विषय प्रवेश
प्रार्दुभाव भएको मूलभूमि नेपाल, भारत र वरपरका क्षेत्रहरुमा तत्कालीन समयमा तिब्रगतिमा विस्तार भएको भएपनि इशाको १२ औं शताव्दी पश्चात विस्तारै लोप हुने अवस्थाबाट गुज्रिदै आएकोे बौद्ध धर्म तथा दर्शन वर्तमान समयमा विश्वमा एक ब्रान्ड बनिसकेको छ । यसका विभिन्न शाखाहरु संसारभरि विस्तार भएका छन् र बौद्ध धर्म तथा दर्शन तथा यसका मुल्य–मान्यताहरुले पुरै विश्वभरि शान्ति र सदभावको नवीन विचारधाराका रुपमा राज गरिरहेका छन् । तत्कालीन सामाजिक अव्यवस्थाको विद्रोहको एउटा सामान्य आवाजबाट विचार बनाएर आफ्नो फरक मत तथा माग राख्दै प्रारम्भ भएको र सानासाना संघहरुको स्थापना तथा व्यवस्थापन गर्दै अगाडि बढ्दै गएको बौद्ध धर्म तथा दर्शन आफ्नो स्वर्णिम समय इशाको ११, १२, १३ औं शताव्दीसम्म आइपुग्दा अत्यन्तै विशाल र चारैतिर लोकप्रिय बनेको थियो । तत्कालीन समयको युग धर्म तथा दर्शनको रुपमा स्थापित भएको थियो र प्रादुर्भाव भएको मुलभूमि, वरपर र वाहिरका क्षेत्रहरु, राज्यहरु हुदै विदेशसम्म व्यापक विस्तार भएको थियो । बौद्ध धर्म तथा दर्शन गौतम बुद्धको महानिर्वाणको २०० वर्षपछि इशापूर्व २५० वर्षदेखि अर्थात इशापूर्व पहिलो र दोस्रो शताव्दीबाट नै विस्तार हुन प्रारम्भ भएको थियो । इशापूर्व २५०मा मौर्यवंशका चक्रवर्ति सम्राट अशोकको शासनकालदेखि प्रारम्भ भएको बौद्ध धर्म तथा दर्शन विस्तारको क्रम इशाको ११, १२, १३, १४ औं शताव्दीसम्म र पछिल्ला शताव्दीहरुमा पनि निरन्तर चलिरह्यो । युग तथा समयलाई आधार मान्दा बौद्ध धर्म तथा दर्शन पाचौं र तेह्रौं शताव्दीमा मूलभूमि नेपाल, भारत र वरपरका क्षेत्र तथा राज्यहरुमा भन्दा वाहिरका धेरै क्षेत्र, राज्य तथा देशहरुमा तिब्रगतिमा विस्तार भएको थियो किनकी सम्राट अशोक तथा मौर्यवंशको शाही मान्यता, सम्मान, सहयोग र संरक्षणले बौद्ध धर्म तथा दर्शनलाई आध्यात्मिक मार्गबाट माथि उठाएर एक विशाल सामाज्य र चक्रवर्ति सम्राटको आस्था र ताकत बनाई दिएको थियो जसलाई अरु राजा तथा सम्राटहरु र राज्य तथा साम्रज्यहरुले पनि अनुशरण गरे ।
गौतम बुद्धको महानिर्वाण पश्चात हिनयान र महायान दुई शाखामा विभाजित भएको बौद्ध धर्म तथा दर्शनको नवीनतम मान्यतालाई अंगिकार गर्दै गौतम बुद्ध कोही सामान्य मानव नभइ इश्वरको अवतार रहेको भगवान पुरुषको रुपमा मान्ने महायान शाखा पूर्वी एशीयाली देशहरु– चीन, कोरिया, जापान, भियतनाम लगायत वरपरका अन्य क्षेत्रहरुमा विस्तार भयो । र गौतम बुद्ध आफैंले भने अनुसार म सामान्य मानव हुँ, मैले ध्यान साधनाबाट प्राप्त गरेको परमज्ञान, मेरा उपदेश तथा देशनाहरुको पालना गर्नु, आफ्नो दियो आफैं बन्नु, मेरो पूजा नगर्नु र मूर्ति नबनाउनु भन्ने वास्तविक भावलाई अंगिकार गरेर अगाडि बढेको हिनयान(थेराबाद) शाखा दक्षिण पूर्वी एशियाली देशहरु– श्रीलंका, म्यान्मार, थाइल्याण्ड, लाओस, कम्बोडिया लगायत वरपरका अन्य क्षेत्रहरुमा विस्तार भयो र वर्तमान समयमा यिनै देशहरुमा बौद्ध धर्म तथा दर्शनका अनुयायीहरु ज्यादा रहेका छन् । उच्चतमदेखि क्रमशः कम्बोडिया– ९८ प्रतिशत, श्रीलंका– ९३.३ प्रतिशत, थाइल्याण्ड– ९३.२ प्रतिशत, म्यान्मार– ९० प्रतिशत, भुटान– ७४ प्रतिशत, चीन– ३३.३ प्रतिशत । अत्यधिक अनुयायीहरु रहेका यी देशहरु लगायत विश्वका अरु देशहरुले बौद्ध धर्म तथा दर्शनलाई शान्ति र सदभावको विचारधाराको रुपमा अवलम्वल गदै आइरहेका छन् । साथै पछिल्ला दशकहरुमा विश्वको छाता संगठन संयुक्त राष्ट्रसंघले समेत शान्ति र सदभावको प्रतिकका साथै मानवीय धर्म, व्यवहारिक धर्म, सम्यक तथा मध्यमार्गी धर्म, सबैकालागि उपयोगी धर्म तथा दर्शनका रुपमा अंगिकार गर्दैै आइरहेको छ । बौद्ध दर्शन तथा धर्म वर्तमान समयमा विश्वको चौथो ठूलो धर्म हो, विश्वका १० वटा देशमा बौद्ध धर्मका अनुयायीहरुको बाहुल्यता तथा बहुसंख्या रहेको छ । चीनमा सबैभन्दा ठूलो संख्या रहेको छ, यहाँ ३३.३ जनसंख्या बौद्ध मार्गी रहेकाछन्, यो कुल जनसंख्यामा ४७ करोड भन्दा बढि संख्या हो जो विश्वकै कुल बौद्ध मार्गीहरुको दुईतिहाइ अर्थात ६८ प्रतिशत हिस्सा हो । पछिल्लो जनगणना सन् २०२१का अनुसार नेपालमा ८.२१ प्रतिशत र भारतमा ०.७ प्रतिशत अर्थात ३ करोड ७५ लाख जनसंख्या बौद्ध मार्गी रहेकाछन् । बौद्ध मार्गीहरुप्रति दमनकारी रणनीति अंगिकार गरेको कम्युनिष्ट शासन प्रणाली प्रारम्भ हुनुपूर्व चीनमा ९० प्रतिशत जनसंख्या बौद्ध मार्गी रहेका थिए ।
बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमि र विश्वका अरु भूगोल तथा देशहरुमा विस्तार र लोकप्रिय हुनुका प्रमुख कारणहरु निम्न रहेका ऐतिहासिक सन्दर्भ सामग्रीहरुमा पाइएका छन्– बौद्ध धर्म तथा दर्शनको विश्वव्यापि विस्तारमा हुनुमा मोटामोटी रुपमा (१)व्यवहारिक अभ्यास, (२)मध्यमार्गी विचारधारा, (३)विवाह, (४)व्यापार, (५)सम्वन्ध विस्तार, (६)सौजन्य तथा उपहार प्रमुख कारणहरु रहेका यससंग सम्वन्धित सन्दर्भ सामग्रीहरुमा उल्लेख रहेको पाइएका छन् ।
(१)मानवीय र व्यवहारिक विचारधारा
तत्कालीन समाजमा रहेको ब्राम्हणवादको चरम अमानवीय, अनैतिक तथा असामाजिक व्यवस्थाको विरोध र मानवीय, नैतिक, सामाजिक हुनेगरि सहि व्यवस्थापन तथा सुधार गर्नुपर्ने मागको पृष्ठभूमिबाट प्रादुर्भाव भएको बौद्ध धर्म तथा दर्शन मानवीय, समान अधिकार, सम्मान र सबैकालागि अत्यन्तै व्यवहारिक रहेको मान्यता विश्व समाजले समेत प्रदान गरिसकेको छ । सबैकोलागि सहज र सर्वकल्याण हुने शान्ति र सदभावको सहज अभ्यासमा आधारित भएकै कारण बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमिबाट वाहिरका क्षेत्र तथा राज्यहरुमा तथा विश्वव्यापि रुपमा विस्तार हुन सफल भयो ।
(२)सम्यक तथा मध्यमार्गी मान्यता
संस्कृत वांगमयमा एउटा प्रसिद्ध भनाइ रहदै आएको छ, ‘अति सर्वत्र वर्जयत’ अर्थात कुनैपनि विषयमा अति गर्नु हुदैन, आवश्क मात्रामा मात्र उपयोग गर्नुपर्दछ र अति लगाव तथा आशक्तिलाई बर्जित गर्नुपर्छ अन्यथा यसले हानि गर्न सक्दछ । बौद्ध धर्म तथा दर्शनको चार आर्य सत्यमा उल्लेख गरिएका महावाक्यहरु– (१)जीवनमा दुःख छ, (२)दुःखको कारण छ, (३)दुःखको निवार गर्न सकिन्छ, र (४)दुःख निवारणका मार्ग तथा उपायहरु छन् भन्ने मान्यता कुनै पनि कुरामा अति गर्नु हुदैन सम्यक तथा मध्यमार्गी धारमा रहनु पर्दछ भन्ने मान्यतामा आधारित रहेको छ । सम्यक तथा मध्यमार्गी धारको भावार्थ जीवनशैली सामान्य, सम्यक तथा मध्यमार्गी हुनु पर्दछ, केही कुरामा पनि अति आशक्ति गर्नु हुदैन र अति उदाषी देखाउनु हुदैन भन्ने हो । जीवनका सबै आयाम तथा उतारचढावहरुमा मध्यमार्गी रहनसके मात्र जीवनका दुःखहरुबाट मुक्ति पाउन सकिन्छ । यसकालागि आफ्नो जीवनशैलीमा अष्टांगी मार्ग– (१)सम्यक तथा मध्यमार्गी दृष्टि; (२)सम्यक तथा मध्यमार्गी संकल्प; (३)सम्यक तथा मध्यमार्गी वाणी; (४)दृष्टि सम्यक तथा मध्यमार्गी कर्म; (५)सम्यक तथा मध्यमार्गी आजिविका; (६)सम्यक तथा मध्यमार्गी परिश्रम; (७)सम्यक तथा मध्यमार्गी स्मृति; र (८)सम्यक तथा मध्यमार्गी समाधि । आफ्नो दैनिकीमा अष्टांगीक मार्गको अनुशरण गरेर सहज जीवनशैलीको माध्यमबाट जीवनका सबै दुःखहरु निवारण गर्ने सरल मार्ग तथ उपायहरु सबैकालागि उपयोगी तथा व्यवहारिक भएका कारण बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमिबाट वाहिरका क्षेत्र तथा राज्यहरुमा तथा विश्वव्यापि रुपमा विस्तार हुन सफल भयो ।
(३)संघहरुको स्थापना तथा निर्माण
गौतम बुद्धले बौद्ध मत तथा विचारधारा आम मानिसहरुमा तथा समाजमा विस्तारै फैलिदै र लोकप्रिय हुदै गैरहेको र बढ्दै गएको समुहहरुको सहि ढंगले व्यवस्थापन गर्न आवश्यकता भए अनुसार बौद्ध संघ तथा संगठनहरुको स्थापना गरे । बौद्ध संघ मार्फत जन जागरण फैलायन र सामाजिक न्यायको क्षेत्रमा काम गर्न सहज भयो । बौद्ध संघमा सामेल हुन सबै वर्ण, कुल, वर्ग, जातजाति, लिंग तथा सबैप्रकारका सामाजिक हैसियता भएका मानिसहरुलाई खुल्ला थियो अझ भनौ बौद्ध संघहरुको वास्तविक उद्देश्य नै कमजोर तथा अन्यायमा परेका निमुखा वर्गहरुलाई न्याय र मानव हुनुको समान मान्यता दिलाउनु रहेको थियो । संघको नियममा महिलाहरुलाई पनि पुरुष सरह मान्यता तथा हक अधिकार प्रदान गरिएको थियो, र शुद्र तथा दाषहरुलाई पनि सबै समान व्यवहार र मानसम्मान प्रदान गरिएको थिया जो ब्राम्हणबादमा थिएन, चरम विभेद थियो, खासगरि स्त्री, शुद्र र दाषहरुलाई अधिकारबाट बन्चित गरेर र पिटेर तह लगाउनु पर्छ भन्ने मान्यता राखिएको थियो, यस्तो मान्यताका कारण उनीहरुले चरम प्रताडना झेलिरहेका थिए समाज, परिवार र राज्यमा । नोकरचाकर तथा दाषहरुलाई आफ्नो मालिकको अनुमति लिएर बौद्ध संघमा दाखिला हुन सुझाव दिइएको थियो परिवार तथा राज्यको अर्थव्यवस्थामा अप्ठ्यारो अवस्था नआओस भन्ने हेतुले । बौद्ध संघमा सामेल हुनकालागि निम्न विषयहरुमा विचार गरिन्थ्यो र विशेष जोड दिइन्थ्यो– (१)सैंयम(कन्टिनेन्स) र आफूमा रुपान्तरणको चाहना, (२)गरिवी(पोभर्टी)का कारण दयनीय जीवन यापन, (३)विश्वास तथा आस्था(फेथ) आदि हुनु आवश्यक थियो । विश्वास तथा आस्था अन्तर्ग तीन मूलभूत सिद्धान्तहरु अनुशरण गराइन्थ्यो– आफू सदा (१)बुद्ध, (२)धम्म, र (३)संघको शरणमा रहनेछु भन्ने संकल्प । बौद्ध संघहरुका व्यवस्थित गतिविधिहरु मार्फत निरन्तर भैरहने व्यवस्थित प्रवचन तथा देशनाहरुका ज्ञानले ल्याएको जागरणका कारण छिट्टै नै तिब्र गतिमा बौद्ध धर्म तथा दर्शनको विस्तार भयो टाढाटाढासम्म । वरपरका क्षेत्र तथा राज्यहरु मगध, कौसम्भी, कौशल आदि राज्यका सामन्त, राजा तथा महाराजाहरुले बौद्ध धर्म तथा दर्शनलाई मान्यता प्रदान गरे र सहजताका साथ अपनाएर आफ्ना जनताहरुलाई बुद्ध, धम्म, संघको शरणमा रहन आदेश तथा सुझाव दिए । यसरी बौद्ध संघहरु मार्फत व्यवस्थित ढंगले न्याय दिलाउने प्रणाली सुचारु गर्रिको कारण बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमिबाट वाहिरका क्षेत्र तथा राज्यहरुमा तथा विश्वव्यापि रुपमा विस्तार हुन सफल भयो ।
(४)गौतम बुद्धको आफ्नै अथक पहल
बोधिसत्वमा उपलव्ध भएपश्चात ३५ वर्षका युवा गौतम बुद्ध पैदल यात्रा गरेरै बाँकी उमेरको पुरै ४५ वर्षसम्म आफू स्वयं नै स्थानीय लगायत टाढाटाढाका क्षेत्रहरुमा पैदल यात्रा गरेर तत तत क्षेत्रका आम मानिसहरुलाई परमज्ञानका उपदेश, देशना तथा प्रवचनहरुको माध्यमाबाट मनुष्य जीवनको वास्तविक ज्ञान, धम्म(धर्म)को वास्तविक अर्थ, मनुष्यको डर, लोभ, मोह, सम्भावनाहरुको बारेमा शिक्षा प्रदान गरेर उनीहरुलाई वाहिय र आन्तरिक रुपमा हरप्रकारले जागृत गराएर उनीहरुलाई बुद्ध, धम्म र संघको शरणमा ल्याएर सबैको जीवन व्यवस्थित गर्न अथक प्रयास तथा अभियान गरिरहे । यसक्रममा गौतम बुद्ध स्वयंले विभिन्न क्षेत्रहरुमा परमज्ञान, धम्म, मनुष्यको वास्तविक अवस्था र संभावनाका शिक्षा तथा ज्ञान प्रदान गरेर यस्ता ज्ञानप्रति अनुग्रहीत तथा आकर्षित हुदै गएका आम मानिसहरुलाई सरल किसिमले सेवा प्रदान गर्न र सहि ढंगले सबैको व्यवस्थापन गर्न ७००० बौद्ध संघहरुको स्थापना, उद्घाटन् र मठहरुको निर्माण गर्न लगाए । गौतम बुद्ध स्वयंको यसप्रकारको अथक प्रयास तथा प्रभावकारी अभियानका कारण छोटो समयमै बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमिबाट वाहिरका क्षेत्र तथा राज्यहरुमा तथा विश्वव्यापि रुपमा विस्तार हुन सफल भयो ।
(५)आम नागरिक, राजा तथा राज्यसत्ताको समर्थन र सहयोग
तत्कालीन ब्राम्हणवादी समाजको चरम विभेद असामाजिक व्यवस्था तथा यसले गरिरहेका अमानवीय अनैतिक व्यवहारहरुको विरोधमा गौतम बुद्धले उठाएका विरोधका आवाजहरु महान वैचारिक क्रान्ति र धार्मिक आन्दोलन समान थिए र तत्कालीन समाजका आम मानिसहरुका लागि यो अभियान बिना कसुरको सजाय हुदा जेल तोडेर(प्रिजन ब्रेक) स्वतन्त्र भए सरहको साहस, साथ, सहयोग र सफलता थियो किनकी तत्कालीन समाजमा जन्मदेखिनै हैसियत तय हुने व्यवस्था थियो; स्त्री, शुद्र र दाषहरु मानव नै होइनन् भन्ने मान्यता थियो; हिंसक किसिमले निरिह पशुहरुको पशुवलि व्यापक रुपमा संस्कार बन्दैरहेको थियो; वर्ण–वर्ग–जाति–लिंगमा चरम विभेद थियो । यस्तो चरम उकुसमुकुसको अवस्थाबाट आम मानिसहरु, समाज, राज्य, भूमि तथा प्रकृति सबै जकडिएको अवस्थामा थिए । समाजको यस्तो अवस्थामा सुधार ल्याउन र सर्वकल्याणको काम गर्न गौतम बुद्धले राजपाठ र सुख, सुविधा सबै छोडेर आफ्नो पुरै जीवननै सर्वकल्याणका काममा समर्पित गरे र बौद्ध संघहरु बनाउदै समाजमा व्याप्त ब्राम्हणवादको उकुसमुकुसबाट मुक्ति पाउन चाहाना राख्ने सबैलाई संघमा सहज किसिमले आवद्ध गराउदै उनीहरुको जीवन सहज गर्ने प्रत्यत्न र अभियान गर्दै गए । बौद्ध संघमा दाखिला हुन मात्र तीन जोडी कपडा र एउटा भिक्षा पात्रको आवश्यकता हुन्थ्यो, कुन वर्ण–कुल–वर्ग–जात–लिंग–पेशा–हैसियत अरु केही पनि सोधिदैनथ्यो । बौद्ध संघहरु वैचारीक क्रान्तिका केन्द्र थिए, यी नयाँ प्रकारका विचारहरुले छिट्टै नै व्यक्ति, समाज तथा राज्यमा सकारात्मक रुपान्तरण ल्याउन सफल भएको कारण बौद्ध धर्म तथा दर्शनका समर्थक र अनुयायीहरु बढ्दै गए । यसप्रकारकोे सर्वकल्याणको अभियानमा आम मानिसहरुको साथ जुट्दै गयो र आम सर्वसाधारणहरुको आकर्षण तथा आवद्धता देखेर राज्यका सामन्त, राजा तथा महाराजाहरुले पनि बौद्ध संघ र संघले गरिरहेका सर्वकल्याण हुने मानवीय अभियानका गतिविधिहरुलाई साथ र सहयोग प्रदान गरे । विस्तारै बौद्ध धर्म तथा दर्शनलाई राज्य धर्मको दर्जा तथा मानसम्मान समेत मिल्दै गयो र स्थानीय क्षेत्र, टाढाटाढाका क्षेत्र तथा देश, विदेश हुदै विश्वभरि विस्तार हुदै गयो शान्ति र सदभाव कायम गर्ने मानवीय, मध्यमार्गी व्यवहारिक विचारधारा, धर्म तथा दर्शनका रुपमा ।
गौतम बुद्धको महानिर्वाण तथा देहाबसान भएको २०० वर्षपछि मौर्यवंशका भौगोलिक रुपमा ठूलो क्षेत्रमा एकलौटी शासन गर्ने चक्रवर्ति सम्राट अशोकले बौद्ध धर्म तथा दर्शनलाई राजकीय सम्मान र राष्ट्रिय मान्यता प्रदान गरे र देश, विदेशमा बौद्ध धर्मको विस्तार गर्न धर्म प्रचार गर्ने मिसनरीहरु नै खडा गरेर देश, विदेशका विभिन्न क्षेत्रहरुमा खटाए तथा पठाए । सम्राट अशोकको कार्यकालमा र उनका छोरा महेन्द्रको कार्यकालमा यी धर्म प्रचार गर्ने मिसनरीहरुले आफ्नो राज्यका नजिक तथा टाढाका क्षेत्रहरु लगायत मध्य एशिया, पश्चिम एशिया, दक्षिण एशिया, दक्षिण पूर्वी एशिया, पूर्वी एशियाका क्षेत्र तथा देशहरुसम्म बौद्ध धर्म तथा दर्शनको विस्तार गरे र विश्वका धेरै क्षेत्रहरुमा अनुशरण गरिने वैश्विक धर्म तथा दर्शनको ओहोदासम्म पुर्याए । अफगानस्थानको गान्धारदेखि विहारको बंगालसम्म सम्राट अशोक स्वयंले शिलालेख, स्तम्भ तथा चिन्नहरु निर्माण र स्थापना गर्न लगाएर बौद्ध धर्म तथा दर्शनको विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका थिए । बौद्ध धर्म तथा दर्शनको विस्तार गर्ने क्रममा चक्रवर्ति सम्राट अशोकले ग्रीस, इजिप्ट, श्रीलंका म्यान्मारसम्म आफ्ना धर्म प्रचारक मिसनरी तथा दुतहरु पठाएका थिए शिलालेख, मूर्ति, स्तम्व तथा अन्य सामग्रीहरुका साथमा ती सामग्रहरु तत तत क्षेत्र तथा देशहरुमा स्थापना गर्ने तथा गराउने उद्देश्यले । ग्रीसको अलेक्जेन्ड्रिया जस्ता ठूला शहरहरुमा बौद्ध भिक्षुहरुलाई बौद्ध धर्म तथा दर्शनको शिक्षा प्रदान गर्दै प्रचार गर्न पठाएका थिए । यसपश्चात पहिलो पटक ग्रीक दर्शन र पूर्वीय दर्शनको मिलन र संयोजन(फ्युजन) भएरे गान्धार कलाको रुपमा विकास भएको थियो किनकी अफगानस्थानको गान्धार राज्यका विभिन्न क्षेत्रहरुमा ग्रीक अर्थात प्राचीन युनानको प्रभाव उल्लेख्य रहेको थियो । इशापूर्व कै समयमा यसरी व्यापकताका साथ भएको बौद्ध धर्म तथा दर्शनको प्रचार तथा विस्तारलाई प्राचीन भूमण्डलीकरण(ग्लोबलाइजेसन) पनि भन्ने गरिएको पाइन्छ धेरै विदेशी भूमिहरु त्था विदेशीहरु एकआपसमा एकीकृत भएर नवीन विचारधाराहरु विश्वको एक क्षेत्रबाट अर्को क्षेत्रमा विस्तार गरिरहेका कारण किनकी बिना कुनै विज्ञान प्रविधि तथा सूचना प्रविधि अर्थात बिना कुनै फोन, इन्टरनेटको सुविधा त्यस बखत त्यो गतिमा नेपाल, भारतको भूमिबाट बौद्ध धर्म तथा दर्शन विश्वका विभिन्न देशहरुमा तेज रफतारमा विस्तार भैरहेको थियो र यसप्रकारको विचार तथा ज्ञानको भूमण्डलीकरण भैरहेको थियो । यस्ता गतिविधिहरुका कारण छोटो समयमै बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमिबाट वाहिरका क्षेत्र तथा राज्यहरुमा तथा विश्वव्यापि रुपमा विस्तार हुन सफल भयो ।
(६)ज्ञान, विज्ञानको केन्द्र नालन्दा विश्वविद्यालयको महत्वपूर्ण भूमिका
इस्वी ४औं शताव्दीदेखि १२ औं शताव्दीसम्म नालन्दा विश्वविद्यालय विश्वकै लागि उच्च शिक्षा तथा ज्ञान, विज्ञानको मूलकेन्द्र रहेको थियो अर्थात तत्कालीन समयमा नालन्दा विश्वविद्यालय ज्ञानको वैश्विक केन्द्र थियो । पूर्वी एशियाका देशहरु– चीन, कोरिया, जापान, दक्षिण पूर्वी एशियाका देशहरु– कम्बोडिया, लावोस, म्यान्मार, थाइल्याण्ड, भियतनाम लगायत विश्वभरिबाट विद्यार्थी तथा विभिन्न विद्याका उच्च पदस्थ व्यक्तिहरु नालन्दा विश्वविद्यालयमा अध्ययन, अध्यापन गर्न तथा गराउन; खोज, अनुसन्धान गर्न तथा गराउन र बौद्ध धर्म तथा दर्शनको अनुभव लिन तथा जान्नकालागि आउने गर्दथे र आफ्नो अध्ययन पूरा गरेर स्वदेश फर्कदा बौद्ध धर्म तथा दर्शनको ज्ञान तथा विचार लिएर गएर आफ्नो क्षेमा फैलायथे । यही समयबाट बौद्ध धर्म अलग–अलग क्षेत्र तथा देशहरुको भाषा, संस्कृति तथा संस्कारहरुमा ढल्दै र विस्तार हुदै गयो र फरक क्षेत्रमा फरक प्रकार तथा विशेषता भएको देखिदै गयो, जस्तो चीनमा ध्यानमा आधारित चांग, तिव्वतमा तन्त्रमा आधारित बज्रयान, श्रीलंकामा हिनयान, कोरिया तथा जापानमा महायान मतहरु विस्तार हुदै गए । चीनिया भ्रमण यात्री तथा महान भिक्षु हुएनसांगले नालन्दा विश्वविद्यालयमा १६ वर्षसम्म अध्ययन गरेर आफ्नो भूमि चीन फर्केका थिए बौद्ध धर्म तथा दर्शनका संस्कृत भाषमा लेखिएका करिव ६०० ज्ञानका मूल पाठ तथा देशना तथा रहस्यमय ग्रन्थ र अन्य सामग्री आफनो साथमा लिएर गएका थिए र आफ्नो देशको स्थानिय संस्कार र भाषा सुहाउदो हुनेगरि अनुवाद गरेर बौद्ध धर्म तथा दर्शनको विस्तारमा उच्चस्तरीय योगदान पुर्याएका थिए । यस्ता अभुतपूर्व तथा अत्यन्तै सह्रानिय गतिविधिहरुका कारण छोटो समयमै बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमिबाट वाहिरका क्षेत्र तथा राज्यहरुमा तथा विश्वव्यापि रुपमा विस्तार हुन सफल भयो ।
(७)स्थानीय पालि भाषा तथा लिपिको प्रयोग
तत्कालीन समयमा स्थानीय रुपमा पालि भाषा बोलीचालीमा थियो र गौतम बुद्धले सबैलाई भाषको सहजता होस भन्ने उद्देश्यले स्थनीय पालि भाषामै ज्ञान प्रचार गर्न प्रवचन तथा देशना दिन प्रारम्भ गरे र पालि लिपिमा बौद्ध ग्रन्थहरुको रचना गर्न प्रेरित गरे । स्थानीय पालि भाषा जनजिब्रोको भाषा भएकोले बौद्ध धर्म तथा दर्शनको विस्तारमा सहजता भयो किनकी संस्कृत भाषा अत्यन्तै जटिल थियो र आम मानिसहरु संस्कृत भाषा बुझ्न, बोल्न, पढ्न जान्दैनथे । संस्कृत अध्ययन गरेका ब्राम्हण, पंडित, पुरोहितहरुले समेत बडो मुस्किलले अनुवाद गर्न सक्थे सनातन वैदिक शास्त्र तथा ग्रन्थका श्लोकका अर्थहरु । उनीहरु जानी–नजानी तथा स्वार्थपूर्ण नियतबस श्लोका अर्थको अनर्थ लगाउने गर्थे जसले समाजमा असहजता, अनैतिकता, अव्यवस्थाको अवस्था पैदा गरेको थियो । तत्कालीन ब्राम्हणहरुको बोलबाला रहेको समाजका ब्राम्हणवादी पंडित तथा पुरोहितहरुले शास्त्रको जसरी अर्थ लगाइदिए आम जनसाधारणहरुले त्यही अनुसार नै मान्नु पर्ने अवस्था थियो अनिवार्य रुपमा । नाइनास्ती गरेको खण्डमा शास्त्रमा लेखेको कुरा नमान्दा इश्वरको अपमान गरेको हुन्छ; जघन्य अपराध सरह हुन्छ र ठूलो पाप लाग्छ; जीवनभर प्राप्त गरेको पुण्य पनि नासिन्छ; मृत्युपश्चात नर्कको वास हुन्छ आदि प्रकारका त्रासहरु देखाएर तर्साइन्थो । तर निवा)ण तथा बोधिसत्व(परमचेतना)मा उपलव्ध भैसकेका प्रेम, शान्ति र सदभावका प्रतिमूर्ति गौतम बुद्धले संस्कृतमा लेखिएका सबै सनातन शास्त्रहरुको पूरापुर अध्ययान गरेर वास्तविकता चिरफार गरिदए; स्वर्ग–नर्क, पाप–पुण्य, गति–दुर्गति, मोक्ष, जन्म–मृत्यु, कर्म, भाग्यको सन्दर्भमा शास्त्र अनुसार सबै मान्यताहरुको सहि प्रकारले अर्थ लगाइदिए स्थानीय पालि भाषामा; आम मानिसहरुको आँखा खोलदिए; उनीहरुको चेतना जागृत गराइदिए; सनातन वेद, उपनिषद तथा ग्रन्थहरुमा हुदै नभएको मनगढण्ते अनुवादका विषयहरुको उजागर गरिदिए र हल्ला फिजाएर, अर्थ बंग्याएर वेदमा उल्लेख नै नभएका अनावश्यक र असान्दर्भिक विषयहरुको माग राखेर आम मानिसलाई त्रासमा राखेर उनीहरुलाई ठग्ने तथा शोषण गर्ने धन्दा बन्द गरिदिए । सन् ७००मा पश्चिम एशियाको अरव भूमिमा पनि तत्कालीन समयमा यीनै ब्राम्हणवादीहरु(स्थानीय लवजमा मुर्ति पूजक)को यस्तै प्रकारको असामाजिक तथा अनैतिक व्यवहारहरुले समाज असहज अवस्थाबाट गुज्रिएको कारण इश्वारका संवाक मानिने पैगम्वर मुहम्मदको प्रार्दुभाव र इस्लाम धर्म तथा दर्शनको प्रारम्भ भएको इतिहासमा उल्लेख रहेकोछ । यसरी ब्राम्हणवादीहरुको झुठको पर्दा उठाएर आम सर्व साधारणहरुलाई सामाजिक न्याय दिलाउने महन अभियान गरेको कारण छोटो समयमै बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमि नेपाल, भारतबाट वाहिरका क्षेत्र तथा राज्यहरुमा तथा विश्वव्यापि रुपमा विस्तार हुन सफल भयो ।
(८)सामाजिक रुपले उपयोगी र आर्थिक रुपले सम्पन्न
बौद्ध धर्म तथा दर्शन आम मानिस तथा समाजकालागि उपयोगी बन्दै गएको र सबैमाझ लोकप्रिय बन्दै गएपछि विस्तारै वरपरका विभिन्न क्षेत्र तथा राज्यका व्यापारी, धनाड्य, सामन्त, राजा, महाराजाहरुले समेत अनुशरण गर्दै गए र उनीहरुले बौद्ध संघ तथा मठहरुलाई सामाजिक तथा राजकीय मान्यता दिए र आवश्यक आर्थिक सहयोग पनि प्रदान गरे । तत्कालीन समाजको अव्यवस्था तथा वेथिति व्यवस्थापन गर्न सहज विचारधारा, अहिंसा, प्रेम, शान्ति, सदभाव जस्ता अत्यन्तै मानवीय भाव भएको र लोकप्रियता कमाएको कारण र त्यसमाथि राज्यद्वारा नै आर्थिक सहजता प्रदान गरिएकोले बौद्ध धर्म तथा दर्शन तत्कालीन समयमा विस्तार हुन सहज भएको थियो । सबैले सामाजिक मान्यता र आर्थिक सहयोग समेत प्रदान गरेका कारण छोटो समयमै बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमि नेपाल, भारतबाट वाहिरका क्षेत्र तथा राज्यहरुमा तथा विश्वव्यापि रुपमा विस्तार हुन सफल भयो ।
(९)तत्कालीन समयको माग र व्यापारिक कारोबार
प्राचीन कालमा जमिन र समुद्रको बाटो भएर सुगन्धित मसला, बहुमूल्य धातुका सागम्रीहरु, हस्तकला, कलाकारिता, रेशम तथा मलमलका कपडा आदिको विश्वव्यापि व्यापार हुने गर्दथ्यो र त्यी सामग्रीहरुको व्यापारमा भारत र वरपरका क्षेत्र तथा राज्यहरु केन्द्रमा थिए अर्थात त्यी क्षेत्रहरुबाट यस्ता विशेष प्रकारका सामग्रीहरु विश्वभरि पुर्याइन्थे । व्यापरिक सामुद्रिक बन्दरगाह तथा जमिनका बन्दरगाहहरुमा व्यापार गर्ने उद्देश्यले विश्वभरिका व्यापारीहरु भेला हुने गर्दथे । बन्दरगाहमा बौद्ध धर्म तथा दर्शन अनुशरण गर्ने अनुयायीहरुले विदेशी व्यापारी तथा आगन्तुकहरु माझ बौद्ध धर्म तथा दर्शनबारे विषयहरु साझा गर्ने, बौद्ध धर्म तथा दर्शनसंग सम्वन्धित सामग्रीहरु प्रदर्शन गर्ने र बिक्रि गर्ने गर्थे । व्यापारीहरु तथा आगन्तुकहरु स्वयंले पनि सोध्ने र खरिद गरेर व्यापार गर्ने तथा उपहार दिने उद्देश्यले आफ्नो देशमा लाने गर्दथे । यसरी व्यापारिक माध्यमबाट छोटो समयमै बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमि नेपाल, भारतबाट वाहिरका क्षेत्र तथा राज्यहरुमा तथा विश्वव्यापि रुपमा विस्तार हुन सफल भयो ।
बौद्ध धर्म तथा दर्शनको विस्तार मूलभूमि नेपाल, भारतबाट वाहिरका क्षेत्र तथा राज्यहरुमा तथा विश्वव्यापि रुपमा यसरी तिब्र गतिमा विस्तार हुनुमा केवल तत्कालीन समाजको अव्यवस्था; स्थानीय भाषा तथा लिपिको प्रयोग; आम मानिसहरु, राजा, महाराजा, सम्राटहरुको साथ, समर्थन, आर्थिक सहयोग; धर्म प्रचारक मिसनरीहरुको खटाइ आदि मात्र नभएर यो भन्दा कयौं गुणा बढि बौद्ध धर्म, दर्शन तथा फिलोसोफीको युग सान्दर्भिक मूल ढाँचा तथा मूल विशेषताहरु– मानवीयता, समानता, मध्यमार्ग, व्यवहारिकता, प्रामाणिकता, प्रयोगात्मक अभ्यासमा आधारित; वर्ण–वर्ग–जाति–लिंगमा समानता र सबैकालागि समान र सम्मानपूर्ण व्यवहार आदि सबै भन्दा मूलभूत विषय तथा कारण थिए ।
छिट्टै
बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमिमा अल्पमतमा पर्नुका कारणहरु
No comments:
Post a Comment