डा. सिर्जना भण्डारी
(२)तनावका कारण, लक्षण र परिणाम
#अध्यात्म_दर्शन #जीवन_दर्शन
“आधूनिक भौतिक विज्ञानका वैज्ञानिकहरुले संसारमा मानिसकालागि आवश्यक सबैकुरा खोजे तर मानिसकालागि सबैभन्दा बढि आवश्यक पर्ने विषय शान्ति र आनन्द खोज्न सकेनन् ।” – ओशो
तनावका कारणहरु
तनावका कारणहरु व्यक्तिपिच्छे फरक–फरक प्रकारका हुन सक्छन् र एकै प्रकारका तनावलाई फरक मानिसले फरक–फरक किसिमले लिने गर्दछन् । प्रमुख रुपमा मानिसको जीवनमा तनावको अवस्था आइपर्नुमा आन्तरीक सवलता तथा दुर्वलता, सक्षमता तथा असक्षमता, वर्तमानमा उसको व्यक्तिगत, परिवारीक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था र वाहिय परिस्थितिहरु आदिमा निर्भर गर्दछ । मानिसको जीवन कर्मयोनी भएकोले कर्म गर्ने क्रममा सहज तथा सरल जिवनयापनका लागि संघर्षरत रहदा विविध प्रकारका चुनौती, समस्या, तनाव, चिन्ता सबै अवस्था, उमेर, वर्ग, लिंग, समुह, सम्प्रदायका मानिसहरुलाई आ–आफ्नै किसिमको आउने गर्दछ । यी अवस्थाहरुमा तनाव विचको अवस्था हो, तनावअघि चुनौती तथा समस्याहरु आउँछन् । चुनौती तथा समस्याहरुको सही समाधान तथा उचित व्यवस्थापन विवेकपूर्ण किसिमले गर्न सकियो भने तनाव शुरुआती चरणबाटै हटेर जान्छ र शारीरिक, मानिस मानसिक, भावनात्मक तथा चेतनात्मक रुपले सामान्य रहनसक्छ तर चुनौती तथा समस्याहरुलाई समयमै सही ढंगले समाधान गरिएनन् तथा गर्न सकिएन, ती तनावमा परिणत भए, तनावलाई पनि समयमै सही समाधान तथा उचित व्यवस्थापन गर्न सकिएन र तनाव गहिरिदै गयो भने त्यो चिन्ता तथा अवसाद(डिप्रेसन) अर्थात मानसिक तथा भावनात्मक समस्या, विकार, अस्वस्थता तथा रोगमा परिणत हुन्छ र यस्तो अवस्था सम्वन्धित व्यक्ति लगायत परिवार, समाज, राष्ट्र, विश्व, मावीयता, प्रकृति सबैकालागि समस्या बन्न पुग्दछ ।
अनियन्त्रित नकारात्मक तनावले मानिसको जीवनमा विश्वासै गर्न नसक्ने गरि गहिरो नकारात्मक प्रभाव पार्दछन् । सर्वप्रथम त तनावले मानिसको व्यक्तित्व तथा नेतृत्व विकासका सबै प्रक्रिया तथा सम्भावनाहरु रोकिदिन्छ र परिणामस्वरुप उ जीवनका सबै आयामहरुमा असफल बन्न पुग्दछ जसले अन्तत्वगत्वा उ स्वयंलाई मात्र नभएर परिवार, समाज, राष्ट्र, विश्व, समग्र मानवीयता र प्रकृतिलाई नै नकारात्मक प्रभाव पार्दछ । मानिसको जीवनमा विगतमा घटेका दुःखद घटना तथा दुर्घटनाहरु; अपमानका घटना तथा दुर्घटनाहरु; पूरा हुन नसकेका उद्देश्य, लक्ष्य, इच्छा तथा कामनाहरु; खराव स्वास्थ्य; खराव सम्वन्ध; अरुप्रति अति अपेक्षा, अति महत्वकांक्षा; भौतिक संसारका सेवा तथा सुविधाहरुप्रति अति आशक्ति; आर्थिक विपन्नता, मानहानि, अशान्ति आदिले तनावको अवस्था सिर्जना गर्दछन् र यी विषयहरुलाई बारबार नकारात्मक किसिमले मन तथा भावमा दोहोर्याइरहदा तनाव अझ गहिरिदै जान्छ र जीवनमा चुनौती, समस्या, रोग, शोक, चिन्ता, अवसाद, असफलता, निराशा, असन्तुष्टी, गुनासाहरु पनि संगसंगै बढ्दै जान्छन् । सबै मानिसहरु हरप्रकारले समृद्धवान तथा ऐश्वर्यवान बन्न चाहन्छन्, समृद्धि तथा ऐश्वर्यका प्रमुख पाँचवटा आयामहरु रहेका छन्– (१)सन्तुलित स्वास्थ्य, (२)सुमधूर सम्वन्ध, (३)आवश्यक सम्पन्नता, (४)उचित मानप्रतिष्ठा, र (५)परम शान्ति । मानिसको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सुख र दुःख तथा तनावका प्रमुख कारणहरु यिनै अवस्थाहरुमा आएका कमीकमजोरीहरुका कारणबाट सिर्जना हुने गर्दछन् । मानिसको जीवनमा तनाव सिर्जना गर्ने कारणहरु विविध प्रकारका हुनसक्छन् जुन प्रत्यक्ष रूपमा उसले जीवन र जगतलाई कसरी हेर्दछ तथा कुन रूपमा ग्रहण गर्दछ भन्ने कुरामा निर्भर गर्दछ । तनावका कारण तथा आयामहरु व्यक्तिपिच्छे फरक पर्ने भएपनि मानिसले जीवनमा दैनिक रुपमा बेहोर्नुपर्ने गतिविधिहरु र व्यवहारीकताका आधारमा सामान्यतया तनाव सिर्जना गर्ने कारक तत्व तथा तनाव बस्ने निम्न प्रमुख पाँच अवस्थाहरु यसप्रकार रहेका छन्– (१)अस्वस्थ शरीर, (२)खराव सम्वन्ध, (३)बिपन्नता, (४)मानप्रतिष्ठामा हानि, र (५)अशान्ति ।
(१)अस्वस्थ शरीर– मानिसको तनावरहित सहज, सरल, सफल र शान्त जीवनयापन तथा समृद्ध जीवनकालागि सन्तुलित तला स्वस्थ शरीर पहिलो महत्वपूर्ण आयाम हो । सबैले बुझ्ने भाषामा परिभाषित गर्नुपर्दा मानिसको शरीर तथा स्वास्थ्यका मुख्य चार आयामहरु हुन्छन्– (१)स्थुल शरीर तथा स्वास्थ्य, (२)मानसिक शरीर तथा स्वास्थ्य, (३)भावनात्मक शरीर तथा स्वास्थ्य, (४)आत्मिक अर्थात चेतनात्मक शरीर तथा स्वास्थ्य । शरीर तथा स्वास्थ्यका चार आयामहरु भएपनि सहजै देख्न, स्पर्श गर्न तथा प्रत्यक्ष अनुभव गर्न, जान्न तथा बुझ्न, औषधी उपचार गर्न सकिने भएकोले स्थुल शरीर तथा स्वस्थ्यलाई मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण तथा प्रभावपूर्ण आयामको रूपमा मानिन्छ । स्थुल शरीर नै सबैभन्दा महत्वपूर्ण आयाम तथा मानिसको सहज तथा सरल जीवनयापनको प्रमुख र प्रत्यक्ष साधन तथा माध्यम हो किनकी मानिसको सांसारीक पहिचानदेखि लिएर मानिस समृद्धशाली बन्नकालागि अतिआवश्यक प्रमुख आयामहरु स्वास्थ्य, सम्वन्ध, सम्पन्नता, मानप्रतिष्ठा, शान्ति आदि सबैका विषय, घटना, अवस्था तथा परिस्थितिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मानिसको स्थुल शरीर र स्थुल शरीरको स्वाथ्यकै वरिपरि घुम्दछन् र थोरै मात्र प्रत्यक्ष र ज्यादातर अप्रत्यक्ष रुपमा मानिसको मानसिक, भावनात्मक र चेतनात्मक शरीर तथा स्वाथ्यसंग सम्वन्धित हुन्छन् ।
शरीर तथा स्वास्थ्यका तीन आयामहरु (मानसिक, भावनात्मक, चेतनात्मक) र वाहिरका अरु सबै विषय, घटना, अवस्था तथा परिस्थितिहरु सामान्य भएपनि मानिसको स्थुल शरीर तथा स्थुल शरीरको स्वास्थ्य सन्तुलित, व्यवस्थित तथा स्वस्थ छैन भने मानिसको जीवनमा यही नै चुनौती, समस्या, तनाव, चिन्ता, अवसादको प्रमुख कारण बन्न पुग्दछ र विस्तारै शरीरका अन्य आयामहरुमा फैलिदै जान्छ र समय रहदै सही समाधान तथा उचित व्यवस्थापन गरिएन भने यसले अनावश्यक तथा नकारात्मक तनावको रुप धारण गर्नसक्दछ र यस्तो तनाव गहिरिदै गयो भने शरीर तथा शरीरको स्वास्थ्यका सबै आयामहरुमा विविध प्रकारका घातक समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखापर्न थाल्छन् र जीवन तनावग्रस्त तथा कष्टकर बन्दैजान्छ । शरीरका आयामहरुका समस्या, विकार, अस्वस्थता तथा रोगहरु सामान्य, मध्यम र गंभिर तीन प्रकारका हुन्छन् । सामान्यतया स्थुल शरीर तथा स्थुल शरीरको स्वास्थ्यमा गंभिर प्रकृतिका समस्या, विकार, अस्वस्थता तथा रोगहरु जस्तोकि असाध्य रोगहरु– उच्च रक्तचाप, मधुमेह, मुटुमा छिद्र, श्वास-प्रश्वासमा समस्या, मृगौला खराव, कलेजो खराव, अल्सर, अर्वुद(क्यानसर) आदि बिमारीहरु लाग्न सक्छन् र मानिसको जीवनमा तनावको अवस्था सिर्जना हुन्छ । त्यस्तै मानसिक, भावनात्मक तथा चेतनात्मक शरीर तथा स्वास्थ्यमा पनि गंभिर प्रकारका समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखिन्छन् । सामान्यतया आम मानिसहरुको जीवनमा शरीर तथा स्वास्थ्यका आयामहरुमा लागेका रोगहरुबाट आउने नकारात्मक अवस्था तनावको प्रमुख कारण बन्ने गरेको देखिदै आइएकोछ ।
(२)खराव सम्वन्ध– मानिसको तनावरहित सहज, सरल, सफल र शान्त तथा समृद्ध जीवनकालागि सम्वन्ध दोस्रो महत्वपूर्ण आयाम हो । पारिवारीक तथा सामाजिक जीवनयापन गरिरहेको सामान्य मानिसका सम्वन्धका मोटामोटी रुपमा पाँच आयामहरु रहेकाछन्– (१)आफू(शरीर, मन, भावना, चेतना)संगको सम्वन्ध, (२)परिवारसंगको सम्वन्ध, (३)समाज तथा राष्ट्रसंगको सम्वन्ध, (४)वैश्विक रुपमा समस्त मानवीयतासंगको सम्वन्ध, र (५)प्रकृति, जगत तथा परमात्मासंगको सम्वन्ध । यी सबै सम्वन्धहरुमा मानिसको सन्तुलित सामान्जस्यता बनेको छैन भने यस्तो अवस्थाले मानिसको दैनिक जीवनमा तनावको अवस्था सिर्जना गर्नसक्दछ । जीवनमा सदा तनावमुक्त रहनाकालागि मानिसको आफूसंगको सुमधूर सम्वन्ध सबैभन्दा महत्वपूर्ण हुन्छ । आफूसंगको सम्वन्ध सुमधूर बनाउन मानिसले आफू स्वयंको अध्ययन अर्थातस्वाध्याय गरि सर्वप्रथम आफूलाई अर्थात आफ्नो शरीर, मन, भावना र चेतनाको प्राकृतिक विशेषता, आफ्ना नैसर्गीक गुणहरु र आफ्नो स्वधर्मको पहिचान गर्नु अतिआवश्यक हुन्छ ।
ज्ञानइन्द्रिय तथा कर्मइन्द्रियहरुको माध्यमबाट वाहिरको भौतिक संसारमा छरिएको आफ्नो जीवन उर्जालाई आफूतिर फर्काएर आफ्नो शरीरको प्रकृति कस्तो छ; मेरो मन के कुरामा खुशी हुन्छ; मेरो भावना कस्ता सम्वन्धहरुमा रमाउछ; मेरो चेतनाको उद्देश्य तथा लक्ष्य के हो आदिबारे राम्ररी नजानीकन तथा आफ्नोबारेमा गहन स्वाध्याय नगरीकन अज्ञानतामै आफ्ना दैनिक गतिविधिहरु गर्यौं भने यसबाट जीवनमा चुनौती, समस्या तथा तनावका अवस्थाहरु सिर्जना हुन सक्छन् । त्यसैगरि परिवार, समाज तथा राष्ट्र, समग्र मानवीयता, प्रकृति, जगत तथा परमात्मासंगको सम्वन्धबारे पनि आफ्नो अवस्था, हैसियत तथा उत्तरदायित्वको सही पहिचान गरेर जीवनका गतिविधिहरु गरिएन भने यसबाट पनि दैनिक जीवनमा अनावश्यक समस्या, चुनौती तथा तनावको स्थिति उत्पन्न हुन सक्दछ । विश्वस्तरमै वर्तमान समयमा आम मानिसहरुको तनावको सबैभन्दा बढि असी प्रतिशत कारण खराव सम्वन्ध रहेको वैज्ञानिक अनुसन्धानका तथ्यांकहरु उजागर गरेका छन् ।
(३)बिपन्नता– मानिसको तनावरहित सहज, सरल, सफल र शान्त जीवनयापन तथा समृद्ध जीवनकालागि सम्पन्नता अपरिहार्य विषय हो र तेस्रो महत्वपूर्ण आयाम हो । सम्पन्नताको परिभाषा व्यक्तिको मनोदशा तथा भावदशा अनुसार सापेक्षित हुनसक्छ तरपनि मानिसका आधारभूत आवश्यकताहरुको परिपूर्ति भएको अवस्थालाई सम्पन्नताको सामान्य अवस्था मान्न सकिन्छ जसले मानिसका छ प्रकारका आधारभूत आवश्यकताहरु– (१)गाँस, (२)बास, (३)कपाश, (४)स्वास्थ्य, (५)शिक्षा, र (६)सुरक्षा सहजै पूरा गर्न सक्छ । मानिसको जीवनका प्रमुख आवश्यकताहरु मध्य सम्पन्नता अत्यन्तै महत्वपूर्ण पक्ष हो । समयको परिवर्तनसंगै सम्पन्नताको प्रकृति तथा स्वरुप परिवर्तन भएको पाइन्छ । वस्तु विनिमयको समयमा पशुहरुको संख्या, कृषियोग्य खेती तथा अन्नपातको परिमाण तथा भण्डारनलाई सम्पन्नताको प्रतिक मानिथ्यो भने वर्तमान समयमा पैशा, बैंकखाता, घरघडेरी, गरगहना तथा सेवा र सूविधाका वस्तुहरुलाई सम्पन्नताको प्रतिक मानिन थालिएकोछ र यसैलाई जीवनको अन्तिम लक्ष्य ठानेर आजको मानिस सम्पन्नताको पछाडि समृद्ध जीवनका अरु सबै महत्वपूर्ण आयामहरु बिर्सेर मरिमेटेर गरेको छ तर उसले यो बिर्सेको छ कि सम्पन्नता समृद्धि तथा ऐश्वर्यको एउटा मात्र आयाम हो अर्थात सम्पन्न हुनु मात्र समृद्धवान हुनु तथा ऐश्वर्यवान हुनु होइन ।
यो सत्य हो कि जीवनमा स्वास्थ्य, सम्वन्ध, मानप्रतिष्ठा, शान्ति हासिल गर्न अरु विषयका साथसाथ सम्पन्नता तथा धनले महत्वपूर्ण योगदान प्रदान गरेको हुन्छ । व्यक्तिगत, पारिवारीक, सामाजिक, आध्यात्मिक, धार्मिक, सांस्कृतिक सबै प्रकारका आधारभूत तथा सुरक्षाका आवश्यकताहरुको परिपूर्ति धनले नै गर्ने हुनाले जीवनमा प्रगति तथा सम्पन्नता अति आवश्यक हुन्छ तसर्थ व्यक्तिले चाहे तथा अपेक्षा गरे अनुसार सम्पन्नताको लक्ष्य प्राप्त गर्न सकेन भने जीवनमा तनावको अवस्था सिर्जना हुन्छ । यसका साथसाथ सुखी, खुशी, शान्त, आनन्दित जीवनयापन गर्नकालागि सम्पन्नता तथा धनको आर्जन शुद्ध हुनु पनि त्यतिनै आवश्यक हुन्छ । अशुद्ध तरिकाले कमाएको धन तथा समृद्धिले कालान्तरमा मानिसलाई दुःख दिन्छ र त्यही नै जीवनमा तनावको कारण बन्दछ । कतिपय अवस्थामा सम्पन्नताको उचित व्यवस्थापन गर्न नजान्नु तथा नसक्नुनै तनावको कारण बनेको हामीले देख्दै र भोग्दै आइरहेका छौं ।
(४)मानप्रतिष्ठामा हानि– मानिसको तनावरहित सहज, सरल, सफल र शान्त जीवनयापन तथा समृद्ध जीवनकालागि मानप्रतिष्ठा अर्को महत्वपूर्ण आयाम हो । सबै मानिसको अपेक्षा रहेको हुन्छ कि आफूप्रति अर्कोले राम्रो व्यवहार गरोस, प्रशंशा पाइयोस, धन्यवाद पाइयोस, आफ्नो श्रम, मेहनत तथा योगदानको कदर तथा मान रहोस् र परिवार तथा समाजमा थोरबहुत इज्ययत तथा मानप्रतिष्ठा बनोस् । इज्ययत तथा मानप्रतिष्ठा व्यक्तिको कर्मको प्रकृतिमा निर्भर गर्दछ । कर्मको प्रकृति अर्थात राम्रो तथा नराम्रो कर्म मानिसको व्यवहार तथा उसको मनोदशा र भावदशामा निर्भर गर्दछ । राम्रो कर्म गरेको छ भने मानिसले मानप्रतिष्ठा आर्जन गर्दछ र नराम्रो कर्म गरेको छ भने उसको मानप्रतिष्ठामा हानि अर्थात बेइज्यत हुन्छ । मानिसको मानप्रतिष्ठामा आँच आयो भने यस्तो अवस्थाले जीवनमा तनावको अवस्था सिर्जना गर्दछ । मानप्रतिष्ठामा भएको हानिकाकारण उत्पन्न भएको तनावको नकारात्मक प्रभाव मानिसको जीवनमा सामान्यदेखि निकै गहनसम्म हुनसक्दछ र यो अवस्थाले केवल एक व्यक्तिलाई मात्र नभएर परिवार, समाज, समुदाय, देश, विश्व, मानवीयता तथा प्रकृतिमा समेत गहिरो नकाररात्मक प्रभाव छोड्न सक्दछ ।
सबैकालागि मानप्रतिष्ठाको उत्तिकै मूल्य तथा महत्व नहुनसक्छ तर मानिसको आन्तरीक तथा वाहिय विकासमा मानप्रतिष्ठाको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । कुनैपनि व्यक्तिले आफ्नो अवस्था, परिस्थिति, क्षमता तथा योग्यता अनुसार आफ्नो तथा अरुको भलाईकालागि केही राम्रो काम, योगदान, दान तथा पुण्य गरेकोछ भने उ मानप्रतिष्ठाको हकदार हुन्छ र पाउनु पनि पर्छ उ आफूले अपेक्षा गरेपनि नगरेपनि । स्वस्थ शरीर, सुमधूर सम्वन्ध र शुद्ध किसिमले सम्पन्नता हासिल गरेको तथा पूर्णताले भरिएको मानिस आफूमात्र सर्वसम्पन्न भएर बस्न चाहदैन, उसले मानवीयता तथा सर्बकल्याणको चिन्तन् गर्न थाल्दछ र आफू र आफ्नो परिवारका साथसाथ समाज, राष्ट्र, विश्व, मावीयता र प्रकृतिकालागि पनि केही सकारात्मक कर्म गर्ने चाहना गर्दछ तथा अरुलाई दिने भाव राख्दछ र यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा थोरबहुत आफ्नो पहिचान, मानप्रतिष्ठा, मानसम्मान, सफलता र शान्तिको कामना राख्दछ । यस्ता कामहरु गर्दा कहिलेकाहीं अज्ञानता तथा असावधानीका कारण कतै त्रुटी भयो तथा कसैले खराव उद्देश्य राखेर तथा बदनियत पूर्वक मनहानि गर्ने उद्देश्य राखेर खराव भावनाले षडन्त्र गरेर बदनाम गर्ने, खुट्टा तान्ने काम गर्यो भने यो सामाजिक तथा सार्वजनिक विषय बन्ने हुनाले यस्तो अवस्थाले मानिसको जीवनमा अझ गंभिर तहको तनाव जन्माउन सक्दछ । वर्तमान समाजमा मासिनहरुको बिकृत मानसिकताका कारण यसप्रकारका षडयन्त्रपूर्वक गरिएका मानहानिका घटना, दुर्घटना तथा विषयहरुका कारण धेरै प्रतिष्ठित मानिसहरुले जीवनमा अनावश्यक तनावको परिस्थिति झेलिरहेको देखिदैआएको पाइन्छ ।
(५)अशान्ति– शान्त मन, शान्त जीवन सबै मानिसको आत्यन्तिक रोजाइ तथा चाहना हो । मानिसले जीवनमा अनुभूति गर्ने शान्ति दुई प्रकारका हुन्छन्– (१)वाहिरी शान्ति, र (२)आन्तरीक शान्ति । वाहिरी शान्ति मानिसलाई वाहिरका विषयहरु(स्वस्थ शरीर, सुमधूर सम्वन्ध, शुद्ध सम्पन्नता, उचित मानप्रतिष्ठा)बाट प्राप्त हुन्छ र आन्तरीक शान्ति मानिसको अन्तरजगतबाट हासिल हुन्छ अर्थात आन्तरीक शान्तिको वास्तविक श्रोत उसको अन्तरजगत तथा आत्मा अर्थात चेतनाको संसार हो । मानिसको दैनिक जीवनयापनमा आफ्नो तथा आफ्नाहरुको स्वास्थ्य, सम्वन्ध, सम्पन्नता, मानप्रतिष्ठामा असन्तुलन आयो भने यस्तो अवस्थामा उसको मन तथा भावना वाहिरी रूपमा अस्थिर तथा अशान्त बन्दछ र यही अस्थिरता तथा अशान्तिनै उसको जीवनको तनावको कारण बन्न पुग्दछ ।
आन्तरीक अशान्ति अलि फरक र गहिरो विषय हो । यसले मानिस भएर जन्मको शाश्वत सत्य तथा उसको दिव्य अस्तित्वसंग प्रत्यक्ष सम्वन्ध राख्दछ । आजको समयका अधिकांश मानिसहरुले पराभौतिक ज्ञान तथा अध्यात्म दर्शनको अभाव, अविद्या तथा अज्ञानताका कारण आफ्नो अस्तित्वलाई केवल भौतिक जगतको सदस्य र आफूलाई केवल भौतिक प्राणी(स्थुल शरीर)को रुपमा मात्र बुझिरहेका छन् र यहीकारण उ नजानिदो किसिमले आन्तरीक रुपमा अशान्त छ तर उ आफैंलाई थाहा छैन आफू किन भित्रबाट पूर्ण रुपमा शान्त छैन अर्थात अशान्त छु भनेर । भगवान श्रीकृष्णले श्रीमद् भगवद् गीतामा भन्नुभएको छ, “मनुष्य योनीमा जन्म लिनुको आत्यन्तिक उद्देश्य मोक्ष प्राप्तिकालागि हो र मोक्षको प्राप्ति आफूभित्रको अन्तरजगतको यात्रा गरेर, आफूलाई खोजेर तथा चिनेर- ‘म’ को हुँ, ‘म’ किन यो संसारमा आएं, ‘मेरो’ जीवनको वास्तविक उद्देश्य तथा लक्ष्य के हो, 'म', ‘ब्रम्ह’ र ‘ब्रम्हाण्ड’ विचको शास्वत सत्य र सम्बन्ध के हो भन्ने प्रश्नको जवाफ पाएपछि तथा आफ्नो आत्म साक्षातकार तथा आत्माको वोध भएपछि मात्र हुन्छ ।” अध्यात्म दर्शन आफ्नो अन्तरजगततिर फर्केर आफैंलाई तथा आफ्नो शाश्वत अस्तित्वको खोजीगर्ने साधनाको विज्ञान हो । जवसम्म मानिस आफूतिर फर्किएर आफ्नो खोजी गर्दैन तवसम्म वाहिरका अन्य परिस्थितिहरु जतिनै सन्तुलित तथा व्यवस्थित भएपनि उ आन्तरीक रुपमा भित्रबाट अशान्त नै रहिरहन्छ र आन्तरीक अशान्ति उसको जीवनमा तनावको रुपमा दृश्यमा नआएको तर सबैभन्दा प्रमुख कारण बनिरहन्छ ।
तनावका लक्षण तथा परिणामहरु
मानिसले दैनिक जीवनयापनका अनेक गतिविधिहरु गरिरहेको अवस्थामा विविध प्रकारका अप्ठ्यारा, समस्या तथा चुनौतीहरुको सामना गरिरहेको हुन्छ । मनोविज्ञहरुका अनुसार सामान्यतया मानिसले दैनिक जीवनयापनका अनेक गतिविधिहरु गरिरहेको अवस्थामा उसले सामना गरिरहेका विविध प्रकारका अप्ठ्यारा, समस्या तथा चुनौतीहरु कतिबेला तनाव तथा चिन्तामा परिणत भए र आफूमा तिनको नकारात्मक प्रभाव पर्न थाल्यो भन्ने कुरा सितिमिति थाहा पाउन सक्दैन । उसलाई म ठिकठाक छु, निरोगी छु जस्तो लाग्छ तर शरीर, मन, भावना र चेतनामा यसका लक्षणहरु देखापर्न थालेपछि बल्ल थाहा पाउँछ आफूमा परिवर्तनहरु आउन थालेको । मस्तिष्कको स्नायु प्रणालीमा भएको भौतिक क्षति(फिजिकल ड्यामेज) तथा भौतिक असन्तुलनका कारण आउने मानसिक समस्या तथा असन्तुलन भन्दा बाहेक प्राय सबै प्रकारका मानसिक समस्या, विकार, अस्वस्थता तथा रोगहरुको शुरुआत यसरीनै समस्या, चुनौती हुदै तनाव र चिन्ताबाट नै हुने गर्दछ । तनावको प्रमुख लक्षण मानसिक, भावनात्मक तथा चेतनात्मक समस्या, विकार, अस्वस्थता तथा रोगहरु हुन् जसको नकारात्मक प्रभाव विस्तारै शरीर तथा शरीरका अंगहरुमा फैलिदै जान्छ र पछि विभिन्न रोगका रुपमा देखापर्ने गर्दछन् र विस्तारै शरीर तथा मनका रोगका रुपमा स्थापित हुन्छन् जसलाई आधूनिक चिकित्सा विज्ञान तथा मनोचिकित्सा विज्ञानले मनाशरीर (साइकोसोमाटीक) बिमारी भन्दछ, यसको अर्थ हो मनका विकारहरु स्थुल शरीरमा फैलिएको अवस्था ।
वर्तमान समयमा साइकोसोमाटीक विषयमा थुप्रै वैज्ञानिक अनुसन्धान तथा खोजहरु भएका छन् र प्रतिवेदन तथा पुस्तकहरु लेखिएका छन्('यु क्यान हिल योर लाइफ' -लुइस हे, स्वामी खप्तड बाबाको विचार विज्ञान पुस्तक लगायत अन्य पूर्वीय दर्शन शास्त्रहरुको सन्दर्भमा आधारीत) । यी प्रतिवेदन तथा पुस्तकका तथ्यांकहरुले मानिसको शरीर, मन, भावना र चेतनामा लाग्ने सबै प्रकारका रोगहरुको प्रमुख कारण तनावलाई ठहराएका छन् र तनावको प्रमुख कारण तथा श्रोत मानिसको नकारात्मक सोच, विचार, मन, भाव तथा व्यवहार अर्थात समग्रमा असन्तुलित आहार, विहार, व्यवहार तथा जीवनशैलीलाई ठहराएका छन् । स्वामी विवेकानन्दले भन्नु भएको छ, “मानिसले जस्तो आहार गर्छ त्यस्तै उसको विचार हुन्छ, जस्तो विचार त्यस्तै व्यवहार हुन्छ, जस्तो व्यवहार त्यस्तै कर्म हुन्छ र जस्तो कर्म त्यस्तै व्यक्तित्व, भविश्य तथा भाग्य हुन्छ ।” यसको अर्थ हो मानिसको जीवन कस्तो बन्छ तथा हुन्छ यो सम्पूर्ण रुपमा उसको आहार(सन्तुलित प्रकारको पौष्टिक खानपान आवश्यक), विहार(शरीर, मन, भावना, चेतनाकालागि आवश्यक व्यायाम आवश्यक), व्यवहार(सकारात्मक सोच, विचार, मन, भाव, कर्म आवश्यक) तथा दैनिक जीवनशैली(सर्वकल्याणको सोच राख्नु आवश्यक) निर्भर गर्दछ ।
आमरुपमा हाम्रो समाज तथा समुदायहरुमा अधिकांश व्यक्ति तथा परिवारहरुले तनाव, चिन्ता, अवसाद(डिप्रेसन)लाई सामान्य अवस्था ठान्ने गर्दछन् र सहेर तथा पलाएर वस्न गर्दछन् । समस्या अझ गहिरीयो भने समाजले नराम्रो रुपमा लेला, दिमाग असन्तुलन तथा पागल भएको छाप लगाउला, व्यक्ति तथा परिवारको इज्ययत जाला भनेर यो विषय कसैसंग साझा गर्दैनन्, वाहिर ल्याउदैनन् र भित्रभित्रै दवाएर राख्ने तथा रोग पालेर बस्ने गरेको देखिदै आइएको छ । यसो गर्नु गलत हो तर पर्याप्त ज्ञानको अभावका कारण व्यक्ति, परिवार, समाज सबैतिर यस्तै हुदै र देखिदै आइरहेको छ । तनाव गहिरिदै गयो भने चिन्ता बन्छ र चिन्ता गहिरिदै गयो भने अवसाद अर्थात डिप्रेसन बन्छ र डिप्रेसनबाट अनेक प्रकारका साइकोसोमाटीक(मनबाट शरीरमा फैलिने) समस्या, विकार, अस्वस्थता तथा रोगहरु उत्पन्न हुन्छन् । तनाव, चिन्ता, अवसाद, साइकोसोमाटीक रोग तथा समस्याहरुका लक्षण तथा संकेतहरु लगभग उस्तै–उस्तै हुन्छन् । तसर्थ हरेक मानिसले आफूलाई तनाव छ कि छैन तथा छ भने कुन अवस्थामा छ भनेर जान्न मनोचिकित्सकहरुले बताउने गरेका निम्न लक्षणहरु आफूमा छन् कि छैनन् आफैंले आफ्नो जाँच गर्नु आवश्यक हुन्छ–
अभौतिक तथा सुक्ष्म शरीरमा देखिने लक्षण तथा परिणामहरु
तनावको प्रभाव सबैभन्दा पहिला मानिसको सुक्ष्म शरीरमा(मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक) पर्दछ जो देख्न सकिदैन र स्वस्थ्य जाँचमा पनि पकडमा आउदैन तर सम्वन्धित व्यक्तिले पिडा तथा समस्या अनुभव गरिरहेको हुन्छ । मनमा अत्यन्तै धेरै कुराहरु खेलिरहनु; बारबार मन विगत र भविश्यका नकारात्मक स्मृति, कल्पना तथा विचारहरुतिर गैरहनु; विनाकारण डर लाग्नु, आत्तिनु तथा नर्भस हुनु; परिवारका सदस्य, कार्यलयाका सहकर्मीहरु तथा साथीहरुप्रति शंका लाग्न थाल्नु; काममा सक्रियता, जाँगर र प्रभावकारीता घट्दै जानु; सबैसंग सम्वन्ध खराव हुदै जानु; एक्लै बस्न मन लाग्नु; अध्यारोमा बस्न मन लाग्नु; रमाइला पलहरुमा समेत खुशी हुन तथा मनोरञ्जन गर्न नसक्नु; वाहिर कतै जान मन नलाग्नु; बेचैनी, अधैर्यता तथा चंचलता बढ्नु; व्यक्तित्व, समृद्धि, मानप्रतिष्ठामा आँच आउनु; मनको शान्ति भंग हुदै जानु; दिक्क लागिरहनु; बाँचेर केही काम छैन जस्तो लाग्नु, जीवनदेखि विरक्तिनु र मर्न मन लाग्ने ख्याल मनमा आउनु; र तनावको अवस्था अझै खराव भयो भने कसैले आफूलाई हेरीरहेको, गिज्याइरहेको, आफू विरुद्ध षडयन्त्र गरिहेको, आक्रमण गर्न तथा मार्न खोजिरहेको जस्तो लाग्नु तथा शंका उत्पन्न हुनु आदि तनावका सुक्ष्म शरीरमा देखिने नकारात्मक लक्षणहरु हुन् ।
यसकासाथै तनाव, चिन्ता, अवसादको समस्या बढ्दै जाँदा मानिसका सकारात्मक सुक्ष्म गतिविधि तथा गुणहरु जस्तोकि सुखी, खुशी, शान्त, आनन्दित हुनसक्ने प्राकृतिक क्षमता तथा गुणहरु कम हुदै तथा हराउदै जान्छन् र मानिसको उर्जाको तह विस्तारै घट्दै जान्छ । यस्तो अवस्था निरन्तर भैरह्यो भने मानिसको शरीर र मस्तिष्कमा शरीरलाई नकारात्मक प्रभाव पार्ने तनाव ग्रन्थीरसहरु(स्ट्रेस हर्मोन्स–कोर्टीसोल, एडरनलिन)को उत्पादन बढ्दै जान्छ र यसले सकारात्मक ग्रन्थीरसहरु(ह्यापि हर्मोन्स– सेरोटोनीन, डोपामीन, एन्डार्फीन्स, मेलाटोनीन)को उत्पादनमा अवरोध खडा गर्दछ । सकारात्मक तथा ह्यापि हर्मोन्सको अपर्याप्तता तथा अभावमा मानिसमा तनावका थप नकारात्मक लक्षणहरु देखिदै जान्छन्, मानिसको शरीर तथा मनमा यसको हदैसम्मको नकारात्मक प्रभाव बढ्दै जान्छ र मानिस संधै उदाष हुने; विगतका नकारात्मक घटनाहरु मात्र सम्झिरहने; भविश्यको डर तथा असुरक्षामा चिन्तित भैरहने; वर्तमानमा रहन, जीउन तथा रमाउन विलकुलै नसक्ने; दिक्क मानिरहने; निराश भइरहने; अवसरलाई पनि चुनौती तथा समस्या ठान्ने; नयाँ काम गर्न हिम्मत नगर्ने; केही कुरामा रमाइलो नमान्ने; सबैसंग सम्वन्ध तोड्दै र अलग हुदै जाने; नहाँस्ने, झर्किने, रिसाउने; जे पनि अरुलाई दोष लगाउने; अरुप्रति गुनासो मात्र गरिहने; अरुको इष्र्या, डाह गर्ने, कुरा काट्ने; खराव संगत, खराव खानपान, खराव लत तथा जीवनशैली अंगाल्ने जस्ता सबै प्रकारका नकारात्मक बानी व्यवहारहरु मानिसमा देखिन्छन् र यस्तो बानी व्यवहारहरु बढ्दै जादा व्यक्ति शरीरिरीक तथा मानसिक रोगहरुले दिनप्रतिदिन ग्रस्त हुदै जान्छ र कहिलेकाहीं उपचार गर्न नसक्ने अवस्थामा समेत पुग्दछ भने केही मानिसहरुले त नराम्रो निर्णय लिन्छन् र निर्मम कदम उठाएर जीवन नै समाप्त गर्दछन् आफ्नो पनि र अर्काको पनि । यस्ता जघन्य लक्षण तथा परिणाहरु देखिनुको कारण मस्तिष्क कमजोर भएको अवस्थामा मस्तिष्कलाई अत्यन्तै धेरै जोर पर्नु र मस्तिष्कले यो जोरको अवस्था धान्न नसक्नु हो किनकी तनाव, चिन्ता तथा अवसादले ग्रस्त मानिसको मन(माइन्ड) अधिकांश समय विगतका नकारात्मक घटनाका स्मृतिहरुमा मात्र र भविश्यका डर तथा असुरक्षाका बेतुके कल्पनाहरुमा मात्र रमण गरिरहन्छ, वर्तमानमा प्राय रहनै सक्दैन तर मानिसको मस्तिष्क(ब्रेन) संधै वर्तमानमा रहन्छ, मस्तिष्कले मनमा चलिरहेका अनावश्यक तथा नकारात्मक अति विचारहरु विगतका हुन वा भविश्यका हुन भनेर छुट्याउन सक्दैन र बारबार दिमागमा दोहोरीरहने विगत र भविश्यका सबै प्रकारका नकारात्मक अति विचार तथा विषयहरुलाई वर्तमानमै भैरहेको भन्ने ठान्दछ, मस्तिष्कले त्यही अनुसारको नकारात्मक सन्देश तथा प्रभाव मन र शरीरमा पठाइरहन्छ र शरीरलाई त्यही अनुसारले काम गर्ने निर्देशन दिरहन्छ र शरीर, मन, भावना तथा चेतना त्यसै अनुरूप चल्न थाल्छन् । यसैकारण मानिस एकपटकको घटनाको पिडा बारबार झेलिरहन्छ र यही पिडाले उसलाई तनाव, चिन्ता हुदै अवसाद र विक्षिप्तताको अवस्थमा पुर्याउछ । यसरी बारबार दोहोरीरहने विचारबाट उत्पन्न हुने पिडा, तनाव, चिन्ता मानिसको मन तथा शरीरले लामो समयसम्म धान्न सक्दैन र बाध्य भएर मानिसले जीवनमा नकारात्मक कदम उठाउछ ।
भौतिक तथा स्थुल शरीरमा देखिने लक्षण तथा परिणामहरु
तनावबाट सिर्जित सुक्ष्म शरीरका लक्षणहरु विस्तारै स्थुल शरीरमा देखा पर्न थाल्छन् र परिणामरुवरुप बारबार टाउको दुखीरहनु; निद्रा राम्ररी नलाग्नु; भोक लागिरहनु तथा भोकै नलाग्नु; अपच, वान्ता, पेट दुख्नु, पेट खराव तथा गडबड हुनु; शरीर भारी हुनु, छाति भारी हुनु, घाँटी खसखसाउनुु, सुख्खा खोकी लाग्नु; शरीर तथा हात–गोडा झमझमाउनु तथा पोल्नु, हात–गोडाका मांसपेसि दुख्नु, हड्डी तथा जोर्नीहरु बज्नु तथा दुख्नु, काँध, मेरुदण्ड, करगं दुख्नु, आँखाको दृश्य धमिलिनु, एलिर्जी हुनु आदि तनावका भौतिक तथा स्थुल शरीरमा देखिने लक्षणहरु हुन् । स्ट्रेस हर्मोन(कोर्टिसोल, एडरनलिन)को अत्यधिक उत्पादनले शरीरका आन्तरीक अंगका गतिविधिहरुमा अझ गंभिर प्रकारको नकारात्मक प्रभाव पार्दछन् जस्तोकि मुटु ढुकढुक हुनु तथा मुटुको धड़कीना द बढ्नु; उच्च रक्तचाप हुनु; रगतमा चीनीको मात्रा बढनु; मस्तिष्कको स्मरण शक्ति घट्नु; यौन दुर्वलता, प्रजनन्मा दुर्वलता आउनु; फोक्सोका छिद्रहरु टालिनु र श्वास फेर्न गाह्रो हुनु तथा श्वास अड्किनु; घाँटीमा केही अड्के जस्तो लागिरहनु; मद्यपान तथा लागूपदार्थ सेवनको कुलतमा फस्दै जानु; शरीरको रोगसंग लड्ने क्षमतामा कमी आउनु; शरीरका अन्तरीक अंगहर- मुटु, कलेजो, फोक्सो, मृगौला, पाचन प्रक्रिया, सानो आन्द्रा, ठूलो आन्द्रा सबैतिर नकारात्मक प्रभाव पार्ने हुनाले यी अंगहरुका नियमित कामहरु असन्तुलित हुनु तथा अवरोध आउनु आदि हुन्छ । तनाव, चिन्ता तथा अवसादका कारण स्थुल शरीरमा देखिएका लक्षण सामान्यतया सुक्ष्म शरीरमा भए जस्तै अधिकांश अवस्थामा स्वास्थ्य जाँचका प्रतिवेदनहरुमा देखिदैनन् तर रोग तथा समस्याको असहजता, पिडा तथा अनुभूति सम्वन्धित व्यक्तिलाई भैरहन्छ ।
मनोकाइक तथा साइकोसोमाटीक विषयको अध्ययनले भन्छ, मानिसको शरीर र मनको एकआपसमा प्रत्यक्ष तथा गहिरो सम्वन्ध रहेको हुन्छ, मनको कारणले शरीरमा र शरीरको कारणले मनमा रोग लाग्दछ तथा समस्याहरु देखिन्छन्, यस्ता शरीर र मनका समस्या, विकार, अस्वस्थता तथा रोगहरु शरीररका चारवटै आयामहरु(स्थुल शरीर, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीर)मा र स्वास्थ्यका सातवटै आयामहरु(शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, प्राणिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, वौद्धिक स्वास्थ्य, आत्मिक स्वास्थ्य, परम स्वास्थ्य)मा तिब्रताकासाथ फैलिन्छन् र रोगको प्रभाव झनझन बढ्दै जान्छ । यदि कोही पनि व्यक्तिमा माथि उल्लेखित कुनैपनि एक वा बढि लक्षणहरु दुई हप्तासम्म लगातार देखिए भने तनाव, चिन्ता तथा अवसाद भएको संकेत हो, मनोचिकित्सक कहाँ देखाउनु र चिकित्सकको परामर्श अनुसार गर्नु आवश्यक हुन्छ अन्यथा यो समस्या अझ बढेर जाने तथा गंभिर हुने खतरा हुन्छ र त्यस्तो अवस्थाले मानिसको जीवनमा नसोचिएको परिणाम तथा समस्या ल्याउन पनि सक्छ । तनाव समयमै व्यवस्थापन गरिएन भने यो चिन्ता बन्दछ, चिन्ता बढ्दै गयो भने विषाद बन्न पुग्दछ, विषाद बढ्दै गयो भने यो शरीरका चारवटै आयामहरु र स्वास्थ्यका सातवटै आयामहरुमा फैलिन्छ र मानिसमा विविध प्रकारका विकारहरु देखिन थाल्छन् । मानिसका सबै प्रकारका गतिविधिहरु, सोच, विचार, आचरण, व्यवहारमा असन्तुलन देखिन्छ, सामान्य काम पनि गर्न सक्दैन, नकारात्मक, निराश, निरश, अशान्त, लोभ, इष्र्या, क्रोध, घृणा, असन्तुष्टी, अरुप्रति गुनासो गर्ने, अरुलाई मात्र दोषी देख्ने, वदलाको भावना राख्ने आदि समस्याहरु झनझन बढ्दै जान्छन् र यस्ता नकारात्मक व्यवहारहरु अन्ततः असन्तोष, भनाभैरी, वादविवाद, कुटपिट, हिंसा, हत्या, आत्महत्यासम्म पुग्न सक्छन् जसले व्यक्ति, परिवार, समाज, राष्ट्र, मानवीयता प्रकृति सबैलाई नकारात्मक प्रभाव पार्दछ र सबैतिरको उन्नती प्रगति रोकिदिन्छ । तर समयनै तनाव व्यवस्थापन गर्नेतर्फ लाग्यो भने तनावका नकारात्मक परिणामहरु घटाउन तथा हटाउन सकिन्छ र व्यक्तिको जीवनमा प्रगति ल्याउन सकिन्छ र परिवार, समाज राष्ट्र, मानवीयता तथा प्रकृतिको विकासमा योगदान पुर्याउन सकिन्छ ।
तनाव र शरीरको बनावट तथा मेकानिजम
नकारात्मक तनाव बढ्दै गयो भने यसले मानिसको शरीरका आन्तरीक तथा वाहिरी सबै अंगहरु, शरीरका ग्रन्थीहरु र मस्तिष्कका स्नायु प्रणालीहरुमा नकारात्मक रासायनिक परिवर्तनहरु ल्याइदिन्छ जसको प्रत्यक्ष नकरात्मक प्रभाव शरीर लगायत, मन, भावना, आत्मा अर्थात चेतनामा समेत पर्दछ र यही कारणले मानिसमा विविध प्रकारका शारीरीक तथा मानसिक समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखा पर्दछन् । आधूनिक मनोचिकित्सा विज्ञानका वैज्ञानिक खोजका तथ्यांकहरुका अनुसार मानिसको शरिरमा लाग्ने नब्बे प्रतिशत रोगहरु तनावकै कारण उत्पन्न हुने गर्दछन् । अधिक तनावले शरीरमा अत्यधिक मात्रामा तनाव ग्रन्थीरसहरु(स्ट्रेस हर्मोन्स–कोर्टिसोल, एडर्नलिन) उत्पन्न हुन्छन् । डर तथा भययुक्त तनावबाट बचाउकालागि सुरक्षाको आवश्यकता परेको अवस्थामा भिड्ने तथा भाग्ने(फाइट और फ्लाइट मोड) गनिविधिलाई थप बल प्रदान गर्न शरीरकालागि कोर्टिसोल हर्मोन अति आवश्यक हुन्छ तर समान्य अवस्थामा तनावका कारण शरीरमा अत्यधिक मात्रामा कोर्टीसोल हर्मोनको उत्पादन हुनु हानीकारक हुन्छ । समान्य अवस्थामा कोर्टिसोल हर्मोन सन्तुलित मात्रामा उत्पादन हुनु स्वस्थ शरीर, मन, भावना तथा चेतनाकालागि औषधी तथा पोषण सरह हुन्छ तर चाहिने भन्दा बढि उत्पादन भयो भने यो शरीरकालागि कडा विषको रुपमा परिणत हुन्छ ।
आधूनिक मनोचिकित्सा विज्ञानले गरेको वैज्ञानिक खोजका तथ्यांकहरुको निष्कर्ष अनुसार वर्तमान परिवेसमा मानिसका नकारात्मक सोच, विचार, आचार, व्यवहार, अनैतिकता तथा कर्तव्यनिष्ठता, जिम्मेदारी, उत्तरदायित्व बहनमा कमी र शारीरिक तथा मानसिक सबै प्रकारका समस्या, विकार, अस्वस्थता तथा रोगहरु आदि सबै मानिसमा नकारात्मक तनावले उत्पन्न गरेका स्ट्रेस हर्मोन्सको अत्यधिक उत्पादनको मात्रा शरीर तथा मनले धान्न नसकेको कारण भएको हो । शरीर तथा स्वास्थ्यका लागि स्ट्रेस हर्मोन्स मन्द विष हो, यसले शरीरका सबै अंगहरुका मांसपेसी तथा हड्डीका स–साना कोषिका तथा नशाहरु र सुक्ष्म शरीरका नाडीहरुलाई अल्झाउने, गाँठो पार्ने, सुकाउने, खुम्च्याउने, च्यात्ने, चुडाउने, नष्ट गर्ने गर्दछ र यसको परिणास्वरुप यी स–साना कोषिका, नशा तथा नाडीहरुमा एकआपसमा सम्वन्ध तथा सम्पर्क विच्छेदको अवस्था सिर्जना गर्दछ अर्थात एकआपसमा अन्तराल(ग्याप) बढाइदिन्छ र शरीरमा विविध प्रकारका साध्य, असाध्य अर्थात निको हुने तथा कहिल्यै निको नहुने धेरै प्रकारका जीवनभर रहीरहने उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्राल, क्यान्सर, अल्जाइमर्स, पार्किन्सन, सिजोफेनिया, डिप्रेसन जस्ता रोगहरु उत्पन्न गराउँछ । यसको एक मात्र स्थाइ उपचार सही किसिमले तनाव व्यवस्थापन तथा जीवन व्यवस्थापन गर्नु हो । जीवनको सही व्यवस्थापनका लागि अध्यात्म साधाना तथा योग साधना र आधुनिक मनोविज्ञानका वैज्ञानिक विधिहरु तथा पद्धतिहरु सबैका लगि अत्यन्तै उपयोगी र प्रभावकारी मानिदै आइएका छन्। bsirjana@gmail.com
छिट्टै
No comments:
Post a Comment