'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Sunday, 9 August 2009

भाषा-संस्कृतिको महत्व र विकास

                                                                                                                                       सिर्जना भण्डारी 


भाषा र संस्कृति हरेक समुदायको पहिचान हो र समुदाय हामी सबैको पहिचान हो । आफ्नै मौलिक भाषा र संस्कृति बिनाको समुदाय अपूर्ण र अस्तित्व बिहिन हुन्छ । हामी नेपालीहरु वीच जात जाति भाषा भाषी धर्म र संस्कृति विविधता भएतापनि समग्रमा हामी नेपाली हौ । नेपाल चार जात छत्तिस वर्णको फूलबारी भएको कारण भाषा र संस्कृतिमा ब्यापक विविधता पाइन्छ । नेपाली समुदाय भित्र थुपै्र शाखा समुदायहरु छन् र हरेकका आ-आफ्नै विशेषता तथा मौलिकता रहेका छन् । नेपाली भाषा र संस्कृतिले नै हामी सबैलाई एउटै मालाको फूलका थुंगाहरु सरी विभिन्न समुदाय वीच एक सुत्रमा बाँधेको छ । र आफ्नो मुलुक बाहिर विदेशीहरुका माझमा हामीलाई नेपाली समुदायका रुपमा चिनाएको छ । यदि हाम्रो छुट्टै मौलिक भाषा र सस्कृतिको पहिचान नहुँदो हो त हामीलाई कसैले नॆपाली भनेर चिन्ने थिएनन् र अस्तित्वविहीन रहन्थ्यौं । यस परिप्रेक्ष्यमा भाषा र संस्कृतिको संरक्षण र विकास गर्नु भनेको आफ्नो अस्तित्व बचाउनु हो जुन हरेक नेपालीको कर्तब्य हुन आउँछ ।

विदेशमा बसेर आफ्नो सामुदायिक पहिचान बनाउनु र त्यसलाई निरन्तरता प्रदान गर्नु उति सहज कुरो होइन तर असम्भव पनि छैन । विविध कारणले हामी नेपालीहरु विश्वका विभिन्न देशहरुमा रहदै बस्दै आएका छौ । विदेशिएका हामी नेपालीहरुको पहिलो पुस्तामा भाषा र संस्कृतिक ज्ञानको उति समस्या नभएपनि दोस्रो तथा तेस्रो पुस्ता अर्थात विदेशमै जन्मिएर त्यहींको सामाजिक परिवेशमा हुर्किएकाहरुका लागि भने भाषा संस्कृति र सामुदायिक पहिचान जोगाउन ठूलै इच्छा शक्ति र मॆहनतको खाँचो पर्दछ । उनीहरु बेग्लै समुदाय र भिन्न परिवेशमा हुर्किने हुनाले चाहेर पनि आफ्नो भाषा संस्कृति र समुदायका चालचलन तथा गतिविधिहरु बारे जान्न र बुझ्न असमर्थ हुन्छन् । यस्तो परिस्थितिमा आफ्नो मौलिकता तथा भाषा र संस्कृति बचाउनु भनेको अनिकालमा बिउ जोगाउनु जत्तिकै मुस्किल काम हो । भाषा र संस्कृतिको जगेर्ना तथा विकास पछिल्ला पुस्ता तथा आफ्ना सन्ततीका लागि अग्रजहरुले नगरी नहुने कर्तब्य तथा दायित्व पनि हो । यसै सन्दर्भमा एक चिन्तनशिल अग्रजका रुपमा विदेशस्थित अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसासको फ्लोरिडा च्याप्टरले आफ्नो भाषा र संस्कृतिको संरक्षण र विकासका लागि साहित्य संगालोको रुपमा 'सागर' पत्रिका प्रकाशन र यसको निरन्तरता निकै सह्रानिय मान्न सकिन्छ जसले भोलिका नयाँ पुस्ताहरुमा आफ्नो संस्कृतिक र साहित्यिक मौलिकताको संचार गर्न र जागरुक गराउन धरातल बनाउनुका साथै ईटा थप्ने काम गर्नेछ ।


भाषा, संस्कृति, धर्म र कला समुदायका प्रमुख अंगहरु हुन् यि सम्पूर्ण अंगहरुको संरक्षण र विकास समुदायकै संरक्षण र विकास हो । यि अंगहरु मध्ये कुनै एकमा भएको कमी कमजोरीले समुदायलाई नै अपूर्ण बनाउँदछ । धर्मले हाम्रो अन्तरआत्मा र आस्थाको परिचय दिन्छ, संस्कृतिले हाम्रो मौलिकता दर्शाउँछ, भाषाले हाम्रो वैचारिकता र सोचलाई अरु सामु पुर् याउने पुलको काम गर्छ र कलाले हाम्रो विविधता, शिप, साधन आदिको परिचय दिन्छ । विभिन्न समुदायहरुका धर्म, कला र संस्कृति अनुसारका चाडपर्व तथा रीतिरिवाज आदि मनाएर धर्म कला र संस्कृतिको जगेर्ना गर्न सकिन्छ भने ज्ञान तथा विचारको संचार गरेर भाषा र साहित्यको जगेर्ना गर्न सकिन्छ । मुख्यतया भाषा र साहित्य लेखाई र बोलाईमा प्रयोग हुने तथा झल्किने भएकाले अवस्था अनुसार विचार ब्यक्त गरेर, लेख रचनाहरुको सिर्जना गरेर, रचना तथा साहित्यिक संगालो प्रकाशन गरेर आदि माध्यमबाट भाषा र साहित्यको संरक्षण र विकास गर्न सकिन्छ । ब्यक्त गरिएका विचार भन्दा रचना गरिएका संकलित साहित्यिक संगालोहरु यूगौयुग सम्म संकलित भै बाँचीरहने हुनाले भाषा र साहित्यको जगेर्ना विकास र निरन्तरताका लागि साहित्यिक संगालो प्रकाशन अत्यन्त प्रभावकारी हुनेमा कसैको दुई मत हुन सक्दैन ।

भाषा र साहित्य शब्दले विभिन्न पक्षहरुलाई समेटेको छ । मुख्य रुपमा गद्य र पद्य विधामा विभाजित नेपाली साहित्यको पद्य विधा निकै रोचक रहेको छ र सदियौं देखि यो नेपाली साहित्यको प्रमुख अंग रहदै आएको हामी पाउँछौं । लय हालेर पाठ गरिने गिता, रामायण, विभिन्न श्लोक तथा छन्दमा रचिएका कविता र काब्यहरु पद्य साहित्य अन्तर्गत पर्दछन् । नेपाली साहित्यको गद्य विधा पनि कम रोचक छैन । वर्णनात्मक कथा, कविता, उपन्यास, विचार-विवेचना यात्रा संस्मरण, समालोचना आदि गद्य साहित्य अन्तर्गत पर्दछन् । विभिन्न विषयहरुलाई आधार बनाई रचना गरिएका रोचक कविता, कथा, उपन्यास आदिले नेपाली साहित्यलाई निकै धनी र रोचक बनाएका छन् । यि सम्पूर्ण पक्षहरुको संरक्षण जगेर्ना तथा विकास गर्न र निरन्तरता प्रदान गर्न हामीले हाम्रो दिमाग र कलमको टुप्पोलाई सँधै धारिलो पारिराख्न सधै जोस जाँगर सहित अघि वढ्नु आजको आवश्यकता हो ।

अन्तमा, भाषा र साहित्यको संरक्षण तथा विकासका लागि बालबालिकाहरुलाई सानै देखि उनीहरुले बुझ्ने गरी सरल र चाखलाग्दो ढाँचामा पढाउँदा तथा लेखाउँदा उनीहरुको मन जित्न र इच्छा शक्ति बढाउन सकिन्छ । सरल भाषामा लेखिएका छोटा र रोचक कथा तथा लेखहरु, लय हालेर पढिने छन्दमा रचिएका कविता तथा श्लोकहरु आदि साना बालबालिकाहरुले बढि मनपराउने र बुझ्न सरल हुने हुँदा यस्ता रचनाहरुबाट सुरुदेखि नै उनीहरुमा नेपाली भाषा र साहित्यप्रति रुची जगाउन सकिने कुरा विगतका विभिन्न अनुभवहरुले समेत देखाएका छन्

No comments:

Post a Comment