डा. सिर्जना भण्डारी
(ग)जीवन व्यवस्थापन र आधूनिक मनोविज्ञान पक्ष
#अध्यात्म_दर्शन #जीवन_दर्शन
मानसिक तनाव तथा मानसिक बिमारीका कारण
मानिसको मनका विचारहरु(थट्स) र भावनाका भावहरु(इमोसन्स)को विश्लेषणात्मक अध्ययन गर्ने विद्या मनोविज्ञान(साइकोलोजी) हो । मानिसमा मनमा विचार तथा भावनामा भावहरु आउनु र जानु निरन्तर चलिरहने प्राकृतिक प्रकृया हो । मनोविज्ञानका अनुसार मानिसको मन तथा भावमा सकारात्मक विचार तथा भावहरु चल्नु सहज तथा सामान्य जीवन हो र नकारात्मक विचार तथा भावहरु चल्नु असहज, असामान्य तथा तनावग्रस्त जीवन हो । दैनिक जीवनयापन गर्ने क्रममा हरेक मानिसले विविध घटना तथा विषयका उतारचढावहरुको सामना गर्ने गर्दछ । यी उतारचढावका परिणामहरु मानिसले सोचे वमोजिम आए भने उसले सुख, खुशी, शान्ति तथा आनन्दको महसुस गर्दछ तर यसको विपरित यी उतारचढावका परिणामहरु मानिसले सोचे वमोजिम आएनन् भने उसले चुनौती तथा समस्याको महसुस गर्दछ । यस्ता चुनौती तथा समस्याहरुको समयमै सहि समाधान तथा उचित व्यवस्थापन गर्न सकेको अवस्थासम्म मानिसको जीवन सहज र सामान्य तथा सुखी, खुशी, शान्त तथा आनन्दित हुन्छ तर जव यी चुनौती तथा समस्याहरु गहिरिएर जान्छन्, मानिसले समयमै तिनको सहि समाधान तथा उचित व्यवस्थापन गर्न सक्दैन तव मानसिक तनावमा परिणत हुन्छन् । मानसिक तनाव(स्ट्रेस) गहिरीदै गयो भने यो चिन्ता(एनजाइटी)मा परिणत हुन्छ र चिन्ता गहिरीदै गयो भने यो अवसाद(डिप्रेसन) तथा विभिन्न प्रकारका मानसिक रोगहरुमा परिणत हुन्छ । मानसिक रोगले मानिसको जीवन मुस्किल बनाउदै लान्छ, यसको नकारात्मक प्रभाव विस्तारै उसको शारीरिक स्वास्थ्य, सम्वन्ध, सम्पन्नता, मानप्रतिष्ठा र मानसिक शान्तिमा पर्दैजान्छ र उ जीवनबाट नै विरक्तिन थाल्छ । यस्तो अवस्थामा मानिसलाई मनोवैज्ञानिक उपचारको आवश्यकता पर्दछ ।
मानिसको जीवनमा मानसिक तनाव एक्कासी आउदैन । उसले व्यक्तिगत, पारिवारीक, सामाजिक, धार्मिक, संस्कृतिक, आर्थिक, राजनीतिक जीवन जिउने क्रममा विस्तार उसको मन तथा भावनामा उसले जीवनमा अपेक्षा नगरेका तथा नभइदिए हुन्थ्यो, नआइदिए हुन्थ्यो भनेका विषयप्रतिका असन्तुष्टीका चांगहरु बढ्दै गएर उसको धान्नसक्ने क्षमता वाहिर पुगेपछि जीवनमा दबाएर राखेका यिनै असन्तुष्टीहरु नै कुण्ठामा परिणत हुन्छन र यिनै कुण्ठाहरु मानसिक(मेन्टल) तथा भावनात्मक(इमोसनल) समस्या तथा रोगका रुपमा वाहिर देखापर्दछन् जसले प्रत्यक्ष रुपमा उसको सोच तथा सोच्ने प्रकृया, भाव, व्यवहार, आचरणमा नकारात्मक प्रभाव पार्दछ र यसको प्रत्यक्ष नकारात्मक परिणाम मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, सम्वन्ध, सम्पन्नता, मानप्रतिष्ठा र मानसिक शान्तिमा पर्दछ । मनोविज्ञानका गहन अध्ययनहरुले मानिसमा देखापर्ने मानसिक तथा भावनात्मक समस्या तथा रोगहरु प्रमुखरुपमा तीन कारणले उत्पन्न हुन्छन् भनेको छ– (१)मनोगत(साइकिक) कारण, (२)व्यवहारगत(बिहेबिहरल) कारण, र (३)अस्तित्वगत(एग्जीस्टेन्सनल) कारण।
(१)मनोगत(साइकिक) कारण– मनोगत कारण अन्तर्गत मानिसले जीवनमा आफूले हासिल गर्न चाहेका तर पूरा हुन नसकेका इच्छा तथा कामनाहरु चेतन मनबाट विस्तारै उसको अवचेतन तथा अचेतन मनमा दबेर रहन्छन् र विस्तारै ती कुण्ठामा परिणत हुन्छन् र यिनै पूरा हुन नसकेका इच्छा तथा कामनाहरुका मनका तहरुमा दबिएर रहेका कुण्ठाहरुले उसलाई विस्तारै नजानिदो किसिमले मानसिक समस्या तथा मानसिक बिमारीमा पुर्याउदछन् । असफल प्रेम सम्वन्ध तथा अन्य सम्वन्धहरु, विपन्नता, असफलता अपमान आदि मानसिक बिमारीका मनोगत कारण अन्तर्गत पर्दछन् ।
(२)व्यवहारगत(बिहेबिहरल) कारण– मानिसले बाल्यकालदेखि वर्तमान समयसम्म हुर्कने क्रममा मातापिता, परिवार, सम्वन्धि, साथीसंगी, विद्यालय, कार्यालय, समाज, धर्म–संस्कृति तथा राज्यबाट सिकेका तथा सिकाइएका कुराहरु जो मानिसको मन तथा भावनामा अवचेतन तथा अचेतन मनको तहसम्म यही नै सही तथा सत्य हो भन्ने किसिमले गहिरो छाप पारेका गलत तथा अर्को परिस्थितिमा मेल नखाने असान्दर्भिक तथा अतार्किक आस्था तथा विश्वासका प्रणालीहरु(विलिफ सिस्टम्स) जसले मानिसको सोच–विचार गर्ने, भाव व्यक्त गर्ने तथा अरुप्रति गर्ने व्यवहार तथा व्यक्तिगत आचरणमा समस्या खडा गर्दछन् र विस्तारै नजानिदो किसिमले मानिसलाई मानसिक समस्या तथा मानसिक बिमारीमा पुर्याउदछन् । धार्मिक तथा सांस्कृतिक रितिरविाज तथा परम्पराहरु, खानपान शैली, पहिरन, महिला र पुरुषले गर्नुपर्ने लैंगितक भूमिकाहरु आदि मानसिक बिमारीका व्यवहारगत कारण अन्तर्गत पर्दछन् ।
(३)अस्तित्वगत(एग्जीस्टेन्सनल) कारण– धेरैजसो मानिसहरुलाई प्राय मनोगत तथा व्यवहारगत समस्याहरुका कारणले मानसिक समस्या, तनाव तथा बिमारीहरु हुनेगरेको पाइन्छ । तर केही मानिसहरुलाई यी दुई कारण बाहेक आफैंप्रतिको जिज्ञासा तथा आफ्नो अस्तित्वको सवालले मानसिक समस्या, तनाव तथा बिमारीसम्म पुर्याएको पनि देखिएकोछ । म को हुँ, म किन जन्मिएं, मेरो जन्मको उद्देश्य के हो, मैले जीवनमा गर्नुपर्ने के हो जस्ता पराभौतिक तथा आध्यात्मिक सवालहरु मानसिक तनाव तथा बिमारीका अस्तित्वगत कारण अन्तर्गत पर्दछन् । आफ्नै अस्तित्वप्रति उठेका यस्ता सवालहरुले मानिस विस्तारै तनाव, चिन्ता हुदै अवसादमा जान्छ र जीवनप्रति नै उसको मन तथा भावनामा वितृष्णा पलाउँछ ।
मानसिक तनाव तथा बिमारी उपचारका मनोवैज्ञानिक पद्धतिहरु
आधूनिक मनोविज्ञानले मानिसको तनावरहित, सरल र सहज जीवनयापन तथा उचित जीवन व्यवस्थापका विषयमा उल्लेखनिय अध्ययन, खोज तथा अनुसन्धानका कामहरु गरेको छ । माथि उल्लेखित तीन प्रमुख कारणहरुले मानिसमा उत्पन्न हुने मानसिक तनाव तथा मानसिक बिमारीहरुको उपचारकालागि तीन प्रकारमा प्रमुख मनोवैज्ञानिक उपचार पद्धतिहरु(साइको थेरापीस्)को विकास गरेको छ– (१)मनोगतिकी उपचार पद्धति(साइकोडाइनामिक थेरापी), (२)व्यवहारगत उपचार पद्धति(बिहेबिहरल थेरापी), र (३)अस्तित्वगत उपचार पद्धति(एग्जीस्टेन्सनल थेरापी) । मनोविज्ञ तथा मनोचिकित्सकले यी उपचार पद्धतिहरुको माध्यमबाट मानसिक तनाव तथा मानसिक बिमारी भएका मानिसहरुलाई बिमारी उत्पन्न गर्ने मानसिक तथा भावनात्मक कुण्ठाहरुवाट वाहिर निकालेर उनीहरुको सोच, विचार, मन, भाव, व्यवहार, आचरण, अनुभूति, जीवन र जगतप्रतिको दृष्टिकोणमा नयाँ किसिमको सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्दछन् ।
(१)मनोगतिकी उपचार पद्धति– मनोगतिकी उपचार पद्धति मनोविज्ञानका पिता मानिएका सिग्मण्ड फ्रायडद्वारा प्रतिपादन गरिएको मनोविज्ञानको सबैभन्दा पूरानो व्यवहारिक तथा प्रभावकारी उपचार पद्धति हो । मनोगतिकी उपचार पद्धतिमा मनोचिकित्सकले लामो समयदेखि मानसिक बिरामी(क्लाइन्ट)को चेतन मन हुदै अवचेतन तथा अचेतन मनमा दबेर रहेका मनको वेगका असन्तुष्टी, अन्तरद्वन्द, तनाव, चिन्ता, कुण्ठाहरुलाई प्रमुख पाँच प्रकारका अवस्था तथा विधिहरुको प्रत्यक्ष व्यवहारिक अनुशरण गरेर वाहिर निकालेर उसको मन तथा भावलाई हलुका तथा खालि बनाएर आगामी समयमा मानसिक बिरामीको सोच्ने, विचार गर्ने तथा व्यवहार गर्ने प्रकृयामा नयाँ ढाँचा प्रदान गर्ने प्रयास गर्दछ । पाँच प्रकारका अवस्था तथा विधिहरु– (१)मुक्त सहचर्यको अवस्था, (२)प्रतिरोधको अवस्था, (३)स्वप्न विश्लेषणको अवस्था, (४)स्थानान्तरणको अवस्था, र (५)समापनको अवस्था । यी अवस्था तथा विधिहरुभित्र रहेर मनोचिकित्सकले मानसिक बिरामीलाई गोपनीयताको पूर्ण प्रत्याभूति दिएर आफ्नो मनमा लामो समयदेखि दबेर रहेका मनको वेगका सबै असन्तुष्टी, अन्तरद्वन्द, तनाव, चिन्ता, कुण्ठाहरुलाई धक फुकाएर आफूसमक्ष साझा गर्न लगाएर; शव्दमा भनेर सबै कुण्ठा वाहिर ल्याउन सहज नभए लेख्न लगाएर; यो पनि सहज नभए चित्र कोर्न लगाएर; र यो पनि सहज नभए सम्मोहन(हिप्नोटाइज) गरेर बिरामीका सबै कुण्ठाहरु वाहिर निकालेर उसलाई पूर्णत खालि तथा शुन्य गराएर मानसिक तनाव तथा बिमारीबाट वाहिर निकाल्न अन्तिम अवस्थासम्म प्रयास गर्दछ । मानसिक तनाव तथा बिमारीको अवस्था हेरेर मनोगतिकी उपचार पद्धतिमा तीन महिनादेखि वर्षौंसम्म(१५-२० वर्ष)को समय लाग्न सक्छ ।
फ्रायडले मानिसको प्राकृतिक यौन चाहना तथा यौन आवेग(इड तथा सुपर इगो) पूरा नभएका कारण उसको मन तथा भावनामा कुण्ठा पैदा हुन्छ भन्ने अवधारणालाई जोड दिएका थिए तर उनीपछिका मनोविज्ञहरु खासगरि उनकै चेला कार्ल युंग र अर्का मनोविज्ञ एडलरले इड तथा सुपर इगोको अवस्था सबैमा सबैबेला लागू हुदैन तसर्थ यो मनोगतिकी उपचार पद्धति त् सबैकालागि यति व्यवहारीक छैन भनेर आ–आफ्नो अलग मनोविश्लेषण उपचार पद्धतिहरु प्रतिपादन गरे जसमा उनीहरुले मानिसको दोषपूर्ण जीवनशैली तथा मनको गलत धारणाका कारण मानिसको मन तथा भावनामा असन्तुष्टि, अन्तिरद्वन्द, तनाव, चिन्ता तथा कुण्ठाहरु पैदा हुन्छन् र चेतन मन हुदै अवचेतन तथा अचेतन मनमा संचित भएर दबेर बस्दछन् र विस्तारै तिनै कुण्ठाहरु मानसिक बिमारीका रुपमा देखा पर्न थाल्दछन् । कार्ल युंगले मनोविश्लेषण चिकित्सा पद्धति(साइकोएनालीटीक थेरापी) र एडलरले व्यक्तिगत चिकित्सा पद्धति(इन्डीभिज्वल साइको थेरापी)को विकास गरेका हुन् । फ्रायड, युंग र एडलर यी तीनैजना मनोचिकित्सकका मनोगत उपचार पद्धतिका सन्दर्भमा आधारभूत अवधारणाहरु फरक–फरक भएपनि उपचारका अवस्था तथा विधिहरु र उपचारको समयअवधि भने लगभग उस्तै–उस्तै प्रकारका रहेका छन् । मनोगतिकी, मनोविश्लेषण र व्यक्तिगत उपचार पद्धतिमा मानसिक बिमारीका कारणहरु र विगत लामो समयदेखि मन तथा भावनामा दबेर रहेका कुण्ठाहरुको गहन प्रकारले विश्लेषण गरेर बिरामीमा देखिएका तनाव, चिन्ता, अवसाद, एनजाइटी डिसअडर, इटिगं डिसअडर, ओ.सि.डि., ड्रग्स एडिक्सन तथा अन्य प्रकारका मानसिक समस्या तथा मानसिक बिमारीहरुको शिलशिलावद्ध विश्लेषण र उपचार गरि बिरारीको सोच, विचार, मन, भाव, व्यवहार, आचरण, अनुभूति, जीवन र जगतप्रतिको दृष्टिकोणमा नयाँ प्रकारले सकारात्मक परिवर्तन ल्याएर समस्याको समाधान गर्ने प्रयास गरिन्छ ।
(२)व्यवहारगत उपचार पद्धति– हुर्कने क्रममा बाल्यकालदेखि वर्तमान समयसम्म मानिसले जानेर तथा नजानेर मातापिता, परिवार, सम्वन्धि, साथीसंगी, विद्यालय, कार्यालय, समाज, धर्म–संस्कृति, राज्य आदिबाट सिकेका तथा सिकाइएका कुरा, घटना तथा विषयहरुले उसको एकप्रकारको मानसिकता, आस्था तथा विश्वास प्रणाली तयार भएको हुन्छ । व्यवहारगत उपचार पद्धतिमा मनोचिकित्सकले मनिसको कम्वद्ध ढंगले तयार भएको मानसिकता, आस्था तथा विश्वास प्रणालीका कारण वर्तमान समयमा मानिसमा देखिएका अरु परिस्थितमा सामनजस्य(फिट) नहुने अपठ्यारा, तर्कअसंगत तथा अविवेकी(इर्यासनल) व्यवहारहरुले उसको तत्कालको जीवनयापन तथा जीवनशैलीमा आएका समस्या तथा कठिनाइहरुलाई कम गर्न तथा हटाउन तत्कालको परिस्थिति अनुकुल हुनेगरि बिरामीलाई राम्ररी लाभ तथा हानि र सकारात्मक तथा नकारात्मक पाटो सबै स्पष्ट बुझाएर उसको तत्कालको व्यवहारमा परिवर्तन ल्याउन व्यवहारगत उपचार पद्धतिका विभिन्न विधिहरुको अनुशरण गरिन्छ । यी विधिहरुको माध्यमबाट मानिसको सोच, विचार, मन, भाव, व्यवहार, आचरण, अनुभूति, जीवन र जगतप्रतिको दृष्टिकोणमा नयाँ प्रकारले सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिन्छ । यस उपचार पद्धतिमा मानसिक बिरामीलाई वर्तमानको नयाँ माहोलमा सामन्जस्य हुन आफूलाई अप्ठ्यारो पारिरहेका आफ्नाे पुरानाे मानसिकता, आस्था, मूल्यमान्यता, विश्वास तथा व्यवहारलाई त्यागेर आवश्यकता अनुसार अवस्था सुहाउदो सोच, विचार, भाव राख्न तथा व्यवहार गर्न प्रेरीत गरिन्छ ।
व्यवहारगत उपचार पद्धतिमा मानिसको तत्कालको व्यवहारमा देखिएका नकारात्मक तथा तर्कअसंगत सोच, आस्था, विश्वास तथा मानसिकतामा सकारात्मक परिवर्तन ल्याएर उसको मानसिक तनाव तथा मानसिक बिमारीको उपचार तथा समस्याको समाधान गर्न अलबर्ट इलिसद्वारा प्रतिपादित संज्ञानात्मक व्यवहार उपचार पद्धति(कगनिटीभ साइकोथेरापी अर्थात सी.बी.टी.) सबैभन्दा प्रभावकारी र व्यवहारीक मानिदै आइएको छ । सी.बी.टी.का साथसाथ यसकै अर्को प्रकार अलवर्ट इलिसदरा नै प्रतिपादित तर्कसंगत भावनात्मक व्यवहार मनोचिकित्सा पद्धति(र्यास्नल इमोटीभ थेरापी अर्थात आर.इ.टी.)लाई पनि उत्तिकै प्रभावकारी मानिएको छ । व्यवहारगत उपचार पद्धतिका सी.बी.टी., आर.इ.टी. उपचार पद्धतिहरुको अनुशरण गरेर मनोचिकित्सकले बिरामी समक्ष प्रश्नउत्तर तथा जिज्ञासाका माध्यमबाट मानसिक तनाव तथा मानसिक बिमारी आउनुका कारणहरु पत्ता लगाएर मानिसले लामो समयदेखि सिकेर तथा जानेर आएका अव्यवहारीक तथा तर्कअसंगत मानसिकता, आस्था तथा विश्वास प्रणालीहरुले उसको मानसिकतामा गहिरो छाप छोडेका मूल्यमान्यता तथा नक्शाहरुले उसको तत्तकालको व्यवहारमा देखिएका अफ्ठ्यारा तथा अव्यवहारीक आस्था, विश्वास, बानी तथा आचरणका कारण उसमा देखिएका तनाव, चिन्ता, अवसाद, एनजाइटी डिसअडर, इटिगं डिसअडर, ओ.सि.डि., ड्रग्स एडिक्सन तथा अन्य प्रकारका मानसिक समस्या तथा मानसिक बिमारीहरुको शिलशिलावद्ध विश्लेषण गरि सही उपचार पद्धतिको माध्यमबाट बिरामीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याएर उसको सोच, विचार, मन, भाव, व्यवहार, आचरण, अनुभूति, जीवन र जगतप्रतिको दृष्टिकोणमा नयाँ प्रकारले सकारात्मक परिवर्तन गरी मानसिक तनाव तथा विमारीको समाधान गर्ने प्रयास गरिन्छ ।
(३)अस्तित्वगत उपचार पद्धति– मनिसको मन तथा भावनामा पृथ्वीमा मानिसको रुपमा आफ्नो अस्तित्व, जन्म तथा उपस्थितिप्रति जिज्ञासा उठ्नु र यिनै जिज्ञासाको गहिरो नकारात्मक प्रभावका कारण मानसिक समस्या, तनाव तथा मानसिक बिमारीको अवस्थामा पुगेका मानिसहरुलाई यस्तो समस्याबाट वाहिर निस्कन मद्धत गर्न मनोविज्ञानमा अस्तित्वगत उपचार पद्धतिको अनुशरण गर्ने गरिन्छ, यो उपचार पद्धतिलाई मानवतावादी उपचार पद्धति(ह्युम्यानिस्टीक थेरापी) पनि भनिन्छ जसले मानव, मानवको गुण धर्म तथा मानवको मूल कर्तव्य, उद्देश्य, मानवको अस्तित्व, मानवीयता आदि विषयहरुको वरिपरि रहेर मानसिक बिरामीकाे उपचार गर्दछ । तर पृथ्वीमा मनुष्यको रुपमा आफ्नो अस्तित्व तथा उपस्थितिप्रति उठ्ने जिज्ञासाको समाधान पदार्थ विज्ञान(मेटेरीयल साइन्स, मनोविज्ञान पनि यसै अन्तर्गत पर्दछ)को विषय होइन, पदार्थ विज्ञानले यस्ता जिज्ञासाहरुको जवाफ तथा समस्याहरुको समाधान दिन सक्दैन । मनुष्यको अस्तित्व तथा उपस्थितिप्रति उठ्ने जिज्ञासाहरु पराभौतिक तथा अध्यात्म विज्ञान(स्पृचुअल साइन्स अर्थात नन–मेटेरीयल साइन्स अर्थात मेटाफिजिक्स)संग प्रत्यक्ष सम्वन्ध राख्ने विषय हो र अध्यात्म विज्ञानले मात्र यस्ता जिज्ञासाहरुको जवाफ तथा समस्याहरुको समाधान दिन सक्छ । अस्तित्वगत उपचार पद्धति अन्तर्गत कुनै प्रकारका उपचारका अवस्था तथा विधिहरुको विकास भएका तथा गरिएका छैनन् किनकी यस सन्दर्भमा आधूनिक भौतिक विज्ञान र आधूनिक मनोविज्ञान दुवै मौन छन् र प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)को माध्यमबाट दिनरात निरन्तर अस्तित्वको शाश्वत सत्य जान्न खोजमूलक प्रयासहरु गरिरहेका छन् तर निराकार, निर्गुण, अक्यक्त अस्तित्वको अर्थात परमात्माको अर्थात इश्वरको अर्थात ब्रम्हको शाश्वत सत्य जान्नबाट अझै निकै टाढा रहेका छन् ।
अस्तित्वगत उपचार पद्धतिमा मनोचिकित्सकले मानसिक बिरामीलाई कुनै प्रकारको उपाय तथा सरसल्लाह(काउन्सेलिङ) प्रदान गर्दैन बरु उल्टै उसका जिज्ञासाहरुमा सवाल खडा गरेर उबाट नै उसको दृष्टिकोण जान्ने प्रयास गर्छ र उसकै विचार तथा दृष्टिकोणलाई उसको समस्याको समाधान बनाउन तथा मान्न सल्लाह, प्रेरणा तथा जोड दिन्छ । तर मनोचिकित्सक अध्यात्म विज्ञानसंग परिचित रहेछ भने अध्यात्म साधना तथा योग साधना गर्न र यसकालागि सही स्थान तथा गुरुकुल र सही अध्यात्म गुरुको चयन गर्न सल्लाह प्रदान गर्छ किनकी अस्तित्वको सन्दर्भमा अहिलेसम्म चित्तबुझ्दो जवाफ अध्यात्म विज्ञानले मात्र दिनसकेको छ तर अध्यात्म विज्ञानका विषयहरु भौतिक विज्ञानका प्रयोगशालाहरुमा प्रमाणित हुन नसक्ने केवल मानवको शरीरलाई नै प्रयोगशाला बनाएर प्रमाणित गर्नुपर्ने भएकाले यो विषय जो कोहीको ज्ञानमा तथा अनुभवमा आउन सकेको छैन र आफूले जे जानेको छैन, देखेको तथा अनुभव गरेको छैन त्यो चिज अर्थात इश्वर अर्थात परमात्मा अर्थात ब्रम्ह अर्थात सृष्टिकर्ता छैन, आत्मा हुदैन भन्न सबैलाई सजिलो भएको छ । तर आधूनिक मनोविज्ञान लगायत हामी सबैले अनिवार्य रुपमा बुझ्नैपर्ने तथा जान्नैपर्ने विषय यो हो कि अध्यात्म विज्ञानको ज्ञानको अभावकै कारण कतिपय मानिसहरुको मन तथा भावनामा अस्तित्वगत सवाल तथा जिज्ञासाहरु सिर्जित भएका हुन् र यी सवाल तथा जिज्ञासाहरुको उचित जवाफ तथा समाधान हुन नसकेकै कारण यस्ता सवाल तथा जिज्ञासाहरुको प्रभाव गहिरिदै जाने क्रममा मानिसको अवचेतन तथा अचेतन मनमा दबेर कुण्ठामा परिणत भएर यसको परिणाम स्वरुप मानिस मानसिक समस्या, तनाव तथा मानसिक बिमारीसम्म पुगेको हो । यस्ता मानसिक समस्या, तनाव तथा बिमारीहरुको समाधान तथा उपचारका उपाय तथा पद्धतिहरु केवल अध्यात्म विज्ञानसंग मात्र उपलब्ध छ । तसर्थ अध्यात्म दर्शन तथा विज्ञानका ज्ञानहरुलाई आफ्नो दैनिक जीवनशैलीमा समावेश गरौं मानसिक तनाव, समस्या तथा मानसिक बिमारीबाट मुक्त बनौं र तनावरहित जीवन व्यवस्थापन गरौं ।
पछिल्लो समय आधूनिक मनोचिकित्सा उपचार पद्धतिमा उल्लेख्य उपलब्धिहरु हासिल गरिएका छन् । मनोगतिकी तथा मनोविष्लेषण, ब्यबहागत र अस्तित्वगत मनोचिकित्सा उपचार पद्धति अन्तर्गत मानिसको मानसिक तनाव तथा मानसिक बिमारीका विषय तथा अवस्थाहरुलाई मध्यनजर गरेर सबै विषय तथा अवस्थाहरमा उपयुक्त र प्रभावकारी हुने प्रकारका अरुपनि महत्वपूर्ण तथा व्यवहारिक उपचार पद्धतिहरु विकास गरिएका छन् । मनोचिकित्साका विभिन्न उपचार पद्धतिहरु निम्नानुसार रहेका छन-
1. Psychodynamic Therapy,
2. Behavioral Therapy,
3. Existential Therapy,
4. Psychoanalytic Therapy,
5. Individual Therapy,
6. Humanistic Therapy,
7. Interpersonal Therapy,
8. Cognitive Behavioral Therapy (CBT),
9. Rational Emotive Behavior Therapy(REBT),
10. Dialectical Behavior Therapy (DBT),
11. Acceptance and Commitment Therapy (ACT),
12. Eye Movement Desensitization and Reprocessing (EMDR),
13. Logo Therapy (Treatment of Soul),
14. Solution Focused Therapy,
15. Other Therapies
- Group Therapy,
- Family Therapy,
- Person Centered Therapy,
- Mindfulness-Based Therapies.
अध्यात्म विज्ञान र मनोविज्ञानका साझा सुझावहरु-
तनावरहित जीवन व्यवस्थापनका लागि अध्यात्म विज्ञान र मनोविज्ञानका साझा विधि तथा सुझावहरु-
सकारात्मक भाव– मानिसले तनाव रहित जीवन व्यवस्थापन गर्नकालागि सबैभन्दा महत्वपूर्ण र प्रभावकारी उपकरण उसका सकारात्मक सोच, सकारात्मक विचार तथा सकारात्मक भाव हुन्। विचार सदा स्वस्थ बनाऔं, संधै सकारात्मक सोचौं, अरुले नकारात्मक सोचेको छ भने पनि आफूले त्यसलाई सकारात्मक दृष्टिकोण प्रदान गरौं । यो ज्ञान आत्मसाथ गरौं कि हरप्रकारका नकारात्मकताहरुले सबैभन्दा पहिला आफूलाई नै दुःख दिन्छन् तथा हानि गर्दछन् त्यसपछि मात्र अर्कोलाई दुःख दिन्छन् तथा हानि गर्दछन् । यति बुझेर आफ्ना सोच, विचार तथा भावमा गौर गर्न सक्यौं भने जीवन सहजै तनावरहित र व्यवस्थित बन्दै जान्छ ।
स्वीकार भाव– हामी हाम्रा कमीकमजोरीहरुबाट तवमात्र छुटकारा पाउन सक्छौं जव हामी हाम्रो नियन्त्रणमा नभएका विषयहरुप्रति सहस्र स्वीकार भावले भरिन्छौं । आफूसंग जे छ त्यो नै मेरालागि प्रर्याप्त छ, म भन्दा बिपन्न मानिसहरु पनि धेरै छन् र उनीहरु स्वीकार र सन्तुष्ट भावमा तनावरहित जीवनयापन गरिहेका छन् । यस्तो भावले तनावरहित जीवन जिउन उत्प्रेरणा मिल्दछ ।
दान तथा सेवा भाव– हरेक मानवको मूलधर्म अरुको सेवा गर्नु हो र वसुधैव कुटुम्वकमको अवधारणालाई आत्मसाथ गर्नु हो । हरेक वर्णका मानिसहरूले जानेर, नजानेर सेवा नै गरिरहेका छन्- ब्राम्हणले ज्ञान बाड्ने सेवा गरिरहेको छ; क्षेत्रियले सुरक्षा प्रदान गर्न सेवा गरिरहेको छ; वैश्यले वस्तु उत्पादन तथा आर्थिक कारोवारको सेवा प्रदान गरिरहेको छ; र शुद्रले श्रमप्रधान पेशागत सेवा प्रदान गरिरहेको छ । ब्रम्हाण्ड तथा प्रकृतिमा भएका मनुष्य मात्र नभएर प्राणी, जिवजन्तु, पशुपंक्षी, वनस्पति, पदार्थ सबैलाई तत् तत् प्रकारका सेवा प्रदान गर्नु; अरुप्रति दया, करुणा, सदभावको भाव राखेर सक्दो सर्वकल्याणका सतकर्महरु गर्नु; अरुकालागि आफू काम लाग्ने बन्नु वास्तविक दान तथा सेवा भाव हो । आफ्नो क्षमता, सामथ्र्य तथा हैसियत अनुसार सबैलाई हरप्रकारको सहयोग, दान तथा सेवा गर्ने भावले भरिदा र सहयोग, दान तथा सेवा प्रदान गर्दा आफ्नो मन तथा भावनामा अकारण शान्ति तथा आनन्द फलित हुन्छ र जीवन तनावरहित तथा व्यवस्थित बन्न मद्धत मिल्छ ।
प्रेम भाव– तनावमुक्त जीवनकालागि प्रेम सबैभन्दा प्रभावकारी र महत्वपूर्ण अनुभूति हो, जव हामी सबैप्रति प्रेम भावले भरिन्छौं हाम्रो मन तथा भावना हलुका, स्वच्छ, स्फुर्त तथा सक्रिय हुन्छ । भगवान जिसस भन्नुहुन्छ, "प्रेम नै इश्वर हो ।" प्रेमका विभिन्न तहहरु छन्– आफूभन्दा सानाप्रति स्नेह भावले भरियौं, आफू सहरप्रति मैत्री भावले भरियौं, आफ्नो जीवनसाथी तथा प्रेमि–प्रेमिकाप्रति मायाँ भावले भरियौं, आफूभन्दा ठूलाप्रति श्रद्धा भावले भरियौं, आफूभन्दा निमुखाप्रति दया तथा करुणा भावले भरियौं, गन्यमान्य, आराध्यदेव तथा इश्वरप्रति भक्ति भावले भरियौं, विश्व, प्रकृति तथा जगतप्रति वसुधैव कुटुम्वकमको भावले भरियौं । यति प्रेमलता हाम्रो जीवनमा छ भने जीवन स्वतः अवस्यमय तनावरहित तथा व्यवस्थित बन्दै जान्छ ।
प्रशंशा भाव– प्रशंशा, प्रेरणा तथा मुस्कान पनि प्रेमकै अभिन्न स्वरुप हुन् तसर्थ प्रशंशा, प्रेरणा र मुस्कान दिन तथा लिन कहिल्यै पछाडि पर्नु हुदैन । प्रशंशा, प्रेरणा तथा मुस्कानले दिने र लिने दुवैप्रति खुशी तथा सकारात्मक भाव सिर्जना गर्दछ र तनावरहित जीवन जिउन सहयोग पुर्याउदछ ।
क्षमा भाव– पापको अर्थ अरुलाई दुःख दिनु हो र धर्मको अर्थ सबैलाई सुख प्रदान गर्नु हो । आफनो अज्ञानता, कुतर्क तथा अव्यवहारिकताका लागि क्षमा माग्नु र अरुका जान, अन्जानमा भएका गल्तीहरुलाई क्षमा प्रदान गर्नु पनि धर्म हो । भगवान ओशो भन्नुहुन्छ, "अरुलाई दुःख दिनु पाप हो, आफूलाई दुःख दिनु महापाप हो ।" क्षमा माग्दा र अरुलाई क्षमा दिदा पापबाट मुक्त भइन्छ, हिंसाको दोषबाट मुक्त भइन्छ । ‘अरु’ भन्नाले ब्रम्हान्ड तथा प्रकृतिमा स्थित सबै मानिस, प्राणी, पंक्षी, जीव, वनस्पति, पदार्थ आदि समग्र सृष्टि हो किनकी ब्रम्हाण्डमा स्थित हरेक चिज तथा वस्तुसंग चेतना छ, उसको चेतनाले सबै प्रकारका सकारात्मक तथा नकारात्मक गतिविधि तथा सूचनाहरु ग्रहण गर्दछ र त्यही अनुसारको व्यवहार हामीप्रति प्रकट गर्दछ । तसर्थ सकेसम्म कम हिंसा गरौं र सबैप्रति क्षमा माग्ने तथा क्षमा दिने भावले भरीयौं जीवन तनावरहित र व्यवस्थित बनाऔं । बिनाकारण दुःखी हुने मान्छेको जिम्मा हामीले लिनु पर्दैन जस्तोकि कोही व्यक्तिले सफलता हासिल गर्यो अर्कोलाई रीश, इष्र्या, जलन भयो र त्यसैका कारण बिरामी भयो भने यो पाप मेरो हिस्सामा पर्दैन उसैको कर्मको वहीखातामा दर्ज हुन्छ, यस्तो व्यक्तिसंग मैले क्षमा माग्नु पर्दैन तर क्षमा दिनु चाहिं पर्छ।
धन्यवाद भाव– जसजसको कारणले मेरो जीवन सरल तथा सहज भएको छ, यहाँसम्म आइपुग्न मद्धत मिलेको छ, सबैप्रति धन्यवाद, कृतज्ञता, अहोभाव तथा आभार भावले भरियौं । साथै आफ्नो क्षमता अनुसार सबैलाई हरप्रकारको सहयोग गर्ने भावले भरिऔं जसको कारणले मेरो जीवन प्रतिफलमुखि भएको छ किनकी धन्यवाद भावको 'सहयोग' सबै भन्दा प्रभावकारी उपकरण हो अर्थात सहयोग प्रदान गर्नु नै सबैभन्दा उत्कृष्ट धन्यवाद ज्ञापन हो । सके सहयाेग तथा सेवा भावले, शव्दले धन्यावाद तथा कृतज्ञता व्यक्त गरौं नसके मनले व्यक्त गरौं । मन तथा भावनामा उठेका सबै प्रकारका सकारात्मक भावहरु इश्वरीय तरगंबाट सम्वन्धित व्यक्ति समक्ष तथा ठाउँमा पुग्दछन्, यस्ता भावहरुले आफू र अरुलाई रमाइलो तथा खुशी प्रदान गर्दछन्, जीवनप्रति उत्प्रेरणा मिल्दछ र जीवनलाई तनावरहित तथा व्यवस्थित बनाउन सहयोग मिल्दछ ।
(घ)तनाव व्यवस्थापनका अन्य उपायहरु
पर्याप्त पानी पिउनु– मानिसको जीवनको सबैभन्दा महत्पूर्ण अंग मस्तिष्क हो । मस्तिष्कमा ८५ प्रतिशत पानीको मात्रा हुने भएकोले मस्तिष्कमा जति पर्याप्त मात्रामा पानीको उपलव्धता हुन्छ उतिनै मस्तिष्क स्वस्थ, सक्रिय, उर्जाशील तथा सिर्जनशील रहन्छ । मस्तिष्क जति स्वस्थ, सक्रिय, उर्जाशील तथा सिर्जनशील हुन्छ उति नै मानिसमा चुनौती, समस्या तथा तनावहरुको सामना गर्ने क्षमता बढि हुन्छ र तनावलाई अवसरमा बदल्न सक्ने सम्भावना समेत उभित्र जाग्रीत हुन थाल्छ । स्वस्थ, सक्रिय, उर्जाशील तथा सिर्जनशील मस्तिष्कले तनावरहित जीवन व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
पर्याप्त आराम तथा निद्रा पुर्याउनु– आफ्नो शरीर, मन, भावना तथा चेतनाको प्रकृति तथा स्वाभाव, अवस्था, उमेर, आवश्यकता, कामको प्रकृति आदि सबै पक्षहरुलाई विचार गरेर स्वस्थ तथा सक्रिय शरीर, मन, भावना तथा चेतनालागि पर्याप्त आराम तथा निद्रा पुर्याउनु आवश्यक हुन्छ । सही तरिकाले विधि पुर्याएर अनुशरण गरिएका योग साधनाका योगासन, प्राणायाम, विषय केन्द्रित ध्यान तथा साक्षी भाव ध्यानका प्रयोगात्मक अभ्यासहरुबाट पनि शरीरलाई आराम तथा निद्राबाट प्राप्त हुने प्रकारका उर्जाहरु हासिल हुन्छन् । पर्याप्त आराम तथा निद्रा पुगेको शरीर, मन, भावना तथा चेतना स्वस्थ, सक्रिय, उर्जाशील तथा सिर्जनशील हुन्छ र सहजै चुनौती, समस्या तथा तनावहरुको सामना गर्न सक्षम हुन्छ र जीवन व्यवस्थित हुन्छ ।
दैनिकी व्यवस्थित बनाउनु– मानिसले दैनिक जीवयापन गर्ने क्रममा अनुभव गर्ने सबै विषय, घटना तथा गतिविधिहरुका आ–आफ्नै प्रकारका लाभ तथा हानिका पक्षहरु हुन्छन् । विहान उठेदेखि राति सुत्नुअघिसम्मका आफ्ना सबै प्रकारका गतिविधिहरु– खानपान, व्यायाम, विचार, भेटघाट, सूचना ग्रहण तथा सामाजिक संजालको प्रयोग आदि समयभित्र, सन्तुलित र उपयोगी हुने किसिमले व्यवस्थित बनाउनु पर्दछ । वर्तमान समयको सबैभन्दा ठूलो आवश्यकता र ठूलै जोखम समेत रहेको इलोक्ट्रोनिक उपकरणहरु (मोवाइल, ल्यापटप, ट्याव, प्याड, स्मार्ट घडी, इन्टरनेटको मोडेम, सबै किसिमका चार्जर, बिजुलीको स्वीचवोर्ड)बाट निरन्तर निस्किीरहने चुम्बकिय विद्युत तरंगहरुले मानिसको मस्तिष्कका चुम्बकिय विद्युत तरंगहरुलाई प्रत्यक्ष हानि गर्ने हुनाले सकेसम्म आवश्यकता जति मात्र ती सामग्रीहरुको प्रयोग गरि सकेसम्म यस्ता विकिरणयुक्त रेडियसन फ्याक्ने उपकरणहरुबाट टाढा रहनु पर्दछ । दैनिकी व्यवस्थित बनाउन सेक तनावरहित सहज जीवन जिउन सहज हुन्छ ।
वर्तमानमा रहने अभ्यास– वास्तविक जीवनको आनन्द र उपयोगिता वर्तमानको क्षणक्षणमा हुन्छ । आजको मानिस जीवन जिउने पर्याप्त ज्ञानको अभावमा आफ्नो मूल्यवान अधिकांस समय विगतका नकारात्मक स्मृतिहरुमा र भविश्यका अनिश्चित असुरक्षाका डरहरुमा खर्च गरेर निरन्तर कुण्ठा र असुरक्षाको भय तथा डरका कारण तनावग्रस्त जीवन जिरहेको छ । विगतका सबै नराम्रा स्मृतिहरुलाई बितिसकेको घटनाको रुपमा स्वीकार गरेर, त्यसलाई स्मृतिबाट हटाएर(लेट गो) गरेर र सुरक्षित भविश्यकालागि आफ्नो कर्मलाई कुशल बनाउन समय लगानी गर्नु नै वर्तमानमा जिउनु हो । वर्तमानमा जिउने अभ्यासले तनावरहित जीवन जिउन र जीवन हरप्रकारले व्यवस्थि बनाउन मद्धत गर्दछ ।
सिर्जनशील बन्नु– हरेक मानिसमा आ–आफ्नो प्राकृतिक स्वाभाव अनुसारका नयाँ सिर्जना गर्नसक्ने केही न केही आन्तरीक प्रतिभा, क्षमता तथा सिर्जनशिलताका गुणहरु अन्तरनिहीत हुन्छन् । तिनको सही पहिचान गरेर आफुलाई सिर्जनशिल बनाउनुका साथसाथ वाहिरका नयाँनयाँ कुराहरु सिक्ने, जान्ने, प्रयोग तथा अनुशरण गर्ने गर्नुपर्दछ । यसो गर्दा जीवनबाट एकोहोरोपन, दिक्कपन, बेचैनी, नैराश्यता कम हुन्छ, जीवनमा खुशी र रमाइलो छाउछ, उत्सुकता तथा प्रेरणामा बढावा हुन्छ, आफूभित्रै रमाउने तथा हराउने बानी बस्दै जान्छ, अरुप्रतिको अपेक्षा हटेर जान्छ र विस्तारै जीवन तनावरहित, सहज र सरल बन्दै जान्छ ।
पर्याप्त स्वाध्याय तथा अध्यनन गर्नु– आफूलाई दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सूचना तथा जानकारीहरु- आफ्नै स्वाभाव तथा प्रकृतिकोबारेमा; परिवार, समाज, समुदायको धर्म, संस्कृति, चालचलन, रीतिरिवाजको बारेमा; राष्ट्रिय तथा अन्तरराष्ट्रीय नीति, नियम, कानून आदिकोबारे पुरापुर सूचना तथा जानकारी लिनकालागि पर्याप्त मात्रामा आफ्नो स्वाध्याय तथा बाहिरी अध्ययनको अवश्यकता पर्दछ । प्राय वैदेसिक रोजगारमा रहेका व्यक्तिहरुका लागि यसो गर्नु वढि आवश्यक हुन्छ । पर्याप्त सूचना तथा जानकारीले तनावरहित व्यवस्थित जीवन जिउन सहजता प्रदान गर्दछ ।
पर्याप्त मनोरञ्जन लिनुु– आफ्नो स्वाभाव अन्तरमुखी प्रकृतिको छ र परिवारका सदस्यहरु साथमा छैनन् भने एक्लोपन तथा बेचैनी दुर गर्न आफूलाई मनपर्ने, आनन्द बढाउने तथा आन्तरीक खुशी प्रदान गर्ने आफ्ना रुचि तथा सोखका गतिविधिहरु गर्नुपर्दछ । आफ्नो स्वाभाव वहिरमुखी प्रकृतिको छ भने घरवाहिर साथीसंगीहरुसंग समुहमा रमाउने, समय–समयमा भेटघाटका गतिविधिहरु गर्ने तथा सामुहिक कार्यक्रमहरु आयोजना गर्नुपर्दछ । कलाकारीता, चित्रकारीता, साहित्य लेखन, चलचित्र, संगीत, नृत्य, फूलविरुवा हुर्काउने, पाल्तु जनावर पाल्ने आदि गतिविधिहरु गरेर आफ्नो आन्तरीक आनन्द बढाएर जीवनमा आइपर्ने तनावलाई न्युनिकरण गर्न र जीवन व्यवस्थित गर्न सकिन्छ ।
जीवनलाई आदर्श बनाउनु– जीवनलाई सक्दो आदर्श बनाउन प्रयास गर्नुपर्दछ । आदर्श जीवनमा आफसेआफ चुनौती, समस्या तथा तनावहरुको नकारात्मक प्रभाव न्यून हुन्छ । जीवनमा आदर्श भावको आगमनसंगै राम्रा तथा उपयोगी कुराहरुलाई जीवनमा स्वागत गर्ने र नराम्रा तथा अनुपयोगी कुराहरुलाई छोड्ने सकारात्मक बानीको विकास हुन्छ । साथै चुनौती, समस्या तथा तनावहरुलाई अवसरमा बदल्न सक्ने क्षमतामा पनि वृद्धि हुनथाल्छ । मानिसको जीवन र जगतलाई हेर्ने दृष्टिकोण व्यवस्थापनका लागि अति उपयोगी श्रद्धेय ओशो रजनीशका मूल्यवान केही आदर्श सतवचनहरु–
@संसारलाई दोष नदेउ, आफ्नो मनलाई पकड, त्यहींबाट नयाँ क्रान्ति शुरु हुन्छ, मनलाई पकड्ने हतियार ध्यान हो ।
@तिमी आफूलाई त्यति मात्र नमान जति आफूलाई वाहिरबाट देखेका छौ, तिमी विराट छौ, आफूलाई जान, तिमी भित्र अनन्त छिपेको छ ‘तत्वमसि’ ।
@जोसंग म सबैभन्दा बढि समय बिताउँछु त्यो व्यक्ति मै हुँ, त्यसैले सबैभन्दा महत्वपूर्ण काम आफैंलाई जान्नु हो ।
@सबै भन्दा खतरनाक बिमारी हो, यो काम म पछि समय आएपछि गर्छु ।
@जीवनको सबैभन्दा ठूलो गल्ती अति व्यस्त र अति घमण्डी मान्छेसंग गहिरो सम्बन्ध बनाउनु हो ।
@मेरो बारेमा अरुले के भन्ला भन्ने कुरा पनि मैले नै सोचें भने उनीहरु विचरा के सोच्छन् त ? तसर्थ यो काम उनीहरुलाई छोड्दिउँ म आफ्नो काम गरिरहुँ ।
@उचाइमा यो काराणले नचढ कि तीमिलाई दुनियाले देख्न सकोस, यो कारणले चढ कि तीमिले दुनियालाई देख्न सकौ ।
@आम्दनी सिमित छ भने, आफ्नो खर्चमा वियन्त्रण गरौं र जानकारी सिमित छ भने, आफ्नो शव्दमा नियन्त्रण गरौं ।
@जमाना यस्तै आयो यहाँ, कुराको मतलव कसैले बुझ्दैनन्, तर ‘मलतव’को कुरा सबैले बुझ्दछन् ।
@हार उसको हुन्छ जसले आफैंप्रति गुनासो गर्दछ, जित उसको हुन्छ जसले हारलाई अवसर ठान्दछ ।
@आँखा बन्द गर्दैमा चुनौती समाधान हुदैन, र चुनौती नआएसम्म आँखा खुल्दैन किनकी अनुभवनै जीवन हो ।
@छलमा धेरै बल छ, तर आजपनि प्रेममा सबै समस्याको हल छ ।
@सफलतामा खुशीयाली असफलताले नै भर्दछ किनकी सजिलै प्राप्त भएको सफलताको महत्व त्यतिहुदैन किनकी सहजता सफलताको शत्रु हो ।
@पानीमा पैतालाको छाप छोड्न नसकेजस्तै छरपस्ट लक्ष्यमा काम गर्न सकिदैन त्यसैले पहिला आफ्ना लक्ष्य समेट ।
@न्वाइज र भ्वाइस दुइवटा बुझ्नै पर्ने महत्वपूर्ण कुरा हुन् । वाहिरका मानिसहरुले दिने मागेका नमागेका सबै प्रकारका सल्लाहहरु न्वाइज हुन्, सुन्ने मान्नु जरुरी छैन । आफूभित्रबाट आएको अन्तरआत्माको पुकार भ्वाइस हो, यसलाई सुन्ने, मनन् गर्ने, मान्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने ।
@केही लिएर जादैनौं साथमा, केवल कात्रो हुन्छ माथमा; किन रिश किन द्वेश, छैन कसैको अधिकार यहाँ; के तिम्रो के मेरो, सबै उसैको छ जहाँ ।
(ङ)तनावरहित जीवन व्यवस्थापनका उपलव्धिहरु
सही ढंगले दीर्घकालीन रुपमा तनावरहित जीवन व्यवस्थापन गर्दा मानिसको जीवनमा क्रमिक रुपमा स्वास्थ्य, सुख, खुशी, सम्पन्नता, सुमधूर सम्वन्ध, सफलता, शान्ति, आनन्द तथा सबै प्रकारका सकारात्मक उपलव्धिहरुमा बृद्धि तथा प्रगति आउन थाल्छ । स्वास्थ्य, सुख, खुशी, सम्पन्नता, सुमधूर सम्वन्ध, सफलता, शान्ति, आनन्दको अवस्थामा मानिसमा आत्म–सन्तुष्टी, आनन्द–विभोर, आत्मज्ञान तथा आत्म श्रेष्ठता(सेल्फ एक्चुअलाइजेसन)को अवस्था हासिल हुन्छ । आत्म–सन्तुष्टी, आनन्द–विभोर, आत्मज्ञान तथा आत्म श्रेष्ठताको अवस्थामा मानिसको शरीरका आन्तरीक तथा वाहिरी सबै अंगहरु, शरीरका ग्रन्थीहरु र मस्तिष्कका स्नायु प्रणालीहरुमा सकारात्मक रासायनिक परिवर्तनहरु आउन थाल्छ; शरीरका अंगहरु र मस्तिष्कमा सकारात्मक ग्रन्थीरसहरु(ह्यापि हर्मोन्स)को उत्पादन बढ्न थाल्छ र मानिसमा सकारात्मक चेतना तथा उर्जाको तह, स्तर तथा प्रवाहको उच्चता बढ्दै जान्छ । मानिसको जीवनको सहजता तथा असहजता, सकारात्मकता तथा नकारात्मकता, सक्रियता तथा निश्क्रियता उसको शरीरका आयामहरु(शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक) तथा अंगहरुमा निहीत चेतना तथा उर्जाको तह, स्तर तथा प्रवाहमा निर्भर गर्दछ र चेतना तथाद उर्जाको तह, स्तर तथा प्रवाह मानिसको जीवनको गुणवत्तामा निर्भर गर्दछ । व्यवहारिक रुपमा उर्जाको तह, स्तर तथा प्रवाहको मापन ० देखि १००० अंकको विचमा गर्ने गरिएको पाइन्छ । यस अंक गणनाको नियम अनुसार आत्मवोध गरेको, वुद्धत्व प्राप्त गरेको, निर्वाण(लिवरेसन) हासिल गरेको तथा मोक्षमा स्थित प्रकाशित(इनलाइटेन्ट) योगी, सन्त, महात्मा पुरुषहरु(आत्मा अर्थात चेतना)को चेतना तथा उर्जाको तह, स्तर तथा प्रवाह १००० को अंकमा तथा यसको हाराहारीमा हुन्छ भने मानवीय विकारहरु(काम, क्रोध, लोभ, मोह, अहंकार, इष्र्या, अहंकार, घृणा, भय, लज्जा, डर, बदलाको भाव, खराव लत, प्रमाद, आलश्य, हिनतावोध, अपराधवोध), तनाव, चिन्ता, अवसाद(डिप्रेसन), ओसिडी, इन्सोमेनिया, सिजोफेनिया, म्याडनेस, आत्महत्याको सोच आदिबाट ग्रसित मानिसहरुमा चेतना तथा उर्जाको तह, स्तर तथा प्रवाह घटेर २० को अंकसम्म पुग्दछ । मानिसको चेतना तथा उर्जाको तह ० हुनु मृत्युको अवस्था हो र १००० हुनु आत्मज्ञान तथा इनलाइटमेन्टको अवस्था हो । चेतना तथा उर्जाको तह, स्तर तथा प्रवाह ० देखि १००० अंकको विचमा पर्ने मानिसहरुमा उनीहरुको शरीर तथा स्वास्थ्यका आयामहरुमा देखापरेका सकारात्मक तथा नकारात्मक अवस्था तथा लक्षणहरु अनुसार उसको चेतना तथा उर्जाको तह, स्तर तथा प्रवाह उच्च, मध्यम, न्युन तथा अति न्यून रहने गर्दछ ।
चेतना तथा उर्जाको तह, स्तर तथा प्रवाह घटबढ हुनुमा मानिसको मनोदशा तथा भावदशाको अवस्थाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । मुख्यतया कुनै विषय तथा घटनाप्रति मानिसले सोच्ने तथा व्यक्त गर्ने विचार, भाव, व्यवहार तथा आचरणका कारण उसको चेतना तथा उर्जाको तह, स्तर तथा प्रवाह माथि उठ्ने तथा तल झर्ने गर्दछ । एकै प्रकारको घटना तथा विषयलाई जीवन तथा अनुभवको फरक–फरक पृष्ठभूमि भएका मानिसहरुले फरक–फरक किसिमले लिने तथा बुझ्ने गर्दछन् । कसैले त्यही अवस्था तथा प्रकृतिको घटना तथा विषयलाई सकारात्मक रुपमा लिन्छन् तथा ग्रहण गर्दछन् र सामान्य व्यवहार गर्दछन् भने कसैले त्यसैलाई चुनौती, समस्या, पिडा, पीर, चिन्ता, तनावको पहाडको रुपमा लिन्छन् र त्यसको चक्रभ्युमा फस्दै जान्छन्, जीवन तनावग्रस्त बनाउछन् । यस्तो अवस्थामा तिब्र गतिमा चेतना तथा उर्जाको तह, स्तर तथा प्रवाह घटेर न्यूनतम अवस्थामा पुग्छ । मानिसमा सोच, विचार, मन, भावना, व्यवहार, आचरण, नैतिकता, कर्तव्यपरायणता, जिम्मेदारी तथा उत्तरदायित्वको वोध जति बढि छ उतिनै उसको अन्तःकरण(शरीर, मन, वुद्धि, चित्त, अहंकार) शुद्ध तथा विकसित हुन्छ र सदगुणहरु(निस्काम प्रेम, अकारण आनन्द, विवेकपूर्ण ज्ञान, साहसपूर्ण सत्य, स्वनियन्त्रित शक्ति, निर्विकल्प शान्ति, सचेतना, शुद्धता आदिको विकासत अवस्था)ले भरिएको हुन्छ र उ जीवन र जगतप्रति पनि उतिनै स्वीकार भावले भरिएको, सन्तुष्ट, तटस्थ तथा समत्वम भावमा रहन्छ । यस्तो मानिसलाई कहिल्यै पनि नकारात्मक तनावहरुले लामो समयसम्म प्रभाव पारिरहन सक्दैनन्; जीवनमा आइपर्ने चुनौती, समस्या तथा तनावहरुको सहज ढंगले व्यवस्थापन गर्न सक्दछ, उसको जीवनको गुणवत्तामा बढोत्तरी ओउछ । तर यसको विपरीत अवस्था भएका मानिसहरु तनाव, चिन्ता, अवसादको धेराभित्र पर्दछन् र तनावग्रस्त तथा अस्तव्यस्त जीवन जिउदछन् । bsirjana@gmail.com