'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 26 February 2025

पर्यटनको ऐतिहासिक पृष्ठभूमि र नेपालको सम्भावना

Historical Background of Tourism & Prospect of Nepal                                          

                                         डा. सिर्जना भण्डारी

                                  

विषय प्रवेश

Enter into the Topic


प्राचीन कालदेखि नेपालको सन्दर्भमा पर्यटन, पर्यटक तथा पर्यटकीय गतिविधिहरुको अवधारणा धेरै हदसम्म तीर्थाटनसंग जोडिएको पाइन्छ । प्राचीन तथा मध्ययुगको समयमा आम जीवन जीउने मानिसहरुको कुनै नयाँ स्थानको भ्रमण तथा यात्रा तीर्थ यात्रामै सिमित थियो केवल विशिष्ठ जीवन जिउने मानिसहरु(राजपरिवार, कार्यलयका विशिष्ठ व्यक्ति, शैक्षिक अन्वेषक, अन्य खोजकर्ता, उद्योगी, व्यापारीहरु आदि) मात्र पर्यटकको रुपमा मनोरञ्जन तथा अन्य उद्देश्यले नयाँनयाँ स्थानहरुको भ्रमण तथा यात्रा गर्ने गर्थे । सत्रौं र अठारौं शताव्दीमा खासगरि पश्चिम युरोपको मानव जीवनशैलीमा आएको वदलावले पर्यटन, पर्यटक तथा पर्यटकीय गतिविधिहरुको अवधारणा, परिभाषा र दायरामा काफी बदलाव ल्याइदिएको छ र आज पर्यटन विश्वव्यापि अवधारणा र सहज गतिविधि बनेको छ सबै प्रकारका मानिसहरुकोलागि । भौतिक विज्ञान(भौतिक संरचना), विज्ञान प्रविधि(प्राविधिक उपकरण) तथा सूचना प्रविधि(संचार माध्यम)मा आएको अभुतपूर्व विकासको फड्कोले पर्यटन, पर्यटक तथा पर्यटकीय गतिविधिहरुको दायरालाई झनझन फराकिलो बनाउनुकासाथै अझ सहज, सरल, सम्भव र अति आवश्यक बनाउदै लगेको छ र वर्तमान समयमा पर्यटन अति महत्वपूर्ण तथा प्रभावकारी उद्योग तथा व्यवसायको रुपमा विश्वस्तरमै स्थापित भैसकेको छ । पूर्णतः सेवाप्रधान गतिविधिमा आधारीत पर्यटन उद्योग तथा व्यवसाय राज्यको अर्थतन्त्रको मूल तथा महत्वपूर्ण साझेदार समेत बनिसकेको छ । नेपाल पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना भएको विश्वकै दश महत्वपूर्ण पर्यटकीय स्थलहरुमध्य एक आध्यात्मिक, धार्मिक, सांस्कृतिक, आरोग्य, प्राकृतिक, साहसिक, जैविक विविधता, भौगोलिक विविधता आदि हरप्रकारका विशेषताहरुले पूर्ण अति महत्वपूर्ण पर्यटकीय स्थल हो । 




पर्यटनको पृष्ठभूमि

Background of Tourism


शाव्दिक अर्थ– प्राचीन समयमा सनातन समाजमा देशाटनका रुपमा प्रयोग गरिदै आइएको संस्कृत शव्दको स्थान तथा बदलामा सत्रौं शताव्दीयता आधूनिक शव्द पर्यटनलाई प्रयोग गर्न थालिएको हो । समग्रतामा यी दुवै शव्दावलीहरुको शाव्दिक अर्थ विभिन्न उद्देश्यले फरक–फरक स्थानहरुको भ्रमण तथा यात्रा गर्नु नै हो अर्थात देशाटन नै पर्यटन हो । देशाटन=देश+अटन, पर्यटन=पर्या+अटन दुई–दुई शव्दको संयोगले निर्मित भएका छन् । अटन प्रत्ययको अर्थ भ्रमण तथा यात्रा गर्नु हो । यथार्थमा देशाटनको अर्थ कुनै स्थान तथा देशको भ्रमण तथा यात्रा गर्नु हो भने पर्यटनको अर्थ प्रकृतिको भ्रमण तथा यात्रा गर्नु हो । प्रकृति अन्तर्गत सकल ब्रम्हाडमा स्थित सबै विषय तथा वस्तुहरु समेटिने भएकोले ब्रम्हाण्डका सारा विषयवस्तुहरुको अवलोकनकालागि भ्रमण तथा यात्रा गर्न पर्यटन शव्दलाई सर्वव्यापि रुपमा प्रयोगमा ल्याउन थालिइएको हो । 


पारंपरिक रुपमा सनातन समाजका मानिसहरुकालागि घरबाट वाहिर घुमफिर गर्न जाने एकमात्र उदेश्य तथा बहाना तीर्थ यात्रा तथा धार्मिक यात्रा मात्र थियो किनकी धार्मिक तथा तीर्थ स्थलहरुमा मात्र भ्रमणार्थी तथा पर्यटकहरुकालागि बस्ने, खाने तथा अन्य सुविधाहरु उपलब्ध हुन्थ्यो, अन्यत्र हुदैनथ्यो तर आज विश्वभरि नै सबैजसो पर्यटकीय स्थलहरुमा हरप्रकारका सुविधाहरु उपलब्ध गराइएका छन् र पहिलाको तुलनामा पर्यटकीय दृष्टिकोणले सबै प्रकारको भ्रमण तथा यात्रा सहज भएको छ ।


परिभाषा– समग्रमा, पर्यटन आफू बसोवास गरिरहेको निवासस्थान, घर, नगर तथा राज्यबाट  केही समयावधिका लागि वाहिर जाने चलायमान गतिविधि हो जसमा मानिसहरु नयाँ विषय, वस्तु संरचना, तथा स्थानको ज्ञान, अनुभव, मनोरञ्जन, मानसिक शान्ति तथा आनन्द हासिल गर्न जाने गर्दछन् । तीर्थाटन, देशाटन र पर्यटनको विशिष्टिकृत परिभाषा निम्नानुसार गरिएको छः


तीर्थाटन– निश्चित सांस्कृतिक, पारंपरिक, धार्मिक तथा आध्यात्मिक उद्देश्यले निश्चित विशेषता भएका स्थलहरुको भ्रमण तथा यात्रा गर्नु तीर्थाटन हो ।


देशाटन– प्राचीन परिभाषा अनुसार निश्चित राजनीतिक, आर्थिक, सामाजिक, कुटनीतिक उद्देश्यले निश्चित विशेषता भएका स्थान तथा देशहरुको भ्रमण तथा यात्रा गर्नु देशाटन हो ।


पर्यटन– विभिन्न प्रकारका नयाँनयाँ विषय, वस्तु, संरचना, स्थल आदिको अवलोकन गरेर ज्ञान, अनुभव, मनोरञ्जन, सुख, खुशी, मानसिक शान्ति, आनन्द हासिल गर्ने उद्देश्यले निश्चित विशेषता भएका विषय, वस्तु, संरचना, स्थलहरु आदिको भ्रमण तथा यात्रा गर्नु पर्र्यटन हो । तर वदलिदो वर्तमान सन्दर्भमा सबै प्रकारका भ्रमण तथा यात्राहरुलाई पर्यटन अन्तर्गत समावेस गरिएको छ र पर्यटनका परिभाषा, अवधारणा तथा प्रकारहरुलाई प्रभावकारी किसिमले विशिष्टिकृत गरिएका छन् ।



पर्यटनको ऐतिहासिक पृष्ठभूमि

Historical Background of Tourism


पूर्वीय सनातन जीवनशैलीमा प्राचीनकालदेखि तीर्थाटन तथा देशाटन संस्कृतिका रुपमा चल्दै आएको र पश्चिमी जीवनशैलीमा विशेषगरि सत्रौं शताव्दीयता पर्यटन संस्कृतिका रुपमा शुरुआत भएको पर्यटनलाई मानिसको सहज र सरल जीवनशैलीका लागि आधूनिक सामाजिक व्यवस्थाको उत्कृष्टतम गतिविधिका रुपमा लिने गरिन्छ वर्तमान समयमा। पश्चिमी जीवनशैलीमा सोह्रौं शताव्दीसम्म खासगरि कुलीन वर्गहरुमा आश्चर्यचकित गर्ने भौतिक संरचना, प्राचीन कला, धर्म तथा संस्कृति, प्राकृतिक तथा जैविक दर्शनीय स्थलहरुको भ्रमण तथा यात्राका साथसाथ उत्सव, ज्ञान, जानकारी, अनुभव, मनोरञ्नज, खेलकुद, आरोग्य, मानसिक शान्ति, आनन्द हासिल गर्ने उद्देश्यले प्राचीन ग्रीस, प्राचीन युनान, प्राचीन इजिप्ट, प्राचीन रोममा नयाँनयाँ स्थलहरुको संगठित यात्रा गर्ने परिपाटी चल्दै आएको उल्लेख छ जसलाई आधूनिक पर्यटनको बिरासत पनि भन्ने गरिन्छ । उन्नाइसौं शताव्दीको शुरुआतमा यूरोपियन समुदायहरुमा पर्यटकीय गतिविधिहरुमा विशेषगरि अवकाश जीवन, सांस्कृतिक ज्ञान तथा अनुभव, स्वाथ्य उपचार, कला–संस्कृति, धर्म–संस्कृति, प्राकृतिक दृश्यावलोकन जस्ता पर्यटकीय गतिविधिहरुमा मध्यम वर्गीय मानिसहरुको प्रवेश भएको देखिन्छ । विशौं र एक्काइसौं शताव्दीमा यो दायरा बढेर पर्यटकीय गतिविधिहरु निम्न मध्यम र निम्न वर्गीय मानिसहरुको प्रवेश भएको देखिन्छ र यसपश्चात सबै वर्गका मानिसहरुका लागि पर्यटकीय गतिविधिहरु आम बन्दै आइरहेका छन् र पर्यटन एक विशाल वैश्विक परम्पराको रुपमा स्थापित भैसकेको छ । पर्यटनको शुरुका दिनमा तिनै प्राचीन स्थल तथा त्यहाँका आश्चर्यचकित गर्ने भौतिक संरचना, कला–संस्कृति, धर्म–संस्कृति, प्राकृतिक दर्शनीय स्थलहरु पर्यटनका उत्पादनहरु(टुरीजम प्रोडक्ट्स) तथा पर्यटकीय गतिविधिका आकर्षण बन्दै गए र विस्तारै पर्यटनमा आधूनिकता, विविधता, व्यवसायिकरण तथा व्यापारीकरणको प्रवेश हुदै गयो र यस क्षेत्रको विकास हुदै आजको अवस्थासम्म आइपुगेको देख्न सकिन्छ ।


मानिसको स्वस्थ, समृद्ध, शान्त, आनन्दित जीवनशैलीका लागि पर्यटनको महत्व र प्रभावकारीतालाई राम्ररी विचार विमर्स गरेर, बुझेर विश्वको छाता संगठन संयुक्त राष्ट्रसंघको महत्वपूर्ण शाखा विश्व पर्यटन संगठन(वल्र्ड टुरिजम ओर्गनाइजेसन)ले सन् १९८० मा विश्व पर्यटन विधान जारी गरेको दिन हरेक वर्षको सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवस घोषणा गरेको थियो । पर्यटन दिवस घोषणा गर्नुको मूल उद्देश्य मानिसहरुलाई विभिन्न प्रकारले उनीहरुको सहज, सरल, समृद्ध, स्वस्थ, मानसिक रुपले शान्त र आनन्दित जीवनयापनका लागि पर्यटनको आवश्यकता, महत्व, प्रभावकारीता र पर्यटनको सांस्कृतिक, धार्मिक, आध्यात्मिक, सामाजिक, आर्थिक, राजनीतिक, कुटानीतिक मूल्यबारे विश्व समुदायलाई जागरण दिलाउनु तथा जागृत गर्नु रहेको छ । यसकालागि विश्व पर्यटन संगठनले हरेक वर्ष वर्षभरिका लागि विभिन्न थिम तथा प्रमुख उद्देश्यहरु सार्वजनिक गर्दछ र पर्यटनसंग सम्वन्धित व्यक्ति, व्यवसायि तथा व्यापारीहरुलाई उक्त थिम अन्तर्गत रहेर पर्यटकीय गतिविधिहरु गर्न सल्लाह तथा प्रेरणा प्रदान गर्दछ । सन् २०२४ को थिम पर्यटन र पर्यावरण मैत्री लगानी(टुरीजम एण्ड ग्रीन इनभेस्टमेन्ट) रहेको थियो, सन् २०२५को थिम आउन बाँकी नै छ । 



पर्यटनका प्रकार

Types of Tourism


पर्यटनका दुइप्रकारका आधारभूत वर्गीकरण रहेका छन्– (१)परम्परागत पर्यटन, र (२)आधूनिक पर्यटन । परम्परागत पर्यटन अन्तर्गत प्राचीनकालदेखि विश्वमै गरिदै आइएको सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक उद्देश्य प्राप्तिकालागि गरिने भ्रमण तथा यात्राहरु जस अन्तर्गत तीर्थ+अटन= तीर्थाटन अर्थात तीर्थ यात्रा(निश्चित सांस्कृतिक तथा धार्मिक अनुष्ठान पूरा गर्न), धार्मिक यात्रा(ज्ञान तथा मानसिक शान्ति आर्जन गर्न), आध्यात्मिक यात्रा(ज्ञान, मानसिक शान्ति आर्जन तथा आफ्नो आन्तरीक विकास गर्न) र राज्यको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, कुटनीतिक हितको उद्देश्य राखेर गरिने देश+अटन= देशाटन आदि पर्दछन् । आधूनिक पर्यटन अन्तर्गत प्रमुख रुपमा मनोरञ्जन तथा आनन्द हासिल गर्ने उद्देश्य राखेर गरिने पर्यापर्यटन(प्राकृतिक मनोरम दृश्यावलोकन गर्न), आरोग्य पर्यटन(सुदृढ स्वास्थ्य तथा औषधि, उपचारका लागि चिकित्सा सेवा प्राप्त गर्न), शैक्षिक पर्यटन(अध्ययन, अध्यापन गर्न तथा गराउन), व्यवसायिक पर्यटन, खेलकुद पर्यटन आदि पर्दछन् । तीर्थाटन, देशाटन, पर्यटन भनेर फरक-परक परिभाषा गरिएको भएपनि वर्तमान समयमा यी सबै शव्दावलीहरु एकअर्काका परिपूरक बनेका छन् र एकआपसमा खप्टिएका(ओभरल्याप) छन् । वर्तमान समयमा विश्वव्यापि रुपमा सबै प्रकारका पर्यटकहरुको चाहनालाई मध्यनजर गरेर प्रकृति(अन्तरिक्ष, वातावरण, वन्यजन्तु, जनजीवन, धर्म, संस्कृति, अध्यात्म, शिक्षा, कार्यालय, उद्योग, व्यापार, प्रविधि) अन्तर्गत पर्ने तथा प्रकृतिमा उपलव्ध भएका सबै प्रकारका पर्यटकीय विषय, वस्तु तथा स्थलहरुलाई समावेश गरेर पर्यटनका प्रकार, आयाम तथा दायराहरु फराकिलो पारिएका छन् । पर्यटनका विभिन्न प्रकारहरु मध्य वर्तमान समयमा विश्वब्यापि रुपमा पर्यटनका सबै प्रकारका उद्देश्य हासिल हुने समाबेसी विशेषता भएको आरोग्य पर्यटन सबै वर्गका मानिसलागि पहुचयोग्य, सहज र अत्यन्तै प्रभावकारी भएकोकारण अत्यधिक लोकप्रिय बन्दै गैरहेको छ । 



आरोग्य पर्यटन 

Wellness Tourism


वर्तमान समयमा विश्वभरिनै प्रतिस्पर्धा, हल्लाखल्ला, भागदौडले आक्रान्त जीवनशैलीका कारण देखा परेका विविध प्रकारका समस्या, चुनौती, रोग, शोक, भोक, युद्ध, अभाव, गरिवी, दरिद्रता आदिले गर्दा अधिकांश मानिसहरु शारीरिक रुपले रोगी तथा मानसिक, भावनात्मक र चेतनात्मक अर्थात आत्मिक रुपले अशान्त तथा विछिप्त भएका कारण धेरैजसो मानिसहरु शारीरिक स्वास्थ्य, मानसिक, भावनात्मक र चेतनात्मक सुख, खुशी, शान्ति, आनन्द र सकारात्मकताको खोजीमा विभिन्न स्थानहरुको भ्रमण तथा यात्रा गर्ने गर्दछन् जुन केवल आरोग्य पर्यटनबाट प्राप्त गर्न सकिन्छ । आध्यात्मिक पर्यटन आरोग्य पर्यटनको अत्यन्तै महत्वपूर्ण विषय तथा अंग हो र तीर्थ यात्रा तथा धार्मिक पर्यटन आध्यात्मिक पर्यटनकै केही फरक विशेषता भएको अर्को अत्यन्तै महत्वपूर्ण पाटो हो ।



आध्यात्मिक पर्यटन

Spiritual Tourism


संस्कृति, धर्म, अध्यात्मका विषयहरु समाहित भएका सांस्कृतिक दर्शन, धार्मिक दर्शन, आध्यात्मिक दर्शन, जीवन र जगतका दर्शन प्रदान गर्ने विषयहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अनुभव हासिल गर्ने उद्देश्यले गरिएको सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक स्थलहरुको भ्रमण तथा यात्रा गर्नु आध्यात्मिक पर्यटन हो । अध्यात्मलाई अझ गहिरोमा बुझौं–


अध्यात्म– संस्कृत शव्द अध्यात्म=अधि+आत्म दुई शव्द मिलेर बनेको छ । 'अधि'को शाव्दिक अर्थ श्रेष्ठ तथा परम हो र आत्मको अर्थ पुरुष, सुक्ष्म शरीर, चेतना अर्थात आत्मा हो । यसप्रकार अध्यात्मको शाव्दिक अर्थ श्रेष्ठ+आत्मा(श्रेष्ठआत्मा) तथा परम+आत्मा=परमात्मा अर्थात परब्रम्ह अर्थात सर्वशक्तिमान, सर्वव्यपाक इश्वर हो । त्यस्तै संस्कृत भाषाको अर्को दृष्टकोणका अनुसार अध्यात्म=आध्य+आत्म दुई शव्द मिलेर बनेको छ । 'आध्य'को अर्थ आदि तथा प्रथम हो जसअनुसार पहिलो तथा आदिम+आत्मा(पुरुष)=अध्यात्म अर्थात प्रथम पुरुष, पुरुषहरुमा उत्तम पुरुष अर्थात पुरुसोत्तम अर्थात सवयं परमात्मा हो । अर्को शव्दमा 'अधि'को अर्थ तिर हो अर्थात अधि+आत्मा=आत्मातिर अर्थात आत्मातिरको यात्रा(आफैंभित्र फर्कनु) अध्यात्म हो । समग्रमा आत्मा तथा परमात्मातिरको यात्रा नै अध्यात्म हो । आध्यात्मिक तवरले परमात्मामा सदाकालागि योगस्थ हुन अध्यात्म साधना गर्ने गरिन्छ र अध्यात्म साधनाकालागि आध्यात्मिक पर्यटनका गतिविधिहरुलाई अनुशरण गरिन्छ जस अन्तर्गत तीर्थयात्रा, धार्मिक तथा सांस्कृतिक भ्रमण, सनातन दर्शनका जीवन उपयोगी विषयहरु(योग, धर्म, संस्कृति, परम्परा, रितिरिवाज, कर्मकाण्ड, तीर्थ, व्रत, पूजा, यज्ञ, अनुष्ठान आदि) अध्ययन गराइने गुरुकुल, योगपीठ, विश्वविद्यालय, विद्यालयहरु आदि पर्दछन् । विभिन्न प्रकारले अध्यात्म दर्शनको अध्ययन गर्नु, सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव हासिल गर्नु नै वास्तविक अध्यात्म साधना हो । अध्यात्म विज्ञानका पूर्ण रुपमा वैज्ञानिकतामा आधारीत सिद्धान्त, विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अनुशरण गरेर व्यवहारिक तथा प्रयोगात्मक अभ्यासमा अधारीत अध्यात्म साधनाबाट व्यक्तिलाई दिगो सुख, खुशी, मानसिक शान्ति, आनन्द, परमानन्द र सतचितानन्दको प्राप्ति हुन्छ । वास्ताविक अध्यात्म साधना योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारीत विविध प्रकारका विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अनुशरण गर्दै दैनिक जीवनमा प्रयोगात्मक अभ्यास गरेर गर्ने गरिन्छ । 



वर्तमान समयमा विश्वव्यापि रुपमा लोकप्रिय रहेको र सर्वाधिक व्यवहारिक प्रयोग तथा अभ्यासमा ल्याइएको पतंजलि योग अर्थात अष्टांग योगका आठ अंगहरु(यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि)को अभ्यास गरेर शारीरिक तथा मानसिक लाभ हासिल गर्न र आध्यात्मिक गहिराई अझ बढाउन गुरुकुल, योगपीठ, विश्वविदालय, विद्यालय, पुस्ताकालयहरुमा जाने क्रम बढ्दो छ । यसकासाथै आरोग्यता हासिल गर्न आध्यात्मिक साधनाका अतिरिक्त अन्य वैकल्पीक विद्याहरु– भौगोलिक तथा पाकृतिक मनोरम दृश्यावलोकन, साहसिक यात्रा तथा गतिविधिहरु, प्राकृतिक जीवनशैली, स्वस्थ खानपान, विभिन्न चिकित्सा पद्धतिहरु(आयूरवेद चि., प्राकृतिक चि., मर्म चि., योग चि., अध्यात्म चि., सुगन्ध चि., स्पर्श चि., दृश्य चि., पोषण चि. आदि) मा विश्वभरिनै पर्यटकहरुको आकर्षण बढ्दै गैरहेको धेरै खोज तथा अनुसन्धानात्मक अध्यनका तथ्यांकहरुले देखाएका छन् । योग भूमि, तपो भूमि, गुरु भूमि, ज्ञान भूमि, देव भूमि, सांस्कृतिक भूमि, धार्मिक भूमि,  आध्यात्मिक भूमि, शिव भूमि, रामसिता भूमि, वुद्ध भूमि जस्ता अलौकीक र दिव्य उपमाहरुले विभूषित हुदै आइरहेको हाम्रो मातृभूमि नेपाल आरोग्य पर्यटनकालागि विश्वमै अत्यन्तै सान्दर्भिक, उपयोगी र पवित्र भूमिको रुपमा मान्यता पाउदै आइरहेको छ । यस सन्दर्भमा नेपालको भूमि आरोग्य पर्यटनकालागि अत्यन्तै उपयोगी र अत्यधिक सम्भावना रहेको विश्वकै अत्यन्त महत्वपूर्ण स्थान हो भन्ने तथ्यांक विश्वका पर्यटकीय गतिविधहरुका अध्ययन र तथ्यांकहरुमा समेत प्रसस्त मात्रामा उल्लेख गरिएको पाइन्छ ।



नेपालमा आरोग्य तथा आध्यात्मिक पर्यटनको संभावना

Prospect of wellness & Spiritual Tourism


नेपाल विश्वमै फरक किसिमले विशिष्टिकृत पहिचान बनाएको अलग-अलग प्रकारका अध्यात्म, धर्म, सभ्यता, संस्कृति, सम्प्रदाय, मठ–मन्दिर, पाटीपौवा, सत्तल, जातजाति, परम्परा, रहनसहन, पहिरन, भाषा, गीतसंगीत, खानपान, प्रकृतिक तथा जैविक विविधता, अलौकिक भूबनोट, वातावरण, मौसम भएको अनुपम प्राकृतिक सौन्दर्य र आध्यात्मिक रहस्यले भरिपूर्ण रहेको, विश्वस्तरीय ऐतिहासिक सम्पदाहरुले धनी, जिउदो संग्रालय र सांस्कृति, धार्मिक, आध्यात्मिक, ऐतिहासिक, प्राकृतिक तथा जवक दृष्टिकोणले विश्वकै धनी देशहरुमा पर्ने अत्यन्तै महत्वपूर्ण भूमि भएकोले नेपालमा आरोग्य तथा आध्यात्मिक पर्यटनको सम्भावना उच्च रहेको छ । विश्वको छाता संगठन संयुक्त राष्ट्रसंघको युनेस्को शाखाद्वारा नेपालका विश्वकै लागि अत्यन्तै महत्वपूर्ण निम्न दशवटा दुर्लब प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुलाई विश्वस्तरीय ऐतिहासिक सम्पदाको रुपमा मान्यता प्रदान गरेर विश्व सम्पदा सूचिमा समावेश गरेकाे छ–


(१)पशुपतिनाथ, (२)चागुनारायण, (३)लुम्बिनी, (४)वौद्धनाथ, (५)स्वयम्भु, (६)काठमाडौं दरवार स्क्वाएर, (७)पाटन दरबार स्क्वाएर, (८)भक्तपुर दरबार स्क्वाएर, (९)सगरमाथा राष्ट्रिय निकुञ्ज, र (१०)चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदाहरु आरोग्य तथा आध्यात्मिक पर्यटनका अत्यन्तै महत्वपूर्ण पर्यटकीय स्थलहरु हुन् । यी महत्वपूर्ण दुर्लव तथा ऐतिहासिक सम्पदाहरु लगायत नेपालका सांस्कृतिक, धार्मिक, आध्यात्मिक दर्शन तथा प्रयोगात्मक व्यवहारीक ज्ञान प्रदान गर्ने गुरुकुल, योगपीठ, ध्यान केन्द्र, विश्वविद्यालय, विद्यालय, पुस्तकालय, शालिग्राम शिला, मठ–मन्दिर तथा शक्तिपीठहरु पनि आरोग्य तथा आध्यात्मिक पर्यटनका अत्यन्तै महत्वपूर्ण पर्यटकीय स्थलहरु हुनसक्छन् ।



नेपालमा दिगो पर्यटन प्रवर्धनकालागि गरिएका प्रयासहरू

Schemes for Sustainable Tourism Development 


देश तथा विदेशको अवस्था र परिस्थितिहरु विचार गरेर नेपालले समय-समयमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गर्ने उद्देश्यले पर्यटन क्षेत्रको दिगो विकास तथा प्रवद्र्धनका लागि आन्तरीक तथा वाहिय पर्यटनलाई मध्यनजर गरेर विभिन्न प्रयासहरु गर्दै आएको छ । विभिन्न कालखण्डमा घोषणा गरिएका डेस्टिनेसन नेपाल, भिजिट नेपाल वर्ष, दशक, क्याम्पियन लगायत-


नीतिगत तथा कानूनी पहलहरू

@राष्ट्रिय पर्यटन नीति २०२०: दीगो पर्यटन प्रवर्द्धन, ग्रामीण पर्यटनको विकास, र स्थानीय समुदायलाई लाभ पुर्‍याउने उद्देश्य राखिएको नीति ।


@नेपाल भ्रमण वर्ष २०२० (Visit Nepal 2020): अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने उद्देश्य भए पनि महामारीका कारण पूर्णरूपमा कार्यान्वयन हुन सकेन ।


@पर्यटनसम्बन्धी कानुनहरू: होटल तथा यात्रा कम्पनीहरूको नियमन, पर्यटक सुरक्षाको प्रवन्ध, र ट्रेकिङ परमिट व्यवस्थापन ।


संरचनागत तथा पूर्वाधार विकास

@अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्माण तथा सुधार: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा), तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन ।


@पर्यटकीय गन्तव्यहरूको विकास: लुम्बिनी, मुक्तिनाथ, एवरेस्ट क्षेत्र, अन्नपूर्ण सर्किट, र चितवन राष्ट्रिय निकुञ्जलाई अझ व्यवस्थित बनाउने कार्य ।


@सडक तथा यातायात सुधार: प्रमुख पर्यटकीय क्षेत्रसम्म सहज पहुँचका लागि सडक सञ्जालको विकास ।


समुदाय-आधारित पर्यटन 

@गाउँ पर्यटन प्रवर्द्धन: घलेगाउँ, सिक्लेस, बन्दीपुर, र रारा क्षेत्रलाई समुदाय-आधारित पर्यटनको रूपमा विकास ।


@होमस्टे कार्यक्रम: स्थानीय संस्कृतिको प्रवर्द्धन गर्दै गाउँस्तरीय होमस्टे कार्यक्रमलाई प्रोत्साहन ।


@स्थानीय उत्पादन तथा हस्तकला प्रवर्द्धन: हस्तकला, लोक संगीत, र स्थानीय परिकारलाई पर्यटकहरूमाझ लोकप्रिय बनाउने पहल ।


पर्यटन प्रवर्द्धन तथा प्रविधि प्रयोग

@डिजिटल मार्केटिङ: Visit Nepal लगायतका क्याम्पेनहरू सामाजिक सञ्जाल, वेबसाइट, र अन्तर्राष्ट्रिय मिडियामार्फत प्रचार ।


@ई-भिसा तथा अनलाइन सेवाहरू: पर्यटकहरूका लागि भिसा तथा होटल बुकिङ प्रक्रियालाई सरल बनाउने प्रयास ।


@स्मार्ट पर्यटन (Smart Tourism): मोबाइल एप्स, भर्चुअल टुर, तथा डिजिटल गाइड सेवाहरूको विकास ।


दिगो पर्यटन तथा वातावरणीय संरक्षण

@पर्यावरण मैत्री नीति: प्लास्टिकमुक्त पर्यटन क्षेत्र, फोहोर व्यवस्थापन, तथा हरियाली प्रवर्द्धनका कार्यक्रम ।


@वन्यजन्तु तथा प्रकृति संरक्षण: राष्ट्रिय निकुञ्ज, जैविक विविधताको प्रवर्द्धन, र जिम्मेवार पर्यटनलाई बढावा ।


@जलवायु अनुकूलन प्रयासहरू: उच्च हिमाली भेगमा वातावरणीय प्रभाव न्यूनीकरण तथा ट्रेकिङ मार्गहरूको व्यवस्थापन ।


सहकार्य तथा लगानी प्रवर्द्धन

@निजी तथा सरकारी सहकार्य (PPP Model): होटल, ट्रेकिङ एजेन्सी, र ट्रान्सपोर्ट कम्पनीहरूसँग सहकार्य गर्दै पूर्वाधार तथा सेवामा सुधार ।


@विदेशी लगानी आकर्षण: पर्यटन क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी (FDI) भित्र्याउने नीतिगत पहल ।


@स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारी: युनेस्को, UNWTO जस्ता अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै सम्पदा तथा संस्कृतिको प्रवर्द्धन ।


यी विभिन्न पहलहरू नेपालमा पर्यटन क्षेत्रको दिगो विकास, पर्यटकहरूको आकर्षण बढाउने तथा स्थानीय समुदायलाई लाभान्वित गर्ने उद्देश्यले सञ्चालन गरिएका छन् ।



पर्यटनको महत्व तथा लाभ र हानि
SOON

     


Wednesday, 19 February 2025

आध्यात्मिक द्वार, परमानन्द र ब्रम्हज्ञानको मूलकेन्द्र सहश्रार चक्र

                        डा. सिर्जना भण्डारी 

#अध्यात्म_दर्शन #जीवन_दर्शन 





विषय प्रवेश

मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डभित्र रहेका उर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)लाई ब्रम्हाण्डका समस्त शक्तिहरुको केन्द्र मानिन्छ । ब्रम्हाण्डिय उर्जाका मूलशक्ति केन्द्र यी सात चक्रहरुलाई सन्तुलित, सकृय तथा जागृत गरेर भौतिक र पराभौतिक जीवनका सबै दुःखहरुबाट निवृत्त भएर यही जीवनमै सांसारीक मोक्ष र पारमार्थिक मोक्ष दुवै हासिल गर्न सम्भव छ । प्रमुख रुपमा आध्यात्मिक द्वार, परमानन्द र ब्रम्हज्ञान हासिल गर्नमा सहश्रार चक्रको विशेष प्रकारको महत्व र सकारात्मक प्रभावकारीता रहेको हुन्छ । पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य र सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; दोस्रो स्वाधिष्ठान चक्र मनुष्यको मानसिक शरीरको खुशी र शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; तेस्रो मणिपुर चक्र मनुष्यको आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, इच्छाशक्ति, संकल्पशक्ति, पराक्रम, साहससंग सम्वन्धित छ; चौथो अनाहद चक्र मनुष्यको प्रेम केन्द्रित भावशक्ति, मैत्रीभाव, सम्बन्धसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; पाँचौ विशुद्धि चक्र मनुष्यको सिर्जनशिलता, वाक पटुता तथा वौद्धिकतासंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; छैठौं आज्ञा चक्र मनुष्यको इच्छापूर्ति, संकल्पशक्ति र कार्यसिद्धिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ र सातौं सहश्रार चक्र आध्यात्मिक द्वार, परमानन्द र ब्रम्हज्ञान हासिल गर्ने पराभौतिक तथा परालौकिक विषयसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ ।


सहश्रार चक्रको पृष्ठभूमि

संस्कृत वांमयमा सहश्रारको शाव्दिक अर्थ हजारको संख्या हो त्यसैले हजार कमलपत्र सहश्रार चक्रको प्रतिकको रुपमा देखाइन्छ  र सबै कमलपत्रहरु कुनै न कुनै दिव्य शक्ति तथा सिद्धिहरुसंग जोडिएका छन् । सहश्रार चक्र जागृत भएको मनुष्यले चक्र जागरणको तह तथा अवस्था अनुसार यस चक्रसंग सम्वन्धित शक्ति तथा सिद्धिहरु प्राप्त गर्दै जान्छ । तलबाट माथितिरको क्रमसंख्यामा सातौं तथा अन्तिम सहश्रार चक्रलाई हजार कमलपत्र भएको मुकुट(क्राउन) चक्र  भ्रमरन्द्र पनि भनिन्छ । शास्त्रीय परिभाषा अनुसार भ्रमरन्द्रको अर्थ मोक्षको द्वार, ईश्वर प्राप्तिको मार्ग, आध्यात्मिक संसारमा प्रवेश गर्ने द्वार को रुपमा लिने गरिन्छ । ऋषिहरूको मत अनुसार सहश्रार चक्र र आज्ञा चक्रलाई सनातन अध्यात्म दर्शनमा दशौं द्वारको रुपमा मानिएको छ जहाँबाट मनुष्यले आध्यात्मिक जगतमा प्रवेश पाउछ । मनुष्यको मृत्यु पश्चात दाहसंस्कार कर्ममा गरिने शिर तथा भ्रमरन्द्र फुटाउने संस्कार दशौं द्वारसंग सम्वन्धित विषय हो । मनुष्यको प्राण नौ वटा द्वार(दुई कान, दुई नाक, दुई आँखा, दुई मलमुत्र निश्काषन र एक मुख)मध्ये जहाँबाट गएको भएपनि शरीरमा अचेतन रुपमा प्राण थोरै पनि शेष रहेको छ भने भ्रमरन्द्रबाट जाओस र मृतव्यक्तिले मोक्ष प्राप्त गरोस भन्ने उद्देश्यले शिरको माथिल्लो भाग तथा भ्रमरन्द्रमा चिताको दाउराले हानेर चोट लगाइन्छ तथा टाउको फुटाइन्छ ।


सहश्रार चक्र मनुष्यको सुक्ष्म शरीरमा मेरुदण्डको अन्तिम बिन्दु तथा शिरको सबैभन्दा माथिल्लो भाग पुरुषहरुले टुप्पी राख्ने भुमरी परेको स्थान अर्थात भ्रमरन्द्रमा स्थित हुन्छ । सनातन शास्त्रहरूमा सहश्रार चक्रलाई अमृतको कलश(घडा) पनि भनिएको छ किनकि यही चक्र तथा यो चक्रसंग सम्वन्धित मनुष्यको भौतिक शरीरमा रहेको अति सुक्ष्म पिनियल ग्रन्थी(ग्ल्याण्ड)बाट ऋषिहरूले नामाकरण गरेको दिव्यरस अमृत तथा सोमरस निरन्तर टप्किन्छ र विशुद्धि चक्रमा गएर जम्मा भएर बस्छ । यही अमृत अर्थात् सोमरसलाई सुधापान गरेर देवताहरू अजर-अमर भएका हुन् र ऋषिमुनिहरू पनि यही अमृत तथा सोमरसको सुधापान गरेर ज्ञानवान, प्रज्ञावान, विवेकशील, चिर यौवन, स्वस्थ तथा दीर्घायु, प्रकाशित, वुद्धत् प्राप्त,  ब्रम्हज्ञानी,  बनेका हुन् । 


आधुनिक चिकित्सा विज्ञानले पनि मानेको तथा पत्ता लगाएको छ कि मनुष्यको मस्तिष्कमा एक प्रकारको विशेष द्रव्य रहेको हुन्छ जसलाई अंग्रजीमा 'शरिबो स्पाइनल फ्ल्युड' भनिन्छ, यो एक प्रकारको शरीरकालागि अति आवश्यक हरमोन हो । यही द्रव्यले मस्तिष्कका विभिन्न केन्द्र, अङ्ग तथा स्नायु प्रणालीहरूलाई पोषण तथा संरक्षण प्रदान गर्दछ । यो अमृत, सोमरस, दिव्यरस, द्रव्य तथा हर्मोन सहश्रार चक्र स्थित पिनियल ग्रन्थीबाट निरन्तर उत्पादन भइरहन्छ र सुषुम्ना नाडीको माध्यमबाट सूक्ष्म शरीरका सम्पूर्ण नाडीहरूमा सञ्चारित हुन्छ । यही द्रव्य तथा हर्मोनको माध्यमबाट मनुष्य शरीर र स्वास्थ्यका सबै आयामहरू स्वस्थ, सक्रिय, स्वच्छ र स्फुर्त रहन्छन् किनकी मनुष्यको पुरै शरीरलाई मस्तिष्कले सञ्चालन गर्दछ अथवा अर्को शव्दमा मस्तिष्कबाट आउने सन्देश तथा आदेशहरुलाई शरीरका विभिन्न अङ्गहरुले हुबहु अनुसरण गर्दछन् र शरीरका सबै नियमित प्रक्रियाहरु सुचारु हुन्छन् तर महत्वपूर्ण तथ्य यो हो कि मस्तिष्कलाई सञ्चालन गर्ने र सन्देश तथा आदेश दिने काम सहश्रार चक्रले गर्दछ । स्थुल शरीरका अङ्गहरूमा टाउको, मस्तिष्क, स्नायु प्रणाली, पिनियल तथा पिटियोटरी ग्रन्थी आदि सहश्रार चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् र मानसिक, भावनात्मक तथा चेतनात्मक रुपमा ज्ञान, प्रज्ञा, विवेक, स्वतन्त्र तथा खुल्ला सोच, खुशी, शान्ति, आनन्द, आस्तिकता, आध्यात्मिकता, परब्रम्ह तथा बम्हाण्डसंग्र एकाकार आदि सहश्रार चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् । सहश्रार चक्रले पुरै मस्तिष्क र मस्तिष्कका स्नायु प्रणालीहरुलाई एकसाथ जोडेर राख्छ, सबैतिर पोषण तथा संरक्षण प्रदान गर्छ र मनुष्यको शरीर, मन, भावना, चेतना सहि प्रकारले चल्न तथा व्यवस्थित हुन आवश्यक सन्देशहरु प्रवाह गर्दछ ।


सहश्रार चक्र मूलरुपमा मनुष्यको पारमार्थिक सत्यसंग सम्वन्धित आध्यात्मिक द्वार, परमानन्द र ब्रम्हज्ञानको केन्द्रविन्दु हो । सहश्रार चक्रले परमात्मातत्व तथा परमज्योति, परमप्रकाशको प्रतिनिधित्व गर्दछ । सहश्रार चक्रको अलग्ग वीज मन्त्र उल्लेख नगरिएको भएपनि यस चक्रकालागि स्वयं परब्रम्हको प्रणव ध्वनि तीन अक्षरको सम्योजन(आ+उ+म) ‘अक्षर ब्रम्ह’, ‘शव्द ब्रम्ह’ तथा ‘नाद ब्रम्ह’ ‘ॐ’कार कै उच्चाहरण गर्ने गरिन्छ र सहश्रार चक्रका देवता स्वयं भगवान शिव हुन् । सहश्रार चक्रले सात प्रमुख योगमध्य सांख्य योग, पंचकोषमा आनन्दमय कोष, त्रिगुणमा सत्व गुण, नवग्रहमा वृहस्पति ग्रह, स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरुमा पिनियल ग्रन्थी(पिटियोटरी ग्ल्यान्ड लगायत) र चेतनात्मक स्वास्थ्यको प्रतिनिधित्व गर्दछ । सहश्रार चक्रको रङ्ग निखरा सेतो, क्रिमी, फिका वैजनि तथा फिका गुलावी रंगमा देखाइन्छ । पराभौतिक विषयहरुमा आध्यात्मिक विकास, परमानन्दको प्राप्ति, ब्रम्हज्ञान हासिल सहश्रार चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् । 


सन्तुलित, सकृय तथा जागृत सहश्रार चक्र

सहश्रार चक्र सन्तुलित, सकृय तथा जागृत भएको व्यक्तिको टाउकोका सबै अंगहरु, मस्तिष्क, स्नायु प्रणाली, पुरै शरीरको नर्भस सिस्टम, मानसिक, भावनात्मक तथा चेतनात्मक रुपले स्वस्थ, प्रवल स्मरण शक्ति, नयाँ कुरा सिक्ने तथा जान्ने उत्साह, स्वयंबाट प्रेरणा प्राप्ति, अत्यन्तै सिर्जनशील, सबै वातावरणमा मिल्न सके खुल्ला सोच तथा विचार भएको प्रभावशाली व्यक्तितित्व हुन्छ ।


छान्दोग्य उपनिषदमा उल्लेख गरिएको छ, "सहश्राार चक्र सन्तुलित, सकृय तथा जागृत भएको मनुष्यलाई सबै प्रकारका शक्ति, सिद्धि तथा निधिहरु हासिल हुन्छन् ।" सन्त कविरले भन्नु भएको छ, "हृदयवीच अनहद बाजे मस्तकवीच फवारा " यहाँ फवाराको मतलब सहश्रार चक्रका सिद्धिहरूको सन्दर्भमा भनिएको हो । सहश्रार चक्र जागरण भपछि साधकलाई आत्मज्ञान, तत्वज्ञान, ब्रह्मज्ञानको अनुभूति हुन्छ र सर्वोच्च ब्रम्हाण्डिय चेतना(सुपर कन्सिवसनेस अफ युनिभर्स)मा साधकको चेतना अर्थात् आत्मा पूर्णरूपमा एकाकार तथा समाहित हुन्छ । यसपश्चात ऊ सबै प्रकारका कर्मबन्धनहरूबाट मुक्त हुन्छ र मोक्ष प्राप्त गर्छ अर्थात परमात्मामा सदाकालागि योगस्थ हुन्छ । सहश्रार चक्र जागृत भएको व्यक्ति जीवित अर्थात भौतिक शरीरमा रहदा रहदै उसलाई मर्त्यलोक र ब्रह्मलोकको अनुभव तथा अनुभूति हुन्छ र उ भौतिक र पराभौतिक दुवै प्रकारका जीवन एकैसाथ जिइरहेको हुन्छ ।


सहश्रार चक्र प्रत्यक्ष रुपमा ब्रह्माण्डिय शक्तिसंग जोडिएको चक्र हो त्यसैले अस्तित्व तथा ब्रह्माण्डबाट पठाइएका सबै सन्देशहरु यही चक्रको माध्यमबाट साधकलाई प्राप्त हुन्छ । यही चक्रको ध्यान साधना गरेर ध्यान र समाधिको मार्ग हुदै साधकको व्यक्तिगत चेतना सर्वोच्च चेतना(सुपर कन्सिवस)संग एकाकार हुन्छ । त्यसैले मनुष्यको सहश्रार चक्रलाई सर्वोच्च चेतनाको केन्द्र तथा स्थान पनि भनिन्छ । जव मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डमा सबैभन्दा तल रहेको मूलाधार चक्रमा रहेको कुण्डलिनी शक्ति तथा ऊर्जा तलका सबै छ चक्रहरुलाई पार गर्दै सहश्रार चक्रमा पुग्छ तव साधकको कुण्डलिनी शक्ति पूर्ण रुपमा जागृत हुन्छ र यही सहश्रार चक्रको जागृत अवस्था तथा कुण्डलिनी शक्ति जागरणको अवस्था हो, यसपश्चात साधमलाई मोक्ष तथा निर्वाण(लिवरेसन) प्राप्ति हुन्छ । सहश्राार चक्र सन्तुलित, सकृय तथा जागृत भएपछि साधक आफूलाई ब्रह्माण्ड र ब्रह्माण्डका सबै प्राणी, जीव, वनस्पति तथा पदार्थहरूसंग जोडिएको तथा एकाकार भएको, सबैमा आफू समाहित भएको तथा आफूमा सबै समाहित भएको अनुभव तथा अनुभूति गर्न थाल्छ । प्राणी, जीव, वनस्पति, पदार्थ हरेकसंग उ संवाद गर्न, तिनीहरुको समवेदना आफूले सुन्न र आफ्नो समवेदना तिनीहरूलाई सुनाएर प्रत्यक्ष दोहोरो संवाद गर्नसक्छ । उसलाई राम्रोसंग पूर्ण ज्ञात हुन्छ कि जुन चेतना तथा आत्माको ऊर्जा उभित्र छ सबैभित्र त्यही चेतना तथा आत्माको ऊर्जा छ र सबैमा भएको उर्जा परमात्माको उर्जा हो, हामी सबै परमात्मा हौं अर्थात अद्वेत छौं, यहाँ कोहीबाट कोही पनि कत्तिपनि अलग छैन सबै एउटै उर्जाबाट निर्मित भएका हौं ।


शारीरिक रुपमा शिरको सवभन्दा माथिल्लो भाग अर्थात भ्रमरन्द्रमा केही सलबलाए जस्तो तथा कमिला हिडेको जस्तो महसुस हुनु; स्पन्दन तथा धड्कन भएको जस्तो महसुस हुनु; टिकटिक आवाज आएको जस्तो महसुस हुनु; शिरमा तातो, चिसो भएको जस्तो महसुस हुनु; शिर पछाडि खिचिनु तथा पछाडि झुक्नु आदि लक्षणहरु सबै सहश्रार चक्रमा भएका सकारात्मक गतिविधिहरु हुन्, सहश्रार चक्र सकृय तथा जागृत भइरहेको अवस्था हो । मानसिक रुपमा सांसारिक कुराहरूसंग अलगाव हुनु; नाता, सम्बन्ध, मित्रहरूबाट दूर भएर एकान्तमा बस्न मन लाग्नु; निन्द्रामा परिवर्तन हुनु; आहार, विहार, व्यवहारमा परिवर्तन तथा बदलाव आउनु; असहजता तथा तनावपूर्ण अवस्थामा पनि शान्त भएर बस्नु; हरसमय आनन्दित तथा मस्त मगन हुनु; अस्तित्वद्वारा निरन्तर दिशा निर्देश प्राप्त हुनु; आफूमा त्याग, सेवा, परोपकार, दया, करुणाको भावना जागृत हुनु आदि सबै चक्रमा जागृत आइरहेको कारण देखापर्ने सकारात्मक लक्षणहरु हुन्, यदि यस्तो अवस्था अनुभवमा आइरहेको छ तथा अनुभूति भैरहेको छ भने सहश्रार चक्र सन्तुलित छ र यसमा क्रमिक रुपमा सकृयता तथा जागृति आइरहेको छ भनेर बुझ्नुपर्छ ।


असन्तुलित, निष्कृय तथा अति सकृय सहश्रार चक्र

सहश्रार चक्र असन्तुलित, निष्कृय तथा संकुचन(ब्ल्क्ड)भएको छ भने यस्तो व्यक्तिलाई नियमित रूपमा रिंगटा लाग्ने; पुरै टाउको तथा आधा टाउको(माइग्रेन) दुख्ने; टाउको सम्वन्धि अन्य प्रकारका समस्याहरु हुने; न्युरो सिस्टम तथा नर्भस सिस्टममा समस्या आउने; निन्द्रामा गडबडी आउने; छिट्टै थकान महसुस हुने; बेचैनी, उदासी, चिन्ता, तनाव, अवसादको अवस्था हुने; स्मरण शक्तिमा कमी आउने; बारबार भ्रमित(कन्फ्युजन) हुने जस्ता समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखा पर्दछन् । यसकासाथै उत्साह तथा प्रेरणाशक्तिमा कमी आउने; असन्तुष्टि, बेखुसी भैरहने, दिक्क लाग्ने, नरमाइलो लाग्ने; जीवनमा आउने नियमित तथा प्राकृतिक परिवर्तनप्रति असन्तुष्टि तथा असहमति राख्ने; निराशा र नास्तिक भावको विकास हुने; अध्यात्म तथा धर्ममा रुचि नहुने; अरुप्रति सेवा उपकार, दया, करुणा भाव नजाग्ने; अरुको भलाई हुने कार्यहरु गर्नमा रुचि नहुने; आफ्नै जीवनप्रति उदाषिन हुने तथा वास्ता नहुने, रुचि घट्ने; नाता-सम्वन्धप्रति गैर जिम्मेदार हुने जस्ता असहज अवस्थाहरु देखिन्छन् ।


सहश्रार चक्र सन्तुलित, सकृय तथा जागृत गर्ने उपाय

सानासाना गतिविधिहरुलाई निष्ठतापूर्वक अनुशरण गरेर सहश्रार चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत गर्न सकिन्छ ।

ॐकारको जप गरेर- सहश्रार चक्रको अलग्ग वीज मन्त्र उल्लेख नगरिएको भएपनि यस चक्रकालागि स्वयं परब्रम्हको प्रणव ध्वनि तीन अक्षरको सम्योजन(आ+उ+म) ‘अक्षर ब्रम्ह’, ‘शव्द ब्रम्ह’ तथा ‘नाद ब्रम्ह’ ‘ॐ’कार कै उच्चाहरण गर्ने गरिन्छ । ध्यान साधनामा बस्नु र ॐकारको उच्चाहरण शुरु गर्नु भन्दा पहिला सहश्रार चक्र तथा शिरको माथिल्लो भागमा चार औंलाले केहीबेर थपथपाउदा उक्त स्थानमा रक्तसंचार र उर्जाको प्रवाह बढ्छ र यसपश्चात ॐकारको उच्चाहरण शुरु गर्दा सहश्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह अझ तेजीले बढ्छ । ॐकारको जप मन्त्रोच्चाहरण गर्दा उत्पन्न हुने तरंगहरुले शिर तथा मस्तिष्कका अंग-अंग र स्नायु प्रणालीहरुमा सकारात्मक उर्जाको प्रवाह बढाउछन् र सहश्रार चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन मद्दत मिल्छ ।


ध्यान साधनाको फरक-फरक विधिहरूको अभ्यास गरेर- ध्यान साधनाका फरक-फरक विधिहरूको अभ्यास गरेर सहश्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउन सकिन्छ । प्रमुखरुपमा ध्यानका मूल दुइ विधिहरु रहेका छन्- (१)साक्षी ध्यान(माइन्डफुलनेस), र (२)विषय केन्द्रित ध्यान । साक्षी ध्यान वर्तमान समयमा आफू वरपर भैरहेका समग्र गतिविधिहरुप्रति जागरुग भएर तथा ती सबै गसितविधिहरुको साक्षी भएर गर्ने गरिन्छ भने विषय केन्द्रित ध्यान विविध प्रकारका धारणाहरु- मन्त्रोच्चाहरण, तथ्य साधना(शरीरका अंगमा केन्द्रित), कथ्य साधना(कुनै स्थान, वस्तु, छविमा केन्द्रित), सत्य साधना(परमात्मा, आराध्य तथा इष्टदेव केन्द्रित) आदिमा ध्यान साधना गरिन्छ । ध्यानका फरकपरक विधिहरुबाट उत्पन्न हुने तरंगहरुले शिर तथा मस्तिष्कका अंग-अंग र स्नायु प्रणालीहरुमा सकारात्मक उर्जाको प्रवाह बढाउछन् र सहश्रार चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन मद्दत मिल्छ ।


आफूलाई राम्रा सन्देश तथा आत्मसुझाव दिएर- ध्यान साधनामा आफूलाई राम्रा सन्देश तथा आत्मसुझाव दिनु अत्यन्तै प्रभावकारी हुन्छ । जस्तो कि म स्वस्थ छु..., म सुखी छु..., म खुशी छु..., म शान्त छु..., म आनन्दि छु..., म परमात्माप्रति समर्पित छु..., म परमात्माको साथ एकाकार छु..., मलाई परमात्माको आशिर्वाद प्राप्त छ आदि सकारात्मक सन्देशहरु बारबार दोहोर्यारहदा मस्तिष्कमा गएर अवचेतन मनमा संचित हुन्छन्, यस्ता सकारात्मक सन्देशहरुले अवचेतन मनमा सकारात्मक सोच, विचार तथा व्यवहारहरु निर्माण गर्दछन् र त्यही अनुसार मनुष्यको व्यवहार, मन, भाव, कर्म हुदै जान्छ  सबै सकारात्मक बन्दै जान्छ  यसरी सकारात्मक कर्महरूमा मनुष्यको जीवन संलग्न हुदै जान्छ र स्वतः सुख, खुशी, शान्ति र आनन्दको भाव बढ्दै जान्छ । आफूमा आएका सकारात्मक व्यवहार तथा कर्महरुबाट प्राप्त आनन्दले सहश्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउछन् र चक्रलाई सन्तुलित, स्वस्थ, सकृय तथा जागृत गर्न मद्दत गर्दछन् ।


पूर्ण तथा अर्ध उपवास बसेर- आफ्नो दैनिक अवस्था तथा व्यवस्था मिलाएर पूर्ण उपवास, अर्ध उपवास(इन्टरमिटेन्ट फस्टीगं) राख्नु सहश्रार चक्र सन्तुलित राख्नकालागि अत्यन्त लाभदायक हुन्छ । उपवास राख्दा शरीरमा भोजनको भार कम हुन्छ र शरीरले पाचन प्रणालीमा लाग्ने समय तथा उर्जा बचत गर्दछ । शरीरको प्राकृतिक नियम अनुसार यसरी वचत भएको उर्जा उध्र्वगमन भएर मस्तिष्कमा पुग्छ, शिरका अंगहरु तथा सहश्रार चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढ्न थाल्छ र चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन मद्दत मिल्छ ।


 

पूर्ण तथा अर्ध उपवास बसेर- आफ्नो दैनिक अवस्था तथा व्यवस्था मिलाएर पूर्ण उपवास, अर्ध तथा व्यवस्थित उपवास(इन्टरमिटेन्ट फास्टीगं) राख्नु सहश्रार चक्र सन्तुलित राख्नकालागि अत्यन्त लाभदायक हुन्छ । उपवास राख्दा शरीरमा भोजनको भार कम हुन्छ र शरीरको पाचन प्रणालीमा लाग्ने समय तथा उर्जा बचत हुन्छ । शरीरको प्राकृतिक नियम अनुसार यसरी वचत भएको उर्जा उध्र्वगमन भएर मस्तिष्कमा पुग्छ, शिरका अंगहरु तथा सहश्रार चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढ्न थाल्छ र चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन मद्दत मिल्छ ।


योग विज्ञानको साधना गरेर- योग विज्ञानको साधना अन्तर्गत योगासनमा शीर्षासन, सर्वाङ्गासन, हलासनको प्रयोगात्मक साधना गर्नु लाभदायक हुन्छ । यस्ता उधोमुन्टो लगाउने प्रकारका योगासनहरुले शिर तथा शिरका हरेक अंगहरु र स्नायु प्रणालीमा रक्तसंचार बढाउँछन् । शिरका सबै अंग तथा भागहरुमा बढेको रक्तसंचारले सहश्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढ्दै जान्छ र चक्रका संकुचन तथा जकडनहरु खुल्न थाल्छन् र चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन थाल्छ । अनुलोमविलोम प्राणायामले मस्तिष्कमा प्राणवायु तथा अक्सिजनको मात्रा बढाएर सहश्रार चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउछ । सिद्ध योगगुरुको सानिध्यमा रहेर तथा गुरु ज्ञानको निष्ठापूर्वक अनुशरण गरेर खेचरी मुद्राको अम्मासको माध्यमबाट अमृत तथा सोमरसको सुधापान गर्दा साधकमा परमानन्द बढ्दै जान्छ र यसरी बढेको परमानन्दले सहश्रार चक्रलाई सन्तुलित, स्वस्थ, सकृय तथा जागृत गर्न मद्दत गर्दछ ।


प्राकृतिक वातावरणको आनन्दमा रमेर- सूर्यको प्रकाश तथा तापमा बस्नु, ताजा हावा तथा वातावरणमा श्वाश-प्रश्वास फेर्नु, सादा तथा ताजा पानीमा समय लगाएर आनन्दको अनुभूति गर्दै स्नान गर्नु, प्राकृतिक सुन्दरता खासगरी हरियाली, निलो आकाश तथा जलाशयहरूको सुन्दर दृश्यको अवलोकन गर्नु, साहसिक भ्रमण गर्नु, खुल्ला प्राकृतिक वातावरण तथा स्थानमा यात्रा गर्नु, प्रकृतिको भरपुर आनन्द लिनु जस्ता साहसिक, रमणीय तथा रोमाञ्चक गतिविधिहरुबाट प्राप्त हुने सुख, खुशी, शान्ति तथा आनन्दका भावहरुले सहश्रार चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढाउछन् र सहश्रार चक्रलाई सन्तुलित, स्वस्थ, सकृय तथा जागृत गर्न मद्दत गर्दछन् ।


आफूभन्दा ठूलाको आशिर्वाद लिएर- आफूभन्दा ठूला परिवारका, समाजका सदस्यहरु तथा साधु, सन्त, योगी, सदगुरुहरुको आशिर्वाद लिनु सहश्रार चक्रकालागि लाभदायक हुन्छ । ठूला व्यक्तित्वहरु खासगरि अन्तरज्ञान हासिल गरेका साधु, सन्त, योगी, सदगुरु तथा सिद्ध पुरूषहरुको हात शिरमाथि पर्दा तथा वहाँहरुको चरणमा शिर निहुर्याउदा सिद्ध पुरुषहरुको हात तथा गोडाका औंलाबाट संचारीत हुने सकारात्मक दिव्य ऊर्जाका तरङ्गहरुले सहश्रार चक्र र आज्ञा चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढाउछन् र यस्तो उर्जाले दुवै चक्रहरुलाई सन्तुलित, स्वस्थ, सकृय तथा जागृत गर्न मद्दत गर्दछ ।      bsirjana@gmail.com