'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Sunday, 15 August 2010

'महिला विकास' र 'महिला र विकास'

सिर्जना भण्डारी

यि दुई वाक्य पढ्दा र सुन्दा उस्तै लाग्छन् तर यिनको शाब्दिक अर्थ भने फरक छ। 'महिला विकास' भन्नाले महिलासंग सम्बन्धित सम्पुर्ण पक्षहरुमा आउने सकारात्मक परिवर्तन भन्ने बुझिन्छ भने 'महिला र विकास' भन्नाले विकासका कार्यहरुमा महिलाहरुको भुमिका तथा सहभागिता भन्ने बुझिन्छ। आजको युगमा समाज र राष्ट्रको सर्बांगीण विकासका लागि विकासका हरेक पक्षहरुमा महिलाहरुको समान सहभागिता अपरिहार्य मान्ने गरिएको छ र यसका लागि महिला विकास पुर्बशर्त हो।


महिला विकास
क्षेत्र अनुसार विकासको अबधारणगत परिभाषा अनेक भए पनि विषयबस्तुसंग नजिक रहेर सन्दर्भ हेरी विकासको परिभाषा गर्नु सान्धर्भिक हुन्छ। यहाँ 'विकास' शब्द महिलासंग गाँसिएर आएको हुनालॆ महिलासंग सम्बन्धित सबै क्षेत्रहरुमा हुने इच्छाइएको बृद्धि तथा सकारात्मक परिबर्तनलाई नै यस सम्दर्भको अर्थात महिला विकासको अबधारणागत परिभाषा मान्न सकिन्छ। यस अर्थमा महिलासंग सम्बन्धित बिभिन्न क्षेत्रहरुमा भएका तथा आएका सकारात्मक परिबर्तन नै वास्तविक अर्थमा महिला विकास हो। विकास निरन्तर चलिरहने प्रकि्रया हो। मानव समाज निरन्तर रुपमा परिवर्तनशिल भएको कारण मानवसंग सम्बन्धित हरेक क्षेत्रहरुमा एक पछि अर्को विषयहरुले प्रबेस पाइरहेका हुन्छन् र विकास तथा परिबर्तनको निरन्तरता चलिरहन्छ। र दिन पर दिन बढ्दो जागरण सिको र आवश्यकताले विकासको परिभाषा र दायरालाई पनि फराकिलो पार्दै लगी रहेको हुन्छ।

महिला विकासको सन्दर्भलाई बिगत र बर्तमानमा तुलना गरेर हेर्ने हो भने यस बिच निकै ठुलो अन्तर पाइन्छ। बिगतमा महिला विकासका मुद्धाहरु केबल महिला स्वतन्त्रता र समानतामा मात्र सिमित थिए भने बर्तमान पस्थितीमा महिला विकासका दायरा निकै फराकिला भएका छन्। जसका कारण महिला बिकाससंग सम्बन्धित थुपै्र बिषय तथा मुद्धाहरु जस्तै- महिला स्वतन्त्रता, महिला समानता, महिला समता, महिला अधिकार, महिला सहभागिता, महिला आरक्षण, महिला सशक्तीकरण आदि महिला विकास अन्तर्गत समाबेस गरिएका विषयहरु हुन्। यसका साथै बदलिदो परिस्थितीसंगै एक पछि अर्को गर्दै निरन्तर नयाँ नयाँ बिषयहरु थपिदै गैरहेका छन्। गर्भपतनको अधिकार, आफ्नो शरीरमाथिको अधिकार, कुनै पनि सेवामा महिलाको अनिबार्य सहभागिता, आदि महिला विकासका नयाँ र जल्दा बल्दा मुद्धाहरु हुन्।




महिला विकासका प्रमुख र चर्चित मुद्धाहरु
बिगत देखि बर्तमान सम्म महिला विकाससंग सम्बन्धित प्रमुख र बहुचर्चित मुद्धाहरु निम्न रहेका छन्।



क) लैंगीक समानता



ख) लैंगीक समता



ग) महिला शसक्तीकरण




लैंगीक समानता
समानताको सिधा अर्थ बराबर हो। यस अर्थमा लैंगीक समानता भन्नाले महिला र पुरुष बिच समानता तथा समान अधिकार हुनु हो। लैंगीक समानता बृहत रुपमा हेर्दा के के कुरामा समानता र किन समानता भन्ने प्रश्न गहन हुन आउँछ।



के के मा समानता?
अवसर, अधिकार, जिम्मेवारी, श्रोतमा पहुँच, स्वाश्थ्य, न्याय, शिक्षा साथै आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रहरुमा समान सहभागिता हुनु र पाउनु पर्ने आदि कुरामा समानता।




लैंगीक समता
समताको सिधा अर्थ अवस्था हेरी संरक्षण तथा आरक्षण प्रदान गर्नु हो। लैंगीक समता भन्नाले महिला र पुरुष विच वा महिलामहिला विच आवश्यकता दक्षता र क्षमताको आधारमा सोही अनुरुप अवसर पहुँच र नियन्त्रण प्रदान गर्नु भन्ने बुझिन्छ। लैंगीक समानतामा जस्तै लैंगीक समतामा पनि किन र कसरी समता गर्ने वा दिने भन्ने कुरा गहन हुन आउँछ।




किन समता?
समाजमा रहेका सम्पुर्ण ब्यक्ति वर्ग तथा समुदायहरुको योग्यता र क्षमता समान हुदैन। तसर्थ जस जसको जुन क्षेत्रमा जति दक्षता र क्षमता रहेको छ सोही अनुरुप कम क्षमता भएका तथा कमजोर महिला तथा पिछडीएका वर्गहरुलाई संरक्षण तथा आरक्षण दिई समान अवसर र पहुँच प्रदान गरी उक्त वर्गलाई राज्यको मुलधारमा ल्याउने काम लैंगीक समताको माध्यमबाट गर्न सकिन्छ। छोटकरीमा भन्नु पर्दा कमजोर वर्गलाई प्राथमिकता दिई अवसर प्रदान गर्नु नै समता हो।



महिला शसक्ततीकरण
शसक्ततीकरण भन्नाले सक्षम आत्मनिर्भर र पुर्ण सहभागी गराउनु भन्ने बुझिन्छ। महिला विकासको सन्दर्भमा महिलाहरुको चौतर्फी विकास नै महिला शसक्ततीकरण हो। महिलाहरुको चौतर्फी विकास भन्नाले समाज तथा राज्यका बिभिन्न पक्षहरुमा महिलाहरुको सहभागिता र पहुँचलाई अबगत गराउँछ। समाज तथा राज्यका बिभिन्न पक्षहरुमा महिलाहरुको जति बढि सहभागिता र पहुँच भयो उति नै महिला शसक्ततीकरण र महिला विकास हुदै जान्छ।



महिला विकासका पक्षहरु
महिला विकास अन्तर्गत मुख्य रुपमा निम्न चार पक्षहरु पर्न आउँछन्।



क) महिला र सामाजिक पक्ष (धार्मिक, सांस्कृतिक)



ख) महिला र आर्थिक पक्ष



ग) महिला र शैक्षिक पक्ष



घ) महिला र राजनीतिक पक्ष



- अन्य पक्षहरु- प्रसासनिक, पा्रबिधिक, न्यायीक आदि




महिलासंग सम्बन्धित यी बिभिन्न पक्षहरु मध्य बिभिन्न अध्ययन तथा अनुसन्धानहरुले शैक्षिक पक्षलाई महिला विकास, जागरण तथा शसत्तीकरण लागि पहिलो शर्तका रुपमा रहेको देखाएका छन्। शिक्षालाई उज्यालोको ज्योतिको रुपमा लिने गरिन्छ जसले महिलाहरुमा जागरण ल्याउनुका साथै शसत्तीकरण र सहभागिताका लागि सक्षम बनाउँछ। शिक्षा पछि दोस्रो शर्तमा रुपमा सामाजिक पक्षलाई लिने गरिएको पाइन्छ। महिला र पुरुष बिच गरिने र हुने सामाजिक भेदभाव तथा असमानतालाई प्राकृतिक र धार्मिक नभई समाजद्धारा बनाइएको कृतृम र एकपक्षिय नियम मान्ने गरिन्छ जो धर्म सस्कृति र परम्पराका आडमा जरा गाडेर रहेको छ। जब सम्म महिलाहरु यस्ता सामाजि कुरीतीहरुबाट मुक्त हुदैनन् तब सम्म महिला बिकास, जागरण, शसत्तीकरण र सहभागिता सहज हुन सक्दैन। समाजले महिलाहरुलाई दोस्रो दर्जाको नागरीकको रुपमा ब्यबहार गर्ने गर्दछ जबकी पुरुषको भन्दा कयौं गुणा बढि दोहोरो-तेहेरो जिम्मेवारी महिलाको काँधमा रहेको पाईन्छ। तेस्रो शर्तका रुपमा आर्थिक पक्षलाई लिइएको पाइन्छ। जब सम्म महिला आर्थिक रुपले आत्मनिर्भर र सम्पत्तिमा अधिकार सम्पन्न हुन सक्दैनन् तबसम्म महिला विकास, जागरण र सशक्तीकरणको काम सजिलै गर्न सकिदैन। महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन मुख्य रुपमा राज्यद्धारा नियम-कानुन र आर्थिक कि्रयाकलाप तथा कार्यक्रमहरुको प्रमुख योगदान रहेको हुन्छ। यस्ता कि्रयाकलाप तथा कार्यक्रमहरुलाई महिला मुखी तबरले निर्माण गरि सही ढंगबाट कार्यानवयन गर्नु र गराइनु पर्दछ। महिला विकास जागरण र सशक्तीकरणका सन्दर्भमा राजनीतिक पक्षलाई चौथो शर्तका रुपमा मानिएको छ। समाजमा राजनीतिलाई नीतिहरुको राजा मान्ने गरिन्छ। वास्तबमा राजनीति एक छुट्टै विषय नभएर यो बिभिन्न विषयहरुको समिश्रण हो। राजनीतिले नै समाज र देशलाई डोर्याएको हुन्छ। राजनीति कै माध्यमबाट समाज र देश चलाउने नीति नियम योजना कानुन आदि बन्दछन्। देश चलाउने यस्ता नीति नियम योजना कानुन बनाउने तहसम्म महिलाहरुको पहुच पुर्याइनु पर्दछ। तब मात्र बास्तविक रुपमा महिला हक-हित सम्बन्धि प्रभाबकारी नीति-नियम, योजना, कानुन र कार्यक्रम आदि सही ढंगबाट बन्न सक्छन् र राज्यका बिभिन्न अंगहरुमा महिला सहभागिता बढाउन र महिला विकास, जागरण, सशक्तीकरण सहज रुपमा गर्न गराउन सकिन्छ। यसैगरि प्राविधिक, प्रसासनिक, न्याइक आदि सहायक पक्षहरु समेतमा महिलाहरुको सहभागिता बढाउँदा उनीहरुको चौतर्फी बिकासमा थप योगदान पुग्नेमा कसैको दुई मत छैन। 



यि महिलासँग सम्बन्धित बिभिन्न पक्षहरु मध्य कुनै एक पक्षमा मात्र आएको सकारात्मक परिबर्तनलाई महिला बिकास र शसत्तीकरण भएको मान्न सकिदैन। वास्तवमा महिला विकास र शसत्तीकरण भनेको यि सबै पक्षहरुमा आउने सकारात्मक परिवर्तन तथा प्रगति हो जसले महिलाहरुलाई सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, न्याइक, प्रसासनिक… आदि सबै किसिमले सक्षम र आत्मनिर्भर बनाउँछ।

No comments:

Post a Comment