'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Sunday, 30 November 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -२५

डासिर्जना भण्डारी

  #अध्यात्म_दर्शन #जीवन_दर्शन 


जीवनमा पूर्णताकालागि अध्यात्म विज्ञानका त्रिरत्न- योगासन, प्राणायाम, धारणा

योगीक साधना विधि प्राणायामको वैज्ञानिता र प्रभावकारिता




प्राणायाम, प्राण उर्जा उपचार पद्धति र आधूनिक उपचार पद्धति 

ब्रम्हाण्डिय उर्जा र मनुष्यको उर्जा शरीरको संरचना

जसरी मनुष्यको स्थुल शरीर(फिजिकल बडी)मा दृश्य रुपमा असंख्य साना ठूला नशा तथा धमनिहरु(भेन्स एण्ड आर्टरीज) हुन्छन्, तिनमा दृश्य रक्तकण र अदृश्य अक्सिजन तथा प्राण वायु एकसाथ निरन्तर प्रवाहित भैरहेका हुन्छन् र स्थुल शरीर जीवित, स्वस्थ, सक्रिय र सन्तुलित रहन्छ । ठिक त्यसैगरि मनुष्यको उर्जा शरीर तथा सुक्ष्म शरीर(इनर्जी तथा सटल बडी)मा पनि अदृश्य रुपमा असंख्य नाडीहरु रहेका हुन्छन् र तिनीहरुमा पनि उस्तै प्रकारले श्वास तथा प्राण उर्जा निरन्तर प्रवाहित भैरहेका हुन्छन् र सुक्ष्म शरीर जीवित, स्वस्थ, सक्रिय र सन्तुलित रहन्छ । पूर्वीय सनातन शास्त्रहरुमा केहीमा मनुष्यको सुक्ष्म शरीरमा नाडीहरुको संख्या ७२ हजार रहेकाछन् भन्ने उल्लेख गरिएको छ तर यी ७२ हजार प्रमुख नाडीहरु हुन् किनकी भगवान शिवद्वारा प्रतिपादित योग तथा ध्यान साधनाको मूल ग्रन्थ ‘विज्ञान भैरव तन्त्र’मा नाडीहरुको कुल संख्या औषतमा साढे तीन लाख हुन्छन् भनिएको छ । मनुष्यको सुक्ष्म शरीरका नाडीहरुमा बहने मूल तत्व प्राण उर्जा हो जो ब्रम्हाण्डिय समष्टि महाउर्जाको व्यष्टि(सानो) स्वरुप हो र यसलाई कुण्डलिनी उर्जा भनिन्छ । सुक्ष्म शरीरका नाडीहरुमा ब्रम्हाण्डिय महाउर्जा तथा महशक्तिका प्रमुख केन्द्र सात चक्रहरुको माध्यमबाट यो कुण्डलिनी उर्जा अर्थात प्राण उर्जा निरन्तर प्रवाहित भैरहन्छ । मनुष्यको सुक्ष्म शरीरका प्रमुख सात चक्र(मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि, आज्ञा, सहश्राार) तथा प्रमुख तीन नाडी(इडा तथा चन्द्र नाडी, पिंगला तथा सूर्य नाडी, सुषुम्ना तथा मध्य नाडी)हरु श्वासको आयाम तथा लयसंग एकवद्ध भएर चल्दछन् तथा श्वासकै गतिमा परिचालित(रेगुलेट) हुन्छन् र यो प्रक्रियालाई योग तथा ध्यान साधनाको मूल ग्रन्थ ‘विज्ञान भैरव तन्त्र’मा श्वर विज्ञान भनिएको छ । मनुष्यको सुक्ष्म शरीरका नाडीहरुमा चल्ने प्राण उर्जा तथा समष्टि ब्रम्हाण्डिय महाउर्जाको व्यष्टि रुप ब्रम्हाण्डका सबै प्राणी, वनस्पति तथा पदार्थहरुको चेतनाको सामुहिक महासागर हो, ब्रम्हाण्डिय महाउर्जाको यो महासागरलाई नै प्रकृति, अस्तित्व, परम सत्य, परम चेतना, श्रेष्ठ चेतना(सुपर कन्सस), परमात्मा, परब्रम्ह, इश्वर, गड, खुदा, अल्ला, प्रकृति–पुरुष, शिव–शक्ति, सदाशिव, आद्ययाशक्ति आदि विभिन्न दिव्य शव्दावलीहरुले सम्वोधन गर्ने गरिन्छ जो निराकार, निर्गुण, अव्यक्त छ तर सर्वव्यापक(ओमनीप्रेजेन्ट), सर्वशक्तिमान(अलमाइटी) छ र ब्रम्हाण्डका सबै सृष्टिहरु–प्राणी, वनस्पति, पदार्थहरुको कणकणमा अवस्थित रहेको छ । यही ब्रम्हाण्डिय महाउर्जाले समुच्चा ब्रम्हाण्ड र यहाँ स्थित सृष्टिका सबै प्राणी, वनस्पति तथा पदार्थहरुको जीवनचक्रका गतिहरु चलाइरहेको तथा नियन्त्रण छ र सबैलाई एकप्रकारको ऋत तथा धर्म तथा चक्रमा सन्तुलित रुपमा टिकाइराखेको छ । ब्रम्हाण्डका सबै प्राणी, वनस्पति तथा पदार्थहरुको सृजनको मूल श्रोत यही ब्रम्हाण्डिय महाउर्जा नै हो जो समष्टि(विराट) स्वरुप हो र मनुष्य तथा सबै प्राणी तथा वनस्पतिहरुको सुक्ष्म शरीरका नाडीहरुमा बहने प्राण उर्जा ब्रम्हाण्डिय महाउर्जाको व्यष्टि रुवरुप हो र यही उर्जालाई सबैले बुझ्ने भाषामा श्वास–प्रश्वास, प्राण वायु, प्राण उर्जा तथा अक्सिजन भनेर अवस्था र आवश्यकता अनुसार फरक–फरक प्रकारले सम्वोधन गर्ने गरिदै आइएको छ । तसर्थ मनुष्यले निरन्तर लिरहने श्वास–प्रश्वास, प्राण वायु, प्राण उर्जा तथा अक्सिजन केवल हावा होइन, हावाको माध्यमबाट ब्रम्हाण्डको महाउर्जा प्राण उर्जाको रुपमा मनुष्यको शरीरका सबै आयामहरुमा प्रवेश गरेको तथा गराइएको अदभूत अवस्था तथा प्राकृतिक विज्ञान हो र यही प्रक्रियालाई नै समग्रमा प्राणको आयाम ‘प्राणायाम’ भन्ने गरिन्छ । 

प्राण उर्जामा अवरोध नै सबै अस्वस्थताको कारण

मनुष्यको जीवनशैली, खानपान, व्यायाम, शारीरिक तथा मानसिक सक्रियता, सोच, विचार, भाव आदि अवस्थाहरु नकारात्मक प्रकृतिका छन् तथा विरुद्धका गतिविधिहरु अनुसार चलिरहेका छन् भने यस्तो अवस्थामा मनुष्यको सुक्ष्म शरीरका चक्र तथा नाडीहरुमा निरन्तर प्रवाहित भैरहने प्राण उर्जा विखण्डित हुन्छ र नाडी तथा चक्रहरुमा ठाउँ–ठाउँमा टुट्न, एकैठाउँमा थुप्रिन तथा गाँठागुठी पर्न थाल्छन् र यसको नकारात्मक प्रभावका कारण प्राण उर्जाको निरन्तर प्रवाह र प्रक्रियामा अवरोध आउन थाल्छ र कहीं प्राण उर्जा रोकिन थाल्छ, कहीं अपुग हुन थाल्छ र कहीं बढि हुन थाल्छ । यही अवस्थालाई सनातन अध्यात्म साधनामा चक्र तथा नाडीहरुमा उर्जा जकडिएको(ब्लक्ड), निष्क्रिय भएको, बढि सक्रिय भएको तथा समग्रमा असन्तुलित भएको भनिन्छ । प्राण उर्जाको प्रवाह जति मात्रामा रोकिन्छ त्यतिनै मात्रामा सम्वन्धित अंगमा त्यतिनै तहको गहिरो तथा सामान्य रोग तथा अस्वस्थताका लक्षणहरु देखिन थाल्छन् । मनुष्यको शारीरिक, मानसिक तथा भावनात्मक आयामहरुमा देखिने सबैप्रकारका रोग तथा अस्वस्थताहरुको मूल कारण शतप्रतिशत रुपमा प्राण उर्जाको नियमित प्रवाहमा आएको अवरोध नै हो । प्राण उर्जाको प्रवाहमा आएको अवरोधका कारण सर्वप्रथम मनुष्यको उर्जा शरीर तथा सुक्ष्म शरीर तथा आभामण्डलमा लक्षण तथा समस्याहरु आउछन् र केहीसमयपछि यी लक्षणका नकारात्मक प्रभावहरु मनुष्यको शारीरिक अंग, मानसिक तथा भावनात्मक अवस्थाहरुमा रोग तथा अस्वस्थताका रुपमा प्रकट हुन्छन् ।

प्राण उर्जा उपचार पद्धतिको महत्व

प्राण उर्जा तथा यसको समसिष्ट रुवरुप ब्रम्हाण्डिय महाउर्जाबिना ब्रम्हाण्ड तथा ब्रम्हाण्डमा स्थित सबै प्रकारका प्राणी, वनस्पति तथा पदार्थहरुको सन्तुलित परिचालन तथा नियन्त्रण असम्भव हुन्छ । सनातन अध्यात्म विज्ञानमा उल्लेखित मनुष्यको प्राण उर्जा शुद्धिकरण तथा सन्तुलिकरणका सबै प्रकारका चिकित्सा पद्धतिहरु र संसारभरिका समाज तथा समुदायहरुले प्राचीनकालदेखि अनुशरण गर्दै आइरहेका विभिन्न प्रकारका प्राचीन उपचार पद्धतिहरु– योगीक चिकित्सा पद्धति; ध्यान उपचार पद्धति; ध्वनि उपचार पद्धति; सुगन्ध उपचार पद्धति; धूवाँ उपचार पद्धति; प्रकृति तथा प्राकृतिक उपचार पद्धति; रेकी उपचार पद्धति; अकुप्रेसर उपचार पद्धति; अकुपंचर उपचार पद्धति अर्थात समग्रमा प्राण उर्जा उपचार पद्धति जसलाई आध्यात्मिक उपचार पद्धति पनि भन्ने गरिन्छ, यी सबै उपचार पद्धतिहरुका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरुले एकै कुरामा जोड दिन्छन् कि मनुष्यको शरीरका सबै आयामहरु– शारीरिक शरीर तथा यसका स्थुल अंगहरु, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीरमा देखिएका सबैप्रकारका अस्वस्थता तथा समस्याहरु मनुष्यभित्र रहेको प्राण उर्जामा आएको अशुद्धि, असन्तुलन तथा अपर्याप्तता कारण उत्पन्न भएका हुन् । विभिन्न प्राण उर्जा उपचार पद्धतिहरुको माध्यमबाट ब्रम्हाण्डिय महाउर्जाको सानो अंश प्राण उर्जाको पर्याप्त आपूर्ति शरीरका सबै आयामहरुमा उपलव्ध गराउने प्रक्रिया शुरु गरेपछि सबैप्रकारका शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अस्वस्थता तथा समस्याहरु विस्तारै क्रमशः आफैं निको हुदै तथा समाधान हुदै जान्छन् । आधूनिक चिकित्सा पद्धतिमा उपचार हुन नसकेका तथा उपचार सम्भवनै नभएका कयौं अस्वस्थता तथा समस्याहरु समेत ब्रम्हाण्डिय महाउर्जा तथा प्राण उर्जा उपचार पद्धतिमा आधारीत रहेका कुनै पनि प्रक्रिया तथा विधिहरुको माध्यमबाट छोटो तथा लामो समयमा बिना कुनै अतिरिक्त नकारात्मक प्रभाव चमत्कारिक किसिमले उपचार तथा समाधान भएका धेरै उदाहरणहरु विश्ववभरि रहेका हामी सबैसामु जगजाहेर छन् । 

तर यसको तात्पर्य शरीरका आयामहरुमा अस्वस्थता तथा समस्या हुदा आधुनिक चिकित्सा तथा उपचार पद्धतिको सहयोग नलिनु तथा उपचार नगराउनु, प्राण उर्जा उपचार पद्धतिमा मात्र भरपर्नु भन्ने विलकुल होइन । प्राण उर्जा उपचार पद्धति र आधूनिक चिकित्सा पद्धति एकअर्काका परिपुरक तथा सहयोगी हुन् प्रतिद्वन्दि होइनन् । प्राण उर्जा तथा आध्यात्मिक उपचार पद्धतिले मनुष्यका जीवनका समग्र आयामहरु सदा हरप्रकारले आरोगी र विकसित रहनु पर्दछ र यी आयामहरुको निरन्तर आरोग्यताका लागि उसको जीवनयापन(आहार–विहार–व्यवहार) सहि, सन्तुलित तथा व्यवस्थित प्रक्रियाले अगाडि बढाउनु पर्दछ भन्नेमा जोड दिन्छ किनकी सनातन अध्यात्म विज्ञान मनुष्यलाई सहज, सरल, सफल र विकसित जीवन जीउन सिकाउने कलाको विज्ञान(दि आर्ट आफ लिभिंग) हो । तर केही दशकयता अत्याआधूकिताको महामारीले सबैभन्दा बढि मनुष्यको जीवनशैलीमा आक्रमण गरेरको छ र उसको जीवशैलीलाई हदैसम्म अशुद्ध, असन्तुलित, अव्यवस्थित तथा अस्तव्यस्त बनाइदिएको छ । यही हदैसम्म अस्तव्यस्त भएको जीवनशैलीको परिणामले ल्याएका हदैसम्मका शारीरिक, मानसिक तथा भावनात्मक अस्वस्थताहरुको उपचार गर्न हदैसम्मकै उपायहरु अपनाएर प्रादुर्भाव भएको हो आधूनिक चिकित्सा पद्धति जसमा मनुष्यको नभएर उसको रोगको उपचार गर्न अत्याधूनिक उपकरणहरु र उच्च प्रशोधित औषधिहरुको प्रयोग गरेर अत्याधूनिक चिकित्सा पद्धतिको माध्यमबाट उपचार गर्ने गरिन्छ । त्यसैले मनुष्यको अस्वस्थता तथा समस्याको गंभिरताको अवस्था तथा आफनो सजिलो–अप्ठ्यारो हेरेर र बुझेर मात्र आधूनिक उपचार पद्धति तथा प्राण उर्जा उपचार पद्धतिको चयन र अनुशरण गर्नु उपयुक्त हुन्छ ताकि आफूलाई कुनै प्रकारको असहजता नआओस । 

प्राण उर्जा उपचारमा अपनाउनु पर्ने सावधानी

अस्वस्थता तथा समस्याको अवस्ता गंभिर छैन, आकस्मिक सेवा लिनु आवश्यक छैन तथा सामान्य अवस्था छ भने एक समयमा कुनै एक उपचार पद्धति तथा अवस्था हेरेर एकैसाथ दुवै प्राण उर्जा उपचार पद्धति तथा आधूनिक यपचार पद्धतिको अनुशरण गर्न पनि सकिन्छ । यस्तो छनौटको अवस्था आएको समयमा आफ्नो अस्वस्थता तथा समस्याको वास्तविक अवस्था र सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार आफ्नो स्वास्थ उपचारको सन्दर्भमा आफैंले सहि निर्णय लिनुपर्दछ । आधूनिक उपचार पद्धति रोगको उपचार गर्न प्रतिपादन गरिएको आधूनिक चिकित्सा विज्ञान हो, यसको औषधि उपचारले बिमारी निको गर्न चाँढै असर गर्दछ र काम गर्दछ किनकी यो मनुष्यलाई रोग लागेपछि उपचार गर्नुपर्छ भन्ने मान्यता तथा सिद्धान्तमा आधारित रहेको रोगको उपचार गर्ने पद्धति हो तसर्थ मनुष्यको भन्दा राृगको बढि अध्ययन र फिकर गर्दछ तर प्राण उर्जा तथा आध्यात्मिक उपचार पद्धतिले रोगका साथै रोग लाग्नुको कारण तथा रोगको मूलश्रोत दुवैको उपचार गर्दछ । प्राण उर्जा उपचार पद्धतिको उपचार तथा औषधिको सकारात्मक प्रभाव अलि ढिलो देखिन्छ तथा यसले अलि ढिलो काम गर्दछ तर पक्का तथा स्थाइ किसिमले गर्दछ फेरी मनुष्यमा रोग तथा समस्या नदोहोरिने गरि उपचार गर्दछ तथा निको पार्दछ किनकी प्राण उर्जा तथा आध्यात्मिक चिकित्सा पद्धति रोगको नभई मनुष्यको जीवनशैलीमा काम गर्ने उपचार पद्धति हो र यो उपचार पद्धति रोग लागेपछि उपचार गर्नुभन्दा मनुष्यको शरीरका आयामहरुमा कुनै प्रकारका रोग लाग्न तथा समस्याहरु आउन नै नदिनु वुद्धिमानी हो भन्ने मान्यता तथा सिद्धान्तमा आधारित रहेको हुनाले समस्याको जरोसम्म नै पुगेर सबै कारणहरु जरैदेखि ओखलेर फालिदिन्छ र निरन्तर अखण्ड आरोग्यताको सैद्धान्तिक र व्यवहारिक पक्षलाई आत्मासाथ गर्न सुसुचित गर्दछ । आधूनिक चिकित्सा पद्धतिमा अत्याधूनिक उपकरणहरु तथा उच्च प्रशोधित औषधिको प्रयोग गरेर गरिने अत्याधूनिक उपचार पद्धतिमा रोग तथा अस्वस्थताको उपचार गर्ने प्रयास गरिन्छ जसको नकारात्मक अतिरिक्त प्रभावहरु अत्यन्तै भेरै प्रकारका हुने गर्दछन् र एक अंगको उपचार गरेर त्यसलाई ठिक गर्दानगर्दै उपकरणहरुका हानिकारक विकिरण र औषधिहरुका विषाक्त रसायनहरुका नकारात्मक प्रभावका कारण शरीरको अर्को अंगमा रोग तथा अस्वस्थताले जन्म लिसक्छ । तर प्राण उर्जा तथा आध्यात्मिक यपचार पद्धतिले मनुष्यको जीवनशैली विशेषगरि उसको आहार, विहार र व्यवहारमा परिवर्तन गर्ने तथा गराउने व्यवहारिक प्रयोगात्मक अभ्यासहरुबाट उपचार गर्ने प्रयास गर्दछ यसकारण यसको सकारात्मक अतिरिक्त प्रभाव मात्र हुने गर्दछ । प्राण उर्जा उपचार पद्धतिका सकारात्मक अतिरिक्त प्रभावहरु मात्र हुने भएकाले शरीरको एउटा अंगको उपचार गर्ने क्रममा अर्को अंगको रोग तथा अस्वस्थता पनि स्वतः निको हुदै जानथाल्छ । 

प्राण उर्जा तथा आध्यात्मिक उपचार पद्धतिको सेवा लिन तथा दिन, सेवा लिने सेवाग्राही तथा तथा सेवा दिने सहयोगी व्यक्तिहरुले ब्रम्हाण्डिय महाउर्जा तथा प्राण उर्जाका विषय सान्दर्भिक सामान्यदेखि गहन सैद्धान्तिक ज्ञान र व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका ज्ञान तथा विज्ञानहरु राम्ररी सिक्नु र सिकाउनु तथा बुझ्नु र बुझाउनु पर्दछ । प्राण उर्जा उपचार पद्धतिको प्रक्रिया, विधि तथा पद्धति मिलेन तथा गलत भयो भने यसको पनि नकारात्मक प्रभाव पर्नसक्दछ । प्राण उर्जा उपचार पद्धतिमा विशेषगरि मनुष्यको मानसिक शक्ति(माइन्ड पावर), चेतनाको स्तर(लेभल अफ कन्ससनेस) र आभामण्डलको शुद्धता(प्युरीटी अफ क्वान्टम–फिल्ड)मा प्रत्यक्ष रुपमा काम गरिन्छ सहि ढंगले उसको रोग तथा अस्वस्थताको उपचार गर्नकालागि । मानसिक शक्ति अन्तर्गत मनुष्यको इच्छाशक्ति, मनोवल, भावशक्ति, सकारात्मक सोच तथा विचार, आशावादिता, ब्रम्हाडिय महाउर्जा अर्थात इश्वरप्रति आस्था आदि पर्दछन् र यी विषयहरु स्नायु भाषा प्रणाली(न्युरो लिंग्युइस्टिक प्रोग्राम) अन्तर्गत पर्दछन् । मनुष्यको चेतनाको स्तर अन्तर्गत मनुष्यको शरीरका आयामहरु– शरीर, मन, भावबाट निरन्तर ब्रम्हाण्डमा प्रवाहित भैरहने उर्जाको तह तथा स्तर कति शुद्ध तथा सकारात्मक छ; कति फैलिएको छ; कति घना छ आदि विषयहरु पर्दछन् । आभामण्डलको शुद्धता अन्तर्गत मनुष्यको हरप्रकारका जीवनका शैली तथा प्रक्रियाहरु जस्तो खानपान, व्यायाम, सुताइ तथा आराम गराई, कार्य र जीवन, उसका सम्वन्धहरु आदिका सन्तुलन तथा असन्तुलहरु के कस्ता छने आदि विषयहरु पर्दछन् किनकी मनुष्यको जीवनशैलीको प्रत्यक्ष प्रभाव सर्वप्रथम उसको आभामण्डल तथा उर्जा क्षेत्रमा पर्दछ । आभामण्डल तथा उर्जा क्षेत्रको प्रत्यक्ष प्रभाव उसको चेतनाको स्तरमा पर्दछ । चेतनाको स्तरको प्रत्यक्ष प्रभाव उसको मानसिक तथा भावनात्मक शक्तिमा पर्दछ र मानसिक तथा भावनात्मक शक्तिको प्रत्यक्ष प्रभाव उसको शारीरिक, मानसिक, भावनात्मक स्वास्थ्य तथा सन्तुलनमा पर्दछ किनकी यी सबै आयामहरु एकआपसमा प्रत्यक्ष रुपमा अन्तरसम्वन्धित रहेका हुन्छन् । यिनै गतिविधिहरुको सक्रियताको आधारमा हरेक मनुष्यले आफ्नो जीवनको वास्तविकता निर्माण र निर्धारण गरिरहेको हुन्छ । मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै आयाम तथा पक्षहरुमा सकारात्मक स्तारोन्नती गराएर रोग तथा अस्वस्थताको सहि ढंगले उपचार गर्ने गरिन्छ र यस् सबै आयाम तथा पक्षहरुको स्तरोन्नतीमा प्राण वायु तथा मनुष्यको श्वाश–प्रश्वासका गतिविधिहरुले प्रत्यक्ष प्राभा पारिरहेको हुन्छ र महत्पूर्ण ढंगदे सहयोग प्रदान गरिहेको हुन्छ । तसर्थ श्वाश–प्रश्वासका गतिविधिहरुको विषयहरुबारे उपचार लिने र दिनेवाला दुवैपक्षले योगीक साधना प्राणायामका सबै सान्दर्भिक विषयहरु राम्रारी बुझ्नु र जान्नु अत्यावश्यक हुन्छ तर परिणामको उपलव्धिमूलक प्रभावकारिता र उल्लेख्य लाभकालागि उपचार लिनेवालाले भन्दा उपचार दिनेवालाले प्राणायामका सबै सैद्धान्तिक तथा व्यवहारिक पक्षहरुबारे राम्ररी सिक्नु, जान्नु र बुझ्नु अपरिहार्य हुन्छ ।  


छिट्टै,
योगीक साधना विधि प्राणायामको वैज्ञानिकता र प्रभावकारिता



खण्ड -२४ का विषयहरु
योगीक साधना विधि प्राणायामको पृष्ठभूमि
योगीक साधना विधि प्राणायामको पराभौतिक अवधारणा
श्वास तथा प्राणको वास्तविकता र योगीक महत्व 
योगीक श्वास तथा प्राण उर्जा किन महत्वपूर्ण छ र ?
स्वास्थ्यको मूलआधार प्राणिक तथा उर्जा शरीर
प्राणिक तथा उर्जा शरीर र स्वास्थ्यको अन्तरसम्वन्ध
लामो–गहिरो श्वास तथा प्राणको आयामबाट हुने स्वास्थ्य लाभहरु


Wednesday, 26 November 2025

मौन, नाम तथा मन्त्र जप साधना र स्वअनुभूति

लालीगुरांश (डासिर्जना भण्डारी)

                                         #आध्यात्मिक_साहित्य #जीवन_दर्शन

 

मौन, नाम तथा मन्त्र जप साधना र स्वअनुभूति

स्वफुर्त घटित निस्प्रयास मौन 

औपचारिक रुपमा सन् २०११ बाट प्रारम्भ भएको डेढ दशक लामो अध्यात्म साधनाका क्रममा धेरै प्रकारका लौकिक तथा परालौकिक अनुभूतिहरु हुदै आइरहेका छन् । ध्यान साधनाको निरन्तरता कै क्रममा सन् २०२३ जुलाई ८ तारिक(बि.सं. २०८०–०३–२४)मा अपराहान्न साढेतीन बजे आफ्नो कुनै प्रयासबिना स्वस्फूर्त रुपमा निस्प्रयास मौन ध्यान साधना घटित भएको थियो । यसक्रममा बोलि स्वस्फुर्त रुपमा बन्द भयो, आफूले बोल्न प्रयास गर्दा आवाज आएन स्वतः इन्द्रियहरुको इशारा प्रारम्भ भयो र आफ्नो अन्तरहृदयबाट आन्तरिक गुरु अर्थात हरिगुरु अर्थात स्वयं परमात्माको सन्देश आयो, “...तँ मौनमा गइस्...” । स्वस्फुर्त रुपमा मौन घटित भएपछि मेरो अध्यात्म साधनामा अर्को अध्याय प्रारम्भ भएको थियो । चार महिना लामो चलेको निरन्तर मौन ध्यान साधनाको समयमा शुरुकै दिनहरुबाट समाधि साधना प्रारम्भ भयो स्वस्फुर्त रुपमा घण्टौं–घण्टासम्म र यसअवधिमा परमात्माको महाउर्जाको अमृतमय नशामा झुम्म भैराख्ने हुनाले परमानन्दको अनुभूति भैरहन्थ्यो । विहान ७–८–९ बजे साधनामा बसेपछि अपरान्नको ३–४–५ बजेसम्म निरन्तर समाधि लागिरहन्थ्यो । समाधि साधनामा कति समय बित्यो, घडिमा कति बज्यो, वाहिरको मौसम कस्तो छ, घरमा के भैरहेको छ, को आयो, को कता गयो केहीपनि थाहा हुदैनथ्यो या भनौं थाहा पाउने चेष्टा नै हुदैनथ्यो । निरन्तर आँखा बन्द र सवासनमा समयातीत अनुभूतिमा कट्थे ती घण्टौं–घण्टा लामा दिव्य पलहरु इन्द्रियातीत, मनातीत, भावातीत, शव्दातीत अलौकिक दिव्य अनुभव तथा अनुभूतिहरुका साथमा । मौन साधना प्रारम्भ भएको दिनबाट २२ दिनसम्म फलफूल र नुन हालेर पकाएको लौकाको रस मात्र सेवन गरेको थिएं, अरु आहारको कुनै चाहाना थिएन, स्वतः पेट भरिएको तथा अघाइरहेको जस्तो आत्मसन्तुष्टि भैरहन्थ्यो । स्वस्फूर्त रुपमा घटित भएको मौन साधनामा लाग्ने समाधि साधनाको समयमा आफूलाई पूर्ण आरोग्य, परमशान्ति र परमआनन्दको दिव्य अनुभूतिहरु भैरहेका थिए तर दुई हप्तापछि परिवारबाट एकपटक स्वास्थ्य जाँच गराउँ भन्ने आग्रह भयो, म पनि सहमत भएं र २१औं दिनमा अस्पताल जाने निधो भयो होलबडी चेकअप गर्नेगरि । 

होलबडी स्वास्थ्य जाँच संगै मस्तिष्कको इ.इ.जी पनि जाँच गराउन अनुरोध गरें । सबै जाँचको रिपोर्टहरु एकदम सामान्य आएका थिए । मस्तिष्कको रिपोर्टमा धेरैजसो भागहरु निलो र हरियो रंगका आएका थिए लामा–लामा समयावधिका गहन ध्यान तथा समाधिका कारण सायद, वेभ तथा तरंगका लयहरुमा थिटा र डेल्टाको घनत्व बढि देखिएको थियो । एक घण्टा भन्दा लामो मस्तिष्क स्क्यानिगंको समयभरि बन्द आँखामा अजपा नाम तथा मन्त्र जप ‘ॐ नमः शिवाय’ र ‘ॐ नमः शक्तिशिवाय’ निरन्तर स्वस्फुर्त रुपमा चलिरहेको थियो, यसविचमा एकपटक योगनिद्रा घटित भएको थियो । स्वस्फूर्त मौन साधना प्रारम्भ भएको २१ दिनसम्ममा मेरो २ किलो तौल घटेको रहेछ तर म एकदम स्वस्थ, स्फुर्त र अझ बढि ताजगी महसुस गरिहेको थिएं । मौन साधनामा २१ दिनको निराहार व्रत स्वस्फुर्त भएको थियो, मौन साधनाको २२ औं दिनबाट लौकाको तरकारीसंग एकछाक भात खान प्रारम्भ गरें । चार महिनाको मौन अवधिभर के गर्ने, के नगर्ने, कसरी गर्ने, के खाने, के नखाने, कस्तो रंगको पहिरन लगाउने सबै दिशानिर्देशहरु अन्तरहृदयमा आउने आन्तरिक गुरुका सन्देशहरुबाट निर्देशित भैरहेका थिए निरन्तर र म तिनै सन्देशहरुलाई अनुशरण गर्दै मौन साधनालाई अगाडि बढाइरहेको थिएं । बि.सं. २०८० कात्तिक २० गते विहान आफ्नो अन्तरहृदयबाट आन्तरिक गुरुको सन्देश आयो, “...तेरो मौन साधना सम्पन्न भयो, अव सामान्य अवस्थामा जसरी बोल्न सक्छेस्...” । यसपछि म चार महिनाअघि जस्तैगरि बोल्न थालें र सामान्य दैनिकीमा फर्किएं तर साधनामा हुने गरेका अनुभव तथा अनुभूतिहरुमा निरन्तरता चलिरह्यो । मौन सम्पन्न हुनु केही हप्ता अघिदेखि समाधिको समय आफैं विस्तारै घट्दै गैरहेको थियो । स्वस्फुर्त मौन साधनाका क्रममा भएका केही विशेष अनुभव तथा अनुभूतिहरु– 


स्वस्फुर्त योगीक साधना

निस्प्रयास मौन साधना प्रारम्भ हुनु एकवर्ष अघिदेखि नै स्वस्फुर्त योगीक साधनाहरु– योगासन, प्राणायाम, मुद्रा, क्रिया, बन्द हुन प्रारम्भ भएका थिए, मौनको अवधिमा अझै बढेर गए र निर्धारित समयमा हुनलागे मौन अवधिभर । समाधिको प्रारम्भ र अन्त्यमा स्वस्फूर्त रुपमा विभिन्न प्रकारका शरीर बेस्सरी तन्किने प्रकारका योगासनका अभ्यासहरु हुन्थे । तिब्र र सौम्य गतिका प्राणायामका अभ्यासहरु, धेरै प्रकारका मुद्राका अभ्यासहरु, क्रिया तथा बन्दहरुका अभ्यासहरु सबै स्वस्फुर्त हुन्थे दैनिक रुपमा । तिब्र र सौम्यगतिका प्राणायामको अभ्याससंगै रेचक–पूरक–कुम्भकका गतिविधिहरु स्वस्फुर्त रुपमा हुन्थे र धेरैजसो वहिर कुम्भक घटित हुन्थ्यो, ठूलो र लामो श्वास तिब्रगतिमा वाहिर छोडेपछि धेरैबेरसम्म वाहिरै श्वास रोकिन्थ्यो स्वतः, त्यस्तै लामो गहिरो श्वास भित्र तानेपछि लामोबेर श्वास भित्रै रोकिन्थ्यो स्वतः । समाधिको समयमा श्वासको गति अत्यन्तै सुस्त हुन्थ्यो र बेलाबेला श्वास हराउथ्यो केहीबेर र फेरी आउथ्यो । समाधि अवधिभरि विभिन्न प्रकारका मुद्राहरु शरीर, हात र औंलाहरुमा लागिरहन्थे; स्वस्फूर्त अस्विनी क्रिया र बन्दहरु भैरहन्थे ।


नाडी र चक्रको सक्रियता

निस्प्रयास मौन साधना प्रारम्भ हुनु एकवर्ष अघिदेखि नै स्वस्फुर्त रुपमा सुक्ष्म शरीरका नाडी र चक्रहरुमा हुने सुक्ष्म समवेदनशीलताहरु सुस्त गतिमा अप्रत्यक्ष अनुभवमा आउन थालेका थिए । मौन साधनामा प्रारम्भ भएको ३–४ हप्तापछि सुक्ष्म शरीरका कुण्डलिनी उर्जाका संवाहक नाडी र चक्रहरुमा आएका सुक्ष्म समवेदनशीलताहरु प्रत्यक्ष रुपमा अनुभवमा आउन थाले । मेरुदण्डको केन्द्रमा सलबलाउदै कुण्डलिनी उर्जा उर्ध्वगमन भएको; चक्रहरु रहेको स्थानमा कम्पन तथा भाइब्रेसन भएको तथा चक्र घुमेका कारण उक्त अंगमा खिचाव भएको; नाडी र चक्रमा यस्ता गतिविधिहरु भैरहदा शरीर जोडजोडले कामेको, शरीरमा अत्यन्तै धेरै ताप उत्पन्न भएर शरीर भतभति पोलेको; आफ्नै शरीरका चक्रहरु र रंगहरु स्पष्ट बन्द आँखाका दृश्यमा आएको र आफैंले आफ्नो स्थुल शरीर ऐनामा जस्तो प्रत्यक्ष अगाडि तथा अन्यत्र भएको दृश्य आएको; नाभीमा, चक्रहरु स्थित भएको ठाडो लाइनमा र पुरै शरीरमा भिक्स दलेको जस्तो परपराएको, ठण्डा अनुभूति भएको र यो समयमा अत्यन्तै आराम र आनन्दको अनुभूति भएको; आज्ञा चक्रमा जोडजोडको खिचाव आएको; सहश्रार चक्रमा केही चलेको, खिचाव भएको, चिसो अनौठो किसिमको शितलता छाएको थियो र अत्यन्तै आनन्द आएको थियो यस्ता अनुभूतिहरु भैरहदा । यी लक्षणहरु निस्प्रयास मौन घटित हुनु भन्दा निकै अगाडिदेखि नै देखिएका थिए तर मौन पश्चात अझ प्रत्यक्ष, स्पष्ट र निरन्तर अनुभूतिमा आइरहे ।


मस्तिष्कमा स्नायु प्रणालीहरुको सक्रियता

मौन साधनाको क्रममा आफू लगायत अरुले पनि स्पष्ट देख्न सक्ने गरि भौतिक लक्षणहरु पनि देखिएका थिए । मौन साधना प्रारम्भ भएको दुई महिनापछि मस्तिष्कको निधार र तालु तथा विवेकशील मस्तिष्क अर्थात प्रिफ्रन्टल कोर्टेक्स्टमा साना–साना गोला, चेप्टा, लाम्चा खाल्डाहरु देखिए तर कुनै प्रकारको पिडा, चिलाउने तथा छालाको रंग परिवर्तन भएको थिएन । यी खाल्डाहरु सरिरहन्थे केही मिनेट, केही घण्टा, केही दिनमा । केही हप्तासम्म यो अवस्था निरन्तर दोहोरिरह्यो र यसविचमा निधार तथा आज्ञा चक्रदेखि सहश्रार चक्रको भाग र एक कनसिरीदेखि अर्को कनसिरीसम्म निरन्तर मस्तिष्कका स्नायु प्रणालीहरुमा तरंग तथा वेभका रिदमहरु चलेको स्पष्टसंग प्रत्यक्ष रुपमा अनुभवमा आयो । यससंगै नाभि र हृदयमा पनि तरंग तथा वेभका रिदमहरु चलेको महसुस भएको थियो । यी तरंग तथा वेभका रिदमहरु चल्दा ब्रम्हाण्डका कालागंकुलुंग ध्वनि तथा अनौठा आवाजहरु अन्तरहृदयमा श्रवणमा आउन थाले । ती कालागंकुलुगं ध्वनि तथा अनौठा आवाजहरु ब्रम्हाण्डका अनगिन्ती सूचनाहरु थिए तर के विषयका सूचनाहरु हुन् भनेर ठम्याउन मुस्किल हुन्थ्यो । एक व्यक्ति तथा समुहहरु बोलेको जस्तो, कलकारखाना चलेको जस्तो, मन्दिरको घण्टी बजेको जस्तो, सकैले केही पाठ गरिरहे जस्तो... धेरै प्रकारका ध्वनि तथा आवाजहरु सुनिन्थे । 


नित्य पूजामा अस्तित्वको सक्रियता

मौन साधनाका क्रममा विहान साँझको नित्य पूजा तथा प्रार्थनाका क्रममा अलौकिक दृश्य, ध्वनि, सुगन्ध, स्पर्स, दिव्य सन्देशहरु आउन प्रारम्भ भए । पूजा गर्दा बजाइएको घण्ट र डमरु २०–२५–३०–४० मिनेटसम्म अखण्ड बजेको बज्यै हुन्थे र स्वस्फुर्त अजपा नाम तथा मन्त्र जप चलिरहन्थ्यो, आफूले रोक्न चाहेर रोकिदैनथ्यो, हात गल्दैनथ्यो बरु हातमा अझ बढि उर्जा र स्फुर्ति आएको महसुस हुन्थ्यो । लामोबेरसम्म चलिरहदा आफूले रोकौंकि तथा अव रोकिए हुन्थ्यो भन्ने भाव मनमा आउदा अन्तरहृदयबाट आन्तरिक गुरुको सन्देश आउथ्यो, “...बजिरहन दे...” । १०८ माला जप गर्दा पनि लामोबेर जप चलिरहन्थ्यो, समय बितेको थाहा नै हुदैनथ्यो । पूजा तथा प्रार्थनाको समयमा स्वतः आँखा बन्द हुन्थे र तुरुन्तै गहन ध्यान तथा समाधि घटित हुन्थो र आँखा खुल्दै खुल्दैनथे आफूले खोल्न चाहदा पनि, परमात्माको अमृत नशा दिने उर्जाले तुरन्तै ढाकिहाल्थ्यो । ध्यान तथा समाधि साधनाको चक्र तथा समय पूरा भएपछि आफूले थाहै नपाइका अचानक आँखा खुल्थे र शरीर, मन, भावमा परमात्माको उर्जाको नशालु तोरा विस्तारै घटेर म सामान्य अवस्थामा आउँथें । परमात्माको उर्जाको तोरा घट्न समय लाग्नेवाला छ भने अन्तरहृदयबाट आन्तरिक गुरुको सन्देश आउथ्यो, “...उर्जामा छेस् अहिले नउठ, उठ्ने भए भित्तोको सहारा लिएर हिड नत्र लड्छेस्...”। घण्ट र डमरु निरन्तर बजिरहेको समयमा अन्तरहृदयमा ब्रहाण्डका कालांकुलुंग ध्वनि तथा अनौठा आवाजहरु सुनिन्थे । ती ध्वनि तथा अनौठा आवाजहरु अनगिन्ती सूचनाहरु थिए ब्रम्हाण्डका तर के विषयका सूचनाहरु हुन् भनेर ठम्याउन मुस्किल हुन्थ्यो, एक व्यक्ति तथा समुहहरु बोलेको जस्तो, कलकारखाना चलेको जस्तो, मन्दिरको घण्टी बजेको जस्तो... धेरै प्रकारका ध्वनि तथा आवाजहरु एकैपटक सुनिन्थे । 


सुगन्धित शरीर 

धेरै अघिदेखि नै बिनाकुनै श्रोत धेरैजसो समय श्रीखण्ड र अन्य प्रकारका अत्यन्तै मन मुग्ध र आकर्षित गर्ने सुगन्धहरु आउने गर्थे । मौन साधना प्रारम्भ भएपछि अझ प्रगाढ र छिटोछिटो सुगन्ध आउने गतिविधिहरु घटित हुनथाले । धेरैजसो पूजाकक्षमा पूजा तथा प्रार्थना गर्दाको समयमा आउथ्यो तर पछिपछि अन्य समयमा पनि श्रीखण्ड तथा धूपबत्तीहरुको अत्यन्तै मिठो सुगन्ध अनुभूतिमा आउन थाल्यो । मौन साधनाकै क्रममा अलिपछि आफ्नै नाभिबाट श्रीखण्डको सुगन्ध आउन थाल्यो, पहिरिएका बस्त्रहरुमा समेत श्रीखण्डको सुगन्ध आउन थाल्यो । विस्तारै आफ्नै दुवै हातका हत्केलामा श्रीखण्डको सुगन्ध आउन थाल्यो । यसक्रममा एकपटक मेरो मनमा आयो, मेरो हातमा यति मिठो सुगन्ध मलाई मात्र आएको होला कि अरुलाई पनि आउछ होला...! अन्तरहृदयबाट तुरुन्तै आन्तरिक गुरुको सन्देश आयो, “...अरुलाई सुघाउने होइन, तँलाई मात्र आउछ, अरुलाई आउदैन...” । मैले हस् प्रभु भनें र मनमनमा बुझें सायद यो चेतनाको विकासबाट हासिल भएको सिद्धि होला सिद्धको अनुभवमा मात्र आउने... । यही सुगन्ध आउने शिलशिलासंगै मुखमा अमृत रस तथा तरल पदार्थ वर्षिरहन्थ्यो र त्यसलाई निलेपछि शरीरमा शितलता, आराम, शान्ति, आनन्दको अनुभूति हुन्थ्यो । 


स्वस्फूर्त चेनताको यात्रा

सुक्ष्म जगतको अनुभूति तथा सुक्ष्म जगतका आत्मा अर्थात उर्जाहरुसंग साक्षातकार र संवाद सन् २०११ बाट नै प्रारम्भ भएको थियो र ध्यान साधनाको समयमा स्वस्फुर्त रुपमा बिनाकारण मुस्कुराउने, हाँस्ने, आँशु आउने, डाँको छोडेर रुने, जोडजोडले चिच्याउने, शरीर काम्ने हुन्थ्यो र यी गतिविधिहरु भैसकेपछि शरीर, मन, भाव, वुद्धि, चेतनामा एकप्रकारको अलौकिक शितलता, आराम, शान्ति तथा आनन्द छाउथ्यो । मौन साधनाको गहनतासंगै यो क्रम विस्तारै कम हुदै गयो । स्वघटित मौन साधनाको समयमा चेतनाको अर्को अध्याय प्रारम्भ भयो र समाधि लागिरहेको समयमा पराभौतिक संसारका शव्दातीत, इन्द्रियातीत, मनातीत, भावातीत, समयातीत, दुरीयातीत अत्यन्तै रहस्यमय, चमत्कारिक, अलौकिक तथा दिव्य अनगिन्ती पराभौतिक अनुभूतिहरु अनुभवमा आउन प्रारम्भ भए । शरीर, मन, भाव, चेतनामा परमात्माको अलौकिक उर्जा वर्षिरहने र उर्जाको अमृतमय नशामा झुम्म भैरहने र यही अवस्थामा ब्रम्हाण्डिय यात्राहरु हुनलागे । सफा कन्चन जलमा समुद्रको गहिराइमा समाधि लागिरहेको र आफ्नो वरिपरि साना–ठूला–रंगीविरंगी माछाहरु पौडीरहेका; ब्रम्हाणमा माथि–माथि पुगेको; गाडा निलो सफा आकाशमा ग्रह, नक्षेत्र, ताराहरुको साथमा आफू रहेको; शव्दमा वर्णननै गर्न नसकिने अत्यन्तै प्रज्वलित दिव्य प्रकाशका ज्योतिहरुको दर्शन भएको । आफैंले आफ्नो एकमुष्ट शरीर लगायत हात, पाखुरा, हत्केला, औंला, पैताला आदि अंगअंग, मांसपेसी, नशा, अस्थि, जोर्नी आदि सबै शरीरका कणकण कहिले विभिन्न इन्द्रेनी रंगहरुमा, कहिले एउटा मात्र रंग सुनौलो, क्रिम, निलो, प्याजी, हरियो, पहेंलो, सुन्तले, रातो रंगहरुमा प्रज्वलित भएर झलमल्ल भएको देखिएको थियो एकदम चम्किलो । कहिलेकाहीं राति योग निद्रामा प्रवेश गर्नुपूर्व पनि यस्ता दृश्यहरु आउथे र अद्यावधिक आइरहेका छन् ।

स्मरण रहोस्: हामी गुरु, सदगुरु, हरिगुरु भन्ने शव्द र यसका अर्थ तथा भावहरुलाई बारबार प्रयोग गर्ने गर्दछौं दैनिक बोलिचालिको भाषामा । यी सबै वाहिरी गुरु हुन्, आन्तरिक गुरु हामीभित्र हुन्छ हाम्रो अन्तरहृदयमा जसलाई 'हरिगुरु' भनिन्छ । हरिगुरुको अर्थ हो 'हरि' पनि उही हो र 'गुरु' पनि उही हो ।उही परमात्मा अर्थात परब्रह्म नै हरि हो र गुरु पनि हो, अध्यात्म साधनामा साधकलाई उसलै सबै सिकाउछ, उसैले सबै ज्ञान दिन्छ । सनातन शास्त्रहरुमा उल्लेखित गुरु महामन्त्र, "गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वरः गुरुः साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः ।।" हामीभित्र रहेको आन्तरिक गुरु अर्थात हरिगुरु अर्थात परमात्माप्रति समर्पित महामन्त्र हो यो किनकी हामीभित्र रहेको आन्तरिक गुरु हाम्रो आत्मा हो र आत्मा नै साक्षात परब्रह्म अर्थात परमात्मा हो र त्यो स्वयं हामी नै हौं । हामी भन्दा वाहिर रहेका गुरु तथा सदगुरु हामीभित्र स्थित हरिगुरुसंग साक्षातकार गराउन मद्धत गर्ने सहयोगी, साधन तथा माध्यम मात्र हुन् । 

यी सबै परालौकिक अनुभव तथा अनुभूतिहरु वर्तमान समयमा पनि हुने गरेका छन् खासगरि चन्द्र पात्रो अनुसारका विशेष दिनहरुमा, व्रतराखेको समयमा, इन्टरमिटेन्ट तथा अटोफेजी फास्टिंगहरु आदिमा । परमात्माको यो असीम कृपा, आशिर्वाद, प्रेम तथा करुणाप्रति अन्तरहृदयमा निरन्तर नतमस्तक भाव बनिरहन्छ र बारबार स्वस्फुर्त प्रार्थना चलिरहन्छ, हे प्रभु ! यो अलौकिक दिव्यता अरु अध्यात्म साधकहरुमा पनि घटित होस् र यसकालागि मेरो आवश्यकता छ भने जसरी आवश्कता छ त्यसरीनै यो सेवामा मलाई प्रयोग गर्नुहोस्, म भन्ने कोही छैन यहाँ सबै हजुर परमात्मा नै हो कणकणमा व्याप्त, सर्वशक्तिमान, सर्वव्यापक..., हरि ॐ ततसत् ! हे प्रभु, तिमी मात्र परमसत्य हौ, तिमी नै अन्तिम सत्य हौ, तिमी नै समष्टि हौ, तिमी भन्दा पर अरुकेही पनि छैन...  !!

                                                                         अस्तु

                                                  शिवोहम् ! शिवोहम् !! शिवोहम् !!! 


Tuesday, 25 November 2025

शिवोहम् योगपीठका प्रकाशनहरु



सनातन ज्ञान अध्यात्म विज्ञान


सनातन दर्शन विषयक्रम

https://spiritualartcle24.blogspot.com/

https://fbstatus024.blogspot.com/ 

https://bsirjana.blogspot.com/


आध्यात्मिक साहित्य



जगतगुरु आद्य शंकराचार्य


    जीवन व्यवस्थापन


      योग साधना


      आभामण्डल तथा उर्जाक्षेत्रको विकास


      मोक्ष मार्ग


      चेतनाको विकास


      चेतनाको यात्रा र स्वअनुभव


        वेदान्त दर्शन

        युवा र अध्यात्म 

        https://bsirjana.blogspot.com/2025/04/blog-post_23.html


           स्वास्थ्य  अध्यात्म

          https://bsirjana.blogspot.com/2025/04/blog-post_38.html


          नवयुग निर्माण  अध्यात्म  



          शिक्षा  अध्यात्म  


          भौतिक विज्ञान र अध्यात्म विज्ञान  


            संस्कृति र अध्यात्म  


            ज्ञानबर्धक पाठ्यसामग्री




            नारीवाद र अध्यात्म  

            https://womendevelop24.blogspot.com/



            महिला विकास

            https://womendevelop24.blogspot.com/


            पर्यटन र अध्यात्म  

            https://bsirjana.blogspot.com/2025/04/blog-post_43.html


            ग्रामीण विकास


            समसामयिक विषय
            https://currentarticle24.blogspot.com/


            *************************************************

                                                                PDF

            https://drive.google.com/file/d/1q-T4tE-zJvL5QaotQSXzBC6Zj8zjkGgw/view?usp=sharing

            ************************************************


            *************************************************

            *************************************************