'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 14 June 2024

नेपालको आधूनिक शैक्षिक प्रणाली र प्राचीन मौलिक शैक्षिक प्रणालीका यथार्थ पक्ष

(पूर्वीय अध्यात्म दर्शनको शोधमा आधारीत लेख)

                                            #नवयुग_निर्माण को आयामअध्यात्ममा आधारीत शिक्षा र स्वजागरण!

                                 डा. सिर्जना भण्डारी


 

प्रमुख विषय: आधूनिक शैक्षिक प्रणाली; प्राचीन मौलिक शैक्षिक प्रणाली; पंचकोष विकास; व्यक्तित्व विकास; शैक्षिक प्रणाली तथा पाठ्यक्रम संशोधनको आवश्यकता; शैक्षिक प्रणाली तथा पाठ्यक्रममा सनातन दर्शन समावेस; नवयुगको निर्माण!

  

विषय प्रवेश

समय परिवर्तनशील छ, परिवर्तित समयसंगै मानिसका प्राथमिकताहरुमा पनि परिवर्तन आइरहेको छ। केही दशक अघिसम्म गाँस, बास, कपाशलाई मात्र आधारभूत आवश्यकता तथा अधिकारको रुपमा प्राथमिकतामा राखिएको थियो तर समयको आवश्यकता र परिस्थितिसंग मेल गराउने उदेश्यले स्वास्थ्य र शिक्षाको अधिकारलाई पनि मानिसका आधारभूत आवश्यकता तथा अधिकारको रुपमा समावेस गरियो। सनातन वैदिक धर्मको (पूजापाठ, कर्मकाण्ड धर्म होइन; जीवन जीउने सही कला धर्म हो) मत अनुसार, ‘आधारभूत आवश्यकताका विषय तथा वस्तुहरु खासगरि अन्न, स्वास्थ्य र शिक्षालाई मुनाफा गर्ने व्यापार बनाइनु हुदैन, यसले समाजमा विचलन ल्याउँछ र यसो गर्नु पाप हो।‘ यो सनातन मतको आदर्श तथा यथार्थलाई केलाएर हेर्दा व्यापारको दृष्टिकोणबाट आज सिंगो मानव समुदायको यथार्थ यसको विपरीत गैरहेको छ।

 

यो सर्वविदित सत्य हो कि आज संसारभरि सबैभन्दा बढि व्यापार अन्न, स्वास्थ्य र शिक्षा क्षेत्रमै भैरहेको छ, मानवीय सर्वकल्याण भावको विपरीत हुनेगरि भैरहेको छ र यसैको आडमा विश्व समाज धन कमाउने अस्वस्थ प्रतिस्पर्धा, सांसारीक जीवनप्रति लिप्त र स्वार्थ उन्मुख हुदै गैरहेको छ, जसले मानव समाजमा दिनदिनै सम्हाल्नै नसकिने किसिमका नकारात्मक परिणामहरु ल्याइरहेको छ र अव त हुँदा-हुँदा मानव समुदाय स्वयं नै व्यापारको विषय तथा वस्तु बन्दै गैरहेको छ (अंग तथा शरीर बेचबिखन, मानव बेचबिखन) र मानवीय दृष्टिकोणले समाज पूर्णरुपमा खोक्रो तथा ढोंगी बन्दै गैरहेको छ। यी सबै नकारात्मक परिणामहरुको प्रमुख कारण नयाँ पुस्तालाई अव्यवहारीक र अनुपयोगी हुने संस्कारबिहीन औपचारीक तथा अनौपचारीक अधूरो शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रम पढाएर उनीहरुलाई जागिर तथा व्यापारकोलागि (जनशक्ति निर्यात र प्रतिभा पलायन) मात्र तयार गरिनु नै प्रमुख हो।

 

आधूनिक शैक्षिक प्रणाली

हाम्रा पुर्खा ऋषिमूनि तथा प्राचीन वैज्ञानिकहरुको मूलथलो पूर्वीय भूमिको सनातन इतिहासलाई हेर्दा समग्र भारतवर्षको (हिन्द महासागरमा पर्ने समग्र भूगोल) करिव २०० वर्षयता अर्को मूलुकले आफ्नो समाज तथा मूलुकको व्यवहारीकता र उपयोगीतालाई दृष्टिगत गरि त्यहाँको आर्थिक, राजनीतिक, धार्मिक, सामाजिक तथा सास्कृतिक परिवेसमा निर्माण गरिएका शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुलार्ई आफ्नो मूलुकको आर्थिक, राजनीतिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेसमा कतिको व्यवहारीक तथा उपयोगी हुन्छ या हुदैन भन्ने अति समवेदनशिल पक्षलाई गंभिरतापूर्वक अध्ययन नगरी ख्याल-ख्याल र लहै-लहैको भरमा ती शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुलार्ई हुबहु नक्कल तथा अनुशरण गरेर मूलुकमा चलिरहेका व्यवहारीक, वैज्ञानिक तथा मौलिक सनातन मूल्य-मान्यतामा आधारीत व्यवहारीक तथा उपयोगी शैक्षिक प्रणाली तथा पाठ्यक्रमहरुका आधारमा अध्ययन अध्यापन गर्ने/गराइने गुरुकुलहरुको अस्तित्व पूर्णरुपमा ध्वस्त पारिनु हो।

 

शिक्षाको मुख्य उदेश्य पूर्ण रुपमा मानिसको पूर्ण क्षता तथा प्रतिभाको प्रष्फुटन हुनेगरि व्यक्तित्व विकास गर्नु समाज तथा राष्ट्र निर्माणमा सकारात्मक योगदान पर्याउइ समग्र मानवतालाई उन्नत बनाउनु हो। हाल पाश्चात्य मूलुकहरुमा आधूनिक मनोविज्ञानको विकासले उल्लेख्य फड्को मारेको विभिन्न समयमा प्रतिपादित वैज्ञानिक तथ्यांकहरुले देखाएका छन्। मनोविज्ञानको क्षेत्रमा आएको विकासले व्यक्ति तथा समाजको आवश्यकता हेरी शैक्षिक प्रणाली तथा पाठ्यक्रमा गरेको परिमार्जनले व्यक्ति तथा समाजलाई सुविधा प्रदान गरेको छ र मानव समाजलाई सकारात्मक दिशा दिन महत्वपूर्ण योगदान पुर्याएको पनि छ। तर आधूनिक मनोविज्ञानले मानिस ले वाहिरी क्षेत्रबाट आर्जान गरेको शिक्षा तथा ज्ञानको आधारमा हासिल गरेका अनुभवहरु र तिनै अनुभवका आधारमा उसको मानसपटलमा तयार भएका चित्र तथा नक्शा र मनका अवस्थाहरुको मात्र अध्ययन गर्दछ, मानिस को शरस्रमा अवस्थित पंचकोषको विकासको आधारमा भएका अनुभूति खासगरि भावातीत अनुभूतिहरुको (हृदय तथा अकम्प क्षेत्रको गहिराइबाट आउने नितान्त आन्तरीक भाव तथा चेतनाका तरगंहरु) अध्ययन गर्न सक्ने क्षमतामा यो अझैसम्म पुगेको छैन र निकट भविश्य पुग्नसक्ने कुनै संकेत पनि देखिएको छैन अहिलेसम्म। आधूनिक मनोविज्ञानले मानिसको व्यक्तित्व निर्माण तथा विकास मानिसको मनोविज्ञानको आधारमा तयार हुन्छ र मानिसको मनोविज्ञान उसले औपचारीक तथा अनौपचारी रुपमा प्राप्त गरेको शिक्षा, व्यक्ति, हुर्काइ, परिवार, समाज, सम्वन्ध, शारीरिक सम्वन्ध, लिंग, लैंगीकता, शिक्षा, वाहिरी अन्य प्रयासहरु को आधारमा हुन्छ भन्ने तर्क तथा मान्यता राख्दछ र यो केही हदसम्म सत्य पनि हो। यी तर्क तथा मान्यताहरु पूर्वीय सनातन मनोविज्ञानसंग केही हदसम्म मेल खाएका छन् भने केही हदसम्म मेल खाएका छैनन् किनकी मानसिको व्यक्तित्व विकासमा महत्यपूर्ण भूमिका खेल्ने मानव जीवनको ज्ञान र आत्माको ज्ञानलाई अस्वीकार गरेको कारण आधुनिक मनोविज्ञान र यसले विकास गरेका शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरु पूर्ण छैनन्।

 

पूर्वीय मनोविज्ञानले आधूनिक मनोविज्ञानले मानिसको व्यक्तित्व निर्माण तथा विकासको सन्दर्भमा अघि सारेका यी विषयहरुलाई पूर्णरुपमा आधारभूत मान्दैन किनकी यी विषयहरु पनि अरु नै परिवेशको आधारमा निर्मित हुन्छन् र त्यसको प्रमुख आधार हो मानव शरीरका पंचकोष र यिनको विकास पद्धति अर्थात मानव शरीरमा रहेका पांचकोष प्रमुख आधार हुन् मानिसको व्यक्तित्व निर्माण गर्ने। अहिले आएर यो यथार्थलाई आधूनिक मनोविज्ञानका वरिष्ठ मनोविज्ञहरुले पनि स्वीकार गरिसकेका छन् र यतिमात्र नभएर पछिल्लो चरणमा आधूनिक मनोविज्ञानका धेरै मनोविज्ञहरु भारतवर्षका विभिन्न क्षेत्रहरुमा आएर पूर्वीय दर्शनले प्रतिपादन गरेका मनोविज्ञानका ज्ञान तथा विधिहरुको लामो समय अध्ययन गरेर ती ज्ञान तथा विधिहरुलाई आफ्नो क्षेत्रमा फर्केर आधूनिक मनोविज्ञानमा समावेस गरि व्यक्ति तथा समाजको विकासमा अनुशरण समेत गरिसकेका छन् र शैक्षिक प्रणाली तथा पाठ्क्रमहरुमा पनि समावेश गरेका छन्। तर हामी पूर्वीयहरु प्राचीन वैज्ञानिक ऋषिमूनिका सन्तान भएर स्वयं यस ज्ञानका अधिकारी भइकनपनि आफैं अझै आफ्नो अमूल्य मौलिक नीधि मानिसको व्यक्तित्व विकास गर्ने महत्वपूर्ण र प्रभावकारी सनातन ज्ञानबाट अनभिज्ञ छौं र आफ्ना सनातनीय मौलिक मूल्य-मान्यतामा आधारीत अत्यन्त व्यवहारीक र उपयोगी शैक्षिक प्रणाली तथा पाठ्यक्रमहरुलाई कम मूल्यांकन गर्दै शैक्षिक प्रणाली तथा पाठ्यक्रमहरुलाई र यी विषयहरु अध्ययन/अध्यापन गर्ने/गराउने गुरुकुल तथा पाठशालाहरुलाई आउटडेटेड, अनुपयोगी तथा समय सान्दर्भिक नभएको अविवेकी ट्याग लगाउदै धमाधम यिनलाई आधूनिकीकरणको नाममा स्कुल, कलेज, क्याम्पसमा परिणत गर्दै लगिरहेका छौं र आफ्नो परिवेसमा पटक्कै व्यवहारीक तथा उपयोगी नहुने, तामेल नखाने विदेशी परिवेसमा निर्माण गरिएका विदेशी आधूनिक शिक्षा पढाउने विदेशी शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरु आयात गरि त्यसको हुबहु नक्कल तथा अनुशरण गरीरहेका छौं, आफ्ना नयाँ पुस्ताहरु विदेशकैलागि तयार गर्दै उतै पठाइरहेका छौं र आफ्नो देशलाई क्रमशः युवा बिहिन तथा प्रतिभा बिहिन अपांग बनाइरहेका छौं।

 

वर्तमान समयमा हामीले प्रयोग गरिरहेका तथा व्यवहारमा ल्याइरहेका आधूनिक शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरु कस्ता छन् र यिनले कस्ता व्यक्ति निर्माण गरिहेकाछन्; कस्तो समाज निर्माण गरिहेकाछन्; कस्ता संस्कार तथा संस्कृतिहरु सिकाइरहेकाछन्; जीवनको प्रमुख मूल्य-मान्यता केलाई मान्न सिकाइरहेकाछन्; मानव समाजमा कस्तो प्रभाव पारीरहेका छन्; देशको राजनीतिक, आर्थिक तथा सामाजिक विकासमा कस्तो योगदान पुर्याइरहेकाछन् भन्ने विषयहरु हाम्र सामुन्नेमा स्पष्ट दृश्यमा भएकाले यसबारे धेरै भनिराख्नु पर्ने आवश्यकता छैन। हामी आधूनिक बन्ने चक्करमा आधूनिक शैक्षिक प्रणाली तथा पाठ्यक्रमहरु पढेर/पढाएर आधुनिक त भयौं होला तर पश्चिमले गरेको आधुनिकताको अधूरो, शंकिर्ण तथा खोक्रो परिभाषामा मात्र फीट हुने किसिमको आधूनिक भयौं जसले हाम्रा नयाँ पुस्तालाई पंचकोषको ज्ञानदिने शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुबाट पूर्णरुपमा अलग गरिदियो र उनीहरुलाई शारीरिक, मानसकि, भावनात्मक तथा चेतनात्मक सम्पूर्ण किसिमले अज्ञानी र अपांग बनाएर उनीहरुको मस्तिष्कमा भ्रामक, अव्यवहारीक, अनुपयोगी र अधूरो ज्ञान भरिदियो।

 

आधूनिक बन्ने होडबाजीमा हाम्रो समाज संतुलित शैक्षिक विकासको सन्दर्भमा पथबाट भ्रष्ट भएको छ; आधूनिक शिक्षाले पूर्वीय दर्शनका सनातन मूल्य-मान्यताहरुलाई ध्यस्त पारिदिएको छ र हाम्रो यही अज्ञानता र अविवेकीपनले प्राचीन सनातन मौलिकपनमा आधारीत सनातन मूल्य-मान्यता सिकाउने शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरु लुप्त हुने संघारमा पुगिसकेका छन्। सन्तुलित ढंगले मानिसको व्यक्तित्व विकास गर्न सही किसिमको शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुबाट हासिल गर्न सकिने र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने अन्नमय कोष तथा स्थुल शरीरको सही खानपान, आहार, विहार तथा  हेरविचार गरि स्वस्थ रहन र यसको सन्तुलित विकास गर्न सिकाउनु पर्ने सहज ज्ञान समेत सिकाएनन् आधूनिक शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुले; त्यस्तै व्यक्तित्व विकासमा अझ महत्वपूर्ण भूमिका खेल्ने क्रमशः प्राणमय कोष, मनोमय कोष र विज्ञानमय कोष र यी कोषहरुको सन्तुलित विकासकालागि आवश्यक सही आहार तथा हेरविचार गरि तिनको सन्तुलित विकास गर्न पनि सिकाएनन्। आधूनिक शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुले एकोहोरो किसिमले यी कोषहरुलाई पूर्णरुपमा बेवास्ता गर्दै (यद्धपि आनन्दमय कोषको विकास वाहिरी शिक्षा तथा प्राप्त ज्ञानबाट नभइ आत्म आनन्दित हुने गतिविधिहरुबाट र आफूभित्र अन्तरयात्रा गरिने ध्यानको विधिबाट मात्र हुन्छ) केवल विज्ञानमय कोषको विकासलाई मात्र प्राथमिकता दियो त्यो पनि अपूर्ण किसिमले। सनातन शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुले मानिसले जीवनभर आफूलाई आवश्यक पर्ने तथा उपयोगी हुने सबै किसिमका ज्ञान तथा सीपहरु औपचारीक तथा अनौपचारीक शिक्षाको माध्यमबाट सिक्नु पर्नेमा जोड दिन्छ तर आधुनिक शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुले जीवनमा अति आवश्यक पर्ने परम्परागत व्यवहारीक तथा व्यवसायिक ज्ञानहरुलाई पाखा लगाउदै केवल सिमित विषयहरु- गणित, विज्ञान, प्राविधिक र अंग्रेंजी विषय जानेपछि र यी विषयहरुमा हाइस्कोर ल्याएपछि अव्वल दर्जाको आधूनिक र एजुकेटेड भइन्छ भन्ने सिकायो र नयाँ पुस्ताको विज्ञानमय कोषलाई सबैभन्दा बढि अपांग तथा ध्वस्त बनाइदियो जसले नयाँ पुस्ताको पूर्ण क्षमतामा हुनसक्ने व्यक्तित्व विकासको बुझाइ र यथार्थमा असन्तुलन ल्याइदियो र परिणाम अनाहकमा अव्यवहारिक तथा अनुपयोगी शैक्षिक ज्ञानमा आधारित प्रमाण पत्र, बेरोजगारी, प्रतिभा पलायन, सबै क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा, अनियमितता, चलखेल, पारिवारीक बिखण्डन, अस्वस्थ जीवनशैली, कुलत, चिन्ता, तनाव, अनिद्रा, विमारी, अवसाद… आदि जस्ता अनेकौं समस्याहरु झेल्न बाध्य गरिदियो।

 

अझैपनि शैक्षिक क्षेत्रका जिम्मेदार निकायहरुको गैर जिम्मेदारी र नालायकीपनको कारण हाम्रा शैक्षिक संस्थाहरुमा नयाँ-नयाँ किसिमका आधुनिक शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरु विदेशबाट आयात गर्ने, लागू गर्ने/गराउने र उच्च शिक्षाको नाममा यूवा पुस्तालाई तल्लो स्तरको काम गर्न विदेश पठाउन तथा निर्यात गर्न आफैं कन्सलटेन्सीको पसल थाप्ने बेवकुफी र कानूनी धन्दा कम हुनुको साटो बढेर गैरहेको देखिन्छ र हिजोआज त यो काम गर्न विदेशीलाई समेत खुलेआम प्रवेश दिइएको देखिन्छ। विडम्वना, यो अनभिज्ञता कहिलेसम्म यसैगरि तन्काइरहने हामीले, गंभिरता पूर्वक सोच्न ढिलो पो भैसक्यो कि!? कहिलेसम्म हामी हिराको पहाडमाथि बसेर अज्ञानता र गरिवीको रुवाइ रोइरहने र विदेशीहरुसंग बिभिन्न बहानामा बारबार सहयोगको भिख मागिरहने!? हामीले कहिले हाम्रो आफ्नै हरप्रकारले सम्पन्न मूल-सम्पदा, मूल-नीधि सनातन ज्ञानलाई नचिन्ने र यसैगरि वेवास्ता गरिहने!? कहिलेसम्म यी अमूल्य नीधिहरुलाई हाम्रा व्यक्ति, परिवार, समाज, देश तथा मानवीयताको सकारात्मक विकासकालागि प्रयोग नगर्ने!? अव आगामी दिनहरुमा यो विषयलाई गंभिरता पूर्वक प्राथमिकतामा राखि चासोको विषय बनाइनु पर्दछ र सनातन मूल्य-मान्यतामा आधारित शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुको निर्माण गरि तिनलाई देशका शैक्षिक क्षेत्रका सबै शैक्षिक संस्थाहरुमा लागू गरि आवश्यकता अनुसार समय सान्दर्भिक हुनेगरि परिमार्जन तथा संरक्षण गरि समुच्चा विश्व समाजलाई नै उपयोगी हुने गरि पूनरस्थापित गर्न ढिलो गर्नु हुदैन।

 

खुशीको कुरा, नेपालमा सानै आकारमा भएपनि केही सिमित शैक्षिक संस्था संचालक, शैक्षिक अभियन्ता तथा शैक्षिक चिन्तकहरुमा यो जागरुकता आएको छ र थोरै मात्रामा भएपनि सनातन मूल्य-मान्यतामा आधारित शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरु निर्माण गर्ने र लागू गर्ने क्रम बढ्दै गैरहेको छ। छिमेकी मूलक भारतमा विगत लामो समयदेखि यो अभियान व्यापक रुपमा अघि बढिरहेको छ र केही राज्य सरकारहरुले त सनातन मूल्य-मान्यतामा आधारीत शैक्षिक नीति-नियम, शैक्षिक प्रणाली र शैक्षिक पाठ्यक्रम  निर्माण गरि विद्यालय स्तरदेखि महाविद्यालय स्तरसम्म सनातन गुरुकुल प्रणालीलाई परिमार्जन गरि लागू केही हदसम्म गरिसकेका छन्। यस अभियानमा विशेषगरि श्री विवेकानन्द फाउन्डेसन, श्री परमहंश योगानन्द फाउन्डेसन, श्री अरविन्द फाउन्डेसन, श्री जे. कृष्णमूर्ति फाउन्डेसन लगायत अन्य आध्यिात्मिक संघसंस्थाहरुबाट चलाइएका गुरुकुलहरु र विहार योग विद्यालय, ऋषिहुड विश्वविद्यालय आदि जस्ता सनातन मूल्य-मान्यतामा आधारित शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुको निर्माण गरेर आफ्नो पुख्र्यौली मौलिक ज्ञानलाई अघि बढाइरहेका अग्रज शैक्षिक संस्थाहरुले उल्लेख्य भूमिका निर्वाह गरिरहेकाछन्।

 

मौलिक सनातन शैक्षिक प्रणाली

पूर्वीय दर्शन तथा सनातन मनोविज्ञानको मत अनुसार मानिस निराकार तथा अव्यक्त आत्माबाट संचालित व्यक्त जिवात्मा हो (पुरुष र प्रकृतिको सम्युक्त स्वरुप: सांख्य सुत्र)। निराकार तथा अव्यक्त आत्माले आफूलाई व्यक्त गर्न तथा आकार दिन पांच तहको शरीर अर्थात पंचकोश धारण गरेको हुन्छ- १.अन्नमय कोष, २.प्राणमय कोष, ३.मनोमय कोष, ४.विज्ञानमय कोष, ५.आनन्दमय कोष। मानिसको हरप्रकारको विकास तथा व्यक्तित्वको निर्माण मानिस जन्मेदेखि यिनै पंचकोषमा भएको विकासको आधारमा हुने गर्दछ। तसर्थ मानिसको व्यक्तित्वमा हरप्रकारले निखार ल्याउन सानै उमेरदेखिनै बालबालिकाहरुलाई पंचकोषको सन्तुलित विकास गर्ने सैद्धान्तिक तथा व्यवहारिकतामा आधारीत ज्ञानलाई शैक्षिक प्रणली तथा पाठ्यक्रमहरुमा समावेस गरि शिक्षाको माध्यमबाट उनीहरुलाई सिकाउनु पर्दछ। बालबालिकाहरुलाई यस किसिमको ज्ञान सर्वप्रथम अनौपचारीक शिक्षा प्राप्त गर्ने स्थान घरमा माता-पिता, अभिभावकहरु तथा अग्रजहरुले; समाजमा सामाजिक अभियन्ताहरुले (हरेक व्यक्ति सामाजिक अभियन्ता हो र बन्नुपर्छ) र औपचारीक शिक्षा प्राप्त गर्ने स्थान शैक्षिक संस्थाहरुमा शिक्षक/शिक्षिका अर्थात गुरुवर्गले गनुपर्दछ। प्राचीन तथा सनातन मूल्य-मान्यतामा आधारीत गुरुकुलहरुमा अझैपनि पंचकोषको विकासमा आधारीत भएर निर्माण गरिएका शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुको आधारमा अध्ययन/अध्यापन गर्ने/गराउने गरिन्छ। प्राचीन समाजमा यस किसिमको जीवन जीउनकालागि अत्यन्त प्रभावकारी तथा उपयोगी ज्ञान हासिल गर्ने अवसर पाएकै कारण मानिसले जीवनमा नगरी नहुने चार पुरुषार्थ- धर्म, अर्थ, काम, मोक्षको सन्तुलन थियो, समाज सभ्य, आध्यात्मिक, धार्मिक, सांस्कृतिक, संस्कारी, खुशी, समृद्ध, शान्त, सुसंस्कृत, आनन्दित तथा प्रेमले (स्नेह, मायाँ, दया, करुणा, मैत्री, श्रद्धा) परिपूर्ण थियो।

 

हामी सबै विकसित समाज निर्माणको काममा जोडिएका छौं। यसकालागि सही ज्ञान तथा उपयुक्त विधिको आवश्यकता पर्दछ र सही ज्ञान तथा उपयुक्त विधि सही शिक्षा अर्थात व्यवहारीक तथा उपयोगी शिक्षाबाट मात्र प्राप्त हुन्छ। समय-समयमा विश्यव्यापि रुपमा शिक्षा र समाजको अन्तर-सम्वन्धका सन्दर्भमा आयोजना गरिएका ठूला तथा प्रभावकारी शैक्षिक कमिशनहरुले वर्षौंदेखि शिक्षा नै समाज तथा राष्ट्र निर्माणको मूलआधार हो भन्ने कुरामा जोड दिदै आइरहेका छन्। नयाँ पुस्ता- बालबालिका, किशोर तथा यूवाहरुलाई जस्तो ज्ञान/बुद्धी/विवेक तथा संस्कार दिइन्छ समाज तथा राष्ट्र र राष्ट्रको राजनीतिक, आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्थाहरु त्यस्तै बन्दै जान्छन्। यस अर्थमा शिक्षा र शिक्षक नै समाज तथा राष्ट्र निर्माणको पहिलो आधार हुन्। कुनै पनि समाज तथा राष्ट्र यसको शैक्षिक प्रणाली र शिक्षकहरुको स्तर भन्दा माथि उठ्न सक्दैन। नयाँ पुस्ताको व्यक्तित्व विकास अधिक रुपमा शैक्षिक प्रणाली र शिक्षकहरुको गुणस्तर र व्यवहारीकतामा निर्भर गर्दछ। शिक्षकहरु जस्ता छन् त्यही अनुरुपको शैक्षिक संस्था र त्यसबाट उत्पादित मानव श्रोत उत्पादन हुन्छ र जस्तो मानव श्रोत उत्पादन हुन्छ त्यस्तै व्यक्ति, परिवार, समाज, राष्ट्र, विश्व तथा सिंगो मानव समाज बन्दछ। समग्रमा भन्नुपर्दा समाज तथा राष्ट्र निर्माणको प्रमुख जिम्मेदार शैक्षिक संस्था, शैक्षिक प्रणाली, शैक्षिक पाठ्यक्रम र शिक्षकहरु नै हुन् र यो विषय स्पष्ट भएपछि अव सूधार, परिमार्जन तथा संशोधन कहाँ-कहाँ र कसरी-कसरी गर्नुपर्छ यस सम्वन्धमा दुविधा रहन्न (कोथारी कमिशन, सन् १९६)।

 

शैक्षिक प्रणाली र शिक्षकहरुको गुणस्तरमा सूधार कसरी गर्ने

आधूनिक शिक्षामा अध्यात्म विज्ञानले अंगीकार गरेको आत्मज्ञानको शैक्षिक पाठ्यक्रमलाई बिना प्रमाणको ज्ञान भनेर शैक्षिक क्षेत्र भौतिक जगतमा आत्माको प्रमाण खोज्ने आधूनिक मनोविज्ञानका सिद्धान्त तथा मूल्य-मान्यताहरु हावी गराएर भौतिक रुपमा ज्ञान तथा कर्म इन्द्रियहरुको माध्यमबाट जे अनुभवमा आउँछ त्यो मात्र सत्य हो, मृत्युपछि जीवनको कुनै अस्तित्व छैन भन्ने ठोकुवा गर्दै अन्तिम निर्णय गरेर आत्मज्ञानका विषयहरुलाई शैक्षिक पाठ्यक्रमबाट हटाएपछि शिक्षा तथा शैक्षिक क्षेत्रको दुर्दशा शुरु हुन थालेको हो अर्थात शिक्षाको गुणस्तरमा ह्रास आउन थालेको हो। आत्माको ज्ञान समावेस नगरि बनाइएका शैक्षिक प्रणाली तथा पाठ्यक्रमहरु पढाएर मानिसलाई उ को हो, यो यस संसारमा आयनुको तात्पर्य केहो, जीवनको आदर्श के हो आदिबारे सम्झाउन, बुझाउन तथा सिकाउन सकिएन; नयाँ शैक्षि पाठ्यक्रम अनुसार उसले भौतिक जगत र आफ्नो भौतिक अस्तित्वलाई नै सर्वोपरि ठान्यो र आत्मज्ञानबिनाको अधूरो भौतिक शिक्षाले सन्तुलित ढंगले मानिसको व्यक्तित्व विकास गर्न आवश्यक पर्ने संस्कारयुक्त सही ज्ञान प्रदान गर्न सकिएन। यसले मानिसको जीवन, समाज तथा राष्ट्रमा असन्तुलन, शंकट, चुनौती, बिमारी, अनेकन समस्या, खराव सम्वन्ध, अस्वस्थ प्रतिस्पर्धा, व्यभिचार, ठगी, धोका, हिंसा, भ्रष्टाचार... आदि खराव परिणामहरु देखापर्न थाले। सुख, खुशी, चैन, शान्ति सबै मानिसको नियन्त्रणबाट छुट्दै गयो। क्रमशः मानिसको शरीर तथा मनोविज्ञानसंग सम्वन्धित बिमारीहरु अत्यधिक मात्रामा बढ्दै गए, पुरै समाजको परिवेश नै विस्तारै परिवर्तन हुदै गयो, आधूनिक भौतिक विज्ञानलाई मात्र मान्ने अध्यात्म विज्ञानलाई सुडो अर्थात अप्रमाणित विज्ञान सावित गर्न खोज्ने पश्चिमा मूलुकका शैक्षिक पाठ्यक्रममा आएको यस किसिमका गढबडीकाकारण शैक्षिक संस्था भन्दा बढि र सुविधा सम्पन्न अस्पतालहरु बन्न थाले। पूर्वीय दर्शनको मानिसहरुलाई सानै उमेरदेखि आहार विज्ञान, यौगीक विज्ञान र अध्यात्म विज्ञानमा अभ्यस्त बनाएर रोग लाग्नै नदिने मूल मान्यता विस्तारै मानिसलाई रोग लागेपछि उपचार गर्नेमा रुपान्तरण हुदै गयो र मानव समाज पनि यसैमा अभ्यस्त हुदै गयो। यिनै अपूरा तथा अव्यवहारीक आधूनिक भनिएका शैक्षिक प्रणाली तथा पाठ्यक्रमहरु विस्तारै बिभिन्न बहानामा पूर्वीय मुलुकहरुमा पनि भित्रिन थाले र प्राचीन मौलिक तथा व्यवहरिक ज्ञानमा आधारीत सनातन गुरुकुल शिक्षालाई विस्थापित गर्दै गए र मानिस, समाज, देश, विश्व र सिंगो मानवीयता नै आज यो शंकट तथा विविध महामारीहरुको चपेटाले घेरिएको छ।

 

उचित किसिमको शिक्षाले नै मानिसलाई मानव बनाउँछ, तसर्थ यी परिणामहरुबाट पाठ सिकेर अव आगामी दिनहरुमा अध्यात्म विज्ञानमा आधारित सनातन ज्ञानको सिकाइलाई शिक्षामा पुनः समावेस गरि अगाडि बढ्नु आवश्यक भएको छ। यसकालागि शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरु अध्यात्म दर्शनमा आधारीत रहेर परिमार्जन गरिनु आवश्यक छ। आफ्नै परिवेश सुहाउँदो उपयोगी तथा व्यवहारीक शैक्षिक नीति-नियम, शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुको निर्माण गर्न अव ढिलो गर्नु हुदैन। शिक्षाको साथसाथ शिक्षकहरुको गुणवत्ता बढाउनमा पनि उत्तिकै जोड दिइनु पर्दछ। शिक्षक ज्ञानवान, बौद्धीक, विवेकशील, केही हदसम्म मनोविज्ञ हुन तथा बनाउन उनीहरुलाई स्तर अनुसार आवश्यक तालिम प्रदान गर्नु पर्दछ; शिक्षकको सिकाइ, व्यवहार, संस्कार, नैतिकता, उत्तरदायित्व, इमान्दिारीता समाजको तत्कालीन आवश्यकता अनुकुल गराउनमा जोड दिइनु पर्दछ। यसका साथै मानिसको जीवन र शिक्षाको आधार तथा आदर्श एकै किसिमको बनाइनु पर्दछ तर वर्तमानमा हाम्रो समाजमा यस्तो छैन, तसर्थ अवका दिनहरुमा शिक्षाको आधार तथा आदर्शलाई प्राथमिकतामा राखि नयाँ पुस्तालाई जीवन विज्ञान र जीवन दर्शनको सही ज्ञान प्रदान गर्दै शैक्षिक क्षेत्रका सबै पक्षहरुमा आवश्यक सूधार गर्दै अगाडि बढ्नु आजको टडकारो आवश्यकता बनेको छ। यसकालागि मानिसको जीवनको आधार तथा आदर्श सनातन अध्यात्म दर्शनमा आधारित हुनुपर्दछ। अध्यात्ममा हाम्रा पुर्खा तथा प्राचीन वैज्ञाननिक ऋषिमूनिहरुले हजारौंहजार वर्ष लगाएर गरेका प्रयोगात्मक खोजहरुले उजारगर गरेका प्रामाणिक तथ्यमा आधारीत जीवन दर्शनका ज्ञानहरुमा जीवनशैली, जीवन विज्ञान, जीवन जीउने कला, स्वस्थ, सुन्दर, सुखी, खुशी, शान्त र आनन्दित रहने विषयहरुमा ठूला-ठूला आदर्श तथा सिद्धान्तहरु प्रतिपादित गरिएका छन् तर यसलाई सही किसिमले अध्ययन अध्यापन गर्न/गराउन सक्ने स्थान तथा शैक्षिक संस्था र पूर्वाधारहरु अहिलेसम्म बनाइएका छैनन्, यहीकारण यी दर्शन शास्त्रहरुलाई न्याय गरेर पढाउन तथा बुझाउन सक्ने सुयोग्य शिक्षकहरु तयार गरिएका/ भएका छैनन् अहिलेसम्म। अध्यात्म दर्शनको व्यवहारिक तथा प्रयोगात्मक ज्ञान र विवेकले भरिएका यस्ता अमूल्य वैज्ञानिक ज्ञानहरु नबुझेकै कारण यस्ता अति दुर्लभ ज्ञानले भरिएका शास्त्र तथा ग्रन्थहरु पढेर/पढाएर यसको उपयोगिता लिनु/दिनु भन्दा पूजा गर्ने अलौकीक सामग्री तथा वस्तु बनाइएका छन् र हामी आफू चाहिं हिराको पहाडमा बसेर आफ्नो भोक मेट्न अरुसंग भिख मागिरहेका छौं।

 

पछिल्लो चरणमा विश्वका विकसित मूलुकहरुले शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्यक्रमहरुमा समय सान्दर्भिक र आफ्नो परिवेस सुहाउँदो परिमार्जन गरेर शिक्षा को क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरि समुन्नत भएका छन्, मूलुकको उन्नती तथा विकास गरेका छन्। यसरी समुन्नत भएका राष्ट्रका दार्शनिकहरुले आफ्नो समाज, देश, काल, परिस्थिति, परिवेश सुहाउदो किसिमले पढाउन त्यही अनुसारको शैक्षिक प्रणाली तथा शैक्षिक पाठ्क्रमहरु निर्माण गरेर पढाउने सही विधि अवलम्वन गरेर आफ्ना मानव संम्साधनलाई त्यही किसिमले तयार गर्दै गए र सफलता हासिल गर्दै गए। प्रमुख रुपमा शिक्षाका निम्न चार आयामहरुमा विशेष जोड दिए- १.किन पढाउने, २.के पढाउने, ३.कसलाई पढाउने, ४.कसरी पढाउने विषयमा काम गर्न सहज हुने किसिमले पढाउने कला तथा सिकाइका विधिहरुमा पर्याप्त खोज अनुसन्धान गरेर शैक्षिक नीति-नियम, प्रणाली, पाठ्यक्रम तथा व्यवस्थापन निर्माण र आवश्यकता अनुसार समय सान्दर्भिक हुनेगरि सूधार तथा परिमार्जन गरेर त्यही अनुसार काम गरे। यसरी पर्याप्त खोज तथा अनुसन्धान गरेर तयार पारिएका सिकाइका विधिहरुमा धेरै नै विविधता देखिन्छ क्षेत्र अनुसार विशिष्किृत गरिएकाले। प्रमुख रुपमा विद्यार्थीको उमेर, शारीरिक, मानसिक अवस्था, मानिसको प्रकृति, पर्यावरणको प्रकृति, भूगोल, धर्म, समाज, संस्कार, संस्कृति, राजनीति, अर्थव्यवस्था, विज्ञान, प्रविधि, सूचना आदिका आधारमा सिकाइका विधिहरु विशिष्किृत रुपमा तयार पारिएका छन्।

 

पंचकोषको विकासमा आधारित प्राचीन मौलिक शैक्षिक प्रणाली र अवको बाटो

मानिसको आत्मामा जन्मौजन्मका संस्कारहरु संग्रहीत हुन्छन्। आत्माले आफूलाई शरीरका विभिन्न तहहरु- स्थुल शरीर, मनस शरीर, भाव शरीर तथा चेतन शरीरका माध्यमबाट वाहिरी जगतमा प्रकट गर्दछ। हुर्कदै जानेक्रममा हरेक व्यक्तिमा उसको आत्माको गुण अनुसारका संस्कारहरु देखा पर्दै जान्छन्। तसर्थ समयमै मानिसको गुण अनुसारको शिक्षा प्रदान गरि उसको व्यक्तित्व पूर्ण क्षमतामा विकास गर्न शैक्षिक प्रणाली तथा पाठ्यक्रमहरुमा अध्यात्म दर्शनले सिकाएका आत्मज्ञानका पाठ तथा सिकाइहरु समावेस गरिनु पर्दछ। मानिसको व्यक्तित्व विकासमा पंचकोषहरुको सन्तुलित विकासको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ। पंचकोषहरुको मान्यता र गुण अनुसार नयाँ पुस्तालाई सानै उमेरदेखि व्यवहारीक ज्ञान दियौं तथा सिकायौं भने उनीहरुको आत्मामा जन्मौ-जन्मदेखि आत्माले ग्रहण गरेका संचित सकारात्मक संस्कारहरु उनीहरुको क्षमता तथा प्रतिभाको रुपमा वाहिर प्रष्फुटित भएर आउँछन् र यस्तो व्यक्ति नविनतम विचार राख्ने सिर्जनशीत, चिन्तनशील आध्यात्मिक व्यक्ति बन्दछ र यस्तो व्यक्ति सहज रुपमा समाज तथा मूलुकलाई सही दिशा प्रदान गर्न तथा समय सान्दर्भिक नवगुगको निर्माण गर्न अग्रसर हुन्छ र सर्वकल्याण भावले सबैको सेवा गर्न अग्रसर हुन्छ।

 

पंचकोषका आधारमा शैक्षिक प्रणाली तथा पाठ्यक्रम निर्माण र सिकाइ

अन्नमय कोष- अन्नमय कोष तथा स्थुल शरीर पूर्ण क्षमतामा मानिसको व्यक्तित्व विकासकालागि सर्वाधिक महत्वपूर्ण आधार हो। स्थुल शरीर सक्रिय, स्वस्थ र बलियो भए मात्र मानिसले जीवनमा सबै किसिमका गतिविधिहरु गर्न र पूर्ण क्षमतामा व्यक्तित्व विकास गर्नसक्छ। स्थुल शरीर स्वस्थ हुनकालागि सन्तुलित आहार र विहार तथा शारीरिक अभ्यास/व्यायामको आवश्यकता पर्दछ। अध्यात्म दर्शनमा आधारीत शैक्षिक प्रणाली तथा पाठ्क्रमहरुका आधारमा पढाइ हुने गुरुकुलहरुमा मानिसको अन्नमय कोषको सन्तुलित विकास तथा व्यवस्थापनकालागि अनिवार्य रुपमा आहार विज्ञान र योगीक विज्ञानका विषयहरु खासगरि योगासन, प्राणायाम र ध्यान साधना समावेस गरि तिनको प्रयोगात्मक अभ्यास गराउदै पढाइन्छ र हरेक विद्यार्थीलाई नियमित रुपमा त्यसै अनुसारको जीवनशैली जीउन सिकाइन्छ जसले विद्यार्थीहरुलाई शरीरसंग सम्वन्धित कुनै किसिमको रोग, निस्क्रियता तथा आलस्यता लाग्न दिदैन र उनीहरु संधै स्वस्थ तथा सक्रिय भएर व्यक्तित्व विकासका सिकाईहरु बिना कुनै अवरोध निरन्तर गरिरहन तथा सिकिरहन सक्दछन् र समाज तथा राष्ट्र विकास तथा निर्माणकालागि उच्चतम योगदान प्रदान गर्ने बन्न सक्छन्।

 

प्राणमय कोष- मानिसको जीवन प्राण शक्ति अर्थात उर्जाको आधारमा चलेको हुन्छ तसर्थ अन्नमय कोषपछि पूर्ण क्षमतामा मानिसको व्यक्तित्व विकासकालागि प्राणमय कोषको सन्तुलित विकास अर्को अति महत्वपूर्ण आधार हो। प्राण शक्ति जहिले पनि उर्धगमन हुनुपर्दछ तव मात्र उर्जालाई जीवनकालागि आवश्यक व्यक्तित्व विकासका सकारात्मक कामहरुमा लगाउन सकिन्छ। अन्नमय कोष सक्रिय तथा विकसित छ भने स्वतः मानिसको प्राणमय कोषमा त्यसको सकारात्मक प्रभाव पर्दछ।  मानिसको प्राणमय कोष पंचवायु- प्राण, अपान, समान, व्यान, उदानको सन्तुलित विकासले चल्दछ र शरीरका ज्ञान तथा कर्म इन्द्रियहरुले सन्तुतिल किसिमले काम गर्दछन्। प्राणशक्ति उर्धगमन भए मात्र यसले मानिसलाई सम्पूर्ण किसिमले शारीरिक, मानसिक, भावनात्म, चेतनात्मक रुपमा स्वस्थ र सक्रिय राख्दछ र सबै ज्ञान तथा कर्म इन्द्रियहरुलाई तन्दुरुस्त राखि पूर्ण क्षमतामा काम गर्न मद्धत गर्दछ। प्राणशक्ति असन्तुलित तथा अस्वस्थ भयो भने यो तलतिर चल्न थाल्दछ। प्राणशक्ति तलतिर चल्न थाल्यो भने व्यक्ति रोग, अनैतिकता, बैमानी तथा खराव आचरणतिर अग्रसर हुदै जान्छ। प्राणमय कोषलाई सक्रिय र स्वस्थ राख्न अन्नमय कोषलाई जस्तै आहार विज्ञान र योगीक विज्ञानको ज्ञान तथा प्रयोगात्मक अभ्यास नियमित गर्नु आवश्यक हुन्छ। गुरुकुलहरुमा यस्ता ज्ञानहरुको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइने हुनाले विद्यार्थी संधै स्वस्थ र सक्रिय भइ पूर्ण क्षमतामा निरन्तर आफ्नो व्यक्तित्व विकासका सिकाइहरु लिन र अनुशरण गर्न सक्छ। यस्ता स्वस्थ र सक्रिय मानिसहरुले समाज तथा राष्ट्रको विकास तथा निर्माणकालागि उच्चतम योगदान प्रदान गर्ने बन्न सक्छन्।

 

मनोमय कोष- प्राणमय कोष सक्रिय तथा विकसित छ भने स्वतः मानिसको मनोमय कोषमा त्यसको सकारात्मक प्रभाव पर्दछ। अन्नमय कोष र प्राणमय कोषको सन्तुलित विकासबाट मानिसको शरीरमा उत्पन्न भएको उर्जा शक्तिलाई उर्धगमन गर्न तथा सकारात्मक दिशा दिन मनोमय कोष उन्नत तथा विकसित बनाउनु पर्दछ। भारतका प्रथम उप-राष्ट्रपति श्री राधाकृष्णनले लोकप्रिय भनाइ यहाँ सान्दर्भिक हुन्छ-यदि तिम्रो विचार इस्तरहिन छ भने, तिम्रो जीवन पनि स्तरहीन हुन्छ। यस अर्थमा मानिसको व्यक्तित्व विकासमा विचारको महत्वपूर्ण भूमिका रहेको स्पष्ट बुझ्न सकिन्छ।

 

ज्ञान इन्द्रियहरुबाट आएका सूचनाहरुको आधारमा मानिसको मस्तिष्क सक्रिय हुन्छ र मस्तिष्कका स्नायु प्रणालीहरुमा विचारहरु उत्पन्न हुन्छन, यिनै विचारहरुको समुह नै मन हो। हाम्रो मनोमय कोष कस्तो बन्छ र यसको विकास कसरी हुन्छ भन्ने कुरा हामीले हाम्रा ज्ञान इन्द्रियहरुबाट कस्ता सूचना तथा आहारहरु ग्रहण गरिरहेकाछौं भन्ने कुरामा निर्भर गर्दछ। त्यसैले गुरुकुलमा विद्यार्थीहरुलाई आफ्नो दैनिक जीवनशैली सही बनाउन ज्ञान इन्द्रियहरुबाट कस्ता आहारहरु ग्रहण गर्नेबारे प्राथमिकताकासाथ पढाइन्छ, जस्तोकि आँखाले कस्ता दृश्यहरु हेर्ने तथा देख्ने; कानले कस्ता शव्द तथा वाणीहरु सुन्ने; छालाले कस्ता सुख, सुविधाहरु भोग्ने; जिब्रोले कस्ता स्वादहरु ग्रहण गर्ने तथा कस्ता वाणीहरु बोल्ने; नाकले कस्ता सुगन्धहरुमा रुची देखाउने तथा ग्रहण गर्ने आदि। विद्यार्थीहरुलाई कसरी सकारात्मक सोच्ने र उनीहरुको मनोमय कोषको सन्तुलित विकास गर्ने भन्ने कुरा औपचारीक शिक्षा क्षेत्रमा गुरुहरुको र अनौपचारीक शिक्षा क्षेत्रमा माता-पिता, अभिभावक तथा अग्रजहरुको भूमिका महत्वपूर्ण हुन्छ। मनोमय कोष उच्च तथा सकारात्मक राख्न गुरुकुलहरुमा आहार विज्ञान र यौगिक विज्ञानका विषयहरु पढाइन्छन्। जस्तो खानपान यस्तै तन तथा जस्तो खानपान उस्तै मन हुने हुनाले आहार विज्ञानको सैद्धान्तिक ज्ञान र व्यवहारिक अनुशरणमा जोड दिइन्छ। त्यसैगरि विद्यार्थीहरुको आचरण शुद्धीकालागि यौगिक विज्ञानका विषयहरुमा योगासन र प्राणायामका साथसाथ विशेषगरि यम(आफूले संसारप्रति गर्ने व्यवहार), नियम(आफूले आफैंप्रति गर्ने व्यवहार), प्रत्याहार(इन्द्रियहरुको आचरण), धारणा, ध्यान र समाधिको सैद्धान्तिक तथा व्यवहारीक ज्ञानमा जोड दिइन्छ।


‘भनिन्छ ढुंगाभन्दा पानीमा बढी सिर्जनशीलता हुन्छ। पानीभन्दा वायुमा बढी सिर्जनशीलता हुन्छ। वायुभन्दा प्रकाशमा बढी सिर्जनशीलता हुन्छ। प्रकाशभन्दा अणुमा बढी सिर्जनशीलता हुन्छ। अणुभन्दा परमाणुमा बढी सिर्जनशीलता हुन्छ। परमाणुभन्दा मानिसको मस्तिष्कमा बढी सिर्जनशीलता हुन्छ। मानिसको मस्तिष्कभन्दा बढी मन सिर्जनशील हुन्छ, शक्तिशाली हुन्छ।’ पूर्वीय दर्शनले उजागर गरेको यो गहन र दूरगामी विषयले मानिसको मनलाई नै सर्वशक्तिमान मानेको छ र मनको विकासकालागि योग र ध्यानका विधिहरु अनुशरण गर्दै आइएको छ तर आधूनिक शैक्षिक प्रणाली तथा पाठ्यक्रम पढाएर आधूनिक बन्ने होडमा व्यक्तित्व विकासकालागि सयौं वर्ष लगाएर गरेको हाम्रा पुर्खाहरुको अमूल्य खोजको योगदान योग-ध्यानका ज्ञान र अभ्यासहरुलाई चटक्कै बिर्सेर नयाँ पुस्ताको मनोमय कोष र अन्य कोषहरुको सन्तुसलित विकास र पूर्ण क्षमतामा मानिसको व्यक्तित्व विकास गर्नकालागि हामीले केके उपयुक्त विधिहरु अपनाएका छौं त आधूनिक शैक्षिक प्रणाली र पाठ्यक्रमहरुमा!? आफूले आफैंलाई प्रश्न गर्ने समय आएको छ।


विज्ञानमय कोष- माथि उल्लेखित तीन कोषहरुको सन्तुलित विकासको प्रत्यक्ष प्रभाव विज्ञानमय कोषमा पर्दछ खासगरि मानिसको विचार राम्रो भएपछि उसको मनोमय कोष विकसित हुन्छ, उसको पूरै व्यक्तित्व ज्ञानमय हुन्छ र उ ज्ञान, विवेक, प्रज्ञामा हामफाल्छ। कोषहरुको उन्नत विकासकालागि निरन्तर सन्तुलित जीवनशैलीको अनुशरण गरिरहदा मानिसको समग्र शरीरमा उत्पन्न भएको शरीरको उर्जा, प्राणको उर्जा र मनको उर्जालाई सही मार्गमा लगाउन विज्ञानमय कोष अर्थात बुद्धि तथा बौद्धिक क्षमताको विकासको सबैभन्दा बढि महत्वपूर्ण भूमिका रहन्छ जसले मानिसका सबै क्षमता तथा प्रतिभाहरुलाई सही दिशा प्रदान गर्दछ, पूर्ण क्षमतामा उसको व्यक्तित्वको विकास हुन्छ र यही तहबाट थाहा लाग्छ संस्कारयुक्त शिक्षा भनेको कस्तो हुन्छ; व्यक्ति, परिवार, समाज, देश, विश्व र सम्पूर्ण मानवीयतामा संस्कारयुक्त शिक्षाको कस्तो प्रभाव हुन्छ; संस्कारयुक्त शिक्षा प्राप्तिपछिको राजनीतिक, आर्थिक, आध्यात्मिक, सांसारीक, धार्मिक, सामाजिक, सांस्कृतिक आदि वतावरण कस्तो हुन्छ भनेर। मनोमय कोषमा भएको विकास पश्चात ज्ञान, विवेक, प्रज्ञाको विकास भएकोकारण मानिसको विज्ञानमय कोष विकसित हुन्छ र उ हरप्रकारले क्षमतावान, प्रतिभावान र सिर्शनशील हुन्छ, मानवीयतामा चिन्तन् गर्न थाल्छ र सर्बकल्याणको भावले सेवाका कार्यहरु गर्न थाल्छ। पूर्णरुपमा प्रागिकतामा स्थापित भएपछि अव उसले सत्यको खोजी गर्न थाल्छ, यसका विधिहरु अपनाउन थाल्छ र आनन्दमय कोषमा प्रवेश गर्छ। आनन्दमय कोषका चरणहरु पूरा गर्दै अन्तत्वगत्वा उ सत्यमा पुग्छ र परमात्मा प्राप्त गरि सदाकोलागि मोक्ष प्राप्त गर्दछ। समाज तथा राष्ट्रको विकास तथा रुपान्तरणमा यसरी पूर्ण क्षमातामा विकसित भएको अलौकिक व्यक्तिको योगदान कति अनुकरणीय बन्नसक्ला, हामी आफैं अनुमान गर्न सक्छौं। आफ्नो क्षेत्रमा अव्वल काम गरेका वैज्ञानिक, उद्यमी, अभियन्ता तथा सिर्जनशील छवि आदि विज्ञानमय कोषमा अवस्थित भएका व्यक्तिहरु हुन्। 

 

आनन्दमय कोष- आनन्दमय कोष पूर्णरुपमा अध्यात्म विज्ञानको भावातीत विषयहरुसंग सम्वन्धित कोष हो। माथि उल्लेखित चारकोषहरुको सन्तुलित तथा पूर्ण विकास भएपछि मात्र आनन्दमय कोषको विकासमा सहजता र तिब्रता आउँछ। आनन्दमय कोषको विकास परालौकिक अवस्था हो र यस अवस्थामा इन्द्रियातीत तथा भावातीत अनूभूतिहरु हुन्छन्। औपचारीक तथा अनौपचारीक शैक्षिक संस्थाहरुबाट वाहिरी रुपमा आर्जन गरिने ज्ञानले माथि उल्लेखित चारकोषहरुको मात्र विकास गर्न सक्छ। आनन्दमय कोष आत्माको आनन्दसंग सम्वन्धित भएकोले आत्मालाई आनन्द प्रदान गर्ने गतिविधहरु- धर्म, पूजा, भक्ति, दान, स्नेह, प्रेम, श्रद्धा, दया, करुणा, सेवा आदि र ध्यान साधनाका विधिहरुबाट आनन्दमय कोषको विकास हुन्छ। पूर्वीय दर्शनमा ऋषिमुनि तथा प्राचीन वैज्ञानिकहरुले हजारौं-हजार वर्ष लगाएर प्रयोगात्मक खोजमा आधारीत अध्यात्म विज्ञानको लामो खोजले पत्ता लगाएको प्रामाणिक विषय हो 'ध्यान'। ध्यान साधना मानिसको प्रज्ञा चच्छु तथा आज्ञा चक्र अर्थात तेस्रो आँखा खोल्ने विधि हो जसले मानिसको सुक्ष्म शरीर सक्रिय गराउँछ र सुक्ष्म शरीरको माध्यमबाट बन्द आँखाले मानिसले सारा ब्रह्माण्ड देख्न, ब्रह्माण्डलाई महसुस गर्न र ब्रह्माण्डका गतिविधिहरुमा प्रत्यक्ष सहभागि हुन सक्छ। 

प्रयास गर्ने साधकहरु मध्यबाट केही सिमित साधकहरु मात्र आनन्दमय अवस्थामा पुग्न सक्छन्, यो अवस्था हासिल गर्न मानिसको एक जन्म पर्याप्त नहुन सक्छ अर्थात जन्म-जन्मको प्रयासबाट मात्र मानिसले आनन्दमय अवस्था हसिल गरेका हुन्छन्। उदाहरणकोलागि सन्त, योगी, सदगुरु आदि अलौकिक व्यक्तित्वहरु आनन्दमय कोषमा स्थित भएका हुन्छन्। यस्ता व्यक्तिहरुको अलौकिक प्रभावले समाज, राष्ट्र तथा समग्र मानवीयतामा आउने दिव्य र आमुल सकारात्मक परिवर्तन कस्तो र कति हुन्छ भन्ने सन्दर्भमा हाम्रो भौतिक जगतको हिसाव-किताव राख्ने मस्तिष्कले ठम्याउन मुस्किल पर्छ।         bsirjana@gmail.com

 


No comments:

Post a Comment