'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Thursday, 11 June 2026

बौद्ध धर्मको विभाजन र मूलशाखाः थेरवाद-महायान-बज्रयान, भाग -३

डा. सिर्जना भण्डारी 


बौद्ध धर्मका तीन शाखा– थेरवाद, महायान, बज्रयाविच रहेका विभिन्नता

तीन प्रमुख शाखाका तीन भिक्षुहरु ध्यान साधनामा बस्छन्, परम्परावादी तथा स्थिरवादी थेरवाद बौद्ध भिक्षुहरु आफ्नो चेतनाको विकास गरेर केवल व्यक्तिगत मुक्ति तथा निर्वाणमा उपलव्ध हुन चाहन्छन् गौतम बुद्धका २५०० वर्ष पुराना शव्द, वचन तथा उपदेशहरुको हुबहु पालना गर्दै । नवीनतावादी महायान बौद्ध भिक्षुहरु प्रतिक्षा गर्छन्, आफ्नो मुक्ति तथा निर्वाणलाई जानिबुझिकन अस्वीकार गर्दछन् र आफू मुक्त हुनु तथा निर्वाणमा प्रवेश गर्नुअघि संसारका सबै जीवहरुलाई उनीहरुको सांसारिक दुःखबाट वाहिर निकालेर सबैको रक्षा गर्न चाहन्छन्, आफ्नो व्यवहारमा करुणा, सदभाव, सेवा प्रकट गरेर सबैलाई मुक्त गर्ने प्रयास गर्दछन् । बज्रयानी बौद्ध भिक्षुहरु रहस्यमय तथा चमत्कारिक ध्यान साधनाका विधिहरुको निष्ठापूर्वक अनुशरणको माध्यमबाट यही जन्मको यही जीवनमा शरीरको मृत्यु हुनुअघि सम्बोधि(परमात्मा)संग एकाकार हुन तथा परमचेतनामा उपलव्ध हुन चाहन्छन् । तर वास्तविकतामा अडिएर हेर्दा एउटै गुरु र एउटै धर्म, आस्था, आदर्श तथा दर्शनमा यस्तो अवस्था कसरी सम्भव भयो होला भन्ने सन्दर्भमा बौद्ध धर्म तथा दर्शनमा गरिएका पुरातात्विक खोजमा पत्ता लागेका विविधतामा आधारित ऐतिहासिक तथ्यहरुलाई आधार मानेर कल्पना गरेर हेरौं कि एक सिद्धगुरु आफ्ना तीन शिष्यहरुको सामुन्नेमा बसेको छ– पहिलो शिष्यको आध्यात्मिक पात्रता विचारेर शिद्धगुरु शिष्य समक्ष आँखा जुधाएर उसको सामुन्नेमा लाक्षणिक विषयहरु प्रकट गर्दछ आफू पनि उ जस्तै बनेर; हरेक विषयमा शिष्यको प्रतिक्रिया, प्रतिवाद र तार्किकता खोज्दछ; हरेक आध्यात्मिक विषय र मान्यताहरुप्रति चुनौति खडा गरिदिन्छ; र आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु जानेर, मेहनत लगाएर, तन–मनको साधनाको माध्यमबाट आफ्नो व्यक्तिगत चेतनाको विकास गर्ने कलाको तरिका सिकाउछ । दोस्रो शिष्यको आध्यात्मिक पात्रता विचारेर शिष्य समक्ष शिद्धगुरु चर्मचक्षु बन्द गरेर, मौनमा रहेर, शान्त भएर, करुणामयी बन्न प्रेरणा प्रदान गर्दै आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु सिकाउछ र मौनबाट नै गुरु र शिष्यको अन्तर–चेतनामा समुच्चा आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुबारे संवाद, विषयको गहिराइको बुझाइ, सम्झाइ स्वस्फुर्त रुपमा संचारित गर्दछ । तेस्रो शिष्यको आध्यात्मिक पात्रता विचारेर शिष्यका लागि शिद्धगुरु स्वयं अग्नि साधना गर्दछ; वैज्ञानिकतामा आधारित प्रामाणिक विधिहरु गरेर देखाउछ र निष्ठापूर्वक आफूमा अनुशरण गर्न सिकाउछ जसले शिष्यको मन तथा चित्तलाई पूर्णतः झकझक्याइ दिन्छन् र उसको चेतनामा जाग्रीतिमा ल्याइदिन्छ । 


फेरी कल्पना र मनन् गरौं कि के यो सिद्धगुरु अपरिपक्व थियो या अत्यन्तै वुद्धिमान, समझदार, हरप्रकारले परिपक्व र अनुभवी थियो कि भिन्न–भिन्न स्वभाव र मन तथा चित्तको तह तथा अवस्था भएका आफ्ना भिन्न–भिन्न प्रकारका शिष्यहरुको चेतना जागरणको ताल्चा खोल्न अलग–अलग प्रकारको साँचो तथा विधिको प्रयोग गर्यो । वास्तवमा गौतम बुद्ध थेरवाद, महायान, बज्रयान कुन मार्गको मनसाय राख्दथे भन्ने विषय महत्वपूर्ण होइन उनको मूल लक्ष्य महत्वपूर्ण थियो । आफ्नो लक्ष्य प्राप्तिका लागि शिद्धगुरु गौतम बुद्धले आफ्नो शिष्यको आध्यात्मिक पात्रता तथा सम्बोधि(परमात्मा)मा प्रवेशकालागि मुमुक्षा तथा परमात्मा साक्षातकारको प्यास अर्थात उसको शिष्यत्वको वास्तविक अवस्था जानेर शिष्यको तह र सक्षमता अनुसारको शिक्षा प्रदान गरेर उसको आध्यात्मिक विकास गराउन उसको चेतना जागरणमा मद्धत गर्दैगए । गौतम बुद्धले यसप्रकारले आफ्ना फरक–फरक आध्यात्मिक पात्रता भएका शिष्यहरुलाई उनीहरुले ग्रहण गर्नसक्ने गरि अलग–अलग किसिमले सम्बोधिको शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरे र शिष्यको आध्यात्मिक विकास तथा चेतना जागरणमा मद्धत गरेका कारणले नै आफ्नो शिद्धगुरु गौतम बुद्धबाट प्राप्त गरेका यीनै फरक–फरक प्रकारका फरक–फरक आध्यात्मिक तह भएका ज्ञान, विज्ञान तथा विधिका कारण सबै शिष्यहरुले फरक–फरक प्रकारले आध्यात्म विज्ञानलाई बुझे र फरक–फरक प्रकारले निर्वाणमा उपलव्ध भए । यसकारण बौद्ध धर्मका तीनवटै शाखाका परम्पराहरु बौद्ध धर्म तथा दर्शनको प्रामाणिकताको दावी गर्दछन् र माथि उल्लेखित तथ्यहरुका आधारमा उनीहरुका सबै दावीहरु सत्य छन्, असत्य दावी कसैले गरेका छैनन् किनकी उनीहरुले आफ्ना सिद्धगुरुबाट आध्यात्मिकताको शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु त्यसैप्रकारले अर्थात फरक–फरक प्रकारले ग्रहण गरेका थिए र ग्रहण गरिएको ज्ञान अनुसारनै उनीहरुमा अनुभव तथा अनुभूतिका स्मृतिहरु आए जो थेरवाद अनुशरण गर्ने शिष्यहरुले व्यक्तिगत चेतनाको विकासको रुपमा अनुभव तथा अनुभूति गरे; महायान अनुशरण गर्ने शिष्यहरुले करुणाको रुपमा अनुभव तथा अनुभूति गरे; र बज्रयान अनुशरण गर्ने शिष्यहरुले रहस्यमय अलौकिक शक्तिको रुपमा अनुभव तथा अनुभूति गरे । 


यही विविधताको विषयको गहनतालाई बौद्ध धर्म तथा दर्शनका नयाँ पुरातात्विक खोजहरुले समेत प्रामाणिक रुपमा पुष्टि गर्दै आइरहेका छन् र अनेक–अनेक अनुमान र दावी गर्नेहरुलाई अचम्मित र चकित पारिरहेका छन् । पुरातात्विक खोजका निष्कर्षहरुले गौतम बुद्धले आफ्ना फरक–फरक क्षमता भएका फरक–फरक शिष्यहरुलाई फरक–फरक प्रकारले नै आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरेको पुष्टी गरेका छन् र बौद्ध विचारधारा, आस्था, धर्म, आदर्श तथा दर्शन शुरुबाट नै विविधताले युक्त रहेका प्रामाणिकताहरु एजागर गरेकाछन् । फेला पारिएका तथ्यहरुका अनुसार शिद्धगुरु गौतम बुद्धका शिक्षा नै तीन प्रकारका थिए र उनले आफ्ना शिष्यहरुको आवश्यकता, अवस्था र सक्षमताको तह अनुसार आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरेका थिए । पुरातात्विक खोजहरुमा देखिए अनुसार कान्धारी, संस्कृत, पालि र अन्य भाषा तथा लिपिहरुमा लेखिएका प्राचीन बौद्ध ग्रन्थहरु तीनवटै मुख्य शाखा– थेरवाद, महायान, बज्रयानका परम्पराहरुसंग मेल खादैनन् । मेल नखाने अवस्थाले प्रष्ट रुपमा यो वास्तविकता उजागर गर्छकि शुरुबाट नै बौद्ध धर्मको आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुमा विविधता थियो र पुरातत्वविदहरुकै निष्कर्ष यस्तो रह्यो कि, “सायद बौद्ध धर्म, आस्था तथा दर्शनमा यसप्रकारको विविधताको अवस्था देखिनुको वास्तविकता यो हुन सक्छ कि गौतम बुद्ध स्वयंले अलग–अलग शिष्यहरुलाई उनीहरुको आध्यात्मिक पात्रता तथा सक्षमता अनुसार अलग–अलग तरिकाले नै शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरेका थिए तथा सिकाएका थिए । गौतम बुद्धले अध्यात्म विज्ञानका तार्किकतामा आधारित शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु ती शिष्यहरुलाई प्रदान गरेका हुन सक्छन् जसलाई व्यवस्थित सम्झाइको आवश्यकता थियो जो थेरवादीहरुमा प्रकट भयो; करुणामय दृष्टिकोण र यससंग सम्वन्धित आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु ती शिष्यहरुलाई प्रदान गरेका हुन सक्छन् जसलाई अरुको भलाई गर्ने सर्वकल्याणका तथा सेवाका कार्यहरु गर्न खटाइएको तथा प्रेरणा प्रदान गरिएको थियो जो महायानीहरुमा प्रकट भयो; र रहस्यमय परिवर्तनकारी अलौकिक आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु ती शिष्यहरुलाई प्रदान गरेका हुन सक्छन् जसमा उच्चस्तरको साधना ग्रहण गर्न सक्ने पात्रता तथा सक्षमता विद्यमान थियो जो बज्रयानीहरुमा प्रकट भयो ।”


समग्रमा यसरी बुझन सकिन्छ कि एक शिद्धगुरुले आफ्ना सबै शिष्यहरुलाई एकै प्रकारले आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु प्रदान गर्दैन तथा सिकाउदैन । गौतम बुद्धले आफ्नो आध्यात्मिक कर्मको निकै लामो समय ४५ वर्षमा विभिन्न स्वभाव, रुचि, आध्यात्मिक पात्रता तथा सक्षमता भएका शिष्यहरुसंग उठबस गरे । उनीहरुको स्वभाव, रुचि, आध्यात्मिक पात्रता तथा सक्षमता अनुसार नै बौद्ध धर्म तथा दर्शनको वास्तविक आदर्श सिकाए र बौद्ध धर्म तथा दर्शनका शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु प्रदान गरे । उनले एक सच्चा र उच्च अध्यात्म ज्ञान हासिल गरेको  शिद्धगुरुले आफ्ना सबै शिष्यहरुलाई ज्ञान प्रदान गर्न केवल एक मार्ग मात्र अपनाउदैन भन्ने विषयलाई प्रामाणिकता प्रदान गरे तथा पुष्टी गरे । यसकारण बौद्ध धर्मका तीन शाखाहरुले बौद्ध धर्मलाई अलग–अलग प्रकारले गरेको व्याख्यालाई भन्दा गौतम बुद्धले प्रदान गरेका सम्पूर्ण आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई तीन पुरक पक्षका रुपमा हेर्नु उत्तम हुन्छ र वास्तविक सत्य पनि यही नै हुनसक्छ बौद्ध धर्म तथा दर्शनका अनुयायीहरुमा फरक–फरक शिक्षाको अनुभव तथा अनुभूति स्मृतिमा रहनुमा– थेरवादको तटस्थता, महायानको करुणा, र बज्रयानको अलौकिक शक्ति किनकी यी सबै विषयहरु एकै असाधारण मन तथा चेतनाका अलग–अलग आयाम र अवस्थाहरु हुन् जसलाई अलग–अलग प्रकारले हेर्ने र अलग–अलग प्रकारले बुझ्ने तथा ग्रहण गरेर पछिल्ला नवीन पुस्ताहरुमा हस्तान्तरण गर्ने प्रयास गरियो ।


शाखा विभाजनकै कारण बनेको साझेदारी र निरन्तरता

प्रारम्भमा बौद्ध धर्म जसरी तीन शाखामा विभाजित भएको जस्तो र छरिएको जस्तो देखिएको थियो र टुक्रा–टुक्रामा विभाजित भएर पतन भएर जाने होकि भन्ने शंका लागेको थियो तर वास्तविकतामा यही विभाजित भएको तथा छरिएको अवस्था नै बौद्ध धर्म बचाउको प्रमुख रणनीति बन्यो विश्वव्यापी रुपमा । जव १२ औं देखि १४औं शताव्दीको विचमा मूलभूमि नेपाल र भारतबाट बौद्ध धर्म तथा दर्शन लगभग पतनको स्थितिमा पुगेको थियो त्यतिबेलासम्म बौद्ध धर्मका परम्पराहरु एशियाका विभिन्न देशहरुमा प्रचार र विस्तार भैसकेका थिए । बौद्ध धर्म तथा दर्शनका मौलिक प्राचीन शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुको संरक्षण र व्यवस्थापन गदै आइरहेको मातृ संस्था तथा थेरवाद शाखा दक्षिण एशिया र दक्षिण पूर्वी एशियामा विस्तार र स्थापित भैसकेको थियो । महायान पूर्वी एशियामा विस्तार र स्थापित भैसकेको थियो । गौतम बुद्धको महापरिनिर्वाण पश्चात बौद्ध धर्म तथा दर्शनको संरक्षण र व्यवस्थापन गर्न बोलाइएका बौद्ध परिषद भेलाहरुमा स्थिरतावादी तथा परम्परावदीहरुले विनय(भिक्षुहरुको अनुशासन) विपरित आचरण गर्ने भ्रष्टाचार भनेर घोषणा गरेर बहिस्कार तथा निकाला गरेको नवीनतावादीहरुको समुह महायान शाखा आफ्नै बलबुतामा खडा भयो, अस्तित्वमा आयो र पूर्वी एशियामा विस्तार भयो । वाहिरका देशहरुमा विस्तार भएकै कारण महायान शाखाले बौद्ध धर्म तथा दर्शनका परम्परा तथा संस्कृतिहरु मूलभूमिबाट लोप भएपनि विदेशी भूमिमा बचाइराख्न सफल भयो । वर्तमान समयमा बौद्ध धर्म तथा दर्शनमा सबैभन्दा बढि अनुयायीहरु महायान शाखामै रहेका छन् र विश्वका कुल जनसंख्याको ६८ प्रतिशत चीनमा मात्र रहेकाछन् सन् २०२१ को तथ्यांक अनुसार । पूर्वी एशिया चीनमा विस्तार भएको महायान शाखा मै स्थानीय रुपमा महान आध्यात्मिक सिद्धान्तहरु कन्फ्युसियस र तनावोवादका परम्पराहरुसंग घुलमिल भइ रुपान्तरण भएर पछि गएर जेन बौद्ध शाखा तथा जेन बुद्धिजमका रुपमा स्थापित भयो । जेन बौद्ध शाखामा लाफिगं बुद्धको परम्परा बढि अंगिकार गर्ने गरिन्छ । जेन बौद्ध धर्मले सबै मनुष्यहरुको अन्तर्यमा निर्वाणमा उपलव्ध हुनसक्ने क्षमता स्थित रहेको हुन्छ भन्ने मान्यतामा जोड दिदै आएको छ । यसकारण जेन बौद्ध धर्मले सबै कामहरुलाई ध्यान मान्दछ, वर्तमानमा रहेर होसपूर्वक तथा ध्यान लगाएर आफूले गरिरहेको काम गर, ध्यान लगाएर सोच–विचार गर, ध्यान लगाएर एकाग्र बन निर्वाणको मार्गमा स्वफूर्त रुपमा अग्रसर हनेछौ भन्ने उत्प्रेरणा प्रदान गर्दछ आफ्ना अनुयायीहरुलाई । जेन बौद्ध धर्मले यिनै मान्यताहरुलाई अंगिकार गर्दै विश्वव्यापि रुपमा बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । बज्रयान शाखा पूर्वी एशियाको उच्च हिमाली राज्य तिब्बतमा विस्तार र स्थापित भैसकेका थियो । तिब्बतमा आएको विषम राजनीतिक शंकट तथा उतार–चढावको परिस्थितिमा बज्रयान बौद्ध धर्मलाई ती पिढीहरुको माध्यमबाट संरक्षित गरियो जो चीनिया कम्युनिष्टहरुको दमनमा परेर राजनीतिक उथल–पुथलका बाबजुद आफ्नो ज्यान बचाउन सफल भएका थिए । वर्तमान समयमा बज्रयान बौद्ध धर्मका बडागुरु तथा वरिष्ठ भिक्षु दलाई लामा विगत ६५ वर्षदेखि भारतमा निर्वासित जीवन बिताउदै विश्वभरि बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार गरिरहेका छन् ।


एकै गुरुका शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुको अनुशरण गर्ने क्रममा मत विभाजन भएर प्रादुर्भाव भएका बौद्ध धर्म तथा दर्शनका प्रमुख तीन शाखाहरु– थेरवाद, महायान, बज्रयानले बौद्ध धर्म तथा दर्शनको संरक्षण, निरन्तरता, विकास, प्रचार र विश्वव्यापी विस्तारमा अत्यन्तै महत्वपूर्ण साझेदारीको भूमिका निर्वाह गरे । थेरवाद शाखाले गौतम बुद्धको वास्तविक शिक्षा तथा उपदेशहरु र बौद्ध धर्म तथा दर्शनका सबैभन्दा पुराना ग्रन्थहरुलाई सुरक्षित राख्यो; महायान शाखाले बौद्ध धर्म तथा दर्शनलाई मूलभूमि नेपाल र भारतबाट वाहिर दक्षिण एशिया, मध्य एशिया, दक्षिण पूर्वी एशिया, पूर्वी एशियाका देशहरुमा पुर्यायोे, प्रचार–प्रसार र विस्तारमा अत्यन्तै महत्वपूर्ण योगदान र भूमिका निर्वाह गर्यो । बज्रयानले तिब्बत र चीन् विच भएको विषम राजनीतिक उतार–चढाउमा पनि प्राचीन बौद्ध परम्परालाई पूर्वी एशियाको हिमाली राज्य तिब्बतदेखि यूरोप, अमेरीकासम्म विश्वभरि विस्तार गर्न सफल भयो । वर्तमान समयमा पनि बौद्ध धर्म तथा दर्शनका तीनवटै शाखाहरुको प्रचार–प्रचार र विस्तार विश्वभरि हुदै आइरहेको छ र बौद्ध धर्म वैश्विक दर्शनका रुपमा विश्वमा स्थापित भएको छ । वैश्विक दर्शनका रुपमा विश्वमा स्थापित भएको कारण विश्वका ठूला–ठूला विश्वविद्यालाय र विद्यालयहरुमा बौद्ध दर्शनको पाठ्यक्रम समावेश गरेर पढाउन समेत प्रारम्भ गरिएको छ । बौद्ध धर्ममा शाखा विभाजनका हुनुपूर्व बौद्ध परिषदहरुले कठोर नियम बनाएर मतभेद र विभाजन रोक्न चाहान्थे तर यिनै विविधताहरुले २५०० वर्षदेखि वर्तमान समयसम्म विभिन्न प्रकारका सामाजिक, साम्प्रदायिक, रानीतिक, भौगोलिक, प्राकृतिक विषमताका उतार–चढावहरुबाट बौद्ध धर्मलाई पूर्ण रुपमा पतन हुनबाट बचाएर रखे र विश्वभरि विस्तार गरे । प्रमुख तीन शाखाका यिनै विभाजित परम्पराहरुले बौद्ध धर्म तथा दर्शनलाई उत्पत्ति भएको क्षेत्र नेपाल र भारतबाट लोप तथा पतन भएपनि वाहिरको भूमिमा बचाएर राखे र यिनै वाहिरी क्षेत्रहरुबाट वर्तमान समयमा राजनीतिक तथा भू–राजनीतिक अवस्थाहरु असहज भएका कारण फेरी उत्पत्ति भएको मूलभूमि नेपाल र भारतमा पुनरागगमन भएको छ र विस्तारै फैलिदो क्रममा रहेकोछ ।


विभाजित मध्य कुन शाखा चाहिं सहि र प्रामाणिक हो ?

विगत लामो समयदेखि बौद्ध धर्म तथा दर्शनका तीन अलग–अलग शाखाहरु– थेरवाद, महाया, बज्रयान आ–आफ्नो परम्परा र संस्कृति अनुसार आ–आफ्नो प्रामाणिकताको दावी गर्दै र एकले अर्को शाखासंग असहमति तथा विमति राख्दै विश्वका विभिन्न क्ष्ँेत्रहरुमा निरन्तर चल्दै तथा अगाडि बढ्दै आइरहेका छन् । थेरवाद शाखाले कठोर नियमहरु अनुशरण गरेको तर महायान शाखा बढि नवीनता केन्द्रित, युग सान्दर्भिक रुपान्तरण उन्मुख र लचिलो भएको कारण पछिपछि यो शाखामा धेरै विभाजनहरु आए । यसरी धेरै शाखा–उपशाखाहरुमा विभाजन आउनुको कारण देश–विदेशका फरक–फरक प्रकारका स्थानीय संस्कृति, परम्परा, भू–गोल, राजनीति, समाज, प्रकृतिहरुसंग सामन्जस्यता कायम गर्नु पर्ने बाध्यताका कारण थियो । महायान शाखामा विभाजनहरु आएका भएपनि ती सबै शाखाहरु बौद्ध धर्म तथा दर्शनको मूलसार तथा मूलमर्मलाई कायम राखेर चलिरहेका थिए । यस्तै विभाजनका देखिएका कारण यस सन्दर्भमा अधिकांश मनुष्यहरुले बारम्बार सवाल उठाउने तथा जिज्ञासा राखिरहने गर्दछन् कि कि कुन बौद्ध धर्म तथा दर्शनको कुन शाखा चाहिं सहि र प्रामाणिक हो भनेर । बौद्ध धर्म लगायात संसारका अरु मनुष्यहरुको मा–मस्तिष्कमा समेत यस सवालमाथि विगत १७०० वर्षदेखि बहस चल्दै आइरहेको छ । थेरवादी अरहन्त भिक्षु तथा गुरुहरुक दावी गर्दै आइरहेका छन् कि महायानीहरुको सुत्त गौतम बुद्धको वास्तविक शव्द, शिक्षा, वाणी तथा उपदेशहरु होइनन्, ती सबै महायानीहरुले पछि आफैंले आफ्नो अनुकुल हुनेगरि निर्माण गरेका नयाँ शास्त्रहरु हुन् । महायनी भिक्षु तथा गुरुहरु थेरवादले निरन्तरता दिरहेका बौद्ध शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुलाई शुरुआती तथा प्रारम्भिक शिक्षाको रुपमा हेर्दछन् जसले गौतम बुद्धले प्रदान गरेका सबै शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुलाई पूरै समेट्दैनन् र पूरै गहिराइसम्म पुग्दैनन् । अर्कोतिर बज्रयानी भिक्षु तथा गुरुहरु थेरवाद र महायान दुवै शाखाले अनुशरण गर्दै तथा निरन्तरता दिदै आइरहेका बौद्ध शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुलाई सुस्त गतिका ठान्दछन् र गौतम बुद्धले प्रदान गरेका गहन र वास्तविक आध्यात्मिक ज्ञान, विज्ञान तथा साधनाका विधिहरु भन्दा पछाडि रहेको मान्दछन् । बौद्ध धर्म तथा दर्शनका तीन प्रमुख शाखाहरु विचका यी विचारात्मक मतभेदहरु आज पनि रहदै र्आका छन् तर एकआपसमा त्यतिविधि दुस्मनी तथा कटाक्ष भने छैन उनीहरुको विचमा । बौद्ध मार्गीहरु चाहे जुनसुकै सम्प्रदाय तथा शाखाका हुन् एकआपसमा मेलमिलाप गरेर, शान्त भएर, सौहार्दपूर्ण भावले एकसाथ रहन्छन्, एकले अर्कोलाई अछुत मान्दैनन्, दुश्मन ठान्दैनन् किनकी परम्परा जसरी चलाएको भएपनि समग्रमा बौद्ध धर्म तथा दर्शनको मूलमर्म तथा मूलसार शान्ति, सदभाव र करुणा हो र यसलाई तीनवटै प्रमुख शाखा र अन्य नयाँ शाखा तथा उपशाखाहरुले पनि अनुशरण गर्दै आइरहेका छन् । थेरवाद र महायानका बौद्ध भिक्षुहरु एकै सम्मलेनमा एकसाथ सामेल हुन्छन्, एकअर्काको ग्रन्थ पढ्छन् । बज्रयानका दलाइ लामा थाइल्याण्डको थेरवाद बौद्ध गुम्बामा दर्शन गर्न जान्छन् । तीनवटै शाखाका बौद्ध मार्गीहरु अन्तरराष्ट्रिय सभा सम्मेलनहरुमा मूलमर्ममा एकता राखेर प्रसन्नता र सदभावका साथ सम्मिलित हुन्छन् किनकी उनीहरुको विचमा भएका यी मतभेदहरु ऐतिहासिक र दिमागी हुन्, भौगोलिक तथा राजनीतिक र एकले अर्कोलाई जित्ने तथा पराजित गर्ने लडाइ होइनन् ।


गौतम बुद्धको महापरिनिर्वाणको तीन महिना पश्चात बौद्ध धर्म तथा दर्शनमा बुद्धले प्रदान गरेका उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई संरक्षण र व्यवस्थापन गर्न इशापूर्व ४८३ मा आयोजना गरिएको पहिलो बौद्ध परिषद भेलाले अरहन्त(निर्वाणमा उपलव्ध) बौद्ध भिक्षुहरुका अनुभव तथा अनुभूतिहरुका स्मृतिहरु सामुहिक रुपमा संकलन गर्यो र व्यवस्थित बनाएर संरक्षण प्रदान गर्यो । यस महान कार्यबाट बौद्ध धर्म तथा दर्शन यसका संस्थापक गौतम बुद्धको महापरिनिर्वाणपछि पनि उही ढंगले निरन्तरता पाउन सफल भयो । बौद्ध परिषदका अनुसार संरक्षणको अर्थ सबै बौद्ध अनुयायीहरुलाई एक समान बनाउनु, सबैले एक समान नियमको पालना गर्नु, सबैले एकै प्रकारका ग्रन्थहरुको पाठ गर्नु भन्ने थियो । कुनै संस्कार तथा परम्पराले आफूलाई कडाइकासाथ अनुशासनमा राख्ने प्रयास गर्यो भने ढिलो चाँढो त्यो हराएर तथा पतन भएर जानसक्छ किनकी यसले आफूभित्र युग सान्दर्भिक हुनेगरि समयक्रमसंग आएका बदलावहरु अनुशरण गर्नसक्ने लचिलोपन गुमाउछ र नयाँ पुस्ताका अनुयायीहरुको साथ, सहयोग र समर्थन पनि गुमाउछ । त्यस्तै कुनै पनि संघ तथा संस्थामा कठोरपन र लचिलोपन चाहिने भन्दा बढि भयो भने परम्परा विक्रित हुदै जान्छ, अनुशासन भत्किदै जान्छ, विभाजनहरु बढ्दै जान्छन्, इतिहासका घटनाहरुले यस्तै तथ्यांकहरु देखाएउदै आएकाछन् । तत्कालीन समयमा ठिक यस्तै अवस्था आएको थियो बौद्ध धर्म तथा दर्शनका नीति–नियमहरु के–कस्ता बनाउने र कसरी तिनलाई सबैकालागि व्यवहारिक हुने किसिमले पालन गर्ने भन्ने सन्दर्भमा । यसको परिणाम स्वरुप पहिलो बौद्ध भेलामा देखिएका मतभेदहरुलाई जसोतसो सामनजस्यतामा ल्याएर संघमा एकता राखिएको भएपनि एक शताव्दीपछि इशापूर्व ३८३ मा आयोजना गरिएको दोस्रो बौद्ध परिषदले बौद्ध संघमा एकता कायम राख्न सकेन, स्थिरता र नवीनताविच मतभेद भएका कारण संघ दुई मत  तथा दुई शाखामा विभाजन भयो । पुराना पुस्ताका बौद्ध भिक्षुहरु परम्परामा स्थिरता र अनुशासनमा कठोरता चाहन्थे तर नयाँ पुस्ताका बौद्ध भिक्षुहरु युग सुहाउदो रुपान्तरण तथा सुधार चाहान्थे । आफ्नो धर्म तथा दर्शनमा दुवै शाखाहरुको समान आस्था, श्रद्धा, समर्पण भएको भएतापनि खासगरि विनय(भिक्षुहरुको अनुशासन) कस्तो बनाउने र यसको पालन कसरी गर्ने भन्ने सन्दर्भमा स्थिरता चाहने र नवीनता चाहने भिक्षुहरुको विचमा मतभेद आएको कारण बौद्ध संघ दुई शाखामा विभाजित भएको थियो र यस विषयका जानकारहरुको मत अनुसार यस सन्दर्भमा प्रामाणिकताको सन्दर्भ त्यति जोडिदैन दुवै शाखा प्रामाणिक हुन् किनकी दुवैलले निष्ठापूर्वक गौतम बुद्धले प्रदान गरेका वचन, उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई अनुशरण गर्दै अझ विकसित बनाउदै आइरहेका छन् । 



वैश्विकरणको कसीमा बौद्ध धर्मका चुनौती, चिन्ता र चिन्तन्

वर्तमान समयमा बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार भैरहेको र वैश्विक धर्म तथा दर्शनको रुपमा स्थापित हुनेक्रममा गहन तथा समवेदनशील सवाल खडा भएको छ । के वैश्विकीकरणका कारण बौद्ध धर्म तथा दर्शनमा आएका नवीन रुपान्तरणहरुका विच बौद्ध धर्म तथा दर्शनका प्राचीन सभ्यता, परम्पराहरुले आ–आफ्ना पचिान बचाएर राख्न सक्लान र तिनले निरन्तरता पाइरहन सक्लान ? उदाहरणका लागि बज्रयान बौद्ध धर्म विगत ६५ वर्षदेखि आफ्नो सांस्कृतिक तथा पारम्परिक भूमिबाट काटिएको छ र आफ्नो मूलभूमिमा फर्कन छटपटाइरहेको छ, त्यसैगरि पश्चिमी मुलुकहरुमा विस्तार भएका बौद्ध धर्मका परम्पराहरु उक्त क्षेत्रका स्थानीय परम्परा तथा संस्कृतिहरुको प्रभाव कस्तो पर्छ र भविश्यमा के–कस्तो फेरबदल आउछ र कसरी निरन्तरता पाउछ । यस गहन सवालको जवाफले बौद्ध धर्म तथा दर्शन र यसका अनुयायीहरुको आध्यात्मिक भविश्य कस्तो हुनेछ भन्ने कुरा तय हुन्छ । २००० वर्ष भन्दा बढि समयदेखि बौद्ध धर्मका तीनवटै शाखाका परम्पराहरु तुलनात्मक रुपमा आ–आफ्नो बुझाइ अनुसार एक निश्चित सीमाभित्र विकसित हुदै आइरहेका छन् तर वर्तमान समयमा आधूनिक विश्वका विकास र प्रविधिका नवीनताहरुले यी प्राचीन सीमाहरुलाई तोडिसकेका छन् । आज एउटै ध्यान शिविरमा बौद्ध धर्मका तीनवटै शाखाका शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु एकसाथ सिकाउन र सिक्न थालिएको छ । यो अवस्थाले बौद्ध धर्ममा उच्चतम विकास ल्याइरहेको कि सम्भावित पतनतिर उन्मुख गराइरहेको छ भन्ने विषय निकै गहन र पेचिलो बन्दै गैरहेको छ । किनकी तीनवटै शाखाहरु आ–आफ्ना भिन्न परम्परा, संस्कार, संस्कृतिका बाबजुद आफ्नो धरोहर साझा रुपमा संसार सामु प्रस्तुत गरिरहेका छन् । तीनवटै शाखाहरुले बौद्ध धर्म तथा दर्शनका सबै आदर्शहरु– चार आर्यसत्य, अष्टांगीक मार्ग, धम्मपद, त्रिरत्न, त्रिशिक्षा, त्रिपिटक आदि सहर्ष स्वीकार गर्दछन् र सम्बोधि(निर्वाण तथा परमात्मा साक्षातकार)लाई चेतनाको पूर्ण परिवर्तन तथा उच्च विकासको रुपमा देख्दछन् तथा मान्दछन् । वर्तमान समयसम्म आइपुग्दा तीनवटै शाखाहरुमा युग सान्दर्भिक धेरै रुपान्तरणहरु देखिएका छन् । थेरवादको व्यक्तिगत चेतनाको विकास र मुक्तिको धारणा तथा मान्यताको मतलव यो होइन कि साधकमा अरुप्रति करुणा छैन; त्यस्तै महायानको बोधिसत्वले व्यक्तिगत चेतना विकास र निर्वाणको आदर्शलाई वेवास्ता गर्दैन; र बज्रयानको तान्त्रिक विधिहरुले बौद्ध धर्मको मूलपथलाई छोड्दैन जुन थेरवाद र महायानले प्राचीनकालदेखि नै निरन्तरता दिदै आइरहेका छन् । हरेक शाखाका परम्पराहरुले पूर्ण आध्यात्मिक यात्राका सबै पक्षहरुमा जोड दिन्छन् अलग–अलग प्रकारले र एकसाथ लिएर अगाडि बढिरहेका छन् । एक शाखाको परम्परा अनुसार प्रशिक्षित भएका गुरु तथा प्रशिक्षकहरु अर्को परम्पराका गुरुहरुबाट ज्ञान, विज्ञान सिकिरहेका छन् र वर्तमान समयमा सबै बौद्ध मार्गी साधक तथा अनुयायीहरु मतभेद र भौगोलिक सिमाना तोडेर तीनवटै शाखाका अलौकिक विषयहरुको गहन अध्ययन र साधना गर्दै आइरहेका छन् । 


तर पछिल्लो चरणमा हुदै आइरहेको यो मिश्रण तथा अन्तरघुलनले गंभिर चुनौति, चिन्ता र चिन्तनका सवालहरु खडा गरिदिएको छ र पारम्परिक बौद्ध गुरुहरु यो अवस्थाबाट निकै भयभित भएकाछन् । किनकी सहि समझ नभइकन एउटा शाखाको परम्परा अर्को शाखाको परम्परासंग मिलाउदा त्यसको प्रभावकारिता कम हुनसक्छ । एक परम्परामा गहन प्रयोगात्मक अभ्यासबाट प्राप्त भएको आध्यात्मिक गहिराई अर्को परम्पराबाट सतही ज्ञान लिएर त्यसको सैद्धान्तिक र व्यवहारिक तथा प्रयोगात्मक अभ्यास गर्दा प्रभावकारिता कम हुदै गएर विस्तारै लोप भएर जानसक्छ । यस गहन सवालको जवाफ कुन परम्पराको मुन साधना विधि चुनाव गर्ने भन्नेमा नभएर गुरु र शिष्य तथा साधम र अनुयायीहरुको बुझाइमा रहेको छ । हरेक शाखाका परम्पराहरुमा कुनै खास उद्देश्य प्राप्त गर्नकालागि विशिष्ट प्रकारका विद्या र साधनाका विधिहरु विकसित गरिएकाछन्– थेरवादको स्पष्टता र व्यक्तिगत अन्तरदृष्टिमा उत्कृष्ट छ; महायनले अरुको सहजताको लागि विकसित गरेको करुणाको भाव उत्कृष्ट छ; बज्रयानले छिटो आन्तरिक विकास, परिवर्तन तथा उपलव्धि हासिल गर्नकालागि अनुशरण गरेको परिष्कृत विधि उत्कृष्ट छ । बौद्ध धर्मका यी तीन प्रमुख शाखाहरु एकअर्काका प्रतिस्पर्धी दृष्टिकोण होइनन् बरु पूर्ण आध्यात्मिक शिक्षाका पारस्परिक चरणहरु हुन् । यही विषयको सेरोफेरामा सबैको मन–मस्तिष्कमा बारम्बार उठिरहेको सवाल यो हो की जव बौद्ध धर्म तथा दर्शनका यी प्राचीन ज्ञानका परम्पराहरु आधूनिक विश्वका परिवर्तित सोहरुसंग र नवीनतासंग मिल्छन् तव के यिनले आफ्नो गहनता, महत्व, परिवर्तनकारी शक्ति बनाइरहन तथा टिकाइरहन सक्छन् ? यो सवाल बौद्ध धर्म तथा दर्शन र सम्भवतः मानव बुद्धिको भविश्यको सवालको विषय अगाडि आइरहेको छ ए.आइ. अत्याधूनिक प्रविधिको सन्दर्भलाई आपसमा जोडेर । 


तर परम्परावादी बुझ्रुक बौद्ध भिक्षुहरु बौद्ध धर्ममा यस्तो स्खलन चाहदैनन् यसकारण उनीहरु आल्नो धर्मको मूलमर्म, आस्था, परम्परा र सैदान्तिक तथा व्यवहारिक रुपमा प्रयोगात्मक अभ्यास तर्फ फर्किरहेका र अरुलाई फर्कन प्रेरित गरिरहेका छन्, सबैकालागि सहज हुने व्यवहारिक उपायहरुको खोजीकालागि तत्परता देखाइरहेका छन् ताकि सबै जीवहरुको अवस्था अनुसार उनीहरुलाई सांसारिक दुःखबाट वाहिर निकालेर सदाकालागि दुःखबाट मुक्ति हुन मद्धत गर्न सकियोस् । गौतम बुद्धको वास्तविक शिक्षाको मूल भाव यस्तै थियो– मार्ग स्वयंले नै आफ्नो लक्ष्य र गन्तव्य बनाउछ, वास्तविक सत्य आफैं खोज्छ चाहे थेरवादको अनुशासनबाट होस, चाहे महायानको करुणाबाट होस, चाहे बज्रयानको शक्तिशाली परिवर्तनबाट होस सबै शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुले साधकलाई एकै स्थानमा पुर्याउछन् किनकी तीनवटै शाखाका भिक्षुहरु अलग–अलग विधिहरु अंगालेर अलग–अलग किसिमले साधना गरिरहेका छन् तर सबैको लक्ष्य एउटै हो जसरी पहाडको टुप्पामा बनाइएको स्तुपासम्म पुग्ने बाटाहरु चारै दिशाबाट अलग अलग हुन्छन् त्यसैगरि सबै जीवनको अन्तिम लक्ष्य निर्वाणमा उपलव्ध हुनु तथा बोधिसत्वमा एकाकार हुनु नै हो विधिहरु जुनजुन अनुशरण गरिए पनि । हरेक साधकले साधनाको विधि आफ्नो स्वभाव अनुसार आफूलाई अनुकुल हुनेगरि गर्दछ । यी तीन मूल शाखाहरु मध्य कुन कुन शाखाका परम्पराहरु आफ्नो स्वभावसंग नजिक हुन्छ र आत्मासंग जोडिन्छ– थेरवादको स्पष्ट मार्ग कि, महायानको असीम करुणाको मार्ग कि, बज्रयानको परिवर्तनकारी शक्तिको मार्ग 



छिट्टै,
बौद्ध धर्म तथा दर्शनका लिपिबद्ध गरिएका शास्त्रहरु

No comments:

Post a Comment