'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 3 March 2025

आरोग्यताकालागि मस्तिष्क र मुटु तथा मन र हृदयको सह-सम्वन्ध

Brain and Heart Coherence for Wellness

                                              डा. सिर्जना भण्डारी

                            #अध्यात्म_दर्शन #जीवन_दर्शन  




विषय प्रवेश
मनुष्यको भौतिक शरीरका भौतिक अंग मस्तिष्क(ब्रेन) र मुटु(हार्ट)को मनुष्यको सुक्ष्म शरीरका अभौतिक अंग मन(माइन्ड), हृदय(हृदयको अंग्रेजी शव्द छैन) र चेतना/आत्मा(कन्सिवस/सोल)संग भौतिक तथा पराभौतिक दुवै प्रकारको प्रत्यक्ष सम्वन्ध रहेको हुन्छ । यही सम्वन्धको आधारमा मनुष्यको जीवन चलिरहेको हुन्छ । मस्तिष्क र मुटु तथा मन र हृदय आपसमा सह–सम्वन्ध तथा सहमतिमा(कोहेरेन्स) चलेका छन् भने मनुष्यको जीवनमा आरोग्यता, स्वास्थ्य, सुख, खुशी, समृद्धि, सफलता, प्रतिष्ठा, शान्ति, आनन्द हासिल हुन्छ । यसको विपरीत मस्तिष्क र मुटु तथा मन र हृदय सह–सम्वन्धमा चलेका छैनन् तथा असहमतिमा चलेका छन् भने जीवनमा हरप्रकारका असन्तुलनहरु, समस्या, चुनौति, दुःख, पिडा, चिन्ता, विकार, अस्वस्थता, रोग, शोक, भोक, असफलता, खराव सम्वन्ध, मानहानि, गरिवी, दरिद्रता, बेचैनी, तनाव, चिन्ता, असन्तुष्टी, अशान्ति देखा पर्दछन् । आजको अत्यधिक प्रतिस्पर्धा, व्यस्तता तथा भागदौडको जीवन जिरहेका मनुष्यहरुको प्रमुख समस्या तथा चुनौति नै मस्तिष्क र मुटु तथा मन र हृदयको सह–सम्वन्ध राम्रो अवस्थामा नरहनु हो अर्थात मस्तिष्क र मुटु तथा मन र हृदयको अन्तर–द्वन्दमा जीवन जिउनु हो किनकी जीवनमा सबै प्रकारका असन्तुलनहरु मस्तिष्क र मुटु तथा मन र हृदयको अन्तर–द्वन्दकै कारण आउने गर्दछन् । 


मस्तिष्क तथा मनले एक खालको विचार राख्छ त्यसलाई मुटु तथा हृदयले स्वीकार गर्दैन तथा उक्त विचारलाई जीवनमा अनुशरण गर्न अनुमति दिदैन र मुटु तथा हृदयले एक खालको भाव राख्छ त्यसलाई मस्तिष्क तथा मनले स्वीकार गर्दैन तथा उक्त भावलाई जीवनमा अनुशरण गर्न अनुमति दिदैन । यही अन्तर–द्वन्दका कारण आजको मनुष्य मस्तिष्क र मुटु तथा मन र हृदयकोविचमा बाडिएको छ, उसलाई थाहा नै छैन म को हुँ, म के हुँ, म कहाँ छु, म किन छ, मैले जीवनमा के गर्नुपर्छ आदि । मनुष्य संधै अलमलको अवस्थामा छ र यहीकारण उ आफ्नो जीवनको सही उद्देश्य तथा लक्ष्य निर्धारण गर्न नसकेर पछाडि परेको छ, बेखुश छ र जीवनमा अनेक प्रकारका चुनौतिहरु झेलिरहेको छ । मस्तिष्क र मुटु तथा मन र हृदयको अन्तर–द्वन्दलाई अध्यात्म विज्ञानका र आधूनिक मनोविज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारीत उपाय, विधि तथा पद्धतिहरुको निष्ठापूर्वक दैनिक जीवनमा अनुशरण गरेर कम गर्न तथा हटाउन सकिन्छ र पूर्णताले भरिएको सहज तथा सरल जीवन जिउन सकिन्छ । 


आरोग्य तथा स्वास्थ्य 

केही दशक अघिसम्म आमरुपमा आरोग्य तथा स्वाथ्य भन्नाले केवल शारीरिक स्वास्थ्य र केही हदसम्म मानसिक स्वास्थ्य भन्ने बुझिन्थ्यो तर अव यो बुझाइमा परिवर्तन आएको छ । विश्वको छाता संगठन संयुक्त राष्ट्रसंघको महत्वपूर्ण संस्था विश्व स्वास्थ्य संगठन(WHO)ले सनातन अध्यात्म विज्ञानका दर्शनहरुलाई आर्दश मानेर यसैका आधारमा स्वास्थ्यको वृहत परिभाषा गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, पूर्णरुपमा स्वस्थ व्यक्ति त्यो हो जो शरीरिक, मानसिक, भावनात्मक(सामाजिक) र आत्मिक अर्थात चेतनात्मक(आध्यात्मिक) रुपले स्वस्थ तथा आरोग्य छ । समग्रतामा स्वास्थ्य र आरोग्य शव्दको अर्थ उस्तै–उस्तै लागेपनि गरिहराइमा यी दुई शव्दावलीको बुझाई तथा परिभाषा अलि फरक रहेको छ । 'स्वास्थ्य'लाई शरीर तथा स्वास्थ्यका विभिन्न आयामहरु(शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, चेतनात्मक स्वास्थ्य)मा समस्या आएपछि निराकरण खोज्नु तथा उपचार गर्नु भन्ने अलि शंकीर्ण अर्थमा परिभाषित गरिएको छ भने 'आरोग्य'लाई शरीर तथा स्वास्थ्यका सबै आयामहरुलाई हरपल स्वमा स्थित(नैसर्गिक अर्थात नेचुरल स्टेट) राखिराख्न तथा संधै स्वस्थ रहिरहन, शरीर तथा स्वास्थ्यका सबै आयामहरुमा कुनै प्रकारको समस्यानै आउन नदिने उपायहरु दैनिक जीवनमा अपनाएर आहार, विहार र व्यवहारमा संतुलन कायम राख्नु भन्ने फराकिलो अर्थमा प्राचीन चिकित्सा विज्ञान तथा पुर्वीम चिकित्सा विज्ञानले परिभाषित गर्दै आएको छ ।


भौतिक अंग मस्तिष्क र मुटु तथा अभौतिक अंग मन र हृदय

मस्तिष्क(ब्रेन) र मुटु(हार्ट) मनुष्यको शरीरका भौतिक अंग तथा इन्जिन हुन् जो स्थुल रूपमा दृश्य छन् । मस्तिष्क सोच तथा विचार उत्पन्न गर्ने अंग तथा इन्जिन हो र मुटु शरीरभरि रगतको संचार गर्ने अंग तथा इन्जिन हो । मनुष्यको सुक्ष्म शरीरमा रहेका मन(माइन्ड) र हृदय(हृदयको अंग्रेजी शव्द छैन) अभौतिक अंग हुन् जो अदृश्य छन् तर मस्तिष्क र मुटु भन्दा धेरै गुणा बढि शक्तिशाली छन् । मन मस्तिष्कसंग सम्वन्धित रहेको छ जहाँ विचारहरू उत्पन्न हुन्छन् र हृदय मुटुसंग सम्बन्धित रहेको छ जहाँ भावहरु उत्पन्न हुन्छन् । हर्टको अर्थ भौतिक अंग मुटु हो अभौतिक अंग हृदय होइन । मौलिक अंग मुटु मनुयको छातिको देव्रेपट्टि(दुर्लव हुन्छ तर कसैको दादिन पट्टि भएको पनि पाइएको छ) हुन्छ तर हृदय छातिको विचमा हृदय चक्र स्थित भएको क्षेत्रमा हुन्छ ।


मस्तिष्क र मुटु तथा मन र हृदयविच सह–सम्वन्ध

हामीले वाल्यकालदेखि नै औपचारिक तथा अनौपचारिक शिक्षामा पढ्दै तथा सुन्दै आएका छौं कि मनुष्यको शरीरलाई मस्तिष्कले चलाउछ तथा नियन्त्रण गर्छ । मस्तिष्क मनुष्यको जीवनलाई चलाउने प्रमुख अंग हो । आधूनिक चिकित्सा विज्ञानले लामो समयदेखि गर्दै आएको वैज्ञानिक खोज तथा शोधमूलक अध्ययनका तथ्यगत नतिजाहरुका अनुसार मनुष्य भौतिक प्राणी हो र मनुष्यलाई पूर्णरुपमा मस्तिष्कले चलाउछ किनकी मनुष्यको भौतिक शरीरको सन्तुलन तथा सहज स्वास्थ्यका लागि हुनुपर्ने सबै प्रकारका शारीरिक गतिविधिहरु संचालन गर्ने शरीरका साना–ठूला सबै नशनाडीहरु मेरुदण्डमा जोडिएका हुन्छन् र मेरुदण्ड मस्तिष्कसंग जोडिएको हुन्छ र मस्तिष्कले नै मनुष्य शरीरका सबै अंगहरुको गतिविधिहरु चल्न आदेश तथा सन्देश पठाउछ । तर आधूनिक चिकित्सा विज्ञानका वैज्ञानिकतामा आधारीत पछिल्ला खोजमूलक अनुसन्धानका तथ्यांकहरुले यो मान्यता पूर्ण सत्य नरहेको उजागर गरेका छन् । 


पूर्णतः आधूनिक वैज्ञानिक दृष्किोणबाट मनुष्य मुटु तथा हृदयका हरेक चाल तथा गतिविधिहरुको अध्ययन गर्ने वैज्ञानिक संस्था हर्टम्याथ इन्सिच्युटका पछिल्ला खोजमूलक अनुसन्धानका तथ्यांकहरु र यसकै अधारमा लेखिएका पुस्तकहरु(ग्रेग ब्रेडेनको तथ्यपरक पुस्तक डिभाइन मेट्रीक्समा उल्लेखित)ले देखाए अनुसार मनुष्यको शरीरलाई चलाउने प्रमुख अंग तथा प्रमुख कार्यकारी मस्तिष्क तथा मन नभएर मुटु तथा हृदयलाई प्रमुख अंगको मान्यता प्रदान गरिएको छ । हर्टम्याथ इन्सिच्युटका भौतिक प्रयोगशालामा गरिएका पछिल्ला अध्ययनहरुले मस्तिष्क र मुटु तथा मन र हृदयको सह–सम्वन्धको सन्दर्भमा आश्चर्य चकित पार्ने तथ्यांकहरु उजागर भएका छन् । भौतिक प्रयागशालामा गरिएका प्रयोगात्मक अध्ययनका तथ्यांकहरुका अनुसार मस्तिष्क तथा मनलाई मुटु तथा हृदयले भेगस नर्भस सिस्टम(स्नायु प्रणाली– सिन्पेथेटिक र प्यारा–सिम्पेथेटिक दुवै)को माध्यमबाट आफूले अनुभूति गरेका भावका सन्देशहरु पठाउछ र तिनै सन्देश अनुसार मस्तिष्क तथा मनलाई विचार निर्माण गर्न र तिनै विचार अनुसार शरीरका कोष तथा अंगहरुलाई काम गर्न प्रेरित गर्दछ तथा आदेश दिन्छ । मस्तिष्क र मुटु तथा मन र हृदयको सह–सम्वन्धमा सन्देश आदानप्रदान दोहोरो देखिएको भएपनि विशेष अवस्था(अधिक सुख तथा अधिक दुःख)मा ८० प्रतिशत सन्देश मुटु तथा हृदयबाट मस्तिष्क तथा मनमा जाने गरेको देखियो र २० प्रतिशत मात्र मस्तिष्क तथा मनबाट मुटु तथा हृदयमा आउने गरेको देखिएको छ किनकी मुटु तथा हृदय आफैंसंग ४० हजार स्नायु प्रणाली भएकोले यसको आफ्नै बुझ्ने, थाहा पाउजे तथा अनुभूति गर्ने क्षमता छ र मुटु तथा हृदयको अर्को अभूतपूर्व क्षमता अन्तरज्ञान(इन्ट्युसन)बाट चल्ने भएकोले सुख ताथ दुःखको अनुभूति पहिला यो क्षेत्रमा हुन्छ र यसपछि मात्र मस्तिष्क तथा मनसम्म पुग्छ तथा मुटु तथा हृदयले नै त्यहाँ पठाउछ । तर सामान्य अवस्थामा मस्तिष्क तथा मन र मुटु तथा हृदयका हरेक विचार तथा भावहरु उपर बराबर जस्तै दोहोरो संवाद चलिरहने गर्दछ । मस्तिष्क र मुटु तथा मन र हृदयको सह–सम्वन्ध अनुसार मनुष्यको शरीर, मन, भाव, चेतना चलेको अवस्थामा यसले उसको जीवनमा सकारात्मक परिणामहरु ल्याएको अध्ययनका तथ्यांकहरुमा पाइएका छन् ।


सह–सम्वन्ध किन आवश्यक छ र यसका लाभहरु

मस्तिष्क र मुटु तथा मन र हृदयको सह–सम्वन्ध तथा सहमति राम्रो अवस्थामा छ भने मस्तिष्क तथा मनले मुटु तथा हृदयले पठाएका भावहरुलाई सहजै मान्छ तथा जीवनमा अनुशरण गर्न स्वीकार गर्छ र मुटु तथा हृदयले मस्तिष्क तथा मनले पठाएका विचारहरु सहजै मान्छ तथा जीवनमा अनुशरण गरी स्वीकार गर्छ र मनुष्यको जीवनमा यसका सकारात्मक परिणामहरु देखिन थाल्छन् । मस्तिष्क र मुटु तथा मन र हृदयको सह–सम्वन्ध राम्रो अवस्थामा हुदा मन शान्त हुन्छ, एकाग्रता बढ्छ, अन्तरज्ञान(इन्ट्युसन)को क्षमता बढ्छ, स्मृति क्षमता राम्रो हुन्छ, सुसुप्त अवस्थामा रहेका जन्म–जन्मका क्षमता, प्रतिभा, सिर्जनशिलता तथा सकारात्मक गुणहरु उजागर हुन थाल्छन्, विचार तथा भावको प्रवाहमा वहन सक्ने क्षमता बढ्छ, जीवनको उद्देश्य तथा लक्ष्य निर्धारणमा सहजता हुन्छ, मन तथा हृदयमा बोझको स्थिति रहदैन, जीवन प्रगतिउन्मुख हुन्छ, चिन्ता, तनाव तथा जीवनका चुनौतिहरुलाई सहज ढंगले नियन्त्रण, समाधान तथा व्यवस्थापन गर्न सकिन्छ । यसकारण मनुष्यको मस्तिष्क र मुटु तथा मन र हृदयको सह–सम्वन्ध राम्रो अवस्थामा हुनु तला सहमतिमा चल्नु अति आवश्यक छ ।


सह–सम्वन्ध तथा सहमति नभए आउने चुनौतिहरु

मस्तिष्क र मुटु तथा मन र हृदयको सह–सम्वन्ध राम्रो अवस्थामा छैन अर्थात यी सहमतिमा चलेका छैनन् भने मस्तिष्क तथा मनले मुटु तथा हृदयले पठाएका भावहरु सहजै मान्दैन तथा जीवनमा अनुशरण गर्न स्वीकार गर्दैन र मुटु तथा हृदयले मस्तिष्क तथा मनले पठाएका विचारहरु सहजै मान्दैन तथा जीवनमा अनुशरण गर्न स्वीकार गर्दैन । यस्तो अवस्थामा मनुष्यको जीवनमा मस्तिष्क र मुटु तथा मन र हृदयविच अन्तर–द्वन्दको अवस्था आउछ र उसको जीवनमा यसका नकारात्मक परिणामहरु देखिन थाल्छन् । मस्तिष्क र मुटु तथा मन र हृदयको सह–सम्वन्ध राम्रो नभएको तथा सहमतिमा नचलेको अवस्थामा माथि उल्लेखित लाभहरुमा कमी आउनुको साथसाथ मनुष्यको जीवनमा दुःख, पिडा, चिन्ता, रोग, शोक, असफलता, खराव सम्वन्ध, मानहानि, गरिवी, दरिद्रता, असन्तोष, वैचैनी, तनाव, चिन्ता, अशान्ति आदि देखा पर्दछन् । 


आदिम मनुष्यहरुमा यस्ता समस्या तथा चुनौतिहरु त्यति थिएनन् तर आजको मनुष्य जीवनको सबैभन्दा ठूलो समस्या, चुनौति तथा बोझ नै मस्तिष्क तथा मन र मुटु तथा हृदयविचको अन्तर–द्वन्द हो, एकले अर्कोका विचार तथा भावहरुलाई स्वीकार नगर्नु हो । सह–सम्वन्ध, सहमति तथा स्वीकृतिको अवस्था बनाउन मस्तिष्क र मुटु तथा मन र हृदय सबै हरप्रकारले स्वस्थ र स्वच्छ हुनु आवश्यक हुन्छ(आधुनिक मनोविज्ञानका केही उपायहरु र अध्यात्म विज्ञानका केही योगीक विधि तथा पद्धतिहरु छोटकरीमा यस लेखमा समेटिएका छन्) । यदि मुटु तथा हृदयमा पहिला देखिनै(पूर्वजन्मका तथा यही जन्मका) ज्ञात, अज्ञात नराम्रा अनुभव तथा विकारहरु(भय, असुरक्षा, घृणा, असफलता आदि) संग्रहित भएर रहेका छन् र मुटु तथा हृदयमा मनले पठाएका विषय तथा विचारबारे पहिलानै एकप्रकारको नकारात्मक आस्था तथा विश्वास कायम भएर बसिसकेको छ भने मुटु तथा हृदयले मनले पठाएका विचारहरु उसम्म आउने वित्तिकै राम्रा, सकारात्मक तथा जीवनपयोगी छन् भनेपनि अस्वीकार गरिदिन्छ । यसको ठीक विपरित मस्तिष्क तथा मनले पठाएका विचारहरु नराम्रा, नकारात्मक तथा जीवनअनुपयोगी छन् तर त्यसबारे मुटु तथा हृदयमा पहिलानै उक्त भावप्रति एकप्रकारको सकारात्मक आस्था तथा विश्वास कायम भएर बसिसकेको छ भने मुटु तथा हृदयले मनले पठाएका विचारहरु उसम्म आउने वित्तिकै नराम्रा, नकारात्मक तथा जीवनअनुपयोगी छन् भनेपनि स्वीकार गरिदिन्छ । यस्तै प्रतिक्रिया मस्तिष्क तथा मनले पनि मुटु तथा हृदयले पठाएका भावहरुप्रति गर्दछ । 


मनुष्यको मस्तिष्क तथा मन र मुटु तथा हृदयविच जुन गुणस्तरको सन्देश तथा संवादहरु आदानप्रदान हुन्छन् ठिक त्यसै अनुसारको सकारात्मक तथा नकारात्मक प्रभाव शरीर तथा स्वास्थ्यका सबै आयामहरुमा देखा पर्दछन् । दुःख, असन्तुष्टी, क्रोध, इष्र्या, घृणा, आत्मग्लानी, अपराधवोध जस्ता भावहरु मुटु तथा हृदयमा चलिरहेको अवस्थामा यसले गामा तथा बिटा प्रकारका अस्थिर, अशान्त तथा नकारात्मक फ्रिक्वेन्सीहरु मस्तिष्क तथा मनलाई पठाउछ जसले खराव सम्बन्ध(इनकोहेरन्स) तथा असहमतिको अवस्था निर्माण गर्दछ । गामा तथा बिटाका सिग्नलहरुका आधारमा मनले मस्तिष्कलाई र मस्तिष्कले मेरुदण्ड मार्फत पुरै शरीरलाई काम गर्ने आदेश दिन्छ । मुटु तथा हृदयबाट मस्तिष्क तथा मनलाई गामा(२०–१०० देखि १४० हर्ज सम्म प्रतिसेकेन्ड) तथा बिटा(१२–२० हर्ज प्रतिसेकेन्ड) फ्रिक्वेन्सीमा सिग्नलहरु आएको अवस्थामा शरीरले कोर्टीसोल तथा एडरनलिन जस्ता नकारात्मक ग्रन्थीरसहरु(स्ट्रेस हरमोन्स) उत्पादन गर्दछ जसलाई शरीर तला स्वास्थ्यकालागि मन्द विष पनि भन्ने गरिन्छ जो हाम्रा नकारात्मक विचार तथा भावहरूका कारण आफ्नै शरीरले बनाउछ र यसले आफैंलाइ हानी गर्दछ । 


यसको विपरीत स्नेह, मायाँ, मैत्री, श्रद्धा, सम्मान, दया, करुणा, सेवा, प्रेम, भक्ति, सर्वकल्याण जस्ता भावहरु मुटु तथा हृदयमा चलिरहेको अवस्थामा यसले अल्फा, थिटा तथा डेल्टा प्रकारका स्थिर, शान्त तथा सकारात्मक फ्रिक्वेन्सीहरु मस्तिष्क तथा मनलाई पठाउछ जसले सह-सम्वन्ध तथा सहमतिको अवस्था निर्माण गर्छ । अल्फा(८–१२ हर्ज प्रतिसेकेन्ड), थिटा(४–८ हर्ज प्रतिसेकेन्ड) तथा डेल्टा(०.५–४ हर्ज प्रतिसेकेन्ड) फ्रिक्वेन्सीमा सिग्नलहरूका आधारमा मनले मस्तिष्कलाई र मस्तिष्कले मेरुदण्ड मार्फत पुरै शरीरलाई काम गर्ने आदेश दिन्छ । मुटु तथा हुदयबाट मस्तिष्क तथा मनलाई अल्फा, थिटा तथा डेल्टा फ्रिक्वेन्सीमा सिग्नलहरु आएको अवस्थामा शरीरले डोपामिन, एन्डोर्फिन, मेलाटोनिन, सेरोटोनिन जस्ता सकारात्मक ग्रन्थीरस(ह्यापि हर्मोन्स) उत्पादन गर्दछ जसलाई शरीरकालागि पोषण, औषधि तथा अमृत पनि भन्ने गरिन्छ जो हाम्रा सकारात्मक विचार तथा भावहरुका कारण आफ्नै शरीरले बनाउछ र यसले आफैंलाइ अत्यन्तै सकारात्मक लाभ पुर्याउछ । सदगुरु श्रद्धेय श्री जग्गी वासुदेव भन्नुहुन्छ, “हामी एकदिन मात्र नकारात्मक विचार, भाव, अनुभव तथा अनुभूतिहरुबाट अलग बस्न सक्यौं भने तथा यस्ता सन्देशहरुलाई आफ्नो शरीर, मन, भावना, चेतनामा आउन दिएनौं भने एकैदिनमा हाम्रो रक्त रसायन(व्लड केमेष्ट्रि)मा पूरै सकारात्मक परिवर्तन आउछ र यसले शरीर र स्वास्थ्यका सबै आयामहरुमा अत्यन्तै लाभकारी सकारात्मक प्रभाव पार्दछ तथा प्रगति गराउदछ ।”


मस्तिष्क र मुटु तथा मन र हृदयविच सह–सम्वन्ध बनाउने वैज्ञानिक विधिहरु

बोझरहित, आत्मग्लानीरहित तथा अपराधवोधरहित जीवन जिउन मस्तिष्क र मुटु तथा मन र हृदयविच सह–सम्वन्ध तथा सहमतिको अवस्था निर्माण गर्नु अति आवश्यक हुन्छ । मनुष्यले आफूलाई जति हल्का, बोझरहित तथा अपराधवोधरहित राख्न सक्छ उतिनै उसले आफ्नो जीवनमा हरप्रकारका प्रगति गर्न सक्छ । मस्तिष्क तथा मनका हरेक विचार र मुटु तथा हृदयका हरेक भावमाथि मस्तिष्क र मुटु तथा मन र हृदयविच प्रसस्त संवाद हुन्छ । हर्टम्याथको एक तथ्यांकले उजागर गरे अनुसार प्रतिसेकेण्ड १२ लाख सन्देश तथा स्पन्दनहरुमा निरन्तर संवाद चलिरहन्छ र यसैका आधारमा मनुष्य जीवनका सबै गतिविधिहरु तय भएका हुन्छन् । मस्तिष्क र मुटु तथा मन र हृदयविच चल्ने संवादका सन्देशहरु जति शुद्ध तथा स्वच्छ हुन्छन् उतिनै सह-सम्बन्ध तथा सहमतिको अवस्था निर्माण हुन्छ जीवन सहज हुन्छ । मस्तिष्क तथा मन र मुटु तथा हृदय सबै अंगहरुलाई स्वस्थ तथा स्वच्छ बनाएर संधै यी द अंगहरुको विचमा सह–सम्वन्ध तथा सहमति कायम गर्न सकिन्छ । अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञान दुवैले मस्तिष्क र मुटु तथा मन र हृदयविच सह–सम्वन्ध तथा सहमतिमा चल्न सक्ने अवस्था निर्माण गर्न प्रतिपादन गरेका सबै उपाय, विधि तथा पद्धतिहरु पूर्णतः वैज्ञानिक छन् । 


अध्यात्म विज्ञानले प्रतिपादन गरेका योगीक विधि तथा पद्धतिहरु

आधूनिक विज्ञान र अध्यात्म विज्ञान दुवैको मस्तिष्क तथा मनलाई पूर्ण क्षमतामा प्रयोग गर्न नसकेकोले आजको मनुष्य दुःखी भएको हो भन्ने निष्कर्ष रहेको छ । आधुनिक मनोविज्ञान भन्छ वर्तमान समयमा विश्वका अधिकांश मानिसको देब्र मस्तिष्क तथा मन अर्थात चेतन तथा तार्किक विश्लेषण गर्ने मन मात्र चलेको छ र दाहिने मस्तिष्क तथा अवचेतन मन अर्थात कल्पना तथा दृश्यावलोकन गर्ने जन्म-जन्मका स्मृतिहरु संग्रहीत भएको मन पूूर्णतः निस्कृय छ तथा अति कम सकृय छ । हालसम्म मानिसले मस्तिष्कको कुल क्षमताको औषतमा जम्मा २ प्रतिशत र वैज्ञानिक, आविस्कारक तथा विद्वानहरुले बढिमा पाँच देखि सात प्रतिशतसम्म मात्र प्रयोग गर्न सकेका छन् (यद्धपि यो भनाइमा विविधता रहेको पाइन्छ) । वुद्धत्व प्राप्त(इनलाइटेड) साधु, सन्त, योगीहरुको देब्रे र दाहिने दुवै मस्तिष्क तथा मन सतप्रतिशत सक्रिय रहेको, मस्तिष्कका स्नायु प्रणालीहरुमा उत्पन्न हुने चुम्बकिय विद्युत तरंगहरुको गति पनि अत्यन्तै सुस्त तथा डेल्टा र थिटा(०.५–४, ४–८ हर्ज प्रतिसेकेन्ड) अवस्थामा रहेको र मस्तिष्क, मन, भाव, चेतना पूूर्णतः स्वस्थ, स्वच्छ, स्फूर्त, सुखी, खुशी, अनाशक्त, शान्त र आनन्दित अवस्थामा पाइएको अत्याआधूनिक वैज्ञानिक उपकरणहरुको प्रयोग गरेर भौतिक प्रयोगशालामा परिक्षण गरिएका थुप्रै प्रयोगात्मक प्रयोग, खोज तथा अनुसन्धानहरुले देखिइसकेको वैज्ञानिक तथ्यांक हाम्रा सामु उजागर भैसकेका छन् । 


मनुष्यको मस्तिष्क, मन, मुटु, भाव, आत्मा अर्थात चेतनाका हरेक अवस्था र गतिविधिहरुलाई अध्यात्म विज्ञानले हजारौं वर्षअघि नै राम्ररी बुझेको छ र बुझाउने पर्याप्त परिभाषा तथा व्याख्याहरु पनि उपलव्ध गराएको छ र यसका व्यवहारीक प्रयोग तथा अभ्यासहरु पनि खासगरि नेपाल तथा भारतामा स्थापना गरिएका अध्यात्म दर्शनको ज्ञान प्रदान गर्ने गुरुकुल, योगपीठ, विश्वविद्यालय, विद्यालय तथा पुस्तकालयहरुले गराउदै आइरहेका छन् । वर्तमन समयमा अध्यात्म साधनाका यस्ता व्यवहारीक तथा प्रयोगात्मक अभ्यासहरुमा विश्व समाजको रुचि र सहभागिता दिनप्रतिदिन बढ्दै गैरहेको छ जुन अत्यन्तै सकारात्मक अवस्था हो सबैको(ब्रम्हाण्डकै) सर्वकल्याणका लागि । पूर्णतः वैज्ञानिकतामा आधारीत अध्यात्म दर्शनको मूल विषय योग विज्ञानका अंग र यसका वैज्ञानिक विधि तथा पद्धतिहरु(खासगरी यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि) नै प्रमुख हुन् मस्तिष्क तथा मन र मुटु तथा हृदयविच सह–सम्वन्ध तथा सहमति बनाउन सक्ने योगीक विधि तथा पद्धतिहरु । 


अध्यात्म विज्ञानका योगीक विधि तथा पद्धतिहरु 

योग विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई निष्ठापूर्वक दैनिक जीवनमा अनुशरण गरेर मस्तिष्क, मुटु, मन, हृदय, आत्मा अर्थात चेतनालाई बुझ्न तथा जित्न, आफ्नो नियन्त्रणमा राख्न र यी भौतिक तथा अभौतिक अंगहरुविच सह–सम्वन्ध तथा सहमति कायम गरेर जीवन सरल तथा सहज बनाउन सकिन्छ । यम(अहिंसा, सत्य, अस्तेह, म्हचर्च, अपरिग्रह) र नियम( सौच, सन्तोष, तप, स्वाध्याय, इश्वर प्रणिधान)का जीवनोपयोगी जीवन दर्शनका विषयहरुले मनुष्यलाई सबैप्रति सकारात्मक विचार तथा भाव राख्न र आफ्नो जीवनमा सदा सकारात्मक कर्म गर्न मद्धत तथा प्रेरणा प्रदान गर्दछन् । आसन र प्राणायामका साधना विधि तथा पद्धतिहरुले शरीरका वाहिरी अंग, आन्तरीक अंगका साथै मनका विचार तथा हृदयका भावहरुलाई स्थिर गर्न तथा शुद्ध राख्न मद्धत तथा प्रेरणा प्रदान गर्दछन् । प्रत्याहारले मनुष्यका एघार इन्द्रिइयहरु(पाँच ज्ञान इन्द्रियहरू, पाँच कर्म इन्द्रियहरु र एक मन)लाई आफ्नो बसमा तथा नियन्त्रणमा राखेर आफ्नो अनुकुल बनाउन मद्धत तथा प्रेरणा प्रदान गर्दछ । धारणाले यम, नियम, आसन, प्राणायाम र प्रत्याहार वहिरंग क्रियाहरुबाट सकारात्मक लयमा आएको मनुष्यको शरीर, मन, भवना तथा चेतनालाई कुनै एक धारणा(बस्तु, विषय, ध्यय)मा एकाग्र भएर ध्यानमा प्रवेश गर्ने सक्ने गरि अध्यात्म साधनामा प्रगति गर्न मद्धत तथा प्रेरणा प्रदान गर्दछ । ध्यानले साधकलाई अझ आध्यात्मिक गहिराइमा लान्छ र समाधिले चैतन्यता तथा मोक्षको मार्गमा अझ अगाडि बढ्न मद्धत तथा प्रेरणा प्रदान गर्दछ 


आधूनिक मनोविज्ञानले प्रतिपादन गरेका विधिहरु

मस्तिष्क र मुटु तथा मन र हृदयविच सह–सम्वन्ध तथा सहमति निर्माण गर्न आधूनिक मनोविज्ञानले केही उपाय तथा विधिहरु सिकाएको छ । यी विधि तथा उपायहरुको मूलश्रोत(सन्दर्भ सामग्रीहरु) अध्यात्म विज्ञानकै खोजहरुमा आधारीत रहेका देखिन्छन् । आधूनिक मनोविज्ञानले सुझाएका केही विधि तथा उपायहरु–
(१)हवायिएन प्रार्थना विधि(ओनोपोनो) अनुशरण गरेर,
(२)अरुकालागि राम्रा भावहरु(क्षमा दान, प्रेम प्रकट, प्रशंशा गरेर तथा आभार) व्यक्त गरेर,
(३)आफ्नोलागि राम्रा आत्मसुझाव (अटोसजेसन तथा अफरमेसन्स) व्यक्त गरेर,  
()आवश्यक शारीरिक व्यायामको लय मिलाएर,
()श्वास–प्रश्वास लय मिलाएर,
()सकारात्मक तथा राम्रा विचारहरु अवचेतन मनमा पठाएर, 
()सकारात्मक तथा राम्रा भावहरु अवचेतन मनमा पठाएर, 
()सकारात्मक तथा राम्रा सर्वकल्याणका कर्महरु गरेर,
()पूराना स्मृतिहरुलाई भुलाएर(लेट गो) अवचेतन र अचेतन मन शुद्ध तथा स्वच्छ बनाएर,
(१०)सात्विक आहार, विहार, व्यवहारयुक्त जीवनशैली अपनाएर, 
(१)सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक जीवन जिएर,
(१)वर्तमानमा तथा साज्ञी भावमा केन्द्रित भएर,
(१)विषय केन्द्रित(तन्त्र, मन्त्र, श्लोक, छवि, दृश्य, तथ्य, कथ्य, सत्य) धारणा तथा ध्यान साधना गरेर ।

वास्तविक भावमा डुबेर आधूनिक मनोविज्ञानले सुझाएका माथि उल्लेखित विधि तथा उपायहरुको अनुशरण गर्दा, यी अवस्थालाई सही तरिकाले कल्पनामा तथा दृश्यमा दुरुस्त रुपमा उतार्ने क्रममा यी भावहरुलाई बारबार मन तथा भावनामा दोहोर्याइरहदा मस्तिष्क, मन, मुटु, हृदय, आत्मा अर्थात चेतनामा संग्रहीत भएर बसेका यस जन्मका तथा जन्म–जन्मका ज्ञात, अज्ञात खराव तथा विकारयुक्त अनुभव, अनुभूति, याद तथा स्मृतिहरु र कर्मका बन्धनहरु सबै पखालिन, पग्लिन, टुट्न र छुट्न थाल्छन् र मनुष्यको जीवनमा सकारात्मकता भरिदै आउछ । भनिन्छ यी सबै विचार तथा भावहरु सदिऔं(दुईलाख वर्षअघि)देखि हरेक मनुष्यको वंश, कोष(डि.एन.ए.)मा नियमसंग्रह(कोडेड) भएर रहदै आएका छन् । तसर्थ हामीले यो काम म यसरी गर्छु, यति समयचित्र गर्छु भनेर संकल्प गर्यौं भने सहजै त्यसलाई सफलता र पूर्णतामा पुर्याउन सक्छौं र जीवनलाई सरलता, सहजता, सुख, खुशी, समृद्धि, सफलता, प्रतिष्ठा, शान्ति आनन्दले भर्न सक्छौं ।


वर्तमानमा रहने साक्षी भाव विधि

अर्को अत्यन्तै महत्वपूर्ण विधि वर्तमान तथा साक्षी भावमा रहनु हो । 'वर्तमान' भन्ने वास्तवमा कुनै विषय तथा चिज नै छैन यस ब्रम्हाण्डमा किनकी समय इश्वर हो, पूर्णतः स्वतन्त्र छ, यो केहीबाट बाधिएको तथा यसको सिमाना तोकिएको छैन । केहीबेर तथा मिनेटअघिको समयमा भएको कुरा तुरुन्त भूतकाल भैहाल्छ; एक, तीन तथा पाँच मिनेटपछि हुने कुरा भविश्यकाल हो । भूत, वर्तमान र भविश्य काल यही हो तथा यस्तै हुन्छ भनेर सिमाना काटिएको तथा निर्धारण गरिएको अवस्था कहिं कतै छैन । जे छ सबै वर्तमान हो र आफूले तत्काल जे काम गरिरहेको छ त्यसमा ध्यान दिनु वर्तमानमा तथा साक्षी भावमा केन्द्रित हुनु हो । तर आजको पुस्ताको मनुष्य वर्तमानमा तथा साक्षी भावमा लगातर तथा सधैंभरि केन्द्रित हुन, स्थिर रहन तथा टिकिरहन सक्दैन र यो टिकिरहन सक्ने विषय पनि होइन किनकी एकै प्रकारको काम घण्टौं, दिनहु तथा महिनौ गरिरहदा उसलाई यो काम गर्ने बानी परिसकेको हुन्छ, शरीरका सबै अंगहरुले उक्त कामलाई याद गरिसकेका हुन्छन् र यो याद अवचेतन मनमा स्थापित भैसकेको हुन्छ । यस्तो अवस्थाका अधिकांश मनुष्यहरु शरीरका अंगहरुले काम गरिरहेकै अवस्थामा अनिवार्य रुपमा कि विगतका घटना, विषय तथा स्मृतिहरुमा(अधिकतम विगतमै जान्छन्) कि भविश्यका घटना, विषय तथा कल्पनाहरुमा अलमलिन्छन् । यस्तो विगत तथा भविश्यको अवस्थाबाट वाहिर आउन तथा वर्तमान तथा साक्षी भावमा रहन ओशोधाराका सदगुरु श्रद्धेय श्री सिद्धार्थ औलियाज्यूले हरपल आफूलाई धन्यवाद भाव, कृतज्ञता भाव, प्रशंशा भाव, प्रेम भाव, दया तथा करुणा भाव, स्वीकारोक्ती भाव, सन्तोष भाव, सर्वकल्याणको भाव, क्षमाशीतलता, प्रशंशा, आभार तथा कृतज्ञता, सकारात्मक सोच तथा विचार, भगवान स्मरण तथा भक्ति भावमा राख्न, आफ्नो रुचीका गीतसंगीत सुन्न, आफूलाई मनपर्ने काम तथा आफ्ना शोखका विषयहरुमा आफूलाई व्यस्त राख्न सुझाव प्रदान गर्नुभएको छ । यस्ता सकारात्मक सोच, विचार, भाव, कर्म तथा कार्यहरुमा आफूलाई व्यस्त राख्ने व्यवहारिक तथा प्रयोगात्मक अभ्यासले मनुष्यमा महत्वपूर्ण सकारात्मक परिवर्तनहरु तथा तथ्यगत परिणामहरु अनुभवमा आएका छन् । सकारात्मक परिवर्तन अनुभव गरेका व्यक्तिहरु आफ्नो जीवनको लक्ष्य, कर्म, कर्तव्य तथा उत्तरदायित्वप्रति सकारात्मक बन्दै गएका र श्रद्धेय ओशो रजनीशले सुझाउनु भए जस्तै कर्मलाई आनन्द र जीवनलाई उत्सव बनाएका धेरै उदाहरणहरु हाम्रा समक्ष छन् । 


निष्कर्ष

सत्रौं शताव्दीयता आधूनिक मनोविज्ञानले पनि मनलाई बुझ्ने प्रयास गर्दै आएको छ र यो पनि थोरबहुत अध्यात्म विज्ञानको नजिक (मनमा अत्यन्तै कम, भाव त छिरेकै छैन, आत्मा तथा चेतनामा त चियाउने हैसियत समेत छैन) पुगेको छ तर मनलाई जित्ने तथा आफ्नो बसमा राख्न सक्ने विधि आधूनिक मनोविज्ञानले अहिलेसम्म खोज्न सकेको छैन तर अध्यात्मले मनलाई जित्ने महत्वपूर्ण विधिहरुको वैज्ञानिक खोज गरेर हजारौं वर्षअघिनै अनेक शास्त्रहरुमा लिपिवद्ध गरेर हाम्रो पुस्तालाई सहजता प्रदान गरिसकेको छ । सनातन अध्यात्म विज्ञानले योग विज्ञानलाई मनलाई जित्ने तथा बसमा पन सक्ने पूर्णतः वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिको रुपमा सहज किसिमले प्रस्तुत गरेको छ र हजारौं वर्षदेखि यो प्रामाणिक रुपमा व्यवहारिक जीवनमा अनुशरण गर्दै आइएको तथा अघि बढाउदै लगिएको छ । मध्ययुगमा विविध घटना तथा परिस्थितिहरुका कारणले(खासगरी राजनीतिक तथा प्राकृतिक उथलपुथलका कारण) अध्यात्म विज्ञान मनुष्यहरुको दैनिक जीवन तथा व्यवहारबाट केही ओझलमा परेको थियो तर अव पुनः यसले विश्व समाजमा गति लिरहेको छ र खुशीको कुरा अध्यात्मका यस्ता वैज्ञानिक विषयहरुमा आधुनिक भौतिक विज्ञान तथा आधूनिक मनोविज्ञानले पनि सहमति राख्दै र प्रसस्त सहयोग गर्दै आइरहेको छ पछिल्लो समयमा । वर्तमान समयमा अध्यात्म विज्ञान र भौतिक विज्ञान संगसंगै अघि बढिरहेका छन् किनकी यी एकअर्काका विरोधी तथा प्रतिद्वन्दी नभएर एकअर्काका परिपूरक हुन् । यी दुईको सहज तथा सन्तुलित सहकार्य तथा सह-सम्बन्ध(कोहेरेन्स)बिना अवको संसार सहज ढंगले सन्तुलित भएर अघि बढ्न सक्दैन भन्ने निश्कर्ष पनि आइसकेको हाम्रा सामु जगजाहेर छ  bsirjana@gmail.com


सन्दर्भ सामग्री:


No comments:

Post a Comment