'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 5 October 2022

नेपालमा आरोग्य पर्यटनः अवधारणा, अवस्था र सम्भावना

Wellness Tourism in Nepal: Concept, Status and Prospects

                                                                           डा. सिर्जना भण्डारी

सारांश

केही दशक यता विश्वव्यापी रुपमा सुदृढ स्वास्थ्य तथा सुधारोन्मुख जीवनशैली अर्थात समग्र जीवनको कल्याणका लागि एक क्षेत्र तथा मुलुकबाट अर्को क्षेत्र तथा मुलुकको पर्यटकीय यात्रा गर्नु समग्र पर्यटन क्षेत्रमा आरोग्य पर्यटनको रुपमा महत्वपूर्ण हिस्सा बन्दै गैरहेको छ (Khanal & Shimizu, 2019a)। नेपालमा पनि आरोग्य पर्यटनका गतिविधिहरु हालका दिनहरुमा उल्लेख्य रुपमा बढ्दै गैरहेको पाइन्छ । विशेष गरि नेपालमा योग अन्तर्गत योगासन, प्राणायाम तथा ध्यान; चिकित्सा पद्धति अन्तर्गत आयुर्वेद चिकित्सा, प्राकृतिक चिकित्सा, होमियोपेथी चिकित्सा; र प्राकृतिक तथा साँंस्कृतिक भ्रमण आदिमा आधाीरत आरोग्य पर्यटनका गतिविधिहरु फस्टाउँदै गैरहेका तथा लोकप्रिय बन्दै गैरहेका छन् (Khanal & Shimizu, 2019b)। यस अन्वेषणात्मक लेखको प्रमुख उदेश्य आरोग्य पर्यटनको अर्थ तथा अवधारणा स्पष्ट पार्नु र नेपालमा आरोग्य पर्यटनको अवस्था तथा यसका सम्भावनाबारे जानकारी प्रदान गर्नु रहेको छ ।

सम्वन्धित शव्दाबलीहरुः आरोग्य पर्यटन; स्वास्थ्य पर्यटन; औषधी उपचार पर्यटन; नेपालमा आरोग्य पर्यटनको अवस्था र सम्भावना ।

..............................................................................................................................

पृष्ठभूमि (Background)

आरोग्य (Wellness) शव्दलाई खुशी, सुखी, शान्त, आराम, राम्रो, पुनरताजगी, स्वस्थ तथा आनन्द आदि विभिन्न किसिमले अर्थ लगाउन सकिन्छ । मानव जीवनको कल्याणको सन्दर्भमा आरोग्य शव्दका यि सबै अर्थहरुको समग्र बुझाइ मानिस शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा आध्यात्मिक तवरले पूर्णरुपमा स्वस्थ (Healthy) तथा आनन्दित (Happiness) हुनु हो । सामान्य बुझाइमा स्वास्थ्य भन्नाले मानिसको शारीरिक तथा मानसिक अवस्थाको सवलता तथा तन्दुरुस्ती भन्ने अर्थमा बुझिन्छ जो मानिसले भौतिक वस्तु, सेवा तथा बाह्य गतिविधिहरुबाट हासिल गर्न सक्दछ भने आनन्द भन्नाले मानिसको मन, भावना तथा चेतना अर्थात आत्मगत अवस्थाको सवलता तथा तनदुरुस्ती भन्ने अर्थमा बुझिन्छ जो मानिसले आध्यात्मिक अभ्यास, साधना तथा यस सम्वन्धि गतिविधिहरुबाट हासिल गर्न सक्दछ । 'आनन्द' मूल शव्द हो अर्थात अनेक शव्दका अर्थको समग्र एकजोड हो, आनन्दको सुत्र छ: सुख+खुशी+शान्ति= आनन्द । मानिसले आफ्नो शरीर, मन, भावना र चेतना अर्थात आत्माको सहि ज्ञान तथा सदुपयोग गरेर बहुमूल्य मानव जीवनमा आनन्द तथा परम–आनन्दको अवस्था हासिल गर्न सक्दछ (Nepal, 2022) अर्थात मानिसले आफ्नो जीवनमा कल्याण तथा परम–कल्याणको अवस्था हासिल गर्न सक्दछ ।

समग्रमा स्वस्थ हुनु र आनन्दित हुनु झट्ट सुन्दा एकै जस्तो लागेपनि गहिराइमा बुझ्दा यि दुई शव्दका अर्थ र बुझाइमा निकै अन्तर पाइन्छ किनकी हरेक स्वस्थ मानिस आनन्दित नहुन सक्छ तर हरेक आनन्दित मानिस अनिवार्य रुपमा स्वस्थ हुन्छ शारीरिक, मानसिक, भावनात्मक तथा आत्मगत रुपमा । अरुबाट अर्थात बाहिरका अन्य श्रोतहरुबाट प्राप्त हुने भौतिक वस्तु तथा सेवा, मनोरञ्जन तथा रमाइलो आदिले मानिसलाई दिगो रुपमा आनन्द प्रदान गर्न सक्दैन तर आध्यात्मिक अभ्यास तथा यस सम्वन्धि गतिविधिहरुबाट मानिस सहजै समग्र रुपमा आनन्दको अवस्थामा पुग्नसक्छ किनकी वास्तविक आनन्दको श्रोत त मानिस आफैं भित्र हुन्छ  अध्यात्मले मानिसभित्र रहेका असीमित क्षमता तथा प्रतिभाहरुलाई भित्रबाट बाहिर (Inside Out) प्रष्फूटित गराउँदछ र उसलाई सिर्जनशील, समृद्ध तथा ऐश्वर्यवान बनाउँछ र यही नै आनन्दको मूल तथा वास्तविक श्रोत हो (Sharma, 2022) । तसर्थ स्वस्थ हुनु आनन्दित हुनु होइन तर आनन्दित हुनु चाहिं स्वस्थ हुनु हो ।


सन् १९४८ मा विश्व स्वास्थ्य संगठन WHO ले स्वास्थ्यको सम्वन्धमा दिएको बहुप्रचलित परिभाषाका अनुसार मानिस शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक तवरले पूर्णरुपमा स्वस्थ तथा सवल रहनु र शरीरमा कुनै किसिमका रोगहरु नहुनु तथा रोगका कारण शारीरिक दुर्वलता नरहेको अवस्थालाई स्वास्थ्य अवस्था भनेको छ (A state of complete physical, mental and social wellbeing and merely the absence of diseases of infirmity) (Callahan, 1973)। सन् १९९७ मा Saraccl(Cited in Smith & Kelly, 2006) ले WHO को यस बहुप्रचलित परिभाषा माथि प्रश्न खडा गरे र आफ्नो सुझाव पेश गरे । मानिसको पूर्ण स्वास्थ्य अवस्था शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक तवरबाट प्राप्त हुने भन्दा उसले अनुभूति गर्ने खुशी, सुख तथा शान्ति अर्थात समग्रमा आनन्दसंग बढि सम्वन्धित हुन्छ । उनले आफ्नो परिभाषामा किटेर नभनेका भएतापनि थोरै भएपनि मानव जीवनको कल्याणमा आध्यात्मिक अभ्यास तथा गतिविधिहरुको महत्वपूर्ण भूमिका हुन्छ भन्ने सत्यतालाई बुझाउने प्रयास गरेका छन् । उनका अनुसार कुनैपनि मानिस भौतिक सुख–सुविधाहरुको उपयोग गरेर तथा औषधी उपचार गरेर ऊ सहजै स्वस्थ तथा रोगमुक्त हुन सक्छ तर यो आवश्यक छैन कि ऊ आनन्दित पनि छ । उनी अझ अगाडि तर्क गर्छन, सामान्यतया मानिसको आनन्द उसका दिन–प्रतिदिन भइरहेका सोच, भावना, रुची, सोख, व्यक्तिगत मूल्यमान्यता तथा जीवन जीउनुको अर्थसंग सम्वन्धित हुन्छन् जसले मानिसलाई आनन्दित हुन तथा नहुन प्रत्यक्ष रुपमा प्रभाव पारिरहेका हुन्छन् तर यस्ता विषयहरुले मानिसको स्वास्थ्यमा खासै नकारात्मक प्रभाव पारेका हुदैनन् । यसको अर्थ मानिस सवल तथा तन्दुरुस्त शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक अवस्थाबाट पूर्ण स्वस्थ हुन त सक्छ तर आनन्दित नहुन सक्छ । तर गहिराइमा बुझ्दा स्वस्थ हुनु र आनन्दित हुनु फरक अवस्था भएपनि यि दुवै विषयहरु मानव जीवनको समग्र कल्याण तथा आरोग्य  अन्तर्गत पर्दछन् । आरोग्य शव्दले फराकिलो अर्थ तथा परिभाषा समेट्दछ, यसले मानिसको दैनिक जीवनसंग सरोकार राख्ने उसका सुख, खुशी, शान्ति अर्थात समग्रमा आनन्द जस्ता अमुर्त अर्थात देख्न नसकिने आन्तरिक अवस्थाहरु देखि लिएर समग्र शारीरिक तथा मानसिक स्वास्थ्य जस्तो मुर्त अर्थात देख्न तथा सजिलै महसुस गर्न सकिने दुवै अवस्थाहरुलाई समावेश गर्दछ । तसर्थ हिजोआज विश्वव्यापी रुपमै आरोग्य पर्यटन र स्वास्थ्य पर्यटनलाई एकअर्काको परिपूरकका रुपमा प्रयोग गर्ने गरिन्छ, यि दुवै शव्दावलीहरुको समग्र सार तथा अवधारणा उस्तै-उस्तै हो । 

सन् २००५ मा Myers, Sweeney and Witmer ले मानिस शारीरिक, मानसिक, भावनात्मक, तथा आध्यात्मिक(आत्मगत) तवरले पूर्णरुपमा स्वस्थ तथा सवल रहनु पूर्ण स्वास्थ्य अवस्था हो भनेर स्वास्थ्यको परिभाषा गरेका छन् । यो परिभाषामा उनीहरुले किटेरै आत्माको समेत स्वस्थ तथा सवल अवस्था समावेश गरेका छन् । समग्रमा हेर्दा अहिलेसम्म गरिएका परिभाषाहरुमा यो परिभाषाले आरोग्य शव्दको वास्तविक अर्थलाई पूर्ण रुपमा समेटेको पाउन सकिन्छ । यसले मानिसको जीवनयापनलाई मानव समुदाय तथा प्राकृतिक वातावरणसंग जोड्दै मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य तथा सवल अवस्थासंगै आत्माको स्वास्थ्य तथा सवल अवस्थालाई पनि समेटेको छ । पछिल्लो चरणमा विश्व स्वास्थ्य संगठन WHO ले पनि स्वास्थ्यको परिभाषामा परिमार्जन गर्दै शारीरिक, मानसिक, भावनात्मक, सामाजिक लगायत आध्यात्मिक(आत्मा)को स्वस्थ तथा सवल अवस्थालाई समेत समावेश गरेको छ । 



आरोग्य  पर्यटन, स्वास्थ्य पर्यटन र औषधी उपचार पर्यटन 

Wellness Tourism, Health Tourism and Medical Tourism

मानव समाज जति पुरानो छ त्यति नै लामो इतिहास छ पर्यटन व्यवसायको र आज एक्काइसौं सताब्दीसम्म आइपुग्दा विश्वकै प्रमुख, उच्च प्रतिस्पर्धात्मक र सवभन्दा बढि आय आर्जन गर्ने र रोजगारी सिर्जना गर्ने उद्योगका रुपमा स्थापित भइसकेको छ (Khanal & Shimizu, 2019a)। पछिल्ला केही दशक यता पर्यटन व्यवसायमा हुँदै आइरहेको परम्परागत ढाँचामा विश्वव्यापी रुपमा उल्लेख्य परिवर्तन आएको छ र पर्यटन उद्योगमा नयाँ–नयाँ आयाम तथा व्यवसायहरुको पादुर्भाव भएका छन् र ति हुन् आरोग्य पर्यटन तथा स्वास्थ्य पर्यटन र औषधी उपचार पर्यटन । हाल विश्वव्यापी रुपमा पर्यटनका यि नयाँ मोडलका गतिविधिहरुको माग अत्यिधिक बढिरहेको छ, तिब्र गतिमा लोकप्रिय बन्दै गैरहेका छन् (Connell, 2011) र यस्ता पर्यटन व्यवसायहरुले विश्वव्यापि रुपमा महत्वपूर्ण सफलता हासिल गरिरहेको यससंग सम्वन्धित खोजका विभिन्न तथ्यांकहरुले देखाएका छन् । मानिसको जीवनशैली तथा दैनिक गतिविधिहरुमा आएको उल्लेख्य परिवर्तन, मनोरञ्जनका वैकल्पिक श्रोतहरुको खोजी, स्वस्थ जीवनशैलीका लागि स्वस्थ शरीर, मन तथा आत्मा हुनुपर्दछ भन्ने चेतनाको विकास, मानव जीवनको महत्वको बुझाई, शारीरिक सुगठन, तन्दुरुस्ती तथा सुन्दरता प्रति बढेको रुची, आय–आर्जनमा भएको वृद्धि, डिस्पोजेवल अर्थात उपयोग नगरे खेर जाने आर्थिक आय तथा घुमफिरका लागि दिइने विदा आदिका कारण हाल विश्वव्यापी रुपमा आरोग्य पर्यटन, स्वास्थ्य पर्यटन र औषधी उपचार पर्यटन तिब्र गतिमा लोकप्रिय रुपमा बढ्दै गैरहेका छन् (Khanal & Shimizu, 2019a


केही दशक यता विश्वव्यापी रुपमा पर्यटनका आयाम तथा किसिमहरु र पर्यटकीय गतिविधिहरुको दायरा उल्लेख्य रुपमा बढ्दै गएको तथा पर्यटनले बृहत दायरा समेट्ने भएकोले र विश्वका विभिन्न क्षेत्र, देश तथा संघसंस्थाहरुले स्थानीय रुपमा आ–आफ्ना उपलव्ध श्रोत–साधन तथा पर्यटकहरुको माग अनुसारका विषयवस्तुहरुलाई प्राथमिकता दिने भएकोले आरोग्य पर्यटन, स्वास्थ्य पर्यटन र औषधी उपचार पर्यटनको स्पष्ट परिभाषा गर्न त्यति सहज छैन । विश्वका विभिन्न क्षेत्र, मुलुक तथा संघसंस्थाहरुले सुदृढ स्वास्थ्य तथा सुधारोन्मुख जीवनशैलीका लागि गरिने आरोग्य पर्यटन (Wellness Tourism), सुदृढ स्वास्थ्यका लागि गरिने स्वास्थ्य पर्यटन (Health Tourism), रोग निवारणका लागि गरिने औषधी उपचार पर्यटन (Medical Tourism), र सुदृढ स्वास्थ्य तथा आरोग्यका साथै सुन्दरता तथा शारिरिक तन्दुरुस्तीका लागि गरिने स्नान चिकित्सा पर्यटन (SPA Tourism) लाई परस्पर रुपमा एकै अर्थ लाग्ने गरि अर्थात परिपूरकको रुपमा फरक अवधारणहरुका साथ प्रयोग गर्दै आइरहेका छन् (Melanie & Laszlo, 2009)। तर हाल केही वर्षयता विश्वव्यापी रुपमै औषधी उपचार पर्यटनलाई अलग किसिमको पर्यटकीय गतिविधिका रुपमा लिन थालिएको छ र आरोग्य पर्यटन तथा स्वास्थ्य पर्यटनलाई एकअर्काको परिपूरकका रुपमा प्रयोग गर्ने प्रचलन बढ्दै गएको पाइन्छ । आरोग्य पर्यटन तथा स्वास्थ्य पर्यटनको समग्र उदेश्य तथा अवधारणा लगभग एकै किसिमका छन्– सुदृढ स्वास्थ्य, सुधारोन्मुख जीवनशैली तथा सुख, खुशी, शान्ति, आनन्द हासिल गर्नु । हुनत औषधी उपचार पर्यटनको उदेश्य पनि शारीरिक तथा मानसिक स्वास्थ्य हासिल गर्नु नै हो तर यसका प्रक्रिया तथा मूल्य–मान्यताहरु आरोग्य पर्यटन तथा स्वास्थ्य पर्यटनका भन्दा अलि फरक छन् । आरोग्य पर्यटन तथा स्वास्थ्य पर्यटन पूर्वीय परम्परागत चिकित्सा पद्धति जस्तै आयुर्वेद चिकित्सा, प्राकृतिक चिकित्सा, चिकित्सकीय स्नान तथा होमियोपेथी चिकित्सा पद्धति, योग, ध्यान, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक भ्रमण आदिमा आधारित छन् भने औषधी उपचार पर्यटन पश्चिमा अत्याधुनिक स्वास्थ्य उपचार पद्धतिहरु जस्तै शल्यक्रिया, अंग प्रत्यारोपण, रासायनिक प्रकृतिका औषधीहरुको सेवन तथा एलोपेथीक चिकित्सा पद्धतिमा आधारित छन् (Khanal & Shimizu, 2019a) । स्पष्ट रुपमा बुझ्ने गरि भन्ने हो भने आरोग्य पर्यटन तथा स्वास्थ्य पर्यटनका लागि यात्रा गर्ने पर्यटकहरु बिमारी भएका हुदैनन् र उनीहरु सुदृढ स्वास्थ्य तथा सुधारोन्मुख जीवनशैली हासिल गर्ने उदेश्यले यात्रा गर्ने गर्दछन् भने औषधी उपचार पर्यटनका लागि यात्रा गर्ने पर्यटकहरु बिमारी हुन्छन्, उनीहरुको शरीर तथा मन रोगले ग्रस्त हुन्छ तथा स्वास्थ्य अवस्था दुर्वल हुन्छ र औषधी उपचार गरेर शरीर तथा मनलाई स्वस्थ बनाउन तथा आराम हासिल गर्ने उदेश्यले यात्रा गर्ने गर्दछन् (Khanal & Shimizu, 2019a) ।


Hall (1992) का अनुसार स्वास्थ्यमा सकारात्मक सुधार गर्ने मुख्य उदेश्य लिएर फुर्सदको समयमा आफ्नो वासस्थानबाट टाढाको यात्रा गर्नु स्वास्थ्य पर्यटन हो । (Staying away from home, health is the most important motive and done in leisure setting is Health Tourism)  । Hall ले स्वास्थ्य पर्यटनको विवरणमा हाल आरोग्य पर्यटन तथा स्वास्थ्य पर्यटन अन्तर्गत पर्ने सुढृढ स्वास्थ्य तथा सुधारोन्मुख जीवनशैली र सुन्दरता तथा शारीरिक तन्दुरुस्तीसंग सम्वन्धित सबै किसिमका गतिविधिहरुलाई समावेश गरेका छन् र औषधी उपचार पर्यटन (Medical Tourism) लाई यस अन्तर्गत समावेश गरेका छैनन् । तर उनको यो परिभाषा स्वस्थ तथा आनन्दित शरिर, मन, भावना तथा आत्माको अवधारणामा भने आधारित छैन । हाल बजारमा आरोग्य पर्यटन तथा स्वास्थ्य पर्यटन सम्वन्धि प्रसस्त पाठ्य सामग्रीहरु पाइन्छन् र ति मध्ये अधिकांश पाठ्य सामग्रीहरुले आरोग्य पर्यटन तथा स्वास्थ्य पर्यटन अन्तर्गत सुढृढ स्वास्थ्य र सकारात्मक तथा सुधारोन्मुख जीवनशैली हासिल गर्नका लागि गरिने सबैखाले गतिविधिहरुलाई समावेश गरेका छन् तर यस अन्तर्गत औषधी उपचार पर्यटनलाई समावेश गरेका छैनन् ।

Van Spielen (Cited in Hall, 1992) ले स्वास्थ्य पर्यटनको अलि फराकिलो परिभाषा दिएका छन्  र आरोग्य पर्यटनलाई यसैभित्र समेटेका छन् । उनका अनुसार स्वास्थ्य पर्यटन अन्तर्गत निम्न पाँच विषयहरु पर्दछन जो हालको आरोग्य पर्यटन बजारसंग धेरै हदसम्म मिल्दोजुल्दो रहेको पाउन सकिन्छ किनकी अवधारणा र विषयगत गतिविधिहरुको आधारमा स्वास्थ्य पर्यटन र आरोग्य पर्यटन एकअर्काका परिपुरक हुन् ।

१. रमाइलो तथा मनोरञ्नका लागि गरिने गतिविधिहरु – (Sun and Fun Activities)

२. स्वस्थ तथा सुधारोन्मुख जीवनशैलीका लागि गरिने गतिविधिहरु – (Healthy Life Activities)

३. सुदृढ स्वास्थ्यका लागि गरिने गतिविधिहरु – (Activities for better Health)

४. सुन्दरता, सुगठित शरीर तथा सुदृढ स्वास्थ्यका लागि गरिने चिकित्सकीय स्नान, मालिस जस्ता गतिविधिहरु – (SPA, Sauna, Massage for better Health)

५. औषधी उपचारका लागि गरिने गतिविधिहरु – (Medical Treatment Activities)


Van Spielen ले पहिलो नम्बरमा मानिसले घाम तथा प्राकृतिक वातावरणमा घुमफिर तथा रमाइलो गरेर सुदृढ स्वास्थ्य तथा आनन्द हासिल गर्न सक्छ भन्नेमा जोड दिएका छन् । दोस्रो नम्बरमा स्वस्थ तथा सुधारोन्मुख जीवनशैलीका लागि प्राकृतिक वातावरणमा गरिने गतिविधिहरु जस्तो ट्रेकिगं, हाइकिगं, माउन्टेनियरीगं, बन्जी जम्पिगं, साइक्लिगं जस्ता साहसिक खेल तथा गतिविधिहरुमा जोड दिएका छन् । यि गतिविधिहरुमा रोगबाट मुक्ति अर्थात स्वास्थ्य हासिल गर्नु प्रमुख उदेश्य नभई स्वस्थ तथा सुधारोन्मुख जीवनशैली हासिल गर्न प्राथमिकता दिइन्छ । तेस्रो नम्बरमा सुदृढ स्वास्थ्यका लागि गरिने गतिविधिहरु जस्तै फरक प्राकृतिक परिवेश तथा वातावरणमा गएर बस्ने र सुदृढ स्वास्थ्यका लागि अपनाइने प्राकृतिक चिकित्सा, आर्युवेद चिकित्सा तथा अन्य गतिविधिहरु जस्तै योगासन, प्राणायाम, ध्यान, जैविक तथा स्वच्छ खानपान आदिमा प्राथमिकता दिइन्छ । चौथो नम्वरमा सुन्दरता, सुगठित शरीर तथा सुदृढ स्वास्थ्य र तन्दुरुस्तीका लागि गरिने चिकित्सकीय स्नान, मालिस जस्ता गतिविधिहरुमा प्राथमिकता दिइन्छ । पाँचौं नम्वरमा शरिरमा लागेका अल्प तथा दीर्घ रोगहरुको निवारणका लागि गरिने औषधी उपचार जस अन्तर्गत शल्यक्रिया, अंग प्रत्यारोपण तथा एलोपेथीक औषधीहरुको सेवन जस्ता गतिविधिहरुलाई प्राथमिकता दिइन्छ ।


Info Venue (2020) का अनुसार हाल विश्वव्यापी रुपमा ठूलो संख्यामा सुदृढ स्वास्थ्य तथा सुधारोन्मुख जीवनशैली र औषधी उपचारकालागि एक ठाउँबाट अर्को ठाउँको पर्यटकीय यात्रा गर्ने प्रचलनले व्यापकता पाइरहेको सन्दर्भमा स्वास्थ्य पर्यटन तथा औषधी उपचार पर्यटन (Health Tourism and Medical Tourism) लाई एकअर्काको परिपुरकको रुपमा हेर्न थालिएको र यसै अन्तर्गत आरोग्य पर्यटनलाई समावेश गरिएको तथा यसैको एक अंशको रुपमा लिन थालिएको तर्क गरेको छ ।  Info Venue ले स्वास्थ्य पर्यटन तथा औषधी उपचार पर्यटनलाई निम्न चार प्रकारमा विभाजन गरेको छ– 

१. बिमारी तथा खराव स्वास्थ्य उपचार – Illness

२. सुदृढ स्वास्थ्य तथा सुधारोन्मुख जीवनशैली – Wellness

३. सौन्दर्य तथा तन्दुरुस्ती प्रवद्र्धन – Enhancement

४. गर्भधारण तथा प्रजनन् – Reproduction

Info Venue का पहिलो, दोस्रो र तेस्रो नम्वरका विवरणहरु प्राय सबै Van Spielen का विवरणसंग मिल्दाजुल्दा छन् र चौथो नम्वरमा भने यसले नयाँ अवधारणा समावेश गरेको छ– गर्भधारण तथा प्रजनन् । भौतिक विज्ञानमा आएको विकास तथा परिवर्तन संगसंगै यसले ल्याएका नकारात्मक प्रभाव तथा परिवर्तनहरुका कारण हाल गर्भधारण तथा प्रजननमा विश्वव्यापी रुपमा कठिनाई देखिदै आएको छ र यसको समाधानका लागि गर्भधारण गर्न तथा बच्चा जन्माउन चाहने दम्पतिहरु सम्पूर्ण रुपले स्वस्थ तथा सुरक्षित स्थानमा आरोग्य पर्यटकका रुपमा गएर निश्चीत समय बस्ने र गर्भधारण गर्ने तथा बच्चा जन्माउने प्रचलन विस्तारै बढ्दै गैरहेको छ । यो सत्य हो की भौतिक विज्ञानमा आएका विकास तथा परिवर्तनहरुले धेरै सकारात्मक प्रभावहरु पनि ल्याएका छन् र भौतिक विकासले नै यस्ता विकल्पहरुको खोजी गर्न धेरै अवसरहरु प्रदान गरेको छ । यसकासाथै हाल जन्मका आधारमा नागरिकहरुलाई आधारभूत लगायत अन्य सुविधाहरु दिने मुलुकहरुबाट भविश्यमा यस्ता सुविधाहरु लिने उदेश्यले अर्को क्षेत्र तथा मुलुकमा गएर बच्चा जन्माउने प्रचलन पनि व्यवहारमा आइरहेको देखिन्छ । यो प्रचलनलाई Info Venue ले औषधी उपचार पर्यटन अन्तर्गत गर्भधारण तथा प्रजनन् शिर्षकमा राखेको छ ।


आरोग्य पर्यटन (Wellness Tourism)

आरोग्य अर्थात Wellness शव्दले सुदृढ स्वास्थ्यका लागि अपनाउँदै आइएका स्वास्थ्य उपचारका बैकल्पिक परम्परागत विभिन्न किसिमका चिकित्सा पद्धतिहरु र योगका योगासन, प्राणायाम तथा ध्यान आदि आध्यात्मिक अभ्यास तथा साधना विधिहरु भन्ने बुझिन्छ (Koncul, 2012) । अधिकांश एशियन मुलुकहरुमा आरोग्य पर्यटन परम्परागत चिकित्सा पद्धतिहरु आयुर्वेद चिकित्सा, प्राकृतिक चिकित्सा, चिकित्सकीय स्नान, मालिस, स्थानीय जडीबुटीबाट उत्पादित औषधीहरु र आध्यात्मिक गतिविधिहरु योग तथा ध्यान आदि विशेष प्रचलनमा छन् । यि मुलुकहरुमा यि र यस्ता गतिविधिहरु परापूर्व कालदेखि नै महत्वपूर्ण दैनिक क्रियाकलापका रुपमा अवलम्वन गरिदै आइएका छन् । तसर्थ पूर्वीय संस्कृतिमा सामान्य अर्थमा स्वास्थ्यलाई शरीर तथा मनमा रोग नभएको अवस्थाको रुपमा परिभाषित गर्ने गरिन्छ र मानिसलाई कसरी रोग लाग्नबाट मुक्त गराउन सकिन्छ अर्थात किन स्वस्थ रहने र कसरी स्वस्थ तथा निरोगी रहन सकिन्छ भन्नेमा बढि सरोकार राखिन्छ नकी हाल २१ औं शताब्दीमा पश्चिमा मुलुकहरुमा अपनाइने स्वास्थ्य उपचार पद्धति जस्तो मानिस बिमारी भएपछि बल्ल स्वास्थ्य उपचार प्रक्रिया थाल्ने र अत्याधुनिक स्वास्थ्य उपचार पद्धति अपनाएर मानिसलाई स्वस्थ बनाउने प्रयास गर्ने (Boruchovitch & Mednick, 2002) जो सफल हुन पनि सक्छ र नहुन पनि सक्छ तर पूर्वीय चिकित्सा पद्धति अनुशरण गर्दा धेरै हदसम्म स्वस्थ तथा निरोगी रहन सकिने तथा शरीरमा रोग लाग्ने अवस्था नै नआउने थुप्रै तथ्याकंहरुले स्पष्ट पारेका छन् । यद्धपि हालका केही वर्षयता स्वास्थ्य उपचार गर्ने पश्चिमा मुलुकहरुको यो आधुनिक स्वास्थ्य उपचार पद्धति तथा शैलीको विरोध हुदै आएको छ र मानव कल्याणसंग सम्वन्धित सरोकारवालाहरुले मानिसको स्वास्थ्यमा खेलवाड नगरियोस र स्वास्थ्यका सम्वन्धमा पूर्वीय संस्कृतिमा जस्तो मानिसहरुलाई किन स्वस्थ रहने र कसरी स्वस्थ तथा निरोगी हुन सकिन्छ भन्ने स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सम्वन्धि गतिविधिहरु परम्परागत चिकित्सा पद्धतीहरु र योग तथा ध्यान जस्ता गतिविधिहरुमा जोड दिइनु पर्छ भनेर आवाज उठाइरहेका छन् । 


सामान्यतया आरोग्य पर्यटनका लागि यात्रा गर्ने पर्यटकहरु आफ्नो भइरहेको शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक अर्थात आत्मा/चेतनाको स्वस्थता तथा सवलता र जीवनशैलीमा अझ बढि सकारात्मक सुधार हासिल गर्ने मूल उदेश्यकासाथ एक क्षेत्रबाट अर्को क्षेत्रको यात्रा गर्ने गर्दछन् । हाल पर्यटनका विभिन्न आयाम तथा किसिमहरुमा चलिरहेको विश्वव्यापी व्यवहारगत प्रचलनलाई हेर्ने हो भने आरोग्य पर्यटन अन्तर्गत विशेषगरि शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा आध्यात्मिक अर्थात आत्मा/चेतनाको सुदृढ अवस्था तथा सुधारोन्मुख जीवनशैली अर्थात समग्रमा भन्नुपर्दा आध्यात्मिक उन्नतिका लागि योग, प्राणायाम तथा ध्यानका अभ्यास तथा साधनाहरु गर्ने गरिन्छ र यसका साथै खासगरि शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यका लागि आयुर्वेद चिकित्सा, प्राकृतिक चिकित्सा, प्राकृतिक भ्रमण, सामुदायिक तथा सांस्कृतिक भ्रमण तथा घुलमिल, स्थानिय उत्पादनबाट तयार गरिएका स्वस्थ तथा जैविक खानपान आदि क्रियाकलापहरु अपनाउने गरिन्छ भने शारीरिक सुन्दरता, शारिरिक सुगठन तथा तन्दुरुस्तीका लागि चिकित्सकीय स्नान (SPA, Sauna Bath, Aroma Bath), मालिस आदि क्रियाकलापहरु अपनाउने गरिन्छ । आरोग्य पर्यटन अन्तर्गत गरिने यि सबै गतिविधिहरु सनातनदेखि पूर्वीय संस्कृतिमा चल्दै आइरहेका छन् । उदाहरणका लागि दक्षिण एशियाका छिमेकि मुलुक श्रीलंका र भारतको केराला राज्य पूर्वीय संस्कृतिमा आधारीत आरोग्य पर्यटनका सबै किसिमका गतिविधिहरुका लागि विश्वमा प्रसिद्ध मानिन्छ । हालका दिनहरुमा श्रीलंका र भारतले आरोग्य पर्यटनको प्रसस्त सम्भावना भएका आफ्ना विभिन्न राज्य तथा क्षेत्रहरुमा आरोग्य पर्यटनको विकास तथा प्रवद्र्धन गर्ने र पर्यटकहरुलाई आरोग्य पर्यटनको सेवा–सुुविधा प्रदान गर्ने उदेश्यले केन्द्रिय तथा राज्य सरकार मिलेर दुवै तहबाट प्रभावकारी योजना, नीति, रणनीति, कार्यनीति तथा कार्ययोजनाहरु बनाएर आरोग्य पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारहरुको निर्माण र व्यवसायीहरुलाई प्रोत्साहन गर्न उल्लेखनीय कामहरु गरिरहेका छन् ।


अर्थतन्त्रको मूलश्रोत नै पर्यटन उद्योग भएको दक्षिण पूर्वी एशियाली मुलुक थाइल्यान्डले धेरै अघिदेखि आरोग्य पर्यटन प्रवद्र्धन सम्वन्धि प्रभावकारी दीर्घकालीन योजना तथा नीति बनाएर विश्वभरिबाट ठूलो संख्यामा पर्यटकहरु आकर्षित गरिरहेको छ । पूर्वी एशियाका विकसित मुलुकहरु चीन र जापान पनि आरोग्य पर्यटनको विश्व बजारमा अग्रपंति मै छन् । हिजोआज आरोग्य पर्यटन विश्वमै लोकप्रिय बन्दै गैरहेको र यससंग सम्वन्धित सबै किसिमका गतिविधिहरुमा पर्यटकहरुको उल्लेख्य माग बढिरहेको कारण आरोग्य पर्यटन फस्टाएका क्षेत्र तथा मुलुकहरुको आय तथा रोजगारीमा वृद्धि, स्थानीय वस्तुहरुको उत्पादन, विक्री–वितरण तथा यस सम्वन्धि उद्योग–व्यवसायमा उल्लेख्य रुपमा वृद्धि भएको देखाएको छ (Khanal & Shimizu, 2019a) । आरोग्य पर्यटनमा प्रशस्त सम्भावना रहेको हाम्रो मुलुक नेपालले यस क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेका यि छिमेकि मुलुकहरुबाट आरोग्य पर्यटनको विकास तथा प्रवद्र्धनमा धेरै कुराहरु सिक्न तथा तिनको अनुसरण गर्नुका साथै आवश्यक कार्यनीति तथा कार्ययोजनाहरु बनाएर ति मुलुकहरुसंग सहकार्य समेत गर्न सक्छ । 


हाल विश्वव्यापी रुपमा अपनाउँदै आइएका आरोग्य पर्यटनका अभ्यास तथा प्रचनलहरुलाई हेर्ने हो भने यस अन्तर्गत गरिने गतिविधिहरुमा पूर्वीय तथा पश्चिमा संस्कृतिमा केही विभेदहरु पाइन्छ । यसो हुनुमा केही हदसम्म सामाजिक तथा सांस्कृतिक, केही स्थानीय रुपमा उपलब्ध हुने साधन–श्रोत तथा केही वाह्य पर्यटकहरुको माग तथा रुची आदिको प्रभाव हुनसक्छ । आरोग्य पर्यटकहरुलाई सेवा प्रदान गर्न पूर्वीय मुलुकहरुमा पूर्वीय परम्परागत संस्कृतिमा आधारित पाँच हजार वर्ष भन्दा पुराना लोकप्रिय परम्परागत चिकित्सकीय पद्धतिहरु आयुर्वेद चिकित्सा, प्राकृतिक चिकित्सा, परम्परागत होमियोपेथी औषधीहरु, योग अर्थात यस अन्तर्गत योगासन, प्राणायाम, ध्यान आदिमा जोड दिइन्छ भने धेरै जसो युरोपियन तथा पश्चिमा मुलुकहरुले चिकित्सकीय स्नान (SPA and Sauna) तथा मालिस (Massage) आदिमा जोड दिदै आइरहेकाछन् (Khanal & Shimizu, 2019a) । तर समग्रमा यि सबै गतिविधिहरुकोे प्रमुख उदेश्य सम्पूर्ण रुपले मानिसलाई सुदृढ स्वास्थ्य, सुधारोन्मुख जीवनशैली अर्थात समग्रमा सुख, शान्ति, आनन्द तथा कल्याण प्रदान गर्नु नै रहेको पाइन्छ ।


आरोग्य पर्यटन र नेपालक सन्दर्भ (Wellness Tourism and Nepal)

भारतीय उपमहाद्वीपका मुलुकहरुमा आरोग्य पर्यटनको इतिहास निकै पुरानो छ । नेपाल लगायत यस उपमहाद्वीपका सबै मुलुकहरुमा लिखित प्रमाण सहित लगभग पाँच हजार वर्षदेखि मानिसको सुदृढ स्वास्थ्य तथा सुधारोन्मुख जीवनशैलीका लागि आयुर्वेद चिकित्सा, प्राकृतिक चिकित्सा, होमियोपेथी चिकित्सा पद्धतिहरु र योग तथा ध्यान अर्थात अध्यात्मका साधना तथा अभ्यासहरु लोकप्रिय छन् र निरन्तर चल्दै आइरहेको छ । त्यसबेला देखिनै विश्वभरिबाट पूर्वीय परम्परागत चिकित्सा पद्धति तथा अध्यात्ममा रुची राख्ने विधार्थी तथा सेवाग्राहीहरुले यसबाट निरन्तर लाभ लिइरहेका छन् साथै विश्वमा यि पद्धतिहरुलाई फैलाइरहेका छन् । यसको परिणाम स्वरुप परम्परागत पूर्वीय चिकित्सा पद्धती, योग तथा ध्यानका साधना तथा अभ्यासहरु आज विश्वभरि लोकप्रिय बन्दै गैरहेका छन् र यसको माग दिनप्रतिदिन बढिरहेको छ (Khanal & Shimizu, 2019a) । र पछिल्ला केही वर्षहरुमा नेपालले आरोग्य पर्यटनकालागि आउने पर्यटकहरुलाई उच्चस्तरको सेवा प्रदान गरिरहेको छ र यस क्षेत्रमा उल्लेख्य प्रगतिहरु पनि भैइरहेका छन्, यद्धपि यस क्षेत्रमा अझै धेरै कामहरु गर्न बाँकी रहेका छन् । नेपालमा आरोग्य पर्यटनमा अहिलेसम्म भएका तथा हुंदै आएका गतिविधिहरु लगभग सबै निजी क्षेत्रबाट संचालन गरिएका छन् तर यस क्षेत्रको सन्तुलित विकास तथा प्रवद्र्धनका लागि निजी र सरकारी दुवै क्षेत्रले आपसी सहकार्य गरि अघि बढ्नुको विकल्प छैन । नेपालको सन्दर्भमा प्रमुख रुपमा आरोग्य पर्यटनका लागि अति आवश्यक पूर्वाधारहरुको कमी, प्रदान गरिने सेवाको गुणत्मकतामा कमी, छिमेकी मुलुकहरुसंगको उच्च प्रतिस्पर्धा आदि मुख्य चुनौतीहरु रहेका छन् ।


आरोग्य पर्यटनमा नेपालका सम्भावनाहरु 
Prospects of Wellness Tourism in Nepal

केही दशकयता पर्यटकहरुको विविधता र उनीहरुको रुची तथा मागमा आएको भिन्नताका कारण आरोग्य पर्यटनको किसिम तथा दायरा विश्वव्यापी रुपमै फराकिलो बन्दै गैरहेको छ । आरोग्य पर्यटनको विकास एवं प्रवर्धनका लागि यो अत्यन्त सकारात्मक पक्ष हो । यसको दायरा जति फराकिलो बन्दै जान्छ उतिनै नेपाल जस्तो विकासशील मुलुकका लागि आरोग्य पर्यटनका सम्भावनाहरु त्यतिनै बढ्दै जान्छन् । नेपाल क्षेत्रफलको आधारमा सानो मुलुक भएपनि विविधतामा विश्वका कयौं मुलुक भन्दा निकै धनी तथा श्रोत–साधनले सम्पन्न मानिन्छ । यहाँको वातावरण जैविक, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, सामुदायिक, जातियता आदि विविधताले भरिपूर्ण भएको हुँदा र सनातनदेखि यि विविधताहरुले फरक–फरक विशेषता भएका परम्परागत प्रणालीहरु उदाहरणका लागि योग यस अन्तर्गत योगासन, प्राणायाम, ध्यान अर्थात समग्रमा भन्नु पर्दा अध्यात्म (Sharma, 2019) र चिकित्सकिय पद्धतिहरु आयुर्वेद चिकित्सा, प्राकृतिक चिकित्सा, होमियोपेथी चिकित्सा, विशेष किसिमका जडिबुटीहरु र यसमा आधारित चिकित्सा पद्धति, चिकित्सकीय स्नान, मालिस, साथै प्राकृतिक तथा सांस्कृतिक अवलोकन तथा भ्रमण, साहसिक यात्रा तथा खेलहरु, स्थानीय स्वस्थ खानपान आदिलाई निरन्तरता दिदै आएका छन् (Khanal & Shimizu, 2019a) । यि सबै परम्परागत विविधताहरुलाई आवश्यकता अनुसार प्राथमिकतामा राखेर तत्–तत् क्षेत्रहरुको विकास तथा प्रवद्र्धन गर्दै जान सकेको अवस्थामा नेपालमा आरोग्य पर्यटनका प्रशस्त सम्भावना रहेका छन् । 

पूर्वीय संस्कृतिमा प्रकृति, मानव, समुदाय, व्यक्ति र पर्यटनको गहिरो सम्वन्ध तथा सामिप्यता छ र यो आध्यात्मिकता संग बढि सम्वन्धित छ । नेपालमा आध्यात्मिक पर्यटनका लागि आवश्यक पर्यटकीय उत्पादनहरु (Spiritual Tourism Products) पर्याप्त छन् । तसर्थ नेपालमा आध्यात्मिक पर्यटनको सम्भावना र अवसरहरु प्रचुर मात्रामा रहेका छन् (Sharma, 2019)। आध्यात्मिक अवधारणाबाट नेपाललाई खोज गर्ने हो भने दर्जनौं वर्ष लाग्न सक्छ किनकी अत्यन्त गहिरा रहस्यहरु लुकेका छन् यहाँका आध्यात्मिक पर्यटकीय स्थल तथा वस्तुहरुमा । विषेशगरि नेपालमा पशुपतिनाथ, जिउँदो देवी कुमारी, मुक्तिनाथ, भगवान वुद्ध, लुम्विनी, पाथिभरा, छिन्नमस्ता, मनकामना, शालीग्राम शिला आदि आध्यात्मिक पर्यटनका खोजका लागि महत्वपूर्ण स्थल, देवी–देवता तथा वस्तुहरु मानिन्छन् । यि विभिन्न स्थलहरु केवल भौगोलिक मात्र नभएर यि संग जोडिएका कथा, भावना तथा आस्थाहरु पुरै विश्वलाई नै अचम्मीत पार्ने र यसमा उनीहरुको रुची बढाउने, मन छुने र स्यवं व्यक्तिले भ्रमण गरि अनुभव गरौंँ, बुझौं, देखौं जस्तो लाग्ने र मानिसको हृदयसम्म छुने विशिष्ठ प्रकृतिका छन् । हामीले अध्यात्मका यस्ता अलौकीक तथा अदभूत जानकारीहरु विश्व बजारमा पुर्याएर विश्वभरिका अध्यात्म प्रेमी योगी मनहरुलाई नेपालको आध्यात्मिक पर्यटनमा आकर्षित गर्न सक्छौं  (Sharma, 2019) 


नेपालमा औषधी उपचार पर्यटन (Medical Tourism) का लागि पनि प्रशस्त सम्भावना छन् तर हालका दिनमा यसको समुचित विकास तथा प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा प्रशस्त आर्थिक लगानी, दक्ष जनशक्ति, गुणस्तरीय अत्याधुनिक स्वास्थ्य उपकरणहरुमा आर्थिक लगानी गर्नुपर्ने र औषधी उपचार पर्यटन बजारमा प्रतिस्पर्धामा उत्रिन तथा बजारमा टिक्न विशेष किसिमको रणनीति, कार्यनीति तथा कार्ययोजनाहरुमा तत्काल काम गर्नु पर्ने हुनाले यस क्षेत्रमा सहज ढंगले अघि बढ्न धेरै चुनौतीहरुको सामना गर्नुपर्ने देखिन्छ । अहिलेको परिस्थितिमा नेपाल जस्तो विकासशील मुलुकका लागि औषधी उपचार पर्यटनको तुलनामा आरोग्य पर्यटनको विकास तथा प्रवद्र्धन गर्न सहज र छिटो हुने भएकोले यस क्षेत्रलाई बढि प्राथमिकतामा राख्नु उचित देखिन्छ र विस्तारै औषधी उपचार पर्यटनमा पनि काम गर्दै जानु पर्दछ ।


हाल नेपालले पर्यटकहरुलाई सेवा प्रदान गर्दै आइरहेका आरोग्य पर्यटनका प्रमुख क्षेत्रहरु:
१.आध्यात्मिक तथा धार्मिक क्षेत्रहरु
योगः योगासन, प्राणायाम, ध्यान
देवी–देवता, मन्दिर तथा गुम्वा 
धार्मिक महत्वका स्थल तथा बस्तुहरु

२. परम्परागत चिकित्सा पद्धतिहरु
आयुर्वेद चिकित्सा
प्राकृतिक चिकित्सा
होमियोपेथी चिकित्सा
–      मर्म चिकित्सा
हिमालयन जडिबुटी
चिकित्सकीय स्नान
मालिस

३. भ्रमण तथा मनोरञ्जनका क्षेत्रहरु
प्राकृतिक तथा सांस्कृतिक भ्रमण
साहसिक यात्रा तथा खेलकुद
स्थानीय रुपमा उत्पादित जैविक तथा स्वस्थ खानपान

मानिसको सुदृढ स्वास्थ्य तथा सुधारोन्मुख जीवनशैलीका लागि आरोग्य पर्यटनका माथि उल्लेखीत यि सबै क्षेत्रहरु उत्तिकै उपयोगी र महत्वपूर्ण छन् । तसर्थ यि सबै क्षेत्रहरुलाई बराबर प्राथमिकतामा राखेर संगसंगै विकास तथा प्रवद्र्धन गर्दै लैजानु आजको टडकारो आवश्यकता हो र यसकालागि निजी तथा सरकारी क्षेत्र दुवै पक्षको प्रभावकारी सहकार्यतामा जोड दिनु आजको प्रमुख आवश्यकता हो ।


सन्दर्भ सामग्रीः

Boruchovitch, E., & Mednick, B. R. (2002). The Meaning of Health and Illness: Some Considerations for Health Psychology. Psico-USF, 7(2), 175-183.

Callahan, D. (1973). The WHO Definition of 'Health'. The Hastings Center Studies, Vol. 1, No. 3, The Concept of Health (1973), pp. 77-87.

Connell, J (2011). Medical Tourism. Oxford shire, UK: CABI Publishers.

Hall, C.M., (1992). Advanture, Sports and Health Tourism. Belhaven Press, London, UK.

Info Venue. (2020). Medical tourism: Concept of Wellness and Health Tourism.  https://www.youtube.com/watch?v=Fgb0GZw2bwI

Khanal, B. & Shimizu, T. (2019a). Potential of Health Tourism Development in Nepal: Literature Review and Future View. Journal on Tourism and Sustainability. Volume 2 Issue 2 June 2019 ISSN: 2515-678.

Khanal, B. & Shimizu, T. (2019b). Strategies for Development of Yoga, Ayurveda, and Meditation-based Health Tourism in Nepal: Using SWOT Analysis. Journal of Tourism & Adventure (2019) 2:1, 85-107.

Koncul, N. (2012) ‘Wellness: A New Mode of Tourism’, Economic Research - Ekonomska istraživanja, Vol. 25 (2012) No. 2 pp. 525–535.

Melanie, S. & Puczko, L. (2009). Health and Wellness Tourism. 711 Third Aenue, NY, 10017, USA.

Myers, J. E., & Sweeney, T. J. (2005). Introduction to wellness theory. In J. Myers & T. Sweeney (Eds.), Counseling for wellness: Theory, research, and practice (pp. 7- 15). Alexandria, VA: American Counseling Association.

Nepal, R. (2022). Causes of Happyness and Regions of Happyness. Zoom Satsang Programs by Sadguru Ramesh Nepal on September 18 and 22, 2022. Jeevan Vigyan.

Sharma, B. (2022). Science of Happyness. Interview with Sadguru LP Bhanu Sharma by Sunday TV, UK. on April 23, 2022.   https://www.youtube.com/watch?v=8lIjFfIOv9c

Sharma, B. (2019). Spiritual Tourism in the Himalayas: HTM 2019 and Plenary Session 1. Paper Presentation by Sadguru LP Bhanu Sharma. PATA Nepal Chapter.     https://www.youtube.com/watch?v=dRK8b7QP5Co&t=409s

Smith, M. & Kelly, C. (2006). Wellness Tourism. Tourism Recreation Research, 31(1), 1-4, DOI: 10.1080/02508281.2006.11081241.

शर्मा, एल.पीभानु. (2021). व्यवस्थित सोचव्यवस्थित जीवन  अनलाइन, व्लगपोष्ट https://spirituality021.blogspot.com/2022/09/blog-post.html 


No comments:

Post a Comment