Need of Women Entrepreneurship Development in Nepal
डा. सिर्जना भण्डारी
१. पृष्ठभूमि (Background)
जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरूको हक, अधिकार सुनिश्चित गर्दै राष्ट्र निर्माणको हरेक तहमा महिलाको समान सहभागिता गराउन, महिलाको आर्थिक उन्नति, सामाजिक प्रतिष्ठा तथा सम्मान प्रवद्र्धन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयले बि.सं. २०७३ मा राष्ट्रपति महिला उत्थान कार्यक्रम संचालनमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत विशेषतः विपन्न तथा अनौपचारीक क्षेत्रमा कामगर्ने युवा तथा प्रौढ महिलाहरुको आर्थिक सशक्तीकरणमा विशेष जोड दिदै निम्न दुईवटा महत्वपूर्ण कार्यक्रम घोषणा गरिएको छः
- राष्ट्रपति जीविकोपार्जन सुधार कार्यक्रमः गाउँ तथा शहरका विपन्न र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नु यस कार्यक्रमको मूल लक्ष्य रहेको छ ।
- राष्ट्रपति युवा महिला उद्यम कार्यक्रमः उद्यमशीलताको माध्यमबाट महिलाको श्रम, सीप, नेतृत्व तथा कौशल विकास गर्ने कार्यक्रमहरु संचालन गरी नेपाली महिलाको आर्थिक सशक्तीकरण गर्नु यस कार्यक्रमको मूल लक्ष्य रहेको छ ।
कुनैपनि समाज तथा राष्ट्रको समग्र विकासकालागि महिलाहरुको आर्थिक तथा सामाजिक विकास हुनु आवश्यक छ र यसकालागि महिला उद्यमशीलता विकास तथा प्रवद्र्धन प्रभावकारी माध्यम बन्न सक्छ । केही दशकयता भू–मण्डलीकरण, आर्थिक उदारीकरण, विज्ञान–प्रविधि तथा सुचना–प्रविधिको विकास, शहरीकरण, औद्योगीकीकरण, महिलाहरुको शैक्षिकस्तर तथा चेतनास्तरकोे वृद्धिसंगै उद्यम–व्यवसायमा युवा तथा प्रौढ महिलाहरुको सहभागीता उल्लेख्य रुपमा बढीरहेको छ र नेपालमा महिला उद्यमशीलताको आवश्यकता र महत्व पनि बढ्दै गएको छ । तर यस क्षेत्रलाई व्यवस्थित ढंगबाट अघि बढाउन नसकिएकोकारण समाज तथा राष्ट्रको समग्र विकासमा महिला उद्यमशीलता क्षेत्रबाट जति योगदान पुग्न सक्थ्यो त्यति हासिल गर्न सकिएको छैन । महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनका सम्पूर्ण अवसर तथा सम्भावना र यसका चुनौतीहरु पहिचान गरी व्यवस्थित तथा योजनावद्ध ढंगबाट अगाडि बढ्नसके मुलुकको समग्र विकासमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ । एक दशक यता उद्यम–व्यवसायमा युवा तथा प्रौढ महिलाहरुको सहभागीता बढाउनकालागि सरकारका जिम्मेदार निकायहरु र नीजि क्षेत्रले अनुकुल नीति तथा योजना निर्माण, लगानीकालागि पूंजीको व्यवस्था, उद्यमशीलता पाठ्यक्रम विकास, सीप विकास तालिम, क्षमता तथा नेतृत्व विकास प्रशिक्षण, चेतना अभिबृद्धि आदिमा उल्लेख्य पहल तथा प्रयास गरेका छन् तर महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनकालागि गरिएका यि प्रयासहरु वास्तविक धरातलीय आवश्यकता अनुसार अपर्याप्त एवं प्रभावकारी नभएको र कार्यान्वयनमा तदारुपता नआएकोकारण महिला उद्यमशीलता विकासको गति सुस्त ढंगबाट अघि बढिरहेको छ ।
महिला उद्यमशीलता विकासको गति तिब्र तथा परिवर्तनकारी बनाउनकालागि सर्वप्रथम- यस क्षेत्रका अवसर तथा सम्भावनाहरु र समस्या तथा चुनौतीहरुको पहिचान गरी दिगो समाधानकालागि सम्वन्धित क्षेत्रका विशेषज्ञ तथा अनुभवीहरुसंग बृहद छलफल र परामर्श गर्दै कार्यान्वयनमा खरो उत्रिनु सक्नु पर्दछ । दोस्रो- सरकार, नीजि क्षेत्र र नागरिक समाजको सामुहिक पहलमा महिला उद्यमशीलताको आधारभूत अवस्था र आवश्यकताको अनुसन्धानात्मक विस्तृत अध्ययन गरी उपयुक्त तथा प्रभावकारी रणनीति तथा कार्ययोजनाको बृहत खाका बनाएर ७५३ वटै स्थानीय सरकारको सहकार्य र सक्रियतामा मुलुकभरीका टोल–टोल तथा गाउँ–गाउँका महिलाहरुलाई उद्यम–व्यवसायमा सहभागी हुन प्रोत्साहन र सहुलियत प्रदान गर्नुपर्दछ । नेपालको सन्दर्भमा, कृषि, वन, पर्यटन, जलश्रोत र खनिज विकासका प्रमुख आधारभूत श्रोत भएको र नेपालमा संचालित अधिकांश (खासगरी महिलाद्वारा संचालित) लघु, घरेलु तथा साना उद्योगहरु यिनै श्रोतमा आधारित भएकोले यस्ता उद्यम–व्यवसायहरुको दिगो विकासकालागि यसका सम्भावनाहरु, श्रोतको पर्याप्त उपलब्धता, उत्पादन तथा प्रशोधनका प्रक्रियाहरु, सीप तथा क्षमता विकास तालिम, उत्पादनमा नयाँपन, मौलिक तथा आधुनिक प्रविधिको विकास, उत्पादनको गुणस्तर निर्धारण, आन्तरिक तथा अन्तरर्राष्ट्रिय बजार प्रवद्र्धन र बजार व्यवस्थापन आदिमा विशेष पहल गर्दै अघि बढ्नु पर्दछ ।
२. उद्देश्यहरु (Objectives)
राज्यले अंगीकार गरेको समृद्ध नेपालः सुखी नेपाली आकांक्षा प्राप्तिकालागि महिला उद्यमशीलता क्षेत्रको दिगो विकास हासिल गर्न निम्न विशिष्ट उद्देश्य राखेर अघि बढ्नु पर्छः
- महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनकालागि वर्तमान आवश्यकता र माग अनुकुल हुनेगरी आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा व्यापक नीतिगत सुधार गर्दै जाने,
- स्थानीय सरकारहरुसंग सहकार्य गरी महिला उद्यमशीलता विकासका विशेषज्ञ तथा अनुभवीहरुको सल्लाह र सहयोगमा महिला उद्यमशीलता विकासमा तात्विक परिवर्तन ल्याउन सक्ने रणनीति तथा कार्ययोजना निर्माण गरी स्थानीय स्तरमा यथाशिघ्र कार्यक्रम अगाडि बढाउने,
- स्थानीय सरकारहरुको सक्रियतामा स्थानीय विद्यालय तथा विश्वविद्यालय तहका विद्यार्थीहरुलाई परिचालन गरी दुर्गम क्षेत्रमा बसोबास गर्ने विपन्न महिलाहरु र अनौपचारीक क्षेत्रमा काम गर्ने महिलाहरुको वास्तविक अवस्था, प्रतिभा पहिचान, उद्यम–व्यवसाय शुरुगर्न सहयोगको आवश्यकता र चुनौतीहरुको पहिचानकालागि अनुसन्धानात्मक सोधकार्य गर्ने,
- महिलाहरुलाई संगठित रुपमा बलियो बनाउन र उद्यम–व्यवसाय सहज ढंगबाट सुचारु गर्न सहकारी समुह (ऋण तथा वचत, उत्पादक, उपभोक्ता), स्वयं सहायता समुह, महिला उद्यमी समुह, साना किसान समुह आदि गठन गर्ने,
- उद्यम–व्यवसायमा युवा तथा प्रौढ महिलाहरुको सक्रिय सहभागीता गराउन विद्यालय तथा विश्वविद्यालयकालागि उद्यमशीलता पाठ्यक्रम विकास, उद्यम दर्ता प्रणालीमा सहजीकरण, लगानी सुरक्षाकालागि विमा व्यवस्था, उत्पादकत्व बढाउन प्रविधि सहायता, बजारीकरण आदिमा सुनिश्चितता प्रदान र विचौलियाहरुलाई निस्तेज गर्ने,
- महिला उद्यमशीलता विकास तथा प्रवद्र्धन अभियानको प्रभावकारी कार्यान्वयन र प्रगतीकालागि आवधिक प्रगती विवरण लिने, र निरीक्षण, सुपरीवेक्षण तथा मूल्यांकनका उचित उपायहरु अपनाउने,
- महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको दिगो बजार प्रवद्र्धनकालागि बहुउद्देशिय कलाग्रामहरुको निर्माण गर्ने,
- महिला उद्यमीहरुलाई हौसला प्रदान गर्न आवधिक मेला तथा प्रर्दसनीहरुको आयोजना र विभिन्न शिर्षकमा उत्कृष्टताका आधारमा पुरस्कृत गर्ने ।
३. विषयगत मुद्दाहरु (Subjective Issues)
महिला उद्यमशीलता विकास तथा प्रवद्र्धन अभियानका निम्न विषयगत मूद्धाहरुमा निरन्तर बहस तथा छलफल हुनु पर्दछः
- विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत युवा महिला विद्यार्थीहरुलाई नियमित पाठ्यक्रमसंगसंगै उद्यमशीलताको पाठ्यक्रम पढाइ उनीहरुलाई उद्यमी तथा आत्मनिर्भर हुनसक्ने सीप प्रदान,
- महिला उद्यमशीलतालाई उच्च प्राथमिकता दिई यसबारे बृहद अध्ययन तथा अनुसन्धान,
- गाउँ तथा शहरका विपन्न तथा अनौपचारीक क्षेत्रमा कामगर्ने महिलाहरुको वास्तविक अवस्था, आवश्यकता र चुनौतीहरुको पहिचान,
- अवसर नपाएका दुर्गम क्षेत्रका अशिक्षित तथा अनौपचारिक क्षेत्रमा काम गर्न बाध्य महिलाहरुलाई सीप तथा क्षमता वृद्धि तालिम तथा प्रशिक्षण कार्यक्रम प्रदान तथा पेशा छनौटकालागि सल्लाह तथा सुझाउ प्रदान,
- उद्यम–व्यवसाय शुरुगर्नु अघि महिलाहरुको आत्म–विश्वास र नेतृत्व क्षमता बढाउने खालका पूर्वतयारी प्रशिक्षण कार्यक्रमहरु संचालन,
- आर्थिक रुपले विपन्न महिलाहरुलाई उद्यम–व्यवसाय शुरुगर्न पर्याप्त आर्थिक सहयोग प्रदान,
- स्थानीय क्षेत्रमा उपलब्ध साधन–श्रोत र तिनमा आधारित उद्यम–व्यवसायको अवसर तथा सम्भावना अध्ययन,
- प्रारम्भिक चरणमा स–साना महिला समुह गठन गरी लघु, घरेलु तथा साना उद्यम विकास तथा प्रवद्र्धनमा जोड,
- विना दर्ता उद्यम चलाइरहेका तथा अनौपचारीक क्षेत्रमा काम गरिरहेका महिलाहरुको पहिचान,
- धर्म, संस्कति, परम्परा तथा समाजले महिलाप्रति राख्ने संकुचित दृष्टिकोणमा सुधार ल्याउने जनचेतनामूलक कार्यक्रम संचालन,
- महिलाहरुको व्यवसायिक प्रकृति अनुसार समुह गठन तथा परिचालन आदि ।
४. कार्यविधि (Methodology)
महिला उद्यमशीलता क्षेत्रको दिगो विकास हासिल गर्नकालागि यससंग सम्वन्धित धेरै विषयहरुमा वृहत गृहकार्य गर्नुपर्ने र सुक्ष्म तर महत्वपूर्ण प्रभाव पार्नसक्ने पक्षहरुमा परिणाम देखिने गरी सुधार, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्दै अघि बढ्दै जाने कार्यविधि अंगाल्नु अपरिहार्य हुन्छः
- महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनकालागि वर्तमान आवश्यकता र माग अनुकुल हुनेगरी आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा व्यापक नीतिगत सुधार गरेर,
- संघीय तथा प्रदेश सरकारले महिला उद्यमशीलता विकासका द्रुत, परिवर्तनकारी र प्रभावकारी रणनीति तथा कार्ययोजनाको खाका तयार गरी यथाशिघ्र कार्यान्वयन गरेर,
- स्थानीय सरकारहरुसंग सहकार्य गरी महिला उद्यमशीलता विकासका विशेषज्ञ तथा अनुभवीहरुको सल्लाह र सहयोगमा महिला उद्यमशीलता विकासमा तात्वीक परिवर्तन ल्याउन सक्ने उपयुक्त कार्यक्रमहरु व्यवहार तथा कार्यान्वयनमा ल्याएर,
- सबै स्थानीय तह र त्यस मातहतका सुगम तथा दुर्गम क्षेत्रहरुका उद्यम–व्यवसायमा र अनौपचारीक काममा सम्लग्न महिलाहरुको तथ्यांक लिई सोही अनुसार कार्यक्रमहरु ल्याएर,
- महिलाहरुलाई संगठीत तथा बलियो बनाउन र उद्यम–व्यवसाय सहज ढंगबाट सुचारु गर्न सहकारी समुह (ऋण तथा वचत, उत्पादक, उपभोक्ता), स्वयं सहायता समुह, महिला उद्यमी समुह, साना किसान समुह आदि गठन गरेर,
- स्थानीय सरकारहरुसंग सहकार्य गरी स्थानीय विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई परिचालन गरी दुर्गम क्षेत्रमा बसोबास गर्ने विपन्न महिलाहरु र अनौपचारीक क्षेत्रमा काम गर्ने महिलाहरुको वास्तविक अवस्था, प्रतिभा पहिचान, उद्यम–व्यवसाय शुरुगर्न सहयोगको आवश्यकता र चुनौतीहरुको पहिचानकालागि अनुसन्धानात्मक सोधकार्य अगाडि बढाएर,
- उद्यम–व्यवसायमा युवा तथा प्रौढ महिलाहरुको सक्रिय सहभागीता गराउन विद्यालय तथा विश्वविद्यालयकालागि उद्यमशीलता पाठ्यक्रम विकास, उद्यम दर्ता प्रणालीमा सहजीकरण, लगानी सुरक्षाकालागि विमा व्यवस्था, उत्पादकत्व बढाउन प्रविधि सहायता, राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय बजारीकरण आदिमा सुनिश्चितता प्रदान र विचौलिया निस्तेज गरेर,
- उद्यम–व्यवसायमा महिलाहरुको निरन्तर क्रियाशीलता बढाइराख्न गठित समुहहरुको आवधिक बैठक राखेर र उक्त समुहका प्रमुखहरुसंग सरकार र जिम्मेदार संस्था तथा व्यक्तिहरुले नियमित सम्पर्क गरेर,
- महिला उद्यमशीलता विकास तथा प्रवद्र्धन अभियानको प्रारभिक चरणमा छिटो–छिटो र क्रमशः आवधिक रुपमा प्रगती विवरण लिएर, र निरीक्षण, सुपरीवेक्षण तथा मूल्यांकन गरेर,
- महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको दिगो बजार प्रवद्र्धनकालागि बहुउद्देशिय कलाग्रामहरुको निर्माण गरेर,
- महिला उद्यमीहरुलाई हौसला प्रदान गर्न आवधिक मेला तथा प्रर्दसनीहरुको आयोजना र विभिन्न शिर्षकमा उत्कृष्टताका आधारमा पुरस्कृत गरेर ।
५. क्षेत्र (Scope)
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतका निम्न दुई कार्यक्रम महिला उद्यमशीलता विकास तथा प्रवद्र्धन अभियानको प्रमुख कार्यक्षेत्र हुनु पर्दछः
- राष्ट्रपति जीविकोपार्जन सुधार कार्यक्रम,
- राष्ट्रपति युवा महिला उद्यम कार्यक्रम ।
६. महत्व (Significance)
नेपालको अर्थव्यवस्था कृषि, वन, जलश्रोत, पर्यटन र खनीजमा निर्भर भएको र नेपाली महिलाहरु प्रकृति, पर्यावरण, समाज, संस्कृति, तथा भूगोलसंग सदैव नजिक रहने गरेका हुनाले नेपालको शहर तथा ग्रामीण क्षेत्रका विपन्न र अनौपचारीक क्षेत्रमा काम गर्ने युवा तथा प्रौढ महिलाहरुकालागि उद्यमशीलता विकास तथा प्रवद्र्धन सहजै गर्न सकिने र मुलुकको आर्थिक वृद्धिदर, रोजगारी सिर्जना, कुल गार्हस्थ उत्पादन तथा कुल राष्ट्रिय आयमा महिलाद्वारा संचालित लघु, घरेलु तथा साना उद्योगहरुको महत्वपूर्ण भूमिका तथा उल्लेख्य योगदान रहँदै आएकोले नेपालमा महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनको अधिक महत्व रहेकोछ ।
७. मान्यता (Assumptions)
महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनकालागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत संचालित महिलाको आर्थिक सशक्तीकरणकालागि विषेश जोड दिंदै आएका राष्ट्रपति जीविकोपार्जन सुधार कार्यक्रम र राष्ट्रपति युवा महिला उद्यम कार्यक्रमलाई उचित तथा प्रभावकारी ढंगले अघि बढाउन सकिए निम्न सकारात्मक उपलब्धिहरु हासिल हुने अनुमान गर्न सकिन्छः
- महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनले महिलाको आर्थिक सशक्तीकरण संगसंगै सामाजिक, राजनीतिक, वयक्तिक, मनोवैज्ञानिक सशक्तीकरण हुनुकासाथै महिलाहरुमा निर्णय क्षमता र नेतृत्व क्षमताको पनि विकास हुन्छ,
- मुलुकमा उद्यम–व्यवसाय क्षेत्रमा विकास हुँदा उपलब्ध स्थानीय श्रोत–साधनहरुको अधिकतम उपयोग हुने, रोजगारी सिर्जना हुने, उत्पादकत्वमा वृद्धि भइ आर्थिक वृद्धिदर बढ्ने र जनताको जीवनस्तर माथि उठ्ने हुनाले गरिवी निवारणमा मद्धत मिल्छ,
- स्थानीयस्तरमा गरिने स–साना विकासले व्यक्ति, परिवार, समाज तथा राज्यकै समृद्धिमा सघाउ पुर्याउँछ र दिगो विकास लक्ष्य पुरा गर्दै 'समृद्ध नेपालः सुखी नेपाली' आकांक्षा हासिल गर्न सघाउ पुर्याउँछ,
- मुलुकमा आर्थिक तथा सामाजिक सन्तुलन कायम हुने हुनाले शहर तथा ग्रामीण क्षेत्र वीच असन्तुलित विकासमा कमी आई, आन्तरीक बसाई–सराई घट्ने तथा वैदेशिक रोजगारमा जाने क्रममा कमी आउँछ,
- कुल उत्पादनमा वृद्धि हुनगई आयातमा कमी आउने र निर्यात बढ्ने हुनाले मुलुकको शोधनान्तर स्थिति सन्तुलनमा मद्धत मिल्छ र मुलुक सन्तुलित तथा दिगो विकासको बाटोमा अग्रसर हुन्छ,
- मौलिक वस्तुहरुको उत्पादनमा विशेषज्ञता हासिल हुने हुँदा वौद्धिक सम्पति तथा सम्पदामा अधिकार कायम भई मुलुकको प्रतिष्ठामा वृद्धि हुन्छ,
- महिला तथा समाजका सवै वर्गहरुमा चेतना अभिवृद्धि हुनगई धार्मिक, सामाजिक तथा सांस्कृतिक कुप्रथाहरु, लैंगिक हिंसा तथा लैंगिक असमानतामा स्वस्फुर्त कमी आउँछ,
- आधारभूत आवश्यकताहरु पूरा हुने हुनाले परिवार तथा समाजमा ठगी र अपराधका घटनाहरुमा कमी आउँछ,
- राज्यका सबै क्षेत्रहरुमा महिलाहरुको श्रम सहभागीता बढ्ने हुनाले विकासमा समान लैंगिक मूलप्रवाहीकरण हुन्छ,
- अव्यवस्थित र अनौपचारीक क्षेत्रमा संचालित उद्यम–व्यवसायहरु व्यवस्थित हुन्छन् र वैधानिक तथा औपचारीक लयमा आउँछन् आदि ।
८. विषेशज्ञता तथा अनुभवको आवश्यकता (Expertise and Experience Required)
कुनै पनि कामको सफलता तथा परिपक्वतामा विषेशज्ञता तथा अनुभवको अहम भूमिका हुने हुनाले महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनको क्षेत्रमा सम्वन्धित विषयका विशेषज्ञ तथा अनुभवीहरुको सहयोग तथा सल्लाह–सुझाव लिएर महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनको यस अभियानमा सहजता मिल्नसक्छ ।
९. श्रोत व्यक्तिहरु (Resources Persons)
श्रोत व्यक्तिहरुको परिचालन बिना कार्य सफलता हासिल गर्न नसकिने भएकाले महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनको यस अभियानमा तल्लो तहदेखि केन्द्र सम्मका श्रोत व्यक्तिहरुको सहयोग अपरिहार्य हुन्छ । उद्यमी महिलाहरुको प्रकृति अनुसार गठन भएका समुहका प्रमुखहरु; स्थानीय तहका जनप्रतिनीधि तथा कर्मचारीहरु; प्रदेश सरकार, यसका जनप्रतिनीधि तथा कर्मचारीहरु र केन्द्र सरकार, यसका जनप्रतिनीधि तथा कर्मचारीहरुलाई महिला उद्यमशीलता विकास तथा प्रवद्र्धनका अभियानका श्रोत व्यक्ति बनाइनु पर्दछ ।
१०. कार्ययोजना (Work Plan)
प्रारम्भिक चरणमा महिला उद्यमशीलता विकासको कार्ययोजना केन्द्र तथा प्रदेशस्तरबाट लगिएपनि विस्तारै महिला उद्यमशीलता विकासका स्थानीय अनुभव, आवश्यकता तथा मागलाई केन्द्रमा राखेर तथा त्यसमा आधारित भएर रणनीति तथा कार्ययोजनाहरु निर्माण र तिनको कार्यान्वयन गर्दैजानु पर्दछ ।
११. प्रगती प्रतिवेदन, निरीक्षण, सुपरीवेक्षण तथा मूल्यांकन (Progress Report, Monitoring, Inspection and Evaluation)
महिला उद्यमशीलता विकासका कार्यक्रमहरु निरन्तर अगाडि बढाउने क्रममा कार्यक्रमहरुको वास्तविक अवस्था तथा प्रगती विवरण बुझ्न र भविश्यमा थप रणनीति तथा कार्ययोजना निर्माण गर्न आवधिक प्रगती प्रतिवेदन, निरीक्षण, सुपरीवेक्षण तथा मूल्यांकनका काम गर्दै अघि बढ्नु पर्दछ ।
टिप्पणीः केहि वर्षयता नेपाल सरकारले घरेलु तथा साना उद्योग विकास तथा प्रवर्धनकालागि समग्र नीति नियमहरुमा परिवर्तनकारी सुधारहरु गर्नुकासाथै प्रभावकारी रणनीति तथा कार्ययोजनाहरु ल्याएको छ र सबै युवाहरुकालागि उद्यम–व्यवसाय गर्न निकै सहज वातावरण निर्माण गरेको छ । तर यि परिवर्तनकारी पहलहरुको कार्यान्वयन पक्ष फितलो भएकोकारण जति सफलता हासिल गर्न सकिन्थ्यो त्यति गर्न नसकिएको अवस्था छ । तसर्थ, यस लेखमा अधिकांश सरकारद्वारा अंगीकार गरीएका पहलहरुलाई नै प्रभावकारी ढंगबाट कार्यान्वयनमा लान जोड दिइएको छ र तुलनात्मक अध्ययनका आधारमा नेपालको सन्दर्भमा प्रभावकारी हुनसक्ने केही नयाँ अवधारणाहरु पनि जोडीएको छ ।
No comments:
Post a Comment