'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Thursday, 30 October 2025

आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति, खण्ड -४

 लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन


निस्प्रयास मौन अन्तर्गत बाँकी शिर्षकहरु 


(३) मौनका आयामः प्रयास मौन र निस्प्रयास मौन 

(क) प्रयास तथा वाहिय मौन

(ख) निस्प्रयास तथा आन्तरिक मौन

प्रयास मौन नै निस्प्रयास मौनको पृष्ठभूमि  

वाहिय मौनको तुलनामा आन्तरिक मौन मुस्किल हुन्छ

निस्प्रयास मौन घटित हुने सामान्य र विशेष अवस्था

मौनको शुन्यता नै पूर्णता हो

निस्प्रयास मौनका दिव्य उपलव्धिका अद्भूत चरणहरु

जीवनमा आएका दुःखहरु मौनकालागि हुन्

जीवनका सबै सवालहरुको जवाफ मौनमा भेटिन्छन्

अहंकार र निस्प्रयास प्रयास मौनको वास्तविकता



आध्यात्मिक दृष्टिकोणमा प्रयास र निस्प्रयास मौन

सांसारिक दृष्टिकोणमा मनुष्यको वाणीलाई चुप लगाउनु र शरीर तथा इन्द्रियका हाउभाउहरुलाई स्थिर राख्नुलाई मौनको अवस्था भन्ने अर्थ लगाइन्छ तर आध्यात्मिक दृष्टिकोणमा मौन चुपचाप केही नगरेर निष्क्रिय रहने तथा स्थिर रहने अभ्यास मात्र होइन, मौन सशक्त कर्म र आध्यात्मिक साधनाको अत्यन्तै महत्वपूर्ण र प्रभावकारी विधि हो जसले जीवन र जगतलाई प्रत्यक्ष प्रभाव पार्दछ । सिद्ध पुरुषहरुका आप्त वाणीहरुमा बारबार भनिएको छ कि मौन शव्द, विचार, भावनाहरुको अनुपस्थिति मात्र होइन, साधकको अन्तरहृदयमा आत्मा र परमात्माको सशक्त उपस्थिति हो । यसकारण मौनको गहिराइ र विराटता केवल शव्द तथा वचनले आँक्न सकिदैन किनकी मौनले साधकको जीवनमा सांसारिक जीवन तथा इहलोकमा अभूतपूर्व सकारात्मक रुपान्तरण ल्याएर, आत्मा अर्थात चेतनाको विकास गरेर साधकलाई परलोकतिरको आध्यात्मिक मार्गउन्मुख गराइदिन्छ । अध्यात्म दया, करुणा, प्रेम, सेवा, परोपकार, श्रद्धा, समर्पण, परोपकार तथा समग्रमा भन्नुपर्दा भक्तिको मार्ग हो । प्रयास तथा निस्प्रयास मौन पनि भक्तिकै मार्ग हो जसको माध्यमबाट मनुष्यले आफूलाई सात्विक भावमा राखेर परोपकारदेखि परमात्मासम्म को यात्रातर्फ अगाडि बढाइरहेको हुन्छ । प्रयास मौन नै निस्प्रयास मौनको प्रारम्भिक विन्दु तथा पहिलो सिढि हो । जव साधक प्रयास तथा वाहिरी मौन हुदै आन्तरिक मौनको माध्यमबाट पूर्ण तथा वास्तविक निस्प्रयास मौनमा उत्रिन्छ तव उभित्र उसलाई आफ्नो आत्माको उपस्थितिको वोध हुन्छ र उसको बुझाइमा आफू हुनुको अनुभूतिमा अत्यन्तै गहन जागरुकता आउछ र निस्प्रयास मौन गहिरिदै जादा जागरुकतामा अझ तिब्रता आउन थाल्छ ।निस्प्रयास मौनमा आफ्नो आत्माको उपस्थितिको वोध तथा आफू हुनुको जागरुकतानै परमात्मालाई आव्हान गर्नु आफूभित्र हो । 


साधकमा परमात्माप्रति जति बढि आस्था, विश्वास, समर्पण, प्रेम, श्रद्धा, भक्ति हुन्छ उतिनै मौन साधनाको यात्रा सहज र परिणाममुखी हुन्छ र मौन साधनाका क्रममा साधकलाई चरणवद्ध रुपमा परमात्माका परालौकिक रहस्यपूर्ण र चमत्कारिक दिव्यताहरु अनुभव तथा अनुभूतिमा आउछन् र सुक्ष्म संसारका अभुतपूर्व उपलव्धिहरु हासिल हुदै जान्छन् किनकी मौन स्वयं परमात्मा हो; जहाँ ‘म’ को भाव सकिन्छ; ‘म’ पग्लिएर केवल शुन्य बाँकी रहन्छ; मौन शुन्य हो, शुन्यमै परमात्माको पदार्पण हुन्छ र मौनको शुन्यता पूर्णतामा रुपान्तरण हुन्छ । यसर्थ मौन परमात्माको वास्तविक वासस्थान हो, परमात्मा नै मौन, मौन नै परमात्मा हो । निस्प्रयास मौनमा आत्मा बोल्न थाल्छ र परमात्मा पनि मौनमै अवतरित हुन्छ र यसपश्चात आत्मा र परमात्मा विच साक्षातकार,  एकाकार र अलौकिक संवाद प्रारम्भ हुन्छ । मौनमा मात्र आत्मा र परमात्माको संवाद हुन्छ र यस्तो दिव्य संवाद साधकको अन्तरहृदयमा गुञ्जिन्छ जो केवल मौनसाधनाको गहन अवस्थामा हुने अनुभव तथा अनुभूतिहरु मार्फत ज्ञातमा आउछ, सामान्य अवस्थामा आउदैन । निस्प्रयास मौनमा प्रकट हुने यसप्रकारका परालौकिक दिव्य अनुभूतिहरु इन्द्रियातीत, मनातीत, भावातीत हुने हुनाले शव्द, इशारा तथा हाउभाउबाट अरु समक्ष व्यक्त गर्न तथा बुझाउन सकिदैन र कतिपय अनुभव तथा अनुभूतिहरु अरु समक्ष उजागर गर्ने अनुमति पनि हुदैन, अनुमति विपरित आफूलाई हासिल भएका इन्द्रियातीत, मनातीत, भावातीत अनुभूतिहरु अरु समक्ष उजागर गरियो भने स्वतः आफ्नो अनुभूतिबाट हराएर जान्छन् । युग ऋषि ओशो रजनीशले भन्नु भएको छ, "मौनको शुन्यताबाट आएका अनुभव तथा अनुभूतिहरुमा परमात्माको रहस्य, चमत्कार, परमसत्य, वोजसता, प्राकाणिकता, शितलता, अमृतको नशा, अलौकिकता, दिव्यता, परमखुशी, परमशान्ति, परमआनन्द प्रष्फुटन हुने हुनाले यस्ता परम अवस्थाहरु सामान्य मनुष्यहरुको बुझाइमा आउन सक्दैनन् र यस्ता अनुभूतिहरुलाई उसले अभिनय, ढोंग र अन्धविश्वासको श्रेणीमा राखेर आफू सांसाररिक भोगको नशामा चुर भैरहन्छ ।"


विरक्तता र वैराग्यता नै निस्प्रयास मौनको मुल श्रोत 

नियमित योगीक साधना गर्ने योगी तथा सन्त चेतनाहरुले आ–आफ्ना अनुभव तथा अनुभूतिहरुका आधारमा मनुष्यको जीवनमा निस्प्रयास मौन घटित हुने तीनवटा प्रमुख श्रोत तथा अवस्थाहरु रहेको उजागर गर्नुभएको छ– (१)दैनिकीबाट विरक्तता, (२)जीवनबाट वैराग्ता, र (३)अध्यात्मको प्यास । वहाँहरुका अनुसार मनुष्यको जीवनमा यिनै तीनवटा अवस्थाहरुमा क्षणिक, स्थाइ र चिरस्थाइ निस्प्रयास मौन घटित हुन्छ– पहिलो, जीवनयापनका क्रममा गरिने दोहोरिरहने दैनिकीको विरक्तता तथा दिक्क लाग्दो नकारात्मक भावबाट सांसारिक जीवनमा क्षणिक निस्प्रयास मौन घटित हुन्छ; दोस्रो, समग्र जीवनप्रतिको सकारात्मक वैराग्यता भावबाट मनुष्यको मन तथा भावमा अलि गहन तथा स्थाइ निस्प्रयास मौन घटित हुन्छ; र तेस्रो, आफू हुनुको खोज, आफ्नो अस्तित्वको खोज, परमात्माको खोज तथा परमात्मा साक्षतकारको तडप, अरुको सहअस्तित्वको स्वीकार्यता तथा अध्यात्मको प्यासबाट सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनमा दिव्य उपलव्धि हासिल हुने तथा गराउने गरि चिरस्थाइ निस्प्रयाश मौन घटित हुन्छ । हरेक मानिसको जीवनमा कुनै जन्ममा, कुनैदिन, कुनै क्षण त्यस्तो समय आउछ जुन अवस्थामा उ आफ्ना दैनिक जीवनयापनका गतिविधिहरु– बोलि, प्रतिक्रिया, व्यवहार, धन, सम्पत्ति, पद, प्रतिष्ठा, मान, सम्मान, सम्वन्ध, सुख, सुविधा, अपेक्षा, तृष्णाहरुबाट थाक्छ र यी सबै गतिविधिहरुप्रति उसको भित्रबाट विरक्तता जाग्छ । यो अवस्थामा उसले गहिरोसंग बुझ्छ कि सांसारिक भोगका कुनैपनि विषय तथा गतिविधिहरुमा वास्तविक तथा आन्तरिक सुख, खुशी, शान्ति, आनन्द रहेनछस यी सबै कुराहरु मभित्रै छन्स  वाहिरी संसारका गतिविधिहरुले बरु अझ आफूसंग भएको सुख, खुशी, शान्ति, आनन्द पनि खोसेर जीवनमा झन बढि बोझ, दुःख, पिडा, अशान्ति, कर्मबन्धन थप्ने रहेछन् भनेर र तव बल्ल उभित्र स्वस्फुर्त क्षणिक निस्प्रयास मौन घटित हुन्छ ।क्षणिक मौन घटित भएपश्चात उसले विस्तारै संसारका वस्तु, विषय, सेवा, सुविधा, सम्वन्धहरुबाट अनावश्यक निकटता तोड्दै, आवश्यक दुरी बनाउदै लान्छ र इन्द्रियहरुको माध्यमबाट वाहिरी संसारको भोगविलासमा रिएको आफ्नो अमूल्य चेतनाको उर्जालाई होसपूर्वक समेटेर आफूतिर फर्काउछ र आफूभित्रको अन्तरयात्रा गर्न प्रारम्भ गर्दछ । जीवनका भोगाइहरुप्रतिको दिक्दारीपन तथा नैराश्यताले ल्याएको विरक्तताका कारण घटित भएको क्षणिक निस्प्रयास मौनले विस्तारै मनुष्यलाई आशा र आस्थातिर फर्काउदै आफूभित्रै डुबाउदै लान्छ र वाहिरी संसारप्रति विरक्तिएको यही अवस्था नै सकारात्मक भाव सहित वैराग्यता तथा वितरागको अवस्थामा स्वस्फुर्त रुपमा रुपान्तरण हुन्छ । यसप्रकारको रुपान्तरणको अवस्थामा मनुष्यले सबै अवस्थाहरुलाई सकारात्मक रुपमा लिन्छ; आफूलाई सहज, सरल बनाउछ; साधा जीवन उच्च विचारलाई आत्मसाथ गर्छ; सबैको सहअस्तित्व सहर्ष स्वीकार गर्दछ; प्रेम, सेवा, परोपकार, सर्वकल्याणका सकारात्मक गतिविधिहरुको माध्यमबाटआफूलाई आध्यात्मिक मार्गमा अगाडि बढाउदै लान्छ; उभित्र परमात्मा साक्षातकारको तडप र अध्यात्मप्रतिको आस्था तथा प्यास बढ्दै जान्छ जसले उसलाई साधनाबाट सिद्धितिरको मार्गमा अग्रसर गराउदछ । यस्तो अवस्थामा उभित्र स्वस्फुर्त घटित भएको निस्प्रयास मौन चिरस्थाइ भएर रहन्छ र उ सदाकालागि सांसारिक जीवनका अर्थहिन गतिविधिहरुबाट पूर्णतः अलग भएर भक्ति र समर्पणको जीवनयापनमा रमाउछ र सांसारिक जगतमा सामान्य उपस्थितिमा रहन्छ किनकी उसको वास्तविक उपस्थिति पारमार्थिक जगतमा स्थित भैसकेको हुन्छ । 


विरक्तता हुदै वैराग्यता, परमात्मा साक्षातकारको तडप र अध्यात्मको प्यास तथा खोजकालागि साधनाको प्रारम्भिक चरणमा मनुष्यले अरुका अर्ति, उपदेश, प्रवचन, सिद्धान्त तथा सतसंगबाट योग तथा ध्यान साधनाका सैद्धान्तिक र व्यवहारिक ज्ञानविज्ञानको अनुशरण गर्दै आफूलाई वाहिय हुदै आन्तरिक मौनमा प्रवेश गराउदै विस्तारै आफू स्वयंले व्यवहारिक रुपमा पूर्ण साक्षी भावमा रहने अभ्यास गरेर ध्यान तथा मौन साधनाको गहिराइमा क्रमशः आफू स्वयंले परालौकिक अनुभव तथा अनुभूति गर्दै जान्छ र आन्तरिक रुपमा स्पष्टसंग बुझ्छ कि वाहिरको संसारमा आफूले खोजेको जीवनको वास्तविक लक्ष्य आन्तरिक खुशी, शान्ति, आनन्द रहेनछ, आफू भ्रममा रहेछु, वाहिर केहीपनि र कोहीपनि आफ्ना रहेनछन्, आफ्नो सिर्फ आफु स्वयं मात्र रहेछ । तव उभित्र निस्प्रयास मौनकोलागि आवश्यक पृष्ठभूमि तयार हुदैजान्छ र यसप्रकारको सकारात्मक परिवर्तनले उसको आत्मा अर्थात चेतनाको विकास हुदै जानेक्रममा उभित्र स्वस्फुर्त रुपमा निस्प्रयास मौन घटित हुन्छ । यसरी विरक्तता हुदै वैराग्यता, परमात्मा साक्षातकारको तडप र अध्यात्मको प्यासका कारण निस्प्रयास मौन घटित भएपश्चात आफूतिर फर्केको साधक फेरी कहिल्यै पनि संसारको भ्रमित भूलभुलैयातिर फर्कदैन, सदा मौनमै चिरस्थाइ रुपमा कायम रहिरहन्छ, मौनमै रमाउछ र आध्यत्मिक मार्गमा निरन्तर अगाडि बढिरहन्छ । यस्तो साधक संसारमा रहन्छ, संसारका कार्य तथा गतिविधिहरु पनि सबै गर्छ आवश्यकता अनुसार तर सदा तटस्थ रहेर, परमात्माप्रति समर्पित रहेर निस्काम तथा निस्वार्थ भावले, करुणावस सर्वकल्याणका लागि, अरु र आफ्नो आनन्दकोलागि गर्ने गर्दछ र उसभित्र कसैबाट धन, मान–प्रतिष्ठा, पद, ओहोदा केही प्राप्त गर्ने अपेक्षा कत्तिपनि रहदैन । 

निशव्द हुनु मौन होइन, निर्विचार हुनु वास्तविक मौन हो

निशव्द हुनु प्रयास तथा वाहिरी मौन हो, भित्रबाट मनका विचार र भावका भावनात्मक संवेगहरु शुन्य हुनु तथा विचार र भावका भावनात्मक संवेगहरु आफ्नो नियन्त्रणमा रहनु निस्प्रयास तथा आत्नरिक मौनको वास्तविक अर्थ तथा परिभाषा हो । निस्प्रयास मौनको अवस्थामा मनुष्यको जीवनका सबै सवाल तथा प्रश्नहरु स्वतः टुंगिन्छन् र उभित्र विचार शुन्यता तथा निर्विचारको अवस्था घटित हुन्छ । विचार शुन्यता तथा निर्विचार अवस्थाको वास्तविक अर्थ विचार तथा भावनात्मक संवेगहरु आफ्नो नियन्त्रणमा आउनु हो  आफूले चाहे अनुसारका विचार तथा भावनाहरु आफ्नो मन तथा भावमा ल्याउन, चलाउन तथा खेलाउन सक्षम हुनु हो अर्थात बेहोसीमा अनावश्यक विचार तथा भावनात्मक संवेगहरुलाई आफूभित्र आउन तथा हावी हुन नदिनु हो । सामान्य अवस्थामा मनुष्यको विचार तथा भावनात्मक संवेगहरु अनियन्त्रित किसिमले तिब्र गतिमा चलिरहेका हुन्छन्, ज्यादातर विचार तथा भावनात्मक संवेगहरु आफैंलाई हानि गर्ने नकारात्मक प्रकृतिका हुन्छन् र उसले चाहेर पनि यस्ता अनावश्क, अनियन्त्रित नकारात्मक अतिविचार तथा भावनात्मक संवेगहरुलाई मन, मस्तिष्क, भावबाट निकाल्न र आवश्यक विचार तथा भावनाहरु ल्याउन तथा चलाउन सक्दैन र उसको मन, मस्तिष्क, भावमा निरन्तर विचार र भावनाहरुको कोलाहल मच्चिरहन्छ । यिनै कोलाहलपूर्ण नकारात्मक अनियन्त्रित अतिविचार तथा भावनात्मक संवेगहरु अप्रिय तथा अपाच्य शव्दका रुपमा बाणीबाट अनियन्त्रित भए प्रष्फुटित भएर वाहिर संसारमा प्रसारित हुन्छन् र यिनले पहिला आफू स्वयंको जीवनमा  पछि अरुको जीवन, सम्वन्ध, समृद्धि तथा मान-प्रतिष्ठा आदिमा बिध्वन्स मच्चाउछन् । तर निस्प्रयास मौनमा अभ्यस्त भएर मन, मस्तिष्क, भाव शुन्य तथा निर्विचार अवस्थामा स्थित भैसकेको हुनेहुनाले साधकमा यस्ता अनावश्यक, अनियन्त्रित, नकारात्मक अतिविचार तथा भावनात्मक संवेगहरु स्वतः बन्द हुन्छन् र उ सदाकालागि विचार शुन्यता तथा निर्विचारको अवस्थामा स्थाइ रुपमा स्थिर रहन्छ । निस्प्रयास मौनमा अभ्यस्त भएर विचार शुन्यता तथा निर्विचार अवस्थामा स्थित भैसकेपछि सांसारीक जीवनका दैनिकीहरुमा दोहोरो शव्द संवाद गरेपनि तथा आफ्ना दैनिक गतिविधिहरु गरेपनि उभित्र शुन्यता तथा निर्विचार मौनको अटुट धारा कायम रहिरहन्छ, वाहिरका कुनैपनि अवस्था तथा परिस्थितिहरुले उसको मौनको धारा टुटाउन सक्दैनन् । सिद्ध साधकहरु शव्द तथा वाणीमा बोलेपनि उनीहरु हरपल मौनमै अर्थात विचार शुन्यता तथा निर्विचारको अवस्थामै रहिरहेका तथा रमिरहेका हुन्छन् । 


निस्प्रयास मौनले आत्म साक्षाकार र परमात्मामा एकाकार गराउछ

वेदको सार श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले भन्नु भएको छ, “मनुष्यको जीवनको सबैभन्दा पहिलो अनुशासन आफूलाई राम्ररी चिन्नु, बुझ्नु तथा जान्नु हो र जीवनको अन्तिम लक्ष्य आत्म साक्षातकार हुदै परमात्मामा एकाकार हुनु हो” । मनुष्यको जीवनमा यी दुई अलौकिक अवस्था केवल मौन साधनाको गहन अवस्थाबाट मात्र हासिल गर्न सम्भव हुनसक्छ । मौन साधनाको प्रारम्भिक चरणमा साधकले विभिन्न किसिमले वाहिरी संसारमा छरिएको आफ्नो चेतनाको उर्जालाई आफैंतिर फर्काएर आफुभित्रको अन्तरयात्राको माध्यमबाट क्रमिक रुपमा आफूले आफूलाई चिन्दै, बुझ्दै तथा जान्दै जान्छ र मौन साधना गहिरिदै गएको अवस्थामा उसको आत्मा अर्थात चेतनाको विकास हुदै जानेक्रममा उसलाई आत्म साक्षातकार, आत्मवोध तथा आत्मज्ञान घटित हुन्छ । आत्म साक्षातकार, आत्मवोध तथा आत्मज्ञान भएपछि आफू शरीर, मन, वुद्धि, अहंकार होइन, साक्षात परमात्मा तथा पुरुषको अभिन्न अंश हुँ भन्ने शाश्वत सत्यको प्रज्ञा साधकको अन्तरहृदयमा अन्तरज्ञानको रुपमा घटित हुन्छ । सबै सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु निस्प्रयास मौन साधनाको माध्यमबाट नै सर्वप्रथम आफूले आफूलाई राम्ररी चिनेर, बुझेर, जानेर आत्म साक्षातकार, आत्मवोध तथा आत्मज्ञानको मार्ग हुदै परमात्मामा एकाकार तथा योगस्थ हुन सफल भएका हुन्छन् किनकी सनातन अध्यात्म विज्ञानको व्यवहारिक ज्ञान अनुसार आफू र आफ्नो मूल श्रोतलाई जान्ने र अन्ततः मूलश्रोतमा एकाकार हुने प्रमुख र एकमात्र मार्ग निस्प्रयास मौन अर्थात मनको विचार शुन्यता तथा निर्विचार अर्थात अमनी अवस्था नै हो । मौन आफूभित्रको संसार हो, आफूलाई वाहिरको भौतिक संसारमा खोज्ने मनुष्य वाहिरकै संसारमा हराउछ तर आफूलाई मौनमा तथा आफूभित्रको संसारमा खोज्ने मनुष्यले आफूलाई र परमात्मालाई मौनमा आफ्नो अन्तरहृदयमा पाउछ । साधकमा निस्प्रयास मौन जति-जति गहिरिदै जान्छ उतिनै ब्रम्हाण्डका अलौकिक रहस्यहरु मौनको प्रकाशमा प्रज्वलित हुदै जान्छन् र उसमा इन्द्रियातीत, मनातीत तथा भावातीत अनुभव तथा अनुभूतिहरु बढ्दै जान थाल्छन् किनकी मौनले आफूभित्रको जन्म–जन्मदेखि बन्द रहेको द्वार खोल्दछ जहाँबाट आत्मा स्वतन्त्र भएर आफ्नै अरन्तरहृदयको केन्द्रमा स्थित परमात्मासंग एकाकार हुन्छ । अधिकांश मनुष्यहरुमा यो भ्रम रहदै तथा विजारोपण गर्दै आईको छ कि परमात्मा वाहिरको संसार, मूर्ति, मठ, मन्दिर, देवालय, गुम्बा, चर्च, मस्जिदमा छ भनेर तर यो पुर्णतः अपूर्ण र असत्य मान्यता हो । अपूर्ण यस अर्थमा कि यी सबै गतिविधिहरु मनुष्यलाई आफूभित्रको मौनमा फर्काउने माध्यम तथा साधन मात्र हुन् । र असत्य यस अर्थमा कि परमात्मा वाहिरी संसारको भिड, हल्ला-खल्ला, कोलाहल भन्दा धेरै पर मौनको अनन्त गहिराइमा मनुष्यको अन्तरहृदयको सबैभन्दा भित्रको केन्द्रमा रहेको अन्तिम परतमा स्थित रहेको छ र साधकको आत्माको अन्धकार हटेपछि त्यहींबाट स्वस्फुर्त प्रकट हुन्छ र साधकको वोधमा आउछ, साधकको आत्मासंग साक्षातकार गर्छ, दोहोरो संवाद गर्छ र साधकको आत्मसंग एकाकार हुन्छ, आत्मा र परमात्मा एक हुन्छन्, अद्वेत हुन्छन् किनकी आत्मा र परमात्मा एकै तत्व हुन, अलग होइनन्, आत्मा नै परमात्मा हो र समष्टि पारमात्माको व्यष्टि स्वरुप आत्मा हो । 


सबै मनुष्यहरुले यो शाश्वत सत्य बुझ्नु तथा बुझाउनु अपरिहार्य भएको छ कि परमात्मा आफूभन्दा वाहिरको संसारमा रहेका मूर्ति, मठ, मन्दिर, देवालय, गुम्बा, चर्च, मस्जिदमा छैन, आफ्नै अन्तरहृदयभित्रको केन्द्रिमा शरीर, मन, भाव, वुद्धि, अहंकारको कालो पर्दाले ढाकिएर रहेको अवस्थामा छ । पूजापाठ, व्रत–तीर्थ, दान–पुण्य, परोपकार, मूर्ति, मठ, मन्दिर, देवालय, गुम्बा, चर्च, मस्जिद, गुफा, जंगल, गुरुकुल, गुरु, सदगुरु सबै मनुष्यलाई आध्यात्मिक तथा योगीक साधनाको मार्ग सिकाएर आफूभित्रको मौनमा पुर्याउने साधन तथा मार्ग मात्र हुन्  शाश्वत निराकार, निर्गुण, अव्यक्त परमात्माको खोजी अनिवार्य रुपमा मनुष्यले आफू स्वयंभित्र आफू स्वयंले नै गर्नुपर्दछ  परमात्मा प्राप्तिको वास्तविक साधना साधक स्वयंको प्रयत्नबाट स्वस्फुर्त रुपमा घटित हुने निस्प्रयास मौन नै हो । मौन साधनाको प्रज्वलित अग्निले प्याजका तहझैं रहेका शरीर, मन, भाव, वुद्धि, अहंकार र यिनले जन्म–जन्ममा गरेका कर्महरुको कर्मबन्धनको कालो पर्दालाई जलाउछ एकपछि अर्को परत गर्दै तव अन्तरहृदयको सबैभन्दा भित्रको केन्द्रबाट परमात्मा स्वस्फूर्त रुपमा प्रकट हुन्छ, साधकको आत्मासंग साक्षातकार र दोहोरो संवाद गर्न प्रारम्भ गर्छ र भन्छ, “अन्ततः ‘तँ’ र ‘म’ एकआपसमा साक्षातकार र एकाकार हुन सफल भयौं है” । ब्रम्हाण्डिय कानून सनातन अध्यात्मको नियम अनुसार आत्मा परमात्मासंग एकाकार हुन अत्यन्तै आतुर भएजस्तै परमात्मा पनि आत्मासंग मिल्न चाहान्छ तथा प्रतिक्षारत रहेको हुन्छ जसरी नदि सागसंग मिल्न आतुर हुन्छ र सागर नदिलाई आफूमा समाहित गर्न प्रतिक्षारत रहन्छ । यसैकारण हाम्रा महान पुर्खा प्राचीन वैज्ञानिक ऋषिहरुले भन्नु भएको छ, “साधक तथा भक्तले एक पाइला परमात्मातिर बढायो भने परमात्माले आफ्नो सन्तान तथा भक्ततिर एकैपटक १००० पाइला बढाउछ र सर्वथा उसको पारमार्थिक कल्याणका लागि खडा रहन्छ ।  

निस्प्रयास मौनबाट नै हुन्छ आत्माको ब्रम्हाण्डिय सयर

मनुष्य 'पुरुष र प्रकृति'को महासंयोगबाट सिर्जित भएको जीव+आत्मा=जीवात्मा हो । प्रकृति मनुष्यको स्थुल शरीर हो जो पंचतत्व तथा पंचमहाभूतको संमिश्रणबाट निर्मित भएको हुन्छ र पुरुष अर्थात आत्मा समष्टि परमात्माको अभिन्न व्यष्टि अंश हो जो शरीरको आयु सकिएर मृत्युवरण भएपछि पुनः आत्मालोक तथा सुक्ष्म संसार तथा परमात्माको संसार तथा आफ्नै मूलश्रोत तथा मूलघरमा फर्कन्छ र त्यहीं रहिरहन्छ अर्को जन्म अर्थात पूनरजन्म नलिउन्जेलसम्म । मनुष्यको प्रकृति प्रदत्त स्थुल शरीर जो दृश्य स्वरुपमा छ र यसका उचाई, मोटाई, गति, दृश्य, श्रवण, सुघाइ, स्वाद तथा स्पर्शका अनुभव तथा अनुभूति आदि धेरै प्रकारका सीमाहरु रहेकाछन् । तर उसको पुरुष अर्थात आत्मा अर्थात चेतना अर्थात सुक्ष्म शरीर जो अदृश्य स्वरुपमा छ र यसका कुनै प्रकारका सीमाहरु छैनन् र आत्मा अर्थात चेतनालाई केहीले पनि प्रभाव पार्न सक्दैन । आत्मा अर्थात चेतना असीम, अनन्त, सर्वशक्तिमान, सर्वव्यापक, महाप्रकाशमय, महाउर्जावान, शुद्ध, वुद्ध, नित्य, अमर, शास्वत हुन्छ किनकी यो परमात्मा स्वयंको अभिन्न अंश हो । वेदको सार, संसारका पुस्तकहरुका पनि पुस्तक महापुस्तक श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले भन्नु भएको छ, “नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः। न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।(श्रीमद् भगवद् गीता, २-२३०)”। अर्थात आत्मा त्यस्तो कहिल्यै नमर्ने ‘अमृत’ तथा ‘अमर’ तत्व हो जसलाई शास्त्रले काट्न सक्दैन, अग्निले जलाउन सक्दैन, पानीले गलाउन सक्दैन, वायुले सुकाउन सक्दैन । निस्प्रयास मौन साधनाको प्रज्वलित अग्निमा प्रकट भएको परमात्माको महाशक्ति, महाउर्जा तथा महाप्रकाशले साधकको आत्मा अर्थात सुक्ष्म शरीरलाई असीम, अनन्त, सर्वशक्तिमान, सर्वव्यापक बनाइदिन्छ  परमात्मा आफू स्वयं निवास गर्ने साधकको अन्तरहृदयलाई विशाल तथा विराट बनाइदिन्छ र साधकको अन्तरहृदयभित्रै समुच्चा ब्रम्हाण्ड खडा गरिदिन्छ तथा अटाइदिन्छ र साधक सवयंलाई ब्रम्हाण्ड बनाइदिन्छ । आफू स्वयं ब्रम्हाण्ड बनेको साधकले आफू स्वयंभित्रै ब्रम्हाण्डका सबै सृष्टिहरु– सबै प्राणीहरु, सबै वनस्पतिहरु, सबै पदार्थहरु, ग्रह, नक्षेत्र, सौर्यमण्डल, तारामण्डल, कालो छिद्र, खालि ठाउँ तथा समुच्चा आकाश एकैठाउँमा समाहित भएको पाउछ र ती सबैसंग साधकले चाहे अनुसार, चाहेको समयमा सहजै साक्षातकार गर्न, संवाद गर्न, सयर गर्न सक्छ । यो अवस्था स्वस्फुर्त घटित भएको निस्प्रयास मौन साधनाले तयार पारेको अन्तरहृदयको गहन शुन्यताले भरिएको विकसित चेतनाको महासागरमा परमात्मा अर्थात अस्तित्वले घटित गराइदिन्छ र साधकलाई सदाकालागि अलौकिक पूर्णताले भरिदिन्छ । 


मौन साधनाले बनाएको अन्तरहृदयको विराट शुन्यतामा अस्तित्व स्वयंद्वारा पूर्णता भरिदिने हुनाले मौन खालिपन तथा शुन्यता नभएर महापूर्णता हो जहाँ समुच्चा विराट ब्रम्हाण्ड अटाएको हुन्छ । आफ्नो अन्तरहृदयमा यस्तो अलौकिक, चमत्कारिक, रहस्यमय अवस्था घटित भएपछि साधकले सबैमा आफू र आफूमा सबैलाई देख्न थाल्छ र आफूलाई ब्रम्हाण्डको अद्वेतमा विलिन गरिदिन्छ । अव ब्रम्हाण्डका सारा अलौकिक ज्ञानहरु साधकको अन्तरहृदयमा स्वस्फुर्त रुपमा आउन थाल्छन् । सृष्टिका प्राणी, वनस्पति, वस्तु तथा पदार्थहरु, सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु, भगवद् चेतनाहरु, ब्रम्हाण्डका महाशक्तिहरुसंग साधकको प्रत्यक्ष साक्षातकार र दोहोरो सौहार्दपूर्ण संवाद हुन थाल्छ । साधकको शरीर, शव्द, मन, भाव, आत्मा अर्थात चेतना, आभामण्डलमा परमात्माको तेज तथा वोज स्वतः कयौं गुणाले बढेर आउछ र यस्तो अलौकिक दिव्य अवस्थाले उसको वरिपरि र दुरदुरसम्म चारैतिरका प्राणी, वनस्पति, पदार्थहरुमा सकारात्मक प्रभाव पार्दछ । साधकमा छाएको परमात्माको तेज तथा वोका कारण उसको उपस्थिति मात्र पनि सबैको सुख, खुशी, शान्ति, आनन्दको कारण बन्दछ र उसको निकटमा सबैले सुख, खुशी, शान्ति, आनन्दको महसुस तथा अनुभूति गर्दछन् । सामान्य मनुष्यहरुलाई लाग्न सक्छ कि यी सबै काल्पनिक तथा कल्पना गएिका मनगढण्ते घटना तथा विषयहरु होलान तर होइन यी सबै शुद्ध तथा व्यवहारिक विज्ञान हुन, परालौकिक, दिव्य, अकाट्य, शाश्वत, सत्य र अत्यन्तै प्रामाणिक उपलव्धिहरु हुन जुन स्वस्फुर्त रुपमा घटित भएको निस्प्रयास मौन साधनाको गहिराइमा साधकलाई इन्द्रियातीत, मनातीत, भावतीत अनुभव तथा अनुभूतिहरुमा प्रत्यक्ष रुपमा आउछन् । निस्प्रयास मौन साधनाको प्रज्वलित अग्निमा तपिएका तथा खारिएका सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु सबैमा यस्ता विशेष प्रकारका शक्ति तथा सिद्धिहरु अनुभूतिमा आएका हुन्छन् र उनीहरुको सुक्ष्म शरीरमा चिरस्थाइ रुपमा विद्यमान रहिरहन्छन्  सदाकालागि । 

एकान्तपन मौनमा प्रवेश गर्ने र ब्रम्हाण्ड बुझ्ने अमूल्य अवसर

आजको मनुष्य अज्ञानताका कारण एकान्त तथा एक्लोपनदेखि डराउछ, कहालिन्छ र एकान्तपनलाई मानसिक तथा भावनात्मक बिमारी तथा बिमारीको कारणको रुपमा लिन्छ तर एकान्त तथा एक्लोपन मौनमा प्रवेश गर्न मद्धत गर्ने अमूल्य अवसर, अत्यन्तै महत्वपूर्ण साधन र सबैभन्दा ठूलो वरदान हो किनकी एकान्तपनमा रमाउन र बानी पर्न सक्ने मनुष्य आफ्नो आन्तरिक जगतमा सहजै प्रवेश गर्न सक्दछ र उसलाई निस्प्रयास मौन छिटो घटित हुन्छ । आफ्नो एकान्त तथा एक्लोपनको सदुपयोग गर्दै मौन साध्न सक्ने मनुष्यले आफूलाई भेट्दछ, छिट्टै आत्म साक्षातकार तथा आत्मवोधको अवस्थामा उपलव्ध हुन्छ । आत्म साक्षातकार तथा आत्मवोध हुदै आफ्नो अन्तरजगतमा प्रवेश गरिसकेको मनुष्य आफ्नो जीवनको मालिक उ स्वयंनै हुन्छ तर एकान्त तथा एक्लोपनको महत्व र उपयोगित नबुझेर अरुमा परनिर्भर हुने र वाहिरी संसारको भिडको पछाडि लाग्ने तथा भोगको जीवनमा लिप्त हुने मनुष्य अरुको विचारको दाष बन्दछ र वाहिरी संसारमा हराइरहन्छ । एकान्त तथा एक्लोपन हुदै, प्रयास मौन हुदै निस्प्रयास मौनको अवस्थामा पुगेपछि साधकको मन तथा भावमा सोच, विचार, भावनात्मक संवेगहरुका कोलाहल तथा हलचलहरु क्रमशः बन्द हुदै जान्छन् । सोच, विचार, भावनात्मक संवेगहरुका कोलाहल तथा हलचलहरु बन्द भएपछि सर्वप्रथम साधकको अन्तरहृदयमा शुन्यता घटित हुन्छ, यही शुन्यतामा उसको आत्माको उपस्थिति र परमात्माको पदार्पण हुन्छ, यो शुन्यता स्वतः पूर्णता तथा सम्पूर्णतामा रुपान्तरण हुन्छ र यही सम्पूर्णतासंग पराभौतिक संसारका ब्रम्हाण्डिय अलौकिक, रहस्मयि, चमत्कारीक, दिव्य, आध्यात्मिक परमसत्यका प्रज्ञा, ज्ञान, विज्ञान, महाज्ञानहरु घटित भएर साधकको इन्द्रियातीत, मनातीत, भावातीत अनुभव तथा अनुभूतिहरुमा प्रकट भएर आउन थाल्छन् । 


मौनको गहन अवस्थामा जव साधकको आत्मा अर्थात चेतनाको उर्जा तरंग परमात्माको उर्जा तरंगसंग जोडिन्छ तथा एकाकार हुन्छ तव सारा ब्रम्हाण्ड साधकको पक्षमा काम गर्न थाल्छ । साधक निस्प्रयास मौनको प्रज्वलित अग्निमा तपिएर खारिएपछि उसको आत्मा अर्थात चेतनाको उर्जा स्वतः खारिन्छ र अव यो दिव्य उर्जाले स्वस्फुर्त रुपमा आफू वरपर चारैतिर दुरदुरसम्म सर्वकल्याणको काम गर्न प्रारम्भ गर्दछ अदृश्य रुपमा किनकी आत्माको खारिएको उर्जा स्वयं परमात्मा हो, परमात्मा संधै निराकार, निर्गुण, अव्यक्त हुन्छ र हरहालमा सबैको कल्याण गर्ने परम करुणादायि हुन्छ । मौनको प्रज्वलित अग्निमा तपिएका तथा खारिएका सन्तहरु मौनमै परमात्मासंग सिधै साक्षातकार तथा प्रत्यक्ष दोहोरो संवाद गर्दछन्  ब्रम्हाण्ड संचालनका गुरुयोजनाहरु तर्जुमा गर्दछन् । स्थुल शरीरमा रहेका तथा नरहेका सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु एकआपसमा मौनमै सिधा सम्पर्क गर्दछन् संसारको जुन भूगोलमा रहेको भएपनि ब्रम्हाण्ड संचालनको गहन बहस, विश्लेषण र योजना निर्माण गर्दछन् । यसकारण मौन परमसत्य र परमपूर्णता हो, परमात्माको पर्याय तथा प्रतिविम्व हो जसमा समुच्चा ब्रम्हाण्ड र ब्रम्हाण्डको सर्जक स्वयं ब्रम्ह अर्थात परब्रम्ह अटाउछ । निस्प्रयास मौन साधनामा भौतिक संसारले कल्पना समेत गर्न नसकेका अनन्त अलौकिक परमशाश्वत अवस्थाहरु घटित हुन्छन् र साधक आन्तरिक रुपमा परमसुख, परमखुशी, परमशान्ति, परमआनन्द, सतचितानन्दमा उपलव्ध भैरहन्छ नित्यनिरन्तर । उ भौतिक संसार र पराभौतिक संसारमा एकसाथ उपस्थित भएर आफ्ना कर्महरु गर्दछ । मौनको प्रज्वलित अग्निमा तपिएर खारिएरको सिद्ध साधक परमात्ममा एकाकार भएपछि अव साधकले पार्थना नगरे पनि परमात्मा अर्थात अस्तित्वले उसका सर्वकल्याणका इच्छा, आंकाक्षाहरु स्वस्फुर्त रुपमा स्वयं सुन्छ र तथास्तु भन्छ तव ब्रम्हाण्डमा ती कार्यहरु हुदै जान्छन् विभिन्न माध्यमहरु मार्फत । निस्प्रयास मौन साधनामा सिद्ध भएको साधकले सदा सर्वकल्याणका विषहरुबारे मात्र इच्छा, आंकाक्षाहरु राख्ने गर्दछ आफ्नोलागि कुनै प्रकारका अपेक्षहरु कहिल्यै पनि राख्दैन ।  



********************

छिट्टै(सम्पादनको चरणमा रहेको)

मौनका उपलव्धिहरुः सांसारिक र पारमार्थिक

मौनका प्रक्रिया तथा विधिहरुः सामान्य विधि र योगीक विधि







No comments:

Post a Comment