'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 30 August 2024

म्यान्मारस्थित नेपाली समुदायको हृदयको भावः सनातन संस्कृति नै हाम्रो पहिचान !

  डा. सिर्जना भण्डारी

                                




सामाजिक अभियन्ता टीकाराम यात्रीज्यूलाई विशेष आग्रहः

 

म र मेरो अनुभव

, पंक्तिकार(सिर्जना भण्डारी) विगत दुईवर्षदेखि म्यान्मारमा रहदै आएकोछु । निजामति सेवामा कार्यरत, परराष्ट्र मन्त्रालयका सहसचिव मेरो श्रीमान हरिश्चन्द्र घिमिरेज्यू म्यानमारकालागि बहालवाला नेपाली राजदूतको रुपमा कार्यरत हुनुहन्छ । परराष्ट्र सेवाकै क्रममा हामी सन् १९९९ देखि २००३ सम्म चार वर्ष म्यान्मारमा रहेका थियौं, यसकारण पनि यहाँको नेपाली समुदायसंग हाम्रो गहिरो लगाव रहदै आएको छ । हामी नियमित रुपमा दूतावास र नेपाली समुदायको सहकार्यमा समुदायलाई उपयोगी हुने धर्म, कला, संस्कृति, भाषा, शैक्षिक, आर्थिक, सामाजिक, व्यापारीक तथा व्यवसायिक लगायत विविध प्रकारका कार्यक्रमहरु आयोजना गर्ने गर्दछौं ।

 

म महिला सशक्तिकरण तथा लैंगिकता र विकासको विद्यार्थी, अन्वेषक तथा लेखक, आध्यत्मिक उत्प्रेरक वक्ता र योग तथा ध्यान प्रशिक्षक पनि हुँ । हामी म्यान्मारमा रहने क्रममा आफ्नो विषय र प्रकृति अनुसार हरप्रकारले वहाँहरुलाई सेवा प्रदान गर्न प्रयासरत छौं । वहाँहरुसंग बसेर आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक विषयहरुमा सतसंग गर्दा, योग तथा ध्यानका कक्षाहरु संचालन गर्दा, भाषा तथा सिकाइका कक्षाहरु संचालन गर्दा, साथै दशैं, तिहार, छठ, तीज लगायत अन्य कार्यक्रमहरु एकसाथ आयोजना गरि मनाउँदा नेपाली मौलिकपनप्रति वहाँहरुको लगाव, प्रेम, उत्साह, जोश, हरपल समुदायकोलागि केही नयाँ गर्न प्रयत्नशीलता, सिर्जनशीलता देख्दा आफूमा पनि भावउद्धेलित हुन्छ र वहाँहरुकोलागि केही गरौंगरौं जस्तो उत्साह बढेर आउँछ । त्यसैले यो लेख लेख्दैछु ताकि वहाँहरुलाई तपाईंसम्म र नेपालसम्म पुर्याउन सकौं भन्ने भावका साथ ।

 

टीकाराम यात्रीज्यूले सामाजिक संजाल फेसबुकमा तीजको शुभकामना सहित म्यान्मारका नेपाली दिदीवहिनीहरुले मनाउनु भएको सभ्य र संस्कारयुक्त तीजको गीत तथा नृत्य साझा गर्नुभएको पोष्टले मलाई यो लेख लेख्न प्रेरित गर्यो, हार्दिक धन्यवाद यात्रीज्यू । म्यान्मारस्थित नेपालीहरुले तपाईले टेलिभिजन र युटुवबाट समाजका विभिन्न गहन ज्ञान तथा अनुभव भएका व्यक्तिहरुसंगको अन्तरवार्ता मार्फत गर्नु भएको सामाजिक सेवा र तपाईलाई याद गरिरहनुहुन्छ तसर्थ म यहाँहरु दुईपक्षकोवीचको माध्यम बनेर समुदायको सेवा गर्न इच्छुक भएं, यसैपनि दूतावास दुईदेश तथा दुई समुदाय वीचको माध्यम नै हो र देश र समुदायलाई यसैगरि सेवा प्रदान गर्नु प्रमुख दायित्व हो । वहाँहरु धर्म, कला, संस्कृति, भाषाको जगेर्ना तथा प्रवर्धनमा अत्यन्तै गंभीर तथा जागरुक हुनुहुन्छ, यसैकारण विगत एकसय पचास वर्षदेखि नेपाली मौलिकपनले म्यान्मारमा निरन्तरता पाउदै आइरहेकोछ । यस सन्दर्भमा वहाँहरुको भाव बुझ्दा, वहाँहरु चाहानुहुन्छ नेपालबाट पनि केही सदभाव पाए हुन्थ्यो, सामाजिक अभियन्ता टीकाराम यात्री, विद्या चापागाईं, नेपाली भाषा साहित्यका प्रवर्धक भूषिता वशिष्ठ, सुदेश सत्याल लगायत नेपाली समुदायको विकास तथा प्रवर्धनकालागि उपयुक्त अन्य व्यक्तित्वहरु यहाँ आएर हामीलाई थप प्रेरणा प्रदान गर्नुका साथै हाम्रा खवरहरु नेपालस्थित नेपालीसम्म पुर्याइदिनु भए हुन्थ्यो, हामीलाई हाम्रो मूलभूमिसंग जोडिने अवसर प्रदान गरिदिनु भएहुन्थ्यो, नेपालबाट हुनसक्ने सहयोग, समर्थन तथा उत्प्रेरणा पाउन पाए हुन्थ्यो भन्ने अपेक्षा राख्नुहुन्छ ।

 

म्यानमार स्तिथ नेपाली समुदायको संक्षिप्त परिचय

१)आजीविका तथा जीवनयापन

म्यान्मार स्थित नेपालीहरुको सरकारी सेवामा निकै कम सहभागिता तथा उपस्थिति रहेको छ । केही दशकअघिसम्म धेरै नेपालीहरुको व्यवसाय खेतीकिसानी, पशुपालन तथा दुग्ध उद्योगमा सीमित रहेकोमा हालका दिनमा वहुमूल्य पत्थरको व्यापार, वैदेशिक व्यापार, रियल स्टेट लगायत अन्य व्यवसायमा बढि केन्द्रित हुनुहुन्छ । नेपालीहरुको प्रमुख आजीविका तथा जीवनयापनको प्रकृति समय र परिस्थितिसंगै परिवर्तन भएको देखिन्छ । रोजगारीका थप अवसरहरुको खोजीमा करिव ५० हजार भन्दा बढि नेपालीहरु विदेशीनु भएको र अधिकांश थाइल्यान्डमा प्रमुख रुपमा गार्मेन्ट व्यवसाय लगायत अन्य काममा समलग्न हुनुभएको तथ्यांकहरुले देखाएका छन् । समुदायमा नेपाली मौलिक पहिरनको उपलब्धता सहज होस भन्ने उदेश्यले केही यूवाहरुले नेपाल गएर महिलाका पहिरनहरु सारी, चोलो, कुर्था र पुरुषका पहिरनहरु दौरा-सुरवाल, कोट, ज्वारीकोट, कमिजको तालिम लिएर आएर नेपाली सिलाइघर समेत संचालन गर्नु भएको छ ।

 

२)धर्म तथा संस्कृति

नेपाली भाषा धर्म तथा संस्कृतिको जगेर्ना तथा प्रवर्धन र निरन्तरतामा म्यान्मारस्थित नेपाली समुदायको विशेष अभिरुचि देखिन्छ । वहाँहरु बडो श्रद्धा र प्रेमकासाथ सनातन धर्म तथा संस्कृतिलाई नै आफ्नो वास्तविक पहिचान मान्नुहुन्छ । करिव साढे पाँच करोड जनसंख्या भएको म्यान्मार मुलुकमा नेपाली जातिको संख्या तुलनात्मक रूपमा निकै सानो भएकोले आफ्नो जाति संगठित नभै आफ्ना  सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायतका हक अधिकारहरु संरक्षण गर्न कठिन हुने, नेपालीको मौलिक पहिचान, भाषा, भेषभुषा, धर्म, संस्कृति, रहनसहनको संरक्षण र प्रवर्द्धन गर्न नसकिने कुरालाई मध्यनजर गर्दै सन् १९५० को दशकदेखि नै विभिन्न किसिमले नेपाली जाति संगठित हुँदै आउनु भएको र हाल  सन् १९८२ मा विधिरुपमा स्थापना भएको ‘अखिल म्यानमार देशीय गोरखा हिन्दु धार्मिक सङ्घ’ अन्तरगत संगठित भएर रहनु भएको छ । यस सङ् अन्तर्गत विभिन्न वटा विभाग, ३५ वटा शाखा तथा २०२ प्रशाखा, वटा संस्कृत पाठशाला वटा धर्मशाला रहेका छन् ।  ग्रीष्म याममा म्यान्मारका सरकारी स्कूलहरु बन्द भएको समयमा  बालबालिकाहरुलाई आफ्नो भाषा सिकाउने अभिप्रायले नेपाली भाषा पढाउने करिब २५० नेपाली ग्रीष्मकालीन स्कुलहरु संचालन हुदै आएका छन् ।  सनातन धर्म, संस्कृति तथा नेपाली मौलिकपनको संरक्षणका लागि विभिन्न स्थानमा २७६ वटा हिन्दु मन्दिर र ३४ वटा बौद्ध विहार नेपालीहरुले आफ्नै पहलमा निर्माण गरि सञ्चालन गर्दै आइएका छन् ।

 

३)कला तथा साहित्य

नेपाली कला तथा साहित्यको जगेर्ना गर्ने उद्देश्यले उल्लेख्य संख्यामा गुणस्तरीय कथा, कविता, निवन्ध, यात्रा संस्मरण, उपन्यास लेखन तथा साहित्य सिर्जना गरिएका छन् । नेपाली साहित्यका उत्कृष्ट सिर्जनाहरुलाई नेपालका प्रतिष्ठित शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुले नेपाली साहित्य आकाशमा उच्च योगदान पुर्याएको मूल्यांकन गरि पुरस्कृत गर्दै आएकाछन् । गीतसंगीत, गायन तथा नृत्य तालिम, एलबम प्रकासन र समयसमयमा कला तथा साहित्यका शिप सिकाइका कार्यक्रमहरु आयोजना गर्ने गरिएका छन् । कतिपय त पछिल्लो समय भूमण्डलीकरण तथा सांस्कृतिक अतिक्रमणका कारण नेपालमै हराउदै गएका कला तथा संस्कृतिको जगेर्ना यहाँ भएको पायौं हामीले । संक्षिप्तमा मेरो आफ्नै अनुभव सुनाउँछु, परराष्ट्र सेवामा रहेकोले धेरैजसो समय नेपाल वाहिर रहदै आएको कारण र पेशाको प्रकृति पनि नारीवाद उन्मुख भएकोले म नेपाली महिलाको मौलिक पहिचान झल्किने पहिरनमा कमै देखिने गर्थें तर यहाँ आएपछि केही कार्यक्रमहरुमा वहाँहरु महिला तथा पुरुष दुवैमा नेपाली मौलिक पहिचान झल्किने पहिरन, गरगहना, आभूषण, गीतसंगीत, नृत्य, शुद्ध नेपाली भाषा तथा अन्य गतिविधिबाट म अत्यन्तै प्रभावित भएं र यहाँ आएर पो बल्ल मैले सही अर्थमा सांस्कृतिक रुपमा नेपाली महिला बन्ने अवसर पाएको छु ।

 

४)समुदाय र नेपालवीच सहकार्य

समुदायका विशिष्ठ व्यक्तित्वहरुले आफ्नो समुदायमा थप सेवा तथा सुविधा पुर्याउन यहाँ सहज तथा सम्भव नभएका विषय तथा कामहरु नेपालका सम्वन्धित निकायहरुसंग राजदूतावास मार्फत समन्वय तथा सहकार्य गरेर निरन्तरता दिने  प्रयास गर्दै आइरहनु भएको छ । नेपालबाट भाषा विद् एवं साहित्यकारहरु, नृत्य तथा गायन एवं संगीतकारहरु, सांस्कृतिक एवं पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरु तथा व्यापारी, व्यवसायिहरु म्यान्मारमा विगतका विभिन्न वर्षहरुमा भ्रमण गरी आ-आफ्नो क्षेत्रका गहन प्रस्तुती दिएबाट म्यान्मारको नेपाली समुदाय तथा समाजका बाल तथा यूवा प्रतिभाहरुले आफ्नो क्षमता प्रस्फुटन गर्ने हौसला एवं उत्प्रेरणा पाउनु भएको छ । 

 

(५) दूतावासले समुदायसंगको सहकार्यतामा गर्दै आएका कार्यक्रमहरु

नेपाली समुदायको रुची अनुसार वहाँहरुको सनातन धर्म तथा संस्कृति, कला तथा सहित्य, भाषाप्रतिको लगावलाई मध्यनजर गर्दै यी क्षेत्रहरुको विकास तथा प्रवर्धनमा सहयोग पुगोस भन्ने भावले नेपाली राजदूतावासले नेपालका ठूला चाडपर्व तथा उत्सवहरु- दशैं, तिहार तथा छठ, तीज, बुद्ध जयन्ती, भानु जयन्ती, सतसंग तथा प्रवचन, ध्यान तथा योग साधना आदि कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । गतवर्ष दूतावासले आयोजना गरेको तीज कार्यक्रममा ३०० भन्दा बढि महिला दिदीबहिनीहरु नेपाली सांस्कृतिक पहिरनमा उत्साहकासाथ सहभागी हुनुभई खुव रमाइलो गर्नुभएको थियो । यसपालीको सेप्टेम्वर एक तारिक (भोलि) दुतावासले आयोजना गर्न गैरहेको तीज कार्यक्रममा यो संख्या गतवर्षको तुलनामा बढ्न सक्ने अनुमान गरिएको छ । गतसाल तीज पर्वको सांस्कृतिक आवश्यकता र महत्वको विषयमा वक्तृत्व प्रतियोगिता आयोजना गरिएको थियो । यो वर्ष नेपाली मौलिकपन अभिबृद्धि हुने गरी प्रतियोगितात्मक कार्यक्रमहरु सहित तयारी चलिरहेकोछ । नेपाली भाषा सिकाईमा सहजताका लागि दूतावासले नेपाली ग्रीष्मकालीन विद्यालयहरुकालागि आवश्यक पुस्तकहरु उपलब्धतामा सहयोग तथा सहकार्य गर्दै आइरहेको छ । साथै यहाँ नृत्य, कला, गायनकालागि आवश्यक पर्ने परम्परागत गरगहना, पहिरन, आभूषण तथा अन्य आवश्यक सामग्रीहरु उपलब्ध गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पनि गर्दै आइरहेको छ ।

 

अन्त्यमा

आगामी दिनमा दुईदेशवीचको नेपाली समुदायमा जनस्तरको सम्वन्धलाई अझ घनिभूत बनाउन दुई देशवीच सिधा हवाई सेवाको संचालन गरी चरणवद्ध रुपमा सरकारी निकायहरुको सहयोग र समन्वयमा भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्धन गर्न टेवा पुर्याउने थप कार्यक्रमहरु संचालन गर्ने पहल समेत भैरहेका छन् । म्यान्मारको करिव दुईलाख संख्याको नेपाली समाज र यसबाट प्रभावित अन्य स्थानिय समुदाय नेपाली चलचित्रको राम्रो बजार बन्नसक्ने सम्भावना समेत रहेको छ । त्यसैगरि नेपालबाट सनातन अध्यात्मको साधना गराउने गुरुकुलहरुको भ्रमण आयोजना गरेर ध्यान–योगका कार्यक्रमहरु पनि आयोजना गर्न सकिन्छ । समुदायलाई नियमित रुपमा आवश्यक पर्ने नेपालमा बनेका नेपाली परम्परागत सामग्रीहरुको बजार खोल्न सक्ने सम्भावना पनि प्रसस्त रहेको छ र कतिपय व्यक्तिहरु यस्तो व्यवसाय शुरु गर्न अत्यन्तै इच्छुक  हुनुहुन्छ र यसकालागि दूतावास मार्फत प्रयास भैरहेका छन् ।

 

नेपालसंग भौगोलिक सीमा नजोडिएको मुलूक म्यान्मारमा करिब १५० बर्ष अघिदेखि आप्रवासन गर्दै आउनु भएका नेपालीहरुले जोगाउनु भएको नेपाली मौलिकपन विश्वमै अद्वितीय उदाहरणको रुपमा लिन सकिन्छ । म्यान्मारको बौद्ध धर्मावलम्वीहरुसंगको सम्बन्ध र सामिप्यताबाट प्रभावित भै विकास भएको म्यान्मारको नेपाली समाजको सरल एवं सादगीपन र शिपयुक्त उद्यमशीलताबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने भएकाले जनस्तरीय भ्रमण आदान प्रदान गरी अनुभव आदान प्रदान गर्न उपयुक्त हुने देखिन्छ ।     

 

राजदूतावास र नेपाली समुदायको सहकार्यतामा भएका कार्यक्रमका केही तस्वीरहरु


--------------------------------------------------------------------------------------



--------------------------------------------------------------------------------------






--------------------------------------------------------------------------------------







--------------------------------------------------------------------------------------




--------------------------------------------------------------------------------------





--------------------------------------------------------------------------------------







--------------------------------------------------------------------------------------


--------------------------------------------------------------------------------------



--------------------------------------------------------------------------------------










--------------------------------------------------------------------------------------









No comments:

Post a Comment