'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Thursday, 20 June 2024

योग शव्दको अन्तर्य बुझौं: ‘योग’ योग र वियोग दुवै हो

       नवयुग निर्माणको आयाम: अध्यात्म जागरण तथा स्वजागरण!

       डा. सिर्जना भण्डारी

प्रमुख विषय: योग र अध्यात्म; योगको शाव्दिक अर्थ; क्रियात्मक गतिविधिको रुपमा 'योग'; अध्यात्म दर्शनको रुपमा 'योग'; आधूनिककालमा युग सान्दर्भिक परिभाषामा 'योग'; व्यवहारीक परिभाषामा 'योग'; योगीक परिभाषामा 'योग'; वियोगको अर्थमा ‘योग’


अध्यात्म विज्ञान र योग विज्ञान 

सनातन अध्यात्म दर्शनको मान्यता अनुसार, अध्यात्म विज्ञान विश्वमा आजसम्म सिर्जित भएका तथा गरिएका सबै प्रकारका ज्ञान, विज्ञान, सुत्र, सूचना तथा जानकारीहरुको मूल जननी तथा विज्ञानहरुको पनि विज्ञान महाविज्ञान हो । प्राचीन वैज्ञानिक तथा हाम्रा पुर्खा सनातनी ऋषिमुनिहरुले खोज गरेका अध्यात्म विज्ञानका पूर्णतः वैज्ञानिककतामा आधारीत विधि तथा पद्धतिहरु मानव जीवनमा सुख, शान्ति र समृद्धि ल्याउनकालागि वरदान सावित भएका छन् । योग विज्ञान अध्यात्म विज्ञानको अति महत्वपूर्ण अंग, शाखा तथा मूल विषय हो जो मानव जीवनको मूलआधार तथा मौलिक आवश्यकता हो । योग साधनाको विज्ञान हो, यसका वैज्ञानिक विधि तथा पद्धतिहरुले मनुष्यलाई सन्तुलित ढंगले जीवन जिउने कलाको विज्ञान सिकाउछन् । योग साधना विज्ञानले हामीमा पूर्णताले भरिएको जीवन जिउन आवश्यक पर्ने हामीभित्रै स्थित सुसुप्त अवस्थामा रहेका हाम्रा क्षमता, प्रतिभा, सिर्जनशीलता, सकारात्मक गुण तथा हामीभित्रै स्थित रहेका हाम्रा नैसर्गिक मूल सम्भावनाहरु- स्वस्थ, सुखी तथा खुशी रहन सक्ने सम्भावना तथा क्षमता; साहसले भरिएको; प्रेमपूर्णभावले भरिएको; सिर्जनशील; दृढ निश्चयी; शान्त तथा आनन्दित रहन सक्ने सम्भावना तथा क्षमता जागृत गर्न मद्धत गर्दछ । साथै हामीलाई हरेक किसिमले जीवनमा सफल हुन र आध्यात्मिक, धार्मिक, सामाजिक, संस्कारी, परोपकारी बन्न मद्धत गर्दछ । हाम्रो जीवनमा यी क्षमता, प्रतिभा,  सिर्जनशीलता, सकारात्मक गुण तथा हाम्रा नैसर्गिक मूल सम्भावनाहरु जगाउन हाम्रो दैनिक जीवनमा अपनाउनु पर्ने अध्यात्मको विज्ञानको मूल विधि योग साधना विज्ञान हो । सनातन षटदर्शन(सांख्य, न्याय, वैष्शेषिक, योग, पूर्व मीमांसा, उत्तर मीमांसा अर्थात वेदान्त) मध्य एक योग दर्शनको सबैभन्दा महत्वपूर्ण तथा प्रभावकारी ग्रन्थ पतंजलि योग सुत्रले मूलतः प्रयोग र प्रभावकारीताका आधारमा योगका आठ मध्य तीन प्रमुख अंगहरु- योगासन, प्राणायाम, ध्यानलाई ज्यादा मान्यता तथा प्राथमिकता प्रदान गरेको छ । योगका यी प्रमुख तीन अंगका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण गरेर मनुष्यले उसको शरीर तथा स्वास्थ्यका चारवटै आयामहरु- शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक शरीरमा महत्वपूर्ण उपलव्धिहरु हासिल गर्नसक्छ। हिजोआज आधूनिक चिकित्सा विज्ञान र आधूनिक मनोविज्ञानले समेत स्वास्थ्यको क्षेत्रमा योग साधना विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई मनुष्यको शारीरिक तथा मानसिक रोगको उपचारकालागि फिजियोथेरापि तथा साइकोथेरापिको रुपमा अभ्यास गर्दै आइरहेका छन् । 

 

योगको शाव्दिक अर्थ

योग साधना विज्ञान सनातन अध्यात्म दर्शनको अत्यन्तै महान दर्शन हो तसर्थ यसको आध्यात्मिक पाटो बृहत, फराकिलो र महत्वपूर्ण रहदै आएको छ । संस्कृत भाषाको ‘युज्’ धातुबाट बनेको ‘योग’ शव्दको सरल शाव्दिक अर्थ जोड्नु हुन्छ । संस्कृत व्याकरणका दशमध्य तीन गणमा तीन प्रकारका युज् धातु छन्, ती धातुका अनुसार योगको परिभाषा यसप्रकार गरिएको छ: पहिलो हो- दिवादीगणमा ‘युज् समाधौ’ जसको अर्थ योग समाधितर्फ लाने मार्ग हो । दोस्रो हो- रुधादीगणमा ‘युजीर योगे’ जसको अर्थ दुइ चिजलाई आपसमा मिलाउनु तथा जोड्नु योग हो । तेस्रो हो- चोरादीगणमा ‘युज् संयमने’ जसको अर्थ संयमपूर्वक साधना गर्नु योग हो । तर योग शव्दको परिभाषा यतिमा मात्र सिमित नभएर निकै फराकिलो अर्थमा प्रयोग गर्ने गरिन्छ किनकी सनातन अध्यात्म दर्शनमा योगलाई अत्यन्तै महत्वपूर्ण दर्शन शास्त्र(विज्ञान)को रुपमा लिइएको छ । महर्षि पतंजलिले संग्रहीत गर्नुभएको योग शास्त्र योग दर्शनमा अत्यन्तै लोकप्रिय र महत्वपूर्ण दर्शन शास्त्र हो  मुख्यरुपमा योगका सात प्रकारहरु रहेकाछन्- १.कर्म योग, २.तन्त्र योग, ३.हठ योग, ४.भक्ति योग, ५.ज्ञान योग, ६.ध्यान योग, ७.सांख्य योग । गहन रुपमा अध्यात्म साधना गर्नकालागि विषयको आवश्यकता अनुसार योगका प्रकार र तिनका साधनाका विविध विधि तथा पद्धतिहरु प्रयोगमा ल्याउने गरिन्छन् । सरल भाषामा योग विज्ञानलाई दुई किसिमबाट बुझ्न सकिन्छ- (१)सैद्धान्तिक तथा दर्शनका रुपमा 'योग', र (२)व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका रुपमा 'योग' । 


सैद्धान्तिक तथा दर्शनका रुपमा 'योग'

योगको शाव्दिक अर्थ कुनै दुई वस्तु तथा विषयलाई आपसमा जोड्नु हो र जोड्नु भन्ने अर्थ योगको संकिर्ण परिभाषा हो । सैद्धान्तिक रुपमा योग बृहत्तर विषय तथा दर्शन हो । योग अनेकार्थक शव्द भएकोले योग शव्दको अर्थ तथा परिभाषा अवस्था तथा परिस्थिति अनुसार धेरै किसिमले लगाउदै आइएको पाइन्छ । सनातन अध्यात्म दर्शनका प्राय सबै ग्रन्थहरुमा धेरथोर योगको चर्चा गरिएको पाइन्छ र सबैभन्दा बढि योगको चर्चा श्रीमद् भगवद् गीतामा गरिएको पाइन्छ । अध्यात्म दर्शनका भिन्न-भिन्न अंग तथा शाखाहरुले योगलाई आ-आफ्नै परिवेशमा परिभाषित गरेकाछन् । सांख्य दर्शनमा योगलाई ‘अथ योग अनुशासनम’ अर्थात योग अनुशासन हो भनेर परिभाषित गरिएकोछ । वेदान्त दर्शनको ब्रह्मसुत्रमा योगलाई ‘अथातो ब्रह्म जिज्ञासा’ अर्थात योग ब्रह्मको ज्ञान तथा दर्शनबारे जान्ने आकांक्षा हो भनेर परिभाषित गरिएकोछ । पूर्व-मीमांसा दर्शनमा योगलाई ‘अथातो धर्म जिज्ञासा’ अर्थात योग धर्मको ज्ञान तथा दर्शनबारे जान्ने आकांक्षा हो भनेर परिभाषित गरिएकोछ । पतंजलि योग दर्शनमा योगलाई ‘अथ योग अनुशासनम’ अर्थात योग अनुशासन हो अर्थात जीवनलाई नियमन तथा आफ्नो नियन्त्रणमा राख्नु हो भनेर परिभाषित गरिएकोछ ।

 

पतंजलि योगसुत्रका अनुसार 'योग'

महर्षि पतंजलिले योग शास्त्रमा कसरी आत्मानुशासित हुन सकिन्छ भन्ने सन्दर्भमा भन्नु भएको छ- "योगश्चित्तवृत्तिनिरोधः"(पतंजलि यो सुत्र अध्याय -१, सुत्र -२) । चित्तका वृत्तिहरुको निरोध, मनको समाप्ति अर्थात अमनी(मनको शुन्यता) अवस्था योग हो । चञ्चल चित्तका वृत्तिहरुको निरोध गरेर मात्र आत्मानुशासित बन्न सकिन्छ । मानिसको चित्त जहाँ-जहाँ दौडिन्छ त्यो चित्तको वृत्ति हो । यिनै चित्तका वृत्तिहरुलाई निरोध तथा निषेध गर्ने वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुलाई योग भनिन्छ । महर्षि पतंजलिका अनुसार मानिसको दौडिरहने मनको वृत्ति निरोध भयो भने मानिसको मन शान्त हुन्छ र उ आफ्नो वास्तविक स्वरुप आत्मा अर्थात पुरुषमा स्थित हुनसक्छ । मानिसको चित्त वृत्तिको कारणले उसको चारवटै शरीरका आयामहरुमा आएका सबै किसिमका रोग, समस्या तथा अन्य गडबडीहरुको उपचार र समाधान योगका मूल तीन विधि योगासन, प्राणायाम र ध्यान साधनाका विधि तथा पद्धतिहरुको सहि ढंगले निष्ठापूर्वक अनुशरण गरेर गर्न सकिन्छ । योगासन साधनाले विशेषगरि मानिसको शरीरका रोगहरुको निवारण गर्दछ साथसाथ केही हदसम्म मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक समस्याहरुको पनि समाधान गर्दछ । त्यस्तै प्राणायाम साधनाले विशेषगरि मानिसको मानसिक रोग तथा समस्याहरुको निवारण गर्दछ साथसाथ केही हदसम्म शारीरिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक समस्याहरुको पनि समाधान गर्दछ । ध्यान साधनाले विशेषगरि भावनात्मक र आत्मिक अर्थात चेतनात्मक समस्याहरुको निवारण गर्दछ साथसाथ केही हदसम्म शारीरिक र मानसिक समस्याहरुको पनि समाधान गर्दछ । समग्रमा भन्नुपर्दा, मानिसको शरीरका चारवटै आयामहरु- शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक समस्याहरुको निवारण गर्दछ किनकी मानिसका शरीरका चारैवटा आयामहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा एकआपसमा जोडिएका हुन्छन् तथा अन्तर-सम्बन्धित हुन्छन् र कुनै एक शरीरमा आएको सकारात्मक तथा नकारात्मक परिवर्तनको प्रभाव अर्को शरीरमा त्यही किसिमले ढिलो-चाँढो स्वतः पर्दछ । योगको महत्व र प्रभावकारीताका सन्दर्भमा हार्वड विश्वविद्यालयले सन् २०१५ मा गरेको एक खोजका अनुसार मानिसको रीरका चारवटै आयामहरुमा आइपर्ने यस्ता कुनै रोग, समस्या तथा असन्तुलनहरु छैनन् जुन योगासन, प्राणायाम र ध्यान साधनाका वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुले समाधान गर्न सक्दैनन् ।


 व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका रुपमा 'योग' 

मानव शरीरका चार प्रकारका आयामहरु रहेकाछन्- स्थुल शरीर, मानसिक शरीर, भावनात्मक शरीर र आत्मिक अर्थात चेतनात्मक शरीर र चार किसिमका स्वास्थ्य रहेकाछन्- शारीरिक स्वास्थ्य, मानसिमक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य। चारै किसिमका शरीर र तिनको स्वास्थ्य अवस्था पूर्णरुपमा सन्तुलनमा राख्न हजारौं वर्षदेखि योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधाररित विभिन्न विधि तथा पद्धतिहरुलाई प्रयोगात्मक क्रिया तथा अभ्यासको रुपमा शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्थाहरुमा सकारात्मक परिवर्तन हासिल गर्न व्यवहारिक  प्रयोगात्मक अभ्यासहरु गरिदै आइएको छ। योग विज्ञानको सैैद्धान्तिक र व्यवहारिक तथा प्रयोगात्मक अभ्यास आधूनिककालमा विविध कारणले अलि सुस्त भएको भएपनि  वर्तमान समयमा योग विज्ञानको शारीरिक, मानसिक तथा आध्यात्मिक (भावनात्मक, आत्मिक अर्थात चेतनात्मक) महत्व र प्रभावकारीता बुझेर हाल संसारभरि नै प्राथमिकतासाथ योगको सैैद्धान्तिक र व्यवहारिक तथा प्रयोगात्मक अभ्यास गर्ने तथा गराउने गरिएको छ । यस महान अभियानमा विश्वको छाता संगठन संयञक्त राष्ट्रसंघ स्वयंम नै तदारुपताकासाथ लागिपरेको छ र हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस र डिसेम्बर २१ लाई श्वि ध्यान दिवस घोषणा गरेको छ तर विडम्वना अझैपनि अधिकांश मानिसहरुमा योग साधनाबारे विस्तृत ज्ञानको अभावमा योग साधनालाई केवल स्थुल शरीर मर्काउने तथा तन्काउने क्रियाकलापको रुपमा मात्र बुझ्दै आएको पाइन्छ र योग साधनाबारे यो उनीहरुको अपूर्ण बुझाइ हो  आम मानिसहरुमा रहेको यो अज्ञानता हटाएर योग साधना समुच्चा दर्शन हो, सनातन अध्यात्मका महत्वपूर्ण विषयहरु योग दर्शनकै वरीपरि घुम्दछन् भन्नेबारे विस्तृत ज्ञान दिएर योग साधना विज्ञानको वास्तविकता र यसका अन्य पक्षहरुबारे बुझाउनु अत्यावश्यक भएको छ ।


आधूनिककालमा युग सान्दर्भिक परिभाषामा 'योग'

योगेश्वर भगवान श्रीकृष्णले श्रीमद् भगवद् गीतामा भन्नु भएको छ- “योग: कर्मसु कौशलम्” (श्रीमद्भगवत् गीता अध्याय- २, श्लोक- ५०) अर्थात कर्ममा कुशलता नै योग हो । आफूले अंगालेको कर्ममा लगाव हुनु तथा आफ्नो कर्मक्षेत्रलाई नै पूजा बनाउनु योग हो । यसको तात्पर्य, आफूले गरिरहेको कर्मप्रतिको निरन्तर साधना, एकाग्रता  तथा तपस्या नै योग हो  जीवनमा सफलता हासिल गरेका व्यक्तित्वहरुको इतिहासलाई पल्टाउदा यही थाहा लाग्छ कि आफ्नो कर्मप्रति निरन्तर एकाग्र र साधनारत मानिसले मात्र जीवनमा उत्कृष्टता हासिल गर्नसक्छ । तर आम बुझाइमा आफ्नो जीवनमा योग साधनालाई अनुशरण गर्नु भनेको जोगी, सन्यासी, वैरागी हुनु हो भन्ने किसिमले बुझ्ने गरिन्छ तर यो विलकुल गलत र योग साधनाबारेको अति शंकिर्ण बुझाई हो । समुच्चा अध्यात्म दर्शन तथा अध्यात्म विज्ञानको मूलसार बोकेको पूर्णतः प्रयोगात्मक विज्ञानमा आधारित महान सनातन शास्त्र श्रीमद् भगवद् गीता स्वयंले योगलाई कर्ममा कुशलता भर्ने विज्ञानको रुपमा मान्यता प्रदान गरेर यसको वैज्ञानिक परिभाषा दिएकोछ कि कुनै पनि कर्ममा पूर्णरुपेण पारंगत हुनु योग हो जुन आधूनिक मनोविज्ञानले दिएको प्रवाह(Flow) को परिभाषासंग मेल खान्छ। योग साधनाका वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुको अभ्यासले सामान्य मानिसलाई उसको जीवनमा केही गहिराइ दिन्छ र अलि मेहनेत गर्ने तथा गहिराइ भएको मानिसलाई उत्कृष्टतामा पुर्याउछ । योग तथा ध्यान साधनाको प्रभावकारिताको सन्दर्भका गरिएका विश्वव्यापि वैज्ञानिक अध्ययन तथा खोजका तथ्यांकहरुले उजागर गरेकाछन् कि सामान्य व्यक्तिले १५-१६ घण्टा लगाएर बल्ल-बल्ल सम्पन्न गर्ने काम आफ्नो कर्ममा कुशल व्यक्तिले ४-५ घण्टामा सहजै गर्न सक्दछ । अझ विशेष सीपको माग गर्ने क्षेत्रहरु जस्तो- प्रविधि, खेलकुद, गायन, नृत्य आदिमा त योग साधनाको अझ विशेष महत्व रहेको देखिएको छ । बिना योग अभ्यास कोही नारायण गोपाल बन्न सक्दैन, कोही लक्ष्मी प्रसाद देवकोटा बन्न सक्दैन, कोही पारश खड्का, कोही अनुराधा कोइराला बन्न सक्दैन । तसर्थ कर्ममा कुशलता, पूर्णता(Perfection) नै योगको वास्तविक परिभाषा हो । हामी कर्मको कुशलतामा योगस्थ कसरी हुन सक्छौं ? योग साधनाको आधूनिकतम, युग सान्दर्भिक तथा अधिकतम सुन्दर परिभाषा के हुन सक्छ र योग साधनालाई कसरी सबैकालागि व्यवहारिक हुनेगरि परिभाषित गर्न सकिन्छ ??


एउटा प्रसिद्ध भनाइ छ- यदि तिमीले नयाँ कुरा सिक्न छोड्यौ भने तिम्रो आधारभूत प्रगति समेत रोकिनेछ (If you stop learning new things, your basic growing also will be stopped) तर तिमीले जीवनमा नयाँ कुरा सिकिराख्यौ भने तिमीभित्र चुनौतीसंग लड्ने क्षमताको विकास भइरहन्छ । जीवनमा जति पनि चुनौतीहरु छन् पूर्ण क्षमताकासाथ तिनको समाधान गर्यौ भने तिमी आफ्नो कर्ममा कुशल बन्न सक्छौ । जीवनमा जति बढि सकारात्मक चुनौतीहरु (प्रगति गराउने प्रकारका समस्याहरु) आउछन् र कुशलतापूर्वक तिनको समाधान गरिन्छ जीवनमा त्यतिनै बराबरको प्रगति तथा उन्नती हुन्छ । हामी जति बढि आफूमा चुनौतीको सामना गर्नसक्ने तथा समाधान गर्नसक्ने क्षमताको विकास गर्छौं उति नै कर्ममा कुशलता तथा पूर्णता आउछ र कर्मको कुशलतामा योगस्थ हुनसक्छौं । आफ्नो कर्ममा कुशलता हासिल गरेको, मनका वृत्तिहरु शान्त तथा निरोध भएको भित्रैबाट सुखी, खुशी, शान्त, समृद्ध र आनन्दित तथा पूर्णरुपमा आफ्नो कर्म र जीवनसंग योगस्थ मानिस नै योगको उच्चतम विन्दु परमात्मा(सुप्रिम इन्टेलिजेन्स तथा सुपर कन्सस)संगको जोड(योग)सम्म पुग्न तथा परमात्मामा एकाकार हुन सक्षम हुन्छ र जीवनबाट मुक्ति तथा मोक्ष प्राप्त गर्दछ । योग साधनाको युग सान्दर्भिक आधुनिक परिभाषा गर्न तथा यसलाई नयाँ पुस्तामाझ अझ सहज किसिमले पुर्याउन यस विषयमा अझै धेरै काम गर्न बाँकी छ। वर्तमान समयमा प्राय नयाँ पुस्ताले योग साधनाका सबै आयामहरुलाई समग्र रुपमा राम्ररी नबुझि केवल शारीरिक व्यायामको रुपमा गर्ने योगासन तथा योगाभ्यास क्रियाको रुपमा मात्र बुझ्दै तथा लिदै आइरहेका छन् । शारीरिक व्यायामको रुपमा गर्ने योगासनले विशेषगरि मानिसको वाहिरी तथा शारीरिक क्षमताको विकास गर्दछ । मानिसको आन्तरीक क्षमताको विकास गर्नकालागि योग साधनाका पूर्णतः वैज्ञानिकतामा आधारित विधि योगासनको साथसाथ प्राणायाम ध्यान साधनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । आधूनिक भौतिक विज्ञानको विकासले मानिसको जीवनमा सोचेभन्दा पनि बढि सुख, सुविधा बढाएकोछ र वाहिरबाट आउने अधिकांश चुनौतीहरुसंग लड्नसक्ने तथा ती चुनौतीहरुको सहज समाधान गर्नसक्ने वाहिरी क्षमता प्रदान गरेकोछ र यसैका आधारमा विश्वको छाता संगठन संयुक्त राष्ट्रसंघले मानिसको सक्षमता मापन गर्न मानव विकास सूचकांक निर्धारण गरेकोछ र हरेक वर्ष त्यसको नतिजा प्रकाशित गर्ने गर्दछ । 


मानिसको मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक प्रगति तथा आन्तरिक क्षमताको विकासबिना केवल शारीरिक क्षमता र बुद्धिको क्षमतालाई मात्र बढि प्राथमिकता प्रदान गरिएको मानव विकास सूचकांकका आधारमा मानिस जतिनै विकसित तथा क्षमतावान भएको देखिएता पनि यस किसिमको क्षमताले मानिसको भित्रबाट आएका चुनौतीहरुसंग लड्नसक्ने तथा ती चुनौतीहरुको सहज समाधान गर्नसक्ने आन्तरीक क्षमता बढाउन र त्यसको मापन गर्न सक्दैन र मानिस जीवनको एउटा विन्दुमा पुगेर जीवनबाट थकित हुन्छ । थकानका कारण उसको जीवनमा अनेक किसिमका शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक समस्याहरु आइपर्छन र अन्तत्वगत्वा उ जीवनबाट हारखान्छ र यसको ज्वलन्त परिणाम तनाव, चिन्ता, विषाद, अवषाद, विक्षिप्तता, हिंसा, हत्या, आत्महत्या हामी विश्वव्यापि रुपमा देखिरहेकै छौं । आजको विश्व समाजले मूलतः यही समस्या झेलिरहेकोछ र यस्तो समस्या जतिनै प्रयास गरिएपनि घट्नुको साटो दिनदिनै बढेर गैरहेको छ । योग साधनाका मूल तीन अंगहरु योगासन, प्राणायाम र ध्यान साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको सहि ढंगले, अनुशासित भएर गरिने नियमित व्यवहारिक प्रयोगात्मक अभ्यासको अनुशरणबाट मानिसमा वाहिरी र आन्तरिक दुवै किसिमका क्षमताहरुको पूर्ण विकास गर्न सकिन्छ र मानिसको वाहिर तथा भित्रबाट आउने सबै प्रकारका समस्याहरुको समाधान गर्न सकिन्छ । तसर्थ योग साधनाका प्रमुख अंग- योगासन, प्राणायाम र ध्यान साधनाका विधि तथा पद्धतिहरुको माध्यमबाट मानिस भित्रै स्थित रहेको उसको आन्तरिक प्रतिभा, क्षमता, सिर्जनशीलता तथा सकारात्मक गुणहरु जागरण गरेर विश्व समाजबाट यस किसिमका समस्याहरुको न्यूनिकरण गर्न योग साधनाका सैद्धान्तिक ज्ञान र  व्यवहारीक प्रयोगात्मक अभ्यासहरुलाई हामीले मानव विकास सूचकांकमा समावेस गर्न यथाशिघ्र आवश्यक पहल कदमी लिनु अपरिहार्य भएकोछ ।

 

व्यवहारिक परिभाषामा 'योग'

योग साधना अध्यात्म विज्ञानको सैद्धान्तिक र व्यवहारिक अर्थात दर्शन र अभ्यास दुवै भएपनि वर्तमान परिप्रेक्षमा योग साधनालाई व्यवहारिक तथा प्रयोगात्मक अभ्यासको रुपमा अधिकतम उपयोग हुदै आइरहेको पाइन्छ । योग साधनाले मानिसको जीवनका सांसारिक दुःखहरुको निवृत्ति गर्छ र जीवनमा विस्तारै सुख, खुशी, समृद्धि, शान्ति, आनन्द भर्दछ अर्थात योग साधनाको ज्ञान तथा नियमित अभ्यासले दुःखबाट सदा वियोग गर्छ र जीवनमा फेरी कहिल्यै दुःख आउन नसक्ने गरि पूर्णता प्रदान गर्छ । आधूनिक मनोविज्ञानको वैज्ञानिक खोज तथा अनुसन्धानहरुका अनुसार कुनैपनि काम कसैले एकदम राम्रोसंग तथा पारंगत किसिमले गर्नसक्छ भने उसले उक्त कामबाट जीवनमा अत्यन्तै खुशी, शान्ति, आनन्द तथा आत्मसन्तुष्टीको गहिरो अनुभूति गर्दछ जसलाई आधूनिक मनोविज्ञानले प्रवाह(Flow) भन्दछ र अध्यात्म विज्ञानले त्यसलाई योग भन्दछ । योगको अर्को व्यवहारिक परिभाषा अनुसार, जीवन अविरल बहिरहने धारा हो, जीवनका सबै किसिमका गतिविधिहरु कहाँ-कहाँ टुटेका छन् त्यो वियोग हो र स्वस्थ, सहज, समृद्ध, शान्त र आनन्दित जीवनकालागि ती टुटेका कुराहरुलाई जोड्नु योग हो । जीवनका यी समस्याहरुलाई सानो-सानो प्रयासले सुधार्न तथा जोड्न खोज्नु योग हो । समाजमा प्रचलित आध्यात्मिक तथा धार्मिक मानिसले मात्र योग साधना गर्छ भन्ने आम बुझाइ गलत हो किनकी मानव-मानवविचको पारिवारीक तथा सामाजिक जुडाउ पनि योग हो । ऋषिहरुका अनुसार मानिसले आफ्नो जीवनको विकास गर्न गरिरहेका हरप्रकारका प्रयास तथा कामहरु सबै योग नै हुन् । तर योगको यो सुस्त प्रक्रिया हो, योगको आत्यन्तिक लक्ष्य तथा उच्चतम अवस्था दुःख निवृत्ति र आफ्नो आत्माको परमात्मासंग जोड तथा मोक्षको प्राप्ति हो । योगका यस किसिमका सुस्त गतिविधिहरुको माध्यमबाट योगको उच्चतम अवस्था अर्थात आत्मालाई परमात्मासंग जोड गर्न तथा परमात्मामा एकाकार हुन मानिसलाई लामो समय तथा कतिपय अवस्थामा त जन्म-जन्म पनि लाग्न सक्छ । योगको उच्चतम अवस्थामा चाँढो पुग्ने पूर्णतः वैज्ञानिकतामा आधारित योग तथा ध्यान साधनाका विधि तथा पद्धतिहरु हाम्रा पुर्खा ऋषिमुनिहरुले खोज गरेर यी विधि तथा पद्धतिहरुलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा विस्तृत रुपमा विभिन्न शास्त्रहरुमा योग दर्शनको रुपमा लिपिवद्ध गरिदिएर पछिल्लो पिढिलाई सहजता प्रदान गरेकाछन् । सहज मानव जीवनयापनका लागि योगको साधना विज्ञानमा गरिएका व्यवहारिक खोजहरु पूर्वीय प्राचीन वैज्ञानिक ऋषिहरुको परम प्रसाद तथा परम वरदान हो ।  


महर्षि पतंजलिले पतंजलि योगसुत्रमा योगका आठ अंग- यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि अष्टांग योग उल्लेख गर्नु भएको छ । यी आठ अंग मध्य योगासन, प्राणायाम र ध्यान महत्वपूर्ण, लोकप्रिय र बहुप्रचलित छन् र यिनको सर्वाधिक व्यवहारिक अनुशरण संसारभरि गरिदै आइएको छ । ठिक प्रकारले योग साधना विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुको अनुशरण गर्ने मानिस पूर्णरुपमा स्वस्थ हुन्छ अर्थात उसका शरीरका चारवटै आयामहरु (शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक) सन्तुलनमा हुन्छन् र त्यसको परिणामस्वरुप क्रमशः साधकलाई योगको उच्चतम विन्दु आत्माको परमात्मासंग जोडिने तथा एकाकार हुने उसको आध्यात्मिक मार्ग सुनिश्चित हुन्छ र विस्तारै  मोक्षमा उपलव्ध हुन्छ । 

योग साधनाका विषयहरु सैद्धान्तिक रुपमा बुझेर यसबाट कसैलाई कुनैपनि किसिमको प्रत्यक्ष लाभ हुदैन, यसले केवल वुद्धिको स्तरमा ज्ञान मात्र वृद्धि गर्छ । योग विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यास गर्दा यसबाट मानव शरीर सबै तहहरु- मन, भावना, आत्मा अर्थात चेतनामा प्रत्यक्ष सकारात्मक प्रभाव पर्दछ ।  यसलाई उदाहरणले बुझौं- योगका शास्त्र पढनु, गुरुहरुका वाणी तथा प्रवचनहरु सुन्नु खाना पकाउन सिक्नु तथा खाना पकाउनु जस्तो हो र पकाएको खाना खानु योग साधनालाई व्यवहारिक रुपमा प्रयोगात्मक अभ्यासमा उतार्नु हो । जसरी खाना खाएपछि मात्र हाम्रो पेट भरिन्छ र शरीरलाई पौष्टीक तत्व प्राप्त हुन्छ त्यसैगरि योग साधनाका विधि तथा पद्धतिहरुलाई प्रयोगात्मक व्यवहारमा उतारेपछि मात्र यसबाट आफूले चाहेको लाभ प्राप्त गर्न सकिन्छ । योग विज्ञानलाई व्यवहारीक बनाउने प्रमुख तीन विधिहरु- योगासन, प्राणायाम र ध्यान साधना हुन् । योगासन तथा योगाभ्यास मानिसको स्थुल शरीरसंग सम्वन्धित छ अर्थात यसले शारीरिक शरीरमा प्रत्यक्ष लाभ पुर्याउछ; प्राणायाम मानसिक शरीरसंग सम्वन्धित छ अर्थात यसले मानसिक शरीरमा प्रत्यक्ष लाभ पुर्याउछ; र ध्यान भावनात्म र आत्मिक अर्थात चेतनात्मक  शरीरसंग सम्वन्धित छ अर्थात यसले भावनात्म र आत्मिक अर्थात चेतनात्मक शरीरमा प्रत्यक्ष लाभ पुर्याउछ यद्धपि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योग साधनाका सबै विधि तथा पद्धतिहरुले मानिसको शरीरका चारवटै आयामहरुमा धेरथोर प्रभाव पार्दछन् तथा लाभ पुर्याउदछन्

 

योगीक परिभाषामा 'योग'

@@

अध्यात्ममा योगको अर्थ जोड अर्थात जोड्नु हो। आधूनिक मनोविज्ञानका पिता मानिने अब्राहम मास्लोले भनेका छन्- मानिसको जीवन पूर्णरुपमा स्वस्थ हुन त्यतिखेर प्रारम्भ हुन्छ जव उसको शरीर र मन एकसाथ हुन्छन् तथा योगमा हुन्छन्। उसको जीवनका प्रगतिका सबै कुरा यहींबाट शुरु हुन्छन्। यदि मानिसको शरीर र मन संगै छैनन् भने यो वियोग हो र वियोगको अवस्थामा उसको प्रगतिको सम्भावना न्यून तथा नगन्य हुन्छ। योगको योगीक परिभाषा अनुसार हाम्रो शरीरका चार आयाम- स्थुल शरीरलाई मानसिक शरीरसंग; मानसिक शरीरलाई भाव शरीरसंग; भाव शरिरलाई चेतनात्मक तथा आत्मिक शरीर अर्थात आत्मासंग र आत्मालाई परमात्मा तथा सर्वव्यापि इश्वर, परब्रह्म, सम्पूर्ण अस्तित्व, ब्रह्माण्डको चेतनासंग जोड्नु वास्तविक योग हो। मुख्यतया योगका सात प्रकार छन्- कर्म योग, तन्त्र योग, हठ योग, भक्ति योग, ज्ञान योग, ध्यान योग, सांख्य योग तथा राज योगको ज्ञान र यिनका विविध विधिहरुको सही अनुशरण गरेर शरीरका चारवटै आयामहरु एक आपसमा जोडिएपछि मानिसको जीवन पूर्णताउन्मुख हुन्छ। सनातन अध्यात्मको मत अनुसार हाम्रो जीवन पूर्णताउन्मुख भएपछि आत्माको जोड परमात्मासंग हुन्छ र मानिस सदाकोलागि जन्म-मृत्युको चक्रबाट मुक्त भइ मोक्ष प्राप्त गर्दछ। पूर्वीय तथा पश्चिमि दर्शन अर्थात मेटाफिजिक्सले अध्यात्म साधनाको प्रमुख विधि योगको मार्गबाट प्राप्त गर्न सकिने मोक्षको विषय वरीपरी घुमेर विभिन्न दर्शन शास्त्रहरु प्रतिपादन गरेकोछ।


वियोगको अर्थमा ‘योग’

‘योग वियोग हो’, सुन्दै अचम्म लाग्ने यो वाक्यांश अध्यात्म साधनाको अत्यन्तै चाखलाग्दो र जान्नै पर्ने विषय तथा महत्वपूर्ण पाटो हो। सनातन अध्यात्म दर्शनको बृहत्तर फैलावटलाई गहिराइमा गएर अध्ययन गर्दा वास्तवमा योग दर्शनमा योगको गुह्य परिभाषा यसको शाव्दिक अर्थ 'जोड्नु' अर्थात 'योग गर्नु' भन्ने भन्दा विपरीत 'वियोग' गर्नु भनेर गरिएको छ । यसको अर्थ हुन्छ- म शरीर, मन, भाव होइन, यो सबैबाट अलग र अति विशिष्ठ तथा महत्वपूर्ण शुद्ध, वुद्ध, प्रवुद्ध आत्मा हुँ भन्ने ज्ञान हुनु वास्तविक अर्थमा योग हो अर्थात अध्यात्म दर्शनको गहिराइमा शरीर, मन, भावबाट आत्मालाई अलग तथा वियोग गर्ने प्रक्रिया योग हो। यसअनुसार अध्यात्म साधनाको गहिराइमा ‘योग’ शव्द योग अर्थात जोड्नुमा भन्दा वियोग अर्थात अलग गर्नुमा केन्द्रित रहेको पाइन्छ। सांसारीक जगतका विषय, वस्तु र सुविधाहरुको भोग तथा आशक्तिबाट वियोग तथा वैराग्यको अवस्था वियोग हो र योगका सबै विधिहरुको अन्तिम लक्ष्य मानिसलाई सांसारीक मोहबाट वियोग गराएर परमात्मामा योग गराउनु हो। छोटकरीमा भन्नु पर्दा समुच्चा अध्यात्म साधनाको एकमात्र उदेश्य मानिसलाई ‘स्वत्व’ अर्थात उसको वास्तविक स्वरुप आत्मा अर्थात पुरुषतत्वमा स्थित गराउने अभ्यास हो। अध्यात्म दर्शनको अत्यन्तै महत्वपूर्ण विषय योगको आत्यन्तिक लक्ष्य पनि मानिसभित्र सुक्ष्म रुपमा रहेको पुरुष अर्थात आत्मालाई प्रकृति अर्थात भौतिक जगतप्रतिको मोह तथा आशक्तिवाट वियोग गराएर उसको आत्मालाई परमात्मामा योग गराउनु तथा उसको वास्तविक स्वरुप आत्मा अर्थात पुरुषतत्वमा स्थित गराउनु हो। वियोगको अवस्था कस्तो हुन्छ भन्ने सन्दर्भमा उर्दूमा एउटा प्रसिद्ध भनाइ छ- "दुनियामें हुँ पर दुनियाकी तलवदार नहीं हुँ; बाजारमें हुँ पर बाजारकी खरीदार नहीं हुँ"! यो भनाइको अर्थ हो म भौतिक जगतमा त छु तर त्यसको भोगप्रति आशक्त छैन, तटस्थ छु, जति सामान्य जीवनयापनकोलागि आवश्यक पर्छ त्यति मात्र भोग गर्छु र बजारमा छु तर बजारको रमझम तथा आकर्षणमा लिप्त छैन, त्यसलाई प्रकृतिको नियम तथा प्रकृतिको सुन्दरता मानेर तटस्थ भएर हेर्छु र जति आवश्यक त्यति मात्र खरीद गर्छु, प्रकृतिको त्रिगुण र पंचक्लेसबाट मुक्त छु। 


सनातन अध्यात्मको आदीकालका कथनहरुका अनुसार जव शुन्यमा निराकार स्वरुपमा रहेको अव्यक्त ब्रह्म तथा परमात्माले आफूलाई पुरुष र प्रकृति स्वरुपमा व्यक्त गरेर यो ब्रह्माण्डको रुप धारण गर्यो तव पुरुषतत्व त्रिगुणमयि(सत्व-रजस-तमस) पकृतिको मोहजाल र पंचक्लेस(राग, द्वेश, अंहकार, अविद्या, भय)मा फस्दै राम्रा, नराम्रा कर्म गर्दै गयो। आफ्नो वास्तविक मूलस्वरुप परमात्माबाट टाढा हुदै गयो र विस्तारै परमात्मा छ, म परमात्माको अंश हुँ भन्ने समेत बिर्सियो सांसारीक जगतको मोहमा मुर्छित भएकाकारण र अनेकौं दुःखका जन्जालहरुबाट घेरिएर पकृतिमै जन्म-मृत्युको चक्रभ्युमा जन्मौं-जन्म घुमिरह्यो। तव आफ्नो मूल सनातन स्वरुप परमात्माबाट टाढा भएको मानिसभित्र सुक्ष्म तथा निराकार रुपमा रहेको आत्मा अर्थात पुरुषतत्वलाई पुनः मूलस्वरुपमा फर्काउने उपाय तथा विधिहरुको खोजी हुन थाल्यो, यस्तो खोज गर्ने व्यक्तिहरु ऋषिमूनिका नाम तथा विशेषणबाट परिचित भए। यही विषयको खोज गर्ने क्रममा ऋषिमूनिहरुले विभिन्न शास्त्रहरुको रचना गर्दैगए र तिनै शास्त्रहरु आज सनातन अध्यात्म दर्शनका ग्रन्थहरुको रुपमा हामी अध्ययन/अध्यापन गर्दै/गराउदै आइरहेका छौं। 


आफ्नो मूलस्वरुप परमात्माबाट टाढा हुदै गएको पुरुषतत्वलाई पुनः मूलस्वरुपमा फर्काउने उपाय तथा विधिहरुको सबैभन्दा सुन्दरतम र प्रभावकारी व्याख्या इसापूर्व २०० मा महर्षि पतंजलिद्वारा संग्रहित योग दर्शनले दिएकोछ। योग दर्शनले पुरुषतत्वलाई आफ्नो मूलस्वरुमा पुनरस्थापित हुन तथा परमात्मासंग योग हुन प्रकृतिको भोगवृत्तिबाट वियोग हुनुपर्ने पहिलो मान्यता राख्दछ र यही विषय वरिपरी योग दर्शनका चार पादहरुको विस्तृत व्याख्या रहेकोछ कि पुरुषलाई प्रकृतिमोहबाट कसरी वियोग गर्ने। यसकालागि महर्षि पतंजलिले योग दर्शनमा योगका बहिरंग पाँच- यम(आफूले संसारप्रति गर्नुपर्ने आचरण), नियम(आफूले आफैंप्रति गर्नुपर्ने आचरण), आसन, प्राणायाम, प्रत्याहार अन्तरंग तीन- धारणा, ध्यान र समाधि गरि आठ प्रकारका विधि, चरण तथा नियमहरु बताउनु भएकोछ। पतंजलि योग सुत्रले भनेको छ मानिस नैतिकवान, अनुशासित तथा इमान्दार नभइकन आध्यात्मिक बन्न सक्दैन, आत्मज्ञान तथा तत्वज्ञानमा उपलव्ध हुन सक्दैन। आत्मज्ञान तथा तत्वज्ञान प्राप्त गर्नकालागि आफ्नो जीवनकालमा अन्य प्रकारका योगहरुको अनुशरणको साथसाथ विशेषगरि पतंजलि योगसुत्रका अष्टांग योगका सबै बहिरंग र अन्तरंग चरणहरु अनुशरण गरेर पहिला मानिस अनुशासित र नैतिकवान बन्नु आवश्यक हुन्छ तव मात्र उ आत्मवोध तथा तत्ववोधमा पुग्नसक्छ अर्थात आफ्नो मूलस्वरुप परमात्मा अवस्थित हुनसक्छ। योगका विधि, चरण तथा नियमहरुको अनुशरण गर्दै वहिरंग चरण पार गरेर अन्तरंग चरण धारणा, ध्यान हुदै समाधिमा अवस्थित भएपछि मानिसमा सांसारीक विषय भोगबाट आफैं वियोग तथा वितराग उत्पन्न हुन्छ, उ तटस्थ तथा सम्यक भएर विषयभोगप्रति आशक्तिवस नभई आवश्यकतावस विषयहरुको भोग गर्दछ र उ हलुका, पवित्र, शान्त, आनन्दित भएर मुक्ति, निर्वाण अर्थात मोक्ष प्राप्तितिर दिशाउन्मुख हुन्छ र आफ्नो मूलस्वरुप परमात्मा अवस्थित हुन पुग्दछ। 

bsirjana@gmail.com


No comments:

Post a Comment