'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Saturday, 13 June 2026

संक्षिप्तमा बौद्ध दर्शनका शास्त्रहरु र ध्यान विधि (अन्तिम भाग)

डा. सिर्जना भण्डारी 



पृष्ठभूमि

प्रारम्भमा गौतम बुद्धका उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु सबै प्रवचन तथा देशनाहरुका माध्यमबाट चल्दै आइरहेका थिए, बौद्ध धर्म तथा दर्शनका कुनै प्रामाणिक शास्त्र तथा ग्रन्थहरुमा लिपिवद्ध गरेर संग्रहित र संरक्षित गरिएको थिएन । तथागत(परमसत्यमा एकाकार)गौतम बुद्धले प्रदान गरेका बौद्ध धर्मका सबै उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई बौद्ध संघका सदस्य तथा बौद्ध धर्मका अनुयायीहरुले कण्ठ गरेर आ–आफ्नो स्मृतिमा राख्ने गर्दथे । पुस्तौं–पुस्ता बौद्ध धर्मका शिक्षा, ज्ञान, विज्ञान, साधनाका विधि तथा पवित्र मन्त्रहरु केवल भिक्षुहरुको स्मृति र स्मरणमा जिवीत रददै आइरहेका थिए । लिखित रुपमा कुनै पनि बौद्ध शिक्षा तथा साधनाका विधिहरु संग्रहित नगरिएका कारण विशेष अवसरहरुमा बौद्ध धर्मका सबै शिक्षा, ज्ञान, विज्ञान, साधनाका विधि तथा मन्त्रहरु कण्ठाग्र पारेका क्षमतावान भिक्षुहरुले स्मरण गरेर मुखाग्र वाचन गर्नेगर्थे र परम्परा तथा संस्कृतिका कामहरु सम्पन्न गर्ने गरिन्थ्यो । इशापूर्व ४८३ मा ७९ वर्षको उमेरमा गौतम बुद्धको महापरिनिर्वाण भए पश्चात उनले आफ्नो जीवनकालभरि सक्रिय रहेर ४५ वर्षसम्म अरुलाई प्रदान गरेका उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु एकसाथ संग्रहित गरेर सुरक्षित राख्न र बौद्ध संघ, भिक्षु तथा अनुयायीहरुले आफ्नो जीवनशैली कस्तो बनाउने भन्ने सन्दर्भमा अनुशासनका नीति–नियमहरु निर्माण गर्न इशापूर्व ४८३ मा वरिष्ठ बौद्ध भिक्षु महाकश्यपको नेतृत्वमा पहिलो बौद्ध परिषद भेला डाकिएको थियो । पहिलो बौद्ध परिषदमा पहिलो पटक गौतम बुद्धद्वारा प्रदान गरिएका सबै उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु अरहन्त(निर्वाणमा उपलव्ध) बौद्ध भिक्षुहरुको स्मृति र स्मरणको माध्यामबाट एकसुत्रमा संग्रहित गरेर क्षमता भिक्षुहरुले आ–आफ्नो स्मृतिमा राखेर आवश्यक परेको अवस्थामा स्मरण गरेर मौखिक रुपमा वाचन गर्नेगरि तीन भागमा विभाजन गरियो र यस संग्रहलाई त्रिपिटक(तीनवटा बाकस तथा पाली क्यानन्) नामाकरण गरियो– (१)सुत्त पिटक, (२)विनय पिटक, र (३)अभिधम्म पिटक ।   


बौद्ध धर्मका शास्त्र तथा ग्रन्थहरु

तथागत गौतम बुद्धका शव्द, वाणी, वचन, उपदेश, देशना, पवित्र मन्त्र, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु सबै संग्रहित, संरक्षित र व्यवस्थित गर्नकालागि बौद्ध भिक्षुहरुको स्मृति तथा स्मरणको माध्यमबाट संकलन गरिएका संग्रहहरुलाई बौद्ध शास्त्र तथा ग्रन्थ भनिन्छ । भाषा तथा लिपिको आधारमा वर्तमान समयसम्म अनुशरण गर्दै आइराखिएका बौद्ध ग्रन्थहरुलाई तीन भागमा विभाजित गरिएको छ– (१)पालि भाषा तथा लिपि, (२)संस्कृत भाषा तथा लिपि, र (३)तिब्बती भाषा तथा लिपि । बौद्ध धर्म तथा दर्शनका मूल प्रवर्तक गौतम बुद्धको महापरिनिर्वाण पश्चात बौद्ध धर्म तथा दर्शनलाई व्यवस्थित ढंगले कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा ठोस निर्णय लिन इशापूर्व ४८३ मा डाकिएको पहिलो बौद्ध परिषदमा बौद्ध धर्म तथा दर्शनका सबै उपदेश, मन्त्र, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु अरहन्त भिक्षुहरुको स्मृति र स्मरणको सहयोगमा एकसुत्रमा संग्रह गरेर सुरक्षित गरिएको भएपनि यसलाई लिखित दस्तावेजमा सुरक्षित रहनेगरि लिपिवद्ध गरिएको थिएन । बौद्ध धर्म तथा दर्शनले पुस्तौं–पुस्तासम्म बौद्ध भिक्षुहरुको स्मृति, स्मरण र मुखाग्र वाचनका माध्यमबाट निरन्तरता पाउदै आइरहेको थियो । बुद्धत्व तथा सम्बोधिमा उपलव्ध भएपश्चात ४५ वर्षसम्म सक्रिय रहेर ७९ वर्षको उमेरमा गौतम बुद्धको महापरिनिर्वाण भएको करिव ५०० वर्षपछि पहिलो पटक इशाको पहिलो शताव्दीमा दक्षिण एशियामा बौद्ध धर्म तथा दर्शनका थेरवाद शाखाका अनुयायीहरुद्वारा बौद्ध धर्म तथा दर्शनको सबैभन्दा पहिलो, प्राचीन, प्रामाणिक, प्रमुख र सबैभन्दा ठूलो ग्रन्थ त्रिपिटक पालि भाषा लेखेर लिपिवद्ध गरिएको थियो । यो महान र दिव्य कार्य दक्षिण एशियाई देश श्रीलंकामा इशाको पहिलो शताव्दी(इशापूर्व ८० देखि २५ को विच)मा बौद्ध धर्म तथा दर्शनको मातृसंस्था तथा मूलशाखा थेरवादका अरहन्त भिक्षुहरुद्वारा ताडीको पातमा लेखेर संग्रहीत र सुरक्षित गरिएको थियो । 


बौद्ध दर्शनको त्रिपिटक महाग्रन्थ

पालि भाषा तथा लिपिमा लेखिएको बौद्ध धर्म तथा दर्शनको मूलग्रन्थ त्रिपिटक तीन भागमा विभाजित रहेको छ– (१)सुत्त पिटक, (२)विनय पिटक, र (३)अभिधम्म पिटक । बौद्ध धर्म तथा दर्शनको सबैभन्दा प्राचीन र प्रामाणिक शास्त्र तथा ग्रन्थ त्रिपिटकबाट नै बौद्ध धर्म तथा दर्शनका अरु शास्त्र तथा ग्रन्थहरु निसृत भएका हुन् ।
 

(१)सुत्त पिटक

सुत्त पिटकमा तथागत गौतम बुद्धले प्रदान गरेका मूल उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु उल्लेख गरिएको छ । बौद्ध धर्म तथा दर्शनको प्राचीन र प्रामाणिक ग्रन्थ सुत्त पिटकको संकलन बुद्धका सबैभन्दा नजिकका शिष्य अरहन्त भिक्षु आनन्दले गरेका थिए । सुत्तपिटक पाँच भाग तथा निकायहरुमा विभाजित रहेकोछ– 
(१)दीघ निकाय– यो लामा–लामा उपदेशहरु संग्रहित ग्रन्थ हो र यसमा समावेश गरिएका विषयहरु गद्य र पद्य दुवै तरिकाले लेखिएका छन् । महापरिनिर्वाण सुत्त दीघ निकाय अन्तर्गत पर्दछ । 
(२)मज्झिम निकाय– मध्यम लम्बाइ भएका उपदेशहरु संग्रहित गरिएको यस ग्रन्थमा महात्मा गौतम बुद्ध र जैनमूनि महावीर स्वमीविच भएको भेटघाट सम्वन्धि विषय उल्लेख रहेकोछ ।
(३)संयुक्त निकाय– छोटाछोटा उपदेशहरु संग्रहित गरिएको यस ग्रन्थमा हरेक व्यक्तिले आफ्नो परिवारप्रतिको कर्तव्य तथा उत्तरदायित्वको वर्णन रहेको छ ।
(४)अंगुतर निकाय– यस ग्रन्थमा गौतम बुद्धले दिएका उपदेशहरुलाई संख्याको क्रममा राखेर वर्णित गरिएको छ । 
(५)खुद्दक निकाय– छोटा–छोटा कविता, छन्द र कथाहरुको संग्रह रहेको यो ग्रन्थ विभिन्न भागहरुमा विभाजित रहेको छ– खुद्दकपद, धम्मपद, उदान, इत्युतक, सुत्तानिपाद, निभानाभातु, पेताभातु, थेरीगाथा, जातक कथा । यी भागहरु मध्य सबैभन्दा महत्वपूर्ण जातक कथा थेरी गाथा रहेकाछन् । जातक कथामा बोधिसत्व गौतम बुद्धका पूर्वजन्मसंग सम्वन्धित ५५० कथाहरु वर्णित रहेकाछन् । थेरी गाथामा महिला भिक्षुणीहरु द्वारा रचित ७६ बौद्ध गीतहरु संग्रहीत रहेकाछन् । बौद्ध धर्म तथा दर्शनको सबैभन्दा बढि पढिने प्रसिद्ध धम्मपद ग्रन्थ सुत्त पिटकको खुद्दक निकाय अन्तर्गत पर्दछ ।


(२)विनय पिटक

विनय पिटकमा बौद्ध संघमा प्रवेश गरेका तथा संघमा आवद्ध रहेका भिक्षु र भिक्षुणीहरुले पालन गर्नुपर्ने अनुशासन, बौद्ध मठ(मोनास्ट्री)हरुमा रहनेहरुको जीवनशैली र मठ संचालनका नियमहरु उल्लेख गरिएका छन् । बौद्ध धर्म तथा दर्शनको प्राचीन र प्रामाणिक ग्रन्थ विनय पिटकको संकलन बुद्धका सबैभन्दा प्रिय शिष्य अरहन्त भिक्षु उपालिले गरेका थिए । संघ व्यवस्थापनका नियमहरु अन्तर्गत केही अनिवार्य नियमहरु तोकिएका थिए– नयाँ सदस्य बौद्ध संघमा प्रवेश गर्ने प्रक्रियालाई उपसम्पदा भनिन्थ्यो, संघमा प्रवेश गर्न न्युनतम आयु १५ वर्ष तोकिएको थियो । महात्मा गौतम बुद्धले नै बौद्ध संघमा प्रवेश गरेपछि हरेक सदस्यको यसअघि रहदै आएको वर्ण, जात तथा पूरानो चिनारी पूर्णतः समाप्त हुने नियम बनाएका थिए । बौद्ध संघमा आवद्ध प्रत्यक भिक्षुले १० शील पालन गर्नु अनिवार्य थियो तर संघमा प्रत्यक्ष रुपमा समलग्न नभएका गृहस्थ भिक्षुहरुले पंचशील मात्र पालन गरेहुने छुटको व्यवस्था गरिएको थियो । बौद्ध संघका सबै निर्णयहरु प्रत्यक्ष रुपमा आवद्ध रहेका भिक्षुहरुको बहुमतबाट पारित हुन्थे । विनय पिटक तीन भागमा विभाजित रहेकोछ– (१)सुत्त विभंग, (२)संदक, र (३)परिवार ।

संदकका दुई भाग रहेकाछन्– (१)महा वग्ग, र (२)चुल्ल वग्ग । महा वग्गमा तथागत गौतम बुद्धको बुद्धत्वमा उपलव्धता तथा सम्बोधिमा एकाकार भएका विषयहरु समावेश गरिएका छन् । चुल्ल वग्गले विनय पिटकका अनुशासनका नियमहरु पालना गर्ने क्रममा बौद्ध भिक्षुहरुविच देखापरेका मतभेदको समन, धर्म सभा तथा परिषद आयोजनाका विषयहरुका बारे उल्लेख गरिएको छ । चुल्ल वग्गमा बौद्ध भिक्षुणीहरुको संघ र उनीहरुले पालन गर्नुपर्ने विनयका अनुशासनका नियमहरुबारे पनि उल्लेख रहेको छ । यस ग्रन्थका अनुसार प्रारम्भमा स्त्री, दाष, बिरामी र बेश्याहरुलाई संघमा प्रवेश गर्न रोक लगाइएको थियो संघमा अप्ठ्यारा अवस्था तथा मुस्किलहरु नआउन र संघको वातबरण शुद्ध र सहज बनिरहोस भन्ने उद्देश्यले तर आफूलाई हुर्काउने माता गौतमीलाई गौतम बुद्धले बौद्ध संघमा सामेल हुने अनुमति दिएपछि बौद्ध भिक्षुणीहरुको अलग संघ निर्माण हुन प्रारम्भ भएको थियो । 


(३)अभिधम्म पिटक
अभिधम्म पिटकमा गौतम बुद्धद्वारा भिक्षुहरुलाई प्रदान गरिएका बौद्ध धम्म तथा धर्मका लौकिक तथा परालौकिक विषयहरुसंग सम्वन्धित उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुका सैद्धान्तिक शिक्षण तथा व्यवहारिक अभ्यासका दार्शनिक व्याख्या तथा विश्लेषणहरु समावेश गरिएका छन् । विनय पिटक सात भागमा विभाजन रहेकोछ– (१)धम्म संगति, (२)विभंग, (३)धातु कथा, (४)पुग्गल पन्नति, (५)कथा वत्थु, (६)यमकतं, (७)पत्थान ।


बौद्ध दर्शनका अन्य महत्वपूर्ण ग्रन्थहरु

बौद्ध धर्म तथा दर्शनको प्रमुख सबैभन्दा प्राचीन ग्रन्थ त्रिपिटकबाट निसृत भएर पालि भाषा तथा लिपिमा अरु धेरै बौद्ध ग्रन्थहरु लेखिएका छन् । अन्य बौद्ध ग्रन्थहरुमा आथार्य बुद्धघोषद्वारा लेखिएको विशुद्धि मग्ग(विशुद्धि मार्ग) ग्रन्थ अत्यन्तै महत्वपूर्ण मानिन्छ । संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थहरुमा महायान सुत्र महायान सम्प्रदायका अनुयायीहरुका लागि अत्यन्तै महत्वपूर्ण रहेकोछ । यस ग्रन्थमा महायान सम्प्रदायका परम्पराबारे वर्णन गर्ने सदधर्म पुण्डरीक सूत्र अर्थात लोटस सुत्र, प्रज्ञापारमिता सूत्र आदि प्रमुख रहेकाछन् । महायान बौद्ध सम्प्रदायसंग सम्वन्धित रहेको संस्कृत भाषामा लेखिएको बौद्ध धर्म तथा दर्शनको अत्यन्तै लोकप्रिय ग्रन्थ ललितवस्तु अर्थात ललितविस्तर सूत्र सबैभन्दा महत्वपूर्ण रहेको मानिन्छ । इशाको तेस्रो शताव्दीमा विभिन्न श्रष्टाहरुद्वारा लेखिएको यस ग्रन्थमा गौतम बुद्धको जीवनी, चमत्कारिक कृत्य तथा लिलाहरु आदिको वर्णन गरिएका छन् । हिन्दु धर्म तथा सम्प्रदायका रामायण, महाभारत ग्रन्थहरु जत्तिकै महत्व रहेको मानिन्छ बौद्ध धर्ममा ललितविस्तर ग्रन्थको । गौतम बुद्धको जीवनी विनय पिटक अन्तर्गत पर्ने महावग्ग ग्रन्थमा पनि वर्णित रहेको पाइन्छ तर ललितविस्तारमा अझ विस्तारमा रहेकोछ । यसकासाथै ललितविस्तरमा मथुराशैलीमा निर्माण गरिएका बुद्धका मुर्तिहरुकाबारे पनि उल्लेख गरिएको छ । विदेशी लेखक एडविन अर्नोल्डले सन् १८७९ मा ललितविस्तर सूत्र ग्रन्थलाई मूल सन्दर्भ सामग्रीका रुपमा लिएर विश्व चर्चित पुस्तक ‘गौतम बुद्ध इज दि लाइट अफ एशिया’ लेखेका थिए । यो परिवर्तकारी पुस्तकको प्रकाशन पश्चात विश्वमा एशियाका महात्मा गौतम बुद्ध र उनले प्रवर्तन गरेको बौद्ध धर्म तथा दर्शनको चर्चा, प्रचार र विस्तार तिब्रगतिमा हुन प्रारम्भ भएको थियो । बौद्ध भिक्षु नागसेनद्वारा पालि भाषा तथा विपिमा लेखिएको मिलिन्दपन्ह(मिलिन्दको प्रश्न) बौद्ध धर्मको अर्को अत्यन्तै महत्वपूर्ण ग्रन्थ हो । यस ग्रन्थमा नागसेन र हिन्द–यूनानी(इन्डो–ग्रीक) राजा मिलिन्दविच भएका दार्शनिक वार्तालाप र प्रश्न–उत्तर श्रृंखलाका विषयहरु विस्तारमा समावेश गरिएका छन् । बौद्ध धर्मको थेरवाद शाखा अन्तर्गत रहेको महावस्तु ग्रन्थ महत्वपूर्ण रहेको छ । यो ग्रन्थ महायान सम्प्रदाय अन्तर्गत पर्ने विनय पिटकसंग सम्वन्धित रहेको छ र यस ग्रन्थलाई थेरवाद सम्प्रदाय र माहायान सम्प्रदायलाई एकआपसमा निकट ल्याउने सेतु(पुल)को रुपमा पनि मान्ने गरिन्छ । बौद्ध भिक्षु वसुमित्रद्वारा लिखित बौद्ध धर्म तथा दर्शनको विश्वकोषको मान्यता प्रदान गरिएको विभाषा ग्रन्थ अर्को अत्यन्तै महत्वपूर्ण ग्रन्थ हो ।  संस्कृत भाषा तथा लिपिमा लेखिएका बौद्ध धर्म तथा दर्शनका केही महत्वपूर्ण ग्रन्थहरु निन्नानुसार रहेकाछन्– संस्कृत भाषा तथा लिपिमा लेखिएको बुद्ध–चरित महाकाव्य; प्रसिद्ध बौद्ध दार्शनिक तथा कवि अश्वघोषद्वारा रचित संस्कृत महान महाकाव्य सौन्दरानन्द; नाटक शारीपुत्र प्रकरण, बज्रसूची आदि प्रमुख रहेकाछन् । कुषान राजा कनिष्कका राजकवि तथा सल्लाहकार महाकवि अश्वघोषद्वारा रचना गरिएका यी ग्रन्थका किर्तिहरुका कारण अश्वघोषलाई भारताका भोल्टेयर तथा महापंडित पनि भन्ने गरिन्छ ।     


पछिल्लो समयमा बौद्ध धर्म तथा दर्शनका महायान र बज्रयान शाखा अन्तर्गत विकास गरिएका नयाँ बौद्ध शास्त्र तथा ग्रन्थहरुले बौद्ध धर्म तथा दर्शनका नयाँ–नयाँ चमत्कारिक विषयहरु जोड्दै तथा उजागर गर्दैगए र उनीहरुले दावी गरे कि तथागत गौतम बुद्धले त्यतिबेलानै आफ्ना उच्च क्षमता भएका तथा ध्यान साधनामा गहिराइ हासिल गरिसकेका तथा आध्यात्मिक पात्रता तथा शिष्यत्वमा उपलव्ध भैसकेका शिष्य तथा भिक्षुहरुलाई ध्यान साधना विधिका गुप्त रहस्यहरु सिकाइसकेका थिए । जुन कुरा उनीहरुले गौतम बुद्धकै आदेश अनुसार अरु साधारण भिक्षुहरु समक्ष सार्वजनिक रुपमा बताएनन् र बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको १२०० वर्षपछि पूर्वी एशियाको तिब्वत हिमाली राज्यमा ध्यान साधनामा परिपक्व भैसकेका बौद्ध भिक्षुहरुले यस्ता प्रकारका गहन ध्यान साधनाका विधिहरु विकसित गरे र बौद्ध धर्म तथा दर्शनको नयाँ धार बज्रयानका रुपमा अस्तित्वमा आयो र स्थापित भयो । बज्रयान शाखाले गरेको दावी अनुसार यो रहस्यमय ज्ञान १२०० वर्षसम्म लुकाएर राखियो, धेरैपछि सिद्ध बौद्ध भिक्षुहरुको ध्यान साधनाको गहिराइ तथा समाधिमा प्रकट भयो जुन ज्ञान गौतम बुद्धले त्यतिबेलानै गहन आध्यात्मिक साधनाका लागि पात्रता पुगेका आफ्ना विशिष्ट शिष्यहरुलाई मात्र प्रदान गरेका थिए गोप्य रुपमा ।


 
यसपश्चतात बौद्ध धर्म तथा दर्शनका ग्रन्थहरु तिब्बती भाषा तथा लिपिमा पनि लेख्न प्रारम्भ गरियो । बज्रयान बौद्ध धर्मका अनुयायीहरुले यस जन्मभरि तथा जन्म–जन्मको जीवनभरिका सबै प्रकारका साधना र साधनाका उपलव्धिहरुलाई एकै जीवनमा समेट्न सक्ने गौतम बुद्धले प्रदान गरेका छिट्टै उपलव्धि हासिल गराउन सक्ने छुट्टै प्रकारको रहस्यमय ध्यान साधनाका विधिहरु रहेको दावी गर्दै आइरहेका छन् र यी विशिष्ठ ध्यान साधनाका विधिहरुको अनुशरणबाट यही जन्ममा, भौतिक शरीरमै रहेर अर्थात भौतिक शरीरको मृत्यु नभइकननै साधक निर्वाण तथा मोक्ष(इटरनल लिवरेसन) मा उपलव्ध हुनसक्छ र सदाकालागि जन्म र मृत्युको दुष्चक्रबाट माथि उठ्न सक्छ । 


बौद्ध धर्म तथा दर्शनको विपश्यना ध्यान विधि संक्षिप्तमा

बौद्ध धर्म तथा दर्शनमा अनुशरण गरिने लोकप्रिय ध्यान विधि विपश्यना हो । वि+पश्य+ना=विपश्यना तीन अक्षर तथा शव्दहरुको जोडबाट निर्मित भएको विपश्यना शव्दको शाव्दिक अर्थ विशेष दृष्टि तथा विशेष प्रकारले हेर्नु हो अर्थात जुन वस्तु तथा घटना जस्तो छ त्यही प्रकारले त्यसको वास्तविक रुप तथा गुण जानेर त्यसलाई हेर्नु तथा बुझ्नु विपश्यना हो । विपश्यना ध्यान विधिलाई सहज र व्यवहारिक रुपमा साक्षी ध्यान तथा आनापान सती ध्यानका रुपमा बुझ्ने गरिन्छ र यही रुपमा अनुशरण गर्दै आइराखिएको छ । सर्वप्रथम यी शव्दावलीहरुलाई विस्तारमा जान्ने प्रयास गरौं– ‘साक्षी’को अर्थ होसपूर्ण तथा होसपूर्वक हो; ‘आना’ को अर्थ भित्र आएको ‘श्वास’ हो; ‘पाना’को अर्थ वाहिर गएको ‘प्रश्वास’ हो; र ‘सती’ को अर्थ साक्षी रहनु हो । यसप्रकार विपश्यना तथा आनापान सतीको शाव्दिक र क्रियात्मक अर्थ तथा परिभाषा आएको र गएको श्वास र प्रश्वासलाई होसपूर्वक तथा साक्षी भएर स्मृति गरिरहनु तथा हेरिरहनु हो । 

विपश्यना तथा आनापान सती ध्यानका अवस्थाहरु(स्टेजेज)

(१)गणना तथा साक्षी हुनु

नाक+छाति+पेट (नासिका+हृदय+नाभी)लाई स्पर्श गर्दै निरन्तर घुमिरहने भित्र आएको ठण्डा श्वास र वाहिर गएको न्यानो प्रश्वासको आउने र जाने तथा फर्कने क्रियाको गतिलाई नबिराइकन निरन्तर होसपूर्वक तथा साक्षी भावमा रहेर गणना गर्दै हेरिरहने विधि गणना तथा साक्षी हुनु हो ।  


(२)फसना तथा समवेदना हेर्नु

श्वास भित्र आउदा आन्तिरिक रुपमा शरीरभित्र कताकता स्पर्श गर्दै आयो र प्रश्वास वाहिर जादा तथा फर्कदा कताकता स्पर्श गर्दै वाहिर निस्क्यो निरन्तर नबिराइकन त्यसको स्मृति गरिरहने विधि फसना तथा समवेदना हेर्नु हो । यस विधिमा श्वास भित्र आउदाको ठण्डाको समवेदना तथा अनुभूति र प्रश्वास वाहिर जांदा न्यानोपनको समवेदना तथा अनुभूति आफूलाई कस्तो भयो त्यसको स्मृति निरन्तर गरिराखिन्छ । सामान्य अवस्थामा प्राकृतिक रुपमा श्वास एक घण्टा एउटा नासिकाबाट चल्छ र अर्को घण्टा अर्को नासिकाबाट चल्छ । 


(३)थपना तथा स्थापना गर्नु
श्वास र प्रश्वासको गणना र त्यसको समवेदनाको स्मृतिमा मन तथा साक्षी भड्कीएको अवस्थामा जहाँबाट भड्कीएको हो फेरी त्यहींबाट प्रारम्भ गर्नु थपना तथा स्थापना गर्नु हो किनकी ध्यान साधनाको प्रारम्भमा ध्यान भड्कीरहन्छ, त्यसलाई साक्षी भएर फेरी फर्काएर स्थापना गर्नु पर्दछ र होसपूर्वक हेर्नु पर्दछ । जतिपटक मन भड्कीन्छ त्यतिनै पटक थपना तथा स्थपना गर्नु पर्दछ र होसमा रहनु पर्दछ ।


(४)अनुवन्धना तथा विचारशुन्य र स्थिर हुनु

गणना+फसना+थपना अर्थात साक्षी+समवेदना+स्थापनामा पूर्णतः निरन्तर साक्षी तथा होसमा रहने विधि अनुवन्धना तथा विचारशुन्य तथा स्थिर हुनु हो । कोहीपनि साधकमा यी माथि उल्लेखित अवस्थाहरुमा साक्षी रहनसक्ने साधनाको क्षमता विकास भएपछि मात्र अनुवन्धना तथा विचार शुन्यता अर्थात ध्यानको वास्तविक अवस्थामा स्थिर र स्थित हुन सकिन्छ । 

हरेक विचारहरुले साधकको उर्जा तथा शक्ति खर्च गर्दछन् तर विचार शुन्यताले उर्जा तथा शक्ति वचत गर्दछ । वचत भएको उर्जा तथा शक्तिले साधकको जीवनमा भित्र शान्ति र वाहिर प्रगति तथा समृद्धिको सकारात्मक अवस्था ल्याउछ तर विचारहरुले उर्जा तथा शक्ति खर्च गर्दा शरीर र मनमा पर्याप्त उर्जाको कमीका कारण साधकमा थकान र आलस्यता आउछ र ध्यान साधनामा अवरोध हुनपुग्छ । जति विचार कम हुन्छ उतिनै उर्जा तथा शक्ति वचत हुन्छ र यसले वाहिर प्रगति र भित्र शान्ति गराउछ । 


समाधिका चरणहरु(स्टेप्स) 

विपश्यना, साक्षी भाव तथा आनापान सती ध्यान साधना सहज भएपछि ध्यान साधनाको विशेष अववस्था तथा एक निश्चित गहनताको अवस्थामा साधकमा स्वतः समाधि घटित हुन्छ र उसको साधना प्रगतिउन्मुख हुन प्रारम्भ हुन्छ अर्थात साधकको आध्यात्मिक विकासको वास्तविक मार्ग खुल्न प्रारम्भ हुन्छ । समाधिमा चरणहरु निम्न प्रकारका रहेका छन्–
(१)क्षणिक– विचार चलिरहेको अवस्था । 
(२)उपचार– घरि विचार चलेको र घरि विचार शुन्य भएर ध्यान लागेको होकि जस्तो लाग्ने अवस्था ।
(३)अर्पणा– विचार शुन्यता भएको कारण ध्यान लागेको स्थिरतामा स्थित भएको अनुभव तथा अनुभूतिको अवस्था । 

मथि उल्लेखित ध्यान साधनाका सबै अवस्थाहरु र समाधिका सबै चरणहरु पार गरेपछि मात्र साधनाको फल प्राप्त हुन्छ र साधकको सांसारिक र आध्यात्मिक जीवनमा सकारात्मक परिणाम आउछ ।




No comments:

Post a Comment