'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 17 February 2025

इच्छापूर्ति, संकल्पशीलता र कार्यसिद्धिको मूलकेन्द्र आज्ञा चक्र

                                            डा. सिर्जना भण्डारी 



#अध्यात्म_दर्शन #जीवन_दर्शन 

 

विषय प्रवेश

मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डभित्र रहेका उर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)लाई ब्रम्हाण्डका समस्त शक्तिहरुको केन्द्र मानिन्छ । ब्रम्हाण्डिय उर्जाका मूलशक्ति केन्द्र यी सात चक्रहरुलाई सन्तुलित, सकृय तथा जागृत गरेर भौतिक र पराभौतिक जीवनका सबै दुःखहरुबाट निवृत्त भएर यही जीवनमै सांसारीक मोक्ष र पारमार्थिक मोक्ष दुवै हासिल गर्न सम्भव छ । प्रमुख रुपमा मनुष्यको अन्तरज्ञान(इन्ट्युसन), विचारशक्ति, इच्छापूर्ति, संकल्पशीलता र कार्यसिद्धिमा आज्ञा चक्रको विशेष प्रकारको महत्व र सकारात्मक प्रभावकारीता रहेको हुन्छ । पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य र सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; दोस्रो स्वाधिष्ठान चक्र मनुष्यको मानसिक शरीरको खुशी र शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; तेस्रो मणिपुर चक्र मनुष्यको आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, इच्छाशक्ति, संकल्पशक्ति, पराक्रम, साहससंग सम्वन्धित छ; चौथो अनाहद चक्र मनुष्यको प्रेम केन्द्रित भावशक्ति, मैत्रीभाव, सम्बन्धसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; पाँचौ विशुद्धि चक्र मनुष्यको सिर्जनशिलता, वाक पटुता तथा वौद्धिकतासंग प्रत्यक्ष रुपमा सम्वन्धित छ र छैठौं आज्ञा चक्र मनुष्यको अन्तरज्ञान, विचारशक्ति, इच्छापूर्ति, संकल्पशीलता र कार्यसिद्धिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ ।


आज्ञा चक्रको पृष्ठभूमि

तलबाट माथितिरको क्रमसंख्यामा छैठौं आज्ञा चक्रलाई सन्तहरूको मतअनुसार दिव्य चक्षु, शिव नेत्र, तेस्रो आँखा(थर्ड आइ) तथा ‘दशम द्वार’ पनि भनिन्छ । आज्ञा चक्र दुई चर्म चक्षु(छालाका आँखा) तथा दुई आँखीभौं अर्थात भ्रुमध्यको विचको सिधा मेरुदण्डको उपरी भाग मस्तिष्को केन्द्रमा स्थित हुन्छ । आज्ञा चक्र मूलरुपमा मनुष्यको अन्तरज्ञान, इच्छापूर्ति र संकल्पशीलताको केन्द्रविन्दु हो । आज्ञा चक्रलाई दृश्य रुपमा दुईवटा कमल पत्रको प्रतिकको रुपमा देखाइन्छ तर त्यसको पछिाडि ९८ वटा कमलपत्रहरु अदृश्य रुपमा रहेका हुन्छन् र यी सबै पत्रहरुको आ-आफ्नै अर्थ, मन्त्र र सिद्धिहरु रहेका छन् । आज्ञा चक्रले आत्म तत्व तथा प्रकाश तत्वको प्रतिनिधित्व गर्दछ र यो चक्रको वीज मन्त्र सर्वव्यापक, सर्वशक्तिमान स्वयं परमात्मा अर्थात परब्रम्हको प्रणव ध्वनि तीन अक्षरको सम्योजन(आ+उ+म), ‘अक्षर ब्रम्ह’, ‘शव्द ब्रम्ह’ तथा ‘नाद ब्रम्ह’ ‘ॐ’कार हो । आज्ञा चक्रले सात प्रमुख योगमध्य ध्यान योग, पंचकोषमा आनन्दमय कोष, त्रिगुणमा सत्व गुण, नवग्रहमा शनि ग्रह, बाह्र राशिमा कर्कट र सिंह राशि, स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरुममा पिटियोटरी ग्रन्थी(ग्ल्यान्ड) र आत्मिक स्वास्थ्यको प्रतिनिधित्व गर्दछ । आज्ञा चक्रको रङ्ग गाडा निलो(निर) हुन्छ र शरीरका अङ्गहरूमा आँखा, नाक, टाउको, मस्तिष्क तथा स्नायु प्रणली, पिटियोटरी ग्रन्थी आदि आज्ञा चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन् ।

 

सन्तुलित, सकृय तथा जागृत आज्ञा चक्र

आज्ञा चक्र सन्तुलित, सकृय तथा जागृत छ भने यस्तो व्यक्ति अन्तरज्ञानी, दूरदर्शी, कुशल र संकल्पवान हुनुका साथै ज्ञानवान, प्रज्ञावान, विवेकशील तथा कुशाग्र वुद्धि भएको हुन्छ । उसको सोच्ने, विचार गर्ने, कल्पना गर्ने शक्ति, क्षमता तथा कार्यकुशलता उच्च हुन्छ र उसले निर्माण गरेका हरेक योजना र कार्यहरुको प्रभावकारीता उच्चतम हुन्छ । उसका ज्ञान इन्द्रियहरुको देख्ने, सुन्ने, सुघ्ने, स्पर्श अनुभव गर्ने, स्वाद लिने क्षमता प्रवल हुन्छ । उसमा आफूले गरेका कल्पना, आफूले देखेका सपना तथा निर्माण गरेका योजनाहरु पूरा गर्ने अदम्य साहस र भरपुर क्षमता हुन्छ । चेहरा चम्किलो, उज्यालो, सुन्दर र उच्च व्यक्तित्व भएको हुन्छ । यस्तो व्यक्ति अत्यन्तै चलाख तथा जागरुक(अवेर) हुन्छ र उसमा एकाग्र हुने क्षमता, हरपल होसपूर्ण रहन सक्ने क्षमता, साक्षीभाव(माइन्डफुलनेस) तथा वर्तमानमा रहन सक्ने क्षमता अत्यन्त राम्रो हुन्छ । जति मात्रामा व्यक्ति जागरुक, साक्षी तथा वर्तमानमा रहन सक्छ उसको आज्ञा चक्र उति नै सन्तुलित, सकृय तथा जागृत हुन्छ । आज्ञा चक्र सकृय तथा जागृत भएको व्यक्तिमा सांसारीक जगतसंग सम्वन्धित धेरै प्रकारका शारीरिक, मानसिक, भावनात्मक तथा चेतनात्मक क्षमताहरु प्रष्फुटित हुनुको साथसाथ परालौकिक जगतसंग सम्वन्धित दिव्य शक्ति तथा सिद्धिहरू अनुभूतिमा आउन थाल्छन् । यस्तो व्यक्तिले सजिलै आफ्ना कुरा अरुलाई सम्झाउन, बुझाउन र मनाउन सक्छ  सजिलै अरुको मस्तिष्क, विचार तथा मनका कुरा पढ्न तथा जान्न सक्छ । परालौकिक दिव्य शक्ति हासिल हुनेहुनाले सुक्ष्म शरीरको माध्यमबाट आकाशिय यात्रा(एष्ट्रल ट्राभल) गर्न सक्षम हुन्छ ।

 
असन्तुलित, निष्कृय तथा अति सकृय आज्ञा चक्र

लुकिछिपि, अरुबाट लुकाएर, छलेर तथा चोरीको शैलीमा गरिएका गलत तथा अनैतिक, अपराध बोध हुने, आत्मग्लानी हुने, प्राश्चियत हुने जस्ता काम, व्यवहार तथा गतिविधिहरुले आज्ञा चक्रमा ऊर्जाको नकारात्मक प्रवाह बढाउछ र चक्र असन्तुलित, अस्वस्थ, निष्कृय तथा अति सकृय हुन्छ । आज्ञा चक्र कमजोर, असन्तुलित तथा निष्कृय छ भने शारीरिक रुमिा काम्ने, आँखा, नाक, टाउको, मस्तिष्क, स्नायु प्रणाली तथा मानसिक अवस्थासंग सम्वन्धित समस्या, विकार, अस्वस्थता तथा रोगहरू देखा पर्दछन् । मानसिक समस्या अन्तर्गत सामान्यतया अति धेरै नकारात्मक विचारहरु आउने, भुल्ने बिमारी, तनाव, चिन्ता, अवसादको अवस्था आउने र निन्द्रामा समस्या देखिन सक्छ । आज्ञा चक्र जागृत गर्ने क्रममा जबरजस्ती तथा असावधानीका कारणआवश्यक नकारात्मक किसिमले उर्जाको प्रवाह ज्यादा भयो भने चक्र ज्यादा सकृय हुन्छ र यस्तो अवस्थामा व्यक्ति क्रोधि, कामुक हुन सक्छ, भावनात्मक समवेदनाहिन हुनसक्छ । यस्तो क्ष्क्तिले आफ्नो मात्र भलाई हेर्ने, अरुको भावनाको संवेदना नबुझ्ने तथा अरुको भावनाको कदर नगर्ने ,अरुको भावनाको संवेदना बुझ्न प्रयास नै नगर्ने स्वार्थी प्रकारको हुन्छ। आज्ञा चक्र वुद्धिको केन्द्र हो, चक्र ज्यादा सकृय भएको अवस्थामा व्यक्तिमा अति अहंकार, अहमता तथा म नै सर्वेसर्वा हुँ भन्ने मपाईंवादी व्यवहार देखिन सक्छ । आज्ञा चक्र ज्यादा सकृय भएको व्यक्ति रुखो बोल्ने, कठोर व्यवहार भएको, दिमागबाट चल्ने, भावना शुन्य प्रकारको हुन्छ । यस्तो व्यक्तिलाई टाउको दुख्ने, काम्ने, बिर्सिने, मानसिक तथा भावनात्मक असन्तुलन हुने जस्ता समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखिन्छन् । 


आज्ञा चक्र सन्तुलित, सकृय तथा जागृत गर्ने उपाय

मनुष्यका सारा सम्भावना, क्षमता, प्रतिभा तथा सिर्जनशीलताहरु उसको सुक्ष्म शरीरमा रहेका उर्जाका मूलशक्ति केन्द्र सात चक्रहरुमा उचित वातावरणको अभावमा निष्कृय तथा सुसुप्त अवस्थामा रहेका हुन्छन् । यी सात चक्रहरु मनुष्यको उमेर सात वर्षको हुन्जेलसम्म खुल्ला अवस्थामा रहेका हुन्छन् र सात वर्षपछि प्राकृतिक रुपमा स्वतः बन्द हुन्छन् तर सात वर्षभित्रै वाल्यावस्थामै चक्र जागरणको प्रकृया शुरु गराइदिने हो भने चक्र जागरण प्रकृयाले निरन्तरता पाउछ र चक्र सधैं खुलिरहन्छन् साथै निरन्तर सन्तुलित, सकृय र जागृत भैरहन्छन् र जागृत चक्रहरुको सकारात्मक लाभ उसलाई जीवनभर प्राप्त भैरहन्छ । मनुष्यको सात वर्षको उमेरपछि चक्रहरु प्राकृतिक रुपमा  स्वतः बन्द भएपनि यी चक्रहरु केही मात्रामा सकृय तथा जागृत अवस्थामा नै हुन्छन् र यीनमा प्रकृति प्रदत्त आधारभूत ऊर्जा संचारीत भैरहेको हुन्छ । तसर्थ सबैले यो थाहा पाउनु अनिवार्य हुन्छ कि सनातन पुर्वीय अध्यात्म दर्शनले दशौं हजार वर्षअघिनै उजागर गरिसकेको सर्वकाल सान्दर्भिक भैरहेको अत्यन्तै महत्वपूर्ण विषय चक्रहरुमा विभिन्न साधना पद्धतिहरुको माध्यमबाट सकारात्मक ऊर्जाको प्रवाह बढाएर चक्रमा निहीत निष्कृय तथा सुसुप्त अवस्थामा रहेका सबै प्रकारका सम्भावना, क्षमता, प्रतिभा, सकारात्मक गुण तथा सिर्जनशीलताहरु जाग्रीत गर्न र जीवनमा त्यसको उच्चतम सदुपयोग गर्न सकिन्छ । जुनसुकै उमेर, लिंगका व्यक्तिहरुले जुनसुकै समयमा यसरी चक्रहरुमा सकारात्मक उर्जाको प्रवाह बढाएर चक्र सन्तुलित, सकृय तथा जागृत गरि आफ्ना सारा सकारात्मक गुणहरु स्वस्फुर्त रुपमा वाहिर प्रष्फुटित गर्न सकिन्छ ।


आज्ञा चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउन तत्कालिन वातावरण भन्दा अलग प्रकारको चुनौति खडा गर्नु पर्दछ । उदाहरणले बुझौं, ऐतिहासिक हिन्दु धार्मिक कथा रामायणमा उल्लेख गरिए अनुसार भगवान श्री हनुमानजीले आफूमा अन्तरनिहीत आफ्ना सम्भावना, शक्ति, सिद्धि तथा निधिहरु भुल्नु भएको थियो, उचित अवसर तथा चुनौति नआएका कारण सबै शक्तिहरु निष्कृय तथा सुसप्त अवस्थामा रहेका थिए तर जव वहाँको अगाडि रावणसंग भएको युद्धमा विभिन्न प्रकारका चुनौतिहरु खडा भए तव वहाँलाई प्रभु श्री रामद्वारा वहाँका क्षमता तथा प्रतिभाहरुको स्मरण दिलाइयो तव वहाँले बिर्सिनु भएका सुक्ष्म शरीरका चक्रहरुमा सुसुप्त तथा निष्कृय अवस्थामा रहेका वहाँका सम्पूर्ण सम्भावना, शक्ति, सिद्धि तथा निधिहरु जागृत भए र रावणसंगको युद्धमा आफ्ना आराध्य प्रभु रामलाई विजय प्राप्त गर्न अद्वितिय सहयोग गर्नुभयो । भगवान श्री हनुमानजीका सुक्ष्म शरीरका चक्रहरुमा सुसुप्त तथा निष्कृय अवस्थामा रहेका असिमित क्षमता, प्रतिभा, शक्ति, शिद्धि तथा निधिहरु उचित वातावरण मिलेपछि जागृत भए जस्तै मनुष्यको सुक्ष्म शरीरका चक्रहरुमा सुसुप्त तथा निष्कृय अवस्थामा रहेका, उसले बिर्सिएका उसका असिमित क्षमता तथा प्रतिभाहरु चक्र जागरणको माध्यमबाट वाहिर प्रष्फुटित भएर आउन सक्छन् । मनुष्यले आफूभित्रै रहेका आफ्ना असिमित सम्भावना, क्षमता, प्रतिभा तथा सकारात्मक गुणहरुका सम्वन्धमा अनभिज्ञ रहेकै कारण आज विभिन्न प्रकारका दुःख, पिडा, तनाव, चिन्ता, अभाव, रोग, शोकको अवस्थाबाट गुज्रिनु परिरहेको हो । सुक्ष्म शरीरमा रहेका उर्जाका मूलशक्ति केन्द्र चक्रहरु जागरण गरेर यो कमजोर तथा नकारात्मक अवस्थाबाट सकारात्मक अवस्था आफू स्वयंले निर्माण गर्न सकिन्छ ।


 अझ स्पष्ट पार्ने अर्को उदाहरणले पनि बुझौं, हामी सबै मनुष्यहरुको प्रत्यक्ष अनुभव रहेको छ कि हाम्रो दाहिने हातमा केही समस्या भयो भने हामी समक्ष हरहालमा देब्रे हातले दाहिने हातले गरिरहेका कार्यहरु गर्नैपर्ने चुनौति खडा हुन्छ र प्रारम्भिक चरणमा मुस्किल भएपनि विस्तारै देब्रे हातमा ती कार्यहरु सहजै गर्न सक्ने क्षमता वृद्धि हुदै जान्छ । ठिक यही अवस्था चक्रहरुको पनि हो अर्थात जव चक्रहरुमा चुनौति आइपर्छ तव तीनले हाम्रालागि अर्को राम्रो विकल्प दिन तयार हुन्छन् । यस्तो अवस्थामा कसरी ती चुनौतिहरुको सामाना तथा व्यवस्थापन गर्ने र चक्रहरुमा सकारात्मक उर्जाको प्रवाह बढाएर चक्रहरु सन्तुलित, सकृय तथा जागृत गर्ने भन्ने उपायहरुको खोजी र तीनको अनुशरण गर्नु प्रमुख तथा महत्वपूर्ण विषय हो ।
 

आज्ञा चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउनहाम्रा चर्म चक्षुले निरन्तर वाहिरका भौतिक वस्तु मात्र हेर्दछन् र हाम्रो चेतनाको उर्जा वाहिरको संसारका विभिन्न विषयहरुमा छरिन्छ । हरेक दिन नियमित रुपमा केही समय चर्म चक्षुलाई बन्द गरेर मन र आँखाको पुतलिलाई आँखीभौंकोविचमा आज्ञा चक्र स्थित क्षेत्र भ्रुमध्यमा केन्द्रित गर्ने अभ्यास गर्दा वाहिरको संसारमा छरिएको हाम्रो चेतनाको उर्जा एकत्रित भएर आफैंतिर फर्कन्छ । यो अभ्यासकालागि सर्वप्रथम आँखाको पुतलिलाई स्थिर गर्ने अभ्यास गर्नु आवश्यक हुन्छ । आँखाको पुतलि स्थिर गर्न कुनै सहज आसनमा बसेर तथा सवासनमा पल्टेर योग साधनाको त्राटक(आकाश, दिप आदि) विधिको प्रयोगात्मक अभ्यास गर्नु प्रभावकारी हुन्छ । त्राटक साधनाको अभ्यास गर्दा आँखा तथा आँखाको पुतलिमा परेको जोड तथा दबाबले आज्ञा चक्र क्षेत्रका नसनाडीहरु तरंगित हुन्छन् र आज्ञा चक्रमा ऊर्जाको सकारात्मक प्रवाह बढ्न थाल्छ । आज्ञा चक्रमा सकारात्मक उर्जाको प्रवाह बढ्दा मस्तिष्कका सबै स्नायु प्रणालीहरूमा प्रत्यक्ष रुपमा विभिन्न प्रकारका सकारात्मक तरङ्गहरू पैदा हुन्छन् । यो प्रकृयाले आज्ञा चक्र सन्तुलित, स्वस्थ, सकृय, तथा जागृत हुन मद्धत गर्दछ । त्राटक साधनालाई अझ प्रभावकारी बनाउन त्राटक क्रिया संगसंगै आज्ञा चक्रको वीज मन्त्र प्रणव ध्यनि 'ॐ'कारको मानसिक जाप गर्नु उपयुक्त हुन्छ 'ॐ'कारलाई 'अक्षर ब्रह्म', 'शब्द ब्रह्म' र 'नाद ब्रह्म'को रुपमा स्मरण गर्दै । त्राटकको अभ्यास गर्दा आँखा थाक्यो भने एकछिन आँखा झिम्क्याएर तथा चिम्लेर फेरि त्राटकको क्रिया सुरु गर्नुपर्छ ।  

 

आज्ञा चक्र जागरणका सकारात्मक प्रभाव र उच्चतम सदुपयोग

आज्ञा चक्र जागरण गर्दा हुने भौतिक तथा पराभौतिक लाभहरू धेरै छन् जो सहज, सरल तथा सफल जीवनकालागि अत्यन्तै उपयोगी हुन सक्छन् तर सहि तरिका तथा सावधानी नअपनाएको खण्डमा यसले हानि पनि गर्न सक्छ र कतिपय अवस्थामा खतरनाक पनि सावित हुन सक्छ ।  

आफूलाई र अरुलाई सन्देश सम्प्रेषण गर्न- आज्ञा चक्र वुद्धि, इच्छापूर्ति र संकल्पशीलताको केन्द्र भएकोले आज्ञा चक्रमा ध्यान लगाएर आफ्नो तथा अरुकालागि गरिएका सबै प्रकारका सोच तथा विचारहरु जीवनमा विस्तारै पूरा गर्न सकिन्छ । जागृत आज्ञा चक्रको शक्ति असिमित हुन्छ, यस चक्रको सकारात्मक उर्जा आफू र अरुको जीवनमा सहजता, सरलता, सफलता हासिल गर्न अत्यन्तै उपयोगी र प्रभावकारी हुन्छ । तर जति उपयोगी छ यसको उपयोगको उचित तरिका जानिएन तथा दुरुपयोग गरियो भने त्यति नै खतरनाक पनि हुन सक्छ । आफूलाई र अरुलाई कुनै विचार, सल्लाह तथा सन्देश सम्प्रेषण गर्न, सल्लाह सुझाव दिन, बिग्रेको अवस्था तथा व्यक्तिलाई सही व्यवहारमा, सही बाटोमा ल्याउन, कुनै विषयबारे केही कुरा तथा काम सिकाउन आफ्नो आज्ञा चक्रमा औंलो राखेर तथा आज्ञा चक्रमा ध्यान पुर्‍याएर नजिक रहेका व्यक्तिलाई आँखामा आँखा जुधाएर मौखिक रुपमा र टाढा रहेको जोसुकै व्यक्तिलाई उसलाई इगींत गरेर मानसिक रूपमा सल्लाह, सन्देश तथा आदेश दिन सकिन्छ। यसरी दिइएको सन्देशको तरङ्ग उसम्म पुग्छ र ढिलोचाँढो उसले यो सन्देश ग्रहण तथा अनुसरण गर्छ र त्यसै अनुसार आफ्नो व्यवहार तथा काम गर्नथाल्छ ।
 

आफैंलाई सकारात्मक आत्मसुझाव दिन-
आफैंलाई सकारात्मक आत्मसुझाव तथा राम्रा सन्देश दिन आज्ञा चक्रको सकारात्मक उर्जाको सदुपयोग गर्न सकिन्छ । आज्ञा चक्रमा ध्यान दिएर म ठिक छु, म ठिक छु, म ठिक छु, म ठिक छु...; म स्वस्थ छु, म स्वस्थ छु, म स्वस्थ छु...; म सक्रिय छु, म सक्रिय छु, म सक्रिय छु... म सत्य निष्ठ छु...; म सही छु...; म सकारात्मक छु... आदि सकारात्मक आत्मसुझाव तथा राम्रा सन्देशहरु मानसिक रुपमा बारबार दोहोर्याएर दिन सकिन्छ । आज्ञा चक्रमा ध्यान दिएर बारबार सन्देश दोहोर्याउदा सन्देश अवचेतन मनमा पुग्छ र अवचेतन मनमा पुनसंरचित(रिप्रोग्राम) हुन्छ । यसरी अवचेतन मनमा पुनसंरचित भएका सन्देशहरुको सकारात्मक प्रभाव विस्तारै सत्यरूपमा व्यवहारमा आउन थाल्छन् किनकि मनुष्यको मन तथा मनको अवस्था नै सबैथोक हो अर्थात उसको जीवनमा परिवर्त ल्याउने वाहक हो । अवचेतन मनमा पुगेका सन्देशहरुलाई मन तथा मानसिकताले पूर्णरूपमा ग्रहण गर्दछ र मनुष्यको मानसिक अवस्था त्यही किसिमले तयार दुदै जान्छ र जीवनमा त्यसका सकारात्मक प्रभाव, लाभ, तथा उपलब्धिहरु देखिन थाल्छन् । पुरै जीवन तथा जीवनका सफलता, असफलताहरु सबै मनुष्यको विचार तथा मनको अवस्थामा निर्भर गर्दछ किनकी कुनै पनि कार्यले दृश्य रुप लिनुअघि त्यसको तयारी केही समय अघिनै सुक्ष्म रुपमा मानसिकतामा तथा भावनामा तयार हुन्छ र पछिमात्र व्यवहारमा तथा दृश्यमा आउछ । मनुष्यको मन, तथा मानसकि अवस्था, भाव तथा भावनात्मक अवस्था सकारात्मक छ भने जीवन सकारात्मक, सफल, सहज, शान्त, समृद्ध र आनन्दित बन्छ तर यदि मानसिकता तथा भावनात्मक अवस्था नकारात्मक छ भने जीवन त्यस्तै प्रकारको बन्दै जान्छ। 
 

आज्ञा चक्र जागरणका नकारात्मक प्रभाव र सावधानी
आज्ञा चक्र असन्तुलित अवस्थामा छ तथा गलत तरिकाले जागृत गरिराखिएको छ भने यस्तो अवस्थामा साधकको जीवनमा विभिन्न प्रकारका समस्याहरु आउन सक्छन् । यस्ता समस्याहरुबाट बच्न पर्याप्त सावधानीहरु अपनाउनु अति आवश्यक हुन्छ अन्यथा आज्ञा चक्रबाट प्राप्त शक्ति हराउन पनि सक्छ । 

आन्तरीक बदलाव- बिना तयारी, हतारमा, अनुचित समयमा, अनुचित तरिकाले, बिना उद्देश्य, आवश्यक ज्ञान नलिकन, अनुभवी गुरुको सल्लाह, सुझावबिना आफूखुशी आज्ञा चक्र जागृत गरियो भने तथा जागृत गर्ने प्रक्रिया सुरु गर्यो भने यसको नकारात्मक प्रभाव मनुष्यको जीवनमा देखापर्छ । त्यसैले आज्ञा चक्र जागरणका सन्दर्भमा सबै कुरा जानेर, योजना बनाएर, उद्देश्य तय गरेर, अनुभवी गुरुको सानिध्यमा रहेर, यसका फाइदा तथा बेफाइदाहरुको ज्ञान लिएर, सबै प्रक्रियाहरु राम्ररी बुझेर मात्र आज्ञा चक्र जागरणको प्रक्रिया शुरु गर्नु पर्दछ । गुरुको सानिध्यमा उचित मार्गदर्शनमा रहेर आज्ञा चक्र जागृत गरियो भने यसको सकारात्मक प्रभाव हुन्छ र आफूले चाहे अनुसार सकारात्मक कामकालागि उपयोग गर्न सकिन्छ, कुनै प्रकारको खतरा तथा नोक्सान हुँदैन तथा न्युन हुन्छ । आज्ञा चक्र जागृत हुने क्रममा व्यक्तिमा बदलाव आउन सुरु हुन्छ, यो प्राकृतिक प्रक्रिया हो नकारात्मक प्रभाव होइन । पर्याप्त ज्ञानको अभावका कारण आफूमा देखिएका बदलावहरु नकारात्मक प्रभाव जस्तो लाग्न सक्छ तर वास्तविकतामा साधककालागि यो वरदान सरह हुन्छ र वरदाननै साबित हुन्छ यदि सहि किसिमले सदुपयोग गर्न जान्यो भने । तसर्थ आज्ञा चक्र जागरण गर्दा आउने बदलावहरूको बारेमा हामीले राम्ररी अध्ययन गरेर, गुरुको सल्लाह लिएर, गुरुको सानिध्यमा रहेर मात्रै आज्ञा चक्र जागरणका प्रक्रियाहरु गर्नु पर्दछ अन्यथा यसका सकारात्मक उपलब्धि तथा प्रभावहरु पनि अज्ञानताका कारण नकारात्मक साबित हुन सक्छन् ।


भावनात्मक असन्तुलन- आज्ञा चक्र जागृत हुने क्रममा व्यक्तिको मस्तिष्क तथा स्नायु प्रणालीहरुको विकास हुने हुनाले उसको विज्ञार, वुद्धि, ज्ञान, प्रज्ञा, विवेकशीलता पनि विकसित हुदै जान्छ । यस्तो व्यक्तिमा कुशाग्रता, विवेकशीलता, विचारशीलता, कल्पनाशीलता, तार्किकता, संकल्पशीलता बढ्दै जान्छ तर उसको जीवनमा यो वदलावले नकारात्मक प्रभाव पनि पार्नसक्छ किनकी मस्तिष्क, वुद्धि तथा तार्किकताको विकासले मनुष्यमा भावनात्मक संवेदना कमजोर गराइदिन्छ । हरकोहीलाई सुखी, खुशी, शान्त तथा आनन्दित रहनकालागि भावनात्मक अवस्थाको विकास हुनु तथा भावनात्मक अवस्था सुदृढ हुनु अति आवश्यक हुन्छ । आज्ञा चक्र जागृत भएको व्यक्तिमा सुक्खा तथा रुखो व्यवहार आउन थाल्छ, व्यक्तिमा भावनाको कमी हुन थाल्छ, प्रेम, दया, करुणाका भावहरु कम हुन सक्छन् । आफूमा यस्तो अवस्था आउन नदिन आफ्ना दैनिक व्यवहारहरुमा सक्दो सन्तुलन ल्याउने प्रयास गर्नुपर्छ । आफूलाई भावनात्मक रुपमा सन्तुलित बनाईराख्न परिवार, सम्वन्ध, समाजसंग आवश्यक सामन्जस्यता बनाइराख्नु पर्दछ । संगीत, भजन, किर्तन, सामाजिक भेला जस्ता रमाइला भेटघाटमा सहभागी हुनु पर्दछ । नयाँ तथा सिर्जनशील कामहरु, सेवाका कामहरु आदिमा आफूलाई व्यस्त राख्नु पर्छ, आफूलाई रुचि लाग्ने, आफ्ना शोखका गतिविधिहरुमा व्यस्त राख्नु पर्दछ । 
 

डर त्रास बढ्न सक्छ- आज्ञा चक्र जागृत भइरहेको समयमा मनुष्यको भौतिक क्षतम विकासका साथसाथै पराभौतिक क्षमताहरुको पनि विकास हुदै जाने हुनाले आफ्नो बरपर रहेका नकारात्मक ऊर्जाहरूले विघ्न गर्न तथा दुःख दिन सक्छन् किनकी अध्यात्म विज्ञान र प्रमात्रा विज्ञान(क्वान्टम साइन्स) दुवैका अनुसार ब्रम्हाण्ड केवल उर्जाले बनेको छ र उर्जाका दुई प्रकार छन् (१)सकारात्मक, र (२)नकारात्मक । यस्तो अवस्थामा नकारात्मक उर्जाको प्रभाव बढ्यो भने ध्यान साधनामा बसेको बेला ध्यानमा मन लाग्दैन, शरीर, मन, भावना स्थिर हुदैन, मन चञ्चल हुन्छ, कामवासना जागृत हुन सक्छ आदि प्रकारका केही न केही अवरोधहरु ध्यानको दौरान आउन सक्छन् । यो समयमा कहिलेकाहीं इष्र्यावस सकारात्मक ऊर्जाहरुले पनि अवरोध गर्न तथा दुःख दिन सक्छन् । सनातन शस्त्रहरुमा उल्लेख गरिएका स्वर्गका राजा इन्द्रले धर्ती निवासि साधु, योगी तथा तपस्विहरुको तपस्या भंग गर्न अनेक नकारात्मक उपायहरु गरेका विषयहरु यही अवस्था तथा प्रसंगसंग सान्दर्भिक मानिन्छन् । यस्तो अवस्थामा नकारात्मक उर्जाहरुबाट बच्न डर पैदा गर्ने प्रकारका हरर, थ्रिलर, एक्सन आदि दृश्यहरुबाट आफूलाई अलग राख्नु पर्छ । यस्ता दृश्यहरुले एकातर्फ मानसिकतामा बिनाकारण डर तथा भय पैदा गर्दछन् भने अर्कोतर्फ समले समलाई आकर्षित गर्ने सिद्धान्त अनुसार यस्तै प्रकारका नकारात्मक उर्जाहरु आकर्षित भएर अझ डराउने र कहिले काहीं त विविध प्रकारका खतराहरुको अवस्था समेत बन्न हुन्छ । तसर्थ आज्ञा चक्र जागृत हुो प्रक्रिया तथा अवस्थामा रहदा आफ्ना इन्द्रियहरुका सबै कार्य तथा व्यवहारहरु(देख्ने, सुन्ने, सुघ्ने, स्वाद लिने, अनुभव गर्ने, जाने ठाउँ, गर्ने काम, मनोरञ्जन, सम्वन्ध,आचरण, बानी, व्यवहार, बोली, वचन, मन, विचार, भाव) हर प्रकारले पूर्णतः शात्विक तथा शुद्ध राख्नु अति आवश्यक हुन्छ । यसकासाथै आफ्नो इष्टदेव तथा आराध्यदेवको स्मरण, जप गरिरहनु पर्छ, आफ्नो गुरुको स्मरण तथा जप गरिरहनु पर्छ, गुरुको सानिध्यमा रहेर गुरुको सल्लाह, सुझाव, निर्देशनको अनुशरण गर्नुपर्छ । आवश्यकता अनुसार योग तथा ध्यान विज्ञानका वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अभ्यास गरेर आफूलाई शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक रुपमा बलियो तथा दृढ बनाउनुपर्छ र म केही राम्रो काम गर्न गरिरहेको छु, राम्रो उपलब्धिको लागि केही चुनौतिहरुको सामना गर्नुपर्छ भन्ने किसिमले आफूलाई तयार गर्नुपर्छ । 


अन्य सावधानीहरु- आज्ञा चक्र जागरणको सहि तरीका नजानेको कारण चक्रमा ऊर्जाको प्रवाह आवश्यकता भन्दा बढि भएर ज्यादा सकृय भयो भने साधकमा यसका विभिन्न प्रकारका नकारात्मक प्रभावहरु( डराउने, मस्तिष्क केन्द्रित हुने, भावना शुन्य हुने, एकान्त रुचाउने, असामाजिक हुने, टाउको दुख्ने, काम्ने, बिर्सिने, मानसिक तथा भावनात्मक असन्तुलन हुने जस्ता समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखिन थाल्छन् । आफूमा यस्तो अवस्था आउन नदिन सर्वप्रथम अनुभवी गुरुको सानिध्यमा रहेर गुरुले सुझाएका सहि विधि तथा पद्धतिहरुलाई निष्ठापूर्वक अनुशरण गर्नुपर्छ, वस्तु, प्राणी, प्रकृति, परिवार, सम्वन्ध, समाज सबैसंगको सम्बन्धमा सन्तुलन कायम गर्नुपर्छ, हरपल संयमित ताथ साक्षी रहेर सक्दो वर्तमामा जीउने प्रयास गर्नुपर्छ । प्रेमका सबै तहहरू(स्नेह, मैत्री, मायाँ, दया, करुणा, श्रद्धा, भक्ति)मा आफूलाई व्यवहारिक रुपमा समलग्न गर्नुपर्छ । योग विज्ञानका यम, नियम, प्रत्याहारका पाठ तथा सिद्धान्तहरुलाई निष्ठापूर्वक अनुसरण गर्नुपर्छ । यी विषयहरुमा आफूलाई सावधान राखिएन भने यसले जीवनमा दुर्घटना पनि निम्त्याउन सक्छ । यदि आज्ञा चक्रको ऊर्जा सम्हाल्न सकिएन तथा मुस्किल बढ्दै गयो भने केही समयकोलागि आज्ञा चक्रको ध्यान साधना कम गरेर तथा छोडेर अनाहद चक्रमा ध्यान लगाउन सुरु गर्नु लाभदायक हुन्छ खासगरि महिलाहरुका लागि यसो गर्नु अति आवश्यक हुन्छ किनकी महिलाहरु प्राकृतिक रुपले भावना तथा हृदय चक्र केन्द्रित हुन्छन् र पुरुषहरु वुद्धि तथा आज्ञा चक्र केन्द्रित हुन्छन् । भावना प्रधान हुनु महिलाहरुको नैसर्गिक तथा प्राकृतिक गुण हो र वुद्धि प्रधान हुनु पुरुषहरुको नैसर्गिक तथा प्राकृतिक गुण हो । आज्ञा चक्र वुद्धिको केन्द्र हो र हृदय चक्र भावना तथा प्रेमको केन्द्र हो, त्यसैले आज्ञा र हृदय चक्रका गुणहरु थोरै विरोधाभाषि पनि छन्, यीनको उदेश्य तथा उपयोग फरकफरक छन् तर सन्तुलित जीवनका लागि दुईवटै चक्रको महत्व र प्रभावकारीता आआफ्नो स्थानमा अत्यन्तै महत्वपूर्ण छन् । दुईटै चक्र सन्तुलित गर्न सके जीवन अत्यन्तै सहज, सरल, समृद्ध, सफल, शान्त र आनन्दित हुन्छ । यदि कुनै काराणवस दुई चक्रविच असन्तुलन तथा द्वन्दको अवस्था आयो भने आज्ञा चक्रलाई छोडेर हृदय चक्रमा नै ध्यान केन्द्रित गर्नु लाभदायक हुन्छ । bsirjana@gmail.com

 



No comments:

Post a Comment