'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Thursday, 6 November 2025

आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति

 लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन




(५) मौन साधनाका चरण, प्रक्रिया तथा विधिहरु

मनुष्यले जीवनमा गर्ने हरेक गतिविधिहरुका निश्चित चरण, प्रक्रिया तथा विधिहरु हुने गर्दछन् । आवश्यकता र अवस्था अनुसार मौनलाई सामान्यदेखि गहन रुपमा परिभाषित र अभ्यास गरिदै आइएको छ । कम बोल्नु, नबोल्नु तथा चुपचाप रहनु मौनको सामान्य परिभाषा हो र मौनको अभ्यासको माध्यमबाट पराभौतिक संसारका सिद्धिहरु हासिल गर्नु र आफ्नो आत्मालाई परमात्मा एकाकार गर्नुसम्मको यात्रा मौनको गहन परिभाषा हो । मौन आफूले चाहना गर्दैमा एकैपटक घटित हुने अवस्था होइन यसका विविध चरण, प्रक्रिया तथा विधिहरु हुन्छन् । मोटामोटी रुपमा मौनलाई दुई चरणमा विभाजन गरेर यसअन्तर्गत विभिन्न प्रक्रिया तथा विधिहरु पारगर्दै मौनको सामान्यदेखि गहन अवस्थासम्म पुग्न सकिन्छ, मौनका दुई चरणहरु– (क)मौनको सामान्य अभ्यास– वाहिरी मौन तथा प्रयास मौन, र (ख)मौनको गहन अभ्यास– आन्तरिक मौन तथा निस्प्रयास मौन । 


(क) मौनको सामान्य अभ्यास– वाहिरी मौन तथा प्रयास मौन

सामान्य रुपमा कम बोल्नु, नबोल्नु तथा चुपचाप रहनु अर्थात वाणी र शव्दहरुको स्थिरतालाई मौनको रुपमा परिभाषित गर्दै आइएको छ तर आधूनिक मनोविज्ञानले समय–समयमा गरेका अनुसन्धानात्मक वैज्ञानिक अध्ययनका प्रामाणिक तथ्यांकहरुका अनुसार मनुष्यका शव्द, वाणी, जवाफ, प्रतिक्रिया ले भन्दा धेरै गुणा बढि (८०%) उसको शरीर तथा इन्द्रियहरुका हाउभाउहरुले उभित्रका सकारात्मक तथा नकारात्मक प्रतिक्रियात्मक भावहरु प्रस्तुत गरिरहेको हुन्छ  । यसर्थ मौन रहनुको अर्थ शव्द तथा वाणी कम तथा बन्द गर्नु मात्र होइन शरीर तथा इन्द्रियहरुका हाउभाउहरुलाई समेत स्थिर गर्न प्रयास गर्नु वाहिरी तथा प्रयास मौन हो । प्रारम्भिक चरणमा कम बोल्नु; शरीर तथा इन्द्रियहरुका हाउभाउहरु कम प्रकट गर्नु तथा नगर्नु; कम प्रतिक्रियात्मक हुनु; बढि सुन्नु; सामनेवालाको पूरा कुरा सुनेर मात्र आफ्नो प्रतिक्रिया तथा जवाफ दिनु; आफूलाई सकेसम्म एकान्तमा राख्नु आदि जस्ता अत्यन्तै सामान्य प्रयासहरुबाट विस्तारै मौनको अभ्यास शुरु हुन्छ ।


एकान्त अवस्था तथा एक्लोपनको सदुपयोग

पहिलो तथा प्रारम्भिक चरणमा कम बोल्ने; शरीर तथा इन्द्रियहरुका हाउभाउहरु कम प्रकट गर्ने तथा नगर्ने; कम प्रतिक्रियात्मक हुने; बढि सुन्ने; सामनेवालाको पूरा कुरा सुनेर मात्र आफ्नो प्रतिक्रिया तथा जवाफ दिने प्रयासहरुले आफूलाई एकान्त अवस्थामा एक्लै रहन मद्धत गर्दछन् । मनुष्यले संसारका हरप्रकारका गतिविधिहरु बुझ्न उसले सर्वप्रथम हरहालमा आफैंलाई बुझ्नु अत्यावश्यक हुन्छ र एकान्त अवस्था तथा एक्लोपन आफूलाई बुझ्ने सबैभन्दा सजिलो र दरिलो अवस्था तथा माध्यम हो । एकान्त अवस्था तथा एक्लोपनमा मनुष्य आफूभित्र प्रवेश गर्दछ; आफ्ना सवल तथा दुर्वल पक्षहरुलाई नजिकबाट नियाल्ने अवसर पाउछ; आफूभित्र आफ्नो तथा अरुकोलागि सकारात्मक विचार तथा भावहरु भए त्यसलाई सक्दो बढाउने प्रयास गर्दछ र नकारात्मक विचार तथा भावहरु भए घटाउने तथा सुधार गर्ने प्रयास गर्दछ । आफ्ना सवल र दुर्वल पक्षहरु बुझेपछि अरुलाई पनि यही प्रकारले बुझ्ने र त्यसै अनुसारका सुल्झििएका व्यवहारहरु गर्न प्रारम्भ गर्दछ र आफू र आफू वरिपरिको माहोल सहज बनाउदछ । यसरी सुल्झिएको र सहज भएको व्यक्तिले आफू र आफूसंग सम्वन्धितहरुको जीवन व्यवस्थापनमा महत्वपूर्ण र प्रेरणादायी भूमिका निर्वाह गर्दछ । अनुभवी महान व्यक्तित्वहरुले भन्नु भएको छ, “आफू भन्दा वाहिर तथा संसारिक जगतको भिडमा मनुष्यले आफूलाई हराउछ, तर एकान्त अवस्थाको एक्लोपनमा मनुष्यले आफूलाई भेटाउछ किनकी एकान्त अवस्थाको एक्लोपन मौनमा प्रवेश गर्ने मूल द्वार हो जहाँबाट मनुष्य आफ्नो अन्तरआत्मा तथा अन्तरहृदयमा प्रवेश गर्दछ अर्थात आफूभित्रको अन्तरयात्रा प्रारम्भ गर्दछ र आफैं आफ्नो अध्ययन तथा विश्लेषण गर्न प्रारम्भ गर्दछ ।” आफूभित्रको अन्तरयात्रामा रहेको मनुष्यले आफू र अरुसंग सम्वन्धित हरेक राम्रा तथा नराम्रा, सहज तथा असहज विषयहरुमा आत्मनिरिक्षण तथा आत्मविश्लेषण गर्न प्रारम्भ गर्दछ– कतै म आफैं पो दोषि छु कि, अन्जानमा मबाटै केही गल्ती भैरहेको छ कि अरुमाथि दोष थोपरेर तथा गुनासो गरेर मैले अरुलाई अन्याय पो गरिरहेको छु कि, म आफैं पो सुध्रिनु पर्ने हो कि भन्ने जस्ता सकारात्मक आत्मजाग्रीत भावहरु उभित्र आउन प्रारम्भ हुन्छन् र उ आफ्ना हरप्रकारका व्यवहार, बोलि, शव्द, हाउभाउ, प्रतिक्रियाहरुप्रति सजग, सम्यमित तथा साक्षी हुन थाल्छ र आफ्ना सबैप्रकारका बोलि तथा व्यवहारहरु आफू र अरुप्रति मैत्रीपूर्ण बनाउन प्रारम्भ गर्दछ । यसरी आफुतिर फर्केर आत्मआलोचनात्मक किसिमले आत्मनिरिक्षण र आत्मविश्लेषण गर्न सक्ने व्यक्ति मात्र एकान्त अवस्थाको एक्लोपन हुदै मौनको अभ्यासमा सहजै प्रवेश गर्न सक्दछ ।


आफूलाई मौनको अभ्यासमा लाने प्रारम्भिक प्रयास

एकान्त अवस्थामा रहेर एक्लोपनको अभ्यासको माध्यमबाट आफू भित्रैदेखि मजबुत भएको र आफूले आफूलाई भरोसा गर्नसक्ने आत्मविश्वासले भरिएको आत्मनिर्भर व्यक्ति मात्र मौनको अभ्यासमा रहन तथा टिकिरहन सक्दछ । आफू भित्रैदेखि मजबुत हुन मौन साधनाका विविध चरण, प्रक्रिया तथा विधिहरु रहेका छन् जसको अनुशरणबाट सहजै एकान्त अवस्थामा एक्लोपनमा विचरण गर्दै मौनको प्रारम्भि, माध्यमिक हुदै गहन अवस्था अर्थात स्वस्फुर्त घटित हुने निस्प्रयास मौनसम्म पुग्न सकिन्छ । कहिलेकाहीं परिस्थितिवस आफूले थाहा नपाइकन मनुष्य एक्लै हुन्छ तर यो वास्तविक एकान्त अवस्था तथा एक्लोपन होइन, भैपरिआएको अवस्था हो तसर्थ यसका लाभहरु उति हुदैनन् किनकी परिस्थितिवस एक्लो भएको बेलामा उसले आफूलाई तुरुन्तै अरु होहल्लाका गतिविधिहरुमा सम्मिलित गर्दछ– मोवाइल, टि.भि., फोन, रेडियो, किताव, बातचित, झ्यालबाट देखिने दृश्यहरु आदिमा । परिस्थितिवस एक्लो तथा एकान्त भएको अवस्थाको सदुपयोग गर्नु सबैभन्दा सहज र पहिलो चरणको पहिलो प्रक्रिया हो मौनको अभ्यास प्रारम्भ गर्नकालागि । परिस्थितिवस एक्लो तथा एकान्त अवस्था भएकोे समयमा आफूलाई कुनै हल्लाखल्लाका गतिविधिहरुमा सामेल नगरिकन शान्त भएर बस्ने प्रयासले मौनका चरण, प्रक्रिया तथा विधिहरुमा प्रवेश गर्न सहजता प्रदान गर्दछ । शान्त वातावरणमा शान्त भएर बसेसंगै केही अत्यन्तै सामान्य विधिहरु क्रमशः कम्मर–ढाड–गर्धन सिधा; श्वास सामान्य भन्दा अलि लामो; आँखा बन्द; रमाइला पल; मनोरम ब्रम्हाण्डिय तथा प्राकृतिक दृष्यिहरु; आफ्ना प्रेमल सम्वन्धहरु; कुनै अवसर तथा मौकाको विषय आदिलाई विचारमा ल्याएर तिनका भावहरुसंगै आफू पूर्णरुपमा सामेल हुने तथा संगसंगै तरंगीत हुने प्रयासले मौन अभ्यासको दोस्रो चरणमा प्रवेश पाउन सफलता मिल्छ । मौनको अभ्यास मनुष्य आफू स्वयंले नै प्रयास गर्नुपर्दछ र विस्तारै अभ्यासको समय, प्रक्रिया र विधिहरु बढाउदै लानुपर्दछ । केही समय आफूलाई बिना मोवाइल, बिना टि.भी., बिना किताव, बिना रेडियो, बिना संगीत, बिना साथीसम्वन्धी, बिना गफगाफ, बिना सामाजिक संजाल, बिना झ्यालबाट देखिने दृश्यहरु सिर्फ आफू मात्र एक्लै बसेर माथि उल्लेखित कम्मर–ढाड–गर्धन सिधा गर्ने आदि सामान्य विधिहरुको अनुशरण गर्दैगर्दै एकदम सहज ढंगले मौनको चरणवद्ध, प्रक्रियात्मक तथा विधिवत अभ्यास प्रारम्भ गर्न र यसलाई निरन्तरता दिन सकिन्छ । 


व्यवहारिक अनुभवहरुलाई हेर्दा यसरी मौनको अभ्यास प्रारम्भ गर्दा अन्तरमुखी प्रकृतिको मनुष्यलाई शुरुशुरुमा थोरै असहज जस्तो लागेपनि विस्तारै आन्तरिक रुपमा सुख, खुशी, शान्ति, आनन्द मिलेको अनुभव हुदै र बढ्दै जान्छ तर यसको ठिक विपरित वहिरमुखी प्रकृतिको मनुष्यलाई मौन रहने अभ्यासको प्रारम्भमा अलि बढि बेचैनी, छटपटि हुन्छ; अनियन्त्रित अतिविचार तथा भावनात्मक संवेगहरुको कोलाहलले मन, मस्तिष्क, भाव, चेतना अझ बोझिलो भएको तथा बिय्रिएको र आफू झन ठूलो समस्यामा फंसेको जस्तो अनुभव हुन्छ । साथै मौनको अभ्यासले आफूलाई सबैबाट कटाइरहेको, आफू रित्तो तथा खालि भएको जस्तो आतेस लाग्ने र उकुशमुकुश भएको जस्तो महसुस हुन्छ तर यो अवस्था धेरै लामो समयसम्म रहदैन, विस्तारै अवस्था समान्य हुदै जान्छ र कतिपय वहिरमुखी मनुष्यहरुमा यति धेरै बदलाव आयछ कि उनीहरु अन्तरमुखी भन्दा अझ गहन अन्तरमुखी व्यवहारमा देखापर्दछन् किनकी वास्तविकतामा उसलाई मौनको अभ्यासले सबैबाट कटाइरहेको हुदैन बरु उ आफैंसंग जोडिरहेको हुन्छ; उसलाई अनावश्यक विषय, वस्तु, विचार, सम्वन्ध तथा कर्महरुबाट कटाएर आवश्यक विषय, वस्तु, विचार, सम्वन्ध तथा कर्महरुमा जोडिरहेको हुन्छ; खालि गरिरहेको हुदैन पूर्णताले भरिरहेको हुन्छ; र उसलाई आफ्नो वास्तविक मूलस्वरुप आत्मासंग नजिक लगिरहेको तथा मिलाईरहेको हुन्छ । धैर्यतापूर्वक आफूलाई यस्ता भावहरुले भर्न सक्यो भने वहिरमुखी व्यक्ति पनि सहजै मौन अभ्यासका चरण, प्रक्रिया तथा विधिहरुमा प्रवेश गर्न र यसको उच्चतम लाभ लिन सक्ने अवस्थामा सजिलै पुग्नसक्छ ।


(ख) मौनको गहन अभ्यास– आन्तरिक मौन तथा निस्प्रयास मौन 

मौन अभ्यासको दोस्रो चरण गहिररिदै गएपछि अव व्यक्ति विस्तारै शव्द तथा वाणी, शरीर र इन्द्रियहरुका हाउभाउहरु अर्थात वाहिरी मौनको अवस्थाबाट आन्तरिक मौनको अवस्थामा प्रवेश गर्दछ जहाँ उसका शव्द तथा वाणी, शरीर र इन्द्रियहरुका हाउभाउहरु मात्र स्थिर तथा मौन नभएर मनमा निरन्तर चलिरहने अनियन्त्रित विचारहरु र भावमा निरन्तर तरंगीत भैरहने भावनात्मक संवेगहरु पनि स्थिर तथा मौन हुन थाल्दछन् र उ वास्तविक मौन साधना अर्थात आन्तरिक तथा निस्प्रयास मौनको अलौकिक, रहस्यमयी, चमत्कारीक दिव्यतामा छलागं लगाउन सफल हुन्छ र यही अवस्थालाई सनातन अध्यात्म विज्ञानले ‘साधनादेखि सिद्धिसम्म’को अलौकिक आध्यत्मिक यात्राका रुपमा परिभाषित गरेको छ । तर वाहिरी तथा प्रयास मौनबाट वास्तविक आन्तरिक तथा निस्प्रयास मौन साधनासम्म पुग्न कति समय लाग्छ भन्ने सन्दर्भमा मनुष्यको तत्कालीन अवस्था र परिस्थितिका साथसाथ सबैभन्दा बढि र महत्वपूर्ण प्रभाव तथा भूमिका उसको स्वभाव, प्रकृति, प्रवृत्ति, जीवनशैली अर्थात आहार–विहार–व्यवहार र उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य, शुद्धता, सक्रियता, सन्तुलनता तथा सहि व्यवस्थापनको रहने गर्दछ । 


आन्तरिक तथा निस्प्रयास मौनकालागि योगीक साधनाको अपरिहार्यता

मौन साधना सहज, सरल, सफल र उपलव्धिमूलक बनाउनकालागि साधकको स्वभाव, प्रकृति, प्रवृत्ति, जीवनशैली, आहार–विहार–व्यवहार, उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य, शुद्धता, सक्रियता, सन्तुलनता र व्यवस्थापन सहि अवस्थामा हुनु तथा राख्नु पहिलो आवश्यकता हो अर्थात साधक पूर्णरुपमा स्वस्थ, आरोगी तथा निरोगी नभइकन उ निस्प्रयास मौनको अलौकिक आध्यात्मिक यात्रामा सहज ढंगले अगाडि बढ्न सक्दैन । मनुष्य तवमात्र पूर्णरुपमा स्वस्थ, आरोगी तथा निरोगी हुनसक्दछ जव उसका पलपलका सोच, विचार, भाव, वाणी, व्यवहार, आचरण, कर्महरु सबै सकारात्मक हुन्छन् । मनुष्यको जीवनमा यी सबै अवस्थाहरु हासिल गर्न सनातन अध्यात्म दर्शनको प्रमुख विषय योग विज्ञानका योगीक साधनाका वैज्ञानिक विविध चरण, प्रक्रिया, विधि तथा पद्धतिहरु अत्यन्तै प्रभावकारी तथा लाभकारी रहेका व्यवहारिक अनुभवहरु प्राचीकालदेखि नै गर्दै आइराखिएको छ । विशेष गरिकन योग दर्शन तथा योग विज्ञान अन्तर्गत रहेको महर्षि पतंजलिद्वारा संयोजित विश्वविख्यात महाग्रन्थ पतंजलि योगसुत्रमा उल्लेखित योग विज्ञान तथा योगीक साधनाका आठ वहिरंग र अन्तरंग अंग तथा सिढिहरु, (क)वहिरंग– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार, र (ख)अन्तरंग– (६)धारणा, (७)ध्यान, र (८)समाधि को मौन साधनाको अलौकिक आध्यात्मिक यात्रामा विशेष महत्व र भूमिका रहेको छ जसले मनुष्यलाई शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक तहमा हरप्रकारले स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित र व्यवस्थित रहन विशेष प्रकारले मद्धत गर्दछ । 


पतंजलि योग दर्शनको वहिरंग पाटो– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार को प्रयोगात्मक अभ्यासले साधकको वाहिरी तथा शारीरिक साधनाको गुण्स्तरिय, परिणाममुखी तथा उच्चतम विकासमा महत्वपूर्ण भूमिका खेल्दछ तथा योगदान पुर्याउदछ । त्यसैगरि अन्तरंग पाटो (६)धारणा, (७)ध्यान, र (८)समाधि को प्रयोगात्मक अभ्यासले साधकको आन्तरिक तथा मानसिक साधनाको गुण्स्तरिय, परिणाममुखी तथा उच्चतम विकासमा महत्वपूर्ण भूमिका खेल्दछ तथा योगदान पुर्याउदछ । आन्तरिक तथा निस्प्रयास मौन साधनाको अलौकिक आध्यात्मिक मार्गमा योग दर्शनको वहिरंग पाटोको सैद्धान्तिक ज्ञानविज्ञानहरुको अनुशरणका साथसाथ व्यवहारिक ज्ञानविज्ञानहरुको प्रयोगात्मक अभ्यासबाट साधक हरप्रकारले पूर्णरुपमा स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित र व्यवस्थित पहिलो शर्त हो, यस पक्षमा कुनै तलमाथिको गुन्जायस छदैछैन । यसपश्चात मात्र योग दर्शनको अन्तरंग पाटोको सैद्धान्तिक ज्ञानविज्ञानहरुको अनुशरणका साथसाथ व्यवहारिक ज्ञानविज्ञानहरुको प्रयोगात्मक अभ्यासले सनातन अध्यात्मा दर्शनका ग्रन्थहरुमा उल्लेख गरिएका पराभौतिक जगतका रहस्यमय, चमत्कारिक, दिव्य र अलौकिक इन्द्रियातीत, मनातीत तथा भावातीत अनुभव तथा अनुभूतिहरु हासिल हुन सक्दछन् । 


मौन साधनाका सामान्य चरण, प्रक्रिया र विधिहरु 

जीवनका मानवीय विकार, क्लेश, अपेक्षा, तृष्णा, विचार, भावना दुःख, पिडाहरु वाहिरी संसारका लिप्सा, मोजमस्तीहरुको भोगवृत्तिमा कमी तथा आवश्यकता अनुसार यसबाट अलग भएर योगवृत्तिमा आएपछि मात्र हरेक व्यक्तिका लागि मौनको अभ्यास सहज हुनसक्छ । भोगवृत्ति र योगवृत्ति विचको सम्वन्ध दोहोरो प्रकारको हुन्छ, व्यक्तिले आफूले आफूलाई सांसारिक जगतबाट अलग राख्न केही हदसम्म सफल भएर आफूलाई मौनको सामान्य अभ्यासको चरणमा प्रवेश गराएपछि मौनले नै स्वस्फुर्त रुपमा उसलाई वाहिरी संसारका उसकालागि अनावश्यक तथा हानिकारक अवस्थाहरुबाट विस्तारै वाहिर निकालेर उसलाई सामान्य तथा सात्विक जीवनशैलीमा स्थापित गरिदिन्छ र उसको वाहिरी जीवनका साथसाथ आन्तरिक जीवन पनि सहज, सरल, सफल, सन्तुलित र व्यवस्थित हुदैजान्छ । वाहिरी र आन्तरिक जीवन सहज हुदै गएपछिको अवस्थामा व्यक्तिमा मौनका लागि आवश्यक पृष्ठभूमि तयार हुन्छ र उसको जीवनमा मौनको अभ्यास प्रारम्भ हुन्छ र उ स्वतः क्रमिक रुपमा मौनका चरण, प्रक्रिया तथा विधिहरुमा अगाडि बढ्दै जान्छ ।


सामान्यदेखि विशिष्ठ तहको मौन साधनाका चरण, प्रक्रिया, विधि, पद्धति तथा उपायहरु धेरै प्रकारका रहेकाछन् । पहिलो चरण, प्रक्रिया, विधि, पद्धति तथा उपाय आफूले गर्दै आएका शव्द, वाणी, शरीर र इन्द्रियहरुका हाउभाउहरु, प्रतिक्रिया तथा जवाफ दिने क्रियाकलापमा न्यूनता र स्थिरता ल्याउनु हो । दोस्रो आफूलाई एकान्त अवस्था तथा एक्लोपनमा अभ्यस्त गराउनु हो । आफ्नो जीवनमा यी दुई चरण तथा अवस्था हासिल गर्न हरेक व्यक्तिले तत्कालीन परिस्थितिमा आफूलाई उपलव्ध भएका अवस्थाहरुको उच्चतम सदुपयोग गर्दै अगाडि बढ्नु पर्दछ । यसकालागि सबैलाई व्यवहारिक हुने सबैभन्दा सहज र अत्यन्तै प्रभावकारी उपाय ध्यान साधनाको अनुशरण गर्नु मानिन्छ । वर्तमान समयमा ध्यान साधनालाई विविध प्रकारका अर्थ, परिभाषा, सैद्धान्ति, व्यवहारिक ज्ञानविज्ञान र प्रयोगात्मक अभ्यासका सन्दर्भहरु जोडेर अत्यन्तै क्लीष्ट र सबैभन्दा गाह्रो विषय तथा कामको रुपमा अथ्र्याउदै, बुझाउदै र बुझ्दै आइएको पाइन्छ तर वास्तविकता यो भन्दा निकै फरक छ । ध्यान साधना कठिन विषय तथा काम हुदै होइन, वास्तवमा भन्ने हो भने सबैभन्दा सजिलो काम नै ध्यान गर्नु हो जो यो हरकोहीका लागि उत्तिकै सहज र व्यवहारिक छ । पहिलो चरणको ध्यानमा साक्षीभावमा तथा वर्तमानमा रहने प्रयास अर्थात अंग्रेजीमा माइन्डफूलनेसको अभ्यास अत्यन्तै प्रभावकारी भएको पाइएको छ । साक्षीभाव ध्यान काम गरिरहदाको समय तथा व्यस्त अवस्थामा पनि गर्न सकिन्छ, अझ भनौं व्यस्त भएको अवस्थामा साक्षीभावमा रहन झन् सजिलो हुन्छ आफ्नो शरीरले जे काम गरिरहेको छ त्यही काम तथा अवस्थामा आफ्नो मन तथा ध्यान केन्द्रित गरेर तथा टिकाएर । दोस्रो ध्यान साधनाको अभ्यास आफूलाई फुर्सद छ भने विषय केन्द्रित भएर गर्न सकिन्छ अत्यन्तै सहज प्रकारले । विषय केन्द्रित ध्यान साधना गर्नकालागि शान्त वातावरणमा शान्त भएर बसेर केही अत्यन्तै सामान्य विधिहरु क्रमशः कम्मर–ढाड–गर्धन सिधा पारेर; श्वास सामान्य भन्दा अलि लामो बनाएर; आँखा बन्द गरेर; रमाइला पलहरुको याद गरेर; मनोरम ब्रम्हाण्डिय तथा प्राकृतिक दृष्यहरु दृश्यावलोकन गरेर; आफ्ना प्रेमल सम्वन्धहरु स्मृतिमा ल्याएर; कुनै अवसर तथा मौकाको विषय आदिलाई विचारमा खेलाएर; शरीरका सामान्य अंगहरु– हात, गोडा, छाति, कुम, शिर आदि र आन्तरिक तथा विशेष अंगहरु– नाभि, हृदय, कण्ठ, भ्रु–मध्य, भ्रमरन्द्रमा ध्यान केन्द्रित गरेर; आफ्नो सुक्ष्म शरीरमा रहेका प्रमुख सात चक्रहरुको रंग याद गरेर, विज मम्त्रोच्चाहरण गरेर; सनातन धर्म ग्रन्थहरुका प्रभावशाली संस्कृतका मन्त्रहरुको उच्चाहरण गरेर; आफाम इष्ट तथा आराध्य देवहरुको नामजप आदि गरेर यी गतिविधिहरुका भावहरुसंगै आफू पूर्णरुपमा सामेल हुदै तथा संगसंगै तरंगीत हुदै जाने प्रयासले मौन अभ्यासको दोस्रो चरणमा प्रवेश पाउन सफलता मिल्छ ।


अन्य अझ सकहज चरण, प्रक्रिया र विधिहरु

आफू व्यस्त रहेको समयमा, तत्काल आफूले जे काम गरिरहेको छ त्यसैमा केन्द्रित हुनु वर्तमानमा रहनु सबैकालागि सबैभन्दा सहज र प्रभावकारी उपाय हो र यसका अनन्त लाभ रहेका छन् मनुष्यको सांसारिक र पारमार्थिक जीवनमा लाभ पुर्यायने मौन साधनालाई चरणवद्ध रुपमा अगाडि बढाउनका लागि । आफू व्यस्त रहेको समयमा, खासगरि राति ओछ्यानमा पल्टेपछि निदाउनुअघि आफ्ना दिनभरिका काम, गतिविधि तथा निर्णयहरुमाथि पूनरावलोकन तथा समिक्षा गर्नु; गल्ती, अन्याय भएका रहेछन् भने मनमनै स्वीकार गर्नु, क्षमा माग्नु, प्रायश्चित गर्नु, सुधार गर्ने अठोट गर्नु, गल्ती फेरी नदोहोर्याउने संकल्प गर्नु आदि अत्यन्तै प्रभाकारी मौनका अभ्यासहरु हुन् जसबाट व्यक्ति आफूले थाहा नै नपाइकन आफूभित्रको अन्तरयात्रामा प्रवेश गर्दछ र उसको मौन साधनाको प्रारम्भिक आध्यात्मिक यात्रा प्रारम्भ हुन्छ । आफूलाई हरवखत सकारात्मक राख्न खासगरि विहान निद्रबाट बिउझिएपछि ओछ्यानमै आफूलाई सकारात्मक आत्मसन्देशहरु– म सुखी छु, शान्त छु, आनन्दित छु, भाग्यमानी छु, सिर्जनशील छु, लगनशील छु, सबैले मलाई प्रेम गर्छन्, सम्मान गर्छन्, विश्वास गर्छन्, म सम्पन्न छु आदि दिनु मौनको अभ्यासको अत्यन्तै प्रभावकारी चरण तथा प्रक्रिया हो । आफूसंग र्भका हरेक विषय, वस्तु, सेवा, सुविधाप्रति खासगरि यी अवस्थाहरु उपलव्ध गराउने श्रोत व्यत्तितहरु र आत्यिन्तिक श्रोत प्रकृति तथा परमात्माप्रति कृतज्ञता, अहोभाव, धन्यता, श्रद्धा, भक्ति, समर्पणले भरिनु पनि मौन साधनाको अर्को अत्यन्तै महत्वपूर्ण र प्रभावकारी चरण तथा प्रक्रिया हो । साथै आफूलाई हरप्रकारले स्वस्थ राख्न हरपल लामो–गहिरो श्वास बनाउनु, श्वास आएको गएको याद गर्नु, मेरुदण्ड सिधा गरेर बस्नु, सुत्नु तथा पल्टिनु, सुक्ष्म शरीरको मेरुदण्डमा रहेका चक्रहरुको याद गर्नु आदि जस्ता योगीक क्रियाकलापहरुले मौन्को अभ्यास सरल बनाउन महत्वपूर्ण योगदान गर्दछन् । शारीरिक, मानसिक, भावनात्म, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्यका दृष्टिकोणले श्वास लामो–गहिरो बनाउदा मस्तिष्क, रगत तथा पूरै शरीरमा अक्सिजन तथा प्राणवायु पर्याप्त मात्रामा संतुलित किसिमले संचारित हुन्छ । मेरुदण्ड सिधा राख्दा मेरुदण्डको केन्द्रमा निरन्तर प्रवाहित भैरहने शरीरको कुण्डलिनी उर्जा र ब्रम्हाडिय महाउर्जा तथा प्राण उर्जा तथा जीवन उर्जा र मस्तिष्कविच सम्पर्क बनिरहन्छ र शरीर र स्वास्थ्यका सबै आयामहरु स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित तथा व्यवस्थित हुन्छन् । 
 




No comments:

Post a Comment