'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 19 March 2025

आफूसंगको सुमधूर सम्वन्ध नै समृद्धिको मूलआधार

                                                   डा. सिर्जना भण्डारी

                                                       #अध्यात्म_दर्शन #जीवन_दर्शन  


विषय प्रवेश

हरेक मानिसले जीवनमा खोजेको स्वास्थ्य, सुख, खुशी, समृद्धि, शान्ति तथा आनन्द हो र उसका हरेक गतिविधिहरुको एकमात्र लक्ष्य यही नै रहेको हुन्छ जसले उसकोजीवनमा समृद्ध तथा सफलता दिलाओस । जीवनका हरेक आयामहरुमा सम्पन्नता आउनु तथा सबै आयामहरु सन्तुलित अवस्थामा हुनु नै वास्तविक समृद्धि हो । श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले छ प्रकारका ऐश्वर्यहरु (धन, शक्ति, यश, सौन्दर्य, ज्ञान, वैराग्य) बताउनु भएको छ । यिनै ऐश्वर्यहरुको पूर्ण सन्तुलनले मानिसको जीवनमा समृद्धि ल्याउन मद्धत गर्दछन् । वर्तमान आधूनिक समयका मानिसहरुको जीवनशैली अनुकुल हुने किसिमले तथा युग सान्दर्भिक हुनेगरि समृद्धिलाई प्रमुख रुपमा पाँच आयामहरुमा विभाजन गरिएको छ– (१)स्वास्थ्य, (२)सुमधूर सम्वन्ध, (३)सम्पन्नता, (४)मानप्रतिष्ठा, र (५)शान्ति । पूर्णरुपमा स्वस्थ रहनु मानिसको समृद्धिको पहिलो आयाम हो । मानिस पूर्णरुपमा स्वस्थ तव हुन्छ जव उसका स्वास्थ्यका चारवटै आयामहरु– (१)शारीरिक स्वास्थ्य, (२)मानसिक स्वास्थ्य, (३)भावनात्म(सामाजिक) स्वास्थ्य, र (४)चेतनात्मक(आध्यात्मिक)स्वास्थ्य स्वस्थ हुन्छन् । सबैसंगका सम्वन्धहरु सुमधूर रहनु मानिसको समृद्धिको दोस्रो आयाम हो । मानिसका सम्वन्धहरु पूर्णरुपमा सुमधूर तव हुन्छन् जव उसका सम्वन्धका पाँचवटै आयामहरु– (१)आफूसंगको सम्वन्ध, (२)परिवारसंगको सम्वन्ध, (३)समाजसंगको सम्वन्ध, (४)प्रकृतिसंगको सम्वन्ध र (५)परमात्मासंगको सम्वन्ध सन्तुलनमा रहेका हुन्छन् । हरप्रकारले आफ्ना सबै किसिमका आवश्यकताहरु पूरा गर्न आर्थिक रुपले सक्षम तथा सम्पन्न रहनु समृद्धिको तेस्रो आयाम हो । मानिस पूर्णरुपमा सम्पन्न तव मानिन्छ जव उसका आधारभूत आवश्यकताका छवटै आयामहरु– (१)गास, (२)बास, (३)कपाश, (४)स्वास्थ्य, (५) शिक्षा, र (६)सुरक्षा पूरा समयमै आवश्यकता अनुसार हुन्छन् । आफ्नो व्यक्तित्व तथा दर्जा अनुसार पारिवारीक तथा सामाजिक मानप्रतिष्ठा मानिसको समृद्धिको चौथो आयाम हो । मानिस परिवार तथा समाजमा तव प्रतिष्ठित हुन्छ जव उसले मानवीयताका आधारमा सबैको भलाइ हुने सेवा तथा सर्वकल्याणका कार्यहरुमा आफूले सक्दो योगदान पुर्याउदछ । र पाँचौ तथा अन्तिम तर प्रमुख मानसिक, भावनात्मक तथा चेतनात्मक अर्थात आत्मिक शान्ति मानिसको समृद्धिको अर्को अत्यन्तै महत्वपूर्ण आयाम हो । मानिस हरप्रकारले शान्त तथा आनन्दित तवमात्र हुनसक्छ जव उसकाे जीवनमा समृद्धिका माथि उल्लेखित चारवटै आयामहरुमा सकारात्मक उपलव्धिहरु हासिल भएका हुन्छन् र यससंगसंगै उ आफ्नो आन्तरीक शान्तिकालागि सांसारीक जीवनबाट नितान्त आफ्नोलागि समय निकालेर आफ्नो आन्तरीक विकास तथा आध्यात्मिक विकासका गतिविधिहरु अर्थात आध्यात्मिक साधना तथा योग साधना गर्न शुरु गर्दछ ।


साधनाबाट नै जीवनमा समृद्धि हासिल हुन्छ 

पूर्वीय अध्यात्म दर्शनमा साधनाका अनेकौं प्रकार र पद्धतिहरु बताइएका छन् । मानिसको नैसर्गीक(प्राकृतिक) गुण अर्थात स्वधर्म अनुसार समृद्ध जीवनकालागि उसले तय गरेका लक्ष्यहरु हासिल गर्न अपनाइने हर प्रकारक प्रभावकारी विधि तथा पद्धतिहरु नै साधना हुन् । अर्को शव्दमा भन्नुपर्दा, मानिसले जीवनमा गर्नुपर्ने हरप्रकारका कर्महरुमा कुशलता ल्याउन अपनाइने हरप्रकारका सकारात्मक प्रयत्नहरु साधना तथा तप हुन् जसले उसको कर्मलाई कर्मयोग बनाउछन् अर्थात उसको कर्मसंग उसलाई पूर्णरुपमा जोड्दछन् र यही नै योग तथा योग साधना हो । भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ, “योगः कार्यशु कौशलम ।” अर्थात कार्ममा पूर्ण कुशलता नै योग हो । योगको अर्थ जोड्नु हो, मानिसले जीवनमा आफूले गर्नुपर्ने हरप्रकारका कर्महरुमा सुख, खुशी, समृद्धि, शान्ति आनन्दको अनुभूति हुने गरि पूर्णरुपमा कर्ममा जोडिनु नै योग हो । यसरी कर्ममा जोडिनु तथा योगस्थ हुनु पूर्ण साधना हो र यसप्रकारको योगस्थ भएको पूर्ण साधनाबाट मानिसको जीवनमा पूर्ण समृद्धि हासिल हुन्छ ।


आफूसंगको सुमधूर सम्वन्ध नै समृद्धिको मूलआधार

सुमधूर सम्वन्ध मानिसको जीवनमा समृद्धि ल्याउने दोस्रो अत्यन्तै महत्वपूर्ण आयाम हो र आफूसंगको सुमधूर सम्वन्ध पहिलो र प्रमुख विषय हो । हरेक मानिसले आफ्नो जीवन सरल तथा सहज ढंगले जीउन उसले सर्वप्रथम आफैंसंगको सम्वन्ध सुमधूर बनाउनु अनिवार्य हुन्छ । यसकालागि उसले आफ्नो प्रकृति, आफ्नो रुचि, आफना क्षमता तथा प्रतिभाहरु, हरप्रकारका आफ्ना गुणहरु, आफूलाई मनपर्ने तथा नपर्ने कुराहरु, आफ्नो शारीरिक, मानसिक, भावनात्मक तथा चेतनात्मक प्रकृति तथा अवस्था, आफ्नो नैसर्गीक संस्कार, जीवनको कर्तव्य तथा उत्तरदायित्व आदिबारे राम्ररी स्वाध्याय गर्नुपर्दछ र यसै अनुरुप जीवनमा उद्देश्य तथा लक्ष्य र त्यसलाई हासिल गर्ने योजनाको निर्माण तथा संकल्प निर्धारण गर्नुपर्दछ । यसरी पुर्णरुपमा आफ्नो हरप्रकारका प्रकृतिहरुको स्वाध्याय गरेर तय गरिएका उद्देश्य, लक्ष्य, योजना तथा संकल्पहरुको माध्यमवाट मात्र जीवनमा समृद्धि हासिल गर्न सकिन्छ ।


वर्तमान समयमा अधिकांश मानिसहरुको समस्या तथा दुःखको मूलकारण आफूसंगको सम्वन्ध सुमधूर नहुनु , आफैलाई राम्ररी नचिन्नु तथा आफूबाट वियोगको अवस्थामा रहनु हो । मानिस दोहोरो वियोगको जीवन जिरहेको छ । पहिलो आफैंबाट वियोग र दोस्रो पारमार्थिक अर्थात परमात्माबाट वियोग । आफैंबाट वियोग भएकैकारण उ परमात्माबाट वियोग भएको छ र बारबार जन्म र मृत्युको दुःखदायि चक्रमा घुमिरहेको छ । मानिसका ज्ञान र कर्म इन्द्रियहरुको माध्यमबाट उसको अत्यन्तै महत्वपूर्ण जीवन उर्जा सांसारीक जगतमा छरिएको छ र उ आफूबाट वियोग भएर संसारसंग चाहिं योग हुन पुगेको छ जानेर तथा नजानेर । अनित्य, भ्रम तथा भूलभुलैयाको संसारका भोगका वस्तु तथा सेवाका सुख, सुविधाहरु प्राप्तिको अति इच्छा, कामना तथा आशक्ततामा लिप्त भएको तथा हराएको छ । जीवनको यही असन्तुलित भोगका कारण आजको मानिस विभिन्न प्रकारका समस्या, अस्वस्थता, असन्तुष्टी, चिन्ता, खराव सम्वन्ध, बिपन्नता, दुर्वलता, असफलता, बेचैनी, असन्तुष्टी, अशान्ति आदिको दलदलमा फसिरहेको छ । मिथ्या संसारको भूलभुलैयामा अड्केकै कारण उसले आफूलाई चिन्न सकेको छैन, आफूसंगको सम्वन्ध सुमधूर बनाउन सकेको छैन र आफ्नो प्राकृतिक गुण तथा प्रकृति तथा स्वधर्मबाट अलग भएर आफ्नो स्वाभावमा नभएर अरुको प्रभावमा परेर प्रभावको जीवन जिरहेको छ र जीवनको समृद्धिबाट विमुख भइरहेको छ ।


आफूसंगको सम्वन्ध सुमधूर बनाउन स्वाध्याय

आफूलाई चिन्न तथा आफूसंग सुमधूर सम्वन्ध बनाउन सर्वप्रथम हरेक मानिसले आफ्नो शरीर तथा स्वाथ्यका आयामहरुको सुक्ष्म स्वाध्याय(स्वअध्ययन) गरेर त्यसैअनुरुप आफ्नो आहार(खानपान), विहार(योग साधना), व्यवहार(सकारात्मक विचार) तथा सम्पूर्ण जीवनशैली बनाउनु अतिआवश्यक हुन्छ । मेरो शरीरको बनावट कस्तो प्रकारको छ, शरीरको पकृति(वाथ, कफ, पित्त) कुन प्रकारको छ, मेरो स्वस्थ्य अवस्था कस्तो छ, मलाई के कुराले फाइदा गर्छ वा नोक्सान गर्छ, कुन कुरा मेरोलागि हरप्रकारले अनुकुल तथा प्रतिकुल छ आदि । त्यस्तै म कस्तो प्रकारको मानसिक, भावनात्मक, चेतानात्म प्रकृति तथा अवस्था भएको मानिस हुँ, मलाई के मन पर्छ वा पर्दैन, मेरो संस्कार कस्तो छ, मैले जीवनमा के गर्नु पर्छ, के गर्नु हुन्छ तथा हुदैन, मेरो उमेर तथा अन्य व्यक्तिगत अवस्थाहरु, पारिवारीक, सामाजिक तथा आर्थिक अवस्थाहरु कस्ता छन् आदिबारे राम्ररी थाहा पाउनु र यी सबै परिस्थितिहरुसंग अनुकुल हुने प्रकारका व्यवहारहरु मैले आफ्नो जीवनमा आफ्नो दैनिकि सरल तथा सहज हुने किसिमले अनुशरण गर्नु पर्दछ । आफ्नो अनुकुलका व्यवहारहरु जीवनमा अनुशरण गर्न आफ्नो प्रतिकुल हुने तथा आफूलाई मन नपर्ने प्रकारका विषयहरुलाई इन्कार गर्नुपर्दछ अर्थात तीनको त्याग गर्ने तथा नाइ भन्न तथा अस्वीकार गर्न सक्ने सामथ्र्य आफूमा विकास गर्न सक्नुपर्दछ । आफूलाई प्रतिकुल हुने कुराहरुलाई स्वीकार गर्नु भनेको स्वतः आफूलाई अनुकुल हुने कुराहरुलाई अस्वीकार गर्नु हो र आफूलाई अनुकुल हुने कुराहरुलाई अस्वीकार गर्नु भनेको स्वतः प्रतिकुल हुने कुराहरुलाई स्वीकार गर्नु र आफ्नो जीवन आफैंले खराव गर्नु तथा जीवनका समस्याहरु बढाएर समृद्धिलाई नै अस्वीकार गर्नु हो तथा समृद्धिबाट आफूलाई अलग राख्नु हो । 


आफूसंगको सम्वन्ध सुमधूर हुदा प्राप्त हुने लाभहरु

आफूसंगको सम्वन्ध सुमधूर नहुदा अरुको प्रभावको जीवनशैली अपनाउन तथा जीउन बाध्य भइन्छ र आफ्नो प्रतिकुल हुने तथा आफूलाई मन नपर्ने कुराहरु जीवनमा हावी हुदै जान्छन् र यस्तो अवस्थाले जीवनमा समस्या, तनाव, अस्वस्थता, आफू र अरुसंग खराव सम्वध, बिपन्नता, असफलता, अनावश्यक विचार, असन्तुष्टी, बेचैनी, अशान्तिले व्याप्त अत्यन्तै प्रतिकुल तथा असन्तुलित परिस्थिति बन्दै जान्छ जीवनमा । प्रतिकुल तथा असन्तुलित परिस्थितिले मेरो पूर्ण स्वास्थ्य तथा पूर्ण समृद्धिकालागि आवश्यक पर्ने मस्तिष्कमा बन्ने आराम तथा खुशी प्रदान गर्ने सकारात्मक रसायनहरु(ह्याप्पी हर्मोन्स: मेलाटोनीन, सेरोटोनीन, एन्डोर्फीन्स, डोपामीन... आदि) उत्पादन हुन बन्द हुन्छन् र नकारात्मक, दुःख तथा चिन्ता उत्पन्न गर्ने नकारात्मक रसायनहरु(स्ट्रेस हर्मोन्स: कोर्टीसोल, एडर्नलीन... आदि) बन्न शुरु हुन्छन् जसले मेरो शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक स्वास्थ्य अवस्थामा प्रत्यक्ष नकारात्मक प्रभाव पार्नुका साथसाथ मेरो व्यक्तिगत, पारिवारीक, सामाजिक, आर्थिक जीवनमा समेत प्रत्यक्ष नकारात्मक प्रभाव पार्दछन् । विस्तारै असन्तुष्टी तथा गुनासाहरु मेरो मन तथा भावनामा भरिदै जान्छन् र अन्तत्वगत्वा यिनै असन्तुष्टी तथा गुनासाहरुनै ढिलोचाँढो मेरो समस्या, तनाव, चिन्ता, अवसाद, विक्षिप्तता, हिंसा, हत्या, आत्महत्यामा परिणत हुन्छन् र मेरो र मसंग सम्वन्धितहरुको पूरै जीवन खराव हुन्छ । तर यसको ठिक विपरित आफूसंगको सम्वन्ध सुमधूर हुदा जीवनमा स्वास्थ्य, सन्तुष्टी, सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दको प्राप्ति हुन्छ र यस्तो अवस्थामा मस्तिष्कमा मलाई खुशी तथा आनन्द प्रदान गर्ने हरप्रकारका सकारात्मक हर्मोनहरु उत्पन्न हुन्छन् र मलाई पूर्णरुपमा स्वस्थ रहन र समृद्ध हुन मद्धत गर्दछन् । मेरो मस्तिष्कमा बन्ने सकारात्मक हमोन्सहरुले मेरो क्षमता, प्रतिभा, सिर्जनशीलता र सकारात्मक गुणहरुको विकासमा समेत सकारात्मक प्रभाव पार्ने हुनाले मेरो जीवन अझ सहज, सरल बन्न मद्धत मिल्दछ र मेरो आन्तरीक विकासको साथसाथ व्यक्तित्व विकासमा समेत अत्यन्तै सकारात्मक प्रभाव पर्दछ । हरप्रकारले स्वस्थ, सुखी, खुशी, सम्पन्न, शान्त, आनन्दित र आन्तरीक तथा वाहिय विकास भएको मानिस नै जीवनमा समृद्ध तथा ऐश्वर्यवान बन्दछ ।  bsirjana@gmail.com

 

No comments:

Post a Comment