'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Thursday, 15 April 2021

स्वदेश फर्किएका आप्रवासी कामदारहरुको पूर्नएकीकरण प्रक्रियाका केही विश्वब्यापी नमुना अभ्यासहरु

 International Models of Reintegrating Returnee Migrant Workers

                                                                                                             डा. सिर्जना भण्डारी

पूर्नएकीकरण– स्वदेश फर्किएका आप्रवासी कामदारहरुलाई उनीहरुको आफ्नो परिवार, समाज/समुदाय तथा मुलुकमा दैनिक जीविका चलाउनका लागि सहजीकरण गरिने प्रक्रिया पुर्नएकीकरण हो । स्वदेश फर्किएका आप्रवासी कामदारहरुलाई सशक्तीकरण गरि राज्यका सामाजिक, आर्थिक, राजनीतिक अर्थात कानूनी क्षेत्रहरुमा समान तथा सम्मानजनक सहभागिता गराइ उनीहरुको आर्थिक तथा सामाजिक उत्थान र मुलुकको विकास अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाउनु पुर्नएकीकरणको प्रमुख उदेश्य हो । पूर्नएकीकरणका मनोवैज्ञानीक, सामाजिक तथा सांस्कृतिक, आर्थिक र राजनीतिक तथा कानूनी चार आयामहरु रहेका छन् । स्वदेश फर्किएका आप्रवासी कामदारहरुको समग्र पूर्नएकीकरणमा पूर्नएकीकरणका यि किसिम तथा आयामहरुको महत्वपूर्ण भूमिका रहने गर्दछ ।


दिगो तथा प्रभावकारी पूर्नएकीकरण र यसका सुचकहरु– स्वदेश फर्किएका आप्रवासी कामदारहरुको पूर्नएकीकरण प्रक्रियामा विभिन्न मुलुक तथा यससंग सम्वन्धीत संघ–संस्थाहरुको फरक–फरक अनुभव भएका कारण दिगो तथा प्रभावकारी पूर्नएकीकरणको परिभाषा र यसका सुचकबारे समान बुझाइ तथा मान्यता रहेको पाईंदैन । जर्मनको संस्था GIZ र बेल्जीयमको संस्था Fedasil ले राज्यका सबै क्षेत्र– राजनीतिक/कानूनी, सामाजिक, आर्थिक तथा राज्यका सबै तहहरुमा स्वदेश फर्किएका आप्रवासी कामदारहरुको समान तथा सम्मानजनक सहभागितालाई दिगो तथा प्रभावकारी पूर्नएकीकरणको रुपमा परिभाषित गरेका छन् । GIZ का अनुसार सबैको समान तथा सम्मानजनक सहभागिताबाट मात्र मुलुकको दिगो विकास गर्न र जनताहरुको जीवनस्तर उकास्न सकिन्छ जसले पर्याप्त रोजगारीका अवसरको कमीका कारण बाध्यतावस अब्यवस्थित तथा अनौपचारीक रुपमा कामकालागि बैदेशिक रोजगारमा जाने क्रममा कमी ल्याउँदछ र बैदेशिक रोजगारलाई ब्यवस्थित तथा सम्मानजनक बनाउन मद्धत गर्दछ । 


फ्रान्स तथा स्वीडेनको पूर्नएकीकरण अभ्यासका अनुभव अनुसार स्वदेश फर्किएका आप्रवासी कामदारहरु स्वदेशमा पर्याप्त रोजगारीका अवसरहरुको अभाव तथा कमीका कारण कम्तीमा तीन वर्ष पुनः बैदेशिक रोजगारमा नजाने अवस्थालाई दिगो तथा प्रभावकारी पूर्नएकीकरणको सुचक मानिएको छ । यसका साथै ब्यवस्थित किसिमले सम्मानजनक कामकालागि बैदेसिक रोजगारमा जानु दिगो तथा प्रभावकारी पूर्नएकीकरणको अर्को महत्वपूर्ण सुचकको रुपमा मानिएको छ । 


पूर्नआगमन र विकासको अवधारणा– आप्रवासी कामदारहरुको स्वदेश फिर्ति तथा पुर्नआगमनलाई मुलुकको विकाससंग जोडेर हेर्नु पर्दछ र पुर्नएकीकरणको कार्य आप्रवासी कामदारहरुको ब्यवस्थापनका लागि मात्र नभइ मुलुकको विकास तथा उन्नतीका लागि हो भनेर बुझ्नु आवश्यक छ । तल उल्लेखित विश्वभरि गरिएका पुर्नएकीकरणका अभ्यासहरु यहि अवधारणामा आधारीत भएका कारण विश्वका विभिन्न मुलुकहरुले आप्रवासीहरुको पुर्नएकीकरणका माध्यमबाट मुलुकको आर्थिक–सामाजिक विकास तथा उन्नतीका क्षेत्रमा धेरै उपलब्धि हासिल गर्न सफल भएका छन् । कोभिड–१९ महामारीको प्राकृतिक विपत्तिले निरन्तरता लिरहेको यस असहज परिस्थितिमा विभिन्न मुलुकहरुले बाध्यतावस स्वदेश फर्किएका आप्रवासी कामदारहरुको प्रभावकारी पूर्नएकीकरण गर्न विभिन्न प्रयास तथा प्रतिवद्धताहरु गरेका त छन् तर ति प्रयास तथा प्रतिवद्धताहरु विश्वब्यापी सिकाइका रुपमा अनुसरण गर्ने गरि प्रभावकारी नमुनाका रुपमा सार्वजनिक नर्भइसकेको यस्तो असामान्य अवस्थामा विगत केही दशक यता विश्वमा हुदै आएका आप्रवासीहरुको पूर्नएकीकरणका प्रयास तथा अभ्यासहरुलाई समय सान्दर्भिक हुने गरि आवश्यक परिमार्जन गरेर नेपाल फर्किएका आप्रवासी कामदारहरुको मनोबैज्ञानीक, सामाजिक, आर्थिक तथा राजनीतिक पूर्नएकीकरण कार्यमा अनुसरण तथा अवलम्वन गर्न सकिन्छ ।  


सन् १९९० को दशकमा पहिलो पटक IOM ले अफ्रिका, पुर्वी युरोप र क्यारेवियन मुलुकहरुमा “Migration for Development” कार्यक्रम ल्याएर आप्रवासी कामदारहरुको पूर्नएकीकरण प्रक्रिया शुरु गरेको थियो । शुरुआतका दशकहरुमा आप्रवासी कामदारहरुको पूर्नएकीकरणका लागि एकपटक आर्थिक सहयोग मात्र प्रदान गर्ने गरिन्थ्यो तर पछिल्ला केही दशक यता खासगरि कोभिड–१९ को आपतकाल पश्चात विभिन्न मुलुकहरुले सहयोगको दायरा बढाएर मनोवैज्ञानीक परामर्श, सामाजिक तथा सांस्कतिक चेतना अभिबृद्धिका कार्यक्रम, रोजगारीका अवसर प्रदान, सीप विकास तालिम कार्यक्रम तथा आर्थिक सहयोग गर्दै आएका छन् । यसका साथै पूर्नएकीकरणका कार्यहरु प्रभावकारी बनाउन दिर्घकालीन, मध्यकालीन, र अल्पकालीन नीति, योजना तथा कार्यक्रमहरुको निर्माण गरि कार्यान्वयनमा ल्याएका छन् र संगसंगै पूर्नएकीकरण सहयोग प्याकेज कार्यक्रमहरु पनि घोषणा गरेका छन् । पूर्नएकीकरण प्याकेज कार्यक्रमहरुले कोभिड–१९का कारण रोजगारी गुमाएर स्वदेश फर्केपछि विभिन्न कठिनाइको सामना गरिरहेका तथा कमजोर मनोविज्ञान, नाजुक स्वास्थ्य अवस्था भएका, आर्थिक तथा सामाजिक अवस्था कमजोर भएका आप्रवासीहरुलाई प्राथमिकतामा राखेका छन् । पूर्नएकीकरण सहयोग प्याकेज कार्यक्रमहरुले खासगरि आप्रवासी कामदारहरुको आवश्यकता अनुसार क्रमशः मनोबैज्ञानीक परामर्श, औषधी उपचार, खानपान तथा घरबासको ब्यवस्था, परिवार तथा समुदायमा सामाजिक तथा सांस्कृतिक पूनःस्थापनाका लागि परामर्श तथा चेतनाका कार्यक्रम, र रोजगारीका अवसर प्रदान तथा उद्यम–व्यवसाय शुरु गर्न आर्थिक सहयोग, व्यवसायिक परामर्श तथा सीप विकास तालिम प्रदान आदि प्रमुखताकासाथ गर्ने गरेका छन् ।  

विश्वमा आप्रवासी कामदारहरुको पूर्नएकीकरणलाई मुलुकको दिगो विकाससंग जोडेर अवलम्वन गरिएका केही नमुना अभ्यासहरु निम्नानुसार रहेका छन्ः


फ्रान्सेली मोडल 

पूर्नएकीकरण प्याकेज– फ्रान्सले आप्रवासी कामदारहरुको पूर्नएकीकरणलाई प्रभावकारी बनाउन पूर्नएकीकरण सहयोग प्याकेज कार्यक्रम ल्याएको थियो र यसकोे सहज तथा प्रभावकारी कार्यान्वयनकालागि समयावधि र प्रदान गरिने सहयोगका आधारमा कार्यक्रमलाई तीन तहमा विभाजन गरेको थियो– 

पहिलो तह छ महिनाका लागिः सामाजिक सहयोग गर्ने– आप्रवासीहरुलाई स्वदेश फर्कने वित्तिकै आवश्यकता पर्ने घरवासको ब्यवस्था, स्वास्थ्य उपचार, बालबालिकाको हेरविचार तथा स्कुल फि आदिमा सहयोग गर्ने प्रतिवद्धता गर्नुकासाथै नगद सहयोग पनि प्रदान गरिएको थियो । 

दोस्रो तह छ महिना देखि एक वर्ष सम्मका लागिः रोजगारी प्रदान तथा प्राप्त गर्न सहयोग गर्ने– यस अन्तर्गत आप्रवासीहरुलाइ जागीर तथा काम खोज्न, कम्पनीसंग सम्पर्क गर्न, सि.भि तथा बायोडेटा बनाउन, अन्तरवार्ताको तयारी गर्न तथा कामकाबारे अभिमुखीकरण आदिमा सहयोग प्रदान गरिएको थियो । 

तेस्रो तह एक वर्ष वा सो भन्दा बढिका लागिः उद्यम–व्यवसाय गर्न सहयोग गर्ने– यस अन्तर्गत व्यवसायिक परामर्श, परियोजनाको सम्भाब्यता अध्ययन, स्थलगत अध्ययन, स्थानीय सेवा प्रदायकसंग समन्वय, सीप विकास तालिम तथा प्रशिक्षणको व्यवस्था, परियोजनाको अनुगमन तथा मूल्यांकन आदिमा सहयोग प्रदान गरिएको थियो ।


साल्भाडोर मोडल

दक्षिण अमेरीकी मुलुक साल्भाडोरले सर्वप्रथम स्वदेश फर्किएका आप्रवासी कामदारहरुको सीप, दक्षता तथा अनुभवको तथ्यांक संकलन र उनीहरुको आवश्यकता र श्रमबजारको माग आंकनल गरि उनीहरुलाई मनोसामाजिक परामर्श, अभिमुखीकरण तालिम तथा सीप विकास तालिम प्रदान गरेर मुलुक भित्र संचालनमा रहेका विभिन्न सरकारी,अर्धसरकारी तथा नीजी परियोजनाहरुमा रोजगारी प्रदान गरेको थियो । 


गैर सरकारी संस्थाहरुले गरेका अभ्यासहरु

अमेरीकी सरकारको विकास संस्था इन्टर अमेरीकन फाउन्डेसन (AIF) ले पूर्नएकीकरण कोष खडा गरेर ल्याटीन अमेरीका तथा क्यारेबीयन मुलुकका आप्रवासी कामदारहरुको पूर्नएकीकरण कार्य त्यहाँका नागरिक समाज र समुदायसंग समन्वय गरि सर्वप्रथम कमजोर अवस्था भएका तल्लो तहका आप्रवासी कामदारहरुलाई आपतकालीन सहयोग प्रदान गरेको थियो, साथै ति मुलुकका सरकारहरुलाई आप्रवासन र पूर्नएकीकरण सम्बन्धमा नीति, योजना तथा कार्यक्रम निर्माणमा सहयोग गर्दै क्रमशः बैदेशिक रोजगारमा जान बाध्य पार्ने तत्वहरु (Push Factors) मा कमी ल्याउन; अनौपचारीक तरिकाबाट बैदेशिक रोजगारमा जान रोक लगाउन र आप्रवासी कामदार तथा उनीहरुका परिवारको आर्थिक गतिविधि बढाउन आर्थिक आम्दानीका काममा लाग्न सहयोग गरेकोे थियो । 


ग्वाटेमालाको गैरसरकारी संस्था– एसोसीयसन अफ ग्वाटेमालियन रीटर्नीज (ARG) ले आप्रवासी कामदारहरुको विमानस्थल आगमन देखिनै पूर्नएकीकरणको कार्य शुरु गरेको थियो । यस संस्थाले विमानस्थलमै आप्रवासी कामदारहरुलाई योजनाबद्ध ढंगबाट एकपछि अर्को के प्रक्रिया गर्ने आदिबारे अभिमुखीकरण तालिम दिएको थियो र संगसंगै सामान्य तथ्यांक लिएर उनीहरुको सीप, अनुभव, उदेश्य र कामको क्षेत्रलाई सुचीबद्ध गरेर आफ्नो नेतृत्वमा उनीहरुको पूर्नएकीकरणका लागि स्थानीय सरकारसंग समन्वय तथा सहयोगको अपिल गरेको थियो । यस संस्थाले आप्रवासीहरुको पूर्नएकीकरणकालागि लघुवित्त मार्फत ऋण तथा अनुदान प्रदान गरेर लघु उद्योग खोल्न, सीप विकास तालिम प्रदान गरेर जागीरमा लाग्न तथा स्वरोजगार बन्न सहयोग गरेको थियो ।


दक्षिण पूर्बी एशियाली मुलुकहरुले गरेका अभ्यासहरु

झन्डै हाम्रो जस्तै आर्थिक तथा सामाजिक अवस्था र संरचना भएका दक्षिण पूर्बी एशियाली मुलुकहरु खासगरि फिलिपिन्स, इन्डोनेसिया, भियतनाम आदिले कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका कामदारहरुको पूर्नएकीकरणका लागि (खासगरी आर्थिक पूर्नएकीकरणका लागि) उल्लेखनीय कार्यहरु गरेका छन् । यि मुलुकहरुले दिगो तथा प्रभाकारी पूर्नएकीकरणका लागि योजनाबद्ध ढंगबाट दिर्घकालीन, मध्यकालीन, र अल्पकालीन नीति, योजना तथा एकिकृत कार्यक्रमहरु निर्माण गरी मुलुक भरि औपचारीक तथा अनौपचारीक क्षेत्रहरुको विकास जस्तै उद्यमशीलता विकास, ठूला कृषि परियोजनाहरुको विकास, भौतिक पूर्वाधार निर्माण कार्यका ठूला–ठूला परियोजनाहरुको थालनी गरेर पर्याप्त रोजगारीका अवसरहरु सिर्जना गरि स्वदेशमै गरिखान सक्ने अवस्था निर्माण गर्दै आएका छन् । यि दक्षिण पूर्बी एशियाली मुलुकहरुले केही दशक अघि पूर्बी एशीयाली मुलुकहरु दक्षिण कोरिया र चीनले अवलम्वन गरेका पूर्नएकीकरणका अभ्यासहरुलाई कोभिड–१९ को महामारीले अस्तब्यस्त बनाएको अर्थतन्त्रलाई सुदृढ गर्न समय सान्दर्भिक हुनेगरि परिमार्जन गरेर अनुसरण गरिरहेका छन् । वर्तमान परिस्थितिमा दिगो तथा प्रभावकारी पूर्नएकीकरणका लागि नेपालले पनि यस्तै रणनीति अवलम्वन गर्नु आवश्यक छ ।


हाल कोभिड–१९ को आपतकालीन अवस्थामा स्वदेश फर्किएका आप्रवबसीहरुलाई आफ्नै मुलुकमा आय आर्जन हुने आर्थिक गतिविधिका काम गरी मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउन प्रोत्साहन गर्न तथा पूनः बैदेशिक रोजगारमा जान हतोत्साही गर्न फिलिपिन्स, इन्डोनेसिया र भियतनामले पूर्नएकीकरण परियोजना अन्तर्गत विभिन्न आकर्षक कार्यक्रमहरु ल्याएका छन् जस्तो Livelyhood Program, Project Bank, Land Bank, skilled Manpower Database Connect आदि । साथै यि मुलुकहरुले बैदेशिक रोजगारमा जान बाध्य पार्ने तत्वहरु (Push Factor)को गहन अध्ययन तथा पूनरावलोकन गरेर त्यसलाई कम गर्ने र क्रमशः बैदेशिक रोजगारमा जानेहरुको संख्या घटाउने अभियानमा लागेका छन् । सन् १९९३ मा जमैकाले बैदेशिक रोजगारमा जान प्रेरीत गर्ने Push Factor हरु हटाउन कर्मचारीतन्त्रको ढिलासुस्तीमा सुधार गरेर प्रसासनिक, कागजी तथा कानूनी प्रक्रियाहरु छोट्याएको थियो । यहि सिको दक्षिण पूर्बी एशियाली मुलुकहरुले गरेका हुन्। 


नेपालले पनि आफूसंग उपलब्ध सबै खालका साधन तथा श्रोतहरुको उच्चतम सदुपयोग गरि हाम्रै जस्तो आर्थिक तथा सामाजिक संरचना भएका यि मुलुकहरुले प्रयोगमा ल्याएका पूर्नएकीकरणका अभ्यासहरुबाट आप्रवासी कामदारहरुको पूर्नएकीकरण गर्ने धेरै किसिमका आर्थिक तथा सामाजिक अभियानबारे सिक्न तथा तिनको अनुसरण र अवलम्वन गर्न सक्छ ।


सन्दर्भ सामग्रीः

Aryal, B.B. & Shrestha, S.K. (2020). Coming back home: The road ahead for migrant returnees in Nepal Retrieved March 14th, 2021 from: https://www.ifad.org/en/web/latest/blog/asset/41969816 (Original work published: 2020). IFAD.

Khadka, U. (2020). Nepal plans to reintegrate returning workers Nepalitimes. Retrieved March 14th, 2021 from: https://www.nepalitimes.com/latest/nepal-plans-to-reintegrate-returning-workers/  (Original work published: 2020). Nepali Times.

Luitel, S.N. (2020). Roadmap for repatriation, reintegration of migrant workers. Retrieved March 14th, 2021 from: https://thehimalayantimes.com/opinion/roadmap-for-repatriation-reintegration-of-migrant-workers (Original work published: 2020). Himalayan Times.

OECD, (2020). Policy questionnaire return and reintegration 2020. OECD.

OECD (2020). Sustainable reintegration of returning migrants: A better homecoming. Paris: OECD.


No comments:

Post a Comment