'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Saturday, 7 March 2015

गृहिणी होईन घर ब्यवस्थापक

Home-Maker no House-Wife               
                                                            सिर्जना भण्डारी

'गृहिणी होईन घर ब्यवस्थापक हुँ म' एउटा परिचयात्मक कार्यक्रममा यो भनाई सुनेर यो पंक्तिकारलाई निकै उत्सुकताकोे अनुभुति भयो कि महिलाहरु विस्तारै चुलो–चौकोबाटै भएपनि आफ्नो अस्तित्व, अधिकार र भविश्यको खोजी आफैं गर्न लागिपरेकोमा । र्याडीकल धारका नारीवादीहरु भन्ने गर्दछन् की महिलाहरुले आफ्नो अस्तित्व, अधिकार र भविश्यको खोजी चुलो–चौकोबाट होईन विद्यालय तथा कार्यालयबाट गर्नुपर्दछ तर सांस्कृतिक धारका नारीवादीहरु यस तर्कमा असहमति  जनाउँदै भन्छन् की महिलाहरुले आफ्नो अस्तित्व, अधिकार र भविश्यको खोजी सर्वप्रथम घर भित्रैबाट गर्नुपर्दछ र चरणवद्ध रुपमा विद्यालय तथा कार्यालयसम्म पुग्नुपर्दछ, कीनकी ठाडो बिद्रोहबाट प्राप्त अस्तित्व तथा अधिकार दिगो नहुनसक्छ। 


महिलाहरुको अस्तित्व, अधिकार र भविश्यको खोजीकार्यलाई परिवर्तनको आँखाबाट विश्वब्यापी रुपमा हेर्दा सकारात्मक र प्रगतिको बाटोमा गैरहेको पाउन सकिन्छ त्यसको फलस्वरुप सबैजसो कोणबाट महिलाहरुको स्तरमा पहिलाको तुलनामा सकारात्मक सुधार आउँदै गैरहेको पनि देखिन्छ। केही दशक यता संसार भरीकै महिलाहरु राजनीतिक, वैधानिक, सामाजिक तथा सांस्कृतिक, आर्थिक, शैक्षिक आदि क्षेत्रहरुमा सवल र सानै संख्यामा भएपनि प्रतिस्पर्धी, अस्तित्व तथा अधिकार सम्पन्न हुँदै गैरहेका छन् साथै धेरै क्षेत्रहरुमा सचेत र सहयोगी पनि बन्दै गैरहेका छन्। कानुनी तथा वैधानिक दृष्टिकोणबाट हेर्ने हो भने विश्वब्यापी रुपमा महिलाका हक–अधिकारका सम्बन्धमा ठुलठुला सन्धी–महासन्धीहरु र महत्वपुर्ण सफलताहरु हासिल भएका छन् यद्यपि यी उपलब्धिहरुको कार्यान्वयनमा भने सन्तुष्ट हुने अवस्था विश्वको कुनै कुनामा देख्न सकिएको छैन। समाजमा विद्यमान महिला विरोधी सामाजिक तथा सांस्कृतिक मुल्य–मान्यताहरुलाई चिर्न नसकुन्जेल कार्यान्वयनको गति सुस्त र फितलो रहने निश्चितप्राय देखिन्छ । 


समाजका सामाजिक तथा सांस्कृतिक मुल्य–मान्यताहरु परिवर्तनशील हुन्छन् तर अत्यन्तै सुस्त गतिमा, यसमा ब्यक्ति, समाज तथा राज्यको भुमिकाको प्रभाव न्युन देखिने गरेको तथ्य हाम्रा सामु छर्लंग छ। समाजशास्त्रीहरु भन्छन्ः समाजका सामाजिक तथा सांस्कृतिक मुल्य–मान्यताहरु परिवर्तशील छन् तर ति मानिसको चाहना अनुसार नभई समयको वहाव र गतिकासाथ परिवर्तन हुन्छन् जुन प्रक्रिया अत्यन्तै सुस्त गतिमा तर अपरिवर्तनीय हुन्छन् र यस्ता परिवर्तनहरु दशकौं तथा केही परिवर्तनहरु  त सताब्दीयौं पछि मात्र देख्न तथा महसुस गर्न सकिने खालका हुन्छन्। खासगरी महिलाहरुको अस्तित्व, पहुँच र अधिकारको परिप्रेक्षमा आजको समाजमा आएका साना–ठुला परिवर्तनहरु हामी देख्न सक्छौं जो समयको लामो अन्तराल पछि सामाजिक परिवर्तनका रुपमा देखा परेका हुन्। यद्यपि यस्ता परिवर्तनहरुका प्रभाव समाज तथा संस्कृतिमा सकारात्मक तथा नकारात्मक दुवै किसिमले परेका छन् र दुवै परिवर्तनहरुलाई आत्मसाथ गर्नुपर्ने हाम्रो बाध्यता हो। नयाँ तथा आधुनिक सोचले महिलाहरुको अवस्थामा आएका परिवर्तनहरु मनन्योग्य छन् जसले उनीहरुको स्तरोउन्नती पनि गरेका छन् र धेरै हदसम्म यी परिवर्तनहरुलाई सामाजिक तथा सांस्कृतिक मुल्य–मान्यताहरुले पनि स्वीकारेका छन्। सकारात्मक परिवर्तनहरुले महिलाहरुलाई हरेक तवरबाट सक्षम बनाएका छन् भने यसका नकारात्मक प्रभावहरु पनि महिलाहरु माथि नै परेका छन् जसले महिलाहरुलाई जान्ने सुन्ने तथा आत्मनिर्भर पार्नुका साथै उनीहरुको कर्तब्य र जिम्मेवारीमा पनि दोहोरो तेहेरो बोझ थपिदिएको छ भने अर्कातिर महिलाहरुमा वर्ग बिभाजन तथा उँच–निचको भावना पनि ल्याइदिएको छ जस्तै सक्षम–असक्षम, सफल–असफल, आत्मनिर्भर–परनिर्भर, आधुनिक–परम्परावादी, सम्पन्न–बिपन्न, निर्णायक–निरीह आदि। निचो तथा कमजोर वर्गमा पर्ने महिलाहरुमा एकातिर हीन भावनाले प्रस्रय पाउँदै गैरहेकोछ भने अर्कातिर उँचो तथा सवल वर्गमा पर्ने सक्षम र सफल बन्दै गैरहेका केही महिलाहरुमा घमण्ड, हठ, देखावापन, नकारात्मक सोच, बिखण्डनकारी भावनामा वृद्धि हुदैगैरहेको हामी पाउँछौं तर सबैलाई एउटै नजरबाट हेरिनु हुदैन। यसरी सबै किसिमले सफल र सक्षम बन्दै गइरहेका धेरैजसो महिलाहरुमा सकारात्मक सोच र सम्पूर्ण समाज तथा देशका लागि प्रभावकारी परिवर्तनका किरणहरु पनि प्रसस्त देख्नसकिन्छ जसले सामाजिक तथा सांस्कृतिक मुल्य–मान्यताहरुलाई थप चुनौती दिदै समाजलाई सकारात्मक परिवर्तनको बाटो समात्न डोर्याइरहेका छन् र विस्तारै ति महिलाहरु हाउसवाइफ(गृहीणी)को घेरा नाघेर होममेकर(घर–ब्यवस्थापक) बन्दै गइरहेका छन् र आफुलाई हाउसवाइफ नभई होममेकरका रुपमा प्रस्तुत गरिरहेका छन्। हाउसवाइफ र होममेकर (अमेरीकी शब्द) यी दुई शब्दको अर्थ एउटै हो, हाउसवाइफ शब्द लैंगीकमैत्री नभएकोले सन १९७० बाट होममेकरको प्रयोग गर्न थालिएको हो। 

यी दुई शब्दको शाब्दीक अर्थ एकैलागे पनि पछिल्ला दिनहरुमा होममेकर शब्दले फरक अर्थ प्रवाह गरीरहेकोछ र समाजलाई लैंगीक समानता तर्फ लगीरहेको छ कीनकी प्राकृतिक दृष्टिकोण अनुसार महिला–पुरुष समानान्तर हुन र सामाजिक दृष्टिकोण पनि प्राकृतिक दृष्टिकोण भन्दा फरक हुनुहुदैन भन्ने आजको परीवर्तनशील युगको माग हो। महिलाहरुको अस्तित्व तथा हक–अधिकारसंग सम्बन्धित शब्दकोषका अनुसार गृहीणी शब्दलाई नियन्त्रित र घर–ब्यवस्थापकलाई निर्णायक तथा सीमित भएपनि अधिकार सम्पन्न ब्यक्तिका रुपमा परिभाषित गरेकोछ। आजभोलि घर–ब्यवस्थापक शब्दलाई औपचारीक रुपमै गृहीणीको सट्टा प्रयोग गर्ने गरीन्छ। तसर्थ परिवर्तनलाई आत्मसाथ गरिरहेका र आफ्नो अस्तित्व, अधिकार र भविष्यकोे खोजीमा लागिपरेका महिलाहरु आफु र आफ्नो पेशालाई चिनाउँदै निर्धक्क भएर गर्वसाथ माइ प्राफेसन इज होममेकर  (मेरो पेशा घर–ब्यवस्थापक हो) भन्ने गर्दछन्। आर्थिक सिद्धान्तहरुको दृष्टिकोणबाट हेर्ने हो भने सानो आवाजमै भएपनि महिलाहरु आफुलाई अनुत्पादक नभई उत्पादक हौं र परनिर्भर नभइ सहयोगी हौं भनि चिनाउन खोजीरहेका छन् अर्थात घर–ब्यवहारमा महिलाद्धारा गरिने सबै कामहरु उत्पादक र मुल्यवान छन् चाहे ति काम आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक नै किन नहुन भन्नेमा जोडदिन खोज्दै छन् । सफल घर–ब्यवस्थापनमा महिलाहरुको त्यतिनै महत्व छ जति ब्रेडवीनर(परिवार पालक)का रुपमा मानिने पुरुषहरुको कमाउने आर्थिक क्रियाकलापको रहँदै आएको छ। घर–ब्यवस्थापन एउटा कठीन कार्य तथा कला हो, जसमा चातुर्य, निस्वार्थपन र सेवाभावको आवश्यकता पर्दछ। घरब्यबहार भित्र हुने अनेकौं सजिला–अप्ठ्यारा गतिविधिहरुलाई एकैसाथ सन्तुलित रुपमा अघि बढाएर लानु निश्चय नै चुनौतीको विषय हो जुन सबैको क्षमता र वसको कुरा होईन। घर–ब्यवस्थापनमा महिलाहरुले आफ्नो जीवनको महत्वपुर्ण अंश र समय ब्यतित गरेका हुन्छन् तर दुःखको कुरा त्यसको सामाजिक तथा आर्थिक तवरबाट कुनै लेखाजोखा तथा मुल्यांकन गरिदैन। हाम्रै घरपरिवार तथा सामाजमा हामीले कयौं यस्ता उदाहरणहरु देखेकाछौं कि कमजोर घर–ब्यवस्थापनका कारण परिवारमा विखण्डन आएको, पुरानो पुस्ता अपहेलित र बेस्याहार भएको, नयाँ पुस्ता खराब लतको शिकार र कुसंस्कृत भएको, छरछिमेकमा मनमुटाव भएको र अन्ततः घरभित्र र समुदायमै अशान्ति ब्याप्त भएको । तर विडम्बना के छ भने हाम्रा सामाजिक तथा सांकृतिक मुल्य–मान्यताहरुले घरपरिवार तथा समुदाय सफल, असफल तथा शान्त, अशान्त हुनुमा महिला तथा पुरुषको सवल तथा कमजोर घर–ब्यवस्थापन कार्यकुशलता तथा कलाका कारण यसो भएको हो भन्ने मान्दैन बरु उल्टै फलानो मान्छे नै त्यस्तै, फलानो परिवार तथा समुदाय नै त्यस्तै भनेर औंला ठड्याउँछ तर वास्तविकता भने त्यस्तो होईन। तसर्थ वास्तविकता यो हो कि घर–ब्यवस्थापन हेर्ने ब्यक्तिलाई नियन्त्रित गृहिणी (पुरुष पनि हुन सक्छन् तर सामान्यतया महिला हुने भएकाले) नभइ स्वतन्त्र घर–ब्यवस्थापकका रुपमा अधिकार दिइनु पर्दछ, उनले घर–ब्यवस्थापनमा गर्ने सवैखालका काम–कर्तब्यहरुहरुको उचित ढंगले सामाजिक तथा आर्थिक मुल्यांकन गरिनु पर्दछ र महिलाहरु पुरुषका समानान्तर हुन भन्ने कुरालाई आत्मसाथ गर्नुपर्दछ। यो स्पष्ट छ कि जिम्मेवारी, योगदान, सहयोग, कर्तब्य, सेवा आदि कामहरुको आर्थिक मुल्यांकन गर्न सकिदैन तथा कठीन हुन्छ त्यसमाथि यस्ता कामहरुको परिणाम ढिलो आउने हुँदा तिनले सामाजिक मुल्य–मान्यता समेत पाउन सकेको देखिदैन र यदि पाइहाले पनि त्यो जस घरमुलीकै हकमा भएको देखिन्छ र सामान्यतया घरमुली पुरुषनै हुनेमा कुनै शंका छैन चाहे उ घरपरिवारसंगै होस वा घरबाट टाढा शहर तथा विदेशमा होस। 


तसर्थ महिलाहरुले घरभित्र गर्ने गरेका देखिने–नदेखिने तथा उत्पादक–अनुत्पादक(...भनिदै आएको) सबैखाले काम, योगदान तथा सेवाहरुको जस पुरुषले नै पाउने हुँदा ऊ सधैं उत्पादक र महिला सधैं अनुत्पादकको गन्तीमा पर्ने गर्दछन्। कुनै पनि काम अनुत्पादक हुदैन भन्ने आर्थिक सिद्धान्तको बुझाईबाट टाढा रहेको हाम्रो परम्परावादी समाजले सर्वप्रथम यो बुझ्नु आवश्यक छ कि महिलाहरुले घर–ब्यवस्थापनका क्रममा गर्ने सम्पुर्ण कामहरु उत्पादक मात्र नभइ उच्च मुल्यका हुन्छन् जसले प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य रुपमा ब्यक्ति, परिवार, समाज तथा देशको प्रगति तथा विकासमा कुनै न कुनै किसिमले योगदान पुर्याइरहेका हुन्छन् जो आर्थिक, सामाजिक तथा सांस्कृतिक र राजनीतिक आदि जुनसुकै हुन सक्छन्। महिलाहरुले घर–परिवार तथा निजी क्षेत्रको सम्पुर्ण जिम्मेदारी आफ्नो काँधमा लिएर सफलतापुर्वक सम्हालेकै कारण पुरुषहरु निश्चिन्त तथा तनावमुक्त भएर सार्बजनिक क्षेत्रमा आफ्नो ब्यक्तित्व विकास गरिरहेको हुन्छन्। भनिन्छ सफल पुरुषको पछाडि योग्य महिलाको हात हुन्छ, कर्तब्यनिष्ठ, संस्कारी र सफल छोरा–छोरीको पछाडि योग्य आमा–बाबुको हात हुन्छ, त्यस्तै बुभ्रmुकहरु शान्त, शुखी, सहयोगी र आस्थावान हुनुको पछाडि परिवारका योग्य सदस्यहरुको हात हुन्छ। हो यिनै पछाडि हुने हातहरु होममेकरका हात हुन् जसलाई समाज तथा देशले तिरस्कार होइन तिनको उचित मुल्यांकन र सम्मान गर्न सक्नु पर्दछ तवमात्र शान्त र सन्तुलित समाजको कल्पना गर्न सकिन्छ।   bsirjana@gmail.com


सन्दर्भ सामग्रीहरुः
http://simple.wikipedia.org/wiki/Homemaker

http://en.wikipedia.org/wiki/Housewife

https://sancharib.wordpress.com/2012/03/05/housewife-versus-homemaker/

http://www.slate.com/blogs/xx_factor/2013/03/26/housewife_homemaker_or_stay_at_home_mom_what_should_we_call_women_who_don.html

http://thephilosopherhousewife.blogspot.com/2010/04/difference-between-housewife-and.html

http://feminismandreligion.com/2011/07/16/why-i-work-the-difference-between-a-house-wife-and-being-unemployed-by-sara-frykenberg/


No comments:

Post a Comment