डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डभित्र रहेका उर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)लाई ब्रम्हाण्डका समस्त शक्तिहरुको केन्द्र मानिन्छ । ब्रम्हाण्डिय उर्जाका मूलशक्ति केन्द्र यी सात चक्रहरुलाई सन्तुलित, सकृय तथा जागृत गरेर भौतिक र पराभौतिक जीवनका सबै दुःखहरुबाट निवृत्त भएर यही जीवनमै सांसारीक मोक्ष र पारमार्थिक मोक्ष दुवै हासिल गर्न सकिन्छ । मनुष्यको प्रेम केन्द्रित सकारात्मक भाव तथा सबैसंग सुमधूर, प्रेमपूर्ण, मैत्रीपूर्ण सम्वन्ध, सदभाव, मिलेर काम गर्नसक्ने क्षमता, शान्त र आनन्दित जीवनकालागि अनाहद चक्रको विशेष प्रकारको महत्व र सकारात्मक प्रभावकारीता रहेको हुन्छ । पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य र सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; दोस्रो स्वाधिष्ठान चक्र मनुष्यको मानसिक शरीरको खुशी र शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ; तेस्रो मणिपुर चक्र मनुष्यको आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, इच्छाशक्ति, संकल्पशक्ति, पराक्रम, साहससंग सम्वन्धित छ र अनाहद चक्र मनुष्यको प्रेम केन्द्रित भावशक्ति, मैत्रीभाव, सम्बन्धसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ ।
अनाहद चक्रको पृष्ठभूमि
संस्कृत वांगमयको 'अनाहद' अन+आहद दुई शव्दको संयोगले बनेको छ । अनाहद शव्दको शाव्दिक अर्थ केलाउदा 'अन' को अर्थ बिना तथा अभाव हो र 'आहद'को अर्थ टकराव तथा स्पर्श हो अर्थात 'बिनाकुनै टकराव' । मनुष्यको शरीरको छाति क्षेत्र तथा दुई स्तनको विच भागको सिधा पछाडि मेरुदण्डमा स्थित रहेको अनाहद चक्रमा बिना कुनै आहद तथा टकराव निरन्तर एकप्रकारको दिव्य ध्वनि गुञ्जिरहन्छ जसलाई नाद भनिन्छ । बिना कुनै आहद तथा टकराव आफैं सिर्जित भएर गुञ्जिरहने ध्वनि भएकोले यो ध्यनिलाई 'अन आहद नाद' अर्थात अनाहद नाद भनिएको हो । यही नाद तथा ध्वनिलाई 'नाद ब्रम्ह' तथा 'शव्द ब्रम्ह'को रुपमा पूर्वीय अध्यात्म दर्शनका सनातन शास्त्र तथा ग्रन्थहरुमा बारबार ब्याख्या गरिएको छ । अनाहद नाद ब्रम्हाण्डको चारैतिर नित्य निरन्तर अविरल रुपमा गुञ्जिरहने दिव्य ध्वान हो । सबै प्रकारका ध्वनिहरू एक वस्तुमा अर्को वस्तु ठोकिएपछि तथा आहद भएपछि मात्र सिर्जित हुन्छन् तर अनाहद नाद बिना कुनै टकराव तथा आहद आफैं स्वत:स्फुर्त रुपमा गुञ्जिरहने हुनाले यसलाई अनाहद नाद भनिएको हो । दिव्य अनाहद नाद सामान्य मनुष्यको श्रवणमा आउदैन, ध्यान साधनामा अभ्यस्त सिद्ध योगी तथा नाद योगी, सन्त, तवस्वीहरुलाई मात्र यो दिव्य नादको इन्द्रियातीत श्रवण तथा अनुभूति हुन्छ । अनाहद चक्र हृदय क्षेत्रमा स्थित भएकोले यसलाई हृदय चक्र पनि भनिन्छ । जिवात्मा(जिवमा स्थित आत्मा)को निवास स्थान अनाहद तथा हृदय चक्रमै रहेको मानिन्छ र मनुष्यको अन्तःकरणको प्रमुख स्थान पनि हृदय क्षेत्र तथा अनाहद चक्र नै हो ।
अनाहद चक्र सात चक्रहरुमध्ये विचमा पर्छ अर्थात यो भन्दा माथि तीनवटा चक्र र यो भन्दा तल तीनवटा चक्र रहेका छन् । हृदय चक्र भन्दा तल रहेका तीनवटा चक्रहरु(मूलाधार, स्वधिष्ठान, मणिपुर) विशेषगरि मनुष्यको भौतिक तथा शारीरिक आवश्यकताहरूसंग सम्वन्धित छन् र यो भन्दा माथिका तीनवटा चक्रहरु(विशुद्धि, आज्ञा, सहश्रार) शान्ति, आनन्द, परमानन्द, सतचितानन्द, आत्मज्ञान, तत्वज्ञान, व्रम्हज्ञान प्राप्तिका मूलकेन्द्र मानिन्छन् । माथिका यी तीन चक्रहरुको साधनाबाट मनुष्यको आन्तरिक तथा आध्यात्मिक प्रगति हुन्छ । माथिका तीन चक्रहरु ब्रह्माण्डीय तत्त्व, ब्राह्मी चेतना तथा विशिष्ट ऊर्जाका केन्द्र हुन् र अध्यात्म साधना पूर्णतः ब्रम्हाण्डिय शक्ति तथा ब्रम्हाण्डिय दिव्य उर्जाको साधना हो । केवल अध्यात्म साधनाबाट साधक ब्रम्हाण्डको अन्तिम सत्य तथा ब्रम्हज्ञानसम्म पुग्न सक्छ । अनाहद चक्रले तल र माथिका चक्रहरुविच सन्तुलन कायम राख्ने सन्तुलन केन्द्रको रुपमा काम गर्दछ । तलका तीन चक्रहरूसंग सम्वन्धित विषयहरूमा यो अन्तिम चक्र हो र माथिका तीन चक्रहरुसंग सम्बन्धित विषयहरुमा यो पहिलो चक्र हो जसले मनुष्यको भौतिक र पराभौतिक अर्थात सांसारिक र आध्यात्मिक जीवनमा सन्तुलन बनाउने काममा मद्दत गर्दछ ।
अनाहद चक्र इच्छापूर्तिको केन्द्र हो । यस चक्रलाई कल्पवृक्ष (सबै इच्छा पूरा गर्ने वृक्ष)को स्थान स्थान पनि मानिन्छ । यो चक्र सन्तुलित तथा सकृय छ भने आफ्ना सानाठूला सबै प्रकारका इच्छाहरू पूर्ति हुन्छन् । अनाहद चक्रलाई बाह्रवटा कमल पत्रको प्रतिकको रुपमा देखाइन्छ, यस चक्रको वीज मन्त्र 'यं' हो । अनाहद चक्रले सात प्रमुख योगमध्य भक्ति योग; पंचकोषमा मनोमय कोष; पंचतत्वमध्य वायु तत्व; नवग्रहमध्य चन्द्रमा ग्रह; बाह्र राशिमा वृष र तुला राशि; स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरुमध्य थाइमस ग्रन्थी(ग्ल्यान्ड)को र भावनात्मक स्वास्थ्यको प्रतिनिधित्व गर्दछ । अनाहद चक्रको स्वरूप षटकोण आकारको हुन्छ र यस चक्रको रङ्ग हरियो हुन्छ । मुख्य रूपमा मनुष्यको प्रेम केन्द्रित भावनात्मक शक्ति अर्थात भाव शक्ति यस चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ । मनुष्यले अरु समक्ष पकट गर्ने प्रेमका अनेक स्वरुपहर- सानालाई स्नेह, समकक्षीलाई मैत्रीभाव, जीवनसाथीलाई मायाँ, ठूलालाई श्रद्धा, निमुखाहरुलाई दया तथा करुणा र इश्वरप्रति भक्ति तथा परमभक्ति प्रकट गर्ने व्यवहार तथा क्षमतामा अनाहद चक्रको प्रत्यक्ष नियन्त्रण रहेको हुन्छ । शारीरिक अंगहरुमा गर्धन भन्दा तल तथा मध्यमाग(डायफ्राम) भन्दा माथिका ढाडको तथा छातिको क्षेत्र र छाति क्षेत्रका आन्तरीक अंगहरु करगं, फोक्सो, मुटु, रक्तवाहिनी प्रमुख नलीहरु, श्यासप्रश्वासका प्रमुख नलीहरु, ठोस तथा तरल भोजन निल्ने नली आदि अनाहद चक्र अन्तर्गत पर्दछन् ।
सन्तुलित तथा सकृय अनाहद चक्र
प्रेम केन्द्रित अन्तर भावनाको मूलकेन्द्र अनाहद चक्र सन्तुलित, सकृय तथा जागृत अवस्थामा रहेकोछ भने व्यक्ति सत्यनिष्ठ, कर्तव्यनिष्ठ, उत्तरदायी, जिम्मेदार तथा मिलनसार हुन्छ । उसको हृदयमा सबै मनुष्य तथा प्राणीहरूप्रति समानभाव, प्रेमभाव, स्नेह, मैत्री, मायाँ, श्रद्धा, दया तथा करुणा जस्ता महान भाव सदा बनिरहन्छ । इश्वरप्रति आस्था, भक्ति तथा परमभक्ति र समर्पण भाव बनिरहन्छ । उसको सोच तथा विचार पारमार्थ र त्याग तथा वितरागको भावनाले ओतप्रोत हुन्छ र सदा सर्वकल्याणका काममा आफ्नो जीवन व्यतीत गर्दछ तथा समर्पित गर्दछ । अनाहद चक्र सन्तुलित तथा सकृय भएको व्यक्तिका सबै नाता र सम्बन्धहरू निस्वार्थ भावनामा आधारित हुन्छन् र अत्यन्तै विश्वासले भरिएका, गहिरा सम्बन्धहरु हुन्छन् । यस्तो व्यक्ति सदा अरुको भलाइकालागि सहयोग, उपकार, परोपकार, दान, पुण्य, सेवा गर्न तत्पर हुन्छ तथा रुचाउछ । अत्यन्तै कमलो मन तथा हृदय भएको दयालु तथा करुणादायी हुन्छ । सेवा तथा परोपकारका पुण्य कार्यहरु गर्न पाउदा आफूलाई भाग्यमानी महसुस गर्छ, आफू सदा खुशी, शान्त र आनन्दित रहन्छ र अरुलाई पनि सक्दो प्रसन्न बनाउने प्रयास गर्छ । यस्तो व्यक्ति दिमागबाट भन्दा हृदयबाट सञ्चालित हुन्छ र हृदयबाट नै जीवनका हरप्रकारका निर्णयहरु गर्दछ । यस्तो व्यक्तिले आफ्ना र अरुका भावना तथा संवेदनाहरूलाई गहिराईमा महसुस गर्छ र हरप्रकारले आवश्यक सबैलाई आफ्नो दक्षताले भ्याएसम्म सहयोग गर्न तत्पर हुन्छ । अनिद्रा, भाव परिवर्तन(मुड स्वीङ), बेखुशी, वेचैनी, अविश्वास अशान्ति, घृणा, कुण्ठा, तनाव, चिन्ता, अवसाद, खराब सम्बन्धहरू आदिबाट उ सदा मुक्त हुन्छ र यस्तो व्यक्ति मानसिक तथा भावनात्मक रुपले स्वस्थ तथा तन्दुरुस्त, प्रेमल, सुखी, खुशी, सन्तोषी, स्वीकार भावले भरिएको, सबैसंग सुमधूर सन्बन्ध भएको, विश्वसनिय, कतब्यनिष्ठ, उत्तरदायी, शान्त र आनन्दित हुन्छ र सदा अरुलाई पनि यही सकारात्मक भाव तथा उर्जा गरेर सबैलाई सुख, शान्ति प्रदान गर्दछ ।
असन्तुलित तथा निष्कृय अनाहद चक्र
अनाहद चक्र असन्तुलित तथा निष्कृय भएको व्यक्ति मानवीय विकारहरुका कारण शरीर, मन, भावना, चेतनामा उत्पन्न हुने हरप्रकारका समस्या, अस्वस्थता तथा रोगहरु- मुटु तथा मुटुसंग सम्वन्धित रोगहरु, फोक्सो तथा फोक्सोसंग सम्वन्धित रोगहरु, अनिद्रा, भाव परिवर्तन(मुड स्वीङ), बेखुशी, वेचैनी, अविश्वास, खराब सम्बन्धहरू, अशान्ति, घृणा, कुण्ठा, तनाव, चिन्ता, अवसाद आदिबाट ग्रसित हुन्छ । अनाहत चक्र असन्तुलित तथा निष्कृय अवस्थामा छ भने व्यक्तिमा आन्तरिक रूपमा भित्रबाट बेखुशी, उदाषी, अशान्ति, प्रेममा कमी, सम्वन्धहरु बिग्रिने, जीवनमा खालीपन महसुस हुने हुन्छ । विगतमा भोगेका चोटिला अनुभव तथा अनुभूतिहरू, चित्त दुखेका घटनाहरू जस्तो प्रेममा धोखा, सम्बन्धमा असन्तुलन, विश्वासघात, घाटा, असुरक्षाको महसुस आदि नकारात्मक विषयहरू बारबार स्मृतिमा आइरहन्छन् र परिणामस्वरुप कसैसँग बोल्न मन नलाग्ने, घर वाहिर निस्कन मन नलाग्ने, हाँस्न, खुशी हुन तथा रमाउन मन नलाग्ने, अरुलाई विश्वास गर्न नसक्ने, रुन मन लागिरहने, नयाँ सम्वन्ध बनाउन डर लाग्ने, बिनाकारण भय तथा असुरक्षा महसुस गरिरहने जस्ता समस्या तथा अस्वस्थताहरु देखा पर्दछन् । लगातार यस्ता नकारात्मक भाव तथा विकारहरु, बेचैनी तथा दुःखहरू आफूभित्र गुम्स्याएर तथा दबाएर राख्ने प्रवृत्ति बढ्दै जान्छ । यस्तो अवस्थामा व्यक्तिको मानसिकता तथा भावनामा कुण्ठा बढ्दै जान्छ र अनाहद चक्रमा यसको नकारात्मक प्रभाव पर्छ र चक्र असन्तुलित तथा निष्कृय हुदै जान्छ । अनाहद चक्र अझ बढि असन्तुलित तथा अति निष्कृय भयो भने व्यक्तिमा दबिएर रहेका कुण्ठित भावनाहरूका कारण शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक शरीर तथा स्वास्थ्यमा विभिन्न प्रकारका समस्या, विकार, अस्वस्थता तथा रोगहरू देखा पर्न थाल्छन् र यस्तो अवस्थाले कहिलेकाहीं व्यक्तिलाई आत्महत्याको सोच तथा आलहत्या जस्तो जघन्य दुर्घटनासम्म नै पुर्याउँछ र यस्तो अवस्थाले परिवार, समाज, राज्य, विश्व, प्रकृति सबैतिर अस्तव्यस्तताको अवस्था ल्याउछ ।
असन्तुलित तथा अति सकृय अनाहद चक्र
अनाहद चक्र असन्तुलित तथा अति सकृय अवस्थामा छ भने यसले व्यक्तिमा आवश्यकता भन्दा बढि उदार हुने भावनामा बहेर निर्णय लिने, परिणामको ख्यालै नगर्ने, अरुको भावको विचारै नगरिकन निर्णय लिने तथा कामहरु गर्ने, परिवार साथीसंगी, समाजका जो कोहीसंग चाहिने भन्दा बढि नजिकको सम्बन्ध बनाउने, असमन्धित वस्तु तथा व्यक्तिसंग ज्यादा घनिष्टता राख्ने, अरुमाथि चाहिने भन्दा बढि विश्वास गर्ने, आफ्ना प्रियजनहरूलाई थोरै मात्र कष्ट भयो, चोट पुग्यो, समस्या पर्यो भने आफू अत्यन्त समवेदनशील हुने, भावनात्मक रुपमा चाढै असन्तुलित हुने जस्ता समस्या तथा विकारहरु देखा पर्दछन् । यस्तो व्यक्ति आफ्नो व्यक्तिगत जीवन र परिवारको जिम्मेदारी तथा उत्तरदायित्वलाई एकातिर पन्साएर तथा वास्ता नगरेर अरुको भलाई तथा समाजसेवाको काममा आफ्नो सबै समय, धनसम्पत्ति तथा पुरै जीवन नै समर्पित गरिदिन्छ र एक किसिमले गैर जिम्मेदार, सन्की, अहंकारी, आडम्बरी जस्तो व्यवहार देखाउदै जान्छ । व्यक्तिमा यसप्रकारको भावना बढ्दै जाँदा यसले आफैंलाई, आफ्नो परिवारलाई, नातासम्बन्ध र समाजलाई समेत अप्ठ्यारो पार्न सक्छ । यस्तो व्यक्तिमा अरुले आफूप्रति दुर्व्यवहार गर्यो, बेइज्जत गर्यो, अन्याय गर्यो भने पनि सहने प्रवृत्ति बढ्दै जान्छ । यस्ता अन्याय सहने प्रवृत्तिहरुले व्यक्ति लगायत, परिवार, समाज, राज्य तथा पुरै प्रकृतिलाई नै नकारात्मक प्रभाव पार्न सक्छ ।
अनाहद चक्र सन्तुलित, सकृय तथा जागृत गर्ने उपायहरु
तीन 'स'को परिपालन- अनाहद चक्र प्रत्यक्ष रुपमा मनुष्यको प्रेम केन्द्रित भावनाहरु- स्नेह, मैत्री, मायाँ, दया, करुणा, श्रद्धा, भक्तिसंग सम्वन्धित भएको र प्रेम केन्द्रित भावनाहरुबाट शान्ति प्राप्त हुने भएकोले जीवनमा दिगो शान्ति ल्याउनकालागि अनाहद चक्र सन्तुलित, सकृय, स्वस्थ राख्नु तथा जागृत गर्नु अत्यन्तै आवश्यक हुन्छ । व्यक्तिको मानसिकता तथा भावनामा दिगो शान्ति खासगरी तीन 'स'- सत्संग, साधना, सेवाबाट प्राप्त गर्न सकिन्छ जसले अनाहद चक्रलाई सन्तुलित, सकृय, स्वस्थ तथा जागृत गर्न मद्दत गर्दछ ।
सतसंग- सतसंग गर्नाले जीवन र जीवन दर्शन तथा जीवनको विज्ञानका विषयहरुबारे सान्दर्भिक ज्ञान हासिल हुन्छ । जीवनमा शान्ति तथा आनन्द प्राप्त गर्नकालागि के कस्ता कर्महरु गर्नु पर्छ, के कस्ता कर्महरु गर्नु हुदैन भन्ने विषयका ज्ञान सतसंगबाट हासिल गर्न सकिन्छ र त्यही लयमा आफ्नो दैनिकीलाई ढालेर जीवनमा भावनात्मक शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ ।
साधना- निष्ठापूर्वक अध्यात्म विज्ञान तथा योग विज्ञानका सतप्रतिशत वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुको निष्ठापूर्वक साधना गर्नाले शरीर र शरीरका स्वास्थ्यका सबै आयामहरु- शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मकमा सकारात्मक प्रभाव पर्दछ र यस्तो अवस्थामा व्यक्तिमा मानसिक तथा भावनात्मक स्थाइत्व कायम रहिरहन्छ ।
सेवा- निस्वार्थ भावले अरुको सेवा गर्नाले मानसिक तथा भावनात्मक शान्ति प्राप्त हुन्छ । हरेक दिन निस्वार्थ भावले आवश्यक वर्गहरुकालागि दया तथा करूणाका सेवायुक्त कार्यहरु गर्नाले व्यक्तिभित्र प्रेम केन्द्रित भावहरुको ऊर्जाको प्रवाह बढ्छ र चक्र सन्तुलित, सकृय, स्वस्थ तथा जागृत हुन मद्दत गर्दछ । दया, करुणाका कार्यहरु जस्तो अरुमा आश्रित तथा निमुखा वर्गहरु(गर्भवती, वालवालिका, बिरामी, अशक्त, वृद्धवृद्धा, जनावर, पशुपन्छी, प्राणी, वनस्पति)को सेवा तथा उचित हेरचाह हुने सेवा प्रदान गरेर अनाहद चक्रमा प्रेम केन्द्रित भावना, सद्भावको भावना तथा समभावको भावना बढाउन सकिन्छ । यसरी बढेको प्रेम केन्द्रित भावनाहरुले अनाहद चक्रमा सकारात्मक ऊर्जाको प्रवाह बढाउछ । सतसंग, साधना र सेवावाट प्राप्त भएका सबै उपलव्धिहरुले अनाहद चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउछन् र चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन मद्धत गर्दछन ।
भक्ति मार्गको अनुशरण गरेर- सबै ईश्वरकै सृष्टि हो भन्ने आस्था तथा विश्वास, ईश्वरप्रति समर्पण तथा भक्ति भाव र सबैप्रति समभाव, प्रेमभाव, श्रद्धाभाव राखेर अनाहद चक्रलाई आवश्यक पर्ने सकारात्मक उर्जाको प्रवाह बढाएर चक्रलाई सन्तुलित, सकृय, स्वस्थ तथा जागृत गर्न सकिन्छ । आफूमा मन्तिको भाव बढाउन इश्वरका अनन्य भक्तहरूको जीवनगाथा पढेर तथा जानेर, धार्मिक भावना तथा भक्ति भावले ओतप्रोत भएर भजन, किर्तन, नृत्यहरू गरेर, आफ्नो धर्म, संस्कृति, संस्कार, चालचलन, परम्पराहरुको हृदयदेखि नै श्रद्धा भावले अनुसरण गरेर आफूभित्र ईश्वरप्रति भक्तिभाव जगाउन सकिन्छ । इश्वरप्रति जागृत भक्तिभावले अनाहद चक्र सन्तुलित, सकृय, स्वस्थ तथा जागृत गर्न पर्याप्त मदत गर्दछ ।
लयात्मक गीतसंगीत सुनेर- गीतसंगीत सुन्नु, गाउनु तथा नृत्य, किर्तन आदि गर्नु मनुष्यको आन्तरिक भावनामा सकारात्मक ऊर्जाको प्रवाह बढाउने अत्यन्तै महत्त्वपूर्ण तथा प्रभावकारी गतिविधि हो । संगीतका सुमधूर धून, तरङ्ग, राग तथा आलापहरुले हृदयको भावलाई छुन्छन्, भावलाई गहिर्याउछन्, हृदयलाई पगाल्छन् र प्रेम केन्द्रित सकारात्मक उर्जाको प्रवाह बढाउछन् । आफूलाई मनपर्ने प्रकारको गीतसंगीत सुन्दा, गुनगुनाउदा तथा नृत्य, किर्तन आदि गर्दा अनाहद चक्रलाई आवश्यक पर्ने सकारात्मक उर्जाको प्रवाह बढ्दै जान्छ र चक्र सन्तुलित, सकृय, स्वस्थ तथा जागृत हुन मद्दत मिल्छ ।
आफूलाई राम्रा सन्देश तथा आत्मसुझाव दिएर- राति सुत्नुअघि तथा विहान उठ्नुअघि ओछ्यानमा आफूलाई शुभ हुने खालका राम्रा सन्देश तथा आत्मसुझावहरु(अफर्मेसन्स, अटो सजेसन) दिने र त्यसलाई बारबार दोहोर्याइरहनाले यस्ता सन्देशहरु अवचेतन मनमा गएर बस्छन् र शरीरका हरेक कोष, मन तथा भावनाहरु यी सन्देशहरुमा काम गर्न अभ्यस्त हुदै तथा बानी पर्दै जान्छन् । यस्ता बानी तथा व्यवहारहरुले अनाहद चक्र सन्तुलित रहन आवश्यक पर्ने ऊर्जाको प्रवाह बढाउछन् र चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन थाल्छ ।
आफ्नो स्वधर्म अनुसारको कर्म गरेर- हरेक व्यतिको रुचि, रोजाइ तथा आनन्द प्राप्त गर्ने श्रोतहरु फरकफरक प्रकारका हुन्छन् । कसैलाई प्रकृतिमा रम्न मनपर्छ, कसैलाई सृजनशील काममा अत्यन्तै रुचि हुन्छ, कसैलाई सेवाका काम तथा परोपकार गर्नमा आनन्द आउँछ, कसैलाई इश्वरको भक्तिमा लिन हुदा आनन्द आउछ । दैनिक जीवनमा आफ्ना रोजाइका मनपर्ने यस्ता कामहरू गर्दा तथा यस्ता कार्यहरुलाई आफ्नो कर्मक्षेत्र बनाउदा अनाहत चक्रमा सकारात्मक उर्जाको प्रवाह निरन्तर बढिरहन्छ । दैनिक रुपमा सकेसम्म आफूलाई मनपर्ने तथा आफ्नो रुचि भएका, आफूलाई मज्जा लाग्ने तथा आनन्द प्रदान गर्ने कामहरु गर्नुपर्दछ जुन काम म निस्वार्थ भावले नथाकीकन निरन्तर गरिरहन सक्छु, त्यस्ता कामहरु गर्दा त्यस कामप्रति मेरो प्रेम, लगाव, निकटता बढ्दै जान्छ । आफूले दैनिक रुपमा गर्ने कामहरुमा प्रेम, लगाव, निकटता बढ्दै जादा यस्तो अवस्थामा उत्पन्न हुने ऊर्जाले अनाहद चक्र सन्तुलित रहन आवश्यक पर्ने ऊर्जाको प्रवाह बढाउछ र चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुदै जान्छ ।
प्रेम केन्द्रित भावनाहरु बढाएर- निस्काम सेवा नै शुद्ध दान हो र शुद्ध दान नै सहि अर्थमा पुण्य हो । द्रव्य दान, श्रमदान, क्षमा दान, मुक्ति दान, मोक्ष दान दिएर आफ्नो मन, भावना तथा चेतनामा खुशी, शान्ति, आनन्द प्राप्त गर्न सकिन्छ । खुशी, शान्ति, आनन्द नै प्रेम केन्द्रित भावनाहरुलाई पोषण प्रदान गर्ने मूलश्रोत हुन् जसले व्यक्तिभित्र भावनाहरु उत्सर्जन गर्ने अनाहद चक्रलाई सकारात्मक ऊर्जा प्रवाह गर्दछ र चक्र सन्तुलित हुन मद्दत गर्दछ । यसका साथै निरन्तर गुनासोरहित स्वीकारभाव, सन्तोषभाव, निस्वार्थभाव, निरअहंकारीता, सबैलाई आफू जस्तै सोच्ने समभाव, सबैमा आफूलाई देख्ने र आफूलाई सबैमा देख्ने तथा म सबैकालागि र सबै मेरालागि भन्ने समभावले प्रेम केन्द्रित भावनाहरु प्रष्फुटित हुन अझ बढि सकारात्मक उर्जा प्राप्त हुन्छ र यसले अनाहद चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन मद्धत गर्दछ ।
आध्यात्मिक अभ्यासबाट अनाहद चक्र जागरण
अनाहद चक्रमा ध्यान गरेर- कम्मर, ढाड, गर्धन, शिर सिधा गरेर ध्यान मुद्रामा बसेर अनाहद चक्र स्थित भएको शरीरको क्षेत्रमा चक्रको हरियो(प्राकृतिक हरियाली) रंगको प्रकाश फैलिएको कल्पना गर्दै त्यस क्षेत्रमा ध्यान केन्द्रित गरेर उक्त स्थानमा बाह्रपात भएको कमलको फूलको कोपिला कल्पना गर्दै, विस्तारै कोपिलाका पत्र खुल्दैखुल्दै गएको र फूल फक्रिएको कल्पना गर्दै, फूल पूरै फक्रिसकेपछि उक्त सुन्दर फूललाई नियाल्दै ५-१० मिनेटसम्म आनन्द लिएर ध्यानको अवस्थामा रहदा अनाहद चक्रमा सकारात्मक उर्जाको प्रवाह बढ्छ, चक्रका संकुचन तथा जकडनहरु खुल्न थाल्छन् र चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन थाल्छ ।
वीज मन्त्र ध्यान गरेर- अनाहद चक्रको वीज मन्त्र 'यं' को मानसिक तथा मौखिक जाप गर्दै ध्यान साधनामा बसेर भित्र आएको श्वासमा 'ॐ' प्रणव मन्त्र उच्चाहरण र वाहिर गएको श्वासमा 'यं' वीज मन्त्र उच्चाहरण गरेर चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाएर अनाहद चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत गर्न सकिन्छ ।
श्वासमा ध्यान लगाएर- भित्र आएको र वाहिर गएको श्वासमा ध्यान लगाएर, भित्र आएको श्वासमा हृदयको ऊर्जा तथा औरा फैलिदै बढेर गएको सकारात्मक भावले भरिएको कल्पना गर्दा र वाहिर गएको श्वासमा श्वाससंग हृदयका तथा भावनाका सबै विकारहरू वाहिर गएको महसुस तथा कल्पना गर्दा अनाहद चक्रमा सकारात्मक उर्जाको प्रवाह बढ्छ, चक्रका संकुचन तथा जकडनहरु खुल्न थाल्छन् र चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन थाल्छ । bsirjana@gmail.com
No comments:
Post a Comment