डा. सिर्जना भण्डारी
विषय प्रवेश
सनातन अध्यात्म दर्शनका अनुसार यूवा त्यो व्यक्ति हो जो उमेर जतिसुकै भएपनि मानसिक रुपले सक्रिय, सिर्जनशील, जोश र साहसले भरिपूर्ण छ । मानिसले जीवन निर्वाहकालागि गर्ने सबै प्रकारका प्रक्रिया तथा गतिविधिहरुलाई पुरुषार्थ भनिन्छ । मानिसले जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति तथा आनन्द प्राप्त गर्नकालागि गर्नैपर्ने पुरुषार्थलाई पूर्वीय दर्शन (इन्द्रीयातीत अनुभूतिका विषयहरू) र पश्चिमी फिलोसोफी (इन्द्रीय अनुभवका विषयहरू)ले आ–आफनै प्रकारले व्याख्या गरेका छन् यद्धपि दुवैथरिको आत्यन्तिक निष्कर्ष भने एकै प्रकारको रहेको छ मानिसको जीवनमा पूर्णता र जीवनमा उच्चतम आनन्द विभोरको अवस्था । सामान्यतया संसारमा दुई प्रकारका मानिसहरु छन्– (१) वैरागी अर्थात गृहस्थ त्यागी सन्यासी र (२) रागी अर्थात गृहस्थी । यी दुवै प्रकारका मानिसहरुको अन्तिम उदेश्य जीवनमा पूर्णता र मोक्ष हासिल गर्नु नै हुन्छ तर आ–आफ्नो जीवनकालागि गर्नुपर्ने पुरुषार्थलाई उनीहरुले फरक प्रकारले बुझ्ने, अनुशरण तथा प्रयोग गर्ने गरेका छन् । यस आलेखमा गृहस्थ जीवनमा रहेका मानिसहरुले चार पुरुषार्थको माध्यमबाट जीवनमा पूर्णता र मोक्ष हासिल गर्ने सन्दर्भमा पूर्वीय दर्शन र पश्चिमी फिलोसोफीले गरेको चार पुरुषार्थको व्याख्या विश्लेषणलाई संक्षिप्तमा प्रकाश पार्दै चार पुरुषार्थ र यूवाहरुको सन्दर्भ जोड्ने प्रयास गरिएको छ ।
पूर्वीय दर्शन: पुरुषार्थको पृष्ठभूमि
सनातन अध्यात्म दर्शनका अनुसार ब्रम्हाण्डमा सतत् रुपमा चलिरहने उर्जाको तरंग (स्ट्रीगं अफ इनर्जी) सतचितआनन्द हो । निराकार परब्रह्म अर्थात परमात्मा अर्थात इश्वर एकबाट अनेक हुनकालागि स्वयं परमात्माबाट गरिएका प्रक्रियाहरुको क्रममा पहिलोपटक अनुभवको रुपमा आएको पहिलो अनुभूति सतचितआनन्द हो । ब्रह्माण्डिय उर्जाको तरंग अमर र नित्य निरन्तर छ, यो अमरता तथा नित्यताको अनुभूतिलाई ‘सत’ भनिन्छ । उर्जाको यही तरंग ज्ञान हो जसलाई ‘चित’ भनिन्छ । यसरी सतत् नित्य प्रवाहित भैरहने अमर तरंगलाई अनुभूति गर्दा राम्रो लाग्ने अनुभूतिलाई ‘आनन्द’ अर्थात सत+चित+आनन्द भनिन्छ । परमात्माको पहिलो अनुभूति सतचितआनन्दबाट प्रकट हुने उर्जाको यही तरंग पुरुसोत्तम हो र पुरुसोत्तमबाट प्रकट हुने उर्जाको तरंग पुरुष हो । पुरुष परमात्माको सन्तास अर्थात अंश हो, आत्मा हो । ब्रह्माण्डको सृष्टि मानिस, प्राणी, पंक्षी, जीव, वनस्पति, जड तथा पदार्थ हामी सबै पुरुष अर्थात आत्मा हौं । सम्पूर्ण सृष्टिमा मानिस सबैभन्दा उत्कृष्ट पुरुष अर्थात आत्मा हो जसले जीवन र जगतका भौतिक र पराभौतिक सम्पूर्ण अर्थहरुबारे जान्दछ त्यसैले यो जान्नेवालाका कर्महरुलाई पुरुष+अर्थ=पुरुषार्थ भनिएको हो । हरेक पुरुष अर्थात आत्मा विराट छ, उसमा ब्रह्माण्डको सबै शक्ति तथा क्षमताहरु निहित छन् तर हामी आफूलाई एक स्थुल शरीरधारी सामान्य मानिस ठान्दछौं र सबैथोक यही स्थुल शरीरनै हो, मैले सबै प्रकारका पुरुषार्थहरु यही अनित्य स्थुल तथा भौतिक शरीरकालागि गर्नु पर्दछ भन्ने भयानक र लज्जास्पद भ्रममा यो मूल्यवान जीवन घिसिपिटी प्रकारले जीरहेका छौं । आफूलाई केवल स्थुल शरीरको पिण्ड ठान्ने मान्छेले धर्म, अर्थ, काम, मोक्षको पुरुषार्थ गर्न सक्दैन । यसकालागि त सर्वप्रथम मानिसलाई म आत्मा अर्थात चेतना हुँ, परमात्माको अभिन्न अंश हुँ, मभित्र परमात्माको विराट शक्ति छ, विशेष परिस्थतिले म उबाट छुटेको रहेछु, उसलाई मैले बिर्सेको रहेछु, अव मैले उसम्म पुग्न तथा उसलाई प्राप्त गर्न प्रयास गर्नुपर्छ भन्ने आत्मवोध हुनु पर्दछ । यसप्रकारको आत्मवोध तथा आत्मज्ञान भएको व्यक्तिमा यसकालागि मैले केही गर्नुपर्दछ भन्ने उत्प्रेरणा जाग्दछ र यसप्रकारको उत्प्रेरित व्यक्तिले मात्र सहि ढंगले धर्म, अर्थ, काम, मोक्षको पुरुषार्थ गर्न सक्दछ किनकी चार पुरुषार्थ परमात्मासम्म पुग्न बनाइएको एकमात्र राजमार्ग हो जसमा यात्रा गरेर हरेक यात्री अन्तत्वगत्वा मोक्षसम्म पुग्दछ अर्थात सदाकालागि परमात्मामा स्थित हुन सक्दछ ।
तर हामी मानिसहरु अहिले पुरुष भइसकेका छैनौं, सामान्य मानिस नै छौं, पुरुष बन्ने प्रक्रियामा छौं र यही प्रक्रियाको विधि तथा मार्ग चार पुरुषार्थ हो । जव हामी अध्यात्म साधनाको अनुशरण गरी जीवनमा चार पुरुषार्थ गर्नतर्फ अग्रसर हुदै जान्छौं तव मानिसबाट क्रमशः पुरुषमा रुपान्तरीत हुदै जान्छौं । पुरुष बन्ने प्रक्रियाको माध्यमबाट हामी हाम्रो शरीरका चारवटै आयामहरु(स्थुल शरीर, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीर) र स्वाथ्यका सातवटै आयामहरु(शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, प्राणीक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, वौद्धिक स्वास्थ्य, आत्मिक स्वास्थ्य, परम स्वास्थ्य)लाई मोक्ष प्राप्तिकालागि अनुकुल हुने प्रकारले नयाँ तथा स्वस्थ र सक्रिय बनाउन सक्छौं । पुरुष अर्थात आत्माको जीवनको अन्तिम लक्ष्य मोक्ष प्राप्ति गरि सदाकालागि परमात्मामा स्थित हुनु तथा जन्म र मृत्युको चक्रबाट सदाकालागि मुक्त हुनु हो, मानिसको जीवनको लक्ष्य रोजमर्राको घिसिपिटी जीन्दगी जीउदै मृत्युलाई पर्खनु र फेरी त्यस्तै जीन्दगी जीउन पुनःजन्मिनु हो । रोजमर्राको जीवनमा चार पुरुषार्थको अनुशरण गर्न प्रयास गर्नु पुरुषार्थको प्रारम्भिक अवस्था हो । जीवनमा कसरी पुरुषार्थको अनुशरण गर्न प्रारम्भ गर्ने ? यो गहन जिज्ञासा सबै मानिसहरुमा उठ्न सक्छ । यसकालागि सर्वप्रथम, हाम्रो खानपानमा धर्म पुरुषार्थको अनुशरण गर्नु आवश्यक हुन्छ । प्राकृतिक सिद्धान्तको अनुशरण गरि आफू सुखपूर्वक जीवन जीउ र अरुलाई पनि सुखपूर्वक जीवन जीउन देउ अर्थात हिंसा त्याग, यो सबैभन्दा महत्वपुर्ण र प्रभावकारी प्रारम्भ हो । खाना खान शुरुगर्नु अघि आफ्नो थालको भोजनलाई हेरौं कि मैले ग्रहण गर्ने भोजन कतै हिंसापूर्वक, छलपूर्वक, अरुको भाग खोसेर कमाइएको पो छ कि ! यदि त्यस्तो अवस्था छ भने त्यो अधर्म हो, अधर्मको आचरण चार पुरुषार्थ अन्तर्गत पर्दैन । दोस्रो, धन आर्जनमा धर्म र अर्थ पुरुषार्थको अनुशरण गर्नु आवश्यक हुन्छ । कुनैपनि सुख तथा सुविधा भोग गर्नुअधि त्यसको आर्जनको पृष्ठभूमि जान्ने प्रयास गरौं कि मैले भोग गर्ने सुख, सुविधा कतै हिंसापूर्वक, छलपूर्वक, अरुको भाग खोसेर कमाइएको पो छ कि ! आफ्नो उदेश्य पूरा गर्नकालागि धन आर्जन गर्ने क्रममा कसैलाई हानी, नोक्सानी तथा असुविधा पो पुगेको छ कि ! यदि त्यस्तो अवस्था छ भने त्यो अधर्म हो, अधर्मको आचरण चार पुरुषार्थ अन्तर्गत पर्दैन । तेस्रो, आफूले गर्ने हरेक कर्ममा धर्म पुरुषार्थको अनुशरण गर्नु आवश्यक हुन्छ ताकि आफूले गरेका कुनैपनि कर्महरुले कसैलाई पनि असुविधा, हानी, नोक्सानी नपुर्याओस् बरु सेवा तथा सहजता प्रदान गरोस, मेरा सबै काम तथा कर्महरु निस्काम, निस्वार्थ सदकर्म बनुन्, मेरो कर्ममा कर्ता भाव नरहोस्, कर्म गरेको बदलामा प्राप्ति र परिणामको अपेक्षा नरहोस् । यसरी गरिएका कर्महरू धर्म र चार पुरुषार्थ अन्तर्गत पर्दछन् । आफ्ना दैनिक गतिविधिहरुमा यति गर्न सक्यौं भने हरेक मानिसको जीवनमा स्वतः मोक्षको द्वार खुल्न थाल्दछ ।
पुरुषार्थलाई जीवनमा अनुशरण गर्ने क्रममा भौतिक संसारका विविध प्रकारका माया अर्थात भ्रमहरुले मानिसलाई धर्मबाट भड्काउन सबै प्रकारका प्रयासहरु गर्दछन् तर हामीले माया अर्थात भ्रमसंग हार्नु हुदैन, मायालाई पराजित गरेर जीवनमा अगाडि बढ्न सक्नु पर्दछ । मायालाई आफूमा हावी हुन नदिन तथा यसलाई पराजित गर्न एक मात्र उपयोगी उपाय अध्यात्म विज्ञानको प्रमुख अंग तथा विषय योग विज्ञानको निष्ठापूर्वक साधना गर्नु हो । योग विज्ञानका प्रमुख आठ अंगहरु(यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि)मध्यका पनि प्रमुख तीन अंग तथा विधिहरु योगासन(योगाभ्यास), प्राणायाम र ध्यान साधना हुन् । हाम्रो दैनिक जीवनमा योगाभ्यास, प्राणायाम र ध्यान साधनालाई निष्ठापूर्वक व्यवहारीक रुपमा प्रयोग गर्न तथा अभ्यास थाल्यौं भने यसको अभ्यासले हाम्रो जीवनमा पूर्ण स्वास्थ्य र सदगुणहरुको विकास हुन थाल्दछ र हामी सबै विषयहरुप्रति सहज र सकारात्मक बन्दै जान्छौं । यदि हामी सहज छौं, सकारात्मक छौं र सदगुणहरुले भरिएका छौं भने हामीमाथि माया हावी हुन सक्दैन, पुरुषार्थको प्रक्रिया सहज बन्दै जान्छ र जीवनमा पूर्णता र मोक्षको प्राप्ति पनि सहज हुदै जान्छ ।
पुरुषार्थ शव्दलाई आमरुपमा सामान्यतया यौनिक सक्षमताको संकिर्ण अर्थमा बुझ्ने गरेको पाइन्छ तर यो बुझाई पूर्णतः गलत र भ्रामक हो । पुरुषार्थको वास्तविक अर्थ मानिसमा रहेको जीवन उर्जा तथा जीवनी शक्ति हो । संस्कृत शव्द पुरुषार्थ दुई शव्द पुरुष+अर्थ मिलेर बनेको छ । पुरुषको तात्पर्य मानिसभित्र रहेको आत्मा अर्थात चेतना अर्थात जीवन उर्जा तथा जीवनी शक्ति हो (पुलिंग पुरुष होइन) । अर्थको तात्पर्य जीवनको लक्ष्य हासिल गर्नकालागि धर्मको पालना गर्दै अर्थ तथा धन कमाएर, कमाएको धनले निस्काम सदकर्म गर्दै मोक्षसम्म पुग्न गरिने हरप्रकारका प्रक्रिया तथा प्रयत्नहरु हुन् । श्रीमद् भगवद् गीतामा अर्जुनजी भगवान श्रीकृष्णलाई सोध्नु हान्छ, “प्रभु, मनुष्य जीवनको उद्देश्य के हो ?” भगवान श्रीकृष्ण जवाफ दिनुहुन्छ, “मृत्यु पर्यन्त पनि कहिल्यै नष्ट नहुने अक्षय कर्म गर्दै मोक्ष हासिल गर्नु मनुष्य जीवनको उद्देश्य हो र मनुष्यले आफ्नो जीवनमा अक्षय कर्म चार पुरुषार्थको माध्यमबाट गर्न सक्दछ ।” डा. सन्त राधा कृष्णननका अनुसार, “मानिसको पुरुषार्थ त्यस्तो आधार स्तम्भ हो जसले समस्त सनातन धर्मको जीवन जीउने कलाको वर्णन गर्दछ ।” डा. पि.एन. प्रभुका अनुसार, “पुरुषार्थ चार आश्रम व्यवस्थाको मनोवैज्ञानिक नैतिक आधार हो जसले मानिसलाई शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सन्तुष्टी प्रदान गर्दछ ।” सनातन धर्म तथा पूर्वीय अध्यात्म दर्शनमा चार अंकको महत्वपूर्ण स्थान रहेको छ । सनातन शास्त्रहरुमा चार पुरुषार्थ– धर्म, अर्थ, काम, मोक्ष; चार वर्ण– ब्राह्मण, क्षेत्रिय, वैश्य, शुद्र; चार आश्रम– ब्रम्हचर्य, गृहस्थ, वानप्रस्त, सन्यास; चार धाम– बद्रिनाथधाम, द्वारकाधाम, जगन्नाथधाम,रामेश्वरमधाम;
शरीरका चार आयाम– वुद्धी, शरीर, मन, आत्मा(समग्रमा अन्तःकरण) को निकै महत्वकासाथ वर्णन गरिएको पाइन्छ ।
हरेक मानिसको जीवनमा दुई प्रमुख लक्ष्य रहेका हुन्छन्– (१)पूर्ण जीवनको प्राप्ति– स्वास्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा, शान्ति प्राप्त गर्नु र (२)मोक्षको प्राप्ति– हाम्रो आत्माको मूलस्वरुप परमात्मामा सदाकालागि स्थित हुनु । मानिसको शरीर चार आयाम(वुद्धी, शरीर, मन, आत्मा)को समिश्रणबाट निर्मित भएको छ । मानिसले शरीरका चार आयामहरुको आवश्यकता तथा कामनाहरुको पूर्ति तथा सन्तुष्टी चार पुरुषार्थको माध्यमबाट गर्दछ । धर्म पुरुषार्थ अर्थात कर्तव्यनिष्ठताको माध्यमबाट मानिसको वुद्धिले सन्तुष्टी प्राप्त गर्दछ । अर्थ पुरुषार्थ अर्थात धन तथा समृद्धिको माध्यमबाट मानिसको शरीर(शरीरका चारवटै आयाम)ले सन्तुष्टी प्राप्त गर्दछन् । काम पुरुषार्थ अर्थात सेवा तथा सदकर्मको माध्यमबाट मानिसको मन तथा भावनाले सन्तुष्टी प्राप्त गर्दछ र मोक्ष पुरुषार्थ अर्थात अध्यात्म साधनाको माध्यमबाट आत्माले सन्तुष्टी प्राप्त गर्दछ । यी चार पुरुषार्थ मानिसले आश्रम व्यवस्थाको गृहस्थ आश्रमबाट हासिल गर्न सक्दछ ।
(१) धर्म पुरुषार्थ के हो ?
चार पुरुषार्थ मध्य धर्म सबैभन्दा महत्वपूर्ण आयाम हो पुरुषार्थको, संसारभरिका सबै सम्प्रदाय तथा मतहरुविच धर्मका सन्दर्भमा मतक्यैता छ– ‘आफू जीउ र अरुलाई जीउन देउ’, यो भाव नैतिकता र कर्तव्यले ओतप्रोत धर्मको मूल सार र मोक्ष प्राप्तिको प्रथम कडी हो । सबै मानिसको पहिलो धर्म हो अरुलाई कष्ट नपुर्याइकन आफ्नो जीवनको रक्षा गर्नु तथा सुख, खुशी, समृद्धि, शान्ति, आनन्द आर्जन गर्नु । दोस्रो धर्म आफू मानव हुनुको धर्म सृष्टिका सबै मानिस, प्राणी, पंक्षी, जीव, वनस्पति, जड, पदार्थहरुको आफू सरह समान अधिकार तथा अस्तित्व छ भन्ने वोधकासाथ ती प्रति सम्मान गर्नु र तिनको संरक्षण गर्न सर्वकल्याण भाव राखेर योगदान पुर्याउनु मानवीय धर्मको निर्वाह गर्नु हो । श्रीमद् भगवद् गीतालाई धर्मको महान ग्रन्थ मानिन्छ, गीताका अनुसार धर्मको वास्तविक अर्थ सबैले आ–आफनो नैतिकता, कर्तव्यपरायणता, उत्तरदायित्व तथा जिम्मेदारी निष्ठापूर्वक वहन गर्नु हो । जो मानिसले निष्ठापूर्वक आफ्नो जीवनमा नैतिकता, कर्तव्यपरायणता, उत्तरदायित्व तथा जिम्मेदारी पूरा गर्दछ उ सही अर्थमा धार्मिक मानिस हो । वर्तमान समयमा बुझ्दै आइएको पूजापाठ, कर्मकाण्ड, व्रततिर्थ, दानदातव्य गर्नु वास्तविक अर्थमा धार्मिक हुनु होइन, यो त सांस्कृतिक तथा सांस्कारीक हुनु हो, मानिसको जीवनमा सांस्कृतिक तथा सांंस्कारीक हुनुको ठूलो वैज्ञानिक महत्व छ, जसले मानिसमा उल्लेखनिय सकारात्मक रुपान्तरण ल्याउदछ र उसमा सदगुणहरु भर्दछ । सांस्कृतिक तथा सांस्कारीक मानिसमा धार्मिक गुणहरु हुन्छन्, यही धार्मिक गुणको माध्यमबाट मानिस आध्यात्मिक बन्दछ र जीवनमा सहजता पूर्वक जीवनका दुई प्रमुख उद्देश्य पूर्णताको जीवन र मोक्ष हासिल गर्दछ ।
धर्म पुरुषार्थ दुई प्रकारले गर्ने गरिन्छ– (१)क्रिया धर्म र (२)गुण धर्म । क्रिया धर्म मानिसले गर्ने वाहिरी अभ्यासहरु हुन् पूजापाठ, कर्मकाण्ड, व्रततिर्थ, दानदातव्य आदि हुन् र गुण धर्म मानिसले आफूभित्र गर्ने आन्तरीक अभ्यासहरु हुन् नैतिकवान, कर्तव्यपरायण, उत्तरदायि, जिम्मेदार जसले मानिसमा सदगुण अर्थात सात प्रकारका गुणहरु– (१)निस्काम प्रेम, (२)अकारण आनन्द, (३)विवेकपूर्ण ज्ञान, (४)साहसपूर्ण सत्य, (५)स्वनियन्त्रीत शक्ति, (६)निर्विकल्प शान्ति, (७)सचेतन शुद्धताको विकास गर्दछ । निस्काम प्रेमबाट अकारण आनन्द प्राप्त हुन्छ, अकारण आनन्दबाट विवेकपूर्ण ज्ञान प्राप्त हुन्छ, विवेकपूर्ण ज्ञानबाट साहसपूर्ण सत्य प्राप्त हुन्छ, साहसपूर्ण सत्यबाट स्वनियन्त्रीत शक्ति प्राप्त हुन्छ, स्वनियन्त्रीत शक्तिबाट निर्विकल्प शान्ति प्राप्त हुन्छ र निर्विकल्प शान्तिबाट सचेतन शुद्धता प्राप्त हुन्छ । सचेतन शुद्धताबाट मानिसको चैतन्य शुद्ध हुन्छ र यही शुद्ध चैतन्यलाई मोक्ष भनिन्छ । आफूभित्र जति–जति अंशमा यी सात गुणहरु प्रकट हुदै जान्छन् उतिनै बराबर जीवनमा मोक्षको अंश पनि हासिल हुदै जान्छ ।
सनातन शास्त्रहरुमा धेरै ठाउँमा जोड दिएर उल्लेख गरिएको छ कि जीवनबाट राग हटाउनु, भोग छोड्नु, आफूलाई तपाउनु पर्दैन तर कामना, वासना तथा भोगप्रति अति आशक्ति नराख, निस्काम भावले भौतिक सुख, सुविधाहरुको भोग गर र आफ्ना सबै प्रकारका आवश्यकताहरु पूरा गर तर यी सबै सुख, सुविधाहरु अनित्य हुन भन्ने ज्ञान बुझेर भोग गर भनिएको छ । किनकी भौतिक संसारका सबै विषय, वस्तुहरु अनित्य छन्, हाम्रो आफ्नै शरीर पनि अनित्य छ, आयु पुगेपछि हामीबाट शरीर छुट्छ र हाम्रो आत्मा अर्थात चेतना मात्र बाँकी रहन्छ । आत्मा अर्थात चेतना मात्र नित्य हो, सत्य हो, परमात्माको अंश हो जो कहिल्यै मर्दैन । भौतिक संसारका सबै भोग, वस्तु, विषय, सुख, सुविधाहरु हाम्रो आत्मा अर्थात चेतनाले भौतिक संसारमा प्रकट हुन धारण गरेको भौतिक तथा स्थुल शरीरकालागि हुन्, भौतिक जीवनका आयामहरु स्वास्थ, सम्वन्ध, समृद्धि, प्रतिष्ठा, शान्ति प्राप्त गर्नकालागि हुन् जो शरीरको अन्त्य अर्थात मृत्यु पश्चात सबै भौतिक संसारमै छुट्छन्, हामीसंग जादैनन्,
यी विषय र वस्तुप्रतिको अति आशक्ति तथा वासनाले हाम्रो आत्मा अर्थात चेतनालाई अशुद्ध गर्दछ तसर्थ तटस्थ रहेर आवश्यकता जति छ त्यति मात्र भोग गर्नु पर्दछ भन्ने भाव हामीमा भरिएपछि सबै राग तथा भोगहरु निस्काम प्रेममा रुपान्तरीत हुन्छन् र हाम्रो यही जन्मको जीवनमा माथि उल्लेखित क्रम निस्काम प्रेम... बन्दै जान्छ र आखिरमा शुद्ध चेतना तथा मोक्ष प्राप्ति हुन्छ । मोक्ष प्राप्त गरेको मानिसमा सबै प्रकारका कामना, इच्छा, वासना, आशक्तिहरु स्वतः समाप्त भएर जान्छन् र मानिसलाई कुनै पनि अवस्था तथा परिस्थितिहरुले दुःखी र विचलित गराउन सक्दैनन्, उ सदाका लागि सतचितआनन्दमा स्थित हुन्छ ।
हामी सबैले यो बुझ्नु आवश्यक छ कि धर्म पुरुषार्थ अन्तर्गत गरिएका विविध क्रिया कर्महरु गरेर, ती क्रिया कर्महरुबाट आएका परिणामहरुका कारण हामी सुखी, खुशी, समृद्ध, शान्त, आनन्दित हुने होइनौं, यी क्रियाहरुले हाम्रो मन, वुद्धि, भाव, चेतमा ल्याएको शुद्धी तथा सन्तुष्टीमा आएको सकारात्मक परिवर्तनका कारण हामी सुखी, खुशी, समृद्ध, शान्त, आनन्दित भएका हौं । धर्म पुरुषार्थ अन्तर्गत गरिने क्रिया कर्महरुले हाम्रो पुण्य कर्म, शुभ कर्म तथा सद कर्मको वहिखाता बढाउँछन् । हाम्रो कर्मको वहिखातामा जति बढि पुण्यता छ उतिनै हाम्रो जीवनमा पूर्णता भरिदै आउँछ र सबै प्रकारका ऐश्वर्य प्राप्त हुुदै आउँछ । यस प्रकारको पूर्णता तथा ऐश्वर्य सदा धर्मतिर जान्छ, कहिल्यै अधर्मतिर जादैन, यसले हामीमा सदगुणहरु भरिदिन्छ र हाम्रा सबै क्रिया तथा कर्महरु पुण्य बन्दछन् र आकर्षणको सिद्धान्त अर्थात समले समलाई आकर्षित गर्छ भन्ने प्राकृतिक नियम अनुसार यी पुण्यहरुले ब्रह्माण्डबाट हामीतिर पुण्यनै आकर्षित गर्दछन् जसले निसन्देह हामीलाई पूर्णता र मोक्षमा पुर्याउँदछन् ।
यो सत्य हो कि बिना कामना तथा बिना इच्छा कोही पनि मानिसलाई अर्थ तथा काम पुरुषार्थ गर्ने उत्प्रेरणा हुदैन तसर्थ सबै प्रकारका कर्म गर्दा इच्छा कामना त राख्नु पर्छ तर आफूमा सहजता, सकारात्मकता तथा सदगुणहरु भरेर अर्थ तथा काम पुरुषार्थ गर्नु पर्दछ तव मात्र यो धर्मको बाटो बन्दछ र यही धर्मको बाटो नै अन्तत्वगत्वा मोक्षसम्म पुग्दछ । धर्मको अर्थ धारण गर्नु हो, मानिसले आफ्नो जीवनमा धारण गर्नु आवश्यक र योग्य कुराहरु मन, वचन तथा कर्ममा नैतिकता र पवित्रता भरेर निष्ठापूर्वक धारण गरुन जसले उ लगायत समग्र मानवीयता र सर्वकल्याणको काम गर्न सकियोस । राष्ट्र प्रमुखको मूल धर्म जनताको कल्याणका कार्यहरु गर्नु हो । जनताको मूल धर्म राष्ट्रलाई हरप्रकारले सक्दो सहयोग गर्नु तथा आफूले राष्ट्रबाट लिएको भन्दा बढि दिनु हो । त्यस्तै घरमूलीको मूल धर्म परिवारका सदस्यहरुको संरक्षण गर्नु तथा उचित आवश्यकताहरु पूरा गर्नु हो । सदा धार्मिक आचरण्मा रहन हरेक मानिसले आफ्नो क्षमता, पद, प्रतिष्ठा तथा अवस्था अनुसार नैतिकवान, कर्तव्यपरायण, उत्तरदायि, जिम्मेदार भएर धर्मको पालन गर्नु पर्दछ ।
सनातन अध्यात्म दर्शनमा धर्मका चार श्रोत रहेका छन्– (१)वेद, (२)स्मृति, (३)धर्मात्माहरुको आचरण, (४)साधुसन्तहरुले सिकाएका ज्ञानगुनका कुरा । यी सबै श्रोतहरुमा मानिसले के–के काम कसरी गर्ने भन्नेबारे विस्तृतमा बताइएको छ । मानिसले गरेको कुन काम धार्मिक तथा राम्रो हो र कुन होइन भन्ने कुरा उसको अन्तःकरण(शरीर, मन, वुद्धी, आत्मा) ले निर्धारण गर्दछ । जुन काम गर्न मानिसको अन्तःकरणले सहज अनुमति दिन्छ त्यो काम धार्मिक हो । धर्मका छ प्रकार रहेका छन्– (१)मानव धर्म, (२)वर्ण धर्म, (३)आश्रम धर्म, (४)कुल धर्म, (५)देश धर्म र (६)स्व धर्म ।
मानव धर्म– सबै मानिस, प्राणी, पंक्षी, जीव, वनस्पति, जड, पदार्थहरुको समान अस्तित्व स्वीकार गरि सबैको भलाइकालागि सदविचार तथा सदकर्म गर्दै मानवीयता तथा सर्वकल्याण भाव राखेर आफ्नो कर्तव्य तथा उत्तरदायित्व निभाउनु मानव धर्म हो ।
वर्ण धर्म– चार वर्ण(ब्राह्मण, क्षेत्रिय, वैश्य, शुद्र) परम्परा अनुसार ब्राह्मणले ज्ञान बाड्नु, क्षेत्रियले सुरक्षा प्रदान गर्नु, वैश्यले व्यापार, व्यवसाय तथा अर्थ सम्वन्धि कार्य गर्नु र शुद्रले सेवा प्रदान गर्नु वर्ण धर्म हो ।
आश्रम धर्म– चार आश्रम(ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, सन्यास) परम्परा अनुसार ब्रह्मचर्य आश्रममा २५ वर्षको उमेरसम्म सिप, ज्ञान, वुद्धि, विवेक आर्जन गर्नु । गृहस्थ आश्रममा २५ देखि ५० वर्षको उमेरसम्म पितृधर्मकालागि राम्रो कुलमा विवाह गरि संस्कारहरुको अनुशरण गर्दै शारीरिक आवश्यकता अर्थात रति सुख लिनु र योग्य सन्तान प्रजनन् गरेर सृष्टिको निरन्तरतामा योगदान पुर्याउनु । र आफ्जो तथा परिवारको हरप्रकारको आवश्यकता पूरा गर्नकालागि आफूले काम गरेको संस्थाप्रति धर्मनिष्ठ भएर शुद्ध धन आर्जन गर्नु । वानप्रस्थ आश्रममा ५० देखि ७५ वर्षको उमेरसम्म(औषतमा) घरपरिवारमै रही व्यतिगत तथा पारिवारीक कामनाबाट माथि उठेर तथा तटस्थ भएर आफूले यतिन्जेल सेवा सुविधा लिएको समाज, राष्ट्र, प्रकृतिकोलागि आफूले लिएजति तथा लिएको भन्दा बढि निस्वार्थ सेवा तथा स्वयंसेवा, उपकार, दान, सहयोग, दया, करुणा प्रदान गर्नु । सन्यास आश्रममा ७५ देखि १०० वर्षको उमेरसम्म(औषतमा)आफ्नो शारीरिक, मानसिक, भाव, चित्तको सम्पूर्ण उर्जालाई आफैंतिर खिचेर सबै जिम्मेदारी तल्लो पुस्तालाई सुम्पिएर घरपरिवारमा तथा कुनै उपयुक्त सुरक्षित स्थानमा बसि आफू अनुभवी बुझ्रुक भएर आफूले जानेको ज्ञान अरुलाई सिकाउनु र इश्वर भक्ति तथा स्मरणमा लाग्नु सन्यास हो र यी चारै गृहस्थ धर्महरुको पालना गर्नु आश्रम धर्म हो ।
कुल धर्म– आफू जन्मेको कुलका परम्परा, संस्कार, रीतिरिवाज, चाडपर्व,
चालचलनहरुको निष्ठापूर्वक अनुशरण गर्नु र कुलको मान सम्मान बढाउने काम गर्नु कुल धर्म हो ।
देश धर्म– आफू जुन समय, काल, परिस्थिति, समाज, देशमा जन्मिएको हो त्यहींको चालचलन, कानून तथा नीति नियमभित्र रहेर आफुलाई त्यसभित्र अभ्यस्त गराई जीवन जीउनु र देशकालागि योगदान पुऱ्याउनु देश धर्म हो ।
स्व धर्म– मानिसको आफ्नो अन्तःकरणले मार्गनिर्देश गरे अनुसार आफ्नो मूल धर्म जानेर त्यसको अनुशरण गर्नु स्व धर्म हो । महान धर्म ग्रन्थ भगवद् गीताका अनुसार आफ्नो स्व तथा आत्माको ज्ञान हासिल गरि स्व अर्थात आत्माको उच्चतम स्वरुप परमात्मामा सदाकालागि स्थित हुन त्यसकालागि आवश्यक साधना गर्नु क्रमशः आत्मज्ञान र ब्रहिज्ञान हासिल गर्दै मोक्षको प्राप्ति गर्नु स्वधर्म हो ।
(२) अर्थ पुरुषार्थ के हो ?
ज्ञान तथा कर्म इन्द्रियहरुको भोग तथा सुख सुविधाकालागि उपयोगमा ल्याइने प्रत्यक्ष देख्न, छुन, सुन्न, स्वाद लिन, गन्ध लिन तथा अनुभव गर्न सकिने हरेक प्रकारका भौतिक चिज, वस्तु, विषय, सेवा तथा सुविधाहरु अर्थ हुन्, अर्थलाई धन तथा ऐश्वर्यका रूपमा पनि बुझिन्छ । सहज जीवन यापनकालागि माथि उल्लेखित धर्म पुरुषार्थको पालना गर्दै धन, ऐश्वर्य तथा सुख, सुविधाहरु आर्जन गर्नु र धर्मको अनुशरण गर्दै स्वच्छ धनको कमाइ गरि जहाँ–जहाँ धनको आवश्यकता छ त्यहाँ–त्यहाँ सहि किमिमले धन खर्च गर्नु अर्थ पुरुषार्थ हो तर खराव ठाउँमा खराव उद्देश्यले धन खर्च गर्नु, धनको अनावश्यक संचय गर्नु अर्थ पुरुषार्थ अन्तर्गत पर्दैन, त्यसो गर्नु अधर्म तथा अपराध हो । मानिसको जीवनमा अर्थ अर्थात धनको अनन्त आवश्यकता हुन्छन् । माथि उल्लेखित सबै प्रकारका धर्महरु गर्न, धार्मिक क्रिया कर्महरु गर्न र शास्त्रमा उल्लेख भए अनुसार हरेक मानिसले गृहस्थ आश्रममा पालना गर्नैपर्ने पाँच महायज्ञ– (१)ब्रह्म यज्ञ, (२)देव यज्ञ, (३)पितृ यज्ञ, (४)अतीथि यज्ञ, र (५)भूत यज्ञ गरेर मानव जीवनको व्यक्तिगत, पारिवारीक, धार्मिक, नैतिक, सामाजिक, राष्ट्रिय कर्तव्य तथा उत्तरदायित्व निर्वाह गर्न धनको आवश्यकता पर्दछ । हरेक मानिसले आ–आफ्नो जीवनमा पूर्णता र मोक्ष प्राप्त गर्न नैतिकवान, कर्तव्यपरायण, उत्तरदायि भएर तथा धर्मको मार्गबाट विचलित नभइकन यी आवश्यकताहरुको परिपूर्तिकालागि अर्थ उपार्जन गर्नु वास्तविक अर्थ पुरुषार्थ मानिएको छ । साथै आफूले आर्जन गरेको धनबाट केही अंश अनिवार्य रुपमा आवश्कता भएकाहरुलाई दान गर्नु पर्दछ । दान तथा सहयोग गर्ने भावले संधै मानिसको मन, भाव, चित्तमा शान्ति तथा आनन्द प्रदान गर्दछ र हामी जति अरुलाई दिन्छौं त्यो भन्दा बढि आफूलाई प्राप्त हुन्छ ।
धन तथा हरप्रकारका ऐश्वर्यहरु जीवनमा खुशी, शान्ति, आनन्द, मोक्ष प्राप्त गर्ने वाहक हुन् तर धर्मको मार्गबाट विचलित भएर अधर्मको मार्ग अनुशरण गरेर अरुलाई हानी, नोक्सानी पुर्याएर, छल गरेर, ठगेर आर्जन गरेको धनलाई अर्थ पुरुषार्थ मानिदैन, यसरी कमाएको धनले मानिसको पुण्य क्षीण गर्दछ र यस्तो धनले आत्म असन्तुष्टी दिनुको साथै मानिसको जीवनमा पूर्णता तथा मोक्ष आउने मार्ग समेत अवरुद्ध गर्दछ । अधर्म भनेको समाज, देशको कानून र धर्मको नजरमा गलत ठहरीएका कर्महरु हुन् । चोरी, हिंसा, हत्या, अरुलाई ठग्नु, परिश्रम नगरीकन धन आर्जन गर्न खोज्नु, आफ्नो फाइदाकोलागि अरुको नोक्सान गर्नु, चाहिने भन्दा वढि संग्रह गर्नु, व्यक्तिगत आवश्यकता परिपूर्तिकालागि अरुमा आश्रीत हुनु अधर्म हो । श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएकोछ, “धर्मको पालना गर्दै जीवनमा अधिकसेअधिक धन कमाउनु र संसारप्रतिको आफ्नो हरप्रकारको कर्तव्य निर्वाह गर्नु मानिसको जीवनको प्रमुख लक्ष्य हुनुपर्दछ । मानिस संसारप्रतिको रागबाट कहिल्यै टाढा तथा विचलित हुनु हदैन, ती सबै कुराहरु चाहिन्छन् जीवनमा तर राम्रो विचार तथा भाव राखेर अरुलाई हानी, नोक्सानी नपुर्याइकन निश्वार्थ भाव तथा सेवा भावले मैले कर्म गर्नु पर्यो होइन, मैले कर्म गर्न पाएं भन्ने कृतज्ञता भावले भरिएर कर्मको परिणाम तथा प्राप्तिप्रति आशक्त भई सांसारीक भोगको वासनामा नपरीकन तटस्थ भएर अर्थ पुरुषार्थ गर्नु पर्दछ, यस्तो अर्थ पुरुषार्थले मोक्षको बाटो खोल्न मद्धत गर्दछ । भोगप्रतिको तटस्थता नै साँचो अर्थमा वैराग्य तथा सन्यास हो र वैरागी तथा सन्यासी पुरुष मात्र सहज किसिमले मोक्षमा स्थित हुन सक्दछ ।” भगवान वुद्धले भन्नु भएकोक छ, “संसार असत्य हो, असत्यलाई असत्यकै रुपमा बुझ्नु मोक्ष हो । अध्यात्म साधनाको सारा राज साधकको बुझाइमै छ ।” महर्षि अष्टबक्र भन्नुहुन्छ, “ जीवनको परिवर्तित अवस्थाहरुमा यदि जीवनमा केही कुरा त्याग गर्नुपर्ने अवस्था आयो तथा आफूलाई केही त्याग गर्न मन लाग्यो भने वैरस्वरुप काम र अनर्थले भरिएको अर्थलाई त्याग र धर्मलाई आत्मसाथ गरी जीवनमा अगाडि बढ ।”
(३) काम पुरुषार्थ के हो ?
सनातन अध्यात्म दर्शनमा काम पुरुषार्थलाई दुई प्रकारले बुझाउने प्रयास गरिएको छ । पहिलो, धर्म पुरुषार्थ अन्तर्गत आश्रम धर्मको वानप्रस्थ आश्रममा ५० देखि ७५ वर्षको उमेरसम्म घरपरिवारमै रही व्यतिगत तथा पारिवारीक कामनाबाट माथि उठेर आफूले यतिन्जेल सेवा सुविधा लिएको समाज, राष्ट्र, प्रकृतिकोलागि निस्वार्थ भावले आफूले धर्मको पालना गर्दै कमाएको अर्थको प्रयोग गरेर आफूले लिएजति तथा लिएको भन्दा बढि सेवा तथा स्वयंसेवा, उपकार, दान, सहयोग प्रदान गर्नुलाई काम पुरुषार्थको रुपमा वर्णन गरिएको छ जसले मानिसको मन, वुद्धि, भाव, चित्तलाई सुख, खुशी, शान्ति तथा आनन्द प्रदान गर्दछ र उसलाई मोक्षको मार्गमा अगाडि बढ्न सहजता प्रदान गर्दछ ।
दोस्रो, आम बुझाइमा यौन कामनाको सन्तुष्टी प्राप्त गर्नुलाई काम भनेर बुझ्ने गरिएको पाइन्छ तर यो बुझाइ अपूरो छ, वास्तविक अर्थमा शरीरका सबै आयामहरु– स्थुल शरीर, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीरका सबै इन्द्रियहरुका हरप्रकारका आवश्यकता तथा कामनाहरुको परिपूर्ति गर्नु र सुखभोग तथा सन्तुष्टी प्राप्त गर्नु काम पुरुषार्थ हो, जस्तो मिठो खाना, मिठो सुवास, राम्रो पहिरन, आनन्दित स्पर्श, सुन्दर दृश्य, सुमधूर आवाज तथा संगीत, मनपर्ने गहना, घर, सवारी, प्रेमी–प्रेमीका, श्रीमान–श्रीमती, परिवार, सम्वन्ध, साथीसंगी, प्रेम, खुशी, शान्ति, आनन्द, मनोरञ्जन आदि । मानिसका सबै इन्द्रियहरुमा मन प्रमुख इन्द्रिय हो, यसलाई छैठौं ज्ञानइन्द्रिय पनि भनिन्छ जसले अरु सबै इन्द्रियहरुलाई नियन्त्रण गर्दछ र सहि किसिमले काम गर्ने आदेश प्रदान गर्दछ । मन इन्द्रियहरुसंग मिलेर विषय तथा सुख, सुविधा भोगहरुको आनन्द अनुभव तथा अनुभूति प्राप्त गर्दछ, तसर्थ जीवनमा हरप्रकारका कामहरुबाट आनन्द लिन हाम्रा हरेक इन्द्रियहरुलाई सक्रिय र स्वस्थ बनाउनु आवश्यक हुन्छ, यसकालागि धर्म, अर्थ, काम पुरुषार्थ प्रमुख वाहक तथा साधन हुन् । भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ, “मानिसका सबै इन्द्रियहरुका आवश्यकता तथा कामनाहरुको परिपूर्ति भएपछि मात्र उ इच्छा तथा कामनारहित अवस्थामा पुग्दछ, आनन्द विभोर २ आत्म सन्तुष्टीको अवस्था अनुभूति गर्दछ र उसले मोक्षको प्राप्ति गर्न सक्दछ तर यदि मानिसका शरीरका सबै आयामहरुका इच्छा तथा कामना पूरा भएका छैनन् भने उभित्र क्रोधले जन्म लिन्छ र क्रोधले मानिसको वुद्धिको विकासमा अवरोध खडा गर्दछ र वुद्धिको विकास नभएपछि अज्ञानताकारण मानिसले जीवनमा अनेक प्रकारका चुनौती, समस्या, अभाव, रोगको सामना गर्नु पर्दछ, उसमा नकारात्मकता भरिदै जान्छ फलस्वरुप उसले जीवनमा चाहे अनुसार धर्म, अर्थ, काम पुरुषार्थ गर्न सक्दैन र जीवनमा पुर्णता र मोक्षको प्राप्तिबाट बिमुख हुन पुग्दछ । उसको जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द हासिल हुन सक्दैन ।”
आजभन्दा ३५०० वर्षअघि भगवान श्रीकृष्णका दिव्य वाणी भगवद् गीताको यही सत्यतथ्यलाई आधूनिक मनोविज्ञानका प्रथम प्रवर्तक पश्चिमका विख्यात फिलोसोफर मनोविज्ञ सिग्मण्ड फ्रायडले बिशेषगरि यौन मनोविज्ञानमा र उनका शिष्य लोकप्रिय मनोविज्ञ कार्ल युंगले मानिसको मनोविज्ञानका यौन लगायत अन्य विषयहरुमा र यससंग सम्वन्धित सम्पूर्ण आयामहरुमा गहन वैज्ञानिक खोज तथा अनुसन्धानमूलक अध्ययनहरु गरेर अनेक–अनेक रहस्यमयि प्रामाणिक तथ्यहरु उजागर गरेका छन् । यी तथ्यांकहरुले सनातन धर्म तथा पूर्वीय दर्शनमा उल्लेख गरिएका मानिसको शरीरका सबै आयामहरुको पूर्ण विकासकालागि उसले जीवनमा गर्नुपर्ने धर्म, अर्थ, काम, मोक्ष चार पुरुषार्थहरु सहि किसिमले गरेको तथा विकास भएको हुनु पर्दछ, अन्यथा मानिसको जीवनमा अनेक प्रकारका चुनौती, समस्या, अभाव, रोगका लक्षणहरु देखिन्छन् भन्ने अभिव्यक्तिलाई थप बल तथा प्रामाणिकता प्रदान गरेका छन् । मानिसको मनोविज्ञानको अवस्था र विकासको सन्दर्भका अधिकांश विषयहरुमा पूर्वीय दर्शन र पश्चिमी फिलोसोफी एकै निस्कर्षमा पुगेका तथा केन्द्रित भएका पाइन्छन् । हामी सनातनीहरुलाई स्मरण रहोसकि पश्चिममा जन्मिएका अधिकांश आधुनिक विज्ञान तथा मनोविज्ञानका सिद्धान्तहरुको मूलश्रोत पूर्वीय दर्शनका प्रमुख शास्त्रहरु नै हुन् । उन्नाइसौं सताव्दीको पूर्वाध तथा मध्यतिर सर्वाधिक लोकप्रिय वैज्ञानिक महान सनातन धर्म ग्रन्थहरुको मूल स्तम्भ श्रीमद् भगवद् गीता र अन्य प्रमुख सनातन ग्रन्थहरुको अंग्रेजी भाषामा अनुवाद तथा रुपान्तरण भएपछि संसारभरि पूर्वीय सनातन ज्ञान तथा अध्यात्म दर्शनले अभुतपूर्व जागरण ल्याइदियो र यसैमा आधारीत भएर विश्वव्यापी रूपमा आधूनिक भौतिक विज्ञानदेखि चिकित्सा विज्ञान, मनोविज्ञान लगायत अन्य ज्ञान, विज्ञान तथा विद्याका विभिन्न आयामहरुको सैद्धान्तिक तथा व्यवहारीक विकासमा महत्वपूर्ण योगदान पुर्यायो । वर्तमान समयमा पनि अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम फिजिक्स) मा काम गरिरहेको विश्वकै ठूलो र लोकप्रिय संस्था नासा(NASA) लगायत भौतिक विज्ञानको अध्ययन गर्ने गराउने विश्वभरीका अन्य संस्था तथा विश्वविद्यालयका पुस्तकालयहरुमा अत्यन्तै वैज्ञानिक र उपयोगी सनातन अध्यात्म दर्शनको मूल स्तम्भ 'श्रीमद् भगभद् गीता' लाई उच्च मान्यता र सम्मानका साथ सन्दर्भ सामग्रीको रूपमा स्थापित गरिएको छ । त्यस्तै विश्वकै ठूलो अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान प्रयोगशाला सर्न (CERN) को परिशरमा ठूलो आकारको भगवान शिवको नटराज पोजको मूर्ति राखिएको छ । यसको तात्पर्य गहन छ, अध्ययन गरौं, खोज गरौं हामी सनातनी को हौं, के हौं र हिराको थुप्रोमाथि वसेर भिख माग्ने प्रवृत्तिको अत्य गरौं ।
(४) मोक्ष पुरुषार्थ के हो ?
चार पुरुषार्थ मध्य धर्म, अर्थ, काम पुरुषार्थ साधन हुन र मोक्ष पुरुषार्थ साध्य तथा प्राप्ति हो अर्थात धर्म, अर्थ, काम पुरुषार्थ मानिसको जीवनको अन्तिम र सबैभन्दा महत्वपूर्ण लक्ष्य मोक्ष प्राप्त गर्न सहयोग गर्ने उपकरणहरु हुन् । मोक्ष प्राप्तिकालागि मानिसले जीवनभर धर्म, अर्थ, काम पुरुषार्थ गर्ने गर्दछ । सनातन धर्मको शास्त्रीय परिभाषा अनुसार मोक्षको तात्पर्य मानिसले अनेक जन्महरुमा गर्दै आएको कर्मको श्रृंखलाका आधारमा मानिसले ८४ लाख योनीमा बारबार जन्म लिरहने र मृत्यु भैरहने जन्म–मृत्युको चक्रबाट मुक्त भएर सदाकालागि परमात्मा स्थित हुनु र फेरी कहिल्यै नजन्मिनु हो तर सर्वकल्याणकालागि करुणा भावले आफ्नो इच्छाले जन्म लिन सकिन्छ भनिएको छ । हरेक मानिसमा प्रकृतिका तीन प्रकारका गुण पाइन्छन्- (१)सत्व गुण, (२)रजो गुण, र (३)तमो गुण । यी सबै गुणहरुको ज्ञान हासिल गरेर यी गुणहरुलाई जितेर गुणातीत बन्न सक्यो भने मानिस जन्म–मृत्युको चक्रलाई पार गरेर मोक्षमा स्थित हुन सक्दछ र मोक्षमा स्थित भएपछि मानिस आफ्ना सबै इच्छा, चाहना, कामना, वासना, विकारयुक्त अवगुणहरुबाट मुक्त हुन्छ, शुन्य हुन्छ तथा विकाररहित तथा पूर्ण सन्तुष्ट हुन्छ ।
मोक्षको परिभाषाको सन्दर्भमा दार्शनिक सिद्धान्त(पराभौतिक विज्ञान) र फिलोसोफी तथा आधूनिक सिद्धान्त(भौतिक विज्ञान) ले फरक–फरक प्रकारले मोक्षको परिभाषा गरेका छन् । आधूनिक सिद्धान्तका अनुसार पूर्णताको जीवन जीउन आवश्यक पर्ने सबै प्रकारका आवश्यकताहरुको परिपूर्ति भैसकेपछि मानिसले अनुभव गर्ने एकप्रकारको आत्म सन्तुष्टी तथा उच्चतम आनन्द विभोरको अवस्था मोक्ष हो । दार्शनिक सिद्धान्तका अनुसार जीवनका सबै प्रकारका आवश्यकता, इच्छा, कामना, वासनाहरुबाट मुक्त हुनु मात्र मोक्षको अवस्थामा प्राप्त हुनु होइन, यो भन्दा माथि र पराअलौकिक आत्म श्रेष्ठताको अवस्थाको प्राप्ति मोक्ष हो, जन्म–मृत्युको चक्रबाट मुक्त भएर सदाकालागि आफूभन्दा माथिल्लो आत्मा परमात्मामा स्थित हुनु र फेरी जन्म–मृत्युको चक्रमा नफर्किने अवस्था हो । यही नै हो वास्तविक जीवन दर्शन र यसलाई डोर्याउने साधना, विधि तथा पद्धति नै वास्तविक सनातन अध्यात्म दर्शन हो । मोक्ष पुरुषार्थ साध्य हो, यो साध्य हासिल गर्न धर्मका नियम तथा विधिहरुले र स्वयं धर्म, अर्थ, काम पुरुषार्थले सहजता प्रदान गर्दछन् । धर्म विज्ञान अध्यात्म दर्शनको प्रमुख तथा महत्वपूर्ण अंग हो । मानिसको भौतिक तथा वाहिरी जीवन लौकिक हुन्छ जसमा ज्ञान तथा कर्म इन्द्रियहरुको पहुँच र नियन्त्रण रहन्छ, हरेक विषय तथा घटनाहरु व्यक्तिले अनुभव गर्न सक्दछ र शव्द, भाव, हाउभाउ तथा इशाराको माध्यमबाट आफ्ना अनुभवहरु अरुसमक्ष व्यक्त गर्न सक्दछ । तर पराभौतिक तथा आन्तरीक जीवनमा हुने अनुभव तथा अनुभूतिहरु इन्द्रियतीत हुन्छन् जसलाई शव्द, भाव, हाउभाउ तथा इशाराको माध्यमबाट अरुसमक्ष व्यक्त गर्न सकिदैन । इन्द्रियतीत अनुभव तथा अनुभूतिहरु मोक्ष प्राप्त गरि सदाकालागि परमात्मामा स्थित भैसकेका सन्त, महात्मा, योगीहरुले मात्र हासिल गर्न सक्दछन् । मोक्ष प्राप्तिको अवस्थामा हुने अनुभव तथा अनुभूतिहरु अति कम मानिस तथा निष्ठावान अध्यात्म साधकहरुलाई मात्र हुने हुनाले हत्तपत्त यस्ता दिव्य अनुभूतिहरु वाहिर सार्वजनिक गर्नु हुदैन, यसको आफ्नै प्रकारको नियम र अनिवार्यता छ । अध्यात्मको नियम र अनिवार्यता अनुशरण नगर्नाले कहिलेकाहीं पराअलौकिक उपलव्धिमा हानी तथा बेफाइदा पनि पुग्न सक्छ साथै जन्मौं जन्म लगाएर प्राप्त गरेको सिद्धिमा कमी आउन तथा सदाकालागि गुम्न पनि सक्छ ।
मोक्ष प्राप्तिका प्रमुख तीन मार्ग
(१)ज्ञान मार्ग– सनातन अध्यात्म तथा धर्मको सन्दर्भमा अधिकसेअधिक ज्ञानले भरिएर आत्मज्ञान तथा आत्मबोध हासिल गरेर मोक्ष प्राप्त गर्न सकिन्छ ।
(२)भक्ति मार्ग– गुरु, देवीदेवता, भगवान, इश्वरको भक्तिको उच्च अवस्था हासिल गरेर मोक्ष प्राप्त गर्न सकिन्छ ।
(३)कर्म मार्ग– निस्काम तथा अकती भावले मानवीय सेवा तथा सर्वकल्याणका सदकर्महरु मार्फत अरुलाई सहयोग प्रदान गरेर, अरुकाे आर्शिवाद हासिल गरेर मोक्ष प्राप्त गर्न सकिन्छ ।
मोक्ष प्राप्तिका लक्षण तथा अवस्थाहरु
मोक्ष प्राप्ति मानव जीवनको सबैभन्दा ठूलो प्राप्ति तथा सफलता हो । अध्यात्मको परिभाषा अनुसार आत्म सन्तुष्टी र उच्चतन आनन्द विभोरको अवस्था वास्तविक मोक्ष प्राप्ति होइन, मोक्ष यो भन्दा अझ उच्च र गहिरो विषय हो । मोक्ष प्राप्तिका विविध प्रकारका परालौकिक अनुभव, अनुभूति तथा लक्षणहरु छन् । मोक्षको अवस्थामा कतिपय अनुभूति तथा लक्षणहरु साधकमा अलौकिक सिद्धिका रुपमा प्राप्त हुन्छन् । यस्ता परालौकिक अनुभूति तथा लक्षणहरु साधकहरुको साधना विधि र उनीहरुको प्रारव्ध कर्मको स्थिति अनुसार फरक–फरक हुन सक्छन् भने केही अनुभूति तथा लक्षणहरु साझा पनि हुन सक्छन् । विश्वभरी साधना विधिका आधारमा मोक्षलाई फरक–फरक योगी, सन्त, महात्माहरुले फरक–फरक किसिमले अभिव्यक्त गरेका छन् । मोक्ष प्राप्तिका लक्षण तथा अवस्थाहरुका परालौकिक विषय भएकोले यो सबैकालागि पत्यारीलो विषय नहुन सक्छ तसर्थ यहाँ उल्लेख गर्नु भन्दा यस सन्दर्भमा जान्न इच्छुक पाठक वर्गहरुलाई आफ्नो पहुच अनुसार खोजेर पढ्नु हुन विनम्र आग्रह गर्दछु । ओशोधारा आध्यात्मिक संस्थाका श्रद्धेय सदगुरुहरुले यस सन्दर्भमा गहन व्याख्या विश्लेषण गर्नुभएको छ ।
धर्मको पालाना तथा अनुशरण गर्दै गरिएका हरेक पुरुषार्थका प्रक्रियाहरुले अन्तत्वगत्वा मानिसलाई (१)आदर्श ब्यक्ति बनाउँदछ, (२) मानवीयता र सर्वकल्याणकालागि काम गर्ने भाव जाग्रीत गराउँछ, (३)व्यक्तिगत, पारिवारिक, सामाजिक, धार्मिक, मानवीय, सर्वकल्याण भावप्रति चिन्तनशील बनाउनछ,
(४) जीवनमा आइपर्ने संघर्षहरुसंग लड्न सक्ने क्षमता प्रदान गर्छ र प्रेरीत गर्छ, (ग नैतिकताको साथसाथ कर्तब्यको बोध गराउँछ यसकारण हरेक मानिसको जीवनमा चार पुरुषार्थको विशेष महत्व रहेका छ ।
मोक्षको सन्दर्भमा फैलाइएको भ्रम चिर्न आवश्यक
मोक्ष प्राप्तिको सन्दर्भमा सनातन धर्मका चारवटै सम्प्रदायहरु(हिन्दु, बौद्ध, जैन, सिख)मा छोरी जन्माएर नहुने, छोरो नै जन्माउनु पर्ने र मृत्यु पर्यन्त छोराले गरेको काजक्रियाबाट मात्र मोक्ष प्राप्त गर्न सकिन्छ भनेर अतिरञ्जित गरिएको छ । यो भ्रामक अभिव्यक्ति स्वार्थवस सबै संस्कृतिहरुमा फैलाइएको हो । मोक्ष कसैले प्रदान गर्ने तथा हस्तानतरण गर्ने वस्तु नभएर जीवनमा लामो प्रक्रिया र प्रयत्न गरेपछि प्राप्त हुने उच्चतम इन्द्रियातीत अनुभूतिको परालौकिक अवस्था हो । समयको प्रवाहसंगै विस्तारवाद राजनीति र चालवाज शासकहरुको प्रलोभनमा परेर स्वार्थी शास्त्रज्ञानी मानिने स्वघोषित पाखण्डी पंडितहरुले आफ्नो लोभले भरिएको उद्देश्य पूरागर्न लगाइएको गलत र कुनै वैज्ञानिकता नभएको अन्धविश्वासले पूर्ण नवनिर्मित परिभाषा हो छोराले मात्र पितृ तार्छन तला मोक्ष पुदान गर्दछन् भन्ने अभिव्यक्ति । वास्तविकतामा प्रमुख प्राचीन सनातन शास्त्रहरुमा यस किसिमको नारी र पुरुषमा विभेद गरिएको अभिव्यक्ति कतै उल्लेख गरिएको पाइदैन । सनातन धर्ममा नारीशक्तिलाई हरप्रकारले उच्चतम मूल्य प्रदान गरिएको तथा कदर गरिएको पाइन्छ र धेरै विद्युषि नारीहरुको पुरुषार्थ तथा ज्ञान गाथाहरु पनि उल्लेख गरिएको पाइन्छ । सनातन शास्त्रहरुमा विवाहको मुख्य तीन उदेश्य रहेको उल्लेख गरिएको छ– (१)पितृ धर्म निर्वाह गर्न, (२)रति सुख प्राप्त गर्न, र (३)संस्कारी सन्तान प्रजनन् गरेर सृष्टिलाई योगदान पुर्याउन । कहीं कतै छोरो जन्माउने तथा छोरी नजन्माउने बारे उल्लेख गरिएको छैन ।
आधूनिक नारीवादका विभिन्न सिद्धान्तहरुको मत अनुसार मानव सभ्यताको विकासको क्रममा खासगरि कृषि, उद्योग, व्यापार, व्यवसाय, पेशाको शुरुआत हुनुअघि नारीको प्रजनन् शक्तिलाई विशेष महत्व दिइन्थ्यो किनकी त्यतिबेलाको जीवन संघर्षकालागि मानवीय श्रोतको बढि आवश्यकता तथा महत्व रहन्थ्यो, यसकारण नारीको प्रजनन् शक्तिलाई इश्वरको प्रसादको रुपमा पूजा तथा सम्मान गर्ने गरिन्थ्यो, मातृप्रधान समाज थियो त्यतिबेला, सबैकालागि यौन स्वतन्त्रता थियो, बालबच्चाहरु आमाको नामबाट चिनिन्थे । तर सभ्यता विकासको क्रममा जव विस्तारै कृषि, उद्योग, व्यापार, व्यवसाय, पेशाहरुको शुरुआत र विकास हुनथाल्यो त्यसपछि क्रमशः व्यक्ति, परिवार र समाजको दृष्टिकोणमा भौतिक धनसम्पत्तिको आवश्यकता तथा महत्व बढ्दै गयो, शारीरिक बलमा बलिस्ठ भएकाकारण धनसम्पत्ति आर्जन र नियन्त्रणमा पुरुषहरुको वर्चश्व बढ्दै गयो र विस्तारै समाज मातृप्रधानबाट पितृप्रधान बन्दै गयो र कालान्तरमा नारीहरुलाई पुरुषको भौतिक सम्पत्तिको रुपमा व्यवहार गर्न तथा प्रयोग गर्न थालियो पुरुषहरुको शारीरिक, मानसिक आवश्यकता अनुसार । पुरुषहरुमा वंशजको मोह र अहंकार जाग्न थाल्यो खासगरि पुरुषले कमाएको धनसम्पत्तिको भोगचलन, संरक्षण होस र आफ्नो वंश तथा विरासतमा निरन्तरता रहोस र आफ्नै शरीरको अंश अर्थात आफ्नै छोराछोरीले आफूले कमाएको धनसम्पत्तिको प्रयोग तथा भोगचलन गरुन भन्ने उद्देश्यले पुरुषप्रधान परिवारको उत्तराधिकारी जन्माउने साधनको रुपमा नारीहरुको उपयोग हुनथाल्यो र अरुका सन्तान जन्माउलान भनेर उनीहरुको यौन स्वतन्त्रा तथा सबै प्रकारका स्पतन्त्रताहरु माथि बन्देज लगाउन थालियो र विवाह सम्बन्ध, एकपति जस्ता नियमहरु ल्याइए । पुरुषको यो निर्णयमा अस्वीकार गर्ने नारीहरुमाथि कुटपिट, मारकाट जस्ता हिंसा पनि गर्न थालियो । यसप्रकारको हिंसाबाट डराएर नारीहरु आफूलाई पुरुषको इच्छा अनुसार प्रयोग गराइन तथा सुम्पन बाध्य बनाइए र समाजमा छोरा तथा पुरुषको महत्व र वर्चश्व स्थापित हुदै गयो ।
यो अवस्थामा अझ विकृति विश्वमा आएको औधोगिक क्रान्तिपछि बढ्न थाल्यो । औधोगिक क्षेत्रहरुमा पुरुष श्रमिकहरुको बढि आवश्यकता भएकोले परिवारहरुलाई छोरा नै जन्माउन दवाव दिनुको साथै छोरा जन्माउनेलाई शासक तथा उद्योगीहरुले पुरस्कृत समेत गर्न थाले उनीहरुको उद्योगमा पुरुष श्रमिकहरुको आवश्यकता परिपूर्ति गर्नकालागि जसले समाजमा छोरी भन्दा छोरो जन्माउनु पर्ने रहेछ भन्ने एकपक्षिय अवधारणको विकास तिब्रताकासाथ स्थापित हुदै गयो र नयाँ–नयाँ सम्प्रदाय तथा मत र तिनका नियमहरुमा यो मान्यतालाई मान्यता प्रदान गर्दै लगियो तर यसको पछाडिको कारण के थियो, किन यस्तो विभेदको स्थिति बन्यो भन्ने कुरा पछाडि छुट्दै गयो र विस्तारै विरालो बाँधेर श्राद्ध गर्ने परिपाटी जस्तै यस परिपाटीले पनि परम्पराको स्वरुप धारण गर्दै गयो र परिवार, समाज तथा देशमै छोरी तथा नारीहरुको अवमूल्यन, विभेद र उनीहरुमाथि विविध प्रकारका हिंसाहरु निरन्तर बढ्दै गए । दक्षिण एशियाको सनातन धर्ममा यो विकृतिको प्रभाव इस्वी बाह्रौं, तेह्रौं शताव्दीमा मुगलहरुको आक्रमण पश्चात शुरु भएको देखिन्छ युद्धसेनामा पुरुषको संख्या पुर्याउनकालागि । अठारौं शताव्दीमा व्यापार गर्ने उदेश्यले दक्षिण एशिया प्रवेश गरेको साम्राज्यवादी इष्ट इन्डीया कम्पनीको भारत प्रवेश र भारतमा विविध विस्तारवादको ज्याजतिपूर्ण शुरुआत पश्चात दक्षिण एशियाभरि यो बिकृति तिब्र गतिमा फैलिदै गयो र आज यो भयावह भएर छोरी भ्रुण हत्याका रुपमा हामी वर्षेनी लाखौं छोरीहरु गुमाइरहेका छौं, उनीहरुलाई जन्मिनै दिइदैन जसले लैंगिक पारस्थिकीय प्रणालीमा अत्यन्तै कहालीलाग्दो असन्तुलनको स्थिति खडा गरिरहेको छ र नारीहरुमाथिको असुरक्षा, अत्यचार र हिंसा अझ बढाउदै लगिरहेको छ ।
पश्चिमी फिलोसोफी: पुरुषार्थको पृष्ठभूमि
पूर्वीय दर्शनले सनातन अध्यात्मका सिद्धान्तहरुलाई आधार बनाएर लौकिक तथा अलौकिक स्वरुपमा मानिसले जीवनमा गर्नुपर्ने चार पुरुषार्थहरुको वृहत्तर व्याख्या तथा विश्लेषण गरेको छ । पश्चिमी फिलोसोफीले पनि मानिसले जीवनमा गर्नुपर्ने चार पुरुषार्थको व्याख्या तथा विश्लेषण आफ्नै प्रकारले गरेको छ । हरेक मानिसले जीवनमा अवस्था अनुसार परिवर्तित हुने आफ्ना आवश्यकताहरुलाई क्रमशः परिपूर्ति गर्दै जानुपर्छ भन्ने अर्थमा सोपानको स्वरुपमा व्याख्या तथा विश्लेषण गरेको छ । आधूनिक विज्ञानका शास्त्र तथा सिद्धान्तहरुले मोक्षको परिभाषा सबै मानिसले बुझ्ने र व्यवहारीक हुने किसिमले अलि फरक गरि गर्ने प्रयास गरेका छन् । महान फिलोसोफर हेगल(१७७०-१८३१)का समकालिक जर्मनका दार्शनिक मनोविज्ञ किर्के गर्डले मानिसको जीवनको गहिरो विषय उजागर गरेका छन्, उनका अनुसार मानिसको जीवनमा विभिन्न अवस्थाहरु आउँछन् । शुरुमा मानिस आधारभूत आवश्यकताहरुको परिपूर्तिको पछाडि लाग्दछ । उसको उमेर बढ्दै जाँदा उसको अवस्था र आवश्यकतामा परिवर्तन आउँछ, यसपछि उ सुरक्षा प्राप्तिको पछाडि लाग्दछ । यसपछि उसको जीवनमा अर्को अवस्था आउँछ र उ प्रेम, सम्वन्त्रता, साथीसंगी, समाजको खोजी, मानसम्मान, प्रशिद्धि, आत्म सम्मान, पहिचानको चाहना गर्न थाल्दछ र अन्तिममा इश्वरको भक्ति साधना गरि आत्म सन्तुष्टी प्राप्त गर्ने बाटोतिर लाग्दछ । आधूनिक जीवनशैलीमा विवेक सम्पन्न मानिसले आफ्नो विवेकको प्रयोग गरेर जीवनका विभिन्न अवस्थाका आवश्यकता तथा लक्ष्यहरुको प्राप्ति गर्नु पुरुषार्थको व्यवहारिक परिभाषा हो । विश्व विख्यात मनोविज्ञ अब्राहम मास्लोले मानिसको जीवनका विभिन्न अवस्था र आवश्यकताहरुको क्रम अनुसार व्याख्या गर्दै मोक्षलाई अन्तिम अवस्थाको लक्ष्य तथा चाहना आत्म सन्तुष्टी, आनन्द विभोरको अवस्था तथा आनन्दको उच्चतम अनुभव तथा अनुभूतिको अवस्थाको रुपमा व्याख्या गरेका छन् जसलाई भगवद् गीताको भाषामा स्वधर्म भनिन्छ ।
मानिसले संसारमा जिरहेको भौतिक जीवन उसको वाहिरी जीवन हो र पराभौतिक तथा मोक्षको आकांक्षा र यसकालागि आफूभित्रको अन्तरयात्रा गरि प्रयत्न गर्नु आन्तरिक जीवन हो । भौतिक जीवनमा भोग गरिरहेका आफ्ना र अरुका पनि धेरै कुराहरु जान्न तथा थाहा पाउन सकिन्छ तर पराभौतिक जीवनमा अरुका केही पनि कुरा जान्न सकिदैन र आफ्नै पनि कतिपय कुराहरु जान्न सकिदैन, यसकालागि विशेष किसिमका अध्यात्म साधनाका विधिहरुको अनुशरण गर्नु पर्दछ । तर मोक्षलाई सामान्य किसिमले परिभाषित गर्दा– लौकिक स्वरूपमा आफ्ना सबै प्रकारका शारीरिक तथा मानसिक आवश्यकताहरुको परिपूर्ति भैसकेपछि कुनै प्रकारको इच्छा, कामना, वासना नरहनु तथा यस अवस्थाबाट मुक्त हुनु मोक्ष प्राप्तिको अवस्था हो र परालौकिक रुपमा आत्म सन्तुष्टी, आनन्द विभोरको अवस्था तथा आनन्दको उच्चतम अनुभव तथा अनुभूतिको अवस्था मोक्ष हो । आधूनिक मनोविज्ञानका पिता विश्वविख्यात मनोविज्ञ अब्राहम मास्लोले सन् १९४३ उत्प्रेरणाको सिद्धान्त प्रतिपादन गरेर मानिसको जीवनमा अवस्था अनुसार परिवर्तन हुने आवश्यकताहरुलाई मानिसले जीवनमा गर्नुपर्ने आफ्ना आवश्यकताहरुको परिपूर्ति प्रक्रिया तथा पूर्वीय दर्शनको अभिव्यक्तिमा पुरुषार्थलाई तलबाटमाथि (बटम अप) पिरामिड स्वपानमा उध्रित गर्दै स्पष्ट पार्ने प्रयास गरेका छन् । उनका अनुसार मानिसका पाँच प्रकारका आवश्यकताहरु हुन्छन् जो अवस्थाअनुसार स्वतः परिवर्तन हुदै जान्छन्-
(५)आत्म सन्तुष्टीको आवश्यकता(Self Actualization Needs), मोक्ष पुरुषार्थ
आफैंले आफ्नो पहिचान, सुख, खुशी, शान्ति, आनन्द, मुक्तिको आवश्यकता ।
(४)मान सम्मानको आवश्यकता(Self Esteem Needs), काम पुरुषार्थ
आदर, श्रद्धा, मान, सम्मान, पद, पहिचान, प्रतिष्ठा, स्वायत्तता, सामाजिक सफलताको आवश्यकता ।
(३)सामाजिक आवश्यकता(Love & Belongings Needs), काम पुरुषार्थ
प्रेम, परिवार, सम्वन्ध, मैत्री, साथीसंगत, समाजको आवश्यकता ।
(२)सुरक्षाको आवश्यकता(Safety & Security Needs), अर्थ पुरुषार्थ
स्वाश्य, नोकरी, समृद्धि, आर्थिक सफलता, सुख–सुविधा, सहज जीवनको आवश्यकता ।
(१)शारीरिक तथा आधारभूत आवश्यकता(Basic & Physical Needs), धर्म पुरुषार्थ
गाँस, वास, कपाश, सहवासको आवश्यकता ।
अब्राहम मास्लो तथा उनीभन्दा पछिल्लो पुस्ताका मनोविज्ञहरुले पनि सनातन अध्यात्मले जस्तै दुई प्रकारका मानिसको चर्चा गरेका छन्- वैरागी र गृहस्थ । वैरागी मानिस जो उत्प्रेरणाको सिद्धान्त अनुसार उसका एक, दुई, तीन, चार प्रकारका आवश्यकताहरु पूर्ण रुपमा पूरा नभएपनि र परिवार तथा घरबार विहीन भएपनि उ आत्म सन्तुष्टीको अवस्थामा रहन सक्छ अर्थात आनन्द विभोरको अवस्था हासिल गर्न सक्छ जो मोक्षको अवस्था हो । गृहस्थ मानिस जो आफ्नो जीवनमा पूर्णता र अन्तिम लक्ष्य आत्म सन्तुष्टी, आनन्द विभोर अर्थात मोक्षको अवस्था हासिल गर्नकालागि उत्प्रेरणाको सिद्धान्त अनुसार क्रमशः जीवनमा एक, दुई, तीन, चार प्रकारका आवश्यकताहरु परिपूर्ति गर्दै जान्छ र अन्त्यमा आनन्द विभोर तथा आत्म सन्तुष्टीको अवस्था हासिल गर्दछ ।
मास्लोले मानिसको छैठौं प्रकारको आवश्यकताको विषय पनि उजागर गरेका छन- (६)आत्म श्रेष्ठता(Self Transcendence), इन्द्रियातीत अनुृभूति, आफूबाट मुक्त, शुन्य, निर्वाणको अवस्था अर्थात अध्यात्म दर्शनको सर्वाधिक अन्तिम लक्ष्य मोक्षको प्राप्ति अर्थात परमात्मामा सदाकालागि स्थित । मास्लोको उत्प्रेरणाको सिद्वान्तलाई श्रद्धेय स्वामी विवेकानन्दले सुझाउनु भएकाे नव अद्वेतवादसंग जोडर पनि हेर्ने गरिएको छ । नव अद्वेतवादका अनुसार भोको पेट, असुरक्षा, अपमान, अशान्तिबाट मुक्त भएपछि मात्र मानिसले ध्यान तथा मोक्षकोबारेमा सोच्न थाल्छ, यी आवश्यकताहरु परिपूर्ति हुनुअघि मोक्षको मार्ग तथा प्रक्रिया अधिकांश मानिसकालागि बहुत मुस्किलको विषय बन्दछ तसर्थ पहिला मनिसले पुरुषार्थ गरि आफ्ना सबै प्रकारका आवश्यकताहरु परिपूर्ति गर्नु आवश्यक हुन्छ तवमात्र मोक्षको प्राप्तिमा लाग्छ सहज हुन्छ ।
उच्चतम आनन्द विभोर तथा आत्म सन्तुष्टीका लक्षण तथा अवस्थाहरु
वास्तविक अर्थमा आफूलाई चिन्नु, बुझ्नु, जान्नु जस्तो कि, म को हो ? मलाई के मन पर्छ ? मेरो जीवन कस्तो हुनु पर्छ ? मेरो जीवनको लक्ष्य के हो ? यसबारे जान्न स्वाध्याय गर्नु, आफूलाई सुन्नु, आफूसंग सम्वाद गर्नु, आफूलाई आनन्द लाग्ने अर्थात आफ्नो सोखको कुनैपनि काम गर्नु, आफैंमा रमाउनु, आफूभित्रको सुख, खुशी, शान्ति, आनन्दको महसुस गर्नु आत्म सन्तुष्टी, उच्चतम आनन्द विभोर तथा मोक्ष प्राप्तिको अवस्था हो । मनोविज्ञ मास्लोले आनन्द विभोर तथा आत्म सन्तुष्टीका लक्षण तथा अवस्थाहरुलाई निम्न १३ वुदामा लिपिवद्ध गरेका छन्, उच्चतम आनन्द विभोर तथा आत्म सन्तुष्टी हासिल गरेका मानिसहरु–
(१) विनम्र हुन्छन्- बोलीमा विनम्रता हुन्छ । अरुलाई बोलेर तथा व्यवहार गरेर चोट पुर्याउदैनन्, अरुको मान सम्मान गर्छन्, क्षमाशील तथा कृतज्ञ हन्छुन् ।
(२) साक्षी भावमा रहन्छन्- भूतको याद र भविश्यको कल्पना नगरी वर्तमानमा जिउँछन्, सदा आफैंमा सुखी, खुशी, शान्त र आनन्दित रहन्छन् र आफूसंग जे छ, जस्तो छ सहज भावले स्वीकार गर्दछन् ।
(३) स्वतन्त्र विचारका हुन्छन्- जजमेन्टल तथा पक्षपाती हुदैनन्, सबैलाई समान अवसर प्रदान गर्दछन्, आफ्नो विचार आफैं बनाउँछन् र आफ्नो विचार अरुमाथि हावी गराउदैनन्, अर्कोको स्वात्रताका कदर गर्दछन् ।
(४) स्वच्छन्द हुन्छन्- अरुको प्रभावमा आउदैनन्, आफ्नै स्वाभावमा जिउँछन्, आफू स्वयंको स्वाभाव र विवेक अनुसार निर्णय गर्दछन्, आफ्नो निर्णय मान्न अरुलाई मजबुर गर्दैनन् ।
(५) दिने भावका हुन्छन्- अरुबाट आफ्नोलागि लिने भन्दा आफूले अरुलाई कयौं गुणा बढि दिने, सहयोग गर्ने परोपकारी तथा दानी स्वाभावका हुन्छन् ।
(६) स्वायत्त हुन्छन्- स्वतन्त्र, स्वाभिमानी र आफैंमा आत्मनिर्भर हुन्छन्, अरुलाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिन्छन् ।
(७) एकान्तप्रिय हुन्छन्- शान्त, एकान्तप्रिय हुन्छन्, प्रेम, मैत्रीभाव, विश्व वन्धुत्वको भावलाई महत्व दिन्छन्, सबैसंग मिल्न सक्ने मिलनसार प्रवृत्तिका हुन्छन्, अरुलाई कुनै प्रकारका असहजता पुर्याउँदैनन् ।
(८) मैत्री भाव राख्दछन्– प्रकृतिमा रहेका सबै मानिस, प्राणी, पंक्षी, जीव, वनस्पति,
जड, पदार्थ सबैप्रति समत्वको भाव राख्दछन् र सबैको हित तथा संरक्षण हुने सर्वकल्याणका कार्यहरु गर्दछन् ।
(९) प्रशंसनिय हुन्छन् र प्रशंसा गर्दछन्– उनीहरु आफू प्रशंसनीय हुन्छन् र अरुको कामप्रति पनि सकारात्मक र प्रशंशा भाव राख्दछन्, सदा सकारात्मक सदगुणी हुन्छन् ।
(१०) सहृदयि हुन्छन्– सबैलाई मान सम्मान, श्रद्धा, प्रेम, दया करुणा, सहयोग प्रदान गर्दछन्, आफ्नो कारणले अरुलाई कुनै प्रकारको असहजता नहोस भन्नेमा सजग रहन्छन् ।
(११) आनन्दित हुन्छन्– आफूलाई मनपर्ने, आफनो सोखका गतिविधिहरु गर्दछन् र सदा खुशी, शान्त र आनन्द विभोरको अवस्थामा रहन्छन्, आफूलाई आवश्यक नपरेका विषयहरुमा कुनै चासो राख्दैनन् ।
(१२) करुणादायि हुन्छन्– अरुको समस्या, पिडालाई भित्रैदेखि महसुस गर्दछन् र समाधानको उपाय खोज्दछन्, मानवीयता तथा सर्वकल्याणकालागि अकर्ता भाव राखेर निस्काम कर्म गर्दछन् ।
(१३) एकत्वको भावना राख्दछन्– अरुलाई आफूसमान ठान्दछन्, प्रकृतिमा भएका सबै प्राणी तथा वनस्पतिहरुको अस्तित्व स्वीकार गर्दछन्, आफूमा सबैलाई र सबैमा आफूलाई देख्दछन् ।
आनन्द विभोर तथा आत्म सन्तुष्टीका सन्दर्भमा मास्लोको वहुचर्चित अभिव्यक्ति
“It’s not a state of being but a process. It’s a direction, not a destination. This process won’t always bring feelings of happiness, contentment, and bliss, and it may even sometimes cause pain and heartache. It’s is not for the ‘faint-hearted’. It requires continually stretching outside your comfort zone. It takes a lot of courage to be the best version of yourself”
चार पुरुषार्थ र वर्तमानको वास्तविकता
मोक्षको प्राप्ति मानव जीवनको सबै भन्दा महत्वपूर्ण उपलव्धि भएपनि अज्ञानताकाकारण आजका मानिसहरु पहिलो र अन्तिम पुरुषार्थ धर्म र मोक्षलाई छोडेर केवल अर्थ र काम पुरुषार्थको पछाडि लागिरहेका छन् र आफ्नो कर्मको वहीखाता विगारेर जन्म र मृत्युको चक्रमा फँसेर बारबार जन्मिन र मर्न बाध्य भएका छन् । अर्थ र कामको अति आशक्तिकाकारण मानिसहरुले धर्मको पालना नगरीकन सांसारीक भोगको प्राप्ति र होडबाजीको पछाडि अन्धो भएर दौडिएकाकारण उनीहरुकालागि मोक्ष टाढाको विषय बनेको छ र मोक्ष प्राप्त गर्नु असम्भव ठान्छन् तर मोक्ष प्राप्ति असम्भव कुरा विलकुल होइन, मोक्ष हासिल गर्न सकिन्छ । मोक्ष पुरुषार्थले सार्वाधिक धर्मको पालनाको माग गर्दछ, जो मानिस धर्मको मार्गमा छ उसकालागि मोक्ष गाह्रो विषय हुदै होइन । अर्थ, काम, सुख, सुविधा, सबै प्रकारका भोगहरुको आवश्यकता छ मानव जीवनकालागि तर त्यसको सिमा छ । मानिसको आधारभूत र सुरक्षाका आवश्यकताहरुको परिपूर्ति हुनुलाई सिमा मान्न सकिन्छ । प्रसिद्ध राम कथा वाचक, कवि, प्रो. श्रद्धेय कुमार विश्वास भन्नुहुन्छ, “मानिसले आफ्ना आवश्यकताहरुको परिपूर्ति गरिसकेपछि उसले अव अझ धन कमाउने र काम वासनाको आशक्तिमा एकोहोरो भएर नलागी धन र काम वासना तथा कामनाहरुलाई कम महत्व दिदै धर्म, अर्थ(आवश्यक मात्रामा), काम(सेवा मूलक) र मोक्षलाई प्राथमिकतामा राखेर नियमित कार्यहरु गर्नु पर्दछ ताकि जीवनमा एकसाथ सुख, खुशी, समृद्धि, सफलता, शान्ति र आनन्द आइरहोस् र जीवन पूर्णता र मोक्षको मार्गमा अग्रसर भैरहोस् । आफ्ना आवश्यकताहरुको परिपूर्ति भैसकेपछि पनि एकोहोरो भएर अर्थ कमाउन र भोग प्रवृत्तिका काममा आशक्त भैरहनु आजकालका मानिसहरुको सबै भन्दा ठूलो वेवकुफी हो ।” जीवनमा एकसाथ सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द र जीवनमा पूर्णता तथा मोक्ष हासिल गर्न मानिसले अर्थ र काम आशक्तिको पछाडि दौडिन छोडेर आफूमा सन्तोष, स्वीकार, क्षमा, कृतज्ञता, प्रेम(स्नेह, मायाँ, मैत्री, श्रद्धा, दया, करुणा, स्वयंसेवा) मानवीयता तथा सर्वकल्याण भाव जस्ता सदगुणहरु भर्नु पर्दछ र प्रकृतिका त्रिगुण– सत्व, रजस, तमस; पंचक्लेश–काम, क्रोध, इष्र्या, अस्मिता, अहंकार, भय जस्ता मानवीय विकारहरुको नकारात्मक प्रभावबाट आफूलाई दुर राख्नु पर्दछ ।
अन्त्यमा
सनातन अध्यात्म दर्शनले समग्रतामा जीवनलाई अविरल यात्राको रुपमा परिभाषित गरेको छ जो जन्म जन्मान्तर निरन्तर चलिरहन्छ । जीन्दगी छोटो हुन्छ, यो विभिन्न जन्महरु मध्य वर्तमानमा जीरहेको जन्म हो तर जीवन अनन्त हुन्छ, यो एकपछि अर्को जन्मको निरन्तरता हो । मानिसको जीवनको अन्तिम लक्ष्य पूर्णताले भरिएको जीवन र मोक्षको प्राप्ति भएकोले यो अवस्था हासिल गर्न मानिसले निरन्तर चार पुरुषार्थलाई आत्मानुशरण गरेर जीवनको अनन्त यात्रा गर्नु पर्दछ । मानिसकाे जीवन परिवर्तनशील हुन्छ र समपक्रममा उसको जीवनमा विभिन्न अवस्थाहरु आउँछन् भन्ने अर्थ तथा भावमा कवितात्मक शैलीमा यो अवस्थालाई चार पुरुषार्थसंग वर्णित गरिएको बहुप्रचलित उर्दु शेर यसप्रकार रहेको छ–
“फितुर होता है हर उम्रमे जुदा
खेलौने, मासुका, रुत्वा और खुदा ।”
यस उर्दु शेरमा मानिसको उमेर र उसका आवश्यकतालाई विभिन्न अवस्थामा परिवर्तित स्वरुपमा देखाईको छ–
खेलौने– वाल्यकाल, धर्म पुरुषार्थ
मासुका– यूवा अवस्था, अर्थ पुरुषार्थ
रुत्वा– प्रौढ अवस्था, काम पुरुषार्थ
और खुदा– वृद्ध अवस्था, मोक्ष पुरुषार्थ
सनातन अध्यात्म दर्शनले तय गरेको मानिसले जीवनमा गर्नुपर्ने चार पुरुषार्थ पनि मानिसको जीवनका परिवर्तित अवस्थाहरु हुन् ।
No comments:
Post a Comment