'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Saturday, 8 June 2024

जीवन विज्ञानले जगाएको अध्यात्म जागरण र पांचबुदे आध्यात्मिक लुम्बिनी संकल्प पत्र

नवयुग निर्माणको आयाम: अध्यात्म जागरण तथा स्वजागरण!

                                                                           डा. सिर्जना भण्डारी


प्रमुख विषयहरु: लुम्बिनी अध्यात्म जागरण; जीवन विज्ञानको योगदान; आध्यात्मिक लुम्बिनी संकल्प पत्र; अध्यात्म जागरण । 

तेह्र वर्षअघि बि.सं. २०६८ सालमा स्थापना गरिएको आधूनिक वैज्ञानिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानको नेतृत्वमा बि.सं. २०८० साल चैत्र १७ गतेदेखि २३ गतेसम्म २० वटा देशबाट र नेपालका ७६ जिल्लाबाट विभिन्न क्षेत्र तथा तहका प्रतिनीधिहरु सहभागी भएका करिव ६ हजार व्यक्तिहरुको प्रत्यक्ष सामुहिक उपस्थितिमा लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यानकक्षमा आयोजना गरिएको सत्ताहव्यापि विराट चक्र विज्ञानको समापन पश्चात चैत्र २४ गते नेपालमा विराट अध्यात्म जागरणको लहर जगाउने उदेश्यकासाथ ठूलो संख्यामा उपस्थित सहभागीहरुको साथमा ‘लुम्बिनी अध्यात्म जागरण’ कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सहभागी हुनुभएका नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायत प्रमुख राजनीतिक दलहरुका अध्यक्ष तथा उच्चपदस्त सदस्यहरु र नेपाल सरकारका निजामती सेवाका मुख्यसचिब, प्रमुखसचिब तथा उच्चपदस्त अधिकारीहरु र सामाजिक अभियन्ताहरुको समुपस्थितिमा आध्यात्मिक संकल्प र हस्ताक्षर सहित पांचबुदे ऐतिहासिक ‘आध्यात्मिक लुम्बिनी संकल्प पत्र’ जारी गरिएको थियो। ऐतिहासिक आध्यात्मिक लुम्बिनी संकल्प पत्र यसप्रकार रहेको छ-

१.     हामी योगभूमि, ज्ञानभूमि, बुद्धभूमि, तपोभूमि नेपाललाई मैत्रीभाव, समानता र शान्तिको प्रवद्र्धन गरी नागरीकहरुको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित योगध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रयोग एवं परिचालन गर्न सबै जात, धर्म, लिंग र सम्प्रदायको घेरा भन्दा माथि उठेको राष्ट्रको रुपमा रुपान्तरित गर्दै नेपाललाई विश्वशान्ति केन्द्र (World Peace Center) को रुपमा विकास गर्ने संकल्प गर्दछौं।

२.     सम्वत् २०८१ को प्रवेशसंगै हामी हाम्रै भूमिमा उत्पत्ति भएको ध्यान र योग देशभर प्रवद्र्धन गर्ने संकल्प गर्दछौं। साथै पूर्वीय संस्कृतिको प्रयोग, सम्वद्र्धन तथा अभिवद्र्धनकालागि शिक्षा, स्वास्थ्य, कृषि, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषयसंग सम्वद्ध उपयुक्त पाठ्यक्रम एवं तालिमकालागि उपयुक्त जनशक्ति तयार गर्ने संकल्प गर्दछौं।

३.     नेपाल राष्ट्रमा रहेको ज्ञान, ध्यान, योग, पूर्वीय चिकित्सा पद्धतिलाई विश्वसामु उपलव्ध गराएर समग्र विश्वशान्ति एवं सह-अस्तित्वको सन्देशकालागि वैज्ञानिक पद्धतिको सञ्चार गर्न विदेशस्थित दुतावास, नियोग एवं कुटनीतिक संजालहरु मार्फत विश्वभर फैलाउने संकल्प गर्दछौं।

४.     ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिको माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्र (Peace Tourism Center) को रुपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्याउने संकल्प गर्दछौं।

५.     देशभर ध्यान र योग प्रवद्र्धन गर्न सक्रिय र समर्पित आध्यात्मिक संस्था तथा अभियन्ताहरुसंग परामर्श तथा सहकार्य गरि उपयुक्त व्यवस्था गर्ने संकल्प गर्दछौं।

 

पांचबुदे ऐतिहासिक आध्यात्मिक लुम्बिनी संकल्प पत्र जारि गरिए पश्चात संकल्प पत्रमा उल्लेखित लक्ष्य हासिल गर्न जीवन विज्ञान प्रतिष्ठानले नेपाल सरकार र नेपाल तथा विदेशस्थित विभिन्न आध्यात्मिक संघ-संस्थाहरु तथा अभियन्ताहरुसंग आवश्यक सरसल्लाह, सहकार्यता तथा कार्ययोजना तर्जुमा गर्ने र कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा आवश्यक परामर्श लिने गृहकार्य शुरु गरेकोछ। नेपालको संघिय सरकारले आफ्ना वार्षिक नीति तथा कार्यक्रमहरुमा योग-ध्यान, स्वजागरण जस्ता आध्यात्मिक विषयहरु समावेस गरेकोछ। योग-ध्यान तथा स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिहरुलाई मूलप्रवाहीकरण गरि स्वस्थ र नैतिकवान समाज निर्माण गर्न संघ, प्रदेश र स्थानियस्तरमा योग-ध्यानको स्वजागरण अभियान सञ्चालन गरि योग-ध्यानको सन्देश विश्वभर फैलाउन र नेपालमा योग-ध्यान पर्यटन प्रवद्र्धन गर्ने प्रतिवद्धता जाहेर गरेकोछ। योग-ध्यान तथा स्वजागरण प्रवद्र्धनकालागि राज्यका तीनै तहका सरकारहरुले बजेट तर्जुमा तथा कार्ययोजना निर्माणको काम शुरु गरिसकेकाछन् र गाउँ पालिका तथा नगर पालिकाका, वडा र टोलहरुलाई पनि यसै अनुसार आफ्ना नीति तथा कार्यक्रमहरुमा आध्यात्मिक विषयहरु समावेस गरि बजेट तर्जुमा तथा कार्ययोजना निर्माणको काम शुरु गर्न निर्देशन दिइएकोछ।

 

पांचबुदे ऐतिहासिक आध्यात्मिक लुम्बिनी संकल्प पत्रमा समावेस गरिएका बुदाहरुका सारमा केही बुदाहरु प्रमुख तथा महत्वपूर्ण रहेकाछन् जसले नेपालको प्राचीन, ऐतिहासिक, भौगोलिक, प्राकृतिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक सबै परिवेश र पृष्ठभूमिहरु आध्यात्मिक पर्यटनको दृष्किोणले सहज, सुगम तथा अत्यधिक सम्भावना रहेको हुनाले अध्यात्म जागरणको माध्यमबाट नेपाललाई विश्वसामु फरक पहिचान दिलाउने गरि अत्यन्त गरिमामय उपमा विश्व अध्यात्म गुरु र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्य क्षेत्रको रुपमा परिचय दिलाउने साथै विश्वशान्ति केन्द्र र शान्ति पर्यटन केन्द्रका रुपमा विकास गर्ने दिशामा अग्रसर गराउने अपेक्षा राखिएको छ।

 

विराट अध्यात्म जागरणमा जीवन विज्ञान प्रतिष्ठानको योगदान

आधूनिक वैज्ञानिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानले विराट अध्यात्म जागरणको पहिलो अभियान बि.सं. २०७९ साल फागुनमा ठूलो संख्यामा उपस्थित सहभागीहरुको साथमा ‘पूर्वाञ्चल अध्यात्म जागरण’ कोशी प्रदेशबाट शुरु गरेको थियो। अध्यात्म जागरणको माध्यमबाट मानिसहरुमा स्वजागरण ल्याएर उनीहरु स्वयंमा अन्तरनिहीत क्षमता तथा प्रतिभाहरु उजागर गरि उनीहरुको जीवनमा सुख, शान्ति, समृद्धि हासिल गर्न सहयोग गर्ने उदेश्य राखेर विगत १३ वर्षदेखि जीवन विज्ञान प्रतिष्ठानले अनवरत प्रयास गरिरहेको छ। यसकालागि समय सान्दर्भिक हुनेगरि घटीमा एक सप्ताह र बढिमा तीन सप्ताहसम्मका पाठ्यक्रम तथा कार्यक्रहरु निर्माण गरेर इच्छुक अध्यात्म अनुरागीहरुलाई निरन्तर प्रशिक्षित गरी सेवा प्रदान गर्दै आइरहेको छ। जीवन विज्ञान प्रतिष्ठानले अध्यात्म अनुरागीहरुको आध्यात्मिक स्तर अनुसारका पाठ्यक्रमहरु समावेस गरि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको भएपनि प्राथमिकता, आवश्यकता, माग र लोकप्रियताका आधारमा निम्न सात प्रकारका कार्यक्रमहरु वर्षको ३४० दिन दोहोर्याइ-तेहर्याइ निरन्तर आयोजना गर्दै आइरहेको छ-       

१. चक्र विज्ञान- योग-ध्यानको माध्यमबाट मानव शरीरमा अवस्थित सुक्ष्म उर्जाकेन्द्र चक्रहरु जागरण गर्न प्रयोगात्मक अभ्यास सिकाउने अध्यात्म विज्ञान।

२. ऐश्वर्य विज्ञान- योग-ध्यानको माध्यमबाट जीवनमा सुख, खुशी, शान्ति, समृद्धि हासिल गर्न, जीवनको मूल लक्ष्य निर्धारण गर्न र जीवनमा सफलता हासिल गर्न सिकाउने अध्यात्म विज्ञान।

३. वोध विज्ञान- योग-ध्यानको माध्यमबाट ‘म’ तथा ‘आफू’ हुनुको आत्मवोध तथा आत्मज्ञान हासिल गर्न आफैंभित्रको अन्तरयात्रा सिकाउने अध्यात्म विज्ञान।

४. लय विज्ञान- योग-ध्यानको माध्यमबाट आत्मज्ञान हासिल गरि आफैंभित्र गरिने अन्तरयात्रा गर्दै विश्वचेतना, समग्र अस्तित्व तथा परमात्मासंग लयवद्ध हुन सिकाउने अध्यात्म विज्ञान।

५. योग-ध्यान प्रशिक्षक प्रशिक्षण- योग-ध्यानको माध्यमबाट चक्र जागरण, जीवनको मूल लक्ष्य निर्धारण, आत्मज्ञान र परमात्मासंग लयवद्ध भएर अरुलाई यही ज्ञान सिकाउन सक्ने बन्ने प्रशिक्षण प्रदान गर्ने अध्यात्म विज्ञान।

६. सत विज्ञान- योग-ध्यानको माध्यमबाट समग्र अस्तित्व, विश्वचेतना तथा परमात्मासंग लयवद्ध भई ब्रह्माण्डको आत्यन्तिक एकमात्र सत्यसंग एकाकार हुन सिकाउने अध्यात्म विज्ञान।

७. मौन रहस्य विज्ञान- योग-ध्यानको माध्यमबाट माथि उल्लेखित अवस्थाहरु हासिल गरेपछि ति अमूल्य उपलव्धिहरुलाई छिटो, सही र स्थाइ किसिमले व्यवस्थापन गर्न सिकाउने अध्यात्म विज्ञान।

 

जीवन विज्ञान प्रतिष्ठान द्वारा आयोजित माथि उल्लेखित कार्यक्रमहरु र जीवन विज्ञानका सद्गुरुद्वय तथा प्रशिक्षक कल्याण मित्रहरुको प्रत्यक्ष सानिध्यमा आयोजना गरिने छोटा तथा एक-दुई-तीन दिवसिय प्रयोगात्मक कार्यक्रमहरुबाट अध्यात्ममा रुची राख्ने हजारौं सहभागीहरुले प्रत्यक्ष र बिभिन्न सामाजिक संजालहरु- जुम तन्त्र, फेसबुक, युट्युव आदिमा आयोजना तथा प्रकाशन गरिएका प्रवचनका अडियो तथा भिडियोहरुका माध्यमबाट लाखौं अध्यात्म अनुरागीहरुले अप्रत्यक्ष रुपमा लाभ लिरहेका छन्। यिनै कार्यक्रमहरुमा सहभागी भएर हालसम्म करिव १८०० प्रशिक्षकहरु प्रशिक्षित भैसकेका छन् र जीवन विज्ञान प्रशिक्षक विशेषणले आभूषित तथा सम्वोधन गरिने यिनै कल्याण मित्र तथा योग-ध्यान सिकाउने परमात्माका ब्रह्मदूतहरुले बृहत्तर मानव कल्याणकालागि नितान्त सेवाभाव राखेर देश-विदेशमा ६० भन्दा बढि मूलुकहरुमा हाल करिव ३०० भौतिक तथा अनलाईन प्रयोगशालाहरु मार्फत योग-ध्यानका सेवाहरु प्रदान गरिरहेका छन्।

 

अध्यात्ममा रुची राख्ने सहभागीहरुको माग र चापलाई मध्यनजर गर्दै अझै ठूलो समुहलाई सेवा प्रदान गर्ने लक्ष्यकासाथ मूलुकको आध्यत्मिक पर्यटनमा समेत टेवा पुर्याउने र नेपाललाई योग-ध्यान गुरु मूलुकको रुपमा विश्व सामु चिनाउने उदेश्य राखेर जीवन विज्ञान प्रतिष्ठानले धादिङ जिल्लाको थाक्रे गाउँपालिक, वडा नं. ७ मा करिव ७० रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधा सम्पन्न योग-ध्यान मैत्री जीवन विज्ञान धाम निर्माणको प्रक्रिया शुरु गरिसकेको छ।


अध्यात्म जागरण र यसको महत्व

अध्यात्म के हो?

संस्कृत शव्द 'अध्यात्म' लाई दुई प्रकारले अथ्र्याइएको छ । आधि + आत्मा = आध्यात्म अर्थात अध्यात्म आधिको अर्थ '…तर्फ गमन गर्नु' र आत्माको अर्थ 'आफू स्वयं' हो। यस अर्थमा अध्यात्मको शाव्दिक अर्थ आत्मा तर्फ अर्थात आफू स्वयं तर्फ गमन गर्नु हो। 

अधि + आत्म = आध्यात्म, अधिको अर्थ 'माथिल्लो तथा उच्च' भन्ने हुन्छ, आत्मको अर्थ 'आत्मा' हो अर्थात उच्च+आत्मा = उच्चात्मा अर्थात परम+आत्मा = परमात्मा, म आत्मा हुँ, म भन्दा उच्च आत्मा परमात्मा हो जसको म अंश हुँ, उसम्मको यात्रा अर्थात सदाकालागि उसैमा स्थित हुन ज्ञान तथा विधि सिकाउने विज्ञान अध्यात्म हो । 

 

हालको अवस्थामा हामी अधिकांश मानिसहरुको बुझाइ तथा दृष्टि अर्थात आफूको अर्थ स्थुल शरीरसंग सम्वन्धित भौतिक जगत तर्फ मात्र केन्द्रित रहेकोछ। आफ्नो बुझाइ तथा दृष्टिलाई स्थुल शरीर र यससंग सम्वन्धित भौतिक जगत सुख-सुविधाहरुबाट अलग गरेर आत्मामा केन्द्रित गरि आफूभित्रको चेतन तत्वलाई जान्नु, मान्नु, दर्शन गर्नु तथा आफू स्वयंकोबारेमा जानेर आत्मप्रज्ञ तथा तत्वज्ञानी हुनु अध्यात्म हो। श्रीमद्भगवत गीताको आठौं अध्यायमा भनिएको छ- "परमं स्वभावोऽध्यात्ममुच्यते" यसको तात्पर्य आफ्नो स्वरुप अर्थात जीवात्मा अध्यात्म हो। वरिष्ठ वेदन्ती, अद्वेत वेदान्तका प्रणेता जगतगुरु आदी शंकराचार्यले वेदान्तको भाष्य गर्ने क्रममा “ब्रह्म सत्यं, जगत मिथ्या” भन्नु भएकोछ। यसको तात्पर्य केवल ब्रह्म अर्थात आत्मा-परमात्मा मात्र सत्य तथा नित्य छ र भौतिक जगत मिथ्या, भ्रम, माया तथा अनित्य छ।

आत्मा परमात्माको अंश हो, आत्मा अविनाशी छ र जगत विनासशील । यो परम सत्यलाई हामी जति गहिराइमा विश्वास तथा आत्मसाथ गर्दछौं त्यति नै हामी अध्यात्मवादी बन्दछौं र आत्मा-परमात्मासंग नजिक हुदै जान्छौं। यसको विपरीत यो परम सत्यलाई हामी जति अविश्वास गर्छौं तथा आत्मसाथ गर्दैनौं उति भौतिकवादी बन्दछौं, आत्मा-परमात्माबाट टाढा हुदै जान्छौं र हाम्रो जीवन क्रमशः समस्याउन्मुख हुदै जान्छ।

 

अध्यात्म विज्ञान हो?

आजको समयमा अध्यात्म र विज्ञानलाई अलग-अलग रुपमा हेर्ने गरिन्छ तर अध्यात्म र विज्ञान फरक नभएर एकै हुन्। वर्तमानमा प्रचलनमा रहेका विज्ञानहरुको विकासक्रमलाई हेर्ने हो भने अध्यात्म विज्ञान सबैभन्दा प्राचीन विज्ञान हो, विज्ञानहरुको पनि विज्ञान महाविज्ञान हो र हाल प्रयोगमा रहेका सबै विज्ञानहरु अध्यात्म विज्ञानकै शाखाहरु हुन्। अध्यात्म विज्ञानले समग्र ब्रह्माण्ड, अस्तित्व तथा इश्वरसत्ताको अध्ययन गर्दछ। यसले जीवन अस्तित्व तथा इश्वरसत्ताबिना असम्भव छ तथा कुनै अस्तित्वनै रहदैन भन्ने विषयमा जोड दिन्छ। अध्यात्म विज्ञानले हामी सबै एकआपससंग अन्तर-सम्विन्धित छौं, यहाँ कोही कसैबाट अलग छैन, सारा ब्रह्माण्ड एकै हो र हामी सबै निरन्तर गतिमान रहने ब्रह्माण्डको एकै उर्जाका तरगंबाट निर्मित छौं भन्ने दर्शन लाई आत्यन्तिक सत्य मान्दछ। उल्लेख्य पक्ष, पछिल्लो समयमा विकसित आधूनिक भौतिक विज्ञानको अत्याधूनिक मत राख्ने प्रमात्रा विज्ञान (Quantum Science)ले समयक्रमको विकाससंगै प्रतिपादन गरेका विभिन्न सिद्धान्तहरुले पनि ऋषिमूनि तथा प्राचीन वैज्ञानिकहरुले हजारौं वर्षदेखि अध्यात्म विज्ञान मार्फत उजागर गर्दै आएको यही आत्यन्तिक सत्य- ब्रह्माण्ड निरन्तर गतिमान छ, यहाँ कोही कसैबाट अलग छैन, सारा ब्रह्माण्ड एकै (Unified Universe) हो र हामी सबै ब्रह्माण्डमा निरन्तर गतिमान रहने एकै उर्जाका तरगंबाट निर्मित छौं भन्ने तथ्यांक पेश गर्दै अध्यात्म विज्ञानकै नतिजाको कित्तामा आइपुगेको छ। तसर्थ ‘अध्यात्म’ विज्ञान त हुदै हो, प्रमात्रा विज्ञानका पछिल्ला तथ्यांकहरु स्वयंले अध्यात्म विज्ञानलाई विज्ञानहरुको विज्ञान महाविज्ञानको रुपमा स्थापित गर्दै लगिरहेका छन्।

 

अध्यात्मको आधार के हो?

अध्यात्मको आधार आफू स्वयंको आत्म निरीक्षण तथा अन्तरयात्रा हो। आत्म निरीक्षण गर्दै  आफूतिर फर्केको आध्यात्मिक मानिस हो र आत्म निरीक्षण नगर्ने, स्थुल शरीर र भौतिक जगतका सुख-सुविधाहरुमा आफूलाई सिमित गर्ने सांसारीक मानिस हो। सांसारीक मानिस आफ्नो खुशी, समृद्धि, शान्ति तथा आनन्द अरुबाट अपेक्षा गर्दछ र अरुप्रति आश्रीत हुन्छ, प्राप्त गरेन भने गुनासो र नकारात्मकताले भरिन्छ र जीवनमा अनेक किसिमका समस्या तथा रोगव्यधीहरुबाट ग्रसित हुन्छ। तर आध्यात्मिक मानिस आफ्नो खुशी, समृद्धि, शान्ति तथा आनन्द आफैंभित्र छ भन्ने साश्वत मान्यतामा विश्वास राख्दछ र अध्यात्मका मूल विधिहरु योग-ध्यानको माध्यमबाट स्वयंको आत्म निरीक्षण तथा अन्तरयात्रा र स्वयंको पहिचान गरि आफैंभित्र रहेका खुशी, समृद्धि, शान्त तथा आनन्दित रहन सक्ने पूर्ण जीवनकालागि अपरिहार्य गुण तथा क्षमताहरु आफैंमा खोजेर उजागर गर्दछ, अरुबाट अपेक्षा राख्दैन र अरुप्रति आश्रीत हुदैन, सदा सकारात्मक भावले भरिएको गुनासो रहित, सफल र सहयोगी व्यक्ति बन्दछ। तसर्थ जुन दिन मानिस आफ्नो खुशी, समृद्धि, शान्ति तथा आनन्दकोलागि अरुमा निर्भर नरही यो आफ्नोलागि आफू स्वयंले मात्र गर्न सकिने क्रिया हो भनेर बुझ्दछ र जीवनमा योग-ध्यानका विधिहरुको अनुशरण गर्न थाल्दछ तव बुझ्नु पर्छ कि उसमा अध्यात्मको आधार तयार भयो भनेर।

 

अध्यात्म जागरण के हो?

आफू स्वयंको पहिचान गर्नु अध्यात्म जागरण हो। अध्यात्म जागरणका स्तरहरु विविध छन्। उदाहरणले बुझ्ने प्रयास गरौं- एक मुक्त योगी तथा सन्तको अध्यात्म जागरण स्तर १०० प्रतिशतको हाराहारी तथा पूर्णताको नजिक हुन्छ, आध्यात्मिक मानिसको अध्यात्म जागरण स्तर ५० प्रतिशतको हाराहारी तथा मध्यम हुन्छ र सांसारीक मानिसको अध्यात्म जागरण स्तर २० तथा सो भन्दा कम प्रतिशत तथा न्यून हुन्छ। मानिसको अध्यात्म जागरण स्तरको आधारमा न्यून स्तर भएका मानिसहरुकालागि स्वस्थ, सहज, खुशी, समृद्ध शान्त तथा पूर्ण जीवनकालागि योग अभ्यास, प्राणायाम र छोटो ध्यान साधना आवश्यक छ भनेर बुझ्नु र व्यवहारमा त्यसको अनुशरण गर्न थाल्नु नै अध्यात्म जागरण हो। मध्यम अध्यात्म जागरण स्तर भएका मानिसहरुकालागि स्वस्थ, सहज, खुशी, समृद्ध शान्त तथा पूर्ण जीवनकालागि योग अभ्यास, प्राणायाम र ध्यान साधनाका साथसाथ नियमित योगासन, सात्विक भोजन, सतसंग, सेवा र निश्चित अवधिको ध्यान साधना आवश्यक छ भनेर बुझ्नु र व्यवहारमा त्यसको अनुशरण गर्दै आत्मज्ञान हासिल गर्न सफल हुनु अध्यात्म जागरण हो। र पूर्णताको नजिक अध्यात्म जागरण स्तर भएका मानिसहरुकालागि स्वस्थ, सहज, खुशी, समृद्ध शान्त तथा पूर्ण जीवनकालागि नियमित योगासन, प्राणायाम र ध्यान साधनाका साथसाथ योग-ध्यानको निश्चित विधिमा अनुवन्धित भई निश्चित तथा विशेष किसिमका योगासन, सात्विक भोजन, सतसंग, सेवा र गहन ध्यान साधनामा समय व्यतित गर्दै अध्यात्म अनुशाशित जीवनयापन गर्दै सदगुरुको सानिध्यमा गुरुकुल तथा उपयुक्त स्थानमा बसेर गहन अध्यात्म साधना गर्नु र आत्मज्ञानको एक निश्चित तहमा पुग्न सफल हुनु अध्यात्म जागरण हो। अव हामी आफैं हेरौं र बुझौं आफ्नो अध्यात्म जागरणको वास्तविक स्तर र आवश्यकता अनुसार आफ्नो अध्यात्म जागरण स्तरको उचाई बढाउँदै लैजाउँ।

 

अध्यात्म जागरणका लक्षणहरु कस्ता हुन्छन्?

जव कोही मानिसको जीवनमा अध्यात्म जागरण हुन्छ उसले आफूभित्र अथाह उर्जाको प्रवाह अनुभूति गर्दछ जो उसले पहिला कहिल्यै गरेको हुदैन। उ आफूभित्र नयाँ गहिराई आएको अनुभव गर्न थाल्दछ, उसमा आध्यात्मिक आचरणहरु देखापर्न थाल्छन् र उ आफू स्वयंलाई जस्ताको तस्तै स्वीकार गर्न थाल्दछ। यसका साथै आध्यात्मिक मानिसमा अन्य थुप्रै महत्वपूर्ण सकारात्मक वदलावहरु निरन्तर आइरहन्छन्, आध्यात्मिक मानिसमा देखिने अध्यात्म जागरणका केही महत्वपूर्ण लक्षणहरु-

 

-    आध्यात्मिक मानिस सांसारीक मानिस भन्दा हरेक दृष्टिकोण्बाट आन्तरीक तथा बाहिय रुपमा सकारात्मक अर्थमा फरक किसिमले जीवन जीउन थाल्छ।

-    आध्यात्मिक मानिस सबैप्रति कृपा तथा धन्यवाद भावले भरिन्छ; आफ्नो मन, वचन र कर्ममा होसपूर्ण हुन्छ; उसले मन, वचन र कर्मले अरुलाई चोट पुर्याउदैन; आदर्श भावले भरिएको हुन्छ; सबैको शुभचिन्तक र सबैलाई सहयोग गर्ने किसिमको हुन्छ र सदा आफूले जानेका सकारात्मक कुराहरु अरुलाई पनि सिकाउन अग्रसर हुन्छ।

-    आध्यात्मिक मानिस काम, क्रोध, लोभ, मोह, अहंकार, मद, मात्सर्यबाट वाहिर निस्कने प्रयास गर्छ र आफ्नो जीवनलाई अनुशासित बनाउन थाल्छ; सात्विक खानपानमा जोड दिन थाल्छ; राति सुत्ने र विहान उठ्ने स्वस्थ समय निर्धारण गर्छ; जीवनमा योग अभ्यास, प्राणायाम र ध्यान साधनाका विधिहरुलाई जीवनको महत्वपूर्ण अंगको रुपमा समावेश गर्दछ; आफ्ना बोली-वचन, बानी-व्यवहार तथा आचरणहरुको आफैं सुक्ष्म अध्ययन तथा निरीक्षण गर्न थाल्छ।

-    आध्यात्मिक मानिस तनावमुक्त जीवन जीउँछ; सांसारीक जीवनसंग सम्यक व्यवहार गर्दै वितरागको जीवनशैली अपनाउँछ; मृत्युको भयबाट मुक्त भएर निर्भय भएर बाँच्दछ; अध्यात्मलाई जीवनको प्रमुख विषयको रुपमा अंगीकार गरेर अगाडि बढ्छ; परिवार, समाज, राष्ट्र तथा मानवीयताको चिन्तन गर्न थाल्छ।

-    आध्यात्मिक मानिस इश्वरको भक्ति, प्रार्थना गरि आस्तिक, आशावादी र सकारात्मक जीवन जीउन थाल्छ; मानिसका चार पुरुसार्थ धर्म, अर्थ, काम, मोक्षमा आफूलाई समर्पित गर्दछ।

-    आध्यात्मिक मानिस आफ्नो जीवनमा योगका विधिहरु यम, नियम, आसन, प्राणायाम, प्रत्यहार, धारणा, ध्यान र समाधिलाई नियमपूर्वक अनुशासित भएर अनुसरण गर्ने प्रयास गर्दछ; सबैप्रति क्षमाभाव राख्दछ र इश्वरप्रति अनुग्रहित हुन्छ र निरन्तर मोक्ष तथा प्रकाशतिरको यात्रातर्फ उन्मुख हुन्छ… आदि।

 

अध्यात्म जागरण किन महत्वपूर्ण छ?

मानव जीवनको मूलआधार अध्यात्म ज्ञानको अभावकाकारण मानिस समस्याग्रस्त, दुःखी तथा रोगी जीवन बाँच्न बाध्य भइरहेको छ। अध्यात्म ज्ञानबाट प्राप्त आध्यात्मिक जीवनशैली नै आफू स्वयंको, परिवारको, समाजको, समग्र विश्व तथा मानवीयताका सबै चुनौति र समस्याहरुको समाधान गर्ने र सुख, खुशी, समृद्धि, शान्ति हासिल गर्ने एकमात्र अचुक उपाय हो। आफू आध्यात्मिक रुपमा जागृत भएर मात्र हामी आफूमा अन्तरनिहीत स्वस्थ रहन सक्ने, खुशी हुन सक्ने, आत्मविश्वसले भरिएको, सुमधूर सम्वन्ध निर्माण गर्न सक्ने, सिर्जनशिल बन्न सक्ने, दृढ संकल्पकृत हुनसक्ने र शान्त तथा आनन्दित रहनसक्ने क्षमता तथा गुणहरु जगाएर सहज, सफल तथा पूर्णताले भरिएको जीवन जीउन सक्ने हुनाले मानिसको जीवनमा अध्यात्म जागरण महत्वपूर्ण मात्र होइन अति महत्वपूर्ण तथा अपरिहार्य छ। यही अति महत्वपूर्ण कार्य सबै मानिसहरुमा विराट अध्यात्म जागरण गर्ने कल्याणकारी तथा परोपकारी काममा जीवन विज्ञान प्रतिष्ठानले आफूलाई विगत १३ वर्षदेखि निरन्तर निमज्जीत गर्दै आइरहेको छ लाखौं हृदयहरुको धन्यवाद पाइरहेको छ। bsirjana@gmial.com

 

 

 

No comments:

Post a Comment