डा. सिर्जना भण्डारी
(३)तनाव व्यवस्थापनका वैज्ञानिक विधिहरु
#अध्यात्म_दर्शन #जीवन_दर्शन
“आधूनिक भौतिक विज्ञानका वैज्ञानिकहरुले संसारमा मानिसकालागि आवश्यक सबैकुरा खोजे तर मानिसकालागि सबैभन्दा बढि आवश्यक पर्ने विषय शान्ति र आनन्द खोज्न सकेनन् ।” – ओशो
हरेक मानिसको जीवनमा नकारात्मक तनाव सिर्जना गर्ने विविध कारण, विषय, अवस्था, परिस्थिति तथा परिवेसहरु फरक–फरक प्रकारका हुने भएपनि तिनका प्रभावहरु सामान्यतया एकै प्रकारका हुन्छन्– जीवनमा दुःख र अशान्ति । तसर्थ नकारात्मक तनावको स्थाइ समाधानका लागि तिनको मूल जरोसम्म पुगेर उपयुक्त किसिमका तनाव व्यवस्थापनका विधिहरु तथा पद्धतिहरु अपनाउनु पर्दछ । यद्धपि नकारात्मक तनाव सिर्जना गर्ने सबै किसिमका कारण, विषय, अवस्था, परिस्थिति तथा परिवेसहरु पूर्णरुपमा निर्मुल गर्न तथा हटाउन सकिदैन तर तिनलाई कम गर्न तथा तिनको उचित व्यवस्थापन गर्न सकिन्छ । तनाव व्यवस्थापन दुईप्रकारले गर्न सकिन्छ– (१)अल्पकालीन व्यवस्थापन, र (२)दीर्घकालीन व्यवस्थापन । तनावको अल्पकालीन व्यवस्थापन तनावग्रस्त मानिसलाई सहयोग, सान्त्वना, उत्प्रेरणा प्रदान गरेर, घुमघाम तथा मनोरञ्जनका गतिविधिहरु, मनोविज्ञान व्यवस्थापनका मनोचिकित्सकीय औषधी उपचार तथा उपायहरु गरेर गर्न सकिन्छ तर यो दिगो तथा प्रभावकारी हुदैन अर्थात यसो गरेर मात्र तनावको दीर्घकालीन व्यवस्थापन हुदैन । सही ढंगले तनाव व्यवस्थापन गर्न अर्थात तनावको दीर्घकालीन समाधान तथा व्यवस्थापन गर्नकालागि क्रमिक रुपमा मानिसले दुई किसिमले आफ्नो जीवनको व्यवस्थापन गर्नु पर्दछ– (१)आन्तिरीक जीवन व्यवस्थापन, र (२)वाहिरी जीवन व्यवस्थापन ।
नकारात्मक तनाव व्यवस्थापनको सबैभन्दा सही तथा उपयुक्त उपाय आफ्नो जीवनको सही ढंगले व्यवस्थापन गर्नु हो । आफ्नो जीवनका खासगरी पाँच महत्वपूर्ण आयामहरु– (१)स्वास्थ्य, (२)सम्वन्ध, (३)सम्पन्नता, (४)मानप्रतिष्ठा, (५)शान्ति र यी आयामहरुसंग सम्वन्धित दैनिक जीवनयापनमा आइपर्ने सबै प्रकारका ठूला–साना घटना तथा विषयहरुलाई राम्ररी गहिराइमा बुझेर यी आयामहरुमा आइपर्ने सबै प्रकारका अप्ठ्यारा तथा नकारात्मक पक्षहरुलाई समस्या समाधानका उचित विधि तथा पद्धतिहरुको अनुशरण गरेर सकेसम्म कम गर्दै र सकारात्मक पक्षहरुलाई बढाउदै लैजानु तथा जीवनलाई सहज बनाउदै लैजानु आन्तरीक जीवन र वाहिरी जीवनको सर्वाधिक उचित व्यवस्थापन हो । आन्तरीक जीवन र वाहिरी जीवन दुवैको उचित ढंगले व्यवस्थापन गर्नु नै नकारात्मक तनावको दीर्घकालीन व्यवस्थापन गर्नु हो । नकारात्मक तनाव व्यवस्थित भएपछि जीवनका ठूला–साना सबै घटना तथा विषयहरु स्वतः व्यवस्थित भएर जान्छन् र व्यवस्थित जीवनमा कहिल्यै तनाव आउदैन, आएपनि लामो समयसम्म रहदैन र त्यसको प्रभाव दीर्घकालीन हुदैन । तनाव व्यवस्थापन तथा जीवन व्यवस्थापनका व्यवहारीक पक्ष, अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानले सुझाएका वैज्ञानिक विधि तथा पद्धतिहरु निम्न प्रकारका रहेकाछन् । (क)जीवन व्यवस्थापन र व्यवहारिक पक्ष, (ख)जीवन व्यवस्थापन र आध्यात्मिक पक्ष, (ग)जीवन व्यवस्थापन र आधूनिक मनोविज्ञान पक्ष, (घ)जीवन व्यवस्थापनका अन्य उपायहरु, र (ङ)जीवन व्यवस्थापनका सकारात्मक उपलव्धिहरु ।
(क)जीवन व्यवस्थापन र व्यवहारिक पक्ष
आन्तिरीक जीवन र वाहिरी जीवन व्यवस्थापन
हरेक मानिसको उदेश्य तथा लक्ष्य जे–जसरी भएपनि जीवनमा पंचप्रगति(स्वास्थ्य, सम्वन्ध, समृद्धि, मानप्रतिष्ठा, शान्ति) हासिल गर्नु रहेको हुन्छ । यसकालागि उसले हरप्रकारले मेहनत गर्दछ, आफ्नो उर्जा(सामथ्र्य), समय र पूरै जीवन नै लगानी गर्दछ तर आफूले अपेक्षा गरे अनुरुप जीवनका उद्देश्य तथा लक्ष्य हासिल गर्न तथा सफलता प्राप्त गर्न सक्दैन । यसो हुनुको प्रमुख कारण उसले आन्तरीक जीवन र वाहिरी जीवनका सबै पक्ष, घटना तथा विषयहरुलाई राम्ररी नबुझिकन र व्यवस्थापनका उचित विधि तथा पद्धतिको अनुशरण नगगरेकोले हो । मानिसको जीवन सहज ढंगले चल्नकालागि जीवनको सैद्धान्तिक पक्षका साथसाथ व्यवहारिक पक्ष अझ चुस्त हुनु अत्यावश्यक हुन्छ । सही तरिकाले आन्तरीक र वाहिरी दुवै जीवन व्यवस्थापन गर्न मानिसले जीवन र जगत अर्थात आफ्नो अन्तरजगत(आफूलाई प्रत्यक्ष तथा बढि प्रभाव पार्ने नितान्त आफूसंग सम्वन्धित विषयहरु) र वहिरजगत(आफूलाई अप्रत्यक्ष तथा कम प्रभाव पार्ने आफू र अरुसंग सम्वन्धित विषयहरु)संग सम्वन्धित पक्ष, घटना तथा विषयहरुको पर्याप्त सैद्धान्तिक र व्यवहारिक पक्षहरुको ज्ञान लिएर विवेकपूर्ण ढंगले जीवन व्यवस्थापनका सही विधि तथा पद्धतिहरुको अनुशरण गर्न जान्नु पर्दछ । मानिसका अन्तरजगतसंग सम्वन्धित घटना तथा विषयहरुले आफूलाई बढि अरुलाई कम प्रभाव पार्दछन् भने वहिरजगतसंग सम्वन्धित घटना तथा विषयहरुले वरीपरिको अवस्था तथा परिस्थितिहरुलाई बढि र आफूलाई कम प्रभाव पार्दछन् । तसर्थ तनावरहित जीवन व्यवस्थापनका लागि हरेक मानिसले आफ्नो जीवनको अन्तरजगत र वहिरजगत दुवैको अवस्था, आवश्यकता र परिस्थितिलाई गहिराइमा बुझेर तथा गहन स्वाध्याय(स्वको अध्ययन) गरेर जीवन व्यवस्थापनका विधि तथा पद्धतिशरुको अनुशरणलाई प्राथमिकता प्रदान गरेर अन्तरजगत र वहिरजगतको सन्तुलन मिलाउन सक्नु पर्दछ ।
आन्तरीक जीवन व्यवस्थापन
प्रायससो मानिसको जीवन व्यवस्थापनका अधिकांश विषयहरु आन्तरीक जीवनसंग नै सम्वन्धित हुन्छन् जसले अरुलाई भन्दा उ आफैंलाई प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । मानिसको आन्तरीक जीवन तथा अन्तरजगतसंग सम्वन्धित निम्न विषयहरुको उचित व्यवस्थापन गरेर सही ढंगले तनावरहित आन्तरीक जीवन व्यववस्थापन गर्न सकिन्छ– (१)शरीर तथा स्वास्थ्य व्यवस्थापन, (२)मन तथा भावना व्यवस्थापन, (३)जीवनको कर्म, उद्देश्य, योजना, लक्ष्य, संकल्प व्यवस्थापन, (४)जीवन उर्जा व्यवस्थापन, (५)खुशी तथा शान्ति व्यवस्थापन, (६)समय व्यवस्थापन, (७)ज्ञान व्यवस्थापन, (८)आनन्द तथा परमआनन्द व्यवस्थापन ।
(१)शरीर तथा स्वास्थ्य व्यवस्थापन
मानिसको शरीरका चार आयाम रहेकाछन्– (१)भौतिक तथा स्थुल शरीर, (२)मानसिक शरीर, (३)भावनात्मक शरीर, र (४)आत्मिक अर्थात चेतनात्मक शरीर । अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञान दुवैको परिभाषा अनुसार प्राथमिकताको आधारमा मानिसको समग्र जीवनको सबैभन्दा महत्वपूर्ण अंग तथा तत्व ‘मन’ हो तर प्रत्यक्ष रुपमा देख्न, छुन तथा अनुभव गर्न सकिने भएकोले मानिसको 'मन' भन्दा ‘तन’ अर्थात स्थुल शरीरलाई विशेष महत्व प्रदान गरिएको पाइन्छ । अध्यात्म विज्ञानले स्थुल शरीरलाई पहिलो प्राथमिकतामा राखेको छ किनकी मानिसको जीवनमा भौतिक तथा पराभौतिक सबै प्रकारका गतिविधिहरु गर्न, जीवनमा लौकिक तथा परालौकिक उपलव्धिहरु हासिल गर्न स्थुल शरीर नै प्रमुख साधन तथा माध्यम हो जो दृश्यमा छ तर शरीरका अन्य आयामहरु- मन, चावना, आत्मा अर्थात चेतना अदृश्य छन् यद्धपि मानिसको जीवनमा तिनको प्रभाव भने प्रत्यक्ष र अप्रत्यक्ष दुवै प्रकारका रहेका हुन्छन् शरीर भन्दा मन, मन भन्दा भावना र भावना भन्दा आत्मा अर्थात चेतना अझ शक्तिशाली भएर । शरीरको व्यवहारिक तथा विवेकपूर्ण परिभाषालाई हेर्दा मानिसकको शरीरको अर्थ तथा तात्पर्य केवल भौतिक तथा स्थुल शरीर मात्र होइन, शरीर भन्ने वित्तिकै स्वतः शरीरका चारवटै आयामहरुलाई बुझ्नु पर्दछ तर आम रुपमा शरीरको बुझाई केवल भौतिक शरीरमा मात्र सिमीत रहेको छ । शरीरको एउटा आयाममा आएको परिवर्तनको प्रभाव सहजै, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा शरीरका अन्य आयामहरुमा पनि पर्दछ । सहज भाषामा तथा बुझ्नेगरि भन्नुपर्दा, मानिसको शरीरका प्रमुख चार आयामहरु उसका चार प्रकारका अत्यन्तै वहुमूल्य तथा महत्वपूर्ण सम्पतिहरु(शरीर, मन, भावना, आत्मा अर्थात चेतना) हुन् । यी महत्वपूर्ण सम्पत्तिको उपयुक्त हेरविचार, संरक्षण, प्रवद्र्धन तथा व्यवस्थापन गर्नु मानिसको पहिलो तथा प्राथमिक उत्तरदायित्व हो जसले उसलाई जीवनमा आइपर्ने हरप्रकारका चुनौती, समस्या, अस्वस्थता, तनाव, चिन्ता, अवसाद, विछिप्तता, पागलपन तथा आत्महत्या जस्ता अप्ठ्यारा घटना तथा परिस्थितिहरुबाट वाहिर निस्कन र स्वस्थ तथा व्यवस्थित जीवन जीउन मद्धत गर्दछन् । श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले मानिसका पाँच प्रमुख धर्मबारे बताउनु भएको छ, “मानिसको पहिलो धर्म आफ्नो शरीरसंगको सम्वन्ध सही राख्नु अर्थात आफ्नो शरीरको ख्याल राख्नु हो । मानिसले आफ्नो शरीरप्रति जस्तो व्यवहार गर्छ शरीरले पनि उप्रति त्यस्तै प्रतिक्रिया प्रकट गर्दछ, शरीर तथा स्वास्थ्य व्यवस्थापनमा आहार, विहार र व्यवहार व्यवस्थापनको प्रमुख भुमिका रहेको हुन्छ ।”
आहार, विहार र व्यवहारको व्यवस्थापन
मानिसको शरीरका चार आयाम भएजस्तै स्वास्थ्यका पनि सात आयामहरु रहेकाछन्– (१)शारीरिक स्वास्थ्य, (२)मानसिक स्वास्थ्य, (३)प्राणिक स्वास्थ्य, (४)भावनात्मक स्वास्थ्य, (५)वौद्धिक स्वास्थ्य, (६)आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य(परमशान्ति), र (७)परम स्वास्थ्य(परमानन्द तथा सतचितानन्द) । आहार हाम्रो खानपान हो, विहार हाम्रो व्यायाम(योग साधना) हो र व्यवहार हाम्रो विचार तथा मन हो । मानिसले हरेकदिन गर्ने आहार, विहार र व्यवहारहरुको उसको शरीर र स्वस्थ्य, सम्वन्ध, सम्पन्नता, मानप्रतिष्ठा, शान्तिका सबै आयामहरुमा प्रत्यक्ष प्रभाव रहेको हुन्छ । दीर्घकालीन तवरले तनाव व्यवस्थापन गर्न मानिसले सही ढंगले आफ्नो जीवन व्यवस्थित गर्नु आवश्यक हुन्छ र जीवन व्यवस्थापन गर्न आहार, विहार र व्यवहारमा सन्तुलन हुनु अत्यावश्यक हुन्छ ।
आहार– सात्विक, राजसिक, तामसिक आहार तीन प्रकारका हुन्छन् । सात्विक आहार तथा भोजनको प्रकृति सौम्यता हो, राजसिक भोजनको प्रकृति चन्चलता हो र तामसिक भोजनको प्रकृति आलस्य तथा रौद्रता हो । भनिन्छ 'जस्तो तन उस्तै मन' अर्थात हामी जस्तो भोजन गर्दछौं हाम्रो शरीर त्यस्तै बन्दछ र शरीरको प्रभाव हाम्रो सोच, विचार, मन तथा भावनामा प्रत्यक्ष रुपमा पर्दछ र हाम्रो मन तथा भावना पनि त्यस्तै प्रकारको बन्दछ अनि जस्तो मन तथा भावना जीवन पनि त्यस्तै प्रकारको बन्दै जान्छ क्रमिक रुपमा । मानिसको शरीर र स्वस्थ्यका सबै आयामहरु मानिसले ग्रहण गरेको आहारबाट शरीरको पाचनक्रियामा बन्ने रस र रसबाट प्राप्त हुने उर्जाबाट संन्तुलित रुपमा संचालित भएका हुन्छन् । हामीले खाएको पौष्टिक आहार(सात्विक, कच्चा, ताजा, अप्रशोधित तथा जैविक) आमासय(पेट)मा पाचन क्रियाको माध्यमबाट प्रसोधित भएर रस बन्दछ; रस प्रशोधित भएर अष्टधातुको प्रक्रिया हुदै क्रमशः ग्लुकोज बन्दछ र ग्लकोजबाट शरीरका विभिन्न अंगहरुमा रगत, मांसपेशी, बोसो, हड्डी, मज्जा, तेज आदि बन्दछन् र यी अंगहरुले प्रदान गर्ने उर्जाबाट नै हाम्रो शरीर, मन, वुद्धि, विवेक, भाव, चेतना सबै संन्तुलित रुपमा एउटा निश्चित लयमा संचालित हुन्छन् तथा चल्दछन् । शरीरको प्राकृतिक वुद्धिमत्तापूर्ण(नेचुरल इन्टेलीजेन्स) हरेक प्रक्रिया तथा गतिविधिहरुलाई मनन् गर्दा मानिसको सिंगो शरीर पूर्ण विज्ञान(साइन्स) हो र यसका सबै अंगहरु श्रेष्ठ वैज्ञानिक(साइन्टिस्ट) हुन् । मानिसको शरीरका आन्तरीक तथा वाहिरका अंगहरु जीवशास्त्री(वायोलोजिस्ट) हुन् जसले मानिसलाई विविध प्रकारका गतिविधि तथा व्यायामहरु गराएर स्वस्थ र व्यवस्थित रहन मद्धत गर्दछन् । यीनै अंगहरु भौतिकशास्त्री(फिजियोलोजिस्ट) पनि हुन् जसले आहारबाट प्राप्त रस तथा पोषणबाट कति रगत, कति मांसपेसी, कति हड्डी, कति मज्जा, कति बोसो, कति तेज बनाउने मात्रा अत्यन्तै विवेकपूर्ण ढंगबाट तय गर्दछन् । शरीरका ग्रन्थीहरु रसायनशास्त्री(केमिस्ट) हुन जसले शरीरको नियमित गतिविधिका लागि आवश्यक पर्ने रसायनहरु(केमिकल्स, हर्मोन्स) जस्तोकि खाना पचाउन; सुखी तथा खुशी महसुस गर्न; शान्त तथा अनन्दित रहन; उर्जावान बनिरहन आवश्यक पर्ने सक्रियता तथा खुशी, मनोरञ्जन प्रदान गर्ने रसायनहरु(ह्यापि हर्मोन्स) उत्पादन गर्दछन् । शरीरका यी सबै प्रकियाहरु तवमात्र सन्तुलित किसिमले चल्दछन् जव हामी नियमित रुपमा पोषणयुक्त, सात्विक, सन्तुलित, ताजा, कच्चा, अप्रशोधित तथा जैविक भोजन ग्रहण गर्दछौं । बजारमा उपलब्ध रेडीमेड, वासि, प्रशोधित, डिव्वा बन्द, रासायनको मिसावट, अति गुलिया, अति नुनिला आहारले हाम्रो शरीरिक शरीरका साथसाथ अन्य शरीरहरुलाई पनि अत्यन्तै नकारात्मक किसिमले हानि पुर्याउछन् र हाम्रो जीवनमा अनावश्यक तनाव खडा गर्दछन् ।तसर्थ मानिसको तनावरहित जीवन व्यवस्थापनका लागि आहार व्यवस्थापन हुनु अत्यावश्यक हुन्छ ।
विहार– तनावरहित जीवन व्यवस्थापन गर्न आहार जत्तिकै महत्वपूर्ण भूमिका विहार, व्यायाम तथा योग साधना(योगासन, प्राणायाम, ध्यान)को रहेको हुन्छ । शरीरकालागि आवश्यक पर्याप्त विहार तथा व्यायाम पुगेन भने प्रत्यक्ष रुपमा शरीरिक शरीरमा र शरीरका अन्य आयामहरुमा अप्रत्यक्ष रुपमा प्रभाव पर्दछ । समग्र स्वाथ्यमा प्रतिकुल प्रभाव पर्न नदिन हामीले हाम्रो शरीर र स्वास्थ्यको प्रकृति तथा अवस्था अनुसार सन्तुलित आहारका साथसाथ विहार, व्यायाम तथा योगसानका उचित विधि तथा पद्धतिहरुलाई आफ्नो दैनिकी बनाउनु अति आवश्यक हुन्छ किनकी मैले मेरो शरीर तथा यसका आयामहरुलाई जस्तो किसिमको व्यवहार गर्छु उसले पनि मप्रति त्यस्तै किसिमको व्यवहार प्रकट गर्दछ । विहार तथा व्यायामको रुपमा दैनिक तथा दिन बिराएर वाकिगं, जगिंग, जिम, एरोविक, ट्रेकिगं, हाइकिगं, खेलकुल, पौडी, योगासन तथा प्राणयामका गतिविधिहरु गर्न सकिन्छ तर अहिलेसम्मको खोज तथा अनुसन्धानका तथ्यांकहरुले उजागर गरे अनुसार सन्तुलित विहार तथा व्यायामका लागि सबैभन्दा सहज, प्रभावकारी र कुनै प्रकारका नकारात्मक प्रभावहरु नभएको योगाभ्यास तथा योग साधना नै हो जसले शरीरका चारवटै आयाहरुमा सकारात्मक प्रभाव पार्दछ र तनावरहित जीवन व्यवस्थापनमा प्रत्यक्ष सहयोग पुर्याउदछ ।
व्यवहार– हामीले निमित रुपमा ग्रहण गर्ने आहार र विहार अनुसार नै हाम्रो व्यवहार तथा विचार बन्दछ र जीवन व्यवस्थापनका लागि व्यवहारको अझ बढि महत्वपूर्ण भूमिका रहेको हुन्छ । मानिसले सबैप्रति आफ्नो व्यवहार तथा विचार सही तथा सकारात्मक राख्नु पर्दछ । यसकालागि सदा इमान्दारिपूर्व सतविचार, सतकर्म गर्नुका साथसाथ सबैप्रति प्रेमका सबै तहहरु– सानालाई स्नेह, समकक्षीलाई मैत्री, जीवनसाथीलाई मायाँ, ठूलालाई श्रद्धा, निमुखालाई दया तथा करुणा, सम्माननिय छवि तथा आराध्य देवलाई भक्ति, प्रकृतिलाई संरक्षण आदि गतिविधिहरु जीवनमा अनिवार्य रुपमा अनुशरण गर्नु पर्दछ र आफूमा आश्रीत तथा परनिर्भर जोसुकै मानिसहरु(गर्भवती, बच्चा, बिरामी, अशक्त, वृद्ध)को सेवा गर्नु पर्दछ, सबैको अधिकारको संरक्षण तथा सम्मान गर्नुपर्दछ । तर वर्तमान समयमा आधूनिक(अझ भनौं अत्याधूनिक तथा उत्तर–आधूनिक) परीपाटीमा चलेको जीवनशैलीले मानिसको आहार, विहार र व्यवहारलाई असन्तुलित, विकृत तथा दुषित बनाउदै लगिरहेको छ र मानिसको स्वास्थ्य, सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द तथा पुरै जीवन नै असन्तुलित, अव्यवस्थित, तनावग्रस्त तथा अस्तव्यस्त बनाउदै लगेको छ । तसर्थ समग्रमा, शरीर, मन, भावना, आत्मा मन, भावना, आत्मा अर्थात चेतना र यसका सबै आयामहरु तथा समग्र जीवनलाई नै राम्ररी बुझेर सदा स्वस्थ, सन्तुलित र व्यवस्थित राख्ने प्रयास गरौं र दीर्घकालीन ढंगले नकारात्मक तनाव तथा समग्र जीवन व्यवस्थापनका लागि पोषणयुक्त सात्विक भोजन गरौं; सन्तुलित व्यायाम तथा योगाभ्यास गरौं; सबैप्रति आफ्नो व्यवहार तथा विचार सही राखौं; सतकर्म गरौं, आफ्नो जीवनशैली सुधारौं, प्रकृति मैत्री तथा प्राकृतिक बनौं; जीवन सन्तुलित तथा व्यवस्थित बनाउँ; सदा तनावमुक्त जीवन व्यतीत गरौं र यसकालागि आफ्नो शरीर, मन, भावना तथा चेतनालाई पढौं, बुर्झौ तथा पर्याप्त स्वाध्याय गरौं र आवश्यकता अनुसार तनावरहित जीवन व्यवस्थापनका आध्यात्मिक र मनोवैज्ञानिक विधि तथा पद्धतिहरुको अनुशरण गरौं ।
(२)मन तथा भावना अर्थात मनोविज्ञानको व्यवस्थापन
मनिसको मन(माइन्ड) तथा भावना(इमोसन) दुवैको गहिराइमा अध्ययन गर्ने आधूनिक विज्ञान मनोविज्ञान हो । आफ्नो जीवनको आवश्यकता अनुसार मनोविज्ञानका सैद्धान्तिक तथा व्यवहारीक ज्ञान जानेर आफ्नो मन तथा भावनाको वास्तविक प्रकृति तथा स्वभावलाई बुझेर जीवनलाई त्यसै अनुरुप ढाल्नु नै मनोविज्ञानको व्यवस्थापन गर्नु हो । मानिसको मन सबैभन्दा महत्वपूर्ण एघारौं इन्द्रिय(पाँच ज्ञानइन्द्रिय, पाँच कर्मइन्द्रिय र एक मन) हो जसले मानिसको स्थुल(भौतिक) शरीर र सुक्ष्म शरीर(आत्मा अर्थात चेतना)लाई जोड्ने पुलको काम गर्दछ, तसर्थ मन भौतिक र पराभौतिक दुवै हो जसको भौतिक र सुक्ष्म दुवै शरीरमा उत्तिकै महत्वपूर्ण प्रभाव तथा भूमिका रहेको हुन्छ । मन नै सबैथोक हो किनकी सबैथोक मानिसको मन मै छ, मन नै सर्वोपरी छ, मन नै मालिक हो, मनले नै हाम्रो शरीरका मस्तिष्क लगायत सबै इन्द्रियहरुलाई आ-आफ्नो ढंगले सुचारु हुन मद्धत गर्दछ । मनले नै भौतिक संसारका सबै सुख, सुविधाहरुको आनन्द इन्द्रियहरुको माध्यमबाट लिने गर्दछ र मनले नै छैठौं ज्ञान इन्द्रिय(सिक्थ सेन्स)का रुपमा पराभौतिक संसारको शास्वत सत्यलाई अन्तरज्ञान(इन्ट्युसन)को माध्यमबाट अन्तरवोध तथा आत्मवोधको अनुभूति गराउदछ । तसर्थ मानिसले सही प्रकारले तनावरहित जीवन व्यवस्थित गर्न सर्वप्रथम आफ्नो मनलाई बुझ्नु र यसलाई सही दिशा प्रदान गर्नु अति आवश्यक हुन्छ । भनिन्छ भौतिक युद्ध जित्नेलाई 'वीर' भनिन्छ र मनको युद्ध जित्नेलाई 'महावीर' भनिन्छ । भगवान श्रीकृष्णले भन्नु भएकोछ, “मन नै मानिसको जीवनको स्वर्ग र नर्कको द्वार हो, आफ्नो जीवन कस्तो बनाउने हो हाम्रै हातमा हुन्छ ।” भगवान वुद्धले भन्नु भएको छ, “मन इमान्दार नोकर हो र खतरनाक मालिक हो । मनलाई आफ्नो मालिक हुन नदेउ, इमान्दार नोकर बनाएर राख ।” यी शास्वत वाणीहरुको सिधा अर्थ हो मनलाई सही ढंगले नियन्त्रण तथा व्यवस्थापन गरेर आफ्नो(आत्मा अर्थात चेतनाको) सेवक बनाउ मालिक बन्न नदेउ तव मात्र तनावरहित व्यवस्थित जीवन सम्भव हुन्छ ।
आजको मनिस जीवन र जगतको शाश्वत सत्यको अपर्याप्त ज्ञानकाकारण सांसारीक जीवनका भौतिक विषयभोगहरुमा भुलेर मनलाई ज्ञान र कर्म इन्द्रियहरुको दाष बनाइरहेको छ जवकी मन इन्द्रियहरुको मालिक हुनुपर्ने हो तर विडम्बना इन्द्रिय सुखमा आशक्त इन्द्रियहरुको नोकर विकृत मन मेरो(आत्माको) चाहिं मालिक बनेर ममाथि अविवेकी तवरले निर्मम शासन गरिरहेको छ र मेरो जीवनको सबैभन्दा मुल्यवान जीवन उर्जा(शक्ति)लाई जीवनकालागि अनुत्पादक रहेका वाहिरका सांसारीक विषयहरुमा छरिरहेको छ । मेरो जीवन उर्जा वाहिर छरिएकै कारण म आफूबाट अलग तथा वियोग भएको छु र मेरो जीवनका सम्भावना, क्षमता, प्रतिभा, सिर्जशशीलता तथा सकारात्मक गुणहरु चिन्न नसक्ने भएको छु, जीवन अस्तव्यस्त र तनावग्रस्त भएको छ । तसर्थ, मनलाई अनुत्पादक विषयहरुमा फस्न नदिउँ, आफ्नो मनको अवस्था तथा प्रकृतिलाई बुझौं र मनको उचित व्यवस्थापन गर्दै जीवनलाई सहीदिशा प्रदान गरौं । मनलाई जित्न जवरजस्ति गरेर सकिदैन यसलाई फकाउदै-फकाउदै आफ्नो वसमा गर्नुपर्छ र सही संस्कार तथा आदतमा बानी पार्नु पर्दछ अर्थात मनलाई पुनःसंरचित(रीप्रोग्रामिगं) गर्नु पर्दछ । मनलाई बुझ्न, व्यवस्थित गर्न र जित्न सबैभन्दा पहिला हाम्रो मनको निर्माण कसरी हुन्छ भनेर जान्नु अत्यावश्यक हुन्छ जसले तनावरहित जीवन व्यवस्थापन गर्न मद्धत गर्दछ ।
मानिसको मनको निर्माण यसरी हुन्छ
सोचहरुको समुह विचार हो र विचारहरुको समुह मन हो । मानिसको मन दुइ प्रकारले बन्दछ– (१)चेतन अवस्थामा ज्ञान इन्द्रियहरुबाट चेतन मनमा प्राप्त हुने सूचनाबाट, र (२)अचेतन अवस्थामा अवचेतन तथा अचेतन मनमा संग्रहित विगतका स्मृति र भविश्यका योजना तथा कल्पनाहरुबाट ।
चेतन अवस्थामा ज्ञान इन्द्रियहरुबाट चेतन मनमा प्राप्त हुने सूचनाबाटः मानिस चेतन अवस्थामा रहदा उसको शरीरका ज्ञान इन्द्रियहरुले वाहिरी जगतको सूचना देब्रे तथा चेतन मस्तिष्क(एक्टिभ ब्रेन)मा पुर्याएपछि मस्तिष्कका ८६ बिलियन स्नायु प्रणालीका कोशिका(न्युरोन्स सिस्टम)हरु मध्य निश्चित ज्ञान इन्द्रियबाट प्राप्त सूचनासंग सम्वन्धित स्थानका कोशिकाहरुमा हलचल तथा विद्युतीय तरंग(इलेक्ट्रोनिक फायरिगं– यो प्रक्रिया मस्तिष्कको FMRI चिकित्सा प्रयोगमा सजिलै देख्न सकिन्छ)हरु चल्न शुरु हुन्छन् र यी तरंगहरुबाट प्राप्त भएको सूचना अनुसार त्यहाँ सुक्ष्म रुपमा सोचहरु(थट्स) उत्पन्न हुन्छन्, यसरी उत्पन्न भएका सोचहरुको समुहबाट विचार बन्दछ(ओपिनियन, परसेप्सन), विचारहरुको समुहबाट मन(माइन्ड) बन्दछ । मनबाट विचारका यी तरंगहरु शरीरका इन्द्रियहरुमा प्रसारीत हुन्छन् र हामी त्यसैअनुरुप वाहिरी संसारमा आफू तथा अरुप्रति सकारात्मक, तटस्थ तथा नकारात्मक बोलिवचन, व्यवहार, आचरण, हाउभाउ मार्फत प्रकट हुन्छौं । यही नै वास्तविक चेतन मन(कन्सिवस माइन्ड) हो । सामान्यतया मनका तीन प्रकार तथा तह(चेतन, अवचेतन, अचेतन) छन्, यी तीनवटै प्रकारका मनका गतिविधिहरुको विविध अवस्था अध्ययन गर्ने विषय मनोविज्ञान हो ।
अचेतन अवस्थामा अवचेतन तथा अचेतन मनमा संग्रहित विगतका स्मृति र भविश्यका योजना तथा कल्पनाहरुबाटः शारीरिक रुपले सकृय तथा निष्कृय रहेको अवस्थामा मानिस जव एकोहोरो हुन्छ तथा सोचमग्न हुन्छ त्यतिबेला उ अवचेतन मन(सवकन्सिवस माइन्ड)मा संग्रहीत भएका विगतका स्मृति तथा भविश्यका योजना तथा कल्पनाका घटना तथा विषयहरुमा डुब्न थाल्दछ । यस्तो अवस्थामा उसको दाहिने मस्तिष्क(प्यासिभ ब्रेन)मा चलिरहेका तथा तरंगीत भैरहेका घटना तथा विषयहरुप्रति उसको सोच खेलिरहेको हुन्छ । यो अवस्थामा उसको मस्तिष्कमा ती घटना तथा विषयहरुका सन्दर्भमा विचार बनिरहेको हुन्छ र यी विचारहरुले मनको निर्माण गरिरहेका हुन्छन् । सामान्यतया आँखा बन्द रहेको अवस्था(निद्रा नलाग्दा तथा ध्यानमा बस्दा)मा यस्ता घटना तथा विषयसंग सम्वन्धित विचारहरु मानिसको मस्तिष्कमा बढि चल्ने गर्दछन् र उसको सकारात्मक तथा नकारात्मक मनको निर्माण गर्ने गर्दछन् । सकारात्मक मनले मानिसको जीवनमा सुख, खुशी, शान्ति, आनन्द ल्याउछ भने नकारात्मक मनले जीवन तनाग्रस्त बनाउछ । आधूनिक मनोविज्ञान भन्छ एउटा सामान्य मासिनसको मस्तिष्कमा २४ घण्टामा लगभग ६० हजार सकारात्मक तथा नकारात्मक विचारका तरंगहरु उत्पन्न हुन्छन् र जान्छन्, यो निरन्तर चलिरहने प्रक्रिया हो । विचारका अधिकांश तरंगहरु आएको र गएको मानिसले थाहा नै पाउदैन ।
आफ्नो मनोविज्ञान सही ढंगले व्यवस्थापन गर्न सबैभन्दा पहिला बुझ्नु पर्ने प्रमुख विषय हो हामीले हाम्रा ज्ञान इन्द्रियहरुबाट दृश्य, श्रव्य, स्पर्श, सुगन्ध तथा स्वादका रुपमा के–कस्ता सूचना तथा इन्द्रिय आहारहरु मस्तिष्कलाई प्रदान गरिरहेका छौं; व्यवस्थित जीवनका लागि के–कस्ता सूचना तथा आहारहरु आवश्यक तथा अनावश्यक छन्; कस्ता सूचना तथा इन्द्रिय आहारहरु ग्रहण गर्ने तथा नगर्नेबारे राम्रारी बुझ्नु तथा जान्नु पर्दछ । हामीले थाहा पाएर तथा थाहा नपाएर ग्रहण गरेका सूचना तथा इन्द्रिय आहारहरुकै माध्यमबाट हाम्रो जीवनशैली कस्तो बन्छ तथा कस्तो बनाउने भन्ने कुरा निर्धारण हुन्छ । हाम्रा ज्ञान इन्द्रियहरुबाट मस्तिष्कलाई प्राप्त हुने सूचना तथा इन्द्रिय आहारहरु जति सात्विक छन् मानिसको सोच, विचार र मन उति नै शुद्ध, व्यवस्थित, सदगुणहरुले सम्पन्न हुन्छ र उ आन्तरीक रुपले सवल, सक्षम, क्षमतावान, प्रतिभावान तथा सिर्जनशील हुन्छ । यस्तो मानिसको जीवनमा चुनौती तथा समस्याहरु कम आउछन् र आएका थोरवहुत चुनौती तथा समस्याहरुलाई उ सही समयमा उचित किसिमले सहज समाधान तथा व्यवस्थापन गर्न सक्षम हुन्छ, ती चुनौती तथा समस्याहरु तनावमा परिणत हुनै पाउदैनन् र उसको तनावरहित व्यवस्थित जीवन हुन्छ । तर यसको ठिक विपरीत हाम्रा ज्ञान इन्द्रियहरुबाट मस्तिष्कलाई प्राप्त हुने सूचना तथा इन्द्रिय आहारहरु राजसिक तथा तामसिक प्रकृतिका छन् भने मानिस आफूतिर भन्दा भौतिक संसारको भोगयुक्त जीवनमा आशक्त हुन्छ र तुलनात्मक रुपमा सात्विक मानिस भन्दा हरप्रकारले उ दुर्वल, असक्षम, क्षमताविहिन, प्रतिभाविहिन तथा सिर्जनशीलताको कमी भएको हुन्छ । मानिस जति राजसिक तथा तामसिक प्रकृतिको छ उतिनै उसको सोच, विचार, मन, व्यवहार तथा आचरण विकारयुक्त तथा अशुद्ध, अव्यवस्थित र दुर्गुणहरुले भरिएको हुन्छ । यस्तो मानिसको जीवनमा चुनौती तथा समस्याहरु बढि आउछन्, जीवनमा आइपरेका चुनौती तथा समस्याहरुलाई उचित किसिमले समाधान तथा व्यवस्थापन गर्न सक्दैन र तनावग्रस्त जीवन जिउन बाध्य हुन्छ । मानिसमा उसको जीवनमा आएका चुनौती तथा समस्याहरुले सिर्जना गरेको तनाव धान्न सक्ने, समाधन तथा व्यवस्थापन गर्न सक्ने आन्तरीक क्षमता जति बढि हुन्छ उतिनै तनाव पनि कम हुन्छ तसर्थ मानिसले तनावरहित व्यवस्थित जीवन निर्माणका लागि आफ्नो सोच, विचार, मनलाई शुद्ध गरि आफ्नो आन्तरीक क्षमता बढाउने तर्फ र विस्तारै सांसारीक जीवनमा छरिएको जीवन उर्जालाई आफूतिर फर्काउन विशेष ध्यान दिनु अत्यावश्यक हुन्छ ।
‘STRESS’ शव्दमै तनाव अर्थात स्ट्रेसको समाधान छ
वरिष्ठ फिजीयोलोजिस्ट ह्यान सेलीलाई स्ट्रेस वायोलोजी सिद्धान्तका पिता मानिन्छ । उनले मानिसले अत्यन्त तनाव महसुस गरेको बेलामा शरीरमा उत्पादन हुने ग्रन्थीरसहरु(हर्मोन्स)को अवस्था र यस्ता रसहरुले मानिसको मन र शरीरलाई पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावबारे वैज्ञानिक अध्ययन तथा खोजहरु गरेर नयाँ–नयाँ तथ्यांकहरु वाहिर ल्याएका छन् । तनाव व्यवस्थापनको सन्दर्भमा उनी भन्छन् STRESS शव्दमै छ तनाव अर्थात स्ट्रेसको समाधान जसले मनको व्यवस्थापन गर्न मद्धत गर्दछ, उनका अनुसार–
S- share, आफ्ना सबै प्रकारका चुनौती, समस्या, उल्झनहरु आफ्नो प्रियबर, साथी, गुरु, मनोविज्ञ, मनोचिकित्सक तथा चिकित्सकसंग नढाँटीकन आफूले अनुभव गरेका तथा भोगेका कुराहरु सबै जस्ताको तस्तै साझा गर ।
T- think less do more, कुनैपनि विषयमा धेरै नसोच, ठिक्क सोच, राम्रो र सकारात्मक सोच, अति विचारले विषयको सन्तुलन बिगार्न सक्छ, यस सन्दर्भमा जति सक्छौ काम गर र परिणाम ल्याउने प्रयास गर तर परिणामको आशक्ति तथा आशमा नबस ।
R- relax your body and mind,आफुलाई काम नलाग्ने, उल्टै हानी पुर्याउने कुरातिर ध्यान नदेउ, वर्तमानमा बस र आफ्नो स्वाभाव तथा प्रकृति र जीवनशैली अनुसार शरीर, मन, भाव, चित्तलाई पर्याप्त आराम देउ ।
E- enjoy your life, चलिरहेको जीवनशैलीलाई केही परिवर्तन गर, नयाँपन ल्याउ, प्रकृतिमा घुम्न जाउ, साथीहरुसंग रमाइलो गर, परिवासंग समय बिताउ, गीतसंगीत, चलचित्र, खेलकुद आदिमा मनोरञ्जन गर ।
S- seriousness in your study and task, आफ्नो स्वाभाव अनुसारको जीवनको उद्देश्य तथा लक्ष्य बनाउ, त्यसप्रति गंभिर बन र त्यही अनुसारको अध्ययन, तथा सिप र कर्मक्षेत्रको चयन गर र आफ्नो कर्ममा सक्दो आफूले श्रेष्ठता हासिल गर्नेे प्रयास गर ।
S- seek your high satisfaction, आफ्नो शोख तथा आफूलाई मनपर्ने, आनन्द लाग्ने, आत्मसन्तुष्टी प्रदान गर्ने कामहरुका लागि समय छुट्याउ र त्यसमा रमाउ ।
मानिसको जीवनमा तनाव बस्ने प्रमुख विषय तथा आयामहरु– स्वस्थ्य, सम्वन्ध, सम्पन्नता, मानप्रतिष्ठा, शान्ति सबै मानिसको मनोदशा तथा भावदशाको वरिपरि नै घुम्दछन् अर्थात मन तथा भावसंग नै प्रत्यक्ष रुपमा सम्वन्धित हुन्छन् तसर्थ हरेक मानिसले तनावरहित जीवन व्यवस्थापनका लागि सर्वप्रथम आफ्नो मनको विज्ञान तथा मनोविज्ञानलाई बुझ्नु र मनको व्यवस्थापन गर्नु अपरिहार्य हुन्छ ।
(३)जीवनको कर्म, उद्देश्य, योजना, लक्ष्य, संकल्प व्यवस्थापन
भगवान श्रीकृष्णका अनुसार, मानव योनी कर्म योनी हो, कर्म नगरी हामी कसैको जीवनयापन सम्भव छैन । मानिसलाई प्रकृतिले दिएको शरीर, मन, भावना, आत्मा अर्थात चेतना छ र तिनका आ–आफनै प्रकारका आवश्यकताहरु छन् । यी आवश्यकताहरु पूरा गर्नकालागि मैले जीवनमा के–कस्ता कर्महरु गर्नु पर्दछ; मेरो म स्वयंप्रति, परिवार, समाज, समुदाय, राज्य, मानवीयता, प्रकृति, जगत सबैप्रतिको कर्तव्य तथा उत्तरदायित्व के हो; मैले जीवनमा गर्नुपर्ने तथा नगरी नहुने कर्महरु केके हुन र तिनलाई जतिसक्दो उत्पनदनशील तथा सहज तथा उपलव्धिमूलक बनाउन र त्यसबाट दिगो सुख, खुशी, समृद्धि, सफलता, शान्ति तथा अबिनासी आनन्द हासिल गर्न मैले के–कस्ता उद्देश्य, योजना, लक्ष्य, संकल्प के कसरी तय गर्नु पर्दछ भन्नेबारे पर्याप्त बुझेर सर्वप्रथम मानिसले आफूलाई व्यवस्थित बनाउनु पर्दछ । यसरी आफूले जीवनमा गर्नुपर्ने कर्म, उद्देश्य, योजना, लक्ष्य तथा संकल्पको उचित व्यवस्थापन गर्नाले जीवन व्यवस्थित हुन्छ र तनावमुक्त जीवन जिउन मद्धत गर्दछ ।
(४)जीवन उर्जा व्यवस्थापन
सबै मानिससंग नैसर्गीक रुपमा जीवनमा केही उल्लेख्य तथा विशेष कर्म गर्नसक्ने र जीवनमा महत्वपूर्ण उपलव्धिहरु हासिल गर्न सक्ने जीवन उर्जा विद्यमान हुन्छ । शरीरको उर्जा भन्दा मनको उर्जा कयौं गुणा शक्तिशाली तथा प्रभावशाली हुन्छ; त्यस्तै मनको उर्जा भन्दा भावनाको उर्जा कयौं गुणा शक्तिशाली तथा प्रभावशाली हुन्छ; र भावनाको उर्जा भन्दा आत्मा अर्थात चेतनाको उर्जा कयौं गुणा शक्तिशाली तथा प्रभावशाली हुन्छ । म केही गर्न सक्छु भन्ने शारीरिक बल; मनको जोश, जाँगर, आँट तथा इच्छाशक्ति; भावनाको उत्साह, वौद्धिक क्षमता; र आत्मा अर्थात चेतनाको आत्मशक्ति, आत्मबल, आत्मसम्मान तथा आत्मविश्वास नै मानिसको वास्तविक जीवन उर्जा हो जसको माध्यमबाट हामी आफ्नो जीवनमा जस्तासुकै कामहरु कुशलतापूर्वक र सफलतापूर्वक सम्पन्न गर्न सक्दछौं र जीवनमा आफूले तय गरेका उद्देश्य, योजना, लक्ष्य, तथा संकल्पहरु सहजै हासिल गर्न सक्दछौं । तर विडम्वना वर्तमान समयमा अधिकांश मानिसहरुको जीवनको अमूल्य उर्जा वाहिरी तथा भौतिक संसारका उपलव्धिहिन अनावश्यक चमकदमकहरु तथा सुखसुविधाका भोगविलासको आशक्तिमा खेर गैरहेको छ । यसकारण मानिसको जीवन उर्जा व्यपस्थापन असन्तुलित भएको छ र उसको जीवन दिनप्रतिदिन तनावग्रस्त बन्दै गैरहेको छ । जीवन उर्जा को सही व्यपस्थापन लागि हरेक मानिसले आफ्नो जीवन उर्जाको सही पहिचान र उचित किसिमले उपयोग गर्न जान्नु अत्यावश्यक हुन्छ जसले जीवन व्यवस्थित बनाउन र तनावरहित जीवनयापन गर्न मद्धत गर्दछ ।
(५)सुख, खुशी, शान्ति तथा आनन्द व्यवस्थापन
खुशी, शान्ति तथा आनन्द व्यवस्थापनलाई दु:ख, सुख, स्वास्थ्य व्यवस्थापनको रुपमा समेत बुझ्नु पर्दछ किनकी मानिसको जीवनमा सुख, खुशी, शान्ति, आनन्द यी सबै आयामहरुको उचित व्यवस्थापनबाट मात्र आउन सम्भव हुन्छ तसर्थ हरेक मानिले आफ्नो जीवनमा हासिल भएका सुख, खुशी, शान्ति, आनन्द व्यवस्थापन गर्न पनि जान्नु पर्दछ किनकी जीवनको वास्ताविक सफलता यिनै बहुमूल्य पलहरुमा रहेका हुन्छन्। हरेक मानिसले हरहालमा आफूलाई प्राप्त भएको सुख, खुशी, शान्ति, आनन्दलाई सही ढंगले व्यवस्थित गरेर राख्न सके स्वतः जीवनबाट तनाव दुर हुन्छ । स्वास्थ्य, सुख, खुशी, शान्ति र आनन्द झट्ट सुन्दा उस्तै–उस्तै जस्तो लागेपनि यी फरक–फरक विषयहरु हुन्, सबैको आ–आफ्नै अर्थ तथा परिभाषा रहेका छन् र यिनको श्रोत पनि फरक–फरक रहेका छन् । 'स्वास्थ्य' शरीरको सहजता तथा भौतिक वस्तुहरुको सेवा तथा सुविधा भोगबाट प्राप्त हुन्छ; 'सुख' भौतिक चिज–वस्तुका सेवा तथा सुविधाहरुबाट प्राप्त हुन्छ र यो क्षणिक हुन्छ; 'खुशी' मनको स्थिरताबाट प्राप्त हुन्छ; 'शान्ति' भावनाको तरलता तथा सरलताबाट प्राप्त हुन्छ; 'आनन्द' आत्मा अर्थात चेतनाको स्तरोन्नतिबाट प्राप्त हुन्छ । स्वास्थ्य, सुख, खुशी, शान्ति, आनन्द मानिस भित्रै तथा मानिसको स्वाभाव, मनोदशा, भावदशा तथा आत्मा अर्थात चेतनाको विकासको तहमा रहेका हुन्छन् । जीवनको विज्ञानप्रति मानिसको अपर्याप्त ज्ञानका कारण सुसुप्त अवस्था आफूभित्रै स्थित रहेका आफू स्वस्थ, सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित रहनसक्ने आफ्ना अमूल्य क्षमताहरुकाबारेमा अधिकांश मानिसहरु अनभिज्ञ छन् अर्थात आफैंभित्र रहेको आफ्नै क्षमताबारे उनीहरुलाई राम्रोसंग थाहा छैन । मानिसको जीवनमा वास्तविक स्वास्थ्य, सुख, खुशी, शान्ति तथा आनन्द तनावमुक्त जीवन तथा मानसिक, भावनात्मक तथा चेतनात्मक स्वस्थता तथा सन्तुलनताबाट प्रकट हन्छ र जीवनमा यो अवस्था विद्यमान छ भने तनाव आउने गुन्जायस नै रहदैन । यस्तो अवस्था स्थायी हुन्छ अर्थात भौतिक वस्तुहरुको सेवा तथा सुविधाहरुको भोगबाट प्राप्त सुख तथा खुशी जस्तो क्षणिक तथा बनावटी हुदैन ।
सबै मानिसको जीवनको प्रमुख चाहना स्वास्थ्य, सुख, खुशी, शान्ति तथा आनन्द प्राप्त गर्नु नै हो । स्वास्थ्य, सुख, खुशी, शान्ति तथा आनन्द र तनावको बिपरीत सम्वन्ध हुन्छ, जति तनाव बढ्दै जान्छ स्वास्थ्य, सुख, खुशी, शान्ति तथा आनन्द उतिनै कम हुदै तथा घट्दै जान्छ र जति तनाव कम हुदै जान्छ उति स्वास्थ्य, सुख, खुशी, शान्ति तथा आनन्द बढ्दै जान्छ । तनाव अन्धकारको तरंग हो, यो भारी हुन्छ र यसले मानिसको जीवनलाई अन्धकार तथा असफलतातिर लैजान्छ तर स्वास्थ्य, सुख, खुशी, शान्ति तथा आनन्द प्रकाशको तरंग हो, यो हलुका हुन्छ र यसले मानिसको जीवनलाई प्रकाशतिर तथा सफलतातिर लैजान्छ । जीवनको स्वर्ग र नर्क हामी आफैंभित्र रहेको स्वास्थ्य, सुख, खुशी, शान्ति तथा आनन्द सिर्जना गर्नसक्ने क्षमतामा छ, यो हाम्रो मनोदशा, भावदशा र आत्मा अर्थात चेतनाको प्रवलताको स्तरमा निर्भर गर्दछ । तसर्थ आफ्नो जीवनका स्वास्थ्य, सुख, खुशी, शान्ति तथा आनन्दको उचित व्यवस्थापन गरौं र सदाकालागि तनावरहित व्यवस्थित जीवनयापन गरौं ।
(६)समय व्यवस्थापन
समय सवयं परमात्मा हो । सबैकालागि समयको उपलव्धता तथा लम्बाइ उत्तिनै हुन्छ । उपलब्ध समयभित्र समयको दुरुपयोग तथा नोक्सान नगरीकन जीवनमा आफूले गर्नुपर्ने तथा नगरी नहुने सबै प्रकारका कर्तव्य, उत्तरदायित्व, जिम्मेदारी तथा कामहरु सफलतापूर्वक समयभित्रै रहेर सम्पन्न गर्नेगरि आफूलाई समयसंग अभ्यस्त बनाउनु तथा समयप्रति अनुशासित हुनु समयको सही व्यवस्थापन हो । समयको सही तथा उचित व्यवस्थापनले जीवन व्यवस्थित बनाउन र तनावरहित जीवन जिउन मद्धत गर्दछ ।
(७)ज्ञान तथा सिप व्यवस्थापन
मानिसले ज्ञान तथा सिप प्राप्त गर्ने औपचारीक तथा अनौपचारीक श्रोतहरु धेरै छन् । आफूले जीवनमा हासिल गरेका ज्ञान तथा सिपहरुलाई जीवन उपयोगी हुनेगरि सदुपयोग गर्नु ज्ञान तथा सिप व्यवस्थापन हो । मानिसले औपचारीक रुपमा कुनै निश्चित विषयमा कुनै संस्थाबाट अध्ययन पूरा गरेर आफुलाई रुचि भएको तथा आवश्यकता परेको विषयमा विशेष प्रकारको ज्ञान तथा सिप हासिल गर्न सक्दछ । त्यसैगरि अनौपचारिक रुपमा परिवार, साथीसंगी, समाज, कार्यालय आदिबाट विविध प्रकारका ज्ञान तथा सिपहरु जीवन पर्यन्त हासिल गरिरहेको हुन्छ । यसरी हासिल गरिएका ज्ञान तथा सिपलाई आफ्नो जीवनको उद्देश्य तथा लक्ष्य अनुसार आफू र अरुकालागि उपयोगी हुनेगरि व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ जसले जीवन व्यवस्थित बनाउन र तनावरहित जीवन जिउन गर्न मद्धत गर्दछ ।
(८)परमशान्ति तथा परमआनन्द व्यवस्थापन
परमशान्ति तथा परमआनन्द मानिसको अन्तरजगत तथा आत्मा अर्थात चेतनाको स्तरोन्नतीबाट प्रकट हुन्छ र यो मृत्यु पर्यन्त पनि आफैंसंग जाने नित्य तथा अजर, अमर, अभिनाषी हुन्छ । अभिनाषी परमशान्ति तथा परमआनन्द मानिसलाई आध्यात्मिक जीवनबाट प्राप्त हुन्छ । व्यवस्थित जीवन तथा तनावमुक्त जीवनयापनका लागि हरेक मानिसले आफ्नो जीवनमा अध्यात्म साधना तथा योग साधना गरेर यो अवस्था प्राप्त गर्न सक्दछ । आध्यात्मिक मानिसले आफ्नो जीवनका हरेक आयामहरु सहजै आफ्नो तथा सबैको अनुकुल हुनेगरि व्यवस्थापन गर्न सक्छ । गहन जिज्ञासा मनमा उठ्न सक्छ कि 'म कसरी आध्यात्मिक बन्न सक्छु त ?' आध्यात्मिक र धार्मिक हुनु भनेको उस्तै–उस्तै विषय हो, धर्म मानिसले मानव भएर प्रकृतिमा भएका मानिस लगायत सबै प्राणी, जिवतन्तु, वनस्पति, पदार्थहरुको भलाईको उद्देश्य राखेर आफूले तिनीहरुप्रति गर्नुपर्ने कर्तव्य तथा उत्तरदायित्व बखुवी पूरा गर्नु हो र हामीले बुझ्दै आइरहेको 'धर्म' संस्कृति तथा सम्प्रदाय(रिलिजन) हो अर्थात हामीले दैनिक जीवनमा अनुशरण गर्दै आइरहेको पूजापाठ, व्रततीर्थ, कर्मकाण्ड धर्म होइन । जो मानिस आफ्नो जीवनमा कर्तव्यनिष्ठ तथा उत्तरदायि छ उ धार्मिक ब्यक्ति हो र पूजापाठ, व्रततीर्थ, कर्मकाण्ड गर्ने मानिस सांस्कृतिक तथा साम्प्रदायिक हो । 'धर्म' मार्ग हो, 'अध्यात्म' गन्तव्य हो अर्थात धर्मको मार्गमा हिडेर हामी अध्यात्मको शिखरमा पुग्न सक्छौं, परमात्मासंग एकाकार हुन र मोक्ष तथा निर्वाण प्राप्त गर्न सक्छौं र जन्म र मृत्युको दुःखदायी तनावयुक्त जीवनचक्रबाट सदाकालागि मुक्त भएर परमशान्ति तथा परमआनन्दमा स्थित हुन सक्छौ । यसकालागि हरेक मानिसले आफ्नो दैनिकीमा अध्यात्म साधना तथा योग साधनाका विधि तथा पद्धतिअरुको निष्ठापूर्वक अनुशरण गरेर आफ्नो जीवनमा परमशान्ति तथा परमआनन्द प्राप्ति र त्यसको उचित व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ ।
जीवनमा परमशान्ति तथा परमआनन्दको अवस्था हासिल गर्न आफूलाई के काम गर्दा अत्यन्त दंग तथा आनन्दको अनुभूति हुन्छ तथा उच्चतम आनन्द विभोरको अवस्था सिर्जना हुन्छ त्यस्तो काममा जतिसक्दो आफूलाई व्यस्त गराउनु पर्दछ । भूतकालमा बितिसकेका पिडादाइ घटनाहरु तथा नकारात्मक विचारहरु र आउदै नआएको, हुनपनि सक्ने तथा नहुनपनि सक्ने भविश्यका अनिश्चित घटनाको कल्पना गर्ने र असुरक्षा महसुस गर्ने अवस्थालाई मन, मस्तिष्कबाट दुर गर्न वर्तमानमा रहने कला तथा साक्षीभाव ध्यान गर्ने विधिको अनुशरण गर्नुपर्दछ । आफूलाई मनपर्ने काम गर्दा, प्रकृतिमा रमण गर्दा, अरुको समस्या कम गर्न सहयोग तथा सेवा गर्दा मानिसको मस्तिष्कमा सुख, खुशी, शान्ति, आनन्द प्रदान गर्ने रसायनहरु(ह्यापि हर्मोन्स) श्रावित हुन्छन्, यी रसायनहरुले मानिसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा औषधीको काम गर्दछन्, मानिसमा सन्तोष, स्वीरकार, कृतज्ञता, क्षमा, धन्यवाद भाव जस्ता सकारात्मक गुणहरु देखिन थाल्छन्, उसमा परमशान्ति तथा परमआनन्द घटित हुन्छ, क्रमशः आत्मसंतुष्टि(सेल्फ–स्याटिसफ्याक्सन) तथा आत्मवोध(सेल्फ–एकचुअलाइजेसन) बढ्दै जान्छ र मानिस तनावबाट सदाकालागि मुक्त हुन्छ अर्थात उसको जीवन तनावरहित बन्दछ । bsirjana@gmail.com
छिट्टै
वाहिरी जीवन व्यवस्थापन
No comments:
Post a Comment