'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 7 March 2025

लैंगिक रुढीवादको नकारात्मक उर्जाको प्रभाव नै विकासको प्रमुख बाधक हो

Gender Stereotype is main Hindrance of Development

                              डा. सिर्जना भण्डारी*


                             #लैंगिकता__विकास(GAD) #आध्यात्मिक_दृष्टिकोण



विषय प्रवेश

व्यक्ति, परिवार, समाज, धर्म, राज्य सबैतिर सदा लैंगिक समानता तथा समता रहोस र रहनुपर्छ भन्ने भावलाई जोड दिन हरेक वर्ष मार्च ८ तारिकमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । महिला र पुरुषको शारीरिक बनावट फरक छ, यो प्राकृतिक विभेद हो । महिला र पुरुषविच हुने समाजले निर्माण गरेको सामाजिक भेदभाव लैंगिक विभेद हो । सभ्यता स्वस्फूर्त विकास हुनेक्रममा विभिन्न कालखण्डमा तत्कालीन समाजको अवस्था र आवश्यकता अनुसार महिला र पुरुषको प्राकृतिक तथा शारीरिक बनाबटका आधारमा दैनिक जीवनयापन व्यवहारिक तथा सहज बनाउने दृष्टिकोणबाट तय गरिएका महिला र पुरुषका विभिन्न प्रकारका भूमिका तथा जिम्मेदारीहरु विस्तारै समाजमा संस्कार तथा परम्पराको रुपमा स्थापित हुदै गए जुन त्यतिबेलाको समाजकोलागि सही र आवश्यक थिए । सभ्यताको विकाससंगै वर्तमान समयसम्म आइपुग्दा व्यक्ति तथा समाजका व्यवहार र आवश्यकताहरु बदलिएका छन् तर समयको गतिसंग तत्कालीन समाजकालागि बनाइएका समाजका संस्कार तथा परम्पराहरुमा आवश्यक बदलाव आउन सकेन । महिला र पुरुषका भूमिका तथा जिम्मेदारीहरु अझै उही पुरातन रुढीवाद तथा लैंगिक विभेदकै रुपमा हेरिदै तथा अपेक्षा गरिदै आइएको छ जसले महिला र पुरुषको व्यक्तिगत विकासकासाथै समाज, देश, विश्व र प्रकृति कै समग्र विकासमा नकारात्मक प्रभाव पारिरहेको छ किनकी यी संस्कार तथा परम्पराहरु अहिलेको समय, व्यक्ति, समाज, राज्य, विश्व तथा प्रकृतिकालागि समय सान्दर्भिक छैनन् । महिला र पुरुषको फरक प्रकारको भूमिका तथा जिम्मेदारीहरुको अपेक्षा राख्ने यीनै संस्कार तथा परम्पराहरु नै लैंगिक रुढीवाद(जेन्डर स्टेरीयोटाइप) हुन् । लैंगिक रुढीवादका समय असान्दर्भिक र अव्यवहारिक संस्कार तथा परम्पराहरुले महिला र पुरुष दुवैको शरीर, मन, भावना र चेतनामा नकारात्मक प्रभाव पारिरहेका छन् । महिला र पुरुषको शरीर, मन, भावना र चेतनामा परेको नकारात्मक प्रभाव र यसबाट उनीहरुको शरीर, मन, भाव, चित्तमा उत्पन्न हुने नकारात्मक उर्जाका तरंगहरुले उनीहरु स्वयंको वाहिय समृद्धि तथा आन्तरीक क्षमता, प्रतिभा, सिर्जनशीलता, सकारात्मक गुण आदिको विकासमा अवरोध पुर्याउनुका साथसाथ उनीहरुको वरिपरिको वातावरण तथा घरपरिवार, कार्यालय, सार्वजनिक स्थान, वातावरण, प्रकृति तथा ब्रम्हाण्डमा समेत नकारात्मक प्रभावहरु पारिरहेका छन् । समग्रमा, गहिराइमा उर्जा र यसका तरंगहरुको प्रभावको विज्ञान बुझ्ने हो भने वर्तमान समयमा यही नकारात्मक उर्जा नै समग्र विकासको मूल बाधक बनेको छ । 


उर्जा र ब्रम्हाण्ड 

अध्यात्म विज्ञान र अत्याधूनिक भौतिक प्रमात्रा विज्ञान(क्वान्टम साइन्स) दुवैले मानेका छन् कि विश्व तथा ब्रम्हाण्ड केवल उर्जाले बनेको छ, यहाँ उर्जा बाहेक अरु केहीपनि छैन, यहाँका दृश्य अदृश्य सबै विषय तथा वस्तुहरु सबै उर्जा नै हुन् । वेदको सार, विश्वव्यापि रुपमा सर्वाधिक वैज्ञानिक मान्यता प्राप्त सनातनीहरुको मूल ग्रन्थ पूर्वीय अध्यात्म दर्शन शास्त्रहरुमध्य प्रमुख शास्त्र(विज्ञान) श्रीकृष्ण भगवानद्वारा प्रतिपादित श्रीमद् भगवद् गीतालाई सन्दर्भ मान्दै महान वैज्ञानकि अल्वर्ट आइन्सटाइनले भन्नु भएको छ, “उर्जालाई न निर्माण गर्न सकिन्छ न नष्ट गर्न सकिन्छ, केवल यसको स्वरुप परिवर्तन हुन्छ तथा स्वरुप परिवर्तन गर्न मात्र सकिन्छ ।” यो उर्जा त्यही हो जो सबैमा अर्थात कणकणमा सर्बव्यापक(ओम्नीप्रेजेन्ट) छ, यो उर्जा बिना कहींपनि केहीपनि सम्भव छैन र कसैको पनि अस्तित्व रहदैन । यही नै सर्वशक्तिमान(अलमाइटी) छ जो ब्रम्हाण्डको सर्बश्रेष्ठ चेतना(सुपर कन्सिवस) हो जसलाई सनातन अध्यात्म दर्शनले ‘ब्रम्ह’ भन्दछ । यही उर्जा, चेतना तथा ब्रम्हले बनेको, बनाएको तथा गरेको सृष्टि नै ब्रम्हाण्ड हो र यही ब्रम्हाण्डका अधिपति सर्वोपरि ब्रम्ह नै परब्रम्ह, परमात्मा, परमेश्वर, प्रभु, इश्वर हुन जो निराकार, निर्गुण र अव्यक्त छन् तर शसक्त रुपमा अस्तित्वमा छन् । पंचमहाभूतमध्य एक ‘हावा’ ब्रम्हको अंश हो, यसको गुण, आकार छैन, दृश्यमा पनि छैन तर अस्तित्वमा छ, हावाबिना जीवन नै सम्भव छैन । कागतिको अमिलोको आकार छैन, दृश्यमा पनि छैन तर अस्तित्वमा छ । त्यस्तै मनुष्य(जिवात्मा=जिव+आत्मा)को वास्तविक स्वरुप आत्मा अर्थात चेतना हो, उही ब्रम्हको अंश हो जो आकारमा तथा दृश्यमा छैन तर अस्तित्वमा छ, आत्माले छोडेपछि मनुष्यको दृश्य शरीर जड अर्थात पदार्थ अर्थात लास बन्दछ । 


सबैभन्दा कान्छो पूर्वीय सनातन अध्यात्म दर्शन अद्वेत वेदान्तका अनुसार, ब्रम्हाण्डका सबै प्राणी, जीवजन्तु, वनस्पति तथा पदार्थहरुमा भएको उर्जा तथा चेतना एउटै हो, उही ब्रम्ह हो । हरेक मनुष्य यही ब्रम्हाण्डको सदस्य हो र सबैमा उही ब्रम्ह, चेतना अर्थात उर्जा बहिरहेको छ । ब्रम्ह, चेतना अर्थात उर्जाका दुई स्वरुप छन्– (१)निराकार जो चेतना(पराभौतिक पुरुष अर्थात आत्मा) हो, र (२)आकार जो पदार्थ(भौतिक जड अर्थात स्थुल) हो । सौर्यमण्डल, ग्रह, तारा, नक्षेत्र लगायत ब्रम्हाण्डका सबै सृष्टिहरु चेतना(पुरुष) र पदार्थ(प्रकृति)का संयोजन हुन्, एकै ब्रम्हका दुई स्वरुप हुन् । त्यस्तै ब्रम्ह अर्थात उर्जा अर्थात चेतनाका दुई गुण छन्– (१)सकारात्मक गुण, र (२)नकारात्मक गुण । यी दुवै गुण मनुष्य लगायत ब्रम्हाण्डका सबै प्राणी, जीवजन्तु, वनस्पिति तथा पदार्थहरुमा छन् । मनुष्य चेतनशील सामाजिक प्राणी भएकोले सरल तथा सहज पारिवारिक तथा सामाजिक व्यवस्थाकालागि उसले निर्माण गरेको समाजमा विषयका विविधताहरु छन् । ती विविधताहरु मध्य प्रकृति लगायत सबैलाई सबैभन्दा बढि र सबैलाई गहिरो प्रभाव पार्दै आएको विषय लैंगिकता(महिला र पुरुष्को पूर्व निर्धारित भूमिका) हो । लैंगिकताका विभेदयुक्त विषय तथा कुरीति र कुसंस्कारहरुले महिला र पुरुषको शरीर, मन, भाव र चेतनामा अवस्था अनुसार सकारात्मक, नकारात्मक, मध्यम उर्जाका तरंगहरु सिर्जना गर्दछन् जसले हरेक व्यक्तिको वाहिय समृद्धि र आन्तरीक विकासकासाथै परिवार, समाज, देश, विश्व, प्रकृति र ब्रम्हाण्ड कै विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरु पार्दै आइरहेका छन् । लैंगिक रुढीवादका विषयहरुले महिला तथा पुरुषहरुको मन तथा भावनामा सकारात्मक कम नकारात्मक उर्जा बढि उत्पन्न गरेका कारण समग्र विकासले आवश्यक मात्रामा सन्तुलित लय तथा गति पक्डिन सकेको छैन । सबै मनुष्यहरुमा विज्ञानहरुको पनि विज्ञान, ब्रम्हाण्डको नियम दर्शाउने अध्यात्म महाविज्ञान अन्तर्गत रहेका पूर्णरुपमा वैज्ञानिक विधि तथा पद्धतिहरुमा आधारीत योग तथा ध्यान साधनाको पहुच पुर्याएर, योग तथा ध्यानका व्यवहारीक र प्रयोगात्मक अभ्यासहरुको माध्यमबाट उनीहरुमा सकारात्मक उर्जाको प्रवाह बढाउन र उनीहरुको वाहिय तथा आन्तरीक व्यक्तित्व विकासको साथसाथ समग्र विकासको प्रक्रियालाई सही गति, लय तथा सन्तुलनता प्रदान गर्न सकिन्छ । 


लिंग र लैंगिकता

‘लिंग(सेक्स)’ प्राकृतिक अर्थ जनाउने शव्द हो र ‘लैंगिकता(जेन्डर)’ सामाजिक अर्थ जनाउने शव्द हो । लिंगभेद महिला र पुरुषविच हुने फरक प्रकारको प्राकृतिक तथा शारीरिक बनाबट हो जसलाई परिमार्जन तथा परिवर्तन गर्न सकिदैन र आवश्यक पनि छैन किनकी लिंगभेद सृष्टिको निरन्तरताका लागि प्रकृति अर्थात स्वयं इश्वरले नै गरेको हो । महिलाको शरीरमा स्तन, पाठेघर, योनी हुनु र पुरुषको शरीरमा लिंग, जुंगा–दारी तथा फरक प्रकारको शारीरिक बनावट हुनु प्राकृतिक लिंगभेद हो । तर लैंगिकभेद महिला र पुरुषविच हुने सामाजिक तथा मानव निर्मित संस्कार तथा परम्पराहरुको बनावट हो जसलाई परिमार्जन तथा परिवर्तन गर्न सकिन्छ र युग तथा समयसान्दर्भिक हुनेगरि परिमार्जन तथा परिवर्तन गर्नु आवश्यक छ सन्तुलित विश्ववन्धुत्वको भावना बढाउनका लागि । व्यक्तिगत, पारिवारीक, सामाजिक, धार्मिक तथा सार्वजनिक रुपमा महिला र पुरुषको भूमिका, जिम्मेदारी, व्यवहार तथा प्रस्तुतिकरण यस्तो प्रकारको हुनुपर्छ भनेर समाजले निर्माण गरेका सामाजिक संस्कार तथा परम्पराहरु लैंगिकता हो । लैंगिकताका अधिकांश मूल्यमान्यताहरु विभेदपूर्ण तथा महिला र पुरुषको व्यक्तिगत विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले नकारात्मक प्रभाव पार्ने प्रकारका भएकाले यी मूल्यमान्यताहरु विश्वाव्यापि रुपमै मानवीय दृष्टिकोणबाट बिभेदपूर्ण तथा अन्यायपूर्ण मानिदै आइएका छन् । लैंगिक विभेदयुक्त सामाजिक संस्कार तथा परम्पराहरुले महिला, पुरुष, समाज, राज्य, विश्व, प्रकृति तथा ब्रम्हाण्डलाई नै नकारात्मक प्रभाव पारेका छन् र सन्तुलित विकासको गतिलाई अवरोध गरेका छन् । कतिपय समाज तथा देशमा लैंगिक रुढीवादमा आधारीत सामाजिक संस्कार तथा परम्पराहरुलाई विश्वको छाता संगठन सम्युक्त राष्ट्रसंघले मानव अधिकार विपरीत ठहर गरेको छ र सम्वन्धित समाज तथा देशलाई मानव अधिकार अनुकुल हुने गरि तीनमा परिमार्जन तथा परिवर्तन गर्न आदेश र सुझाव दिएको छ किनकी सम्युक्त राष्ट्रसंघको वडापत्र विश्वको मूल कानून हो सदस्य राष्ट्रहरुका संवैधानिक कानूनहरु पनि यस अन्गर्त रहनु पर्ने विश्वभरि नै सर्वसम्मत मान्यता रहेको छ ।  


विकासको परिभाषा– मनुष्यको जीवन हरप्रकारले सहज र सरल हुनेगरि उसका सबै प्रकारका आधारभूत आवश्यताहरु– गाँस, बास, कपाश, शिक्षा, स्वास्थ्य, सुरक्षा, नैसर्गिक(प्राकृतिक) अधिकार, लैंगिक समानता तथा समता आदि पूरा हुनेगरि सबै क्षेत्रमा आएको सन्तुलित तथा सकारात्मक परिवर्तन वास्तविक विकास तथा पूर्णताले भरिएको विकासको युग तथा समयसान्दर्भिक परिभाषा हो र माथि उल्लेखित कुनै एक वा दुई क्षेत्रमा मात्र आएको सकारात्मक परिवर्तन प्रगतिको रुपमा मात्र गणना गरिन्छ विकासको रुपमा होइन । 


लैंगिक रुढीवादको प्रकार

लैंगिक रुढीवाद पुरातन सोच हो जसमा महिला र पुरुषको व्यक्तिगत, पारिवारीक, सामाजिक, धार्मिक तथा सार्वजनिक स्वरुप, भूमिका, उत्तरदायित्व तथा व्यवहार यस्तै हुनुपर्छ भन्ने मान्यता तथा अपेक्षा राखिन्छ जुन प्रकृति र मानव अधिकारको नियम विपरीत रहदै आएको छ । लैंगिक रुढीवादमा महिला र पुरुषको व्यक्तिगत, पारिवारीक, सामाजिक, धार्मिक तथा सार्वजनिक स्वरुप, भूमिका, उत्तरदायित्व तथा व्यवहार के, कस्तो र कसरी निर्धारण गरिएको छ अर्थात महिला र पुरुषप्रति परिवार तथा समाजले गर्ने अपेक्षाहरु के, कस्ता छन्, उदाहरणबाट हेरौं र बुझौं–

@बच्चा जन्मनुअघिदेखि नै छोरालाई निलो रंग र छोरीलाई गुलाबी रंगको प्रतिक मानेर बालबालिकाको जीवनको प्रारम्भदेखि नै लैंगिक विभेद शुरु गरिन्छ ।

२ बच्चा जन्सिकेपछि उनीहरुलाई हुर्काउने क्रममा हरप्रकारका विभेदहरु गरिन्छन् । पहिरन, खेलौना आदि फरक–फरक दिलाइन्छन् । हुर्काइ पनि सानैदेखि फरक प्रकारले नै गर्ने गरिन्छ मिती छोरी हौ त्यसैले तिमीले आमा, हजूरआमा तथा त्यस्तै कुनै छविलाई रोलमोडल मान्नुपर्छ र छोराले पनि त्यही अनुसार पुरुष छविलाई रोलमोडल मान्नुपर्छ ।

@घरपरिवार तथा घरव्यवहारमा महिलालाई घरेलु काम गर्ने, बालबालिका हुर्काउने तथा जेष्ठ नागरीकहरुको सेवा गर्ने, निर्णयको अधिकार न्युन तथा नहुने, हरप्रकारले पुरुष सदस्यप्रति आश्रीतको रुपमा हेरिन्छ र यस्तै भएर बस्ने अपेक्षा गरिन्छ तर यसको विपरित घरव्यवहारमा पुरुषलाई घरमूली, घरवाहिरको काम गर्ने, कमाउने तथा परिवार पाल्ने, घरव्यवहारका महत्वपूर्ण निर्णयहरु लिने प्रमुख व्यक्तिको रुपमा हेरीन्छ ।  

@कार्यालयमा महिलालाई सेक्रेटरी, सहयोगी तथा सरसफाइको काम गर्ने तत्लो तहको कर्मचारीको भूमिकामा हेरीन्छ र त्यस्तै कामहरु प्रदान गरिन्छ, महिलाले भोरै कमाएपनि हुन्छ भन्ने अपेक्षा राखिन्छ तर पुरुषलाई हाकिम तथा निर्णयकर्ताको भूमिकामा हेरीन्छ । पुरुषले बढि कमाउनु पर्छ भन्ने मान्यता राखिन्छ र उस्तै काममा महिला र पुरुषको तलवभत्तामा समेत विभेद गरिन्छ ।     

@अध्ययनको विषय छनौटमा महिलाहरुले घरपरिवार सम्हाल्ने तथा परिवारलाई खुशी राख्ने, पकाउने, बुन्ने, मनोरञ्जन प्रदान गर्ने, सेवा प्रदान गर्ने विषयहरुको अध्ययन गर्न प्राथमिकता तथा जोड दिइन्छ भने पुरुषलाई डाक्टर, इन्जिनियर, पाइलट, खेलाडी जस्ता विषयहरु छनौट गर्न तथा अध्ययन गर्न प्राथमिकता तथा जोड दिइन्छ ।    

@सार्वजनिक विज्ञापनमा महिलाहरुलाई श्रृंगार, अंग प्रदर्शन, सुन्दरता, कामुकताको प्रतिकको रुपमा वस्तुकरण गरेर देखाइन्छ भने पुरुषलाई साहसिक, तर्क तथा वुद्धिको आवश्यक पर्ने काम तथा भूमिकामा देखाइन्छ । 

@विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरुमा महिलालाई घरेलु कामकाजहरु गरेको भूमिकामा देखाइन्छि तर पुरुषलाई कार्यालय, राजनीति, सामाजिक अभियन्ता, प्रोफेसर, वैज्ञानिक, प्राविधिक, गुरु, पूजारी आदि वुद्धि, विवेक, तर्कको आवश्यकता पर्ने विशिष्ठ कामहरुमा देखाइन्छ र वास्ताविकतामा पनि त्यस्तै अपेक्षा गरिन्छ ।

@समान्य जीवनमा महिलालाई व्युटी पार्लर जाने, श्रृंगार गर्ने, श्रृंगार, पहिरन र गहनाले शरीर सजाउने, स्कुटर चलाउने, जोखिम लिन नसक्ने, डरपोक, नाजुक, अरुका कुरा काटेर बस्ने, षडयन्त्र गरेर बस्ने देखाइन्छ र त्यस्तै रुपमा वास्तविकतामा पनि हेर्ने अपेक्षा गरिन्छ भने पुरुषहरुलाई जिम जाने, शारीरिक सुगठन गर्ने, मोटर साइकल, कार, हवाई जहाज, पानी जहाज चलाउने, जोखिम लिने, चिन्तन गर्ने भूमिकामा देखाइन्छ । 

@ड्रामा, सिरीज तथा चलचित्रहरुमा महिलाहरुलाई राम्री तर कमजोर, रुने तथा चिच्याउने, आश्रीत, नाजुक, पिडित अनि सुरुषले महिलाको सुरुक्षा गर्ने, उछार तथा सहयोग गर्ने, दया तथा करुणावस प्रेम तथा विवाह गर्ने भूमिकामा मलिालाई अभिनय गर्न बाध्य गराइन्छ ।

  


समग्रमा, महिलाकालागि लैंगिक रुढीवादले निर्धारण गरेका मूल्यमान्यता तथा भूमिकाहरु निम्न रहेकाछन्–

गुलाबी रंग महिलाको प्रतिक; पातली, राम्री, लामो कपाल, गोरी(प्राकृतिक रुपमा तथा श्रृंगार गरेर);  गहना, श्रींगार र पहिरनले सजिएकी; घरमा संस्कारी सबै अंग ढाक्ने, घरवाहिर कामुक(अंग प्रदर्शन तथा स्लीमफिट पहिरन लगाएर); नाजुक, समवेदनशील, आश्रीत, लजालु, भावुक, सहनशील, गंभिर, धैर्य, अन्याय सहने, अन्याय विरुद्ध आवाज नउठाउने, विरोध नगर्ने, हरपल सेवाकालागि तत्पर, मृदुभाषि, चेहरामा मुस्कान भरिरहने, अरुलाई खुशी पार्ने, संस्कारी, घरका कामकाज सबै जान्ने, दाइजो तथा कोसेली प्रसस्त ल्याउने, श्रीमान भन्दा सानो उमेरकी, श्रीमान भन्दा कम शैक्षिकस्तर हासिल गरेकी, श्रीमान भन्दा कम कमाउने तथा वाहिर काम नगर्ने गृहीणी; श्रीमानको भन्दा क्षमता, प्रतिभा, सिर्जनशीलता तथा सिप कम भएकी; घरका सबै कामकाज गर्ने, बालवालिका हुर्काउने, जेष्ठ नागरीकको सेवा गर्ने र घरव्यवहारको जिम्मेदारीबाट समय बचेमात्र समाजले नै महिलाले गर्न हुन्छ भनेर निर्धारण गरेका काम तथा गविविधिहरु परिवारको अनुमति लिएर मात्र गर्ने; सौन्दर्य र कामुकताकालागि बजारीया विज्ञानपनमा प्रयोग गरिने वस्तु आदि....        


पुरुषकालागि लैंगिक रुढीवादले निर्धारण गरेका मूल्यमान्यता तथा भूमिकाहरु निम्न रहेकाछन्, जुन महिलाको तुलनामा अलि कम कठोर तथा सजिला देखिन्छन्–

निलो रंग पुरुषको प्रतिक; अग्लो, सुन्दर, छोटो कपाल, चौडा कुम, चौडा छाति र सुगठित शरीर(माचो म्यान); साहसी तथा हिम्मतवाला, महिलाको संरक्षक, सक्रिय, बोलक्कड, वुद्धिमान तथा विवेकशील, अन्याय नसहने, अन्यायसंग लड्ने, विरोधको आवाज उठाउने, नसहने, पराक्रमी, जागीरे तथा व्यवसायि, परिवार पालक तथा संरक्षक, घरमूलि,  निर्णायक आदि....


लैंगिक रुढीवादको स्वरुप

लैंगिक रुढीवादले तय गरेका मूल्यमान्यतामा महिला ज्यादा विभेदमा परेका छन् र यसको प्रत्यक्ष नकारात्मक प्रभाव उनीहरुको व्यक्तित्व विकासमा स्पष्ट रुपमा परेको देखिन्छ । मानव समाजमा स्पष्ट अनुभव गर्न सकिने लैंगिक रुढीवादका मोटामोटी सात प्रकारका स्वरुपहरु रहेका छन्–

शारीरिक तथा भौतिक स्वरुप– महिलाको शरीर पातलो, गोरी तथा राम्री देखिनुपर्छ भन्ने मान्यता तथा अपेक्षा राख्ने गरिन्छ जुन पुरुषकालागि गरिदैन ।

मानसिक भावनात्मक स्वरुप– मानसिक रुपले कम तर्कशील, कमजोर, भनेको मान्ने र भावनात्मक रुपले भावुक, समवेदनशील, दया, करुणा, प्रेमकी प्रतिमुर्ति हुनुपर्छ भन्ने मान्यता तथा अपेक्षा राख्ने गरिन्छ जुन पुरुषकालागि गरिदैन । 

व्यक्तित्व तथा वौद्धिक स्वरुप– क्षमता, प्रतिभा, सिर्जनशीलता नभए पनि हुन्छ तर राम्री देखिनु पर्छ भन्ने प्रकारले महिलाको क्षमता, प्रतिभा, सिर्जनशीलता नै सुन्दरता हो भन्ने मान्यता राखिन्छ र हरहालमा सुन्दर भएर बस भन्ने अपेक्षा राख्ने गरिन्छ जुन पुरुषकालागि गरिदैन ।

व्यवहारीक स्वरुप– घरव्यवहारका सबै जिम्मेदारीहरु महिलाले हेर्नुपर्छ, यसबाट फुर्सद भए तथा समय वचत भएमात्र घरवाहिरको काम गर्न अनुमति दिइन्छ तर पुरुषका हरप्रकारले स्वतन्त्र हुन्छ किनकी घरमूलि तथा निर्णायक नै उही हो घरपरिवार तथा घर व्यवहारको । 

सामाजिक स्वरुप– पारिवारीक तथा छिमेकमा परेको समयमा सहयोग गर्ने, निम्तामा सहभागी हुने, अर्मपर्म जस्ता सामाजिक भूमिकामा महिलाहरु सहभागि हुनुपर्छ भन्ने मान्यता तथा अपेक्षा राख्ने गरिन्छ जुन पुरुषकालागि बाध्यकारी छैन ।

धार्मिक स्वरुप– सामान्यतया व्रत, तीर्थ, पूजापाठ जस्ता धार्मिक गतिविधि तथा अनुष्ठानहरु महिलाले श्रीमान, सन्तान तथा घसपरिवारकालागि गर्नुपर्छ, घरकी गृहलक्ष्मीले गरे परिवारका सबैले पाइन्छ भन्ने मान्यता तथा अपेक्षा राख्ने गरिन्छ जुन पुरुषकालागि बाध्यकारी छैन । 

अध्ययन, पेशा, व्यवसाय तथा सार्वजनिक स्वरुप– अध्ययनको सन्दर्भमा महिलाहरुले घरपरिवार तथा घरव्ष्वहार व्यवस्थापनकालागि आवश्यक तथा सहयोगी हुने अध्ययनका विषयहरु चयन गर्नुपर्छ भन्ने मान्यता तथा अपेक्षा राख्ने गरिन्छ । महिलालाई सार्वजनिक रुपमा पेशामा नर्श, एयरहोस्टेज, शिक्षक, सेक्रेटरी, सुसारे, सडक सरसफाइ गर्ने, घरायसी कामकाज गर्ने र व्यवसायमा व्युटीपार्लर, टेल्लर, श्रींगार पसल, किराना पसल, कपडा पसल आदि कामकालागि उपयुक्त ठानिन्छ । यस्ता धेरै ज्ञान, वुद्धि तथा तार्किक क्षमता नचाहिने तर शरीरिक रुपमा राम्री देखिनु पर्ने काममा तथा व्यवसायमा उपयुक्त ठानिन्छ । 


लैंगिक रुढीवादको कारण

आजसम्मको अवस्था तथा परिस्थितिमा महिलाको प्राकृतिक तथा शारीरिक बनावट अर्थात लिंगभेद नै सामाजिक तथा लैंगिकभेदको मूलकारण बनेको देखदिै आइएको छ । महिलाहरुमा वंश निरन्तरता तथा सृष्टि गर्ने प्राकृतिक जिम्मेदारी अन्तर्गत रजश्वला हुनु, गर्भवती हुनु, सुत्केरी हुनु, स्तनपान गराउनु, सनतानप्रतिको प्रेम, भावना तथा समवेदनशीलता जस्ता प्राकृतिक गतिविधिहरुले पुरुषको तुलनामा शारीरिक रुपमा कमजोर, वाहिर पर्याप्त समय दिन नसक्ने, मानसिक तथा भावनात्मक सामिप्यता वाहिरको संसारमा भन्दा बढि घरपरिवार तथा घरव्यवहारमा रहने, अध्ययन, तालिम तथा क्षमता विकासको उर्वर समय र प्राकृतिक भूमिका निर्वाह गर्नुपर्ने समय एकै हुने हुनाले क्षमता विकासकालागि समय, साहस, उर्जा तथा पे्ररणासाथै आर्थिक श्रोतको अभाव, पुरुषमाथि आफू र बच्चा आर्थिक तथा सामाजिक रुपले आश्रीत हुनुपर्ने अवस्था आदिका कारण लैंगिक रुढीवाद तथा पुरातन सोचले विश्वका सबै समाजहरुमा जरा गाडेर रहेको अवस्था देख्न सकिन्छ र यसको नकारात्मक प्रभाव महिलाहरुमाथि नराम्रो गरि परेको देखिन्छ । यसकासाथै व्यक्तिगत, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, प्राविधिक काराणहरु पनि प्रमुख रहेका छन् लैंगिक रुढीवादका ।


लैंगिक रुढीवादको प्रभाव

व्यक्ति, घरपरिवार, घरव्यवहार, समाज, देश, विश्व, प्रकृति तथा ब्रम्हाण्डमै लैंगीक रुढीवादको गहिरो नकारात्मक प्रभाव परेको छ ।

व्यक्तित्व विकासमा अवरोध– लैंगिक रुढीवादको सबैभन्दा ठूलो नकारात्मक प्रभाव महिला र पुरुष दुवैको व्यक्तित्व विकास तथा उनीहरुको वाहिय समृद्धि र आन्तरीक विकासमा परिरहेको छ । लैंगिक रुढीवादले मानिस जन्मनु अघिदेखि नै पुरुष यस्तो हुनुपर्छ भनेर पुरुषकालागि छुट्टै मान्यता तथा अपेक्षा र महिला यस्तो हुनुपर्छ भनेर महिलाकालागि छुट्टै मान्यता तथा अपेक्षा निर्धारण गरेको कारण महिला र पुरुष चाहेर पनि आफ्नो रुचि तथा क्षमता भएका काम तथा गतिविधिहरुमा समलग्न हुन हिम्मत गर्दैनन्, परिवार तथा समाजदेखि हच्किन्छन्, अग्रसर नै हुदैनन्, खुम्चिन्छन् तथा पछाडि हट्छन् जसले उनीहरुको आन्तरीक क्षमता वाहिर आउन, प्रतिभा प्रष्फुटन हुन तथा सिर्जनशिलता व्यवहारमा आउन सक्दैन र व्यक्तित्व विकासमा अवरोध पुग्छ । यो अवस्थाको आत्यन्तिक नकारात्मक प्रभाव देश, विश्व, प्रकृति तथा बैम्हाण्डकै समग्र विकास प्रक्रियामा पर्दछ ।

  

अध्ययन, पेशा तथा रोजगारी छनौटमा कठिनाइ– महिला र पुरुषकालागि परिवार तथा समाजले छुट्टाछुट्टै अपेक्षा तथा मान्यता निर्धारण गरेको कारण उनीहरुलाई आफूले चाहेको, आफ्नो क्षमता तथा प्रतिभासंग मेलखाने प्रकारको अध्ययनको विषय छनौट गर्न, पेशा, व्यवसाय तथा रोजगारी छनौट गर्न परिवार तथा समाजको डरको कारण असहजता हुने गरेको देखिदै आइएको छ जसले व्यक्ति स्वयं, परिवार, समाजको आर्थिक अवस्था तथा देशकै अर्थतन्त्र कमजोर बनाएको छ र यो अवस्थाको आत्यन्तिक नकारात्मक प्रभाव देश, विश्व, प्रकृति तथा बैम्हाण्डकै समग्र विकास प्रक्रियामा पर्दछ ।


मानव अधिकारको उलंघन– लैंगिक रुढीवाद महिला र पुरुष दुवैको मानव अधिकारको विरुद्ध रहेको लैंगिकता र विकाससंग सम्वन्धित विभिन्न संघ, संस्थाहरु र मानव अधिकारमा काम गरिरहेका संस्थाहरुले ठहर गरेका छन् जसको कारण महिला, पुरुष लगायत परिवार, पुरै समाज, देश, विश्व, प्रकृति तथा ब्रम्हाण्डले नै यसको नकारात्मक प्रभाव झेलिरहेको छ ।


मनोविज्ञानमा नकारात्मक प्रभाव– लैंगिक रुढीवादको नकारात्मक प्रभाव महिला र पुरुष दुवैको मनोज्ञिानमा नराम्रोसंग परेको छ । परिवार तथा समाजले लैंगिक रुढीवादकै मान्यता अनुसार व्यवहार गर्ने तथा यो तिम्रो काम होइन, तिमीले यो काम गर्न सक्दैनौ, आफ्नो औकात(लिंग) अनुसारको व्यवहार गर, आफ्नो थान्कोमा बस, त्यसैअनुसारका काम तथा गतिविधिहरु आफ्नालागि छनौट गर भन्ने जस्ता हतोत्साहित गर्ने व्यवहारहरुका कारण उनीहरुको मानसिकतामा म साँच्चै यो काम गर्न सक्दिन, यो मेरोलागि होइन, म यसकोलागि अयोग्य छु  किनकी म महिला हुँ तथा म पुरुष हुँ भन्ने प्रकारको भावले जन्म लिन्छ र अगाडि बढ्न हतोत्साहित हुन्छन् तथा हच्कििन्छन् । यस्तो अवस्थामा उनीहरुमा प्रेरणाको कमी हुन्छ हुन्छ र यसको आत्यन्तिक नकारात्मक प्रभाव देश, विश्व, प्रकृति तथा बैम्हाण्डकै समग्र विकास प्रक्रियामा पर्दछ ।


परिवार, समाज, देश तथा विश्वकै विकासको गतिमा अवरोध– लैंगिक रुढीवादका कारण व्यक्तिको क्षमता विकासमा बाधा पुर्याइरहेको छ जसले परिवारको विकासमा समेत बाधा पुर्याएको छ । परिवार–परिवार मिलेर नै समाज बन्ने, समाज–समाजको संगठनले नै देश र देश–देशको समुह नै विश्व भएकोले लैंगिक रुढीवादका कारण महिला र पुरुषहरुको व्यक्तिगत विकासमा अवरोध हुनु तथा चाहे अनुसार उनीहरुको व्यक्तित्व, क्षमता, प्रतिभा तथा सिर्जनशीलताको विकास हुन नसक्नु देश, विश्व, प्रकृति तथा बैम्हाण्डकै समग्र विकास प्रक्रियामा अवरोध आउनु हो । 


लैंगिक रुढीवादको समाधान

मानव समाजमा लैंगिक रुढीवाद विगत लामो समयदेखि चल्दै आइरहेको संस्कार तथा परम्परा भएकोले बिनाकुनै प्रतिक्रिया तथा जिज्ञासा सबैले सहजै स्वीकार तथा अनुशरण गर्दै आइरहेका छौं प्राकृतिक नियम जस्तै ठानेर तर हामी सबैले बुझ्नु अति आवश्यक छ यस्ता संस्कार तथा परम्पराहरुको निरन्तरता प्राकृतिक नियम होइन, सामाजिक बनावट तथा कृत्रिम नियमहरू हुन् । यसलाई प्राकृतिक नियम मान्नु हाम्रो अज्ञानता हो । महिला सशक्तीकरणको सबैभन्दा पछिल्लो आयाम लैंगिकता र विकास(GAD: Gender and Development)लाई सन्तुलित ढंगले अगाडि बढाउन युग सुहाउदो तथा समय सान्दर्भिक नभएका लैंगिक रुढीवादहरुलाई समय सान्दर्भिक हुनेगरि सक्दो परिमार्जन तथा परिवर्तन गरेर अगाडि बढ्नु पर्छ तवमात्र यसले व्यक्ति, परिवार, समाज, धर्म, देश, विश्व, पकृति तथा ब्रम्हाण्डमा ल्याएका समस्या तथा चुनौतिहरुको समाधन गर्न सकिन्छ । यी समस्या तथा चुनौतिहरुको समाधान गर्न लैंगिकताका आधारमा पछि परेका तथा पछाडि पारिएका महिला र पुरुषहरुकालागि प्राथमिकता निर्धारण गरेर उनीहरुलाई सहुलियत हुने तथा सहुलियत प्रदान गर्ने प्रकारले नियम कानूनमा परिमार्ज तथा परिवर्तन गरेर र लैंगिक मैत्री हुने गरि आवश्यक वर्गहरु (खासगरि महिलाहरु)को क्षमता विकाससंग सम्वन्धित तथा यस्ता विषय केन्द्रित विभिन्न प्रकारका तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु र यसलाई प्रत्यक्ष सहयोग पुर्याउने अध्यात्म विज्ञानका योग तथा ध्यान साधनाका कार्यक्रमहरु कार्यन्वयन तथा व्यवहारमा ल्याउनु पर्दछ । यसको पहल आवश्यकता अनुसार घर, विद्यालय, समुदाय, समाज, देश तथा विश्व सबैतिरबाट अभियानकै रुपमा प्रारम्भ गरिनु पर्दछ र विगत लामो समयदेखि यसप्रकारका पहलहरु हुदै आइरहेका छन् । मार्च आठ, पटक–पटक गरिएका नारी सम्मेलनहरु, सिडका सूधारहरु आदि सबै लैंगिक रुढीवाद विरुद्धका अधियानहरु हुन् । सुधारको भूमिका कसले कसरी खेल्न सकिन्छ–


घर तथा परिवारको भूमिका– हरेक व्यक्तिको पहिलो सिकाइ आमा, बुवा तथा परिवारबाट शुरु हुने र बालबालिकाहरुको अधिकांश समय घरपरिवारसंग नै बित्ने हुनाले घरमा सानैदेखि छोराछोरीहरुलाई लैंगिकता मैत्री विषय तथा व्यवहारहरु सिकाउन पहिलो सबैभन्दा महत्वपूर्ण र प्रभावकारी भूमिका अभिभावक तथा परिवारकै हुन्छ र हुनु पर्दछ । यसकालागि सम्वन्धित निकाउहरुले लैंगिकता मैत्री मूल्यमान्यताहरु सबै नागरीकले बुझ्ने गरि उपलव्ध गराउनु पर्दछ ।


विद्यालय तथा विश्वविद्यालयको भूमिका– घरपरिवारपछि बालबालिका, किशोरकिशोरी, यूवायूवती तथा विद्यार्थीहरुको अधिकांश समय विद्यालयमा शिक्षक, शिक्षिका तथा साथीसंगीहरुसंग बित्ने हुनाले हरप्रकारले विद्यार्थीहरुलाई लैंगिकता मैत्री विषय तथा व्यवहारहरु सिकाउन दोस्रो सबैभन्दा महत्वपूर्ण र प्रभावकारी भूमिका विद्यालय तथा विश्वविद्यालयहरुको हुन्छ र हुनुपर्छ । यसकालागि विद्यार्थीहरुलाई कक्षामा पढाइने पाठ्क्रमहरुमा राखिएका लैंगिक विभेद दर्शाउने विषयहरुमा पर्याप्त परिमार्जन तथा परिवर्तन गरेर लैंगिकता मैत्री हुनेगरि स्पष्टसंग उदाहरणसहित महिला र पुरुष दुवैको व्यक्तित्व, छवि, योगदान, तथा भूमिका देखिने गरि पढाउनु तथा सिकाउनु पर्छ । यो अभियान पनि विगत लामो अवधिदेखि हुदै आइरहेको छ तर त्यति प्रभावकारीता नदेखिएको हुदा आव्श्य सूधार गरेर अगाडि बढ्नुको विकल्प छैन ।


समुदाय, सम्प्रदाय तथा समाजको भूमिका– लैंगिकता र विकासको सन्दर्भमा घरपरिवार र विद्यालयपछि व्यक्तिले सामाजिक चालचलन, समाजिक मूल्यमान्यता तथा समाजको व्यवहारीक ज्ञान आफ्नो समुदाय, सम्प्रदाय तथा समाजबाट सिक्ने हुनाले हरेक समुदाय, सम्प्रदाय तथा समाजका मूल्यमान्यता तथा महिला र पुरुषकालागि निर्धारण गरिएका भूमिका र उनीहरुप्रति परिवार तथा समाजले गर्ने अपेक्षा लैंगिकता मैत्री बनाउन र त्यसै अनुसार व्यवहारिक हुनेगरि अनुशरण गर्न सम्वन्धित सबै समुदाय, सम्प्रदाय तथा समाजले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्दछ । 


देश तथा विश्वको भूमिका– व्यक्ति, समुदाय, सम्प्रदाय, समाज तथा पुरै देशको सामाजिक, परम्परागत, सांस्कृतिक, धार्मिक आदि मूल्यमान्यता कस्तो बनाउने र त्यसलाई प्रभावकारी हुनेगरि कसरी व्यवहारमा अनुशरण गर्ने भन्नेबारे सबैको अभिभावक राज्य व्यवस्था स्वयंले नै प्रभावकारी भूमिका निर्वाह गर्नु पर्दछ र हरप्रकारले सबै क्षेत्रहरु लैंगिक मैत्री बनाउनु राज्यको प्रमुख दायित्व हो ।


अध्यात्म, योग तथा ध्यान साधनाको भूमिका– अध्यात्म विज्ञान विज्ञानहरुको पनि विज्ञान सिंगो महाविज्ञान हो जस अन्तर्गत व्यक्ति, परिवार, समाज, देश, विश्व, प्रकृति तथा पुरै ब्रम्हाण्डलाई नै सन्तुलनमा राख्न सक्ने ज्ञान र विज्ञानका विषयहरु समाविष्ट छन् किनकी देशको सम्विधान देशको मूल कामून हो, विश्वको संविधान विश्वको मूल कानून हो तर अध्यात्म विज्ञान ब्रम्हाण्डकै मूल कानून हो, यसको सही सदुपयोग गर्न सक्ने हो भने आजसम्म मानव समाज तथा प्रकृ्ृतिमा देखिएका सबै समस्या तथा चुनौतिहरुको समाधान अध्यात्म विज्ञानभित्रै छ । सनातन पुर्वीय अध्यात्म दर्शन मनुष्यको जीवन, घरपरिवार, घरव्यवहार, समुदाय, सम्प्रदाय, समाज, देश, विश्व, सारा प्रकृति र ब्रम्हाण्डलाई सहज तथा सरल ढंगले सुचारु गर्न र सन्तुलित तथा व्यवस्थित जीवन जिउन सिकाउने कलाको विज्ञान हो । अध्यात्म विज्ञानका मूल विषय योग तथा ध्यान साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई निष्ठापूर्वक दैनिक जीवनमा अनुशरण गरेर विस्तारै व्यक्ति, समाज, देश, विश्व तथा प्रकृतिका सबै प्रकारका समस्याहरुको समाधान गर्न सकिन्छ । 


योग तथा ध्यान साधनाका लाभहरु– योग तथा ध्यान साधनाका लाभहरु अनन्त छन्, योगका प्रमुख तीन विधिहरु योगासन, प्राणायाम र ध्यान चिकित्सा पद्धति नै भएकाले यसका केही प्रमुख लाभहरु निम्नानुसार रहेका छन्–

@योगासन, प्राणायाम र ध्यान साधनाले शरीर तथा स्वास्थ्यका सबै आयामहरु(शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, चेतनात्मक स्वास्थ्य)मा देखिएका सबै प्रकारका समस्या, चुनौति, अस्वस्थता तथा रोगहरुबाट मुक्ति मिल्छ ।

@योगासन, प्राणायाम र ध्यान साधनाले शरीर तथा स्वास्थ्यका सबै आयामहरुमा सबै प्रकारका समस्या, चुनौति, अस्वस्थता तथा रोगहरुसंग लड्न सक्ने आन्तरीक क्षमतामा वृद्धि हुन्छ ।

@योगासन, प्राणायाम र ध्यान साधनाले जीवनका समस्या तथा चुनौतिहरुको नियन्त्रण्न, सही समाधान तथा व्यवस्थापन गर्ने क्षमतामा वृद्धि हुन्छ ।

@योगासन, प्राणायाम र ध्यान साधनाले मन तथा मस्तिष्कको एकाग्रता, स्मरण क्षमतामा वृद्धि गर्नुकासाथै मानवीय विकारहरु काम, त्राध, लोभ, मोह, इष्र्या, घृणा, प्रतिस्पर्धा, अहंकार आदिबाट वाहिर निकाल्छ ।

@योगासन, प्राणायाम र ध्यान साधनाले उचित वातावरण तथा अवसरको अभावमा आफूभित्र दबेर रहेका क्षमता, प्रतिभा, सिर्जनशीलता तथा सबै प्रकारका सकारात्मक गुणहरु वाहिर प्रष्फुटन हुन मद्धत गर्दछ जसले व्यक्तिको सकारात्मक उर्जा र कार्य क्षमतामा वृद्धि गराउछ ।

@योगासन, प्राणायाम र ध्यान साधनाले सकारात्मक सोच, विचार, भावनाको वृद्धि हुन्छ र सर्वकल्याणका कामहरुमा निश्वार्थ तथा निस्काम भावले सगभागिता जनाउने सोचको विकास हुन्छ ।

@योगासन, प्राणायाम र ध्यान साधनाले सुख, खुशी, शान्ति तथा आनन्द लिनसक्ने क्षमताको विकास हुन्छ । सुख, खुशी, शान्ति तथा आनन्दको अवस्गामा व्यक्तिको मन तथा मस्तिष्क र मुटु तथा हृदय र हृदयको भावमा उत्पन्न हुने सकारात्मक उर्जाका तरंगहरुले अदृश्य तथा अप्रत्यक्ष रुपमा व्यक्ति, परिवार, समाज, देश, विश्व, प्रकृति तथा ब्रम्हाण्कै भलाईमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

@योगासन, प्राणायाम र ध्यान साधनाले साधकमा अन्तरज्ञान(इन्ट्युसन पावर) क्षमताको विकास हुन्छ जुन दिव्यशक्ति हो । विश्वभरिका सबै वैज्ञानिक तथा आविस्कारकहरुले अन्तरज्ञान क्षमताकै सकारात्मक प्रभावका कारण सर्वकल्ण हुने वैज्ञानिक आविस्कारहरु गरेका हुन् ।

@योगासन, प्राणायाम र ध्यान साधनाले साधकमा थप दिव्यता तथा भगवत तत्व पहिचान गर्ने क्षमताको विकास हुन्छ तथा ज्ञान मार्गको गन्तव्य खोल्छ ।

@योगासन, प्राणायाम र ध्यान साधनाले साधकले जीवनबाट मुक्ति(सांसारीक मोक्ष) तथा जन्म र मरणको चक्रबाट मुक्ति(पारमार्थिक मोक्ष) तथा निवार्ण(अल्टिमेट लिवरेसन)सम्मको प्राप्ति गर्न सक्दछ ।

यसप्रकार योगासन, प्राणायाम र ध्यान साधनाको प्रभावले महिला र पुरुषहरुको सामान्यदेखि दिव्य व्यक्तित्वसम्म आएको सकारात्मक परिवर्तले उत्पन्न गर्ने सकारात्मक उर्जाको प्रभावले समग्र विकासको गति सन्तुलन तथा लय हुन महत्वपूर्ण प्रभाव पार्दछ । 


लैंगि रुढीवादको विषय र वास्तविकता

वर्तमान समयको आवश्कता तथा माग अनुसार र घरबाट वाहिर निस्कने, सार्वजनिक व्यक्तित्व निर्माण गर्ने, यसकालागि आफ्नो क्षमता विकास गर्ने, आफ्नो प्रतिभा, सिर्जनशीलताको विकास गर्ने, आफ्नो शोख, इच्छा, चाहना पुरा गर्ने, परिवार, समाज, देश तथा विश्व समाजकालागि केही योगदान गर्ने, आफ्नो रुचिको कार्य गर्ने उद्देश्य तथा लक्ष्यमा महिलाहरु उल्लेख्य किसिमले अगाडि बढे, उनीहरु पुरुषको क्षेत्रमा निस्किए र पुरुष सरह तथा अझ कतिपय विषयहरुमा त पुरुष भन्दा अव्वल भएर समेत निस्किए तर विडम्बना महिला जति र जसरी घरवाहिरको लैंगिक रुढीवादले पुरुषको भनिएको क्षेत्रमा प्रवेश गर्न सफल भए त्यो भन्दा अत्यन्तै कम तथा नमग्य मात्रामा मात्र पुरुषहरु महिलाको भनिएको क्षेत्र घरपरिवार तथा घरव्यवहार र समाजभित्रका काम, गतिविधिहरु तथा जिम्मेदारीमा सहभागि हुनसके । यही कारणले वर्तमान समयमा महिलाको काँधमा घरवाहिर र घरभित्रको काम तथा जिम्मेदारीको बोझ दोहोरो, तेहरो रुपमा अझ थपियो र त्यसको नकारात्मक प्रभाव धान्न उनीहरुलाई मुस्किल परिरहेको जसले महिलासंगसंगै पुरुष, परिवार, सम्वन्ध, समाज, देश, विश्व तथा पुरै प्रकृतिलाई अर्को प्रकारको समस्यातिर धकेली रहेको छ । घरपरिवार, घरव्यवहार र व्यवसाय तथा कार्यालयको दोहोरो, तेहरो जिन्मेदारीले आफ्नो क्षमताले धान्न सक्ने भन्दा ज्यादा कामको बोझका कारण महिलाहरुमा विभिन्न प्रकारका शारीरिक, मानिसक, भावनात्मक, चेतनात्मक समस्या, चुनौति, अस्वस्थता तथा रोगहरु देखिएका छन् र यस्तो अवस्थाको नकारात्मक प्रभावहरु देश तथा विश्वकै सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्थामा देखिएका छन् । अध्यात्म, योग तथा ध्यान साधनाका सैद्धान्तिक, व्यवहारीक तथा प्रयोगात्मक अभ्यासहरुले व्यक्ति लगायत सबैतिर सकारात्मक उर्जाका तरंगहरुको प्रवाह बढाउने हुनाले यस प्रकारको समस्या समाधान गर्न यसबाट धेरै हदसम्म सहयोग गर्न मिल्न सक्छ ।


निष्कर्ष

लैंगिक रुढीवाद र व्यक्ति, परिवार, समाज, देश तथा विश्वमै यसको नकारात्मक प्रभाव कम गर्न प्राकृतिक नियम अकाट्य सत्य हो जसलाई परिवर्तन गर्नु हुदैन, बरु सृष्टिको सन्तुलित निरन्तरताका लागि जतिसक्दो प्राकृतिक नियमको प्रभावकारी ढंगले अनुशरण गर्नुपर्छ । तर सामाजिक नियम तथा लैंगिक रुढीवाद कृत्रिम तरिकाले निर्माण गरिएको मानव निर्मित कुरीति तथा कुसंस्कार हो जो समयसान्दर्भिक हुनु अति आवश्यक  हुन्छ तसर्थ सामाजिक नियमहरु प्रकृतिको नियम संगत हुनेगरि र मानव अधिकार अनुकुल हुनेगरि परिमार्जन, परिवर्तन तथा निर्माण गरौैं र सबैकालागि व्यवहारीक हुनेगरि त्यसको अनुशरण गरौं र गराउँ । bsirjana@gmail.com


*त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास शंकायबाट सन् २०१७ मा ग्रामीण महिला सशक्तीकरण विषयमा विद्यावारिधी । अन्वेषक; लेखक; सनातन अध्यात्म वाचक; योग तथा ध्यान प्रशिक्षक ।


No comments:

Post a Comment