डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डभित्र रहेका उर्जाका मूलशक्ति
केन्द्र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहद, विशुद्धि,
आज्ञा, सहश्रार)लाई ब्रम्हाण्डका समस्त शक्तिहरुको केन्द्र मानिन्छ । उर्जाका
मूलशक्ति केन्द्र यी सात चक्रहरुलाई सन्तुलित, सकृय तथा जागृत गरेर भौतिक र
पराभौतिक जीवनका सबै दुःखहरुबाट निवृत्त भएर यही जीवनमै सांसारीक मोक्ष र
पारमार्थिक मोक्ष दुवै हासिल गर्न सकिन्छ । मनुष्यको सहज, सरल, सफल तथा सुखी,
खुशी, शान्त र आनन्दित जीवनयापनका लागि स्वाधिष्ठान चक्रको फरक प्रकारको महत्व र
विशेष प्रकारको सकारात्मक प्रभावकारीता रहेको हुन्छ । पहिलो मूलाधार चक्र मनुष्यको
शारीरिक शरीरको स्वास्थ्य र सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ भने दोस्रो
स्वाधिष्ठान चक्र मानसिक शरीरको खुशी र शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ ।
स्वाधिष्ठान चक्रको
पृष्ठभूमि
संस्कृत वांगमयको स्वा+धिष्ठान = ‘स्वाधिष्ठान’ दुई शव्दको संयोगले
बनेको छ । ‘स्वा’को अर्थ स्वयं र हो ‘धिष्ठान’ अर्थ स्थित भएको स्थान हो अर्थात
‘स्वयं रहेको स्थान’ स्वाधिष्ठान चक्र हो । स्वाधिष्ठान दोस्रो चक्र हो, यो
मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डभित्र सबैभन्दा तल रहेको पहिलो मूलाधार चक्र
भन्दा चार अम्मल माथि र नाभि भन्दा दुई अम्मल तल रहेको भागको सिधा पछाडि
मेरुदण्डको विचमा स्थित हुन्छ । स्वाधिष्ठान चक्रलाई छवटा कमल पत्रको प्रतिकको
रुपमा देखाइन्छ, यस चक्रको वीज मन्त्र ‘वं’ हो । स्वाधिष्ठान चक्रले सात प्रमुख
योगमध्य तन्त्र योग; पंचतत्वमा जल तत्त्व र जल तत्वको गुण रस; पंचकोषमा प्राणमय
कोष; नवग्रहमा शुक्र ग्रह; बाह्र राशिमा धनु र मीन राशि; स्थुल शरीरका सात प्रमुख
ग्रन्थीहरुमध्य एडरनल ग्रन्थी(ग्ल्यान्ड)को प्रतिनिधित्व गर्दछ । स्वाधिष्ठान
चक्रको स्वरूप अर्धचन्द्र आकारको हुन्छ । प्राकृतिक गुण स्वाद र स्पर्श भएको
स्वाधिष्ठान चक्र वहिरमुखी चक्र हो यसकारण यस चक्रलाई तामसिक गुण भएको चक्र
मानिन्छ । यो चक्रको रङ्ग सुन्तला हो, सुन्तला रङलाई सिर्जनशीलता, आकर्षण,
इच्छापूर्ति तथा सफलता, खुशी, मस्ती, मनोरञ्जन, आमोद-प्रमोद आदिको प्रतिकको रुपमा
मानिन्छ । मुख्य रूपमा मनुष्यका विचार, भावना, सिर्जनशीलता तथा नविनता यस चक्रसँग
प्रत्यक्ष रुपमा सम्वन्धित छन् । मनुष्यको खुशीयाली, मनोरञ्जन, रतिसुख, इच्छा,
भावना, नाता-सम्वन्ध, सपना, योजना, रुचि तथा शोख आदिमा स्वाधिष्ठान चक्रको प्रत्यक्ष
नियन्त्रण रहेको हुन्छ । शारीरिक अंगहरुमा ढाडको तल्लो भाग, पेटको तल्लो भाग,
मृगौला, मुत्रथैली, पाचनक्रिया, प्रजनन् प्रक्रियाका अंगहरु(यौन तथा प्रजनन क्रिया
चाहिं मूलाधार चक्र अन्तर्गत पर्दछ) आदि स्वाधिष्ठान चक्र अन्तर्गत पर्दछन् ।
सन्तुलित तथा सकृय स्वाधिष्ठान
चक्र
एकपटक स्वाधिष्ठान चक्र राम्रोसंग तथा पूर्णरूपमा सन्तुलनमा आयो,
सकृय तथा जागृत भयो भने व्यक्तिमा यस चक्रसंग सम्वन्धि सकारात्मक गुणहरूमा गहिराई
र परिपक्वता आउन थाल्छ र यसका धेरै लाभहरू शरीर र शरीरका स्वास्थ्यका चारवटै
आयामहरूलाई पूर्णरुपमा मिल्न थाल्छ र यसका साथै पराभौतिक परालौकिक दिव्य
अनुभूतिहरु पनि हुन थाल्छन् । व्यक्तिको मनमा, भावनामा परिपक्वता आउन थाल्छ र उसको
जीवनशैलीमा प्रभवाकारी परिवर्तन आउँछ र उसको वाहिय व्यक्तित्वमा र आन्तरिक जीवनमा
अद्भुत विकास हुनथाल्छ । स्वाधिष्ठान चक्र सन्तुलित तथा सकृय भएको मानिस सिर्जनशील
कार्यहरु गर्न, नविनतम खोजहरु गर्न रुचाउने जागरुक प्रकारको हुन्छ, जस्तो कि
साहित्य रचना तथा सिर्जना, नयाँ फेसन डिजाइन, नयाँ पकवान तथा परिकार, नयाँ
आविस्कारहरु आदि कामहरु गर्नमा रुचि राख्छ र यस्तो व्यक्तिमा यी गुणहरु स्वतः स्फुरित
हुदै जान्छन् । आफू, परिवार, साथीसंगी, समाज, राज्यसंगको सम्बन्ध राम्रो तथा
सुमधूर प्रकारको हुन्छ । जस्तोसुकै परिस्थितिमा अरु व्यक्ति, समुह तथा समाजमा सहजै
र छिट्टै घुलमिल गर्न सक्ने, खुला हृदय तथा मन(ओपन माइन्डेड) भएको हुन्छ; सबै
व्यक्ति, वस्तु, परिस्थितिलाई सहजै स्वीकार भावले अपनाउन सक्छ; सबैका विचार तथा
भावलाई सम्मानपूर्वक आफ्नै बराबर स्थान दिन्छ; मिलनसार हुन्छ र सबैसंग सहज रूपमा
प्रस्तुत हुन्छ । जे कुराले आफूलाई नरमाइलो लाग्छ, चोट लाग्छ त्यो कुराले अरुलाई
पनि त्यस्तै अनुभूति हुन्छ भन्ने समझदारीको भाव राख्छ र अरुलाई पनि आफू सरह
ठान्दछ, बरु अझ सदभाव तथा सम्मान प्रकट गर्दछ ।
स्वाधिष्ठान चक्र सन्तुलित तथा सक्रिय भएको व्यक्तिको मन तथा
भावनामा स्वतः स्फुर्त सकारात्मक सोचको प्रवाह हुने भएकोले हरपल खुशी रहिरहन्छ,
कसैप्रति गुनासो गर्दैन र अरुलाई पनि खुशी बनाउने प्रयास गर्छ । आफ्नो जीवनमा केही
अप्रिय अवस्था आयो भने त्यसलाई सहजै स्वीकार गर्छ, त्यसको दोषी अरुलाई ठान्दैन,
अरुप्रति गुनासो भाव राख्दैन र त्यस्तो अवस्था कसरी आयो भनेर आफ्नै कमीकमजोरीप्रति
चिन्तन, मनन गर्छ । नियमित रुपमा व्यक्तिको मन तथा भावनामा यसप्रकारको सकारात्मक
बानी, व्यवहारहरुको प्रवाह भइरहदा उसमा सकारात्मक उर्जाको प्रवाह बढ्न थाल्छ र
उसका माथि उल्लेखित सकारात्मक गुणहरूमा अझ बढि निखरता तथा परिपक्वता आउन थाल्छ र
यस्तो अवस्थामा उत्पन्न हुने सकारात्मक उर्जाले स्वाधिष्ठान चक्र लाई सन्तुलित,
सकृय तथा जागृत हुन मद्धत गर्दछ । स्वाधिष्ठान चक्र सन्तुलित तथा सकृय अवस्थामा
भएको व्यक्तिका यस चक्रसंग सम्वन्धित शारीरिक अंगहरु- ढाडको तल्लो भाग, पेटको
तल्लो भाग, मृगौला, मुत्रथैली, पाचनक्रिया, प्रजनन् प्रक्रियाका अंगहरु आदि स्वस्थ
हुन्छन् ।
स्वाधिष्ठान चक्रको असन्तुलन
अवस्था
सामान्यतया चक्र असन्तुलनका अवस्था दुई प्रकारका हुन्छन्-
(१)असन्तुलित, निष्कृय तथा अति निष्कृय अवस्था, र (२)असन्तुलित तथा अति सकृय
अवस्था । स्वाधिष्ठान चक्रका यी दुवै अवस्थाले मनुष्यको शरीर र शरीरको स्वास्थ्यका
सबै आयामहरु- मन, भावना र चेतनामा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्दछन् ।
असन्तुलित तथा निष्कृय
स्वाधिष्ठान चक्र
यदि स्वाधिष्ठान चक्र सामान्य रुपमा असन्तुलित तथा निष्कृय छ भने
शारीरिक तथा मानसिक स्वास्थ्य र अवस्थाहरुमा सामान्य प्रकारका लक्षणहरु देखा
पर्दछन् । स्वाधिष्ठान चक्रले शरीरको जल तत्वलाई प्रतिनिधित्व गर्ने हुनाले यस
चक्रको असन्तुलन तथा निष्कृयताले सर्वप्रथम जल तत्वमा सअन्तुलन पैदा हुन्छ र शरीर,
मन, भावनामा जल तत्वसंग सम्बन्धित शारीरिक तथा मानसिक समस्या, विकार, अस्वस्थता
तथा रोगहरु देखा पर्दछन् ।
मानसिक स्वास्थ्यमा
प्रभाव- मानव शरीरमा ७० प्रतिशत जलको मात्रा रहेको
हुन्छ । जल तत्त्वमा आएको गडबडीको प्रत्यक्ष नकारात्मक प्रभाव मस्तिष्क तथा यसका
सुक्ष्मअतिसुक्ष्म स्नायु प्रणालीहरुमा पर्दछ किनकि मस्तिष्क पूर्णरुपमा शरीरमा
जलको सन्तुलन तथा असन्तुलन अवस्था अनुसार सकारात्मक तथा नकारात्मक किसिमले चल्दछ ।
जल तत्वको गडबडीले मस्तिष्कमा आएको असन्तुलनका कारण मनुष्यको सोच, विचार, मन,
भावनामा खुशी हुन तथा रमाउन नसक्ने आदि विकारहरु जस्ता समस्या, विकार, अस्वस्थता
तथा रोगहरु देखापर्न थाल्छन् ।
शारीरिक स्वास्थ्यमा
प्रभाव- शरीरमा जल तत्वको असन्तुलन, गडबडी तथा कमी भयो
भने शारीरिक स्वास्थ्यमा विशेषगरि पाचनक्रिया गडबड हुने; पिसाब सम्वन्धि, रगत
सम्वन्धि(हाइ प्रेसर, लो प्रेसर) विकारहरु देखिने; तल्लो पेट तथा तल्लो ढाड
दुख्ने; महिलाहरूको रजश्वलामा गडबडी हुने; पुरुषको वीर्य तथा शुक्रकीटमा गडवडी
आउने; गर्भधारणमा गडबडी हुने तथा गर्भ नअडिने; यौन आनन्द तथा यौन इच्छामा
गडबडी(यौन दुर्बलता तथा अरुचि) आदि समस्याहरु देखा पर्दछन् । पाचनक्रियामा गडबडी
भएपछि सबै रोगहरुको जननी मधुमेह जस्तो घातक रोग हुने सम्भावना बढ्छ ।
सम्वन्धमा प्रभाव- स्वाधिष्ठान चक्र असन्तुलित तथा निष्कृय भएको छ भने यस्तो व्यक्ति
आफू स्वयंको, परिवारको, घरको, समाजको न्यूनतम जिम्मेदारी, उत्तरदायित्व तथा
कर्तव्य निभाउन समेत असक्षम हुन्छ र यहीकारणले उसका पारिवारीक तथा सामाजिक
सम्बन्धहरु बिग्रिन्छन् किनकि यी सबै जिम्मेदारीहरु पूरा गर्न व्यक्तिमा उत्साह,
जाँगर, प्रसन्नता, समभावको विकास भएको हुनु पर्दछ र व्यक्तिमा यस्तो अवस्था आउन
तथा बनिरहनकालागि स्वाधिष्ठान चक्रको ऊर्जा सन्तुलित तथा सक्रिय हुनु अति आवश्यक
हुन्छ ।
जीवनशैलीमा प्रभाव- यदि मनुष्यको ऊर्जा स्वाधिष्ठान चक्रमा निष्कृय तथा असन्तुलित
अवस्थामा एकिकृत भएर तथा अड्कीएर(व्लक) रहेको छ भने उसको जीवनमा आमोद-प्रमोद,
मनोरञ्जन, घुमघाम, हल्लाखल्ला, सबैप्रकारका(जायज नाजायज) मोजमस्ती गर्ने प्रधानता
रहन्छ र यस्तै गतिविधिहरुमा उसको सारा जीवन व्यतित हुन्छ । जीवनमा मनोरञ्जन जरुरी
छ, यसले मनुष्यलाई सुख, खुशी, शान्ति र आनन्द प्रदान गर्छ तर आवश्यकता भन्दा बढि
मनोरञ्जनले जीवनमा असहजता र कहिलेकाहीं बरवादी पनि ल्याउन सक्छ । अति मनोरञ्जनमा
आशक्त जीवनमा सैयम ल्याएर योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको
निष्ठापूर्वक अनुशरण गरेर स्वादिष्ठान चक्र सन्तुलित, सकृय तथा जागृत गर्न सकिन्छ
।
अति असन्तुलित तथा अति
निष्कृय स्वाधिष्ठान चक्र
स्वाधिष्ठान चक्र अति असन्तुलित तथा अति निष्कृय भएको छ अर्थात्
चक्रमा उर्जा तथा शक्ति कम (पावर डाउन) भएको अवस्था छ भने शरीर कठोर तथा सक्त
हुन्छ, शरीरमा लचकता कम हुन्छ किनकि शरीरमा लचक तथा लचिलोपन जल तत्वको सन्तुलनले
आउँछ । शरीरमा जल तत्त्वको असन्तुलन तथा कमीको नकारात्मक प्रभाव शरीर, मन, भावना र
चेतनामा समेत देखिन्छ । जल तत्वमा आएको असन्तुलन तथा कमीको नकारात्मक प्रभाव
सबैभन्दा बढि मस्तिष्क तथा मस्तिष्कामा तथा समग्रमा मन र भावनामा उठ्ने सोच,
विचार, कल्पना तथा योजनाहरु प्रत्यक्ष रुपमा पर्दछ । यस्तो अवस्थामा मन तथा भावमा
उठेका विचार, इच्छा तथा योजनाहरुमा काम गर्न तथा आफूले चाहेको उद्देश्य हासिल
गर्नकालागि आवश्यक पर्ने पर्याप्त ऊर्जा मस्तिष्कलाई पुग्दैन र इच्छाएको काम तथा
विषयमा व्यक्तिलाई सफलता मिल्दैन । यस्तो अवस्थाको व्यक्तिले असफलताको कारण अरु
व्यक्ति, वस्तु तथा परिस्थितिलाई ठान्दछ र उसमा अरुलाई दोष दिने तथा अरुप्रति
गुनासोले भरिने र नकारात्मक भाव राख्ने प्रवृत्ति उसमा बढ्दै जान्छ ।
स्वाधिष्ठान चक्र अझ बढी असन्तुलित तथा अझ बढि निष्कृय भएको अवस्था
छ भने यस्तो व्यक्ति जस्तोसुकै रमाइला पलहरुमा पनि रमाउन तथा सहज हुन नसक्ने;
अरुसंग घुलमिल हुन नसक्ने; असन्तोष, बेखुसी र उदाषी छाइरहने र आफूभित्र खालीपनको
महसुस गरिरहने; हरेक कुरामा नकारात्मक खोट देखाउने; एक्लै बस्न रुचाउने; अरुले
घुलमिल गर्न रुचि नदेखाउने; अरुले आफूलाई वेवास्ता गरेको; मान-सम्मान नगरेको तथा
मूल्य नदिएको भाव आउने; आत्मविश्वास तथा आत्मसम्मान गिर्ने; संसारप्रति मोह भंग
हुने; बाँच्न मन नलाग्ने, आत्महत्याको सोच आउने अवस्था हुन्छ । स्वाधिष्ठान चक्रमा
असन्तुलन तथा निष्कृयता अझै बढ्दै जाँदा आफैंसंग, परिवारसंग, साथीसंगीसंग,
कार्यालयमा, समूहमा तथा समाजमा अगाडि आउन नसक्ने; अत्यन्तै डराउने; कसैले आफूमाथि
षड्यन्त्र गरिरहेको जस्तो लाग्ने; आफ्नो नकारात्मक कुरा गरिरहेको जस्तो लाग्ने;
सबैसँग डराउने; हरबखत अकारण भयमा रहने; आत्तिने, म माथि केही नकारात्मक क्रिया भइरहेको
छ भन्ने भ्रम हुने जस्तो मानसिक, भावनात्मक तथा चेतनात्मक समस्याहरु देखिन थाल्छन्
। श्रद्धेय स्वामी श्री खप्तड बाबाले आफ्नो प्रसिद्ध पुस्तक 'विचार विज्ञान'मा
भन्नु भएको छ, "मनुष्यको शरीर र शरीरका स्वास्थ्यका सबै आयामहरुमा देखिने
सबैप्रकारका समस्या, विकार, अस्स्थता तथा रोगहरु शतप्रतित उसको मन तथा भावनामा
उठ्ने नकारात्मक विचार तथा भावहरुका कारण उत्पन्न हुन्छन् ।" यसप्रकार जतिजति
स्वाधिष्ठान चक्रको असन्तुलन तथा निष्कृयता बढ्दै जान्छ उतिउति यसका नराम्रा तथा
नकारात्मक प्रभावहरू व्यक्तिमा देखिन थाल्छन् । यस्तो व्यक्तिमा भित्रभित्रै चित्त
दुखाएर र आफ्ना पिडाहरु मनभित्रै दबाएर बस्ने, वाहिर आफूलाई खोल्न नसक्ने तथा
आफ्ना मनभित्रका विचार तथा भावहरु अरुसमक्ष व्यक्त गर्न नसक्ने मनभित्रै गुम्साएर
राख्ने प्रवृत्ति बढ्दै जान्छ र यस्तो अवस्थाको परिणाम मनाशरीर(साइकोसोमाटीक),
मानसिक तथा भावनात्मक समस्या तथा रोगहरु तनाव, चिन्ता, अवसाद, हिंसा, आफूलाई र
अरुलाई नोक्सान गर्ने हत्या, आत्महत्या जस्ता जघन्य अपराधहरुमा पुगेर टुङ्गिन्छन्
।
असन्तुलित तथा अति सकृय
स्वाधिष्ठान चक्र
स्वाधिष्ठान चक्र सन्तुलित तथा सकृय हुदा व्यक्तिको मन तथा भावनामा
सकारात्मकता तथा सन्तुलनको भाव हुन्छ तर बढी सकृय हुदा मन तथा भावनामा आफू
स्वयंलाई र अरुलाई हानि गर्ने नकारात्मक प्रकारका प्रवृत्तिहरु देखापर्न थाल्छन् ।
स्वाधिष्ठान चक्र असन्तुलित तथा अति सकृय भएको अवस्थामा व्यक्ति अति भावनात्मक
हुन्छ, हरपल भावनामा डुबिरहन्छ, सानोतिनो कुरामा रोइहाल्ने, अति चित्त दुखाउने,
अत्यन्तै पिडा महसुस गर्ने प्रकृतिको हुन्छ । कतिपय अवस्थमा व्यक्तिमा कुनै घटना
तथा विषयप्रति नाटक गरेर दुरुस्त हो नै जस्तो पारेर अरुको ध्यान आफूतिर खिच्ने,
अरुको भावनामा प्रभाव पार्ने, आफूलाई लाभ हुने प्रकारका निर्णयहरु गर्न लगाउने र
षडयन्त्रपूर्वक अरुबाट नाजायज फाइदा उठाउने र अरुलाई जानीजनी नोक्सान पुर्याउने
प्रवृत्ति हुन्छ । व्यक्तिको मन तथा भावनामा परिवार, समाज, धर्म, संस्कृतिले
नपचाउने तथा स्वीकृति नदिने प्रकारका अस्वस्थ विचार तथा भावनाहरू(अनहेल्दी थट,
इमोसन)को प्रभाव बढि हुन्छ । सानो कुरालाई ठूलो बनाउने र आफूमाथि घोर अत्याचार
भयो, पहाडै खस्यो, मलाई अरुले वास्ता गरेनन्, भाउ दिएनन्, मानसम्मान गरेनन्, मायाँ
गरेनन, अरुलाई म बढि भएं, म बेकार भएं, मैले केही गर्न सकिन, परिवार, साथीसंगी तथा
समाजमा मेरो केही मूल्य छैन, मलाई कसैले मन पराउँदैनन्, म सबैको लागि बोझ भएं
भन्ने ठान्छ र त्यस्तै प्रकारको रुखो र नकारात्मक व्यवहार देखाउन थाल्छ र अरुलाई
अनाहकमा भावुक बनाइदिने, विवस बनाइदिने, दिक्क बनाइदिने र उसबाट अनावश्यक
ध्यानाकर्षण, सहानुभूति तथा लाभ लिन खोज्छ । अर्कोलाई हानि पुऱ्याउँदा, चित्त
दुखाइ दिदा पनि अरुप्रति उसलाई कत्तिपनि वास्ता र सहानुभूति नै हुदैन, जतिवेला पनि
आफ्नै मात्र थुप गर्छ तथा आफ्नो मात्र स्वार्थ हेर्छ ।
स्वाधिष्ठान चक्रको असन्तुलन तथा सकृयता अझै बढ्दै गयो भने व्यक्ति
अत्यन्तै सन्की र लहडी प्रकारको हुन्छ, ठूला ठूला गफ मात्र हाँक्छ तर आफ्ना
अतिआवश्यक जिम्मेदारी तथा उत्तरदायित्वहरुबाट समेत पन्छिने प्रकारको हुन्छ ।
व्यक्तिमा अनावश्यक रुपमा जताततै आफ्नो मनमा लागेका तथा भावनामा उठेका विषयहरु
हासिल गर्न आफ्नो हस्तक्षेप बढाउने र अरुलाई मजबुर गर्ने परिपाटीको विकास हुन्छ ।
परिवार, समाज, धर्म, संस्कृतिले अनुमति नदिएका तथा स्वीकार गर्न नसक्ने अवस्था तथा
विषयमा पनि परिणाम नहेरिकन, सबै कुरा नबुझिकन जोसँग पनि जोडिने, आफ्ना गोप्य
विषयहरू साझा गर्ने, नकारात्मक निकटता तथा नाजायज सम्बन्ध बनाउने(अनहेल्दी
अट्याचमेन्ट), अरुमाथि आफ्ना कुरा हावी गर्न प्रयास गर्ने र म मात्र सही छु, आफूले
गरेको नै सही हो भन्ठान्ने अहंकार तथा ठालुपनको प्रकृति बढ्दै जान्छ । अरुले यसो
गर्नु राम्रो होइन, जिम्मेदार बन, सबैसंग सही व्यवहार गर भनेर सम्झाउन प्रयास
गर्नेहरुप्रति सम्झाउने व्यक्ति नै दिक्क हुनेगरी उल्टै नकारात्मक भाव राख्ने,
रिसिवी साध्ने, बदला र घृणाको भाव राख्ने आदि प्रकारको प्रकृति हुन्छ । यसप्रकारका
बानी व्यवहारहरु बढ्दै जाँदा विस्तारै उसको विचार तथा भावनाहरु जंगली(वाइल्ड थट
एण्ड इमोसन) बन्दै जान्छन् र उसमा अरुलाई हेप्ने, दबाउने जस्ता नराम्रा व्यवहारहरु
देखापर्न थाल्छन् । सामान्यतया पति-पत्नी, प्रेमी-प्रेमिका, छोरा-छोरी, बाबु-आमा,
साथी-संगीप्रति यसप्रकारको हेप्ने तथा दबाउने प्रवृत्ति हावी हुँदै जान्छ । आफैंले
आफूलाई ठूलो ठान्ने र अहंकारवस आफ्नो कुरा अरुलाई मनाउन अनावश्यक प्रयास गर्ने तथा
दवाव दिने र अरुले आफ्ना कुरा मान्दिएन अथवा आनाकानी गर्यो भने क्रोध देखाउने,
आवेशमा आउने र आक्रोसित हुने जस्ता व्यवहारहरु पनि व्यक्तिमा बढ्दै जान्छन् र यसले
विस्तारै अपशव्द, घृणा, हिंसाको रुप लिन्छ र परिणामस्वरुव घसपरिवार तथा समाजमा
आत्महत्या, हत्या जस्ता जघन्य अपराधका घटनाहरु घट्न पुग्छन् ।
स्वाधिष्ठान चक्र बढि सकृय भएको व्यक्तिको मनस्थिति हरपल नाजायज
प्रकारका तथा तामसिक प्रकृतिका मनोरञ्जन, आमोद-प्रमोद तथा मोजमस्ती गर्नुपर्ने
प्रकारको हरपल अति उत्तेजनामा रहन्छ । उसमा सबै प्रकारका उत्तेजना चढ्छ, अत्यन्तै
देखावा गर्ने प्रवृत्ति हुन्छ र यही चक्करमा अनावश्यक रुपमा आफ्नो धन, समय, उर्जा,
उमेर सम्वन्ध, शान्ति, प्रतिष्ठा अनाहकमा सबै बरबाद गर्छ । आफूसंग पर्याप्त धनसम्पत्ति
नभए पनि अरुसंग तुलना र बराबरी गर्न खोज्छ र म कोही भन्दा कम छैन भन्ने प्रकारले
सबै समक्ष प्रस्तुत हुने प्रयास गर्छ । हरपल हरप्रकारका तामसिक मनोरञ्जन मात्र
खोजिरहने, ज्यादा तामासिक खानपिन सेवन गर्ने, यौन आशक्तिको उत्तेजना ज्यादा हुने र
वाहिर अनावश्यक नाजायज सम्वन्धहरु बनाउदै हिड्ने र आफूलाई नियन्त्रण गर्न नसक्ने
प्रकारको नकारात्मक आदत(एडिक्सन)मा फस्दै जान्छ इन्द्रियहरुको दाष भएर । यस्तो
व्यक्ति वाहिरको संसारमा अति सक्रिय हुने, एकान्तमा एक्लै बस्न नसक्ने, शान्त रहन
नसक्ने, अरुका कुरा सुन्न नसक्ने, एकाग्र हुन तथा ध्यानमा जान नसक्ने प्रकारको
हुन्छ किनकि उसका सबै ज्ञान तथा कर्म इन्द्रियहरु बहिर्मुखी भएका तथा वाहिरी
संसारको भोगका विषयहरुमा अवभ्यस्त भैसकेका कारण उसको चेतनाको उर्जा समेट्न मुस्किल
हुनेगरि भोगवृत्तिमा छरिएका हुन्छन् । यसकारण व्यक्ति अत्यन्तै अस्थिर र चञ्चल
हुन्छ र यस्तो व्यक्ति आफूतिर फर्कन सक्दैन, आफूतिर फर्कन नसक्ने व्यक्ति एकाग्रता
तथा ध्यानमा जान सक्दैन उसकोलागि पहिला सुधार गृह(रिह्याव सेन्टर)मा फरक प्रकारले
उपचार गर्नुपर्ने हुन्छ र विस्तारै योग साधनामा ल्याएर उसको स्वाधिष्ठान चक्र
सन्तुलित तथा जागृत गर्ने प्रक्रियाका उपायहरु शुरु गर्नुपर्दछ ।
स्वाधिष्ठान चक्र
असन्तुलन हुनुका कारणहरु
स्वाधिष्ठान चक्र प्रत्यक्ष रूपमा हाम्रो विचार तथा मानसिक
अवस्थासंग सम्वन्धित रहेको छ । भौतिक रुपमा जल तत्वमा आएको असन्तुलन र अभौतिक
रुपमा विचार तथा मानसिकतामा आएको असन्तुलनका कारण स्वाधिष्ठान चक्रमा नकारात्मक
प्रभाव पर्दछ र चक्र असन्तुलित हुन्छ । व्यक्तिमा रहेको ज्यादातर समय नकारात्मक
भाव, उदासी, चिन्ता, तनाव, क्रोध, ईर्ष्या आदिले भरिने; हरपल असन्तोष व्यक्त
गर्ने; बेखुशी रहने र सबै व्यक्ति, वस्तु, घटनाप्रति नकारात्मक भाव राख्ने;
अरुप्रति गुनासोले भरिने बानीले उसको मानसिकतामा नकारात्मक विकारहरु बढ्दछन् र
यस्ता विकारहरुबाट उत्पन्न हुने नकारात्मक उर्जाले स्वाधिष्ठान चक्रमा नकारात्मकता
बढाउछ र चक्रलाई असन्तुलित, निष्कृय, अति निष्कृय तथा अति सकृय गर्दछ र चक्रमा
बन्धन तथा जकडनहरु(ब्लकेजेज) बढ्न थाल्छन् ।
आफ्नो मनभित्र उठेका विचार तथा भावहरूलाई अरुसमक्ष व्यक्त नगर्ने
तथा दमन गर्ने प्रवृत्तिले स्वाधिष्ठान चक्रलाई नकारात्मक प्रभाव पार्दछ ।
बच्चाहरुले आफ्ना विचार तथा भावनाहरु दबाउदैनन्, जे आफूलाई लाग्यो त्यो बोल्छन्
तथा गर्छन तर अधिकांश मानिस हुर्कदै तथा ठूलो हुदै जानेक्रममा परिवार, समाज तथा
वाहिरका विभिन्न कारणहरुले आफ्नो मनका वास्तविक इच्छा, कामना, विचार तथा भावनाहरु
दबाउन, लुकाउन तथा झुट बोल्न थाल्छन् । आफूलाई लाभ हुने तथा सहज हुने कुराहरु
मात्र अरु समक्ष व्यक्त गर्छन् र आफ्ना वास्तविक विचार तथा भावनाहरुलाई आफैंभित्र
दबाएर तथा गुम्स्याएर राख्छन् । आफूलाई फाइदा नहुने र असहज हुने प्रकारका विचार
तथा भावनाहरु आफूभित्रै लामो समयसम्म दबाएर तथा गुम्स्याएर राख्दा उत्पन्न भएका
नकारात्मक ऊर्जाहरुले व्यक्तिको चेतना, भावना, मन र शरीरमा नकारात्कम प्रभाव
पार्दछन् र परिणामस्वरुप शरीर र शरीरको स्वास्थ्यका आयामहरुमा विभिन्न प्रकारका
समस्या, विकार, अस्वस्थता तथा रोगहरु उत्पन्न हुन्छन् र यस्तो अवस्थामा
स्वाधिष्ठान चक्र असुन्तलन हुन्छ र यस्तो अवस्था बढ्दै गयो भने विस्तारै व्यक्तिमा
अझै बढी नकारात्मक विचार तथा भावनाहरु उत्पन्न हुन थाल्छन् र चक्र अझ बढी
असन्तुलित हुन्छ ।
व्यक्तिको ऊर्जा मूलाधार चक्रबाटमाथि गएकै छैन तथा उसको उर्जा
मूलाधार चक्रकै वरिपरि अड्कीएर तथा जकडिएर रहेकोछ भने स्वाधिष्ठान चक्रमा आवश्यक
ऊर्जा पुग्दैन र यो चक्र असन्तुलित हुन्छ । सामान्यतया गाँस, बास, कपासकै गुजारा
गर्नमा आफ्नो दैनिकी बिताइरहेका मानिसहरूमा कि अत्यन्तै धनसम्पत्ति कमाउने तथा
सुख, सुविधा जोड्ने प्रवृत्ति भएका मानिसहरूमा स्वाधिष्ठान चक्र असन्तुलनको अवस्था
ज्यादा देखिन्छ किनकि यस्तो व्यक्तिले आफ्नो जीवनको पुरै ऊर्जा, समय, ध्यान, मन,
भाव धनसम्पत्ति कमाउने तथा भौतिक चिजवस्तु, सेवासुविधा जोड्नतिर मात्रै लगाएको
हुन्छ । यस्तो अवस्थामा उसको मानसिक तथा भावनात्मक विकास हुन सकेको हुदैन ।
व्यक्तिको मानसिक तथा भावनात्मक विकास नभएकोकारण स्वाधिष्ठान चक्रले पाउनुपर्ने
प्राकृतिक नैसर्गिक ऊर्जा प्राप्त गर्न सक्दैन र चक्र असन्तुलित हुन्छ ।
आफ्नो रुचिको काम गरिएन भने मन उदास हुन्छ, बेचैन हुन्छ, दिक्क
लाग्छ र यसको नकारात्मक प्रभाव स्वाधिष्ठान चक्रमा पर्दछ । जीवनमा आफ्नो स्वधर्म
अनुसारको कर्म गर्न नपाउदा भित्रबाट मन खुसी हुन सक्दैन, बेचैन भइरहन्छ, जीवनमा के
भएन, के पुगेन, मेरो जीवनमा मैले के-के गर्नुपर्थ्यो, मैले के गरिन भन्ने
मनभित्रबाट एकखालको सूचना आइरहन्छ, भित्रबाट मनले घचघचाइरहन्छ र यसको नकारात्मक
प्रभाव स्वाधिष्ठान चक्रमा पर्दछ र चक्र असन्तुलित हुन्छ ।
आफ्ना भावहरुलाई स्वस्फूर्त प्रवाह हुन दिइएन भने यस्ता भावहरुको
उर्जा आफूभित्रै स्थिर हुन्छ, अड्किएर तथा जकडिएर(व्लक्ड) बस्छ र भित्रभित्रै सड्न
थाल्छ र यस्तो उर्जा विस्तारै असन्तुष्टी, गुनासो, घृणामा परिणत हुन् थाल्छ,
यसप्रकारका नकारात्मक उर्जाले स्वधिष्ठान चक्रलाई असन्तुलित बनाउँछ र उर्जाको
प्रवाह शरीरका अन्य शारीरिक तथा मानसिक आयामहरूमा पुग्न सक्दैन र विभिन्न प्रकारका
समस्या, विकार, अस्वस्थता, रोग बनेर शरीर, मन, भावना र चेतनामा देखिन थाल्छन् ।
यसकासाथै व्यक्तिको मन तथा भावमा आउने विचारहरू मैले अनैतिक काम गरें भन्ने निचता
भाव, अवैधानिक तथा गैरकानुनी काम गरें भन्ने अपराध बोधको भाव, नगर्नुपर्ने काम
गरें भन्ने प्राश्चितको भाव आदि अवस्थाले स्वाधिष्ठान चक्र असन्तुलित हुन्छ ।
स्वाधिष्ठान चक्र सन्तुलित, सकृय तथा जागृत गर्ने उपायहरु
प्रमुख रुपमा दुई प्रकारका गतिविधिहरुबाट स्वाधिष्ठान चक्र
सन्तुलित, सकृय तथा जागृत गर्न सकिन्छ- (१)स्वाधिष्ठान चक्रसंग सम्वन्धित भौतिक
तथा अभौतिक गतिविधिहरु बढाएर, र (२)योग विज्ञान तथा ध्यान विज्ञानको साधना
गरेर...
स्वाधिष्ठान चक्रसंग सम्वन्धित गतिविधिहरु बढाएर
स्वाधिष्ठान चक्रसंग सम्वन्धित गतिविधिहरु जस्तो हरपल खुशी रहने र
सबै व्यक्ति, वस्तु, घटनाप्रति सकारात्मक भाव राख्ने बानीले स्वाधिष्ठान चक्रमा
सकारात्मक उर्जाको प्रवाह बढ्छ र चक्र सन्तुलित, सक्रिय तथा जागृत हुन्छ ।
स्वाधिष्ठान चक्रले व्यक्तिको वास्तविक प्रकृतिको प्रतिधित्व
गर्दछ, त्यसैले यो चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउन अरुको प्रभाव तथा दवावमा
नभइ आफ्नो वास्ताविक स्वाभाव(रियल सेल्फ)लाई प्रधानता दिएर जीवन जिउने प्रयास
गर्नु पर्दछ; ‘म’भित्रको ‘म’लाई वाहिर निस्कने अवसर प्रदान गर्नु पर्दछ र म
जे बन्न तथा हुन चाहन्थे, जे बन्न, हुन तथा गर्न यस धर्तीमा जन्मिएको हुँ त्यही
कर्म गर्नमा आफूलाई सक्दो केन्द्रित गर्नु पर्दछ ताकि मेरो रुचि, इच्छा, चाहना,
भावनाहरु सजिलै वाहिर प्रवाह हुन सकुन, वहन सकुन् र आफूलाई रुचि हुने, खुशी लाग्ने
र आफ्नो मन रमाउने काम तथा गतिविधिहरुमा आफू रम्न सकुं । यसकासाथै जीवनमा आफ्नो स्वधर्म,
स्वरुचि तथा प्रकृति अनुसारको कर्म रोज्नु पर्दछ । आफ्ना व्यक्तिगत रुचि, इच्छा
तथा शोख(प्यासन)का षियहरुलाई जीवनमा प्राथमिकता प्रदान गर्नु पर्दछ । पारिवारीक
तथा व्यवहारिक परिस्थितिवस जीवनयापनकालागि अन्य प्रकारका कर्महरु गरिरहेको भएपनि
तथा आफ्ना व्यक्तिगत रुचि, इच्छा तथा शोखका विषयहरुलाई कर्मको क्षेत्र बनाउन नसके
पनि फुर्सदको समयमा यस्ता विषयहरुलाई निरन्तरता दिराख्नु पर्दछ । आफ्ना व्यक्तिगत
रुचि, इच्छा तथा शोखका कार्य तथा गतितिविधिहरुले आफूलाई आनन्द प्रदान गर्दछ र
स्वाधिष्ठान चक्रलाई सकारात्मक उर्जा प्रदान गर्दछ र चक्र सन्तुलित, सक्रिय तथा
जागृत हुन्छ ।
मेरो जीवनमा म किन बेखुशी छु, बेचैन छु, अशान्त छु यसउपर समयमै
उचित प्रकारले स्वयंमा चिन्तन, मनन् गरेर आफ्ना कमीकमजोरी तथा गल्तीहरुलाई सुधारेर
जीवनलाई सहज र सरल ढंगले अगाडि बढाउनु पर्दछ । यसकालागि आफ्नो जीवन आफ्नै रुचि
अनुसार जिउनु पर्छ र अर्कोको जीवन पनि उसको रुचि अनुसार जिउन दिनुपर्छ । आफूलाई जे
गर्दा आनन्द लाग्छ त्यस्तो काम गर्दा चक्र सन्तुलित, सक्रिय र जागृत हुन्छ ।
शरीरमा जल तत्वको सन्तुलन मिलाएर
पंचतत्वमा स्वाधिष्ठान चक्रको तत्त्व जल हो, जल चन्द्रमासँग
जोडिएको हुन्छ र चन्द्रमा मनुष्यको भावनासँग जोडिएको हुन्छ । चन्द्रमाका कला तथा
आकारहरूका अनुसार समुद्रमा ज्वारभाटा आएजस्तै ७० प्रतिशत जलको मात्रा रहेको
मनुष्यको शरीरमा पनि चन्द्रमाका कला तथा आकारहरूका प्रत्यक्ष प्रभाव पर्दछ ।
पूर्णिमा र औंशीका दिनहरुमा मनुष्यको भावनामा उतार-चढाउ आउँछ । पूर्णिमामा भावना ज्यादा
माथितिर चढ्छ र मनुष्यमा उत्साह, चन्चलताका विचार तथा भावहरु बढ्छन् भने औँसीमा
यसको विपरीत विचार तथा भावहरु तलतिर झर्छन् र उदासी, नैरास्यता बढ्छ । हाम्रो
शरीरमा ७० प्रतिशत जल रहेकोकारण शरीरको जल तत्वमा असन्तुलन आयो भने चन्द्रमाका कला
तथा आकारहरुले हाम्रो विचार, मन तथा भावनालाई अझ बढी प्रभाव पार्दछ किनकि हाम्रो
मस्तिष्क पूर्णरुपमा शरीरमा रहेको जलको प्रवाहमा चल्दछ । मन तथा भावनामा आएका
यस्ता उतार-चढावहरुलाई हामीले सही तथा सकारात्मक दिशा दिन सक्यौं भने चक्र सन्तुलन
तथा सक्रिय हुन थाल्छ तर सही तथा सकारात्मक दिशा दिन सकेनौं भने चक्र असन्तुलन,
निष्कृय, अति निष्कृय तथा अति सकृय हुन थाल्छ । तसर्थ स्वाधिष्ठान चक्र सन्तुलनमा
राख्न शरीरलाई आवश्यक पर्ने मात्रामा सन्तुलन तथा समय मिलाएर पानी तथा रसजन्य
पेयहरु पिउनु अत्यन्तै आवश्यक हुन्छ । रसजन्य पेयहरु भन्नाले सबै प्रकारका तरल
पदार्थहरू भन्ने बुझिन्छ तर खाद्य अर्थात् शरीरलाई लाभ पुर्याउने प्रकारका तरल
पेयहरु मात्र ग्रहण गर्नु पर्दछ ।
सही तरिकाले स्नान गरेर स्वाधिष्ठान चक्रलाई सन्तुलित गर्न सकिन्छ
। स्नान गर्दा मजाले पानीको तातो, चिसो स्पर्शको अनुभव लिएर, आनन्द भावले लामो समय
लगाएर स्नान गर्नु पर्दछ । स्वाधिष्ठान चक्रमा जल तत्वसंग सम्वन्धित अनुभवहरुले
चक्रमा उर्जाको प्रवाह बढाउने हुनाले जलका स्रोतहरु ताल, नदि, सागरको नजिकै जानु,
जलको वहाव तथा अन्य गतिविधिहरुलाई नजिकबाट हेर्नु, नियाल्नु, अवलोकन गर्नु, जलको
आवाज सुन्नु, जलको बहाव संगसंगै आफू पनि बहनु, जलका धार तथा छालहरुलाई हेरेर
आनन्दित हुनु, यी मनमोहक गतिविधिहरुलाई मन, भावना, चेतनादेखि गहिरोसंग अनुभूति
गर्नु, हात गोडाले पानी छुनु, टेक्नु तथा चलाउनु आदि गतिविधिहरुले स्वाधिष्ठान
चक्रलाई सक्रिय र सन्तुलित हुन मद्दत गर्दछन् तथा बल प्रदान गर्दछन् ।
मनुष्यको जन्म कुण्डलीमा चन्द्रमाले जल तत्वलाई प्रतिनितित्व
गर्दछ, चन्द्रमा नियन्त्रित राशि कर्कट राशि हो र कर्कट राशि जल तत्वको
पर्याय हो । यसप्रकार जल र चन्द्रमा एकआपसमा घनिष्ठ रुपमा जोडिएका र स्वाधिष्ठान
चक्र जल तत्वसंग जोडिएको हुनाले यी दुवै तत्वसंग सम्वन्धित गतिविधिहरु
अलग-अलग तथा एकसाथ गर्नु स्वधिष्ठान चक्र सन्तुलित, सकृय तथा जागृत गर्न लाभदायक
हुन्छ । यसकालागि घरको छतमा बसेर आकाशमा चन्द्रमाका विभिन्न आकारका कलाहरुमा
केहीबेर त्राटक गर्न तथा चन्द्रमालाई एकनासले नियालेर हेरेर आनन्द विभोर हुन
सकिन्छ । जल र चन्द्रमाको एकसाथ आनन्द लिन जलका श्रोत ताल, नदि, सागर नजिक गएर
जलको सतहमा चन्द्रमाको प्रतिविम्वमा त्राटक गर्न तथा चन्द्रमाको प्रतिविम्वलाई
एकनासले नियालेर हेरेर आनन्द विभोर हुन सकिन्छ । यसो गर्दा दोहोरो लाभ
प्राप्त हुन्छ, जल र चन्द्रमाको अवलोकनबाट प्राप्त भएको आनन्दमय ऊर्जाले मन तथा
भावनाको शुद्धता तथा पवित्रतामा अत्यन्तै राम्रो सकारात्मक प्रभाव पार्दछ । यस्तो
आनन्दित माहोलमा रहेको समयमा बेलाबेलामा स्वाधिष्ठान चक्रको सुन्तला रंग, वीज
मन्त्र 'वं', खुल्दै गरेको छपत्रको कमलको सुन्दर फूलमा पनि ध्यान केन्द्रित
गर्नुपर्छ । यसो गर्दा मन भावमा सुविचार उत्पन्न हुन थाल्छन्, सुख, खुशी, शान्ति,
आनन्दको अवस्था घटित हुन थाल्छन्, विचार तथा भावनाहरु अझ सकारात्मक हुदै
जान्छन् र यस्तो अवस्थाको सकारात्मक प्रभावले स्वाधिष्ठान चक्र सन्तुलित, सकृय तथा
जागृत हुदै जान्छ ।
स्वाधिष्ठान चक्र सन्तुलित, सकृय तथा जागृत गर्न आफूभित्र भएका
सकारात्मक विचार तथा भावहरूलाई अझ बढाउन आफ्ना सकारात्मक विचार तथा भावहरु
अरुसंग साझा गर्ने, परमात्माप्रति पूर्ण आस्था रभक्ति भाव राखेर, म यो पत्र
परमात्मालाई लेख्दैछु, मलाई उनको कृपा मिल्नेछ भन्ने विश्वास राख्दै कपिमा लेख्ने
र त्यसलाई दोराई तेहर्याइ पढ्दै त्यसबाट मजा लिने, आनन्दित हुने र उक्त लेखावटलाई
खाममा हालेर खामलाई मन्दिर, पूजा कक्ष, ध्यान गर्ने स्थान तथा सकारात्मक ऊर्जा
भएको कुनै स्थानमा राखिदिने । यसो गर्नाले लामो समयसम्म यो लेखावट र उक्त
सकारात्मक उर्जा भएको स्थानबाट आफूलाई सकारात्मक ऊर्जाको प्रवाह मिलिरहन्छ किनकी
सकारात्मक स्थानमा राख्दा कपिमा लेखिएका आफ्ना सकारात्मक विचार तथा भावहरुलाई
सकारात्मक ऊर्जा प्राप्त हुन्छ र यसको प्रत्यक्ष सकारात्मक प्रभाव स्वाधिष्ठान चज्ञmमा
पर्दछ र यस्तो अवस्थामा विस्तारै चक्र सन्तुलित, सकृय तथा जागृत हुन थाल्छ ।
योग तथा ध्यान साधना गरेर
योग तथा ध्यान साधना गरेर उर्जा मूलाधार चक्रबाट माथि उठाएर माथिका
चक्रहरुमा पुर्याउने प्रयास गर्नु पर्दछ ।
चक्रमा ध्यान- कम्मर, ढाड, गर्धन, शिर सिधा गरेर ध्यानमा बसेर स्वधिष्ठान चक्र स्थित भएको शरीरको क्षेत्रमा स्वाधिष्ठान चक्रको सुन्तला रंगको प्रकाश फैलिएको कल्पना गर्दै उक्त क्षेत्रमा ध्यान केन्द्रित गरेर छ पात भएको कमलको फूलको कोपिला कल्पना गर्दै, विस्तारै कोपिलाका पत्र खुल्दैखुल्दै गएको र फूल फक्रिएको कल्पना गर्दै, फूल पुरै फक्रिसकेपछि उक्त सुन्दर फुललाई नियाल्दै ५-१० मिनेटसम्म आनन्द लिएर ध्यानमा मग्न हुँदा चक्रमा सकारात्मक उर्जाको प्रवाह बढ्छ र चक्रका जकडनहरु खुल्न थाल्छन् र चक्र सन्तुलित तथा सकृय हुन्छ।
वीज मन्त्र ध्यान- स्वाधिष्ठान चक्रको वीजमन्त्र 'वं' को मानसिक तथा मौखिक जाप गर्दै ध्यान साधनामा बसेर भित्र आएको श्वासमा 'ॐ' प्रणव मन्त्र उच्चाहरण र वाहिर गएको श्वासमा 'वं' वीजमन्त्र उच्चाहरण गर्दै चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाएर स्वाधिष्ठान चक्र सन्तुलित, सकृय तथा जागृत गर्न सकिन्छ ।
योगासन तथा प्राणायाम- स्वधिष्ठान चक्रसंग सम्वन्धित योगासन, प्राणायाम, मुद्रा तथा बन्धहरुको प्रयोगात्मक अभ्यास गरेर र नाभि क्षेत्रमा मसाज गरेर स्वधिष्ठान चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउन सकिन्छ । यसका साथै श्वासप्रश्वासको आयाम मिलाएर चक्र सन्तुलित तथा जागृत गर्न सकिन्छ । चन्द्रभेदी प्राणायाम अर्थात इडा नाडीसंग सम्वन्धित प्राणायामहरु गर्दा स्वाधिष्ठान चक्रमा सकारात्मक उर्जाको प्रवाह बढ्छ र चक्र सन्तुलित तथा सकृय हुन मद्दत मिल्छ । योग साधनाका गतिविधिहरुले स्वधिष्ठान चक्र क्षेत्रका नस-नाडीहरुलाई सक्रिय गर्ने र सकारात्मक उर्जाको प्रवाह बढाउने हुनाले स्वतः चक्र सन्तुलित तथा जागृत हुन्छ ।
समग्रमा- स्वाधिष्ठान चक्र
सन्तुलित, सकृय तथा जागृत गर्न आफूभित्र उठ्ने विचार तथा भावहरुलाई वाहिर व्यक्त
गर्ने; नकारात्मक अनुभव, ग्लानी तथा चित्त दुखाइहरुप्रति आफूले आफूलाई र अरुलाई
पनि क्षमा दिने; जुन काम तथा विषय आफ्नो हृदय तथा अन्तरआत्माले स्वीकार गर्दैन
त्यो काम फेरि दोहोर्याएर कहिल्यै नगर्ने; परिवार, समाज, धर्म, राज्यले अनुशासित
समाज निर्माणकालागि तय गरेका नीति, नियम, मर्यादा, संस्कार तथा संस्कृतिहरुलाई मन
तथा हृदयदेखि सम्मान, अनुशरण तथा पालन गर्ने आदि जस्ता सकारात्मक
गतिविधिहरुबाट विस्तारै स्वाधिष्ठान चक्र सन्तुलित, सकृय तथा जागृत हुँदै जान्छ र
जीवनमा सबै परिस्थितिहरु व्यवस्थित तथा सहज हुदै जान्छन् ।
स्वादिष्ठान चक्र जागरण र यसबाट प्राप्त हुने दिव्य उपलव्धिहरु
आफूलाई जे काम गर्न ज्यादा रुचि लाग्छ र जुन काम गर्दा आनन्द लाग्छ त्यो आफ्नो स्वधर्म अनुसारको कर्म हो । आफ्नो रुचि तथा स्वधर्म अनुसारको कर्म गर्दा स्वधिष्ठान चक्र सन्तुलित र सकृय त हुन्छ नै साथसाथ जागृत पनि हुन्छ । स्वधिष्ठान चक्र जागृत हुदैजाने क्रममा चक्रको सुन्तला रंगको प्रकाशमा ब्रम्हाण्डिय दिव्य उर्जाको प्रवाह बढ्दै जाने क्रममा अझ उज्यालो चमक बढ्दै जान्छ र सुन्तला रंगमा अझ चम्किलो ज्योति झल्किन थाल्छ र यस चक्रसंग सम्वन्धित पराअलौकिक दिव्यताका चमत्कारहरु मनुष्यको अनुभवमा आउन थाल्छन् । यस क्रममा पराभौतिक संसारका परालौकिकता, दिव्यता, शक्ति, सिद्धि, निधिहरु पनि प्रकट हुन थाल्छन् जो भौतिक संसारले कल्पना गर्न पनि सक्दैन । भौतिक जगतले यस्ता पराभौतिक सत्यता तथा दिव्यताहरुलाई स्वीकार गर्दैन, तर्क गर्छ, प्रमाण खोज्छ, कारण माग्छ तर सबै परालौकिक सत्यता तथा दिव्यताका विषयहरुको प्रमाण हुदैन जसरी पंचतत्वहरु मध्यका वायु तत्व, आकाश तत्वको स्थुल प्रमाण देखिदैन, जल तत्व र अग्नि तत्वको स्थुल आकार देखिए पनि अग्निको न्यानोपन तथा जलको शितलता देखिदैन तर महसुस गर्न सकिन्छ त्यसरीनै पराभौतिक संसारका परालौकिक दिव्यता तथा सत्यताका विषयहरुलाई देख्न सकिदैन तर योग साधनाको गहिराइमा प्रत्यक्ष रुपमा अनुभव तथा अनुभूति गर्न सकिन्छ। यी विषयहरुको सन्दर्भमा जति नै गहनतापूर्वक खोजगरे पनिभौतिक संसारले पराभौतिक संसारका विषयहरुको स्थुल प्रमाण फेला पार्न आजसम्म सकिएको छैन र सकिने छैन ।
चक्र सन्तुलित, सकृय र जागृत हुदैजाने क्रममा साधकको मूलाधार चक्रमा रहेको कुण्डलिनी उर्जा माथिका चक्रहरुमा प्रवेश गर्छ र चक्रहरुका सकारात्मक गुणहरु साधकको वाहिय तथा आन्तरीक जीवनमा प्रस्फुटन हुन थाल्छन् । मूलाधार चक्रको ऊर्जा सन्तुलित, सकृय तथा जागृत भएपछि साधकको आन्तरिक विकास हुने क्रममा ऊर्जाको प्रवाह तिव्र गतिमा त्यसभन्दा माथिको स्वधिष्ठान चक्रतिर बढ्न थाल्छ र मूलाधार चक्र तथा यस चक्रसंग सम्वन्धित स्थुल शरीर (फिजिकल बडी)बाट ऊर्जा सर्वप्रथम स्वाधिष्ठान चक्र तथा यस चक्रसंग सम्वन्धित सुक्ष्म शरीर(इथरीक बडी)मा प्रवेश गर्छ र यसक्रममा साधकमा भाव जगतको विकास हुन थाल्छ । ऊर्जा स्वधिष्ठान चक्र तथा सुक्ष्म शरीरमा प्रवेश गरेपछि साधकमा भाव जगतको आनन्द बढ्न थाल्छ र विस्तारै उसमा परिपक्वता आउन थाल्छ । स्वधिष्ठान चक्रमा मनुष्यमा परिपक्वता आउँछ तर तर्क, बुद्धि र विचारको विकास हुन बाँकी नै रहन्छ । तर्क, बुद्धि र विचारको विकास मणिपुर चक्र तथा यस चक्रसंग सम्वन्धित कारण शरीर(एस्ट्रल बडी)मा पुगेपछि हुन थाल्छ ।
No comments:
Post a Comment