमिकतामा राखिनु पर्दछ र यस विरुद्ध आवाज उठाउन अव कति पनि ढिलो गर्नु हुन्न । 

यस्ता कुरीतिहरुमा सुधार ल्याउन शिक्षा तथा जनचेतना सबभन्दा शक्तिशाली हतियार तथा उपाय हो । सुधार गर्नेक्रममा समुदायलाई नै दोषी मान्नु र जवरजस्ती उनीहरुमा बाहिरीय संस्कृतिको प्रभाव पार्न खोजेर यो गर त्यो नगर भन्नु उचित समाधान होइन । यसको बदला उक्त क्षेत्रका जनताहरुमा शैक्षिक स्तर बढाएर, प्रकृतिको वास्तविकता बुझाएर यस्ता प्रथा र कुरीतिहरुलाई विस्तारै कम गर्न सकिन्छ । यसरी सदियौं देखि जरा गाडेर रहेका चुनौतीहरुलाई कुनै एक पक्षले मात्र प्रयास गरेर सुधार्न सकिदैन । यस्तो कामकालागि समाजका जिम्मेवार सबै पक्षहरुको लागीमेलीको अपरीहार्पता रहन्छ । सरकारी तवरबाट यस्ता प्रथा विरुद्धका नीतिनियम तय गरी महिला प्रति हुने यस्ता अमानविय ब्यवहारहरुलाई गैरकानूनी घोषित गरिनु पर्दछ । मानवअधिकारवादीहरुले यस्ता प्रथाको अन्यायमा परेर दु:ख भोगिरहेकाहरुको जीवन सरल बनाउने र उनहरुको अधिकार दिलाउने प्रयास गर्नु पर्दछ । समाजसेवी र धार्मिक पक्षका जिम्मेवार ब्यक्तिहरुले समाजका ठूलाठालु र जिम्मेवार वर्गहरुको विचार रुपान्तरणमा जोड दिनु पर्दछ । राज्यको चौथो अंग मानिने चलचित्र, डकुमेन्ट्री लगायतका संचार माध्यमहरुले यस्ता कुप्रथाका नकारात्मक र अमानविय पक्षहरुको चिरफार गरी आमजनता सामु वास्तविक्ता पस्कने काम गर्नुपर्दछ । र अहिलेका पढेलेखेका प्रकृति र शारिरिक प्रकृयाबारे जानेबुझेका युवा तथा नयाँपुस्ताहरुले पिडक र पिडीत दुवै वर्गहरुमा जनचेतना फैलाउने र अन्य समुदायहरुको उदाहरण दिएर तथा देखाएर उनीहरुको सोचमा परिवर्तन ल्याउने काम गर्नु पर्दछ । परिवर्तन समयसंग संगै चल्ने प्रकृया हो र यि विभिन्न क्षेत्र र वर्गबाट गरिने प्रयासहरुले यस्ता पुराना प्रथा, कुरिती र कुसंस्कृतिहरुलाई समयको सांचोमा ढाल्न सक्छन् भन्नेमा पक्कै पनि कसैको दुइमत रहदैन होला र यहीनै आजको मानव अधिकारको युगको माग र आवश्यकता हो ।



No comments:

Post a Comment