डा. सिर्जना भण्डारी
नेपाल सन्दर्भ
केही दशकयता मुलुकमा भएको परिवर्तन, महिलाहरुमा आएको चेतना र बढ्दो शैक्षिक स्तरकाकारण उद्यम–व्यवसायमा महिलाहरुको सहभागिता क्रमिक रुपमा बढिरहेको छ । मुलुकको समृद्धिकालागि सरकारले अख्तियार गरेको तीनखम्बे अर्थनीतिका तीन खम्बा राज्य, नीजि तथा सहकारी क्षेत्रले महिला उद्यमशीलता विकासमा उल्लेख्य प्रयास गरिरहेका छन् । यसमा राज्यद्वारा अवलम्वन गरीएका सैद्धान्तिक, नीतिगत तथा व्यवहारीक प्रयासहरु उत्कृष्ट र उदाहरणिय छन्, तर तिनको प्रभावकारी कार्यान्वयन, अनुगमन, निरीक्षण तथा मूल्यांकन र पर्याप्त प्रचार–प्रसार हुन नसकेकाकारण यस क्षेत्रमा सोचेजति प्रगति तथा सफलता हासिल गर्न सकिएको छैन ।
सरकारले 'समृद्ध नेपाल सुखी नेपाली' लक्ष्य अघि सारेको छ । महिला सशक्तीकरण र मुलुकको समृद्धिकालागि मुलुकभित्र आर्थिक गतिविधिहरुमा ब्यापकता ल्याउनु अति आवश्यक हुन्छ । उद्यम–व्यवसाय आर्थिक गतिविधिका मेरुदण्ड हुन् । यसकालागि आधा आकाश ढाकेका र अधिकांश अझै परम्परागत भूमिकामा रुमल्लीरहेका महिलाहरुको सहभागिता उद्यम–व्यवसायमा बढाउनु वर्तमानको आवश्यकता हो । राज्यले उचित रणनीति अवलम्वन गरेर पर्याप्त सम्भावना भएका यी महिलाहरुको समय, श्रम, सीप, उर्जा तथा सिर्जनशीलताको उपयोग गरी उद्यम–व्यवसाय मार्फत राष्ट्र निर्माणमा लगाउन सक्नुपर्छ । उद्यम–व्यवसायमा महिलाहरुको ब्यापक उपस्थिति गराउन राज्यले दिर्घकालीन रणनीतिक प्रक्रियाबाट अघि बढ्नु पर्दछ । यसकालागि निम्न विषयमा गहन अध्ययन र आवश्यक सुधार गर्नु आवश्यक हुन्छः
१. महिलाहरुको अवस्था तथा अवस्थितिको पहिचान;
२. महिलाले उद्यम–व्यवसाय थाल्नु अघि गर्नुपर्ने ‘पूर्व परिस्थिति अध्ययन’;
३. उद्यम–व्यवसायमा सहभागी हुन महिलाका अवसर तथा चुनौतीको पहिचान ।
१. वर्तमान परिस्थितिमा परिवार, समाज र राज्यमा महिलाहरुको अवस्था अर्थात राज्यका विभिन्न तहहरुमा महिलाको पहुँच तथा श्रोतमाथि महिलाको पहुँच राज्यले राखेको लक्ष्य अनुसार सन्तोसजनक मान्न सकिन्छ तर महिलाहरुको अवस्थिति अर्थात श्रोतमाथि महिलाको नियन्त्रण तथा अधिकार प्राप्तीको वास्तविक पक्ष भने अझै लक्ष्य भन्दा निकै टाढा रहेको छ । तसर्थ, सर्वप्रथम, परिवार, समाज र राज्यमा महिलाको अवस्थामा मात्र नभई अवस्थितिमा सुधार ल्याउन राज्यले प्रभावकारी दिर्घकालीन रणनीति तथा कार्यनीति अख्तियार गरी इमान्दारीपूर्वक व्यवहारमा लागू गर्नुपर्छ ।
२. उद्यम–व्यवसायमा सहभागी हुनुअघि पुरुषको तुलनामा अधिकांश महिलाहरुले धेरै आन्तरीक तथा बाह्य अप्ठ्यारा परिस्थितिहरुसंग लड्नुपर्ने बाध्यताहरु छन् । महिलाहरुको मनमा आन्तरीक द्वन्द तथा दुविधा चलिरहेको हुन्छ की परिवारलाई कसरी पक्षमा लिने, समाजको मूल्य–मान्यताको सामना कसरी गर्ने, आवश्यक शिक्षा, सीप, प्राविधिक ज्ञान तथा अनुभवको अभावमा यो काम गर्न सक्छु की सक्दिन, व्यवसाय डुब्यो भने के गर्ने, पूर्ण आत्म विश्वासको अभाव जस्ता आन्तरीक समस्याहरुले सामान्य महिला लगायत शैक्षिक र आर्थिक रुपले सक्षम, ज्ञान र अनुभव तथा सम्भावना भएका महिलाहरुमा पनि उद्यम–व्यवसायमा लाग्ने आँट आउँदैन । त्यस्तै, बाह्य परिस्थितिहरु जस्तै कच्चा पदार्थ, आवश्यक श्रम, भण्डारन, बजार, सम्भावित जोखिम आदि समस्याहरुले पनि उनीहरुलाई उद्यम–व्यवसायमा सहभागी हुन हतोत्साहित गरीरहेको हुन्छ । तसर्थ, महिलाहरु उद्यम–व्यवसायमा सहभागी हुनु अघि उनीहरुको आन्तरीक आत्मवल बढाउन उनीहरुसंग छलफल तथा परामर्श गर्नु आवश्यक हुन्छ र उद्यम–व्यवसायका बाह्य परिस्थिति सहज गराउन आवश्यकता अनुसार उद्यम–व्यवसायको सम्भाब्यता अध्ययन र अप्ठ्यारो परिस्थितिमा सहयोगको प्रतिबद्धता गर्नुपर्छ । उद्यम–व्यवसायको सम्भाब्यता अध्ययन गराउन विश्व अनुभवको सिको गर्दै माध्यमिक तथा स्नातक तहका विद्यार्थीहरुलाई परिचालन गर्नु उचित हुन्छ ।
३. वर्तमान परिस्थितिमा उद्यम–व्यवसायमा सहभागी हुन महिलाकालागि पनि थुप्रै अवसरका ढोका खुलेकाछन् जसले महिला सशक्तीकरण र मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउँन सक्छ तर अवसरसंगै चुनौतीहरु (खासगरी महिलाकालागि) पनि आउँछन् । उद्यम–व्यवसायमा सहभागी हुन महिलाका चुनौतीहरु देश तथा समाजको परिबेस अनुसार फरक–फरक हुन सक्छन् । महिला उद्यमशीलता विकासमा विकाशोन्मुख मुलुकका महिलाहरुका चुनौतीका सम्वन्धमा गरीएका अन्तरर्राष्ट्रिय अध्ययनहरुमा श्रेणीवद्ध रुपमा महिलाका निम्न चुनौतीहरु पहिचान गरीएका छन्ः
१. नेतृत्व क्षमतामा कमी;
२. लगानी गर्ने पूंजीको अभाव;
३. बहु–आयामिक भूमिका (Multiple Roles)काकारण समयको अभाव;
४. प्राकृतिक/प्रजनन् भूमिका (Reproductive Role) काकारण स्वास्थ्यमा समस्या;
५. राज्यले प्रदान गरेको सेवा–सुविधा र कानून तथा नीतिबारे अनभिज्ञता;
६. ऋण भुक्तानी गर्न नसक्ने तथा नगर्ने;
७. समुहको नेताले सदस्यहरुको संचित रकम दुरुपयोग गर्ने;
८. शैक्षिक, प्राविधिक तथा अन्य आवश्यक ज्ञानको अभाव आदि ।
उद्यम–व्यवसायमा सम्लग्न हुन महिलाहरुले सामना गर्नु परेका यस्ता श्रेणीवद्ध चुनौतीहरुको राज्यले श्रेणीवद्ध ढाँचामै स्पष्ट पहिचान र उचित समाधान गरेर महिलाहरुलाई उद्यम–व्यवसायमा सम्लग्न गराउन सके दिगो विकास हुने र महिला सशक्तीकरण तथा मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग पुग्ने तथ्य विश्वमा गरीएका विभिन्न अध्ययनका तथ्यांकहरुले देखाएका छन् ।
महिला उद्यमशीलता विकासका आगामी रणनीतिहरु कस्तो हुनुपर्छ
महिला उद्यमशीलता विकासकालागि उचित तथा प्रभावकारी रणनीति निर्माण गर्न विभिन्न पक्ष, दृष्टिकोण, अनुभव, सैद्धान्तीक तथा व्यवहारीक पक्षमा ध्यान दिनुपर्ने हुन्छ । महिलाहरुको अवस्था तथा अवस्थितिको पहिचान; महिलाले उद्यम–व्यवसाय थाल्नु अघि गर्नुपर्ने ‘पूर्व परिस्थिति अध्ययन’; उद्यम–व्यवसायमा सहभागी हुन महिलाका अवसर तथा चुनौतीको पहिचान आदिबारे माथिनै ब्याख्या गरीसकीएको छ । यसका अतिरिक्त महिला उद्यमशीलता विकासकालागि तीनखम्बे अर्थनीतिको कार्यान्वयन गर्दै राज्यले उचित तथा प्रभावकारी रणनीतिक कदमहरु चाल्नुपर्छ र जतिसक्दो आफ्नै मुलुक भित्र गरिदै आएका उद्यम–व्यवसायका सफल नमुना उद्यम तथा व्यवसायहरु र विश्वका आफू सरहका मुलुकहरुले अवलम्वन गरेका महिला उद्यमशीलता विकासका सफल नमुना परियोजनाहरुको सिको तथा अनुसरण गर्दै अघि बढ्नुपर्छ ।
मुलुकको समृद्धिकालागि आर्थिक गतिविधिका प्राथमिक आधारहरु पूर्वाधार निर्माण, उद्यम–व्यवसायका काम तथा परियोजनाहरु अघि बढाउनु र यी कामहरुकालागि मानव पूंजी परिचालन गर्नु राज्यको प्रमुख दायित्व हो । तसर्थ, अव उद्यम–व्यवसाय संचालनकालागि महिला राज्यकहाँ पुग्ने मात्र नभइ, महिला उद्यमशीलता विकास गर्ने कार्यनीति तथा कार्ययोजनाको खाका लिएर राज्य आधारभूत तहका महिलाहरु र शहरी बेरोजगार महिलाहरुकहाँ पुग्नुपर्छ ताकि महिलाहरुलाई उद्यम–व्यवसायमा सहभागी हुन उर्जा तथा प्रोत्साहन र ढाडस मिलोस र उनीहरुको खेर गइरहेको अमूल्य श्रमको सदुपयोग हुनुकासाथै उनीहरुको जिविकोपार्जनमा पनि सहयोग मिलोस । यस अतिरिक्त, महिलाहरुलाई उद्यम–व्यवसायप्रति अझ आकर्षित गर्न राज्यले नीजि तथा सहकारी क्षेत्रसंग सहकार्य गर्दै तल उल्लेखित साक्षरता, तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु लिएर आधारभूत तह (Grass Root) सम्म पुग्नुपर्छ ।
साक्षरता, तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु
१. साधारण साक्षरता (General Literacy): पढ्न, लेख्न र गणना गर्न सक्ने;
२. वित्तिय ज्ञान (Financial Knowledge): पूंजीगत ऋण, अनुदान, सहुलियत, ब्याजदर, शुल्क तथा आयकर छुट;
३. कानूनी तथा नीतिगत ज्ञान (Law and Policy Knowledge): विषयगत कानूनी तथा नीतिगत व्यवस्था;
३. प्राविधिक ज्ञान (Technical Knowledge): आधुनिक मेसिनरी प्रविधि, सुचना तथा संचार प्रविधि;
४. व्यवसायिक ज्ञान (Business Knowledge): उद्यम–व्यवसायको सम्भावना अध्ययन, वित्तिय तथा व्यवसायिक व्यवस्थापन, उत्पादन प्रवद्र्धन, गुणस्तर नियन्त्रण, लेबलीङ, प्याकेजीङ, बजारीकरण, लेखा–पद्धति ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफल नमुना परियोजनाहरुको अनुभवको सिको तथा अनुसरण
राष्ट्रियः सामान्यतया, मुलुकका विभिन्न क्षेत्रहरुमा के–के भइरहेको छ भन्ने कुरा सामान्य नागरीकहरुले संचार माध्यम, छिमेकि तथा साथीहरुबाट थाहा पाउने हो र त्यही अनुसार आफ्नो अवधारणा र वर्तमान तथा भावी योजनाहरु बनाउने हो तर हामीकहाँ सकारात्मक कुरा विरलै सुन्न तथा देख्न पाइन्छ । यो सत्य हो की, हाम्रोे नेतृत्वले मुलुक विकासको सहि गति पक्डीसकेको छैन, तर नीजि तथा सहकारी क्षेत्र र नागरीकहरुको प्रयासमा मुलुकको उद्यम–व्यवसायको क्षेत्रमा (विशेषगरी कृषि क्षेत्रमा) थुप्रै सफल र उदाहरणीय कामहरु भएका छन्, जस्तो पशुपालन (गाई, भैंसी, भेडा, अलपाका, बाख्रा, सुंगुर...), फलफूल खेती (किवी, आभोकाडो, ड्रयागन फ्रुट, स्याउ, अंगुर...), तरकारी खेती, माछा, माहुरी, कुखुरा, अष्ट्रिच, कालीज, टर्की, बट्टाई पालन, हस्तकला, पर्यटन, सेवा लगायत नयाँ प्रविधिमा आधारीत भर्मी कम्पोस्ट, हाइड्रोपोनिक, इ.एम.ओ. (Especial Micro Organism) उत्पादन जस्ता कामहरु सफलतापूर्वक गरीएका छन् ।
कृषि प्रधान मुलुककालागि यस्ता उद्यम–व्यवसायहरु सकारात्मक तथा आशा जगाउने गतिविधिहरु हुन् । यी व्यवसायहरुमा महिलाहरुको पनि उत्साहजनक उपस्थिति देखिनु महिला उद्यमशीलता विकासकालागि सुखद पक्ष हो किनकी महिला सशक्तीकरण तथा उद्यम–व्यवसायमा महिलालाई सहभागी गराउने काम शुन्यबाट नभइ त्यहि विन्दुबाट अघि बढाउन सकिन्छ । पुरुष युवा शक्तिको ठूलो हिस्सा वैदेशिक रोजगारीमा पलायन भएको विषम रीक्तता र आवश्यक श्रमशक्ति अभावको असहज परिस्थितिमा महिलाहरुलाई उद्यम–व्यवसायमा सहभागी गराउने प्रयासले एकातिर थोरै भएपनि मुलुकले आर्थिक राहत महसुस गर्नसक्छ भने अर्कोतिर महिला उद्यमशीलता विकासको प्रभावकारी कार्यान्वयन र सफलता देखेर पलायन भएका पुरुषहरु विस्तारै मुलुक फर्किने क्रम बढ्न सक्छ, यद्धपि, तीनवर्ष यता सरकारले बैदेशिक रोजगारीमा गरेको नीतिगत सुधार तथा नयाँ युवा नीतिकाकारण युवा पलायन अनुपात घटेको सरकारी तथ्यांकले देखाएको छ ।
यस्ता उद्यम–व्यवसायहरुमा सहभागी अधिकांश उद्यमी तथा व्यवसायिहरु बैदेशिक रोजगारबाट सीप सिकेर फर्किएका युवाहरु रहेको तथ्यांकमा देखिएकोकारण पनि अव फर्किने सीपालु युवाहरुको सहभागीता यस्ता उद्यम–व्यवसायमा बढ्न् गई मुलुकको विकासमा सहयोग पुग्ने आशा गर्न सकिन्छ । यसकालागि राज्यले अझ प्रभावकारी युवा परिचालन रणनीति अवलम्वन र त्यसको कडाइकासाथ कार्यान्वयनकालागि कार्यनीति र कार्ययोजना तयार गरेर अगाडि बढ्नुपर्छ । यी लगायत अन्य उद्यम–व्यवसायहरुमा महिलाहरुको सहभागीता बढाउन राज्यले थप निम्न रणनीति अवलम्वन गरेर महिलासम्म पुग्नुपर्छः
- उद्यम–व्यवसाय दिगो हुन सक्ने–नसक्नेबारे सम्पूर्ण सम्भाब्यता अध्ययन;
- उद्यम–व्यवसाय शूरु गर्नु पूर्व सफलतापूर्वक संचालित उद्यम–व्यवसायहरुको महिलाहरुद्वारा अवलोकन भ्रमण;
- अनुभवी तथा स्थापित उद्यमी तथा व्यवसायिहरुबाट महिलाहरुलाई परामर्श, तालिम तथा प्रशिक्षण;
- अनुभवी तथा स्थापित उद्यमी तथा व्यवसायिहरुबाट महिलाद्वारा संचालित उद्यम–व्यवसायको आवधिक निरीक्षण गरी कमी कमजारी सुधारमा सहयोग;
- उद्यमी व्यवसायिहरुको अनुभव साटासाट कार्यक्रम;
- हालसम्म खासै प्राथमिकतामा नपरेको तर अति महत्वपूर्ण कुरा महिलाहरुको बहु–आयामिक भूमिका, प्रजनन् भूमिका र समय गरिवी (Time poverty) विच सन्तुलन कायम गर्नु (यसकालागि विश्व बैंकले अवलम्वन गरेको ३ आर’स (3 R's- महिलाले गर्नुपर्ने कामको Recognition, Reduction,
Redistribution) रणनीति अवलम्वन गर्नु जरुरी हुन्छ ।
अन्तर्राष्ट्रियः राष्ट्रिय अनुभवकासाथै अन्तरर्राष्ट्रिय अनुभवहरुबाट पनि अझ धेरै र नयाँ–नयाँ कुराहरु सिक्न सकिन्छ । अन्तर्राष्ट्रिय तहमा नीति–रणनीति–कार्यनीति, योजना–कार्ययोजना, उद्यम–व्यवसायहरु तथा विकासका आयामहरु बद्लिदो समय र परिस्थितिसंगसंगै अघि बढीरहेका हुन्छन् । प्राविधिक विकास, आधुनिकीकरण, औद्योगिकिकरण, शहरीकरण, शिक्षा तथा चेतनामा भएको वृद्धिकाकारण वर्तमान अवस्थामा छिटोछिटो परिवर्तन आइरहेको छ । तसर्थ हामीले पनि आधुनिक विश्वको गतिसंग आफ्नो गति मिलाउने कोशिश गर्दै आफ्नो परिस्थिति सुहाउँदा नीति–रणनीति–कार्यनीति, योजना–कार्ययोजना, विकासका आयाम तथा उद्यम–व्यवसाय विकासका निम्न अनुभवहरुको सिको तथा अनुसरण गर्दै जानुपर्छ:
- भारतको नीति आयोगले सन् २०१८ मा अवलम्वन गरेको महिला उद्यमशीलता मञ्च (Women Entrepreneurship Platform) ले महिलाको इच्छा शक्ति, ज्ञान शक्ति र कर्म शक्ति यी तीन खम्बालाई प्राथमिकतामा राखेको छ । यसको प्रमुख उदेश्य छरिएर रहेका महिला उद्यमीहरुलाई एकै छाना मूनि ल्याउनु, महिला उद्यमीहरुको संजाल विस्तार गर्नु, उद्यम–व्यवसायबारे परामर्श तथा प्रोत्साहन दिनु, समान उदेश्य भएका साझेदारहरुसंग भेट गराउनु, लगानी जुटाउन मद्धत गर्नु, व्यवसायिक तालिम प्रदान गर्नु आदि रहेको छ साथै यसले मोवाइल फोन मैत्री महिला उद्यमशीलता एप्स पनि निर्माण गरेको छ;
- चीन सरकारले अवलम्वन गरेको महिला प्रथम रणनीति, महिला उद्यमीहरुको अवलोकन भ्रमण, उद्यम–व्यवसाय गर्न इच्छुक आवेदकहरुमा महिलालाई प्राथमिकता, एकै स्थानमा श्रेणीवद्ध विकास परियोजना (जस्तो की पशुपालन, घाँस÷दाना उत्पादन, कम्पोस्ट मल उत्पादन, फलफूल तथा तरकारी खेती आदिको काम संगसंगै एकसाथ अघि बढाउने) स्थापना रणनीति आदि;
- श्रीलंका तथा भुटानले महिलाहरुका व्यवहारीक तथा रणनीतिक आवश्यकता अनुसार तय गरेको महिला प्रथम रणनीति, महिलाहरुको शरिरको प्राकृतिक वनावट तथा उत्तरदाइत्वसंग मेल खाने खालका काममा महिलालाई प्राथमिकता जस्तै शिक्षण, बैंक तथा कर्पोरेट सेवा, बजार (सुपर मार्केट), होटल तथा रेस्टुरान्ट आदि;
- ग्रामीण क्षेत्रका अशिक्षित महिलाहरुलाई सरकारको सेवा सुविधाबारे जानकारी प्रदान गर्न र सुचना तथा संचार प्रविधिहरु चलाउन सिकाउन बंगलादेशले व्यवहारमा ल्याएको प्रचार–प्रसार कार्यकर्ता (IT Girls) रणनीति;
- विश्वका धेरै विकासोन्मुख राष्ट्रहरुले महिला उद्यमशीलता विकासकालागि संयुक्त राष्ट्रसंघ औद्योगीक विकास संस्था (युनिडो) ले अख्तियार गरेका उत्कृष्ट कार्यनीति तथा कार्ययोजनाहरु व्यवहारमा अनुसरण गरेर महिला उद्यमशीलता विकास र महिला सशक्तीकरण हासिल गर्न सफल भएका छन् ।
युनिडोले उद्यम–व्यवसाय विकास क्षेत्रमा निरन्तर नयाँ–नयाँ खोज तथा अध्ययन र सहयोग गरीरहेको छ । समृद्धिकालागि उद्यमशीलता बढाउनु पर्छ, उद्यमशीलता बढाउन महिला सशक्तीकरण गर्नुपर्छ र उद्यमशीलताले महिला सशक्तीकरण गर्छ भन्ने कुरामा यस संस्थाले जोड दिदै आइरहेको छ । यसकासाथै महिलाहरुलाई संधै सक्रिय, जागरुक तथा प्रोत्साहित राख्न महिलाहरुको श्रेणीवद्ध चुनौतीहरुको पहिचान गरी तिनको समाधान गर्न नेतृत्व क्षमता विकासकालागि व्यवसायिक परामर्श, लगानीकालागि पूंजीको व्यवस्था, घरायसि कामबाट समय वचत गर्न प्राविधिक उपकरण (उन्नत चुल्हो, सोलार उर्जा, मसला पिस्ने, कपडा धुने मिसिन आदि) उपलब्धता र आधारभूत पूर्वाधार (खानेपानीको व्यवस्था, चर्पी निर्माण आदि) विकासमा सहयोग, स्वास्थ्य तथा प्रजनन् सम्वन्धि चेतना तथा स्वास्थ्य पूर्वाधार (स्वास्थ्य चौकी तथा घुम्ती स्वास्थ्य उपचार आदि) विकासमा सहयोग तथा सरकारले प्रदान गरेका सेवा–सुविधाहरुको प्रचार–प्रसार, वचत तथा लगानी निरीक्षण र शाक्षरता तालिमहरुलाई निरन्तरता दिदै आइरहेको छ । युनिडोले महिला उद्यमशीलता विकासका क्षेत्रमा चाल्दै आएका यस्ता कदमहरुको सिको तथा अनुसरण गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । सन् २००३ मा युनिडोले महिला उद्यमशीलता विकासका चुनौतीहरुको पहिचान गरी विश्वका विभिन्न अल्प विकसित मुलुकहरुमा महिला उद्यमशीलता विकासकालागि अवलम्वन गरेको रणनीति तथा कार्यनीति अनुसार संचालित परियोजनाहरु यसप्रकार रहेका छन् । यी परियोजनाहरुबाट हासिल उपलब्धि र अनुभवहरु महिला सशक्तीकरणको क्षेत्रमा निकै प्रभावकारी देखिएका थिए । यिनै उपब्धिहरुको सिको तथा अनुसरण गरेर नेपालमा पनि महिला सशक्तीकरण तथा महिला उद्यमशीलता विकासका क्षेत्रमा सकारात्मक कदम चाल्न सकिन्छ ।
१. मोजाम्विक– छुट्टै शिघ्र प्रसासनिक संयन्त्रको व्यवस्थाः
महिलाहरुलाई उद्यम–व्यवसाय संचालन गर्न सबै किसिमका कानूनी तथा प्रसासनिक झन्झटहरुबाट मुक्त गर्न र यथाशिघ्र संचालन अनुमति दिलाउन छुट्टै प्रसासनिक संयन्त्रको व्यवस्था गरीएको थियो जसले कम शाक्षरता र कानूनी तथा नीतिगत अनभिज्ञता भएका महिलाहरुलाई उद्यम–व्यवसायमा सहभागी हुन प्रोत्साहन गरेको थियो र महिला उद्यमशीलता संख्यामा उल्लेख्य वृद्धि भएको थियो ।
२. युगाण्डा– नीजि क्षेत्रको सहयोग नीजि क्षेत्रलाईः
सामान्यतया अल्प विकसित मुलुकहरुमा सरकारी बजेट पर्याप्त नहुने हुनाले युनिडोको पहलमा कार्पेन्टर व्यवसायका ठूला र स्थापित नीजि कम्पनी/उद्यमीहरुलाई साना उद्यमीहरुको उद्यम–व्यवसाय विकासकालागि तालिम प्रदान गर्न आग्रह गरीएको थियो । जसको उपलब्धि स्वरुप साना उद्यमीहरुको उत्पादकत्व तथा गुणस्तर बढेकोकारण प्रतिस्पर्धामा टिक्न सक्ने भएका थिए ।
युवा उद्यमशीलता पाठ्यक्रम निर्माणः बेरोजगार युवाहरुलाई उद्यमशीलतामा लगाउन नयाँ उद्यमशीलता पाठ्यक्रम निर्माण गरी युवाहरुलाई उद्यम–व्यवसायकालागि तयार पारीएको थियो, उपब्धि स्वरुप युवा बेरोजगार घटेको र उद्यम–व्यवसायको संख्या वुद्धि भएको थियो ।
३. रुवाण्डा– युद्धपछि उद्यमशीलताको माध्यमबाट महिला सशक्तीकरण र शान्ति स्थापनाः
युद्धले तहस–नहस भएको र पुरुषहरुको नरसंहारकाकारण अति विपन्न महिला तथा वालवाकिाहरुको सहज जीवजयापन र शान्ति स्थापनाकालागि महिलाहरुलाई खाद्य सम्वन्धि उद्यम–व्यवसाय संचालनमा युनिडोले गरेको पहलले महिला सशक्तीकरण तथा शान्ति कायम भएकोकारण महिला तथा वालवालिकाहरुको जीवजयापन सहज भएको थियो र नयाँ–नयाँ रोजगारीका अवसरहरु पनि सिर्जना भएका थिए ।
४. भियतनाम– महिलाद्वारा उत्पादित सामग्रीको निर्यात प्रवद्र्धन गर्न परम्परागत कलाग्रामको स्थापनाः
कलाकृतिमा सम्पन्न मुलुक भियतनाममा महिलाद्वारा उत्पादित हस्तकलाका सामग्रीहरुको बजार अपर्याप्त भएको र उद्यमनै बन्द हुने अवस्था भएकोले विदेसमा निर्यात प्रवद्र्धन गरी कलाकृतिका उद्योगहरुको विकास गर्न परम्परागत कलाग्रामको स्थापना गरीएको थियो, जसबाट वैदेशिक निकासीमा उल्लेख्य वृद्धि भएको थियो । परम्परागत कलाग्राममा छुट्टा–छुट्टै प्रदशनी कक्ष, तालिम कक्ष तथा भण्डारन कक्ष निर्माण गरीएका थिए ।
५. केन्या– महिलाको आर्थिक सामाजिक सशक्तीकरणकालागि महिला उद्यमशीलतामा जोडः
महिलाहरुद्वारा संचालित खाद्य पदार्थ (दुध, फलफूल, तरकारी) प्रसोधन गर्ने उद्यमहरु स्वास्थ्यको दृष्टिकोणले असुरक्षित तथा अव्यवस्थित र भएकाले सरसफाई र उत्पादकत्व बढाउन महिला उद्यमीहरुलाई तालिम प्रदान गरीएको थियो । यसो गर्नाले उपभोक्ताहरुको स्वास्थ्यमा सुधार आउनुकासाथै प्रसोधित उत्पादन सामग्रीहरु लामो समयसम्म टीकाउ भएका थिए र बजारमा उत्पादीत सामग्रीहरुको माग बढेको थियो ।
६. मध्य अमेरीका– उद्यमशीलता विकासकालागि नीजि क्षेत्र, एनजीओ र विश्वविद्यालयको संयुक्त पहलः
प्राय महिला उद्यमीहरुमा शिक्षा, तालिम, व्यवसाय व्यवस्थापकिय ज्ञानको अभावकाकारण अति कम उत्पादन र न्युन आम्दानी हुने गरेको र उद्यम–व्यवसाय राम्ररी चल्न नसकेको अवस्थामा युनिडोको सहयोगमा नीजि क्षेत्र, एनजीओ र विश्वविद्यालयलाई परिचालन गरी ग्वाटेमाला, होन्डुरस र निकारागुवाका उद्यमीहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न तालिम तथा प्रशिक्षण प्रदान गरी उनीहरुको उत्पादन बढाउन तथा बजारीकरणमा सहयोग गरीएको थियो र सफलता पनि मिलेको थियो ।
सन्दर्भ सामग्रीः
Mishra G. & UV. K. (2014) Rural Women
Entrepreneurs: Concerns & Importance. International Journal of Science and
Research (IJSR), September 2014.
Niti Aayog. (2018). Women entrepreneurship
platform. India [https://wep.gov.in/]
UNIDO. (2003). A path out
of poverty: Developing rural and women entrepreneurship. UN: Vienna.