'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Tuesday, 25 June 2019

लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयनको रणनीतिक पक्षमा जोडदिऊँ

डा. सिर्जना भण्डारी

पन्द्रौं पञ्चवर्षिय विकास योजना नजिकिदै छ । राजनीतिक शंक्रमणबाट उकासिएको नेपाल हाल समग्र क्षेत्र तथा तहहरुको प्रगतिकालागि अग्रसर अवस्थामा छ । राजनीतिक, आर्थिक, सामाजिक तथा लैङ्गिक रुपमा समावेशी, न्यायपूर्ण र समतामूलक विकास आजको आवश्यकता हो । अर्थपूर्ण विकासको उपलब्धिकालागि यी सबै तत्वहरु महत्वपूर्ण र अन्तरसम्बन्धीत छन् । लैङ्गिक समानता र समग्र आर्थिक तथा सामाजिक उन्नतिबीच अर्थपूर्ण सम्बन्ध रहेको हुन्छ, तसर्थ विकासका समग्र प्रक्रियाहरुमा प्रत्यक्ष प्रभाव पार्ने प्रमुख तत्वहरुमध्य लैङ्गिकता महत्वपूर्ण पक्ष हो । यस तथ्यलाई बुझेर नेपालमा लैङ्गिक विकासको नीतिवद्ध शुरुआत छैठौं योजना (बि.सं. २०३७–४२)बाट भएको हो । महिला विकासको कल्याणकारी दृष्टिकोणमा आधारीत 'विकासमा महिला(वीड)' अवधारणाबाट थालिएको लैङ्गिक विकास अभियान, परिमार्जित हुँदै सहभागितात्मक दृष्टिकोणमा आधारीत 'महिला र विकास(वाड)' र अधिकारको दृष्टिकोणमा आधारीत 'लैङ्गिकता र विकास(ग्याड)' सम्म आईपुगेको छ । 

संयुक्त राष्ट्रसंघद्वारा बेइजिङ्गमा(सन् १९९५) आयोजित चौथो महिला सम्मेलनले महिला सशक्तीकरणका विषयमा जोडदिंदै भनेकोछ "लैङ्गिक समानता र महिलाको सुदृढ अवस्था मानव अधिकार तथा सामाजिक न्याय हो, तसर्थ महिलाका मुद्धाहरुलाई अलग राखेर हेरीनु हुदैन ।" यसै अनुरुप नेपालको संविधान लगायत सरकारका नीति, कार्यक्रम र विभिन्न कानुनी दस्तावेजहरुमा लैङ्गिक समानताका मुद्दाहरुलाई सम्वोधन गरी राष्ट्रिय प्राथमिकतामा राख्दै आइएकाछन् । तर राज्यले लैङ्गिक समानता र समान अवसरको प्रतिवद्धता गरेको भएतापनि यस सन्दर्भमा उल्लेख्य उपलब्धि हासिल नहुनुकासाथै राज्यका विभिन्न क्षेत्र र तहहरुमा महिलाहरुको प्रभावकारी पहुँच तथा उत्साहजनक उपस्थिति अझै हुनसकेको छैन । यसो हुनुका विभिन्न कारणहरुमध्य लैङ्गिक उत्तरदायी बजेटको अपर्याप्तता, यसको रणनीतिक कार्यान्वयनमा कमजोरी र योजना तथा बजेट तर्जुमा, कार्यक्रमहरुको कार्यान्वयन, परिक्षण र मूल्याङ्कनकोे समयमा गहन लैङ्गिक सम्वेदनशीलता नअपनाइनु तथा लैङ्गिक सहभागिता असमान हुनु प्रमुख कारण रहंदैआएको विभिन्न तथ्याङ्कहरुले देखाएका छन् । विकास र लगानीका उपलब्धिहरूमा महिला र पुरुषको समान पहुँच पुर्याउन महिलामुखी विशेष कार्यक्रमहरू र स्रोतको सुनिश्चितता अनिवार्य मानिन्छ र यसका लागि लैङ्गिक उत्तरदायी बजेट एउटा महत्वपूर्ण औजार हो जसको माध्यमबाट राष्ट्रिय बजेटमा महिलामुखी कार्यक्रमहरूले अझ बढी स्थान पाउँछन् र महिलाहरुको समग्र विकासमा योगदान पुग्दछ । 

बेइजिङ्ग सम्मेलनदेखि नै लैङ्गिक समानताको लागि स्रोत/साधन विनियोजन र लैङ्गिक उत्तरदायी बजेटको कुरा गरिएतापनि सन् २००० को बेइजिङ्ग जोड ५ सम्मेलनले बेइजिङ्ग घोषणा (१९९५) को उपलव्धिको समीक्षा गर्दा स्रोत र साधनको अपर्याप्त विनियोजनले गर्दा लैङ्गिक समानताका घोषित लक्ष्य प्राप्त हुन नसकेको निष्कर्ष निकालेपछि लैङ्गिक उत्तरदायी बजेटको अवधारणाले बजेट विनियोजनमा प्राथमिकता पाउन थालेको हो । लैङ्गिक उत्तरदायी बजेट महिलाकालागि छुट्टै बजेट नभइ सरोकारवाला निकायहरूले कार्यक्रम संचालन गर्दा महिला र पुरुषबीचको विद्यमान शक्ति सम्बन्ध र उनीहरुका व्यावहारिक तथा रणनीतिक आवश्यकताहरूलाई मध्यनजर गर्दै, महिला र पुरुष दुवैका सरोकारका विषयलाई सम्बोधन गर्ने नियोजित प्रयासमा तर्जुमा गर्ने बजेट लैङ्गिक उत्तरदायी बजेट हो । जैविक तथा समाजले निर्धारण गरेका भूमिकाका सकारात्मक र नकारात्मक पक्षलाई समानतामा रुपान्तरण गर्नकालागि लैङ्गिक सम्वेदनशिलताका पक्षलाई कार्यक्रममा संवोधन गर्ने कार्य लैङ्गिक उत्तरदायी बजेटले गर्दछ ।  योजना तर्जुमा र कार्यान्वयनमा महिलाको सहभागिता; महिलाहरुको क्षमता अभिबृद्धि; कार्यक्रमहरुमा महिलाकोलागि लाभ तथा नियन्त्रणमा सुनिश्चितता; महिलाहरुको रोजगार, आय अभिवृद्धि हुने अवसरको उपलब्धता; र महिलाहरुको समयको प्रयोगमा गुणात्मक सुधार र कार्यबोझमा कमी लैङ्गिक उत्तरदायी बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने पक्षहरु तथा यसका गुणात्मक सूचकहरु हुन् । तर लैङ्गिक समानता हासिल गर्न यी सुचकहरुको कार्यान्वयन, मूल्याङ्कन र उपलब्धिमा हाम्रो अवस्था उति सन्तोषाजनक भने छैन ।

लैङ्गिक समानतामा सुधार आउन नसक्नुकाकारणहरू विश्लेषण गर्दा महिला र पुरुषबीचमा समाजले निर्धारण गरेका लैङ्गिकतामा आधारीत कार्यविभाजन तथा जिम्मेवारीहरूले निकै गहिरो असमान रेखा कोरेको छ र सोही बमोजिम महिला र पुरुषको मानसिकता, चाहना, आवश्यकता र दाइत्व पनि भिन्दा–भिन्दै विकास भएर गएकोछ । यही मानसिकता, पुरुषप्रधान सोच, समाज र संस्कृतिकाकारण अझैपनि खासगरी विवाहित महिलाहरुको प्रमुख दाइत्व घर–व्यवस्थापन, वाल–वच्चा, बृद्ध–बृद्धा, अपाङ्ग/अशक्तहरुको हेरचाह र सामुदायिक भूमिका नैे हुनेगरेको छ र चाहेर नचाहेर उक्त दाइत्व निर्वाह गर्नैपर्ने बाध्यकारी परिस्थिति, अत्यधिक कार्यबोझ तथा पर्याप्त समयाभावकाकारण उनीहरुले आफ्नो क्षमता तथा व्यक्तित्व विकास गर्न, विकासका समग्र गतिविधिहरु र लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयनमा सहभागी हुन चाहेर पनि अवसर नपाएको पिडादायी अवस्था रहेकोछ । आर्थिक तथा सामाजिक रुपले सक्रिय हुनसक्ने समय, व्यक्तित्व विकास र अनुभव हासिल गर्ने उर्वर उमेर तथा उत्साह महिलाहरुले यस्ता अनुत्पादक तथा व्यक्तिगत रुपले उपलब्धि शुन्य कामहरुमा खर्च गर्नुपरेकाकारण महिलाको व्यक्तित्व विकासको गति अकस्मात रोक्किन पुदग्छ, जसले महिलालगायत परिवार, समाज र राज्यकैे समग्र विकासमा नकारात्मक प्रभाव पारिेरहेकोछ । 

अझ गहन पक्ष त, एकातिर शहर तथा ग्रामीण क्षेत्रका धेरैजसो तहहरुमा महिलाहरुको क्षमता तथा व्यक्तित्व विकासकालागि पर्याप्त लैङ्गिक उत्तरदायी बजेट तथा योजना र अवसर प्रदान गर्ने कार्यक्रमहरु उपलब्ध छैनन् भने अर्कोतिर महिलामुखी आवश्यक पूर्वाधारहरु (जस्तैः शिशु स्याहार, स्तनपान स्थान, वृद्ध आश्रम, अपांग/अशक्त स्याहार, भरपर्दा शिक्षण संस्था, स्वास्थ्यचौकी, बाटो, पानी, वन, जंगल, चरन, उत्पादन, प्रविधि, बजार... आदि) पर्याप्त तथा सहजै उपलब्ध नभएकाकारण उपलब्ध अवसरहरूलाई पनि महिलाहरुले आफ्नो फाइदाको निम्ति उपयोग गर्न सकिरहेका छैनन । फलस्वरुप, राज्यका सबै क्षेत्र र तहहरु(आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक, शैक्षिक... आदि) मा पुरुषको तुलनामा महिलाको पहुँच र उपस्थिति ज्यादै न्यून हुनुकासाथै महिलाहरुले लैङ्गिक असमानता, साधन र स्रोतको पहुँच र प्रयोगको अवसरमा असमानता, आर्थिक परनिर्भता, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरमा कमी तथा असमान पहुँच जस्ता समस्याहरुको सामना गर्नुपरिरहेको छ । यी विभिन्न तथ्याङ्कहरुले माथि उल्लेखित लैङ्गिक उत्तरदायी बजेटका गुणात्मक सुचकहरुको कार्यान्वयन, मूल्याङ्कन र उपलब्धि अपेक्षाकृत हासिल हुन नसकेको प्रष्ट हुन्छ । तसर्थ, लैङ्गिक असमानता घटाउनकालागि लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयनको व्यवहारीक पक्षसंगसंगै रणनीतिक पक्षमा विषेश जोडदिनु प्रभावकारी उपाय हुनसक्छ ।

यस सन्दर्भमा युरोपको एउटा उदाहरण हेरौं- लैङ्गिक असमानताले समग्र आर्थिक तथा सामाजिक प्रगतीमा नकारात्मक प्रभाव पारीरहेको तथ्य विभिन्न तथ्याङ्कहरुले पुष्टि गरेपछि युरोपमा राज्य तथा विकास प्रक्रियाका उच्च तह तथा पदहरुमा लैङ्गिक सहभागिता बढाउन, रोजगाारी तथा आर्थिक गतिविधिहरुमा लैङ्गिक अन्तर घटाउन र आर्थिक बृद्धिदर बढाउनकालागि इयुद्वारा सन् २००० मा 'लिजबोन रणनीति(२०००–२०१० सम्मकालागि, हाल २०२० रणनीतिको रुपमा निरन्तरता दिइरहेको)' अवलम्बन गरीएको थियो । यस रणनीतिको मुख्य उदेश्य विकासमा महिला सहभागिताका प्रोत्साहन र चुनौतीका अवस्थाहरुको पहिचान गरी त्यसको समाधान गर्दै लैङ्गिक समानता हासिल गर्नु थियो । शिक्षा तथा तालिमले विकासमा महिला सहभागितालाई प्रोत्साहन गर्नेगरेको तर घर–व्यवस्थापनको दाइत्व तथा कार्यबोझ प्रमुख चुनौतीका रुपमा रहेको अध्ययनका तथ्यहरुले देखाएकापछि महिलाहरुको पारिवारीक तथा कामकाजी जिवन सहज बनाउन र विकास, रोजगारी तथा आर्थिक गतिविधिहरुमा उनीहरुको सहभागिता बढाउन शिशुस्यार केन्द्र र अन्य आवश्यक महिलामुखी(माथि उल्लेखित) पूर्वाधारहरुको निर्माण प्रक्रियामा व्यापकता ल्याइएको थियो । फलस्वरुप, शिक्षा तथा तालिम प्रदान र महिलामुखी पूर्वाधारहरुमा गरीएका यस्ता सुधार तथा पहलहरुकाकारण केही वर्षको अन्तरालमै राज्य तथा विकास प्रक्रियाका उच्च तह तथा पदहरु र रोजगारी तथा आर्थिक गतिविधिहरुमा महिला सहभागिता उल्लेख्य रुपमा बढ्नुकासाथै राज्यको आर्थिक वृद्धिदरमा समेत बृद्धि भएको पाइएको थियो । यसकासाथै कार्यमा लैङ्गिक समानता ल्याउन नीजि (घर–व्यवस्थापन) तथा सार्वजनिक क्षेत्रहरुमा लैङ्गिकतामा आधारीत विभेदपूर्ण कार्यविभाजन परीपाटीलाई निरुत्साहीत गरी लैङ्गिक सम्वेदनशिलतामा आधारीत कामको पूनरवितरण नीति अवलम्वन गरीएको थियो । वर्तमान समयमा लैङ्गिक समानता हासिल गर्न विश्वका बहुसंख्यक विकासशील राष्ट्रहरुले यस किसिमको रणनीति अवलम्वलन गर्दै आइरहेका छन् र हाम्रो सन्दर्भमा पनि यो प्रभावकारी र सान्दर्भिक हुनसक्छ ।

जैविक भिन्नताकाकारण महिला र पुरुषका व्यावहारिक र रणनीतिक आवश्यकताहरू फरक–फरक हुनेहुनाले राष्ट्रको विकासमा गरीने लगानीको लैङ्गिक विश्लेषण गर्दा बजेटले महिला र पुरुषमा पार्ने प्रभाव तथा लाभ भिन्न–भिन्न हुने गरेको तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । तसर्थ, विकासका उपब्धिहरुबाट महिला र पुरुष समानरुपले लाभान्वित हुन र महिलाहरुको क्षमता तथा व्यक्तित्व विकास गर्ने सहज अवस्था सिर्जना गर्न राज्यले नै लैङ्गिक सम्वेदनशिलताका सम्पूर्ण गतिविधिहरुमा गहन विष्लेषण गरी विषेश पहल थाल्नु पहिलो आवश्यकता हो । यसकालागि लैङ्गिक उत्तरदायी बजेट तथा योजना तर्जुमा, परिचालन र कार्यान्वयनका क्रममा यो पक्षलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नु पर्दछ । सामान्यतया नीजि तथा सार्वजनिक क्षेत्रहरुमा लैङ्गिकताका आधारमा महिलामाथि बढी कार्यभार पर्नेगरी असमान कार्यविभाजन गरीने हुँदा यस्ता कार्यहरुको पुनरविभाजन/पुनरवितरण गरेर लैङ्गिक उत्तरदायी बजेटको सूचकमा उल्लेख गरीएजस्तै महिलाहरुको कार्यबोझमा कमी ल्याइ उनीहरुको समयको गुणात्मक प्रयोगमा जोडदिदै योजना तर्जुमा र कार्यान्वयनमा महिलाको सहभागिता बढाउन, महिलाहरुको क्षमता अभिबृद्धि गर्न, कार्यक्रमहरुमा महिलाको लागि लाभ तथा नियन्त्रणमा सुनिश्चितता प्रदान गर्न र महिलाहरुकालागि रोजगार तथा आय अभिवृद्धिका अवसरहरु प्रदान गर्न राज्यद्वारा बाध्यकारी व्यवस्था लागू गरीनु पर्दछ । 

यसका अतिरिक्त, पर्याप्त लैङ्गिक जागरणको कमीकाकारण परिवार तथा समाज लगायत महिलाहरु स्वयंले पनि घर–व्यवस्थापनका सम्पूर्ण अनुत्पादक कार्यहरु आफ्नो दाइत्व ठान्दछन् । यस्तो सोचमा परिवर्तन ल्याउन महिला र परिवारका सदस्यहरु(खासगरी पुरुष) समेतलाई समावेस गरी लैङ्गिक जागरणका कार्यक्रमहरु संचालन गर्नुकासाथै महिलाहरुको क्षमता र व्यक्तित्व विकासकालागि साक्षरता तथा तालिमका कार्यक्रमहरु, आर्थिक आत्मनिर्भरताकालागि सेवा तथा स्व/रोजगारका अवसर तथा कार्यक्रमहरु स्थानीयस्तरमा उपलब्ध गराउनु पर्दछ । केही दशकयता महिलाकरण हुँदैगइरहेको कृषि कार्य तथा गरिवी र महिला घरमूली संख्या बढीरहेको वर्तमान अवस्थाले महिलाहरुको दाइत्व दोहोरो–तेहरो बढाउने हुनाले उनीहरुको कार्यबोझ कम गर्न र विकासका अन्य गतिविधिहरुमा उनीहरुको सक्रियता बढाउन क्षेत्रगत आवश्यकता हेरी महिलामुखी पूर्वाधारका संरचनाहरुको निर्माणमा तिब्रता दिनु अत्यावश्यक हुन्छ । 

यसरी साक्षरता/तालिम हासिल गरी क्षमतावान, जागृत तथा आत्मविश्वास बढेका, पूर्वाधार निर्माण र कार्यको पूनरवितरणकाकारण समान हैसियत भएका र आर्थिकरुपले आत्मनिर्भर भएका महिलाहरुको केन्द्र, प्रदेश तथा स्थानिय तहमा हुने विकास प्रक्रियाहरुमा र लैङ्गिक उत्तरदायी योजना तथा बजेट तर्जुमा र कार्यान्वयनमा सहजै प्रभाकारी सहभागिता बढाउन र  लैङ्गिक समानता हासिल गर्न सकिन्छ । bsirjana@gmail.com


   

Tuesday, 9 April 2019

लैङ्गिकता सम्बन्धित शब्दावलीहरू

(Gender Related Terminologies)
                                             डा. सिर्जना भण्डारी


लैङ्गिक असमानता        


             महिलाको मात्र

                      मुद्दा होइन,

                                 यसले हामी सबैलाई

                                          प्रभाव पार्दछ।



पृष्ठभूमि

लैङ्गिकता अर्थात Gender सामाजिक विज्ञानमा प्रयोग गरीएको नयाँ अवधारणा हो। सेक्सोलोजिस्ट (Sexologist) जोन मोनीले सन १९५५ मा Biological Sex अर्थात प्राकृतिक लिङ्ग Gender as a Role अर्थात सामाजिक लिङ्गबारे फरक छुट्याएका थिए। यस अघि Gender लाई Grammatical पदको रुपमा मात्र हेरिन्थ्यो जसलाई प्राकृतिक लिङ्ग छुट्याउनकालागि प्रयोग गरीन्थ्यो। Sex Gender मा फरक छुट्याइएको मोनीको यो परिभाषा सन १९७० को दशकसम्म खासै प्रयोगमा आएको थिएन तर १९७० को दशकमा जव नारीवादका विभिन्न सिद्धान्त (Different Feminist Theory) हरुको प्रतिपादन हुन थाल्यो तव नारीवादीहरुले Gender लाई एक सामाजिक भूमिकाद्वारा निर्मित सामाजिक लिङ्गको रुपमा प्रयोग गर्न थाले महिलाहरु पछाडि पर्नुमा पनि यही Gender Role अर्थात सामाजिक भूमिका नै प्रमुख कारण रहेको समेत ठहर गरे। उनीहरुले परिवार तथा समाजमा व्याप्त यस किसिमको लैङ्गिक असमानता हटाएर मात्र महिला पुरुष वीच समानता कायम गर्न समतामुलक समाजको निर्माण गर्न सकिनेमा जोड दिदै गए। नारीवादीहरुको यस जोडमा नारीवादका विभिन्न धारहरु जस्तै 1st Wave, 2nd Wave, 3rd Wave Feminism, साथै नारीवादका अन्य अवधारणा  सिद्धान्तहरुले पनि यसबारे प्राथमिकता प्रदान गर्दै गए।


एफ.ए.ओ. (२००९) का अनुसार, मानिस स्त्रीलिङ्ग पुलिङ्ग अर्थात Female र Male भएर जन्मन्छ जसलाई प्राकृतिक लिङ्ग अर्थात Biological Sex का रुपमा बुझिन्छ तर परिवार तथा समाजमा हुर्कदै जाने क्रममा उसले केटा र केटी अर्थात महिला पुरुष बन्न सिक्दै जान्छ जसलाई सामासजक लिङ्ग अर्थात जेन्डर को रुपमा बुझिन्छ। यस किसिमको सामाजिक लिङ्गभेद संसारका सबै समुदायहरुमा कुनै कुनै किसिमले रहेका छन्। यद्धपी, यसको दायरा फरक फरक रहेको पाइन्छ, जुन सामाजिक सांस्कृतिक चालचलन तथा व्यवहारहरुमा आधारीत हुन्छन्। कबीर (१९९९) भन्छिन, महिला पुरुष वीच रहेको यस किसिमको लैङ्गिक विभेद हटाई लैङ्गिक समानता कायम गर्नकालागि अधिकार तथा क्षमताको दृष्टिले असक्त अर्थात Unpowered महिलाहरुलाई अधिकार सम्पन्न तथा क्षमतावान अर्थात Empowered बनाउनु पर्दछ। तसर्थ, लैङ्गिकता र विकास अध्ययनका लागि यस सम्वन्धीत निम्न शव्दावलीहरु जान्नु अनिवार्य हुन्छ



शब्दावलीहरू [YouTube लिंक: https://www.youtube.com/watch?v=QXQ6RKk9RV0]

  1. प्राकृतिक लिङ्गभेद (Sex)
  2. सामाजिक लिङ्गभेद (Gender)
  3. प्राकृतिक सामाजिक लिङ्गभेदमा फरक (Sex & Gender)
  4. लैङ्गिक मूलप्रवाहीकरण (Gender Mainstreaming)
  5. लैङ्गिक समानता (Gender Equality)
  6. लैङ्गिक समता (Gender Equity)
  7. सकारात्मक विभेद (Positive Discrimination)
  8. लैङ्गिक सन्तुलन (Gender Balance)
  9. लैङ्गिक संवेदनशील व्यवहार (Gender Sensitive Behavior)
  10. लैङ्गिक विशेष कार्यक्रम (Gender Specific Program)
  11. लैङ्गिक दृष्टिविहीन कार्यक्रम (Gender Blind Program)
  12. लैङ्गिक दृष्टिले तटस्थ कार्यक्रम (Gender Neutral Program)
  13. लैङ्गिक खण्डीकृत तथ्याङ्क (Gender Disaggregated Data)
  14. लैङ्गिकीकरण (Gendering)
  15. स्रोत साधनमा पहुँच (Access to Resources)
  16. स्रोत साधनमाथिको नियन्त्रण (Control over Resources)
  17. सीडअ (CEDAW- Convention on the Elimination of All  Forms of Discrimination against Women)
  18. सशक्तीकरण (Empowerment)
  19. व्यवहारिक रणनीतिक आवश्यकता (Practical and Strategic Needs)
  20. पितृसत्ता (Patriarchy)
  21. लैङ्गिक मूल्याङ्कन (Gender Assessment)
  22. लैङ्गिक परीक्षण (Gender Audit)
  23. लैङ्गिक सशक्तीकरण मापन (GEM- Gender Empowerment Measure)
  24. लैङ्गिक विकास सूचक (GDI- Gender Development Index)

. प्राकृतिक लिङ्गभेद (Sex)
महिला र पुरुषमा प्राकृतिक तथा सामाजिक दुई किसिमका भिन्नता हुन्छन्। जन्मजात रूपमा प्रकृतिले छुट्याएको भिन्नतालाई परिवर्तन गर्न सकिंदैन। यसलाई प्राकृतिक तथा जैविक (Biological Sex) लिङ्गभेद भनिन्छ।

. सामाजिक लिङ्गभेद (Gender)
कतिपय भिन्नताहरु समाजले बनाएका तथा छुट्याएका हुन्छन्। ती संधै एकनास हुँदैनन् परिवर्तनशील हुन्छन्। त्यस्ता भिन्नतालाई समष्टिमा सामाजिक लिङ्गभेद अथवा जेन्डर (Gender) भनिन्छ।




यस तस्वीरमा देखाइए जस्तो परिवार तथा समाजले महिला र पुरुषबाट फरकफरक व्यवहारको अपेक्षा राख्दछ, जस्तै महिला र पुरुषको पहिरन फरक हनुपर्ने- खास गरी महिलाले सबैतिर ढाकीने पहिरन लगाउनु पर्ने तर पुरुषले जस्तो लगाए पनि हुने; महिलाको कपाल लामो र पुरुषको छोटो हुनुपर्ने; महिलाले घर व्यवहारका काम जान्नु पर्ने र गर्नु पर्ने; पुरुषले कमाएर ल्याउनु पर्ने, घरमुलि तथा परिवार पालक बन्नु पर्ने आदि। यद्धपि, परिवार तथा समाजमा रहँदै आएको यस किसिमको सोचमा विस्तारै परिवर्तन आउदै गएको पाइन्छ।

. प्राकृतिक लिङ्गभेद (Sex) सामाजिक लिङ्गभेद (Gender) मा फरक
q  प्राकृतिक लिङ्गभेद भौतिक तथा शारीरिक विशेषता हो र यो प्राकृतिक तथा जैविक हुन्छ। यसलाई परिवर्तन गर्न सकिंदैन। जस्तै महिलाले गर्भधारण गर्नु, स्तनपान गराउनु, पुरुषको जुँगा आउनु आदि।

q  सामाजिक लिङ्गभेद सामाजिक तथा सांस्कृतिक व्यवहारले ल्याएको विशेषता हो। यसलाई परिवर्तन गर्न सकिन्छ किनकी यो सामाजिक संरचना र सामाजिकीकरणमा आधारित हुन्छ। जस्तै बाबुले घरव्यवहारको काम र छोराछोरीको स्याहार गर्नु, आमाले वाहिरको काम तथा जागीर गर्नु आदि।



यस तस्वीरमा देखाइए जस्तो महिला पुरुषले घर-व्यवहार तथा समाजमा गरीने कामका भूमिका परिवर्तन गर्न सकिन्छ। सामान्यतया पुरुषले मात्र गर्न हुने तथा गर्न सक्ने भनिएका समर्वजनिक क्षेत्रका कामहरु जस्तै खेल खेल्नु, वकालत गर्नु, व्यापार व्यवसाय गर्नु आदि पुरुष सरह महिलाहरुले पनि सक्षमतापूर्वक गर्न सक्छन्। त्यस्तै, महिलाले मात्र गर्न हुने तथा गर्न सक्ने भनिएका घर-व्यवहार तथा समुदायीक अर्थात निजी क्षेत्रका कामहरु जस्तै सरसफाइ, वाल-वालिकाको स्याहार, खाना बनाउने आदि महिला सरह पुरुषहरुले पनि सक्षमतापूर्वक गर्न सक्छन्।

. लैङ्गिक मूलप्रवाहीकरण (Gender Mainstreaming)
राष्ट्रिय विकासमा महिलाहरूलाई समानुपातिक भूमिका निर्वाह गर्ने वातावरण सिर्जना गरी महिलाहरूको पनि सक्रिय सहभागिता जुटाउनु लैङ्गिक मूलप्रवाहीकरण हो। 

q  लैङ्गिक मूलप्रवाहीकरण एक नीति, रणनीति कार्यनीति हो। यसले राजनीतिक, आर्थिक, सामाजिक आदि सबै क्षेत्रमा नीति तथा कार्यक्रमहरूको योजना निर्माण, कार्यान्वयन, अनुगमन मूल्याङ्कन गर्दा महिला पुरुषबीच समानुपातिक विचार पुर्याएको हुन्छ। यस्तो समानुपात कायम भएमा महिला पुरुष दुबै वर्गलाई फाइदा पुग्छ। संक्षेपमा लैङ्गिक मूलप्रवाहीकरण भन्नाले मुख्यतया विकासको मूलप्रवाहमा सम्मिलित हुन नसकेको तथा किनारामा रहेको वर्गलाई समानुपातिक रूपमा सम्मिलित गराउनु हो।

. लैङ्गिक समानता (Gender Equality)
महिला पुरुषबीच सबै क्षेत्र तहमा समान अवसर समान लाभ हासिल गर्ने अवस्था नै लैङ्गिक समानता हो। लैङ्गिक समानता एउटा आदर्श हो। यसमा महिला पुरुषबीचको प्राकृतिक भिन्नता कायमै राखी उनीहरू बीचको सामाजिक भिन्नता भेदभाव हटाइन्छ। दुबैको समान हैसियत स्थापना गर्नका लागि आवश्यक पर्ने मूल्य, मान्यता, दृष्टिकोण व्यवहारलाई परिवर्तन गरेर समानता हासिल गर्न सकिन्छ।

. लैङ्गिक समता (Gender Equity)
अवसरबाट वञ्चित वर्गलाई समानुपातिक बनाउन, अवसर न्याय नपाएकालाई थप अवसर दिएर समानतामा ल्याउन गरिने विशेष प्रयास नै समता हो। लैङ्गिक समता नै लैङ्गिक समानता हासिल गर्ने मुख्य तरिका हो। सामाजिक, आर्थिक तथा राजनीतिक स्रोत साधनमा महिला पुरुषको बराबरी पहुँच एवं निर्णयात्मक सहभागिताको प्रयास नै लैङ्गिक समानता हासिल गर्ने माध्यम हो।

. सकारात्मक विभेद (Positive Discrimination)
सेवा, सुविधा लाभको अवसरबाट वञ्चित वर्गलाई विशेष फाइदा पुग्ने गरी समानता कायम गर्न गरिने पक्षपात नै सकारात्मक विभेद हो। यसलाई सकारात्मक कार्य (Affirmative Action) पनि भनिन्छ। सकारात्मक कार्य वा विभेदबाट मात्र अवसर पाउने अवसरबाट बंचित वर्ग बीचको दूरी वा खाडल कम गर्न सकिछ। समानताको तुलोमा हलुका भैरहेका वर्गलाई तौल पुर्याउन बढी अवसर दिनु नै सकारात्मक विभेद हो।

. लैङ्गिक सन्तुलन (Gender Balance)
कुनै सरकारी वा गैरसरकारी संस्था वा नागरिक समाजको क्रियाकलापको निर्णयात्मक लगायत सबै तहमा महिला पुरुषको बराबरी सङ्ख्यामा हुने सहभागिता लैङ्गिक सन्तुलन हो। महिला पुरुष दुबैलाई सबै क्षेत्रमा समानुपातिक हुने अवसर प्रदान गर्नु नै लैङ्गिक सन्तुलनको प्रयास गर्नु हो।

. लैङ्गिक संवेदनशील व्यवहार (Gender Sensitive Practice)
महिला पुरुषहरूको आवश्यकता, भूमिका, जिम्मेवारी तथा पहिचानहरूका बीचमा रहेका भिन्नतालाई मान्यता दिएर गरिने व्यवहारलाई लैङ्गिक संवेदनशील व्यवहार भनिन्छ।

१०. लैङ्गिक विशेष कार्यक्रम (Gender Specific Program)
महिला पुरुषको अलग-अलग अस्तित्वलाई स्वीकार गर्दै तिनका -आफ्ना आवश्यकता हितलाई लक्षित गरेर उपयुक्त हुने गरी तर्जुमा गरिने विशेष कार्यक्रमलाई लैङ्गिक विशेष कार्यक्रम भनिन्छ।

११. लैङ्गिक दृष्टिविहीन कार्यक्रम (Gender Blind Program)
कुनै एक वर्ग खास गरी बढी अवसर प्राप्त वर्गको मात्र हितलाई ध्यानमा राखेर बनाएको कार्यक्रमलाई लैङ्गिक दृष्टिविहीन कार्यक्रम भनिन्छ। यस्ता कार्यक्रम झलक्क हेर्दा लैङ्गिक दृष्टिले तटस्थ देखिन्छन् तर नियालेर हेर्दा तिनले महिला पुरुषको बेग्ला-बेग्लै आवश्यकता, अवस्था विकासलाई वास्ता गरेका हुँदैनन्।

१२. लैङ्गिक दृष्टिले तटस्थ कार्यक्रम (Gender Neutral Program)
कार्यक्रममा कति पुरुष, कति महिला भनी नछुट्याएको एकमुष्ट रूपमा जम्मा सङ्ख्यामा गणना गर्ने कार्यक्रम लैङ्गिक दृष्टिले तटस्थ हो। यस्ता कार्यक्रमले स्रोत, साधन अवसर जिम्मेवारी बाँडफाँडको असन्तुलित अवस्थालाई सुधार गर्दैनन्।

१३. लैङ्गिक खण्डीकृत तथ्याङ्क (Gender Disaggregated Data)
महिला/पुरुष, बालक/बालिका, जात/जाति, धनी/गरिव, सक्त/असक्त आदिमा महिला पुरुषको बेग्लाबेग्लै अवस्थाको विवरण खुल्ने गरी खण्डीकरण गरिएको तथ्याङ्क विवरण लैङ्गिक खण्डीकृत तथ्याङ्क हो

१४. लैङ्गिकीकरण (Gendering)
लैङ्गिक समानता लैङ्गिक सन्तुलन कायम गर्ने प्रक्रिया नै लैङ्गिकीकरण हो। लैङ्गिक सम्बेदनशील व्यवहार खण्डीकृत तथ्याङ्कले कार्यक्रमहरूमा लैङ्गिकीकरण गर्न मद्दत गर्छ।

१५. स्रोत-साधनमा पहुँच (Access to Resources)
प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्रोतहरू जस्तै जमीन, वनजङ्गल, धन-सम्पत्ति आदिको उपयोग त्यसको लाभ हासिल गर्ने अवस्थालाई स्रोत साधनमा पहुँच भनिन्छ। यी कुरामा पहुँच नहुने वर्ग संधै पछाडि परेका हुन्छन्। परिवार समाजमा समानता कायम गर्न स्रोत साधनको पहुँचमा समतामूलक अवसरको व्यवस्था गरिनु पर्छ।

१६. स्रोत-साधनमाथिको नियन्त्रण (Control over Resources)
स्रोत साधनमा पहुँच मात्र पर्याप्त हुदैन, नियन्त्रण गर्नु भनेको तत्सम्बन्धी निर्णय गर्नु हो। परिवार वा समुदाय वा परियोजनाहरूको स्रोत-साधन कसरी, कति, कहाँ प्रयोग गर्ने भन्ने निर्णय गर्नेले त्यसको नियन्त्रण गर्दछ। निर्णय गर्ने तहमा त्यसको फाइदा पाउनेमा महिला पुरुषको सन्तुलित सहभागिता हुनुपर्छ। सन्तुलित विकासका लागि स्रोत-साधनमाथिको नियन्त्रणमा पनि सन्तुलन अनिवार्य हुन्छ।

१७. सीडअ (CEDAW)
सीडअ महिला र पुरुषबीचको असमानता हटाउन र महिलाविरुद्ध हुने सबै खालका भेदभावहरुको अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घद्वारा सन् १९७९ मा पारित एउटा महासन्धी हो जुन महिलाउपर हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी (CEDAW) को नामबाट प्रचलित छ। नेपालले यसलाई सन् १९९१ मा अनुमोदन गरिसकेको छ अर्थात नेपाल सीडअको पक्ष राष्ट्र हो

१८. सशक्तीकरण (Empowerment)
विकासका अवसरहरू जस्तै शिक्षा, स्वास्थ्य, रोजगारीबाट वञ्चित; स्रोत साधनमा पहुँच तथा नियन्त्रण कम भएको वर्ग कमजोर हुन्छ, त्यस्तो वर्ग विकासमा पछाडि पर्नुका साथै अशक्त देखिन्छ। त्यसैले अशक्त वा कमजोर वर्गलाई सबल बनाउनु नै सशक्तीकरण हो। पुरुषभन्दा महिलाको स्रोत साधनमा कम पहुँच हुन्छ। त्यसैले पुरुषबाट मात्र अधिकांश निर्णय हुने भएकाले महिला पुरुषबीच सन्तुलित विकास हुन नसकेको हो। समष्टीमा, सशक्तीकरण भनेको पछाडि परेको अशक्त वा कमजोर भएको वर्गको अवस्थामा सुधार गरी त्यस्तो वर्गलाई सक्षम बनाउनु हो। यसबाट समानता कायम गर्नमा सहयोग पुग्दछ।

१९. व्यवहारिक रणनीतिक आवश्यकता (Practical and Strategic Needs)
प्राकृतिक सामाजिक विभेदका कारण महिला पुरुषका कतिपय आवश्यकताहरू फरक-फरक हुन्छन्। यस्ता आवश्यकताहरूलाई दुई भागमा बाँड्न सकिन्छः

q  व्यवहारिक आवश्यकता (Practical Needs)
q  रणनीतिक आवश्यकता (Strategic Needs)

व्यवहारिक आवश्यकता: मानिसलाई बाँच्नका लागि नभई नहुने दैनिक आवश्यकता जस्तै खाने कुरा, कपडा, बस्ने घर, शिक्षा, स्वास्थ्य, सुरक्षा आदि हुन्। यी मानिसका आधारभूत आवश्यकता नै व्यवहारिक आवश्यकता हुन्। यी पूरा भए, नभएको सजिलोसंग थाहा पाउन सकिन्छ तर यी पूरा भए तापनि दीर्घकालीन रूपमा समाजमा विद्यमान असन्तुलन असमानता कम गर्न यसले मद्दत गर्दैन।

रणनीतिक आवश्यकता: महिला वा पछाडि परेका वर्गको आधारभूत आवश्यकतामा मात्र केन्द्रित भएर पुग्दैन। महिलाहरूको क्षमता दक्षता विकास गरी हरेक क्षेत्रमा पुरुषसरह समानुपातिक बन्न उनीहरूको रणनीतिक आवश्यकता पनि पूरा हुनुपर्छ। रणनीतिक आवश्यकता अन्तरगत समान अधिकार, इज्जत, मान-प्रतिष्ठा, निर्णयात्मक अवसर, सन्तुलित प्रतिनिधित्व, सीप, दक्षता, सूचनामा पहुँच आदि बृद्धि गर्ने विषय पर्दछन्। यसले सामाजिक असन्तुलन असमानता कम गर्न मद्दत गर्छ।

२०. पितृसत्ता (Patriarchy)
पुरुषहरूको एकतर्फी निर्णय बाहुल्य भएको सामाजिक संरचना चलनहरूलाई पितृसत्ता भनिन्छ। त्यसैले पितृसत्तामा परिवार समाजको सञ्चालन पुरुषले गर्दछन्। त्यहाँ महिलाको सहभागिता तथा योगदानको कदर हुँदैन। महिलाको नेतृत्वलाई परिवार समाजले सजिलोसंग स्वीकार गर्दैन। महिलाहरू प्राय शोषित विकासका सबै अवसरहरूबाट वञ्चित हुन्छन्। समाज परिवारमा लैङ्गिक सन्तुलन हुँदैन।

२१. लैङ्गिक मूल्याङ्कन (Gender Assessment)
विकासको मूलप्रवाहमा महिला पुरुषको समावेश समानुपातिक अर्थात् बराबर हुनुपर्छ अर्थात लैङ्गिक सन्तुलन हुनुपर्छ। यस्तो लैङ्गिक सन्तुलन भए, नभएको हेर्ने माध्यम लैङ्गिक मूल्याङ्कन हो। कुनै पनि कार्यक्रम परियोजनाको लैङ्गिक मूल्याङ्कन गर्दा कम्तिमा पनि यी चार कुरामा विचार गर्नु  र्दछ:

q  लैङ्गिक दृष्टिकोणले नीतिगत, संरचनागत कार्यक्रम पक्ष कस्तो देखिन्छ?
q  परियोजना कार्यक्रमले महिला पुरुषलाई के-कस्तो प्रभाव पारेको ?
q  कार्यक्रम स्रोत-साधनहरू लैङ्गिक समानता कायम गर्न कतिको उन्मुख छन्?
q  भविष्यमा समतामूलक समानता कायम गर्न चाल्नुपर्ने कदमहरू के हुन सक्छन्?

२२. लैङ्गिक परीक्षण (Gender Audit)
लैङ्गिक परीक्षण गर्नु भनेको संस्थाको लक्ष्य, ध्येय, उद्देश्य कार्यक्रमहरूको लैङ्गिक सम्वेदनशील भै लेखाजोखा गर्नु हो। यसबाट संस्थाका नीति, योजना कार्यक्रममा लैङ्गिक सन्तुलन भए नभएको पहिचान हुन्छ संस्थालाई लैङ्गिक रूपमा सन्तुलित बनाउन सहयोग पुग्छ। लैङ्गिक परीक्षण सहभागितात्मक तरिकाले गर्नुपर्ने भएकाले यसले संस्थाको मानव स्रोतलाई लैङ्गिक सम्वेदनशील बनाउन मद्दत गर्दछ

२३. लैङ्गिक सशक्तीकरण मापन (GEM- Gender Empowerment Measure)
सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घद्वारा प्रकाशित मानव विकास प्रतिवेदनबाट यो पद्धतिको विकास भएको हो। महिलाहरूलाई सक्रिय सहभागिता गराएर सशक्तीकरण गर्नुपर्छ भन्ने यसको मान्यता हो। महिलाको सहभागिता सन्तुलित नभएकोले समतामूलक समानता कायम गर्न यसले जोड दिन्छ। महिलाहरूको राजनीतिक, प्रशासनिक, व्यवस्थापकीय, प्राविधिक पेशागत आदि सबै क्षेत्रमा समान संलग्नता हुनुपर्छ। प्रतिव्यक्ति आय (Per-Capita Income) मा महिलाको योगदान पनि समावेश हुनुपर्छ। यी कुरा गर्न महिला सशक्तीकरण गर्नुपर्छ भए नभएको लैङ्गिक सम्वेदनशील भै हेरेर परिमार्जन गर्नुपर्छ भन्ने यसको ध्येय हो।

२४. लैङ्गिक विकास सूचक (GDI- Gender Development Index)
लैङ्गिक समानता असमानताको अवस्था मापन गर्ने यी तीनवटा सूचकलाई लैङ्गिक विकाससूचक (GDI) भनिन्छः

q  अपेक्षित आयु (Life Expectancy)
q  शैक्षिक स्तर (Educational Attainment)
q  आम्दानी (Income)

मानवीय विकासको सूचक (HDI- Human Development Indicator) का तीन तत्व- शिक्षा, स्वास्थ्य रोजगारी हुन्। यी तीन क्षेत्रमा भएको प्रगतीको आधारमा मानवीय विकासको सूचकांकको तह निर्धारण गरीन्छ यी तीनवटै क्षेत्रका सबै तहमा महिला सहभागिता बराबरी नभएसम्म मानवीय विकास सन्तुलित हुन सक्दैन।


वास्तविक लैङ्गिक समानता

           महिलाको श्रेष्ठता होइन,

                                बरु महिला पूरुषको

                                         समान अस्तीत्व हो।


.......................................................................................................................

सम्दर्भ सामग्री:
महिला विकास विभाग. (बि. स. २०६१). कार्यविधि दिग्दर्शन २०६१. महिला वालवालिका तथा जेष्ठ नागरीक मन्त्रालय. नेपाल सरकार.

वेभ-लिंक: http://dwd.gov.np/images/download/karyabidhi_digdarsan1.pdf
               
                https://en.wikipedia.org/wiki/Gender