'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Saturday, 11 October 2025

आध्यात्मिक साहित्य: ‘कर्म’, ‘प्रारब्ध’ तथा ‘भाग्य’

 लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन



कथा

‘...कृष्ण–कृष्ण भजौं कृष्ण, राधे–राधे कृष्ण–कृष्ण...’

भाद्र महिना, श्रीकृष्ण जन्माष्टमीको पावन पर्वको दिन थियो । साँझमा हामी परिवारका सबै सदस्यहरु घरमा भेला भएका थियौं । घरका जेष्ठ सदस्यहरुले जन्माष्टमीको व्रत लिनु भएको थियो, मध्यरातमा जन्माष्टमीको पूजा गर्ने र त्यतिन्जेल भगवान श्रीकृष्णको भजन–किर्तन गाउने भनेर साँझको घरधन्दा सकेर हामी सबै तयारी अवस्थामा थियौं । आफू अत्यन्तै संगीत प्रेमी भएकोले, पियानोमा भजन गाउन तथा बजाउन अत्यन्तै आनन्द लाग्छ मलाई त्यसैले पहिलो नम्बरमै मेरो पालो आएको थियो, मैले भगवान श्रीकृष्णको जुनकुनै भजन बजाउनु पर्नेथियो पियानोमा । मैले ‘...कृष्ण–कृष्ण भजौं कृष्ण, राधे–राधे कृष्ण–कृष्ण...’ देवी राधारानीको श्रीकृष्णप्रतिको गहिरो प्रेम तथा भक्तिभावले भरिएको भजन गाउदै पियानो बजाएं, सबैजना मन्त्रमुग्ध भएर सुन्नुभयो । मलाई सानैदेखि नै गीत–संगीत, भजन–किर्तन, धर्म–संस्कृति, कविता–कथा, संस्कार–परम्परा, कला–साहित्यबारे जान्न, अध्ययन गर्न, भावमा डुव्न, त्यसमै हराउन असाध्यै मनपर्छ या भनौं कला–साहित्यप्रति अलि बढिनै झुकाव रहदै आएको छ मेरो । सानैदेखि भगवान श्रीकृष्णको कथा सुन्दै आइरहेको थिएं घरका जेष्ठ सदस्यहरुबाट तर राम्ररी बुझ्दिनथें म । भगवान भनेको के हो पनि थाहा थिएन तरपनि घरकै बारबारको सिकाइले मेरो मन, मस्तिष्क, हृदयमा एक प्रकारको छाप बनिसकेको थियो भगवान र धर्म–संस्कृतिका विषयहरुप्रति । हुर्कदै जाने क्रममा जव भगवान श्रीकृष्णको कथा केही बुझ्न थालें तव मैले वहाँको जीवनको वास्तविकतालाई अझ राम्ररी बुझ्न तथा आफ्नो मनमा उतार्न वहाँको जन्म र जीवन कथालाई स्वर सम्राट नारायण गोपालको कालजयि गीत, ‘...जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको...’ र यस गीतको भाव र चरितार्थ तथा चित्रार्थसंग जोडें वहाँका जन्म दिने र कर्म दिने माताहरु फरक-फरक हुनु भएकोले । यसपश्चात जव श्रीकृष्ण प्रभु यादमा आउनु हुन्छ यो गीत पनि मेरो मानसपटलमा संगै आइहाल्छ र जव यो गीत सुन्छु श्रीकृष्ण प्रभु स्मरणमा आइहाल्नु हुन्छ । यो गीत सुन्दै गर्दा म सोचमग्न हुन्थें, अचम्म लाग्थ्यो मलाई कि भगवानको पनि भाग्य, नियति, प्रारब्ध तथा कर्मको लेखा हुदोरहेछ भनेर र मनमनै आफैंसंग सवाल गर्थें त्यसोभए किन सर्वशक्तिमान, सर्वव्यापक भनेको होला त भनेर ! 

हुन त भन्ने गरिन्छ कि धार्मिक कथाहरु काल्पनिक हुन्छन् र विम्वकालागि रचना गरिएका हुन्छन् मनुष्यहरुलाई बुझ्न र आफ्नो जीवनमा अनुशरण गर्न सहज होस् भनेर तर वर्तमान समयमा धार्मिक तथा आध्यात्मिक पुरातात्विक सामग्रीहरुले आज भन्दा ५००० वर्षअघि श्रीकृष्ण प्रभु भौतिक अस्तित्वमा हुनुहुन्थ्यो भन्ने प्रामाणिक तथ्यहरु रहेको बताउदै आइएको पाइन्छ । वहाँ पनि हामी मनुष्यहरु जसैगरि जीवन यापन गर्नुहुन्थ्यो; विभिन्न भूगोल र प्रकृतिमा विचरण गर्नुहुन्थ्यो; नेपालको कालीगण्डकी क्षेत्रमा पनि तीर्थाटनमा आउनु भएको थियो; वहाँको पनि परिवार, समाज, राज्य, आफ्नै प्रकारको जीवनशैली थियो, वहाँ योद्धा हुनुहुन्थ्यो, द्वापर युगमा पाण्डव र कौरवका विचमा भएको महाभारतको महायुद्धमा अहम भूमिका निर्वाह गर्नुभएको थियो; युद्धकै रणभूमिमा सनातन वेदको सार, ग्रन्थहरुको पनि ग्रन्थ, सनातनीहरुको मूल ग्रन्थ श्रीमद् भगवद् गीताको प्रतिपादन गर्नु भएको थियो र सनातन अध्यात्म दर्शनका मूल शास्त्रहरुमा व्याख्या गरिए अनुसार सबैभन्दा ठुलो रहस्य वहाँ त्रीदेव ब्रम्हा–विष्णु–महेश मध्य एक भगवान श्रीहरी विष्णुका आठौं अवतार हुनुहुन्थ्यो; मनुष्य स्वरुपमा आमाको गर्भबाट प्राकृतिक जन्म लिएर यस धर्तीमा अवतरित हुनुभएको थियो । हाम्रो घरपरिवारमा शास्त्री पुरोहितहरुको संख्या उल्लेख्य रहेकोले समय–समयमा धार्मिक अनुष्ठानहरु, व्रत, तीर्थ, कथा वाचनहरु प्राय भैरहन्थे, परिवारका सबैको मुखमा, लवजमा, व्यवहारमा भगवानका नामजप, मन्त्रोच्चाहरण, मालाजप जस्ता गतिविधिहरु निरन्तर देख्दै, सुन्दै र आफूले पनि अनुशरण गर्दै हुर्केको अत्यन्तै सामान्य व्यक्ति हुँ म । यस्तो माहोलमा परिवारका जेष्ठ सदस्यको मुखबाट धर्म तथा अध्यात्मका ज्ञान तथा विज्ञानहरु सुनिरहन्थें म । प्राय खुशी तथा रमाइलो माहोलमा र दुःख परेको तथा विपद आइपरेको समयमा धर्म तथा अध्यात्मका ज्ञान गंगाहरु प्रष्फुटित भैरहन्थे अग्रजहरुको मुखारविन्दबाट । एकपटक बुवाको फुपू स्वर्गीय हजूरदिदीले आफ्नै छोरी भिरबाट खसेर बित्नु भन्नुभएको दु:खद वेदनामा आफ्नी नातिनीलाई राहत दिलाउन रुदै भन्नुभएको थियो, 

“हेर बा, सर्वशक्तिमान र सर्वव्यापि प्रभुहरु भगवान श्रीशिवले त आफ्नी प्राणप्यारी सतीको वियोगमा विक्षिप्त जीवन बेहोर्नु पर्यो । भगवान श्रीरामले त राज्य छोडेर वनवास जानुपर्यो, दैत्यको आक्रमण सहनुपर्यो, आफ्नी प्राणप्यारी सिताको हरण र वियोग बेहोर्नु पर्यो । भगवान श्रीकृष्णले पनि जन्म दिने आमाको काख र आफ्नी प्राणप्यारी राधाको साथ पाउनु भएन, भाग्य, नियति तथा प्रारब्धको कहर वहाँहरुले त झेल्नु पर्यो भने हामी जावा मनुष्यको त झन के कुरा भयो र, हाम्रो त के नै हैसियत छ र बाइ... ! सबैले आ–आफ्नो कर्मको फल भोग्नै पर्छ, सबैको जीवनमा आफूले गरेका जन्म–जन्मका असल र खराव सबै कर्महरुको परिणाम प्रारब्ध तथा भाग्य भएर आउछनै, त्यसबाट बच्ने कुनै उपाय छैन र आजसम्म कोही बच्न सकेका पनि छैनन्, मनुष्य स्वरुपमा अवतार लिएर धर्तीमा आउनु भएका भगवानहरु स्वयं पनि बच्न सक्नु भएको छैन... ! तेरी आमाको प्रारब्ध कर्ममा पनि यस्तै लेखिएको थियो होला, भो नरो, आँशुले दिबंगत आत्माको बाटो रोक्छ भन्छन्.... !!”

त्यतिबेलासम्म मैले ‘भगवान’ भनेको धेरै शक्ति भएको र आफूले चाहे अनुसार जे पनि गर्न सक्ने सर्वशक्तिमान अवतार मनुष्य भनेर मात्र बुझेको थिएं र ‘कर्म’ भनेको आफ्ना हातगोडाले गरेका काम तथा गतिविधिहरु भन्ने मात्र बुझेको थिएं । हजूरदिदीले नै सिकाउनु भएको थियो कि असल कर्म भनेको अरुलाई नरुवाउनु तथा खुशी बनाउनु हो र असल कर्महरुको आर्शिवाद लाग्छ, पुण्य मिल्छ । खराव कर्म भनेको अरुलाई रुवाउनु तथा दुःख दिनु हो र खराव कर्महरुको आँशु तथा श्राप लाग्छ त्यसैले हामी सबैले संधै असल कर्म मात्र गर्नुपर्छ । अज्ञानका कारण अन्जानमा तथा भूलवस खराव कर्म भयो भने आफ्नो कारणले दुःख पाएको मान्छेसंग र भगवानसंग क्षमा माग्नुपर्छ । मैले भगवान र कर्मको बारेमा यति जानेको थिएं तर ‘भाग्य’ र ‘प्रारब्ध’ भन्ने शव्द सुनेको मात्र थिएं, तिनको शाव्दिक अर्थ र भावार्थ पटक्कै थाहा थिएन मलाई । त्यतिबेला हजूरदिदीलाई सोधुंकी जस्तो लागेको थियो तर घरमा शोकको माहोल भएकोले सोध्ने हिम्मत भएन । त्यसबेला म दश कक्षामा अध्ययनरत थिएं, विद्यालय जाने आउने, घरको कामगर्ने, गृहकार्य गर्ने र प्रवेशिका परिक्षाको तयारीमा व्यस्तताकासाथ दिनहरु बितिरहेका थिए तर भित्र मनमा चाहिं थियो म कुनै दिन हजूरदिदीबाट भाग्य र प्रारब्धबारे जानेरै छाड्छु भन्ने, यही सोच्दै म आफ्नो काममा लागें । केही महिना बिते, विद्यालयमा कक्षाहरु लागिरहेका थिए, म विद्यालय गैरहेको थिएं, चौथो घण्टीमा नेपाली विषय पढाइ हुन्थ्यो, विषयसूची अनुसार त्यसदिन निवन्ध लेख्नुपर्ने दिन थियो, काफ्ले गुरु आउनु भयो, १० मिनेट जति निवन्ध कसरी लेख्ने भन्ने सन्दर्भमा मनुष्यको शिर–शरीर–पाउ अर्थात हेड–बडी–टेलको उपमा दिदै सबैभन्दा माथि अर्थात शिरमा यस्तो बेहोरामा, त्यसपछि विचमा अर्थात शरीरमा यस्तो बेहोरामा र पुछार अर्थात पाउमा यस्तो बेहोरामा लेख्नुपर्छ भनेर विषय अनुसारको ढाँचामा लेख्न सिकाउनु भयो । लेख्ने विषय तथा शिर्षक हामी आफूले रोज्न पाउदैनथ्यौं, वहाँले नै सानो कागजको टुक्रामा लेखेर पोको पारेर हामीलाई नै झिक्न लगाउनु हुन्थ्यो चिठ्ठा जसरी । मेरो पालोमा मैले पोको पारेर प्लेटमा राखेको कागजको टुक्रा उठाएं, खोलेर हेरें, मेरो भागमा परेको निवन्धको शिर्षक थियो ‘भाग्य’ । 

यो शिर्षक देखेर म शुरुमा मनमनमा मुस्कुराएं र तुरुन्तै मेरो मन, मस्तिष्कमा हजूरदिदीको स्मरण आयो किनकी मलाई भाग्यबारे केहीपनि जानकारी थिएन र म वहाँबाट यसबारे विस्तृत ज्ञान लिनेछु र राम्रो निवन्ध लेख्नेछु भन्ने अठोट गरें । गुरुले आफू–आफूलाई परेको शिर्षकबारे एक वाक्यमा सबैले बोल्ने र निवन्धको अर्को कक्षामा १००० शव्दमा यो विषयबारे सक्दो खोजेर निवन्ध लेखेर ल्याउने भन्नु भयो । म अगाडिको बेन्चमा भएकोले आफ्नो भागमा परेको शिर्षकमा बोल्ने पहिलो पालो मेरोनै आयो । भाग्य शव्द सुन्दै आएको भएपनि यसको वास्तविक भावार्थ थाहा नभएको कारण म बोल्न अकमाएं तर बोल्नुनै पर्ने थियो जे बोलेपनि, छेउकी साथी कल्पनाले मेरो अन्योलको अवस्था बुझि र उसले मलाई चिट चोराई गुरुबाट लुकाएर उसको आफ्नो कापिको पानामा लेखिदिएर, 

“भोलि के हुन्छ भन्ने थाहा नहुने अनिश्चित कुरा भाग्य हो र सबैले आ–आफ्नो भाग्यमा भावीले लेखिदिएको कुरा भोग्नैपर्छ... ।” 

मैले हुबहु त्यही पढेर गुरुलाई सुनाएं, गुरुले राम्रो भाव, स्यावास भन्नु भयो, म दंग परें र मनमनमा सोचें, ए भाग्य भनेको अनिश्चित कुरा पो रहेछ तर यो ‘भावी’ भनेको चाहिं को हो फेरी भन्ने अर्को सवाल मनमा उठ्यो । भरे हजूरदिदीलाई सोधेर भाग्य, भावी र प्रारब्धबारे पनि पूरा जानकारी लिन्छु भन्ठाने मनमनमा । तीनजना साथीहरु बोलिसकेपछि मलाई चिट चोराउने साथी कल्पनाको बोल्ने पालो आयो, उसको भागमा परेको शिर्षक रहेछ ‘कर्म’, म फेरी मुस्कुराएं र यसपटक उही शैलीमा मैले उसलाई चिट चोराएं हजूरदिदीबाट कर्मबारे जानेको कुरा आफ्नो कापिमा लेखिदिएर, उसले पनि गुरुबाट स्यावासि पाई ।    

विद्यालयबाट घर फर्केपछि त्यसराति म हजूरदिदीकै घरमा बस्नेगरि गएं र वहाँलाई आफ्नो कुरा राखें र वहाँ मलाई भाग्य र अन्य विषहरुबारे सिकाउन राजी हुनुभयो । हजूरदिदीको घरमा वहाँहरु बुढाबुढी मात्र हुनुहुन्थ्यो, दाजु, भाउजू र नानीहरु शहरमा बस्नुहुन्थ्यो । हिउँदको दिन थियो, ठण्डीका कारण शास्त्रीबा अर्थात बुढो फुपाजु आफ्नो ओछ्यानमा जाने तरखरमा हुनुहुन्थ्यो, हजूरदिदी र म चुलोमा आगो तापेर बसिरहेका थियौं । हजूरदिदीले शास्त्रीबालाई मेरो बहाना दिदै एकछिन हामीसंग यहीं बस्नु आगो तापेर भनेर परालको पिरा ओछ्याइदिनु भयो तर बुढो फुपाजुले मुस्कानसहित मतिर हेर्दै भन्नुभयो, 

“शास्त्रीआमाले सिकाइ हाल्छिन् नि तिमीलाई, सुमा, सबै जान्दछिन् उनी । तिमीहरु बातमार, म सुन्छु, आवश्यकता परोभने म पनि बोलौंला नि त... !” 

हामीलाई आवश्यकता परे सहयोग गर्ने प्रतिवद्धता गरेर वहाँ भान्साकै खाटमा सिरक ओढेर अग्लो शिरानीमा पल्टिनु भयो । मैले विषय प्रवेश गरें र हजूरदिदीलाई सोधें,

“भाग्यलाई किन अनिश्चित भनिएको हो र किन सबैले भाग्यमा भावीले लेखिदिएको भोग्नै पर्छ भनिएको हो अनि भाग्यमा लेख्ने भावी भनेको को हो ?”

श्वास नबिसाइकन मैले तीनवटा प्रश्न एकैपटक तेर्साएपछि वहाँ बुढो फुपाजुतिर फर्केर मुसुक्क हाँस्नु भयो र भन्नुभयो,

“शास्त्रीबा, तपाईंले बनारस पढ्दा जानेको ज्ञान यो नानीलाई मसिनोगरि सिकाइदिनुस्, नेपाली विषयको गृहकार्य पनि रहेछ, भविश्यमा मास्टर्नी भईभने यसले अरु केटाकेटीहरुलाई पनि धर्मको ज्ञान, इश्वरको करुणा , कर्म र प्रकृतिको न्याय सिकाउछे ।”

बुढो फुपाजु खोक्दै, धोती सम्हाल्दै खाटबाट तल उत्रिनुभयो र चुलोको डिलमा आएर अघि हजूरदिदीले ओछ्याइदिनु भएको परालको पिरामा बस्नुभयो । हजूरदिदीले भान्साकोठा न्यानो बनाउन चुलोमा करमका दाउरा थप्नुभयो, आगो दनदन दन्कियो र वरिपरिको ठण्डी भाग्यो । बुढो फुपाजु र हजूरदिदी दुवैजनाले ‘भगवान’, ‘इश्वर’, ‘प्रकृति’, ‘न्याय’, ‘कर्म’, ‘प्रारब्ध’, ‘भाग्य’, ‘भोगाइ’, ‘भावी’, ‘कर्म चक्र’, ‘कर्मको सिद्धान्त’, ‘क्रियमाण कर्म’, ‘प्रारब्ध कर्म’, ‘संचित कर्म’, ‘प्राकृतिक न्यायको सिद्धान्त’का बारेमा विस्तारमा बताउनु भयो दुई घण्टासम्म । मैले सुनिरहें र नबुझेको ठाउँमा प्रतिप्रश्न गरें, अझ गहिराईमा बुझाइदिनु भयो दुवैजनाले । वहाँहरुले दिनु भएको यही विवरणको आधारमा मैले ‘भाग्य’ शिर्षकमा यससंग सम्वन्धित सबै विषयहरुलाई समावेस गरेर १००० शव्द भन्दा बढिमा निवन्ध लेखें र मेरो निवन्धले प्रथम स्थान हासिल गर्यो । निवन्ध प्रतियोगीताको नतिजा आएको दिन विद्यालयबाट फर्केपछि खुशी हुदै भैंसीको दुधमा गाजरको हल्वा पकाएं एकदम गुलियो पारेर र कोसेली लिएर हजूरदिदी कहाँ गएर आफ्नो सफलताको खवर सुनाएं र गाजरको हल्वा कचौरामा पस्केर खान दिएं दुवैजनालाई म आफैंले पकाएको भनेर । वहाँहरु अत्यन्तै खुशी हुनुभयो र हजूरदिदीले मेरो शिरमा हात राख्दै मलाई आशिर्वाद दिदै भन्नुभयो,

“भाग्यमानी हुनु, भविश्यमा मास्टर्नी हुनु, ज्ञानवान भएर धेरैलाई आफ्नो ज्ञान बाड्नु, धर्मको ज्ञान, इश्वरको करुणा, कर्म तथा प्रकृतिको न्यायबारे अरुलाई सिकाउनु, सनातन धर्मको मूलसार फैलाउनु ।”

म वहाँहरुको ७० वसन्त पार गरिसकेको प्रफुल्लताले भरिएको चम्किलो चेहरा हेरेर आल्हादित भावमा मुस्कुराएं र विस्तार शिर हल्लाएर अत्यन्तै धार्मिक स्वभावले सिंचित वहाँहरुको दिव्यता ओतप्रोत आशिर्वाद ग्रहण गरें । वहाँहरुसंग आधा घण्टा समय बिताएर करिव पाँच मिनेटको दुरीमा रहेको बाटो हिड्दै म घर फर्फें । त्यसक्षण मेरो मन खुशीले अत्यन्तै प्रसन्न, प्रफुल्ल र पुलकित भएको थियो । बाटो हिडिरहदा मनमा अनेक विचारहरु चले कहिले विगतका, कहिले वर्तमानका त कहिले भविश्यका । तर भविश्यको सोच अलि बढि हावी भयो किनकी भाग्य शिर्षकमा निवन्धको रहिरहेको थियो मनमा । मेरो मन आफैसंग बातमार्न थाल्यो र भन्यो वहाँहरु चाहानुहुन्छ भविश्यमा म मास्टर्नी बनुँ, तर भविश्य त अनिश्चित हुन्छ, प्रारब्ध तथा भाग्यको नियन्त्रणमा हुन्छ, अहिलेनै म यो बन्छु भनेर कहाँ हुनेरहेछ र, मेरो प्रारब्ध कस्तो छ अनि त्यही प्रारब्धको आधारमा मेरो भाग्यमा भावीले के लेखिदिएको छ त्यही अनुसारनै त बन्छु होला म पनि, आफूले भनेर त कहाँ हुनेरहेछ र, आफूले असल कर्म मात्र त गर्ने रहेछ, कर्मको परिणाम त प्रारब्ध, भाग्य र इश्वरले दिनेरहेछ, त्यसैले कसैलाई दुःख, पिडा नदिकन, सबैप्रति सेवाभाव राखेर असल कर्म गर्दै जानु मात्र त मेरो काम रहेछ, म वहाँहरुले सिकाउनु भएका यी धार्मिक र नैतिक शिक्षा मेरो जीवनमा अनुशरण गर्दै जानेछु र आफ्नो भविश्य, प्रारब्ध, भाग्य, इश्वर तथा प्रकृतिको हातमा छोडदिन्छु..., यस्तै–यस्तै कुराहरु सोच्दासोच्दै म घर पुगें, साँझ परिसकेको थियो, माताजीलाई महिनावारी भएको हुनाले तीनदिनसम्म भान्सा पूर्णतः मेरो जिम्मामा थियो, म आफ्नो जिम्मेदारी सम्हाल्न घरको काम गर्नतिर लागें, पहिला साँझदियो बालें र त्यही आगोले चुलोमा दाउरा सल्काएर चारजनाको लागि भान्सा तयार गरें । 

यो हर्ष र स्मरणयोग्य क्षण बितेको आज साढेतीन दशक बितिसकेको छ, म मेरा दिबंगत पथप्रदर्शक श्रद्धेय शास्त्रीबा र हजूरदिदीले दिनुभएको आशिर्वाद अनुसार नै कलेजका विद्यार्थीहरुलाई दर्शन शास्त्र पढाउने मास्टर्नी भएको छु, वहाँहरुले सिकाउनु भए अनुसारनै सनातन धर्मको ज्ञान, इश्वरको करुणा, प्रकृतिको न्याय आदि विषयका ज्ञान अरुलाई बाडिरहेको छु । वहाँहरुको पूण्य तिथिको उपलक्ष्यमा वहाँहरुप्रति श्रद्धासुमन भाव व्यक्त गर्दै वहाँहरुले त्यसबखत मलाई सिकाउनु भएको धार्मिक तथा आध्यात्मिक ज्ञान ‘भगवान’, ‘इश्वर’, ‘प्रकृति’, ‘न्याय’, ‘कर्म’, ‘प्रारब्ध’, ‘भाग्य’, ‘भोगाइ’, ‘भावी’, ‘कर्म चक्र’, ‘कर्मको सिद्धान्त’, ‘क्रियमाण कर्म’, ‘प्रारब्ध कर्म’, ‘संचित कर्म’, ‘प्राकृतिक न्यायको सिद्धान्त’का बारेमा विस्तारमा मलाई दिनु भएको ज्ञानको संक्षिप्त सार यहाँ प्रस्तुत गरेर वहाँहरुले गर्दै आउनु भएको असल कर्मलाई निरन्तरता दिन र वहाँहरुप्रति श्रद्धासुमन व्यक्त गर्न चाहान्छु ।

इश्वरको मार्गदर्शन, प्राकृतिक न्याय र सनातन धर्म तथा अध्यात्मको मूलसार

“परोपकार पुण्याय, पापाय परपिडनम ।” –महर्षि वेदव्यास

“विचार नै कर्म हो, सकारात्म विचारको जगमा कुशलतापूर्वक कर्म गर, कर्मको परिणामको चिन्ता नगर ।” –भगवान श्रीकृष्ण

“मनुष्यका कर्महरु नै उसका मित्र र शत्रु दुवै हुन् ।” – भगवान गौतम बुद्ध 

“मनुष्यको विचार व्यवहार बन्छ, व्यवहार कर्म बन्छ र कर्म भाग्य बन्छ, तसर्थ मेरो कर्मको स्वामी म स्वयं नै हुँ र मेरो जीवनको भाग्य विधाता पनि म नै हुँ ।” –स्वामी विवेकानन्द

“मनुष्यको विचार नै कर्म बन्छ, किनकी मनुष्य शरीर होइन केवल विचार हो ।” –जे. कृष्णमुर्ति 

“कर्म यस्तो गर ताकि तिम्रो सामु स्वयं इश्वर पनि नजतमस्तक होस् ।” –ओशो रजनीश

“कर्म गर्नु मात्र तिम्रो नियन्त्रणमा छ, कर्मको परिणाम प्रारब्ध, भाग्य, नियति, समय, प्रकृति, ब्रम्हाण्ड, इश्वरको नियन्त्रणमा छ ।” –युग आप्त वाणि

केही अकाट्य शास्त्रीय आप्त वचनहरु

कर्मको मूलस्वरुपः 

‘मनुष्यको जीवनमा कर्म नै मूल विषय हो ।’


‘मनुष्यको सोच, विचार, मन, भाव, वचन, व्यवहार तथा क्रियाहरुबाट गरिएका गतिविधिहरु नै उसका कर्महरु हुन् ।’

‘मनुष्य स्वयंले गरेका कर्महरु नै उसको प्रारब्ध, भाग्य र नियति बन्दछन् ।’

‘मनुष्यको वर्तमानको कर्म नै भविश्यको जीवन हो ।’

‘मनुष्यको जीवन कर्महरुकै प्रतिविम्वि तथा प्रतिफल हो ।’

‘असल कर्महरु परोपकार तथा पुण्य बन्दछन् र खराव कर्महरु परपिडन तथा पाप बन्दछन् ।’ 

‘असल कर्महरु जीवनको रक्षक बन्दछन् र खराव कर्महरु जीवनको बोझ बन्दछन् ।’

‘असल कर्महरु जीवनको आर्शिवाद बन्दछन् र खराव कर्महरु जीवनको श्राप बन्दछन् ।’

‘असल कर्महरु जीवनको प्रकाश बन्दछन् र खराव कर्महरु जीवनको अन्धकार बन्दछन् ।’

‘असल कर्महरु जीवनको सुख, खुशी, समृद्धि, शान्ति, आनन्द बन्दछन् र खराव कर्महरु जीवनको दुःख, बेखुशी, विपन्नता, अशान्ति, विषाद बदन्छन् ।’

‘प्रारब्धको नियममा भाग्यमा भएको भन्दा बढि र समय भन्दा अगावै कसैलाई केहीपनि प्राप्त हुदैन ।’


कर्म र कर्मको सिद्धान्त

आप्त पुरुषका स्वयंका अनुभवहरुबाट निसृत भएका आप्त वचनहरुका अनुसार मनुष्यको विचार नै कर्म बन्ने हुनाले उसले जे सोच राख्छ तथा जस्तो विचार गर्छ त्यस्तै कर्म गर्दछ र असल तथा खराव जस्तो कर्म गर्छ समयको कुनै मोडमा प्रारब्धको रुपमा त्यसको परिणाम अनिवार्य रुपमा भोग्छ, यहीनै हो कर्म, कर्म चक्र र कर्मको सिद्धान्त जसले मनुष्यलाई आफ्नो जीवनमा नैतिकता, अनुशासन, कर्तव्य तथा जिम्मेदारीको पाठ सिकाउछ किनकी मनुष्यका विचारहरुले उसले गर्ने कर्महरु निर्धारित गर्दछन् र प्रारब्ध बनेर आउने कर्मका परिणामहरुले उसको जीवनको सम्पूर्ण अवस्था निर्धारण गर्दछन् । पूर्वीय सनातन शास्त्रहरुमा उल्लेखित अध्यात्म दर्शन तथा ज्ञान–विज्ञान अनुसार मनुष्यको जीवनमा घटित हुने साना–ठूला विषय, घटना तथा सम्वन्धहरुलाई कर्मको परिणाम, प्रारब्ध, भाग्य, नियतिको खेल, दिव्य चमत्कार, समयको नियन्त्रण, प्राकृतिक तथा ब्रम्हाण्डिय न्याय, इश्वरको करुणा, आकाशिय नक्शा, अदृश्य आँखा तथा हात आदि फरक–फरक नाम तथा भाष्यहरुले सम्वोधन गरिएपनि समग्रतामा यी सबैको निचोड एउटै हुन आउछ, त्यो हो ‘कर्म’, ‘कर्म चक्र’ र ‘कर्मको सिद्धान्त’ तथा जन्म–जन्मका अधूरा कर्महरुलाई पूर्णता दिने अदृश्य दैवीक शक्ति तथा प्राकृतिक न्यायको प्रक्रिया । यसकारण मनुष्यको यस जन्मको जीवनको विगतमा भएका, वर्तमानमा भैरहेका र भविश्यमा हुनसक्ने सबैप्रकारका विषय, घटना तथा सम्वन्धका उतार–चढावहरु केवल संयोग होइनन्, यी सबै उ स्वयंले आफ्ना पूर्वजन्महरुमा भौतिक संसारमा स्थुल शरीरमा रहदा गरेका असल तथा खराव कर्महरुका परिणामहरु हुन् जो अदृश्य रुपमा कर्म चक्रको कसीमा पाकेर प्रारब्ध, भाग्य, नियति तथा प्राकृतिक न्यायको सिद्धान्त अनुसार मनुष्यलाई सोहि प्रकारको अनुभव गराएर उसको जीवन, आत्मा अर्थात चेतनाको विकास गर्न घटित भएका गतिविधिहरु हुन् । 

कर्म सिद्धान्त र कर्म चक्रको नियम अनुसार कर्म ‘कारण’ र ‘परिणाम’को घटना हो । यसको मतलव हो मनुष्य कुनै कर्म गर्नकोलागि ‘कारण’ बनाउछ वाहिरी तथा आन्तरिक सूचनाहरुको माध्यमबाट र त्यो ‘कारण’को कारणले गर्दा उसले कर्म गर्छ तथा उबाट कर्म हुन्छ आँखा, कान, नाक, छाला, जिब्रो, मनको आवश्यकताहरु पूरा गर्नका लागि र यीनै कर्महरुले उसको जीवनमा परिणाम ल्याउछन् क्रियमाण कर्म, प्रारब्ध कर्म र संचित कर्मका रुपमा । भगवान गौतम बुद्धले भन्नु भएको छ, “मनुष्यको नियत तथा भावनै उसको कर्म हो, असल नियत तथा भावले गरिएका कर्महरुको परिणाम राम्रो आउछ र खराव नियत तथा भावले गरिएका कर्महरुको परिणाम नराम्रो आउछ । मनुष्यको नियत तथा भाव उसको विचार तथा विचारहरुको समुह मनसंग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । मनुष्यले कर्मको छनौट तथा रोजाइहरु वर्तमानमा गर्छ तर उसको कर्मको छनौट तथा रोजाईहरुमा वर्तमानको मात्र प्रभाव हुदैन । उसको कर्मका छनौट तथा रोजाइहरु वर्तमानका कारणहरु भन्दा धेरै गुणा बढि प्रारब्ध कर्मका परिणामहरुबाट प्रभावित हुने गर्दछन् ।” भगवान श्रीकृष्णले श्रीमद् भगवद् गीतामा भन्नु भएको छ, “मनुष्यको विचार नै उसको कर्म हो किनकी कर्मअघि मनुष्यको विचारमा कर्म गर्ने सोच तथा कर्मको भाव उत्पन्न हुन्छ र त्यसपछि मात्र उसबाट कर्म हुन्छ । असल भावले कुशलतापूर्वक कर्म गर फलको चिन्ता नगर, कर्मलाई प्राथमिकता दिएपछि कर्ममा कुशलता आउछ र कुशलतापूर्वक गरिएको कर्मको परिणाम अवश्य राम्रो आउछ ।” अमृतविन्दु उपनिषदमा भनिएको छ, “मन एव मनुष्याणां बन्धमोक्षयोः । अर्थात विचारहरुको समुह मन नै मनुष्यको बन्धन र मोक्षको कारण हो, असल विचार भएको मनले मनुष्यलाई मोक्षमा स्थित गराृउदछ र खराव विचार भएको मनले मनुष्यलाई कर्मबन्धनमा पार्दछ ।” 

यसकारण मनुष्यले गर्ने हरेक कर्महरुलाई केवल उसले गर्ने क्रियाले मात्र उसको कर्म असल हो कि खराव हो भनेर परिभाषित तथा निर्धारण गर्दैन । मनुष्यको कर्म गर्ने सोच, विचार, नियत तथा भावले उसको कर्म वास्तविकतामा असल हो कि खराव हो भनेर परिभाषित तथा निर्धारण गर्दछ । उदाहरणका लागि डाक्टरको हातमा रहेको छुरी र डाकुको हातमा रहेको छुरी दुवैको उद्देश्य काट्ने कर्म गर्नु हो तर डाक्टरको हातको छुरी चलाईमा मान्छेको स्वास्थ्यमा लाभ पुर्याउने तथा ज्यान बचाउने नियत तथा भाव हुन्छ र डाकुको हातको छुरी चलाईमा मान्छेलाई हानि पुर्याउने तथा ज्यान मार्ने नियत तथा भाव हुन्छ । असल नियत तथा भाव भएका कर्महरु कल्याणकारी कर्महरु हुन् र खराव नियत तथा भाव भएका कर्महरु बिनासकारी कर्महरु हुन् । असल र खराव सबैप्रकारका कर्महरुको प्रभाव दुरगामी हुन्छ र यसको परिणाम धेरैवटा पूरनजन्महरु सम्म रहिरहन्छ, वर्तमान जन्ममा क्रियमाण कर्मको रुपमा, पछि हुने पूनर जन्महरुमा प्रारब्ध कर्मको रुपमा र अझपछि हुने पूनरजन्महरुमा संचित कर्मको रुपमा प्रभाव पारिरहन्छन् । हरेक कर्महरु उर्जाका तरंगहरु हुन्, मनुष्यले मन–वचन–क्रियाबाट कर्म गरिएपछि यी ब्रम्हाण्डमा उर्जा तरंगको रुपमा निरन्तर प्रवाहित भैरन्छन् र यिनले ब्रम्हाण्ड तथा प्रकृतिमा भएका सबै प्राणी, वनस्पति, पदार्थहरुलाई सकारात्मक तथा नकारात्मक रुपमा प्रभाव पार्दछन् अनन्त कालसम्म । यसैकारण सिद्ध पुरुषहरुले कर्म गर्ने क्रममा कर्मको रोजाइ तथा छनौट गर्दा अत्यन्तै होसपूर्वक सर्वकल्याण भावमा रहेर सहि निर्णय लिन र सहि कर्म गर्नमा बढि प्राथमिकता दिदै आउनु भएको हो ताकि आफूले गरेका कर्महरुका प्रारब्धका परिणामका अनुभवहरु भविश्यमा आफ्नालागि भाग्य बनुन्, दुर्भाग्य तथा कर्म बन्धन नबनुन् । आफूले गरेका कर्महरुले आफ्नो र अरुको जीवनमा सुख, खुशी, समृद्धि, शान्ति, आनन्द ल्याउन्, दुःख–पिडा नल्याउन् र ब्रम्हाणड तथा प्रकृतिका अरु सृष्टिहरुलाई पनि सकारात्मक प्रभाव पारुन्, नकारात्मक प्रभाव नपारुन् । तसर्थ कर्मका नकारात्मक प्रभावहरुबाट बचौं किनकी कर्मका परिणामहरुको प्रभाव दुरगामी र सामुहिक हुन्छ, यिनले कर्म गर्ने मनुष्यलाई मात्र प्रभाव नपारेर लामो कालखण्डसम्म व्यक्ति, परिवार, समाज, राज्य, मावीयता, प्रकृति, ब्रम्हाण्ड समेतलाई सामूहिक रुपमा प्रभाव पार्दछन् ।

कर्म चक्र र प्रारब्ध कर्म 

कर्म चक्रको नियम अनुसार मनुष्यले अघिल्ला जन्महरुमा गरेका कर्मका परिणामहरु मनुष्यको वर्तमान जन्ममा सोही प्रकारको अनुभव दिलाउन आउछन् प्रारब्ध कर्म, भाग्य तथा नियति बनेर । कर्मको परिभाषा अनुसार पूर्वजन्महरुमा गरिएका कर्महरु कर्मको चक्र पार गरेर परिणाम दिन तयार अवस्थामा रहेका तथा पाकेका कर्महरु प्रारब्ध कर्म हुन् । यिनै प्रारब्ध कर्महरुलाई नै जीवन जीउने क्रममा मनुष्यको अनुभवमा आउने भोगाइहरुका आधारमा प्रारब्धको कहर, भाग्यको चिठ्ठा, नियतिको खेल, दिव्य चमत्कार, समयचक्रको परिधि, प्राकृतिक तथा ब्रम्हाण्डिय न्याय, इश्वरको करुणा, आकाशिय नक्शा, अदृश्य शक्तिका आँखा तथा हातहरु आदि उपमाहरुले सम्वोध गरिदै आइएको पाइन्छ आमरुपमा । वर्तमान जन्ममा कर्मको छनौट तथा रोजाइहरु मनुष्यको नियन्त्रणमा भएपनि ती कर्महरुबाट आउने परिणामहरु पूर्णरुपमा उसको नियन्त्रणमा हुदैनन् तथा उसले योजना गरे अनुरुप आउदैनन् किनकी कर्मको परिणाममा प्रारब्ध, भाग्य, नियति तथा प्राकृतिक न्यायको प्रत्यक्ष प्रभाव रहेको हुन्छ र प्रारब्ध, भाग्य, नियति तथा प्राकृतिक न्यायहरु मनुष्यका विगतका तथा पूर्वजन्मका कर्महरुबाट निर्धारित भएका हुन्छन् । मनुष्यलाई थाहा हुदैन पूर्वजन्महरुमा आफूले के-कस्ता असल तथा खराव कर्महरु गरेको थियो, कस्ता–कस्ता अनुभवहरुबाट आफू गुज्रेको थियो र अरुलाई पनि गुज्रन बाध्य गराएको भनेर र यिनै राम्रा तथा नराम्रा अनुभवहरु नै घुमेर उसलाई त्यस्तै प्रकारको अनुभव दिन आउछन् अर्थात अरुलाई जे दिएको छ उसको जीवनमा ढिलोचाँढो त्यही नै फर्कन्छ अनिवार्य रुपमा । आफ्ना असल तथा खराव कर्महरुबाट अरुलाई गराएको राम्रा तथा नराम्रा अनुभवहरु कर्म चक्रमा घुमेर, पाकेर त्यस्तै अनुभवबाट उ स्वयंलाई गुज्रन बाध्य पार्नु नै प्रारब्ध, भाग्य, नियति तथा प्राकृतिक न्याय हो जसको मूल उद्देश्य व्यक्तिलाई असल र खराव कर्महरुको परिणामको स्वाद चखाएर, ज्ञान दिएर, पुराना कर्म बन्धनहरुको हिसाव-किताव चुक्तारा गरेर उसको जीवन, आत्मा अर्थात चेतनाको विकास गर्नु रहेको हुन्छ । यसकारण सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु बारबार भन्नुहुन्छ, “मनुष्यको कर्मनै यस्तो विषय हो जसले उसको विगत, वर्तमान र भविश्यका जन्महरुको जीवनलाई समेत पूर्णरुपमा प्रभावित गर्दछ सकारात्मक र नकारात्मक दुवै किसिमले । उसले गरेका असल कर्महरुको प्रभाव सकारात्मक हुन्छ र खराव कर्महरुको प्रभाव नकारात्मक हुन्छ ।” 

कर्महरुका चक्र फरक–फरक प्रकारका हुन्छन्, केही कर्महरु छोटो समयमै चक्र पूरा गरेर पाक्छन् र वर्तमान जन्ममै परिणाम लिएर आउछन् मनुष्यलाई सोही प्रकारको अनुभव गराउन पुराना कर्म बन्धनहरुको हिसाव-किताव चुक्तारा गराउन तर केही कर्महरुलाई कर्मको चक्र पूरा गरेर पाक्न लामो समय लाग्छ र कयौं जन्मपछि त्यसको परिणाम लिएर आउछन् प्रारब्ध, कर्मका रुपमा किनकी हरकिसिमले त्यसप्रकारको वातावरण तयार हुन लामो समय लाग्न सक्छ । वनस्पतिको उदाहरणबाट स्पष्ट बुझ्न सकिन्छ, केही प्रजातिका वनस्पतिहरु रोपेको केही महिनामै आफ्नो जीवन चक्र पूरा गरेर फल दिन्छन् तर केही वनस्पतिहरुले रोपेको धेरै वर्ष लगाएर आफ्नो जीवन चक्र पूरा गरेर फल दिन्छन् । मनुष्यले गरेका कर्महरुको कर्म चक्रको प्रकृति पनि ठिक यस्तै प्रकारको हुन्छ । अत्यन्तै सान्दर्भिक ऐतिहासिक दृष्टान्तबाट कर्म चक्र र प्रारब्ध कर्मलाई अझ प्रष्टसंग बुझ्न सकिन्छ भारतवर्ष हस्तिनापुरका राजा धृतराष्ट्र र उनका हजूरबा भीष्म पितामहको यदाहरणबाट । धृतराष्ट्रका १०० भाइ कौरव पुत्रहरु महाभारतको युद्धमा मारिनुको कारण उनले आफूले सयौं जन्मअघि सर्पका धेरै अण्डाहरु आफ्नो मोजमा फुटाइदिएको खराव कर्मको कारणबाट सिर्जित भएको प्रारब्धको परिणाम थियो । प्रारब्ध, भाग्य, नियति तथा प्राकृतिक न्यायले उनलाई पनि ठिक त्यस्तै प्रकारले सन्तान वियोगको अनुभव दिएर कर्म बन्धनको चुक्तारा तथा सयौं जन्मअघिको अधूरो कर्म वन्धन पूर्ण गरायो । त्यस्तै धृतराष्ट्रका हजूरबा भिष्म पितामहले पनि सयौं जन्मअधि आफूले बाटोमा घस्रिरहेको जिउदो सर्पलाई बिनाकारण धनुषवाणको तीरले उधिनेर काँढाको झाडीमा फालिदिएकाले महाभारतको युद्धमा उनले काँढाको झाडीमा काँढामा उधिनिएर तड्पि–तड्पि मरेको सर्पलाई गराएको पिडादायि अनुभव जस्तै अनुभव उनले पनि गर्नुपर्यो धनुरधर अर्जुनले प्रहार गरेका वाणहरुको सरसैयामा लामो समयसम्म कष्टपूर्वक सयन गरेर आफ्नो इच्छा मुत्यु पर्खने क्रममा । प्रारब्ध, भाग्य, नियति तथा प्राकृतिक न्यायले उनलाई पनि ठिक त्यस्तै अनुभवबाट गुज्रिने परिणाम दिएर आफूले गरेको परपिडन कर्म बन्धनको चुक्तारा तथा अधूरो कर्म बन्धन पूर्ण गराएको थियो भन्ने उल्लेख गरिएका पाइन्छन् सनातन अध्यात्म दर्शनका दर्शन शास्त्रहरुमा । 

के प्रारब्ध कर्म बदल्न सकिन्छ ?

यो मुस्किल सवाल हो, मध्य मार्गमा रहेर यसको जवाफ र विश्लेषण गर्नु पर्दछ किनकी यो त्यति सहज विषय होइन तसर्थ अधिकांश समयमा यसको जवाफ सकिदैन भन्ने नै आउछ तर सनातन अध्यात्म दर्शनका ज्ञानलाई गहिराइमा खोतल्दा प्रारब्ध कर्म बदल्न सकिदैन पनि र सकिन्छ पनि भन्ने निचोड पाइन्छ । सकिदैन भन्ने सन्दर्भमा, प्रारब्ध स्वयं इश्वरिय तथा प्राकृतिक न्याय प्रणाली भएकोले मनुष्यले प्रारब्ध कर्मका परिणामलाई बदल्न सक्दैन जो बितेका समयमा उसले गरिसकेका कर्महरुको परिणाम हो र उसको पछिल्लो तथा पूनरजन्महरुका जीवनमा आउन तय भैसकेका छन् जो कर्म चक्र पूरा गरेर तथा पाकेर परिणाम दिन तयार अवस्थामा प्रारब्ध कर्महरुको रुपमा प्रकट हुने तरखरमा छन् भने यस्तो अवस्थामा मनुष्यले हरहालमा ती परिणामका अनुभवहरु भोग्नै पर्छ, आइसकेका प्रारब्ध कर्मका परिणामहरुले रोक्ने तथा बदल्ने कुनै उपाय नै हुदैन । तर प्रारब्ध कर्मका परिणामहरुको नकारात्मक प्रभावका कारण सिर्जित भएर मनुष्यको जीवनमा आइपरेका दुःख, पिडा, असफलता, निराशाका कहरको तोरालाई आफू त्यसप्रति होसपूर्ण भएर; साक्षी भावमा रहेर; त्यसप्रतिका आफ्ना प्रतिक्रियाहरुलाई सन्तुलित बनाएर; र आफूमा आइपरेका दुःख, पिडाका परिणामहरुलाई प्रारब्ध, भाग्य, नियति तथा प्राकृतिक न्यायका रुपमा स्वीकार गरेर तथा आफूमा सन्तोष भावको विकास गरेर घटाउन तथा हटाउन सकिन्छ । प्रारब्ध कर्म रोक्न सकिन्छ भन्ने सन्दर्भमा, यी प्रारब्ध, भाग्य, नियति तथा प्राकृतिक न्यायका परिणामहरुका कारण आफ्नो जीवनमा आइपरेका दुःख, पिडाका भोगाइ र सिकाइबाट पाठ सिकेर यसपछिको समयमा आफूलाई असल कर्ममा लगाएर भविश्य तथा पूनरजन्ममा आइपर्ने प्रारब्ध कर्मलाई शुभ कर्ममा परिणत गरेर आफ्नो जीवनलाई आफू स्वयंले सहज गतिमा ल्याउन सकिन्छ अथवा भनौं भविश्यका जन्महरुमा आउन सक्ने प्रारब्ध कर्महरुलाई रोक्न तथा शुभ प्रारब्ध कर्ममा बदल्न सकिन्छ वर्तमान समयमा गर्ने कर्महरुलाई सकारात्मक मोड दिएर । स्पष्ट रुपमा भन्नुपर्दा, प्रारब्ध कर्म बदल्न सकिदैन र सकिन्छ भन्ने सन्दर्भमा, पूर्वजन्महरुमा गरेका कर्महरुका कारण निर्माण भएका प्रारब्ध कर्महरु बदल्न सकिदैन तर वर्तमान जन्ममा सकारात्मक, असल, शुभ तथा सतकर्महरु गरेर यी कर्महरुका कारण पूनरजन्मका जीवनहरुमा निर्माण हुने प्रारब्ध कर्महरुलाई बदल्न सकिन्छ आफ्नो वर्तमान सहि बनाएर । 

प्रारब्ध कर्मका नकारात्मक प्रभावहरु मनुष्यको आफ्नो तथा परिवारका सदस्यहरुको जीवनमा र कहिलेकाहीं समुच्चा समाजमा सामुहिक रुपमा दुःख, पिडा, बिपन्नता, असफलता, बेचैनी, अशान्ति, खराव सम्वन्ध, गुनासो, काम, क्रोध, लोभ, मोह, इर्ष्या, अहंकार, क्लेश, डर, मद, माश्चर्य, विषाद, अवषाद, विक्षिप्तता, पागलपन, विवाद, झगडा, युद्ध, हिंसा, हत्या, आत्महत्या, असाध्य रोग, दिर्घ रोग, प्राकृतिक प्रकोप, विपन्नता, रोगका महामारी जस्ता कहरहरुका रुपमा अनुभवमा आउछन् जो मनुष्यको जीवनका अत्यन्तै कष्टकर अवस्थाहरु हुन् किनकी हरेक मनुष्य प्राकृतिक रुपमा अन्तरआत्माबाट शान्त, प्रेमल, सेवा भावले भरिएको, आनन्दप्रेमी हुन्छ तर हुर्कदै जादा जीवन जीउने क्रममा उसले विस्तारै नकारात्मकताहरु सिक्दै, आफ्नो मन, मस्तिष्कमा भर्दै र तिनका नकारातमकताहरु जीवनमा अगाल्दै तथा अनुशरण गर्दै जान्छ र कालान्तरमा उ आफ्नो सकारात्मकता तथा प्राकृतिक स्वरुपबाट अलग भएर नकारात्मकता तथा कृत्रिम स्वरुपमा परिवर्तन हुन्छ, आफूले गर्ने कर्महरु बिगार्न थाल्छ र त्यसको दुष्परिणाम स्वरुप कर्म चक्र पार गरेर तथा पाकेर आउने अशुभ प्रारब्ध कर्मसंगै जीवनमा दुःख पिडाहरु झेल्दै जन्म र मृत्युको दुष्चक्रमा घुमिरहन्छ तथा पिसिइरहन्छ र यसको नकारात्मक परिणाम एक व्यक्तिमा मात्र सीमित नभएर परिवार, समाज, राज्य प्रकृतिमा समेत पर्दछ । 

मनुष्यको जीवनका आउने हरप्रकारका यस्ता विषय, घटना तथा सम्वन्धहरु उसको वर्तमान जन्मको जीवनका सम्योगहरु मात्र होइनन्, यी प्रारब्धले तय गरेका अदृश्य आकाशिय अर्थात ब्रम्हाण्डिय लेखा–जोखाहरु हुन जो अघिल्लो जन्ममा पूरा हुन नसकेका अधूरा सकारात्मक तथा नकारात्मक कर्म बन्धनहरु हुन् जसले वर्तमान जन्ममा पनि निरन्तरता पाइरहेका हुन्छन् र पूर्ण हुने तथा चुक्तारा क्रममा रहेका हुन्छन् । मनुष्यको आत्मा अर्थात चेतनाको प्रकाशलाई ढाकेर बसेका पूराना, प्रारब्ध तथा संतिच कर्मका रुपमा जम्मा भएर रहेका असल र खराव सबैप्रकारका कर्म बन्धनहरुको चुक्तारा नभइकन मनुष्यको जीवन अगाडि बढ्न तथा आत्मा अर्थात चेतनामा विकास आउन सक्दैन किनकी यस्ता कर्महरुले मनुष्यको आत्मा अर्थात चेतनाको प्रकाशलाई ढपक्क ढाकेका हुनछन् जसलाई कर्म बन्धनहरुको चुक्ताराको नियम अनुसार अनिवार्य रुपमा रफादफा गर्नुपर्ने हुन्छ । यसर्थ, कर्मको सिद्धान्त तथा कर्म चक्रलाई गहिराइमा बुझ्ने हो भने प्रारब्ध कर्महरु समस्या तथा दुर्भाग्य होइनन्, आत्मा अर्थात चेतनाको विकासका लागि समाधान दिने सौभाग्य हुन् किनकी सबै प्रारब्ध कर्महरु मनुष्यको जीवनको विकास गर्न तथा आत्मा अर्थात चेतनाको प्रकाशमा टाँसिएर रहेका कर्मरुपी धूलोका कणहरु सफा गर्न आएका हुन्छन् । मनुष्यका कर्मका बन्धनहरु जो उसको आत्मा अर्थात चेतनाको प्रकाशमा टाँसिएर रहेर आत्मा अर्थात चेतनाको प्रकाश छेकिरहेका कर्मरुपी धूलोका कणहरु हुन् । आत्मा अर्थात चेतनाको प्रकाश छेकिरहेका यी कर्म बन्धन रुपि धूलोका कणहरु मनुष्यले पृथ्वीलोकमा मनुष्य भएर स्थुल शरीर जन्मेर आफ्ना कर्महरुलाई सूधार गरेर मात्र चुक्तारा गर्न तथा सफा गर्न सक्दछ र आफ्नो जीवन विकासको दिशामा अगाडि बढ्न सक्छ । यसैकारण सनातन अध्यात्म विज्ञानले पृथ्वीलोकलाई मनुष्यको जीवन विकासका लागि अभ्यासगृह तथा प्रयोगशाला तथा ल्यब्रोटरी मान्ने गर्दछ जहाँ मनुष्यले आफूसंग लिएर आएका प्रारब्ध र संचित कर्मबन्धहरुको कसिमा आफूलाई तपाएर आफूलाई सकारात्मक दिशामा रुपान्तरण गर्दछ, सर्वकल्याणका लागि सतकर्महरु गर्दछ र आफ्नो जीवन तथा आत्मा अर्थात चेतनाको प्रकाश तथा आफ्नो आध्यात्कि विकासको विकास गर्दछ । सांसारिक तथा भौतिक दृष्टिकोणमा आमरुपमा भन्ने र मान्ने गरिन्छ कि मनुष्य जन्मिदा खालि हात आएको हुन्छ र उ मर्दा पनि खालि हात नै जान्छ तर पराभौतिक तथा सनातन अध्यात्म दर्शनको मान्यता अनुसार यो बुझाई सत्य होइन किनकी कोही पनि मनुष्य जन्मदा भरि हात आएको हुन्छ उसका प्रारब्ध र संचित कर्महरुसंगै र मर्दा पनि भरि हात भएरै जान्छ उसले शरीरमा रहुन्जेल गरेका क्रियमाण तथा संचित कर्महरुको साथमा ।

प्रारब्ध कर्मका कहरहरुको तोरा कसरी तोड्न सकिन्छ ?

मनुष्यको भाग्य तथा नियतिको रुपमा तय भैसकेको प्रारब्ध कर्म बदल्न नसकिए पनि यसबाट पाठ सिकेर वर्तमान जन्ममा आफ्ना कर्महरुमा सुधार गरेर भविश्यको जीवन तथा पूनरजन्मका जीवनहरुमा आउन सक्ने खराव कर्महरुको बोझ तथा कर्म बन्धन घटाएर अशुभ प्रारब्ध कर्महरुलाई शुभ प्रारब्ध कर्महरुमा रुपान्तरण गर्न सकिन्छ र प्रारब्ध कर्मका परिणामका कारण वर्तमान जीवनमा अनुभवमा आइरहेका दुःख, पिडा, निराशाका कहरको तोरा तोडेर जीवनलाई सरल, सहज, समृद्ध, सफल, सुखी, खुशी, शान्त, आनन्दित तथा प्रगतिउन्मुख बनाउन सकिन्छ । आफ्नो दैनिक जीवनमा विभिन्न उपायहरुको निष्ठापूर्वक अनुशरण गरेर मनुष्यले प्रारब्धका दुःख, पिडा, निराशाका कहरको तोरा तोड्न सक्छ । प्रमुख पाँच प्रकारका उपायहरु निम्न रहेका छन्– (१)प्रारब्ध कर्मको परिणामको अनुभव भोगेर, (२)आफ्नो जीवनशैली सुधारेर, (३)योगीक साधना गरेर, (४)सेवा, प्रेम र भक्ति भावले भरिएर, र (५)आफूमा स्वीकार र सन्तोष भरेर ।

(१)प्रारब्ध कर्मका परिणामहरुका कारण वर्तमान जीवनमा अनुभवमा आइरहेका दुःख, पिडाहरुको धैर्यतापूर्वक अनुभव गरेर, सहेर प्रारब्ध कर्मका बन्धनहरु तोड्न र आफ्नो जीवनलाई सहज, सरल, समृद्ध, सफल, सुखी, खुशी, शान्त, आनन्दित तथा प्रगतिउन्मुख बनाउन सकिन्छ । 

(२)वर्तमान जीवनमा अनुभवमा आइरहेका प्रारब्ध कर्मका परिणामहरुका प्रकृतिहरु हेरेर यदि पस्थिति जन्य प्रारब्ध तथा अवस्था हो भने आफुले गर्नुपर्ने काम गरेर, नगर्नुपर्ने काम नगरेर, सहि निर्णयहरु लिएर; यदि शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक अस्वस्थता जन्य प्रारब्ध तथा अवस्था हो भने आफ्नो आहार, विहार, व्यवहारमा सुधार गरेर र समय सान्दर्भिक चिकित्सकिय उपचार लिएर; यदि खराव सम्वन्ध, अन्याय, अत्याचार तथा शोषण जन्य प्रारब्ध तथा अवस्था हो भने मनले क्षमा गरेर तर आवश्यक परे समय सान्दर्भिक कानूनी उपचारहरु लिएर र त्यसप्रतिको वर्तमानमा आफ्नो मन तथा भावमा आउने नकारात्मक प्रतिक्रियाहरुलाई कम गरेर तथा सकारात्मकतामा बदलेर, सामान्य अवस्थामा राखेर अर्थात समग्रमा आफ्नो जीवनशैली सुधारेर प्रारब्ध कर्मका बन्धन र यसका परिणामका कारण वर्तमान जीवनमा अनुभवमा आएका दुःख, पिडाहरुको कहरको तोरा तोडेर आफ्नो जीवन सहज, सरल, समृद्ध, सफल, सुखी, खुशी, शान्त, आनन्दित तथा प्रगतिउन्मुख बनाउन सकिन्छ ।

(३)योगीक साधनाका विधिहरु– अष्टांग योग, चक्र साधना, आन्तरिक क्रान्ति, धार्मिक तथा आध्यात्त्मिक अनुष्ठानहरु, नाम जप, मन्त्र उच्चाहरण, इश्वरको भक्ति तथा प्रार्थना जस्ता क्रियाकलापहरु गरेर प्रारब्ध कर्मका बन्धन र यसका परिणामका कारण जीवनका अनुभवमा आएका दुःख, पिडाहरुको कहरको तोरा तोड्न सकिन्छ । प्रक्रिया पुर्याएर गरिएका योगीक साधनाका प्रयोगात्मक अभ्यासहरुले मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक शरीर र स्वास्थ्यका सबै आयामहरुमा आउने सकारात्मक प्रभावका कारण उसको व्यक्तित्व स्वस्थ, शुद्ध शान्त, धैर्य, गम्भिर, सहनशील, एकाग्र, सक्रिय, सन्तुलित तथा व्यवस्थित हुने र घटना, विषय तथा परिस्थितिलाई सहजै बुझ्न सक्ने क्षमताको विकास हुनेहुनाले उसले सहजै प्रारब्ध कर्मका बन्धन र यसका परिणामका कारण वर्तमान जीवनका अनुभवमा आएका दुःख, पिडाहरुको कहरको तोरा तोडेर आफ्नो जीवन सहज, सरल, समृद्ध, सफल, सुखी, खुशी, शान्त, आनन्दित तथा प्रगतिउन्मुख बनाउन सक्छ ।

(४)सेवा, प्रेम, श्रद्धा, भक्ति हरेक मनुष्यले जन्मिदै लिएर आएको उसका प्राकृतिक मूल स्वभावहरु हुन् । स्नेह, मैत्री, मायाँ, दया, करुणा, दान, पुण्य, उपकार, क्षमा, कृतज्ञता, धन्यता, श्रद्धा, भक्ति आदि प्रेमभावले भरिएर निस्काम सेवाभावले कर्महरु गर्दा हरेक मनुष्यमा धार्मिक, आध्यात्मिक, प्राकृतिक रुपमै सकारात्मक बदलावहरु आउछन् र उभित्र धार्मिक, आध्यात्मिक, सर्वकल्याण भाव राख्ने व्यक्तितत्वको विकास हुदै जान्छ । आफूमा असल व्यक्तित्व निर्माण गर्न प्राचीन वैज्ञानिक ऋषिमुनिहरुले भन्नु भएकोछ, “सदा आफू र अरुको कल्याण हुने सतकर्म, राम्रो तथा असल काम गर यही नै वास्तविक सेवा, प्रेम, भक्ति तथा परमात्माको पूजा र प्रार्थना हो । हिंसा तथा वैमनस्य नगर, प्रेमका श्रृखंलामा आउ र सबैप्रति स्नेह, मैत्री, मायाँ, दया, करुणा, सेवा, सहयोग, उपकार, दान, पुव्य, प्रशंशा, कृतज्ञता, क्षमा, सम्मान, श्रद्धा, भक्ति, निस्काम कर्म, दव्यदान, श्रमदान, सेवादान तथा स्वयंसेवा गर यही नै हो व्यवहारिक र वास्तविक असल कर्म तथा सतकर्म । मूर्ति दर्शन, मन्दिर भ्रमण, तीर्थ यात्रा, यज्ञ अनुष्ठान, पूजापाठ, कर्मकाण्ड, नाम जप, माला जप, मन्त्र उच्चाहरण आदि सबै आफूमा आध्यात्मिकता विकास गर्ने पहिलो चरण हो ताकि यी गतिविधिहरुको माध्यमबाट मनुष्य नैतिकवान, अनुशासित, कर्तव्यनिष्ठ, उत्तरदायि, सकारात्मक बन्न सकोस् र प्रेमका श्रींखलाहरु स्नेह, मैत्री, मायाँ, दया, करुणा, सेवा, सहयोग, उपकार, दान, पुण्य आदि दोस्रो व्यवहारिक चरणमा प्रवेश गर्न सकोस् किनकी पहिलो चरण सैद्धान्तिक ज्ञान हो र सैद्धान्तिक ज्ञान मनको तहमा मात्र बस्दछ र यसले मनुष्यको भाव, वुद्धि, चेतनाको तहमा सोचे अनुरुप व्यवहारिक हुनेगरि सकारात्मक बदलाव ल्याउन सक्दैन । तसर्थ मनुष्यमा सोचे अनुरुपको सकारात्मक, व्यवहारिक परिणाम तथा आन्तरिक क्रान्ति ल्याउनका लागि सैद्धान्तिक ज्ञान संगसंगै दोस्रो प्राथमिकता व्यवहारिक ज्ञानको अत्यन्तै धेरैआवश्यकता पर्दछ जसले मनुष्यलाई सिधै सर्वकल्याण गर्ने कर्मका अभ्यास तथा सेवा, प्रेम, भक्तिले भरिएका असल कर्महरुमा प्रवेश गराउदछ । सनातन अध्यात्म दर्शनका अनुसार जो मनुष्य सतकर्म तथा निस्काम सेवा भावले सर्वकल्याण गर्ने कर्ममा लागिपरेको छ उ स्वतः पहिलो चरणका गतिविधिहरुमा स्थित भएको हुन्छ मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक रुपले तसर्थ उसले पहिलो चरणका गतिविधिहरु नगरे पनि हुन्छ भन्ने मान्यता राख्ने गरिन्छ किनकी उसकोलागि कर्मनै मन्त्र हो, कर्मनै तन्त्र हो, कर्मनै पूजा हो, कर्मनै प्रार्थना, कर्मनै भक्ति, कर्मनै इश्वर अर्थात परमात्मा हो । राम्रो आहार, राम्रो विचार, राम्रो वाणी, राम्रो व्यवहार, राम्रो आचरण, राम्रो स्वभाव, राम्रो कर्म आदि कर्मशील तथा कर्तव्यनिष्ठ मनुष्यमा हुने सकारात्म कगुणहरु हुन् र यही नै वास्तविक सर्वकल्याण, इश्वरको वास्तविक भक्ति, पूजा, प्रार्थना हो, धार्मिकता हो, आध्यात्मिकता हो । यसरी हरप्रकारले उत्तम व्यक्तित्वले भरिएको, सर्वगुण सम्पन्न, हरेक पात्रताले पूर्ण भएको अध्यात्म साधकले सहजै प्रारब्ध कर्मका बन्धनहरु र यसका परिणामका कारण जीवनका अनुभवमा आएका दुःख, पिडाहरुको कहरको तोरा तोडेर आफ्नो जीवन सहज, सरल, समृद्ध, सफल, सुखी, खुशी, शान्त, आनन्दित तथा प्रगतिउन्मुख बनाउन बनाउन सक्छ ।

(५)स्वीकार र सन्तोष पनि हरेक मनुष्यले जन्मिदै लिएर आएको उसको प्राकृतिक मूल स्वभाव हो । पूर्वजन्मका तथा विगतका कर्म बन्धनहरुका कारण आफ्नो वर्तमानको जीवनमा अनुभवमा आइरहेका दुःख, पिडाहरुलाई प्रारब्ध, भाग्य, नियति तथा प्राकृतिक न्यायको खेलको रुपमा स्वीकार गरेर यो सबै कुनै जन्ममा मैले नै गरेका कर्महरुका कारण तथा मेरै कारणले भएको हो; यो मैले मेरै प्रारब्ध कर्मको परिणाम भोगिरहेको छु जो अघिल्ला जन्महरुमा मेरै कारणले भएको हो; यसमा अरु कसैको दोष छैन त्यसैले कसैप्रति गुनासो गर्दिन दोष लगाउदिन; कसैप्रति द्वेष, घृणा तथा बदलाको भाव राख्दिन र यो भोगाइको कारण वर्तमान जीवनमा फेरी अर्को नकारात्मक कर्म गर्दिन; यसलाई कर्मको चक्र मानेर चुपचाप सचेत र धैर्य भएर अनुभव गर्छु; जे आइपरेपनि, जहिलेसम्म सहनु गर्नु परेपनि बिना कुनै खेद तथा गुनासो सहन गर्छु किनकी यो परिस्थिति मेरो आत्मा अर्थात चेतनाको विकास गर्न र मलाई सकारात्मक किसिमले परिवर्तन गरेर विकसित गर्न आएको हो भन्ने पूर्ण स्वीकारोक्तिको भाव राखेर आफूले आफूलाई नियन्त्रण गर्न सक्छु र समस्या समाधानका विकल्पका दायराहरु बढाउन सक्छु... भन्ने भावलाई आत्मसाथ गर्दै आफूमा स्वीकार र सन्तोष भावको विकास गरेर जीवनमा अनुभवमा आइरहेका दुःख, पिडाहरुको कहरको तोरा तोड्न सकिन्छ र आफ्नो जीवनलाई सहज, सरल, समृद्ध, सफल, सुखी, खुशी, शान्त, आनन्दित तथा प्रगतिउन्मुख बनाउन सकिन्छ ।


निष्कर्ष

संसारमा दुईप्रकारका मनुष्यहरु छन्, एकप्रकारका मनुष्यहरु आफ्नो जीवनमा आइपर्ने विषय, घटना, सम्वन्धका सहजता तथा असहजताहरु भाग्य, नियति तथा दुर्भाग्य भएर आउनुमा कर्मको प्रधानता र त्यसको आधारमा तय हुने कर्म बन्धन र कर्म बन्धनका कारण वर्तमान जीवनमा अनुभवमा आउने प्रारब्ध कर्मका सकारात्मक परिणामहरुका कारण सहज जीवन र नकारात्मक परिणामहरुका कारण असहज जीवन अर्थात समग्रमा भन्नुपर्दा भाग्य र दुर्भाग्यको सामना गर्नुपरेको भन्ने मान्दछन् जुन आफैंले गरेका कर्महरु कर्मको सिद्धान्त अनुसार कर्मको चक्र पूरा गरेर तथा पाकेर आएका प्रारब्ध कर्मका परिणामहरुले ल्याएका हुन्छन् तर अर्काप्रकारका मनुष्यहरुले यस्तो केही पनि मान्दैनन् । कर्मको सिद्धान्तलाई मान्नु या नमान्नु आ–आफ्नो स्वतन्त्रता हो तर प्राकृतिक न्यायको सिद्धान्तबाट कोहीपनि अछुत छैन र यसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ब्रम्हाण्डका सबैले मान्दछन् र कोही पनि दुविधामा नबसौं, नझुक्किउँ कि सनातन अध्यात्म दर्शनले व्याख्या गर्दै आएको कर्मको सिद्धान्त नै प्राकृतिक न्यायको सिद्धान्त हो र अध्यात्म विज्ञान स्वयं नै इश्वर अर्थात अस्तित्व अर्थात प्रकृति अर्थात ब्रम्हाण्डको संविधान तथा मूल कानून हो । कर्मको सिद्धान्त तथा प्राकृतिक न्यायको सिद्धान्त ‘जसको साथमा कोही हुदैन, उसको साथमा इश्वर अर्थात प्रकृति हुन्छ’ भन्ने मान्यतामा आधारित छ र मनुष्य स्वयं प्रकृति हो, यस अर्थमा मनुष्य स्वयं अन्याय गर्छ र स्वयं नै न्याय गर्छ, आफू न्याय या अन्याय गर्ने कुन वर्गमा पर्छु यो सवाल हरेक मनुष्यले आफैंले आफूलाई अनिवार्य रुपमा गर्नुपर्दछ ।
 
कर्मको सिद्धान्त तथा प्राकृतिक न्यायको सिद्धान्त अनुसार कर्म चक्र तथा समय चक्र पूरा भएको दिन हरेक मनुष्य तथा प्राणीहरुले गरेका एउटा छोटो मुस्कानदेखि ठूला–ठूला परोपकारसम्म र एक थप्पडदेखि ठूला–ठूला जघन्य अपराधहरुसम्म हरेक प्रकारका कर्महरुको हिसाव–कितावहरु कत्तिपनि नछुटाइकन पूर्णरुपमा पक्का–पक्का हुन्छन्, यसमा कुनै प्रकारको तलमाथि तथा भूल-चुक हुदैन किनकी यो प्राकृतिक न्यायको सिद्धान्तमा आधारित हुन्छ र प्रकृति सदा पूर्ण तथा सम्पूर्ण हुन्छ । आफुले गरेका कर्महरु असल छन् भने त्यस्तै प्रकारका परिणामहरु आफ्नो जीवनका अनुभवहरुमा आउछन् र खराव छन् भने त्यस्तै प्रकारका परिणामहरु आफ्नो वर्तमान जन्मको जीवनमा र आगामी पूनर जन्महरुका जीवनका अनुभवहरुमा आउछन् प्रारब्ध कर्म बनेर । सबैले बुझ्नै पर्ने कुरा, कर्मको सिद्धान्त, कर्मको चक्र तथा प्राकृतिक न्यायको सिद्धान्त अनुसार कर्म पाक्न समय लाग्ने भएकोले कोही पनि मनुष्यले वर्तमान समयमा आफूले गरेका खराव कर्महरु अन्याय, झुट, धोकाधडी जति भएपनि कसैले देखेको छैन, मैले अत्यन्तै चलाखीकासाथ अरुले कत्तिपनि थाहा नपाउने गरि गरेको छु, मलाई केही भएको छैन, वर्तमान जीवन सुखमा व्यतीत भैरहेको छ मरेपछि डुमै राजा भन्ने प्रकारको भाव कदापि राख्नु हदैन । यस्तो भाव राख्नु आफ्नो जीवनप्रति आफैंले गरेको सबैभन्दा ठूलो अन्याय, झुट, धोकाधडी हो, यस्तो सोचले आफ्नै भविश्य र आगामी पूनरजन्महरुमा व्यक्तिगत र सामूहिक दुवै प्रकारका अपुरणिय क्षतीहरु ल्याउदछ । भनिन्छ प्रकृतिको नियम असुसार यस्तो सोच राख्ने मनुष्यलाई कर्मको फल अझ व्याज सहित फिर्ता आउने गर्दछ । प्रकृतिको अकाट्य नियम छ, ‘जे रोप्यो त्यही फल्छ, एक दाना रोपेर उम्रेको तथा हुर्केको वृक्षमा अनन्त दानाहरु लाग्छन्’ । कर्मको लेखाजोखा पनि ठिक यस्तै हुन्छ, मैले कुनै जन्ममा आफ्ना असल कर्महरु मार्फत अरुलाई राम्रा अनुभव तथा सुखानुभूतिहरु दिएको छु भने ती मेरो जीवनमा अनन्त खुशीका पल तथा आर्शिवादको वर्षा भएर आउछन् शुभ प्रारब्ध तथा सौभाग्यको रुपमा र नराम्रा अनुभव तथा दुःखानुभूतिहरु दिएको छु भने ती मेरो जीवनमा अनन्त पिडा तथा श्रापको वर्षा भएर आउछन् अशुभ प्रारब्ध तथा दुर्भाग्यको रुपमा । तसर्थ आफ्ना पलपलका कर्महरु छनौट तथा रोजाई गर्दा अत्यन्तै होसपूर्वक गर्ने गरौं ताकि कर्मको गुणवत्ता असल होस र यसको प्रभावले आफ्नो प्रारब्ध शुभ होस् र भाग्य बलियो बनोस् ।

कर्म गर्न नजानेकै कारण मनुष्य जन्मौ–जन्मसम्म आफैंले गरेका कर्म र कर्मका परिणाम ल्याउने प्रारब्ध तथा भाग्य र दुर्भाग्यको चक्रमा घुमिरहन्छ र बारबार जन्म लिरहन्छ, मृत्युवरण गरिरहन्छ र जन्म–मृत्युको चक्रमा चक्कर काटिरहन्छ । कर्म तथा प्राकृतिक न्यायको सिद्धान्त अनुसार जीवनमा आफूले गरेका कर्महरुको मात्र परिणाम प्रारब्ध तथा भाग्य र दुर्भाग्य भएर आउछन् चाहे ती असल कर्म हुन् या खराव कर्म हुन् र नगरेका कर्महरुको परिणाम आउदैनन् । तर यसको मतलव केही काम नगरी दिनभरि खालि बस्नु भनेको कर्म नगर्नु भन्ने होइन । भगवान श्रीकृणले भन्नु भएकोछ, “मनुष्य योनी कर्म योनी हो, कर्म नगरी प्रकृति प्रदत्त हाम्रो शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनाका आवश्यकताहरु पूरा हुदैनन् ।” केही पनि कर्म नगर्नु अरुलाई काम लगाएर अरुमाथि हैकम गर्नु, अन्याय गर्नु, अरुको शोषण गर्नु, अरुमाथिको अन्याय तथा शोषणको बचाउमा केही नगर्नु, मलाई के मतलव भनेर आफूले गर्नसक्ने सहयोग, सेवा समेत नगरि टुलुटुलु हेरेर बस्नु तथा वेवास्ता गर्नु अकर्म, खराव कर्म तथा पाप कर्म गर्नु बराबर हुन्छन् र यस्ता कर्महरुको परिणाम त्यही अनुसारकै आउछन् अझ सशक्त भएर ।स्मरण रहोस, हामीले क्षणक्षण गरिरहेका कर्महरु कहीं वाहिर तथा अन्तैबाट आउने तथा गराइने घटना तथा विषयहरु होइनन्, हाम्रै मनका विचार र हृदयका भाव तथा नियतहरुनै हाम्रा कर्म बन्ने हुन् तसर्थ विचार, भाव तथा नियत सफा राख्नु तथा सकारात्मक बन्नु नै सतकर्मको वास्तविक जग हो । यसकारण सबैले सदा सतविचार, सतभाव तथा सुनियत राखौं, सतकर्म गरौं, खराव कर्म त्यागौं र असल कर्ममा आफ्नो अमूल्य जीवन लगाएर आफूमा आध्यात्मिक विकास गर्दै मोक्षको गन्तव्यमा पुग्न सतमार्ग तथा मुक्तिको मार्गमा हिड्न प्रारम्भ गरौं । 
                                                                               अस्तु 
                                                              शिवोहम ! शिवोहम !! शिवोहम !!!


 

No comments:

Post a Comment