'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Tuesday, 25 March 2025

म कस्तो प्रकारको पर्यटक हुँ ?

What Kind of Tourist Am I ?

डा. सिर्जना भण्डारी

                                
 

विषय प्रवेश 

आजको विश्वमा पर्यटन व्यवसाय सबैभन्दा ठूलो सेवा प्रधान(लेवर इन्टेनसिभ) तथा अधिकांशतः सेवामा आधारीत श्रृंखलावद्ध उद्योग(चेन इनडस्ट्री) को रुपमा स्थापित भएको छ जसको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्वन्ध राज्यका स-साना एकाइदेखि ठूला-ठूला एकाइहरुसम्म रहेको हुन्छ । पर्यटन उद्योगको सकारात्मक प्रभावहरु श्रृंखलावद्ध किसिमले क्रमशः राज्यका सबै आयामहरु- कृषि उत्पादन, यातायात, व्यापारदेखि लिएर आध्यात्मिक, धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, आर्थिक विकासका सबै पक्षहरु परिरहेको देख्न सकिन्छ । वर्तमान समयमा विश्वका धेरै देशहरुको अर्थतन्त्र पर्यटनमा आधारीत रहेकाछन् र नेपालको सन्दर्भमा पनि पर्यटन उद्योग अर्थतन्त्रको महत्वपूर्ण हिस्सेदार बन्दै आइरहेको छ । हरेक मानिस यस्तो वृहत्तर उद्योगको कुनै न कुनै प्रकारले सदस्य रहेको छ । पर्यटन विश्वव्यापि उद्योग भएकोले यसका प्रकार तथा आयामहरु धेरै छन् र त्यसै अनुरुप पर्यटकका प्रकार र आयामहरु पनि धेरै छन् । यस सन्दर्भमा म कस्तो प्रकारको पर्यटक हुँ त भन्ने जिज्ञासा तथा उत्सुकता हामी सबैमा आउनु स्वाभाविक हो तसर्थ आउनुस पत्ता लगाउँ म कस्तो प्रकारको पर्यटक हुँ ?


पर्यटक को हो र म कस्तो प्रकारको पर्यटक हुँ ?

आफू बसोवास गरिरहेको निवासस्थान तथा घर, नगर, राज्यबाट केही समयावधिका लागि देशभित्रै तथा देशवाहिर विभिन्न उद्देश्यले जाने चलायमान गतिविधि पर्यटन हो र यस्ता गतिविधिहरु गर्ने घुमन्ते यात्री तथा भ्रमणार्थीहरु पर्यटक हुन् । यस प्रकारका घुमघाम तथा भ्रमणहरुमा पर्यटकहरु नयाँ स्थान, विषय, वस्तु, संरचना आदिको ज्ञान, अनुभव, मनोरञ्जन, मानसिक शान्ति तथा आनन्द हासिल गर्न जाने गर्दछन् । 


वास्तवमा आफू कस्तो प्रकारको पर्यटक हुँ भन्ने कुरा प्रमुख रुपमा मेरो नैसर्गीक तथा प्राकृतिक स्वाभाव(नेचुरल क्यारेक्टर) मा निर्भर गर्दछ र मेरो प्राकृतिक स्वभावमा अन्य आन्तरीक तथा वाहिय अवस्था तथा परिस्थितिहरु जस्तो मेरो रुचि, शोख, मेरो जीवनको लक्ष्य, योजना, संकल्प, उत्तरदायित्व, मेरो वर्तमानको व्यक्तिगत, पारिवारिक, प्राकृतिक, सांस्कृतिक, सामाजिक, धार्मिक, शैक्षिक, आर्थिक र राजनीतिक अवस्थाहरु आदिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछन् ।


विश्वव्यापि सन्दर्भमा पर्यटकहरुको प्रकार

(क)इरिक चोहेनका अनुसार

सन् १९७२ मा इरिक चोहेनले व्यक्तिको मनोविज्ञानको आधारमा मोटामोटी रुपमा पर्यटकहरुलाई चार प्रकारमा विभाजन गरेका छन्ः 

(१)घुमघाम गर्ने पर्यटक(ड्रिफ्टर टुरीस्ट): पर्यटकहरुकालागि भनेर निर्माण तथा तयार गरिएका निश्चित प्रकारका सेवा तथा सुविधाहरुको उपयोग नगर्ने तथा कम गर्ने र जहाँ भ्रमण गर्न गएको हो उक्त क्षेत्रकै स्थानिय मौलिक खानपान, रहनसहन, संस्कृति, परम्परा, पहिरन, उठबस, चालचलन आदिमा घुलमिल हुदै रमाउदै त्यस स्थानसंग सम्वन्धित मौलिकताबारे जान्न, ज्ञान लिन तथा प्रत्यक्ष अनुभव हासिल गर्न प्राय एक्लै तथा केही व्यक्तिहरुको सानो समुहमा हिड्न रुचाउने यात्री तथा भ्रमणार्थीहरु घुमघाम गर्ने पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । 


(२)अन्वेषक पर्यटक(एक्प्लोरर टुरीस्ट): पर्यटककालागि भनेर निर्माण तथा तयार गरिएका निश्चित प्रकारका सेवा तथा सुविधाहरुको उपयोग गर्दै संसारभरिका भूगोलका आफूलाई रुचि लाग्ने प्रकारका देश तथा विदेशका खासगरि पर्यटकीय क्षेत्रका रुपमा उति लोकप्रिय नरहेका तर मौलिक विशेषता भएका र पर्यटकीय सेवा–सुविधाहरु समेत पर्याप्त उपलव्ध नभएका नयाँ–नयाँ ठाउँहरु, उक्त क्षेत्रका मौलिक विशेषता तथा विषयहरु, प्राकृतिक सुन्दरता, भूगोल, वातावरण, मौसम, जैविक विविधता आदिबारे सुक्ष्म रुपले जान्न, ज्ञान लिन तथा प्रत्यक्ष अनुभव गर्न गन्तव्य स्थानको जानकारी विवरण र नक्शा बोकेर, सुविधाको उपयोग र असुविधाहरुसंग संघर्ष गर्दै एक्लै तथा सानो समुहमा यात्रा तथा भ्रमण गर्न रुचाउने यात्री तथा भ्रमणार्थीहरु अन्वेषक पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् ।


(३)व्यक्तिगत योजनामा सानो समूहमा भ्रमण गर्ने पर्यटक(इन्डिभिज्योल मास टुरीस्ट): आफैंले स्वतन्त्र रुपमा आफ्नो सहजता अनुसार छोटो तथा लामो समय घुमघाम गर्ने योजना बनाएर दम्पति, परिवार, साथीसंगी, छिमेकीसंगको सानो समुह बनाएर देश तथा विदेशका नयाँ–नयाँ स्थानहरुको भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु व्यक्तिगत योजना बनाएर सानो समूहमा भ्रमण गर्ने पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । यस्ता पर्यटकहरु पर्यटकीय स्थलका रुपमा नाम चलेका र सबै प्रकारका पर्यटकीय सेवा–सुविधाहरु सम्पन्न भएका कुनै निश्चित स्थानबारे थाहा पाउन, ज्ञान लिन तथा प्रत्यक्ष अनुभव हासिल गर्न तथा आफ्नो कुनै खुशीयालीको अवसरमा उत्सव मनाउन, भेटघाट, मनोरञ्जन तथा आराम गर्न आदि उद्देश्य राखेर एक स्थानबाट अर्को स्थान तथा पर्यटकीय स्थलहरुको यात्रा तथा भ्रमण गर्ने गर्दछन् । 


(४)संगठित योजनामा ठूलो समूहमा भ्रमण गर्ने पर्यटक(ओर्गनाइज्ड मास टुरीस्ट): पर्यटनका विविध प्रकारका साना, ठूला, टाढा तथा नजिकका विशेष महत्व भएका देश तथा विदेशका विभिन्न स्थानहरुको यात्रा तथा भ्रमण गर्ने तथा गराउने उद्देश्यले यस सम्वन्धि काम गर्ने संगठित संस्थाहरु(ट्राभल एजेन्सी)ले निश्चित शर्त, नियम, समय, खानपान, बसाइ आदिबारे योजनावद्ध प्रकारले तयार गरेका तथा आयोजकले आयोजना गरेका व्यवस्थित पर्यटकीय प्याकेजमा यात्रा तथा भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु संगठित समूहमा पूर्वनिर्धारित योजना अनुसार सामूहिक रुपमा भ्रमण गर्ने पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । यस्ता पर्यटकहरु प्रायजसो तीर्थयात्रा तथा धार्मिक भ्रमण, सामुद्रिक यात्रा, हाइकिगं, टे्रकिगं, जंगल सफारी आदि पर्यटकीय गतिविधिहरुमा समलग्न हुन्छन् । 


(ख)स्ट्यानली प्लगका अनुसार

सन् १९७४ मा स्ट्यानली प्लगले व्यक्तिको व्यक्तित्वको आधारमा पर्यटकलाई मोटामोटी रुपमा तीन प्रकारमा विभाजन गरेका छन्ः 

(१)साहसिक पर्यटक(एलोसेन्ट्रीक टुरीस्ट): पर्यटकीय स्थलका रुपमा त्यति नाम नचलेका, नाम नसुनिएका तथा विकास नभएका तर विशेष प्रकारका मौलिक विशेषताहरु भएका देश तथा विदेशका भूगोलमा रहेका नौला तथा नयाँ–नयाँ स्थलहरु खोज्दै उक्त क्षेत्रका फरक प्रकारका विशेषता भएका विषयहरु, प्राकृतिक सुन्दरता, मौसम, वातावरण, भूगोल, प्रकृतिक तथा जैविक विविधता भएका स्थानहरुबारे सुक्ष्म रुपले जान्न, ज्ञान लिन तथा प्रत्यक्ष अनुभव गर्न गन्तव्य स्थलसंग सम्वन्धित जानकारी र सो स्थलको नक्शा बोकेर उपलव्ध भएसम्मका पर्यटकीय सेवासुविधाहरुको उपयोग र असूविधाहरुसंग संघर्ष गर्दै जोखिम लिएर साहसपूर्वक एक्लै तथा सानो समुहमा यात्रा तथा भ्रमण गर्न रुचाउने यात्री तथा भ्रमणार्थीहरु साहसिक पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । ड्रिफ्टर टुरीस्ट र एलोसेन्ट्रीक टुरीस्ट अर्थ र उद्देश्यका आधारमा करिव–करिव उस्तै–उस्तै हुन् । पर्यटकीय स्थलका रुपमा विकास नभएका तर विशेष प्रकारका विशेषताहरु भएका नयाँ–नयाँ स्थलहरु नेपालको भूगोलमा प्रसस्त छन्, यस्ता स्थलहरुको विकास गरेर नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।


(२)मनोकेन्द्रित पर्यटक(साइकोसेन्ट्रीक टुरीस्ट): मानसिक रुपमा साहसिक पर्यटकको विपरीत विशेषता भएका पर्यटकहरु मनोकेन्द्रित पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । आफ्नो सुविधा अनुसार स्वतन्त्रतापूर्वक आफैं घुमघामको छोटो तथा लामो योजना बनाएर दम्पति, परिवार, साथीसंगीसंग, छिमेकीको सानो समुहमा पर्यटकीय स्थलका रुपमा लोकप्रिय रहेका र पर्यटककालागि सबै प्रकारका पर्यटकीय सेवा-सुविधाहरु प्रदान गरिएका कुनै निश्चित स्थानमा घुमफिर गर्न, आफ्नो कुनै खुशीयालीको अवसरको उत्सव मनाउन, मनोरञ्जन तथा आराम गर्न आदि उद्देश्य राखेर एक स्थानबाट अर्कोे स्थानको भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु मनोकेन्द्रित पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । साइकोसेन्ट्रीक टुरीस्ट र इन्डिभिज्योल मास टुरीस्टहरु अर्थ र उद्देश्यका आधारमा करिव–करिव उस्तै–उस्तै हुन् ।


(३)मध्यमार्गी(मिड–सेन्ट्रिक टुरीस्ट): साहसिक र मनोकेन्द्रित गतिविधिहरुको विचमा पर्ने अर्थात नयाँ–नयाँ स्थानहरुको यात्रा तथा भ्रमण गर्दा केही साहसिक यात्रा तथा भ्रमणको उद्देश्य पनि राख्ने र केही मनोकेन्द्रित उद्देश्य पनि राख्ने पर्यटकहरु मध्यमार्गी पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । मध्यमार्गी पर्यटकहरु कहिलेकाहीं कुनै निश्चित स्थानमा निश्चित समय तथा मौसम(सिजनल) मा मात्र उपलव्ध हुने तथा आयोजना गरिने पर्यटकीय गतिविधि जस्तो ग्रीष्मकालीन, शरदकालीन, शीतकालीन पर्यटकीय गतिविधिहरुको अनुभव गर्न र कहिलेकाही पर्यटकीय दृष्टिकोणले सेवासुविधा सम्पन्न तथा नाम चलेका लोकप्रिया सहज पर्यटकीय स्थलहरुमा घुमफिर, मनोरञ्जन तथा आराम गर्ने उद्देश्यले नयाँ–नयाँ स्थानहरुको यात्रा तथा भ्रमण गर्ने गर्दछन् ।


(ग)गन्तव्यका आधारमा पर्यटकको प्रकार

पर्यटकीय गतिविधिका रुपमा गरिने यात्रा तथा भ्रमणका गन्तव्यका आधारमा पर्यटकहरुलाई मोटामोटी रुपमा चार प्रकारमा विभाजन गरिएको छः

(१)आन्तरीक तथा घरेलु पर्यटक(डोमेस्टिक टुरीस्ट): योजना बनाएर तथा बिनायोजना आफू नियमित रुपमा वसोवास गर्ने क्षेत्र तथा देशभित्रका विशेष प्रकारका विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुबारे जान्न, ज्ञान हासिल गर्न तथा प्रत्यक्ष अनुभव गर्न, घुमफिर गर्न, आफ्नो कुनै खुशीयालीको अवसरको उत्सव मनाउन, भेटघाट, मनोरञ्जन तथा आराम गर्ने उद्देश्यले एक स्थानबाट अर्को स्थानको भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु आन्तरीक तथा घरेलु पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । विश्वका ठूला देशहरु अमेरीका, चीन, भारत जस्ता मूलुकहरुमा भौगोलिक क्षेत्रफल ठूलो भएका र पर्यटकीय विविधता धेरै भएकाकारण आन्तरीक पर्यटकहरुका लागि पर्यटकीय गतिविधिहरु धेरै हुने गर्दछन् र मूलुकको अर्थतन्त्रमा आन्तरीक पर्यटनको उल्लेख्य योगदान समेत रहने गर्दछ ।


(२)अन्तरदेशीय तथा अन्तरर्राष्ट्रिय पर्यटक(इन्टरनेसनल टुरीस्ट): योजना बनाएर तथा बिनायोजना आफू नियमित रुपमा वसोवास गर्ने देश भन्दा वाहिर तथा अन्तरदेशीय अर्थात अन्तर्राष्ट्रिय जगतका विशेष प्रकारका विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुबारे जान्न, ज्ञान हासिल गर्न तथा प्रत्यक्ष अनुभव गर्न, घुमफिर गर्न, आफ्नो कुनै खुशीयालीको अवसरको उत्सव मनाउन, भेटघाट, मनोरञ्जन तथा आराम गर्ने उद्देश्यले एक स्थानबाट अर्को स्थानको भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु अन्तर्राष्ट्रिय पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । वर्तमान समयमा विश्वव्यापि रुपमा अन्तरदेशीय अर्थात अन्तर्राष्ट्रिय पर्यटन सबैभन्दा बढि पर्यटकीय गतिविधिहरु हुने पर्यटनको प्रकार हो । विश्वव्यापि रुपमा यसको प्रभाव निकै ठूलो रहेको छ र विश्वको आर्थिक गतिविधिमा अन्तर्राष्ट्रिय पर्यटनले महत्वपूर्ण योगदान पुर्याइरहेको छ । विश्वका कतिपय देशहरुको समुच्चा अर्थतन्त्र अन्तरदेशीय अर्थात अन्तर्राष्ट्रिय पर्यटनमै निर्भर रहेका छन् । पृथ्वीको भूगोल, मौसम, वातावरण तथा प्रकृतिमा व्यापक विविधता भएकाकारण अन्तर्राष्ट्रिय पर्यटकहरु प्राय मनोरञ्जन(प्लेजर) र कार्यगत(बिजनेस) उद्देश्य राखेर विश्वका विभिन्न स्थलहरुको यात्रा तथा भ्रमण गर्ने गर्दछन् ।


(२)अनुवन्धित पर्यटक(इन–बाउन्ड टुरीस्ट): निश्चित समय अवधिकालागि निश्चित स्थानमा निश्चित मौसम(सिजन) तथा निश्चित अवसरलाई आधार बनाएर आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आफू बसोवास गरेकै क्षेत्र तथा देशभित्र पर्यटकीय गतिविधिहरु गर्ने संगठीत संघसंस्थाहरुद्वारा आयोजना गरिएका पर्यटकीय गतिविधिहरुमा सहभागि भएर उक्त विषय तथा स्थलबारे ज्ञान लिने, प्रत्यक्ष अनुभव गर्ने, भेटघाट, घुमघाम तथा मनोरञ्जन लिने उद्देश्यले त्यस्ता पर्यटकीय गतिविधि तथा स्थलहरुको यात्रा तथा भ्रमण गर्ने पर्यटकहरु अनुवन्धित पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । यसप्रकारका आन्तरीक पर्यटकीय गतिविधिहरु निश्चित क्षेत्र तथा देशको प्राकृतिक मौसमको अवस्था, स्कुल, कलेज, कार्यालयहरुको छोटो तथा लामो विदा भएको समय आदिलाई मध्यनजर गरेर खासगरि निश्चित प्रकारका वर्गहरुलाई लक्षित गरेर आयोजना गर्ने गरिन्छ ।


(४)अनअनुवन्धित पर्यटक(आउट–बाउन्ड टुरीस्ट): निश्चित समय अवधिकालागि निश्चित स्थानमा निश्चित मौसम(सिजन) तथा निश्चित अवसरलाई आधार बनाएर अन्तरदेशीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आफू बसोवास गरेको देशवाहिर पर्यटकीय गतिविधिहरु गर्ने संगठीत संघसंस्थाहरुद्वारा आयोजना गरिएका पर्यटकीय गतिविधिहरुमा सहभागि भएर उक्त विषय तथा स्थलबारे ज्ञान लिने, प्रत्यक्ष अनुभव गर्ने, भेटघाट, घुमघाम तथा मनोरञ्जन लिने उद्देश्यले त्यस्ता अन्तराष्ट्रिय पर्यटकीय गतिविधि तथा स्थलहरुको यात्रा तथा भ्रमण गर्ने पर्यटकहरु अनअनुवन्धित पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । यसप्रकारका अन्तराष्ट्रिय पर्यटकीय गतिविधिहरु विश्वभरिका विभिन्न क्षेत्रहरुका प्राकृतिक मौसमको अवस्था, स्कुल, कलेज, कार्यालयहरुको छोटो तथा लामो विदा भएको समय आदिलाई मध्यनजर गरेर खासगरि निश्चित प्रकारका वर्गहरुलाई लक्षित गरेर आयोजना गर्ने गरिन्छ ।


(घ)उद्देश्यका आधारमा पर्यटकको प्रकार

वर्तमान समयमा विश्वको समुच्चा भूगोल तथा प्रकृतिलाई प्रतिनिधित्व गर्नेगरि विश्वव्यापि रुपमा १५० भन्दा बढि प्रकारका पर्यटकीय गतिविधिहरु नामाकरण गरिएका छन् र यी विविध प्रकारका पर्यटकीय स्थलहरुको पर्यटन तथा भ्रमणको उद्देश्यका आधारमा पर्यटकहरुलाई मोटामोटी रुपमा दश प्रकारमा विभाजन गरिएको छः 

(१)प्रकृति तथा संस्कृति मैत्री पर्यटक(ससटेनेबल टुरीस्ट): पृथ्वी तथा प्रकृति र त्यहाँको मौलिक प्राकृतिक संस्कृतिहरु(नेचुरल कल्चर) सबैको साझा हो, यसलाई बचाउँ र सबैले सक्दो प्रकृति तथा प्राकृतिक संस्कृति मैत्री गतिविधिहरु अपनाउँ भन्ने व्यापक विश्वव्यापि अभियान चलिरहेको सन्दर्भमा वर्तमान समयमा प्रकृति तथा वातावरण मैत्री पर्यटन तथा भ्रमण गर्ने व्यक्तिहरु प्रकृति तथा संस्कृति मैत्री पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । प्रकृति तथा प्राकृतिक संस्कृति मैत्री पर्यटकीय गतिविधिहरु आयोजना गर्ने आयोजक र भ्रमण गर्ने पर्यटकहरु दुवै प्रकृति तथा प्राकृतिक संस्कृतिप्रति उत्तरदायि र जिम्मेदार हुन्छन् । यस प्रकारका पर्यटकीय गतिविधिहरु आयोजना गर्ने आयोजकहरुले प्रकृति तथा प्राकृतिक संस्कृतिहरुमा पर्यटकीय गतिविधिहरुको नकारात्मक प्रभाव नपर्ने गरि प्रकृति तथा प्राकृतिक संस्कृतिलाई कुनै प्रकारले हानि नपुर्याइकन तथा कम हानि हुनेगरि पकृति तथा प्राकृतिक संस्कृतिको प्राकृतिक गुण तथा नैसर्गीक विशेषताहरुमा अझ बढोत्तरी ल्याउने, लाभ पुर्याउने तथा मद्धत गर्ने उद्देश्यलाई आत्मसाथ गरेर स्थानिय प्राकृतिक वातावरण तथा भूगोलको वहन गर्नसक्ने क्षमता(क्यारींग क्यापसिटी)लाई गहन रुपमा मध्यनजर गरेर स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले विविध प्रकारका पर्यटकीय गतिविधिहरु जस्तै जैविक खेती तथा कृषि उब्जनी व्यवसाय, प्रकृति तथा प्राकृतिक संस्कृतिलाई कमसेकम दख्खल तथा खलल पुर्याएर निर्माण गरिएका गोरेटो तथा घोडेटो बाटोहरुको पदयात्रा गर्दै स्थानिय स्थलगत अवलोकन आदिको आयोजना गर्दछन् । जैविक खेती, प्राकृतिक किसमले संरक्षण गरिएका वनस्पति, प्राणी, जीवजन्तु, पशुपंक्षी, भूगोल, प्रकृति तथा संस्कृतिको अवलोकन, गोरेटो तथा घोडेटो बाटोको यात्रा, होमस्टेमा बसेर स्थनिय मौलिक संस्कृतिको अनुभव आदि पर्यटकीय गतिविधिहरु प्रकृति तथा संस्कृति मैत्री पर्यटन तथा पर्यटक अन्तर्गत पर्दछन् ।


(२)मर्यादित पर्यटक(इथिकल टुरीस्ट): मर्यादित पर्यटकीय गतिविधिहरु आयोजना गर्ने संस्थागत आयोजकहरु र त्यस प्रकारको गतिविधिहरुबारे ज्ञान तथा प्रत्यक्ष अनुभव हासिल गर्न तथा घुमफिर, मनोरञ्जन गर्न जाने पर्यटकहरु दुवै मर्यादित, नैतिकवान तथा उत्तरदायि हुन्छन् । आयोजकहरुले स्थानिय क्षेत्रका प्रकृति, वातावरण, प्राकृतिक संस्कृति, प्राणी, जीवजन्तु, पशुपंक्षी, वनस्पिति, भुगोल कुनैपनि पक्षमा हानिनोक्सानी नगरीकन तथा कमसेकम हानि हुनेगरि आन्तरीक तथा वाहिय पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्य राखेर आफ्ना पर्यटकीय व्यवसायिक गतिविधिहरु गर्दछन् र उक्त गतिविधिहरुको अवलोकन गर्न जाने पर्यटकहरुले पनि उपरोक्त कुनै पक्षमा कुनै प्रकारको हानिनोक्सानि नपुर्याइकन स्थानिय प्राकृतिक वातावरण तथा भूगोलको वहन गर्नसक्ने क्षमतालाई गहन रुपमा मध्यनजर गरेर पर्यटकीय गतिविधिहरुबाट ज्ञान, प्रत्यक्ष अनुभव तथा मनोरञ्जन दिने गर्दछन् । कृषि फार्म, माछा पालन, कुखुरा पालन, पशुपालन, मौरी पालन, पुष्पखेती, जडीबुटी खेती, नवीकरणीय उर्जाको उत्पादन, ढल निकास तथा स्वच्छ पानीको व्यवस्था, सौम्य तथा धेरै ठूलो आवाज नआउने, धेरै तोडफोड तथा डागंडुगं नगरिकन जैविक प्रक्रियाबाट स्थानिय मौलिक वस्तुहरुको प्रशोधन तथा उत्पादन गर्ने कुटीर तथा घरेलु उद्योग आदि पर्यटकीय गतिविधिहरु मर्यादित पर्यटन तथा पर्यटक अन्तर्गत पर्दछन् ।

 

(३)प्रयोगात्मक पर्यटक(एक्पेरीमेन्टल टुरीस्ट): एक्लै तथा सानो समुहमा नयाँ–नयाँ विषय तथा कुराहरु सिक्ने, जान्ने, त्यसबाट ज्ञान लिने तथा आफू स्वयंले प्रत्यक्ष प्रयोगात्मक अनुभव गर्ने उद्देश्य राखेर पृथ्वीको भूगोलमा रहेका विशेष प्रकारका गन्तव्य क्षेत्र तथा स्थलहरु, निश्चित स्थान तथा समूहको इतिहास, कलाकृति, मानव प्रकृति, मानव संस्कृतिको अवलोकन गर्ने, स्थानिय पर्यटकीय सेवासुविधा अनुसार निश्चित समयकालागि त्यहींको रहनसहन, खानपान, पहिरन अनुशरण गर्ने जीवनमा नयाँ-नयाँ विषयहरुको अनुभव गर्न अपेक्षा राख्ने खोजी प्रकृतिको व्यक्ति प्रयोगात्मक पर्यटकको प्रकार तथा वर्गमा पर्दछ । 


(४)साहसिक पर्यटक(एडभेन्चर टुरीस्ट): साहसिक पर्यटकबारे माथि उल्लेखित विषयहरुमा समेटीसकिएको छ । साहसिक पर्यटकहरु जीवनमा उत्सुकता जगाउने, जोखिमयुक्त, मजा आउने तर खतरा नभएका साहसिक पर्यटकीय गतिविधिहरुको प्रत्यक्ष अनुभव गर्न रुचाउछन् । बन्जी जम्प, र्याफ्टिीगं, प्याराग्लाइडिगं, माउन्टेन साइकिलगिं, स्काइ डाइभिगं, सि डाइभिगं, रोलरकोष्टर, कार रेसिगं, पहाड तथा हिमाल चढ्ने आदि गतिविधिहरु साहसिक पर्यटन अन्तर्गत पर्दछन् ।


(५)प्राकृतिक तथा पर्यापर्यटक(नेचुरल टुरीस्ट): प्राकृतिक तथा पर्यापर्यटकबारे माथि उल्लेखित विषयहरुमा समेटीसकिएको छ । प्राकृतिक तथा पर्यापर्यटक र प्रकृति तथा संस्कृति मैत्री पर्यटक करिव–करिव एकै हुन् । 


(६)सांस्कृतिक पर्यटक(कल्चरल टुरीस्ट): पृथ्वीको भूगोलभित्र रहेका जुनसुकै क्षेत्रहरुका विशेष प्रकारका मौलिक विशेषताहरु भएका स्थानिय प्रकृति, मानव, मानव संस्कृति, समुह, समाज, जातजाति तथा सम्प्रदायहरु, यीनको रहनसहन, भाषा, भेषभुषा, खानपान आदिकोे मौलिकताबारे जान्न, देख्न तथा प्रत्यक्ष अनुभव हासिल गर्न एक स्थानबाट अर्को स्थानको भ्रमण गर्ने व्यक्तिहरु सांस्कृति पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । सांस्कृति पर्यटन अन्तर्गत स्थानिय सामग्रीहरुबाट उत्पादन गरिएका सामग्रीहरुको मेला, फुड फेस्भिल, सांगीतिक कन्सर्ट, फेसन सो आदि पर्यटकीय गतिविधिहरु पर्दछन् ।  


(७)स्वस्थ्य उपचार पर्यटक(मेडीकल टुरीस्ट): आफ्नो शरीर, मन, भावना, चेतनाको उचित तथा सुदृढ स्वास्थ्य तथा आरोग्यता हासिल गर्न स्वास्थ्यका चारवटै आयामहरु(शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, चेतनात्मक अर्थात आत्मिक स्वास्थ्य)को उपचारसंग सम्वन्धित पर्यटकीय गतिविधि गर्ने व्यक्तिहरु स्वस्थ्य उपचार पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । शरीरका वाहिरी तथा आन्तरीक अंगहरुमा लागेका विभिन्न प्रकारका रोग तथा अस्वस्थताबाट मुक्त हुन, मानसिक स्वस्थ्य उपचार गर्न, स्वास्थ्य अझ सुद्धृढ बनाउन, शरीर, मन, भावना, चेतनामा आराम महसुस गर्न तथा दिगो आरोग्यता हासिल गर्न आदि उद्देश्य राखेर देश, विदेशका एक ठाउँबाट अर्को ठाउँको भ्रमण गर्नु स्वास्थ्य पर्यटन हो । विशेषगरि स्वास्थ्य उपचारको दृष्टिकोणले अत्याधूनिक प्राविधिक सुविधा सम्पन्न अस्पताल, आफूले धान्नसक्ने खर्च लाग्ने स्वस्थ्य केन्द्र तथा आरोग्यता प्रदान गर्ने योग चिकित्सा, ध्यान चिकित्सा, प्राकृतिक चिकित्सा, मर्म चिकित्सा प्रदान गर्ने केन्द्र तथा स्थानहरुमा गरिने गतिविधिहरु स्वास्थ्य पर्यटन अन्तर्गत पर्दछन् । पूर्वीय अध्यात्म दर्शन मनुष्यलाई सहज तथा सरल जीवन जिउन सिकाउने कलाको विज्ञान(आर्ट अफ लिभिगं) हो, यस अन्तर्गत गरिने सबै चिकित्सा पद्धतिहरु “रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु वुद्धिमानी हुन्छ” भन्ने सिद्धान्त तथा मान्यताहरुमा आधारीत छन् । वर्तमान समयमा लोकप्रिय बन्दै गएका आरोग्य पर्यटनका गतिविधिहरु अन्तर्गत पर्ने मसाज, स्पा, योगासन, प्राणायाम तथा ध्यान ट्रिटमेन्ट्स, नेचर थेरापि, अकुप्रेसर, अकुपंचर, एरोमा थेरापि, साउन्ड थेरापि, फुड थेरापि आदि सबै अतिरिक्त नकारात्मक प्रभाव नभएका अत्यन्तै प्रभावकारी प्राचीन चिकित्सा पद्धतिहरु हुन् । प्राचीन चिकित्सा पद्धतिमा प्राकृतिक चिकित्सा पद्धति(नेचर थेरापि) अर्थात हरप्रकारले प्रकृतिसंग नजिक भएर स्वास्थ्य लाभ तथा आरोग्यता हासिल गर्ने विधिहरु अत्यन्तै लोकप्रिय र प्रभावकारी रहदै आएका छन् र वर्तमान समयमा पनि आरोग्यता हासिल गर्नकालागि विविध प्रकारका प्राकृतिक चिकित्सा पद्धतिका विधिहरुको अनुशरण अध्यधिक मात्रामा गर्दै आइएको पाइन्छ र यी सबै गतिविधिहरु आजको विश्वमा सबैभन्दा बढि क्रियाशिलता रहेको आनन्द पर्यटन(प्लेजर टुरीजम) अन्तर्गत पर्दछन् । प्राकृतिक चिकित्सा अन्तर्गत विशेष प्रकारका स्वास्थ्य समस्याहरुको उपचार तथा रोकथाम गर्न विश्वका विशेष प्रकारका केन्द्र तथा क्षेत्रमा जानुदेखि लिएर आरोग्यता हासिल गर्नकालागि सामान्य गतिविधिहरु जस्तोकी आफू निवास गरिरहेको भन्दा फरक प्रकारको वातावरण, भूगोल, मौसम, हावापानी, खानपान, रहनसहन, संस्कृति आदिको अनुभव गर्न जाने क्रियाकलापहरु पर्दछन् । खासगरि थकान, बेचैनी, तनाव, चिन्ता, अवसाद जस्ता मानसिक समस्याहरुबाट मुक्त हुन र स्वस्थ गर्भधारण गर्न, गर्भ टिकाउन, छाला तथा एलर्जिका समस्याहरु जस्ता शारीरिक समस्याहरुबाट आराम प्राप्त गर्न प्राकृतिक चिकित्सा पद्धतिलाई अनुशरण गर्दै आइएको पाइन्छ । 


(८)धार्मिक पर्यटक(रिलिजिवस टुरीस्ट): आ-आफ्नो धार्मिक आस्था तथा मान्यता अनुसार देश, विदेशस्थित विभिन्न धार्मिक स्थल, उक्त स्थलका विषय, वस्तु, सेवा तथा अन्य मौलिक विशेषताहरुबारे सैद्धान्तिक ज्ञान तथा प्रत्यक्ष व्यवहारिक अनुभव लिने उद्देश्यले विभिन्न क्षेत्रहरुको भ्रमण तथा यात्रा गर्नु धार्मिक पर्यटन हो र यसप्रकारका पर्यटकीय गतिविधिहरु गर्ने धार्मिक तथा आध्यात्मिक पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । हिन्दु धर्मावलम्बिहरुले गर्ने पवित्र चारधाम यात्रा, पवित्र कैलास यात्रा, इशाइ धर्मावलम्बिहरुले गर्ने पवित्र जेरुसलम यात्रा, इस्लाम धर्मावलम्बिहरुले गर्ने पवित्र मक्का-मदिना धार्मिक तथा आध्यात्मिक पर्यटन अन्तर्गत पर्दछन् । धार्मिक पर्यटन गर्ने पर्यटकहरुको धर्म, धर्मका विषयहरु, स्थान आदिको सैद्धान्तिक ज्ञान तथा प्रत्यक्ष व्यवहारिक अनुभव लिने उद्देश्यका साथसाथ पुण्य कमाउने, मानसिक शान्ति तथा आनन्द हासिल गर्ने उद्देश्य पनि रहेको हुन्छ । विश्वले नेपाललाई ज्ञान भूमि, गुरु भूमि, देव भूमि, तपो भूमि, धर्म भूमि, शिव भूमि, पाशुपत भूमि, वुद्ध भूमि, शक्तिपिठहरुको भूमि, शालिग्राम शिलाको भूमि, मन्दिर नै मन्दिरको देश आदि गरिमामय उपनामले चिन्दछ । अदभूत परालौकीक दिव्य मान्यता तथा मौलिक विशेषताहरु भएका धार्मिक पर्यटकीय स्थलहरुको प्रचुरता तथा विविधताले सम्पन्न मूलुक नेपालमा धार्मिक तथा आध्यात्मिक पर्यटनको सम्भावना अत्यधिक रहेको छ । 


(९)कार्यगत पर्यटक(बिजनस टुरीस्ट): आफूले काम गर्ने कार्यलयमा आफूले बहन गरिरहेका काम तथा उत्तरदायित्वका कामहरु लिएर देश, विदेशको यात्रा तथा भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु कार्यगत पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । पर्यटनलाई मूलरुपमा आनन्द(प्लेजर) र कार्यगतग(बिजनेस) गरि दुई भागमा विभाजन गरिएको भएपनि सबै पर्यटकीय गतिविधिहरु अर्थात भ्रमण तथा यात्राहरु कुनै न कुनै काम विशेषले नै गर्ने गरिन्छन् अर्थात कार्यगत नै हुन्छन् । तर यीनका उद्देश्य तथा प्रकृतिहरुमा केही भिन्नता हुने र विशेष तथा निश्चित प्रकारको परिणामहरुको अपेक्षा गरेर गरिने हुनाले आनन्द पर्यटन र कार्यगत पर्यटनलाई छुट्टा-छुट्टै मान्यता प्रदान गरिएको छ ।


(१०)शोक पर्यटक(डार्क टुरीस्ट): दुःख, वियोग, मृत्यु, शहीद स्मारक, चिहान घाट, हन्टिगं हाउस, अन्धविश्वास तथा अवैज्ञानिक तर्कमाथि विश्वास, विवादास्पद विषयहरु आदिसंग सम्वन्धित स्थलहरुकोबारे जान्न, देख्न तथा प्रत्यक्ष अनुभव हासिल गर्न एक स्थानबाट अर्को स्थानको भ्रमण गर्ने व्यक्तिहरु शोक पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । शोक पर्यटकलाई अर्को शव्दमा ग्रीफ, डेथ तथा ट्राजेडी पर्यटक भनेर पनि बुझ्ने गरिन्छ ।  bsirjana@gmail.com



No comments:

Post a Comment