डा. सिर्जना भण्डारी
विषय नारीवादसंग सम्वन्धित भएकोले शुरुमै आफ्नो परिचय दिन उचित ठानें–
लेखनको विषय नारीवादसंग सम्वन्धित भएकोले शुरुमै आफ्नो परिचय दिन उचित ठानें– म, पंक्तिकार(सिर्जना भण्डारी) लैंगिकता र विकासको विद्यार्थी हुँ, आफूलाई उदारवाद तथा आध्यात्मिक नारीवादीको रुपमा चिनाउन रुचाउँछु । मैले सन् २०१७ मा तराइका मैथली समुदायका महिलाहरुको पारिवारीक, सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक क्षेत्रमा उनीहरुको सशक्तीकरणको अवस्था विषयमा स्थलगत सोधमूलक विद्यावारिधी(PhD), सन् २०११ मा लैंगिकता र विकासमा स्नाकोत्तर, र सन् २००५ मा ग्रामीण विकासमा स्नाकोत्तरसम्मको औपचारिक अध्ययन पूर्ण गरेको छु । भर्खरै घटित हृदय विदारक घरेलु हिंसामा मारीएकी स्वर्गीय ममता काफ्लेको भावविह्वल सम्झनाले बेचैन गरायो त्यसैले अरु महिलाहरुमा घरेलु हिंसाबारे जानकारी संचार गर्न बिना कुनै योजना ल्यापटप खोलेर टाइप गर्न थालें र यो आलेख तयार भयो !
विषय प्रवेश
अध्यात्मका महागुरु महर्षि वेदव्यास भन्नुहुन्छ, “परोपकारः पुण्याय पापाय परपीडनम् ।” अर्थात अरुको भलाई हुने परोपकारको काम गर्नु पुण्य हो र अरुलाई कुनैपनि प्रकारको कष्ट दिने काम गर्नु पाप हो ।
अध्यात्म विज्ञान हरप्रकारले मानवको सहज, सरल र सफल जीवनकालागि अति आवश्यक पर्ने सबै प्रकारका विषयहरुको ज्ञान प्रदान गर्ने मूलज्ञान तथा महाविज्ञान हो जसबाट सबै आधूनिक विज्ञान, शास्त्र तथा विद्याहरु निसृत भएका छन् किनकी अध्यात्म मानिसलाई पूर्णताले भरिएको जीवन जीउन सिकाउने उत्कृष्ट कलाको विज्ञान पनि हो तसर्थ सही समयमा सही किसिमले अध्यात्म ज्ञान हासिल गर्नु सबैकालागि अपरिहार्य हुन्छ । भौतिक विज्ञानको विकास र उत्तर–आधूनिकताको बढ्दो परिवेशले कलियुगको उच्चतालाई पनि आफू संगसंगै अगाडि बढाइरहेको छ । अध्यात्म ज्ञानको अभावका कारण पाप र अपराधका स्वरुपहरु परिवर्तन हुदै र झांगिदै गैरहेका छन्, मानिसहरुको हृदयमा धर्म र धार्मिकता (निष्ठा, नैतिकता, कर्तव्य, उत्तरदायित्व, जिम्मेवारी), मानवीयता तथा सर्वकल्याण भाव क्रमशः हराउदै र मर्दै गैरहेका छन् । अहिलेको संसारमा आफन्त नै आफन्तको रगतको प्यासी भएका छन्, हिंसाका घटना तथा दुर्घटनाहरु बढ्दै गैरहेका छन् ।
घरेलु हिंसा के हो ?
आफू तथा अरुलाई कुनैपनि प्रकारले दुःख दिनु तथा चोट पुर्याउनु हिंसा हो । एकै घर तथा परिवारको एक सदस्यले(धर्म सन्तान र कामदार सहित) अर्को सदस्यलाई कुनैपनि प्रकारले दुःख दिनु तथा चोट पुर्याउनु घरेलु हिंसा हो । मुख्यतया शारीरिक, मानसिक, लैंगिक र आर्थिक रुपमा दुःख दिनु तथा चोट पुर्याउनु घरेलु हिंसा अन्तर्गत पर्दछ । लैंगिक दृष्टिकोणले हिंसालाई तटस्थ मानिएको छ अर्थात हिंसा गर्ने पिडक व्यक्ति महिला तथा पुरुष दुवै हुन सक्छन् र हिंसामा पर्ने पिडित व्यक्ति महिला तथा पुरुष दुवै हुन सक्छन् । विश्वभरिनै समाजको संरचना र संस्कृतिको प्रभावका कारण पुरुषलाई प्राथमिकता दिने परिपाटी भएकोले समाज पुरुषप्रधान भएको छ, यसकारण अधिकांश अवस्थाहरुमा पुरुष पिडक र महिला पिडित रहेको पाइएकोले घरेलु हिंसालाई लैंगिक हिंसा, महिला विरुद्धको हिंसा तथा महिला उत्पीडनको रुपमा पर्यायवाची अर्थमा प्रयोग गर्ने गरिन्छ जसरी नारीवादमा पुरुष र महिला दुवैको अधिकार तथा उत्थानका विषयहरु समावेस गरिएका भएपनि पुरुषको तुलनामा महिलाहरु वढि अधिकार विहिनता तथा असुविधामा भएकाकारण अधिकार र उत्थानको परिवर्तनकारी विश्वव्यापि महाअभियानको नामनै ‘नारीवाद’ सम्वोधन गरियो । नारीवादको अत्यन्तै महत्वपूर्ण र प्रमुख विषय लैंगिकता र विकासको चरणवद्ध विकास हुदै आएको छ । सन् १९७०को दशकको पूवार्धमा विकासमा महिला (Women in Development), सन् १९७०को दशकको मध्यमा विकास र महिला (Women and Development) र सन् १९८०को दशकको पूवार्धमा लैंगिकता र विकास (Gender and Development) अवधारणाको विकास भएको हो । पहिलो दुइ अवधाराणाहरु ‘विकासमा महिला’ र ‘विकास र महिला’ अलिबढि महिला केन्द्रित थिए तर पछि लैंगिकताका सबै पक्षहरुको प्रभाव महिला र पुरुषमा उत्तिकै पर्दछ, पिडित तथा पिडक महिला तथा पुरुष दुवै हुन सक्छन् भन्ने बुझाइ जाग्रीत हुदै गएपछि ‘लैंगिकता र विकास’ अवधारणालाई अघि बढाइएको हो जसले महिला र पुरुषका विषयहरुलाई समान रुपले हेर्दछ । लैंगिकता र विकासको सिद्धान्त अनुसार लिंग(Sex) महिला र पुरुषको शारीरिक पहिचान हो र लैंगिकता(Gender) महिला र पुरुषको सामाजिक, मानसिक तथा भावनात्मक पहिचान हो ।
महिला विरुद्धको हिंसा (Violence Against Women- VAW)को परिभाषा
नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय कानून ‘महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन सन्धि(CEDAW- Convention on the Elimination of All Forms of Discrimination Against Women, 1979)’ का अनुसार, महिला विरुद्धको हिंसा भन्नाले महिला भएकै कारण गरिने हिंसा जसले महिलालाई असमान असर गर्दछ । यस्ता कार्य अन्तर्गत महिलालाई शारीरिक, मानसिक तथा भावनात्मक र यौन सम्वन्धि पिडा पुर्याउने कार्य गर्दछ भने यो महिला विरुद्धको लैगिंक हिंसा हो ।
नेपालले हस्ताक्षर गरेको अर्को सम्युक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय कानून ‘महिला विरुद्धको हिंसा उन्मुलन सन्धि(DEVAW- Declaration on the Elimination of Violence Against Women, 1993)’ का अनुसार, महिला विरुद्धको हिंसा भन्नाले महिलाको सार्वजनिक तथा नीजि जीवनमा लिंग तथा लैंगिकताको आधारमा हुने हिंसा जसले महिलालाई शारीरिक, मानसिक तथा भावनात्मक र यौनजन्य पिडा पुर्याउँछ ।
हिंसाका प्रकार
हिंसाका प्रकार– घरेलु हिंसा; सामाजिक तथा सांस्कृतिक हिंसा; वालविवाह तथा अनमेल विवाह; शरीर मास्ने तथा बेच्ने; छोरी भ्रुणको हत्या विश्वव्यापि हिंसाका प्रकारहरु हुन् । समयको बद्लाव र आधूनिक विकासको गतिसंगै हिंसाका प्रकार तथा स्वरुपमा पनि बदलाव तथा फैलावट आउदै गएको पाइन्छ । अन्य हिंसाको तुलनामा खासगरि घरेलु हिंसाका नयाँ–नयाँ स्वरुपहरु उजागर हुदै आइरहेको देखिन्छ । घरेलु हिंसाका अनेक प्रकार तथा स्वरुपहरु छन् ती सबैलाई समेट्न सक्नेगरि मोटामोटी रुपमा निम्न चार प्रकारका घरेलु हिंसाहरु बढि गणनामा आएका देखिन्छन्– (१)शारीरिक हिंसा, (२)मानसिक तथा भावनात्मक हिंसा, (३)लैंगिक हिंसा, र (४)आर्थिक हिंसा ।
शारीरिक घरेलु हिंसाका प्रकार– कुटपटि गरेर शारीरिक चोटपटक पुर्याउनु; गैरकानूनी रुपमा थुनेर राख्नु; स्वतन्त्रताको हनन् गर्नु; आगो तथा तेजावले पोलेर तथा डामेर चोट पुर्याउनु; रुची नभएको काम तथा गतिविधि गर्न बाध्य गराउनु तथा बधुवा बनाउनु आदि शारीरिक घरेलु हिंसा अन्तर्गत पर्दछन् ।
मानसिक तथा भावनात्मक घरेलु हिंसाका प्रकार– शारीरिक यातना दिन्छु, हत्या गर्दिन्छु भनेर धाकधम्की दिएर तर्साउनु; गाली, गलौज, अपमान गर्नु; झुठो आरोप लगाउनु; घरबाट निकाला गर्नुृ; वैचारीक, धार्मिक, सांस्कृतिक, प्रथा–परम्पराका आधारमा भेदभाव गर्नु; रुप, बनाबट तथा कुनै रोग लागेको आधारमा भेदभाव तथा अपमान गर्नु; मानसिक सन्तुलन गुम्ने गरि भावनात्मक चोट पुर्याउनु; आत्महत्या गर्न दुरुत्साहन गर्नु तथा आत्महत्या गर्ने हदसम्मको परिस्थिति खडा गर्नु आदि मानसिक तथा भावनात्मक घरेलु हिंसा अन्तर्गत पर्दछन् ।
लैंगिक घरेलु हिंसाका प्रकार– यौनजन्य प्रकृतिका दुव्र्यवहारहरु जस्तोकि अस्लिल प्रकारका शव्दहरुको प्रयोग गर्नु, अस्लिल हेराइले हेर्नु, अस्लिल प्रकारले बोल्नु, अस्लिल प्रकारले सपर्श गर्नु; महिनाबारी बार्ने तथा छाउपडी परम्परा; जवरजस्ती विवाह गराउनु; जवजस्ती प्रेम सम्वन्धमा बस्न बाध्य पार्नु; असुरक्षित यौन सम्पर्क राख्न बाध्य पार्नु, यौन हिंसा, वैवाहिक बलत्कार, जघन्य बलत्कार गर्नु; प्रजनन शक्ति क्षीण गराउने गतिविधि गर्नु; छोरी सन्तानको जन्ममा असन्तुष्टी देखाउनु; छोरी भ्रुण, शीशु, बालिका हत्या गर्नु; विवाहोत्तर सम्वन्ध राख्नु आदि लैंगिक घरेलु हिंसा अन्तर्गत पर्दछन् ।
आर्थिक घरेलु हिंसाका प्रकार– सगोल तथा नीजि सम्पत्तिको भोगचलन गर्नबाट बन्चित गर्नु; रोजगारी र आर्थिक साधनको श्रोत र पहुचबाट बन्चित गर्नु; महिलालाई माइतीसंग दाइजो माग्न दवाव दिनु; दाइजो कम भएको तथा नल्याएको भनेर हेला, घृणा, तिरस्कार, अपमान, गाली, बेइज्यती, कुटपिट गर्नु आदि आर्थिक घरेलु हिंसा अन्तर्गत पर्दछन् ।
घरेलु हिंसाका कारण
घरेलु हिंसाका प्रकार तथा स्वरुप जस्तै हिंसाका कारणहरुको दायरा पनि बढ्दै गैरहेको देखिन्छ । साना तथा ठूला अनेक धेरै कारणहरु छन् हिंसाका जसले महिलाहरुलाई विभिन्न प्रकारले कमजोर गराउँछन् । ती मध्य प्रमुख रुपमा निम्न पाँच प्रकारका कारण व्यवहारमा देखिएका छन्– (१)पुरुषप्रधान सत्ता, (२)सामाजिक परीपाटी, (३)आर्थिक अवस्था, (४) शैक्षिक अवस्था र (५) राजनीतिक उदेश्य ।
पुरुषप्रधान सत्ता– सामान्यतया व्यक्ति, परिवार, समाज तथा राज्यकै वास्तविकता महिला र पुरुषविच समानता तथा समता कायम गर्ने किसिमको नभई हरप्रकारले पुरुषलाई सहुलियत तथा प्राथमिकता दिने प्रकारको भएको कारण पुरुषले आफ्नो शक्ति र अहंकारको दुरुपयोग गर्दा घरेलु हिंसा हुने गर्दछ ।
सामाजिक परिपाटी– विशेषगरि पुर्वीय समाजको जीवनशैलीमा विगत लामो समयदेखि घरेलु हिंसाको मूलकारण सामाजिक मूल्यमान्यता नै रहदै आएको छ । सामाजिक, साम्प्रदायिक, सांस्कृतिक, सांस्कारीक, परम्परा, रीतिथीति, चाडपर्व जस्ता अधिकांश चालचलनहरुमा पुरुषकालागि उच्च र महिलाकालागि निच मान्यता तथा स्थिति राखेर तयार गरिएका मूल्यमान्यताहरुका कारण घरेलु हिंसा हुने गर्दछ ।
आर्थिक अवस्था– महिलाहरुको न्यून आर्थिक अवस्था, न्यून आर्थिक स्वतन्त्रता, विपन्नता तथा अति गरिवी र रोजगारीका अवसरहरुको अभाव तथा परिवारले आर्थिक आम्दानी हुने किसिमका रोजगारी तथा पेशा, व्यवसाय अगाल्न प्रतिबन्ध लगाउने तथा हतोत्साहित गर्ने अवस्था र महिलाकाे नीजि सम्पत्ति नथा कमाइ समेत नियन्त्रण गर्ने गरिएको कारण घरेलु हिंसा हुने गर्दछ ।
शैक्षिक अवस्था– महिलाहरुमा न्यून शैक्षिक योग्यता, ब्यवसायिक सिप तथा तालिमको कमी, अज्ञानता बढि भएको कारण पर्याप्त पहुचको अभावमा घरेलु हिंसा हुने गर्दछ ।
राजनीतिक उदेश्य– महिलाको हितमा हुनेगरि कानून तथा नीतिनियमहरुको निर्माण गर्ने राज्यका सार्वजनिक तह र तप्काहरुमा महिलाहरुको न्यून उपस्थिति भएको र पुरुषले महिलाहरुको आन्तरीक अवस्थाको पर्याप्त ज्ञान नलिइ यस्ता दस्तवेजहरु हचुवामा तयार गरेका कारण घरेलु हिंसा हुने गर्दछ ।
घरेलु हिंसाको कानूनी व्यवस्था
नेपालको घरेलु हिंसा कसुर र सजाय ऐन, २०६६ ले सबै प्रकारका घरेलु हिंसाहरुलाई सम्वोधन गरेको छ । तर यस्ता कानूनी व्यवस्थाहरुको व्यवहारीक कार्यान्वयनमा विविध प्रकारका कठिनाएहरु आउने गरेको कारणले बर्षेनी महिला विरुद्धका हिंसाका उजुरीहरुको संख्या घट्नुको साटो बढ्दै गैरहेको तथ्यांकमा देखिएका छन् । नमुनाका रुपमा भन्नुपर्दा, बि.सं. २०७४ मा १२,२२५ वटा घरेलु हिंसाका उजुरीहरु परेका थिए भने २०७५ मा घरेलु हिंसाका उजुरीहरुको संख्या बढेर १४,७७६ पुगेको थियो ।
हिंसा गर्नु र हिंसा सहनु दुवै अवस्था अपराध हुन् तसर्थ आफूमाथि हिंसा भएको थियो, भइरहेको छ र हुनेवाला छ भने राज्यले तोकेका निम्न स्थानहरुमा उजुरी दिएर न्यायको उपचार खोज्न सकिन्छ– राष्ट्रिय महिला आयोग, जिल्ला अदालत, नजिकैको पुलिस चौकी, स्थानीय निकाय, महिला सेल, महिलाहरुको पीरमर्का बुझ्ने संस्थाहरु, पुलिसको आकस्मिक १०० नम्बर, विद्युतीय संचार माध्यमबाट पनि उजुरी दर्ता गराउन सकिन्छ । कसैमाथि घरेलु हिंसा भएको, भैरहेको तथा हुनेवाला छ भन्ने थाहा पाउने जो कोहीले पनि उजुरी गरिदिएर हिंसा पिडितलाई सहयोग गर्न र उपचार दिलाउन सकिन्छ । हालसम्म लिखित तथा मौखिक अभिव्यक्तिमा दिइएको तथा लिइएको घरेलु हिंसा उजुरीलाई प्रमाण मान्ने गरिएको छ । अरु प्रकारका हिंसाहरुको उजुरी दिन र उजुरीमा आवश्यक प्रमाण पुर्याउन सहज छ तर मानसिक तथा भावनात्मक हिंसाको प्रमाण पुर्याउने कुनै दृश्य प्रमाण तथा मापदण्ड नभएकाकारण सही किसिमले कानूनी उपचार लिन तथा दिन अलि असहज अवस्था आउने गरेको देखिन्छ । यहीकारणले नेपालमा अति मानसिक तथा भावनात्मक हिंसाकाकारण तनाव, चिन्ता, बिछिप्तता, अवसादबाट ग्रसित भएर पागल हुने तथा आत्महत्या गर्ने अवस्थासम्म पुगेका महिलाहरुलाई समेत राज्यले आवश्यक सुरक्षा तथा संरक्षण प्रदान गर्न सकेको छैन जसले घरेलु हिंसा बढ्नमा सहयोग पुर्याइरहेको छ ।
घरेलु हिंसा न्युनीकरण तथा उपचारका उपाय
मानसिक तथा भावनात्मक हिंसाको मापदण्डको व्यवस्था- मानसिक तथा भावनात्मक हिंसाको दायरा अत्यन्तै फराकिलो र गहिरो हुने भएकोले यसको गहिराई तथा फैलाईको सिमाना जान्न सकिदैन तसर्थ उजुर गर्न र उपचार गर्न पनि कठिनाइ आउने गर्दछ । सबै प्रकारका हिंसा अमानवीय र आपराधिक हुन तर त्यसमध्य पनि मानसिक तथा भावनात्मक हिंसा सबैभन्दा खतरनाक प्रकृतिका हिंसा हुन् जसको परिणाम भयावह देखिने गरेको छ । यो अकाट्य सत्य हो कि सबै प्रकारका हिंसाहरुको अन्तिम परिणाम मानसिक तथा भावनात्मक हिंसा तथा परिणाम नै हो जसले मानिसलाई अनन्त योनीपछि इश्वरको कृपाले प्राप्त भएको अत्यन्त मूल्यवान मानव जीवन नै सिध्याउनेसम्मको विकराल अवस्थासम्म पुर्याएका थुप्रै उदाहरणहरु हामी सबैका सामु असरल्लै छन् । अरु प्रकारका हिंसाका पिडाका प्रभावहरु देख्न तथा नाप्न सकिने र प्रमाण जुटाउन सकिने भएकोले तीनको न्युनीकरण, रोकथाम, समाधान तथा उपचारमा केही उल्लेखनिय काम र प्रगतिहरु भएका छन् तर मानसिक तथा भावनात्मक हिंसाको पिडाका प्रभावहरु अदृश्य भएका र पर्याप्त प्रमाण पुुर्याउन नसकिएका कारण र अरु समक्ष जस्ताको तस्तै अभिव्यक्त गर्न नसक्ने प्रकृतिका भएका कारण यसको न्युनिकरण, रोकथाम, समाधान तथा उपचारमा उल्लेखनिय तथा अपेक्षित उपलव्धि हासिल गर्न सकिएको छैन । मानसिक तथा भावनात्मक हिंसा अदृश्य र भावातीत पकृतिको भएको कारणले नै राज्यलाई कानूनी रूपमा यसको मापदण्ड तोक्न मुस्किल भएको हो, तसर्थ मानसिक तथा भावनात्मक हिंसा यही हो तथा यस्तै नै हुन्छ भनेर सबैले स्पष्ट बुझ्नेगरि प्रामाणिक मापदण्ड तोकेर विश्वभरिकै कुनै पनि ऐन तथा कानूनहरुले छुट्टै व्यवस्था गर्न सकेकाे अवस्था छैन अहिलेसम्म यद्धपि सबै ऐन, कानून तथा नीतिनियमहरुले मानसिक तथा भावनात्मक हिंसाका गतिविधिहरुलाई सक्दो समेटेका छन् तथा समावेस गरेका छन् । मानसिक तथा भावनात्मक हिंसाका पिडाहरु अदृश्य तथा भावातीत हुनुका साथसाथ यी तुलनात्मक पनि हुने गर्दछन् र व्यक्ति पिच्छे यसको प्रभाव फरक किसिमले पर्दछ र परिणाम पनि फरक देखिन्छ । मानसिक तथा भावनात्मक हिंसाको परिणाम एकै प्रकारको घटना तथा विषयमा फरक मानिसलाई फरक किसिमले देखिन्छ किनकी यसमा धेरै वटा पक्षहरुको महत्वपूर्ण प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिकाहरु रहेने गर्दछन् जस्तोकि वाहिय परिस्थितिहरुमा समाज, समुदाय, वर्ग, जात, उमेर, पारिवारीक अवस्था, सामाजिक, शैक्षिक, आर्थिक अवस्था, व्यक्तिको प्रकृति आदिको मुख्य भूमिका रहन्छ भने आन्तरीक परिस्थितिहरुमा व्यक्तिको आन्तरीक सवलता, सक्षमता, सहनशीलता, साहस, वुद्धि, विवेक, आत्मवल, आत्मविश्वास, सकारात्मक विचार तथा भाव आदिको मुख्य भूमिका रहन्छ । यस्तो अवस्थामा सम्वन्धित व्यक्तिको आन्तरीक ज्ञान, सवलता, बुझाइको क्षमता, प्रतिक्रिया गर्ने तरिका आदिले प्रमुख भूमिका खेल्ने हुनाले एकै प्रकारको विषय तथा घटनाले केही व्यक्तिलाई खासै प्रभाव परेको देखिदैन, उ त्यो अवस्था तथा चुनौतीलाई अवसर बनाएर जीवनमा प्रगतिको खुड्किलो उक्लिन्छ भने केही व्यक्ति तनाव, चिन्ता, अवसाद, विछिप्तता, पागल हुदै आत्महत्याको सोचसम्म झेल्न पुग्दछन, कसैले त आत्महत्या गरेर आफ्नो अमूल्य जीवननै समाप्त गर्दछन् । तसर्थ मानसिक तथा भावनात्मक हिंसाको सही व्यवस्थापन तथा उपचार गर्नकालागि अझ गहन तथा मनोवैज्ञानिक खोज तथा अध्ययन गरेर एकिकृत कानूनी मापदण्डको प्रावधान ल्याउनु आवश्यक देखिन्छ । यसका साथै मानिसको शरीरिक, मानसिक, भावनात्मक, आत्मिक सबै पक्षलाई सुदृढ गर्न अत्यन्तै उपयोगी अध्यात्म विज्ञानका योग, प्राणायाम र ध्यान साधना विधिहरु सबैको समान पहुच हुनेगरी सर्वसुलभ बनाइनु अपरिहर्य छ ।
सबैमा घरेलु हिंसा विरुद्ध सचेतनाको आग्रह- विश्वका प्राय सबै समाजमा अनेक प्रकारका लैंगिक विभेदहरु छन्, ती सबै कुनैनकुनै प्रकारका हिंसा हुन्, जुन अवस्थाबाट आफू गुज्रीरहेको छ ती विषयहरुको पर्याप्त ज्ञानको अभावमा कतिपय अवस्थामा त सम्वधित व्यक्तिलाई मानसिक तथा भावनात्मक हिंसा भैरहेको छ भन्नेसम्म पनि थाहा हुदैन । यस्ता हिंसाहरुलाई महिला स्वयं र पुरुष तथा उसका परिवारले सामान्य अवस्था हो भनेर बुझ्दछन् । अज्ञानताकै कारण नेपालका सरकारी संस्थामा नेपाल सरकारको उच्च सेवा तथा तहमा काम गर्ने विशिष्ठ पुरुषहरुले समेत श्रीमानले श्रीमतीलाई एक थप्पड लगाउदैमा के हुन्छ त, त्यो त श्रीमानको हक हो नि ! श्रीमतीसंग चाहे अनुसार यौन सम्वन्ध राख्न पाउनु पुरुषको अधिकार हो नि !! महिलाहरु पनि ठेगानमा बस्नु पर्यो नि त इज्ययत पाउनलाई त !!! भन्ने जस्ता गैरजिम्मेवार र मुर्खहरुले प्रयोग गर्ने भाषाशैली प्रयोग गरिएको छताछुल्ल सार्वजनिक भएकै कुरा हुन् हाम्रो समाजमा । यस्ता पुरुषहरु महिलाहरुलाई ठेगानमा नबसेको त्यसैले उनीहरुले घरेलु हिंसा बेहोर्नु परेको भन्ने क्लेस ब्यक्त गर्दछन् तर ठेगानमा बस्नु भनेको के हो, उनीहरुले 'ठेगान' शव्दको परिभषा र मापदण्ड कतै उल्लेख गरिदिएको पाइदैन । नेपालमै श्रीमानको यौन हिंसाकाकारण ५५–६० वर्षको उमेरमा मासिक धर्म रोकोइ सकेपछि, मन, भावना, चेतनाले विश्राम पाउनुपर्ने अवस्थामा शरीरभरि चोटैचोट बोकेर, डिप्रेसनको औषधी खादै अदालतमा छोडपत्रको उजुरी दिने र सबै प्रक्रिया पुर्याएर हिंसक श्रीमानबाट सदाकालागि मुक्ति प्राप्त गरेका महिलाहरुको संख्या पनि उल्लेख्य रहेको छ । नेपालका पछिल्ला तथ्यांकहरुले जुनसुकै उमेरका जोडीमा छोडपत्रको प्रमुख कारण मानसिक तथा भावनात्मक हिंसा देखाएकाछन् ।
अर्को यथार्थ, कति पिडित महिलाहरुले आफूले भोगिरहेको परिस्थिति हिंसा हो भन्ने थाहा भएरपनि आफ्नो तथा परिवारको मानप्रतिष्ठामा आँच आउने र आफूमाथि थप असुरक्षा आइपर्ने डरले उजुरी गर्दैनन् तथा सार्वजनिक हुदैनन् भने कतिलाई कसरी उजुरी गर्ने भन्ने उपचारको प्रक्रिया नै थाहा नभएकाकारण उजुरी गदैनन्, हिंसाको पिडा सहेरै बसिरहन्छन् र यो पिडा विस्तारै विविध प्रकारको दुर्घटनामा परिणत हुन पुग्दछ । घरेलु हिंसा नियन्त्रण तथा उपचारमा अपेक्षित उपलब्धि हासिल गर्न नसक्नुका समस्या तथा कठिनाइहरु निम्न पाँच प्रकारका देखिएका छन् (१)पिडितले हिंसा हो भन्नेनै थाहा नपाएर, (२)आफ्नो र परिवारको मानप्रतिष्ठा नगुमोस भनेर, (३)पिडितले उजुरी तथा उपचारको प्रक्रिया थाहा नपाएर, (४) पिडितमाथि थप असुरक्षा हुने डर तथा राज्यबाट सुरक्षाको आड नपाएर र (५)एकिकृत कानूनको अभाव भएर । यसका साथै अन्य विविध कारणले महिलाहरु सबै कुरा जानी–जानी पनि हिंसा धेरै सहन्छन् तर यसो गर्नु अत्यन्तै गलत हो । हिंसा सहनाले अन्तत्वगत्वा यसले भविश्यमा व्यक्ति, परिवार, समाज, राष्ट्र, विश्व समाज, पुरै मानवीयता र सर्वकल्याणमै थेग्न नसकिने नकारात्मक किसिमको प्रभाव ल्याउने खतरा रहन्छ । घरेलु हिंसा विरुद्धको उपचार लिनु आफ्नोलागि मात्र नभएर परिवार, समाज, राष्ट्र, विश्व र पूरै मानवीयताको भलाईकालागि हो । हिंसाको उपचार खोज्न वाहिर आउँदा थोरै कष्ट त हुन्छ नै तर यो योगदान आफ्नालागि मात्र होइन, सबैको भलाईकालागि हो, सबैको सुन्दर भविश्यकालागि हो, आफूलाई समाज तथा राष्ट्रको जिम्मेवार नागरीकको रुपमा प्रस्तुत गरौं र यस्तो सर्वकल्याणको सूधारको काम अहिले नगरे कहिले गर्ने, मैले नगरे कस्ले गर्ने भन्ने भावले भरिएर आफूलाई जिम्मेदार नागरीकको रुपमा स्थापित गरौं र सबैले भनौं घरेलु हिंसा बन्द गरौं, घरेलु हिंसाको समयमै उपचार गरौं र गराऔं । तसर्थ अव कतिपनि ढिलो नगरी आध्यात्मिक पूर्णताले भरिएको र सबैको कल्याणबारे सोच्ने मानव समाजको निर्माण गर्नकालागि घरेलु हिंसा सहेर नबसौं, घरेलु हिंसा बन्द गरौं भन्ने प्रकारका जागरुकताका सैद्धान्तिक र व्यवहारीक वहसहरु सार्वजविक रुपमै सबैतिर चलाउनु आवश्यक भएको छ । यो काम हामी सबै नागरीकहरुको अपरिहार्य उत्तरदायित्व हो । हिंसा सहनु हुदैन, समयमै उपयुक्त उपचार लिनु तथा दिनु पर्दछ, हिंसा र यसको परिणाम महिलामात्रको समस्या होइन, यो पुरै मानवताकोलागि चुनौती र समस्या हो । यो सत्यताको गहिराई बुझौं र यो योगदानको सकारात्मक परिणामले मलाई मात्र होइन सबैलाई सकारात्मक प्रभाव पार्दछ भन्ने जागरण सबैमाझ पुर्याउँ, यो असन्तुलन तोडौं, रोकौं र सन्तुलन जोडौं, बढाऔं । हामी सबै हरप्रकारले सचेत बनौ,अहिले राज्यले सबै प्रकारका हिंसाहरुलाई सम्वोधन गर्ने कानूनी ब्यवस्थाको सहजता प्रदान गरेको छ ।
घरेलु हिंसा न्युनीकरण तथा उपचारका अन्य उपाय
ड्ड छोरीहरुलाई हरप्रकारले सक्षम बनाउँ, शिक्षा, सिप, तालिम र आफ्नो सुरक्षा आफैं गर्नसक्ने सुरक्षा तालिम पनि प्रदान गरौं ।
ड्ड शैक्षिक सक्षमतासंगसंगै सामाजिक, आर्थिक, राजनीतिक सबै प्रकारका सक्षमता तथा सशक्तीकरणहरु आफैं आउँछन् ।
ड्ड छोरीलाई विवाह गर्न, घर गरि खान, संस्कार परम्परामा अन्धो भएर बस्न, परम्परा मानिएन भने पाप लाग्छ भनेर बिना अर्थमा तर्साउन छोडौं ।
ड्ड छोरीको विवाह भएपछि सबै जिम्मेदारी सकियो भन्ने बुझाइ नराखौं ।
ड्ड मानसिक तथा भावनात्मक हिंसाका पिडाका परिणामहरुको कठिनाइहरु समेत समेटीने गरि एकिकृत कानूनको व्यवस्था गरौं ।
ड्ड मानसिक तथा भावनात्मक हिंसाका पिडित महिलाहरुको अवस्था हेरेर अनिवार्य रुपमा सामाजिक मनोपरामर्शको व्यवस्था गरौं ।
ड्ड बद्लिदो परिबेसमा समयसान्दर्भिक नभएका कानूनी व्यवस्थाहरुलाई नयाँ कानूनी व्यवस्था ल्याएर पुरानालाई विस्थापित गरौं ।
ड्ड समाजका असान्दर्भिक तथा अवैज्ञानिक अन्धविश्वास जनित परम्पराहरुलाई हटाएर समाजको पुनरसंरचना गरौं ।
ड्ड बनेका ऐन, कानून, नीतिनियमहरुको प्रभावकारी र व्यवहारीक कार्यान्वयनमा विशेष जोड दिउँ ।
ड्ड घरेलु हिंसा पिडितलाई राज्यद्वारानै आवश्यक सुरक्षा व्यवस्था प्रदान गरौं ।
ड्ड घरेलु हिंसाको सन्दर्भमा कानूनी उपचारको द्रुतमार्ग व्यवस्था गरौं ।
ड्ड आपराधिक कानूनहरुलाई समय सान्दर्भिक हुनेगरि परिमार्जन गरौं ।
ड्ड
राज्य एक्लैले सबै काम गर्न सक्दैन, हरेक नागरीक स्वयं राज्य हो, सबैले आ–आफ्नो स्थानबाट दर प्रकारका उत्तरदायित्व निर्वाह गरौं ।
धरेलु हिंसाको न्यूनीकरणमा आध्यात्मिक दृष्टिकोण
अध्यात्मका विश्वगुरु ओशो रजनीश भन्नुहुन्छ, “पापको परिभाषा दुःख दिनु हो । अरुलाई दुःख दिनु पाप हो, आफूलाई दुःख दिनु महापाप हो । अरुको अर्थ सिर्फ अर्को मनुष्य मात्र नभएर ब्रह्माण्डका समस्त सृष्टि– मानिस, प्राणी, पंक्षी, जीव, वनस्पति, पदार्थ सबै हुन् किनकी ब्रम्हका सृष्टि यी सबैमा चेतनाको अंश हुन्छ, त्यसप्रति तिमीले जस्तो व्यवहार तथा क्रिया गर्छौ बदलामा त्यस्तै व्यवहार तथा प्रतिक्रिया पाउँछौ तसर्थ आफ्नो सुखकोलागि सकेसम्म कम हिंसा होस् भन्नेमा सदा सजग बन ।” हामी सबैले अध्यात्मको यो मूल मर्मलाई आत्मसाथ गरेर पूर्वीय अध्यात्म दर्शनले सुझाएका अध्यात्म साधनाको पंचामृत विधि– सदविचार, सदकर्म, योगाभ्यास, प्राणायाम र ध्यानका विधिहरुलाई आ–आफ्नो जीवनमा निष्ठापूर्वक अनुशरण गरौं । अध्यात्मले मानिसलाई हरप्रकारले आन्तरीक र वाहिय रुपमा सवल, सक्षम, बुद्धि तथा विवेक सम्पन्न, प्रतिभावान, सिर्जनशील, सकारात्मक, आत्मबल र आत्म विश्वासले भरिएको बनाउँदछ । यस्तो मानिसलाई सानातिना वाहिरी घटना तथा पिडाहरुले सितिमिति प्रभाव पार्दैन र उसमा कहिल्यै तनाव, चिन्ता, अवसाद, विछिप्तता, पागलपन र आत्महत्या गर्ने जस्तो नकारात्मक भाव भरिदैन, उ आफू पनि सुखी, खुशी, शान्त, आनन्दित बन्दछ र अरुलाई पनि सुखी, खुशी, शान्त, आनन्दित बनाउन सक्ने क्षमताले भरिन्छ । तसर्थ अध्यात्म विज्ञानको साधना अपनाउँ र भगवान महावीरले भन्नु भए जस्तै, "प्रकृतिको नियम मानेर आफूपनि सुखपूर्वक जीवन जीउँ र अरुलाई पनि सुख पूर्वक जीवन जीउन अवसर प्रदान गरौं ।"
अन्त्यमा
हिंसाका स्वरुप प्रष्ट पार्ने बलिउड मुभिहरु-
लज्जा,
मातृभूमि,
वाटर,
लक्ष्मी,
चांदनीबार,
प्रणाली,
ककटेल,
फेसन,
हिरोइन,
अन्धाधुन...
हिंसा विरुद्ध आवाज उठाउने उत्प्रेरक बलिउड मुभिहरु-
पिंक,
थप्पड,
मेरीकोम,
मिर्जा,
अकिरा,
कि और का, सादीमे जरुर आना, मिस इन्डिया, अस्तित्व, फिलहाल, चोरी चोरी चुप्के चुप्के, पंगा, मम, इंगलिस भिगंलिस, ऐतबार, वेगम जान, गुलाव ग्यांग, राजी, गंगुबाइ काठियाबाडी, जज्बा, ह्याक्ड, मेडम गीता रानी...
प्राय यी र यस्ता मुभिहरु लैंगिकता र विकासको अध्ययनमा सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्ने गरिन्छन् । अहिले यतिनै याद भयो, पछि अपडेट गर्नेछु .... bsirjana@gmail.com
No comments:
Post a Comment