डा. सिर्जना भण्डारी
आजीवन आचार्यश्री रजनीश ओशो दर्शनका अनुयायी तथा ओशो सन्यासी रहनु भएका दिवंगत श्रद्धेय दाजु श्री राजन घिमिरेप्रति भावपूर्ण श्रद्धान्जली अपर्ण गर्दछौं। स्थुल शरीर छुट्नु अर्थात मृत्यु हुनु नयाँ जीवनको तयारी हो, वहाँको सुक्ष्म शरीरले शिघ्र सही गति लियोस, मंगलमय शुभकामना!!
वहाँसंग बिताएको छोटो तर गहन स्मृति:
राजन दाजु भन्नुहुन्थ्यो, “…श्रद्धेय ओशोलाई वाहिरी जगतले सही ढंगले बुझ्न सकेन र वहाँको अध्यात्मका गहन विषयमा इन्द्रियातीत तथा भावातीत(स्थुल शरीरका इन्द्रियहरुले अनुभव गर्न नसक्ने) अनुभूतिका चरणहरुबारे लेखिएको अत्यन्तै गहन सिर्जना ‘सम्भोगदेखि समाधिसम्म’ पुस्तकको गलत परिभाषा गरेर वहाँलाई संकीर्ण सम्भोग* गुरुको रुपमा स्थापित गरिदियो। तर श्रद्धेय ओशो अन्तर जगत अर्थात अध्यात्मका मसिहा हुनुहुन्छ, अन्तर जगत बुझेका साधकहरुले मात्र वहाँका भावहरु बुझ्न सक्छन, वहिर जगत अर्थात वाहिरका इन्द्रियहरुले अनुभव गर्ने भौतिकीलाई मात्र जीवनमा सबैथोक ठान्नेहरुको समझले ठम्याउन नसक्ने अलौकिक, रहस्यमयी महापुरुष हुनुहुन्छ आचार्यश्री रजनिश ओशो…!”
*वर्तमान समयमा संस्कृत शव्द ‘सम्भोग’को परिभाषा संकुचित भएको छ र यसलाई नारी र पुरुषको योग अर्थात आन्तरीक मिलन र मिलनको आनन्दमा मात्र सिमित गरिएको छ। तर सम्भोग शव्दको विस्तृत अर्थ हो हरेक विषयसंगको योग र उक्त योगबाट प्राप्त हुने आनन्द। आधूनिक मनोविज्ञानका वरिष्ठ श्रष्ठा तथा मनोविज्ञ सिग्मण्ड फ्रायडले पनि हरेक विषयहरुसंगको योगलाई सम्भोगको रुपमा परिभाषित गर्नुभएको छ। यदि हामी प्राकृतिक घुमफीरमा पकृतिका मनोरम छटाहरु हेरेर, छोएर, महसुस तथा अनुभूति गरेर आनन्द लिरहेको छौं भने प्रकृतिको सुन्दरतासंग हाम्रो सम्भोग अर्थात समागम भैरहेको छ। त्यस्तै आफूलाई मनपर्ने अर्थात आफ्नो शोखको कुनै काम गरिरहेका छौं; मनपर्ने व्यक्तिसंग गुणात्मक समय व्यतित गरिरहेका छौं; आफूलाई मनपर्ने खानाको स्वादमा आनन्द लिरहेका छौं भने ती सबै अवस्थाहरु सम्भोगका अवस्था हुन्, ती सबै विषयहरुसंग हाम्रो सम्भोग भैरहेको छ र यो सम्भोगबाट हामी आनन्द लिरहेका छौं जसले हामीलाई अन्तर जगतबाट प्राप्त हुने आनन्दमा पुर्याउँछ, जो ध्यान तथा समाधिको अवस्थामा मात्र अनुभूति हुनसक्छ।
यस किसिमको सम्भोगको आनन्दका विषयहरुमा लेखिएको पुस्तक हो ‘सम्भोगदेखि समाधिसम्म’ जसमा नारी र पुरुषको योग अर्थात आन्तरीक मिलन र मिलनको आनन्दको बखान कतै गरिएकै छैन। मात्र यति दर्शाउन खोजिएको छ कि यदि नारी र पुरुषको योग तथा आन्तरीक मिलन परमात्मा प्रदत्त पवित्र प्रेमको अवस्थामा भएकोछ भने यो योग तथा सम्भोग प्राकृतिक तथा इश्वरीय हो जसमा उनीहरुको स्थुल शरीरको मात्र नभएर आत्माको मिलन भैरहेको हुन्छ, यो सम्भोगको आनन्दबाट समाधितिरको यात्रा प्रारम्भ हुनसक्छ!!!
गहन अर्थ बोकेको उखान- “जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बींड।” यस्ता उखानहरु त्यसै लोकप्रिय हुदैनन्, तिनमा गहिराइ हुन्छ जसले मानिसको बुझ्ने क्षमताको माग गर्दछ।
No comments:
Post a Comment