'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Sunday, 26 October 2025

आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति, खण्ड -२

 लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन


कथा 

‘फूललाई सोधें कहाँ गयो कता गयो भमरा...’

मेरा वास्तविक मित्रहरु म स्वयं र फूलविरुवाहरु हुन् । मेरो फुर्सदको अधिकांश समय आफैं र फूलविरुवाहरुसंग बित्ने गर्छ, एकप्रकारले म आफूले आफूलाई माली नै भन्न रुचाउछु । म आफ्नै मस्तीमा मोबाइलमा स्वर साम्राज्ञी अरुणा लामाको कालजयि गीत ‘फूललाई सोधें कहाँ गयो कता गयो भमरा...’ घन्काएर कौशीमा फराकिला गमलाहरुमा हुर्काइएका फूलविरुवाहरु गोड्दै केही दिनअघि पानीमा ढड्याएको तोरीको पीनामल हालिरहेको थिएं । कालजयि गीतको आवाज बन्द गराएर फोनको रींगटोन बज्यो, काम गर्दै गरेकोले हात खालि थिएनन्, फोन नउठाउँकी जस्तो लाग्यो तर स्क्रिनमा पन्थी कैलाश नाम देखेपछि उठाउने विचार गरें किनकी उनले अष्ट्रेलिया फर्कने बेलामा म सकेसम्म आउने प्रयास गुर्छु नभए फोन गर्छु भनेका थिए । फोन उठाएं, पर्सि अष्ट्रेलिया फर्कदै छु, तिमी फुर्सद छौ भने आज आउँकी भनेर सोधे । मैले अर्कोतिर जानुपर्ने कामलाई अर्कोदिन सारेर उनलाई समय दिने विचार गरें र उनलाई आउन आग्रह गरें । दिउसो एक बजे उनी मकहाँ आइपुगे, हामी कफी पिउदै कौशीमा फूलविरुवाहरुसंगै बस्यौं केहीबेर । कैलाश र मैले अघिल्लो साता निस्प्रयास मौन साधना र साधनाका क्रममा भएका अनुभव तथा अनुभूतिहरुको बारेमा संवाद गरेका थियौं र अर्को बसाइमा संवादलाई फेरी यही विषयबाट निरन्तरता दिने सहमति भए अनुसार हामीले पुनः मौन साधनाकै विषयमा संवाद शुरु गर्यौं । यो बसाइमा उनले मौन साधनाको सैद्धान्तिक तथा व्यवहारिक चुरोकुरोबारे आ–आफ्नो बुझाइ, धारणा तथा अनुभव विस्तारमा विश्लेषण गरौं र संवादको अन्तिममा म विपश्यना मौन साधनामा भएका आफ्ना केही अनुभव तथा अनुभूतिहरुबारे बताउनेछु भने । मैले आफूमा स्वस्फुर्त घटित भएको निस्प्रयास मौन साधनाको क्रममा भएका आफ्ना इन्द्रियजनि, मनजनित, भावजनित अनुभवहरु र इन्द्रियातीत, मनातीत, भावतीत अनुभूतिहरु उनलाई अझ गहिरोसंग बुझाउने उद्देश्यले आफू छेउकै गमला रहेको ढकमम्क फूलेको पिटुनिय फूलसंगको मौन संवादको जिकिर गर्दै वास्तविक मौन तथा निस्प्रयास मौन साधना भनेको के रहेछ र यसको सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे आफ्नो बुझाईमा आए अनुसार बताउन प्रारम्भ गरें । यसपटक उनले मोबाइलमा रेकर्ड गर्ने विचार गरेका रहेछन्, रेकर्ड खोले र मलाई बोल्न प्रारम्भ गर्ने संकेत दिए हातले । 

मैले अघि मोबाइलमा बजिरहेको उनको फोन आएको कारणले रोकिएको गीत फेरी बजाएं र कौशीमा ढकमक्क फूलेको पिटुनिया फूलतिर इशारा गर्दै कैलाशलाई सोधें,

“जस्तोसुकै घाम–पानी, हुरी–वतासमा पनि सदा एकै ठाउँमा तुपचाप बसिरहने यी फूलविरुवाहरु देख्दा कस्तो लाग्छ तिमीलाई कैलाश ?”

“विचरा यी निशव्द जड प्राणीहरु चुपचाप सबै सहेर बसिरहन्छन्, न आफू चल्न सक्छन्, न आफुले बोलेर कसैसंग मद्धत माग्न सक्छन् !”

“यो तिम्रो बुझाइ हो कैलाश, फूलविरुवाको सन्दर्भमा मेरो बेग्लै बुझाई रहेको छ । यस सन्दर्भमा मेरो बुझाई म भन्नेछु, त्यसअघि यो बजिरहेको गीतको स्थाइ तथा मुखडा सुन हैत, ‘फूललाई सोधें कहाँ गयो कता गयो भमरा...’ । स्रष्टाले किन यस्तो भावमा गीतका शव्दहरु लेखे होलान, के लाग्छ तिमीलाई... ?”

“त्यो त गीत हो नि, गीतमा त जे लेखेपनि भैहाल्छ नि... !”

“तिमीले भनेको सही हुनपनि सक्ला अरु विषयहरुसंग सम्बन्धित गीतहरुमा तर यो गीतमा भएका शव्दका भावहरुमा सतप्रतिशत सत्यता छ । अहिले भर्खर मैले यो पिटुनिया फुललाई एकछिन अघि तिम्रो रसमा रमाइरहेको मौरी कता गयो भनेर सोधें भने यसले बताइदिन्छ मलाई उक्त मौरी कता गयो भनेर र त्यति मात्र होइन यसले मलाई पानी पुगेन, मल पुगेन, बिना प्रयोजन मलाई नटिप, एकछिन हामीसंग पनि बस, हाम्रो कुरा सुन समेत भन्छ... !”

“हाहाहा... ओहो ! तिमी पनि आकाशमा उड्ने गजव प्रकारको साहित्यकार भैसकिछौ श्रीशा !”

कैलाशले मेरो कुरामा विश्वास गरेनन्, गरुन पनि कसरी त, यो हृदयको सम्वेदनशिलताको गहन विषय हो जुन हरकोहीमा कहाँ घटित हुन्छ र ! म हल्का मुस्कुराएं मात्र र उनलाई भनें, 

“मुखबाट प्रष्फुटन हुने शव्द मात्र भाषा होइन कैलाश, मौन अझ शक्तिशाली भाषा हो, जो अन्तरहृदयमा लाउड स्पिकर सरह गुञ्जिन्छ । तिमीले शव्दमा बोलेको भाषा मेरा कानमा गुञ्जिन्छ तर यी फूलविरुवाहरुले बोलेको मौनको भाषा तिमीले बोलेको भन्दा ठूलो आवाजमा मेरो अन्तरहृदयमा गुञ्जिन्छ एकदम स्पष्ट रुपमा सुनिने र बुझिने गरि । यो सत्य हो कैलाश, यिनीहरु मसंग पानी माग्छन; खाना माग्छन्; सेवा-सुसारको आश राख्छन्; बिना प्रयोजन उनीहरुलाई बोटबाट अलग गरेको मन पराउदैनन्; आफ्ना कुरा सुनाउन उत्सुक हुन्छन्; मसंग मित्रताको अपेक्षा गर्दछन्... । मैले तिमीलाई अघिल्लो बसाइको संवादमा भनेको थिएं, मेरो निस्प्रयास मौन साधनाको क्रममा मसंग प्राणी, वनस्पति, पदार्थ तथा ग्रह-नक्षेत्र-तारा, पहाड-खोला-नाला वस्तुहरु सबैले संवाद गरे भनेर, बिर्सियौ र तिमीले... !?”

“अँ, भनेकी थियौ, तर यो पिटुनिया... !?”

“हो, पिटुनिया लगायत सबै वनस्पतिहरु, पानीको लेउदेखि लिएर भिमकाय सख्वा, बर, पिपलका वोटविरुवाट तथा वृक्षहरु सबैले संवाद गर्दछन् र आ–आफ्ना भाव प्रकट गर्दछन् मौनको भाषामा । शव्दको भाषाबाट गरिने अभिव्यक्ति भन्दा मौनको भाषाबाट गरिने अभिव्यक्ति अझ सशक्त र स्पष्ट हुन्छ कैलाश । अध्यात्ममा रुचि रहेछ तिमीलाई, केही सिद्ध योगीहरुको अध्यात्म साधनाका अनुभव तथा अनुभूतिहरु समेटिएका वहाँहरुका जीवनी पढ्यौ भने यसबारे सबै जानकारी पाउन सक्छौ तिमीले । पहिलो चरणमा म तिमीलाई श्रद्धेय परमहंस योगानन्दज्यूको ‘योगीको आत्मकथा’ पुस्तक पढ्न सुझाव र आग्रह गर्छु, सबैभन्दा पहिले अध्याय आठ पढ, त्यस अध्यायमा सम्वेदनशील हृदय भएका मनुष्य तथा सिद्ध योगीहरुले फूलविरुवा तथा वनस्पति र वस्तु तथा पदार्थहरुसंग पनि दोहोरो संवाद गर्न सक्छन् भन्नेबारे वैज्ञानिक तवरले पुष्टि गर्दै उल्लेख गरिएको छ । सनातन अध्यात्म दर्शनको प्रमुख विषय वेदान्त दर्शनका अनुसार, ‘सबै चैतन्य छन्’ अर्थात ब्रम्हाण्डमा स्थित सबै प्राणी, वनस्पति र पदार्थहरु फरक–फरक प्रकारले जीवित तथा चेतनशील छन् र उनीहरुको चेनताको भाषा मौन हो, मौनमै उनीहरु आफ्ना भावका तरंगहरु अरुसमक्ष व्यक्त तथा सम्प्रेसित गर्दछन् । तसर्थ मौन निशव्द, शुन्य तथा खालिपन होइन, मौन सशक्त भाषा हो र यो पूर्ण मात्र होइन भरिपूर्ण तथा सम्पूर्णताको अवस्था हो । मेरो बुझाइ, अनुभव र अनुभूति अनुसार वास्तविक मौनको तात्पर्य के हो भन्ने सन्दर्भ यहींबाट उठान हुने भएकोले हाम्रो संवादको मूल विषयमा प्रवेश गर्नुपूर्व मैले तिमीलाई यति जानकारी दिन आवश्यक ठानें । अव यसपछि शुरु गर्छु मौन साधनाका सैद्धान्तिक तथा व्यवहारिक पक्षहरु- मौन साधना के हो; मौन साधनाका आयामहरु; मौन साधनाका उपलव्धिहरु; र मौन साधनाका प्रभावकारी विधि तथा प्रक्रियाहरु र बारे बताउन, ध्यानपूर्वक सुन कृपया...”  


(१) मौन साधना के हो ?

एउटा अत्यन्तै लोकप्रिय भनाइ रहदै आएको छ, ‘शव्द शक्ति हो र निशव्द तथा मौन महाशक्ति हो’ । तर निशव्द तथा मौन किन र कसरी महाशक्ति हो भन्ने विषय सबैको बुझाइमा सहजै आउन सक्दैन किनकी यसकालागि मनुष्यको अन्तरआत्मा तथा अन्तरहृदयमा गहन अवस्था घटित भएको हुनुपर्दछ । निशव्द तथा मौनको अभ्यासले मनुष्यको सांसारिक जीवनमा र पारमार्थिक जीवनमा महत्वपूर्ण सकारात्मक परिवर्तन ल्याउछ । निशव्द तथा मौनको शक्तिले मनुष्यको सांसारिक जीवनमा सहजता, सरलता, समृद्धि, सफलता हासिल गर्न मद्धत गर्दछ र उसको जीवनमा सोचे अनुरुपको सकारात्मक विकास तथा परिवर्तन आउने हुनाले आफ्नो लक्ष्य अनुरुप उच्चस्तरको जीवन जीउन मद्धत गर्दछ । त्यस्तै, निशव्द तथा मौन साधनाको महशक्तिले मनुष्यको आत्मा अर्थात चेतनाको अलौकिक विकास गरेर पारमार्थिक जीवनमा सहजता, सरलता, सफलता दिलाउछ र परमात्मामा एकाकार गएर मोक्षमा उपलव्ध हुन मद्धत गर्दछ । सामान्यतया भौतिक जगतमा मौनलाई निशव्द, खालिपन तथा शुन्यताको रुपमा परिभाषित गर्दै आइएको पाइन्छ तर आध्यात्मिक जगतमा मौनको गहन परिभाषा गर्दै मौनलाई सृष्टिका सबै प्राणि, वनस्पति तथा पदार्थहरुले आ-आफ्ना भाव तरंगहरु अभिव्यक्त गर्ने संवादको सशक्त माध्यम र पूर्णता मात्र नभएर सम्पूर्णताका रुपमा लिइएको छ किनकी प्रकृतिको अकाट्य नियम अनुसार केही पनि चिज कहिल्यै पनि खालि रहदैन, पूर्ण तथा भरिपूर्ण नै रहन्छ दृश्य तथा अदृश्य रुपमा । सनातन अध्यात्म दर्शनका अनुसार जुन ठाउँ खालि हुन्छ त्यो ठाउँ पुरानो भन्दा अझ राम्रो विषय तथा सशक्त उर्जाले भरिन्छ । ध्यान तथा मौन साधनाको अभ्यासका कारण स्थिर, खालि तथा शुन्य भएको मनुष्यको अन्तरमन तथा अन्तरहृदयमा परमात्मा स्वयंको पदार्पण हुन्छ जसकालागि मनुष्यले जन्म-जन्मदेखि विभिन्न योग साधनाका विधि तथा प्रक्रियाहरुको माध्यमबाट हासिल गर्ने अथक प्रयत्न गर्दै आइरहेको छ । अन्तरआत्मा तथा अन्तरहृदयको मौन, शुन्यता तथा खालिपनमा स्वयं परमात्माको पदार्पण भएपछि मनुष्य आफ्नो सांसारिक र पारमार्थिक जीवनमा शुन्यताबाट पूर्णता र पूर्णताबाट सम्पूर्णतातर्फ उन्मुख हुन्छ किनकी शुन्यता स्वयं परमात्मा हो र परमात्मा नै पूर्णता हो । सम्पूर्णता यस अर्थमा हो कि परमात्मा साक्षातकारपछि अव मनुष्यको जीवनमा हासिल गर्न केही पनि वाँकी रहदैन ।यो अवस्थाले मनुष्यको सांसारिक जीवन र पारमार्थिक जीवनमा उसले इच्छ्याए अनुसार नै पूर्णताको प्राप्ति हुन्छ । तसर्थ मौन शुन्यता होइन पूर्णता हो, मौनबाट सिर्जित भएको शुन्यतामा सांसारिक र पारमार्थिक दुवै प्रकारका उपलव्धिहरु हासिल हुने भएकोले मौन पूर्णता मात्र पनि होइन सम्पूर्णता हो ।यहीकारणले सनातन शास्त्रहरुमा आप्त वचन भनेर उल्लेख गरिएको छ ‘मौनं सर्वार्थ साधनं’ अर्थात मौननै सबैप्रकारका प्राप्तिहरुको प्रमुख साधना हो । यही मान्यतालाई शिरोपर गर्दै संसारभरिका सबै धर्म तथा सम्प्रदायहरु र सबै सिद्ध पुरुषहरुले मौन साधनालाई विशेष महत्व र प्राथमिकता प्रदान गर्दै आएका छन् ।


आमरुपमा प्राय सबैले बुझ्ने गरेको ‘मौन’को अर्थ चुपचाप रहेको अवस्था हो तर अध्यात्म विज्ञानका अनुसार मौनको अर्थ तथा परिभाषा अत्यन्तै वृहद र गहन रहेको छ । मौनको अभ्यास दुईप्रकारले गरिन्छन्– (१)वाहिय मौन, र (२)आन्तरिक मौन । सामान्य परिभाषा अनुसार, मुखबाट कुनै शव्द ननिकाल्नु, नबोल्नु तथा कुनै प्रकारको शरीरका अंगहरुले इशारा तथा हाउभाउ प्रकट नगर्नु र शरीरलाई हलनचलन नगराइकन एक स्थानमा एकै अवस्थामा स्थिर भएर रहनु वाहिय मौनको अभ्यास हो । मनुष्यको मनमा चल्ने अतिविचारहरु र भावमा चल्ने अनियन्त्रित भावनाका संवेगहरुलाई न्यून गरेर तथा शुन्य अवस्थामा पुर्याएर भित्रबाट आफू स्थिर रहनु आन्तरिक मौन हो । वाहिय मौनको अवस्थालाई आफू तथा अरुले सहजै महसुस तथा अनुभव गर्न सकिन्छ तर आन्तरिक मौनको अवस्थालाई आफू स्वयंमले मात्र महसुस तथा अनुभव गर्न सकिन्छ । अध्यात्म विज्ञानका अनुसार आन्तरिक मौन नै वास्तविक मौन हो किनकी मौन बोलिने शव्द र शरीरको हाउभाउ बन्द गर्नु मात्र होइन । सनातन अध्यात्म साधना गरेका अनुभवी तथा सिद्ध महापुरुषहरुका अनुसार यस्तो प्रकारको वाहिय मौन अध्यात्म साधनाको केवल १० प्रतिशत भाग मात्र हो । मौनको ९० प्रतिशत भाग त विचारहरुको समुह मन र भावनाहरुको समुह भाव स्थिर तथा शुन्य भएको अवस्था हो । मनुष्यको आध्यात्मिक साधनाको प्रगतिमा वाहिय मौनको योगदान १० प्रतिशत मात्र रहेको हुन्छ र आन्तरिक मौनको योगदान ९० प्रतिशत रहेको हुन्छ । मनुष्यको जीवनमा हलचल, उतारचढाव तथा उथलपुथल ल्याउने मनका अनियन्त्रित अतिविचार र भावका भावनात्मक सम्वेगहरुले नै हुन् । खासगरि मनुष्यको मन तथा भावमा चल्ने मानवीय विकार तथा क्लेशयुक्त विचार तथा भावनाहरु– काम, क्रोध, लोभ, मोह, इष्र्या, तुलना, अहंकार आदि हुन् । अहंकार अर्थात म, मेरो, मलाई, मैले भन्ने भाव सबैभन्दा सबैभन्दा खरतरनाक र मूल बाधकको रुपमा मान्ने गरिन्छ मनुष्यको आध्यात्मिक साधनाको विकासमा । मौनको अभ्यासले यस्ता मानवीय विकार तथा क्लेशहरुलाई पगाल्छ, साधकलाई विचार शुन्यता तथा भाव शुन्यताको अवस्थामा पुर्याउछ र उसको सांसारिक तथा पारमार्थिक जीवनमा इच्छ्याए अनुसारको सहजता, सरलता, समृद्धि, सफलता, सुख, खुशी, शान्ति, आनन्द ल्याउन मद्धत गर्दछ । 


विचार शुन्यता तथा भाव शुन्यताको अवस्था भनेको मनका अतिविचार तथा भावका अनियन्त्रित भावनानात्मक सम्वेगहरुबाट मुक्तताको अवस्था हो, विचार तथा भावनाहरु पूर्णरुपमा बन्द हुनु तथा अभाव हुनु होइन  बेहोसी अर्थात आफूले थाहा नपाइकन मन तथा भावमा अनियन्त्रित रुपमा लगातार चलिरहने अनावश्यक अतिविचार तथा भावनानात्मक सम्वेगहरुमाथि नियन्त्रण गर्नसक्नु  र मन तथा भावमा आफूले चाहे अनुसारका विषयका विचार, भावना तथा कल्पनाहरुबारे चिन्तन्, मनन् गर्नसक्ने अवस्था हासिल गर्नु विचार शुन्यता तथा भाव शुन्यताको स्थिति हो र यही अवस्थानै वास्तविक आन्तरिक मौन हो । मनुष्यको विचार, भावना तथा कल्पनाहरुमा एकप्रकारको निरन्तरता तथा प्रवाह हुन्छ जसले मनुष्यलाई आफ्नो काम तथा उत्तरदायित्वमा कुशलतापूर्वक प्रस्तुत हुन मद्धत गर्दछ तर बेहोसीमा चल्ने अतिविचार तथा अनियन्त्रित भावनानात्मक सम्वेगहरुले विचार तथा भावनाको प्रवाहलाई खण्डित गरिदिन्छन् र मनुष्य आफ्नो जीवनको लक्ष्यमा चाहेजति अगाडि बढ्न सक्दैन, उ विचार, भावना तथा कल्पनाहरुको भूमरीमा उल्झिरहन्छ । मौन साधनाको माध्यमबाट आन्तरिक रुपमा मनमा निरन्तर चलिरहने अनियन्त्रित तथा अनावश्यक अतिविचार र भावमा चलिरहने भावनानात्मक सम्वेगहरुको हलचल तथा कोलाहलबाट मुक्त भएपछि मात्र मनुष्य प्रारम्भिक चरणमा प्रयास मौन र विस्तारै निस्प्रयास मौनको अवस्थामा प्रवेश गर्नसक्छ । मनुष्यमा विचार तथा भाव शुन्यताको अवस्था घटित हुन प्रक्रियागत किसिमले क्रमशः एकान्त पन, एकाग्रता, धारणा, ध्यान तथा मौन जस्ता सनातन योगीक साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यास गर्दै जानुपर्दछ र यो अवस्थामा विस्तारै क्रमिक रुपमा प्रयास तथा वाहिरी मौन, वास्तविक आन्तरिक मौन हुदै निस्प्रयास मौनको पृष्ठभूमि तयार हुदै जान्छ । 


मौनको सन्दर्भमा आप्त पुरुषका आप्त वाणीहरु

महर्षि अष्टाबक्रले भन्नुभएको छ, “योगी तथा साधकहरुका लागि मौन साधना आध्यात्मिक उन्नतिको अत्यन्तै महत्वपूर्ण र प्रमुख साधना विधि तथा साधन हो । मौन साधनाले मनुष्यको जीवनलाई सांसारिकताबाट माथि उठाएर पारमार्थिक जगतमा पुर्याएर क्रमशः आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान, परमसत्यको ज्ञानमा स्थित गराउछ र अन्ततः परमात्मामा योगस्थ गराएर मोक्षमा उपलव्ध गरिदिन्छ  ।” 

श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ, “जो मनुष्य मौनको शक्तिलाई बुझेर आफ्नो जीवनमा त्यसको अनुशरण गर्दछ, उ आत्मज्ञानको नजिक हुन्छ ।”    

भगवान बुद्धले भन्नु भएको छ, “मौनले मनुष्यको सारा दुःख, पिडा, तनाव, चिन्ता तुरुन्तै समाधान गरिदिन्छ । मौन साधेर जीवनलाई आफूले चाहे अनुसार सकारात्मक दिशा प्रदान गर्न तथा बदल्न सकिन्छ ।” भगवान बुद्ध निरन्तर छ वर्ष एकान्त जंगलमा वोधि वृक्षमूनि ध्यानस्थ भएर निर्वाणमा उपलव्ध हुनुभएको हो । भगवान बुद्ध आफू अधिकांश समय मौन रहनुहुन्थ्यो, आफ्ना शिष्यहरुलाई पनि अधिकांश समय मौन रहन प्रेरित गर्नुहुन्थ्यो र आफैंले शिष्यहरुलाई मौन साधना गराउनु हुन्थ्यो ।

भगवान महावीरले भन्नुभएको छ, “मनुष्यको वास्तविक शक्ति शव्दमा छैन, निशव्द तथा मौनमा छ ।” भगवान महावीर आफू निरन्तर १२ वर्ष मौन रहनु भएको थियो, आफ्ना शिष्यहरुलाई पनि अधिकांश समय मौन रहन प्रेरित गर्नुहुन्थ्यो र आफैंले मौन साधना  गराउनु हुन्थ्यो ।

पूर्वीय सनातन सभ्यताका प्रखर अर्थशास्त्री तथा कुटनीतिज्ञ चाणक्यले भन्नुभएको छ, “मौन रहने व्यक्तिलाई कमजोर ठान्नु हुदैन किनकी वास्तविकतामा मौनता नै मनुष्यको शक्तिशाली हतियार तथा महाशक्ति हो । जव उ बोल्न थाल्छ तव अरुको बोलि बन्द हुन्छ ।” 

स्वामी विवेकानन्दले भन्नुभएको छ, “ज्यादा बोल्ने मनुष्यले आफ्नो उर्जा बरबाद गर्दछ, मौनबाट मनुष्यको वास्तविक शक्ति प्रकट हुन्छ किनकी मौनले शक्ति संचय गर्न मद्धत गर्दछ । शान्त मस्तिष्क सबैभन्दा बढि प्रभावशाली र शक्तिशाली हुन्छ । मनका विचार र भावका भावनात्मक सम्वेगहरुमा सन्तुलन तथा नियन्त्रण राख्न मौन साधना सबैभन्दा उत्कृष्ट साधना पद्धति तथा उपाय हो । मौन रहदा मनुष्यको मस्तिष्कमा उसको जीवन भोगाइका स्मृतिहरु संग्रहीत रहने क्षेत्रको विशेष प्रकारले विकास हुन्छ, यसकारण उसको स्मरण क्षमता प्रभावकारी हुन्छ  यी संग्रहित स्मृतिहरु उसलाई आवश्यकता पर्दा सहि समयमा सहि प्रकारले प्रष्फुटन भएर जीवनमा सफलता हासिल गर्न सहयोगी बन्दछन् ।” 

सन्त राजनीतिज्ञ महात्मा गान्धीले भन्नु भएको छ, “मौनले मनुष्यको आत्म नियन्त्रण, आत्म संयमता, आत्म निररिक्षण, आत्म विश्लेषण गर्ने क्षमता गहन रुपमा बढाउदछ । यस्तो अवस्थामा मनुष्यले आफ्ना कमी-कमजोरीहरु थाहा पाउन र सूधार गर्न अवसर पाउदछ ।” सदा अहिंसा प्रेमी रहनु भएका महात्मा गान्धीले जीवनभर मौनलाई प्राथमिकता दिनुभयो, आफू हरेक सोमबार मौन व्रत राख्नुहुन्थ्यो र सबैलाई आफ्नो दैनिक जीवनमा सकेसम्म कम बोल्न तथा मौनता अपनाउन प्रेरित गर्नुहुन्थ्यो । 

युग ऋषि ओशो रजनीशले भन्नु भएको छ, “मौनको शुन्यता र पूर्णताबाट गुञ्जिएको ध्वनि सत्य र प्रामाणिक हुन्छ । मौनबाट मनुष्यको जीवनमा महाशक्ति, सत्य, शितलता, संगीत, वज हासिल हुन्छ र परनिर्भरता छुट्छ । वाणी तथा शव्दबाट पार भएर मौनको प्रज्वलित अग्निमा तपिएका तथा खारिएका चैतन्य चेतना तथा शिद्ध पुरुषहरुको वाणी शास्त्र हो र उ आफू शास्ता हो । यस्तो महापुरुष आप्त हुन्छ र उबाट वेदको पूनरजन्म हुन थाल्छ ।”  अध्यात्म साधनाका क्रममा ओशो रजनीश छ महिनासम्म मौन रहनु भयो ।

प्रतिभाशाली अश्वेत राजनीतिज्ञ संयुक्त राज्य अमेरीकाका १६औं राष्ट्रपति अब्रहम लिंकनले भन्नुभएको छ, “आफूबाट राम्रो तथा सहि विचार, भाव, शव्द, वचन, प्रक्षेपण गर्न आफूसंग एक घण्टा समय छ भने ५५ मिनेट विलकुल मौन भएर आफ्नो विषयबारे खोज्नु, सोच्नु, सुन्नु पर्दछ र ५५ मिनेसम्म आफूले संग्रहित गरेका विषय सम्वन्धित सूचना, जानकारी तथा ज्ञान ५ मिनेटमा बोल्नु पर्दछ । मौनको गहिराइको खोजतलासबाट आएको विचार, भाव, शव्द, वचन निकै प्रभावशाली, ओजिलो र प्रेरणादायि हुन्छ ।”


(२) मौन साधना किन आवश्यक छ ?

होहल्लाको माहोलबाट वाहिर आएर शान्त जीवन जीउन 

आजको संसार अत्यन्तै हल्लाखल्लाले व्याप्त छ । भोग बिलास, मोबाइल, टि.भि. सामाजिक संजाल, तर्क, बहस सबै अवस्थाहरुले मनुष्यको शरीर असन्तुलित, मन चन्चल, भाव अशान्त र आत्मा अर्थात चेतनालाई भ्रमित गरिरहेका छन् । वर्तमान युगमा अधिकांश मनुष्य होहल्लाले व्याप्त वाहिरी संसारमै हराएको छ जसको नकारात्मक परिणाम स्वरुप मनुष्य आफू हुनुबाट तथा आफ्नो आत्मा अर्थात चेतनाबाट झनझन दुर हुदै तथा आफूबाट टुट्दै गैरहेको छ र विविध प्रकारका अस्वस्थता, रोग, शोक, समस्या तथा चुनौतिहरुले घेरिएको तनाव र चिन्ताग्रस्त अवस्थामा जीवन जीरहेको छ । सांसारिक जीवनको अति भोग वृत्ति, अपेक्षा, देखासेखि, तुलना, प्रतिस्पर्धा मनुष्य हराउनुका प्रमुख कारणहरु बनेका छन् । उनीहरु दैनिक रुपमा हजारौंको विचमा छन् तर पनि एक्लो भएको महसुस गर्छन् र पिडा, तनाव, चिन्तामा छटपटाइ रहन्छन् । वैज्ञानिक पास्कल भन्छन्, 'मनुष्यको ९० प्रतिशत भन्दा बढि पिडा, तनाव, चिन्ता, एक्लोपन, समस्या तथा चुनौतिहरु उसको बोली, शव्द, प्रतिक्रिया, इशारा, हाउभाउ आदि व्यवहारका कारणहरुले हुने गर्दछन्' । मनुष्यका यी सबै समस्या, चुनौति तथा असहजताहरुको उचित समाधान केवल मौन साधनाले गर्न सक्दछ यसकारण हरेक मनुष्यका लागि मौनको प्रयोगात्मक अभ्यास तथा निष्ठापूर्वक साधना गर्नु अत्यावश्यक छ ।


एक्लोपन तथा एकान्त अवस्थाको सदुपयोग गर्न

संसारको अन्त्यहिन होहल्लाले पिडित भएको कारण आजको मनुष्य भिडभाडको विचमा रहेर पनि आफूलाई एक्लो भएको महसुस गरिरहेको छ र जीवनमा एक्लोपनको महत्व नबुझेर तथा एकान्तपनको सहि सदुपयोग गर्न नजानेर उ आफू स्वयं र संसारदेखि आत्तिरहेको छ तर विशेष परिस्थिति बाहेक एकान्त अवस्था तथा एक्लोपन संधै नराम्रो होइन  यदि मनुष्य शारीरिक, मानसिक तथा भावनात्मक रुपले स्वस्थ छ भने एकान्त अवस्था तथा एक्लोपन विकसित सांसारिक र पारमार्थिक जीवन जीउनकालागि अमूल्य अवसर तथा भरपर्दो उपकरण बन्न सक्छ । आजका मनुष्यहरु अज्ञानवस एकान्त अवस्था तथा एक्लोपनलाई जीवनको गाली, पाप, श्राप, दुर्भाग्य, असहजता, समस्या तथा चुनौति हो भन्ने ठान्दछन्  यो अवस्थाबाट वाहिर आउन तथा अभाव परिपुर्ति हुने आशले उनीहरु बारबार संसारको भिडतिरै फर्किन प्रयास गरिरहन्छन् र भिडबाट अरुको सानिध्यता पाउने झूठो अनुमान गरेर भिडसंग नै रमाउने प्रयत्न गरिरहन्छन् र आफैंले आफूलाई आफूबाट दुर गरिरहन्छन् ।तर गहिरिएर बुझ्ने हो भने मनुष्यको वास्तविक मित्र तथा शुभचिन्तक एकान्त अवस्था तथा एक्लोपन नै हो । जीवन विकासको क्रमिक श्रृंखलालाई हेर्दा एक्लोपनले एकान्तको माहोल बनाउछ र आफूतिर फर्कन मद्धत गर्दछ; एकान्तले एकाग्रता, धारणा, ध्यान तथा मौनको माहोल बनाउछ; र मौनले मनुष्यले जीवनमा अपेक्षा गरेका, खोजेका तथा त्यो भन्दा पनि धेरै बढि सांसारिक र पारमार्थिक सबै कुराहरु हासिल गर्न सकारात्मक किसिमले मद्धत गर्दछ भन्ने उसलाई थाहा नै छैन । पहिलो त मनुष्यले ध्यान तथा मौन साधनाको अभ्यास प्रारम्भ गर्यो भने उसले क्रमशः सांसारिक र पारमार्थिक जीवनमा धेरै प्रकारका उपलव्धिहरु हासिल गर्न सक्दछ । यी उपलव्धिहरुको सकारात्मक प्रभाव स्वरुप उसले थाहा नै नपाइकन विस्तारै अनेक प्रकारका अस्वस्थता तथा रोग, समस्या, चुनौति तथा अप्ठ्याराहरुबाट मुक्ति पाउछ  किनकी सनातन अध्यात्म विज्ञानका अनुसार एकलोपन, एकान्त अवस्था, एकाग्रता, धारणा, ध्यान, मौन नै मनुष्यको वास्तविक मित्र, गंभिर शुभचिन्तकका साथै भरपर्दा चिकित्सक र व्यवस्थापकहरु पनि हुन् । एकलोपन, एकान्त अवस्था, एकाग्रता, धारणा, ध्यान, मौनको गहन अवस्थामा मनुष्यले वास्तविक आफू अर्थात आत्मा अर्थात ठूलो ‘म’ र आफ्नो मूलस्वरुप परमात्मालाई समेत भेट्न सक्दछ । मनुष्यले एक्लो हुनु, एकान्त हुनु तथा मौन हुनुलाई खालिपन, शुन्यपन भन्ने ठान्दछ तर मौन कहिल्यै शुन्य तथा खालि हुदैन, यो संधै भरि तथा पुर्णताले लादिएको हुन्छ । प्रकृतिको नियम छ एक कुरा खालि हुनेवित्तिकै अर्को अझ श्रेष्ठ कुराले त्यो ठाउँ भरिन्छ । गिलासमा पानी सकियो भने त्यो स्थान हावाले भरिए जस्तै मनुष्यको मन वाहिरका सांसारिक विषय, अपेक्षा, सम्वन्ध तथा लोभ, मोहहरुबाट खालि भयो भने त्यो खालि तथा शून्य भएको मौन क्षेत्र अस्तित्व तथा परमात्मा अर्थात ब्रम्हाण्डको महाउर्जा, महाशक्ति तथा महाप्रकाशले भरिन्छ  मनुष्यको जीवनमा आध्यात्मिक विकास हुन प्रारम्भ हुन्छ । यो अवस्थामा मनुष्यको सांसारिक र पारमार्थिक दुवै जीवन विकसित हुदै जान्छ र आफ्नो जीवनमा आफूले इच्छ्याको सुदृढ अवस्था हासिल गर्न सक्दछ तसर्थ हरेक मनुष्यका लागि मौन  साधना अत्यावश्यक छ ।


वैज्ञानिकतालाई आत्मसाथ गर्दै जीवनको विकास गर्न

वर्तमान समयमा आधूनिक चिकित्सा विज्ञान, मनोचिकित्सा विज्ञान र मनोविज्ञानका उपचार पद्धतिहरुमा चिकित्सकहरु, मनोविज्ञहरु, करियर काउनसेलिगंका विशेषज्ञहरुले पनि मनुष्यको जीवनमा शारीरिक सन्तुलन, मानसिक एकाग्रता, भावनात्मक शान्ति, चेतनात्मक जागरुकता, सकारात्मकता बढाउन, उसका प्रतिभा, क्षमता, सिर्जनशीलता, नवीनताको विकास गर्न, स्मरण शक्ति बढाउन आदिका लागि ध्यान साधना तथा मौन साधना गर्ने सल्लाह सुझाव दिदै आइरहेका छन् । उनीहरुका अनुसार मनुष्यको स्थुल शरीरको सबैभन्दा शक्तिशाली हिस्सा मस्तिष्क हो र सुक्ष्म शरीरको सबैभन्दा शक्तिशाली हिस्सा मन(भाव, आत्मा अर्थात चेतना सहित) हो । मौन साधनाले मनुष्यको मन र मस्तिष्क दुवै शक्तिशाली हिस्सालाई उर्जा प्रदान गरेर स्वस्थ, शुद्ध, सक्रिय, जाग्रित, सन्तुलित तथा व्यववस्थित रहन मद्धत गर्दछ । शरीरका मांसपेशीहरुलाई योगासन, प्राणायाम, क्रिया, मुद्रा, बन्द तथा व्यायामका प्रयोगात्मक अभ्यासहरुले तनदुरुस्ती प्रदान गरे जस्तै मन र मस्तिष्कका प्रणालीहरुलाई एकाग्रता, धारणा, ध्यान तथा समग्रमा मौन साधनाका व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरुले तनदुरुस्ती प्रदान गर्दछन् । मौन मन र मस्तिष्कको व्यायाम हो र जान्ने तथा अनुभवी व्यक्तिहरुका अनुसार मन र मस्तिष्कको वास्तविक भोजन नै मौन हो । मौनको सबैभन्दा शक्तिशाली सकारात्मक प्रभाव मनुष्यको मस्तिष्कको स्नायु प्रणालीमा, मनका विचारहरुमा, भावका भावनात्मक संवेगहरुमा र आत्मा अर्थात चेतनाको जागरुकतामा प्रत्यक्ष रुपमा पर्ने गर्दछ । सबैभन्दा रहस्यको कुरा त यो छ कि आजसम्मका कुनैपनि वैज्ञानिक खोज तथा अनुसन्धानहरुले मनुष्यको मस्तिष्क, मन, भाव र आत्मा अर्थात चेतनाको क्षमता कति छ, गहिराइ तथा दायरा कति छ, यसले केके गर्नसक्छ र यसको रहस्य के हो भन्ने तथ्य पत्ता लगाउन सकेका छैनन् । वास्तविक मौनको अवस्थामा मनुष्य आफूतिर फर्कन्छ, आफैंसंग आन्तरिक संवाद तथा वातचित गर्न प्रारम्भ गर्दछ र आफ्नो मस्तिष्क, मन, भाव र आत्मा अर्थात चेतनाको क्षमता, गहिराइ, दायरा तथा रहस्य आफैंले जान्ने अवसर प्राप्त गर्दछ । मौन साधनाका विभिन्न तहगत अवस्थाहरुमा विस्तारै क्रमिक रुपमा उसले आफूलाई बुझ्दै जान्छ, आत्मवोध हासिल गर्दछ र आफैंसंगको आन्तरिक संवाद गर्न प्रारम्भ गर्दछ । आत्म जागरुकता तथा आत्मवोध र आफूसंगको आन्तरिक संवादबाट मनुष्यलाई नयाँ प्रकारको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक उर्जा प्राप्त हुन्छ । यसपश्चात उसले आफू लगायत आफ्नो सर्जक ब्रम्हाण्ड अर्थात परमात्मा अर्थात सारा अस्तित्वलाई बुझ्न थाल्छ । यसकारण आफ्नो मस्तिष्क, मन, भाव र आत्मा अर्थात चेतनाको क्षमता, गहिराइ, दायरा तथा रहस्य आफू स्वयंले जान्न र हरप्रकारले जीवन व्यवस्थित गर्न हरेक मनुष्यका लागि मौन साधनाको अभ्यास अत्यावश्यक छ । 

प्रामाणिक आध्यात्मिक लाभ हासिल गरेर जीवनको विकास गर्न

मौन साधनाले मनुष्यको जीवनमा सांसारिक र पारमार्थिक रुपमा अत्यन्तै महत्वपूर्ण र अत्यन्तै प्रभावकारी बदलाव ल्याउदछ । बौद्ध दर्शन अन्तर्गत रहेको विपश्यना मौन ध्यान साधनामा गरिएका वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजका प्रामाणिक तथ्यांकहरुले उजागर गरे अनुसार, चुपचाप तथा मौन रहदा मनुष्यको शरीर, मन, भावना र आत्मा अर्थात चेतनामा समवेदनशिलता बढ्न प्रारम्भ हुन्छ किनकी मौनका विधि तथा प्रक्रियाहरुको सहि अनुशरणले साधकलाई विगतका नकारात्मक स्मृति र भविश्यका असुरक्षाको डरबाट अलग गरेर वर्तमानमा स्थित गराउदछ । सनातन अध्यात्म दर्शनका अनुसार वर्तमानमा जीउनुनै मनुष्यको वास्तविक जीवन हो र सुख, खुशी, शान्ति, आनन्दको अनुभूति केवल वर्तमान क्षणमा मात्र भरपूर रुपमा पाउन सकिन्छ किनकी विगत गैसक्यो कसैगरे पनि फेरी फर्केर आउदैन र भविश्य आएकै छैन, आउछ कि आउदैन पनि थाहा छैन । आधूनिक तन्त्रिका विज्ञान तथा स्नायु प्रणालीका अनुसार मनुष्यको मस्तिष्क संधै वर्तमानमा जीउछ, मस्तिष्कसंग भूत र भविश्य भनेर छुट्याउन सक्ने कुनै प्रकारको प्रविधि छैन, तत्कालको अवस्थामा उसको मनका विचारहरुमा र भावका भावनात्मक संवेगहरुमा जे–जस्ता हलचल, उचनिच, सकारात्मक तथा नकारात्मक तरंगहरु आउछन् सबै अवस्थालाई वर्तमानमा भैरहेको भन्ने मान्दछ र त्यही अनुसार उसको शरीर तथा शरीरका अंगहरु, मन, भाव, चेतनाले काम गर्दछन् र मनुष्यका जीवनका पलपलका गतिवितिहरु त्यही अनुसार नैचल्ने गर्दछन् । वर्तमान समयमा मन तथा भावमा  विचार तथा भावनात्मक संवेगका राम्रा तरंगहरु चलिरहेका छन् भने उसको जीवन राम्रो, सहज तथा सरल हुन्छ, नराम्रा तरंगहरु चलिरहेका छन् भने उसको जीवन खराव, असहज तथा कठिन हुन्छ । मौन साधनाको प्रयोगात्मक अभ्यास गर्ने मनुष्यको सोच, विचार, मन एकाग्र हुन्छ, भाव शान्त हुन्छ, चेतना जाग्रीत हुन्छ, मनुष्य आत्म नियन्त्रित हुन्छ, तार्किक, वुद्धिमान, विवेकशिल हुन्छ र यस्तो मनुष्यले संधै सहि समयमा सहि कुरा बोल्छ र सहि निर्णय लिन्छ जसले उसको जीवनलाई सहज, सरल, समृद्ध, सफल, शान्त, आनन्दित बनाउन मद्धत गर्दछ । मौन साधनाको गहन अवस्थाहरुमा मनुष्यको मस्तिष्क, मन, भाव, आत्मा अर्थात चेतनाको उच्चतम विकास तथा जागरण हुनेहुनाले उसको मस्तिष्कलाई ब्रम्हाण्डबाट लगातार अत्यधिक मात्रामा सबैप्रकारका सकारात्मक ज्ञान, जानकारी तथा सूचनाहरु मिलिरहन्छन् ।

अहिलेसम्मको मानव सभ्यताको इतिहासलाई हेर्दा, मानव जीवनका र संसारका सबैभन्दा ठूला लडाइहरु,  सबैभन्दा ठूला आध्यात्मिक क्रान्ति, सबैभन्दा ठूला राजनीतिक क्रान्ति, सबैभन्दा ठूला सामाजिक क्रान्तिहरु, सबैभन्दा ठूला परिवर्तनहरु मनुष्यको मौनभित्रबाट नै जन्म लिएका थिए र छन् । मौनले मनुष्यलाई डर, शुन्यता, खालिपन होइन भित्रबाट मजबुत बनाउछ, पूर्णताले भरिदिन्छ, सर्वाधिक शक्तिशाली बनाउछ र ठूला-ठूला परिवर्तनहरु ल्याउन र हाँक्न सक्ने क्षमता प्रदान गर्दछ । तर विडम्वना आजका मनुष्यहरु मौन साधनाको अभ्यास नै गर्दैनन् किनकी आजका अधिकांश मनुष्यलाई सांकारिक भोगको जीवनमा लिप्तता बाहेक मौन साधनाको यस्तो महशक्ति र रहस्यबारे ज्ञान नै छैन । अति आधूनिकताले ल्याएको नकारात्मकताका कारण आजका अधिकांश मनुष्यहरु वर्तमानमा कम विगत र भविश्यमा ज्यादा जीरहेका छन् र यहीकारणले दुुःख, पिडा, अशान्ति, बेचैनी, रोग, शोक, विषाद, अवषाद, सम्वन्ध विच्छेद, असामयिक मृत्यु, आत्महत्याको कहर झेलिरहेका छन् । वैज्ञानिक अध्ययनका प्रामाणिक तथ्यांकहरुका अनुसार ध्यान तथा मौन साधनाका व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरुको माध्यमबाट मनुष्यको जीवनमा आइपरेका यस्ता असहजता तथा जटिलताका अवस्थाबाट वाहिर निस्कन तथा मुक्ति पाउन सकिन्छ, धेरैले पाएका प्रामाणिक उदाहरणहरु हाम्रा समक्ष प्रसस्त रहेकाछन् । वैज्ञानिक तथ्यांक र अनुभवीहरुको स्वअनुभवका अनुसार मनुष्यको जीवनमा नचाहेका यस्ता उथल–पुथल, उतार–चढाउ तथा असहजताहरु ध्यान तथा मौनको अभावका कारण आएको हो, यो वास्तविकता सबैले बुझ्नु जरुरी छ । यसर्थ ध्यान तथा मौन साधना माथि गरिएका वैज्ञानिक अध्ययनका तथ्य तथा तथ्यांकहरुबाट ज्ञान लिएर आफ्नो जीवन विकास गर्नकालागि मौन साधना अत्यावश्यक छ । 


दैनिक जीवनयापन सहज बनाउन

पर्याप्त अनुभवहरुका आधारमा स्थापित भएको प्रामाणिक तथ्यांकहरुका अनुसार संसारमा सबै भन्दा धारिलो तरवार मनुष्यको जिब्रो हो र सबैभन्दा खतरनाक विष मनुष्यले बोल्ने वाणी तथा शव्दहरु हुन् जसले बिनाकुनै झगडा तथा बिनाकुनै रक्तपात नै अर्को मनुष्यलाई भित्र-भित्रै मारिदिन, खोक्रो बनाइदिन, आन्तरिक बल तथा आत्मविश्वास गिराइदिन र जीवनबाट नै पलायन गराइदिन सक्छ । जीवनलाई नजिकबाट अनुभव गरेका ज्ञानी व्यक्तिहरुका अनुसार, मनुष्यको जीवनमा अधिकांश तनाव, दुःख, पिडाहरु उसको बोलि, शव्द, हाउभाउ, प्रतिक्रिया तथा समग्रमा उसले आफू र अरुप्रति गर्ने व्यवहारहरुका कारण आउने गर्दछन् सहि समयमा गरिने सहि व्यवहारहरुले मनुष्यलाई सुखी, खुशी, सम्पन्न, समृद्ध, सफल, प्रतिष्ठित, महान, शान्त, आनन्दित बनाउछन् तर यसको ठिक विपरित सहि समयमा सहि ढंगले व्यवहारहरु गर्न जानेन भने तिनैले मनुष्यलाई दुःखी, बेखुशी, विपन्न, असफल, मानहानि, अशान्त, असन्तुष्ट र जीवनबाट नै पतन समेत गराइदिन सक्छन् । किनकी ज्यादा बोल्ने मनुष्यको शव्द, प्रतिक्रिया, हाउभाउमा आफ्नो नियन्त्रण रहदैन, उसले बोल्न र गर्न हुदै नहुने कुरा पनि बोल्नसक्छ, गर्नसक्छ बेहोसीमा र आफूले आफैंलाई समस्यामा पार्नसक्छ र पछि पछुताउनु पर्नेहुन्छ । तर यसको विपरित मौनको अभ्यासले मनुष्यका सारा समस्या तथा चुनौतिहरुको समाधान गर्दछ र फेरी उसको जीवनमा कहिल्यै आउन दिदैन । जो व्यक्ति सहि समयमा आवश्यकता अनुसार बोल्न र आवश्यकता अनुसार कम बोल्न, नबोल्न तथा मौन रहन जान्दछ उही सुखी, खुशी, शान्त, आनन्दित, शक्तिशाली, समृद्ध, सफल र प्रतिष्ठत व्यक्ति बन्दछ, यो विश्वव्यापि रुपमा सबैको जानकारीमा आएको प्रामाणिक तथ्य हो । आधूनिक मनोवैज्ञानिक दृष्टिकोण अनुसार, मनुष्य मौन रहदा उसको मस्तिष्कमा गहिरो सोच विकसित हुन्छ । स्नायु विज्ञानका अनुसार, जव मनुष्य मौन रहन्छ यस अवधिमा उसको स्नायु प्रणालीका सुक्ष्म गतिविधिहरु सक्रिय हुन्छन्, स्नायु तन्त्रिकाहरु बढ्न तथा फैलिन थाल्छन् जसले गर्दा मनुष्यको सहि समयमा सहि सोच्ने, बोल्ने, बुझ्ने, सहि निर्णय लिने तथा दिने क्षमता वृद्धि हुदै जान्छ । आधूनिक मनोचिकित्सा  मनोविज्ञानका वैज्ञानिक खोज, अध्ययन तथा अनुसन्धानका प्रामाणिक तथ्यांक तथा प्रतिवेदनहरुका अनुसार जो मनुष्य कम बोल्छ र अरुका कुरा बढि सुन्छ उ ज्यादा वुद्धिमान, प्रभावकारी, आत्मनियन्त्रित र आत्मविश्वासले भरिएको हुन्छ किनकी मनुष्यले आफूले कम बोल्नु, कम हाउभाउ देखाउनु, कम प्रतिक्रिया दिनु र अरुका कुरा धैर्यता र ध्यानपूर्वक सुन्नु एकप्रकारले ध्यान तथा मौनकै अभ्यास गर्नु हो । मौन रहेर आफू र अरुलाई असहज अवस्थाहरुबाट वाहिर निकाल्न सक्छ र जीवनमा नयाँ–नयाँ ज्ञानहरु सिक्न तथा हासिल गर्नसक्छ । यसर्थ आफ्नै दैनिक जीवनयापन सहज, सरल र सफल बनाउनका लागि सबैले मौन साधना को अभ्यास गर्नु अत्यावश्यक छ ।  


महापुरुषका अनुभवहरु आत्मसाथ गरेर जीवनको समग्र विकास गर्न

मनुष्यको सांसारिक र पारमार्थिक जीवनको उच्चतम विकासमा ध्यान तथा मौन साधनाको प्रभावकारिता र महत्वका सन्दर्भमा धेरै महापुरुषहरुले आ–आफ्ना स्वअनुभवका आधारमा अत्यन्तै महत्वपूर्ण ज्ञान प्रदान गर्नुभएको छ । युग पुरुषहरुका आप्त वाणी तथा ज्ञानहरुले मनुष्यको जीवनलाई सकारात्मक मार्गमा सर्लक्कै रुपान्तरण गरेका उदाहरणहरु पनि हाम्रा सामु पर्याप्त रहेका छन् । ध्यान तथा मौन साधनाको प्रयोगात्मक अभ्यासले मनुष्यको शव्द, हाउभाउ, प्रतिक्रियामा नियन्त्रण तथा सन्तुलन कायम गर्नुका साथसाथ मनुष्यको समग्र जीवनलाई नै अनुशाशित, सन्तुलित र व्यवस्थित राख्न मद्धत गर्दछ । ध्यान तथा मौनको नियमित व्यवहारिक तथा प्रयोगात्मक अभ्यासले मनुष्यको शरीर, इन्द्रियहरु, सोच, विचार, मन, भाव, चेतनालाई सम्यमित राख्न मद्धत गर्ने हुनाले उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सन्तुलन र विकास गर्नमा प्रभावकारी मद्धत मिल्दछ । मनुष्यले गर्ने सबैप्रकारका शारीरिक क्रियाकलापहरु गर्दा, मानसिक तथा भावनात्मक क्रियाकलापहरु विचार गर्दा, आफ्ना संम्वेवहरु उजागर गर्दा, बोल्दा, हेर्दा उर्जाको अत्यधिक खपत हुन्छ । तर मौनमा रहदा उर्जा वचत हुन्छ र वचत भएको उर्जाले मनुष्यको मस्तिष्क, मन, भाव, चेतनालाई उर्जाशील, सक्रिय, सन्तुलित, सिर्जनात्मक राखिराख्न मद्धत गर्दछ । यस्तो व्यक्तिनै जीवनका सबै क्षेत्रहरुमा प्रभावशाली, सफल, शक्तिशाली र उदयमान भएर निस्कन्छ । जीवनका पलपलका घुम्तिहरुमा कम बोल्ने, बढि सुन्ने र अधिकांश समय चुप तथा मौन साध्न सक्ने साधक तथा मनुष्यको आन्तरिक विकास हुन्छ; उसको मन, भाव, आत्मा अर्थात चेतना शुद्ध, स्वस्थ, सक्रिय, जाग्रीत, सन्तुलित तथा व्यवस्थित हुन्छ र उसलाई अन्तरज्ञान, आत्मवोध तथा अलौकिक दृष्टिकोण प्राप्त हुन्छ । यस्तो व्यक्तिले साधारण विषय तथा अवस्थाहरुमा पनि असाधारण अवसर तथा उपलव्धिहरु देख्न थाल्छ जसबाट आफू प्रेरित हुन्छ र आफ्नो प्रेरणाबाट सारा मनुष्यतालाई प्रेरणा प्रदान गरेर जगतलाई नै बदल्न सक्ने ताकत राख्दछ । सनातन अध्यात्म विज्ञानका अनुसार ध्यान तथा मौन साधनाबाट मनुष्यले सांसारिक र पारमार्थिक दुवै जीवनको विकासका लागि अत्यावश्यक ब्रम्हाण्डिय महाउर्जा, महाशक्ति तथा महाप्रकाश प्राप्त गर्दछ किनकी मौन नै सहज, सरल, समृद्ध, सफल र मुक्त जीवन हासिल गर्न तथा गराउन सक्ने सबैभन्दा भरपर्दो साधना विधि, उपकरण तथा उपाय हो, यसकारण आफ्नो वाहिरी तथा आन्तरिक जीवनमा उच्चतम र अलौकिक रुपान्तरण हासिल गर्न सबै मनुष्यहरुका लागि मौन अत्यावश्यक छ । 



छिट्टै(सम्पादनको चरणमा रहेको)
मौनका आयाम: प्रयास मौन र निस्प्रयास मौन

मौनका उपलव्धिहरुः सांसारिक र पारमार्थिक

मौनका प्रक्रिया तथा विधिहरुः सामान्य विधि र योगीक विधि


No comments:

Post a Comment