'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 22 May 2024

पूर्वीय अध्यात्म दर्शनमा समयक्रमसंग आएका विभिन्न मतहरु

 "नवयुग निर्माणको नयाँ आयाम: अध्यात्म जागरण!"


बुद्ध जयन्ती विशेष: राजकुमार सिद्धार्थ गौतमदेखि भगवान गौतम बुद्धसम्म

                              डा. सिर्जना भण्डारी


प्रमुख विषय: सनातन तथा वैदिक धर्ममा आएका बिकृतिहरु; बौद्ध धर्म तथा बौद्ध दर्शनको प्रादुर्भाव; नवयुग निर्माण। 

सनातन तथा वैदिक धर्ममा आएका बिकृतिहरु

अध्यात्म दर्शनको सबैभन्दा प्राचीन, महत्वपूर्ण र मूल दर्शन सनातन तथा वैदिक धर्म कुनै एक व्यक्तिको नेतृत्वबाट निसृत भएर आएको सम्प्रदाय नभइ प्रकृति प्रदत्त धर्म हो जसको न कुनै आदी छ न अन्त्य नै छ। सनातन धर्म मानवलाई कुनै नियन्त्रित नियम भित्र बाँधेर राख्ने सामाजिक संस्कृतिहरुको मत नभइ मानवलाई सन्तुलित र पूर्णताको जीवन जीउने तरीका तथा जीवनशैली सिकाउने उत्कृष्ट कला हो, तसर्थ धर्म र सम्प्रदाय अलग विषय हुन्। कुनै एक व्यक्तिबाट निसृत भएर सामाजिक चलनचल्तीमा आएका सामाजिक संस्कृतिहरुको मतलाई सम्प्रदाय भनिन्छ। सनातन तथा वैदिक धर्मको नाम र यसका व्यवहारिक गतिविधिहरु बिकृत अर्थात संकुचित भएर हाल हिन्दु सम्प्रदाय बन्न पुगेको छ र वर्तमानमा हिन्दु सम्प्रदाय पनि विभिन्न मत तथा धारहरुमा विभाजित भएको छ। हाल विश्वमा प्रचलित प्रमुख धर्महरु- हिन्दु, बौद्ध, जैन, सिख, इशाइ, इस्लाम आदि रिलिजन तथा सम्प्रदाय हुन्, धर्म होइनन् जसका व्यवहारीक गतिविधिहरु, चालचलन, संस्कृति तथा विशेषताहरु एकअर्काका मतसंग नमिल्न तथा बाझिन सक्दछन् तर धर्म त्यस्तो विषय हो जो सबैकालागि एकै हुन्छ र प्रयोगात्मक हुन्छ अर्थात जुन सम्प्रदायले व्यवहारीक प्रयोग तथा अभ्यास गरे पनि नतिजा एकै किसिमको आउँछ सबैकालागि। सनातन तथा वैदिक दर्शन जीवन जिउन सिकाउने कलाको विज्ञान भएकोले यो धर्म हो, सम्प्रदाय होइन।

 

प्राचीन समय अर्थात सनातन तथा वैदिककालमा संसारभरि एक मात्र सनातन धर्म प्रचलनमा थियो, वैदिककालीन समाजमा स्वयं इश्वरले सिर्जना गर्नु भएको अपौरुषेय सनातन शास्त्र वेद र समयक्रमसंगै वेदबाट निसृत पुराण, उपनिसद्… आदि ग्रन्थहरुमा उल्लेखित आध्यात्मिक तथा धार्मिक मूल्य-मान्यताहरु मान्दै आइएको थियो। सनातन धर्म मानिसहरुलाई सन्तुलित, सहज तथा गुणात्मक जीवन जीउन सिकाउने कला भएकोले यसबाट प्राप्त गरिएका जीवन उपयोगी तथा प्रभावकारी ज्ञानकाकारण प्राचीन समयमा सबै मानिसहरु सुखी, खुशी, शान्त, समृद्ध र आस्तिक तथा आशावादी थिए। सनातन धर्मका शास्त्रहरुमा मानवलाई सन्तुलित तथा गुणात्मक जीवन जीउने कला सिकाउन सबैले बुझ्ने गरि मानिसले जीवनमा गर्नैपर्ने महत्वपूर्ण चार पुरुषार्थहरु- धर्म, अर्थ, काम र मोक्षको बारेमा उल्लेख गरिएको छ र यही ज्ञान गुरुकुलहरुमा वटुकहरुलाई प्रदान गर्ने गरिन्थ्यो। समयक्रमसंगै यससंग सान्दर्भिक हुने किसिमले चार पुरुषार्थहरुको नयाँ-नयाँ र वैज्ञानिक व्याख्या, विश्लेषण तथा परिभाषाहरु आउन थाले, अघिल्ला तीन पुरुषार्थहरुको व्यवहारीक प्रयोग र फैलावट उचित किसिमले हुदैगयो र यसबाट मानिसहरु लाभान्वित पनि हुदैगए तर रहस्य र दिव्यताले भरिएको भएकोले अन्तिम तथा चौथो पुरुषार्थ मोक्षको सही किसिमले व्याख्या, विश्लेषण तथा परिभाषा आउन सकेन, बरु उल्टै सनातन शास्त्रहरुमा उल्लेख गरिएका सकारात्मक मूल्य-मान्यताहरुको अपव्याख्या गरियो र यसबाट मानिसहरु लाभान्वित हुनुको साटो झन-झन बढि प्रताडित हुदै गए र समाजमा धर्मको नाममा बिकृति फैलिदै गयो। खासगरि धर्मका ठेकेदार मानिने अध्यात्मको गहिराइ नबुझेका स्वघोषित ज्ञानी(शास्त्रज्ञानी तथा अल्पज्ञानी) धर्मगुरु, मठाधिस, पंडित, पूजारी तथा ब्राह्मणहरुले सनातन शास्त्रका मूल्य-मान्यताहरु आफूले जसरी बुझे तथा अनुमान गरे र आफूलाई जसो गर्दा फाइदा हुन्छ त्यही अनुसार मोक्ष जस्तो ध्यान साधनाको गहिराइमा मात्र अनुभूति हुनसक्ने उपल्लो दिव्य भावातीत अवस्थाको सत्यता र गहिराइ नबुझिकन बिकृत अर्थ लगाउदै गए र यसले समाजमा सनातन धर्मप्रति भ्रम तथा नकारात्मक विचारहरु फैलाउदै लग्यो र ब्राह्मणवादको उदय भयो। 


मोक्षको नाममा सनातन धर्मप्रति फैलिदै गएका भ्रम तथा नकारात्मक विचारहरुले सनातन धर्मको नाममा तिनै शास्त्रज्ञानीहरु मात्र लाभान्वित भए र यिनीहरुले समाजका बाँकी सोझा, निमुखा मानिसहरुमाथि मृत्युपछि मोक्ष गराइदिने तथा स्वर्गमा वास गराइदिने लालसा दिएर अत्याचार, शोषण, प्राणी हिंसा अर्थात वलि, वर्ग विभाजन, पाप-पुण्य, पापी-धर्मात्मा, उच-निच, तल्लो-माथ्लो, स्त्री-पुरुष, अकर्म-विकर्म, भ्रष्ट-आचारको कुरुप दृश्य देखाउन थाले र यसले समाजमा स्वार्थ, विकृति, अन्धविश्वास र अराजकता अझ धेरै बढाएर लग्यो। सनातन धर्मको यो विकृत प्रचारकाकारण समयक्रमसंगै धार्मिक विद्रोहका आवाजहरु उठ्न थाले, वेद र वेदबाट निसृत शास्त्रहरुका सकारात्मक मूल्य-मान्यताहरुको समेत विरोध हुन थाल्यो र सबैकालागि मान्य हुनेगरि नवजागरण तथा युग सुहाउँदो धार्मिक व्याख्या हुनुपर्ने आवाज उठाउदै विद्रोही समुहहरुको निर्माण गर्दै, सनातन धर्ममा सुधार तथा परिमार्जनको माग तथा मत राखेर विभिन्न व्यक्तिहरुले धार्मिक क्रान्तिको नेतृत्व गरे।

 

आजभन्दा अढाइ शताव्दी अधि नै सनातन धर्म विरुद्ध आवाज उठाउने, वेद तथा वेदबाट निसृत शास्त्रहरुको विरोध गर्ने तथा शास्त्रमा उल्लेखित मूल्य-मान्यताहरु नमान्ने शुरुआति प्रमुख तीन समुहहरु बौद्ध सम्प्रदाय, चारवाक सम्प्रदाय र जैन सम्प्रदाय थिए जसले सनातन धर्ममा फैलाइएका बिकृति र वितण्डाहरु विरुद आवाज उठाउदै आ-आफनो मत राखेर धार्मिक आन्दोलन गरेका थिए। बौद्ध सम्प्रदायको नेतृत्व भगवान गौतम बुद्धले गर्नु भएको थियो। हालसम्मको अनुभवले देखाए अनुसार विश्वमा विभिन्न समयक्रममा देखापरेका सबै साम्प्रदाय तथा मतहरु मौजुदा सम्प्रदायहरुमा आएका धार्मिक, सामाजिक तथा सांस्कृतिक बिकृति तथा दुराचारहरुका कारण विरोधमा आउने गरेको देखिन्छ। इश्वीको सातौं शताव्दीमा शास्त्रज्ञानी तथा अल्पज्ञानीहरुको अतिवाद तथा दुराचारको कारण धार्मिक आन्दोलन गरेर अरवको मक्का, मदिनाबाट छुट्टै सम्प्रदाय बनेको पछिल्लो समुह इस्लाम सम्प्रदाय हो र यसको नेतृत्व भगवान पैगम्वर मुहम्मदले गर्नु भएको थियो। विभिन्न समयमा भएका यस्ता धार्मिक क्रान्तिहरु सयौंको संख्यामा छन्, भारतवर्षमा मात्र ६० भन्दा बढि मतहरु रहेका थिए। समयक्रमसंगै त्यसमध्य धेरै वटा मत तथा समुहहरु केही समयसम्म अस्तित्वमा रहेपनि पछि केही अरु सम्प्रदायहरुसंग मिले, केही निष्कृय हुदै लोप भएर गए। यि धार्मिक आन्दोलन गर्ने समुहहरुले आ-आफनो गठबन्धन बनाएर प्रचलित धर्ममा युग सापेक्षीत हुनेगरि पुनर्जागरण अर्थात विचारको आन्दोलन गरि, सुधार तथा परिमार्जन गर्नुपर्ने र सबै मानव समुदायहरु उत्तिकै लाभान्वीत हुनेगरि नवयुगको निर्माण गर्नुपर्ने माग राख्दै आएका थिए। मत मिल्नेहरु पुरानै सम्प्रदायमा बसे तर मत नमिल्नेहरु आफ्नो छुट्टै समुह बनाएर छुट्टिएर गए र फरक सम्प्रदायको रुपमा तिनीहरुको उदय हुदै गयो। यस्ता थुप्रै सम्प्रदायहरु मध्य हाल विश्वमा अस्तित्व देखिने गरि १५-२० वटा सम्प्रदायहरु प्रचलित छन् भने भारतवर्षमा एक दर्जनको हाराहारीमा रहेका छन्।

 

पूर्वीय अध्यात्म दर्शनको सन्दर्भमा आस्तिक र नास्तिकको परिभाषा पनि यही समयमा शुरु भएको हो। वेद तथा वेदबाट निसृत शास्त्रहरुमा उल्लेखित मूल्य-मान्यताहरु मान्ने सम्प्रदायहरुलाई आस्तिक भनियो र नमान्नेहरुलाई नास्तिक भनियो। धार्मिक आन्दोलनका ६० भन्दा बढि समुहहरु मध्य कतिपय समयक्रमसंगै लोप भएर गए र कतिपय अन्य सम्प्रदायहरुसंग मिले। हाल भारतवर्षमा मुख्य रुपमा नव दर्शन(सनातन षड दर्शन- सांख्य योग, योग दर्शन, न्यायिक, वैशेषिक, पूर्व-मिमांसा, उत्तर-मिमांशा{उपनिषदबाट निसृत वेदान्त} र तीन अन्य दर्शनशरु- बौद्ध, चारवाक, जैन) प्रचलनमा छन्। षड दर्शनले वेद तथा वेदबाट निसृत शास्त्रहरुमा उल्लेखित मूल्य-मान्यताहरु मान्दछन् तसर्थ यिनलाइ आस्तिक दर्शनको रुपमा मान्ने गरिन्छ र नव दर्शन मध्य तीन दर्शन- बौद्ध, चारवाक र जैनलाई नास्तिक दर्शनको रुपमा मान्ने गरिन्छ तर जैन सम्प्रदायले वेद तथा वेदबाट निसृत शास्त्रहरुमा उल्लेखित मूल्य-मान्यताहरुलाई नमाने पनि इश्वरलाई मान्दछ, जैनीहरु मानिस साधनाको बलले पवित्र बनेर, आफ्नो आन्तरीक प्रज्ञाको विकास गरेर स्वयं भगवान तथा इश्वर बन्न सक्दछ, कुनै अर्को भगवान तथा इश्वरलाई मान्नु पर्ने आवश्यकता छैन भन्ने मान्यता राख्दछन्। बौद्ध सम्प्रदायले पुनरजन्मलाई मान्दछ। अन्तिम समयतिर भगवान बुद्ध स्वयंले २५०० वर्षपछि म मैत्रेय बुद्धको रुपमा पुनरअवतार लिएर आउनेछु भन्नुभएको कुरा बौद्ध दर्शनमा उल्लेख गरिएको छ। भगवान बुद्ध पुनरअवतार लिएर आउनु भएको तथा नआउनु भएको सन्दर्भमा केही विभाजित मतहरु पनि उजागर भएकाछन् तर बौद्ध सम्प्रदायले पुनरजन्मलाई मान्दछ। चारवाक सम्प्रदायले सनातन शास्त्रहरुका साथसाथ आत्मा, परमात्मा, इश्वर र पुनरजन्म पनि मान्दैनन्। बौद्ध सम्प्रदाय शुन्यवादलाई मान्दछन् र चारवाकीयनहरु केवल देखेको भौतिक रमझम मात्र संसार हो नदेखेको केही पनि सत्य होइन, मरेपछि केही बाँकी हुदैन सबै सकिन्छ भन्ने भौतिकवादको मान्यता राख्दछन्। धार्मिक आन्दोलनका क्रममा चारवाक दर्शनको रुपमा आएको भएपनि वर्तमान समयमा यस सम्प्रदायका अनुयायिहरुको संख्या अत्यन्त न्यून छ। तर चारवाक दर्शनको अनुयायिकै रुपमा संख्या न्यून भएपनि हाल विश्वमा भौतिक विज्ञान, विज्ञान प्रविधि तथा सूचना प्रविधिको विकासकाकारण अधिकांश मानिसहरु भौतिकवाद अर्थात चारवाक दर्शनको मूल्यमान्यतातिर नै बढि आकर्षित हुदै गैरहेका छन्।

 

बौद्ध धर्म तथा दर्शन

राजकुमार सिद्धार्थ गौतमदेखि भगवान गौतम बुद्धसम्म

नेपालको लुम्बिनीमा शाक्य राजपरिवारमा आजभन्दा साँढे दुइ शताव्दी अघि इशापूर्व ५६३ मा राजा सुद्धोधन रानी मायादेवीको पुत्रका रुपमा जन्मिएका राजकुरमार सिद्धार्थ गौतम जन्मिएको केही दिनमै उनकी माताको स्वर्गारोहण भएको थियो। दिदीको मृत्युपछि वहिनीसंग राजाले विवाह गरेका हुनाले राजकुरमार सिद्धार्थ गौतमलाई उनकै सानीमा प्रजापति महामायाले हुर्काएकी थिइन्। उनी सानै छँदा भविश्यवक्ता आठ ज्योतिषीहरु मध्य सात जनाले उनको जन्मकुण्डली अनुसार यी वालक ठूलो भएपछि कि ठूला सम्राट बन्नेछन् कि ठूला साधु बन्नेछन् भनेका थिए र एकजना ज्योतिषीले विशेष जोड दिदै यिनी साधु नै बन्नेछन् भनेका थिए। ज्योतिषीहरुको यस्तो भविश्यवाणी सुनेर राजा सुद्धोधनले छोरो ठूलो सम्राट बनोस, साधु तथा वैराग्यतातिर उनको लगाव नजावस भनेर दरवार भित्रै सबै किसिमका ऐसआराम तथा सुख-सुविधाहरु उपलब्ध गराए र सबैलाई आदेश जारी गरे राजकुमारलाई कुनै पनि किसिमको दुःख तथा अप्ठ्यारो नपरोस, अरुको पनि कुनै किसिमको दुःख तथा अप्ठ्याराहरु देख्नु नपरोस ताकि उनको मनमा दुःख तथा वैराग्यतको भाव नजन्मियोस। वर्षहरु वित्दै गए, सबैले राजाको आदेश पालना गरे र राजकुमार सिद्धार्थ गौतम निर्धारित ऐसोआरामको जीवनशैलीमा अभ्यस्त हुदै हुर्किए। राजकुमार २९ वर्षका भैसकेका र राजाको रुपमा राज्य गर्न योग्य भैसकेका थिए, उनको रुची राज्य, राजकाज र राजकीय ठाँटबाँटमा बढ्दै गएको देखेर राजा पनि प्रसन्न भएका थिए तर यो प्रसन्नता लामो समय रहेन। एकदिन राजकुमार महामन्त्रीलाई लिएर अर्को छिमेकी राज्यको एक समारोहमा आफ्नो राज्यको प्रतिनिधित्व गर्न दरवार वाहिर निस्किए र लामो बाटो यात्रा गर्ने क्रममा बाटोमा उनले आम मानिसहरुको दैनिक तथा वास्तविक जीवनशैली र उनीहरुका विभिन्न सुख र दुःखका अवस्थाहरु देखे।

 

सर्वप्रथम राजकुमारले बाटोमा लठ्ठी टेकेर धरमराउदै हिड्दै गरेको वृद्ध मान्छेलाई देखे र महामन्त्रीलाई जिज्ञासा राखे, यो मान्छे किन यस्तो जिर्ण, कुप्रो र दुःखी देखिएको छ र लठ्ठीको सहारामा हिंडिरहेको छ, को हो यो र यसलाई के भएको हो भनेर। महामन्त्रीलाई राजाको आदेश थियो राजकुमारलाई कुनै किसिमको दुःख तथा अप्ठ्यारो भोग्नु तथा देख्नु नपरोस भनेर तर यो अवस्था घट्नुमा मन्त्रीको कुनै दोष तथा नियन्त्रण थिएन र बयस्क भइसकेका राजकुमारको जिज्ञासाको जवाफ नदिन तथा सत्य कुरा नबताउन पनि अव उनको नियन्त्रणमा थिएन, साथसाथ सजायको भागी पनि हुनसक्थे उनी राजकुमारको जिज्ञासाको जवाफ नदिदा। तसर्थ उनले जे सत्य हो त्यही बताउने निर्णय गरे र भने उ वृद्ध हो, सबै मान्छे जन्मेपछि वाल, किशोर, युवा, प्रौढ हुदै वृद्ध हुन्छ र यो अवस्था हुन्छ। राजकुमारले फेरी जिज्ञासा राखे, के म पनि यस्तै जिर्ण, कुप्रो, दुःखी र लठ्ठीको सहारामा हिड्ने वृद्ध हुन्छु? महामन्त्रीले जवाफ दिए, हो राजकुमार, समय बित्दै जाँदा हरेक मान्छेको जीवनमा यो अवस्था अनिवार्य रुपमा आउँछ र सबैले यो परिस्थितिको सामना गर्नु पर्दछ। राजकुमार छक्क परे किनकि २९ वर्षको वयस्क उमेरसम्म उनले कसैको यस्तो अवस्था देखेकै थिएनन्। यात्राकै क्रममा राजकुमारले बिरामी भएर अत्यन्त कष्टमा छट्पटाइरहेको मान्छे देखे र महामन्त्रीसंग पुनः त्यस्तै किसिकमको संवाद भयो, महामन्त्रीले भने, मान्छेको अवस्था र उमेर अनुसार सबै मान्छेको शरीरमा केही न केही रोग-व्याधि लाग्छ र रोग-व्याधि सबैकालागि यस्तै कष्टदायक हुन्छ। यात्रामा अलिपर पुगेपछि फेरी राजकुमारले सवयात्रा गैरहेको देखे र जिज्ञासा राखे महामन्त्रीलाई त्यो अवस्थाको बारेमा। महामन्त्रीले पुनः जवाफ दिदै भने मान्छे रोगी र बृद्ध भएपछि उसको शरीरले नियमित प्रक्रिया गर्न छोड्छ र अन्त्यमा मान्छे मर्छ। राजकुमारले दुःखी र निराश हुदै सोधे के म पनि रोगी हुन्छु? के मेरो पनि मृत्यु हुन्छ?? महामन्त्रीले भने, हो राजकुमार सबै मान्छेहरुको जीवनचक्र यस्तै हुन्छ- जन्म, जरा(बृद्ध), व्याधि र मृत्यु। राजकुमार शोकमा घोत्लिए र चिन्तन गर्न लागे, मान्छेले जीवनमा यति धेरै र अति कष्टकारी दुःखहरु झेल्नु पर्दोरहेछ, किन यस्तो दुःख झेल्नु पर्ने होला, यसको समाधान केही छ कि छैन होला... आदि मनन् गर्दै थिए।

 

यात्रा गर्ने क्रममा राजकुमारले जंगलको बाटोमा फेरी एकजना तपस्वी देखे जो स्वस्थ, चम्किलो मुहार भएका, खुशी, शान्त र आनन्दित अवस्थामा साधनामा लिन देखिन्थे। राजकुमारले उत्साहीत हुदै पुनः जिज्ञासा राखे उनी चाहिं को हुन र किन यति खुशी र शान्त देखिएका छन्? महामन्त्रीले जवाफ दिए, उनी साधु हुन, घर-परिवार, सुखभोग सबै छोडेर, सबै इच्छा-अपेक्षाहरु त्यागेर वैराग्य धारण गरि इश्वरबाट प्राप्त हुने खुशी र आनन्दको खोजीमा निस्केका हुन र त्यसकालागि जंगलमा आएर तपस्या गर्दै इश्वरको भक्ति गरेर बसेका हुन्। महामन्त्रीको यो जवाफपछि राजकुमारको अन्तरमा सबै प्रश्नहरुको जवाफ आफैं प्रकट भयो र उनले गंभिर भएर म अव कतैपनि जान्न रथ दरवारतिरै फर्काउ भनेर आदेश दिए। महामन्त्रीले अप्ठ्यारो मान्दै तर केही सवाल नगरी रथ दरवार पुर्याए र घरमा कसैसंग केही संवाद नगरी त्यसैदिन राति कसैलाई सूचना नदिकन माता, पिता, पत्नी, वालक छोरो र राज्य त्यागेर वैराग्य धारण गरी जंगलतिर लागे र ध्यान साधना प्रारम्भ गरे र तपस्यामा लिन भए।

 

ध्यान साधना प्रारम्भ गरेको छ वर्षपछि अर्थात ३५ वर्षको उमेरमा भारतको वोधगयामा सिद्धार्थ गौतमलाई आत्मज्ञानको वोध भयो र उनले वोधत्व हासिल गरे र सिद्धार्थ गौतमबाट भगवान गौतम बुद्ध बने। साधनाको क्रममा भगवान गौतम बुद्धले कडा अनुसासनको अनुशरण गरि निरन्तर तपस्या गर्नुभयो, ज्ञान तथा बुधत्व हासिल गर्नुअघि धेरै गुरु, सदगुरु र गुरुकुलहरु धाउनुभयो र बुधत्वको प्राप्तिपछि वहाँले प्राप्त ज्ञान सबै मानिसहरुमाझ पुर्याएर उनीहरुको दुःख निवारण गरि निर्वाणको बाटो देखाउने उदेश्यले पहिलो प्रवचन भारतको सारनाथमा गर्नुभयो र विस्तारै टाढा-टाढासम्म गएर मानवीयतामा केन्द्रित भई जतिसक्दो धेरै मान्छे, समुदाय तथा राज्यहरुमा त्यहाँको स्थानीय भाषामा सबैले बुझ्ने गरि बौद्ध धर्मका प्रमुख दर्शन ‘चार आर्य सत्य’ र ‘अष्टांगीक आर्य मार्ग’को प्रचार गर्नुभयो।

 

बौद्ध दर्शन

विश्वमा एशियाका प्रकाश(Light of Asia)का रुपमा चिनिने भगवान गौतम बुद्धले प्रवर्तन गर्नुभएको बौद्ध धर्म अर्थात बौद्ध दर्शन हाल विश्वमा प्रचलित धर्महरु मध्य एक अत्यन्तै लोकप्रिय चौथो ठूलो सम्प्रदाय हो। पछिल्लो तथ्यांक अनुसार हाल विश्वमा सात प्रतिशत मानिसहरु बौद्धमार्गी रहेका छन् भने इसाइ ३१ प्रतिशत, इस्लाम २४ प्रतिशत र हिन्दु १५ प्रतिशत रहेका छन्। विश्वका पूर्वी एशिया र दक्षिण-पुर्वी एशियाका राष्ट्रहरुले बौद्ध दर्शनलाई राष्ट्रिय रिलिजन(सम्प्रदाय)को रुपमा अनुशरण गर्दै आइरहेका छन्। भगवान बुद्धले मानवियतामा जोड दिदै तत्कालीन सनातन धर्ममा हावी भएको ब्राह्मणवादले समाजमा फैलाएको बिकृति र भ्रष्ट-आचार विरुद्ध आफ्नो नवीन विचारधारा सम्प्रेसित गर्दै यसो गर्ने ब्राह्मणवादका स्वघोषित शास्त्रज्ञानीहरुसंग शास्त्रार्थ गरि उनीहरुका कुतर्कहरुलाई निस्तर्क गराएर र समाजमा व्याप्त विकृतिहरु हटाएर सर्वकल्याण भाव र युग सापेक्ष विचारधारामा आधरित मानवियतामा जोड दिने संस्कृतिको पुनरस्थापना तथा नवयुग निर्माण गराउनु भयो। यस अर्थमा हेर्दा बौद्ध दर्शन सनातन धर्म र वेद तथा वेदबाट निसृत शास्त्रहरुको विरोध गर्ने, आत्मा, परमात्मा, इश्वर केही नमान्ने मत तथा प्रवृत्ति अघि सार्दै आएको भएपनि तत्काली विकृतिहरुलाई हटाएर, सर्वकल्याण भावलाई केन्द्रमा राखेर युग सान्दर्भिक नवीन विचारधाराको प्रत्यारोपण गरि अगाडि आएको धर्म तथा दर्शन भएकोले यसलाई सनातन धर्मको विरोधी तथा प्रतिस्पर्धीको रुपमा नभइ सनातन धर्मको परिमार्जित स्वरुपको रुपमा लिनु बुद्धिमानी हुन्छ र सत्य पनि यही नै हो किनकी हाल विश्वमा प्रचलित सबै धर्म, सम्प्रदाय तथा मतहरु तत्कालीन धर्मका विकृति र शोषणहरुलाई इन्कार गर्दै युग सान्दर्भिक नवीन विचारधाराका आधारमा स्थापित भएका हुन्।

 

चार आर्य सत्य र अष्टांगीक आर्य मार्ग

बौद्ध धर्मका प्रमुख दर्शन चार आर्य सत्य र अष्टांगीक आर्य मार्गले मानिसलाई जीवन जीउने सम्यक कला सिकाउँछन् जो यसप्रकार रहेका छन्-

 

चार आर्य सत्य

१. संसारमा दुःख छ(सर्वम दुःखम/ Truth of Suffering)

साझा दुःख- जन्म, मृत्यु, जरा, व्याधिका कारण हुने दुःखले मानिसहरु पिडामा छन्।

नीजि दुःख- काम, क्रोध, लोभ, मोह, अहंकारका कारण हुने दुःखले मानिसहरु पिडामा छन्।

२. दुःखको कारण छ(दुःख समुद्याय/ Truth of Cause of Suffering)

      मानिसका असिमित अपेक्षाहरु र अज्ञानता दुःखका प्रमुख कारणहरु हुन्।

३. दुःखको निवारण छ(दुःख निरोध/ Truth of End of Suffering)

      मानिसहरुमा स्वजागरण ल्याएर दुःख निवारण गर्न सकिन्छ।

४. दुःख निवारणको मार्ग छ(दुःख निरोध-गामिनी प्रटिपदा/ Truth of Path Leads to End of Suffering)

     अष्टांगीक आर्य मार्गको अनुशरण गरेर दुःख निवारण गर्न पसकिन्छ


अष्टांगीक आर्य मार्ग

चार आर्य सत्यलाई गहिराइमा बुझ र तिनको सही समाधानकालागि अष्टांगीक आर्य मार्गलाई जीवनमा पालना गरि यसलाई आफ्नो जीवनपद्धति बनाउ।अष्टांगीक आर्य मार्गको सही अनुशरण दुःख निवारणको महत्वपूर्ण माध्यम हो।

१. सम्यक दृष्टि(Right Vision)

   सबै प्रति सकारात्मक दृष्टिकोण राख, सकारात्मक देख, सकारात्मक हेर।

२. सम्यक उद्देश्य(Right Intention)

   सबै कामहरु गर्दा सर्वकल्याण भाव राख र सकारात्मक उदेश्य राख।

३. सम्यक वाणि(Right Speech)

   सबै परिस्थितिमा सबैसंग सकारात्मक बोल, मधूरवाणि बोल।

४. सम्यक कर्म(Right Action)

   सबै कर्महरुमा सर्वकल्याण भाव राख र सकारात्मक परिणाम आउने कर्म मात्र गर।

५. सम्यक आजिविका(Right Livelihood)

   सकारात्मक कर्महरु गरेर कसैलाई हानी नपुर्याइकन आजिविकाकालागि अर्थ उपार्जन गर।

६. सम्यक प्रयास(Right Effort)

  सकारात्मक भावमा सबैलाई लाभ हुनेगरि कठिन भएपनि दृढ-संकल्पकृत भइ परिश्रम गर।

७. सम्यक स्मृति(Right Concentration)

 भूत तथा भविश्यका विषयहरुको स्मृतिमा नडुव, सकारात्मक कुराहरु स्मृति, विचारहरु गर।

८. सम्यक समाधि(Right Mindfulness)

 आफूमा एकाग्रता बढाउ, आनन्दमा रमाउ र वर्तमानमा रहेर सबै काम सजगताकासाथ गर।

 

बौद्ध दर्शनका प्रमुख धार तथा साखाहरु

१. हिनयान(थेरावाद)

सुत्त पिटक र विनय पिटकका अनुसार भगवान बुद्धको महापरिनिर्वाण(देहावसान) पछि बौद्ध दर्शन हिनयान र महायान दुइ धारमा विभाजित भयो। बौद्ध दर्शनको हिनयान अर्थात थेरावाद धारलाई परम्परावादी तथा कट्टरतावादी मान्यतामा आधारीत मानिन्छ। यस धारलाई मान्ने बौद्ध अनुयायिहरु भगवान बुद्धले दिनु भएका सबै उपदेशहरुलाई जस्ताको तस्तै अनुशरण गर्ने गर्दछन्। हिनयान धारले बुद्धले आफ्नो अन्तिम समयमा दिनुभएको महान उपदेश “अत्त दिपो भव अर्थात आफ्नो दिप/प्रकाश आफैं बन” भन्ने भावलाई आत्मसाथ गर्दै गहिरो ध्यान साधनाबाट मात्र निर्वाण प्राप्त गरी आफूलाई दुःखबाट वाहिर निकाल्न सकिन्छ र निर्वाण पश्चात मात्र जन्म-मृत्युको दुःखद चक्रबाट निजाद पाउन सकिन्छ भन्ने मान्यता राख्दछ र हिनयान अनुयायिहरुले भगवान बुद्धको मूर्ति पूजा गर्दैनन्।

     

२. महायान

बौद्ध दर्शनको महायान धार युग सापेक्ष धर्ममा पनि परिमार्जन हुनु पर्दछ भन्ने मान्यता राख्ने मध्यमार्गी उदारवादी नवीन विचारधारा लिएका अनुयायिहरुको समुह हो जसले बौद्ध दर्शनलाई युग सान्दर्भिक हुनेगरि परिमार्जन गरेर नवयुग निर्माण गर्ने महान कार्यमा विशेष योगदान पुर्याएको छ। बौद्ध दर्शनको सबैभन्दा धेरै अनुयायिहरु रहेको तथा सबैभन्दा ठूलो समुह महायानले आफूलाई मात्र हित गर्ने कठोर ध्यान साधना गर्ने परम्परागत मान्यतालाई नकार्दै सबैको कल्याण हुनेगरि मानवीय सर्बकल्याण हुने परोपकारका कार्यहरु गरेर अरुलाई पनि दुःखबाट वाहिर निकाल्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दछ र सम्यक कर्म, प्रेमभाव, मानवीयतामा बढि जोड दिदै आएको छ। मन्दिर निर्माण गर्ने, मुर्ति पूजा गर्ने, भक्ति मार्गमा बढि जोड दिने बौद्ध दर्शनको महायान धारमा सनातन धर्म र वैदिक शास्त्रहरु पुराण, उपनिसदको प्रभाव पनि देखिन्छ जसले सबैलाई मिलाएर एकसाथ भएर अघि बढ्नु पर्दछ भन्ने महान सनातनी मान्यतालाई समेत आत्मसाथ गर्दै आएकोछ।

३. बज्रयान

इसाको सातौं शताव्दीमा प्रादुर्भाव भएको बौद्ध दर्शनको बज्रयान नयाँ धारले हिनयान र महायान भन्दा अलग तथा नयाँ विषय तन्त्र साधनालाई आत्मसाथ गर्दछ र तिव्वतमा सबैभन्दा बढि बज्रयान धारका अनुयायिहरु रहेकाछन्। बौद्ध दर्शनमा यी तीन धारका अलाव यिनै ठूला तथा प्रमुख धारुहरुसंग अलग मत राखेर आफ्नो फरक मत मान्दै आएका अन्य साना-साना साखा तथा समुहहरु पनि रहेकाछन्।bsirjana@gmail.com

 


No comments:

Post a Comment