नवयुगको निर्माण गर्ने विराट लक्ष्यमा आधूनिक वैज्ञानिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानको विराट चक्र विज्ञान कार्यक्रमले कोरेको गोरेटो
डा. सिर्जना भण्डारी
नवयुग निर्माणको ऐतिहासिक पृष्ठभूमि
‘नव’
को अर्थ नयाँ तथा नवीन हो; ‘युग’ को अर्थ समय; र ‘निर्माण’ को अर्थ बनाउनु हो। नवयुगको
सहज परिभाषा युग सुहाउँदो तथा समय सान्दर्भिक समाजको निर्माण अर्थात नयाँ परिवेशमा
समाजको निर्माण गर्नु हो। हामीले वर्तमान समयमा अनुभव गर्दै आइरहेका विभिन्न परिस्थितिहरु-
राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक, धार्मिक आदि अवस्थाहरुमा रहेका
नकारात्मक पक्ष, चुनौती तथा समस्याहरुलाई न्युनिकरण गर्दै सर्वकल्याणका कार्यहरु गरी
हरेक प्रतिकुल परिस्थितिहरुलाई सकारात्मकतातिर लादै समय सान्दर्भिक तथा युग सुहाउँदो समाज तयार गर्नु नवयुग निर्माण गर्नु हो। विश्व इतिहासको अध्ययन गर्दा प्राचीनकाल, मध्यकाल र
आधुनिककालमा तत्कालीन परिस्थितिहरुको माग अनुसार युग सुहाउँदो तथा समय सान्दर्भिक समाजको
निर्माण गर्ने उदेश्यले कयौं पटक नवयुग निर्माणका सफल प्रयासहरु भएका र निरन्तर समयको
आवश्यकता अनुसार भइनैरहेका यस विषयसंग सम्वन्धित तथ्यांकहरुले उजागर गरेका छन्। नवयुग
कहींबाट बनिबनाउ भएर आउदैन, नवयुगको निर्माण हामी मानवहरु स्वयंले नै गर्नु
पर्दछ र यो महान कार्य वर्तमान समयका मानिसहरुको
सर्वकल्याण भावले भरिएको नवीनतम विचार र नवीनतम विचारहरुको उचित कार्यान्वयनमा निर्भर
गर्दछ। मानिसको नवीन तथा सिर्जनशील लक्ष्य, विचार, सोच, व्यवहार र आचरण तथा क्रियाहरुको
सन्तुलित सोपानबाट युग सुहाउँदो नवयुगको निर्माण हुन्छ। हामी समयचक्रसंगै चल्दै आदीमयुग
हुदै आजको २१औं शताव्दीसम्म आइपुगेका हौं। समयचक्र सतत् गतिशिल भएर चलिरहन्छ, कहिल्यै
न रोकिन्छ न थाक्छ। समयचक्रसंग सामनजस्यता गर्दै र समयको साथ चल्दै कस्तो नवयुग निर्माण
कसरी गर्ने भन्ने कुरा हामी मानिसहरुको क्रियाशिलता तथा सक्रियतामा निर्भर गर्दछ।
कुनैपनि वस्तु तथा विषयको विकासक्रमका प्रक्रियाहरु(Processes of Evolution) निरन्तर चलिरहन्छन् र सर्वकल्याणकालागि तत्कालीन आवश्यकता अनुसार यी प्रक्रियाहरुमा साना-ठूला परिवर्तनहरु पनि आइरहन्छन्। मानिस सामाजिक तथा प्राकृतिक प्राणी भएकोले समाज र प्रकृतिमा आएका हरेक सकारात्मक तथा नकारात्मक परिवर्तनले मानिसको जीवनयापनमा प्रत्यक्ष प्रभाव पार्दछ किनकि मानिसको जीवनयापनको समाज र प्रकृतिसंग प्रत्यक्ष सम्वन्ध रहेको हुन्छ। तसर्थ समाज सन्तुलित किसिमले अगाडि बढ्नकालागि समाजका हरेक आयामहरु- राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक, धार्मिक तथा प्राकृतिक आदि पनि सन्तुलित र समय सान्दर्भिक किसिमले चल्नु अत्यन्त आवश्यक हुन्छ र त्यही अनुसारको नवयुग निर्माण हुनु पर्दछ किनकी समग्र प्रकृतिको सहज र स्वस्फूर्त पारिस्थितिकीय प्रणालीको निरन्तरताकालागि नवयुग निर्माण हरेक युगको अपरिहार्य आवश्यकता हो। समाजका विविध आयामहरु मध्य कुनै एक मात्र आयाममा असन्तुलन आयो भने यसले मनिसको सहज जीवन यापन र नवयुग निर्माणमा वाधा पुर्याउँछ। जति सामाजिक तथा प्राकृतिक आयामहरु युग सुहाउँदो तथा तत्कालीन रुपमा समय-सान्दर्भिक हुन्छन् त्यतिनै व्यक्ति, परिवार, समाज, राष्ट्र, विश्व, समग्र मानवीयता तथा समग्र प्राकृतिक प्रणालीहरु सहज र सन्तुलित ढंगले निरन्तर प्रक्रियामा अगाडि बढ्दछन् अन्यथा नवयुग निर्माणको प्रक्रियामा असहज परिस्थिति पैदा हुनसक्छ।
हरेक
विषय तथा परिस्थितिहरु एकै सिक्काका दुईपाटा सरह हुन् जसमा सकारात्मक तथा नकारात्मक,
सहज तथा जटिल दुवै अवस्थाहरु निहित हुन्छन्। समयको विकासक्रममा जव-जव समाज तथा प्रकृतिलाई
नकारात्मक, असहज तथा जटिल परिस्थितिहरु अन्धविश्वास, कुरीति, भेदभाव, आडम्वर, वर्ग
तथा जाति विभाजन, विभेद, हिंसा जस्ता परिस्थितिहरुले गाँज्दै तथा आक्रान्त पार्दै लगे
र मानिसको जीवनशैली प्रक्रियागत किसिमले निरन्तर अगाडि बढ्न सकेन, मानवीयतामा विखन्डन
आउन थाल्यो तव-तव विश्वसमाजले विभिन्न कालखण्डहरुमा भौतिक तथा वैचारीक आन्दोलन तथा
वैचारीक जागरण गरेर नवयुग निर्माण गर्दै आएकोछ।
नवीनतम विचार नै नवयुग निर्माणको
मूलकडी
नवयुग निर्माणमा सबैभन्दा महत्वपूर्ण पक्ष अर्थात नवयुग निर्माणको मूलकडी नवीनतम विचार हो। नवीनतम विचारहरुकै कारण आजको विश्वले आधूनिक भौतिक विकासमा अभूतपूर्व फड्को मारेको छ र मानवीयता र मानिसको जीवनयापनमा विगतको तुलनामा अतुलनिय सुख, सुविधा र सहजता प्रदान गरेको छ। तर विविधकारणले आधूनिक भौतिक विकासले मानव समाजमा आवश्यक सन्तुलन भने कायम गर्न सकेको देखिएन। पकृतिको अत्यधिक दोहन गरि गरिएको भौतिक विकास, अति भौतिकवादी सोच तथा कार्यहरु र अत्याधूनिक जीवनशैलीका कारण वर्तमान विश्वसमाजबाट मानवीयता हराउदै गैरहेको छ; मानिसको खुशी, शान्ति तथा आनन्दमा विचलन आइरहेको छ र मानव समाज दिनदिनै जड् तथा भावना बिहिन बन्दै गैरहेको छ। दिनदिनै बढ्दो जड्ता तथा भावना बिहिनताकै कारण विश्वसमाजमा अधिकांश मानिसहरुलाई सामान्य र सहज किसिमको जीवनयापन गर्न समेत मुस्किल बढ्दै गैरहेको छ। भौतिक विज्ञानले गरेको भौतिक विकासले मानिसको जीवनमा सुख, सुविधा, समृद्धि त ल्याउन सक्यो, यो पनि आवश्यक पक्ष हो सहज जीवनकालागि तर भौतिक विकास र मानवको विकासको वाहिरी पक्षलाई मात्र जोडदिदा मानवको सन्तुलित विकासको समग्र प्रक्रिया असन्तुतिल भयो र मानिसको आन्तरीक विकासको प्रक्रियामा खलल पुग्यो, उ पूर्ण मानव बन्न सकेन र यसको परिणाम परिवार, समाज तथा राष्ट्रमा गैर जिम्मेदारी, भेदभाव, वर्ग विभाजन, लोभ, क्रोध, मोह, इष्र्या, अन्याय, हिंसा, अपराध बढ्दै गयो र प्रेम(स्नेह, मायाँ, मैत्री, श्रद्धा, दया, करुणा), सहयोग, सेवा, परोपकार, क्षमा जस्ता सनातन संस्कारहरु हराउदै गए र मानिस केवल भौतिकीको तालिकामा चल्ने यन्त्र जस्तो बन्दैगयो। समग्र विकास प्रक्रियामा सन्तुलन ल्याउनकालागि मानिसको भौतिक तथा वाहिरी विकासका साथसाथ मानिसको आन्तरीक विकास प्रक्रिया जसरी अगाडि बढ्न सक्नु पर्नेथियो त्यसरी अगाडि बढ्न सकेन, यसको परिणामस्वरुप आज व्यक्ति, परिवार, समाज, राष्ट्र, विश्व समाज, प्रकृति तथा समग्र मानवीयतानै समस्याले ग्रस्त भई विखण्डित तथा विकलांग हुनपुगेको छ।
हरेक
किसिमको विकासको मूलआधार मानिसको नवीनतम विचारनै हो, विचारको शक्ति यति वलवान हुन्छ
कि यसले सर्वकल्याण भावलाई अस्वीकार गर्ने हरेक असान्दर्भिक पूराना मूल्य-मान्यताहरुलाई
गिराएर समय-सान्दर्भिक नयाँ मूल्य-मान्यताहरु स्थापित गरि समाज तथा प्रकृतिलाई युग
सुहाउदो नयाँ दिशा प्रदान गर्न सक्ने अदम्य क्षमता राख्दछ। तत्कालीन समाजले कस्ता किसिमका
समस्याहरुको सामना गर्नु परिरहेको छ त्यसै अनुसारका नवीनतम तथा सिर्जनशील विचारहरु
अघि सारी समाजका हरेक मानिसहरुको उक्त विषयप्रति स्वजागरण गराएर अर्थात विषय समवन्धित
सकारात्मक परिवर्तनको आवश्यक ज्ञान प्रदान गर्दै नवयुग निर्माणको प्रयास भएको इतिहासका
प्रसस्त प्रामाणिक तथ्यहरु हाम्रासामु उपलब्ध छन्। नवीनतम विचारहरुको माध्यमबाट आएको
स्वजागरणको बलले मानिसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक, धार्मिक
तथा प्राकृतिक जागृती ल्याउन सकिन्छ र नवजागृत मानिसले सहज ढंगले युग सान्दर्भिक नवयुग
निर्माणको प्रक्रियामा योगदान पुर्याउन सक्दछ।
नवयुग निर्माणमा विराट चक्र विज्ञानले
पुर्याएको योगदान
आधूनिक वैज्ञानिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानले विगत १३ वर्षदेखि
अध्यात्म अनुरागीहरुको आध्यात्मिक स्तर, माग तथा प्राथमिकता अनुसारका पाठ्यक्रमहरु
समावेस गरि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। अध्यात्म साधकहरुको प्राथमिकता,
आवश्यकता, माग र लोकप्रियताका आधारमा निम्न सात प्रकारका कार्यक्रमहरु वर्षको ३४० दिन
दोहोर्याइ-तेहर्याइ निरन्तर आयोजना गर्ने गर्दछ-
१. चक्र विज्ञान- योग-ध्यानको माध्यमबाट मानव शरीरमा
अवस्थित सुक्ष्म उर्जाकेन्द्र चक्रहरु जागरण गर्न प्रयोगात्मक अभ्यास सिकाउने
अध्यात्म विज्ञान।
२. ऐश्वर्य विज्ञान- योग-ध्यानको माध्यमबाट जीवनमा सुख, खुशी,
शान्ति, समृद्धि हासिल गर्न, जीवनको मूल लक्ष्य निर्धारण गर्न र जीवनमा सफलता
हासिल गर्न सिकाउने अध्यात्म विज्ञान।
३. वोध विज्ञान- योग-ध्यानको माध्यमबाट ‘म’ तथा ‘आफू’
हुनुको आत्मवोध तथा आत्मज्ञान हासिल गर्न आफैंभित्रको अन्तरयात्रा सिकाउने
अध्यात्म विज्ञान।
४. लय विज्ञान- योग-ध्यानको माध्यमबाट आत्मज्ञान हासिल
गरि आफैंभित्र गरिने अन्तरयात्रा गर्दै विश्वचेतना, समग्र अस्तित्व तथा
परमात्मासंग लयवद्ध हुन सिकाउने अध्यात्म विज्ञान।
५. योग-ध्यान प्रशिक्षक प्रशिक्षण- योग-ध्यानको माध्यमबाट चक्र जागरण, जीवनको
मूल लक्ष्य निर्धारण, आत्मज्ञान र परमात्मासंग लयवद्ध भएर अरुलाई यही ज्ञान सिकाउन
सक्ने बन्ने प्रशिक्षण प्रदान गर्ने अध्यात्म विज्ञान।
६. सत विज्ञान- योग-ध्यानको माध्यमबाट समग्र अस्तित्व,
विश्वचेतना तथा परमात्मासंग लयवद्ध भई ब्रह्माण्डको आत्यन्तिक एकमात्र सत्यसंग एकाकार
हुन सिकाउने अध्यात्म विज्ञान।
७. मौन रहस्य विज्ञान- योग-ध्यानको माध्यमबाट माथि उल्लेखित अवस्थाहरु
हासिल गरेपछि ति अमूल्य उपलव्धिहरुलाई छिटो, सही र स्थाइ किसिमले व्यवस्थापन गर्न
सिकाउने अध्यात्म विज्ञान।
भनिन्छ
सम्यक भावना, सम्यक ज्ञान र सम्यक कर्म एकै समन्वयमा आएर मिल्यो भने तथा एकसाथ कदममा
कदम मिलाएर अघि बढ्यो भने युग प्रवर्तक मानव र सुधार युगको उदय हुन्छ। आधुनिक वैज्ञानिक
आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठान विराट आध्यात्मिक जागरणको माध्यमबाट युग
प्रवर्तक मानव र सुधार युग तथा नवयुग निर्माणको अदम्य साहसिक कार्यमा अग्रसर भएर अगाडि
बढेको छ। यस महान कार्यको ज्वलन्त उदाहरण हो बि.सं. २०८० चैत्रमा साँढेपाँच हजार सहभागिहरु
एकै स्थानमा भेला गरेर सम्पन्न गरिएको विराट चक्र विज्ञान कार्यक्रम। यस विराट चक्र
विज्ञान कार्यक्रमा सहभागिहरुलाई सदगुरुहरुको प्रत्यक्ष सानिध्यमा सनातन अध्यात्म विज्ञानका
अमूल्य नीधि योग-ध्यानका विविध विधिहरुको व्यवहारीक र प्रयोगात्मक अभ्यास गराएर मानिसको
शरीरमा सुक्ष्म रुपमा रहेका उर्जाका केन्द्र सात चक्रहरुको जागरण गर्ने अभ्यास गराइएको
थियो। उर्जाका केन्द्र सात चक्रहरु मानिसका त्यस्ता अमूल्य नीधि हुन जसभित्र युग परिवर्तन
गर्नसक्ने उसका जन्म-जन्मका प्रतिभा, क्षमता र सकारात्मक गुणहरु उचित अवसरको अभावमा
सुसुप्त अवस्थामा दवेर रहेका हुन्छन्। चक्रहरुको सैद्धान्तिक तथा वैज्ञानिक ज्ञान प्रदान
गरी मानिसभित्र सुसुप्त अवस्थामा रहेका प्रतिभा, क्षमता र सकारात्मक गुणहरुलाई जागृत
गर्नसक्ने एकमात्र माध्यम तथा विधि सात चक्रहरुको जागरण गर्ने एकमात्र कार्यक्रम चक्र
विज्ञान हो। चक्र विज्ञान कार्यक्रममा सदगुरुद्वारा योग-ध्यानका विभिन्न विधिहरुको
सैद्धान्तिक ज्ञान र व्यवहारिक तथा प्रयोगात्कम अभ्यास गराएर चक्रहरु जागरण गर्न सहजता
प्रदान गरिन्छ। योग-ध्यान नै मानिसभित्र रहेका जन्म-जन्मका अमूल्य खजानाहरुको द्वार
खोल्ने महत्वपूर्ण साँचो भएकोले जीवन
विज्ञान प्रतिष्ठानले युग सान्दर्भिक नवयुग निर्माणको महत्वाकांक्षी लक्ष्यलाई अघि
बढाउने उदेश्यले यस कार्यकालागि आवश्यक विराट चक्र विज्ञान कार्यक्रमको आयोजना गरेको
हो। यो कार्यक्रममा प्रत्यक्ष सहभागि भएर आफ्ना सबै चक्रहरु जागरण गरि आफूभित्रका उचित
अवसरको अभावमा दवेर रहेका आफ्ना प्रतिभा, क्षमता तथा सकारात्मक गुणहरु जागृत गरेर हरेक
किसिमले सक्षम भइ व्यक्तित्वको विकास गरेका व्यक्तिहरुले नवयुग निर्माणमा आवश्यक योगदान
पुर्याउनेछन् भन्ने विश्वास जीवन विज्ञान प्रतिष्ठान र समग्र समाजले राखेकोछ।
चक्र विज्ञान के हो र किन लिने?
आधूनिक वैज्ञानिक आध्यात्मिक संस्था
जीवन विज्ञान प्रतिष्ठानले नियमित आयोजना गर्ने कार्यक्रमहरु मध्य सबैभन्दा बढि पटक
दोहोर्याइ-तेहर्याइ संचालन गर्ने कार्यक्रमहरुमा सर्वाधिक माग भएको र सबै उमेर, वर्ग
तथा पेशा समुहहरु सहभागि हुन रुचाउने अति लोकप्रिय कार्यक्रम चक्र विज्ञान हो। चक्र
विज्ञान कार्यक्रम अध्यात्म साधनाको माध्यमबाट मानिसहरुमा स्वजागरण ल्याएर उनीहरु स्वयंमा
अन्तरनिहीत क्षमता, प्रतिभा र सकारात्मक
गुणहरुको प्रष्फुटन गरि उनीहरुको
जीवनमा सुख, शान्ति, समृद्धि हासिल गर्न सहयोग गर्ने सर्वाधिक उपयोगी कार्यक्रम हो।
मानव
शरीरको मेरुदण्डको तल्लो भागदेखि शिरको माथिल्लो भागसम्म रहेका सातवटा प्रमुख उर्जाका
केन्द्रहरु चक्र हुन्। प्रमुख रुपमा चक्रहरु सात प्रकारका छन्- मूलाधार, स्वादिष्ठान, मणिपूर, अनाहत, विशुद्धी, आज्ञा, सहश्रार। प्राकृतिक जन्मसंगै सबै व्यक्तिहरुले
जीवन उर्जा प्रवाहका केन्द्र सात चक्रहरु साथमा लिएर आएका हुन्छन्। योग-ध्यानको सैद्धान्तिक
ज्ञान र व्यवहारिक उपयोग तथा प्रयोगात्मक अभ्यासको माध्यमबाट उर्जाका केन्द्र चक्रहरुको
जागरण गराउने कार्य चक्र विज्ञान कार्यक्रममा गरिन्छ। शरीरमा सुक्ष्म रुपमा रहेका चक्रहरुको
जागरण भएपछि मानिसको शरीरका चारवटै आयामहरु- स्थुल शरीर, मानसिक शरीर, भावनात्मक शरीर
र आत्मिक शरीरमा चक्रहरुमा स्थित चक्रका गुण अनुसारको उर्जाको प्रवाह सक्रिय रुपमा
संचारीत हुन्छ। यसरी सक्रिय रुपमा संचारीत भएको उर्जाको प्रवाहलाई आफ्ना आवश्यकता र
इच्छाहरु अनुरुप प्रयोग गरेर हरेक मानिसले आफ्नो जीवनमा सुख, खुशी, समृद्धि, शान्ति
तथा आनन्द प्राप्त गर्न सक्दछ। मानव जीवनका महत्वपूर्ण प्रतिभा तथा क्षमताहरु स्वास्थ्य,
खुशी, साहस, प्रेम, ज्ञान, संकल्प र शान्ति तथा परम आनन्दका मूल श्रोत चक्रहरु नै हुन्।
मानिसको जीवन उर्जाको प्रमुख श्रोत चक्रहरु दुर्वल तथा निश्क्रिय रहेको अवस्थामा मानिसमा
दुःख, रोग, तनाव, चिन्ता, निराशा, डर, अशान्ति, कठोरता र नकारात्मकताको अवस्था देखापर्छ
र जीवनमा उसले चाहेको, आँटेको कुनै लक्ष्य पूरा गर्न असक्षम हुन्छ। समग्रमा भन्नु पर्दा
उ असफल नागरीक बन्नपुग्छ। चक्रहरु जति सवल र सक्रिय हुन्छन् त्यतिनै मानिस सक्षम, सक्रिय,
प्रतिभावान, क्षमतावान, सकारात्मक र सफल हुने हुनाले चक्र जागरण गर्न हरेक मानिसले
जीवनमा जतिसक्दो चाँढो नगरीनहुने अपरीहार्य मूलकार्य हो।
चक्र जागरणका लाभहरु
जीवन विज्ञान प्रतिष्ठानद्वारा आयोजित चक्र विज्ञान कार्यक्रम जीवन विज्ञानका सद्गुरुहरुको प्रत्यक्ष सानिध्यमा मानिसको शरीरभित्र सुक्ष्म रुपमा रहेका प्रमुख सात चक्रहरु- मूलाधार, स्वादिष्ठान, मणिपूर, अनाहत, विशुद्धी, आज्ञा तथा सहश्रार चक्रको जागरण गर्ने विधिहरुको साधना गराइने हुनाले यस कार्यक्रमबाट हरेक सहभागिहरुले प्रत्यक्ष लाभ दिन सक्छन्। मानिसको जीवनमा हरेक चक्रहरुको आ-आफ्नै काम र महत्व रहेकाछन् जसले मानिसको स्वस्थ्य, सुख, खुशी, समृद्धि, शान्ति, आनन्द प्राप्तिमा प्रत्यक्ष प्रभाव पार्दछन्। सबै चक्र जागृत भएको मानिस सम्पूर्ण किसिमले पूर्ण, योग्य तथा क्षमतावान हुन्छ र यस्तो व्यक्तिले युग सान्दर्भिक नवयुग निर्माण कार्यमा चाहेजस्तो योगदान पुर्याउन सक्छ। चक्र विज्ञानमा योग-ध्यानका विशिष्ठ विधिहरुको सैद्धान्तिक ज्ञान र तिनको व्यवहारिक तथा प्रयोगात्मक अभ्यासको प्रक्रियाद्वारा चक्रहरु जागरण गराइने र यस कार्यबाट मानिसको शरीरमा उर्जाको प्रवाह बढ्ने हुनाले मानिसको शरीर, मन, भाव तथा चेतना सधैं उर्जावान, सक्रिय र स्वस्थ रहन्छ। चक्र र यिनको सक्रिय तथा निश्क्रिय अवस्था र लाभ तथा हानीबारे केही जानौं-
मूलाधार चक्र जागृत भएको मानिसको शरीर स्वस्थ हुन्छ; उसले गरेका
सबै कार्यहरु सफल हुन्छन्; उसमा काम गर्ने स्फुर्ति, बल, जोश, जाँगर र सक्रियता बढ्छ।
यो चक्र दुर्वल तथा निश्क्रिय अवस्थामा छ भने मानिस रोगी, निश्क्रिय, अल्छि, बलहीन,
केही काम गर्न नसक्ने तथा काम गर्न मन नलाग्ने, काम गर्न साहस नगर्ने, थकित, गलित किसिमको
हुन्छ। शरीर कमजोर हुन्छ; हड्डि तथा मांसपेसी सम्वन्धित रोगहरुबाट ग्रसित हुन्छ; पिडाकाकारण
जीवनलाई नै बोझ तथा असफल सम्झिन थाल्छ र यसको दोष उसले परिवार, समाज, राज्य, प्रकृति
तथा परिस्थितिलाई दिन्छ।
स्वादिष्ठान चक्र जागृत भएको मानिस सदा सुखी, सन्तुष्ट, खुशी तथा
मुस्कानले भरिएको संधै हाँसीरहने, रमाइरहने प्रकृतिको हुन्छ; जस्तोसुकै परिस्थितिमा
आफूलाई घुलमिल तथा व्यवस्थित गर्नसक्ने क्षमता राख्दछ र सबै विषयहरुलाई उसले सकारात्मक
दृष्टिले हेर्दछ। स्वादिष्ठान चक्रमा
रहेको उर्जा जागरणको कारण मनमा प्रसन्नता र सकारात्मक भावको विकास हुने हुनाले मानिसमा
स्वतः तनाव कम हुन्छ, जीवनमा खुशीको संचार हुन्छ र जीवन रमाइलो लाग्न थाल्छ। यो
चक्र दुर्वल तथा निश्क्रिय अवस्थामा छ भने मानिसले जीवनमा सुख तथा खुशी अनुभव गर्न
सक्दैन; तनाव र चिन्ताले ग्रसित हुन्छ; पट्यारलाग्दो जीवन जीउन बाध्य हुन्छ; हरेक विषयप्रति
निराशावादी हुन्छ र अरुप्रति संधै गुनासोले भरिने प्रकारको हुन्छ। स्वादिष्ठान चक्र अलि ज्यादा नै दुर्वल तथा निश्क्रिय
छ भने मानिसको प्रजनन् शक्ति कमजोर हुन्छ; यौन सम्वन्धि रोगहरुबाट ग्रसित हुन्छ र जीवनमा
निराशाकाकारण आत्महत्या गर्ने घातक कदम समेत उठाउन सक्छ।
मणिपुर चक्र जागृत भएको मानिसमा सदा उर्जाको प्रवाह सक्रिय भएर संचारित हुन्छ; यस्तो मानिस आत्मविश्वास, आँट, जोश, जाँगरले भरिएको हुन्छ; उसमा अदम्य हिम्मतको वृद्धि हुनगई मानिस साहसी र पुरुषार्थी बन्छ। उसको कार्य क्षमतामा वृद्धि हुन्छ; आँट, साहस, जोशको अनुभव गरिरहन्छ; आत्म विश्वासले भरिएको, आफ्नो जीवनको लक्ष्यवोध भएको तथा के गर्ने, कहिले गर्ने, कसरी गर्नेबारे स्पष्टता भएको, नेतृत्व लिन सक्ने क्षमताले भरिएको र सबै किसिमले सक्षम हुन्छ। यो चक्र दुर्वल तथा निश्क्रिय अवस्थामा छ भने मानिसमा आत्मविश्वासको कमी हुन्छ; बोल्न तथा काम गर्न साहस नगर्ने तथा डरलाग्ने हुन्छ; कुनैपनि नयाँ कामका जोखिम लिन सक्दैन; आफैंप्रति कम विश्वास गर्न थाल्छ; जीवनमा के गर्ने भन्ने लक्ष्यमा स्पष्टता नभएको हुन्छ; हिनतावोधले भरिएको हुन्छ र पेटसंग सम्वन्धित रोगहरुबाट ग्रसित हुन्छ।
अनाहद चक्र जागृत भएको मानिस सदा प्रेमका विभिन्न आयामहरु- स्नेह, मायाँ, मैत्री, श्रद्धा,
दया, करुणा, सेवा, उपकार भावले ओतप्रोत हुन्छ र उसमा अरुलाई सहयोग गर्ने, सम्मान गर्ने
र सहकार्य गर्ने क्षमताको विकास हुन्छ। सबैसंग उसको सन्वन्ध सुमधूर हुन्छ; सबैसंग मिलेर
काम गर्नसक्ने सहनशील प्रकृतिको हुन्छ; सबैलाई एकसाथ लिएर अघि बढ्नसक्ने र नेतृत्व लिन सक्ने क्षमताले भरिएको हुन्छ।
यो चक्र दुर्वल तथा निश्क्रिय अवस्थामा छ भने मानिसको सबैसंग सम्वन्ध विग्रिन्छ; बिनाकारण
अरुको अपमान गर्छ; प्रेमको अभावकाकारण झगडालु प्रकृतिको हुन्छ; अप्रिय वचन बोलेर अरुलाई
चोट पुर्याउँछ; सहकार्य गरेर अगाडि बढ्ने क्षमता हुदैन; सबैलाई शंकाको नजरले हेर्छ;
हरहमेसा क्रोध, लोभ, इष्र्या, घृणाले भरिएको हुन्छ; विभिन्न प्रकारका मानसिक रोगहरुको
शिकार हुन्छ; उसको जीवन लगभग नर्कतुल्य नै हुन्छ र छातिसंग सम्वन्धित रोगहरुबाट ग्रसित
हुन्छ।
विशुद्धी चक्र जागृत भएको मानिसको स्मरण शक्तिमा बृद्धि हुन्छ; नयाँ-नयाँ कुराहरु सिक्न खोज्ने तत्परता
हुन्छ; सोचमा सकारात्मकता हुन्छ; बोलीमा स्पष्टता र माधूर्यता हुन्छ; अरुलाई आफ्नो
कुरा बुझाउन सक्ने क्षमता हुन्छ; सिर्जनशीलता र प्रज्ञामा बढोत्तरी हुन्छ र जीवनमा
आफूले चाहेको र आँटेको काम गरेर सफल भइ समाजमै उदाहरणीय अगुवा व्यक्ति बन्न सक्षम हुन्छ।
मानवीयता तथा सर्वकल्याणकालागि चिन्तन् गर्न थाल्दछ। यो चक्र दुर्वल तथा निश्क्रिय
अवस्थामा छ भने मानिस अति नकारात्मक विचारले भरिएको; विर्सेने बानी भएको; कठोर बोली
बोल्ने; पढ्न तथा नयाँ कुराहरु जान्न रुची नराख्ने पकृतिको हुन्छ र गला तथा गर्दनमा
लाग्ने रोगहरुबाट ग्रसित हुन्छ।
आज्ञा चक्र जागृत भएको मानिसको बोली र व्यवहारमा एकरुपता हुन्छ; संकल्प र निर्णय शक्तिको विकास हुन्छ; जीवनको लक्ष्यमा स्पष्टता आउँछ; चाहेको र आँटेको सबै आकांक्षाहरु
पूरा गरि सफल व्यक्ति र असल नागरिक बन्दछ। यस्तो व्यक्तिले जे बोल्छ त्यही गर्छ अर्थात
बोलीको पक्का हुन्छ; निर्णय क्षमता राम्रो र प्रभावकारी हुन्छ र थालेको काम पूरा गरेरै
छाड्छ। यो चक्र दुर्वल तथा निश्क्रिय अवस्थामा छ भने मानिसमा निर्णय लिनसक्ने
क्षमता कम हुन्छ; संकल्पहिन हुन्छ; सोच स्पष्ट हुदैन; बोलेको कुरा पूरा गर्दैन; थालेको
काम अधुरै छोड्ने बानी हुन्छ; बेकारको जीवन जीरहेको हुन्छ र शिर तथा मनमा लाग्ने रोगहरुबाट
ग्रसित हुन्छ।
सहश्रार चक्र जागृत भएको मानिसको प्रज्ञा तथा विवेक जागृत भएको प्रज्ञावान तथा विवेकशील हुन्छ; उसले
ठिक र बेठिकको राम्रो पहिचान गर्नसक्छ; उसमा परमशान्ति र परमआनन्दको अभ्उदय हुन्छ;
आध्यात्मिक हुन्छ र परमात्मा प्राप्तिको मार्गतर्फ उन्मुख हुन्छ। यो चक्र दुर्वल
तथा निश्क्रिय अवस्थामा छ भने मानिस शान्त र आनन्दित रहन सक्दैन; नास्तिक पकृतिको हुन्छ;
कस्ता कर्म गर्ने र कस्ता कर्म नगर्ने भन्ने ठिक र बेठिक छुट्याउन सक्दैन।
समग्रमा
भन्नु पर्दा, एक हप्तासम्म निरन्तर लामो समय सदगुरुहरुको प्रत्यक्ष सानिध्यमा रहेर यसरी
आफूभित्र सुक्ष्म रुपमा रहेका उर्जाका प्रमुख केन्द्र चक्रहरुको जागरण गरि पूर्णताले
भरिएको जीवन भएका आध्यात्मिक मानिसहरु नै युग सान्दर्भिक नवयुग निर्माणका प्रखर सम्वाहक
बन्न सक्छन्।
नवयुग निर्माणको प्रमुख आधारस्तम्भ
अध्यात्म जागरण
जीवन
विज्ञान प्रतिष्ठान जस्ता सनातन अध्यात्म दर्शनको मूल्य-मान्यताहरुलाई आत्मसाथ गरि
आफूलाई सनातन अध्यात्म साधना गराउने साधनाकेन्द्र तथा गुरुकुलका रुपमा विकास गरेका
संस्थाहरुमा सदगुरुहरुको प्रत्यक्ष सानिध्यमा रहेर गरिने अध्यात्म साधनाको माध्यमबाट
मानिसभित्र सुक्ष्म रुपमा रहेका उर्जाका प्रमुख केन्द्र चक्रहरुको जागरण गरि मानिसलाई
आध्यात्मिक जीवन जीउने दिशा प्रदान गरिन्छ। यस्ता आध्यात्मिक मानिसहरु नै समाजमा नवयुग
निर्माण गर्ने सम्वाहक बन्न सक्छन्। वर्तमान समयमा असन्तुलित आधूनिक भौतिक विकासकाकारण
जड् तथा भावना बिहिन बन्दै गैरहेको मानव समाजलाई माथि उठाउन र समाजमा आएका विकृतिहरुलाई
न्यूनीकरण गरि व्यक्ति, परिवार, समाज, राज्य, विश्व, मानवीयता, समग्र प्रकृति तथा
जगतमा सनातन संस्कार तथा संस्कृति पुनरस्थापित गर्न फेरीपनि आजको समाजमा युग सुहाउँदो
नवयुग निर्माण गर्नसक्ने सर्वकल्याण भाव राख्ने ससक्त तथा नवीनताले भरिएको आध्यात्मिक
वैचारीक आन्दोलनको आवश्यकता टडकारो रुपमा देखिएको छ। वर्तमान समयमा समाजमा व्याप्त
यो असमजस्यता कम गरी भौतिक विकासको साथसाथ पराभौतिक अर्थात आध्यात्मिक तथा धार्मिक
विषयहरुमा जोडदिइ मानिसभित्र रहेका उसका स्वतः स्वस्थ रहन सक्ने; खुशी रहन सक्ने; आत्मविश्वासले
भरिन सक्ने; सबैसंग सुमधूर, प्रेमपूर्ण तथा मैत्रीपूर्ण सम्वन्ध बनाउन सक्ने; सिर्जनशील
बन्न सक्ने; दृढ निश्चयि बन्न तथा शान्त र आनन्दित रहन सक्ने आन्तरीक क्षमताहरु जगाई
उसलाई पूर्ण मानव बनाउन मद्धत गर्नु अपरिहार्य भएकोछ। यो कार्य भौतिक विकासका उपब्धिहरुले
मात्र गर्न नसक्ने तथा नसकेको सत्यता यस विषयमा गरिएका विभिन्न खोज तथा अनुसन्धान गरिएका
धेरै प्रामाणिक तथ्यांकहरुले उजागर गरिरहेका हामी सबैले प्रत्यक्ष रुपमा देखिरहेका
छौं र यो पनि बुझ्दै गैरहेका छौं कि अवको नवयुग निर्माणको नेतृत्व आध्यात्मिक जागरणले
मात्र गर्नसक्छ र अध्यात्मले युग सान्दर्भिक नवयुग निर्माणको नेतृत्व लिनुपर्छ। तर
यति भन्दाभन्दै यो पनि सत्य हो कि भौतिक विकासका उपलव्धिहरुले मानिसमा आध्यात्मिक तथा
धार्मिक जागरण ल्याउने कार्यहरुमा पूर्ण सहजता र तिब्रता प्रदान गर्न सक्छन् र गरिरहेका
छन् तसर्थ सन्तुलित पराभौतिक विकासकालागि भौतिक विकासका सबै उपयोगी र प्रभावकारी हुने
उपलब्धिहरुलाई आत्मसाथ गर्दै अगाडि बढ्नु आजको युगको अपरिहार्य आवश्यकता हो किनकी आजको
विज्ञान, प्रविधि र सूचनाको अत्याधुनिक युगमा यी उपलव्धिहरुको सहयोग, साथ तथा तिनीहरुसंग
सहकार्यता नगरी एक्लै अगाडि बढ्न असम्भव प्राय नै छ।
आधूनिक
भौतिक विज्ञानको विकासले गरेको मानिसको वाहिरी क्षमताको विकासको साथसाथ उनीहरुको आन्तरीक
क्षमताको विकास गर्नकालागि सनातन अध्यात्म दर्शनका धरोहर हाम्रा पुर्खा तथा प्राचीन
वैज्ञानिक ऋषिमूनिहरुद्वारा प्राचीनकालदेखि अहिलेसम्म गरिएका विभिन्न व्यवहारिक र प्रयोगात्मक
खोजहरुमा आधारित योग-ध्यानका विधिहरु प्रभावकारी मानिएका छन्। सन् २०० बि.सि.मा संग्रहीत
गरिएको राजयोगको अत्यन्त उपयोगी तथा प्रभावकारी ग्रन्थ पतंजलि योग दर्शनमा योगका आठ
अंगहरु- यम(आफूले संसारप्रति गर्नुपर्ने व्यवहार), नियम(आफूले आफैंप्रति गर्नुपर्ने
व्यहार), आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि उल्लेख गरिएका छन्। आठ अंगहरुमध्य
व्यवहारिक र प्रयोगमा आधारित मुख्य तीन विधिहरु- योगासन, प्राणायाम र ध्यान अत्यन्त
प्रभावकारी रहेका विश्वव्यापि प्रामाणिक तथ्यांकहरु हाम्रासामु जगजायर छन्। योगासन,
प्राणायाम र ध्यान साधनाका विधिहरु अध्यात्म साधनाका सहभागिहरुलाई प्रत्यक्ष रुपमा
व्यवहारिक तथा प्रयोगात्मक किसिमले अभ्यास गराएर उनीहरुमा अन्तरनिहित दिव्य उर्जा जागृत
गरि उनीहरुमा स्वजागरण ल्याएर उनीहरुको आन्तरीक विकास गर्न सकिन्छ र उचित अवसरको अभावमा
उनीहरुभित्र दवेर रहेका जन्म-जन्मका क्षमता, प्रतिभा तथा सकारात्मक गुणहरु प्रष्फुटन
गराउन सकिन्छ। यसरी स्वजागृत मानिस नै पूर्ण मानव बन्दछ, उ जीवनमा सुखी हुनुको साथसाथ
खुशी, शान्त र समृद्धिले भरिन सक्दछ। सुखी, खुशी, शान्त र समृद्ध व्यक्तिनै नवीन विचार
प्रस्तुत गर्दै नवयुग निर्माणको ससक्त वाहक र मानवीयताको सर्वोत्कृष्ट चिन्तक बन्न
सक्दछ। तसर्थ अवको युगमा केवल अध्यात्म जागरण र यसले व्यक्ति-व्यक्तिमा ल्याउने स्वजागरणको
माध्यमबाट मात्र समय सान्दर्भिक नवयुग निर्माण गर्न सम्भव छ।
अध्यात्म जागरणले ल्याउने स्वस्फूर्त
स्वजागरण
अधि+आत्म
= अध्यात्म। ‘अधि’ अर्थात सर्वोपरि, आत्मा
अर्थात ‘परमात्मा’ अर्थात ‘परब्रह्म’ लाई जान्नु तथा साक्षतकार गर्न सक्षम हुनु सहि
अर्थमा मानिसमा आएको अध्यात्म जागरण हो। अध्यात्म जागरणले मानिसको जीवनमा स्वतः स्वजागरणको
पदार्पण हुन्छ। स्वजागरण आउनु भनेको मानिसले
आफूभित्र अन्तरयात्रा गरेर आफूलाई चिन्नु, आफ्नो असलि स्वरुप सत्यस्वरुप परमात्माको
अंशको रुपमा आफ्नो आत्माको ज्ञान हुनु तथा आत्माको वोध हुनु हो। आफ्नो आत्माको ज्ञान
हुनु तथा आत्माको वोध हुनु अध्यात्म जागरणको पहिलो खुड्किलो हो। सबैले बुझ्नेगरि सरल भाषामा भन्नुपर्दा आध्यात्मिक
दृष्टिकोणले समग्रमा मानव जीवनका प्रमुख दुइ आयामहरु छन्- १.भौतिक शरीर अर्थात ‘प्रकृति’
र २.सुक्ष्म शरीर अर्थात ‘पुरुष’। पुरुषलाई आत्मा तथा चेतना पनि भनिन्छ। मानिसको जीवन प्रकृति र पुरुषको सम्योग हो। आत्मा र परमात्मा
एकै हो सिर्फ आकार तथा फैलावट मात्र फरक हो, उदाहरणकालागि समुद्र परमात्मा हो भने समुद्रको
पानीको थोपा आत्मा हो अर्थात परमात्मा समष्टि हो र आत्मा समष्टिको व्यष्टि स्वरुप हो।
सनातन अध्यात्म दर्शनका अनुसार आत्माले लामो कालचक्रसम्म अनेक योनीहरुमा धेरैवटा जन्महरु
लिएपछि अन्तिम योनीको रुपमा मानिस भएर जन्म लिन्छ। मानिस भएर जन्मनुको पहिलो र महत्वपूर्ण
उदेश्य उसको जीवनमा आइपर्ने दुःखहरुको निवृत्ति र परमानन्द प्राप्ति गर्नु हो। आफ्नो
वास्तविक स्वरुप आत्मा र परमात्माको ज्ञान हुनु र आफू आत्मा तथा पुरुषस्वरुपमा स्थित
भइ अन्तत्वगत्वा परमात्मामा योगस्थ हुनु परमानन्द प्राप्ति हो। आत्मा सर्वव्यापि, सर्वशक्तिमान
परमात्माको एक अति सुक्ष्म अंश हो। मानव शरीर आत्माकै फैलावट तथा आत्माको छायाँ हो
जो आत्माको निराकार, निर्गुण, निरञ्जन आभामण्डल भित्र स्थित रहेको हुन्छ। शरीर केवल
यन्त्र मात्र हो, शरीरका सबै क्रियाकलापहरु- बोल्ने, सोच्ने, देख्ने, सुन्ने, हिंड्ने,
अनुभव गर्ने आदि आत्माद्वारानै संचालित गरिएका हुन्छन्। निराकार, निर्गुण, निरञ्जन
अव्यक्त आत्माले आफूलाई व्यक्त गर्नकालागि स्थुल तथा सुक्ष्म शरीररुप धारण गरेको हो।
शरीर पकृति हो जो पंचतत्व- जल, पृथ्वी, आकाश, वायु, अग्निबाट निर्मित भएको हुन्छ। जव
मानिसको शरीरको आयु सकिन्छ तव प्रकृतिबाट प्राप्त भएको उसको शरीर प्रकृतिमै मिल्छ र
उसको सुक्ष्म शरीर, आत्मा तथा पुरुष आत्मालोकमा फर्कन्छ र मानिसले स्थुल शरीरमा छँदा
गरेका कर्म तथा संस्कारको संग्रह अनुसार नयाँ परिवार, समाज, समुदाय, राष्ट्र आदिमा
आत्माले पुनः अर्को अर्थात नयाँ शरीर धारण गर्दछ र मानिस भएर पुनः यस धर्तीमा आमाको
गर्भबाट जन्म लिन्छ। धर्ती अथवा पृथ्वी मानिसले शुकर्म गरेर आफूलाई आफ्नो समष्टिस्वरुप
परमात्मामा स्थित हुन आवश्यक पर्ने अध्यात्म साधना गर्न सुविधा प्रदान गरिएको प्रयोगशाला
अर्थात ल्याब्रोटरी हो र मानिसको शरीर स्वयं यस प्रयोगशालामा प्रयोग गरिने विषय तथा
वस्तु हो। यसरी अध्यात्म साधनाको माध्यमबाट मानिसले आफूलाई प्रयोगशालामा प्रयोग गरि
आफूलाई अझ बढि निखारेर तथा तिखारेर आत्मादेखि परमात्मासम्मको दिव्ययात्रा तय गर्न सक्दछ
र आफूलाई आफ्नो समष्टिस्वरुप परमात्मामा पुरनस्थापित भइ जन्म-मृत्युको दु:खदायि चक्रबाट
मुक्त भएर सदाकालागि मोक्ष प्राप्त गर्दछ र उ स्वजागृत हुन्छ। यसरी मोक्ष प्राप्त तथा परमात्मामा स्थित
स्वतःस्फुर्त स्वजागृत आध्यात्मिक व्यक्ति नै युग सान्दर्भिक नवयुग निर्माण कार्यकालागि सबैभन्दा उपयुक्त
माध्यम बन्न सक्छ।
नवयुग निर्माणमा यूवाहरुको भूमिका
नवयुग
निर्माणकालागि हरेक मानिसले नवीन तथा सिर्जनशील लक्ष्य, विचार, सोच, व्यवहार, आचरण
र क्रियाहरु गर्नु पर्दछ। यही प्रयास आधुनिक वैज्ञानिक आध्यात्मिक संस्था जीवन विज्ञान
प्रतिष्ठानका सद्गुरुद्वय र कल्याण मित्रहरुले अहोरात्र खटेर गर्दै आइरहेका छन्। जीवन
विज्ञानका सबै कार्यक्रमहरु मानिसमा अध्यात्म जागरण तथा स्वजागरण र नवीन सोच उजागर
गर्ने तथा गराउने उदेश्यतिर उन्मुख छन्। नवयुग निर्माण गर्ने क्रममा समग्र प्रकृति
तथा मानवीयता नै लाभान्वित हुनेगरि पुराना पुस्तालाई वहाँहरुको अहिलेसम्मको अनुभव तथा
प्रज्ञा र अमूल्य योगदानलाई श्रद्धा र धन्यवाद व्यक्त गर्दै नयाँ पुस्ता- बालबालिका,
किशोर र यूवाहरुको आध्यात्मिक विकासमा बढि जोड दिनु आवश्यक हुन्छ। पुरानो पुस्ताको
तुलनामा नयाँ पुस्तामा योगदान गर्नसक्ने समय, बल, जोश, जाँगर साहस, क्षमता, सिर्जनशीलता,
तत्परता आदि ज्यादा हुने भएकोले आँटेको कुनैपनि काममा सहजै सोचेजस्तो परिणाम तथा सफलता
हासिल गर्न सकिन्छ। यो अर्थमा नेपाल भाग्मानी मुलुक हो, पछिल्लो जनगणना सन् २०२१ को तथ्यांक
अनुसार नेपालको कुल जनसंख्यामा औसतमा ४० प्रतिशत किशोर तथा यूवा पुस्ताको वाहुल्य रहेकोछ।
तर संगसंगै हामी चरम दुर्भाग्य पनि भोगिरहेका छौं, आफ्नो राष्ट्रमा सम्भावना नदेखेर
अत्यधिक निराशाकाकारण यूवा तथा प्रतिभा पलायनको अत्यन्त दुःखदायि अवस्थाको सामना गरिरहेका
छौं। त्यसैले अव आध्यात्मिक जगारणको माध्यमबाट यूवाहरुमा आशा जगाउने, आफ्नै समाज तथा
मूलुकमा विकासको सम्भावना देख्न र खोज्न सक्ने तथा भविश्य देख्न र खोज्न सक्ने बनाउनु र उनीहरुमा आत्मविश्वास
जगाउनु अपरिहार्य भएको छ र यो महत्वपूर्ण काममा युगको माग तथा आवश्यकता अनुसार समयसान्दर्भिक
अध्यात्म साधनाका पाठ्यक्रमहरु निर्माण गरेर र यूवाहरुलाई ती विषयहरु सिकाएर उनीहरुको
हौसला बढाउन, उनीहरुलाई प्रोत्साहन तथा उत्प्रेरण प्रदान गरेर जीवन विज्ञान प्रतिष्ठानले
यूवाहरुको क्षमता विकास तथा व्यक्तित्व विकासमा निरन्तर योगदान दिदै आइरहेको छ।
मानिस भएर जन्मनुको प्रमुख उदेश्य जीवनमा आइपर्ने विभिन्न दुःख-कष्टहरुको निवृत्ति गर्न आफूभित्र सुसुप्त अवस्थामा रहेका आफ्ना जन्म-जन्मका प्रतिभा, क्षमता तथा सकारात्मक गुणहरुको खोज र प्रष्फूटन गर्न प्रयत्न गर्नु नै सही अर्थमा अध्यात्म साधना हो जो सबै मानिसकालागि अपरिहार्य छ। तर समयक्रमसंग विविध कारणले सनातन अध्यात्म तथा धर्ममा आएका विचलन, कुसंकार, अन्धविश्वासहरुको नकारात्मक प्रभाव अध्यात्म विज्ञानका साधना पद्धतिहरुमाथि पर्दै गयो र धर्मसंगसंगै अध्यात्मको परिभाषा पनि विकृत हुदैगयो। अध्यात्म र धर्मलाई एकै किसिमले परिभाषित गर्न थालियो परिणामस्वरुप अध्यात्मलाई पनि धर्मलाई जस्तै पूजा-पाठ, ब्रत-तिर्थ, कर्म-काण्डको घेराभित्र सिमित गर्दै लगियो। वास्तवमा यी सबै गतिविधिहरु समयक्रमसंग विकास हुदै गएका एक निश्चित भूगोलमा रहने निश्चित समुदायले गर्ने संस्कार, संस्कृति तथा रीतिथीतिहरु हुन्, धर्म र अध्यात्मसंग यी र यस्ता गतिविधिहरुको कुनै सम्वन्ध छैन। धर्म भनेको हरेक मानिसले आ-आफ्नो प्राकृतिक तथा नैसर्गिक उत्तरदायित्व निर्वाह गर्नु हो। अध्यात्म भनेको आफैंभित्र गरिने अन्तरयात्राको माध्यमबाट जीवनका वहिर र आन्तरीक जगतमा हरप्रकारले सक्षमता हासिल गरि सफल भएर आत्मज्ञान र परमात्मा प्राप्ति गर्नु हो। धर्म र अध्यात्मको विक्रित परिभाषा र गलत बुझाइकाकारण वर्तमान समयमा खासगरि यूवा पुस्ता धर्म र अध्यात्मबाट टाढा हुदैगयो र यसको परिणाम आज समग्र प्रकृति, मानवीयता र जगतले नै भोगिरहेको छ। यूवाहरुले अध्यात्मलाई निष्क्रिय बस्ने बुढापाकाहरुकोलागि हो; अध्यात्म साधना बुढेसकालमा गर्ने अनुत्पादक काम हो; यो भाग्यवादमा आधारीत अन्धविश्वासहरुलाई अनुशरण गर्दै अगाडि बढिरहेको समयअनुरसार असान्दर्भिक विद्या हो भन्ने किसिमले बुझ्दै आएकोछ। यूवा अवस्थामा त काम गरेर जीवनमा प्रगति हासिल गर्ने, खानपिन, मनोरञ्जन गर्ने हो भन्ने भाव तथा मान्यता राख्दछन्।
यूवाहरुले
आफ्नोलागि बुझेको जीवनको उदेश्य र उत्तरदायित्व सतप्रतिशत सहि हो र अध्यात्मले यूवाहरुको
यही भावमा थप वल प्रदान गर्दछ भन्ने अझ यो भन्दा माथिल्लो स्तरको सत्य हो। तसर्थ सर्वप्रथम
यूवाहरुलाई अध्यात्म निस्क्रिय बस्ने; उमेर पुगेकाले मात्र गर्ने; धर्म-कर्म, पूजा-पाठ,
तिर्थ-ब्रत, कर्म-काण्ड होइन यो सबैले जीवनमा जान्नै पर्ने सबैकालागि अति उपयोगी वैज्ञानिक,
व्यवहारिक र प्रयोगात्मक ज्ञान तथा साधना पद्धति हो जसले यूवाहरुभित्र उचित अवसरको
अभावमा दवेर रहेका उनीहरुका प्रतिभा, क्षमता तथा सकारात्मक गुणहरुको प्रष्फुटन गर्न
मद्धत गर्दछ भनेर बुझाउनु आवश्यक छ किनकी युग सान्दर्भिक नवयुग निर्माणमा मूलतः युवाहरुको
भूमिका महत्वपूर्ण रहन्छ। तसर्थ युवाहरुको जोश, जागर, शक्ति, साहस, तत्परता, आधूनिक
ज्ञान, नवीनतम सोच, सिर्जनशील प्रतिभा तथा सिर्जनशील विचारलाई अध्यात्म साधनाको माध्यमबाट
सही दिशा प्रदान गरेर उनीहरुका यी गुणहरुलाई समय सान्दर्भिक तथा युग सुहाउँदो किसिमले
अझ तिखारेर समाज तथा राष्ट्र रुपान्तरणमा लगाउनु आजको अपरिहार्य आवश्यकता हो। यसकालागि
युवाहरुमा अध्यात्म साधनाको माध्यमबाट स्वजागरण ल्याउनु आवश्यक छ। आफूमा स्वजागरण ल्याउन
युवाहरुले सनातन अध्यात्म विज्ञानले सुझाएका विषयहरुको अध्ययन र त्यसको व्यवहारीक प्रयोग
तथा प्रयोगात्मक अभ्यासका विधि तथा मार्गहरुको इमान्दारीपूर्वक अनुसरण गर्नुपर्दछ।
नवयुग निर्माणका अन्य आधारस्तम्भहरु
अध्यात्म
विज्ञान सबै विज्ञानहरुको मूलश्रोत तथा जननी हो। हाल विश्वमा प्राज्ञिक क्षेत्रमा प्रचलित
सबै विद्या तथा विज्ञानहरु अध्यात्म विज्ञानकै शाखाहरु हुन्। यूवाहरुमा नवयूग निर्माणकालागि
समय सान्दर्भिक विचारको संचार बढाउन अध्यात्म जागरण संगसंगै खासगरि निम्न चार स्तम्भ
र यससंग सम्वन्धित विषयहरुमा स्वजागरण गराउनु आवश्यक र प्रभावकारी हुन्छ- १.धार्मिक
जागरण; २.सामाजिक तथा सांस्कृतिक जागरण; ३.शैक्षिक जागरण; ४.समृद्धि जागरण। यूवाहरुमा
अध्यात्म जागरण आएपछि उल्लेखित सबै क्षेत्रहरुमा पनि विस्तारै यूवाहरुको जागरण स्वतः बढ्दै
जान्छ किनकी सबै विषयप्रति आउने जागरणको
मूलआधार तथा मूलश्रोत अध्यात्म जागरण नै हो।
धार्मिक जागरण- सबैले आ-आफ्नो उत्तरदायित्व तथा कर्तव्य निर्वाह
गर्नु धर्मको वास्तविक परिभाषा हो। पूजा-पाठ, तिर्थ-ब्रत, कर्म-काण्ड गर्नु धार्मिक
हुनु होइन। सबै मानिस उत्तरदायि हुनु, कर्तव्यपरायण हुनु धार्मिक हुनु हो। धार्मिक
व्यक्ति स्वतः नैतिकवान, सामाजिक, सांस्कृतिक, संस्कारी र मानवीय तथा सबैको कल्याण
हुने सर्वकल्याण सेवामा समर्पित परोपकारी भावना भएको हुन्छ। धार्मिक रुपले आध्यात्मिक स्वजागृत यूवा नै समय सान्दर्भिक नवयुग निर्माण
गर्ने सक्षम वाहक बन्न सक्छन्।
सामाजिक तथा सांस्कृतिक जागरण- संस्कार तथा संस्कृतिका गतिविधिहरु समयक्रमसंग विकास हुदै गएका एक निश्चित भूगोलमा रहने निश्चित समुदायले मान्ने तथा अनुशरण गर्ने संस्कार तथा संस्कृतिहरु हुन्। चाडपर्व, चलन तथा रीतिथीतिहरु सामाजिक तथा सांस्कृतिक गतिविधिहरु हुन्। यस्ता संस्कार तथा संस्कृतिहरुले मानिसलाई सामाजिक, सुसंस्कृतिक तथा संस्कारी बन्न सहयोग गर्दछन्। सामाजिक तथा सांस्कृतिक रुपले आध्यात्मिक स्वजागृत यूवाहरुले नै समय सान्दर्भिक नवयुग निर्माण गर्ने नेतृत्व लिन सक्छन्।
शैक्षिक जागरण- शिक्षाले हामीलाई मानिसबाट मानव बनाउँछ। वहिर जगतबाट
प्राप्त गरिने शिक्षाले ज्ञानवान बनाउँछ र अन्तर जगतबाट प्राप्त हुने शिक्षाले प्रज्ञावान
तथा विवेकशील बनाउँछ। शैक्षिक रुपले आध्यात्मिक
स्वजागृत मानिसनै समय सान्दर्भिक नवयुग निर्माण कार्यमा असल सहयोगी बन्न सक्छ।
समृद्धि जागरण- अध्यात्म साधना गर्ने, धर्मको अनुशरण गर्ने, ज्ञानवान,
प्रज्ञावान तथा विवेकशील यूवाले जीवनमा समृद्धि हासिल गर्नसक्छ। पैशा, धन, सम्पत्ति
आदि द्रव्य वस्तुमात्र समृद्धि होइन, यो अधूरो समृद्धि हो। समृद्धिको वास्तविक परिभाषा
चिरकालसम्म अमरत्व प्राप्त हुने सर्वकल्याणका कर्महरु गरेर आफ्नो र अरुको जीवनमा सुख, खुशी, शान्ति,
आनन्द, श्रद्धा, नाम, मान-सम्मान हासिल गर्नु हो। जीवनमा समृद्धि हासिल गरेको आध्यात्मिक
स्वजागृत यूवा नै समय सान्दर्भिक नवयुग निर्माण गर्न सक्षम तथा उपयुक्त पात्र बन्न
सक्छ।
भौतिक विकास हुदै आध्यात्मिक विकास
र नवयुगको निर्माण अवको लक्ष्य
मानव सभ्यताको विकासक्रमलाई नियाल्दा भौतिक विकासकै कारण जंगलमा शिकार खेल्दै घुमन्ते जीवनयापन गर्ने, निरबस्त्र बस्ने, कुनै काम तथा कुराको लाज तथा गोप्यता नभएको प्राणी मानवले आज भवन निर्माण, यातायात, औषधी उपचार, विज्ञान, प्रविधि, सूचना, शिक्षा, कला-संस्कृति र मानव जीवनको हरेक क्षेत्र र अन्य क्षेत्रका धेरै विषयहरुमा उच्चतम विकास तथा सफलता हासिल गरेर मानव जीवनलाई अत्यन्तै सरल र सहज बनाएको छ। भौतिक क्षेत्रमा धेरै विकास भएकोछ तर यस किसिमको विकास पूर्ण तथा वास्तविक विकास नभएर आधा तथा आधा भन्दापनि अझ कम विकासको अवस्था मान्न सकिन्छ किनकी पूर्ण तथा वास्तविक विकासले मानिसलाई हरप्रकारले पूर्ण मानव बनाउँछ तर वर्तमानको भौतिक विकासले मानिसलाई पूर्ण मानव बनाउन सकेको छैन। वर्तमान समयमा मानिसहरु तनावग्रस्त छन्, आफूभित्र रहेको इश्वर तथा प्रकृति प्रदत्त मूलस्वाभावहरु प्रकट गर्न नसकेर हाँस्न तथा खुशी हुन बिर्सिसकेको छन्; शारीरिक तथा मानसिक बिमारीको बढ्दो प्रकोपले पुरै विश्व आक्रान्त भएको छ; मानिसमा कर्तव्यपरायणता, उत्तरदायित्व, दया, प्रेम, करुणा, श्रद्धा, संस्कार... आदि हराएकोकारण मानिसहरुमा चरम निराशा र आत्महत्याका प्रबृत्तिहरु बढ्दै गैरहेका छन्। यो सबै हुनुमा भौतिक विज्ञानको विकासलाई मात्र प्राथमिकता प्रदान गरेर पराभौतिक तथा आध्यात्मिक विज्ञान अर्थात मानिसको आन्तरीक चेतना तथा आत्मतत्वको विकासलाई बेवास्ता गरिनु हो। यस्तो अवस्थालाई जीवन विज्ञानका सनातन अध्यात्म दर्शनमा आधारित पाठ्यक्रमहरुले दिशा प्रदान गर्न सक्ने क्षत्मता राख्दछन्।
मानिसको भौतिक विकास वहिर जगत अर्थात प्रकृतितत्वको विकास हो, आध्यात्मिक विकास अन्तर जगत अर्थात आत्मा/चेतना/पुरुषतत्वको विकास हो। यी दुवै एकअर्काका सहयोगी हुन, कुनै एकबिना अर्कोको सरल विकास सम्भव छैन। मानव शरीर यन्त्र हो, आत्मा शरीरलाई चलाउनेवाला चालक हो, आत्माबिना शरीरले कुनै काम गर्न सक्दैन। यी एकअर्काका अपरिहार्य परिपूरक हुन, आत्मा निराकार छ, शरीर आकारमा छ, शरीरबिना आत्माले आफूलाई व्यक्त गर्न सक्दैन। शरीरले आफ्नो काम गर्नकालागि भौतिक जगतका सुख, सुविधा, विषय र वस्तुहरुको आवश्यकता पर्दछ। वर्तमान समयमा भौतिक संरचनाहरु, विज्ञान प्रविधि तथा सूचना प्रविधिमा भएको चमत्कारीक विकासका कारण हामी २१ औं शताव्दीका मानिस अत्यन्त भाग्यमानि ठहरिएका छौं। भौतिक संरचना र विज्ञान तथा सूचना प्रविधिमा आएको आमूल परिवर्तनकारी विकासका कारण हरेक काम गर्न सरल, सहज र छरितो भएको छ; धेरै काम एकैपटक छोटो समयमा गर्न सम्भव भएको छ। सूचना प्रविधिमा भएको उच्चतम उपलव्धिका कारण घरमै बसेर संसार भरिको सूचना लिन, दिन र त्यही अनुरुप काम गर्न सम्भव भएको छ। भौतिक विकासका यिनै सेवा र सूविधाहरुको उच्चतम उपयोग गरेर सम्पूर्ण मानवीयताको हितकालागि आध्यात्मिक विकासका कार्यहरुलाई पनि संगसंगै अगाडि बढाउनु आजको टडकारो आवश्यकता बनेको छ भन्ने मान्यतालाई नै आधूनिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानले विगत १३ वर्षदेखि जोड दिदै आएकोछ। यही मान्यतालाई मूर्तरुप प्रदान गर्न जीवन विज्ञानले एक हप्ताको अन्तरालमा लुम्बिनीमा विराट चक्र विज्ञान, विराट अध्यात्म जागरण र महत्वाकांक्षी लक्ष्यहरु समावेस गर्दै आध्यात्मिक लुक्बिनी संकल्प पत्र जारी गरेर युग सान्दर्भिक नवयुग निर्माणको शंखघोष गरेको छ।
नवयुग
निर्माण कार्यमा हाम्रो नवीन तथा सिर्जनशील लक्ष्य, विचार, सोच, व्यवहार र आचरण तथा
क्रियाहरुको सन्तुलित प्रयोगको महत्वपूर्ण भूमिका हुन्छ। सफलता, असफताको र परिणामको
परवाह नगरी नवयुग निर्माण कार्यमा निरन्तर अगाडि बढ्नु आजको आवश्यकता हो। कुनै पनि
क्षेत्रमा आमूल परिवर्तन ल्याउन हाम्रा उच्चतम आदर्श, सपना, लक्ष्य, योजना, सोच, विचारहरुलाई
कहीं, कतै, कसैलाई हानी नोक्सानी नहुने गरि सही ढंगले व्यवहारमा उतार्ने प्रयास गर्नु
पर्दछ। भनिन्छ असफलता नै सफलताको पाठ सिकाउने गुरु हो र प्रगतितिर उकाल्ने सिंढी हो।
समझदारीपूर्वक अगाडि बढेको अवस्थामा ढिलो-चाँढो अवश्य पनि आँटेको काममा सफलता हासिल
गर्न सकिन्छ। भौतिक विज्ञानको विकास मानिसकै नवीन तथा सिर्जनशील लक्ष्य, विचार, सोच,
व्यवहार र आचरण तथा क्रियाहरुको सन्तुलित सोपानबाट भएको हो। अव यही सिर्जनशिलता पराभैतिक
विज्ञानको विकास तथा आध्यात्मिक विकासमा लगाउनुपर्ने आवश्यकता हाम्रा सामु टडकारो रुपमा
देखिएको छ। bsirjana@gmail.com
No comments:
Post a Comment