Reintegration Challenges of Returnee Migrant Workers
डा. सिर्जना भण्डारी
१. पूर्नएकीकरण र यसको उदेश्य
सामान्य अर्थमा, स्वदेश फर्किएका आप्रवासी कामदारहरुलाई उनीहरुको आफ्नो परिवार, समाज, समुदाय तथा मुलुकमा दैनिक जीवीका चलाउनका लागि सहजीकरण गरिने प्रक्रिया पूर्नएकीकरण हो । स्वदेश फर्किएका आप्रवासी कामदारहरुलाई सशक्तीकरण गरि राज्यका सामाजिक, आर्थिक, राजनीतिक अर्थात कानूनी क्षेत्रहरुमा समान तथा सम्मानजनक सहभागिता गराइ उनीहरुको आर्थिक तथा सामाजिक उत्थान र मुलुकको विकास अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाउनु पूर्नएकीकरणको प्रमुख उदेश्य रहेको छ ।
२. पूर्नएकीकरणका किसिम तथा आयामहरु
क. मनोवैज्ञानीक आयाम– कोभिड–१९ महामारीका कारण धेरै आप्रवासी कामदारहरु कमजोर मनोवैज्ञानीक अवस्थामा र केही मानसिक रोगले ग्रसित अवस्थामा स्वदेश फर्किएका विभिन्न तथ्यांकहरुले देखाएका छन् । यस्ता समस्यामा रहेका पिडित आप्रवासी कामदारहरुलाई प्रभावकारी मनोपरामर्श सेवा, आवश्यक औषधि तथा थेरापीको माध्यमबाट उपचार गराइ उनीहरुलाई सामान्य अवस्थामा ल्याई सामाजिक तथा आर्थिक जीवनमा पूनःस्थापित गराउने प्रक्रिया मनोवैज्ञानीक पूर्नएकीकरण हो ।
ख. सामाजिक तथा सांस्कृतिक आयाम– बैदेसिक रोजगारीको क्रममा समस्यामा परेका आप्रवासी कामदारहरु जानेर वा नजानेर अनैतिक, असामाजिक तथा असांस्कतिक गतिविधिहरुमा संलग्न रहेका कारण थुनामा परी गन्तब्य मुलुकबाट डिपोट गरिएका र तस्करी तथा हिंसा– खासगरि घरेलु तथा यौन उत्पिडनमा परेर उद्धार गरिएका आप्रवासी कामदारहरुलाई पूनः उनीहरुको परिवार, समाज तथा समुदायमा पूनःस्थापित गराउन धेरै असहज स्थिति देखिएका छन् । यस्ता समस्यामा रहेका आप्रवासी कामदार तथा उनीहरुका परिवारका सदस्यहरुलाई प्रभावकारी मनोपरामर्श, सल्लाह, सुझावका साथै समुदायमा ब्यापक जनचेतनाका कार्यक्रमहरु संचालनमा ल्याएर पिडित आप्रवासी, उसका परिवारका सदस्यहरु र समुदायहरुको अन्धविश्वास तथा साँघुरो सोचलाई फराकिलो बनाएर स्वदेश फर्किएका आप्रवासी कामदारहरुलाई सामान्य अवस्थामा ल्याई सामाजिक जीवनमा पूनःस्थापित गराउने प्रक्रिया सामाजिक तथा सांस्कृतिक पूर्नएकीकरण हो । सामान्यतया, यस्ता समस्यामा परेका आप्रवासी कामदारहरुको दिगो तथा प्रभावकारी पूर्नएकीकरण गर्न निश्चित समयाबधिका लागि उनीहरुको अलग संगठन बनाएर आवश्यकता अनुसार फरक किसिमका नीति, रणनीति, योजना तथा एकिकृत कार्यक्रमहरु निर्माण गरि कार्यान्वयनमा ल्याउनु पर्दछ ।
ग. आर्थिक आयाम– कोभिड–१९ महामारीकाकारण बाध्यतावस स्वदेश फर्किनु (Force Return) परेका अधिकांश आप्रवासी कामदारहरु व्यक्तिगत तथा पारिवारीक आर्थिक संकट भोगिरहेका छन् । यस्तो अवस्थामा रहेका आप्रवासी कामदारहरुलाई पर्याप्त रोजगारीका अवसरहरु सिर्जना गरि उनीहरुको दैनिक जिविकोपार्जन हुने गरि आर्थिक आम्दानी हुने काममा पूनःस्थापित गराउने प्रक्रिया आर्थिक पूर्नएकीकरण हो । नेपालको सन्दर्भमा आम्दानीका औपचारीक क्षेत्रहरुको पर्याप्त विकास नभइसकेको हालको अवस्थामा आर्थिक पूर्नएकीकरणका विभिन्न उपायहरुमा प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको छ । दिगो तथा प्रभावकारी आर्थिक पूर्नएकीकरण हासिल गर्न योजनावद्ध ढंगबाट दिर्घकालीन, मध्यकालीन तथा अल्पकालीन नीति तथा योजना तर्जुमा र पर्याप्त बजेट बिनियोजन गरेर अघि बढ्नु पर्दछ ।
घ. राजनीतिक तथा कानूनी आयाम– पूर्नएकीकरणको राजनीतिक आयाम मुलुकको सर्वाङ्गीण दिगो विकासकालागि महत्वपूर्ण पक्ष हो । राज्यका महत्वपुर्ण र निर्णायक पद अर्थात नीति निर्माण गरिने तहहरुमा योग्यताका आधारमा आप्रवासी कामदारहरुलाई नियुक्त तथा सहभागी गराउने प्रक्रिया राजनीतिक तथा कानूनी पूर्नएकीकरण हो । राजनीतिक तथा कानूनी पूर्नएकीकरण प्रभावकारी बनाउन योजनावद्ध ढंगबाट दिर्घकालीन नीति तथा योजना तर्जुमा गरेर अघि बढ्नु पर्दछ ।
३. नेपालको सन्दर्भमा पूर्नएकीकरणका चुनौतीहरु
आप्रवासीहरुको स्वदेश पूर्नआगमनका सकारात्मक पक्ष तथा फाइदाहरु धेरै छन्, उनीहरुको पूर्नआगमनले मुलुकमा आर्थिक श्रोतकासाथै दक्ष तथा अनुभवी जनशक्ति र नयाँ–नयाँ प्रविधिहरु भित्रिन्छन् जसले मुलुकको विकासका कामहरु द्रूतगतिमा अघि बढाउन मद्धत पुर्याउँछन् तर यसका फाइदा संगसंगै आप्रवासीहरुको पूर्नएकीकरणका क्रममा विभिन्न किसिमका चुनौतीहरुको सामना गर्नु परेको विश्वमा आप्रवासीहरुको पूर्नएकीकरणका विषयमा गरिएका अध्ययन तथा अनुभवहरुले देखाएका छन् । यि अध्ययन तथा अनुभवका अनुसार आप्रवासी कामदाहरुको पुर्नएकीकरणका क्रममा राज्य तथा कामदारको विभिन्न अवस्था तथा परिस्थिति जस्ता विभिन्न तत्वहरुले चुनौतीहरु खडा गर्दछन् ।
पुर्नएकीकरणमा प्रभाव पार्ने तत्वहरु
- कामदारको आर्थिक तथा सामाजिक अवस्था,
- पारिवारीक अवस्था,
- शारिरीक तथा स्वास्थ्य अवस्था,
- मनोवैज्ञानीक अवस्था,
- कामदारको उदेश्य तथा चाहाना,
- मुलुकको आर्थिक, सामाजिक, राजनीतिक तथा कानूनी विकासको अवस्था,
- आप्रवासन पूर्नएकीकरणको प्रकृति तथा तरिका आदि ।
नेपालको सन्दर्भमा स्वदेश फर्किएका आप्रवासी कामदारहरुको पूर्नएकीकरणका चुनौतीहरु निम्न प्रकार रहेका छन्-
१. आप्रवासन र पूर्नआगमनको प्रकृति
आप्रवासन र पूर्नएकीकरण सम्वन्धमा विश्वभरि विभिन्न समयमा गरिएका नयाँ-पुराना अध्ययन तथा अनुसन्धानहरुले आप्रवासन र पूर्नआगमन सम्वन्धमा दुई फरक अवस्था तथा प्रकृति भएको उजागर गरेका छन्, जसले दिगो तथा प्रभावकारी पूर्नएकीकरणमा महत्वपूर्ण प्रभाव पार्दछ ।
(क) स्वेच्छिक आप्रवासन तथा पूर्नआगमनः स्वदेशमा प्राप्त भईरहेको कमाइ भन्दा राम्रो आम्दानी, रोजगारीका पर्याप्त अवसर तथा सुविधाजनक जीवनशैलीका लागि स्वदेशमा गरिरहेको काम छोडेर वैदेशिक रोजगारीमा जानु स्वेच्छिक आप्रवासन हो र वैदेशिक रोजगारीमा जानुको उदेश्य पूरा भएपछि आफ्नै समुदाय तथा मुलुकमा केही गर्छु भनेर स्वदेश फर्किनु स्वेच्छिक पूर्नआगमन हो तर नेपालको आप्रवासन र पूर्नआगमन स्वेच्छिक नभइ बाध्यात्मक प्रकृतिको रहेको छ ।
(ख) बाध्यात्मक आप्रवासन तथा पूर्नआगमनः नेपालीहरुको आप्रवासन मुलुकको कम विकास, गरिवी, १० वर्षिय जनयुद्ध र रोजगारीका अवसरहरुको चरम अभावका कारण आधारभूत जीवन धान्नै धौ–धौ परेको अत्यन्त जटिल परिस्थितिमा भएको बाध्यात्मक प्रकृतिको हो भने आप्रवासीहरुको पूर्नआगमन पनि कोभिड–१९ महामारीका कारण बाध्यात्मक प्रकृतिकै हो । अध्ययन तथा अनुसन्धानहरुका अनुसार बाध्यात्मक प्रकृतिको आप्रवासन तथा पूर्नआगमन, स्वेच्छिक आप्रवासन तथा पूर्नआगमनको तुलनामा असहज प्रकृतिको हुन्छ र स्वदेश फर्किएका आप्रवासीहरुको पूर्नएकीकरण कार्यमा विभिन्न किसिमका चुनौतीहरु तथा जटिल परिस्थितिहरुको सामना गर्नुपर्ने हुन्छ । तसर्थ, पूर्नएकीकरणका क्रममा नेपालमा यसप्रकारका चुनौतीहरु देखा पर्न सक्छन्–
- अध्ययन तथा अनुसन्धानका अनुसार बाध्यात्मक प्रकृतिको आप्रवासनमा अधिकांश बैदेशिक रोजगारमा जाने कामदारहरु अदक्ष तथा अर्धदक्ष हुन्छन् र न्युन स्तरका (3Ds- Dirty, Difficult, Danger) काम गर्दछन् जसकालागि खास किसिमको सीपको आवश्यकता पर्दैन र त्यसबाट कुनै दक्षता पनि हासिल हुदैन (FEIMS को तथ्यांक अनुसार सन् २०१८ मा नेपालबाट बैदेशिक रोजगारमा गएका ७४.५ प्रतिशत कामदारहरु अदक्ष, २४ प्रतिशत अर्धदक्ष, र १.५ प्रतिशत मात्र दक्ष थिए) । यस्ता न्युन स्तरका रोजगारीमा काम गरिरहेका र हाल कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर बाध्यात्मक परिस्थितिमा स्वदेश फर्किएका अदक्ष तथा अर्धदक्ष आप्रवासी कामदारहरुलाई सीप विकास तालिम प्रदान गरेर दक्ष जनशक्तिका रुपमा रुपान्तरण गरि श्रमबजारमा स्थापित गर्न तथा उनीहरुको आर्थिक तथा सामाजिक पूर्नएकीकरण गर्न राज्यलाई लामो समय लाग्छ र यसले व्यक्ति, परिवार, समुदाय तथा राज्यको आर्थिक तथा सामाजिक दायित्व बढाउँछ । यस्तो अवस्थामा उनीहरुको पूर्नएकीकरण प्रक्रियामा चुनौति तथा कठिनाई आउँन सक्छन्;
- बाध्यात्मक प्रकृतिको आप्रवासनमा कामदारहरु चरम गरिवीका कारण चर्को ब्याजमा ऋण काढेर बैदेशिक रोजगारमा जान्छन् र यस्ता अधिकांश कामदारहरु सकेसम्म कम खर्च लाग्ने अबैध तथा अनौपचारिक माध्यमबाट बैदेशिक रोजगारमा जान्छन् र लामो समयसम्म गन्तब्य मुलुकमा अबैधानिक रुपमा लुकेर बस्छन् । जसका कारण उनीहरुको मनोविज्ञान, मानसिक तथा शारिरिक स्वास्थ्य, आर्थिक तथा सामाजिक अवस्था अति कमजोर हुन्छ । यस्तो नाजुक अवस्थामा रहेका आप्रवासी कामदारहरु कोभिड–१९का कारण बाध्यात्मक परिस्थितिमा स्वदेश फर्कनु पर्दा उनीहरुको समग्र अवस्था अझ बढि नाजुक हुने हुनाले यस्ता आप्रवासी कामदारहरुलाई सामान्य अवस्थामा ल्याएर उनीहरुको दिगो तथा प्रभावकारी पूर्नएकीकरण गर्न लामो समय लाग्छ र त्यसको दायित्व राज्य माथि थपिन्छ;
- बैदेशिक रोजगारीका क्रममा काम सिकेर स्वदेश फर्किएका अधिकांस दक्ष तथा अर्धदक्ष आप्रवासी कामदारहरुले हासिल गरेका सीप, दक्षता, अनुभव तथा प्रविधिक ज्ञानहरु स्वदेशी श्रमबजारको आवश्यकता अनुसार मेल नखाने खालका हुन सक्छन्, जसको कारण यि जनशक्तिहरुलाई स्थानीय श्रमबजारमा तुरुन्त पूनःस्थापित गराउन सकिदैन र उनीहरुको पूर्नएकीकरण प्रक्रियामा ढिलाइ हुन्छ र त्यसको दायित्व राज्य माथि थपिन्छ;
- बिदेशी भूमिको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवेशमा काम गरेका आप्रवासी कामदारहरुले उतैको कामको अनुभवको आधारमा प्रस्तुत गरेका उद्यम–व्यवसायका योजना तथा प्रस्तावहरु स्वदेशी आर्थिक, सामाजिक तथा सांस्कृतिक व्यवस्थाको आवश्यकता अनुसारका नहुन सक्छन् । यस्तो अवस्थामा उनीहरुको योजना तथा प्रस्तावहरुलाई स्थानीय व्यवस्था तथा आवश्यकता अनुसार परिमार्जन गरि कार्यान्वयन गर्न लामो समय लाग्नुका साथै राज्यको आर्थिक दायित्व बढ्छ र उनीहरुको सहज पूर्नएकीकरणमा कठिनाई आउन सक्छ;
- विदेशमा आकर्षक तलव-सुविधामा काम गरेर फर्केका मध्यम वर्गीय कामदारहरुको स्वदेशमा पाउने रोजगारीमा उच्च तलव-सुविधाको माग तथा आकांक्षा हुनसक्छ र स्वदेशी श्रमबजारले उनीहरुको माग अनुसार तलव तथा सुविधा तत्काल पुर्याउन नसक्ने हुनाले उनीहरुको सहज पूर्नएकीकरणमा कठिनाई आउन सक्छ;
- नेपालको सन्दर्भमा औपचारीक क्षेत्रहरु जस्तै कर्पोरेट, उद्यमशीलता आदिको अति कम विकास भएको अवस्थामा विदेशी भूमिमा हासिल गरेको उच्च दक्षता अनुभव, तथा प्राविधिक ज्ञान भएका आप्रवासी कामदारहरुले त्यस अनुसारको काम नपाउन सक्ने हुनाले उनीहरुको पूर्नएकीकरणमा कठिनाई आउन सक्छ;
- उद्यम-व्यवसाय गर्न उद्यमी तथा ब्यवसायीमा उच्च सामाजिक पुँजी तथा सामाजिक सम्वन्धको आवश्यकता पर्दछ तर जीवनको अधिकांश उर्बर समय विदेशी भूमिमा विताएर फर्केका आप्रवासीहरुले शुरु गरेको उद्यम–व्यवसाय ठूलो संख्यामा असफल हुने गरेको विभिन्न तथ्यांकहररुले देखाएका छन् यस्तो अवस्थामा आप्रवासी कामदारहरुको पूर्नएकीकरणमा कठिनाई आउन सक्छ;
- लामो समय विदेश बसाईको क्रममा फरक आर्थिक तथा सामाजिक परिवेशमा अभ्यस्त भएका आप्रवासी कामदारहरुलाई स्वदेशी सरकारले ल्याएका पूर्नएकीकरणका कार्यक्रमप्रति आकर्षण तथा रुची नहुन तथा कम हुनसक्छ । यस्तो अवस्थामा राज्यले ल्याएका पूर्नएकीकरणका नीति, योजना तथा कार्यक्रमहरु आप्रवासीहरुको पूर्नएकीकरणका लागि प्रभावकारी हुन नसक्ने हुनाले पूर्नएकीकरण कार्यमा कठिनाई आउन सक्छ;
- आप्रवासी कामदारहरुको पूर्नएकीकरण कार्यले समाजमा वर्ग विभाजन हुने सम्भावना बढाउँछ । नेपालमै बसीरहेकाहरुले आप्रवासीहरुलाई मद्धत गरेको तथा बढि प्राथमिकता प्रदान गरेकोमा असन्तुष्टी देखाउन तथा विरोध गर्न सक्छन्, यस्तो अवस्थामा पूर्नएकीकरण कार्यमा कठिनाई आउन सक्छ... आदि ।
आप्रवासन र पूर्नआगमनको प्रकृतिले पूर्नएकीकरण कार्यमा महत्वपूर्ण प्रभाव पार्ने हुनाले नेपाल जस्तो विकासशील मुलुकको सन्दर्भमा आप्रवासन र पूर्नआगमनका पकृतिहरु बढि आकर्षित हुन्छन् । यस्तो परिस्थितिमा दिगो तथा प्रभावकारी पूर्नएकीकरणका लागि आप्रवासन र पूर्नआगमनका पकृतिहरुमा विषेश ध्यान दिनु अति आवश्यक हुन्छ । यस सम्वन्धमा गरिएका अध्ययन तथा अनुसन्धानहरुले स्वदेश फर्केका आप्रवासीहरुको सहज, दिगो तथा प्रभावकारी पूर्नएकीकरणका लागि सुझाएका नीति, योजना तथा कार्यक्रमहरु स्थानीय परिस्थिति अनुकुल हुने गरि कार्यान्वयन गर्नु पर्दछ । यसका साथै, यि चुनौतीहरुको सामना र समाधान गर्दै आप्रवासी कामदारहरुको पूर्नएकीकरण कार्यलाई सहज, दिगो तथा प्रभावकारी बनाउन विश्वका विभिन्न मुलुकहरुमा अवलम्वन गरिएका आप्रवासन र पूर्नएकीकरणका अभ्यासहरुलाई हाम्रो स्थानीय परिवेस सुहाउँदो हुनेगरि यसबारे गहन अध्ययन तथा अनुसन्धान गरेर आवश्यक परिमार्जन गरि हाम्रो जस्तै परिस्थिति तथा आर्थिक– सामाजिक संरचना भएका मुलुकहरुको आप्रवासन र पूर्नएकीकरणका सफल अभ्यासहरुको सिको गरेर उपयुक्त तथा प्रभावकारी नीति, योजना तथा कार्यक्रमहरु निर्माण गरि पूर्नएकीकरण प्रक्रिया अघि बढाउनु वर्तमानको टडकारो आवश्यकता हो ।
नेपालको संविधान २०७२ तथा स्थानीय सरकार संचालन ऐन २०७४ (दफा–११) अनुसार कानूनतह स्वदेश फर्किएका आप्रवासी कामदारहरुको पूर्नएकीकरण कार्य नगरपालिका तथा गाउँपालिकाहरुको कानूनी दायित्व भएपनि कोभिड–१९ महामारीले आक्रान्त पारेको यस विपतको समयमा पूर्नएकीकरणको महाअभियानमा तीनै तहका सरकारहरु र सबै सरोकारवालाहरु– सरकारी, अर्ध सरकारी तथा गैर सरकारी संघ–संस्थाहरुको प्रत्यक्ष समन्वय र सहकार्यतामा प्रभावकारी नीति, योजना तथा कार्यक्रमहरुको निर्माण र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । दिगो तथा प्रभावकारी पूर्नएकीकरण कार्यमा संघिय सरकारले नेतृत्वदायीे भूमिका गरि पूर्नएकीकरणका लागि आवश्यक पर्ने प्रभावकारी नीति, योजना तथा एकिकृत कार्यक्रमहरु जस्तै ठूला तथा मझौला कृषि विकास कार्यक्रम तथा भौतिक पूर्वाधार निर्माणका परियोजनाहरुको संचालन, बृहद उद्यमशीलता विकास कार्यक्रम, ठूलो परिमाणमा आर्थिक सहयोग तथा अनुदान आदि घोषणा गरेर यसको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय सरकारलाई निर्देशन दिनु पर्दछ, साथै कार्यान्वयनको अवस्था बुझ्न तथा कार्यान्वयनमा अझ प्रभावकारीता ल्याउन विभिन्न सरोकारवाला संघ–संस्थाहरुको सहयोग तथा समन्वयमा आवधिक अनुगमन, मूल्यांकन र सुझाव प्रदान गर्नु पर्दछ । प्रदेश तथा स्थानीय सरकारहरुले आफ्नो तहबाट पर्याप्त रोजगारीका अवसररहरु सिर्जना हुने खालका गतिविधिहरुमा प्राथमिकता प्रदान गरि काममा तिब्रता ल्याइ अघि बढ्नु पर्दछ ।
सन्दर्भ सामग्रीः
Aryal, B.B. & Shrestha, S.K. (2020). Coming back home: The road ahead for migrant returnees in Nepal Retrieved March 14th, 2021 from: https://www.ifad.org/en/web/latest/blog/asset/41969816 (Original work published: 2020). IFAD.
Khadka, U. (2020). Nepal plans to reintegrate returning workers Nepalitimes. Retrieved March 14th, 2021 from: https://www.nepalitimes.com/latest/nepal-plans-to-reintegrate-returning-workers/ (Original work published: 2020). Nepali Times.
Luitel, S.N. (2020). Roadmap for repatriation, reintegration of migrant workers. Retrieved March 14th, 2021 from: https://thehimalayantimes.com/opinion/roadmap-for-repatriation-reintegration-of-migrant-workers (Original work published: 2020). Himalayan Times.
OECD, (2020). Policy questionnaire return and reintegration 2020. OECD.
OECD (2020). Sustainable reintegration of returning migrants: A better homecoming. Paris: OECD.
No comments:
Post a Comment