डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
चुनौती, समस्या, तनाव तथा चिन्ता मानिसको जीवनका अभिन्न अंग हुन् र हरेक मानिसको समृद्ध, सफल र शान्त जीवनका वास्तविक श्रोत हुन् । यिनको सही समाधान तथा उचित व्यवस्थापनबाट नै मानिसको जीवनमा चाहे जस्तो स्वास्थ्य, सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द हासिल हुन सक्छन् । भगवान श्रीकृष्णले भन्नु भएको छ, “मानिसको जन्म कर्मयोनी हो, कर्म गर्नु अनिवार्य छ ।” आफ्नो जीवनयापनका लागि नियमित कर्म गर्दै मानिस दुई प्रकारको जीवन जीउछ– (१)आन्तरीक जीवन, र (२)वाहिरी जीवन । आन्तरीक जीवन मानिसको व्यक्तित्वको गहिराइ हो जहाँ उ हरप्रकारले स्वतन्त्र हुुन्छ र वाहिरी जीवन मानिसको भौतिक संसारतिरको फैलावट हो, यो सतही हुन्छ जहाँ उ विविध प्रकारले बाँधिएको हुन्छ । यो प्राकृतिक नियम हो कि जीवन जिउने क्रममा हरेक मानिसको जीवनमा विविध प्रकारका आन्तरीक तथा वाहिरी चुनौती, समस्या, तनाव तथा चिन्ताहरु देखा पर्दछन् । आन्तरीक जीवनको गहिराईमा गहनता र स्वतन्त्रता हुनेहुनाले आन्तरीक जीवनमा देखापरेका चुनौती तथा समस्यायुक्त अवस्थाहरुको सही समाधान तथा उचित व्यवस्थापन सहजै गर्न सकिन्छ किनकी आफ्नालागि उपयुक्त प्रकारका निर्णयहरु लिन आन्तरीक रुपमा व्यक्ति पूर्णतः स्वतन्त्र हुन्छ । तर वाहिरी जीवनको फैलावट सतही र परनिर्भर हुनेहुनाले वाहिरी जीवनमा देखापर्ने चुनौती तथा समस्यायुक्त अवस्थाहरुको सही समाधान तथा उचित व्यवस्थापनका लागि उपयुक्त निर्णय लिन व्यक्ति स्वतन्त्र हुदैन अर्थात उसले चाहे अनुरुप परिस्थिति नहुनसक्छ । यस्ता चुनौती तथा समस्याहरुको समाधान गर्नकालागि हरेक मानिसले जीवन व्यवस्थापनका वैज्ञानिकतामा आधारीत अध्यात्म विज्ञान(जीवन दर्शन, जगत दर्शन), योग विज्ञान(योगासन, प्राणायाम, ध्यान) तथा आधूनिक मनोविज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुको सही सैद्धान्तिक ज्ञान तथा उचित प्रयोगात्मक अभ्यासहरुको अनुशरण गर्नु अपरिहार्य हुन्छ ।
द्रष्टव्यः लामो भएकोले यो लेख तीन खण्डमा प्रकाशन गरिनेछ, क्रमशः– (१)तनावको अर्थ तथा परिभाषा र प्रकार, (२)तनावको कारण, लक्षण र परिणाम, (३)तनाव व्यवस्थापनका वैज्ञानिक विधिहरु ।
(१)तनावको अर्थ तथा परिभाषा र प्रकार
हरेक मानिस आफू, आफ्नो परिस्थिति, परिवार, समुदाय, समाज सबैलाई सवल, सरल, सहज, सफल, समृद्ध, सुखी र शान्त बनाउन चाहन्छ किनकी हरेक मानिसले चाहे जुनसुकै माध्यमबाट होस उसले चाहेको र खोजेको जीवनमा स्वास्थ्य, सुख, खुशी, समृद्धि, शान्ति र आनन्द नै हो । जीवन जिउने क्रममा हरेक मानिसको जीवनमा विविध प्रकारका आन्तरीक तथा वाहिरी चुनौती तथा समस्याहरु आउछन् र समाधानका उपायहरु गरिन्छन् तथा खेजिन्छन् । यी मानव जीवनका स्वभाविक प्रक्रियाहरु हुन् र जीवन पर्यन्त चुनौती तथा समस्या आउने र तीनको सही समाधन तथा उचित व्वस्थापन गर्ने प्रक्रियाहरु चलिनै रहन्छन् । मानिसले जीवनमा आफूले आँटेका, चाहेका, इच्छ्याइएका उद्देश्य तथा लक्ष्यहरु हासिल गर्ने क्रममा आइपर्ने विविध प्रकारका चुनौती तथा समस्याहरु बेहोर्नु पर्दा तनावको अवस्था सिर्जना हुन्छ । जीवनमा आइपर्ने हरप्रकारका चुनौती तथा समस्याहरु समाधान गर्न सक्षम मानिस तुलनात्मक रुपमा तनावमुक्त हुन्छ भने चुनौती तथा समस्याहरु समाधान गर्न असक्षम मानिसले तनाव महसुस गर्छ । यस्ता मानिसको जीवनमा दोहोरो तनावको अवस्था सिर्जना हुन्छ, एउटा चुनौती तथा समस्याहरुको तनाव र अर्को तनावकै तनाव तथा तनाव व्यवस्थापन गर्न नसकेको तनाव । तनाव नै मानिसको जीवनमा देखापर्ने हरप्रकारका समस्या, विकारहरु(पंचक्लेश– अज्ञान, अहंकार, आशक्ति, द्वेष, भय) तथा अधिकांश प्रकारका रोगहरु(स्वास्थ्यका चारआयाम– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, चेतनात्मक स्वास्थ्यमा लाग्ने)को कारक हो । यस अर्थमा तनावको सरल बुझाइ, मानिसले जीवनमा आफूले चाहेका उद्देश्य र उद्देश्य हासिल गर्न तय गरेका लक्ष्यहरु हासिल गर्ने क्रममा जीवनका विभिन्न कालखण्डमा आइपरेका चुनौती तथा समस्याहरुको बोझ धान्न नसक्नु, तीनको सही समाधान तथा उचित व्यवस्थापन गर्ने क्षमतामा कमी हुनु नै तनाव हो । मानिसमा जीवनमा आएका चुनौती तथा समस्याहरुले सिर्जना गरेका परिस्थितिहरु धान्न सक्ने, सही समाधान तथा उचित व्यवस्थापन गर्न सक्ने आन्तरीक क्षमता जति कम हुन्छ त्यति नै मानिसको जीवनमा तनावको मात्रा तथा गहिराई, लक्षण र परिणाम बढि हुन्छ र यसको ठिक विपरीत मानिसमा जति तनाव धान्न सक्ने, सही समाधान तथा उचित व्यवस्थापन गर्न सक्ने आन्तरीक क्षमता बढि हुन्छ उतिनै मानिसको जीवनमा तनावको मात्रा तथा गहिराई, लक्षण र परिणाम कम हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानिसले दैनिक जीवनयापन गर्ने क्रममा आइपर्ने चुनौती तथा समस्याहरुको सही समाधान तथा उचित व्यवस्थापन हुन तथा गर्न नसकेका कारण वर्तमान विश्वमा सबै उमेर, वर्ग तथा लिंग समुहमा तनाव तिब्र गतिमा बढदै गइरहेको छ र तनावले विस्तारै महामारी(पेन्डामिक)को रुप लिदै गैरहेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुुसार अवको विश्वको मुख्य चुनौती तथा महामारी तनाव बन्दै गैरहेको छ र अवको केही दशकमा विश्वका ८० प्रतिशत मानिसहरु तनाव महामारीको शिकार हुनेछन् । सबै उमेर, वर्ग, लिंग तथा समुदायका मानिसहरुमा तनावको महामारी भित्रभित्रै भुषको आगोझैं सल्किदै गैरहेको छ र सबै प्रकारका नसर्ने, प्राणघातक रोगहरुको प्रमुख कारण तनाव नै बन्दै गैरहेको छ । आधूनिक मनोविज्ञानका पछिल्ला तथ्यांकहरुले मानिसका प्राय सबै प्रकारका चुनौती, समस्या, अव्यवस्था, विपन्नता, अस्वस्थता तथा रोग र शोकहरु ९० प्रतिशत तनावको कारणले आउनेगरेको देखाएका छन् । वर्तमान समयमा अव्यवस्थित तथा अस्वस्थकर आहार, विहार, व्यवहार तथा जीवनशैली अर्थात अति प्रसोधित तथा अखाद्य आहार, अपर्याप्त तथा असन्तुलित विहार तथा व्यायाम, अव्यवहारीक तथा असन्तुलित व्यवहार, सोच तथा विचारमा नकारात्मकता तथा अशुद्धता, असन्तोष, अस्वीकार, गुनासो, असन्तुलित जीवनयापन, अर्कोसंगको तुलना, प्रतिस्पर्धा, देखासेखी, खराव संगत, आधूनिक बन्ने होड, समृद्ध र प्रतिष्ठित बन्ने कामना, अति भौतिकवाद तथा सांसारीक जीवनप्रति आशक्ति तथा आन्तरीक जीवनका विकासप्रति अज्ञानता तथा उदाषिनताका कारण यूवाहरुमा तनावको स्थिति अझ भयावह अवस्थामा देखिन थालेको छ ।
यस्तो अवस्थाको एकमात्र प्रभावकारी समाधान मानिसको आन्तरीक तथा वाहिरी क्षमता विकास गर्नु हो तसर्थ हरेक मानिसले आफ्नो आन्तरीक र वाहिरी दुवै प्रकारका क्षमता बढाउने तर्फ विशेष ध्यान दिनु अति आवश्यक हुन्छ । पूर्वीय सनातन अध्यात्म विज्ञान मानिसको आन्तरीक र वाहिरी दुवै प्रकारका क्षमता विकास गर्न मद्धत गर्ने अत्यन्तै उपयोगी, प्रभावकारी र व्यवहारीक वैज्ञानिक विधि तथा पद्धतिहरुमा आधारीत साधनाको विज्ञान हो । अध्यात्म विज्ञानको महत्वपूर्ण विषय योग विज्ञान मानिसभित्रै आन्तरिक रुपमा अवस्थित तर उचित अवसर तथा उपयुक्त वातावरणको अभावमा दबेर तथा सुसुप्त अवस्थामा रहेका उसका जन्म–जन्मदेखिका प्रतिभा, क्षमता, सिर्जनशीलता, सकारात्मक गुणहरु वाहिरी जीवनमा प्रष्फुटीत गरि मानिसलाई वाहिर समृद्ध र भित्र शान्त तथा समग्रमा पूर्ण स्वस्थ, सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित बनाउने व्यवहारीक साधनाको विज्ञान हो ।
तनावका प्रकार
जीवनको अर्थ तथा परिभाषा सबैको नजर तथा भोगाइमा एकै प्रकारको हुदैन । हरेक मानिसले जीवनको अर्थ तथा परिभाषा व्यक्तिगत, पारिवारीक, सामाजिक मूल्य-मान्यताका आधारमा तय भएका तथा गरिएका आ–आफ्नो अवस्था, परिस्थिति, आफ्नो बुझाइ, भोगाई, अनुभव, अनुभूति र उसको मानसिकता तथा भावनामा छापिएको नक्शा अनुसार फरक–फरक किसिमले दिने गरेको पाइन्छ । समग्रमा भन्नुपर्दा मानिसको जन्म कर्मयोनी भएकोले जीवन निर्वाहकालागि कुनैनकुनै प्रकारका कर्म तथा क्रियाहरु गर्नु अपरिहार्य हुन्छ र कर्म तथा क्रियाहरु गर्ने क्रममा चुनौती तथा समस्याहरु आउनु स्वाभाविक हो । यस्ता चुनौती तथा समस्याहरुलाई मानिसले सहज तथा असहज, हलुका तथा गहन कुन प्रकारले लिन्छ तथा त्यसको सही समाधान तथा उचित व्यवस्थापनको कस्तो प्रक्रिया अपनाउछ त्यसै अनुसार उसको जीवनमा तनावको अवस्था, तनावको प्रकार, तनावको तोरा, गहिराइ, लक्षण र परिणाम प्रकट हुने गर्दछ । मोटामोटी रुपमा तनावलाई तीन प्रकारकामा विभाजन गरिएको छ–
(१)सकारात्मक तनाव– सकारात्मक तनावले मानिसलाई प्रगति, समृद्धि तथा सफलतातिर उन्मुख गर्दछ तथा लैजान्छ जस्तोकि अध्ययनको तनाव, पेशा तथा व्यवसायको तनाव तथा आफूले जीवनमा निश्चत उद्देश्य हासिल गर्न लिएका, लक्ष्य, अठोट, संकल्प आदिका कारण उसको जीवनमा आएका चुनौती तथा समस्याहरु सकारात्मक तनाव हुन् । यसर्थ मानिसको जीवनमा प्रगति तथा सफलता हासिल गर्न सकारात्मक तनाव आवश्यक हुन्छन् किनकी सकारात्मक तनावले मानिसको जीवनमा सकारात्मक लक्षण र परिणामहरु ल्याउदछन् ।
(२)तटस्थ तनाव– तटस्थ तनावले केही समयसम्म धेरथोर प्रभाव पार्दछन् तर केही समयपछि मानिसले यसका विषयहरु बिर्सिन्छ जस्तोकि टि.भी. श्रृंखला तथा चलचित्रहरु हेर्दा कथासंग वहनु, दुःखद समाचारहरु सुनेर भावुक हुनु, बाटोमा हिंड्दा अरुको दयनिय अवस्थाप्रति दुःखी हुनु र दया तथा करुणाको भाव जाग्नु आदि तटस्थ तनाव हुन् । तटस्थ तनावले मानिसलाई खासै नकारात्मक प्रभाव पार्दैनन् बरु उल्टै सकारात्मक प्रभावहरु छोडेर जान्छन् । तटस्थ तनावका घटना तथा विषयहरुबाट मानिसको ज्ञानको दायरामा बृद्धि हुन्छ, उसको मानसिकता तथा भावनात्मक विकास हुन्छ र यसले उसको जीवनमा परिपक्वता थप्दछ तथा ल्याउदछ ।
(३)नकारात्मक तनाव– नकारात्मक तनाव पिडादाई हुन्छन् यद्धपि पिडाको अनुभव तथा गहिराइ हरेक मानिसको आ–आफनो प्रकृतिमा निर्भर गर्दछ । हरेकव्यक्तिको आ–आफनै दृष्टिकोण हुन्छ र उ स्वतन्त्र हुन्छ चुनौती तथा समस्याका उतार-चढाउहरुलाई हल्का किसिमले लिनेकि तनावको रुपमा लिने, सकारात्मक तथा तटस्थ तनावका रुपमा लिनेकि नकारात्मक तनावका रुपमा लिने । अधिकांश अवस्थामा मानिसको जीवनमा नकारात्मक तनाव सिर्जना गर्ने कारणहरु शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक अस्वस्थता तथा रोग, खराव सम्वन्ध, विपन्नता, असफलता मानप्रतिष्ठामा कमी, मानसिक तथा भावनात्मक अशान्ति आदि अवस्थाहरु हुन् । नकारात्मक तनावले मानिसको उर्जाको तहमा ह्रास ल्याउछन् र उसलाई क्रमशः दुःख, पिडा, समस्या, अनिद्रा, रोग, शोक, असफलता, असन्तुष्टी, निराशा, चिन्ता, अवसाद, विक्षिप्तता हुदै अन्तत्वगत्वा जीवनलाई नै उधोगतितिर लैजान्छन् र विस्तारै मानिसको मानसिकता र भावनामा नकारात्मकता भरिदिन्छन् । नकारात्मक तनावमा रुमल्लिएको मानिसको सोच, विचार तथा व्यवहार पनि नकारात्मक प्रकारकै हुन्छ । दैनिक जीवनमा आइपर्ने हरेकजसो घटना तथा विषयहरुलाई नकारात्मक दृष्टिकोणले ग्रहण गर्नु, हेर्नु तथा विश्लेषण गर्नु; काम बिग्रीयो भने त्यसको दोष अरुमा देखेर बारबार अरुमाथि गुनासो र टोकसो मात्र गरिरहनु; जतिबेला पनि हिनतावोधले भरिनु; आफूलाई गाली गर्नु, कमजोर ठान्नु र आफुप्रति आत्मविश्वास नहुनु; आफ्नो क्षमतामा विश्वास नगर्नु; नयाँ काम गर्ने आँट तथा जोखिम लिने हिम्मत नहुनु, सबैतिरका सम्बन्धहरु विग्रदै जानु आदि नकारात्मक तनावका लक्षणहरु हुन् ।
मानिसले नकारात्मक तनावलाई सहज तरिकाले लिन र तिनको सही समाधान तथा उचित व्यवस्थापन गर्न सक्यो तथा जान्यो र त्यस्ता तनावहरुमा पिडा तथा असफलताको साटो अवसर देख्न सक्यो भने तिनै नकारात्मक तनावहरु मानिसको जीवनमा सकारात्मक तनावको रुपमा परिणत हुन सक्दछन् र उसको जीवनमा स्वास्थ्य, सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दको अवस्था ल्याउन सक्छन् । तर सहज तरिकाले लिन सकेन तथा जानेन, सही समाधान तथा उचित व्यवस्थापन गर्न सकेन तथा जानेन र त्यसमा अवसर देख्न सकेन, त्यसलाई अनावश्यक चुनौती तथा समस्या, पिडा तथा असफलताको रुपमा नै लियो, त्यसबाट बोझ तथा पिडा महसुस गर्यो भने त्यही तनाव मानिसको जीवनमा नकारात्मक तनाव बन्दछ र उसको जीवनमा यही तनाव दुःख, पिडा, समस्या, निराशा, अनिद्रा, रोग, शोक, चिन्ता, विछिप्तता, अवसाद, घृणा, हिंसा, हत्या, आत्महत्याको रुपमा प्रकट हुन्छ र अन्ततः नकारात्मक तनावले मानिसको जीवन नर्कतुल्य बनाइदिन्छ ।
जीवन र तनावका प्रकार विचको अन्तरसम्वन्ध
जीवनमा आइपर्ने यस्ता चुनौती, समस्या तथा तनावहरुलाई मानिसले आफ्नो आन्तरीक मनोदशा तथा भावदशाको अवस्था अनुसार लिने तथा हेर्ने गर्दछ र चुनौती, समस्या तथा तनावप्रति त्यही अनुसारको व्यवहार प्रस्तुत गर्दछ । मानिसको आन्तरीक मनोदशा तथा भावदशा सवल, विकसित तथा क्षमतावान छ भने उसले चुनौती, समस्या तथा तनावलाई अवसर तथा सफलतामा बदल्न सक्छ तर यसको विपरीत उसको आन्तरीक मनोदशा तथा भावदशाक दुर्वल, अविकसित तथा क्षमताहिन छ भने उ तीनै चुनौती, समस्या तथा तनावहरुको बोझमा थिचिदै तथा भासिदै जान्छ र जीवनमा हरप्रकारले असफल मानिस बन्नपुग्छ । मानिसको आन्तरीक मनोदशा तथा भावदशाको अवस्था सवल तथा दुर्वल, विकसित तथा अविकसित र क्षमतावान तथा क्षमताहिन हुनुमा विविध प्रकारका विषय तथा अवस्थाहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव रहेको हुन्छ अर्थात यो अवस्था विविध विषय र परिस्थितिहरुमा निर्भर गर्दछ । पूर्वीय सनातन अध्यात्म दर्शनमा उल्लेख गरिए अनुसार, मानिसको जीवनको पहिलो तेत्तीस प्रतिशत अवस्था तथा परिस्थितिहरु उसको वर्तमान परिवार, समाज, राष्ट्र तथा प्रकृतिको परिवेसमा निर्भर गर्दछन्; दोस्रो तेत्तीस प्रतिशत अवस्था तथा परिस्थितिहरु उसको वर्तमान साथीसंगत, जीवनशैली, संस्कार तथा व्यवहारमा निर्भर गर्दछन्; र तेस्रो तेत्तीस प्रतिशत अवस्था तथा परिस्थितिहरु उसको जन्म–जन्मका संचित तथा प्रारब्ध कर्म तथा पूर्वजन्म संस्कारहरु तथा उसको भाग्यमा निर्भर गर्दछन् । मानिस आन्तरीक रुपमा सवल, सक्षम, उर्जावान, क्षमतावान र भाग्यवान छ भने उसले जीवनका तनाव, समस्या तथा चुनौतीहरुलाई अवसर, अवसरलाई प्रगति तथा समृद्धि र प्रगति तथा समृद्धिलाई सफलतामा बदल्न सक्दछ तर आन्तरीक रुपमा दुर्वल, असक्षम, उर्जाविहिन तथा क्षमताविहिन छ भने उसले तनाव, समस्या तथा चुनौतीहरुलाई समस्या, बोझ र पिडाको रुपमा देख्दछ र तिनै समस्याहरुसंग जीवनभरी जुधिरहन्छ, संघर्ष गरिरहन्छ, आफैंले आफैंलाई असफलतातिर लैजान्छ र असन्तुष्टी तथा गुनासोले भरिएको घिसिपिटी जीवन जिउँछ ।
मानिसका प्रकार
मानसिकता तथा भावनात्मकताका आधारमा आम मानिसहरुलाई मोटामोटी रूपमा तीन प्रकारमा विभाजन गरिएको छ–
(१)जीवनलाई चुनौती तथा संघर्षको रुपमा लिने– आन्तरीक र वाहिरी रुपमा दुर्वल, असक्षम, उर्जाविहिन तथा क्षमताविहिन मानिसहरु अर्थात समग्रमा सही प्रकारले जीवन जिउन नजान्ने मानिसहरुले जीवनलाई चुनौती तथा संघर्षको रुपमा बुझ्दछन् र त्यसैअनुसार पट्यारलाग्लो ढंगले जीवन निर्वाह गर्दछन् र संधै मलाई दुःख छ, गाह्रो छ, मसंग केही छैन, म विपन्न छु, मलाई कसैले वास्ता गर्दैन, सहयोग गर्दैन, महत्व दिदैन, मानसम्मान गर्दैन भन्ने नकारात्मक भावले भरिइरहन्छ र आफ्नो दुःखको कारण अरुमा देखिरहन्छ ।
(२)जीवनलाई रंगमञ्च, अवसर, उत्सव तथा साहसिक यात्राको रुपमा लिने– आन्तरीक र वाहिरी रुपमा सवल, सक्षम, उर्जावान तथा क्षमतावान मानिसहरु अर्थात समग्रमा सही प्रकारले जीवन जिउन जान्ने मानिसहरुले जीवनलाई रंगमञ्च, अवसर, उत्सव तथा साहसिक यात्राको रुपमा लिने तथा बुझ्ने गर्दछन् । जीवन जिउने क्रममा आइपर्ने तनाव तथा चुनौतीहरुमा अवसर देख्ने र तिनलाई सफलतामा बदल्न सक्ने सक्षम मानिसहरु खुशीयालीले भरिएको उत्साप्रद जीवनयापन गर्दछन् र अरुलाई पनि प्रत्यक्ष तथाअप्रत्यक्ष रुपमा जीवनलाई रंगमञच, अवसर, उत्सव तथा साहसिक यात्रा बनाउने प्रेरणा प्रदान गर्दछन् ।
(३)मानव जन्म तथा जीवनलाई इश्वरको असीम कृपाको रुपमा लिने– भगवान श्रीकृष्णले भन्नुभएको छ, “मनुष्य योनीमा जन्म तिनुको आत्यन्तिक उद्देश्य मोक्ष हासिल गर्नकालागि तथा परमात्मामा सदाकालागि योगस्थ हुनकालागि हो ।” सतप्रतिशत विज्ञानमा आधारीत सनातन अध्यात्म दर्शन, जीवन दर्शन, जीवन व्यवस्थापनको विज्ञान, जीवन जिउने कलाको विज्ञान बुझेका, जीवनमा तनाव व्यवस्थापन गर्न जानेका र अति भौतिकवादको सांसारीक भोगको आशक्तता तथा भोग र रोगको जीवनबाट अछुत रहेका सक्षम, सवल, उर्जावान तथा ज्ञानवान योगी, सन्त, सन्यासी, वितरागी, जीवन र जगतप्रति सम्मक दृष्टिकोण भएका मानिसहरुले मात्र मानव जन्म तथा मानव जीवनलाई इश्वरको असीम कृपाको रुपमा लिने तथा ग्रहण गर्ने गर्दछन् र देरसवेर आफैंतिर फर्किएर अन्तरयात्राको माध्यमबाट जीवनमा आन्तरिक तथा वाहिरी विकास गरि सांसारिक मोक्षका साथसाथ अन्ततः जीवनमा कहिल्यै नहराउने आन्तरीक शान्ति, आनन्द, परमआनन्दको प्राप्ति गरि पारमार्थिक मोक्षको खोजी गरि सदाकालागि परमात्मामा एकाकार भएर आफ्नो जीवनलाई अर्थपूर्ण तथा परमधन्य बनाउछन् ।
भनिन्छ समले समलाई आकर्षित गर्छ(लाइक अट्रक्टस् लाइक) । आकर्षणको यही प्राकिृतिक सिद्धान्त तथा नियम अनुसार जीवनलाई चुनौती, समस्या तथा संघर्ष मान्ने मानिसहरुको जीवनमा अझ बढि चुनौती, समस्या तथा संघर्ष थपिन्छ र जीवन अझ तनावग्रस्त हुदैजान्छ किनकी यस्ता मानिसहरु हरदम मानसिक तथा भावनात्मक रुपमा आफू र आफ्नो वरिपरि नकारात्मक सोच, विचार, भाव भएका विषयहरु खेलाइरहन्छन् र यस्ता नकारात्मक विचार तथा भावका उर्जा तरंगहरु प्रकृति तथा ब्रम्हाण्डमा पठाइरहन्छन् । आकर्षणको नियम अनुसार आफूले प्रकृति तथा व्रम्हाण्डमा जस्ता प्रकारका उर्जा तरंगहरु पठायो प्रकृति तथा ब्रम्हाण्डबाट पनि त्यस्तै प्रकारका नकारात्मक सोच, विचार, भावका उर्जा तरंगहरु आकर्षित आफूतिर आकर्षित हुन्छन् र यसो हुनु स्वाभविक हो किनकी संघर्ष गर्नु भनेको लडाइ गर्नु हो र स्वाभावैले जीवनसंग लडाइ गर्ने लडाकुहरु वौद्धिक क्षमताका दृष्टिकोणले जीवनलाई रंगमञ्च, अवसर, उत्सव, साहसिक यात्रा तथा इश्वरको असीम कृपा तथा वरदान मान्ने मानिसहरुको तुलनामा कमजोर, निवाल तथा क्षमताविहिन हुन्छन् र उनीहरुको मानसिकता तथा भावनामा नकारात्मक सोच, विचार, भावका उर्जा तरंगहरुनै चलिरहन्छन् र त्यस्तै उर्जा तरंगहरु आफ्नो वरपिरि तथा जीवनमा आकर्षित गरिरहन्छन् र संधै दुःखी तथा पिडित भैरहन्छन् आफ्नै कारण।
यो लेखको मूल आशय पाठकहरुलाई अध्यात्म विज्ञानका सतप्रतिशत वैज्ञानिक प्रयोगबाट प्रमाणित विधि तथा पद्धतिहरुमा आधारीत जीवन व्यवस्थापन गर्ने कलाको ज्ञान लिन उत्प्रेरित गर्नु हो । तपाईले आफ्नो जीवनलाई कसरी परिभाषित गरिरहनु भएको छ ? यदि जीवनलाई चुनौती, समस्या तथा संघर्षका रुपमा परिभाषित गरिरहनु भएको छ, यसरुपमा लिराख्नु भएको तथा बुझिराख्नु भएको छ भने अध्यात्म विज्ञानका वैज्ञानकि विधि तथा पद्धतिहरुमा आधारीत अत्यन्तै महत्वपूर्ण विषय योग साधना(योगासन, प्राणायाम, ध्यानका प्रत्यक्ष प्रयोगात्मक अभ्यासका माध्यमबाट प्रशिक्षित गराइने ‘जीवन व्यवस्थापन गर्ने कला’को ज्ञान लिनुहोस्, तपाईकालागि यो अति आवश्यक छ किनकी जीवन व्यवस्थापन भएपछि मात्र जीवनको तनाव व्यवस्थापन हुन्छ किनकी व्यवस्थित जीवनमा तनाव आउदै आउदैन आएपनि स्वतः आफैं व्यवस्थित हुदै जान्छ र जीवन रंगमञ्च, अवसर, उत्सव, साहसिक यात्रा तथा इश्वरको असीम वरदान तथा कृपा बन्दछ । यहीनै हो सनातन अध्यात्म दर्शनले परिभाषित गर्दै आएको पूर्णताले भरिएको स्वस्थ, सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित जीवन र वास्तविक मुक्ति, मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन) । जीवन रंगमञ्च, अवसर, उत्सव, साहसिक यात्रा तथा इश्वरको वरदान हो भन्ने समझ आएपछि मात्र जीवनको अर्को अत्यन्तै महत्वपूर्ण पाटो परालौकिक पूर्णता अर्थात मोक्ष हासिल गर्ने तथा परमात्मामा एकाकार हुने बाटो खुल्छ ।
यूवाहरुको तनावमुक्त जीवनशैलीकालागि अध्यात्म विज्ञान
अध्यात्म विज्ञान मानिसको वाहिरी जीवनसंग कम र आन्तरीक जीवनसंग ज्यादा सन्वन्ध राख्ने सैद्धान्तिक ज्ञान तथा प्रयोगात्मक अभ्यास गर्ने प्रत्यक्ष वैज्ञानिक साधनाको विज्ञान हो । साथै अहिलेसम्मका प्राचीन तथा अत्याधुनिक मूल्य-मान्यताहरूका अनुसार 'अध्यात्म विज्ञान' विज्ञानहरुको पनि विज्ञान महाविज्ञान हो किनकी आधुनिक भौतिक विज्ञानको पछिल्लो तथा सबैभन्दा प्रभावशाली अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स) जीवन र जगत(ब्रम्ह र ब्रम्हाण्ड)लाई खोज्दै तथा खोतल्दै हजारौं, दशकौं वर्षअघि सनातन अध्यात्म विज्ञानले स्थापित गरेकै मूल्य-मान्यतामा तथा तथ्यहरुमा पुगेर अडिएको छ र सबै कुरा स्वीकार गरेको छ । मानिसले अध्यात्म विज्ञानको साधनाको माध्यमबाट आफैंभित्रको अन्तरयात्रा गरि आफूलाई बुझेर, आफ्ना नैसर्गीक प्रकृति, क्षमता, प्रतिभा, सिर्जनशिलता, सकारात्मक गुणहरु चिन्नुका साथसाथ आत्मज्ञान तथा आत्मवोध हासिल गरि जीवनमा पंचप्रगति(पूर्ण स्वास्थ्य, सुमधूर सम्वन्ध, उन्नत समृद्धि, अमर मानप्रतिष्ठा, परम शान्ति) हासिल गर्न सक्दछ । यसकासाथै निष्ठापूर्वक निरन्तरको आध्यात्मिक साधनाबाट ब्रम्हज्ञान प्राप्त गरेर मानिसले जीवनमा पूर्णता तथा मोक्ष हासिल गरि आफूलाई श्रेष्ठआत्मा अर्थात परमात्मा(सुपर कन्ससनेस)मा स्थित गराइ जन्म–मृत्युको दुःखदायि चक्रबाट सदाकालागि मुक्ति तथा मोक्ष प्राप्त गर्न सक्दछ । तर अध्यात्म विज्ञानको पर्याप्त सैद्धान्तिक तथा व्यवहारीक ज्ञानको अभाव र उत्तर–आधूनिक(मोर्डन, पोष्ट मोर्डन र पोष्ट-पोष्ट मोर्डन) जीवनशैली तथा अति भौतिकवादका कारण आजको मानिस वाहिरको जीवनमा बढि फैलिदै गइरहेको छ र आन्तरीक जीवनको गहिराइमा आवश्यकता अनुसार डुव्न सकिरहेको छैन, आफैंबाट विमुख तथा वियोग हुदै गैरहेको छ, संसारमा हराउँदै गरहेको छ, उसको जीवनमा समाधान भन्दा समस्या तथा चुनौतीहरुको अवस्था बढि देखिदै आएको छ र विस्तारै यिनै समस्या तथा चुनौतीहरु उसको जीवनका रोग, शोक, चिन्ता, अवसाद(डिप्रेसन), फसाद, नैराश्यता, घृणा, हिंसा, हत्या, आत्महत्याका रुपमा प्रकट हुदै आइरहेका छन् र यी सबैको समष्टी सम्वोधन 'तनाव' हो । विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रक्षेपण अनुसार अवको विश्वको मुख्य चुनौती तनाव र यसबाट सिर्जत शारीरिक, मानसिक, भावनात्मक तथा चेतनात्मक समस्या तथा रोगहरुको महामारी हो । यसरी महामारीको स्वरुप लिदै गैरहेको तनावको सही समाधना तथा उचित व्यवस्थापन गर्नसक्ने एकमात्र साधन तथा उपाय अध्यात्म साधना तथा योग साधना हो । पछिल्लो समयमा अध्यात्म विज्ञान तथा योग विज्ञानको महत्व तथा व्यवहारिक प्रभावकारीतालाई बुझेर यसउपर मध्यनजर गर्दै विश्वको छाता संगठन संयुक्त राष्ट्रसंघले विश्वभरिका सबै मानिसहरुले अध्यात्म तथा योगका प्रभावकारी ज्ञान तथा अभ्यासहरूको समान लाभ लिएर तनावमुक्त जीवनयापन गर्न सकुन भन्ने विराट उद्देश्य राखेर विश्व योग दिवस(जुन २१) र विश्व ध्यान दिवस(डिसेबर २१)को घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघले आत्मसाथ गरेको यो अत्यन्तै सह्रानिय पहललाई विश्वसामु पुर्याउन आवश्यक पहल गर्नु हामी सबैको परमदायित्व बनेको छ खासगरि सनातन अध्यात्म दर्शन, जीवन दर्शन तथा योग विज्ञानको विरासत बोकेका विश्वका दक्षिण एशियाली राष्ट्रहरुले यो सर्वकल्याण भावको पुण्य कार्यको अभियानलाई द्रुतगतिमा अगाडि बढाउन अत्यन्तै अपरिहार्य र नगरी नहुने कार्यको रुपमा लिनुपर्ने समय हामी सबैको सामु आएको छ । bsirjana@gmail.com
छिट्टै
(२)तनावको कारण, लक्षण र परिणाम
No comments:
Post a Comment